May 13, 2026

झोले महात्म्य

 
सदानन्द अभागी            

 सुन सुन सज्जन म केही भन्छु
 झोले शब्दको सवाइ कहन्छु
बहुत चर्चित शब्द झोले आज
साह्रै अभ्यस्त भयो हाम्रो समाज

झोल बाट यसको उत्पत्ति हुन्छ
आकार थपेपछि यो झेला बन्छ
झोल भन्दा तरल सम्झनु पर्छ
वहने गुण हो सधैं बग्दै गर्छ

झोलमा एकार थप्दा झोले बन्छ
यसले पनि आफ्नो स्वाद नै दिन्छ
झोला, झोल र झोले स्थान विशेष
महत्वपूर्ण छन् भर्दछन् अशेष

झोल जीवन जल समान ठानौं
रसदार जीवन राख्द छ मानौं
जीवकोषमा यसको हुन्छ बास
झोल नै जीवनको रस हो खास

झोलको उपस्थिति सर्वस्त्र हुन्छ
शून्यतामा जीवको अस्तित्व मेट्छ
कुनै–कुनै रूपमा उपयोग हुन्छ
झोलको महिना सवले गाउँछ

बच्चाले पिउने त झोल हो दूध
आमाले चुसाउने गर्छिन् खुद
 आमाले खानुपर्ने जुवाने झोल
बढ्छ छातिमा झोल अनमोल

आमाको दशधारा हो त्यो अमृत
त्यसै बाट हुन्छ त्यो तन सिँचित
बालक शरीर हुन्छ  विकशित
शंका गर्नु पर्ने त छैन निश्चित

झोलको इतिहास लौ पुरानो छ              
अमृत–विष घडा प्रमाणित छ
सिन्धु मन्थनमा सुधा–विष प्राप्त
सुधा प्राप्त गर्न दुवै ललायित

अमृत–विष हुन् हेर कडा झोल
यी पान हुन्छन् सबको अनमोल
देवासुरको चल्यो यहाँ सङ्ग्राम
विषाक्त हुने भयो विश्व तमाम

विष पान गर्ने को बन्छ  महान
निक्लेन त्यहाँ कुनै वीर जवान
निक्ले शिवजी बने कल्याणकारी
समस्या समाधान भो त्यहाँ भारी

विष झोल पान कर्ता शिव हेर
निलकण्ठ नामले प्रख्यात धेर
विषपान कर्ता शिव कल्याणकारी
विषका झोले शिव बने संसारी

झोल पनि हेर थरि थरि हुन्छन्
सबको मन इच्छा सेवन गर्छन्
खोले पनि रसदार खाना हुन्छ
धनीको भन्दा गरिव–खाना बन्छ

रक्सी पनि अति प्रचलित झोल
सबले पिउँछन् गर्छन् खल बल
यसबाट भोक कहिल्यै मेटिन्न
प्याला प्याला सकिन्छ पछि हटिन्न

रक्सीवाल पनि छन् थरि थरिका
नाक समाइ स्वात्तै पार्ने तरिका
कोही नून ढीकासँग रक्सी खाने
कोही रक्सीसँग सितन चाहिने

कोहीलाई भट्टमास भए पुग्छ
कोही धेरै थरि परिकार खोज्छ
मासु नभै रक्सीको भागै नबस्ने
सित्तैमा पाए दश बोत्तल घिच्ने

रक्सीको भरमा वर्ग विभाजन
धनी गरिब हुने छ पहिचान
कोही अन्तराष्ट्रिय स्तरका झोले
बहुमूल्य रक्सी प्यालामा घोले

झोलेको झोला हेर साथमा हुन्छ
झोलाबाट उसको स्तर जाँचिन्छ  
हेर्दा झोलेको हाउ भाउ देखिन्छ
यसैले झोलेको सम्पन्नता दिन्छ

झोला प्राय सबैले बोकेका हुन्छन्
आफ्ना या अरूका मmोला बोक्छन्
आफ्ना आफ्ना झोला बोक्नु यथार्थ हो
आफ्नो काम आफै गर्नु उचित हो

यहाँ झोला बोक्नु स्वभाविक हुन्छ
 यत्ति कुन झोलाले सन्तोष दिन्छ
 राजनीतिक झोला गहु्रङ्गो हुन्छन्
 झोलेहरू गौरवान्वित ठान्छन्

झोला मालिक छन् आपसमा सन्त
लडाउँछन् झोलेलाई हुँदैन अन्त
मरुन् बाँचुन् झोले कुनै छैन पीर
सान्त्वना दिदै भन्छन् रहेछौ वीर

झोले शब्द किन अति प्रचलित
जनताको आज भएन लौ हीत
देशको अवस्था कोही देखदैनन्
जनताको क्रन्दन कोही सुन्दैनन्