May 15, 2021

वरिष्ठ सात्यिकार सदानन्द अभागीसँग राम ज्ञावलीले गरेको भलाकुसारी

 
(प्रचलित नाम  सदानन्द जैसी  र उपनाम सदानन्द अभागीले चिनिने, बाबु  स्व. कलाधर रिजाल र  आमा  स्व. नन्दकली रिजालका जेष्ठ सुपुत्रको जन्म खास २००३ साल श्रावण १गते पर्वत शंकरपोखरी–४मा जन्म भै हाल कावासोती न.पा. ७ नवलपुर स्थायी बसोबास गर्ने वरिष्ठ साहित्यकार सदानन्द  आभगी, जसका नेपाली साहित्यका विविध विधामा करिव तीन दर्जन र माटो  विज्ञानसँग सम्बन्धित, किताव, बुकलेट, अध्ययन प्रतिवेदन आदि गरेर करिव तीन दर्जन कृतिप्रकाशन  भएका छन्, सँग राम ज्ञावलीले गरेको भलाकुसारीको सारसङ्क्षेप)
पहिलो प्रश्न –लेखमा भाग्यमानी कर्ममा कसरी अभागी हुनु भयो ?तपाइँ अभागी उपनामबाट  चिनिनु पर्ने रहस्य के  हो ?
उत्तर– लेखमामात्र नभएर कर्ममा पनि भाग्यमानी नै हुँ । उपनाममामात्र अभागी हुँ भन्नु प¥यो  । खास रहस्य मलाई सानोमा इञ्जिनियर बन्ने इच्छा थियो । आर्थिक अभावको कारणले पढ्ने मौका पाइन र अभागी भएको  महसूस भएर अभागी उपनाम  लेख्न थाले  ।
प्रश्न नं –२. यत्तिका कृति लेख्ने तपाइँ जति  चर्चामा आउनु पर्ने हो त्यति आए जस्तो पाइएन–देखिएन ? किन यस्तो ? कि मेरो भ्रममात्रै हो ?
उत्तर–एकत मेरो उपनाम र प्रचलित नामले पनि केही  असर गरे होला !  मेरो प्रचलित नाम सदानन्द जैसी हो । मैले कृषितर्फ ( खास गरेर माटोमा ) पनि लेख लेख्छु  ।  कृषिमा सदानन्द जैसी नाम जति चर्चामा छ । मलाई माटो  वैज्ञानिक या कृषि हाकिम भन्न सर्बधारणले जति महत्त्वका साथ  नाम उच्चारण गर्छन् साहित्यकार भनेर नाम उच्चारण हुँदैन । कृषिकार्यक्रममा नेपाल टेलिभिजनबाट पनि धेरै कार्यक्रम पनि चलाएको थिएँ, समय समयमा कृषि सञ्चारको रेडियो बाट पनि अन्तरवार्ताहरू  माटो सम्बन्धि लेखहरू, कृतिहरू,ठूलो संख्यामा छापेर देशव्यापी रूपमा बितरण भएकाले पनि सदानन्द जैसी नाम जति प्रचलित छ सायद सदानन्द अभागी त्यति चर्चामा नहुन सक्ला, मलाई थाहा  हुने कुरा भएन । अर्को कुरा कृति लेखेरमात्र हुँदैन कृतिको वितरण पनि हुनु प¥यो र कृतिकारले भव्यरूपमा विमोचन गराउने र कृतिमा बृहत् साहित्यिक छलफल गराउने काम गर्दा  धेरै चर्चामा आइन्थ्यो होला ? म यी दुबै काममा अल्लि पछि छु तापनि करिब ३ दर्जन संस्थाले अभिनन्दन÷सम्मान गरिसकेका  छन् । त्यसोहुँदा चर्चामा पछि छैन जस्तो लाग्छ   ।
प्रश्न –३, साहित्येतर  ३ दर्जन भन्दा बढी एवम्  साहित्यिक विधामा पनि ३ दर्जन भन्दा केही बढी कृति लेख्ने तपाइँले डेढसय वर्ष  पहिले बरालको आँशु कृति प्रकाशन गर्ने  बहादुर सिंंह  बरालले जस्तै न्याय  नपाउन नै हो त ? तपाइँको यस्तो महत्त्वपूर्ण कर्म वा व्यक्तित्त्वप्रति खेलवाड  गर्ने  को को हुन्  किटेर  भन्न मिल्छ ? तपाइँलाई  ती व्यक्ति किन यस्तो गर्न उद्यत भए  भन्ने लाग्छ ?
उत्तर–नेपालमा हरेक क्षेत्रमा खुट्टातान्ने प्रवृत्ति छ र साहित्यमा पनि छ  कि भन्ने जानकारी लिन यो प्रश्न गरे जस्तो लाग्यो । हो साहित्य लेखनमा पनि  होच्याउने  प्रवृत्ति देखिन्छ तर म यसमा विश्वास गर्दिन । कुनै पनि प्रतिभावान व्यक्तिलाई कसैले होच्याउँछु भन्ने दुस्साहस गर्छ भने सूर्यलाई हत्केलाले छेक्नु सरह हो । एउटा कुरा के भने कुनै पनि कृतिको मूल्याङ्कन कर्ता पाठक हुन् । पाठक समक्ष कृति पुग्नु पर्छ । अर्को न्याय सम्बन्धमा मलाई लाग्छ लेखकको काम लेख्ने हो र न्याय पाइन भनेर, न्याय खोज्न हिड्ने होइन । डेढसय वर्ष  पहिले बरालको आँशु कृति प्रकाशन गर्ने  बहादुर सिंंह  बराल आज चर्चामा छन् र उनका कृति आज  खोजी खोजी पढ्न थालिएको छ ।
प्रश्न४– जस्ले जे जस्ता कर्म गरे पनि यहाँको कलम, मस्तिष्क, सकुन्जेल थाक्दैन होइन त ?

पश्न. ५– यतिका लेखेर, यतिका विधामा कलम चलाएर समाज–र।ाष्ट्रलाई के दिएँ ÷ दिइरहेको छु भन्ने लाग्छ  यहाँलाई ?
उत्तर–नेपाली साहित्य र माटो विज्ञानको विषयमा मेरो कलम चलेको  छ । ने्पाली साहित्यमा सबैले योगदान  दिए  सरह नै मैले पनि नेपाली साहित्यको समृद्धिको लागि प्रयासरत छु  । माटो विज्ञान सम्बन्धि लेखबाट किसानको लगानीमा उत्पादन बढाउने तर्फ योगदान पुगेको  छ जस्तो लाग्छ ।
प्रश्न.६– जुन जुन विद्यामा कलम चलाउनु भएको छ ती विधाप्रति बुझाइवा मान्यता के रहेको छ ?
उत्तर– साहित्यका जुन विधामा कलम चलाए पनि सबैको उद्देश्य भनेको समाजलाई गतिशील बनाएर एउटा सिर्जनशील समाजको निर्माण गर्नु हो । समाजमा भएका विकृति विसङ्गतिलाई न्युनिकरण गर्दै देश निर्माणका लागि सक्षम, स्वावलम्वी,इमान्दारी, नैतिकवान, राष्ट्रप्रेमले ओतप्रोत नागरिकको सिर्जना गर्ने हो । यी नै मान्यतामा आधार बनाएर साहित्य सिर्जना गरिन्छ भन्ने लाग्छ मलाई।  
प्रश्न  ७ .यथार्थमा भन्दा साहित्य के रहेछ ? जीवन र साहित्यको सम्बन्ध कस्तो हुँदो रहेछ ? साहित्य  विनाको संसारको कल्पना हुन सक्छ त ?
उत्तर– साहित्य समाजको दर्पण हो । जीवन र साहित्यको सम्बन्ध नङ र मासुको जस्तो  (अभिन्न अङ्ग  जस्तो) हुन्छ । साहित्य विनाको संसारको कल्पना गर्न सकिदैन ।
प्रश्न –८. यहाँ ईश्वरीय अस्थालाई श्रद्धापूर्वक स्वीकार्नु हुन्छ होइन त ?धर्म, ईश्वर र पुनर्जन्मप्रति तपाईको  धारणा÷विश्वास के कस्तो छ ?
उत्तर–यो संसार हाँक्ने एउटा अदृश्य शक्ति छ भन्ने कुरा श्रद्धापूर्वक स्वीकार्छु  । धर्म भन्ने असल आचरण हो । असल आचरणकै बलमा मानिसहरू  ÷ धर्मावम्वीहरू शक्तिशाली बन्दछन् ।  हाम्रो दर्शनले स्वर्ग नर्क, पुनर्जन्मलाई मान्यता दिएको छ । यही दर्शनलाई अङ्गिकार गरेपछि यी सबै स्वत स्वीकार्य  भएको मानिन्छ । पुनर्जन्मको कुनै वैज्ञानिक आधार छैन तर हाम्रो मस्तिष्कमा यो अति गहिरोरूपमा अवस्थित भै सकेको छ र कहिलेकाँही मुखबाट निस्किहाल्छ 'पूर्वजन्मको फल' । स्वर्ग र नर्कको सम्बन्धमा मेरो अलिक फरक मत छ । मानिसले यस संसारमै स्वर्ग  र नर्कको अनुभूति गरिसकेको हुन्छन् र अर्को स्वर्ग प्राप्ति गर्छु भनेर डर र ढोंगको भरमा दकुरीराख्न आवश्यक देख्दिन ।
प्रश्न–९. तपाईँको विशिष्टकृत विधा के ,भनेर सोधे जवाफ के रहन्छ ?
उत्तर–साहित्यका नाटक बाहेकका विधामा कलम चलिरहेका छन् । पछिल्लो अग्रता समालोचनाले लिएको छ ।
प्रश्न. १०–हालसम्म  लेखेका विधा वाहेक अरु विधामा पनि कलम चलाउने योजना छ कि ?
उत्तर–समय बलवान हुन्छ । समयले  कता डो¥याउँछ ? अहिले  नै  भविष्यवाणी गर्दिन ।
प्रश्न. ११–तपाइँको लेखन मौलिक, बस्तुपरक, यथार्थ परक छन् । अझै  भनौं लेख्नै पर्ने विषयमा यहाँको कलम चल्छ ।  सस्तो प्रेम छैन । कोरा भावुकता छैन । नाराबाजी छैन । समाज र  राष्ट्र चिन्तामा केन्द्रित छन् । माटो मुटुका सवाल छन् । प्रौढ परिपक्क लेखन छ । देश दुखेको चिन्ता छ । यी भनाइमा तपाइँको स्वीकार्यता छ ? यी  विषय बाहेक अरु पनि विषय के के आएका छन् आफ्नो लेखनमा ?
उत्तर–नाराबाजी छैनन् भन्नुको सट्टा समाजका आवाज घन्केका छन् भन्नु राम्रो हुन्थ्यो कि ? किनकी कुनै पनि लेखकले आफ्नो लेखनमा भन्न चाहेका कुरा बुलन्द आवजमा प्रस्तुत गरेका हुन्छन् ।  सुन्दर समीक्षा प्रस्तुत गर्नु भएकोमा धन्यवाद छ । मेरो 'माटो  र बिरुवाले भोक लाग्यो भन्छन्' नामक (कृषिकाव्य) माटो  व्यवस्थापनका विषयमा प्राविधिक ज्ञान प्रदान गरेको छ । कृषि मन्त्रालय,  कृषि संचार महाशाखाले ६००० प्रति छापेर देशव्यापीरूपमा वितरण गरेको छ । यो निकै उपयोगी ठानिएको छ ।
प्रश्न.१२ –समालोचना लेखनमा किन तपार्इँ खरो र दह्रो भएर उपस्थित नहुनु भएको हो ? किन प्रभाववादिता  वा गुणग्राहितालाई बढी जोड दिदै  आउनु  भएको छ ?
 उत्तर–मलाई लाग्छ मेरो समालोचनाहरूको लेखाई खरो र दह्रोमात्र नभएर समुच्च कृतिको र   कृतिकारको लेखन क्षमतालाई प्रस्तुत हुने गरी लेखिएका छन् । कृति र कृतिकारप्रति भूमिकाकारको धारणा, प्रकाशकको धारणा र शुभकामना आएका अभिव्यक्ति लगायत स्वयम् कृतिकाको कृलि लेखनप्रतिको उद्देश्य समेतलाई समेटेर लेखिएका समालोचनालाई प्रभाववादिता वा गुणग्राहितामा लगेर जोडदा अन्याय भए जस्तो लाग्यो । केवल कमी कमजोडीलाई मात्र केलाएर समालोचना गर्दा कृतिकारप्रति अन्याय हुन जान्छ । मैले गरेका समालोचनाले समुच्च कृति र कृतिकारका सिर्जना शक्तिलाई दह्रो र खरो रूपमा मूल्याङ्कन गरेको हुन्छ ।
प्रश्न १३.–कस्ता कविता, कस्ता कथा, उपन्यास कस्ता कस्ता खाले काव्य र फुटकर कविताहरू पाठकले  औधी रुचाएको पाउनु  भयो, सिर्जनाको  कालजयिता के  केले निर्धारण गर्दो रहेछ ?
उत्तर– तपाइँले प्रश्न नं ११मा सुन्दर समीक्षकको रूपमा मेरो सिर्जनाको मूल्याङ्कन गर्नु  भएको छ र नपुग कुरा मेरो उत्तरमा समावेस गरेको छु । यिनै रचनाहरू पाठकले मन पराएको भन्न  चाहान्छु । अर्को कुरा समसामयिक घटनाक्रम भन्दा दीर्घ प्रभाव पार्ने खालका सिर्जना नै कालजयी हुन्छन् । समाज ,राष्ट्र, राष्ट्रियतालाई सम्बोधन, सम्बर्धन गर्ने खालका र लेखरचनाले समाजलाई कुपर्था, कुरीति, अन्धविश्वासबाट मुक्त गराउने खालका परिवर्तनशील सन्देश सिर्जनाले दिन सक्नु पर्छ ।
प्रश्न १४,कुनै न कुनै कृतिमा त यहाँ  अत्यान्त चर्चित हुनुहुन्छ होला ? चर्चाका कारण के के रहे, कलम चलाएको जति विधामा पाठक राम्रै पाउनु भएको छ ? उनीहरूबाट प्रतिकृया के कस्ता आइरहेका छन् ?
उत्तर –मैले मथि नै भनि सकें व्यक्ति र लक्ष्मीस्मृति साहित्य समाजबाट प्रकाशन भएका कृतिहरूको वितरण सबै साहित्यकार समक्ष पुग्न सकेका छैनन् । जे जस्ले  प्राप्त गरेका छन् सकरात्मक सन्देश दिएका छन् ।अन्लाइनमा राखिएका लेख रचनाको प्रतिकृया राम्रो देखिएको छ ।
प्रश्न १५. अबका दिनमा विधागत साहित्यको भविष्य के कस्तो आँकल गर्नु  भएको  छ साहित्यको समृद्धि के के कुराले हुन्छ ?
उत्तर –हालको विधागत परिवेशलाई हेर्दा गजलले व्यापकता छाएको छ । अरू विधाहरू पनि क्रमस अघि बढिरहेका छन् । साहित्यकारहरूले विविध विधागत विषयमा जस्तै तान्का हाइकुमा पनि कलम चलाएका  छन् । हाम्रा कृतिहरूको  विभिन्न  विदेशी  भाषामा अनुवाद जे जति हुनु पर्ने हो त्यो हुन सकेको छैन । नेपाली साहित्यको समृद्धिको लागि नै भनौ विभिन्न अन्तराष्ट्रिय क्षेत्रमा पुगेका नेपालीले पनि साहित्यिक संस्था खोलेर सेवा दिदै आएका  छन् । छिमेकी देश भारतका दार्जिलिङ, सिक्किम, असम, देहरादुन आदि स्थानको साथै, ब्रह्मा, भुटानमा पनि नेपाली साहित्यको मात्र नभै नेपाली  संस्कृतिको लागि नेपालीभाषी जुटेका छन् तर दुखको साथमा भन्नुपर्छ कि नेपालका सत्तामा आशिनहरूले नेपाली साहित्यप्रति र साहित्यकारप्रति ध्यान दिन सकेका छैनन् र सरकारी साहित्यिक संस्थामा पनि ख्याती प्राप्त साहित्यकारहरूले भन्दा सत्ताका नजिकले नै स्थान ओगटेका छन् । साहित्यको समृद्धिको लागि सरकार, साहित्यकार, जनता सबैको एकजुट या एकीकृत प्रयासको खाँचो छ ।
प्रश्न १६  यहाँले कसैको कृतिमा भूमिका लेख्नु भएको छ  कि ? के कति ?
उत्तर–खड्गप्रसाद श्रेष्ठका तीन कृतिमा समीक्षकीय  भूमिका निभाएको छु ।
प्रश्न–१७. नवोदितका  लागि प्रेरक ÷मार्ग दर्शक बन्नु भएको  छ –छैन ?
उत्तर–यस विषयमा मलाई थाहा छैन । बने या बनिन ।
प्रश्न १८. साहित्यकारले साहित्य  लेखेर सार्वजनिक गरिरहँदा पाठकको खडेरी पर्दै गएको  पनि सुनिन्छ । यो आरोप हो या सत्य हो ? यदि यस्तो हो भने कसका लागि लेख्ने ? कुनै कृति त असाध्यै पढिएको बजार  तताएको  पनि सुनिन्छ । कृतिकारले मन  जित्ने विषयको लेखन गर्न नसकेर पो हो कि पाठक नभएको  ?
उत्तर– तपाइँले औंल्याएका सबै प्रश्नको उत्तर थोरै मात्रामा तपाइँले भने जस्तो पनि हो भन्न सकिन्छ तर एकातिर संसार आज साँगुरिँदै गएको छ ।संसारका जुनसुकै कुनाकाप्चाका साहित्यिकदेखि विविध जानकारी निमेषमै अध्ययन गर्न पाइन्छ अर्कोतिर मानिसहरू आज विविध कामले गर्दा व्यस्त छन् । मनिसलाई कसको कृतिमा के छ भनि खोज तलास गर्नुभन्दा आपूmलाई आवश्यक परेको जानकारी फेस बुकबाट या इन्टरनेटको माध्यमबाट जानकारी लिन सक्छन् । त्यसोहुँदा न पाठक घटेका छन् न लेखक नै घटेका छन् बरू लेखकले पाठकलाई दिन खोजेको संदेश सार भाव बुँदागतरूपमा दिएर लेखको पूर्ण पाठ इन्टर नेट या फेसबुक मार्फत दिन सक्यो  भने अवश्य सो सम्बन्धि जानकारी लिन चाहनेले त्यो लेख रचना सहजै पढ्छ र  प्रतिक्रिया दिन्छ ।  
प्रश्न १९. तपाईलाई कर्म अनुसारको सम्मान मिलेको छ त समाज÷राष्ट्रबाट ? सन्तुष्ट हुनु हुन्छ पुरस्कार ÷सम्मानबाट ?  
 उत्तर–हो समाज र राष्ट्र अन्तराष्ट्रबाट मैले गोर्खादक्षिणबाहु चौथादेखि, त्रिमूर्ति एवार्ड सहित करिब ३ दर्जन संस्थाबाट सम्मान पाएको छु, । जहाँसम्म सन्तुष्टिको कुरा गर्दा म असन्तोषी  हुन पर्ने कुनै कारण देख्दिन । सन्तोष भन्नु क्षणिक अनुभूति हो । यो दीर्घकालिन हुँदैन । मानिस महत्त्वाकाङ्क्षी हुन्छ । अझै महत्त्वाकाङ्क्षा राख्नु स्वभाविक हुन्छ ।
प्रश्न. २०–साहित्यमा कहिलेसम्म के के  गर्ने योजना छ यहाँसित ?समय व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ  ? तपाईँले  लेखेका कृतिबाट के कस्ता पक्षलाई फाइदा पुग्यो ?
उत्तर – मस्तिष्क, सास र हातले साथ दिएसम्म लेखन क्रिया रहने छ  ।साहित्य लेखन प्राय बेलुक ९÷१० बजे र विहानीपख ३÷४ बजे बाट ६ बजेसम्म गरिन्छ र यस भन्दा पछि, घरको साथै सामाजिक सेवामा  सम्लग्न राख्दै आएको छु । कृतिबाट फाइदा त एउटा लेखकले समाजलाई सन्देश दिन लेखेको हुन्छ । समाजले फाइदा लियो लिएन भन्ने कुरा अध्ययन कर्तामा नै निर्भर रहन्छ । कृषिका कृतिहरूले किसान, कृषिका प्राविधिक, कृषिका विद्यार्र्थीलाई फाइदा पुग्छ भन्न सकिन्छ ।
प्रश्न. २१.–केही भन्नु छ, अन्त्यमा ?
उत्तर, आजको समय, परिस्थिति बद्लिँदो छ । युवा वर्गले यी परिवर्तनलाई सहजै आत्म साथ गर्न सक्ने भएकोले परिवर्तित समाज र समयलाई पहिचान गरेर, लेखन कलालाई आधुनिक सुविधालाई उपयोगमा ल्याई नेपाली साहित्यलाई विश्वव्यापी करण गर्दै जानु आवश्यक देखिन्छ । हामी पुरानो परम्परामा बढेका र लेखेकाहरू पनि आधुनिक  सुविधालाई सकी नसकी अनुसरण गर्दै परिपक्क हाँकलाई विश्वव्यापीकरणतिर अग्रसर हौं भन्दै, मेरो धारणालाई  सबै समक्ष राख्दै विदा चाहान्छु ।
धन्यवाद

No comments:

Post a Comment