February 19, 2026

एक चिम्टी सिन्दूरको अनुशीलन

 सदानन्द अभागी
परिचय–
यो कृतिकी सिर्जना कार हुन् मुना धनञ्जय । उनी कुलप्रसाद पंगेनीकी सुपुत्री हुन् भने गजेन्द्रप्रसाद लम्सालकी बुहारी हुन् । पिता कुलप्रसाद प्रेरणका स्रोतका रूपमा रहेका हुनाले उनको साहित्यिक यात्रा विद्यार्थी  कालबार्टै थालनी भएको हो । मुनाकी आमाले सुरिलो आवाजमा गुनगुनाउने रामायणका श्लोक र भजनकीर्तनहरूले पनि मुनालाई साहित्यतिर लाग्न प्रेरणा मिल्यो । महिलाहरूलाई प्रगति पथमा लम्कन विवाह पछिको जीवन अति महत्वपूर्ण हुन्छ । मुनाको विवाह पनि एउटा साहित्यिक परिवारमा हुन पुग्यो । मुनाकी सासूआमा विभिन्न विषयमा झ्याउरे तथा लोक लयमा गीत– कविता रचना गरेर आफै बाचन गर्ने भएकोले मुनालाई थप  हौसला मिल्यो । साहित्यिक सिर्जनामा हरकोहीले घरयासी वातावरण सहज पाउन सक्दैनन् । यस अर्थमा मुनालाई भाग्य मानी सम्झनु पर्छ कि उहाँका जीवन साथी बद्री लम्साल छोराहरू भूगोल र परितोषको साथै कवयित्रीकी नन्द बसुन्धरा पौडेलको निरन्तर सहयोगको र सल्लाह पाइराख्नु भएको छ । हाल मुना धनञ्जय गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानकी परिषद सदस्य हुनुहुन्छ ।
कृतिको संरचना–  यसकृतिको आवरण पृष्ठ बाहेक विविध शीर्षकमा कदेखि ढसम्म १४ पृष्ठ, विषयक्रम २ पृष्ठ, कविता खण्ड ११५ पृष्ठ त्रिवेणी साहित्य प्रतिष्ठन, नवलपरासीका प्रकाशन ५ पृष्ठको साथै अग्रपृष्ठमा नारीको शिरमा एक चिम्टी सिन्दूर राखेको तस्विर छ भने पछिल्लो पृष्ठमा मुना धनञ्जयको तस्बिरको साथै प्रा. मुकुन्दशरण उपाध्याय, डा. नारायणप्रसाद अधिकारी र प्रा. चोलेश्वर शर्माका कृति र कृतिकारप्रति पस्किएका अभिव्यक्तिहरू समावेश गरिएका छन् । यस कृतिको प्रकाशन त्रिवेणी साहित्य प्रतिष्ठन नवलपरासी (ब.सु.पू.)ले गरेको छ । पिता स्व.कुलप्रसाद पंगेनीप्रति समर्पण गरिएको यस कृतिमा गैडाकोट नगर प्रज्ञा प्रतिष्ठान गैंडाकोट नवलपुरका कुलपति गोविन्दराज विनोदीको शुभकामना, मुकुन्द शरणउपाध्यायको शूभेच्छाका केही शब्द, कृष्णशरण उपाध्यायको शुभकामना (एक चिम्टी सिन्दुरलाई), त्रिवेणी साहित्य प्रतिष्ठान अध्यक्षको प्रकाशकीय रहेको यस कृतिमा ५१ ओटा कविताहरू समावेश गरिएका छन् । परितोस लम्सालको आवरण कला रहेको यस कृतिको मूल्य २०५।– रुपियाँ राखिएको छ ।
कृतिभित्र प्रवेश गर्दा –  यस कृतिमा समावेश भएका सबै कवित,ाको सार भाव प्रस्तुत गर्ने  प्रयास गरिएको छ । कविताको विविध दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । यस कृतिमा नारीवादी चिन्तनलाई, गहिरो रूपमा उठाएका केही कविताहरू यसप्रकार छन् ।  यस कृतिको पहिलो कविता नै नारी शीर्षकमा लेखिएको छ । एकचिम्टी सिन्दूर, प्रथम रजस्वला , हामी नारीहरुको दैनिकी, आस्थाकी देवी माता, साइँली र आमा तथा नारीले बोक्न परेका विविध कठिनाइलाई विशेष रूपमा उठान गरिएका कविता हुन् । नारीले सन्तान उत्पादन गर्नु, पालन पोषण गर्नु तर तिनै सन्तानबाट अपहेलित हुनु, नारी माथि गरिने विभेद, आदिलाई सहन गर्ने हैन कि आफ्नो नैसर्गिक अधिकार लिन उठ्नुपर्छ । कुनै पुरुष  भन्दा नारी कम छैनन् र नारी अदना र अवला होइनन् । क्रान्तिकारी वीरङ्गना बनेर उठेर आफ्ना खोसिएका अधिकारलाई खोसेर ल्याई नारी जातिकै इतिहास रच्नु छ भन्ने धारणा आएको छ कवितामा ।
एक चिम्टी रातो सिन्दूरले सारा जीवन बाँध्छ, मायाको अनमोल दस्तावेज, प्रेमको निशानी, अटल सौभाग्यको सूचक, यसलाई मजाकमा उडाउन हुँदैन । जस्ले मजाकमा उडाउँछ कहिल्यै निदाउन, खुसी हुन,सक्दैन भन्दै कवयित्री भन्नु हुन्छ – 'सिन्दूरको धर्म र मर्मलाई जतन गर्न सक्नु पर्छ दुवैले चाहे सिन्दूर पहिरिने होस् या पहिराउने यो नै सिन्दूरको महत्व हो ।'
नारी रजस्वला हुँदा, घरमा बस्न नहुने, बाबु, दाजुभाइलाई हेर्न नहुने,अर्काको घरमा लगेर राख्नु, घामको किरण देख्न नहुने जस्ता पुरानो चलन थियो । बास्तवमा रजस्वला हुनु भनेको त सृष्टि सिर्जनाको संकेत हो । यस अवस्थामा किन अशुद्ध ठानिन्छ । कवयित्री भन्छिन् –'रजस्वला लाज होइन न त पाप हो । यो नारी जाति कै स्वभिमान हो  सृष्टिको मूल आधार हो ।'
नारी कुखुराको डाँकसँगै उठेर झाडु पोतो गर्नु, खाना पकाउनु खुवाउनु, बच्चाबच्ची भए पछि रेखदेख गर्नु, घरको काम धेरै गर्दा पनि काम गरेको देखिदैनन् । अस्तित्व भए पनि मूल्य छैन ।, नारी कि त आमा, श्रीमती, छोरी भएर बाच्न पर्छ , ऊ कहिल्यै म भएर बाँच्न सक्तिन, काम गर्दा थकान हुन्छ तर थकान देख्ने कोही हुँदैन । राती सुत्दा पनि भेलिको योजना बुन्नु पर्छ । नारीले सके पनि नसके पनि दैनिकी चालाउनु पर्छ भन्ने धारणा कवयित्रीले राखेकी छन् ।
माता मौलाकालिकालाई आस्थाकी देवीको रूपमा प्रार्थना गर्दै देवी एक भए पनि रूप अनेक छन् मेरो सबै चिज तिम्रै हुन् भन्ने धारणा आएका छन् कवितामा ।
नेपालका श्रमिक महिलाहरूको कठिन परिश्रमलाई कवयित्रीले समेट्ने प्रयास गरेकी छन् । साइँलीको कारुणिक व्यथा, पसिना, पीडालाई सुन्दर शैलीमा प्रस्तुत गरिएको छ ।
नारीवादी चिन्तनको महत्वपूर्ण कविता हो आमा । आमाले गर्भ धारण गर्नु, बच्चालाई नौ महिना कोखमा राख्नु जन्म दिनु, पालन पोषण गर्ने काम आमा बाटै हुन्छ । आमा विना बच्चाको जिउने आधार कोही हुँदैन ।आमा दया मायाकी खानी, शालीनता र धैर्यैता कि प्रतिमूर्ति, सन्तानको भविष्यकी मार्ग दर्शक, बाबुनानीकी आस्थ र विश्वासकी दीप, आमालाई बच्चाको सर्वस्व र सृष्टिकै अनमोल रत्न हौ भनिएको छ ।  
नारीवादी कविताको सार भाव पस्केपछि अरू कविताहरूको सार भाव यस प्रकार छ – समय र ममा कवयित्रीले समयसँग आपूmलाई तुलना गर्नु, समय निरन्तर चलिरहनु तर म भने समयसँग निरन्तरतता दिन नसक्नु,  ।
मेरा बा – कवितामा बाको मेहनत, साहस, सहनशीलता,चुनौती र समस्यासँग जुझ्नसक्ने क्षमता, काममा निरन्तरता, मुस्कान भरी अनुहार, सन्तानको खुसीमा आफ्नो जीवनको खोजाई, कठिन परिश्रमले गर्दा हात खुट्टा फुटेका र हातमा ठेला उठेका आदि कुराहरूलाई समेट्दै बाबुले दुख बाहेक केही पाएनन् उनी संघर्षका पर्याय, आदर्श, सन्ततीको लागि सर्वश्व र भगवान हुन् जस्ता धारणा आएका छन् कवितामा ।
माग्ने –यस कवितामा एउटा विवश माग्ने मानिसको कष्टदायी जीवनलाई प्रष्ट्याइएको छ । उसले सारा कष्ट भोग्दा भोग्दै पनि कुनै न कुनै विहान त ब्युझिएला मनवता भन्दै ऊ आशावादी रहेको छ ।
मात्र एउटा प्रश्न – यस कवितामा मानव जीवनका अनेक क्रियाकलापलाई विश्लेषण गर्दै एउटा प्रश्न यसरी सोधिएको छ कि मानिस संसार बाट जो जे जति विदा भएर गए जाँदा के लिएर गए भन्दा जवाफ नाङ्गै आए नाङ्गै गए भन्ने धारणा आएको छ कवितामा ।
पूmल–कोपिलाबाट फक्रेर पूmलको सिर्जना हुन्छ कसैले टिपेपछि अस्तित्व समाप्त हुन्छ । जीवनको यथार्थता यही हो ।
भुर्इँमान्छे – यस कवितामा मानिसमा भएको अहम्ले आफूलाई जे ठाने पनि यथार्थतामा मानिस जे हो त्यही हो । सत्यलाई सत्य र भूmटलाई भूmट भन्न सक्नु पर्छ । आखाले जे देख्छ त्यही बोल्नु पर्छ भ्रम छर्नु छैन,      
सत्य सत्य नै हो । बाहिरी आवरण धेरै टिक्दैन । कर्सैको नजरमा भुईँमान्छे होला तर मानिस मानिसै हो ।
मान्छेहरू– मानिस थरी थरीका हुन्छन् ।कोही जितकोमा रमाइ रहेका, कोही हारमा पीडित, कसैमा उन्माद आदि जे भए पनि कवयित्री भन्छिन् –
साँच्चै भनूँ भने मान्छेहरू
लोकतन्त्रको बजारमा देखाउँदै गरिरहेको
उदाङ्गो नाच टुलु टुलु हेरिरहेछन् ।।
हिजोको ऊ आजको ऊ –मानिस परिवर्तनशील हुन्छ । मन हुँदा धन नहुनु, धन हुँदा मन नहुनु , देशमा हुँदा राष्ट्रियता हुनु, विदेश गए पछि देशप्रति घृणा पोख्नु, सानोका व्यवहारमा मातृभक्त तर आज ऊ त्यस्तो छैन , धनी भए पछि कसैको पनि खाँचो छैन । धनले सबै चिज किन्न सकिन्छ तर धन भन्दा लाखौं गुणा ठूलो मन हुन्छ भन्ने कुरा भुल्छ ऊ भन्ने धारणा आएका छन् कवितामा ।  
भञ्ज्याङको चिया पसल –पहाडी भेकको यात्रा, ओराली उकाली, अपरिचित बटुवासँगको क्षणिक भेट, आपसी निकटता, भेटिने देउराली,  देवीलाई पूmलको अर्पण, देउरालीको चियापसल, पसल्नी दिदीको मीठो मुस्कान, तामाको अंखरीको चिसो पानी, तिर्खाको मेटाई ,थकानमुक्त चियाकोस्वाद, जति  अघि बढ्यो त्यति याद, मन चिया पसलमा  दौडिरहन्छ जस्ता धारणा आएको छ कवितामा ।
असार पन्ध्र–गाउँको लागि यो दिन मानु खाएर मुरी उब्जाउने दिन, धान दिवस, सहरमा विकासे बजेट कार्यन्वयनको लागि हतार, राष्ट्र सेवक कर्मचारीलाई हर हिसाब फरफारक गर्न हतार, सञ्चार कर्मीलाई विकास सम्बन्धि समाचार सम्प्रेषण गर्न हतार, बजेट सक्नको लागि कृषिक्रान्ति विषय सेमिनार र गोष्ठीहरूको सञ्चालन, धानदिवस मनाउन मञ्च सजावट, प्रमुख अतिथिबाट गमलामा धान रोपाइँ, दही च्यूराको भोज, रात्रीकालिन भोजको तयारी समेतको धारणा आएको छ साथै कवयित्रीले गाउँको यथार्थ चित्रलाई पनि यसरी प्रस्तुत गरेकी छन् । युवा पलायन छन् । खेतबारी बाँझा छन्, नहर र कुला प्यासी छन्, विदेशमा चर्को घाममा युवाले घर सम्झेर रोइरहेका छन् । बुढा बा, आमा सन्तानले पिँढी कुरीरहेका धारणा आएका छन् कवितामा ।
आँसु–मानव जीवनमा आँसु हर्ष, विस्मात, अभाव, दवाव, पराइ आफन्त को कारण बाट झर्छ । कसैले आँसुलाई शक्तिमा परिणत गर्छन् । कसैले आँसु झारेर कमजोरी देखाउन नहुने भन्छन् । जीवन संघर्षहो संघर्षबाट भाग्न हुँदैन, हरेश खान हुँदैन, झेलेर अघि बढ्नु पर्छ र गन्तव्यमा पुग्नु पर्छ ।आँसुलाई मजाक बनाउनेबाट बचाउनु पर्छ ।बाहिर आँसु नझारे पनि भित्र भित्र मानिस रोइरहेको हुन्छ भन्ने धारणा आएको छ कवितामा ।
मानव जीवन – मनव जीवन नाशवान छ । आफ्नै देह आफ्नै वशमा छैन । मानिसले यी सबैकुरा विर्सन्छ । मानिसले अहंकार र द्वेष किन गर्ने । 'मानिसले छोटो जीवनलाई अर्थपूर्ण बनाउन सक्यो भने त्यसैमा मानिसको बुद्धिमानी ठहर्ने छ' भन्ने कविको ठहर छ ।
मेरो बाल्यकाल – बाल्यकाल सबैको आनन्द र महत्वपूर्ण हुन्छ, किनकी, न कुनै बन्धन, नकुनै अड्चन, विभिन्न खेल, पढ्नभन्दा खेल्नमा मन,जब मानिस ठूलो हुँदै जान्छ उसका बालक कालका सबै क्रिया कलाप हट्दै जान्छन् । बालक साथी बाट टाढिदै गइन्छ । आफ्नो आफ्नो गन्तव्यमा लागेका साथीहरूको स्मरणमात्र रहने हुन्छ । कवयित्रीले भन्छिन्–
एक पटक भेट्न मन छ ती साथीहरू
कोट्याउन मन छ विगत अनि
पुग्न मन छ बालापनमा
त्यसैले खोजीरहेछु साथ तीनै बाल्यकालका साथीहरूको ।।
पृष्ठ ४२
मालचरा –कविले मालचराको र मानव बीचको कार्य शैलीलाइ तुलनात्मक धारणाहरू प्रस्तुत गर्नु भएको छ ।  मालचरा एकको नेतृत्वमा बथानमा उड्छन् । एकले अर्कोलाई सहयोग गर्दछन् । मानिस विवेक भएको प्राणी हो ।  एकल पना रुचाउने, घमण्डको महल निर्माण गर्ने, ज्ञानी र सक्षम ठान्छ, भित्र भित्रै जल्छ टुक्रा टुक्रा भएर बाँच्छ । मानिसले मालचराबाट धेरै कुरा सिक्न सक्छन् । एकता, सहयोग, नेतृत्व, यी चराबाट सिक्न सकिन्छ । एकता बाटै साँचो उच्चाइ मिल्छ ।  
ऊ ठूलै नेता भए छ – नेता र जनता बीचको भिन्नतालाई यहाँ प्रष्ट्याइएको छ । जनता हुँदा सत्य बोल्नु, इमान्दारिता र जनताको मुक्तिका कुरा गर्नृु, ठुलो नेता भएपछि यी सबै कुरा भुलेको धारणा आएको छ ।
खै ! किन आउँछ तिहार–यस कवितामा तिहारमा देखिने प्रकृतिक सौन्दर्यता, पीङ, बालक कालका बालक्रीडा, काग तिहार, कुकुर तिहार, गाई पूजा, गोवर्धन पूजा,भैली खेलाई, तेलधारा, सेलरोटी, मखमली र सयपत्रीका माला,सप्तरङ्गी टीका, अष्टचिरन्जीवीको पूजा, दैलो ठेलामा ओखर फोराइ, टिका लगाई, जुगा खेलाइको स्मरण गदै दाजु ईश्वरको प्यारो भपछि किन आउँछ तिहार भन्दै कविता समाप्त हुन्छ ।
भानु– यस कवितामा भानुलाई नेपाली म्भ, रामायणको भभाषाका एकीकरणकर्ता, नेपाली भाषाका सुगन्ध, नेपाली काव्य जगतका आदिकवि, धर्म, संस्कार र संस्कृतिका आधार स्तावानुवादक, अध्यात्मको पाठ सिकाउनेकर्ता, 'तिमी नेपालीजनका नेपाली मनका आस्था हौ, विश्वसा र्हाै त्यसैले त भानु तिमी नेपाली साहित्याकासका आदि कवि हौ प्रथम कवि हौ' भनिएको छ ।
जीवनको सार्थकता– जीवनको बालकक्षण आनन्ददायक भए पनि उमेर बढ्दै जाँदा यी आनन्ददायक जीवन जिम्मेवारी आएपछि मानव जीवन निश्चित सीमाभित्र बाँधिन पुग्छ र यो जिम्मेवारी वहन गर्नु पर्छ । जिम्मेवारीमा रम्दै रमाउँदै जीवन जिउनु जीवनको सार्थकता हो भनिएको छ कवितामा ।
आऊ बुद्ध ! – बुद्धलाई हत्या हिंसा बढेको, अज्ञानीको भेल बढेको, प्रेम सद्भाव हराउँदै गयो, स्वाथी पना बढ्दै गयो त्यसो हुँदा अहिंसा र सत्यको पाठ पढाउन, ज्ञान बाड्न, मानवता र परोपकार भाव बाँड्न, अहंकार मास्ने नीति बाँड्र्दछन्  र    
'अशान्ति भो जताततै
शान्ति छर्न आऊ बुद्ध ' ।  भनि बुद्धलाई आउन आग्रह गरिएको छ ।
जिन्दगीको परीक्षा– कविको भनाइ छ – बालक अवस्थाको आनन्दता, कक्षा चढ्न दिइने परीक्षा भन्दा 'बाँचुन्जेल दिनुपर्ने परीक्षा जसलाई जिन्दगीको परिक्षा भनिन्छ त्यो कठिन र दुरुह हुन्छ । यो परिक्षाबाट कोही पनि भाग्न पाउँदैन चाहे सफलता मिलोस या विफल भइयोस् । डटेर परीक्षा दिनु पर्छ भन्ने भाव छ कवितामा ।
भोलीको औंसी– मातातीर्थ औंसीलाई आमाको मुख हेर्ने औंसीको रुपमा लिइन्छ । यो औंसीमा कोही घरमा गएर आमाबाट आशीर्वाद लिने काम गरिन्छ । देश विदेह बाट मोवाइलबाट आमालाई स्मरण गरिने छ । आजको युगमा सामाजिक सञ्जाल मार्फत आमाहरूका तस्बिरले स्थान  पाउने छन् । आमालाई सुख शान्ति र दीर्घायूको कामना गरिने छ  फोटा खिचिने छन् । नयाँ उपहार प्रदान गरिने छन् । आमले यस दिन सुख दिने या दुख दिने सबै सन्तानलाई समानरूपले आशीर्वाद दिने धारणा आएको छ कवितामा ।  
गोडाहरू– यस कवितामा गोडाहरू जितको लागी दौडी रहन्छन् । गोडाको जितबाट निधारले विजयको टीका लगाउँछ गलाले माला पहिरन पाएर आनन्द लिन्छन् । टीका, माला, तक्मा र पुरस्कारको हकदार गोडा नभए पनि जुता मोजा अनि दुखाइ मेट्ने मल्हमको हकदार हुनु पर्ने तर त्यो पनि उसले पाउन सकेन ।कविको भनाइ छ कि गोडाले इमान्दारी र धर्म विर्सिए भने सारा खुसीहरू लिलाम हुनेछन् । त्यसोहुँदा गोडालाई नविर्सौ र सम्मान गरौं ।
शान्त , समुन्नत, सुन्दर गैंडाकोट – यस कवितामा कविले गैडाकोटको सुन्दरतालाई,नारायणीको पवित्रता, धर्म, धाम, मठ मन्दिर, सडक, गल्ली, बाटा, शिक्षा, स्वास्थ,को बारेमा जानकारी दिइएको छ । कविले भनाई छ 'यो माटो आफैमा भाग्यमानि छ । सभ्य भव्य सुन्दर नगरीका बासिन्दा पनि भाग्यमानी छौं भन्ने धारणा आएको छ कवितामा।
जिन्दगीको यात्रा – यात्रा कुनै गन्तव्यमा पुग्न गरिन्छ । गन्तव्यमा पुग्न कठिन परिस्थितिलाई पार गर्नु पर्छ । कवयित्री गन्तव्यमा पुग्न नसकेर जिन्दगीको यात्रालाई अर्थ हिन र निरर्थक लागैको धारणा आएको छ कवितामा ।
आऊ न है ! वि.पी– वि.पी. कोइरालाले गरीब किसानका,झुपडीका,देश र जनताको भलाईका कुरा गर्ने,समानता स्वतन्त्रता,मानवता, राष्ट्रियता,लोतन्त्र समाजवाद सर्वोपरी हितका कुरा गर्थे तर आज यी सबै अलपत्र छन् । तिम्रा अनुयायीहरूले तिम्रा आदर्श र मूल्य मान्यतालाई भत्काइ रहेका छन् । निर्णय लिन कठिन भएमा एक मुठी माटो समाएर निर्णय लिनु भन्ने बिचार धनका विटा समाएर निर्णय लिनेतिर सरेको छ । देश काममा नभएर भाषणमा सरेको छ । मेलमिलापमा नभएर खुट्टा तान्नेतिर लम्किएको छ । असल बन्ने तिम्रो निर्देशन ठूलोमा परिणत भएको छ ।आजका विविध क्रिया कलाप रोक्न , सद्बुद्धि भर्न राजनीतिको चरित्र र पाठ सिकाउन मात्र एकपटक यस धर्तीमा आउन आग्रह गरिएको छ ।
गरीब – गरीबको यस संसारमा कुनै अस्तित्व छैन भन्दै कवयित्री भन्छिन् –
भ्रष्ट शोषक फटाहका सामु
उसको अस्तित्व के नै छ र
यो मानवता हराएको
मानव मूल्य लुटिएको
स्वार्थले भरिएको
ठूलाबडाको दम्भकारी समाजका माझ ।।
पृष्ठ ७१,
तिमी बदिलिएछौ – कोमल मन, स्वाभीमानी,आत्म ज्ञानी मानिस एका एक बदलिएर हसिलो अनुहार अन्धकारले छोपिएको, विशाल छाती, साँगुरिएको, सहयोगी हात अनुबन्धित भएको, अमृतमय बोली रुखा नमिठा, सरल मिलनसारिता अभिमानमा परिणत भएको, आदर्शवान र नैतिकवान प्रयाय हदभन्दा तल गिरेको देख्दा तिमीलाई चिन्न निकै ढिलो भएको र तिमी पुरापुर बदलिएछौ थाहा नपाइ नपाई भन्ने धारणा आएको छ कवितामा ।
सन्तबहादुर – यस कवितामा कवयित्रीले सन्तबहादुर नामको एउटा कर्मठ व्यत्तिःको बारेमा कविता लेख्नु भएको छ ।कविताको सार यसप्रकार छ – एउटा गरीबको छोरा व्यक्तिगत स्वार्थ त्यगेर कसैको दुखमा दुख मनायो र सुखमा सुख मनायो, सरलता र समानताको पक्षधर, छलकपट रहित जे भन्छ त्यही गर्छ। जे गर्छ त्यही भन्छ । 'राष्ट्रियता, लोक तन्त्र र समाजवादको त्रिवेणीमा नुहाउन मन पराउने ऊ आपूmलाई राष्ट्रको सच्चा कर्मठ सिपाही ठान्छ ।' स्वाभी  मानी, चाकरी चाप्लुसी नगर्ने, परिश्रमी, दूरदर्शी, वर्तमान र भविष्यको विकासका खाका कोर्ने वाला, दैविक प्रकोपमा राहत पु¥याउन कसिने, मृत्युका पीडाजन्य घाउमा सहानुभूतिका मलम पट्टी लिएर पुग्ने, दयाको खानी आत्मज्ञानी, स्वच्छ विचार, पारदर्शिता, धर्म, गरी भए पनि भ्रष्ट हैन, झोपडीमा स्वर्गीय आनन्द लिनेवाला धनको गरीब मनको धनी, अनुशासित, सज्जन, सादा जीवन उच्च विचार, अदम्य सहास 'कलियुगको रावणसँग लड्ने, त्रेता युगका राम जस्तै, द्वापर युगका कौरवसँग लड्ने कृष्णका अवतार जस्तै' व्यक्ति हो सन्तबहादुर ।  
मानवता – यस कवितामा कवयित्रीले मानवता सम्बन्धि राम्रो परिभाषा दिएकी छन् – हेरम् पहिलो श्लोक –
अत्यचारको अमृत भन्दा
सदाचारको विष छ प्यारो
 आत्मा कसैको रूवाउनु भन्दा
सबको दिल हँसाउनु राम्रो  ।
पृष्ठ ७८, श्लोक १
यस कविता शीर्षकमा कवयित्रीले चार हरफका ५ ओटा श्लोक छन् । प्रथम श्लोक त मैले माथि पस्किसकें । अरु श्लोक पनि त्यत्तिकै महत्वपूर्ण छन् । यिनको भावसार म यसरी प्रस्तुत गर्न चाहान्छु । चोरी चकारी गर्नु भन्दा भोकै बस्न, गल्ती लुकाउने साथी भन्दा दोष औँल्याउने शत्रु, मानवता रहित शहर भन्दा, सुख दुःख बाँडिने गाऊँ, कल्पनाको महल भन्दा यथार्थको झोपडी, परतन्त्रको जीवन भन्दा स्वतन्त्रताको परिवेश अरूको बोझ हुनु भन्दा आफ्नै पयरमा चल्नु, आफ्नो स्वार्थमा लाग्नु भन्दा अरुको हितमा लाग्नु  पयरमा चल्नु र मानवतारहित मानव भन्दा पशुतायुक्त पशु नै जाती भन्ने धारणा आएका छन् कवितामा ।
म – यस कवितामा समर्पणका धारणा आएका छन् । म के को लागि प्रश्न गर्नु स्वभाविक लाग्छ । मानिसको भविष्य सुनौला होस, सुसमाजको निर्माण गर्न सकियोस्, सामाजिक कुरिति र कुसंस्कारका जरा उखेल्न सकियोस, उत्पीडित र असाह्यहरूको सहयोग गर्न, सेवा प्रदान गर्न, कुलत र  दुव्र्यसनीमा लागेकालाई सुमार्गमा ल्याउन, धनी गरीब बिचको विभेद हटाउन, समाजमा समानता ल्याउन, घुसखोरी र कमिसनतन्त्र वालालाई डण्डित गर्न, नारी शिक्षा र नारी स्वतन्त्रताको आवाज बुलन्द पार्न, मानवताको बीजारोपण गराउन, अशिक्षितलाई शिक्षित पार्न, हत्या हिंसा रोक्नको लागि बुद्धको शान्ति छर्न,असत्य नास्दै सत्यतिर लाग्न, सेवालाई धर्म र परोपकारलाई पुण्य ठानी यिनै ऋचा अलाप्न, स्वार्थ रहित सुसमाजको निर्माण लाग्नु पर्छ भन्ने धारणा आएका छन् कवितामा ।
सुस्ता – सुस्ता भारतीय अतिक्रमणले गर्दा त्यहाँका बासिन्दाको कष्टदाइ अवस्थालाई दर्शाइएको छ कवितामा ।
होली– होली रङ्गहरूको पर्वको रूपमा लिइन्छ । यस पर्वमा उमङ्ग र उत्साहको साथै मित्रहरूको मिलन, सबैले सबैलाई रङ्गहरूको लेपनबाट रङ्गिन बन्छ मुहार, रङ्ग खृल्नको लागि प्रयोग गरिने पिचकारीहरू, वेलुनका लोला बालकपनमा लुकी छिपी गरेको रङ्गको प्रयोग, फागु नाच होरु नाच, आदिका धारणा सहित  कवियित्रीले भन्नु हुन्छ –
जीस्वनको सबै भन्दा
त्यो सुखद पल
हो आज होलीले      
त्यही मेरो विगत
पल्टाइ रहेछ सम्झाइ रहेछ
भरिहेछ ममा उमङ्ग उत्साह
 उसैगरी जोश पनि ।
पृष्ठ ८४
विवाह वर्षोत्सव–यस कवितामा कवयित्रीले विवाह कर्ममा अग्निकुण्डमा सात फन्कोृ लगाएर सँगै जीवन काट्ने प्रतिज्ञा गरेको वर्षौ विते, समय परिवर्तन भए रूप र सौन्दर्य पनि परिवर्तन भए तर माया र प्रेम भने अझै प्रगाढ बन्दै यात्रा चालिरहेको छ । प्रेमका बिरुवा हुकिसकेका छन् र फुलिरहेका  छन् हाम्रा अघि भन्ने धारणा राख्दै कवयित्री भन्दछिन्–विवाह बर्षोत्सवको सुखद क्षणमा दुबै बीचको माया प्रेम, सहसम्बन्ध,अझै प्रगाढ बन्दै जाओस्, सधैं रहोस् साथ र समर्पण जीवनयात्रा अनन्तसम्म चलिरहोस् भन्ने धारणा आएको छ कवितामा ।
बल्दै गरेको चिता – यस कवितामा एउटी आमा गुमाए कि नानी, मसान घाटमा रातमा पानी आएको अवस्थामा आमाको लास जलिरहेको मलामी र ऊ आफै रुझिरहेको अवस्थामा मौना धारणा गर्दै एक्लिएको भाव  साथमा अथाह पीडालाई आमाको शरीर खरानी बन्दै गरेको हेर्दै यही खरानीबाट उसले नयाँ यात्रा गर्ने छे भन्ने कवयित्रीको धारणा सहित चिताको लप्का उचालिन्छ रात अझै चकमन्न बन्दै छ र नदी अझै सुसाइरहेका छ भन्दै कविताको बिट मारिएको छ ।
नैतिकता हराएको मानिस – नैतिकता हराएको मानिसमा लाज, नीति नियमको पालना गर्दैन, आफ्नो दोष अरूको काँकधमा थोपार्छ, अरूको सत्य स्वीकार्दैन, ऊ आँफै जित्न चाहान्छ  आत्मा सत्य बोल्छ विश्वास गर भन्दा पनि  मान्दैन नैतिकता बेचेर सफलता प्राप्त गरें भने पनि तिनीहरूको पतनको बाटा यही हुन्छ भन्ने धारणा आएको छ कवितामा ।
मुढेर काका – शान्त, मनका धनी, खेतबारीमा काम गर्ने कवयित्रीलाई नानी भनेर बोलाउने, बजारबाट मिठाइ ल्याई दिने, दानी, इमानी, धार्मिक, स्वाभीमानी, खानेकुरा बाँडीचुडी खाने, धैर्यताका सागर, कुशल सिकर्मी थिए । उनले निर्माण गरेका सामान कवयित्रीसँग अझै छन् । मुढेर काका आज छैनन् तर उनको याद आज पनि छ र बाँचुन्जेल श्रद्धाका सेता पूmल अर्पण गर्ने धारणा आएका छन् कवितामा ।
बेमौसमी असिना– किसानले बाली लगाउँछ , सपना बुन्छ , असिना झर्छ र सारा सपना चकनाचुर हुन्छन् ।कहिले हुरीले, कहिले बाढीले, कहिले असिनाले बालीलाई माटोमा मिलाई दिन्छन् । निराश हुँदैन कोदालो उठाउँछ र आशाको बीउ रोप्छ । आशा रोपेर दुख उब्जाएर भोकसँग सम्झौता गरेर फेरी पनि जीवन जिउन चाहान्छ भन्ने धारणा आएका छन् कवितामा ।
सत्यको जीत –यस कवितामा सत्यको जीत सधैंहुन्छ भन्ने धारणालाई सप्रमाण पुष्टि गरिएको छ र भनिएको छ –
सत्यलाई दवाउने जो कोही
आफै हराएर जाने छन् तर सत्य
कहिल्यै हराउने छैन
किनकी यो त अटल छ अडिग छ ।  
पृष्ठ ९८
बनमारा – वनमारा एउटा मध्यम बर्र्र्गीय झाडी हो । यसले सारा वनलाई सखाप पारिदिन्छ । मुनाहरूलाई बढन दिंदैन । अरुलाई पीडा दिन सकेकोमा गौरव ठान्छ । समाजमा पनि कसैलाई अधि बढ्न नदिने वनमारा छन् । कवयित्री आशावादी छन् कि ती वनमारालाई लाखौं मुनाहरू मिलेर जराबाटै उखेलेर नयाँ वनको निर्माण गर्ने छन् । त्यहाँ घामका किरण प्रवेश गर्ने छन् । सपना हरिया हुनेछन् र मुनाहरू मुस्कुराउने छन् भनिएको छ ।
मेरो मौनता– कवयित्रीले  मौनताको परिभाषा यसरी गरेकि छन् कि कम बोल्ने र चुपचाप सहने व्यक्ति कायर हो तर बास्तवमा सत्य यो हैन । सत्य त यो हो कि तुफान आउनुको अघिको शान्ति हो । शहनशीलता चिनारी बल शक्ति हुन सक्छ । हात्तिलाई कमिलाले ढाल्छ, । जब अहङ्कार र घमण्डको धैर्यैको बाँध भक्तिन्छ तव आवेगको बाढीले बगाउँछ । जस्ता अभिव्यक्ति आएका छन् । –
मेरा कविता – कवयित्रीका कविता कसरी जन्मिन्छन् । ती  कवितामा के के समेटिन्छन् जस्ता भावनाहरू पस्किएका छन् । भावनाको चलायमान भएपछि कविताको जन्म हुन्छ ।सुख दुःख, समाजमा बढ्दो अन्याय अत्याचारले सीमा नाध्दा, सत्ताका आडमा बसेर जनतामाथिको थिचोमिचो देख्दा, चेलीका अस्मिता लुटिदा, विदेशी अतिक्रमणमा, इतिहासलाई मजाक बनाइन्छ भने, पहिचानमा दाग लगाइन्छ भने, प्रेम टुट्दा, धैर्य लरखराउँदा,सपना चकनाचुर हुँदा कविता जन्मिन्छन् धारणा राख्दै कवयित्री भन्छिन्–
कविता मेरा आँखा हुन दृष्टि हुन्
कविता मेरो आत्मा हो
कविता मेरा हतियार हुन्
जस्ले हिंसा विनाको युद्ध लड्छ
हो ! यसरी जन्मन्छ् मेरा कविता ।।
पृष्ठ १०८
कानुन हराएको मेरो देश – यस कवितामा देशमा कानून छ तर व्यवहारमा छैन, कानुन नभएपछि सोझा सादाको घाँटी निमोठिन्छ । नेतालाई चैन सोझासादालाई ऐन थोपारिन्छ, प्रमाण हुँदा हुँदे पनि न्याय मुर्झाउँछ र कानुन चिच्याउँछ तर कसैले सुन्दैन । पैसा बोल्छ सच्चाइ हराउँछ , यहाँ शिक्षितहरू पनि थिचिन्छन् । झूटको जयजयकार हुन्छ । दलालको बजार फस्टाउँछ दिन दिन ,न्यायकर्ता नै दोषि भएपछि त्यहाँ अन्याय त मौलाउँछ नै, यिनै धारणा आएका छन् कवितामा ।
परदेशी छोराको चिठी आमालाई –यस कवितामा परदेशिंदाको अवस्थामा आमाले छोरालाई आशीर्वाद र एकमुठी माटो दिएर पठाउनु । छोराले त्यही माटो छोएर आमालाई सम्झने गरेको, आमाले विदा गर्दा पीडा लुकाएर मुस्कान देखाएर पठाएको, स्मरण गर्दै, आमालाई अरूसमक्ष बलियो बन्नु, बाध्यताले विदेश जानपरे पनि देशमा रोजगार नभएकोले घरव्यवहार, भाइ बहिनीको पढाइको  खर्च, आदि व्यवस्थापनले विदेशी हुन परेको छ  एक दिन मेहनत र पसिनाले तिम्रा सपना साकार पार्दै,  शिर ठाडो बनाउँदै फर्कने प्रतिवद्धता आएको छ कवितामा
खोला –  यस कवितामा खोला अविरल, अनवरत, पहाडको खोचबाट निस्केर अविरल अनवरत रूपमना  पवित्रताको साथमा भावना र सपनाहरू साथ लिएर, बगिरहदा पनि मानिसहरूले अस्तित्व विहिन पार्न खोज्नु,फोहोर पारीदिनु, छातीमा बाँध बाँधिदिन्छन् डोजर स्काभेटर चलाएर  दोहन गरिदिन्छन् गाउँ बस्ती शहर हुँदै समयको गतिसँगै बग्दै, कर्तव्यलाई सम्झँदै सबैको तृष्णा मेटाउँदै सबैलाई तृप्त पार्दै  समुद्रमा विलीन हुन पुग्ने धारणा आएको छ कवितामा।
भाषशैली – कविता गद्यलयमा लेखिएका छन् । सरल भाषा प्रयोग गरिएको हुँदा सबै प्रकारका पाठकमा बौद्धिक खुराकी यी कविताहरूले प्रदान गर्दछन् । पढ्दा पढौं पढौं लाग्ने यी कविताहरूमा बिम्बको सुन्दर प्रयोग भएको पाइन्छ । सुन्दर प्रस्तुती गरिएको छ । त्यसो हुँदा कविता पठनयोग्य र ग्रहणीय छन् ।
शीर्षकीकरण – यस कृति भित्रका धेरै कविताहरू शीर्षक योग्य छन् । कवयित्रीले एक चिम्टी सिन्दूरलाई शीर्षकको रूपमा लिएकी छन् । महिलाहरूको वैवाहिक जीवनमा सिन्दूरको महत्वपूर्ण स्थान रहन्छ । सिउँदोमा एक चिम्टी सिन्दूर हालेपछिमात्र विवाह कर्म सुसम्पन्न भएको मानिन्छ । यसलाई सौभाग्यको महान प्रतीक मानिन्छ । कवयित्रीको धारणामा यो मायाको अनमोल दस्तावेज सिन्दूर प्रेमको निसानी  भनेर एउटा महत्वपूर्ण स्थान यस कविताले पाएको छ र साथै नारी सम्बन्धि .थुप्रै शीर्षकमा कविता लेखिएका हुँदा शीर्षकले सार्थकता पाएको छ ।
निस्कर्ष – यिनका कविताकहरूले धेरै चिजलाई समेटेका छन् । यिनले कवितामा परिवार र समाज प्रतिको चिन्तनको साथै प्रगति, सुसंस्कारको निर्माण मात्र नभएर आपसमा सदभाव, प्रेम,परोपकार, नारीवादी चिन्तन, सीमा अतिकर्मण, विभेदको अन्त्य, राष्ट्र राष्ट्रियता, बृद्धबृद्धाप्रतिको अवस्था, युवा पलायन, देशको प्राकृतिक सौन्दर्यता, नेतृत्वको असमक्षता, आदि धारणाहरूले स्थान लिएका छन् । माथि मैले सबै कविताले दिएको सन्देश शारांसमा  दिएको छु । तिनै कुरा यहाँ दोहो¥याइ रहन चाहान्न । उनको यो साहित्यिक यात्रा निकै रसिलो र रहर लाग्दो छ । यो यात्राको निरन्तरता र भावी साहित्यिक यात्रा उज्ज्वलाको साथै  दीर्घआयुको कामना गर्दछु ।
मिति २०८२ फागुन , ६ गते ।     ,

February 5, 2026

पीडा कवितासङ्ग्रहको अनुशीलन

परिचय–
यो इन्द्रराज पौडेलको प्रथम कवितासङ्ग्रह हो । विभिन्न पत्रपत्रिकामा कविताहरू प्रकाशन भए पनि पीडा कवितासङ्ग्रह (२०६२)ले उनलाई कृतिकारको रूपमा परिचय गराएको छ । आवरण पृष्ठ,बर्दियाली साहित्य समाजका अध्यक्ष राजेन्द्रप्रसाद धितालको प्रकाशकीय, भेरी साहित्य समाज (.बाँके)का सल्लाहकार नन्दरामको मन्तत्व साथै  इन्द्रराज पौडेलका दुईशब्द र १८ ओटा कविताहरू यस कृतिमा सङ्ग्रृहीत छन् ।  यसको प्रकाशन बर्दियाली साहित्य समाज, बर्दियाले गरेको छ । मूल्य रु १५÷– राखिएको छ । यस कृतिका कविताले के भन्न चाहेका छन् त्यसप्रति जाने अनुमति चाहान्छु ।
बन्दना – यो प्रथम कविता हो । यस कवितामा भगवान शङ्करको सादाजीवनको वर्णन गरिएको छ । भगवान शिवसँग के र्नै माग गर्ने स्वयम् भिक्षाटन गर्ने, भाङ धतुरो खाएर पद्यमासनमा बस्ने, गणमा बस्दछन् र ताण्डव नृत्य गर्दछन्, ज्यूमा खरानी घस्ने,  अर्धचन्द्र, जटामा पवित्र नदी गंगा धारण, घाँटीमा सर्पका माला, नीलकण्ठ, देब्रे हातमा त्रिशूल र त्रिशूलमाथि डमरु बाघको छालाको आसन, उहाँको दायाँ हातमा कमण्डलु, पानीको भाँडो रुद्राक्षको मालाको धारण लेपिएको त्रिनेत्र धारी यस्ता भगवानसँग के नै माग्ने ? बस्त्र मागौं आफै निर्वस्त्र, वाहन मागौं आफै बुढा बयलमा सवारी गर्ने, गहना मागे आफै सर्पको माला लगाउँछन्, स्वार्थी भएर धनधान्य के माग्ने,आफै भिक्षुक छन् आदि धारणा सहित कविले यस प्रकारको माग गर्ने धारणा राख्दछन् –
मागौं शान्त बिचार दीर्घ दिलमा माया दया मान जो
सादा शक्ति उदात्त श्रेय मनमा मागा महाज्ञान पो ।
ज्ञानी शंकर आशुतोष भगवान  दाता उनै सन्तमा
मागौं धैर्य बनूून उदार करुणा, आशक्त कल्याणको ।
पृष्ठ १, श्लोक ३
पीडा – यो दोस्रो कविता हो र यस कृतिको नामाकरण पनि यसै कविताबाट गरिएको छ । मानव जीवन सुख दुःख, हाँसो रोदन, आदि बाट गुज्रेको हुन्छ ।  पीडा भन्नासाथ यो अप्रिय, संवेदनशील र भावनात्मक अनुभूति हो । पीडा क्षणिक र दीर्घकालीन हुन सक्छ । पीडाको परिभाषा सहज छैन । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यसमा स्नायु, मेरुदण्ड र मस्तिष्क बीचको जटिल अन्तरक्रिया सँग सम्बन्धित हुन्छ । यो मनो वैज्ञानिक भावनात्मक र सामाजिक कारक बाट प्रभावित हुन सक्छ । हेरौ यसमा कविका धारणा कस्तो छ –
पीडा दिन्छ प्रहार भित्र तनमा छाँयाँसरी टाँसिदै
पीडा कोप्छ दुखाइ चुस्स मुटुमा काँढा भई भासिदै ।
पीडा पोख्छ निशा सुचारु शशिमा जीवन्त आशा हरी
पीडा भर्छ उदाश भित्र सुरमा सन्क्याई हावा हुरी  ।।१।।
श्लोक १, पृष्ठ २
पीडाको जान्म कसरी हुन्छ भन्ने सम्बन्धमा कविले मनमा पीडाका जरा परिवेशबाट जन्मिन्छन् । यो धेरै कष्टदायी हुन्छ । मनिसले यो पीडालाई सहन नसकी आत्तिन्छ । पीडाकै कारणबाट मुलुकका श्रृङ्गार, शोभा र प्रभा उजाडित भएका छन् । पीडा मुटुको ,प्रवेग छहरो हो । यसले वेहाल पार्छ ।
 कविले पीडाले देशमा के असर पारेको छ । अर्थात देश पीडाबाट मुक्त छ त ? भन्ने तर्कमा हिमाल, लेक, वनको सौन्दर्य सबै पीडामा रहेको र यस्तो वेहालको कारणले जताततै न्यास्रो मात्रै बढेको छ । आज गास, बास, कपासको
बालकह प्राप्त गर्न नसकेको पीडाको कारणले ठिटाहरू मुग्लान पसेका छन् भन्ने धारणाहरू आएका छन् कवितामा ।
समस्या–तेस्रो कविता, यसकवितामा कविले देशका बहुमुखी समस्यालाई उठाएका छन् । कुनबाटो अवलम्वन गरेर ओजिला भएर माथि चढ्न सकिन्छ भन्ने कविको सोचाई छ । बालकरूपी कोपिलालाई विकासमा लम्काएर भुँडी पाल्ने विकास मार्ग कुन हो ? हातमा ठेला उठ्ने गरी काम गर्दा पनि खान नपुग्नुले गर्दा बन्दुक उठाउन थाले, सनक चढ्न गयो, मात बढ्यो, फोस्रा भाषणको नतिजाले सास्ती निम्त्यायो, दिललाई चिरा पा¥यो, राज्यले जनतालाई अमन चैन दिनु पर्ने राज्य नै भारी हुन पुग्यो, राज्यले नाङ्गाअङ्ग ढाक्न कपडा, भोकालाई खाना, आवास, बाधा बिध्नमा सुरक्षा को व्यवस्थापन हुनु पर्ने हो तर सबै नारामा नै सीमित भएकोले कविको धारणा यसरी आएको छ –
भट्केका जनभाव ल्केश भरिदै सद्भाव रित्तो भयो
खस्क्यो मानवता उदार दिलको विश्वास टाढा भयो  ।
थामीसक्नु भएन ल्केश भरिदा तातो खुनै उम्लिंदा
हाम्रा हर्ष सबै लुटो समयले बाटो झुटो पक्रिंदा ।।६।।
श्लोक ६, पृष्ठ ६
देशमा द्वन्द्वकालमा छोरा जङ्गलमा, पिता पिरलोमा, आमा रुँदै, मानिस मारिदै आदि धारणालाई कविले यसरी  प्रस्तुत गरेका छन् –
खस्क्यो बुयिुवा विनाशतिर गो विध्वंशतामा बल
आफ्नै भाइ लद्ध डाइ जन्म–थलमा रक्ताताम्य उर्लो भल ।
मान्छे वाल्ल परेर हेर्छ बिचरा यो देशको दुर्दशा
साह्रै चोट सहेर मर्म मनको छाती दुखेको व्यथा ।।८।।
श्लोक ८, पृष्ठ ६
द्वन्द्वकालको साह्रै कहाली लाउँदो अवस्थालाई कविले अति सरल रूपमा उतारेका छन् । त्यती वेला गाउँ वेहाल अवस्थामा भएको, वनिताको सुहाग लुटिएको, अनाथ टुहुराको आश्रय दिनेवाला कोही नभएको,चारैतिर डर र त्रास, देशभर अभाव, गरिबी, धोखाधडी, गोलीको वर्षा आदिले गर्दा आजै हो कि भरे मसान घाटतिर पुगिने हो भन्ने डर, आदि धारणा सहित कविले त्यस समयको यथार्थतालाई यसरी पस्केका छन् –
साहै्र हालत विग्रदो छ अब ता छोरा लडी मर्दछन्
रोगी बृद्ध अशक्त मात्र घरमा अन्त्येष्ठिमा व्यस्त छन् ।
साह्रै त्रास बढ्यो कतै करबलै रेटिन्छ घाँटी डर
मात्रै बाँच्नु भयो रहेन गरिमा बाँचेर पो के छ र ? ।।११।।
श्लोक ११, पृष्ठ ७
दुखेको दशैं– यो चौथो कविता हो । यस कवितामा कविले दशैं नेपालीको ठूलो चाड भए पनि यसले निम्त्याउने आर्थिक भारलाई प्रष्ट्याउने प्रयास गरेका छन् । दशै शरद ऋतुको आगमनसँगै आउँछ । स्वच्छ आकाश, हिमालको गमिलो मुस्कान, वर्षाको विदाइ, ताराहरूको चम्कन, चकोरको आभा छराई आदि रमणीयताले मुटु नै छुन्छ । यति रमणीयता हुँदाहुँदै पनि दशैंको अर्को पाटोको अवस्थालाई कविले यसरी प्रस्तुत गरेका छन् –
आयो चाड दशै अशक्त जनको बन्दै मुटुको किलो
अत्तालिन्छ दरो कमाइ नहुने देखी दशा खर्चिलो ।
निर्धाका जमरा भिजाइ गहका  आँसु खसी भल्भल
के आयो नि दशैं दशा मनभरी शोका कुलै भो घर ।।२।।
श्लोक २, पृष्ठ ८
गरिबको घरमा खाना नभएर भोक भोकै बस्न पर्ने अवस्था, सबैले नयाँ नयाँ कपडा लगाउन चलन, गरिबको  आर्थिक अभावले छाती दुख्ने, आँसु झर्ने,वर्षैपिछे दोहोरिएर आउने, धनीहरू लागि बाह्रै महिना बसन्त  आउँछ जस्ता धारणा सहित कविले धनी गरिब बीचको अवस्थालाई यसरी पस्केका छन् –
बाह्रै मास बसन्त हुन्छ धनले ऐयास मीठो मन
छाती थाप्छ अभाव दुख दिनहुँ निर्धाे हुँदा जीवन ।
रित्ता छन् अनुराग हेय कर छन् कम्जोर त्यो निर्धन
सच्चा निश्छल त्यो उदार दिलको हो कोमल त्यो मन  ।।५।।
पृष्ठ ८
कविताले गरिबको  लागि कसैको आशा, गुहार केही छैन तर दशैलाई टार्नै पर्छ, सामन्ती को भरमा पर्नु पर्ने , सौदागरैका घरमा पसिना अडना राखेर, जाँगर विक्रि गरेर, इमान धर्म थाती राखेर दशै र तिहार रूपी चाड मनाउनु पर्ने भन्ने धारण पस्केका छन् कविले ।
हाम्रो प्रजातन्त्र –यो पाँचौ कविता हो । प्रजातन्त्रमा को खुसी हुँदैन ? सबैको मन रमाउँछ । मुटुमा पुष्पमुना पलाउँछ । हर्षको भेल बग्यो, जोशिला भेल उर्लिएर आए, जीवनमा आशा पलायो । हतकडी पल्टिए ,जञ्जिर उल्टिए, खुट्टाका नेल छुटे, प्रपञ्च नाङ्गिदै गए, खलका खाका उदाङ्ग भए, कैदी छुटे, शहीदको रगतमा उर्ले जोश, अहंका चुली भक्ते, कर्णलीका लहरा स्वतन्त्र बग्दा हाँसो फुट्यो, अर्थात प्रकृति पनि रमाएको थियो, हिमालका चुचुरा बादलसँग खेले, गुराँसपूmल लेकमा हाँस्दा नेपाल नै हाँस्यो, छातीमा नवसिर्जनाहरू उछलिएर नयाँ सन्देश प्रवाह भए ,नाच गान दीपावली गर्ने काम भयो, हाम्रा हर्ष बढे तर यो उमङ्ग धेरै टिकेन । धेरै वर्ष लडेर ल्याएको यो अमनचयन खरानीमा परिणत भयो ।  यो अभिशाप भइदियो भन्दै कवि पस्कन्छन् आफ्ना यस्ता धारणा –
हाम्रा शङ्खध्वनि सहस्र मुटुको चर्को व्यथा भै दियो
नाना जात बिजात पुष्पफलमा नौलो कुरा सन्कियो
आफ्नै तन्त्र भएर दुष्ट निठुरी ठोक्यो मुटुमा किलो
रक्ताम्मै नगरी भयो नि यसरी कालो उडाई धुलो ।।६।।
पृष्ठ ११,

यसरी कविले प्रजातन्त्रमा प्रहार भएर हाम्रा अमनचयन सबै लुटिएका धारणा आएका छन् ।
मुटुको दर्द – यो छैटौं कविता हो । यस कवितामा कविले द्वन्द्वको कारणले गर्दा मुटु दुख्यो, पीडा बढ्यो अमनचयन लुटिए, युवाहरूको रगतले माटो मुछियो, कलिला मगजमा राँको बनी सल्कियो जस्ता धारणा राख्दै, कवि भन्छन् –
हाम्रा भाइ रुँदा पिताहरु रुँदा छोरी रुदा छन् बरा
मच्चिदो कुरु क्षेत्रको रण थलो नेपाल हाम्रो धरा ।
मेची रुन्छ हिमाल रुन्छ झरना काली रुँदैछन् कठै
हाम्रा सिर्जनका गुमान गहना विक्री हुँदै छन् कतै ।।२।।
पृष्ठ १२,
यो पवित्र पार्वतीको पिंडीको रुपमा रहेको देश कुरुक्षेत्र बन्नु, उदार दिलको दीयो निभ्न थाल्नु, वेथिति बढ्नु, उद्योगहरू गुम्नु, नेपालका सन्तती विदेशमा गएर दर्वान कुल्ली बन्नु, चेलीका सुहाग र घरका सबै गौरव लुटिनु, बालबालिकाका पिता, पिताको माया ममता वैभव र आश्रय लुटिनु, नव सिर्जना नबन्ने भएर कुतन्त्र छलले राँको बनी सल्किनु, विवेकहीन भएर आफ्नै खुसी मास्ने नास्ने आदि धारणा सहित कविले हाम्रो पहिचान यसरी गराएका छन्–
हामी सैनिक हौ हिमाल शिरका नेपालका सन्तती
हाम्रो मर्म स्वतन्त्र शान्त छवि हो छैनौ कतै बन्दकी ।।५।।
मानिसको दिल कोमल हुनु पर्ने तर पत्थर भयो, रगत बग्ने काम बन्द हुनुपर्ने भएन । त्यसो हुँदा यस्तो चुनौतीको घडीमा युवाहरू उठेर, अगाडी बढेर शान्ति र कान्ति प्राप्त गर्नुपर्छ र स्वतन्त्र रूपमा घरमा बस्न पाउनु पर्छ भन्ने धारणा आएको छ कवितामा ।
चोट – यो सातौं कविता हो ।  यस कवितामा नेपालका नेतृत्व वर्गको अर्थ आर्जन गर्ने कर्ममा प्रकाश पारिएको छ । खानपानको लागि गाह्रो थियो, गोडामा थोत्रा चप्पल थिए, परालको छानो भएको घर थियो यस्ता नेताले नियतिबस पजेरो चढ्ने वर पाए र आफ्नो स्वार्थ सिद्ध गर्नका लागि धेरैका घर जलाए भन्दै कविले नेताको कर्तुतको वर्णन यसरी गर्दछन् –
नेपाली ढुकुटी पिपासुहरूका ऐयासमा खर्चिए
नेताका सब केन्द्रमा अति ठूला अट्टलिका  अग्लिए ।
बिर्से ख्याल शहीदका सपथको कर्तव्ज्य बिर्से अनि
फुर्कुी सिंह बनेर गर्जन दिए बिर्से थियौं को भनी ।।२।।
पृष्ठ १३, श्लोक २
जनताले उज्यालो दिन आउला कि भनी धेरै दिन सहे तथा पर्खे तर फोस्रा भाषण र आश्वासन बाहेक केही पाएनन्। यिनको भरमा पर्दा देश भत्कन गया,े जनता विथातमा परे । यसरी आस्था जर्जर हुँदा जोश जागेर आयो, अभए भै जनलहर उठ्यो किन भन्ने कारणा सहित कवि यसरी प्रस्तुत भएका छन् –
लुछिए ढुकुटी किसान गरिमा सङ्घारका अस्मिता
लुटिए बलजप्mती ग्रामपुरका बस्तीहरुमा सीता ।
सोझा निर्वल झन् अशक्त निमुखा भोका र नाङ्गा हुँदै
जाँदैछन् घरबास छोडी बिचरा मुग्लानमा भड्किदै ।।४।।
अमनचयनको गति अवरोध भएको छ । जनता बोल्न सक्दै नन् । यसरी मुर्दा शान्ति छाएको छ । मुकाम केन्द्रमा मात्र पहरा हुन्छन् । गाउँ बस्ती भरी ज्यादती छाएको छ । हस्ती हुम् भन्नेहरूको पनि सातो उड्यो । यस्तो समरमा कोही टिक्न सकेनन् । बस्तीमा सास्ती बढ्यो जस्ता धारणा सहित कवि भन्दछन् –
गोलीबाट हुँदै गयो मनपरी सङ्घारमा बेसरी
चर्को घाउ जताततै नगरमा बाचौँ हेर ! के गरी ।
साझा संरचना जलेर पुरका धावा भए कोतमा
लाखौं वीर बली भए नि रणमा यो देशका चोटमा ।।६।।
पृष्ठ १४
बेचीदिए अस्मिता –आठौं कविता हो । यस देशका युवाहरूले अस्मिता बेचेको धारणालाई कविले सविस्तार प्रस्ट्याएका छन् । आज देशमा एन्जियो हरूको काम गर्ने शैलीमा यस देशका ठिटाहरूले एन्जियोहरूमा काम गर्ने, गोष्ठी गर्न पर्दा होटेलमा गर्ने , यसरी जोश र जाँगर बदलिएर नौलो आभास पाउन थालियो । मासु रक्सी चुरोट खाने, फोस्रा पूmर्ती लगाउने, व्यङ्ग कस्ने, मगजमा सन्की र अहंता बोक्ने, सुद्धी गोल हुनु, डलरमा आँखा गाड्ने, दुनियालाई बिकास गर्न भन्दै गुलियो आशा जगाउने, पुल्क्याई ,उल्क्याई, होहल्ला, हडताल सन्काई चारै तिर,जातीय विभाजन, उच्च निच, समय अनुकुलका प्लेकार्ड बनाई नारा जुलुस्, वर्णशंकरको प्रचार प्रसार, वैलरको पालन, खाटी दूध नपाइने, चक्काजाम, धराप, ध्वस्त नगर, बन्दको कारणले घरभित्रै निसासिनु, राष्ट्रियता र आफ्नो पना गुमाउनु, नेपाली भावनालाई परदेशका पहलमा साट्नु, जस्ता धारणालाई कविले प्रष्ट्याउँदै अस्मिताप्रति कविको धारणा यसरी आएको छ –
बढ्दा शोख रवाफ तास तमसा विग्रिगयो सङ्गत
छोडे नैतिकता उदण्डसुरमा बिग्¥यो नि युवा लत
आफै फस्न गई अधीन अरुका पासो परेका युवा
चास्नीमा महुरी सरी भुलपरी बेची दिए अस्मिता ।।७।।
पृष्ठ १६,
म आउँदै छु आमा ! – यो नवौं कविता हो । यस कवितामा कविले विदेशीएका नेपालीहरूले भोग्न परेको असहजतालाई पस्केका छन् । विदेश गएको एउटा छोराले आमसँग भन्छ । म विदेशबाट कर्तव्यको खातिर घर आउँदै छु । नेपाल जर्जर भएको कारण परदेशको सेवा छोडेर फर्कन्छु । म विदेशमा आफ्नै खुन बेचेर भोक मेटाउन गएको हो । त्यहाँको दासत्वले मन कोक्याएको छ । बास्तवमा नेपालीहरू बहादुरमा कहलाएका हुन् । सच्चा बहादुरी हराउँदै गयों र गरिबीको कारणले गर्दा दामको लागि रोगी भयौं । गार्गी( गर्ग ऋषिकी पुत्री, प्रसिद्ध विदूषी), शक्ति (दैविक शक्ति भएकी अर्थात देवी), सती (शिवकी जेठी पत्नी या सतीदेवी)जस्ता नारी आज कता हराए ? अनन्तलासहरू, रक्ताम्य नदीहरू,अमुल्य रचनाहरू, प्रबुद्ध घरमा ल्केश बढ्नु, आमालाई नरुने र छोरा देश बनाउन बलियो विचार लिएर गहिरो चिन्ता चाहना बोकेर कर्तव्य निष्ठ हुन घर फर्कने, आमाको दूधको भारा तिर्न सैनिक बनेर, दैनिक ज्यान अर्पण गरेर खट्ने, पानीमात्र पिएर रणमा लड्न शक्ति बोकेर,'आमा पीर नल्यौ म दिन्छु बलिदान कर्तव्यका खातिर', पुर्खाको इतिहास आफ्नो बल लगाएर थाम्ने,बुद्ध, जनकका सुधा सन्तती भएकोले हाम्रो धैर्य नेपालको उन्नतिको लागि रहने छ जस्ता भावनालाई पोख्दै कवि भन्छन् –
माया छैन ममा कुपुत्रहरु ती आमा रुवाउनेसित
आफ्नै भाइ परम्प।रा स्वजनमा माया डढाउनेसित ।
आत्म अस्त हुँदैन वीरहरूको उत्रेर युद्धस्थल
हामीले रणमा सहादत दिने आयो यहाँ औसर ।।७।।
पृष्ठ १८,
नियतिको ज्यादती – यो दशौं कविता हो । यस कवितामा विविधताले सजिएका १४ ओटा श्लोक छन् । जब नेताका नीति बाझिन थाल्छन् जनताका चाहनाहरू ओइलाउँछन् । सौहार्दका छाती भत्किएमा मन भावनाहरू भाँडिन्छन् । यस्ता विविध भावनाहरू यहाँ समेटिएका छन् । यहाँ द्वन्द्व, सत्ताको मोह, मन्त्री बन्ने चाहना, भोकका सपना, अमूल्य सम्पदाको लुटाई, देशले व्यहोरेका खति, सेनाको गोलीबाट आतड्ढी मारिनु , बस्तीका सुराकीहरु, जनयातना, परोपकार गर्नेवाला हराउनु, अतिथि सत्कारमा कमी आदि महन्त्वपूर्ण सन्देशले भरिएका छन् श्लोक । उदाहरणको लागि हेरौं –
हावामा बारुदी गन्ध धमिलो मूल पानीको
बोली छन् बाणझंै तीखा न्याए छ मनमानको ।।१३।।
हाल्यो बादले घुम्टो छोपियो चान्द्रको कला ।
मुर्झाए मर्मका माया अबरुद्ध भए गला ।।१४।।
पृष्ठ २०,
जीवन– यो एघार्रां कविता हो । यस कवितामा जीवनका विविध भोगाइ सम्बन्धी ११ श्लोक छन् । समय अमूल्य छ यसरी नै आयु पनि नरोकिएर सकिन्छ । मानिस जन्मिन्छ । बालापनबाट यौवनमा पुग्छ । यस अवस्थामा रमितामा रमाउँछ । मीठो खाने, छिटो गन्तव्यमा जाने, लोभी लोचनले छेउ छाउमा हेर्ने आदि कर्मम रमाउने काम हुन्छ । बढ्दै जाँदा मानिस प्रौढ अवस्थामा पुग्दछ र कर्तव्यको बोध हुन्छ । समय हो प्रौढबाट बृद्ध अवस्थामा जान्छ । यस अवस्थामा मानिसको गति शिथिल भएर आउँछ । लौरो नै साथी बन्न जान्छ । लोलाहरू काम्न थाल्छन् । नेत्र ज्योति कम भएर जान्छ । शरीरका छालाहरू चाउरिन थाल्छन् । नशाहरू देखिन थाल्छन् । कविले बुढ्यौली अवस्थालाई यसरी वर्णन  गरेका छन् –  
सुस्केरा श्वाँसमा आयो पीडा भो अंग–अंगमा  ।
सुस्तायो तनको जोश अस्तायो सब अंगमा ।। ९।।
पृष्ठ २१
जीवनको अन्तिम क्षण हुँदासम्म पनि मानिस काम करतरीमा रम्छ, रामको नाम लिन पनि भ्याउँदैन तर कालको घरी आउँदा पछुताउँछ । त्यसो हुँदा भूतको चिन्ता गर्नु पर्दैन । वर्तमानलाई बनाउन सुर्तामा रहने मानिसले मात्र जीवनलाई सार्थक पार्छ भन्ने कविको धारयणा छ ।
चुनौती – यो बाह्रौं कविता हो । मानिसका धेरै चुनौती छन् । ती चुनौतीप्रति कवि यसरी प्रस्तुत भएका छन्–
ल्यायो नियतिले विधान बदली न्यूतो चुनौती दिन
वेलाले मुटुमा प्रकार बदल्यो मान्छे बनौटी हुन ।
नेताले नबुझी व्यथा समयको आफै खने भँड्खरा
ल्यायो नियतीले उभ्याउन उनै नौला सगुन् कठ्घरा ।।१।।
कविले यस कवितामा धेर्रै सन्देशहरू पस्केका छन् । पुराना पुलाहरूका कुरा,  पुरैपुर फर्केका कुरा, गतिले शान राख्न नसकेका कुरा, उपाय लगाएर खनिएका खाडल पुर्नु पर्ने भएका कुरा, गर्त गहिरिदै गएका कुरा, मान्छे बेच्ने बजारको खोजेर बेचिएका कुरा, मति डलरमा गएका कुरा, साथै कवि भन्छन् –'गुम्बा मन्दिरका गुमान गहना श्रृङ्गार सङ्घारका, बेचिन्छन् घरका अमूल्य रचना आलोक संसारका' । अगवुवाहरू ध्वंस विचारतिर आफ्नै घर बिध्वंस पार्न फर्कनु,आफ्नै वंश बिनास पार्न पनि नडराउने अवस्थालाई हामीले वाल्ल परेर कसरी हेर्नु । त्यसो हुँदा युद्धको  लागि हिक्मतरूपी हतियार लिएर कर्तव्यलाई अवसर ठानेर तत्पर हौं भन्दै कविले आह्वान गरेका छन् । अगुवा राम्रो हुनु पर्छ । तर कविले यहाँ कालो अगुवा, अधम प्रकृतिको जस्ले कलिला मुनाहरूलाई ठुग्छ त्यसलाई युवाहरूले गहन सर्जरी गर्नै पर्छ । दासताको जन्जीरलाई तोड्नै पर्छ र नेपाललाई सुस्थिर बनाउने शान्ति सुवास सूत्रलाई दिल लगाएर खोज्नु पर्छ धार।णा सहित भन्छन
आई खड्ग उठाऊ वीरहरूले स्रष्टा लिउन लेखनी
माटो दुख्छ कठै ! उपाय गर क्यै त्यसको गरौं खोजनी ।
आमाको मुटुमा व्यथा छ गहिरो देखेर यो दुर्दशा
नेपाली मनमा बढ्यो नि पिरलो झेल्दा सधैं कर्कसा ।।६।।
पृष्ठ २३
कविले यस कविताको अन्तिम श्लोकमा नगरी नै सन्नाटाले भरिएको छ दुनिया विथात छ र लासको गन्ध छ । यस्तो अवस्थालाई मानिसले वाल्ल परेर वर्वादका तस्विर हेरिरहेका छन् । नगरमा जडता र मुर्खता बढेको हुँदा नेपाली मुटुमा विव्ेक भर्ने सुशिक्षा खोजौं भन्ने धारणा पस्केका छन् कविले ।
अखबार–यो तेह्रौं कविता हो । अखबारले द्वन्द्व उकेल्नेमात्र हैन यसले साँचो सत्य शुद्धतामा उक्लेर समचारको लेखन गर्नु पर्छ । यसरी लेखिएका खवरहरू पछि गएर इतिहास बन्न जान्छन् र सबैले पढ्छन् । कविले अखवारले के दिन्छ भन्ने धारणा यसरी राखेका छन् –
तीतो सत्य उकेल्छ त्यो खवरले कुर्लेर मैदानमा
खाली उम्लनु मात्र हैन बुझ त्यो विश्वासका ढालमा ।
झुक्दैनन् अखबार लेख रचना कीर्ति गुमाइ रुन
सक्तैनन् रचना निस्वार्थ मनमा शङ्का चुनौती दिन ।।२।।
पृष्ठ २४
अखबारले सदाचारका, उत्कृष्ट, समाचार लेख्नु पर्छ ।  लेख्ने धर्म रुमलिन हुँर्दैन र लोभ लतमा लाग्न हुँदैन । आजको संसारमा मानिसले मानिसको रगतले मुख धुन्छ, लोभले अरुको सम्पत्ति लुटेर बङ्गला खडा गर्छ । समचारले यस्ता खबरहरू को साथै सबैका इच्छा अनुसारका लेख , विज्ञापन, सहरमा मात्र नभएर झुप्रा भित्रका खवर पनि लेख्नु पर्छ । अखबार पढदा दिक्क लाग्ने खालका खवर लेख्न हुँदैन । पाठकले सिर्जनाहरू श्रृङ्गार भएका, दिलमा शान्ति दिने, श्रेय बढाउने खालका चाहान्छन् । पीत रचना लेख्नु, आगो ओकेल्नु जस्ता लेख रचना  लेख्नु, परदेशी गरिमा टल्काइ दिने खालका लेख लेख्नु धर्म होइन भन्ने कविको ठहर छ । कविको कथन छ –
हैनन् कुलधर्म लेखहरूका त्यो हुलमा टाँसिनु
आफ्नै मात्र सुधार गर्न घरमा संकीर्णमा गाँसिनु ।
चाल्दा मार्ग बिचार गैर अगुवा ज्यूँदै म¥यो पत्रिका
बेची आत्म उसै विसर्जन हुने पासा हुँदै शक्तिका ।।९।।
पृष्ठ २५
निर्धाका पुकार – यो चौधौं कविता हो । निर्धा थिचो मिचोमा पर्ने, उनको आँसुका भेल कसैले नदेख्ने, छातीभरीका व्यथाको गुहार कसैले नसुन्ने, जस्ता धारणा कविले यस कवितामा पस्केका छन् । आजको समयमा सच्चा धर्म, इमान, मानवपना सबै दण्डित हुन गए र मानवको आदर्श पनि मर्न गयो । निर्धालाई थिचो मिचो गरिन्छ र निर्धालाई नै ढाल बनाइन्छ । यदी कोही योद्धा हो भने त्यसको यस्तो मति हुन नहुने, पाखण्डी, दया, मया हीन हुन नहुने, मानिसका मनमा क्लेस हुन नहुने, जस्ता धारणा राख्दै कवि भन्छन् –
यी टाटा खुनका र दर्द दिलका बर्बादका तस्बिर
आँसुका भल यी अशक्तहरुका दस्तानका जञ्जिर
 निर्धाहरूको बाध्यतालाई र्र कारुणिक अवस्थालाई कविले यसरी पस्केका छन् –
निर्धा छौ धनमा कवोल अडना ज्यूँनै प¥यो जिन्दगी
खाली छौं धनले दिनै विवस छौ.पुर्खापुरीको धुरी ।
तानी नाथ घिसारिदै समरमा तानेर लाने भए
खट्दा रक्षक छन् मुकाम पहरा हाम्रा नहेर्ने भए ।।३।।
पृष्ठ २६
निर्धा ऋण खान बाध्य छन् । ऋणलाई तिर्न सक्ने अवस्था रहदैन । तिनलाई धरापमा परिन्छ । थातीथलो सबै सुम्पेर   मनले नमाने पनि  हिड्न बाध्य हुनु पर्दा दिलमा पिडा हुन्छ र कतै निवेदन गर्ने ठाउँ नभएको धारणा कवितामा आएको छ ।
नेपालको छवि– यो पन्ध्रौ कविता हो । यस कवितामा कविले नेपालको प्रकृतिको वर्णन गरेका छन् । नेपाल प्रकृतिले सिङ्गारेको एउट सुन्दर देश हो । यसको सौन्दर्यतालाई कविले दिल खोलेर यसरी वर्णन गरेका छन्–
धर्तीकै रसिला हिमाल  लहरी सौरङ्गका मञ्जरी
सारङ्गी स्वरका मिठास ध्वनिमा मालाहरू लस्करी ।
पक्रेका तरुझैं लता लहरिँदै छाँगा र पाखाभरी
सल्कन्छन् पर्देशीका दिलभरी हेर्ने रहर   ।।१।।
पृष्ठ २७
हाँसेका झर्ना जलमा झुमेर मोतीको रूप लिएर झलमल देखिन्छन् भने पहरालाई गिजाउँदै उर्लेर बग्दै तल झर्दछन् । डाँडा पर्वतमा यिनको, सुरिलो सुसाई, ।यिनबाट सिर्जित सुरिलो हावा, रमणीय प्रकृति, बादलले बोकेर ल्याएको जलरासी (जलधि) लाई हिमालले हेर्दा कैलाशका चुलबुलीले मनलाई आकर्षण गर्दछ । बादल हिमालमा ठोकिएर वर्षा गराउँछ जस्ता धारणा राख्दै नेपाल कस्तो छ भनी कविले यसरी वर्णन गरेका छन् –
नेपाल शिरविन्दु श्वेत हिमको श्रीपेच संसारको
सीता गौतमको उदार गहना सन्देश सङ्घारको ।
द्यौराली, वन, फाँट, खोच दुन नै नेपाल हो वास्तव
नेपाली पनको पवित्र रचना पाखा भरी हाँस्त छ ।। ५।।
पृष्ठ २८
दशा –यो सोह्रौं कविता हो । दशा शब्दको अर्थ विविध भए सरह यस कवितामा कविका भावना विविध रूपमै प्रस्फुटन भएको देखिन्छ । हेरौं पहिलो श्लोक –
विग्रे खेल अनेक झेल झमला पासा कता पल्टिए
आफ्नो अग्रगति गुमाई पथमा ठक्कर लिदै गुल्टिए ।
नारीमा करकापले कहर यी बोकाइने बन्दुक
लाचारी नवयौवनै वितिगयो बेच्ँदा बरा मज्बुर ।।१।।
पृष्ठ २९,
नाना काण्ड र प्रकाण्डले मनमा आगो बल्नु, यो आगो प्रचण्ड रापका साथै अझै सल्किनु, नेपालको दुर्दशालाई इतिहासले बताउने कुरा, दान, दया, उदार करुणाका कुरा, दुःख सुनाउने ठाउँ एञ्जियो भएको, देश दुहुने दलालका कुरा, यिनले आमाको मुटु लुछेका कुरा, यिनलाई नेपाल दुखोस् या जे होस् डलर पाए पुग्ने कुरा, आफ्नो स्वार्थ पुरा गर्ने कुरा, छोरा दामका भोका, देशलाई नै दाग दिने अन्धा ज्ञानका, घर छाडेर विदेशमा दर्मान कुल्ली हुन र विदेशमा तातो रगत अर्पनको लागि जाने कुरा, दङ्गा काम गरेर स्वदेशमै मरेका कुरा, देशका कुपुत्रको कारणले नेपाली आमा रोएका कुरा, दुई नंबरी काम गर्नेहरूका कुरा, नेपालको विकास कसरी हुन्छ भनेर को सँग सोधनी गर्ने, शिक्षा, स्वास्थ विकास  मार्ग कुन हो भनेर को सँग सोधने ? मान्छे शोषित,ढाँटेर खाने, मन चिरा परेर चर्किएका कुरा, विदेशीका गौरव फैलिएका कुरा, होटेल गोष्ठीहरूमा स्वार्थ बाडिने कुराहरू जस्ता धारणा कविताले समेटेको छ ।      
गाउँको हालत– यो यस कृतिको सत्रौं कविता हो । यस कवितामा कविले गाउँको पीडादायी अवस्थालाई समेट्ने प्रयास गरेका छन् । गाउँ हेर्दा बरगत हराएको, पाखाहरू निर्जन भएको, भोका रुग्ण, अपाङ्ग टुहुरा, खुलाआकाश मुनी थर्थरी काप्ने अवस्थाका, तिनैका पसिना लुटिने, द्वन्द्वको कारणले गर्दा हातपाउमा घाउ भएर पाकेर पिपिदै झिगा बसेर भन्केका, बारुदका छिर्काले दिएको कष्ट, गोला फुट्दाको कारणले मानिस बहिरा लंडा भएर बस्दाको पीडा, विषाणु बल्झनु, जस्ता ग्रामिण भेगका द्वन्द्वका समयका दोहोरो भिडण्तका कारुणिक चित्रलाई  कविले उतारेका छन् । उनको कथन छ –
मारी भाइ लडाइ घोर सुरमा मारेर आफ्नाहरू
यो के रोश घमण्ड तुच्छ मतिको भाँडेर मान्छेहरू ।
दोहोरा करकाप मार दुनिया बाटो कतै  उम्कन
खोज्दाछन् तर त्यो गयो परपरै हाम्रा पुरीको मन ।।४।।
पृष्ठ ३२,
द्वन्द्वकालमा यस्तो परिस्थितिको सिर्जना भयो कि गाउँमा हार गुहार सबै मेटियो,आपूmले आर्जन गरेका सबै सुवासको गला रेटियो । गउँबासीका शान्त स्वभाव, शौर्य छविमा दुष्टको छाया प¥यो । गैह्रो चोटलाई सहन नसकी मुटुमा पीडा भयो । हाम्रा माया दया मेटिएको आदि धारणालाई कवितामा पस्किएको छ ।
पीडान्त – यो सङ्ग्रहको अठारौं कविता हो । यस कवितासङ्ग्रहको सबै भन्दा  लामो कविता हो यो । मानिस जति बुढो भए पनि शरीर अचल अवस्थामा रहे पनि जिउने इच्छ्या भने रहिरहन्छ । जति बुढ्यो हुँदै जान्छ सुद्धि हराउँदै जान्छ, चैतन्य  दुर्बल हुन्छ, श्वासप्रश्वास बढ्छ , फोक्सो निर्बल भएर जान्छ , कण्ठ तलमा हलचल बढ्छ,, मुटुले भट–भट हान्न थाल्छ ,ख्याङ् ख्याङ्खु« खुङु् हुन्छ, तीखो छुधाले अठ्याउँछ, बुता हराउँछ, उच नीच सबै भोगी सकें, त्यसो हुँदा नपाल भो भन्दै ईश्वर सम्झदै कविले भन्छन् –
थोत्रो जीर्ण अशक्त रुग्ण तनमा पालेर बाँचौं कति
बाँच्नेमात्र अनेक शोच सुरमा भोगेर तीता खती ।
छक्कै पर्छु म ता बुझेर पनि यो बुझ्नै नसक्ने गति
जानै पर्छ नगै हुँदैन पुर त्यो फर्की नसक्ने गरी ।। ४।।
पृष्ठ ३२,
मानिसको प्राणान्त हुने समयको पीडालाई सहन नसकी ऊ आक्रान्त हुन्छ ,। उसका नाडी सुस्ताउँदै जान्छन् । शैया नै संसार बन्न जान्छ र अन्त्यमा शव चितामा पुग्छ ।
छोरालाई पालन पोषण गर्नु पिण्डपानीको आश रहनु, छोरा छोरी पालन गर्ने कर्तव्यलाई सम्झनु, र पुरा गर्नु जस्ता धारणालाई पस्कदै कविले आफ्नो बालक कालका बालसुलभ दिनको यादगार, यौवन अवस्था हर्षरस आदिलाई सम्झेर रुन मन लाग्नु, बुढेस कालको मार्मिक अवस्थालाई कविले यसरी पस्केका तछन् –
झुल्के घाम अनन्त अस्तचलका जीवन्तका सङ्गत
यौवनका मधुमास रास सकिए ज्युनै भयो झञ्झट ।
अर्कैबाट दया लिएर जिउँदा डाहा भयो जीवन
आफैबाट बरो बनेर जिउँदा पीडा बढ्यो मर्ममा ।।१२।।
पृष्ठ ३५,
 कविको कथन छ मान्छेले सिद्ध भान्छे हुने ओखती आज सम्म खोज्न सकेका छैनन् । विधिको विधानमा जन्मे र मर्ने गति परिवर्तन हुन सकेको छैन । अन्तिम अवस्थामा मानिसको सुद्धि सक्किन थाल्छ तर छातीभित्र कथा र व्यथा जो छ त्यसलाई पोख्न सक्दैन जस्ता जीवनदर्शनका विविध पक्षमा वकालत गर्दै तलका कश्लोक सहित यो कवितासङ्ग्रहको बिट मारिएको छ –
चिन्ता मुक्त म चेतना रहित छु चोला वित्यो भयो अल्झन ।
 साथीभाइ छिमेक टोल घरमा जे जे दिएँ सम्झना  ।
आगोबाट  चिता जलेर लपटा काला धुवाँका संगै
गाथाका गुनगान क्यै दिन हुँदै बिर्से जालान् सबै ।।१५।।
पृष्ठ ३६,
भाषा शैली –भाषा सरल छ । साधारण पाठकदेखि बौद्धिक खुराकको रूपमा अध्ययन कर्ताको लागि  पनि पठन योग्व्य छन् कविता । छन्दमा लेखिएको हुँदा लयात्मक र गायन योग्य छन् ।
शीर्षक – यस कवितासङ्ग्रहमा धेरै कवितामा पीडाको सन्देश प्रवाह भएको  छ । पीडादेखि पीडान्त शीर्षकसम्म पीडाहरू मुखरित भएका छन् । यसो हुँदा शीर्षक सार्थक छ ।
निस्कर्ष –  
  यस कृतिले दिन चााहेको सन्देशको भावसारलाई विस्तृत रूपमा मैले माथि नै पस्किसकेको छु । यसमा समावेश गरेका प्रत्येक कवितामा कविले एकरूपतामा नभएर विविधतालाई समाएका छन् । यो कविको आफ्नै किसिमको विशिष्टता हो । कवितामा बिम्बको प्रयोग प्रचुरमात्रामा भएको देखिन्छ ।  कविताको महत्वपूर्ण अंश भनेको माओवादी शब्दको उच्चारण नगरी त्यस युद्धले सामाजिक, आर्थिक र राजनीति क्षेत्रमा पु¥याएको राष्ट्रिय क्षती हो भन्ने लाग्छ मलाई । पीडा र द्वन्द्व कवितालाई केलाउँदा यसलाई द्वन्द्वको दस्ताबेजको रूपमा लिन सकिन्छ । कवितामा कविले भौतिक र आध्यात्मिकतालाई समान रूपमा उठाएका छन् । राष्ट्रियता र राष्ट्रप्रेमका भावनाहरू पनि यहाँ गहनरूपमा उठाइएका छन् । मानिस भए पछि आफ्नो दायित्व, मानिसमा हुने मानवता, जीवनमा आइपर्ने विविध बाधा अड्चन, ती बाधा अड्चनबाट मुक्तिको चाहना, सन्तानप्रतिको धारणा र सन्तानले जीवनको अन्तिम क्षणमा निभाउन पर्ने कर्तव्यलाई कविले मार्गदर्शनका रूपमा उठाएका छन् । समग्ररूपमा काव्य गहन छ , पठन योग्य छ र प्रशंसनीय छ  । कविको दीर्घायु, सुस्वास्थको साथै सिर्जन्शीलता बढ्दै जाओस् भन्ने कामना सहित विदा चाहान्छु ।
 धन्यवाद  
 मिति २०८२ माघ २० गते, कावासोती नवलपुर