April 28, 2026

नेपाली साहित्यका पच्चीस सर्जकहरूप्रति रिजालको धारणा

सदानन्द अभागी
यो नवराज रिजालको हालसालै प्रकाशन भएको छब्बीसौं कृति हो । यसमा वि.सं.२०६४देखि २०८२ सम्म २५ ओटा सर्जकका बारेमा लेखिएका आत्मनुभूतिहरू समावेस गरिएका छन् । यी पचीस जना र्जकहरूमा भानुभक्त, मोतीराम भट्ट, लेखनाथ, सम, देवकोटा, वीपी, राष्ट्र कवि घिमिरे, सत्य मोहन,जगदिश नेपाली, कुलमान, किसान, श्यामप्रसाद, पारिजात, आनन्द देव, हुमागाइँ, नगेन्द्र्र दाइ, गोविन्द भट्ट, वनबासी रोचक, प्रश्रित, ज्ञान उदास, राजेन्द्र सुवेदी, मोहन दुवाल, नकुलजी, र भक्तजी पर्दछन् । रिजालको यी स्रष्टाप्रति कस्ता धारणा छन् अथवा रिजालको दृष्टिकोणलाई दर्शाउन गै रहेकोछु ।  –
जागरणका स्वप्न दृश्य भानुभक्त, ( १८७१÷०३÷२९–१९२६÷०६÷०७) – नेपाली भाषा साहित्यमा जुनरूपमा प्रकटभए भानुभक्त, बास्तवमा जागरणका स्वप्न दृश्य नै थिए । यस आत्मनुभूतिमा रिजालले नेपाली भाषा, नेपालका मातृभाषाहरू, भानुभक्तको योगदान, आज उनीप्रतिका सकरात्मक र नकरात्मक धारणाहरूलाई विश्लेषण गर्दै भानुभक्तलाई जनताले आदिकविको रूपमा सम्मान दिनेको कारणामा भानुभक्तको भाषामा लालित्य, मिठास, र जादुमय सौन्दर्य हुनु को कारण हो भन्द छन् । भानुभक्तप्रति आज आएर अन्यथाको दृष्टिले हेर्नु, गाली गलौज गर्ने बदनाम गराउने जो प्रयास भएका छन् तिनमा नवराज रिजालको भनाइ छ–‘ भानुभक्तप्रतिको सम्मान मन मुटुको सम्मान हो ।’ ‘ भानुभक्त मिसन लेखक हुनुहुन्छ । उहाँका वि’पक्षमा रहेकाहरू तर्क, विचार वा खोज अनुसन्धानभन्दा प्रतिशोध र ईष्र्यामा रमाउन मस्त छन् । भानुभक्त असल सर्जक भएकोले उहाँलाई त्यही आँखाले हेरिनु आवश्यक छ ।’
नेपाली गजलका पिता मोतीराम, (वि.सं.१९२३ कुशेऔंसी – २०५३) यस आत्मानुभूति सञ्चयनमा रिजालले मोतिराम भट्टलाई गजलका पिताको रूपमा सम्बोधन गरेका छन् । किनकी उन्ले नेपालमा गजललाई भित्र्याने र सम्वर्धन गर्ने प्रथम व्यक्ति थिए । रिजालले मोतीराम भट्टका सबै कर्मलाई समेटेका छन् । प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, मुद्रणालयका संस्थापक, संग्ठनकर्ता, पुस्तकालय संस्थापक, माध्यमिक कालको प्रर्वतक, पहिलो सम्पादक, नाटककारको रूपमा परिभाषित गरेका छन् र भन्छन्–‘सधैं बाँचिरहने थोरैमध्ये पनि मोतीराम आगोको झिल्का हुनुहुन्छ । हामी सबैका आँखा–आँखामा बाँची रहनुभएको छ ।’
नैतिक चेतनाका कवि लेखनाथ, (वि.स. १९४१ पुस एकादशी – २०२२ शिवरात्री) – कविशिरोमणि लेखनाथलाई र्नैतिक चेतनाका कविको रूपमना लिइन्छ ।उनका कविताले सबैमा नैतिक जागरण गराउँछ । रिजालले लेखनाथलाई परिष्कारवादी, आधुनिक युगको जन्मदाता, प्रकृतिपरकता, नैतिक मूल्यमान्यता, आध्यात्मिक पुनर्जागरण ल्याउने कवि र आध्यात्मिक मानवतावादी कविका रूपमा, कतै जीवनको खोजी कर्ताको हुनुहुन्छ । उहाँको साधना र समर्पणले नेपाली भाषा– साहिलाई लोकप्रिय हुन, जनताको मनमा बस्न र जीवनको सार्थकता खोज्दै अगाडी बढ्न ठूलो बल मिलेको छ ।’    
कवि तथा नाटककार सम, (वि.स. १९५९÷१०÷२४– २०३८÷०४÷०६) –बालकृष्ण सम कवि तथा नाटककारमात्र नभएर कथाकार, निबन्धकार, महाकाव्यकार, समालोचक, जीवनीकार, चित्रकार, अभिनेता, वक्ता, दार्शनिक र नेपाली साहित्यमा नाट्यसम्राट्को रूपमा चिनिन्छन् । रिजालले समलाई नेपाली नाट्य साहित्यका विशिष्ट साधकको रूपम लिएका छन् र भन्छन्– ‘ नाटक समको मूल विषय नै हो । नेपाली साहित्यको नाटक विधामा समलाई जित्ने सामर्थका नाटककार अहिलेसम्म देखा परेका –नपरेका कुरा भन्न हिचकिचाउनु पर्दैन । नाटकमा सुखान्त परम्परालाई परित्याग गरी दुखान्त परम्परा भित्र्याउने सम सहासी व्यक्तित्व हुनुहुन्थ्यो ।’
मानवताका पुजारी देवकोटा –वि.सं. १९६६÷०७÷२७ – २०१६÷०५÷२६) – महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यका सबै विधामा अब्बल रूपमा कलम चलाएका छन् । विविध क्षेत्रमा उनको सहभागिता गरिमामय छ । रिजालले यस लेखमा विविध पक्षलाई समेट्दै  ‘मानवताका पुजारी देवकोटा’ शीर्षमा देवकोटाका मानवतावादको पक्षमा लेखिएका कवितालाई उदाहरण सहित विश्लेषण गरेका छन् । साँच्चि नै हामीले देवकोटाका रचना अध्ययन गर्दा उनका रचनाको मूल आत्मा मानवतावाद हो भन्ने कुरा बुझेका छम् । रिजालले महाकविलाई विविध पक्षमा परिभाषित गरेका छन् । छोटो उदाहरणमा रिजाल भन्छन् –‘देवकोटा देश प्रेम हो । देवकोटा गति हो । देवकोटा मानवता हो । देवकोटमा भूत हो । देवकोटा वर्तमान हो । देवकोटा भविष्य हो ।  देवकोटा मन हो । देवकोटा मस्तिष्क हो । देवकोटा विचार हो । देवकोटा चिन्तन हो । देवकोटा एक हो । देवकोटा अनेक हो ।’
जनमतसङ्ग्रह, वीपी र कलैया (वि.सं. १९७१÷०५÷२४– २०३९ ÷०४÷०६) – यस लेखमा रिजालले २०३६ अन्त्यतिर सिद्धेस्वर संस्कृतिक माध्यमिक विद्यालय, कलैयाको विशेष मञ्चमा हुन गइरहेको वीपीको जनमतसङ्ग्रह सम्बन्धी सम्वोधनलाई समेटेका छन् । नवराज रिजाल सभामा सहभागी भए । वीपीले कसैलाई गाली नगरी केवल बहुदलीय प्रजातन्त्रका निम्ति भोट माग्नु भयो । प्रजातन्त्रले मात्र देशको हित गर्ने धारणा राख्नुभयो नम्र भावमा हात जोड्नु भयो । रिजाललाई उहाँको शालीन व्यक्तित्व , शिष्टता, र विश्वासले पेरित ग¥यो ।’ रिजालले २०३६ सालको जनमतसङ्ग्रहमा पञ्चायतको जित भएको कुरादेखि गणतन्त्रसम्मका आन्दोलन, विषम परिस्थितिमा २०३३ सालमा वीपी जुन सोचका साथ नेपाल फर्कनु भयो त्यो अत्यान्तै सकरात्मक रहेछ भन्ने पुष्टि हिजो भन्दा आज भै रहेको छ । त्यो सोच–बिचारलाई मौलिक मान्नु पर्छ । विचार नेपाली परिवेश र माटो सुहाउँदो रहेछ , जस्ता धारणालाई समेट्ने प्रयास भएको छ ।,
माटोभक्त राष्ट्रकवि घिमिरे (वि.सं. १९७६÷०६÷०७ –२०७७÷०५÷०२) – राष्ट्रकवि माधवप्रसाद घिमिरेको कलम कविता, खण्डकाव्य, गीतिनाटक, निबन्ध,कथा, अनुवाद अदिमा चलेको कलममा माटोको माया, तथा राष्ट्रप्रतिको माया पाइने धाराण रिजालले पस्केका छन् ।
सतिसालजस्तै सत्य मोहन, वि.सं. १९७७÷०१÷३०–२०७९÷०६÷३०)–लामो भूमिका बाँद्धै सत्य मोहन जोशीलाई हाँजिरी जवाफको लागि सामान्य ज्ञानको पुस्तक पढ्दा तीन पटक मदन पुरस्कार पाउने व्यक्तिको रूपमा चिनेको जानकारी रिजालले दिएका छन् । सताब्दी पुरुष सत्यमोहन जोशीको नेपाली भाषा, साहित्य, कला, संस्कृतिको सम्रक्षण सम्बद्र्धन र विकासमा पु¥याएको योगदान अतुलनीय रहेको भन्दै रिजाल यसरी प्रस्तुत भएका छन् –‘सत्यमोहन जोशी अनकण्टार जङ्गलमा वर्षैावर्षदेखि बाँचिरहेको सतिसाल हुनुहुन्छ । सतिसाल उभिन कसैको सहयोग चाँहिदैन एक्लै बाँच्छ । आँधीबेहरी,आगाको लप्का हुण्डरी र हुरीबतास, सहेर घना घना जङ्गलहरूमा ठिङ्ग उभिन्छ । सतिसालको महत्व कम मानिसले मात्र बुझ्छन् । विराट व्यक्तित्व जोशीको विषयमा जान्न बुझ्न केही समय लाग्छ । सतहमा सरसर्ती हेरेर मूल्याङ्कन गर्नु न्यायसङ्गत हुँदैन ।’
सम्झनामा जगदीश नेपाली , (वि.सं. १९८२÷१०÷०१–२०३८÷०१÷३०) – आसामको गौहाटीमा जन्मेका जगदीश सापकोटा नेपाली साहित्यमा जगदीश नेपालीको नामले परिचित भएका छन् । उनका सिर्जनामा समाजिक चेतना, छ । भोगेका यथार्थ छन् । राष्ट्र प्रेम छ । परिवेश र परिस्थितिको चिन्तन छ भन्दै रिजालले लेख्छन् –‘ मैले जगदीश नेपालीको व्याक्तित्वलाई कथाको आधारमा चिनेको, बुझेको,जानेको र आत्मसात गरेको हुँ ।’
स्मृतिभित्र कुलमानको चित्र, (वि.सं. १९८२÷१०÷२१–२०५७÷०४÷०२) –रिजालले कक्षा आठमा पढ्दा नाम सुनेका र साहित्यकार श्यामप्रसादले सर्वोच्च अदालतको आडमा उभिएर चिनाएपछिका कुलमानसिंह भण्डारी आज यस संसारमा छैनन् । उनको स्मृतिमा रिजाल लेख्छन्–‘मेरा आँखाको नानीमा उहाँको त्यो सरलता सौम्यता र आस्थापूर्ण विचार यतिखेर पनि नाची रहेछ, हाँसिरहेछ, र फनफनी घुमिरहेछ । गम्भीर मुद्रामा मलाई सुझाव, सल्लाह र प।रामर्श दिइरहेछ । उहाँ यतिवेला यो संसारमा हुनुहुन्न तथापी म उहाँलाई सुनिरहेछु, घोरिइरहेछु र विचारमा हराइरहेछु ।’
मनमुटुभित्रका कवि किसान, (वि.सं. १९८३÷१२÷२९–२०६८÷०६÷२१)– यस लेखमा रिजालले केवलपुरे किसानलाई सर्वप्रथम कवि र अनि कम्युनिष्टको रूपमा परिचय दिएका छन् । रिजालले उनको दुबै पक्षमा सटीक विश्लेषण गरेका छन् । रिजाल भन्छन् –‘भाषा साहित्यमा योगदान गर्नु भएका र शोषित पीडित जनताको पक्षमा आजीवन आवाज बुलन्द पार्नु भएका व्यक्तिसमेत सत्तासिनहरूको नजरमा र गणनामा कहिल्यै पर्नु भएन ।’ उनी केवल निमुखा जनताकै स्वस्ति गाउनमा तल्लीन हुनुहुन्थ्यो । उनको शालीनता ,सरलता र किसानप्रतिको लगावले रिजालको मन मुटु छोएको छ । उनको योगदानको सुन्दर चित्रण गरिएको छ ।  
आँखा वरिपरि श्यामप्रसाद, (वि.सं. १९८६÷०३÷०६–२०७४÷०१÷२४)– रिजालले श्यामप्रसादको विविध पक्षलाई केलाएका छन् । श्यामप्रसाद शर्मालाई लेखक संघ, नेपालको संस्थापक अध्यक्ष, समाजिक चिन्तक, समालोचक, राजनीतिज्ञ (माक्र्सवादी सौन्दर्यशास्त्री), र पत्रकार (जस्ले जेलमा बस्दा पनि हस्तलिखित पत्रिका निकाल्थे, सम्पादकको रूपमा रिजालले चिनाएका छन् । रिजालको आँखा वरिपरि श्यामप्रसादको सकृयता,वैचारिक प्रतिबद्धता सैद्धान्तिक निष्ठा, सादा जीवन, सरल विचार, सकरात्मक चिन्तन, निमुखाप्रति प्रेम र उच्च आदर्श घुमेको धारणा आएकोछ ।
यथार्थ खोज्नुहुने पारिजात, (वि.सं. १९९०÷११÷३०–२०५०÷०१÷०७)– उनी नेपाली साहित्य कि एक विशिष्ट प्रतिभा हुन् । रिजालले पारिजातलाई  लेखनमा ‘नथाक्नु नै सिङ्गो परिचय हो’ भनेर परिचय दिएका छन् । ‘‘पारिजातले आफ्ना हरेक रचनाभित्र जीवनको सारतत्त्व, पहिचानको धरातल र मूल्य मान्यता खोज्नुभएको छ । ‘कर्म गरौं कर्मलाई पूजा गरौं’ ‘कसैको स्वार्थमा माटो आरोपित हुन, टुक्रिन वा विभाजित हुनुहुन्न’ जस्ता पारिजातका थुप्रै धारणालाई रिजालले यस लेखमा पस्केका छन् ।
सादगी चिन्तनका आनन्ददेव, (वि.सं. १९९३÷०६÷२५–२०७८÷०५÷१४)– रिजालले शीर्षकमै सादगी चिन्तनका आनन्ददेव भनेर उनको सरल जीवनको उच्च सम्मान गरेका छन् । ३४ वर्ष प्रध्यापन,केही वर्ष जेलको बास, विविध विधाका २६ कृतिको योगदान, २०१६ मा नेपाल प्रगतिशील लेखक संघको सचिव साथै २०५८ सालमा अध्यक्ष रहे पनि उनले साहित्य र राजनीति दुवैमा न्याय पाउन सकेनन् । यस विषयमा रिजालले लेख्छन् – ‘जागिरभन्दा सङ्गठन विचार प्यारो लाग्यो यसर्थ जागिरको चिन्ताले कहिल्यै सताएन ।आपूmले रोजेको बाटोमा जीवनभर हिडिरहनुभयो । मनमा हिचकिचाहट वा सङ्कोच कहिल्यै लिनु भएन ।’
दृष्टिकोणका प्रतिमूर्ति हुमागाईँ, (वि.सं. १९९४÷०६÷२८–२०६३÷१०÷२८)– रिजालले ‘दृष्टिकोणका प्रतिमूर्ति’ शीर्षकमा हुमागाईँको मूल्याङ्कन यसरी गर्नु भएकोछ –‘जनकप्रसाद हुमागार्इँ ।सादा पहिरन । सरल व्यवहार । मुसुक्क हाँसेर बोल्ने बानी । जीवनवादी दृष्किोण । सधैं सचेत र सकृय । भाषा साहित्य संस्कृति र कला अनि समग्र राष्ट्रको उत्थानको निम्ति हरदम सकरात्मक सोच ।’ उनलाई दृष्टिकोणमा उच्ँच सम्मान दिने व्यक्तिहुन् भनिएकोछ । उत्साहका पर्याय नगेन्द्र दाइ, (वि.सं.१९९४÷१२÷२२) –नगेन्द्रराज शर्माको ८२ औं जन्मोत्सवको लागि लेखिएको यस लेखमा नगेन्द्रराज शर्माको त्याग, निष्ठा, समर्पण भाव,असल विचार, सत्कर्मबाट रिजाल निकै प्रभावित भएको धारणा राखेका छन् । रिजालले नगेन्द्रप्रति उनको एकलव्यको द्रोणचार्यप्रति देखाएको गुरुभक्तिको तुलना गर्नु, अभिव्यक्ति पत्रिका पाँच दशकबाट प्रकाशित हुँदै आएको र २०४ अङ्क निस्किसकेको । जीवित, जेठा साहित्यिक पत्रिकाहरूमा तेस्रो नम्बरमा पर्ने । यस पत्रिकाले धेरैलाई बाटो देखाएको, सगरमाथा चढ्न सिकाएको, लेख्न सिकाएको, गन्तव्यमा पुग्न सिकाएको भन्दै रिजालले आफ्नो मनमा लागेको प्रश्न यसरी राख्छन् – ‘धेरै अघिदेखि नगेन्द्र दाइलाई एउटा प्रश्न राख्न मन लागेको छ –हामीले हामीलाई चिन्ने, जान्ने र बुझ्ने कहिले होला ?’
गम्दै सम्झँदै गोविन्द भट्ट – (वि.सं. १९९६÷०४÷०३–२०६८÷०६÷२५)–यस लेखमा रिजालले गोविन्द भट्टलाई  एक प्रखर चिन्तक, वरिष्ठ समालोचक, समान व्यवहारकर्ता, जे बोल्यो त्यही गर्ने,जे गर्ने हो त्यही बोल्ने, आफ्नो विचार, चिन्तन, सोच र कर्मबाट पछि नहट्ने, प्रतिबद्ध व्यक्ति, शिष्ट, शालीन, प्रलेसको अध्यक्ष, प्रज्ञाप्रतिष्ठानको सदस्य, वैचारिक निष्ठाका प्रतिमूर्ति, मक्र्सवादी अध्यता, चीन विज्ञ, नेपाली प्रगतिवादी साहित्य र समालोचनाका शीर्षस्थ, व्यक्तित्वको साथै गोविन्द भट्ट सधैं सिङ्गो देशको पक्षमा उभिने व्यक्तिको रूपमा परिचय गराएका छन् ।
 सम्झनाभित्र वनवासीको चित्र, (वि.सं.१९९७÷०७÷२७) – नवराज रिजालले लामो भूमिका बाध्दै, ‘ देवीप्रसाद वनवसी नेपाली साहित्यमा विशिष्ट सर्जकको नाम हो भन्दै परिचय दिएका छन् ।’ वनवासी सरकारी जागिरे पनि हुन् । हाल उनका करिब ६ दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशमा आएका छन् । वनवासीले सम्पादन, अनुवाद र समीक्षाका क्षेत्रमा पनि कलम चलाएको धारणा पस्केका छन् रिजालले ।,
रोचकदाइ ः भाषा मर्मज्ञ, (वि.सं.१९९८÷०५÷०३)– यो लेख रोचक घिमिरे विशेषाङ्कका लागि लेखिएको लेख हो । रोचक घिमिरे कुशल सम्पादक, भाषा–साहित्यका अनन्यसेवी तथा स्मरणकार, कथा, उपन्यास र आत्मकथा लेख्ने प्रतिभा शाली साहित्यकार हुन् भनि रिजालले परिभाषित गरेका छन् ।
पढ्दै जाँदा भेटिनु भएका प्रश्रित, (वि.सं.१९९९÷०३÷०६) – मोदनाथ प्रश्रित नेपाली साहित्यका इमान्दार स्रष्टा,स्पष्ट वक्ता, महाकाव्यकार र राजनीतिक व्यक्ति हुन् । उनका कृतिमा मानव महाकाव्य अति चर्चित महाकाव्य हो । यसले वि. सं. २०२३ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । रिजालले प्रश्रितको बारेमा निकै चर्चा गरे पनि छोटो मूल्याङ्कन यसप्रकार छ –‘उहाँको लेखनीबाट नेपाली समाज अत्यान्तै प्रभावित छ । सामाजिक परिवर्तनका लागि खेल्नुभएको भूमिका अतुलनीय छ ।’
अथक यात्री ज्ञान उदास, (वि.सं.२०००÷०८÷२४)– ज्ञान उदास सकरात्मक सोच, कामप्रति जोस, जाँगर, उमङ्ग हौसला,उत्साह, गम्भीर, हँसमुख, नेपाली साहित्यमा कविता, उपन्यास र नाटक लेखन, भाषा, साहित्यमा गहिरो चाख, सार्थक र सरल लेखाई भएका साहित्यकार हुन् । रिजालले ज्ञान उदासको लगनशीलता निरन्तरता र लगातार लागि रहने भएकोले अथक यात्रीको संज्ञा दिएका हुन् ।
सर साँच्चै जानुभएको हो र ?, (वि.सं. २००२ ÷०४÷१९–२०७८÷०२÷०३)– रिजालको भनाइ छ  –‘ अत्यान्तै पेरक व्यक्तित्व हुनुहुन्थ्यो राजेन्द्र सर ।’ २०७८,को जेठ तीन गते ‘रेडियो, टिभी,फेसबुकका बाल र समाचार पत्रहरूमा पढेको मात्र नभएर तपार्इँ–हामी सबैलाई छाडेर नफर्कनेगरी जानुभएको धेरैको मुखबाट सुनेको छु ।’ सुने पनि रिजाललाई विश्वास लाग्दैन र प्रश्न गर्छन् –सर साँच्चै जानुभएको हो र ?’ राजेन्द्र सर नवराज रिजालका प्रध्यापक हुन् । रिजालले उनबाट प्राप्त मार्ग दर्शन्लाई यसरी स्मरण गर्दछन् –‘जबजब म अलमलिन्थे वा त्यस्तो परिथिति आउँथ्यो तबतब आँखा अगाडी उहाँको ज्ञानले भरिएको शालीन व्यक्तित्वले नथाकी कन प्रयास गरिरहन र नअलमलिन सधैंसधैं औंला ठड्याइरहेको जस्तो लाग्थ्यो ।’
जनमत बनेपा र मोहन दुवाल, (वि.सं. २००६ ÷०२÷२१) – रिजालले यस लेखमा जनमत, वनेपा र मोहन दुवाललाई यसरी हेरेका छन् –‘मोहन दुवाल, जनमत र बनेपा आँखा, भाव, विचार र विश्वासमा पर्यायका रूपमा रहेको पाउँछु ।’ रिजाल पुन भन्छन् –‘भाषा–साहित्यलाई माया गर्ने जनमत र मोहन दुवालको नाम मेरो छातीमा अग्रस्थानमा छ । दुबैलाई सम्मान र आदर गर्छु । रिजालले साहित्यिक पत्रकारितामा जनमतलाई यसरी हेरेका छन् –‘भोलीका कुरा नगरौं, आज सम्मको इतिहास हेर्दा साहित्यिक पत्रकारितामा जनमत र मधुपर्क सगरमाथा आरोही हुन् । यी दुर्बै शिखर पुगेका छन् ।’
के भएको हो नकुलजी ?(वि.सं. २०१९ ÷११÷२७–२०७३÷०२÷१६), – नकुल सिलवाल,साहित्यकार, साहित्यिक पत्रकार, संघका संस्थापक अध्यक्ष, ‘बगर’ साहित्यिक पत्रिकाका सम्पादक, छोटो अवधीकोलागि विद्युतप्राधिकरणको जागिरे,जस्ले स्वैच्छिक अवसान लिए लाई रिजालले  के भएको हो नकुलजी भनी प्रश्न राख्दै यस लेखको थालनी भएको छ । रिजालको नजरमा नकुल सिलवाल –‘ नकुल सिलवाल अत्यान्तै मेहनती र परिश्रमी हुनु हुन्थ्यो । उहाँको उत्साह, हौसला र जोश–जाँगरले हामीलाई प्रभावित तुलाएको थियो ।’
सम्झना मात्र बाँकी रह्यो, (वि.सं. २०२४ ÷०१÷१६–२०७८÷०३÷०६) –रिजालले भक्तको बारेमा दुखद जीवन अन्त्यको प्रष्ट्याउने प्रयास गर्नु भएको छ । उहाँ भन्नुहुन्छ –‘सधैं–सधंै नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नतिमा मरिमेटेर लागिरहने एउटा चित्रले डिस्स हाँसेर आँखा झिम्क्यायो ।’
शीर्षक सार्थकता – मूल शीर्षक ‘नेपाली साहित्यका पच्चीस सर्जक’ रहेको छ । २५ साहित्यिक सर्जकको बारेमा लेखिएको हुँदा शीर्षक सार्थक छ भन्न कुनै अप्ठ्यारो छैन । रिजालका लेख रचनामा हामीले प्रतीकात्मक शीर्षक राखिएको पाउँछम् । तर यहाँका सबै सर्जकहरूको बारेमा रिजालले जुनरूपमा जसरी सम्पर्कमा आए तथा सम्पर्क भयो त्यही रूपमा शीर्षक दिएको हुँदा सबै सर्जकको बारेमा दिएका शीर्षक सार्थक छ भन्न सकिन्छ ।
भाषा शैली – भाषा सरल छ । सबैको लागि ग्राह्यछ । लेखन प्रस्तुती निकै रसिलो, मीठो र पढौं पढौं लागि राख्ने खालको छ । ठाउँ ठाउँमा उखानको प्रयोग गरिएको छ ।
अन्त्यमा यी २५ सर्जकका बारेमा रिजालले कुन अवस्थामा तथा कहिले कुन सर्जकसँग कुन उदेश्यमा भेट भयो अग्रज स्रष्टाको  बारेमा विशेषाङ् आदिको बारेमा कुन प्रयोजनको लागि लेख लेख्न परेको हो सबै कुरा आत्मानुभूति सञ्चयमा प्रष्ट पारिएको छ । साहित्यकार, पत्रकार र तिनका साहित्य, पत्रकारिता, सरकारी सेवा र राजनीतिमा पु¥याएको योगदानलाई रिजालले विश्लेषणात्मकरूपमा प्रस्तुत गरेका छन् । यो लेखमा मैले सबै सर्जकलाई रिजालले कुन सर्जकलाई कुन रूपमा हेर्नु भएको छ अर्थात कुन सर्जकप्रति रिजालको दृष्टिकोण कस्तो छ भनेर अध्ययन गरेको छु ।रिजालका दृष्टिमा सबै  सर्जकप्रति सकरात्मक एवम् उच्च आदरभाव दर्शाउँदै लेखहरू प्रस्तुत भएका छन् ।  रिजालको सुस्वास्थ्य, दीर्घायु, उज्ज्वल भविष्यको कामना गर्दै विदा चाहान्छु ।
२०८३ साल वैशाख १० गते , कावासोती नवलपुर 

No comments:

Post a Comment