ditor — Fri, 01/03/2020 - 19:40
पिता स्व. प. होटराज ढकाल र माता स्व. उमादेवी ढकालका सुपुत्र श्रीवेदप्रसाद शर्मा ढकालको दोस्रो कृतिको विमोचन, महाकवि लक्ष्मीप्रदा देवकोटाको १११ औ जन्मजयन्तीको शुभ अवसरमा, यही २०७६ कार्तिक ९ गते शिव मा.वि.को सभाहलमा, प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय विष्णुप्रसाद लामिछाने ज्यूको करकमलबाट भव्यताको साथमा सुसम्पन्न भएको थियो । आज मैले सरसर्ती पढे र खुसी पनि लाग्यो । उहाँको पहिलो कृति "छरिएका फूलहरु" एउटा मिठो गद्य र पद्यको मिश्रित कृतिले म निकै प्रभावित भएको थिएँ । उक्त कृतिमा कविता (छन्दोबद्ध र छन्द मुक्त), निबन्ध, कथा, यात्रालाई एउटै कृतिमा अध्ययन गर्न पाएको थिएँ ।त्यस कृतिका रसिला, भरिला, स्वस्थ्यकर शब्दहरूले मीठो रसस्वादन गराएका थिए । आज पुनः विविधताले सजिएको कविता सङ्ग्रह मैले पढ्दै छु ।
कविता सङ्ग्रहको नाम " जीवन यात्रा" राखिएको छ र यसमा समावेश गरिएका कविताले पनि सोही मार्ग अवलम्वन गरेको देखिन्छ । गहिरो अध्ययन गर्दा र वेदप्रसादजीको जीवनलाई केलाउँदा साँच्चि नै यो कृति वेदपसिादजीको प्रतिविम्ब नै हो जस्तो लाग्यो । त्यसो हुँदा शीर्षक सार्थक देखिन्छ । उहाँको जीवन यात्रा शिक्षा आर्जन र शिक्षा प्रदानमै निरन्तर अगाडि बढिरहेको छ । मानवीय जीवनका विविध खाले ज्ञान आर्जन र प्रदानका कुरा गर्दा धर्म कर्म, कर्मकाण्ड, भागवतहरूको ज्ञानलाई उहाँले हामी सबैलाई सुसुचित पारिरहनुहुन्छ । उहाँको सारा जीवन शिक्षा क्षेत्रमा वित्यो र उहाँले यस कविता सङग्रहमा पनि शिक्षक र विद्यार्थी बीचको भावनात्मक सम्बन्ध र विद्यार्थीको उज्ज्वल भविष्यको पथप्रदर्शक पनि शिक्षकलाई ठान्नुहुन्छ । हुन पनि हो, शिक्षाले मानवलाई ज्ञानप्रदान गर्छ र सभ्य, अनुशासित, लगनशील, स्वालम्वी बनाउँछ । उहाँका यस कृतिमा शिक्षाका धेरै धारणा आएका छन् । मैले यस कृतिको पाण्डुलिपी पनि पढेको थिएँ । यस कृतिको पाण्डुलिपीमा कविले अध्यात्म ज्ञानलाई जोड्नुको साथसाथै यस कृतिमा श्रीमद्भागवतका उपदेशहरू भगवानका २४ अवतार, गायत्री मन्त्र, प्राणयम मन्त्र, द्वादशाक्षरी मन्त्र, वेदमन्त्र र तीर्थ स्थलहरू संस्कृति, हिन्दूत्व, र शास्त्रले नगर्न भनी सम्झाएका केही कुराहरू समावेश गरिएका थिए तर कृति प्रकाशन भएर आउँदा यी महत्वपूर्ण धारणा मैले पढ्न पाइन । यी महत्वपूर्ण धाराणाले मानव जीवनको भौितक सुख मात्र नभै अध्यात्मक ज्ञानबाट प्राप्त हुने सुख र मुक्ति मार्ग अवलम्वन गर्ने मार्गदर्शनलाई ज्ञान प्रदान गर्दछ ।
यात्रा विवरण
यस कृतिमा तीर्थयात्रा र यात्राको वर्णन पनि प्रचुरमात्रामा पाइन्छ । तीर्थयात्रालाई केलाउँदा बद्रीकेदारको यात्रा, काँसीमा विश्वनाथ महादेव, गंगातट, असिघाट, मणिकर्णिका, बिएचयुको भ्रमण, दर्शन र पूजापाठ । भगवतधाम वृन्दावन, मथुरा, यमुना, कृष्ण जन्मिएको कारागार, रङ्गनाथ, गोवर्धन, आगारामा ताजमहल, हरिद्वार, ऋषिकेश, केदारनाथ, वद्रीविशालको पूजा, बह्मकपालीमा श्राद्ध, पाडुकेश्वर, गूरुद्वार, वैजनाथ र नैनीताल, अमृतसरको स्वर्णमन्दिर, जम्बुकाश्मिरमा वैष्णोदेवीको दर्शन, भैरवको दर्शन, ज्वालादेवीको पूजा छिन्नमस्ता, चामुण्डा, आदि तीर्थका यात्रा पूजा, दर्शन भारतमा र नेपालका मन्दिरहरूमा दामोदर कुण्ड, त्रिवेणीधामको बारेमा स्पष्ट धारणा आएका छन् । संक्षेप्तमा भन्नुपर्दा स्वदेशको मात्र नभएर विदेश को (भारत र फ्रान्सको एमिल टावर) धार्मिक क्षेत्र देवी, देवता, मठ मन्दिर र त्यहाँको प्राकृतिक विवरणमा पनि कविको कलम सशक्त भएर आएको छ । उदाहरण
बद्री विशालको पूजा गर्यौं विधिविधानले
पुगी ब्रह्मकपालीमा गर्यौं श्राद्ध सभक्तिले
(श्लोक ३१, पृष्ठ २२)
दामोदर कुण्डको सुन्दर प्रस्तुति–
रक्तकुण्ड सुरम्यै छ तामाकुण्ड विराजीत
दुग्धकुण्डादि झन् उस्तै शीतझै शीतलस्थल
(श्लोक ११, पृष्ठ ३४)
साहित्यकारप्रति आदरभाव राख्दै सम्झिएका साहित्यकारहरू–
यस कृतिमा साहित्यकारहरू प्रति पनि कविले आदर प्रकट गर्नुभएको छ । धेरै पटक आदिकवि भानुभक्तलाई स्मरण गर्नुभएको छ भने जीवन युगिन, सदानन्द अभागी, दीपक सोतीका कृति र तिनीहरुको साहित्यिक योगदानको धारणा पनि राखिएका छन् । नेपालको भाषा संस्कृति आदि बचाउन आदिकवि भानुभक्तको खाँचो भएकोले आउन आग्रह गरिएको छ –
संस्कृति सभ्यता राम्रो पार्नु छ अब देशमा
आऊ आऊ तिमी भानु तिम्रै खाँचो छ गाउँमा
(भानु उदाऊ, श्लोक ६, पृष्ठ, २९)
कृषिप्रतिकोधारणा–
केही वर्ष पहिले देशले धान निर्यात गर्थ्यो तर आज आएर आयत गर्छ । धान रोप्ने जमिन आज घडेरीमा पऋणत भएका छन् र देशलाई कृषिप्रधान देश भनिन्छ । धान दिवस मनाए पनि देशको जमिन कृषिबाट घडेरीमा पऋणत हुँदैछ । देश कृषिमा आत्मनिर्भर हुन सकेको छैन कृषिमा आत्मनिर्भर हुन नसकेकोमा कवि चिन्तित छन् र भन्छन् –
कृषियोग्य धरा मास्ने काम यो त्याग्नुपर्छ है
कृषि उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ है
( धान दिवस, श्लोक ११, पृष्ड ३८)
कवितामा आएका विविध धारणाहरू–
मधुमेह जस्तो रोगले आक्रान्त परेकोमा यसबाट सावधानी अपनाउने सुझाव पनि कविबाट आएको छ । मातृपितृ प्रतिको आदरभाव, संघीय गणतन्त्र आएर पनि जनताले पाउन नसकेको राहतको अनुभूति, जेष्ठ नागरिकले व्यहोर्न परेको कष्टदाइ जीवनप्रति कविको कलम सशक्त भएर उभिएको छ । प्राकृतिक प्रकोपमा काली खोलाको पैरोको वर्णनले नेपालीले भोग्न परेको प्राकृतिक प्रकोपको प्रतिनिधित्व गरेको छ । कविले स्थानीय संचार माध्यम, सामार्थ्य एफ. एम, नवलपुर एफ. एम, देवचुली टेलिभिजनका वार्षिकोत्सवको उपलक्ष्यमा पनि धारण राख्नुभएको छ । स्वाथ्य क्षेत्रमा काली गण्डकी अस्पतालको २८ औँ वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना प्रदान गर्नुभएको छ । आजको संसारले आफ्नो परम्परालाई छाड्दै फेसबुकको रम्यतामा रमण गरिरहेको र यसले सारा मानवलाई ग्रस्त पारेको कविको धारणा आएको छ । पाश्चात्यवादले गर्दा आज पूर्वीय दर्शनमा आक्रमण भएको छ। सबै युवा युवती सावधान हुनुपर्छ भन्ने कविको आग्रह छ । मानवतालाई उच्च मूल्याङ्कन गरिएको छ ।
अतःसमग्रमा यस कवितासङ्ग्रहले अध्यात्मज्ञानमा रमाउँदै, तीर्थ यात्रामा भक्तिभाव छर्दै, धार्मिक आस्थामा दृढता भर्दै, विकृति र विसङ्गतिमा कटाक्ष गर्दै, कृषिमा आत्मनिर्भरताको धारणा राख्दै, स्थानीय परिवेशलाई समाउँदै, बालबालिकालाई देशका कर्णधार ठान्दै र प्रेमभाव भर्दै, आजका जेष्ठ नागरिकका पीडा समाउँदै, जीवन जगतका ओराली उकाली नियाल्दै, पैसा साधन हो साध्य हैन भन्दै, संस्कृतिको संरक्षण गर्दै, तातो भोटबाट नेतृत्व छान्दै आदि आदि भावना केलाउँदै कविले हामीलाई ३६ ओटा कविता दिनु' भएको छ । कविले माता सरस्वतीको आराधना गर्दै थालनी गरिएका कविताहरूमा लेखनमा विविधता, शैलीमा सरलता, विम्ब, प्रतिक र अलंकारको प्रयोगमा प्रवलता र प्रस्तुतिमा सहजता पाइन्छ । त्यसो हुँदा कविताहरू पठनीय छन् । ढकालजीले हामी बीच एक व्यवहारिकताले भरिएको कृति प्रदान गर्नुभएको छ । मलाई नेपाली साहित्यमा एउटा दर्विलो इटा थपिएको छ भन्ने अनुभूति भएको छ । हृदय भरिको शुभकामना दिँदै सुस्वाथ्य, दीघायुको कामना गर्दै बिदा चाहन्छु ।
धन्यवाद
सदानन्द अभागी
इति सम्वत् २०७६ साल पौष १० गते,
कावासोती –७ शान्तिचोक, नवलपुर गण्डकी प्रदेश, नेपाल
No comments:
Post a Comment