सदानन्द अभागी
शिक्षण पेशामा आबद्ध रिब्दीकोट–४, भैरवस्थान, पाल्पाका राम ज्ञवाली साहित्यकार, लेखक, पत्रकार र अनुसन्धाता हुनुहुन्छ । जीवन, सोच र समय (२०७४), सदानन्दको जीवन, कर्म र व्यक्तित्व (२०७८, फागुन ः अनुसन्धानात्मक समालोचना) का साथै पछिल्लो कृति पाल्पामा लेखन र सिर्जना (२०७८, चैत्र ः खोज अनुसन्धान) कृति सार्वजनिक गरिसकेका ज्ञवाली पाल्पाली माटोका एक युवा प्रतिभा हुनुहुन्छ । विविध विधाका दर्जनौँ फुटकर रचना छपाइसक्नुभएका र विषय विज्ञहरुसँग विशिष्टिकृत अन्तर्वार्ता लिई निरन्तर प्रकाशनमा जुटिरहनुभएका ज्ञवालीले यसपटक अलि भिन्न प्रकृतिको नवीनतम कृति सार्वजनिक गर्नुभएको छ । यो कृतिका कृतिकार राम ज्ञवालीको २०७८ चैत्रमा प्रकाशन भएको कृति हो । "सदानन्दको जीवन ,कर्म र व्यक्तित्व" करिव ४०० पृष्ठको कृति प्रकाशनमा ल्याएको १ महिनापछि आवरणसहित २९२ पृष्ठको "पाल्पामा लेखन र सिर्जना" पाल्पाका लेखक र साहित्यकार विशेष ग्रन्थ निकाल्नु चानचुन कुरा होइन । दुबै ग्रन्थ अनुसन्धानमूलक छन् । यी ग्रन्थमा "पाल्पामा लेखन र सिर्जना " नामक कृति त पाल्पाको साहित्यिक खोजतलास गहिरो रूपमा भएपनि यो कृतिमा नेपाल तथा विश्व साहित्यका चर्चित साहित्यकारलाई समावेश गरेको हुँदा एउटा उदाहरणीय कृतिको रूपमा हाम्रो अघि आएको मैले महसुस गरेको छु । यो कृति मुख्य १९ वटा अध्याय र समापन अध्यायसहित जम्मा २० अध्यायमा टुङ्ग्याइएको छ । पहिलो अध्याय पाल्पाको संक्षिप्त परिचय दिनमा केन्द्रित छ । यस अध्यायले पाल्पाका सांस्कृतिक, धार्मिक, ऐतिहासिक लगायत विभिन्न दृष्टिले महत्वपूर्ण ठानिएका स्थानहरुको परिचयात्मक विवरण पेश गरेको छ । यस कार्यले पाल्पाको गरिमा र महिमालाई झल्काउन टेवा पु¥याएको छ । दोस्रो अध्यायदेखि एघार अध्यायसम्म लेखन, सिर्जना, लेखक, साहित्यकार, लेखनसिर्जनाको कारक तत्त्व, लेखन र सिर्जनाको महत्व, लेखन वा सिर्जनाका आधारहरु, विधा–उपविधागत तत्त्व, लेखन वा सिर्जनामा प्रेरक कारक, साहित्य, समाज र साहित्यकारको सम्बन्ध, कला, सौन्दर्य र साहित्यबीचको त्रिकोणात्मक सम्बन्ध, पहिले र अहिलेको सिर्जनात्मक अवस्था, लेखक वा सर्जकमा देखिएका समस्या र उनीहरुका दायित्व, उनीहरुमा हुनुपर्ने ज्ञान र सचेतता, लेखन, सिर्जनात्मक कर्मका फाइदा, उद्देश्य, गीत सिर्जना, संकलन र गायनको उद्देश्य आदि सहितका विषयवस्तुहरु समेटिएका छन् । यी विषयवस्तुहरु लेखक र साहित्यकारका लागि सैद्धान्तिक अमूल्य खुराक हुन् । यस्ता विषयवस्तु पाल्पाका लागि मात्र नभई समग्र देश नेपाल र विश्वका जुनसुकै मुलुकमा बस्ने र यस विषयमा चासो राख्ने जोसुकैका लागि पनि अत्यन्त महत्वपूर्ण छन् । कृतिकार ज्ञवालीले शोधखोज गरी यस्तो कृति लेखेर पाल्पाली वाङ्मयका लागि नभई केन्द्रीय वाङ्मयकै समृद्धि र विकास हुने गरी यस्तो कृति तयार गरेका छन् । संघीय संरचनाको मर्मलाई आत्मसात गरी पछिल्लो समयमा पाल्पामा कायम भएको दशवटा स्थानीय तहअनुसार लेखक र साहित्यकारलाई पनि वर्गीकरण गरी पालिकापालिका छुट्टयाई अझ त्यसमा पनि वडावडामा पुगेर लेखक र साहित्यकारको खोज गरी उनीहरुको कृति कर्मलाई अभिलेखीकरण गर्नाले यो कृति नौलो विशेषताले युक्त बन्न पुगेको छ । यसका साथै गायन र सिर्जनाका माध्यमबाट कलाकारले पु¥याएको योगदानलाई यथासम्भव सम्झना गरिएको छ । व्यक्तिगत कृतिका साथै सामूहिक रुपमा प्रकाशन भएका कृति संघसंस्थाले प्रकाशन गरेका कृतिहरु, विद्यालय, कलेज, क्याम्पस आदिबाट प्रकाशन भएका मुखपत्र, स्मारिका, जर्नल, बुलेटिन आदि कृतिबाट पनि वाङ्मयका लागि अतुलनीय सेवा पुगेको स्मरण गरिएको छ । कुनैपनि आग्रह र पूर्वाग्रहको लेश पनि नभेटिने यस कृतिमा यी विभिन्न विशेषताका अतिरिक्त पाल्पाली साहित्यिक सिर्जना र साहित्येतर लेखनका सार प्रवृतिगतविशेषता केलाएर आगामी शोधखोज कर्ताहरुलाई कृतिकार ज्ञवालीले पथप्रदर्शनात्मक कर्म गरेका छन् । यस अर्थमा यो कृतिका हरेक मूल शीर्षक र उपशीर्षकहरु गहन छन् , उपयोगी छन् , सरोकारवालाका लागि पठनीय छन् । वाङ्मयमा कालजयी अर्थ राख्ने खालका छन् । यो कृति नेपाली, नेवारी, संस्कृत, अंग्रेजी, मगरी र हिन्दी भाषामा कृति लेख्ने र रच्नेहरुको खोज गर्नमा केन्द्रित छ । तसर्थ यो कृति पाल्पाको लागि त यो पहिलो कृति नै हो भन्ने दाबी गर्न सकिन्छ भने समग्र देशका लागि पनि सम्भवतः यस खाले कृति पहिलो चोटि प्रकाशित भएको हुन सक्छ । मोफसलमा बसेर त्यसमा पनि प्रबिधि सञ्जालबाट धेरै टाढा रहेर फोन सम्बाद, केही व्यक्तित्त्वसँगको प्रत्यक्ष भेटघाट, सीमित सन्दर्भ स्रोत सामग्री, तात्कालीन कोरोना कहरको अत्यन्त असहज परिस्थितिका बाबजुद पनि तयार भएको यस कृति अमूल्य, अद्वितीय र अनुपम समेत हुन सक्छ । एक्लो प्रयासमा यति गहन महत्वपूर्ण कालजयी कृति प्रकाशन गर्ने ज्ञवाली उदाहरणीय छन् । आगामी खोजकर्ताका लागि प्रेरक छन् र पाल्पाली वाङ्मयले कहिल्यै नबिर्सने पात्र बनेका छन् । यस कृति गहन अध्ययन गर्ने हो भने अनेकन्् विषयबाट स्नातक, स्नातकोत्तर तह र विद्याबारिधि उपाधिका लागि महत्वपूर्ण सन्दर्भ कृतिभित्र समेटिएका छन् । फराकिलो दृष्टिबाट शोधखोज गरिएको समावेसी विषय समेटिएको यस कृतिले देशविदेशमा रहेका शोधखोजकर्ताहरुलाई महत्वपूर्ण दिशानिर्देश गर्न सक्दछ । यस्ता कर्ममा उत्प्रेरित गर्न पनि सक्दछ । तसर्थ यो कृतिको गम्भीर विवेचना गर्न पनि उत्तिकै कठिन रहेको अनुभूति गर्न सकिन्छ । यस कृतिका भूमिका लेखक डा. झमकप्रसाद शर्माले भनेझै एक प्रकारको लक्षण ग्रन्थ नै हो यो पुस्तक । यहाँ यस्तो गहन कृतिको अध्यायगत सार समीक्षा मात्र गर्ने प्रयत्न गरिएको छ ।
अध्याय एक ः पाल्पाको संक्षिप्त परिचय
पाल्पा एउटा विशाल ऐतिहासिक पृष्ठभूमि बोकेको जिल्ला हो ।यस कृतिमा पाल्पाको संक्षिप्त परिचयको अध्ययन गर्दा पाल्पा राज्यको स्थापना वि.सं.१५४९÷५०मा रुद्रशेनले गरेका र मुकुन्द शेनको पालामा विशाल पाल्पा राज्यको निर्माण हुँदै गयो । तर समय परिस्थिति अनुरुप पाल्पामा विविध वंशका राजाले राज्य गर्दागर्दै आजको अवस्थामा आउँदा पाल्पा एउटा सानो जिल्लामा परिणत भयो । कृतिकारले पाल्पा नामाकरणमा विभिन्न लेखको उदाहरण र व्याख्यासहित प्रष्ट्रयाउन खोजे पनि मलाई पद्मपुराणमा उल्लेखित गण्डकी उपक्षेत्रमा स्थित रूपदेशको राजधानी पाल्पा हो भनिएको नाम नै ठीक होला जस्तो लाग्यो । पाल्पा चिनाउने क्रममा लेखकले ठाउँ ठाउँमा मीठा साथै सत्य शब्दहरूको प्रयोग गरेको देखिन्छ । "पाल्पा आफैमा खुला संग्रहालय हो" लक्ष्मीप्रसाद देवकोटाले नेपाल आँखाको नानी हो भने जस्तै राम ज्ञवालीले पनि पाल्पामा भएका विविध पक्षलाई नियाल्दै तिनको एकिकृत रूपमा राखेर तुलना गर्दा पाल्पा एउटा सुन्दर खुला संग्रहालय नै हो भन्न पछि परेनन् । बास्तवमा यो यथार्थपरक नै हो । संग्रहालय भनेको प्राचीन महत्वका दुर्लभ बस्तुहरू बटुलेर राख्ने घर बुझिन्छ बास्तवमा पाल्पा विविधताले सजिएको प्राचीन बस्तुहरूले भरिएको, पौराणिक कालदेखि आजसम्मका गौरवमय चीजहरूले सजिएको संग्रहालय हो ।पाल्पामा जातिको हिसावले हेर्ने हो भने मगर, ब्राहमण,क्षेत्री नेवार र दलित, धर्मको हिसावले, यहाँ हिन्दू, बौद्ध ,मुस्लिम क्रिश्चियन आदि,रुरु क्षेत्र (( मृग कन्याले विष्णुको रिझाएर त्यही बस्न बाध्यबनाएको ठाउँ, रामपिथेकसको अवशेष प्राप्ति स्थल, रानीघाट दरबार÷रानीमहल ( नेपालको ताजमहल), तानसेन दरबार गुरुज्यूको दरवार, अर्गली दरबार, तानसेन मूलढोकापूराना शैलीका घरहरू,खडग स्तम्भ, शीतलपाटी, भैरवमन्दिर, अमरनारायण मन्दिर, रणउजिरेश्वरी भगवती मन्दिर, रम्भादेवी मन्दिर, सिद्धबाबा मन्दिर, गोनिष्कमण तीर्थ (गोघट्ट÷ गाइघाट) लिपिनदेवी मन्दिर, शिवालय मन्दिर, सिद्धगुफा मन्दिर , तिलक थान, दर्लममहाकाली मन्दिर, पाल्पामा अवस्थित विहारहरू,चर्चहरू, तानसेन लगायत थुप्रै गाउँले बजारहरू, जन पुस्तकालय–धवल पुस्तकालय, प्रताप टनेल, जिल्लाको सबैभन्दा ठूलो घण्ट भएको थानपति मन्दिर, गुफाहरू (सिद्धपानी ,हात्तीलेक, सुनगुफा, जुरे गुफा, सिद्धेश्वर,रैनादेवी छहरा, बालसिद्ध गुफा आदि), सत्यवती ताल, प्रभासताल, सुकेताल, सीता कुण्ड, तालपोखरी, विभिन्न टोल, बल्डेङ्गगढी लगायतका गढीहरू, पूर्णकोट, भारकोट विविध थोकहरू, श्रीनगरलगायतका डाँडाकाँडा, जलस्रोत क्षेत्र, माडी फाँट लगायतका फाँटहरू, थुप्रै वनक्षेत्रहरू,साल सिसौदेखि मूल्यवान वनस्पतिहरू शीतलपाटीदेखि विभिन्न पाटीहरू, अखण्ड धूनी लाग्ने मन्दिरहरूआदि थुप्रै विवरणलाई समेटेर पाल्पा एउटा विशाल खुला संग्रहालय हो भनेर पुष्टि गरेका छन् । प्राकृतिक सुन्दरताको हकमा पाल्पालाई दार्जिलिङसँग दाँजिएको छ । यी संग्रहालय पाल्पाका अमूल्य सम्पत्ति हुन ।
अध्याय दुई–लेखन र सिर्जना ः लेखक र साहित्यकार
यस शीर्षकले पाल्पाको मात्र नभै विश्व रङ्गमञ्चका साहित्यकारको छोटो विवरणलाइ समेटिएको छ । लेखकमा विश्व साहित्यको बारेमा पनि राम्रो अध्ययन रहेछ भन्ने जानकारी हुन्छ । विश्वका विभिन्न देशका विश्व साहित्यमा चर्चित साहित्यकारहरूको अध्ययन यस अध्यायमा अध्ययन गर्न सकिन्छ । नोवेल पुरस्कार विजेता विश्वका प्रथम साहित्यकार अष्ट्रियायी एल्फाइड जेलिनेव लगायत लेखकहरू राहुल सास्कृतायन, वाण भट्ट, वाल्मीकिको रामयण महर्षि वेदव्यासको महाभारत लगायतका पुराणहरू ,नेपालका साहित्यकारहरू आदिकवि भानुभक्त लगायत राजेश्वर देवकोटा, मोहन वैद्य किरण र बाबुराम भट्टराई समेतलाई कृतिमा समेटेका छन् ।नेपालका मदन पुरस्कार प्राप्ति कृतिकारहरू– शीर्षकमा राष्ट्रिय सन्दर्भदेखि पाल्पासम्मको सन्दर्भलाई जोडेका छन् । एक किसिमले यस पुरस्कारलाई नेपालको नोवेलपुरस्कारको रुपमा लिइन्छ । सर्वप्रथम २०१३ सालमा सत्यमोहन जोशीको "हाम्रो लोक संस्कृति (पद्य)ले प्राप्त ग¥यो । यस पुरस्कारले विविध पक्ष ( गद्य, पद्य, विज्ञान उपन्यास, इतिहास, जीवनी, नाटक लगायत थुप्रै विषय) मा पुरस्कार वितरण गरेको छ । जोशीपछि थुप्रै साहित्यकार वैज्ञानिक लगायत २०७७ सालमा भगिराज इङ्नामको "लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहले पुरस्कार प्राप्त ग¥यो । यसै शिर्षकमा नै पाल्पाबाट विभिन्न विधामा मदन पुरस्कार पाउने निलम कार्की निहारिका, चुडामणि बन्धु, डा.भवेश्वर पंगेनी र नित्यराज पाण्डेको प्रसङ्ग पनि जोडिएको छ ।
लेखक साहित्यकारसम्बन्धी मान्यता र अवस्था– यसमा कृतिकारले, साहित्यका विविध मान्यतालाई प्रष्ट््रयाउने प्रयास गरेका छन् । बास्तवमा साहित्य समाजको दर्पण हो साहित्यले विश्व समाजको यथार्थतालाई दर्शाइ दिन्छ । कृतिकारले एउटा मान्यतालाई यहाँ प्रष्ट्याउँदै भन्छन् –"सबै साहित्यकार लेखक हुन् तर सबै लेखक साहित्यकार होइनन् ।" यस विषयमा कृतिकारले साहित्य भनेको के हो साहित्यकार र लेखक कसरी पहिचान हुन्छ आदि विषयमा आफ्नो धारणा राख्दै भन्छन् –"जस्ले जे भनेपनि , जहाँ जे लेखिए पनि,तत्त्व गत तत्त्व गत हिसावले युक्त र कलात्मकर विशिष्ट लेखाइ साहित्य हुन्छ ।" कृतिकारले यस शीर्षकमा लेख्य अभिव्यक्तिका विशेषता, लेखनका प्रकार,साहित्येतर विषयक लेखनको महत्व,सिर्जनात्मक लेखनका आधार वा चरण (संकलित लेखन, स्फुरण लेखन,रचनातमक सुझाव, संकलन,परिस्कार,–परिमार्जन वा संसोधन,अन्तिम साफी,प्रस्तुतीगत ढाँचाको अनुपालन र प्रस्तुति) सिर्जनाका प्रकार र सिजनाको महत्व,साहित्यका विधा उपविधागत तत्त्वहरू(महाकाव्य, खण्डकाव्य, कविता, आख्यान, नाटक, निबन्ध, नियात्रा, मुक्तक, गजल, बाल साहित्य, बाल चित्र, हाइकु, आदिको तत्त्वको विषयमा) उपशीर्षकमा सपुष्ट धारणा राखेका छन् ।
अध्याय तीन ः सिर्जनाका कारक तत्त्वहरू–पूर्वी र पश्चिमीया दर्शनअनुसार वाग्देवीको शक्तिबाट साहित्य सिर्जना हुन्छ भन्ने थियो । भने पूर्वीय दर्शनमा प्रथम मतमा प्रतिभा अभ्यास,र व्युत्पत्ति हुन्छ भनिएको कुरा साथै संस्कृतिकका विद्वानहरू "प्रतिभालाई साहित्य सिर्जनाको बीज तत्त्व मान्दछन् ।" कारकतत्त्वमा कृतिकारले विवरणात्मक र उदाहरूण सहित पेरक कारक, निमित्त कारक र उपादन कारक गरी तीनवटा कारकलाई लिएका छन् ।
अध्याय चार ः सिर्जनामा प्रेरणाको प्रभाव–यो लेखकलाईमात्र नभै सबैमा कुनै काममा राम्रो भयो भन्ने जस्ता राम्रा सन्देश तथा सुझाव पाउन सके मानिस उत्साहित भएर जान्छ । प्रेरणा पाउनु भनेको आफैमा ठूलो कुरा हो । भानुभक्तले घाँसी बाट पाएको प्रेरणा, बाल्मीकिले क्रौञ्च पंछीको व्यथाबाट प्रभावित भई बाल्मीकि रामायणको सिर्जना भयो कुरा लगायतको थुप्रै व्यक्तिको अनेकन् उदाहरणसहित विश्लेषण गरेका छन् ।
अध्याय पाँच ः साहित्य, समाज र साहित्यकार–
"साहित्यलाई समाजको दर्पण भन्ने चलन छ । साहित्यकार समाजका फोटो ग्राफी हुन्" यस्ता अभिव्यक्ति कृतिकारले सव्याख्या अनि उदाहरणसहित प्रस्तुत गरेका छन् । उनका अभिव्यक्त धारणा यसप्रकार छन् –"साहित्य सङ्गीत कला विहीन सात्क्षाात पशु पुच्छ विषाणहीन । " "साहित्यका भावनामा आँखा हुन्छन् ।" "साहित्य महासागर हो, जहाँ डुब्नै सकिन्न डुबे पछि फर्किनै मन लाग्दैन ।" कृतिकारले प्रेमचन्द्र महाकवि देवकोटा आदिका साहित्यप्रतिका धारणा राखेका जस्तै देवकोटाको धारणामा "सजीव अनुभूतिको कलात्मक प्रकाशन साहित्य भनेका छन् ।"
यस अध्यायमा साहित्य, समाज र साहित्यकारको त्रिकोणात्मक विशलेषण गरिएको छ । बास्तवमा मानिसहरूको जमघट तथा बसोवास गरेको समूह हो समाज । कतिपय समाजहरू एकै किसिमका जात, भाषा, रहन सहनबाट निर्माण भएका हुन सक्छन् । कतिपय समाज मिश्रीत समूहबाट निर्माण भएका हुन्छन् ।
छोटो अर्थमा साहित्यकार भन्दा साहित्यको सिर्जना गर्ने भन्ने बुझाउँछ । कृतिकारले भनेका छन् –"बास्तविक साहित्यकार विना समाज –राष्ट्र मालीवनाको बगैंचाको पूmल जस्तै निरर्थक बन्छ ।समाज राष्ट्रलाई दिशा निर्देशन गर्न सक्ने साहित्यकार बास्तविक साहित्यकार हुन् । " ।मेरो विचारमा समग्र समाजको गतिविधीलाई प्रष्ट पार्दै, विकिृतिलाई दर्शाउँदै सुकृतिका मार्ग दर्शक हुन् साहित्यकार । समाज नभै साहित्य बन्दैन र साहित्य नभएको समाज र देश हुँदैन ।
अध्याय छ– कला , सौन्दर्य र साहित्य – यस अध्यायमा साहित्यकार ले कला , सौन्दर्य र साहित्यलाई त्रिकोणात्मक रूपमा लिएका छन् । यिनै तीन तत्त्वमा आधारित रहेछ कला, सौन्दर्य र साहित्यको वर्णन गरेका छन् । उनी भन्छन् –"यी तीन षियको त्रिकोणात्मक सम्बन्ध वा त्रिवेणीले नै मानव जीवन सार्थक एवम् आदर्शमय बनेको छ ।" यस्ता अमूल्य शब्दहरूको प्रस्तुति यस लेखमा थुप्रै आएका छन् । केही उदाहरण यसप्रकार छन् –"कला साहित्यिदेवीको हार हो भने सौन्दर्य साहित्यदेवीको ताज हो ।" "साहित्यमा कला हुँदैन । साहित्यकार र कलाकार समाज र जीवनका अंग हुन् ।"मानव संतुष्टिको लागि सिर्जना गरिएको साहित्य मानव समाजको लागि अति आवश्यक हुन्छ "– यी अमृततुल्य शव्दले कृति गहकिलो बनेको छ ।
अध्याय सात ः साहित्य सिर्जना पहिले र अहिले – यस अध्यायमा ः साहित्य सिर्जनाम पहिला कस्तो थियो र अहिले कस्तो छ भनी तुलनात्मक विश्लेषण गरिएको छ । साहित्य लेखनको प्रमाणिक इतिहास १०३८को दुल्लुको शिलालेखबाट जानकारी हुन्छ । १८३१देखि यस भाषामा लेखनी सुरुभएको देखिन्छ । कृतिकारको भनाइ अनुसार सुवानन्दको पृथ्वीनारायण शाह भन्ने कविताबाट थालनी गरिएको नेपाली भाषाको पहिलो रचन भएको, राणाकालिन समयमा लेखन सहज थिएन, लेखेमा जेल सजाय हुन्छ जस्तै कृष्णलालले मकैको खेती लेखेबापत १२ वर्ष जेल सजाए भोगेका र ६ वर्षमा सहिद बनेका, सिद्धिचरण श्रेष्ठले १२ वर्ष जेल सजाएँ तोकिएको, योगमायाको महिला उत्पीडनबिरूद्धका लेखन, राणा शासकद्वारा १९९६मा दशरथचन्द्र,, गंगाालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई मृत्युडण्डको सजाय, २०२८ सालको झापा विद्रोह, २०४६ सालको,चैत ३ मा सरस्वती सदनको विद्रोह, २०५२सालको माओवादी जनविद्रेहको थालनी, लेखन प्रकृया कोही समर्थन् र कोही विद्रोहको रूपमा देखिन थाल्यो , १६० जना साहित्यकारले जीवन आहुती दिएका, मायोवादीको जनयुद्धमा लेखनमा निकै सकस भएको, २०६२ ।०६।०३ बाट लेखनमा सहजताको कारणले साहित्यक लेखन सकृयताको रूपमा अगाडी बढेको, कविता जेठो विधा, यसमा १८२६–१९७२ सम्मका कविता वीरधारामा लेखिएको र १९७३ सालदेखि १९४०सम्म भक्तिधारामा लेखिएका ,नाटक(१९०५–१९४३) सम्म हेर्दा नाटक लेखिए तापनि सबै मञ्चन हुन नसकेको, कथा लेखन(१८२७देखि), उपन्यास लेखन (१८२७), निवन्ध लेखन (१८३१), साहित्य लेखन प्ररम्भ त्यस समयमा लेखिएका सिर्जनामा कुन धारमा लेखिएका छन, तिनको काल विभाजन तत्समयमा कुन वादमा केकस्ता रचना सिर्जना भए आदि समेटिएका छन् ।
अध्याय आठ ः लेखकीय समस्या र दायित्व – यस शीर्षकमा सिर्जनामा देखिएका समस्या, लेखक तथा साहित्यकारको लेखनमा हुनु पर्ने दायित्य के छ त भन्ने यथार्थतामा रहेर विभिन्न उदारण दिएर लेखमा बृस्तिृत वर्णन गरिएको छ । साहित्यकारले राष्ट्रिय राजनीति प्रभावलाई नअँगाली तटस्थताको आधारमा लेखन क्रिया गर्नु पर्ने तर राष्ट्रिय राजनीतिको विकृति र विसङ्गति (गुटउपगुट) को प्रभावमा परेको, लेखमा कालजयी सिर्जना हुनुपर्ने, लेखनमा स्वस्थ मानसिकताको आधारमा सिर्जना गरिनु पर्ने, इमान, जमान, स्वाभीमान,र नैतिकताको अवलम्वन, लोभीपापी प्रबृतिरहितता, खुट्टातान्ने प्रवृत्ति,पाठकभन्दा साहित्यकार बढी,अग्रजले नवोदितलाई प्रोत्साहनको कमी, सस्तो लोकप्रियता, बजारवादको चपेटामा साहित्य,लेखन र व्यवहारिकतामा तालमेलको कमी, एक साहित्यकारले अर्को साहित्कारको खोइरो खन्नु, लेखकहरूसत्ताका गुलाम बन्नु लेखनशक्ति स्तरीय होस् नहोस् कृति प्रकाशनमा होडबाजी, ढिलासुस्ती जताततै तनाव, बेरोजगारी,द्वन्द्व, चरित्रहीनता, दण्डहीनता,अनियमितता भ्रष्टता,आदि समस्यालाई कृतिकारले प्रष्ट्याउने प्रयाश गरिएको देखिन्छ । कृतिकार उपरोक्त लगायत थुप्रै समस्या र ती समस्या समाधानमा साहित्यकारले साहित्यमा दिनुपर्ने ध्यानलाई यस अध्यायमा प्रष्ट पारेका छन् ।
अध्याय नौः लेखनसिर्जनात्मक ज्ञान र सचेतता– यस अध्यायमा कृतिकारले साहित्येतर,लेखन र सिर्जनात्मक लेखनमा भिन्नता, तहगत ,भाषागत, सिद्धान्तगत,फुटकर कवितादेखि,सूक्ष्मकाव्य देखि महाकाव्य लघुकथा, कथा , उपन्यास आदिमा कति शब्द हुनु पने, तर कथा लम्व्याएर उपन्यास छोट्याएर कथा नहुने , यी सबै विधाको शीर्षक चयन गर्दा,तत्तत् विधाको संरचनागत तत्त्वलाई मध्यनजर राख्दै शीषर््कको छनौट संरचना, सिर्जनाको, लेखन शक्ति,लेखकको अनुभव, अनुभूति, केही नभएको ठाउँमा केही हुन्छ भने त्यो सिर्जना हो । यहाँ पनि प्रमाण सहित कृतिकारले धारणा राखेका छन् । "पढाई र बुझाइ विषय बस्तुको गहिराइ भए मात्र लेख्न सकिन्छ ।.......लेखक साहित्यकार समाजका जिम्मेवार व्यक्ति हुन्"
अध्याय दश ः लेखन सिर्जनात्मक कर्मका फाइदाहंरू– यसमा कृतिकार सिर्जना गर्दा के फाइदाहुन्छ भन्ने तर्फ प्रकाश पारेका छन् निश्चय नै लेखन गर्दा मानिसको बौद्धिक क्षमतामा तीब्रता आउँ छ । निरन्तरताले लेखनमा परिस्कृत हुँदै आउँछ । मनमा आनद हुन आउँछ । बौद्धिक कर्ममा समयको सकृयतामा वित्न जान्छ । लेखनले एकप्रकारको दस्तावेज तयार हुन्छ । कतिपय लेखकले आर्थिक उपभोग गर्न पाएँछन् ।कृतिकारले यस विषयमा थुप्रै कुराहरू mाइदाको लागि उदाहरणसहित प्रस्तुत गरेका छन् ।
अध्ययन एघार–लेखन सिर्जनात्मक उद्देश्य – कुनै पनि कार्यको थालनी गरिन्छ भने खास उद्देश्यलिएर गरिन्छ । उद्देश्य विहिनको कामको नतिजा प्राप्त गर्न कठिन पर्दछ । कृतिकारले लेख्छन्– "सिर्जनाको प्रयोजन, मुख्य व्यवहारिक, वैयक्तिक आन्तरिक गरी चार प्रकारको मान्न सकिन्छ ।" यस शीर्षकमा साहित्यिक विधागत उद्देश्यमा कथा सिर्जनाको, उपन्यास सिर्जनाको, कविता खण्ड काव्य सिर्जनाको, महाकाव्य सिर्जनाको,निबन्ध लेखन, एकाङ्की÷नाटक, आत्म जीवन÷जीवनी,गीत,सिर्जना,संकलन,र गायनको उद्देश्यको बारेमा प्रकाश पारेका छन् । काव्यिकउपविधाहरूको, समालोचनात्मक उदेश्यमा परिभाषा सहित विश्लेषण गरेको देखिन्छ ।
साहित्येतर लेखनको उदेश्य – कृतिकारले यी लेखनको क्षेत्र बृहत भएकोले लेखन उद्देश्य पनि फरक फरक हुन्छ भनेका छन् । हुनपनि हो अधिकांस विषयहंरू नेपाली भाषामा लेखिएका हुन्छन् । भाषा समृद्धिमा यसले सहयोग गर्छ । विभिन्न क्षेत्रका कृतिमा पनि भाषागत शुद्धतालाई ध्यान दिनुपर्छ । हरेक साहित्यिक तथा साहित्येतर लेखनहरूको हरेक विषय र सन्दर्भको महत्वबोध गराउनु आदि उद्देश्य हो ।
अध्याय बाह्र ः पाल्पाको लेखन सिर्जनाको संक्षिप्त इतिहास
यस अध्ययायमा कृतिकारले प्रजातन्त्र बहालीपूर्व र पछिमा गरिएका लेखन सिर्जनालाई तुलनात्मक रूपमा प्रस्तुत गरेका छन् । नेपाली साहित्यको विकासक्रम सुरुभएपछि करिब ८०–९० वषपछि थालनी भएको र मुकुन्दसेन प्रथम (१५७५–६१०) "नारद स्मृति " हस्तलिखित ग्रन्थ केदार पुस्तकालयमा संग्रहित भएकोकुरा ,मुकुन्द सेन द्वितीय (१८०९–१८३९)को पालामा कुलनिधि शर्माद्वारा बनाइएको "कर्मकाण्ड विधि" दुई हस्तलिखित ग्रन्थको साथै सेनबंशीय अन्तिम राजा पृथ्वी पाल सेनको "प्रासाद कौमुदी,पूर्वाद्ध उत्तराद्ध (दूईभाग) राष्ट्रिय अभिलेखालयमा सुरक्षित गरिएको र प्रजातन्त्र बहाली नहुँदै पनि कविता, गीत, कथा, नाटक, रचियको वर्णन सहित विभिन्न साहित्यकारको विवरण सपुष्ट गर्दै अगाडी बढेका छन् कृतिकार ।
कविता विधामा प्रथम कवि छविलाल नेपालको नाम दि)दै माधवप्रसाद देवकोटा, लाकौल ब्रदर्श, बहादुर सिंह बराल लगायतका विवरणहरू दिंदै कृतिकार अगाडी बढेका छन् । नाटक विधा बि.सं. १९८०–८२बाट प्ररम्भ, सुल्तान खाँले नाटक देखाउन थालेका, "भक्त धु्रव" नाटक मञ्चनबाट अगाडीबढेको र बहादुर सिंह बरालले नै नाटक मञ्चन लेखन प्रारम्भ भएको देखिन्छ ।चेतबहादुर कुँवर लगायतका नाटककारहरूले नाटकलाई अग्रगतिमा लगेको विवरण यस कृतिमा दर्शाइएको देखिन्छ ।
उपन्यास विधा ःपाल्पाली उपन्यासको इतिहाँसमा अनुवादबाट थालनी भएको र अनुवादक अम्बिकाप्रसाद लाकौलबाट वि.सं. १९८३बाट बकिमचन्द्र चटर्जीको जयन्तश्रीउदय गृहणी र प्रेमचन्दका बलिदान सती चिन्ता लगायतका उपन्यसको नेपाली अनुवाद गरिएको र २०२७ सालमा ऋषिकेशवराज रेग्मी ले स्वयम्भूको डाँडो लिएर देखिएका छन् ।
कथा विधा ःमाधवप्रसाद देवकोटाले १९८६बाट थालनी गरेको कथालेखन कविन्द्रमान सिंहका कथा प्रकाशनमा आए पनि ऋषिकेशवराज रेग्मीको पला कथा सङ्ग्रह प्रथम (२०२५) प्रकाशन कृति भएको धारणा सहित अन्य कथाकारको विवरण यहाँ दर्शाइएको पाइन्छ ।
निबन्ध विधा ः सुब्बा कृष्ण प्रसाद लाकौलको विं.सं. १९५६÷५७मा तीर्थाटन डायरी लेखेका माधवप्रसाद देवकोटा लगायतका साहित्यकार निबन्धलाई अगाडी बढाएको धारणालाई प्रष्ट््रयाइएको छ ।
समालोचना लेखनः माधवप्रसाद देवकोटाले थालनी गरेको उपन्यास लेखन, गोपी कृष्ण शर्मा, चुडामणी बन्धु लगायतले समालोचनामा अग्रसरता दिएका छन् कृतिकारले मगर भाषिक आदिकवि जीतबहादुर सिंजाली र सुबदार रेखबहादुर सारूबाट थालनी भएको लगायतका विवरणहरू यहाँ दर्शाइएको छ र हिन्दी, इङ्लिस, संस्कृत भाषा केही साहित्यकारले लेखे पनि मौलाउन नसकेको धारणा यहाँ प्रष्ट पारिएको छ ।
अध्याय तेह्र ःशोधखोजको उद्देश्य, आधार र सीमा निर्धारण –कृतिकारको शोधखोजको उद्देश्य भनेको कुनै पनि बस्तुको तत्सम्बन्धी इतिहासदेखि हालसम्म के भै रहेको छ तत् सम्बन्धमा सत्यतथ्य पत्ता लगाउनु हो । यो कर्म वाङमयबारे, सूचना जानकारी दिन खोज कर्ममा प्रेरित गर्न मार्ग सहज अनि विस्तृत गर्न,युगौ युगसम्मको लागि साहित्यकारको योगदानको साथै महत्वपूर्ण बोध गराउनको लागि हो भन्ने धारणा आएको छ । यी शोधखोज गर्दा प्रश्नावली भराएर, टेलीफोन वार्ता गरेर, सम्पर्क भेटघाट आदिबाट गर्न सकिन्छ । कसैले पूर्व अध्ययन गरेका भए सोको जानकारी लिएर शोधखोज गर्नु पर्छ आधारको कुरा गर्दा कृतिकारको भनाइ छ–"यी सबै आधारमा हेर्दा पाल्पाको वृहत वाङमयिक इतिहास लेखनको खाँचो,सदैव रहेको छ ।" कुनै पनि अध्ययन ÷अनुसन्धानमा सीमाङ्कन हुन्छन् त्यसो हुँदा कृतिकारले "यो खोजमा कृतिकारको जन्म, जन्मस्थान, शिक्षा,मातापिता, प्रकाशित कृति विवरणलाई मूल आधार बनाइएको छ ।" भन्दै सीमा निर्धारण गरेका छन् ।
अध्याय चौध ः विभिन्न पालिकाका लेखकर साहित्यकारहरू ः यस अध्यायमा कृतिकारले पाल्पाका दशवटा स्थानीय तहमा (दुइओटा नगरपालिका (तानसेन र रामपुर)र आठओटा गाउँपालिकाहरू ( तिनाऊ, निस्दी, पूर्वखोला बगनासकाली, माथागढी, रिब्दिकोट र रैनादेवी ) छन् र कृतिकारले यी सबै पालिकाका लेखक, साहित्यकारको नाम, स्थान, कृतिहरूको विवरणलाई दर्शाउने प्रयास गरेका छन् । तीन पालिकाका सबै वार्डहरुमा केही न केही रुपमा उपलब्ध भएका लेखक र साहित्यकारलाई समेटिएका छन् । २७८ भन्दा बढी लेखक र साहित्यकारहरूको शब्दकोषीय वर्णानुक्रमअनुसार अभिलेखीकरण गरिएको छ ।
थपकेही जानकारी ःपाल्पा दरबारमा जन्मेका डायमण्ड समशेर जवरा,पाल्पा दरबारमै जन्मेका ऋषिकेश शाह लगायतले नेपाली तथा अंग्रेजी, मगरसंग्रह, राजनीति शास्त्रका कृति लेख्ने प्रा.डा. षडमुखबहादुर थापालगायतको करिव २८ जना साहित्यकारका विवरण यहाँ दर्शाइएको छ।
फुटकर लेखन तथा सिर्जनामा सक्रिय तथा योगदान पु¥याएकाहरू–यस उपशीर्षकमा कृतिकारले कृति प्रकाशन नभएका तर फुटकर लेखनमार्फत बिबिध तरिकाले योगदान पु¥याएका केही लेखक, अनुसन्धाता, समीक्षक÷समालोचक, सर्जक, पत्रकारहरू जस्तै आएका लेखकहरूजस्तै कृष्णप्रसाद लाकौल लगायत ५०० भन्दा बढी लेखक, पत्रकार आदिका विवरणहरू यसमा समावेश गरिएको देखिन्छ ।
पाल्पा चिनाउने विशेष कृतिहरू–पाल्पाको इतिहास,भूगोल, शिक्षा, साहित्य, व्यक्तित्व आदिलाई चिनाउने लेखहरू, स्मारिका, अध्ययन प्रतिवेदन, इतिहास, भूगोलका कृतिहंरू यहाँ समावेश गरिएका छन् । करिब २००ओटा पाल्पा चिनाउने कृति र तिनका कृतिकारको विवरण यस शीर्षकले समेटेको छ जस्तै अम्मरध्वज खातीको 'मेरो पाल्पा ।'
पाल्पामै स्थायी बसोबास गरेका कृतिकारहरू –आजको जागिरे जीवन तथा व्यापार व्यवसायमा लागेकाहरू पाल्पामा नै स्थायी बसोबास गर्ने कृतिकारहरूजस्तै छत्रराज शाक्य, चोलेश्वर शर्मालगायत करिब सयको हाराहारीमा यस शीर्षकमा समावेश गरिएको छन् ।
पाल्पा बाहिर रहेका कृतिकारहरू– पाल्पामा जन्मे पनि आजका परिस्थितिले कोही पाल्पा छोडी स्वदेशमा र पाल्पा छाडी विदेशमा रहेर पनि नेपाली साहित्यको सेवा पु¥याई रहेका कृतिकारहरू करिव १५० भन्दा बढी यस कृतिले समेटेको छ ।
दिवङ्गत कृतिकारहरू– यस शीर्षकमा छविलाल नेपाल, पृथ्वीपाल सेन लगायत ५ दर्जन कृतिकारको देहाबसान भएको वर्णन गरिएको छ ।
अध्याय पन्ध्र ः व्यक्ति समूह तथा संस्थाद्वारा प्रकाशित संयुक्त कृतिहरू–यस शीर्षक अन्तरगत अजीवि, अशेष भट्टराई लगायतका ब्यक्तित्वको ११ कृतिहरूको चर्चा भएका छन् ।
पाल्पाका संंस्थाद्वारा प्रकाशित कृतिहरू– विभिन्न १२ संस्थाहरूले पाल्पाको साहित्यिक विकासमा योगदान पु¥याएको धारणा यहाँ आएका छन् । विनय कुमार कसजूको सम्पादनमा अभिनन्दन समारोह समितिले श्री माधवप्रसाद देवकोटा स्मृति ग्रन्थ २०४४सार्वजनिक गरेको भन्दै कृतिकार अन्य साहित्यकारलाई पनि समेट्ने प्रयास गरेका छन् ।
पाल्पालाई कर्मथलो बनाएका लेखक र सर्जकहरू–यस शीर्षकमा कृतिकाको रुपमा डा. एकनारायण पौडेल, डा. कर्णबहादुर बानियाँ लगायत २२जना कृतिकार र फुटकर लेखनहरूमा सम्लग्न करिव दुई दर्जन लेखकले वाङ्मयको श्रीबृद्धिमा योगदान पु¥याएको विवरण यहाँ दर्शाइएको छ ।
अध्याय सत्र ः सिर्जना र गायनबाट गायक गायिकाको योगदान –
गीतगायनबाट पनि साहित्यमा ठूलो योगदान पु¥याएका हुन्छन् । कृतिकारले यस कृतिमा गीतकारहरुको विवरण तिनीहरूले पु¥याएको योगदानलाई पनि समेटेका छन् । पाल्पामा अन्य गीतकार भन्दा लोक गायकगायिकाको संख्या बढी भएको र राष्ट्रिय रूपमै चर्चितरहेको विवरण कृतिकारले नै प्रष्ट्याएका छन् । पाल्पा देउगीरका नारायण रायमाझी, दुर्गा रायमाझी,माधवलाल श्रेष्ठ, लक्ष्मी न्यौपाने, शिरिष देवकोटा लगायतकरिव साढे चारदर्जन गायकगायिका र तिनले गाएका गीतका वर्णन यस कृतिमा समावेश गरिएका छन् ।
अध्याय अठार ः लेखन सिर्जनामा विविधको योगदान –यस शीर्षकमा कृतिकारले संघसंस्थाहरुजस्तै "पुस्तक पढ्ने दलान"लगायत करिव तीनदर्जन पत्रपत्रिकाहरूमा 'अध्ययन' लगायत ५ दर्जन, सञ्चार मध्यमहरूमा टेलिभिजन श्रीनगर लगायत ४, एफएम, रेडियो मदन पोखरा लगायत थप सातवटा अनलाइनहरूमा एकदर्जनभन्दा बढी, विद्यालय÷कलेज÷क्याम्पसका स्मारिकाहरू सयौंका संख्यामा, संस्थाका बुलेटिन÷फिचरसग्रह÷मुखपत्र÷विशेषाङ्क÷स्मारिकाहरु दर्जनौँ प्रकाशन भई वाङ्मयका लागि टेवा पु¥याएको वर्णन यस शीर्षकमा समेटिएको छ ।
अध्याय उन्नाइस ः साहित्यिक र साहित्येतर कृतिका प्रवृत्तिगत विशेषता –
यस शीर्षकमा पाल्पामा प्रकाशित भएका कविता, खण्डकाव्य, महाकाव्य, कथा, लघुकथा, उपन्यास,जीवनी निबन्ध विधाउपविधाका सिर्जनागत सार प्रबृतिलाई समावेश गरिएको छ ।
अध्याय वीस ः रहलपहल तथा समापन –यस शीर्षकमा कृतिकारले सारंसगत संक्षेपीकरण सहित पाल्पाको यथार्थता पस्कँदै लेख्छन् –"यसरी लेखन सिर्जना, गायन, वा कलाकारिताबाट लेखक,सर्जक,र गायक गायिकाहरूले वाङ्मयको क्षेत्रमा गरेको योगदान अतुलनीय, अर्थपूर्ण, अविस्मरणीय, उदाहरणीय, पैरक र महत्वपूर्ण रहेको छ । यी कर्महरूको आधारमा हेर्दा पाल्पाली क्षेत्रको वाङ्मय समृद्धि रहेको छ भन्न सकिन्छ ।"
अन्त्यमा –समग्रमा यो कृतिको अध्ययन गर्दा पाल्पाको वाङ्मय समृद्ध र अतुलनीय रहेकोछ । कृतिकारले यो कृति तयारपार्दा निकै परिश्रम गरेको यथार्थता जति वर्णन गरेपनि कमी नै हुन्छ । तन मन, बचन र कर्मले गर्दा यो विशाल कृतिको सिर्जना भएको छ ।यो पाल्पाको वाङमयिक दर्पण हो भन्दा अत्युक्ति नहोला । भाषागत मिष्ठता, प्रस्तुतिगत सरलता,लेखक साहित्यकारको नाम वर्णानुक्रम अनुसार क्रमबद्धता आदिले गर्दा कृति स्तरीय रहेको छ । यस कृतिले राष्ट्रिय मात्र नभै अन्तराष्ट्रिय जगत्का ख्यातीप्राप्त लेखकहरूको समावेशीकरणले गर्दा विश्व साहित्यलाई समेटेको भान हुन्छ । विश्वका नोवलपुरस्कार विजेता, नेपालका मदन पुरस्कार विजेता आदिको समावेशीताले गर्दा कृतिलाई उचाइमा पु¥याएको छ । यो कृति पाल्पाको बारेमा साहित्यिक शोधखोज गर्न चाहने, जानकारीलिन चाहाने, जो कोही लेखक, पत्रकार, नाटककार, अनुसन्धानकर्ता, शिक्षक, प्रशासक,विध्यार्थी आदि सबैलाई उपयोगी देखिन्छ । देशभरमा जुनसुकै क्षेत्रमा बस्ने लेखन र सिर्जनामा चासो राख्ने सरोकारवाला जोकोहीलाई पनि उपयोगी छ । अर्थपूर्ण देखिन्छ । तसर्थ यो कृति पाल्पाको एउटा वाङ्मयिक दस्तावेजको रूपमा आएको छ । यसले भूत वर्तमानको बर्णन त गरेकै छ र भविष्यका साहित्यकारको लागि पनि मार्गदर्शक बन्ने छ भन्ने निष्कर्ष निकाल्दै कृतिकारले कृतिको बीट मारेका छन् । कृतिकारले यस कृतिमा उल्लेख गरेका धारणाप्रति म पूर्ण सहमत छु, किनकि पाल्पा क्षमतावान उर्जाशील सर्जकको उर्वरभूमिको साथै प्राकृतिक ,ऐतिहासिक जिल्ला हो । यस जिल्लाले सदैव आफ्नो अस्तित्वलाई उचाइमा राखेको छ ।

No comments:
Post a Comment