December 27, 2020

शैक्षिक भ्रमण एक संक्षिप्त विवेचना

नेपाली बृहत शब्दकोषले शिक्षालाई यसरी परिभाषित गरेको पाइन्छ - पहिलो परिभाषामा' विद्यालय, महाविद्यालय आदिमा र घरैैमा पनि नियमित रूपले अध्ययनगर्नेगराउने वा पढाइको चाँजोपाँजो मिलाउने काम ज्ञान दिने वा लिने काम, विद्या' । दोस्रो परिभाषामा -' शिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध । तेस्रो परिभाषा-' कुनै कुराको उचित तालिम तथा अर्तिउपदेश । माथिका परिभाषाले शिक्षाका औपचारिक तथा अनौपचारिक दुवै पक्षलाई समेटेको देखिन्छ । औपचारिक शिक्षामा शिक्षण संस्थामा गएर अध्ययन गरेर प्राप्त हुने ज्ञान हो । यस प्रकारको ज्ञान पाठशालामा दिइन्छ/हुन्छ । अनौपचरिक शिक्षामा कस्तो प्रकारको ज्ञान दिने हो त्यही उदेश्य अनुरूप सञ्चालन गरिन्छ र यसको लागि पाठशाला भवन चाँहिदैन ज्ञान प्रदान गरिने स्थल नै पाठशालाको रूपमा लिइन्छ । औपचारिक शिक्षामा हामीले निर्धारित समयमा दर्जा सहितको ज्ञान हासिल गरिन्छ भने अनौपचारिक शिक्षामा व्वहारकमुखी शीप सिकिन्छ । आज संसारमा शिक्षा तथा सिक्ने र सिकाउने प्रविधिमा पनि विकास भएको छ । तर हामी भने अँझै खरी पाटीको जमानाबाट धेरै माथि उठ्न भने सकेका छैनौं । आज औपचारिक शिक्षा खासरूपमा भन्ने हो भने दुई बर्गमा छुट्र्टिको छ । हुने्खानेका छोराछोरी विदेशमा पठाइन्छ र विदेशका महगा पाठशालामा पढाइन्छ । विदेशमा मौका पाउन नसक्नेले एन केन शुक्ल तिर्न सक्नेहरूका छोरा छोरी पनि निजी विद्यालय (बोर्डिङ् स्कुल)मा तथा सरकारी क्याम्पसमा पढाइन्छ । सरकारी पाठशालाहरू आज विद्यार्थी विहिन भएर बन्द हुने अवस्थामा छन् । यो पनि देशको विकासको रूपमा ल्याइएको शिक्षामा देखाइएको विकृतिको एउटा नमुना/उदाहरण हो । हिजो शिक्षामा सुधार हुनुपर्छ भन्नेहरूका छोराछोरी पनि आज त्यही धनी र गरिबको बर्गिकरणमा समावेश हुन पुगेका छन् ।

अब अनौपचारिक शिक्षामातिर लागौं । यस शिक्षामा डिग्री हाँसिलभन्दा दक्षता हाँसिलतिर लागिन्छ । सीप सिकिन्छ । यसमा कृषक पाठशाला, तालिम, शैक्षिक भ्रमण, आदि पर्दछन् ।

शैक्षिक भ्रमण

सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ र गरेर मात्र सिककिन्छ भन्ने धारणा अनुकुल गरिने शैक्षिक भ्रमण पनि एउटा सिक्ने प्रकृया हो । जानेर हामीले कुनै कुरा सुन्दछौं भने त्यस विषयमा जानकारी पाउँछौ । यदि त्यही बस्तुलाई आँखाले देख्छौ भने विश्वास गर्द छौ । यदि यी सुनेका र देखेका कुरालाई आफ्नै हातले गर्यौं भनेमात्र सीप सिकिन्छ । जान्नको लागि जबसम्म सुनेका र देखेका कुरालाई आफ्नै हातले गरिदैन तवसम्म व्यवहारमा उतार्नु सकिदैन । त्यसो हुँदा शैक्षिक भ्रमणमा भए गरेका कामहरूलाई निश्चित उद्देश्य हाँसिल गर्नको लागि सम्बन्धित निकाय/कामगर्ने सहभागीहरूलाई देखेको कुरालई आफ्नो क्षेत्रमा व्यवहारमा उतार्न सकुन् भन्ने उदेश्य अनुरूप गरिने/गराइने भ्रमण हो । यो एउटा खास विषयमा भ्मण गराइन्छ भन्ने छैन । यी भ्रमण आथिर्क, सामाजिक, धार्मिक, पर्यावरणीय, कृषि, शिक्षा, स्वास्थ, वन, महिला विकास, घरेलुउद्योग, आदि क्षेत्रमा विश्वास दिलाउन तत्सम्बन्धित सहभागीहरूलाई भ्रमण गराइन्छ । यसै शैक्षिक भ्रमणको सिलसिलामा २०७० साल आीश्वन २१ गते नमुना मध्यवर्ती सामुदायिक वन समिति, जटायु रेष्टुरेन्ट समिति, पिठौली पर्यटन विकास समिति, टोल सुधार समिति, होम स्टे र पंक्षीक्लब समितिको संयुक्त आयोजनामा चितौनको बाघमारा सामुदायिक वन, हात्ती प्रजनन केन्द, बर्ड यजुकेशन सोसाइटी, जैविक विजविधता केन्द्र, थारुसंग्राह लय र बजार क्षेत्रको अध्ययन अवलोकन गराउनको लागि करिब ९० जनाको स।मूह त्यतातिर पिठौली र कावासोती गा.वि.सीमान जटायु रेष्टुरेन्टबाट प्रस्थान गर्यो । प्रस्थान गर्नु अधि आयोजक समितिले भ्रमणको उद्देश्यबारे जानकारी गराएका थिए । जैविक विविधताको संरक्षण, सामुदायिक वनको संरक्षण र सम्बद्र्धन, चराहरूको संरक्षण कसरी गरेका रहेछन् जानकारी लिने र यी सबैको संरक्षणले पर्यटन विकासमा कस्तो प्रभाव पार्दछ र यी सबै कसरी पर्यटन प्रंवर्धनको सहयोगी बन्छन् भन्ने जानकारी लिने र यो जानकारीलाई हाम्रो ठाउँमा (पिठौली र कावासोतीमा) व्यवहारमा उतारी गाउँले जनताको जीवनस्तर उठाउने बारेमा प्रष्ट पारिएको थियो । शैक्षिक भ्रमणमा अपनाउनुपर्ने केही नियम तथा अनुशासनका कुराहरू पनि (जो भ्रमणलाई सफल पार्न र प्रभाकारी सिकाइको लागि आवश्यक पर्दछन्) आयोजकहरूबाट राखिएको पनि थियो ।

बाघमारा बफरजोन सामुदायिक वनको अवलोकन

कच्छ्यौली गा वि.सका स्थानीय बासीहरूको सकृयतामा बाघमारा बफरजोन सामुदायिक वन, (जो २१५ हेक्टर जमिन मध्ये १६३ हेक्टर जमिनमा बृक्षारोपण गरिएको छ)लाई राम्रोसँग व्यवस्थित गरेको देखियो । नेपाल सरकारले स्थानीय उपभोक्ताहरूलाई १९९५मा व्यवस्थापन गरी उपयोग र उपभोग गर्नको लागि क्षतिग्रस्त अवस्थामा रहेको वन हस्ताननरण गरिएको थियो । उपभोक्ताले यसलाई बृक्षारोपणको साथै अनुकरणीयरूपमा राम्रो व्यवस्थापन गर्दै आएका छन् । विकास गरेर आयआर्जन बढाईएको छ । आज स्थानीय ९५०घरधुरीका करिव ६००० उपभोक्ताहरूले यस बनको संरक्षण र उपभोग गर्दै आएका छन् । यी उपभोक्ताहरू ५८% थारु, बाहुन र क्षेत्री १९%,मङ्गोलियन (तामाङ, मगर,गुरुङ, आदि) १८%, र अन्य जातिहरू (विश्वकर्मा, परियार आदि) ५% छन् । यिनीहरूको एकीकृत प्रयासको उपलब्धी हो यो बाघमारा सामुदायिक वनको विकास र सौराह क्षेत्रको सुन्दरताको आकर्षणको केन्द्रविन्दु, जसको कारणबाट बढ्दो पर्यटकको आगमनले यसको विकासमा थप योगदान पुर्याएको छ । त्यहाँका आधिकारिक व्यक्तिहरू मनोज चौधरी र वि.सि. चोधरी भन्नुहुन्छ -दुई करोड पचीस लाख पर्यटकबाट आम्दानी हुन्छ । यो सबै रकमहरू मध्येबाट संरक्षण, जङ्गलको व्यवस्थापन, स्थानीय विकास, वन्यजन्तुबाट प्रभवित व्यक्तिहरूलाई क्षतिपूर्ति, सीमान्कृत घरघुरीहरू (Marginalized households) को उत्थान, वैकल्पिक उजाको बृद्र्धि, उपभोक्ताहरूको क्षमतामा बृद्धि, स्थानीय पाठशालाको भवन आदिको साथ साथै, पर्यटनको विकासको लागि सहुलियतहरू आदिमा खर्च गरिने गरिएको छ र २५ जना युवाहरूलाई रोजगार दिनसमेत यो सामुदायिक वन सक्षम रहेको छ ।

यो शैक्षिक भ्रमणमा जानकारीमा आएका तथा छलफल गरिएका महत्वपूर्ण पक्षहरूमा एउटा महत्वपूर्ण पक्ष भनेको गोवरगैसका,े निमार्ण, प्रवर्धन र सम्बर्धनको कुरा पनि थियो । ४०२ घरधुरीले वायोग्यासको स्थापना गरेर त्यसबाट इन्धन (ग्यास) प्राप्तगरी प्रयोगमा ल्याउन थालिएको जानकारीमा आयो । गोबरग्यास सञ्चालन गर्दा सर्ब प्रथम ग्यास उपलब्ध हुन्छ र दाउरा काटिरहनु पर्दैन । वन जोगिन्छ । दोस्रो कुरा महिलाहरूलाई आगो बाल्न र भाँडा माझ्न सजिलो हुन्छ । स्वास फेर्न समस्या भएका महिलाको लागि त ग्यास बाल्नु धेरै राम्रो हुन्छ । यसबाट निस्केको लेदोलाई सोझै खेतबारीमा प्रयोग गर्न सकिन्छ । लेदोबाट झारपातहरू प्रयोगगरी १भाग सलरी (झोल)बाट चार भाग कम्पोष्ट बनाउन सकिन्छ । प्रसङ्ग अलिकति बाहिर जाँदैछ त्यसको लागि क्षमा चाहान्छु । नेपालको माटोको उर्बराशक्ति दिन प्रतिदिन घट्दो क्रममा छ । यो समस्या पहाडमाभन्दा तराईको समथल फाँटमा बढी छ । तराईमा खास गरेर गोबरमललाई गुइँठा बनाएर जलाउने (इन्धनमा) प्रयोग गर्ने् चलन छ । मल खेतबारीमा पर्न सक्दैन, फलस्वरूप माटोको उर्बराशक्ति क्षीण भएर जान्छ र उत्पादन घटेर जान्छ । गोबरग्यासको लेदो सोझै खेतबारीमा प्रयोग गर्न सकिन्छ । कम्पोष्ट बनाउन चाहेमा १भाग लेदोमललाई जोरनको रूपमा प्रयोग गरी चार गुणा बढी कम्पोष्टमल बनाउन सकिन्छ । आज गोबर बचाउँ र उत्पादन बढाउँ भन्ने (Save the dung and increase the production) नाराका साथमा देशव्यापीरूपमा अभियान सञ्चालन गर्न आवश्यक छ ।

पुन अब शैक्षिक भ्रमणतिरै लागौं । बाघमारा नामाकरणका बारेमा जानकारी खोज्दा (फोल्डरको अध्ययन गर्दा) के पत्ता लाग्यो भने राना शासनकालमा राणाशासकहरू र तिनका निम्तारुहरू शिकार खेल्न आउने केही दिन बसेर बाघमार्ने र बाघको छाला सुकाउने गरिन्थ्यो । बाघ मार्ने गरिएकोले पनि यसलाई बाघमारा भनिएको हुन सक्ने र अर्को दुईवटा बाघ आपसमा लडेर मरेकोले यसको नाम बाघ मारा रहेको भन्ने किंबदन्ती पनि पढ्न पाइयो ।

बाघमारा सामुदायिक वन सानो छ तर जैविक विविधताको दृष्टिमा भने धनी छ । यहाँ २१ प्रकारका जङ्गली जानवरहरू पाइन्छन् । गैंडा छदेखि ९वटासम्म यहाँ भेटिन्छन् । ३ वटा गैंडाले बच्चासमेत यही वनमा जन्म दिए, बाघ घुमन्ते (Visitor) को रूपमा आउने गर्छ । यस वनमा भालू घडीयाल, गोही, अजिङ्गर आदि पाइन्छन् । अजिङ्गर रातभरिमा २ किलो मीटरसम्म हिडेको कुरा पनि छलफलको क्रममा जानकारीमा आयो ।

वासु वडारी Bird associations अध्यक्ष भन्नुहुन्छ - 'पर्यटकहरू नेपालमा चरा हेर्न पनि आउँछन् । संसार भरिमा पाइने ८७१ प्रजातिका चराहरूमा नेपालमा मात्र ६०० प्रजातिका चराहरू पाइन्छन् । यी मध्ये बाघमारामा १६२ जातिका चराहरू पाइन्छन् । २७ जातिका पुतलीहरू, २७ जातिका माछा, १० जातिका Reptilesहरू (जसमा घडियाल, मार्स मग्गर, गोहीहरू पनि) पाइन्छन् । ८१ जातिका बृक्षहरू, ११५ जातिका औषधीमा प्रयोग हुने बिरुवाहरू पनि यहाँ पाइने कुराहरू छलफलमा आएका थिए । आजकल ३२ प्रजातिका चराहरू लोपहुन लागेका छन् । यिनमा जटायुहरू पनि लोपहुन लागेका छन् । जटायुहरूको संरक्षणको लागि शैक्षिक भ्रमणका सहभागीहरूलाई औंल्याउँदै -'तपाईंको पिठौलीमा पनि जटायु रेष्टुरेन्ट खोली संरक्षणमा जुटिएको छ । पिठौली र कावासोतीको जङ्गलमा सुन गिद्ध, सानो खैरो गिद्ध, राज गिद्ध, डंगर गिद्ध र मिश्र गिद्धहरू पाइन्छन् र तिनलाई संक्षणको लागि प्रयास गरिएको छ ।' जटायुमात्र हैन विभिन्न जातका चराको संख्या बढाउन र बाहिरबाट आउने चराहरूलाई आकर्षण गर्नको लागि चराहरूले मनपराउने बासस्थान (रुखहरू), तिनलाई चाहिने खाना र वातावरणको व्यवस्था मिलाउन पर्ने हुन्छ । पिठौली र कावासोतीको प्राप्त प्राकृतिक स्रोत तथा त्यहाँ भएको स्थानलाई संरक्षण र सम्बर्धन गर्ने हो भने सौरहाकोभन्दा पनि आकर्षकयुक्त पर्यटकीय स्थलको स्थापना हुन सक्छ र पर्यटकहरूलाई भित्र्याउन सकिन्छ, आयआर्जन बढाउन सकिन्छ भन्ने सुझाव पनि प्राप्त भयो ।

जैविक विविधता संरक्षण केन्द्र (Biodiversity Conservation Centre) को अवलोकन

यहाँ हामीले चितवन राष्ट्रिय निकुन्ज क्षेत्र र यसको कार्य क्षेत्रको बारेमा जानकारी पाइयो । यहाँबाट गैंडाको स्थानान्तरण (बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँट वन्यजन्तु आरक्षण) गरिएको) बारे, हात्ती, गैंडाहरूलाई स्वास्थोपचार (औषधीउपचार गरिने बारे, नरभच्छी बाघहरूलाई नियन्त्रणमा राख्ने तथा बन्यजन्तुको अनुसन्धान तथा अनुगमन, राष्ट्रिय स्रोतहरूको संरक्षण (National Resources Conservation), दिगो जीविकोपार्जन कार्यक्रम (Sustainable livelihood program), संरक्षण शिक्षा (Conservation education), जातिहरूको बृद्धिको लागि प्रजनन् कार्य (Species conservation and breeding support), जङ्गली जानवर र मानव बीचको द्वन्द्व व्यवस्थापनको साथै राष्ट्रिय क्षमताको बृद्धि गर्नेजस्ता कार्यक्रमको बारेमा संङ्क्षिप्त जानकारी पाइयो । यहाँ एउटा राम्रो वन्यजन्तुको अवशेष तथा विविध वन्यजन्तुका अङ्गहरू सङ्ग्रहित गरिएको सङ्ग्राहलयको अवलोकन गरियो । यो अति सुन्दर छ र सबैले हेर्नलायक छ । यहाँ राखिएका विभिन्न सर्पहरूको पहिचान गर्दा, विषालु सर्प सजिलेरी पहिचान गर्न सकिने र उपचारमा सजिलो हुने जानकारी पनि भयो ।

थारु सङ्ग्राहलयको अवलोकन

आदिबासी थारुजातिको परम्परा र आजको मेशीनरी समयको विकासभन्दा पहिला गरिदै आएका कृषि कर्मको पहिचान, सामाजिक क्रियाकलापको (जन्मसंस्कार, मृत्युसंस्कार,वैवाहिक विधि, आदि) पहिचानको लागि, यो सङ्ग्रहालयले संग्रहित गरेका सामाग्रीहरू र त्यबारे लेखिएका सन्देशहरू राम्रोसँग सजाएर राखिएको पाइयो । यसको अवलोकनले थारुजातिको विशेषताको पहिचान र इतिहासको जानकारी दिन्छ र यस्ता जातीय पहिचानहरू सबै जातजातिले संरक्षण गर्नु पर्दो रहेछ भन्ने ज्ञान भयो । समयको अभावले गर्दा त्यहाँ भएका सबै बस्तु तथा लेखिएका विवरणलाई उतार गर्न सकिएन र यहाँ विस्तृतरूपमा लेख्न सकिएन त्यसको लागि क्षमा चाहान्छु ।

शैक्षिक भ्रमणमा हािमले हात्ती प्रजनन् क्षेत्रको पनि अवलोकन गरेका थियौं । यहाँ एउटा हात्तीले दुईवटा बच्चा जन्माएको पाइयो । यस पछि सौराह पब क्षेत्र र ठमेल क्षेत्रमा रहेका बजारको अवलोकन पनि गरियो । पर्यटकले मनपराउने सामग्रीहरूको सजावट, बजारको सरसफाई राम्रैो पाइयो । सहभागीलाई बजारमा किनमेल गर्नको लागि छोटो समय पनि दिइएको थियो । शैक्षिक भ्रमण सकेपछि रमाइलो वातावरणमा घर फर्कियो ।

भ्रमणबाट प्राप्त ज्ञान

सौराह पर्यटीय क्षेत्रको अवलोकनले नवलपरासीको पिठौली र कावासोती क्षेत्रमा पनि यी कार्यक्रमहरू फिलतापूर्वक सञ्चालन गरेर, सामुदायिक वनको विकास गर्न सकिने, यहाँ भएका वन्यजन्तुको संरक्षण र सम्बर्धन गर्न सकिने जानकारी पनि पाइयो र यी सबै चिजलाई व्यवहारमा उतार्न यहाँको वातावरणले साथ दिएको देखियो । हामीले यस क्षेत्रमा राम्रो आकर्षणयुक्त पर्यटीय क्षेत्रको विकास गर्न सकिने कुरामा साथै यसबाट स्थानीय बासी र राष्ट्र दुवै नै लाभान्वित हुने कुरामा दुईमत छैन । सर्बप्रथम त सरकारको ध्यान यस्ता सम्भाव्य र स्थानीय जनताको आयक्षमताले नभ्याउने भएकोले स्थानीय सहभागितामा सरकारबाट कामको थालनी हुनुपर्दछ या गै्रहसरकानरी क्षेत्रबाट सहयोग लिएर कामको थालनी गराउनु पर्दछ । यहाँको अध्ययनमा बाघमारा सामुदायिक वनका पदाधिकारीको सुझाव र त्यहाँका उपभोक्ताले गरेको श्रमको लगानी तथा प्रयासले के बुझाउँछ भने आफ्नो ठाउँको विकास आँफैले गर्नुपर्छ । त्यसो हुँदा, जे सुनियो जे सिकियो भ्रमणका सहभागीहरूले तत् सम्बन्धमा पहल कदमी थाल्नु पर्दछ । यस पंक्तिकारले यस क्षेत्रमा सञ्चालित जटायु रेष्टुरेन्टलाई व्यापकतामा लानु पर्ने महसुस गरेको छ । सौरहाका सम्बन्धित निकायसँग सहयोग र सुझाव लिएर माथिका समितिहरूले यहाँ पनि सबै प्रकारका सम्भाव्य कामको थालनी गर्नुपछ । कामको थालनीमा निश्चय पनि समस्याहरू देखिन थाल्छन् तर समस्याको समाधान सबै पक्षबाट पहल र सहयोग गर्दै अघिबढ्दै जानुपर्दछ । भ्रमणमा सहभागीको संख्या २५देखि ३० जना हुनुपर्नेमा करिव ९० जनाको सहभागिता थियो तर यति ठूलो मास निकै अनुशासनमा भएको कारणले भ्रमणका सहभागीलाई धन्यवाद दिनु पर्दछ । महिला सहभागिता पनि राम्रै थियौ । मदिरापान र होहल्लाले स्थान लिन पाएन । यो पनि भ्रमणको सफलताको केन्द्रविन्दु बन्न गयो । अवलोकन स्थलमा प्रशिक्षकको रूपमा प्रस्तुत व्यक्तित्वको प्रस्तुति निकै प्रभावकारी सरल र सौहार्दपूर्ण थियो । सम्बन्धित सबैलाई धन्यवाद दिनै पर्छ । व्यवस्थापन पनि निकै प्रयासरत रहेको पाइयो ।

भ्रमणमा सुधार गर्नका लागि सुझावहरू

कमी कमजोरी त कहाँ हुँदैन र कमीकमजोरीलाई न्यूनपार्ने प्रयास हुनुपर्दछ । शैक्षिक भ्रमणको समूह ठूलो थियो । अनौपचारिक कार्यक्रममा गरिने जुनसुकै कार्यक्रममा विविधताले भरिएको समूह हुन्छ । जसलाई नियन्त्रणमा राख्न र सिक्न र सिकाउन त्यति सजिलो हुँदैन, खानपीन र अन्य व्यवस्थापन पक्षमा पनि कठिनाई हुन्छ जो यहाँ पनि देखिएको थियो । समूह ठूलो, सिक्ने र सिकाउने विषय धेरै भएकाले यस्तो शैक्षिक भ्रमणलाई कम्तिमा दुईदेखि तीन दिनको समय हुनु पर्ने, सोही बमोजिमको बजेटको व्यवस्थापन हुनुपर्ने मैले महसूस गरेको छु र अब सञ्चालन गरिने कार्यक्रममा दिनको संख्या बढाउनको लागि हार्दिक अनुरोध पनि गर्दछु । अन्त्यमा यो शैक्षिक भ्रमणलाई फलदायीरूपमा लिनु पर्दछ । अवलोकन गरेर विश्वास पनि गरियो । अबको पालो भनेको व्यवहारमा उतार्नु हो । यसको लागि धेरै चिजको खाँचो हुन्छ, त्यसको लागि सर्बपक्षीय सहयोगको अपेक्षा राख्दै, आयोजक बर्गले यति सुन्दर कार्यक्रमलाई सञ्चालन गरी, जनचेतनाको अविवृद्धि गराएकोमा धन्यवाद दिन चाहान्छु ।

धन्यवाद

सदानन्द अभागी
शान्तिचोक, कावासोती-१, नवलपरासी
मिति २०७० साल असोज महिना विजया दशमी, २८ गते

शूपर्णखा खण्डकाव्यको शैल्यक्रिया

परिचय
गोविन्दराज विनोदी, हेर्दा साधरणजस्ता लाग्ने व्यक्तित्व विचार र भावनामा एउटा सिन्धु एव म नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् जस्तो लाग्छ मलाई । यस्ता बहुआयामी साधक एव म छन्दोवादी काव्यधाराका मानक स्रष्टाको 'शूर्पणखा' खण्डकाव्यमा 'एउटा दृष्टि जावस' भन्दै आदरणीय प्राध्यापक डा. नारायणप्रसाद खनालज्यूबाट २०७३, कार्तिक १४ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती साहित्यिक कार्यक्रममा शूर्पणखा खण्डकाव्य प्राप्त गरें ।

गोविन्दराज विजनोदीजीको 'हिमस्पर्श'(२०६६) पनि मैले अध्ययन गरेको छु । जुनसुकै कृति पढे पनि आजकल केही न केही लेख्ने कामको थालनी भए पनि गहन साहित्यकार विनोदीजीको 'हिमस्पर्श'मा मैले लेख्ने आँट गरिन तर आज 'शूर्पणखा'मा भने केही शब्द पस्कने विचार गरेको छु । विनोदीजीले नेपाली साहित्यमा पूर्याएको योगदानको उच्च मूल्याङ्कन हुनु पर्ने थियो तर आजसम्म हुन सकेको छैन । २०१० साल श्रावण २८ गते कास्की रूपाकोटमा जन्मनु भएका विनोदीजी हाल गैडाकोट–८, नवलपरासीमा बसेर शैक्षिक क्षेत्रमा सेवा दिंदै साहित्य सिर्जना गर्दै हामीलाई 'मरो वर्तमान(२०४७), 'निर्मम निर्ममम घडीहरू (२०५६), आँखाका नानी (२०५७), छन्दविनोद (२०५९), अविश्रान्त (२०५९), हिमस्पर्श (२०६६), अनुपमा धर्ती (२०६६), सृष्टिमाथिका दृष्टि (२०६६) नानीका गीत (२०७०), शूर्पणखा खण्डकाव्य (२०७१)को साथै अनगिन्ती भूकिा लेखन, उनको सम्पादनमा पत्रिकाहरू र विभिन्न पत्रपत्रिकामा अनगिन्ती फुटकर रचनाहरू प्रदान गर्नुभएको छ । उहाँको शालीनता मन्द मुस्कान आकर्षक अनुहार, साधारण व्यक्तित्व र उच्च विचार नै गोविन्दराज विनोदको परिचय हो जस्तो लाग्छ मलाई ।

कृतिपरिचय –शूर्पणखा खण्डकाव्य २०+६७ = ८७ पृष्ठमा सिर्जित छ । यो कृति त्रिवेणी साहित्य परिषद नवलपरासीबाट प्रकाशन गरिएको र मूल्य रु.१६१/– राखिएको छ । यस कृतिमा आत्मप्रबोधन, पूर्वस्मृति– १, २, ३, देश दर्शन, पञ्चवटी–१, २, चित्ताकर्षण, प्रणयनिवेदन, आत्म–विचलन, चुनौती, प्रत्यागमन र उपसंहार गरी १३ खण्डमा काव्यको निर्माण गरिएको छ । यस काव्यमा २५४ वटा श्लोक छन् । यस काव्यमा विनोदीजीले मन्दाक्रान्त छन्दको प्रयोग गर्नुभएको र सर्गान्तमा वियोगिनी छन्दका एक एक श्लोक प्रयोगमा ल्याउनु भएको छ । यस काव्यमा शूर्पणखाको मनोलापमा सिर्जना भए पनि अन्तिम सर्ग (उपसंहार)मा काव्यकारको धाराणाले स्थान लिएको छ ।

काव्य र कृतिकारप्रति साहित्यकारको धारणा –यस काव्यमा प्रकाशकीय र । भूमिका लेखनमा लेखिएका सारगर्भित धारणाले यस काव्यका सारभावलाई निसारण गरेको देखिन्छ त्यसोहुँदा ती सारगर्भित भावनाका केही पंक्तिहरू यहाँ प्रस्तुत गर्न चाहन्छु–

प्राध्यापक डाक्टर नारायणप्रसाद खनालको धारणा– प्राध्यापक डाक्टर नारायणप्रसाद खनालले यस कृतिको प्रकाशकीयमा लेख्नुहुन्छ – 'सानो आकारमा रचिए पनि यसले उठाएको नारी वेदना, नारी अधिकार र नारी चेतनाको विषय वर्तमानमा प्रत्येक मानवअधिकारकर्मी र यसका उपभोक्ताले चाहकैमध्ये पर्दछ '

निर्मोही व्यासको धारणा – 'उत्कृष्ट काव्य कृतिका बारेमा...' शीर्षकमा निर्मोही व्यासले यस कृतिको बारेमा लेख्नुहुन्छ–'... यस काव्यमा एकातिर प्राकृतआवश्यक्ताको परिपूर्तिबाट बञ्चित भई जैविक दृष्टिले नितान्त दमित–कुण्ठित हुनका कारणले त्यसको शमनको लागि सामाजिक मर्यादाको उल्लङ्घनतर्फ अदम्य साहसका साथ अग्रसर हुन खोज्दा दुरूत्साहित र अपमानित तुल्याइएकी काव्यनायिका शूर्पणखाप्रति सहानुभूतिशील भई उनको मनो विज्ञानलाई सशक्त रूपमा कलात्मकताका साथ अभिव्क्ति गरेर मानवीय संवेदनालाई अँझ नारी–संवेदनालाई सम्मानित तुल्याएको छ भने अर्कातिर सर्वथा निष्पाप र निर्दोष सतीसाध्वी सीता उपर श्रद्धा व्यक्त गर्दै नारीको उदात्त चरित्रका पक्षमा काव्यिक निष्कर्ष प्रसतुत गरी परम्परित आदर्शको पालना गरिएको छ ।

डा.लक्ष्मणप्रसाद गौतमको धारणा –शूर्पणखा काव्यमा आएका उपर्युक्त सन्दर्भहरू यस काव्यका अन्तर्बस्तु पनि हुन्, कथ्यसन्दर्भ पनि हुन् र र काव्यको समाख्यान पनि हो । यसकाव्यमा पूर्वीय मिथक अनुसार नकरात्मक ठानिएकी शूर्पणखाभित्र पनि प्रेम संवेदना, हार्दिकता, आत्मीयता, राग–अनुराग आदि अनेकौं संवेदित पक्षहरू छन् भन्दै शूर्पणखाका बहुविध चरित्रहरूको प्रत्यङ्कनका दृष्टिले यो काव्य शक्तिशाली छ । यहाँ शूर्पणखाका रागात्मक प्रेममयी, संवेदनात्मक, आत्मिक, भौतिक, अभिमानी, विद्रोही, क्रोधी, आक्रोशपूर्ण प्रतिशोधी र पराजयी चरित्र देखाइएको छ र उसका मनमा आएका अन्तद्र्वन्द्व तथा विचलनहरूले यस काव्यमा व्याप्ति प्राप्त गरेका छन् । सुरुदेखि प्रत्यागमन शीर्षकको बाह्रौ सर्गसम्म उपर्युक्त अन्तर्वस्तुकै सेरोफेरोमा काव्यले परिक्रमा गरेको छ ।

स्वय म काव्यकार गोविन्दराज विनोदीको धारणा– शूर्पणखा खण्डकाव्यको सिर्जना गर्ने चाहना बीसौं वर्षदेखि भएको, यसको लागि तुल्सीकृत रामचरित मानस, वाल्मीकीय रामायण, अध्यात्म रामायण लगायतका पुस्तकहरूको अध्ययन गरी यो काव्यको सिर्जना गरिएको धारणा राख्दै लेख्नुहुन्छ –'यद्यपि उसलाई मैले रामायणादि ग्रन्थमा उल्लेख गरिएको दानवी/मायावी पात्रका रूपमा नभई मानवी पात्रका रूपमा चित्रण गर्ने प्रयास गरेको छु' । काव्यकारले राम र लक्ष्मणसँग विवाह प्रस्ताव राख्नुलाई अनौठो नठान्नु तर सीतालाई देखेपछि शूर्पणखाले ईष्र्याभाव(सौताभाव) जाग्नु नै उसको गल्ती भएको ठम्याउनु भएको छ ।

काव्यको कथासार – यस कृतिका प्रथम सर्ग आत्मप्रबोधन शीर्षकबाट थालनी गरिएको छ । यस सर्गमा शूर्पणखाका मनमा रतिका सयौं थरी चञ्चलताले भरिएका भावनालाई कविले प्रष्ट्याउने प्रयास गरेका छन् । शूर्पणखाका मनमा मिठो आह भरेर आउनु, आफूभित्रै गहिरो चाहनाले स्थान लिनु, आफूले आफै आफ्नो तन हेरेर लजाउनु, ऋतुसँग रूप फेरेर जाउँ जाउँ लाग्नु, पिकसँग गाउन मन लाग्नु, मयुरसँग नाच्न मन लाग्नु, संसार हसाउनेगरी हाँसौ जस्तै लाग्नु, सिङ्गै भूवन खाने जस्तो भो्क लाग्नु, समुद्रै पीउने जस्तो प्यास लाग्नु, दिनकर शशीलाई हातमा राख्ने चाहना, मदन मदिराको स्वाद चाख्नको लागि आतुरता, देखे जतिका बस्तुको हृदयतालमा छाया बसेको, छाया भित्रै माया खसेको, गन्ध मिठो लाग्नु, मनको लहडको छन्द राम्रो लाग्नु, मुटुको स्पन्दन प्यारो लाग्ने, जवानीको विज्ञापन गर्दै हिड्नु कि या प्रेमको राजधानी कति टाढा होला ? ताराहरूलाई माला उन्नको लागि झर्ने आग्रह, गीत सुन्न इन्द्रेनीलाई पर्खने आग्रह गर्दै यौन भोकलाई मेटाउनको लागि यस भुवनमान कुनै जोडा छैन कि, प्रश्न गर्दै शुर्पणखाले बैंसको वदनजलको पोखरी भित्र कमलसरि शीर्ष ताजको खोजी गर्दछिन् । पथ–विपथमा अस्त्र फेरेर हिड्न, दिन दिनै बस्त्र फेरेर हिड्न, इच्छा लाग्नु, उनका लालीपूर्ण ओठलाई देखेर वनका फूलले ईष्र्या गर्नु, ऐनाहेरी प्रतिपल एक्लै मुस्कुराउँ जस्तो लाग्नु, मनमनै गुनगुनाउन मन जाग्नु, वायुले वदन चुम्दै हिड्नु, आफैमा भएको सुगन्धलाई कस्तुरीले खोज्दा झै खोज्दै हिड्ने कि आदि भावनाका लहरहरू शुर्पणखामा बग्दै जान्छन् । कृष्ण कादबिनीको घुम्टो ओढ्न, चहकिली ज्योति सौदामिनीको चोली पहिरन, तारकाका सितारा लाउन, र कल्पनाका पियारालाई भेटनको लागि आतुर छन् शूर्पणखा । उनको कल्पना आफूमा मात्र सीमित छैनन् भन्दै कल्पना गर्दछिन् –

होलान् मेरै सरह युवती बैंसको उष्णतामा
फक्रेजस्तै कुसुम सहसा फक्रिएका धरामा
होलान् नानातरह तिनका भावना उर्लिएका
जोडी खोज्ने प्रिय ढुकुरझै प्रेममा कुर्लिएका
पृष्ठ ४

बैंसको आतुर चित्तचङ्गा जस्तै उड्न, पाङ्ग्राजस्तै प्रणय–पथमा गुड्न मन लाग्नु बैंस आँधी या जलधिको छाल हो पहिचान गर्न कठिन, समयले मित्रको रूपमा आएर सृष्टि रच्नको लागि गरेको आग्रहको् कल्पनामा बग्दै, आस्था, आशा, इच्छा, चेतना अर्चना, हुनुको साथै 'क्यै संसारी विषय सुखका वासना प्रार्थना छन्' भन्ने धारणा शूर्पणखाले पोख्दै हावालाई उनको लागि पर्खि राखेको कुनै युवकसँग उनको मनको रागलाई लैजान भन्छिन् –

यौटा मीठो ध्वनि समयको गुन्जियोस् कानभित्र
ठानोस् उल्ले पनि सृजनको यो सुसेली विचित्र

पूर्वस्मृति –१ को भावसार– पूर्वस्मृति–१ यस काव्यको दोस्रो सर्ग हो । यस सर्गमा काव्यकारले शूर्पणखाकी आमा(कैकसी)ले शूर्पणखाका बाल्यकालका घटनाहरूलाई भनेका यर्थाथ र परिवारको बारेमा शूर्पणखाले स्मरण गरेको प्रस्तुत गरिएको छ । बालककालमा चकचके, हात्तीसँग खेल्ने, बाधलाई पक्रेर हाँस्ने, काली सरह खड्कलिएर वनमा नाच्ने भएकी, लामा ठूला नङ, बाक्लो र काला केश भएकी, स्वर्णाभाझै उज्यालो मुख, अलि अलि पढेकी, वनमा एक्लै गएर शिकार ल्याउने, तीक्ष्ण दृष्टि प्रहार भएकी बाबा(विश्वा)बाट अध्यात्मवाद सिकेको, ज्ञान विज्ञानमा आमा बाबामा बहस चल्ने, भाउजू (मन्दरी रावणकी पत्नी)बाट सङ्गित सुन्ने र सिक्नेकाम भएको, ठुल्दाज्यै (रावण)बाट शिव प्रार्थना सुनेर जोश उत्साह भर्ने, माइला दाजु (कुम्भकर्ण) सुत्ने दूध केरा खाने मुरलीको आवाज सुन्दा भाग्ने, कान्छा दाजु (विभीषण) ध्यान मग्न रहने आफ्नो भलाइ आफै गर्नु पर्छ भन्ने, आफै(शूर्पणखा)को हृदयको दाउ स्वाधिन बन्ने, नारीले पुरुष सरह काम गर्न, लोकमा नाम राख्न, प्रगति पथको बाटो रोज्न सक्छन्, पवन, वन, वा नीर, आकाश र माटो सबैका साझा हुन् र पुरुषका दासी नारी हैनन् भन्ने जस्ता विद्रोह मनमा जाग्ने, रातमा सिन्धुमा इन्दुलाई हेर्दा इन्दुमा सिन्धु हेर्ने चाहना राख्ने, आफू पनि सिन्धुमा विन्दु ठान्ने, बालापनको विभिन्न चीज हेर्ने जिज्ञासा जो आज पनि बाँकिरहेको, कहिले गृहनरको मेला र भोज देख्ने, कहिले अरुमाथि गरिने व्यङ्ग र कडा युद्धका प्रसङ्ग सुन्ने, अस्त्राभ्यासी दिन दिनै बाण वर्षा गर्ने खाली समयमा सुरा र सुन्दरीका चर्चा गर्ने, यस्तो देख्दा दिक्क भएर जलधितटमा बेग्लै संसार हेर्न जाने, बाल्यकालका यिरहरिलो वानी, लिप्सा, धन, पद, द्वेष विनाको सरल, सौम्य आनी र बानीलाई छाड्दै यति कडा दर्दिलो जवानी किन आएको होला भन्ने प्रश्न राख्दै यो पूर्वस्मृति– १ समाप्त हुन्छ ।

पूर्वस्मृति– २ – यो यस काव्यको तेस्रो सर्ग हो । मनसागरभित्र पौडी खेल्दा शूर्पणखाका स्मृतिहरूको चित्राङ्कन झन हुँदै गयो । राजाकी भगिनी भएको नाताले उन्ले चाहेको सबै चीज विना सर्त प्राप्त हुँदै गयो, गुरुकुलमा पढ्दै, बाल्यकालबाटै युद्धका कला सिक्दै, ऋषिहरूको यज्ञ तोड्दै, ठूला ठूला समर जित्दै, समरको प्यास जगाएर हिडदै गर्दा ग्रहणले हेरेको तारागणले घेरेको, हृदयतलको गीत सुन्दै, युग युगका सभ्यताबाट जित ल्याउने भावना धर्दै अनेक थरिका गहनाहरू भए पनि नलगाई जलधी तटका चीजहरू ल्याउने, कहिले नरिवलका बोटमा हल्लिएर, ताड पानी पिएर, डरनमानी सिन्धुमा पौडिएर, बगरमा दौडिएर खेल्ने, जलधीका तरङ्ग हेर्नु जलचरका किंवदन्ती सुन्नु, उच्च चट्टानमा चढ्नु, गोता पसेर मोती खोज्नु, राती अवेर गरेर घर पुग्दा आमाको गाली पनि खानु पर्ने, असुरगणको रिसको विध्वंसकारी चाला देख्नु पर्ने, साथीहरू पनि उनीसँग डराएको पाइने, कहिले पछ्यौरी हावामा उड्ने, पानीमा रुझ्न आनन्द लाग्ने, कसैसँग माथा नझुकाइ हिड्ने, जिन्दगीका हरेक परीक्षामा प्रथमहुने प्रतीक्षा राख्ने, रुखमा शीघ्र चढ्ने, ठाडाखोला सहसा वीरताका साथ तर्ने, मनमा कत्ति कुण्ठा, निराशा नलिने, नयाँ लक्ष, विश्वास, आशा बोकेर हिड्ने, आशाभित्र पनि नयाँ युग देख्ने, आफै आफ्नो प्रगति–कविता लेख्ने, गुप्त कुरा देखिँदैनन् लुप्त कुरा लेखिदैनन्, आदि बाल्यकालीन घटनालाई प्रष्ट्याउँदै शूर्पणखाको धारणा सहित यो सर्ग समाप्त हुन्छ ।

स्मृति –३ –यस सर्गमा काव्यकारले यस काव्यकी नाइकाको विवाह 'विद्युज्जिह्वा' दनुज राजाकै वंशकोसँग हुने भएकोले छिटो तयार हुने संदेश लङ्कापतिले दिए पछि उनी सिङ्गार गरेर तर्खर भइन् ।मधुमिलनको स्निग्ध –सौभाग्य रातको कल्पना गर्दै परिणय हुने ठाउँमा गई 'जिह्वज्यू'को गलामा माला पहिराएर जिह्वज्यूको मृदुल बाहुको स्पर्श पाउँदै करकमलबाट माला पहृदै साह्रै सुखद पलको आुभूति गर्दै गर्दा समरतिर जानु परेको र समरमा गए पछि आफ्नै दाजुबाट आफ्ना पति मारिएको खबर दूतबाट प्राप्त भएपछि असह्य विलौना गर्दै मार्नूनै भए 'मलाई किन उन्लाई सुम्पिएको'भन्दा दाजुले भ्रम भएको महाभूल भएको जुवाइँ मारिएको थाहै नभएकोले अब सुर्ता नगरी दाज्यू खरसँग राजदूत भएर दण्डकारण्य जान भनिए पछि ढुङ्गाजस्तो मन बनाएर धैर्य केही जगाएको धारणा सहित यो सर्ग समाप्त हुन्छ ।

देश दर्शन–यस सर्गमा सिन्धुतरेर नौला जनपद हेर्नको लागि शूर्पणखा, सागर नदीनाला तर्दै विभिन्न प्राकृतिक सौन्दर्यलाई नियाल्दै, दण्डकारण्यमा, पुग्दछिन् । यो धर्तीको अनुपम स्निग्ध काख पाउँदा लाखौंलाख भावनाहरूउठ्दै गएको, कृषकका बस्ती टम्म मिलेका, खेतमा धानझुलेका, सहरका धनहिरूले विलास गर्दै गरिबहरूलाई दास बनाएको, भोगी, कामी, सुरा सुन्दरीमा लिप्त कतिपय राजा राजनीतिमा लिप्त कतिपय राजा राजनीतिमा प्रवृत्तरहेका, साना साना अनेक जनपद वारि र पारि बनेका, चेतना र विवेकमा जिउनको लागि साह्रै कठिन, दीनहरूले प्रगति, समता, न्यायको जित भएको नवयुग कहिले आउला भनी पर्खिरहेका, शूरा योद्धाहरू नृपसँग डर्नु पर्ने, वर्षैपिच्छे हलचल भै नै रहने, युद्धमा फस्न पर्ने, अवध राज्य बलिष्ठ भएको राजा दशरथ कर्तव्यनिष्ठ दानवी प्रबृत्तिलाई दमन गर्ने राजा थिए र उनका चारभाइ छोराहरूमा जेठा छोराकी साह्रै राम्री कुसुम–युवती जानकी नवबधु रहेकी, भरत गद्दीमा बसेका, राम र सीता वनमा आएको, नृपतनयलाई हेर्न चित्त अधीर भएको धारणा, शूर्पणले राख्दै उनले सानिमाका पुत्र खर, त्रिशिर, दूषण पनि यतै छलकपट बलले अधिनमा राख्दै राज्य गर्दछन् । विमात्रीतिरका दाजु कुवेर अलका धाम नेपालमा बस्दछन् । उनको विमान खोसेकोले सम्बन्ध सफा नरहेको, यहाँ पनि साना साना राज्यहरू रावणको अधिनमा रहेका, यहाका जनताले विष्णुको पूजा गर्दा रहेछन् तर रावणले आफै रचित शिवको ताण्डवस्तोत्र पाठ गर्छन् । हिड्दा नयाँ नयाँ दृश्य देखिनाले मुग्ध हुँदै हिडिरहु जस्तोलाग्ने, मगजको पत्रमा यात्रामा देखिएका विचित्र शब्दचित्र कोरिरहुँजस्तो लाग्ने, हिड्दा प्रकृतिका अनेक रूप र मानिसका अनेक कर्महरू देख्न पाइन्छन् साथै त्यसै प्राप्त गर्न नसकिने अनुभवहरू लिन सकिन्छ । 'ज्ञाता यायावरसरि कुनै जिन्दगीमा हुँदैनन्' भन्दै देश देशको दर्शन थरी थरीका संस्कृति र भेषको ज्ञान हुँदै भरियो उनमा सुन्दर भाव माधुरी भन्दै यो सर्ग समाप्त हुन्छ ।

पञ्चवटी–१–यस सर्गमा पञ्चवटीको प्राकृतिक सौन्दर्यलाई प्रस्तुत गरिएको छ ।पञ्चवटीमा मन्दवायु चल्छ, कुसुमले वनमा मीठो सुवास छर्छ, वासन्ती समय छ, नयाँ पालुवाका लुगाले तरुलाई सिङ्गार्छ, डाली डालीमा सुगा झुम्मिएका छन्, व्याधा छैनन्, चरा स्वतन्त्र छन्, ऋषि कुलको शान्तिको मूलमन्त्र फैलिएको छ, कुनै वैरभाव छैन, आ–आफ्नै स्वभावमा रमाएका छन् । शंख घण्ट बज्दै छन्, वेदध्वनि गुञ्जिदै छन्, धूपको मन्दमन्द बास्ना नासिकाले पाउँदै छ, शूर्पणखाको नजर पर्ण(स्याउला)को झोपडीमा अल्झिन्छ हेर्दा हेर्दै पयर बल्लरीमा बल्झिन्छ, जादूले तानेसरि तानिदा कसो लडिएन भन्न सङ्कोच लाग्छ ।राम्रा साना सफा कुटीमा को बस्छ पत्ता लगाएर यदि ऋषि भए पाउमा नै्र समाएर श्रद्धा अर्पण गर्ने मनका कल्पनाझै विचित्र फक्री फुरुक्क भएर बाँच्न चाहाने कोपिला, हरिणका शिशु मस्त मस्त उफ्रेका, । सारौँ. पवनमा सुस्त सुस्त तैरदैं गरेका रवि किरणले विहानमा आई हेर्ने, धर्तीका अनुपम कला अनि सिर्जनाका विधानहरू वरपिपलले छाँयाँ दिने, आदि विविध प्राकृतिक सौन्दर्यले गर्दा प्रीतिको फूलबारी सिर्जना गर्ने रहर जस्ता प्राकृतिक सौन्दर्यमा प्रभावित भएर शूर्पणखाले भन्छिन् –

मेरो त्यस्तो महल सुनको गर्विलो ठाँट–बाँट
चाहेजस्तो विभव–सुखको राजसी छाँटकाँट
मीठा नाना तरह मदिरा मांस आहारलाई
त्यागी आऊँ कि त वनतिरै लाग्न थाल्यो मलाई

उनले उनाका पछि पछि अङ्गरक्षक हिड्थे, गुरुहरू वैज्ञानिक शिक्षा दिन्थे, कोलहालमा हुर्किएकोले 'सिर्जना' नछानिएको र राम्रो प्रकृति कहिल्ये पढ्न नजानिएको, यहाँ भने धन र सुनको कालो छाया नदेखिएको, 'फोस्रो आडम्बर पनि कतै दृष्टिमा लेखिएन' अन्न वा कन्दमूल जे जे पाइयो खाइयो भूल–शूल केही छैन आदिको साथै –'देखेँ साँच्चै प्रकृति रचना आज अत्यान्त खासा' शूर्पणखाले यहाँको प्रकृतिक सौन्दर्यले यति गहिरो छाप पार्यो कि नयाँ नयाँ पढ्न पर्ने कुरा पढ्दै जाने, नयाँ सिर्जना हेर्दै जाने, 'सारा सृष्टि–स्थिति– प्रलयको भूतहोस् वा भविष्य, बुझ्दै जाउँ जति–जति अँझै बुझ्न, बाँकिरहस्य' भन्दै उनको चाहना अनुसार घुम्न थालिन्, यहीं बसेर सृष्टि र 'नित्यानन्दीपरम सुखको यो नयाँ वृष्टि हेर्छु' भन्दै यस सर्ग समाप्त हुन्छ ।

पञ्चवटी–२ –यस सर्गमा शूर्पणखाका दबिएका मनभित्रका कुरा धेरै आँकुरा भएर छरिएर उम्रेर धेरै भावहरू सपना भै पोखिएको धारणा पस्केका छन् काव्यकारले । शूर्पणखाले अजब सपना देख्छिन् ।सपनाको कारणले छाती फुल्छ । कस्तो खाले परिणति दिने सङ्केत हो या आफ्नै अर्ध–सञ्चेत हो भन्ने ठान्छिन् । यौटा सेतो चहकिलो घोडा अगाडि आउनु, साथै यौटा तेज–राशि हँसिलो युवक घोडामा सवार भएको जादू हो वा मदनको अनौठो उभार हो छुट्ट्याउन नसकिने जस्तो देखिनु, कुनै सूत्रले तान्दाझै तथा हावा चल्दा तृणदल त्यसै साथ आफै लाग्दाझै तानिएर उसको पछि पछि लाग्नु, ऊ उड्दै हिमशिखर माथि गएर मेघभित्र हेर्दा हेर्दै विचित्रसँग अलप हुनु, शूर्पणखा पनि फुर्तिली र शक्तिशाली भएकोले प्रीतिको पंख हालेर उड्नु, शूर्पणखाको आत्मा विचलित हुन्छ । उनी प्रीतमा पग्लिन्छिन् खोला बन्दै तलतल बग्दै शीतमा सङ्लिदै जान्छिन् । आँखा खुल्दा शरीर पसिनाले भिजेको र युवक मुटुको माझमा बिझेको अनुभूति हुनु, विगतले फेरि झल्का दिएको वा, अभ्यागत समयले दर्द सिएको वा अकथित कथा सपनामा पोखिएको वा उनको नियति युगका साथमा जोखिएको के होला ठान्दै उनी प्रश्नबाची हुन्छिन् । उन्ले के गर्ने के नगर्ने कसरी चिन्ता हटाउने भनेर सोच्न सक्दिनन् र मनमनै राम्रै होला भनेर धैर्य धारण गरी हाँस्छिन् र तिर्खा लागेकोले पानी पिउनु, नदीमा गएर नुहाउनु, आफ्नै तनमा अँझै नयाँ भाव–सौन्दर्य पाएको अनुभूति गर्दागर्दै क्वैलीले कुहुकुहु गर्नु गौथली चिर्बिराउनु, पवन नाच्दै आउनु, रुखका पालुवा फर्फराउनु, पूर्वि क्षितिजतिर ज्वाला वा अनलको रातो फिलिङ्गो आधा होवा वा मृदु मधुरिमा सृष्टिसौन्दर्य सिङ्गो साह्रै अपूर्व दृश्य देख्छिन् र हेर्दाहेदै बाल–सूर्यले जन्म लिन्छन् र। कागले केही सन्देश दिन्छ तर उन्ले बुझ्दिनन् काग धपाउँछिन् काग उडेपछि उनमा विचार पलाउँछ –

मेरा आफ्ना सकल मनका कल्पनाका तरङ्ग
निस्की आफ्नो लय र सुरमा छोइँदै अङ्ग–अङ्ग
दौडेका हुन् क्षितिजतिर वा स्वप्नको रूपधारी
मेरो नौलो तरुण वयको प्रीति ढोका उघारी
पृष्ठ ३३

आफ्नै वासनाका सुसेली हुन् वा आफै सम्बोधित विम्बजस्तै जुनेली हुन् या नौलो कुसुमवयको रङ्गमा रङ्गिएका तृष्णहरू बाँचेका हुन्, चारैतिर स्वर्णपङ्खी प्रभातहरू देखिएका छन्, गिरि, नदनदी, सृष्टिका श्रम्य हातहरू व्यूझेका छन्, ऋषिजनहरू ज्ञानले सङ्लिएका छन्, मीठा प्रकृतिका कविता पढिएका छन् । यस्ता विविध सपनाहरू देख्दा देख्दै स्वप्नजस्तै भएर आफ्ना बाटाहरू भूलेर आज टाढा भएँछु र फर्की हेर्दा आफू आँर्फैसँग टाढा हुने कस्तो मनोरोग हो भन्दै दङ्ग पर्दै शूर्पणखा प्रश्नवाची हुन्छिन् । मानिसका हृदयका स्वप्निल चाह चूर्ण भएर जान्छन् सुख–सयलकाका कामना अपूर्ण रहन्छन् ।सपना देखेपछि भाग्छ, स्मृति पनि पर हुन्छ सपनालाई कसैले खोज्दैन तर मानिसले किन स्वप्नकै गीत गाउँदै हिड्छन् भन्दै शूर्पणखालाई, अमृत जसले पिलायो, र आफै विलाएको त केवल भ्रम रहेछ भन्ने थाहा लाग्छ । यो भ्रमले गर्दा उनी शोकमा भएको र विपना–दुखको रोगमा भएको भन्दै उन्ले कामना गर्छिन् –

देखूँ यस्तै मधुर सपना चाह मेरा फुलेका
मेरा सारा मन–नयनका बन्द ढोका खुलेका
खोजू मेरा अपहृत कुरा स्वप्नले छापिंदा म
यौटा साँचो सुखद विपना साथ होस् ब्यूझिदा म
पृष्ठ ३५

आजको विहानी शुभ अशुभ कस्तो होला, आजको कस्तो कहानी लेखिएला, आदि सोचनाको साथमा मनमा विविध तर्कना खेलाउँदै, वन्याश्रम घुम्ने नयाँ सोचको साथमा शूर्पण उठ्छिन र यो सर्ग समाप्त हुन्छ ।

चित्ताकर्षण – यस सर्गमा शूर्पणखा पर्णशालातिर लाग्नु, सुखको लक्ष लिएर पुगे जस्तो भान हुनु, राम्रो वातावरणले गर्दा मुग्ध पर्नु र रमाउँदै आगनीमा पुग्नु, त्यहाँ पुग्दा साँवलो रूप, सुगठित देहका अङ्ग–अङ्ग, रविझै वान्किलो तेजोराशिले प्रखर मुहार, हिमशिखरझैं, उच्च चौडा निधारभएको यउटा तरुणलाई देख्नु, असल कुलको वीर्यको प्रभावले गर्दा नयन–युगमा शौर्य वीरत्व भाव झल्केको, सहजै शत्रुक्षय गर्न सक्ने लामा पुष्ट बाहु भएको, दुवै पाउले छुँदा ढुङ्गा द्रवित हुने(पग्लिने), यस्तो युवक देख्दा शूर्पणखाको मनमा राग उर्लेर आउनु, चोखो तरुण तनमा कुन्नि के सलबलाउनु, समिपम गएर अडिनु, मानो नौलो प्रणयपथको भासमा नै गडेको भान हुनु, रामलाई को हौ भनी सोधनी गर्नु, कुसुमवयमा मोज गर्न छाडेर पर्णको झोपडीमा कष्ट सहेर किन बसेको भनी सोधनी गर्नु, रामले पनि म राम, मेरी प्रिय पत्नी जानकी, बली भाइ लछुमन सन्ध्या प्रभात वनमा नै सुख छ, । हाम्रा पिता 'दशरथ' निकै वीर, योद्धा प्रतापी, निसाफी अवधपुरका राजा हुन् त्यहाँ भरतले राज्य गरेका छन् र हामी यहँ छौ । रामले पनि शूर्पणखालाई सुन्दरीमा सम्बोधन गर्दै तिमी को हौ, तिम्रो नाम केहो, गृहनगरको नाम के हो बास कहाँ हो यो घना जङ्गलभित्र किन आयौं, नयनयुगमा व्याप्त विचित्र तृष्णामा देखिन्छ्यौ । रामका यी बचन सुन्दा, जानकी झट्ट निस्कनु, वैरी वन्दै शूर्पणखासँग जिस्किएको प्रश्नवाची बन्दै सीताको रूपको वर्णन शूपर्णखाले यसरी गरे कि छन् –

साह्रै राम्रो सुतन विधिले हो कि आफै कुँदेको
मान्छे होवा मनुज रजमा फूल राम्रो फुलेको ?
पृष्ठ

शूर्पणखालाई ईष्र्या लाग्छ रिस पनि उठ्छ, तापनि धैर्य धारण गर्दै प्रेममा अन्धि भएर रामलाई प्रतापिरहेछौ यस्ता योद्धासँग अति लुरी जानकी देख्दा छक्क पर्छु भन्दै रामलाई पतिको रूपमा वरण गर्नेको लागि रामसँग आज्ञा माग्छिन् । ऋषिकुलका विश्रवा बाबा, असुर कुलकी सुन्दरी कैकसा आमा अमुक जनले जे सोचे पनि अक्षता यौवना, नारीमा नव्य सञ्चेतना, वीर लङ्केशकी यौटी तरुण भगिनी, रानी बन्ने सकल कला भएकी, युद्धमा एक्लै लड्न सक्ने, कठिनभन्दा कठिन काम गर्न सक्ने, विद्युतगति भएकी, बोल्न सक्ने कला, गाउन सक्ने गला, गोरी सीता सरी नभए पनि राम्री, गुणहरू शौर्य, लावण्य रूप भएकी, आज्ञा अनुरूप काम गर्न सक्ने, साधारण नारीभन्दा भिन्नता भएकी र पूर्णानन्द तन र मनले प्राप्त गर्नको लागि मलाई रोज भन्दै सीता र आफू बीचको तुलना शूर्पणखाले रामलाई सुनाउँछिन्–

सीता सोझी अति, कमलको फूलर्झै कोमलाङ्गी
के गर्ली खै यदि समरमा लड्नु पर्दा कृशाङ्गी ?
चण्डीजस्ती समरविजयी पात्र वीराङ्गना म
के दाँजूँ त्यो शशिमुख कहाँ सूर्यतेजी कहाँ म ?

योद्धा रहेछौ युद्ध लड्न, शत्रुक्षय गर्दै सन्तुष्टि लिनको लागि म जस्ती योद्धा भुवन भरमा पाउने छैनो, हाम्रो जोडी देख्दा सबै दङ्ग पर्ने छन् प्रीतिको प्रसङ्गको भुवनभरमा चर्चा चल्ने छ, यस्तो राम्रो मिलनमा प्रिय नियतिको लागि कोटी कोटी धन्यवाद अर्पण अर्पू क्यारे भन्दै –

बुझ्छौ आफै पनि सव तिमी, विज्ञ नै छौ म ठान्छु
साक्षात् कामेश्वर सदृश यो रूप तिम्रो म मान्छु
सुम्पे आजै ग्रहण गर यो दिव्य मेरो जवानी
लेखौं हामी नव सृजनाको श्रेष्ठ यौटा कहानी
पृष्ठ ४०

यो सर्ग यहीं समाप्त हुन्छ ।

प्रणयनिवेदन– यस सर्गमा शूर्पणखाले आफ्नो पाणीग्रहणको लागि कहिले रामसँग र कहिले लक्ष्मणसँग प्रणयनिवेदन गर्दछिन् तर उनको प्रणयनिवेदन दुवैले स्वीकार्य दैनन् । राम लक्ष्मण र शूर्पणखा बीच भएको बार्ताको भावसार यस प्रकार छ– शूर्पणखाको इच्छालाई बुझेर राम्रो युवकले तिम्रो भावना उनको भाइलाई भन्ने र राम भने एक पत्नी–व्रती भएकोले शूर्पणखालाई ग्रहण गर्न नसक्ने भएकोले तिम्रो प्रणयसुखको प्यासलाई पूर्ण गर्न सक्दिन भन्दै मेरा भाइ लक्ष्मण ज्ञानी गुणी छन् एक्लै भएकोले उनीसँग तिम्रो इच्छा जाहेर गर भन्ने रामको बोली पाएपछि यी बाणी मुटुभित्र विझी घाउ लागेर अपरिमित पीडा हुँदा हुँदै भाइलाई हेर्दा भाइ अनलझै (अग्निझै) मुस्कुरायो । ऊसँग मैले मेरा मन–सदनका भावनालाई खोले । लछुमन तिमी ज्ञानिरहेछौ मलाई, थाहा लाग्यो मलाई रानी बनाएमा मेरो प्रणयको कारणले जिन्दगी सुखसँग बित्छ, तिमी अति गोरा र मेरो रगत वर्ण भएकोले हाम्रो तन–युगलबाट सृष्टि सुवर्ण बन्छ, तिम्रो सघन े सुखद सितलो मनको छाहारीमा बस्न देऊ, तिम्रो प्रीति छायामा यौटा नवयुग, नयाँ सभ्यता विश्वमा सिर्जन गर्न सकुँ, हामी नौलो युग सँगसँगै अग्रगामी बनौंला, मनका राग खोलौंला, दीप बल्नलाई जसरी तेलको आवश्यक्ता छ, जिन्दगानी चल्नलाई नारीको आवश्यक्ता हुन्छ, तिम्रो सेवा म गरुँला भौतिक चाह पुरा गरौंला, यस्तो राम्रो अवसर थोरैले मात्र प्राप्त गर्दछन्, जल्ले अवसर भोग्छ त्यो नै कालजेता ठहर्छ, पाएको मधु–मिलनको शौभाग्यलाई भोगौं आदि विभिन्न गुनय–विनय शूर्पणखाले लक्ष्मणसँग राख्दछिन् ।

शूर्पणखाका यी धारणामा लक्ष्मणले भन्छन् –हामी वनतिर राज्य उतातिर, समयले हाम्रो भाग्य कता छ त्यसो हुँदा तिम्रो रतिको चाह मबाट पुरा हुन सक्दैन, तिमी राम्री रैछ्यौ योग्य पात्र पाउन सक्छ्यौ, हामीसँग दुख धेरै छन्, पथ सुमनमय छैनन्, पथभरी काँडा छन्, तिम्रो जवानी प्रमुदित देखें, यो वेला मन चञ्चल हुन्छ, प्रणयपथका निम्ति सत्पात्र–साथीको खोजी गरी सोची सम्झीनिधो लिन राम्रो हुन्छ, बरु एउटा रामसँग जाने राय दिन्छु, रामले नै कुनै उपाय देलान्, दाज्यै कुल–नियमका मालिक हुन् म उनको दास हुँ, सुखका उनी घडा हुन् र प्यास हुँ –

सेवीलाई सुख छ र कहाँ बस्छ पीडा सहेर
माग्नेलाई पनि छ र कहाँ मान–सम्मान हेर
सेवी, त्यागी पुरष म कहाँ फस्दथें वासनामा
देऊ एक्लै रहन युवती ! ब्रह्मको साधनामा
पृष्ठ ४५

आत्म–विचलन– यस सर्गमा रामबाट लक्ष्मण अनि लक्ष्मणबाट रामसँग प्रणयानन्दको लागि राखिएका प्रणयनिवेदन अस्वीकृत भएपछि शूपर्णखाको आत्म विचलनतिर लाग्छ । सौमित्रे(लक्ष्मण)को वचन मनमा तीरझै गड्छ र उनको आफ्नै हृदय दुई भागमा लड्न थाल्छ । एक मनले भन्थ्यो –'दमन गर भित्रको चेतना तँ' अर्को मन भन्थ्यो –'प्रकट गर कामको वासना तँ' । शूर्पणखा पुनः प्रणय पथमा साथ पाउँछु कि भनेर भन्न थाल्छिन् –कति पुरुष स्त्री भनी मर्न खोज्छन् प्रखर तरुनी भनेपछि लठ्ठ पर्छन तर तिम्रो मन कस्तो म स्वय म अर्पिदा पनि प्रेमको फूलबारीतिर नजर नलगाई आँखा तर्छौ । आफ्नै नजर अघि षोडसी देख्दा मदनको वेग टाढा धकेलेर भाग्छौ, तिमी कस्ता पुरुष हौ भनी शंका लाग्न थाल्यो, क्षेत्री भन्छौ तर आँट छैन, जोश छैन, स्त्री वैभवलाई कसैले भोग गर्दैन भने आफ्नै इच्छाप्रति सृजनको न्याय गर्दैन, एक्ले बस्दा के नियास्रो लाग्दैन, के तिर्सना जाग्दैन, एक्लै कसरी जिन्दगी गुज्रला, त्यसोहुँदा युगल भै लेखौं कहानी, यस्तो बचन सुनेपछि ऊ चुप लागेर झोपडी भित्र पस्यो । यस पछि मायाको भिखारी भएर सीताको पतितिर गएँ र तिम्रा भाइ तिम्रा भक्त रहेछन्, लज्जालुसँग कुनै कर गर्न बेकार ठाने, तिमीसँगै आएँ, प्रतिज्ञा तोड र मलाई कान्छी रानी बनाऊ, सीता सोह्र शृङ्गार गरेर बस्ली म तिमीसँग शत्रुका साथ लड्न हिंडुला, यस्तोृ मौका पर्दा पनि अमर्द जस्तो पछि पछि किन हट्छौ, के सोच्छो तिमी हातमेरा समाऊर गला मिल्न आऊ भन्दै शूर्पणखाले आतुरता देखाउँदै सीतालाई भन्छिन् –

हुन्छौं हामी प्रणययुगको सूत्रमा बद्ध अहिले
जा जा सीते पर ! मिलन यो सक्तिनस् हेर्न तैले
पृष्ठ ४८

शूर्पणखाका सबै कुरा रामले सुनेर हाँसी हाँसी टारिदिनु, रामको व्यवहारबाट शूर्पणखाको चित्त विग्रनु, आशा कुँडिनु, क्रोधले देह काँप्नु, पीडा बज्रसरि नै खनिनु, दर्दले मुक्ति माग्नु, शूर्पणखालाई जब हृदयको स्पन्दनले हान्न थाल्छ तब सीतालाई शत्रु ठान्न थाल्नु, गोल सल्काएझै आँखा हुनु, चारैतिर अस्त्र मिल्काए जस्तो देखीनु, उता सीताले अति क्षुब्ध दृष्टिले प्रहार गर्नु, सारा सपना तोड्न तयार भए जस्तो लाग्नु, र सीताको कपाल लुछ्न जाउँ कि जस्तो लाग्नुजस्ता रिसका क्रियाकलाप शूर्पणखाका देखेर लक्ष्मण उठेर गर्जँदै– हे दुष्ट, दम्भी, क्रोधी, रिपुदलकी पात्र, तन–वदनमा आगो झोसेर भाँती भाँती बोल्ने, स्नेह–सम्मानहीन, कलुषित डाह गर्ने स्वभाव, खुसखुसे कुरा गर्ने वाली, बुद्धि अर्ती नसुन्ने खालकी, दुमुर्खा, नीच स्वार्थी, तेरा कुटिल इच्छ्या कहिल्यै पुरा हुँदैनन्, वासनाकी भकारी, सृजनाहीन, विश्वविध्वंसकारी, नारी तँ गैहाल धेरै बक बक गरे, नाक–कान काटुला, हाम्रा घरतिर आए परान फुस्किएला, दानवीवृति बोकी सेखी नगर ठूलो बेइज्जत होला नाक जोगाएर भाग भन्ने जस्ता अपमानिस शब्द सुन्नु पर्दा शूर्पणखाले आफूलाइृ ग्लानि भएको, पवित्र स्वत्वमा धब्बा लागेसरि भयो–

आँखा मेरा शिखर –सरिता भै त्यसै भूल्भुलाए
मेरो नारी दिल अति दुख्यो वेदना सल्बलाए
पृष्ठ ५०

उपरोक्त घटनाक्रमसँगै यो सर्ग समाप्त हुन्छ ।

चुनौती –राम लक्ष्मणबाट शूर्पणखाले अपमान घृणा धेरै सहनु पर्यो र उनका नयनबाट आँसु झर्न थाले र उनले राम–लक्ष्मणसँग यसको बदला लिने धारणालाई यस सर्गमा पोखेकी छन् । उन्ले भन्छिन्– 'म एकेलीलाई साह्रै वेइज्जत गर्यौ, नाकै काटेसरि भयो, नाम हरायो नारी आस्था प्रति पुरुषको क्रुरता बरबरायो, नारीले पुरुषसँग प्यार माग्न हुन्न, के नारीमा प्रणयको भाव जाग्नै हुन्न, के पुरुषले प्रेमको भाव पोखे सरह नारीले प्रेमको भाव पोख्नै हुँदैन, तिर्खाएको यात्रीले पानी मागेझै मैले पनि प्रीतिको जिन्दगानी मागेकोमा के भूल या शूल ठान्यौ, के सृष्टि प्रणय विना नै चल्छ भन्ने ठान्यौ, तरुले छायामा नबस कैल्यै भन्दैन यो माटोमा कहिल्यै नहिड पथले भन्दैन तिम्रो हृदय छहरा तुल्य होला भनेर तृष्णा विसाएँ तर साह्रै कृपण रहेछौ आशा जगाउन व्यर्थ हुनगयो, पुरषका धेरै पत्नी भएको पनि देखे, राजाले धेरै रानी राखेको पनि देखें, म रानी बन्छुभन्दा मेरो के गल्ती भयो, मैले बुझ्न सकिन, एउटी नारीले पुरुषसँग सिर्जना माग्छे, विगतका बोझिला कटु सम्झनालाई बिर्सु भन्छे त्यस्तीलाई सकरुणसँग कृपा गर्नु पर्दथ्यो किन यति घृण वर्षायौ, राम दयावान, अकलुष र महा–सन्त, भन्ने सुन्थे, तर आज सबै मिथ्या किंवदन्ती जस्तो लाग्यो, हे जोगी हो सुन, म अहिले एक्ली भएर हारिएकी छु, एक्लै पारिएकी छु, आँखाभरि रातो जलधिझै तातो आँसु रहेको र रगत रातो बगेको देखेका छौ, यस्तो बेइज्जत भुवनमा कैल्यै परेन, यो धर्तीले पनि यति घृणा सहेन' भन्दै शूर्पणखाले पुनः भन्छिन् –

जिस्काएथ्यौ जब प्रकृतिको आत्म–सम्मानलाई
निम्त्यायौ है अब जलधिको छाल तूफानलाई
पृष्ठ ५३

नारी राम्री हुन पनि लोकमा भूल हुन्छ, रूपमा शूल हुन्छ, सितालाई शूर्पणखाले राम्री छु भनेर नठान तेरो रूप नै तेरै लागि बैरी छ । 'हे मुर्ख हो मेरो सोझो दिल अति दुख्यो, यो पीडाको फलशीघ्र नै जहरसरह चाख्न पाउला, गहका आँसुको मोल तिर्न गाह्रो पर्ला, मैले चाहेजति सब कुरा प्राप्त हुन्थे, निहुँ खोज्नेलाई घमण्डलाई तोडी दिन्थें तर आज मेरो दिल हार्यो मेरै अहङ्कारलाई जलाएर र मेरै निष्ठा टाढा टाढा गयो, भ्यागुतो भन्दै छकाई, आशा पोखी निरासा बनाएको, मन सुमनलाई तौलेको, कुटिल खेल खेलेको, भुवनमा नाम राम्रो फैलिए पनि काम राम्रो देखाएनौ, समरको बिउ रोप्यौ, कालो युगसँग लड्न तयार होऊ, मलाई तुच्छ अन्याय गर्यौ, यो थाहा पाएपछि लङ्काधिराज कति क्रोध होलान्, मेरो मनको कोपिलामा शत्रुताको निशानी छाड्यौ, थाल्यो अबुझ हो दुःखको जिन्दगानी भन्दै शूर्पणखाले चुनौती दिंदै भनिन् –

तोड्यौ मेरा सकल सपना प्रेमका तिर्सनाका
नौलो आस्था, अभिनव कलायोगका सिर्जनाका
लागें अहिले घरतिर रुँदै यो चुनौती म दिन्छु
पक्कै मैले पनि बदला पर्ख है लिन्छु लिन्छु
पृष्ठ ५५

प्रतिशोधको भारी बोकेर घरतिर लागेपछि यस सर्ग समाप्त हुन्छ ।

प्रत्यागमन –यस सर्गमा शूर्पणखा जब फर्केर घरतिर आउन लागिन् तव उन्का मनका धारणलाई यसरी खोल्दै गइन् – जे सोचेथेँ हृदय तलमा राग ओइलिए, शशीवदनमा दाग लाग्न गयो, आशा आस्था सबै चुडिए, चेतना अपाङ्ग भयो, आफैसित यी अङ्गअङ्ग क्षुब्ध हुन गए, जसरी धर्तीले सृजनाका निम्तिमा जल माग्छिन् त्यरी नै पुरुषका जीवनाधारको हात मागेकी थिएँ, मेरा इच्छा पनि फत्रिएको सृजनाकै लागि थिए तर आज नियतिले धोका दियो, एउटा पुरुषलाई पतिको रूपमा पाउँदा हर्ष लागेको थियो, आशाबत्ती हृदयागारमा झलल झल्मलाएको थियो, चाँडैनै आँधी आएर प्रीतिको चिराग निभ्यो र विधवाको दाग लाग्यो, नौलो पुरुषसँग प्रेममा नै फुल्ने स्नेहाश्रय पाप्त गरी सबै दुख भूलाउने सोच पलायो र अघि बढें तर आज फेरि प्रणय सपना भङ्ग भयो र आफ्नै बाङ्गो नियतिसँग लाज लाग्न थाल्यो । उनी मनमा तर्कना खेलाउँछिन् – 'मैलै कुनै युवकसँग बोल्न, सोझै मन र मुटु खोतल्न, नारीसित मनमनै ईष्र्या गर्न र यसरी तृष्णाको जलधि तर्न हुन्नथ्यो कि' ! उनले प्रश्न राख्छिन् –के नारीले जहिल्यै हृदय खुम्च्याइराख्न र पीडा बाधालाई गुम्स्याइराख्नु पर्छ ? नरको बोलवाला सधैं छ तर नारीलाई दमन र घृणा यस धरामा अँझैछ, आँखाको अघि नयाँ फूल फक्रिँदा को लोभिन्न ? तृषाएको मानिसले भूल्भुले मूल देख्दा को लोभिन्न ? बैंसको राप पाउँदा कुन युवा युवती लोभिदैनन्, आज दिल खोल्नु नै पाप भयो ? 'ढुङ्गा जस्तो दिलसित वृथा आज मागेछु भिक्षा', यो कटु तर जिन्दगीको निम्ति शिक्षा भयो, आँखा भरि नै वेदनाको सिन्धु उर्लिया, े चेतनाको एउटा हाँगो समय नपुग्दै भाँचियो, यो व्यथित मनको अर्चना, ननिको वञ्चना कस्लाई सुनाउने, उच्चाकाङ्क्षा विगलित भए, भ्रान्तिले आज छोप्यो, सानो कुसुम टिपूँभन्दा शूलले कोप्यो, शत्रुका साथमा सङ्घर्ष गर्न, जादुका मन्त्र छर्न म एक्लै पनि सक्थे तर आत्मा विमुख भयो किन हो किन द्वन्द्व गर्न आँट गर्न सकिन, एक्लै रोएँ ग्लानिले चित्त ढाक्यो, पाउमा ठेस लाग्यो यात्रा पथ कठिन भयो, क्रुरता बर्सिएर नारी मन धमिलियो, वेदना चर्किएर आधा–आधा मुटु पुग्यो, म दोधारमा छु घर जाउँ या त्रिशिर–खरका बङ्गलामा जाऊँ तर बदलाको भाव भने बढ्दै गएको छ, आत्म अभिमान उच्च भएर रोगी भएकी छु यसको निदान खोज्दैछु, सीताको मुख झलझली सम्झिदा चोट लाएर आउँछ र 'हरण'को बाटो रोज्ने गर्दै अठोट, उनी विचलित हुँदै यस समयमा प्रकृतिवश भूल क्यै हुन्छ कि, 'दनुज मति'मा गइन्छ कि जस्तो हुनु यो मनको क्रुर आवेगलाई कसरी थाम्नु, बुधजनले केही अर्ती दिनुहुन्छ कि ? त्यसै त्यसै दाँत कटकट हुनु आँखा राता भएर गोल जस्तो देखिनु, क्रोध फैलिएर अग्निज्वाला दमन नहुनु, प्यास आफ्नै पिएर त्रिभुवन नै भष्म पारूँ कि यत्रो हार भिरेर लङ्कातिर कसरी जानु, छाती चिरेर यो पीर कसरी देखाउनु, कडा घाउमा कस्ले मलम देला, वेदनाको कुनै औषधी भए हे सुश्रुत(आयुर्वेदका सुविख्यात महर्षि) देऊ, अविरल आँसु, गहिरो चोट, तीतो अनुभव र मनोरोगले सिकिस्त भएर घरतिर पर्केर शूर्पणखाले दाजुसँग राय माग्छिन् –

मेरो बेइज्जत हुन गयो जे कुराले, म भन्छु,
यो नारीको हृदय कुँडियो के कुराले, म भन्छु
"यो धोकाको अब त बदला नै छ यौटा उपाय
दाज्यै ! आएँ अब हजुरकै साथमा माग्न राय ।"
पृष्ठ ६०

यो सर्गको अवधारणाको समाप्तिमा काव्यकार गोविन्दराज विनोदीले राम र रावण बीच युद्ध हुनको कारणलाई यसरी प्रस्तुत गरेका छन् –

अपमानित ती जसै भइन्
बदलाको कटु भावना लिइन्
हरियिन् अनि जानकी अहो !
र यही कारण युद्धको भयो ।
पृष्ठ ६०

उपसंहार– यस सर्गमा काव्यकारले नारीका विविध पक्षलाई अति गहन रूपामा अध्ययन र विश्लेषण गर्दै नारीवादी चिन्तनमा घोत्लिन पुगेका छन् । हेर्यौं उन्को काव्यको यो सर्गको प्रथम श्लोकमा गुन्जिएका भावनाहरू–

नारी आफै सृजन–सरिता–मूलकी स्वच्छ पानी
नारी आफै प्रणय–सुषमा सभ्यताकी बिहानी
नारी आफै मनुज गरिमा स्नेहकी शैलमाला
नारी आफै भुवनतलकी कष्ट–सङ्घर्ष ज्वाला
पृष्ठ ६१

यी भावपूर्ण उदगारको साथै नारीबाटै अमित–सुखको हुन्छ वर्षा धरामा, नारीका हातले छुँदा पृथ्वी द्रवित हुन्छिन्, शिशुले वात्सल्य राग पाउँछन्, घरघरमा ज्योति छर्ने चिराग हुन् नारी । नारीलाई जति पढे पनि पढ्न बाँकी र जति बुझे पनि बुफ्न बाँकी हुन्छ । नारीका प्रति जति काव्य, आख्यान, शास्त्र लेखिन्छन् ती नारकिा अमर महिमा–सिन्धुका छालमात्र हुन््, नारी सरल र हिउँझै पग्लिएर बग्छन्, नारी जमेर कठिन पहरा बन्छन्, समयले आफै सुवास छर्दा नारी फुल्छन्, समयले प्रकाश छर्दा नारी खुल्छन् । नारी आफै मनुज मनका कल्पना हुन् कला हुन्, घृति–हिमचुली–शृङ्खला–मेखला हुन्, युग युग नयाँ चेतनाका मुहान हुन, प्रगति–सरिता सिर्जनाका प्रयाण, आकाश, अविरल प्रेमका निर्झरी, आस्थाका विजुली, स्नेहका मञ्जरी, दया त्यागका समुद्र, स्वय म पूर्ण चन्द्र हुन् ।नारीले सिर्जना भर्नु पर्छ, प्रेरणा छर्नुपर्छ । प्रेम सद्भाव, शान्ति, टाढा हुन गए धर्तीभरि जहरिलो द्वेष, कालो अशान्ति फैलिन्छ, नारी बहुगुणा, अगम्य विराट भावना भएका नारीमानै अदम्य सुखका चाहना, युग सँगसँगै र्लिएका दिलासा छन् यसमा 'बुझ्नै पर्ने पुरुषजनले नारी मुक्तिका छन् पिपासा' । प्रकृतिवश नै नारीहरू रूप सौन्दर्ययुक्त र स्नेह–औदार्यसिक्त हुन्छन् । काव्यकारले प्रश्न राख्नुहुन्छ –'ती नारीले जब प्रकृतिका त्याग्दछन् सौम्य–भाव, होला कस्तो तब मनुजको सृष्टिमाथि प्रभाव ?' जब नारीबाट घृति, दया, प्रेम भागेर जान्छन्, त्यसबेला आस्था, आशाले पनि हृदयको बास छाडेर जान्छन् ।त्यो बेलामा अपशकुन भै ठूलो अनिष्ट हुन्छ, धर्ती फाट्छिन र सबैका काम अशिष्ट हुन्छन् । नारीले सृष्टिको भारलाई थाम्दछन्, प्रणय रथलाई नित्य आफै गुडाएर तान्छन्, ती नारी यदि आत्म कर्तव्यबाट च्युत भए भने यो धर्तीमा दिउसै पर्न जाने छ रात, नारी जबजब दोषयुक्त र स्नेहमुक्त आफै भए भने यो धर्तीको अनि सिर्जनाको शृङ्खला टुट्न थाल्छ र प्यारो मायामय सुख–फुट्न थाल्छ, नारीले नारीप्रति घृणाभाव र द्वेषभाव राख्छन्, भने स्नेहिला हातबाट विष बाड्छन् भने नारी लोकबाट कसरी आदृता होलान् ? नारीले सकल नरका भूललाई सुधार्छन् र जनका शूललाई बढार्छन्, जबजब नारीले स्वय म दर्दिला भूल–शूल बोक्न बाध्य हुन्छन् भने जनको नित्य–संसृष्ट मूल कसरी सङ्लो हुन्छ ? नारीमा जुँगा उम्रेको शोभा दिंदैन, नारीमा कति कति वासना दवेका हुनन्, वेदना बहेका हुनन्, नारीले ती वेदना र वासनालाई सोचीसम्झी पोख्नुपर्छ पोख्न उचित नभए चित्तमै छोप्नुपर्छ, नारी कलुषित भए सृष्टि खल्बलिन्छ, नारी विचलित भए सृष्टि नै अल्मलिन्छ, लोक देखेर क्रुध भए लोकमा क्रुर युद्ध मच्चिन्छ, नारी युगयुग सृष्टि रक्षा गरेर हिड्छन्, यिनका स्नेहसिक्त स्पर्शले आशा फुल्छन्, यिनी जाग्दा सृजनाका सबै भाव जाग्छन्, नारीलाई मर्दले घृण गर्न हुँदैन घृणा गरे समाज नै गिर्छ, नारीलाई स्नेह सम्मान गर्दा राष्ट्र र विश्व अग्लो र सङ्लो बन्छ । काव्यकार भन्छन् –नारी तन–वदन देखिने रूप–रङ्ग, गुण अवगुण, रीति बानी ढङ्गमा जे जस्ता भए पनि 'एउटै मीठो, तर छ सबमा सृष्टिको मूल तत्त्व, सौन्दर्यश्री, शिवमय, सुधा, नित्य, सम्बुद्ध–सत्त्व ।' नारी भुवन–वनका दिव्य भोक्ता समानका स्रष्टा हुन्, सारा धर्ती, नभ, जल उनैभित्र विद्यमान छन्, सकल नरका आधा अङ्ग पनि हैनन् ती पूर्ण अङ्ग हुन् 'माली हुन् यी अनि सृजन हो प्रेमको फूलबारी' ।नारी खोलाजस्तै अविरल सृजना भावमा बग्न सक्ने, धर्तीजस्तै दमित मनका वेदना खप्न सक्ने, महाकाशजस्तै हृदय भरिको माया पोख्न सक्ने, कहिले काहीँ ग्रीष्मको प्यासजस्तै बन्न सक्ने, जस्ले प्रकृति रचनालाई चिन्न सक्छन् 'फूल' ठान्छन्, जस्ले चिन्न सक्दैनन् 'शूल' ठान्छन् ।कसैले प्रणयरसको एउटै मूल ठान्छन्, नारी विविध रङ्ले सृष्टिलाई सिङ्गारेर बस्छन् । नारीसँग घृति, क्षमा, शौर्य आशा–पराग, रिस, घृणा, द्वेष, ईष्र्या, राग आदि छन्, यिनमा भएका गुणबाट उर्जा लिएर यो धर्तीलाई मधुमय पारौं र मीठो स्नेहधरा पिऊँ आदि धारणालाई राख्दै काव्यकारले तलको अन्तिम श्लोकको साथमा यो काव्यको इतिश्री गरेका छन् –

नारी छैनन् जुन सदनमा त्यो छ आलोकहीन
नारी छैनन् जुन सहरमा त्यो छ शोभाविहीन
सोचौँ नारिरहित जगको कल्पना हुन्छ कस्तो ?
बन्ध्या धर्ती, ग्रहणविना शून्य आकाशजस्तो ।
पृष्ठ ६७

पात्रविधान –काव्यलाई उच्चाइमा पुर्याउनका लागि पात्रको चयन अति महत्त्वपूर्ण हुन्छ । यहाँ काव्यकारले पौराणिक मिथकअनुसार प्रतिकूल चरित्रकी पात्र शूर्पणखालाई यस काव्यकी प्रमुख्य पात्रको रूपमा लिएका छन् । पूर्वीय मिथक अनुसार नकरात्मकरूपमा ठानिएकी शूर्पणखालाई मूल नायिकामा चित्रण गर्दा सीताको आदर्श र उच्चाईलाई आँच आउन दिएका छैनन् र काव्य नायिकाको काव्यिक चरित्रमा उच्चाइ दिन पनि पछि परेका छैनन् । यो नै काव्यकारको कुशल काव्यकारिता र महानता हो साथै यस काव्यको गहनता पनि हो । शूर्पणखा बाल्य कालदेखि नै निडर, वीर, अभिमानी, विद्रोही, क्रोधी, आक्रोशपूर्ण र प्रतिशोधी चरित्रको रूपमा देखा परे पनि राम लक्ष्मणको अघि भने पराजीत रूपमा देखिन्छे । राम र लक्ष्मणको केही भूमिका देखिन्छ । दशरथ, भरत, विश्रवा, कैकसा, त्रिशिर–खर, रावण, कुम्भकर्ण, विभिषण, धनपति (कुवेर) विद्युज्जिह्व, मन्दोदरी आदि सन्दर्भिक पात्रको रूपमा देखा परेकाछन् ।

परिवेश – यो काव्य, लङ्का, दण्डकारण्य, पञ्चवटीको सुन्दर प्राकृतिक चित्रण सहितको परिवेशमा लेखिएको काव्य हो ।

भाषाशैली र सर्गसंयोजन– यसकाव्यमा प्रयोग भाषा अति क्लिष्ट, शिष्ट र लयात्मक छ । सर्गसंयोजन, शब्दसंयोजन, भावसंयोजन, भाषाव्याकरणसंयोजन पनि मानक छ । भाषा अति क्लिष्ट भएकोले भाषामा दखल व्यक्तिले यस काव्यको भावरसपान सहजमा गर्न सक्छन् ।

काव्य विशेषता– बलेको आगो सबै ताप्छन् भनेजस्तै सबल सक्षम व्यक्तिको गुणगान त सबैले गर्दछन् । उसका अवगुणहरू पनि गुणको रसमापरि सबै नै दबिन्छन् तर दुर्वलका दुर्गुणमा सगुण हुन्छन् भन्ने दिव्यदृष्टि दिने व्यक्ति विरलै भेटिन्छन् । रामायणमा दानवी/मायावी पात्रको रूपमा लिइएकी शूर्पणखाका मानवीय पक्षमा वकालत गर्ने व्यक्तिको रूपमा प्रस्तुत हुने काव्यकार हुन् गोविन्दराज विनोदी । उनमा गजवको काव्यकलाकारिता देखिएको छ ।पौराणिक मिथकअनुसार प्रतिकुल चरित्रकी शूर्पणखालाई काव्यकार गोविन्दराज विनोदीले मानवीयरूपमा नारी मनोविश्लेषणलाई समाउँदै उस्का यथार्थतालाई एकालापको माध्यमबाट पस्किदै पूर्वीय मिथकलाई खण्डन नगरीकनै शूर्पणखा खण्डकाव्यको सिर्जना गरेका छन् ।यो विनोदीजीको कुशल एव म सक्षम काव्यकारिताको प्रदर्शन हो । यो काव्यको अर्को गहन पक्ष भनेको रामायणकालीन समाजको यथार्थपरक कथाबस्तुलाई समाउँदै आजका समाज तथा नारीले भोग्न परेका यावत घटना क्रम, उठाउने गरेका नारी अधिकार, नारीमा गरिने शोषण, दमन, शूर्पणखाको बालकपन, यौवनता, प्रेम, संवेदना, राग, विवाह, वैध्यव्य, र वैधव्यताले निम्त्याएको पीडा, यौनउन्मुक्तता, राम लक्ष्मणमा राखिएको वैवाहिक प्रस्तावको असफलता, गाली–बेइज्जतीले आत्मप्रतिष्ठामा परेको असर र प्रतिशोधको भावनाको साथै नारीवादी चिन्तनले भरिएको यो काव्य अति शिष्ट र विशिष्टरूपको प्रस्तुति नै यस काव्यको विशेषता हो । नारीवादी र मानवतावादी सम्बोधन नै यस काव्यको केन्द्र विन्दु हो ।

अतः यस काव्यमा सीता हरण, राम रावणको युद्धको कारण शूर्पणखा लक्ष्मणद्वारा अपमानित भएर घटेको भन्ने धारणा पस्कदै एउटा उच्च श्रेणीको काव्य प्रदान गर्नुभएकोमा काव्यकार गोविन्दराज विनोदीको दीर्घायु, सुस्वास्थको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
२०७३ कार्तिक २५,
कासोती न.पा.–७, शान्तिचोक, नवलपरासी

शिवहरि पण्डितको पुष्पोद्यान नियाल्दा

परिचय

बुबा स्व.रामचन्द्र पण्डित तथा आमा भागीरथा पण्डितका सुपुत्र शिवहरि पण्डितको जन्म बि.सं२००९ साल भाद्र २५गते तनहूँ जिल्लाको रतनपुरमा भएको र हाल उहाँ त्रिभूवनबस्ती-२ कञ्चनपुरमा बस्नुहुन्छ । सी.एडसम्मको अध्ययन गरेका शिवहरिका पुकार (कवितासङ्ग्रह, २०६३), पुष्पमाला (कवितासङ्ग्रह, २०६४) र पुष्पोद्यान (कवितासङ्ग्रह, २०७०) गरी तीनवटा कवितासङ्रग्रह प्रकाशन भएका छन् । आफूलाई कविमा नाम दर्ज गराउन सफल शिवहरिजी पल्लव साहित्य प्रतिष्ठान चितवनको आजीवन सदस्य र महाकाली साहित्य सङ्गम कञ्चनपुरको सदस्य हुनुहुन्छ ।

कृतिको संरचना

यो कृतिको संरचना हेर्दा (१७+८७)=१०४ पृष्ठको छ । यसको प्रकाशन पल्लव साहित्य प्रतिष्ठान नारायणगढ, चितवनले गरेको छ । यसको मूल्य रु २६५÷- छ । यस सङ्ग्रहमा अनुष्टुप (सरस्वती वन्दना, नीतिश्लोक, यस्तो पुनर्वास, सुन्दर नेपाल, वेदनाका सोरहरू, ब्रम्ह सरोवर र कोटीहोमका खोजी गर्दा, आफ्नो जीवनी, माङ्गलिक कार्य, र जिन्दगीचक्र), मन्दाक्रान्ता (पुष्पोद्यान, नौलो नेपाल, राज्य जनताको , विश्वमा नेपाल, विदाइको स्मृतिमा, समयको पीडा, हामी गण्डकी अञ्चल रतनपुरबाट आएका , पुष्पाञ्जली-पुष्प र अञ्जलि), शिखरिणी (नौलो विहानी, अनुराग, रम्य तराई बस्ती, भक्तिभाव, विछोडका स्वरहरू, विछोडको पीडा, शान्ति नै स्वर्ग, पुष्प शोभा, रिस नगर र शरदयाम), स्रग्धरा (हिमाल), शार्दूलबिक्रीडित छन्दमा ( विद्यार्थी अनुशासन, सुमार्ग र सृष्टि महिमा), वसन्ततिलका (मूर्खको भोज), उपेन्द्रवज्रा (पुष्पवाग र रतीराग), इन्द्रवज्रा (अनभिज्ञ पुत्र , ), शालिनी (शैशवकालको सम्झना), उपजाति (बृद्ध वय), वंशस्थ -बाल वय र नशालु र गीति (जीवनी) गरी जम्मा १३वटा छन्दमा ४०वटा छन्दमालाले सिङ्गारिएको छ पुष्पोध्यान । छन्दमा लेखिएको यस कविता सङ्ग्रहले आफ्नै खालको विशिष्ठता प्रदान गरेको छ । गद्यमा लेखिने कविताको बाहुल्यता रहेको वेला छन्दमा रचित कविताहरूले पुनः बाहुल्यतातिर लम्कदै आफ्नो छन्दको अग्रसरता देखाउन थालेका छन्, जो छन्दप्रेमीहरूको लागि यो खुसीको समय हो ।

विभिन्न साहित्यकारको नजरमा कवि र कवितासङ्ग्रह-

"पुष्पोद्यान" को सुमधुर सुगन्ध ... शीर्षकमा गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने)ले यस कृतिको भूमिका लेखेका छन् । यस कृतिको बारेमा उनको छोटो अभिव्याक्ति यसप्रकार छ -'समग्रमा हेर्दा कविले आफ्ना आँखासामु भएका, देखिएका, विषयबस्तु र आफूले भोगेका विभिन्न सुख , दुःख र खुसी उमङ्गलाई समेटेर सुन्दर काव्यमाला उन्न खप्पिस देखिनु भएको छ पण्डित शिवहरि ।'

"सम्मतिका मधुर स्वरहरू"शीर्षकमा प्रा. डा. नारायणप्रसाद खनाल लेख्नुहुन्छ- 'प्रस्तुत सङ्ग्रहमा कतै भक्ति-अध्यात्म, कतै विरह-वेदना, कतै अतु-याम, कतै रतिराग, कतै प्राकृतिक सुषमा, मानवकल्याण, मृदुव्यङ्ग, वार्धक्य, शब्दचित्र, आत्मजीवन आदि अनेक भावबिम्बहरू कविताका विषयवस्तु बनेका छन् ।

तपाईसँग मेरा कुराहरू शीर्षकमा कविले यस कृतिप्रतिको धारणा यसरी राखेका छन्- ' पावन भूमि नेपाल हिमाली स्रष्टाहरूको थलो, कोशी, गण्डकी, र कर्णालीले सिञ्चित हराभरा तराई, पहाड अनि हिमाल। वसन्त र शरदले लोलाई रहेका अनुहारहरू, मनमोहक प्राकृतिक दृश्यहरू, पर्वहरूले दिएका हर्षित, उत्कृष्ट, संस्कृतिको उद्गार, यही उद्गम थलोभित्र रुमलिएर भावनाका तरङ्गरूपी छालहरू यस सङ्ग्रहको विषयवस्तुहरू बन्न पुगेका छन् ।'

बास्तवमा यस कृतिको अध्ययन गर्दा कविताका शीर्षकहरूले पोखेका भावना, प्रा. डा. नारायणप्रसाद खनालका भावपूर्ण उद्गार र स्वयम् कृतिकारको अभिव्यक्तिलाई केलाएर ÷ विश्लेषण गरेर हेर्दा यथार्थ परक देखिन्छन् ।

यस कवितासङ््ग्रहमा पहिलो कविता सरस्वती बन्दनाबाट सुरु गरिएको छ । भक्तिभावले ओतप्रोत कविताको संख्या पनि कमि छैन -

रसायो धर्ती यो रविकिरणले जगमग भयो ।
बजे शङ्खै-घन्टा धुनलय सुनिने सरसको ।।
कतै भक्ती ध्वनी शिवशिव पुकारेर हरिको ।
जपेती वेदमन्त्रै कवच सुनिए श्री धरणिको ।।४।।
-अनुराग (पृष्ठ७)

यसकविता सङ्ग्रहले राष्ट्र, राष्ट्रियता, परिवर्तन, र प्रकृतिलाई गहन महत्व दिएको छ । कविता सुन्दर शैलीमा रचिएका छन् र विविधताले भरिएका छन् र भावना सलल बगेका र कवितामा छरिएका छन् । प्रकृतिको सुन्दरतामा कविलाई परमानन्दको अनुभूति हुन्छ । हिमालको सुन्दरतामा उनका कविता चाँदीझै टल्केका छन् । रारा र फेवाको नीलो र निर्ममल जलले उनका कवितालाई सिचेको छ । तराईको समथल र उर्वरक जमिन त्यसमा उत्पादन हुने खाद्यान्न, फलफूल, वनजङ्गल तथा विविध उत्पादनका बस्तुको उपभोग र उपयोगले स्वस्थ शरीरको निर्माण गरेको छ । पहाडको हरियालीको आकर्षणले कविमा प्रफुल्लता प्रदान गरेको छ । शान्तिले दिने स्वर्गानुभूति, हरिभजन, सुकर्म, सुधर्म, भक्तिभाव, सुमार्गमा चल्न पर्ने र रिसराग गर्न नहुने मार्ग दर्शनका अभिव्यक्तिहरूले भरिएका छन् कविताहरू । प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्नुपर्ने भावना, नेताभन्दा जनताको सर्वोच्चता ठूलो हो भन्ने धारणा, पेशागत विदाइका स्वरहरूको गुञ्जन अनि पीडा, शैशवकालको कृष्णको जस्तो लीला, रतिरागको रसपान, जीन्दगी-चक्र र जीवन-यात्राको अनुभूतिले सिङ्गारिएको यो कवितासङ्ग्रह पठनीय र अनुकरणीय छ ।

अतः आदिकवि भानुभक्तको जन्मस्थलमा जन्मलिएका कवि शिवहरिले आफ्नो जिन्दगीमा भोगेका विविधपक्षलाई समेटेर, तनहूँदेखि कञ्चनपुरसम्मको यात्रालाई कवितामय बनाएर, मिलन र विछोड, देश र परिवेश, राष्ट्र र राष्ट्रियता, रोग, शोक, भोक र प्यास, जीवनका उतार चढाऊ, मानव गाथा र व्यथालाई जीवनका भोगाइहरूसँग गाँसेर, व्यवहारिकतालाई समायर , सरल भाषामा, एउटा सुन्दर छन्दयुक्त कवितासङ्ग्रह हामीलाई प्रदान गर्नु भएको छ । यसको लागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ । कविजीको जीवन कवितामय होस् र जीवन सुखमय रहोस् भन्ने धारणा राख्दै। उहाँका केही कविताका श्लोकहरू यहाँ पस्कदैं विदा चाहान्छु -

नेपालीको मनभरि सदा पुष्पजस्तै छ नौलो ।
नीलो सङ्लो दहबिच सधैं सृष्टि द्रव्यै छ नौलो ।।
रारा, फेवा मुसुमुसु कती मुस्कुराई छ नौलो ।
झ्यामोलङ्मा पनि पिरतिमा स्वच्छता दृश्य नौलो ।।
-नौलो नेपाल, श्लोक ।।४।। पृष्ठ (९)

बाली देऊ दनदन यहाँ दन्दनीको जुवालो ।
लड्दै (बढदै अबत उठी द्यौ चल्छ यहाँ तुँवालो ।।
राज्यै हाम्रो हिम (शिखरमा हैन नेताहरुको ।
जन्ता नै हुन् शिरउपरमा राज्य नेपाल हो यो।।
-राज्य जनताको, श्लोक ।।५।। पृष्ठ (२२)

पिएर स्वादै रसपानले गरी ।
जिएर स्वर्गै मधुरागले भरी ।।
सुतेर हाँसी सहबासमा परी ।
रमेर छर्दै रतिरागकी चरी ।।
-रतिराग, श्लोक ।।६।। पृष्ठ (६४)

नशालुमा क्रोध जमेर आसिन ।
विषालु सर्पैसरि नग्न नासिन ।।
पिपासुमा रक्त विषाक्त भो किन ?
निर्भय मै व्यर्थ गयो नशा क्षण ।।
-नशालु, श्लोक ।।८।। पृष्ठ (८१)

धन्यवाद

सदानन्द अभागी
नवलपरासी, कावासोती शान्तिचोक
मिति २०७० साल भाद्र२३गते तीज

शान्ति अधिकारीको 'शान्ति बाटिका' नियाल्दाe

परिचय

तार्कु खहरे, लमजुङमा पुर्खौली घर भै तनारागाउँ डोल्पामा आमा अम्बिका र बुबा पदमहरि अधिकारीकी पुत्रीरत्नको रूपमा जन्मेकी शान्ति अधिकारी (पोख्रेल)को वैवाहिक घर इनरुवा, सुनसरी भै हाल उहाँ स्थायी रूपमा कोहलपुर, बाँकेमा बसोबास गर्दै आउनु भएको छ । उहाँको शिक्षा प्रमाण–पत्र तहसम्म भएको र नेपालगञ्ज नर्सिङ्ग क्याम्पस कोहलपुरमा सम्प्रतिरहेको उहाँको व्याक्तिगत विवरणबाट पत्ता लाग्दछ । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर र पल्लव साहित्य प्रतिष्ठान चितवनमा उहाँ सम्लग्न रहनु भएको छ । शान्ति वाटिका शान्तिजीको पहिलो गजलसङ्ग्रह हो । यो गजलसङ्ग्रहको प्रकाशन पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवनले गरेको र यसको विमोचन पनि २०७०/५/१० गते पल्लव साहित्य प्रष्ठिानको बार्षिक साहित्यिक सम्मेलनमा भएको थियो । यो कृति मलाई उक्त भव्य साहित्यिक जमघटमा वितरणको रूपमा प्राप्त भएको थियो ।

कृतिको संरचना र कृति र कृतिकार प्रति साहित्यिक अभिव्यक्ति –

शान्ति वाटिका (१२४+२४)=१४८ पृष्ठमा सजिएको छ । यसमा १२४वटा गजलहरू समावेश गरिएका छन् । यसमा प्राय पाँच शेरका गजलहरू समावेश गरिएका छन् । गजल विविधतामा भरिएका छन् र प्रणयभावलाई बाहुल्यरूपमा छरिएका छन् । गजलमा बहरसहितका गजलका शेरहरूको रचना गर्नु पर्ने धारणा र बहररहितका गजलका शेर निमार्ण गरिएका सन्दर्भमा बहस आफ्नो स्थानमा यथावत कायम छन् तर गजलकारहरू भने गजल लेखनमा अग्रसरता देखाइरहेका छन् । समयको प्रवाहले परिवर्तन ल्याउँछ । यी दुवै बहसले गजल लेखनलाई एक दिन आफ्नै किसिमको बोलाई परिमार्जन गर्दै जाने छन् र स्थायीत्वमा पुर्याउने छन् । त्यसो हुँन्दा गजललाई लेख्दै जाउँ आफ्नै किसिमको स्थापित्व जमाउँदै जाउँ, भन्ने मेरो मान्यता हो ।

शान्तिबाटिको प्रकाशन, मैले माथि नै उल्लेख गरिसकेको छु कि, पल्लव साहित्य प्रतिष्ठानले गरेको छ र यी गजलहरूलाई www.pallawa.com.npमा पनि पढ्न पाइन्छ । प्रकाशकीयमा, पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साहिलोले प्रकाशकीय शुभकामना शिर्षमा लेख्नुहुन्छ – 'आजको यो आधुनिक युगले मानिसहरू संसारको जुनसुकै कुनामा बसेको भए पनि विभिन्न आकाशे तरङ्गहरूले सबैलाई गोलबन्ध गरी सामीप्यता र निकटताको बन्धनले बाँधेको छ । यसैको उपज हो गजलकार शान्ति अधिकारी र शान्ति वाटिका गजलसङ्ग्रह । '

यस गजलसङ्ग्रहको भूमिका बरिष्ठ साहित्यकार केशवराज आमोदीजीले लेख्नु भएको छ । 'शान्ति–वाटिका'मा प्राप्त आनन्दानुभूति छोटो परिचर्चा शीर्षक दिएर आमोजीले गजलको परिभाषा यसरी दिनुहुन्छ – 'गजल भनेको श्रुतिमधुरताले परिहित, कोमलकान्त पदावलीले आकल्पित एव म मनोभिराम भावाभिव्यञ्जनाद्वारा अभिप्रशित यस्तो रमणिय शेर–पुञ्जको माला हो जसको पहिलो थुँगाको रूपमा मत्ला र अन्तिम थुँगाको रूपमा मक्ता रहन्छ । बिम्ब, प्रतिक वा उपमा माध्यमबाट सुकुमार शैलीमा रदिफोकाफियासहित, लयबद्धतामा अभिमण्डित संरचनायुक्त गेयात्मक काव्यिक विधा नै गजल हो । '

स्वय म गजलकार शान्ति अधिकारी पोख्रेलले 'शान्ति मन भित्रका कुरा' आफ्नो लेखन यात्राको बारेमा, गजलको बारेमा, लेखनको थालनी गर्दा मानिसले चोट धोका केही न केही घटनामा परेर मात्र लेखनको थालनी गर्ने सर्जकहरू हुन्छन् भन्ने धारणा र यस्ता धारणामा भने शान्तिजी सहमत नभएको धारणा राख्नुहुन्छ । सिर्जना भनेको साधारणरूपमा सृष्टि गर्नु हो अथवा कुनै चिजको थालनी गर्नु हो । यसलाई नवनिर्माणको रूपमा पनि लिन सकिन्छ । यसप्रकारको कामको थालनी गर्दा कुनै न कुनै वातावरणले लेखकको मनलाई अवश्य छुन्छ र भावनाको उत्पत्ति हुन्छ, ती भावनाका लहरलाई कसैले लिपीबद्धरूपमा कागजमा उतार्छन्, कसैले भावनामा बग्छ तर त्यसलाई जनसमक्ष ल्याउँदैन । शान्तिजी तपाईं एकातिर घटनाक्रममा परेका (दुख पीडा, प्रेम आदिमा धोका खाएका) मानिसहरू साहित्यमा लाग्दछन् तर तपाईंको अभिव्यक्तिमा त्यस्तो परिवेशको आधारमा तपाईं साहित्यमा नलागेकोभन्दा भन्दै पनि धनाढ्यको व्यवहार, समाजमा बाच्ने कोही स्वाभिमानी जीवन, मरण, सामाजिक वातावरण,स्वय म आफ्नै बहिनीको असामयिक निधनले निम्त्याको पीडा र थालिएको लेखनले सिर्जित(उत्पादन) शान्ति बाटिका विविधताले सजिएका फूलका थुङ्गाहरू । मानव जीवनमा पार्ने विविध खाले प्रभावहरू नै हुन् जस्ले मानव हृदयलाई छुन्छ, भवनाहरू बग्छन् ती भावनालाई कागजको टुक्रामा छरिन्छ र बन्न जान्छन् काव्य, महाकाव्यहरू ।

अब म तपाईंले गजल शेर मार्फत पोखेका अभिव्यक्तिमा केही तर्क वितर्क गर्न चाहन्छु । शान्ति बाटिकामा शन्तिजीले धेरै प्रेमका फूल रोप्नु भएको छ । गजल विधामा प्रणय–दर्शनले बाहुल्यता छाउनु स्वभाविक पनि हो । प्रणय विधाले अग्रस्थान लिए पनि शान्तिजीका गजलमा विविधता छ । गजल–१मा शान्तिजीले शान्त्बिाटिकामा आइदिन,े मायालाई दिने, यथार्थताको गीत गाइदिन र यसमा भएका कमीकमजोरीलाई औंल्याइदिन अनुरोध गर्नु भएको छ । शान्तिजी जसले काम गर्छ त्यसका काममा राम्रो नराम्रोमा विचार विमर्श हुन्छ । कर्महीन व्यक्तिमा कसले के भन्छ र ?

शृङ्गगारिक सरको बाहुल्यता –

यस गजलसङ्ग्रहमा शृङ्गारिक रसमा आधारित शेरहरूको बाहुल्यता छ । उदाहरणको रूपमा केही शेर हेर्यौं–

मीठो मान्दै दिलभित्र पस्यौ सुस्त सुस्त
तिम्रो न्यानो अँगालोमा कस्यौ सुस्त सुस्त (गजल–२, पृष्ठ–२)

दुःख परे झेलौंला नि के को पीर मान्ने
खुसी साटौं अहिले भन्दै डस्यौ सुस्त सुस्त (गजल–२, पृष्ठ–२)

प्रेमको न्यानो अङ्गालोमा मात्र कसिनु नभएर नाता जोड्न नसक्नु नाता जोड्न नसके पनि छोड्न नसक्नु, रगतको नातालाईभन्दा भावनाको मायाले जित्नु, मायालाई मुटु नै सुम्पिनु, बन्दी पुरको यात्रा, उकालो बाटो, हात समाउँदै, सुन्तला छोडाउँदै, मुख रसाउँदै मस्र्याङ्गीका तिरको छलछल कलकल गीत गुञ्जनलाई सुन्दै र घुम्दै यात्रामा गोरखकालीको दर्शन गर्दैसँगै बाच्नेसँगै मर्ने चाहनालाई अङ्गिकार गर्दै यात्रामा रमाउने यी भावनाम सजिएका शेरले साच्चि नै मन छुन्छ । प्रेमलाई कसरी हेर्ने रातमा आउने याद प्रातमा आउने याद, मातमा आउने याद मात्र नभै कल्पनामा आउने खात र मायालुले प्रदान गरेको सौगातमा आउने यादभन्दा पनि जब कुनै अरुहरूलाई साथमा देख्दाको यादले साह्रै सताउँछ । यादै यादको सौगातलाई कसरी पुर्याउनु ती मायालु जोडीको तिर्षनालाई मेट्न, जुगजाने मायालुलाई भेट्न । यस्तै हो कहिले काहीँ त दिल दियो दर्द लियो ।

प्रेममा शंका हुन्छ, भ्रम हुन्छ, अनि प्रेमी प्रेमिकाले मनमनै गुनगुनाउन थाल्दछन् –माया कतै मोडियोकी, उतै छोडिएको की, अन्तै जोडियो कि, यतिमात्र नभएर कलेजीवाटै तोडीयोकी अमृतको बोट भन्दै विष वृक्ष रोपियो कि, शङका–उपशंकामा नै रूमलिंदा सायद रिस उठ्न सक्छ र शान्तिको भण्डार नै फोडिन सक्ने सम्भावना हुन्छ । शान्तिजी प्रेममा धेरै शंका नर्गुहोस् । थाहा होलानी शङ्काले लङ्क पिर्छ भन्ने उखान ।

मायामा कल्पना हुन्छ । कल्पनामा बग्दा बग्दै उनलाई पाउने आशा हुन्छ, पाए पछि मन्दमन्द मुस्काउने मुस्कान बग्छ तर त्यो दिन नपाउँदा आज बगेका छन् अश्रुधारा । चाहे दुनियाले डाहा किन नगरोस् चाहना छ खुसी साथ जिउन र शान्ति–मुखी अँगालोमा उनीद्वारा नै दाएको दिन पर्खन । मानवग जीवनमा जेजति काम गरिन्छ त्यसमा जैविक आवश्यक्ताको परिपूर्ति गर्न र सृष्टि थाम्नु पनि एउटा गहन काम हो जस्तो लाग्छ । कोही घुसघुसे होला ? कोही प्रष्ट होला तर यो सबैलाई थाहा छ कि यो संसारमा जीवले जैविक आवश्यक्तालाई परिपूर्ति गर्छ गर्छ । यस विषमा गजलकार प्रष्ट छन् । चाहे उनका गजललाई अश्लिल/सलील जस्ले जे सम्झोस् तर यथार्थतालाई गजलकारले यसरी पस्केकी छन् –

चकमन्न अँध्यारो भो अल्लि नजिक सर
अङ्गालोमा बेरेपछि इच्छा माफिक गर

------

मनसँग खेल्दा खेल्दै मायाको त्यो किलो
दिलभित्र धसाई छाड्यो नानाभाँती गर्दै

------
राम्रो देखें बिरुवालाई ल्याई सारेंआगनीमा
फुल्ला भनी मलजल गरे फुल्दा खेरी पाती रैछ
------

गजलकार प्रेममा आशावादी छन् । मुटुमा नाम लेख्ने नजाऊ भनी बाटो छेक्ने, हाँसो र रोदन देख्ने, पीडालाई उमङ्गमा बदल्ने र लडखडाइ लड्न खोज्दा आधार दिने सायद उनी सिवाय को होला उनका प्रेमीलाई ? जवानी–जोसमा, मान्छे हुँदैन होसमा, पागल सरी भौंतारिँदै यात्रा गर्छ कोसमा, जमानालाई दोष दिँदै, जब उमेरले नेटो काट्छ अनि मात्र आँखा खुल्छन्, तब रुन्छ मान्छे ।

नारीवादी चिन्तन र गजलकारः–

यस गजलसङ्ग्रहमा नारीवादी चिन्तन पनि भेटिन्छ । गजलकार स्वय म नारी भएर होला, नारीले भोग्न परेका पीडा, नारकीय जीवन बिताउनु परेको बाध्यता, रामको परीक्षामा धेरै सीताीहरूले गर्नुपरेका मृत्युवरणका घटनाहरू, स्वास्नी माथि गरिने पशुवत व्यवहार, घरमा श्रीमती छँदाछँदै अर्की भित्र्याउने प्रवृत्ति, छोरी चेली लुटिएका कथा, आफ्नै जन्मदाताले हिटलर बनेर मृत्युवरण गराएका घटनाहरू, दाइजोरूपी बिकृतिमा भोग्न परेको पीडा तथा त्याग्न परेको ज्यान, यौवनलाई किन्ने प्रबृतिसँग हुनुपर्ने सावधानी, आदिमा गजलकारका धारणा प्रष्टिएका छन् । यतिमात्र हैन आज महिलाहरू आधुनिकताको नाममा नाङ्गिने प्रबृति, गलतबाटोतिर लाग्नेबानी र आफ्नो पनबाट टाढिंदै गएको र नारीले आफ्नो कर्तव्यवोधबाट टाढिन गएकोमा चिन्तित हुँदै भगवानसँग रक्षा गर्नको लागि प्रार्थना गरेकी छन् गजलकारले । नारी आज आफैंभित्र हारिदै छन्, झनै पछि पारिदै छन्, नारीलाई अधिकारहीन र पशुवत व्यवहार गरिदैछन्, दाइजोरूपी हिंसामा आज पनि नारी मारिदै छन् यस्तो अवस्थामा नारीदिवस मनाउनुको के औचित्य हुन्छ र ? भन्ने प्रश्नबाची धारणा गजलकारले राखेकी छन् । बास्तवमा नारीदिवस मनाउने नै हो भने यी सबै विकृति र विसङ्गतिबाट नारीले स्वतन्त्रता पाउनु पर्छ र नारीीलाई हक अधिकारबाट सुसम्पन्न गराउनु सक्नुपर्दछ । तबमात्र सार्थक नारीदिवसको कल्पना गर्न सकिन्छ ।

गजलमा विविधता ः–

शान्ति वाटिकामा गजलकारले थरी थरी प्रेमप्रणयका फूलका जातहरूले सिङ्गारे पनि, देशले भोगेको द्वन्द्व, राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिबद्धता, राष्ट्र–प्रेम, राष्ट्रिय अखण्डता, सीमा अतिक्रमण, गरिबीको मारमा परेका जनताप्रतिको यथार्थता, जनजीविका/रोजगारीको कारणले पलायन भएकाहरूको मार्मिक वेदना, मानवता, जीवन–सङ्घर्ष, कर्मशीलभाव, परोपकारिक धारणा आजको फैलिदो मदिरा सेवनको कुलतले निम्त्याएको सामजिक विकृति आदिलाई सुन्दर रूपमा प्रस्तुत गर्नु भएको छ । यी सबै प्रस्तुतिलाई केलाउँदा गजलकारले गजलमा विविधतालाई समेट्ने प्रयास गरेकी छन् । उनका गजलका केही शेरहरू अध्ययन गरौंं–

दाइजोरूपी हिंसाभित्र मरे कति दिदी–बहिनी
कतिलाई खारिदै छ किन मनाउँ नारी दिवश
गजल–१२४, पृष्ठ १२४

गुन्यू–चोली फालिन् उनले रक्षा गर भगवान्
गलत पाइला चालिन उनले, रक्षा गर भगवान्
गजल–१०८, पृष्ठ– १०८

बारुद भर्दा बम फाल्दा आफ्नै मित्र बन्धुत्वको
ज्यानै जाँदा आफन्तको थुकेको सम्झना छ
गजल–७२, पृष्ठ ७२

आफ्नो स्वार्थ पूरागर्न, सलाई दियो देशद्रोहीले
हेर्दा हेर्दै राष्ट्रियता, जलाई दियो देशद्रोहीले
गजल–५८, पृष्ठ– ५८

सलाई बिना पनि आगो, बल्छ प्रेमभित्र
सम्झी बस्दै शरीर नै, गल्छ प्रेमभित्र
गजल–५२, पृष्ठ– ५२

अन्त्यमा, गजलमा भाषा सरल छ, लेखनकर्म प्रयत्नशील छ, सिङ्गारिक रसमा राम्रैसँग स्नानगर्न सकिन्छ तापनि गजल लेखनमा विविधता छ । केही कमीकमजोरी यहाँ पनि भेटिन्छन् । यी सुधारहुँदै जाने क्रम हुन् । सुन्दर कृतिको सिर्जना भएको छ । गजलकारलाई धन्यवाद दिँदै केही गजलका शेरहरू म पनि पस्कुँ–

शान्ति तिम्रो वाटिकामा प्रणयका फूल फुले
स्वच्छ भाव, पवित्रामै भमरा नै अति झुले

राष्ट्र अनि राष्ट्रियता, बन्धुभाव, मानवता,
नारीवादी सिङ्गार छर्दै शेरमा यी नै डुले

बृद्धिमुखी देश बनोस हटोस विपन्नता
गर्नु थियो दृढ–चिन्तन् नेताजीले भुले

धन्यवाद

सदानन्द अभागी
मिति २०७० साल कार्तिक २२ गते कासोती–१ शान्तिचोक

शब्दयात्रीलाई अवलोकन गर्दा

परिचय
कवि लोकनाथ खराल २०२० साल मुगसिर तेह्र गते गुल्मी अर्लाङ्कोटमा जन्मनु भएको थियो हाल भने कावासोती नगरपालिका वडा नं २मा बसोबास गर्दै आउनु भएको छ । छन्दोबद्ध कवितामा आफूलाई परिचित गराउने खरेलका हालसम्म अक्षरयात्री कवितासङ्ग्रह, २०६५ र शब्दयात्री कविता सङ्ग्रह, २०७४ कृतिको साथै विभिन्न पत्रपत्रिकामा थुप्रै फुटकर कविताहरू प्रकाशनमा आएका छन् । उपन्यास, नाटक–एकाङ्की, गीतिसङ्ग्रह, कविता एव म कथासङ्ग्रह आदि प्रकाशोन्मुखको रूपमा तयारी गर्दै गरेका कवि खराल हिमायती (साहित्यिक मासिक) कावासोतीका सम्पादक पनि हुन् । पल्लव साहित्य प्रतिष्ठान, त्रिवेणी साहित्य परिषद, नवलपरासी, नवलपरासी साहित्य परिषद नवलपरासी, लक्ष्मीस्मृति साहित्य समाज, नवलपरासीसँग आबद्ध रहेका खरालले शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेवापत शिव मा.वि. शिवबस्तीबाट स्तरीय शिक्षण सम्मान (२०६०) जनता उच्च मा.वि. डण्डाबाट स्तरीय शिक्षण सम्मान( २०६३), यिनै संस्था उच्च मा.विमा स्तरोन्नती भए पछि पनि क्रमश २०६४ र २०६५मा स्तरीय शिक्षण सम्मान प्राप्ग गर्नुको साथै उत्कृष्ट शिक्षक सम्मान (२०७२) र यसै वर्ष, वर्ष शिक्षक सम्मान समेत प्राप्त गरी आफूलाई उत्कृष्ट शिक्षकको रूपमा परिचित गराइसक्नुभएको छ । साहित्यिक सम्मानमा खरालले, प्रतिभा युवा क्लब, विष्णु नगरबाट उत्कृष्ट नाटक लेखन, लक्ष्मीस्मृति साहित्य समाजबाट –२०७१मा साहित्य सम्मान, नवलपरासी साहित्य परिषदबाट २०७२मा सम्मान, नारी साहित्य समाज सम्मान –२०७४ र महामण्डल साहित्य सम्मान २०७४, प्राप्त गरिसक्नुभएको छ । साहित्यकार खरालको साहित्यिक जीवनी केलाउँदा उत्कृष्ट छन्देली कवि र पेशाले उत्कृष्ट शिक्षक, सरल एव म मिलनसार व्यक्तिको रूपमा मैल पाएको छु ।

कृतिको संरचना –
शब्दयात्री छन्दोबद्ध कवितासङ्ग्रह, आवरण पृष्ठ सहित १६९ पृष्ठको रहेको छ । कृति पल्लव साहित्य प्रतिष्ठान नारायणगढ, चितवनद्वारा प्रकाशन गरिएको र मूल्य ३०० रुपियाँ राखिएको छ । स्नेहमयी जननी स्व. पूर्णकला खरेल (१९८९–२०६४)प्रति समर्पित, यसकृतिमा ७१ओटा कविताहरू समावेश गरिएका छन् ।

विभिन्न साहित्यकारको यस कृति र कविप्रति राखिएका धारणा –मीना लामिछानेले यो कृतिको प्रकाशकीयमा, लोकप्रिय विधामा कृति प्रकाशन गर्न लागेकोमा, कविलाई हार्दिक शुभकामना दिनु भएको छ । यस कृतिको भूमिका लेख्दै डा. धनपति कोइरालाले भन्नुहुन्छ– "विषयबस्तुगत विविधता प्रस्तुत कृतिको अत्यान्त सवल पक्ष हो । मानवतावादप्रति अतिशय आकर्षण तथा राष्ट्रप्रेम यसको मुख्य स्वर हो ।" गोविन्दराज विनोदीले यस कृतिप्रति लेख्नुहुन्छ –"विषयगत विविधताका साथै लय वा छन्दगत विविधता र भावगत नवीनता यस कृतिमा सङ्गृहित कविताहरूको सम्प्राप्ति हो ।" गोर्खे साइँलो कवि खरालप्रति आशावादी हुँदै लेख्नुहुन्छ –"कवि खरालमा भएको उर्वरालाई, अँझ विकाशोन्मुख बनाएर अघि बढेमा आगामी दिनहरूका उहाँका विविध काव्य, खण्डकाव्य र महाकाव्यजस्ता पुस्तकहरू पढ्न पाउने विश्वास लिएको छु ।" कवि स्वयम्को यस कृतिप्रतिको धारणा – "विभिन्न छन्दका माध्यमबाट आफ्नै देशको प्रकृति, समाज र सिङ्गो राष्ट्रका पक्षलाई अन्तस्करणको अनुभूति जीवन भोगाई दृश्यावलोकनको चित्र कोर्न प्रयासस्वरूप प्रस्तुत शब्दयात्री कविता सङ्ग्रह जन्मिन पुगेको छ ।" लोकनाथजीका यी धारणालाई कविताहरूले पनि स्पष्टरूपमा बोलेका छन् ।

कृतिभित्र प्रवेश गर्दा –खरालजीले यस कृतिमा विषयगत विविधताले भरिएका विविध छन्दले सिङ्गारिएका, राष्ट्रियताले ओतप्रोत भएका सामाजिक चित्रणले सवलरूप लिएका मानवतावादी स्वरले अन्तस्करण छोएका यी ७१ पुष्प गुच्छाहरूको एक एक भावसारतिर नलागि विविध धारणातिर लम्कन चाहन्छु । विविध छन्दमा रचित याी कवितामा कवि राष्ट्रियताका भावनाले सागरझै लहरिएका छन् । यिनका यी सामुद्रिक छालसँग म पनि यसरीनै लहरिन जान्छु –

राष्ट्रियता र शब्दयात्री– खै राष्ट्रको अस्मिता, राष्ट्र र राष्ट्रियता, मेरो धर्ती, पीडा, खै उन्नति, फर्केर आऊ घर, लक्ष्यहीन, तब बन्छ राष्ट्र यो, के हुन्न कर्म गरे, नियति, खै शान्ति यो देशमा, नेपाल मेरो घर, यो देश टुक्रिन्छ कि, खडेरी परेको देश, गन्तव्यहीन यात्रा, सङ्घीयता, यो देश, भावना, भूस्वर्ग, खोज्दै छु नेपाल, फुल्न नसकेको फूल, आकाश चुम्ने कुरा, खै शान्ति नेपालमा, सुन्दरी, गणतन्त्र, नयाँ नेपाल, तीतो सत्य र पहिचान, कविताहरूलाई राष्ट्रियताप्रति कविको गहन चिन्तन रहेको छ र यसै विषयमा अध्ययन गर्न सकिन्छ । कविले राष्ट्र अधोगतितिर लागेको, नेपाली पन नभएको, लुट्ने र धुत्ने प्रवृत्तिले देश छिया छिया भएको, जननीलाई चोक्टामा विभाजन गरिएको, घर्तीलाई छियाछिया पारिएको र देशलाई अन्धकारतिर ढकेलिएको आदि राष्ट्र राष्ट्रियताप्रति पोखिएका धारणामा केही पङ्क्तिलाई अध्ययन गरौं –

यस्तो सुन्दर शान्त देश सब यो उठ्नै नसक्ने भयो,
के भो आज विवेकहीनहरूको धर्ती मुठीमा गयो
देश स्वाधिन यो भनौ म कसरी नेता पराधीन छन्
आफ्नी यी जननी लुछेर अबता काटेर नै बेच्दछन् ।
पृष्ठ ११

गास बास कपासहीनता, रोगहरूको कारणले मानिस मर्न बाध्य, भाइ लडासउने दुर्गन्धको खेल, बलिका बोका बनाएर रगतको भेल, जनहरू टुहुरा भएको, राष्ट्र बचाउने सुदिलको नेता नजन्मिएको, शकुनीकोजस्तो निर्लज्य राजले स्थान पाएको, आदि धारणाको साथमा कवि भन्छन् –

"देशै गृष्म भयो कडा अनलको ज्वाला बलेको यहाँ
माटो जर्जर भो वसन्त वध भो वर्षा हरायो कहाँ"
पृष्ठ १४

कविले देशमा विकास भएको देख्न चाहन्छन् । देश विकासको लागि उदार हृदय चाहिन्छ र कृयाशील हुनुपर्छ भन्छन् । उर्जाले भरिपूर्ण भए पनि अन्धकारले व्याप्त छ । सम्पन्नता पूर्ण हुँदा हुँदै पनि सम्पन्नताको अभाव भएको कविको ठम्याइ छ –

गौरीशङ्करको निवास धरती सम्पन्नतापूर्ण छ
छैनन् खै हरिया उचा शिखर ती आगो सधैं बल्दछ
अस्थीपञ्जरझैं छ शेष अबता संमृद्ध बन्ला कहाँ
छैनन् राष्ट्र बनाउने तरुण ती जन्मिन्छ कैले यहाँ
पृष्ठ ३५

राष्ट्र निर्माण गर्न सबै जुट्नु पर्छ, भ्रष्टचार हट्नु पर्छ, मूर्ख बनाउन छाड्नु पर्छ, अमूल्य जीवनलाई राष्ट्र निर्माणमा लगाउनु पर्छ, लुछाचुडी छाड्नु पर्छ, दीनदुखीे उठ्नु पर्छ । भविष्यको अवलोकन, गर्दै देशको शान, मान र माटो राखेर देश निर्माण गर्नुपर्छ र देश टुक्रिन दिन हुँदैन भन्छन् कवि –

"मुर्कट्टाहरूको छ राज कसरी बन्ने धरा पूर्ण भै
नाङ्गो नाच न लाग्छ लाज तिनमा आशा गरौं के अँझै
चुस्यौ चुस्न अनेक जाल छ सधैं रित्तो सबै हुन्छ कि
खै यो राष्ट्रियता धराप छ सदा अस्तित्व नै गुम्छ कि"
पृष्ठ ५९

देशको काँचुली फेर्न सकिने धारणा राख्दै कवि लेख्छन् –

"पानी मात्र पिएर राष्ट्र अबता जागेर बाँच्ने छ यो
प्यारो राष्ट्रियता उचा छ शिर यो नेपाल झुक्दैन हो
बाँचने आश्रयमा अँझै कति यहाँ फैलाउँदै अञ्जुली
आफै खोज गरौं विभिन्न पथ ती फेरिन्छ है काँचुली"
पृष्ठ १०५

लोकतन्त्रप्रति कविको धारणा– देशमा लोकतन्त्र, गणतन्त्र, आए पनि जनताले गणतन्त्रको अनुभूति गर्न सकेका छैनन् । जनताका सपनाहरू चिहान भएका, सुमार्गको खोजी भएका छैन, धरा उठ्न सकेका छैन, जनताले गासबास कपास प्राप्त गर्न सकेका छैनन्, त्यसो हुँदा लोक तन्त्रमा दियो बल्नुपर्छ, उषा खिल्नु पर्छ, सुधा मिल्नु पर्छ, वसन्त आउनु पर्छ सुवर्ण चम्कनु पर्छ भन्दै कविले यसरी लोकतन्त्र आएको अनुभूति महसुस हुनको लागि अँझै मौजुदा रहेका पाखण्ड, घमण्ड, र स्वार्थको अन्त्यहुनु पर्छ, विनाशको बाटो छोड्नु पर्छ सधैं उज्यालोको अनुभूति हुनु पर्छ भन्दै कवि भन्दछन् –

"सधैं उज्यालो धरती प्रभातको
सुवर्ण चम्के तब लोकतन्त्र यो"
पृष्ठ ४

मानवीयप्रवृत्तिप्रति काविको धारणा – वास्तवमा मानिस दम्भी छ, स्वार्थी छ, ऊ यथार्थभन्दा आफूलाई माथि सम्झन्छ, लगाएको गुनलाई, उदार ममता र मानवतालाई बिर्सन्छ, सियो भै पस्छ हात्ती भै निस्कन्छ, , औला दिंदा हातै निल्छ आदि मानवको बैगुनी प्रवृत्तिप्रति कविले कटाक्ष गर्दै भन्दछन् –

"स्वार्थैले मदमत्त भो अपचभै मान्छे बनाएपछि,
नाता प्यार रहेन मत्त हुनगो पैसा कमाएपछि ।
सोझो मार्ग बताउँदा पनि यहाँ उल्टो सधैं हुन्छ नि,
धोका हुन्छ सहेर बस्नु कसरी मान्छे तहो बैगुनी ।'
पृष्ठ ५२

सीमा अतिक्रमणप्रति कविको धारणा– वास्तवमा नेपाल सानो छ ।छिमेकी ठूला छन् ।ठूला या साना देशको अस्त्त्वि भने समान हुनु पर्ने तर त्यो नभएर सीमाका पिल्लरहरू रातारात सारिन्छ र हाम्रो देशप्रति अतिक्रमण भएको छ । यस्तो छिमेकीको हेपाहा प्रवृत्तिप्रति कविको धारणा यसप्रकारको आएको छ –

सुस्ता त्यो लिपुलेक गुम्छ अब ता खोसेर खाँदै छ नि,
भाग्यो सुन्दरता अपाङ्ग तनको उत्थान के हुन्छ नि ।
बाँझो कोख भयो सपूत युगको जन्मेन अहिले यहाँ,
शोभा छैन लुट र जर्जर बनी आमा रुँदै छिन् यहाँ ।
पृष्ठ ९९

आन्दोलनको उपलब्धि ? –आज देशमा विकासको लहर चल्ला, जनताले विकास भएको अनुभूति पाउन सक्लान, देशलाई नेतृत्व वर्गले देश निर्माण गर्लान्भन्दा पनि सत्ताको खेलमा नेतृत्ववर्ग रमाएका छन् । प्रजातन्त्रको लागि राणा कालदेखि आजसम्म आन्दोल भएका थिए र छन् पनि तर त्यसवाट प्राप्त उपलब्धिलाई नेतृत्व वर्गले व्यवस्थित गर्न सकेन र आज आन्दोलनहरू महगो भएको छ भन्दै कविले आफ्नो धारणा राखेका छन् –

सत्ताको बसमा परे मनपरी के पुष्टि भयो युद्धको
कालो बादल खै हटेन युगको डुब्दै छ नेपाल यो
छोरा नाति गुमेगुमे पनि यहाँ एक्लो भयो जीवन
सोझा ती जनता मरेर महगो बन्दै छ आन्दोलन
पृष्ठ ११७

नेतृत्व वर्गमा सत्ता लोलुपता–काम गरे के हुन्न ? सबै चीज गर्न सकिन्छ तर नेतृत्ववर्गमा काम गर्ने इच्छ्याशक्ति देखिदैन र देश बन्न पनिसकेको छैन भन्छन् कवि –
"क्वैली मौन रयो वसन्त ऋतुमा आगो लगाएपछि,
छैनन् मङ्गल दीप ती गगनमा आकाश रोए पछि ।
के हेर्छौ दुनियाँ सधैं दिन यहाँ रातै बनाएपछि,
के बन्थ्यो धरणी बिते युग यहाँ नेता गनाए पछि ।
पृष्ठ ३९

शहीदप्रतिको धारणा– कविले शहीदले देशको कालो बादललाई आफ्नो वलिदानवाट हटाए तर आज देश हाक्नेहरूले शहीदको सपना पुरागर्नुको सट्टा केवल माला लगाएर औपचारिकता निभाएकोमा कविले भन्छन् –

"स्वप्ना बा बाँकीरहे शहीदहरूका सम्मान गर्ने गर,
नेता छैन कुनै विशाल दिलको यो देश के बन्छ र ।
जस्को सुन्दर योगदान सपना कुल्चेर हिड्नेहरू,
के हुन्थ्यो यसरी भलो मुलुकको हे धूर्त नेताहरू ।"
पृष्ठ ५७

प्रेममय जीवन गाथा–कवि सम्भोग शृङ्गारको वर्णन गर्न पनि उदार देखिन्छन् र सम्भोगको वेलामा लिइने र दिइने आनन्दको पूर्णरूपले वर्णन गर्छन् –

"ती उस्का कलिला दुवै करहरू बढ्दै थिए माथमा,
चिम्ली लोचन दीर्घ सास अडियो आएर यो काखमा ।
माया बन्धनमा छु मस्त मस्त अति नै सानन्द मिल्दो छ है,
के के भो कति बेर भो मनपरी त्यो काल ताजा छ है ।"
पृष्ठ ६३

रोजगारीमा कविको धारणा– देशले रोजगार दिन सकेन, रोजगारीको लागि युवाहरू पलायन भए । आफूमात्र पलायन भएर नपुगी पत्नीलाई सहरमा लगेर राख्ने चलन पनि बढ्यो र घरमा बुढाबूढीले आगन कुरेर बस्नु पर्ने, छोराको आर्जन बुहारीले उपभोग गर्ने, साहुको ऋण पनि नतिरिने, अन्त्यमा पत्नीले अर्कैसँग विवाह गरेर जाने कटुसत्यलाई कविले यसरी धारणा राखेका छन् –

"साना भाइ र वृद्ध बाबुजननी बाटो उतै हेर्दछन्,
बारीखेत सबै लिलाम ऋणले साहू मिली घेर्दछन् ।
छोटो बुद्धि पुगेन है कपटले आयो नि आँफू रुदै,
भागे हेर विवेकहीनहरूको पैसा र पत्नी दुवै ।"
पृष्ठ ९४

विविधताले भरिएका धारणाहरू–कविले हृदय खोलेर नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गरेका छन् । हिमाल पहाड र तराइमा देखिएका द्वन्द्व र त्यबाट निम्तिएका दुष्परिणामहरू, भाइभाइ बीचको द्वन्द्वको परिणतिले देश जर्जर भएको धारणा, संविधानले दिन नसकेको सन्तुष्टि, देशमा शान्तिको खोजी, देशको व्यप्त गरिबी र राजनीति परिवर्तनले जनतालाई दिन नसकको समृद्धि, जनतामा चाहिएको एकता, राष्ट्रको अखण्डता, समुन्नति, देशको विषम परिस्थितिले मानवीय जीवनमा पारेको प्रभाव, सभ्य र समुन्नत देश बनाउनको लागि युवाहरूलाई गरेको आह्वान, महाकावि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानले धन्य भएको धारणा, युगान्त भरिलो र व्योममा चम्किलो अमर काव्य र ज्योत्स्नाझै कवि बन्न पर्ने धारणा, खाली शब्द थुपारेर सुन्दर कविता नबन्ने, स्वार्थमा लिप्त नेताहरूले टाउको दुखे पनि विदेशमा उपचार गराउने, निमुखा जनता औषधी नपाइ मर्ने, भूकम्पले आठ हजार खाएको, कतिलाई अलपत्र पारेको, विविध नोक्सानी गराएको, अपनत्व हराएको, भ्रष्टचार मौलाएको, देश ठग प्रवृत्तिको जालले जेलिएको, राज्य पद्धति दलालको हातमा गएको, संघियताले देश टुक्रिन सक्ने, आपसमा द्वन्द्व निम्तिन सक्ने, संघीयता अभिशाप हुन सक्ने आशंका, वर्गीय उन्नतिको लागि सबै लाग्न पर्ने, चोर्ने वाँदर र चुस्ने ब्वाँसाबाट देश बन्न नसक्ने, आजका मानिसको केन्द्र विन्दु भनेको आर्जन तथा पैसा भएको, ब्याठे बोकालाई सिंहले झम्टन थालेको, खोजेमा ईश्वर भेट्न सकिने तर सज्जन भेट्न नसकिने हुँदा सबै मिलेर यो बन्धन तोड्न सक्नु पर्ने, देश बनाउने नायकको जन्म नभएको, चुनावमा धेरै झुटा आश्वासन र पैसा बाँडिने साथै चर्का नारा लगाइने, जिन्दगी खोलाको पानी बग्दाझै बग्दै गएको, यो जीवन आमाको ऋणमा रहेको र चुक्ता गर्नु पर्ने भएको, आफ्नो मौलिकतालाई मासेर मासिदैन भाषा विगार्न पाइँदैदन, युवतीहरू लुटिएको, अस्मिता लुटिएकहो, सक्नेले सबै लुट्ने र कसैको सुरक्ष नभएको धारणाहरू कविले पस्केका छन् र सारा विसङ्गति र विकृतिबाट उठ्न पर्छ भन्ने कविको अठोट्ता छ ।

माथिका धारणाहरूले कविताको संरचनालाई प्रष्ट पारेका छन् । कविताहरूले आजका नेपालको परिवेशलाई समाएका छन्, यथार्थतामा रमाएका छन्, कटुसत्यलाई बताएका छन् । कविको राष्ट्र र राष्ट्रियताप्रतिको गहन धारणा, उच्च भावना, सवल र सक्षम राष्ट्र वनोस् भन्ने परिकल्पना, विरहरूले स्थापित गरेका गौरवमय इतिहासमा ह्रास नआवस् भन्ने धारणा, विषयवस्तुगत विविधताको सवलता, मानवतावादप्रतिको प्रवलता, प्रकृतिप्रेम, लोकतन्त्रप्रतिको आदर्शता, शान्तिको कामना आदि आदि धारणालाई कविले केलाउँदै सवल राष्ट्र र समाजको निर्माणको उद्देश्यलाई आत्मसात गर्दै यो कवितासङ्ग्रहको सिर्जना भएको मैले महसुस गरेको छु ।

भाषशैली– लय र छन्दमा विविधता, भाषशैलीमा सरलता, उखान टुक्कामय सूक्तिले गर्दा यस कृतिमा प्रयोग गरिएको भाषा सबै वर्गका पाठकको लागि ग्राह्य देखिन्छ ।

शीर्षकीकरण– यस कृतिको शीर्षक शब्दयात्री राखिएकोमा कविले शब्द शब्दमा गरेको रमण र प्रस्तुतिमा देखिएको रमणियताले गर्दा शीर्षक सान्दर्भिक नै देखिन्छ ।

अन्त्यमा कवि खरालजीलाई छन्दमा गहन कवितासङ्ग्रह पस्केकोमा बधाई ज्ञापन गर्दै उहाँका प्रकाशोन्मुख सबै कृतिहरू प्रकाशन होउन् भन्दै समुज्ज्वल भविष्यको कामना गर्दछु ।

सदानन्द अभागी
शान्तिचोक, नवलपुर
मिति २०७४ साल मंसीर २० गते


वेदप्रसाद शर्मा ढकालज्यूको जीवन यात्रामा रमाउँदाe

पिता स्व. प. होटराज ढकाल र माता स्व. उमादेवी ढकालका सुपुत्र श्रीवेदप्रसाद शर्मा ढकालको दोस्रो कृतिको विमोचन, महाकवि लक्ष्मीप्रदा देवकोटाको १११ औ जन्मजयन्तीको शुभ अवसरमा, यही २०७६ कार्तिक ९ गते शिव मा.वि.को सभाहलमा, प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय विष्णुप्रसाद लामिछाने ज्यूको करकमलबाट भव्यताको साथमा सुसम्पन्न भएको थियो । आज मैले सरसर्ती पढे र खुसी पनि लाग्यो । उहाँको पहिलो कृति "छरिएका फूलहरु" एउटा मिठो गद्य र पद्यको मिश्रित कृतिले म निकै प्रभावित भएको थिएँ । उक्त कृतिमा कविता (छन्दोबद्ध र छन्द मुक्त), निबन्ध, कथा, यात्रालाई एउटै कृतिमा अध्ययन गर्न पाएको थिएँ ।त्यस कृतिका रसिला, भरिला, स्वस्थ्यकर शब्दहरूले मीठो रसस्वादन गराएका थिए । आज पुनः विविधताले सजिएको कविता सङ्ग्रह मैले पढ्दै छु ।

कविता सङ्ग्रहको नाम " जीवन यात्रा" राखिएको छ र यसमा समावेश गरिएका कविताले पनि सोही मार्ग अवलम्वन गरेको देखिन्छ । गहिरो अध्ययन गर्दा र वेदप्रसादजीको जीवनलाई केलाउँदा साँच्चि नै यो कृति वेदपसिादजीको प्रतिविम्ब नै हो जस्तो लाग्यो । त्यसो हुँदा शीर्षक सार्थक देखिन्छ । उहाँको जीवन यात्रा शिक्षा आर्जन र शिक्षा प्रदानमै निरन्तर अगाडि बढिरहेको छ । मानवीय जीवनका विविध खाले ज्ञान आर्जन र प्रदानका कुरा गर्दा धर्म कर्म, कर्मकाण्ड, भागवतहरूको ज्ञानलाई उहाँले हामी सबैलाई सुसुचित पारिरहनुहुन्छ । उहाँको सारा जीवन शिक्षा क्षेत्रमा वित्यो र उहाँले यस कविता सङग्रहमा पनि शिक्षक र विद्यार्थी बीचको भावनात्मक सम्बन्ध र विद्यार्थीको उज्ज्वल भविष्यको पथप्रदर्शक पनि शिक्षकलाई ठान्नुहुन्छ । हुन पनि हो, शिक्षाले मानवलाई ज्ञानप्रदान गर्छ र सभ्य, अनुशासित, लगनशील, स्वालम्वी बनाउँछ । उहाँका यस कृतिमा शिक्षाका धेरै धारणा आएका छन् । मैले यस कृतिको पाण्डुलिपी पनि पढेको थिएँ । यस कृतिको पाण्डुलिपीमा कविले अध्यात्म ज्ञानलाई जोड्नुको साथसाथै यस कृतिमा श्रीमद्भागवतका उपदेशहरू भगवानका २४ अवतार, गायत्री मन्त्र, प्राणयम मन्त्र, द्वादशाक्षरी मन्त्र, वेदमन्त्र र तीर्थ स्थलहरू संस्कृति, हिन्दूत्व, र शास्त्रले नगर्न भनी सम्झाएका केही कुराहरू समावेश गरिएका थिए तर कृति प्रकाशन भएर आउँदा यी महत्वपूर्ण धारणा मैले पढ्न पाइन । यी महत्वपूर्ण धाराणाले मानव जीवनको भौितक सुख मात्र नभै अध्यात्मक ज्ञानबाट प्राप्त हुने सुख र मुक्ति मार्ग अवलम्वन गर्ने मार्गदर्शनलाई ज्ञान प्रदान गर्दछ ।

यात्रा विवरण

यस कृतिमा तीर्थयात्रा र यात्राको वर्णन पनि प्रचुरमात्रामा पाइन्छ । तीर्थयात्रालाई केलाउँदा बद्रीकेदारको यात्रा, काँसीमा विश्वनाथ महादेव, गंगातट, असिघाट, मणिकर्णिका, बिएचयुको भ्रमण, दर्शन र पूजापाठ । भगवतधाम वृन्दावन, मथुरा, यमुना, कृष्ण जन्मिएको कारागार, रङ्गनाथ, गोवर्धन, आगारामा ताजमहल, हरिद्वार, ऋषिकेश, केदारनाथ, वद्रीविशालको पूजा, बह्मकपालीमा श्राद्ध, पाडुकेश्वर, गूरुद्वार, वैजनाथ र नैनीताल, अमृतसरको स्वर्णमन्दिर, जम्बुकाश्मिरमा वैष्णोदेवीको दर्शन, भैरवको दर्शन, ज्वालादेवीको पूजा छिन्नमस्ता, चामुण्डा, आदि तीर्थका यात्रा पूजा, दर्शन भारतमा र नेपालका मन्दिरहरूमा दामोदर कुण्ड, त्रिवेणीधामको बारेमा स्पष्ट धारणा आएका छन् । संक्षेप्तमा भन्नुपर्दा स्वदेशको मात्र नभएर विदेश को (भारत र फ्रान्सको एमिल टावर) धार्मिक क्षेत्र देवी, देवता, मठ मन्दिर र त्यहाँको प्राकृतिक विवरणमा पनि कविको कलम सशक्त भएर आएको छ । उदाहरण

बद्री विशालको पूजा गर्यौं विधिविधानले
पुगी ब्रह्मकपालीमा गर्यौं श्राद्ध सभक्तिले
(श्लोक ३१, पृष्ठ २२)

दामोदर कुण्डको सुन्दर प्रस्तुति–

रक्तकुण्ड सुरम्यै छ तामाकुण्ड विराजीत
दुग्धकुण्डादि झन् उस्तै शीतझै शीतलस्थल
(श्लोक ११, पृष्ठ ३४)

साहित्यकारप्रति आदरभाव राख्दै सम्झिएका साहित्यकारहरू–

यस कृतिमा साहित्यकारहरू प्रति पनि कविले आदर प्रकट गर्नुभएको छ । धेरै पटक आदिकवि भानुभक्तलाई स्मरण गर्नुभएको छ भने जीवन युगिन, सदानन्द अभागी, दीपक सोतीका कृति र तिनीहरुको साहित्यिक योगदानको धारणा पनि राखिएका छन् । नेपालको भाषा संस्कृति आदि बचाउन आदिकवि भानुभक्तको खाँचो भएकोले आउन आग्रह गरिएको छ –

संस्कृति सभ्यता राम्रो पार्नु छ अब देशमा
आऊ आऊ तिमी भानु तिम्रै खाँचो छ गाउँमा
(भानु उदाऊ, श्लोक ६, पृष्ठ, २९)

कृषिप्रतिकोधारणा–

केही वर्ष पहिले देशले धान निर्यात गर्थ्यो तर आज आएर आयत गर्छ । धान रोप्ने जमिन आज घडेरीमा पऋणत भएका छन् र देशलाई कृषिप्रधान देश भनिन्छ । धान दिवस मनाए पनि देशको जमिन कृषिबाट घडेरीमा पऋणत हुँदैछ । देश कृषिमा आत्मनिर्भर हुन सकेको छैन कृषिमा आत्मनिर्भर हुन नसकेकोमा कवि चिन्तित छन् र भन्छन् –

कृषियोग्य धरा मास्ने काम यो त्याग्नुपर्छ है
कृषि उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ है
( धान दिवस, श्लोक ११, पृष्ड ३८)

कवितामा आएका विविध धारणाहरू–

मधुमेह जस्तो रोगले आक्रान्त परेकोमा यसबाट सावधानी अपनाउने सुझाव पनि कविबाट आएको छ । मातृपितृ प्रतिको आदरभाव, संघीय गणतन्त्र आएर पनि जनताले पाउन नसकेको राहतको अनुभूति, जेष्ठ नागरिकले व्यहोर्न परेको कष्टदाइ जीवनप्रति कविको कलम सशक्त भएर उभिएको छ । प्राकृतिक प्रकोपमा काली खोलाको पैरोको वर्णनले नेपालीले भोग्न परेको प्राकृतिक प्रकोपको प्रतिनिधित्व गरेको छ । कविले स्थानीय संचार माध्यम, सामार्थ्य एफ. एम, नवलपुर एफ. एम, देवचुली टेलिभिजनका वार्षिकोत्सवको उपलक्ष्यमा पनि धारण राख्नुभएको छ । स्वाथ्य क्षेत्रमा काली गण्डकी अस्पतालको २८ औँ वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना प्रदान गर्नुभएको छ । आजको संसारले आफ्नो परम्परालाई छाड्दै फेसबुकको रम्यतामा रमण गरिरहेको र यसले सारा मानवलाई ग्रस्त पारेको कविको धारणा आएको छ । पाश्चात्यवादले गर्दा आज पूर्वीय दर्शनमा आक्रमण भएको छ। सबै युवा युवती सावधान हुनुपर्छ भन्ने कविको आग्रह छ । मानवतालाई उच्च मूल्याङ्कन गरिएको छ ।

अतःसमग्रमा यस कवितासङ्ग्रहले अध्यात्मज्ञानमा रमाउँदै, तीर्थ यात्रामा भक्तिभाव छर्दै, धार्मिक आस्थामा दृढता भर्दै, विकृति र विसङ्गतिमा कटाक्ष गर्दै, कृषिमा आत्मनिर्भरताको धारणा राख्दै, स्थानीय परिवेशलाई समाउँदै, बालबालिकालाई देशका कर्णधार ठान्दै र प्रेमभाव भर्दै, आजका जेष्ठ नागरिकका पीडा समाउँदै, जीवन जगतका ओराली उकाली नियाल्दै, पैसा साधन हो साध्य हैन भन्दै, संस्कृतिको संरक्षण गर्दै, तातो भोटबाट नेतृत्व छान्दै आदि आदि भावना केलाउँदै कविले हामीलाई ३६ ओटा कविता दिनु' भएको छ । कविले माता सरस्वतीको आराधना गर्दै थालनी गरिएका कविताहरूमा लेखनमा विविधता, शैलीमा सरलता, विम्ब, प्रतिक र अलंकारको प्रयोगमा प्रवलता र प्रस्तुतिमा सहजता पाइन्छ । त्यसो हुँदा कविताहरू पठनीय छन् । ढकालजीले हामी बीच एक व्यवहारिकताले भरिएको कृति प्रदान गर्नुभएको छ । मलाई नेपाली साहित्यमा एउटा दर्विलो इटा थपिएको छ भन्ने अनुभूति भएको छ । हृदय भरिको शुभकामना दिँदै सुस्वाथ्य, दीघायुको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
इति सम्वत् २०७६ साल पौष १० गते,
कावासोती –७ शान्तिचोक, नवलपुर गण्डकी प्रदेश, नेपाल