March 27, 2025

भद्राञ्जली खण्डकाव्यमा विवरणात्मक अध्ययन



सदानन्द अभागी
विषय प्रवेश–
भद्राञ्जली भद्रकुमारी घलेको बारेमा लेखिएको खण्ड काव्य हो । यस काव्यका सिर्जनाकार हुन् इन्द्रराज पौडेल । भद्रकुमारी घले साहित्यकार, समाजसुधारक, समाजसेवी र एक राजनीतिज्ञको रुपमा चिनिएकी बहुप्रतिभाकी धनी व्यक्तित्व हुन् । काव्यकारले यस काव्यमा भद्रकुमारी घलेको विविध पक्षलाई समेट्नु भएको छ । कृति आवरण पृष्ठ बाहेक ६४ पृष्ठमा सिर्जना गरिएको छ । अग्रआवरण पृष्ठमा भद्रकुमारी घलेको तस्विर छ भने पछिल्लो पृष्ठमा रचनाकारको परिचय दिइएको छ । यस काव्यले वरिष्ठ साहित्यकार खगेन्द्र गिरि 'कोपिला'को शुभकामना प्राप्त गरेको छ । खण्डकाव्यको बारेमा स्वयम भद्रकुमारी घलेले लेख्नु भएको छ– ' मैले तपाइको रचना पढेपछि रोएँ । तपाइँले देखाएको सद्भावना ,तपाइले देखाएको माया, श्रीमती देवु मल्लज्युले माटोलाई सुन बनाउन आको थियो । तपाईले त त्यस सुनमा नवरत्न जोडिदिनु भए छ ।' स्वयम नायिका बाट यस्तो उद्गार आउनु काव्य सफल भएको ठान्नु पर्दछ । यसरी नै काव्यकार इन्द्रज्यूले लेख्नु हुन्छ– अनाथ अवला , शोषित पीडित निरीहहरूको सहारा भएर, चहराइ रहेका घाउमा मलम लगाउने कर्ममा अविरल खटीरहे कि भद्रकुमारी घलेज्यूको भोगाई आद्योपान्तले महाकाव्यको रुपलिन सक्छ । तर मैले मात्रघलेज्यूको लघु व्याख्या गर्न सके ।' इन्द्रज्यूका खण्डकाव्य महाकाव्यलाई खुम्च्याएर लघु काव्यको संज्ञा दिइएको छ । यस कृतिको प्रकाशन भद्रकुमारी घले साहित्य संरक्षण मञ्च ज्ञानेश्वर , ३३ काठमाडौले गरेको छ । यसै मञ्चका अध्यक्ष प्रकाश समीरले प्रकाशकीय लेख्नु भएको छ । प्रस्तावना सहित यस अण्डकाव्यको विविध १२ उपशीर्षक र २६५ श्लोकमा काव्यलाई सिर्जना गरिएको छ ।
कथासार –
प्रस्तावनामा– १४ श्लोक समावेश गरिएका छन् । काव्य लेखनमा मङ्गला चरणबाट थालनी गर्ने चलन रही आएको छ । यहाँ कविले नेपालको प्राकृतिक वर्णन गर्दै नेपाललाई नमस्कार भन्दै काव्यको थालनी गरेका छन्–
शीरमा सेतो हिमालको टिको गलामा जलाधार
सुन्दर शोभा हरित वन गुराँसे राता हार ।
डाडा र पाखा दोभान दुन पहाड बेँसी टार
सर्बोच्च बाट पहिलो झुल्को नेपाल नमस्कार ।।
(श्लोक १ पृष्ठ ७)
नेपाल रुपि बगैंचामा नाना रङ्गिन फूलहरू फुलेका छन् । सबैका भावना प्राप्त गर्न सके नेपाल हाँस्छ र नेपालीहरूलाई नेपालप्रति गौरव र भाषा र भेषमा अपार माया छ ।यहाँ डाँफे खेल्छन् , मुनाल हाँस्द छन्, बसन्त बास्दै कोइली नाच्दछन् , यही विशाल हिमालमा शिव ,गौरी र गणेको बास छ ।यही देशमा गण्डकी, कोशी,कर्णाली र महाकालीको उछाल छ भने यसै देशमा जनक, बुद्ध, भृकुटीले जन्म लिए, यहाँका सरिताले पनि शान्ति र समृद्धि गाउँछन् । यस्तो शान्ति र स्वच्छ प्रवाह भएको देशमा जहर नघोलौं भन्ने धारणा कविको छ ।
जन्म लिँदैमा मात्र मानिस हुइन्न, मानिस बन्न त हंस चाहिन्छ । यस्ता हंस भएका मानिस संसारमा थोरै छन् । नेता भए पछि आर्जन गर्न छाड्नु पर्छ तर नेता बने पछि सुनका लिश्नो र चाँदीका ढोका निर्माण गर्ने र खातामा करोडौं जम्मा गर्ने चलन छ त्यो राम्रो होइन । नेताले त कृति कमाउनु पर्छ । असल शिष्ट मानिस बन्ने ज्ञान आर्जन गर्नु पर्छ । असल मानिस बन्नको लागि मानव धर्म मान्नु पर्छ तर आज साँचा सत्य मानिस देखिन छाडे, दानव पनि मावको पंक्तिमा आएर उभिन थाले । देशको लागि निस्वार्थ सेवा गर्नु पर्छ, बर्दीमा बसेर अन्याय गर्न मिल्दैन, चेतनशील हुनु पर्छ, चेतनशील भइयो भने सुवास हुन्छ । अभ्यास गर्नु पर्छ, दानवी भाव हटाउनु पर्छ,,आचार शुद्ध, सुशील,भएका भद्रकुमारी घले, तुलसी मेहर श्रेष्ठ, अनुराधा जस्ता सन्तान जन्माउनु पर्छ जस्ता धारणा सहित कवि भन्छन् –
छ भद्रभाव नेवाल भित्रै गान्धिको दर्शन
अझै छ बलभद्रीय जोश नेपाली गर्जन
खाँचो छ अनुराधा र भद्र हिडेको बाटोमा
सबैका भाव समेट्नलाई नेपाली माटोमा ।।
(श्लोक ११, पृष्ठ ९)
भद्र कुमारी घले सिर्जनशील, कलाले पूर्ण, स्रष्टा हुन यस्ता स्रष्टाले सम्मान याउनु पर्छ भन्ने सोचेर एउटा गीत गाएको हो । उनी समाज सुधार्नको लागि जीवनभरी कुमारी रहिन । उनको चाहना समाजरूपी बगैंचा भरी सुगन्ध उमार्न भनेर देहको उर्जा , यौवन खुन देशलाई दिएर आज जर्जर तन लिएर बसेकी भन्ने धारणाको साथ कविको तलको श्लोक सहित प्रस्तावना समाप्त हुन्छ –
गरेर धेरै समाज सेवा थाकेन भद्रमन
कर्मको लागि मानिस चोला दिंदैछ भद्रमन
उनैको लघु जीवन खण्ड काव्यको चिन्तन
धुलको फुल म सानो कवि कविता मन्थन ।।
(श्लोक १४, पृष्ठ ९)
भद्रका पुर्खा –
भद्रका पुर्खा गुरुङ्ग जातिका हुन् । यिनीहरू पूर्व मेचीदेखि पश्चिम महाकालीको पहाडी क्षेत्रमा फैलिएका छन् । ओराली उकाली चहुर पाखा हरिया डाँडाका सुन्दर स्थलमा बसोबास गर्दछन् । यी जातिका बारेमा कविले यसरी बर्णन गरेका छन् –
सोझा र आँटी फुर्तिला मान्छे श्रमका पुजारी
निडर मन कर्मेष्टि भाव युद्धका खेलाडी ।
लडेर विश्वयुद्धमा वीर चिनाए जगत्र
बिशिष्ट तक्मा भिरेर छाति देखाए सर्बत्र ।।
यिनको चेलीहरूको रूपरङ्गको वर्णन पनि प्रकृतिको सौन्दर्य सँग मिलेको कुरा यहाँ यसरी दर्शाइएको छ –
खाएका चिशो हिमाली हावा रङ्गिन पाखामा
गाएर मीठो नेपाली गाना मधुर भाकामा ।
डाँफेका रङ्ग चिटिक्क अङ्ग मुहार गुलाव
पहाडी चेली हाँसेर खेली गुराँसे सुवास ।।
(श्लोक ३,पृष्ठ १०)
यी जातिहरू जाँगर, सीप, पर्म, बनी, बुतो, कर्मको धर्म र मर्म आदि ज्यूनेसारलाई बुझेका हुन्छन् । पूर्खाले लमजुङ्गमा राज्य चलाएका, युद्धमा सीपालु,, देशप्रेमी, अपार शक्ति भएका धारणा राख्दै कविले यिनको वर्णन यसरी गरेका छन् –
सुनले नुन साटेर खाने पहाडै रमाइ
हिकमत वान गरेरै खाने पसिना चुहाइ ।
परेको टार्न देखाइ खुवी महत्व जानेका
वीरको कुल खेलेर रिश्की पेन्सिन थामेका ।।
(श्लोक ९, पृष्ठ ११)
घलेका पुर्खामा गजे घलेले युद्धमा बहादुरिता देखाएर भिसी तक्मा पाएका थिए । युवाहरूले साग, सिस्नु, आटो, पिठो, भ्याकुर, गिठो खाएर सुख दुख सहेर आफ्नो जीवन जगतलाई रोधीमा नाचेर रमाइलोसँग विताएका कुरा र महिलाहरूले राडी, पाखी, पस्विना बुन्ने,कपडा बुन्ने सिलाइ ,बुनाइका काम गर्ने सीप सिक्ने सिकाउने जस्ता कामको विवरण काव्यमा आएका छन् । काव्यकारले गूरुङ्ग जातिको वीरत्वको दिल खोलेर वर्णन गरेका छन् ।
जन्म र बाल्यकाल–
पौरख सीप जाँगर कला सजग कुलमा
जन्मेकी भद्रकुमारी घले सुगन्ध सुनमा ।
एन्नयाइस सय अठासी साल फागुन महिना
झरेकी भद्र कुमारी घले नेपाल भुइँमा
(श्लोक १ , पृष्ठ १४)
झक्त कुमारी घलेकी आमा भक्तकुमारी घले र पिताको नाम कृष्ण बहादुर घले हो । उनका बाजेको थलो ओखलढुङ्गा आमबोटे घले गाउँ हो र यही गाउँमा कृष्णबहादुर घलेको जन्म भएको हो । भद्रकुमारी घलेको जन्म भने काठमाडौ दिल्ली बजार महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेको ठाउँमा हो । भद्र कुमारी घले जन्मलाई लिएर कविले प्रतिभाशाली मानिस उज्यालो ठाउँमा जन्मनु पर्छ किनकी अँध्यारोमा अमूल्य हीरा पनि कौडी सरह हुन जान्छ । भद्रकुमारीको ओखलढुङ्गामा जन्मेको भए उनको तस्वीर अर्कै हुन्थ्यो भन्ने कविको ठहर छ । कविले फूलको उपमा दिएका छन् । फूल फुल्छन् तर सबै फूल मन्दिरमा चढ्दैनन् । कोही धुलोमा मिल्छन् । कोही गलाका गरिमा बन्छन् । कोही फूललाई सुन्दरीले शीरमा उन्दछन् । कविले फूल र मानिस सँग तुलना गरेर भन्दछन् । थोरैको मात्र सौभाग्य मिल्छ सुनमा सुगन्ध । हुनत फूलको जीवन फुल्नु, फल्नु, सुगन्ध छर्नु र झर्नु हुन्छ तर मानिसको भने कर्मको फल भोगेर मर्नु हुन्छ । यी धारणाका साथै कविले भद्रकुमारी घले के हो त भन्दै लेख्नु हुन्छ –
भद्र हो नारी फुलेकी फूल डालिमा कोमल
सुगन्ध आफै सिर्जना गर्न सक्षम सवल ।
अनेकौ चोट शोक र रोग सहजै पचेकी
आचार निष्ठा ओखति बल खपेर बाँचेकी ।।
(श्लोक ८, पृष्ठ १५)
भद्र कुमारीका बाबाले जागिर गर्ने आमाले पस्विना बुन्ने र घरको काम गर्ने, उनले राम्रै सिहार पाएकी र घरको आयस्ता पनि ठिकै रहेको थियो । भद्रको दुई बर्षको उमेरहुँदा बाजे अमरबहादुर बज्यै दिलाबजार पुगेर नातिनी भद्र कुमारीलाई साथमा लिएर फर्के छन् । आमाको ममता पाउने बेला भद्र कुमारी हजुरबा, हजुरआमाको साथमा हुर्किन । छोराछोरी आमा बाबुबाट टाढा हुँदा आमा बाबु र बच्चालाई पनि असहज हुनु स्वभाविक हो । यो असहजता पनि कहिले काँही भविष्य बन्ने संयोग बन्न जान्छ । कविले दार्शनिक अभिव्यक्ति पस्कदै भन्छन् । फूलको थुँगा मूर्तिमा चढ्न चुडिनु पर्छ । मानिसको चोला सुधार्नलाई खारिन पर्दछ । उन्नतीको लागि कहिले काँही रिश्क व्यहोर्नु पर्छ । दुख पीडा, व्यधन झेल्नु सक्नु पर्छ । सुनको शुद्धता जाच्नको लागि आगोमा खारिन्छ । मानिसको जाँच संघर्षबाट हुन्छ । संघर्षशील भद्रको पनि सहनशीलता सुदृढ हुँदै गयो ज्ञान बढ्दै गयो कुलकी फूल भएकोले सुगन्धकी प्रतिमा बनिन् । अबोध छँदै कठोर परीक्षाबाट उत्रिण हुनु पर्यो । उनको संघर्षको समीक्षा गर्न सहज छैन उनको भविष्यको सदिक्षा पनि दैवको हातमा छ भन्दै कविले यो शीर्षकको बिट मारेका छन् ।
शिक्षा दिक्षा – भद्रकुमारीको अध्ययनको समय निकै कठिन थियो । नारी शिक्षाको व्यवस्था थिएन तापनि उनले घरमै अक्षरारँभ गरेर पढाइमा अगाडि बढिन । जसरी तीखा तीखा काँडाको बोटमा सुन्दर फूल फुल्छ ् बासना छर्छ । अर्थात मानिसले सुनमा सुगन्ध थप्ने प्रयास हुनुपर्छ । इच्छा शक्ति भएको ठाउँमा उपाय हुन्छ । कसैले छेक्न सक्दैन । यहाँ कविले आफ्नो दार्शनिक अभिव्यक्ति भाग्यवादी सोचबाट माथि उठेर यसरी पस्केका छन् –
आँधीमा दियो जोगाउन सके उज्यालो भेटिन्छ
भावीले हैन सुनौलो आफै भविष्य लेखिन्छ ।
भद्रका पाना पल्टाइ पढौं विचित्र भेटिन्छ
संघर्ष शील जीवन भद्र घलेको देखिन्छ ।।
(श्लोक ५,पृष्ठ १८)
भद्र घलेका माहिला बुबा गोरखपुर भरतमा जागिरे थिए । पढाउनको लागि गोरखपुर लिएर गए । पढाइको नविन जीवन र नविन सिर्जनको थालनी भयो । महात्म गान्धी आश्रममा पढ्ने मौका मिलो । उनको रहन सहन फेरियो ।भारत भरखर स्वतन्त्र भएको थियो । गान्धीको दर्शनमा झुटको खेती नगर्नु सत्यमा अडिनु , शिष्टताको साथमा मानव सेवा गर्नु, कल्याण दाता बन्नु, सेवामा जुनी अर्पण गर्नु,मनको मैलो फालेर पवित्र बन्नु, अहिंसा र अहिंसाको पक्षमा रहेर क्रान्तिको अवलम्वन, जीवन साधा उच्च बिचार, सुपाच्य भोजन, जीवन शैलीको सुधार जस्ता गान्धीका दर्शनलाई आत्मसात गर्दै भद्रले पवित्रताको साथमा सेवामा लाग्ने अठोट गरिन् । गान्धीको दर्शनलाई बर्धामा बसेर तुलसी मेहरले प्रचार प्रसार गर्दथे । भद्र कुमारी घलेले यही बसेर पढ्ने, सीप सिक्ने अठोट गरिन् । म्याट्रिक परीक्षा पास, आइए परीक्षा पास, संस्कृतमा शास्त्री सफल, नर्सिङ, तालिम , घरेलु धन्दा, उद्दिम, सीप सङ्गीत रचने कला, गाउने मीठा ताल, खेल खेल्न, सिकेर भाग लिएर प्रथम पुरस्कार जितेर, धेरै पद र तक्मा आर्जन गरेका धारणाहरू काव्यमा आएका छन् । यस शीर्षकमा काव्यकारले सफलताको लागि के गर्नु पर्छ भनि मार्गदर्शन पनि दिएका छन् –
सफल हुन मनुस्यलाई लगन चाहिन्छ
लगन भए अवस्य पनि सफल भइन्छ ।
लक्षको छुन अगाडि सरी समाए राम्रा धार
जितिन्छ भन्ने अठोट लिए हुँदैन पक्का हार ।।
श्लोक २४, पृष्ठ २२
भद्रकुमारी घलेले उच्चशिक्षा कसरी हाँसिल गरिन् भन्ने निष्कर्ष पनि काव्यकारले यसरी दिएका छन्–
पवित्र भाव चरित्र स्वच्छ कर्ममा निखार
चाहिन्छ दृढ स्वभाव आँटी अठोट विचार ।
आदर्श निष्ठा सिद्धान्तवादी कर्मेष्टि भएर
गरेकी उच्च हाँसिल शिक्षा सहास गरेर ।।
श्लोक २५, पृयठ २२
पित्री शोक –
यो ध्रुबसत्य हो कि जम्नेपछि जीव मर्दछ । तर भद्रकी आमालाई अशोभनीय र असहनीय अवस्थामा दैवले चोट पारेको धारणालाई काव्यकारले यसरी वर्णन गरेका छन् –
पच्चिस वर्षे कलिलो वेला लाऊँ र खाऊँ मन
लरक्क चुल्ठो कोरी र बाटी सजाऊँ हुँदा तन ।
रहर भेल कर्लदो बेला बासन बैंशको
मुटुमा चोट पर्यो नि कठ्ठै निष्ठुरी दैवको ।।
(श्लोक १, पृष्ठ २३,)
मानिसको नियती यस्तै हो । जे परे पनि सहनै पर्छ । त्यो कलकलाउँदो जीवनमा असह्य पीडा बोक्नै पर्यो , चम्धारा रुँदै पीडाको रागमा जल्नै पर्यो , श्रृङ्गार शोभालाई सिस्नाको धारीम फाल्नै पर्यो, सिन्दुर पोते, नाडीका चुरा सबै सुन्दरताका लालिमा खोसिए र वैधव्य सारीमा उभिनै पर्यो । पतिका साथमा रहर प्रुा गर्ने,उद्योग गर्ने ,पाखुरी जोडेर मेलाहरूमा घुम्नज जाने सबै कर्महरू दैवबाट हरिए । यस्तो आमाको अवस्थामा भद्रको मन पनि वेहाल हुनु, मुटुमा चोट पर्नु आमालाई नरोऊ भन्ने सहास पनि नआउनु, बाक्य पनि नपाउनु जस्ता कारुणिक धारणा साथ काव्यकारले भन्छन्–
बाबाको माया सहारा सबै शीलमा छाँटियो
जीन भर संझना मात्रै मुटुमा टाँसियो
व्याकुल बरा भएकी भद्र दैवको चोटमा
विहिन बाबा, विधुवै आमा कलेठी ओठमा
श्लोक ७, पृष्ठ २४
पिताको मृत्युको पीडालाई सहनै पर्ने, मनलाई बुझाउनै पनेर्, आइपरेका घटनालाई बाध्यतामा लिनै पर्ने जस्ता कारुणिक धारणा सहित कविको कथन छ –
रगत जली बनेका आँशु गहमा झराइ
जिउने अर्थ मनुष्य चोला भएछ बुझाई ।
दर्याइ मन दुखेको चित्त आफैले सुधारी
दवाइ कम अन्तर पीडा मनको बुझाई ।।
(श्लोक १२, पृष्ठ २५)
मानव चोलामा जे परे पनि जस्तो परे पनि मानिसले प्रगतिलाई भुल्न हुँदैन ।त्यसो हुँदा भद्रकी आमाले आफ्ना पाउलाई दह्रो बनाएर, संघर्षमा जुटेर, जीवनको मूल्यलाई बुझेर छोरीलाई सहास भराएर, लेखाइ पढाइमा लगाएर, सुख र दुखलाई जीवन साथी ठानेर, गृहस्त जीवन धानेर, सन्ततीलाई माथि उठाउन भद्रकुमारीभिक्र अचम्मको शत्ति कुँदेर भराइन् र जङ्घार तर्न सक्ने क्षमता बढाइन् । भक्त कुमारी कसरी अगाडि बढिन् भन्ने धारणा यसरी आएका छन् –
दया र सेवा अर्पण गर्ने हृदय लगन
प्रयास धार पसिना पोखी उद्दिम गरन ।
भएर दृढ मनको शोक शक्तिमा बदल्दै
अडिलो पन दरिलो ख्याल मनमा बसाल्दै ।।
(श्लोक १७, पृष्ठ २६(
भक्तकुमारी घलेले प्रगतितिर लम्कनको लागि विगतलाई भुलेर प्रयास बढाइन् र उनी चुली छुने प्रयासमा लागिन् । यस विषयलाई कविले राम्रो विश्लेषण गरेका छन् –
कसैका लागि पीडाको क्षण रोएर गुजार्न
कसैको भने बन्दछ कडी जीवन सुधार्न ।।
कसैका लागि परीक्षा ठीक मोडमा फर्कन
कसैका लागि जीवन पाटो बन्दछ दर्शन ।।
श्लोक १९, पृष्ठ २६
संसारमा आँधी आउँछ । खहरे खोलाहरू उर्लन्छन् र चडकने पर्छ, । विध्वंस पार्छ र रोकिन्छ । अभागी मानिस घानमा पर्छ र पुर्पुरो समाउँछ । यसरी पुर्पुरो समाएर रोएर मुक्ति प्राप्त हुँदैन । यस्तो क्षणिक विपक्तिबाट मुत्ति प्राप्त गर्न त उद्दिमतिर लम्कनु पर्छ । वितेका घटनालाई भुल्नु पर्छ र काम गरेर पौरखी पथमा उभिनु पर्छ । यस्ता गहन मार्गदर्शनको साथ भद्र धलेको दर्शनलाई कविले यसरी पस्कदै यो उपशीर्षकको बिट मारिन्छ –
पध्यति आफै सुधारौं आफ्नो भद्रको बुझाइ
मिल्दैन मुक्ति रोएर मात्रै परेली भिजाई
खुट्टामा आफै उभिनु पर्छ प्रसिद्धि आर्जन
कर्मको मेसो सुधार भन्छन् भद्रको दर्शन ।।
(श्लोक २२, पृष्ठ २७)
धर्मप्रति धारणा – 'परोपकाराय पुण्याय पापय परपिडनम् ।' हाम्रा पुराणहरूको दर्शन हो । भद्रकुमारी घलेको धर्मदर्शनलाई कविले यसरी दर्शाएका छन् –
भद्रको कर्म निष्ठा र धर्म परको उपकार
सेवाको भाव पावन स्वार्थ जीवन ज्यूने धार ।
ईश्वर सृष्टि समान दृष्टि जीवन गतिमा
देखिन्छ उच्च विचार श्रेष्ठ भद्रको गतिमा
(श्लोक १ , पृष्ठ २८)
भद्रकुमारी घलेले विश्वका सबै धर्ममा समान आस्थावान देखिए पनि बुद्ध र सतानत धर्ममा विशेष गहिरो रुची राख्ने भए पनि उनी कर्मेष्टि धर्म धारण गर्ने बिचार भएकी हुन् र धर्ममा सहिष्णु अन्तर भने देखिन्छ । धर्मबाट विनम्र स्वच्छ भवना प्राप्त हुन्छ । धर्म विमुख भएमा दानवता दर्शिन्छ । ईश्वरको, पूजा गर्ने, आशीष माग्ने, २४सै घण्टा सजग भएर ईश्वरको नाम जप्ने, बिहान उठेर नुहाइ धुवाइ गरेर नित्य नियम बनाएर पूजा गर्ने,ब्रतमा एकादशीमा देवता र पितृमा तर्पण गर्ने आदि काममा भद्रकुमारी घलेले उत्साहका साथ लाग्ने धारणा काव्यमा आएको छ । उनले आफ्नो सभ्यता संस्कृति जोगाइ राख्ने, गुम्बा र मन्दिर बनाउन दान दिने, समाजमा रहेको अन्ध विश्वासहरू र विकृतिहरूको बिरोध गर्ने, दुखिलाई आड भरोस दिने, करोडौं धन जोडने इच्छा नराख्ने,सित्तैमा मिल्यो भनेर कसैको केही नलिने, नारी माथिको अत्याचार भएको नसहने, निमुखालाई उपकार गर्ने, धर्ममा तर्क, धर्मको अर्थ धर्मको महत्वलाई बुझेर त्यसमा लाग्ने, धर्मको दर्शनको सहारा लिनु पर्छ किनकी धर्मले अन्तर शक्ति भर्छ, आचार विचार र भावनामा शुद्धता ल्याउँछ र धर्मको आडमा कुनै काम गरिन्छ भने अदृश्य शक्तिले पनि सहारा गर्छ । धर्मले मुक्ति दिलाउँछ । धर्मको रक्षा किन गर्ने भन्ने प्रश्नमा कवि भन्छन् –
धर्मको रक्षा गरियो भने धर्मले दिन्छ ध्यान
ध्यानले रक्षा मान्छेको गर्छ बढाइ महाज्ञान
श्रद्धा र भक्ति अर्पण गर्दा ईश्वर नाममा
खारिदै जान्छ मानव मन असल काममा ।।
यश शीर्षकमा भद्र कुमारी धलेको धर्मप्रतिको धारणको साथै कविको धारणा पनि अरुको उपकार, कर्ममा निष्ठा, कल्याण, चरित्र स्वच्छ , सादा जीवन उच्च बिचार हुनु पर्छ भन्ने धारणा आएको छ ।
भद्रका कलाकारिता –
बहुप्रतिभाकी धनी भद्रको कलाकारिताको बारेमा यस शीर्षकमा दर्शाइएको छ र भनिएको छ –
वीरको कुल सिर्जना फूल फूलेर बसायो
सिर्जना भित्र विचित्र शोभा सौन्दर्य रसायो ।
लगन बहुआयम धार प्रतिभा टुसायो
सुकेर डाली पलाइ पुन जीवन हाँसायो ।।
(श्लोक १, पृष्ठ ३१)
भद्रका कल्पनाले कलाका आँकुराहरु टुसाउनु, सीपालु पाखुरा सलबलाउनु,मगजभीत्र नविन ज्योतिले आकृति लिनु, सहासबाट अन्तर प्रकृति बल्न थाल्नु जस्ता धारणा आएका छन् । यहाँ रोगले छोएका कुरा, निराशा पलाएका कुरा, सोहोर वर्ष पुग्दा लागेको क्षय रोग पुन दोहोरिएको कुरा तब पनि समयलाई खेर नफालेर, भावनालाई नविन दिशा दिएर, गान्धी आश्रममा औषधी गराएर कलाका मूर्त र अमूर्तर् पक्षमा ध्यान दिएर, अन्तरभित्र नाचेका चित्र कापीमा उतारेर, कलालाई अभिन्न अङ्ग बनाएर भद्रकुमारी घलेले एकलव्यको जस्तो साधनामा जुटेपछि भद्रले प्राप्त गरेको नतिजालाई कविले यसरी प्रस्तुति गरिदिनु भएको छ –
जाँगरसित फुरेको सीप हाँसेर रमायो
रोगको जरो गलेर गयो पीडन हरायो ।
सिर्जना चित्र कारित कला जीवन्त बनेर
प्रकृतिसित मितेरी गाँसी पारख कुँदेर ।।
(श्लोक ९, पृष्ठ ३२)
भद्रले नारीका आँसुका भावना भरेर, पीडित आँसु, समाजका विकृतिलाई समाएर चित्र कोरे पनि उनको कलाकारितामा प्रकृति हाँसेको, देशको माया र व्यथाले भरिएको, नारी लुटिएका नारी चुटिएका, नारीको दुर्दशा, कर्कशा भोगाई,पुरुषबाट पीडित नारी, देश दुखेको, धार्मिक भावनाले भरिएका चित्र हुन्छन् । काव्यकरले घलेका चित्रकलाको प्रशंसा गर्दै उनका चित्रको अमरत्वलाई यसरी प्रशंसा गरेका छन् ।
घलेको तेज पत्थर चिरी उम्रे झै पीपल
पीपल जस्तै सहास शक्ति घलेमा सवल
सिर्जना दिव्य रोपेर अनि फलाइ फुलाए
दैवले लुछी सक्दैन लान सिर्जना झुलाए
(श्लोक १६, पृष्ठ २४)
चित्र कोरिन्छ । रेखा पार्दैमा चित्र बन्दैन । त्रिच बन्नलाई त बिम्बको रूप लिनु पर्छ । घलेका चित्रहरू समाजका बिकासका ऐना हुन् । विकासका पियास हुन् ।उनको कल्पनामा देशको वृत र नेताका चिक्त, चलेका रीति रिवाज, विशिष्ट व्यत्तित्व, नारीका जञ्जिर, मानिसका अभिमान,गहिरिएर हेरेको खण्डमा बोल्न चाहेका कुरा, खोल्न चाहेका रहस्य नारीका ख्ट्टुामा परेका नेल र गलामा बाँधिएका साङ्ला, हृदयभित्र नाचेका चित्रहरू प्रष्ट बिम्बको रूपमा दर्शिन्छन् । काव्यकारले यस्ता सिर्जना कला मानिसले पाउनु,मधुर गला मीठो गाउने कला दैवको उपहार हो । यस्ता सर्जक समाजमा लाखौंमा एक हुन्छन् र यस्ता सर्जक अमर हुन्छन् भन्ने धारणा सहित भद्र धलेले यस्ता अमूल्य, भाबुक, सुबोध, रम्य, सरल विशिष्ट १६६ ओटा चित्र देशलाई प्रदान गरेको कुरा काव्यमा उल्लेख गरिएका छन् । यस उपशीर्षकको कविले भद्र घलेको महान आत्मबलको वर्णन गर्दै बिट मारेका छन् –
युगौ युग सुवास छर्ने मुस्कान सिर्जना
भद्रको सीप मुहार देश फेरने कामना ।
बेजोर नारी अतुलनीय महान आत्मबल
देशको लागि अर्पण गरिन फलाइ नाना फल ।।
(श्लोक २३, पृष्ठ ३५)
आमा भक्त कुमारीको प्रेरणा – यस उपशीर्षकमा भक्त कुमारीले भोगेका घटना र गरेका विकासका कामलाई यहाँ वर्णन गरिएको छ । भद्रकुमारीको पिताको जन्म थलो ओखलढुङ्गा भए पनि भक्त कुमारीको भने कर्म थल्यो बन्यो । ७ वर्षमा विवाह गरिएको र संस्कारहरू माइतमै सिकेकी । पतिको साथको बसाइ छोटो रहेको ।अल्प आयुमै पतिको मरण हुनु र लामो समय बिधवा जीवन बिताउनु परेको । ३ सन्ताकी आमा भएकोले तिनको लालन पालनको भार उनमा सरेको ।भक्त कुमारीलाई पति वियोगको सहन त छँदै थियो त्यमा १९ वर्ष पालेको छोरोलाई दैवले हरेको व्यथा पनि सहनु परेको । यस्तो दुखद घटनालाई सहदै गाउँमा सरेको र समाज सेवामा लागेको । त्यस समयको आवश्यक्ता अनुसार पिउँने पानी, स्कुल, कुलाहरू खन्ने र उत्पादन बढाउने काममा लागिन् । छोरो र पति वियोगका चोट,फाटेको मुटु टाल्दै , पीडनलाई पिउँदै , चमधारा आँसु बगाउँदै मनको पीडालाई धुँदै, ज्ञानका भिक्री आँखा खोल्दै, शोकलाई शत्तिमा परिणत गर्दै चिन्ता र थकाइलाई पचाउँदै रोगलाई जित्दै,महिला नेत्रीमा उदमान गराउँदै, सिंहनीको गर्जन गर्जदै, उन्नत बीउको प्रयोग नश्ललाई सुधार,चेतनशील जाँगर देखाई, पवित्र भावनाका साथ अगुवा बनेर, सबैलाई सीप सिकाएर, चेतना जगाएर, आफ्नै खुट्टामा उभिन सिकेर सिकाएर तथा गाउँलाई आन्म निर्भर बनाउे तर्फ अग्रसर गराएर मुखिनीको सम्मान लिएर, सबैलाई विश्वास दिलाएर, गाउँमा अप्ठ्यारो पर्दा आफै अघि सरेर, सर्वमान्य निसाफ दिएर, पञ्चायती व्यवस्था भए पनि दलीय झगडा या विवादलाई साम्य पार्दै विकासमा लम्काउँदै गरेका धारणालाई काव्यकारले प्रष्ट्याएका छन् ।
यस काव्यले नारीको उत्थानको लागि भक्त कुमारीले गरेको कामको पनि मुक्तकण्ठले वर्णन गरेकोछ । भक्त कुमारीले नारीलाई जाग्नको लागि आव्हान गरेकी छन् । सबै नारी आत्मर्भिर हुन भनेकी छन् । नारीको काम दाउरा घाँसमा आत्मनिभर हुने मात्र हैन । प्रगतितिर लम्कनु पर्छ । पढाइमा लाग्नु पर्छ । संघर्ष गर्नु पर्छ । साक्षार हुनु पर्छ भन्दै सबैलाई साक्षर बनाउन लाग्नु, आफू प्रधानपञ्च बन्नु र सबै वडाका पैंचालिसवटी महिलालाई बडाका मुख्य बनाएर, गाउँको मुहार विकासबाट फेरिनु, उनको कामबाट प्रभावित भएर सबैले फूलको माला बाट सम्मान गरे जस्ता भक्तकुमारीका कामको प्रशंसा मुक्तकण्ठले गरिएको छ –
जाँगर सीप पसिना झारी गाविस सुधारी
धन्य हौ भक्त कुमारी घले सेवाकी पुजारी ।
सबैको साझा भएर आमा ममता पियायौ
समाज भलो गरेर सारा जीवन खियायौ ।।
(श्लोक३३, पृष्ठ ४२)
यस शीर्षकको अन्तिममा काव्यकारले भद्रकुमारी घलेले आमाबाट के प्राप्त गरिन् त भन्ने तर्फ दुई श्लोक पस्केका छन् । यो सर्वविदितै हो कि छोराछारीले सिक्ने भनेकै आमाबाबुबाट हो । भद्रकुमारीले 'आमाको कर्म सेवा नै धर्म जीवन सुवास सेवामा सदा अर्पण हुने परेको प्रभाव' दर्शनलाई आत्मसात गर्दै । आफ्नो जवान जोश खुनको उर्जा देशको लागि अर्पण गर्न आमाको बाटोमा र गान्धीको प्रेरणलाई समाएर अघि बढ्ने धारणा काव्यमा आएको छ ।
भद्रकुमारी घलेको राजनीति पक्ष – भद्रकुमारी घलेले आफ्नो व्यक्तित्व स्वच्छन्द रुपमा विकास गरेकी र सानै उमेर देखि अर्थात विद्यार्थी काल बाटै समाज सेवामा लागेको हुँदा उनी साँधुरो घेरामा कहिल्यै रहिनन् । आमाको सीप, आफ्नै संघर्षबाट भद्रकुमारी घलेले समाजलाई शिक्षा र दिक्षाको अवसर,अशक्त हीनलाई माथि उठाउनु, टुहुरालाई आमाको माया दिनु, चेतनाबाट समाजलाई श्रृङ्गार, मैन बत्ति झै आफू जलेर अरुलाई प्रकाश दिए जस्तै अरूलाई प्रकाश दिने काम भएका कुरा, उनी रोगको चोट खाइन् शोक, वियोगका पीडन पचाइ सकिन् । उनका निष्ठा, धर्म दढता, निर्लोभ दानी भावना, शिष्ट आचार,जीववन साथी बनीसकेका छन् र उनले तन, मन, धन,आशक्त माथी कल्याण लगानी गरेकी छन् । उनले साहित्य, कला, गीतसित मित्रता गाँसेकी छन् । उनी पञ्चायती राजनीतिमा जाने रहर लागेको हुनाले उनले महिलासंघबाट राजनीति सुरु गरिन् । तीन पटक रापंस भइन् ।समाज कल्याण मन्त्री भइन् ।राजनीतिमा उनी सफल पनि भइन् । चौथो पटकको चुनावका असफल भइन् ।उनी राज परिषदसम्म पुगिन् । मन्त्री पदमा रहँदा पनि राम्रो काम गरेर वापद सम्मान पनि पाइन् ।
काव्यकारको भनाइ छ सत्तामा बस्दा लोभको भेल उर्लेको हुन्छ । सम्पत्ति जोर्नतिर लाग्छन् । बिटुलिन्छन् । सत्य र निष्ठामा रहेर कमाउ धन्दामा नलाग्ने मानिस लाखौमा एक हुन्छ । यस्तै भद्र कुमारी घले कमाउ धन्दामा नलागि शुद्ध आचरण, निष्ठामा दृढ रहेर फोहोरी खेल खेलिनन् । उनको निष्ठावान काममा कमाउ धन्दामा लाग्ने, चुत्था, अनैतिक करोडौ जम्माखोरलाई मन परेन होला ! उनी यी सबै तिर मललव नराखी आमाको जस्तै सेवामा होमिन गान्धीकी चेली भएकोले कुमार्गबाट जोगिन जानेकी, पौरखी आँट देशलाई विशुद्ध भावले विकास धारा प्रवाह गर्ने भावन भएकाले उनले सुधार योजना नयाँ नेपाल निर्माण योजना पेश गरेकी हुनाले भद्रकुमारी घले सबै कि पियारी भएकी थिइन् । पञ्चायती कालमा भएका गल्तीलाई औंल्याउन सहज थिएन तर भद्रकुमारी घलेले भने आफूले धनलाई ठूलो नठानी, सम्मानलाई ठूलो ठान्ने र आफूले गल्ती नगर्ने तर कसैले गल्ति गरे औंल्यादिने गर्दथिन् ।
नेपाली राजनीतिमा पुरुषको बर्चस्व भएको र भद्रकुमारीले नारीले पनि स्थान पाउन पर्छ भन्ने धारणा रहेको यसमा पनि नारीलाई अग्रसरता दिलाई सफल भएकी, भद्रका पाउ अग्रगामी भए, धर्म राखेर कर्म गर्नाले सुवास फैलिएको, मान सम्मान प्राप्त भएको धारणा सहित यस शीर्षकको बिट मारिएको छ ।
भद्रकुमारी घलेको दर्शन –भद्र कुमारी घलेले विशुद्ध बुद्धि ईश्वसँग माग्दछिन् किनकी लोभी मानिस कमाउनेतिर लाग्छ र लोभी नेता भए पछि देश विग्रन्छ । उनको भनाइ छ किलनेपाल भरिका प्रतिभाहरू सँपन्नशाली बनुन् । नेपाली नारीहरूले अग्रगामी बन्न औसर प्राप्त गरुन् सभामा उच्च सम्मान पाउन र तालीद्वारा स्वागत गरियोस् । नारीलाई चुलो र चौकोमा सीमित नराखियोस् । कसैले पैतालामुनि राखेर नदवाओस्, । नारी के होइन ? आमा हो नारी, दिदी, बहिनी, छोरी बुहारी, पत्नीको रूपमा नारीलाई पाइन्छ ।यिनको उत्थान नै देशको उत्थान हो,। यिनलाई उठाउनु भनेको समग्रको उत्थान हो । त्यसो हुँदा नारीको लागि पीडा र वेदना थप्न हुँदैन । ज्ञान सीपको आवश्यक्ता छ । यिनलाई उठाएर देश धपक्के बलेको देख्न पाइओस् । विदेशतिर लागेको ओइरो रोक्नको लागि सीप जाँगर, जोशको प्रयोग हुनु पर्दछ तथा युवा रोकिने परिवेश बनाउनु पर्छ ।
मानिसले विभेद गर्छ । यो पुर्खौली असर हो । हेराइ पनि विभिन्न दृष्टिकोणबाट हेरिन्छ । निचता उचतामा पनि विभेद हुन्छ । त्यसो हुँदा मानिस सबै समान हुन् । के हो विभेद सबैको रगत रातै हुन्छ । आहार, निद्रा, इच्छा, भोगाइमा सबैका समान गुन हुन्छन् । मानिस जन्मेर उभिन सक्ने अवस्थामा पुगेपछि उसले जीवन कसरी आनन्दसँग धानिन्छ,भनी गरेर खाने तुनेलो लिएर नुन,तेल घ्यू जोर्छ आदि धारणा सहित कवि भन्छन् –
दाम र काम नाम र माम जे जोर्न दरिन्छ
तेसकै चित्र ऐनामा हेरी कामना भरिन्छ ।
उद्देश्य लिन्छ मानिस जेमा जीवन खर्चन
कोरिन्छ त्यही कर्मको रेखा जविन दर्शन ।।
(श्लोक ११, पृष्ठ ५१)
कविले मानिसमा हुनु पर्ने गुणहरू उच्च बिचार, ध्यान, निष्ठा, र शिष्टचारमा पवित्रता, विशुद्ध परोपकारी लक्ष र कल्याणदाई धार, भोकालाई खाना,अन्धालाई आँखा, लंगडोलाई बैशाखी र लाटोलाई पाटो दान दिनु उपयोगी हुन्छ । कविका धेरै दार्शनिक धारणाहरू यहाँ आएका छन् । उनी भन्छन्–
गरेका राम्रा काममा पनि नगरौं अभिमान
निस्वार्थ परोपकार गरौं भएर मतिवान ।
तनको खुन गरेर दान जीवन दिऊँ दान
निर्लोभ गरौं समाज सेवा लगाइ दिलोज्यान ।।
(श्लोक १३, पृष्ठ ५१)
मानिस सरल सहज हुनु पर्छ । सादा खानाले शरीरलाई पोष दिन्छ, सादा पहिरन सुस्वभित हुन्छ , साधना बाट देहको रक्षा हुन्छ, सहनशीलता गहन बिचार, दैनिक आचरणको पालन,सत्यतातिर लम्कने, हुनु भै सक्यो,अतित गैसक्यो, त्यसमा पश्चताप गरेर के हुन्छ , वर्तमानलाई सुधार्न सके भविष्यलाई सपार्न सकिन्छ जस्ता धारणा काव्यमा आएका छन् ।
मानिस चोला के को लागि भएको हो भन्ने प्रश्न राख्दै कविले मानव कर्तव्यलाई दर्शाउने कोशिस गरेका छन् । मानिस चोला व्यर्थमा फ्याक्न होइन समाजमा भएका विक्रितिसँग जुद्धनको लागि हो,मानव धर्मको पालना गर्न, मानव सेवा गर्न, उद्धार गर्न, सहारा दिन र काम गर्नको लागि हो । जीवन चक्र सोझो मात्र छैन यो बाङ्गो टिङ्गो पनि छ । यो मोडामा मोडिन्छ । हामीले थोरै समयमात्र सुकर्ममा लगाउन सकेका छौ । त्यसो हुँदा सुसकर्मलाई भोली गर्ने भनेर थाती राख्न हुँदैन ।मानिस चोला पानीको बुलबुला हो । रम झम, रमिता रासलीला यी सबै आँखाको लागि मात्र हो । आँखा झिमिक्क भएपछि अर्थात मृत्युसँगै सबै सकिन्छ । जीवित रहने मनको धोको रहे पनि सम्भव छैन । समाजमा केही गर्न सके अमर भइन्छ र गरिएको काम दरिलो भए मरे पनि जीवित रहिन्छ । जन्मदेखि मृत्युतकको कर्म नै अत्यान्त महत्वपूर्ण छ अमरत्वको लागि । संसार छाड्ने कर्मको बारेमा कवि भन्छन् –
अनन्त पुर्खा जलेर गए डालीको फूल झै
अनन्त ओधा लडेर ढले आँधी र हुरी भै ।
छिचोली पाला समाज चाला समय चित्रका
फेरिदै आए युगका ढङ्ग चाहाना भित्रका ।।
(श्लोक २१, पृष्ठ ५३)
काव्यकारले काव्यलाई रसिलो पार्न ठाउँ ठाउँमा नेपालका प्राकृति सौन्दर्यतालाई समावेश गरेका छन्–
अमोल हीरा सुगन्ध दिने नेपाली गाथामा
स्वच्छन्द आभा प्रकृति परि डाँडा र पाखामा ।
सौजन्य हाम्रा बगैंचा भरी सौगन्ध शुशेली
शिव र गौरी गणेश बास हिमाल हवेली
(श्लोक २२, पृष्ठ ५३)
नेपाल स्रोत र साधनले सम्पन्न देश हो । तर हामीले यी अमूल्यलइ स्रोत र साधनलाई सदुपयोग गर्न सकेका छैनौ । काव्यकारले यिनै स्रोत र साधनलाई प्रयोग गरेर देशलाई सम्पन्नशाली बनाउन सकिन्छ भनेका छन् –
नेपाली स्रोत अतुलनीय अपार हिमाल
सन्देश दिन्छ बिजुली झिकी सपार नेपाल ।
जलको राशी विश्वमा दोश्रो विशाल हिमाल
हिमाली शक्ति प्रयोग भए सप्रन्छ नेपाल ।।
जलश्रोतको प्रयोगबाट बिजुलीमात्र नभएर सिँचाइ गरेर विभिन्न बालीको उत्पादन गर्न सकिन्छ तर पानी बगेर गएको छ बालीले पानी पाएको छैन बिजुली निर्यात गर्नुको साटो आयत गरिन्छ । जडीबुटीहरू औषधीको रूपमा प्रयोगमा ल्याइन्छ तर यी पनि सडेर र गलेर गएका छन् । औषधी मा यिनको प्रयोगमा ज्ञान नभएर रोगबाट ठहरै भएका छौं ।
काव्यकारले छिटै फडको मार्न नसक्नुको कारणलाई पनि प्रष्ट पारेका छन् । यो सबैलाई थाहाभएकै कुरा हो बल एकतामा हुन्छ । झगडा छाडेर एकतामा जुटेर तेरी र मेरी छाडेर, दल र बल विभाजनबाट हामी विभाजित नभै , कुकाठ र श्रीखण्डलाई चिनेर, नेपाली पनालाई अङ्गालेर, भाग र बण्डामा नलागि देशको विकासमा जुटे देश छिटै नै फडको मार्दछ । सहिद (वीर) हरूले जोश लाई धुलोमा पोखेछन् भन्दै काव्यकार चिन्तित छन् । भने सत्तामा जानको लागि गरेका बाचा राज नेताले भुलेकोमा तथा पुरा नगरेकोमा काव्यकार आक्रोशित छन् । यस शीर्षकको अन्त्यमा काव्यकारले नेपाली आमाप्रति स्रद्धाभाव राख्दै भन्छन् –
अनन्त बटी प्रकृति छर्छ गरेर किसानी
बोलाऊ भन्छ नेपालीलाई सुनौला विहानी ।
नेपाललाई प्रदान गर्ने संबृद्धि संस्कृति
नेपाली आमा सुनकी चरी सुन्दर प्रकृति ।।
भद्रको चिन्ता – यस शीर्षकमा काव्यकारले भद्रकुमारी मार्फत पञ्चायती व्यवस्था ढलेपछि सक्तामा जाने व्यत्तिहरूको अवस्थालाई बर्णन गरेका छन् । राजनेतामा हुनु पर्ने गुण, शील स्वभाव, आचारण, नैतिकता,, राष्ट्रप्रतिको प्रेम जनताप्रति गर्नु पर्ने व्यवहार आदि आदि गुण भएका व्यक्तिले सत्ता हाक्नु पर्नेमा गोडाकमा थोत्रा चप्पल लगाएका,नसा पिएर हल्ला गरेर थप्पड खाएका, कुरा गर्ने अक्कल नभएका,व्यक्तिहरूले राज्य सत्तामा पुग्ने अवसर पाए । यिनीहरूले जनहीत काम गर्नुको सट्टा आफ्नै सक्कल फेर्न थाले, चप्पलबाट अमूल्य जुता, सवारीमा पजेरो,सत्य साँचो न्याय निसाफलाई पर्दामा छोपेर अन्यायमा लम्कनु, सुन जोर्नतिर लाग्नु,नेताले कार्यकर्ता विगार्नु कार्यकर्ता पनि सही मार्गमा लाग्नु भन्दा पाटी हीतमा लाग्नु, दुइ नम्बरी धँदा चलाउनु,अवैध काम गर्नु, घरको काम छाडेर घरमा सिस्नु उमार्नु पाटीको काखमा सुरिनु, देशको मायालाई पाटीको मेवामा साट्नु ,आफ्नो अस्तित्व मेटियो भने पाटीबाट केही हुँदैन । त्यसो हुँदा आफ्नो अस्तित्व जोगाउनु पर्छ । देशको माया मान्नु पर्छ,।
आज देशमा वेरोजगार बढेर ग्एको हुँदा विदेसिन बाध्य हुनु परेको छ । वेरोजगारीको कारणले गर्दा रोग शोक भय र त्रास बढेको छ । यस्ता समस्यालाई नेतृत्व वर्गले समाधान गर्नु पर्ने हो तर नेतृत्ववर्गले आएर भाषण गर्ने, गरौंला भन्ने आश्वासन बाडने बाहेक केही नगर्ने । यस विषयमा भद्रकुमारी घलेले काम गरेर देखाऊ नत्र बदनाम भइन्छ । नेपाली भएर बाँच्नको लागि नेपाल चाहिन्छ । नेपालै नरहे कसरी नेपाली भएइन्छ । त्यसो हुँदा सबैलाई समान मानेर नेताले काम गर्नु पर्छ । देशले रगत माग्यो भने रगत अर्पण गर्न सक्नु पर्छ । काव्यकारले घुषले देशको मुटु खाएको, नेपाली युवा विदेशको डहर डहरमा काम र माम माग्न बाध्य छन् ।जस्ता थुप्रै धारणाहरू काव्यमा आएका छन् ।
नेपाली नारीहरूको अवस्थालाई कविले यसरी प्रस्तुत गरेका छन् –
नेपाली नारी घरैमा दासी जीवन विताइ
सुन्दैन कोही पीडन मन नारीको रुवाइ ।
बेचिन्छे चेली दलाली हात अँधेरी नगरी
बाध्यता बस गुतेकी हुन्छे वेश्याको पगरी ।।
यस उपशीर्षकको अन्तिम श्लोकमा देशले भोग्न परेको युद्धको मारलाई काव्यकारले समावेस गर्न छाडेका छैनन् । यसले पीडित आत्मालाई सम्झाएको छ र काव्यको गरिमा बढाएको छ ।
युद्धको मार प्रकोप नाना नेपाली सहन्छ
कहिले सम्म यो क्रुध निच नियती रहन्छ ।
अबाल बृद्ध निरिह्य रोग् ीओखती नपाई
नमिल्दा आड भरोषा कतै हृदय जलाई
(श्लोक १६ , पृष्ठ ५८)
साहित्य र भद्र कुमारी घले – यस शीर्षकमा झद्र कुमारी घलेको बहुआयामिक व्यक्तित्व मध्ये साहित्यिक व्यत्तित्वको बारेमा काव्यकारले यसरी प्रकाश पार्नु भएको छ –
आचार स्वच्छ बिचार शिष्ट कर्तव्य निष्ठावान
कल्पना शक्ति दैवको दया पाएको वरदान ।
भावना शुद्ध भए पो हुन्छ सिर्जनातिर ध्यान
सबैको कहाँ संभव हुन्छ रचना गर्ने ज्ञान ।।
(श्लोक १, पृष्ठ ५९)
सिर्जनाको लागि मनमा तरङ्ग खेल्नु पर्छ, भावना बग्नु पर्छ कल्पनाका लहरहरू लहराउनु पर्छ र सर्जकले आफ्ना खुल्दुलीलाई सिर्जनामा ल्याउँछ । अन्तरका चित्रहरू कल्पनामा हुन्छन् र तिनलाई कागजमा उतारिन्छ । जीवनका मर्का जीवन्त भोगाइलाई सिर्जनामा उतार्नु पर्छ । सिर्जना गर्न सहज हुँदैन । कुन अवस्थामा मानिस कवि बन्छ हेरौं कविका धारणा –
कल्पना गर्दा मानिसलाई प्रकोप प्रहार
साहारा पनि टाढिदै जाँदा बनेर बेहाल
मनको साथी बिछोड पीडा एक्लिदा विशाल
बन्दछ जोगी कि हुन्छ कवि कि हुन्छ पागल ।।
(श्लोक ५,पृष्ठ ६०)
माथिको अवस्थालाई कविले थप धाराणा पस्केका छन् । कमजोर व्यक्तिको माथि भनिएको अवस्थामा जान्छ झने विशिष्ट व्याक्तिले मुटुको चोटलाई शत्तिमा बदल्छ । सहास बटुल्छ र माथि उठ्छ मुटुको घाउलाई निचोर्छ, धुन्छ र अज्ञानलाई पखाल्छ । सक्षमभएर सिर्जनातिर लाग्दछ । सिर्जनामा ऊ रमाउँछ र आनन्द लिन्छ । साहित्य क्षेत्रका विविध विधामा कलम चलाउने वालामा निबन्धकारले चित्र र विचार दिन्छ । कविका कविता भावमा बोल्छ । कथाकारका कथाले व्यथा, आँसु, हाँसो र जीवन पद्धति बोल्छ ।साहित्य सार अपार मिठो जीवन सङ्गीत हो । साहित्यकारले सिर्जनालाई जीवन गुजार्ने साथी मान्दछन् । यिनै साथी मार्फत समाज सुधार्नै लक्ष लिएका हुन्छन् । यी कवितामा कविले झेलेका उकाली ओराली हुन्छन् ।
भद्रकुमारी घलेका कविताले के सन्देश दिन्छ भन्ने तर्फ यसरी प्रस्तुत गरेका छन् –
संघर्षतिर सहास दिने भद्रका कविता
सलल बग्ने सरस भाव बगेझै सरिता ।
भविष्यतिर भद्रको दृष्टि रङ्गिन सपना
साकार पार्न सन्देश दिने त्याग र तपमा ।।
(श्लोक १०, पृष्ठ ६१)
भद्रका कवितामा निरिह नारीले भोगेका कष्ट, दुखेका घाउ, पीडा आदिको साथै उनको बहु विधामा चलेको कलमको बारेमा कवि भन्छन् –
अनेक विधा चलेको तिखो भद्रको कलम
मृदुल शब्द शुबोध तर्क रचना लगन ।
लेखने भद्र कलम चोभी आँसुका दहमा
पुगेको हुन्छ भद्रको भाव मुटुको वहमा ।।
.(श्लोक १२, पृष्ठ ६१)
समाजभित्रका विभेदजन्य घटना, धराप पर्दै गएका हाम्रा मूल्य र मान्यता, पुर्खौलीको संपत्तिको सरक्षण विकृति र विसङ्गति, देशको मुटु दुखेको, दुखिको कुकाइ , आत्मा बेचेर कमाएको सम्पत्ति, वेहाल देशको स्थिति,आदि आदि धारण प्रस्तुति गर्ने विधागत विवरण पनि कविले यसरी दर्शाएका छन् –
प्रकृतिसित अँगालो हाली सुन्दर परिमा
साहित्य धारा प्रवाह गर्ने भद्रको गरिमा ।
नियाक्रा गीत नाटक कथा कविता निबन्ध
साहित्य गेय मुत्तक मीठा भद्रका सुगन्ध ।।
(श्लोक १८, पृष्ठ ६२)
साहित्य कारले साहित्य सिर्जना गर्दा धेरै कुरामा ध्यान दिनु पर्दछ । भद्रले युगको माग देशको खाँचो आहत राहत,सुशान्त प्रभात,अशक्तलाई सहारा, सुनौलो भविष्यको साथै विविध पक्षलाई उठाएकी छन्– घुषको तुष भुषको आगो क्यान्सर देशको
अन्तर द्वन्द्व विश्वास घात रोग र द्वेषको ।
सिर्जनाबाट निदान खोज्दै भद्रको कलम
बोकेर आफ्नो अन्तर पीडा हृदय जलन ।।
( श्लोक २०, पृष्ठ ६३)
भद्रकुमारी घलेका सिर्जनामा समाजमा चलेका विकृतिजन्य रीति रिवाजलाई औंल्याइएको पाइन्छ । यस्ता विकृतिलाई सुधार गर्ने भावना पनि पाइन्छन् । उनले आमाको महिमा लेखेर गाएकी छन् र उनको लेखनशैली विशेष प्रकारको छ । भाषा सुवोध छ । भावना पवित्र छन् । दर्जनौ कृति लेखेर देशलाई दान गरिन् । उनी सेवाकी मूर्ति, दयाकी खानी, नारीहरुमा मणि, जवान जोश प्रतिभालाई देशमा समर्पण कर्ता, काँधमा आएका कर्तव्यलाई पुरागर्नेवाली, असी वर्ष काटेर पनि उनमा सिर्जनन गर्न जोश छ । कल्पना शक्ति र जाँगर वेजोड छ । कविले भद्रको सुस्वास्थ र दीर्घायुको लागि प्रार्थना गरेका छन् ।
यस काव्यको बिट तलको श्लोकबाट मारिएको छ –
भद्रकी आमा डाँडाकी जून उनैका साथमा
रचना गर्छे साहित्य भद्र आमाको काखमा ।
त्यो खुसी हो विष्मात कुन्नी भद्रको थाहा छ
खोज्दै छे भद्र अन्तर भित्रै निसाफ कहाँ छ ।
(श्लोक २६, पृष्ठ २६)
भद्राञ्जली खण्डकाव्यको कथाबस्तुको यथार्थ विवरण मैले माथि नै प्रष्ट पारिसकेको छु । यसमा प्रयोग गरिएका करुणरसको साथै विविध एवम् प्राकृति वर्णन र भक्तकुमारी सहासिक समाजिक, राजनैतिक, राष्ट्रियता साहित्यिक योगदानले गर्दा काव्य अति महत्वपूर्ण बनेको छ ।
पात्रविधान –यस कृतिको कथानकभित्रका पात्रहरू दुई प्रकारका छन् भद्रकुमारी, झक्तकुमारी र कृष्णबहादुर धले सत्रिय पात्र हुन् । यिनै तीनपात्रको घटना कर्ममा काव्यको सिर्जना भएको छ । भद्र कुमारी घले यस काव्यकी प्रमुख पात्र हुन् । यिनकै जन्मदेखि हालसम्मका गतिविध काव्यमा समेटि सकिएकोले यहाँ वणन गरिरहन आवश्यक ठानिन । अर्की महत्वपूर्ण पात्रको रूपमा भक्तकुमारी घलेको नाम आउँछ । एउटी विधवा महिलाले गरेको बहुआयमिक कार्य पनि कथा बस्तुमा समेटी सकिएको छ । एउटा घर सञ्चालन , समाज सेवा र विकासका पहलहरूमा पुर्याएको योगदान अति प्रशंसनीय र अनुकरणाीय छ । कृष्ण बहादुर घले वैंसमै यो संसार त्याग गरेकाले उनको सम्पूण कार्यभार भक्त कुमारीमा नै थपिन गयो । यिनको बारेमा धेरैविवरणहरू उल्लेदित छैन । भद्र कुमारीका माहिला बाबाले भद्रकुमारीलाई पढाउनको लागि गोरखपुर लगेर गान्धी आश्रमको विद्यालयमा पढाउन लगाउने कामको जानकारी गराइएको छ । यिनको योगदान पिन महत्वपूर्ण मान्नु पर्छ ।
पेटबोलीमा आएका पात्रहरू तुलसी मेहर श्रेष्ठ हुन् । यिनी नेपालका गान्धी मानिन्छन् । गान्धीको दर्शन मान्ने र प्रचार प्रसार गर्ने भएकोले जवाहरलाल नेहरू पुरस्कार बाट ई.सं. १९७७ मा भारत सरकारले पुरस्कृत गरेको थियो । यस काव्यमा गान्धीका दर्शन मान्नेवाला र भद्रकुमारी घलले उनको गान्धी दर्शनसँग प्रभावित भएका धारणा उल्लेख गरिएको छ ।
अनुराधा– यहाँ भन्न खोजिएको थर नखुलेको हुँदा प्रष्ट पार्न सहज भएन । अनुराधा कोइराला भएमा उनी एक सामाजिक कार्यकर्ता हुन् । माइती नेपालकी संस्थापक हुन् । यहाँ यिनको नाम पेटबोलीमा आएको छ । उनको राम्रो कामको अनुसरण गर्ने भनिएको छ ।जनक, सीता, भृकुटी, बुद्धका नाम पेट बोलीमा आएका र यिनका योगदानलाई दर्शाइएको छ । यस काव्यमा समावेश गरिएका पाक्रहरू सबै गुणवान, कर्मवान, आदर्शवान ् र सत्रिय छन् ।
परिवेश–परिवेश शब्दले धेरै कुरालाई समेटेको हुन्छ । स्थान विशेषलाई लिंदा । ओखलढुङ्गा, काठमाडौ गोरखपुर, गान्धीको विद्यापिठ, बर्धा,काँसी र सिन्धुलीको परिवेशलाई लिएर काव्यको सिर्जना गरिएको छ । शिक्षाको परिवेशलाई हेर्दा त्यस समय सिक्षा आर्जन गर्न सहज थिएन । स्थान विशेषमा उल्लेखित ठाउँ धेरै जसोमा भद्र कुमारी घले अध्ययनको सिलसिलामा गएकी थिइन् । नारी शिक्षा त झनै गाह्रो थियो । सामाजिक परिवेशलाई हेर्दा बाल विवाह, नारी जातिहरू अनपढ, जातीय विभेद उच्च र नीच मा विभेद आदि व्यापक थियो । राजन्तीिक परिवेशमा हेर्दा नेपालमा पञ्चायती व्यवस्था थियो भने भारतवर्ष स्वतन्त्र भएको अवस्था थियो । भद्रकुमारी र झक्त कुमारी दुबै राज नीतिक र सामाजिक व्यत्तित्व थिए । यसरी यो काव्य नेपालका र भारतका विविध परिवेशमा सिर्जना गरिएको छ ।परिवेशको हिसावले हेर्दा काव्य सफल देखिन्छ ।
भावको हिसाबले हेर्दा भावपूर्ण, लयको हिसबले हेर्दा लयात्मक, ठाउँ ठाउँमा बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग, रसको हिसाबमा करुण रसको बाहुल्य भए पनि शान्त रस, वीर रस आदिको प्रयोग, भाषाशैलीको हिसाबमा भाषा सरल, सुबोध, सबै प्रकारका पाठकको लागि पठन योग्य र उद्देश्यका हिसाबले स्वयम् काव्यकारकै शब्दमा 'दयाकी प्रतिमूर्ति बहुमुखी प्रतिभाकी धनी राष्ट्रियताको भावनाले ओतप्रोत भद्राभावको स्रष्टाद्वारा प्रचार प्रसार हुनु अत्यान्त महत्वपूर्ण कार्य हो भन्ने मेरो बुझाई छ ।'भन्ने धारणा आएको छ । काव्यकारले लिएको उद्देश्य यस खण्डकाव्यले पुष्टि गरेको छ ।
शीर्षक सार्थकता – यो खण्डकाव्य भद्रकुमारी घलेको बारेमा लेखिएको हुँदा शीर्षक सार्थक छ भन्नमा कुनै आपत्ति देखिदैन । शीर्षक सार्थक छ ।
कमी कमजोडी – कुनै पनि व्यक्ति हरक्षेत्रमा पूर्ण हुँदैन । पूर्णतातिर लम्कने प्रयास छ या छैन भन्ने कुरा मात्र हो । समीक्षकको दृष्टिमा कमी कमजोडी देखिनु अन्यथा पनि हैन । सर्जकलाई यस विषयमा सचेत गराउँछ । यस खण्डकाव्यमा पनि केही कमी कमजोडी औंल्याउन सकिन्छ जस्तै भन्न चाहेका कुरा दोहोरिनु । तर यी भनाइ फरक शीर्षक र फरक प्रशंगमा आएका छन् । काव्य दोष भन्न पनि मिल्दैन । मैले नकरात्मक पक्षलाई जोड नदिइ सकरात्मक पक्षलाई जोड दिने गरेको छु किनकी लेखक तथा कविको मनोबल बढाउँछ र उसले पाठकलाई आफ्ना भावनालाई पस्कदै जान्छ साथै ऊ परिमार्जनतिर लम्कन्छ ।
निष्कर्ष – मैले यस खण्डकाव्यले दिन चाहेको सन्देश कथासारमा विवरणात्मक रूपमा पस्किसकेको छु । यिनै कुरालाई दोहोर्याइ रहन चाहन्न । भद्रकुमारी घले नेपाली समाजमा साहित्यकार, समाज सुधारक, समाजसेवी र राजनीतिक व्यक्तित्वको रूपमा आफूलाई स्थापित गरी सकेकी नारी हुन् । उनका यी नै पक्षलाई काव्यले सप्रमाण पस्केको छ । यसर्थ काव्य सार्थक छ भन्दै काव्यकार पौडेलज्यूको सुस्वास्थ्य र दीर्घ आयुको कामना सहित विदा चाहान्छु ।
चैत्र १४ गते २०८१—

No comments:

Post a Comment