April 18, 2025

जन्मभूमि छन्दोबद्ध कवितासङ्ग्रहमा मातृप्रेम

 
 सदानन्द अभागी
अपि स्वर्णमयी लङ्का ,न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।
मन्तव्य
इन्द्रराज पौडेलले आफ्नो 'जन्ममूमि' छन्दोबद्ध कवितासङ्ग्रहमा लङ्का विजय पश्चात लक्ष्मणलाई लङ्काको सुन्दरताले लोभ्याएर लङ्कैमा बसेर राज्य गर्ने मनशाय राख्दा रामले लक्ष्मणलाई भनिएका यी मार्मिक अमृतवाणीहरूले मातृभूमिप्रति माया गर्ने जो कोहीको पनि हृदयस्पर्श गर्दछ । इन्द्रजीले यो कृति आफ्नो जन्मथलो पुँदीभुम्दीको बारेमा पाँच शीर्षक (झझल्को,पुम्दी भुम्दी प्रकृति, विश्वशान्ति स्तूपा,पुम्दीकोट र पुन्दीको पूर्व अवस्था)मा वर्णन गर्नु भएको छ । यसले दिन खोजको सन्देशलाई यहाँ प्रस्तुत गर्ने अनुमती चाहान्छु ।
झझल्को–यस शीर्षकमा दुई हरफका २० श्लोक छन् । जन्मभूमि भन्दा प्यारो अर्को केही हुँदैन । यसको चित्र मुटुमा फनफनी नाचेको हुन्छ भन्दै कविताको थालनी भएको छ । मानिस जहाँ जन्मन्छ त्यसको चित्र अन्तरभित्र नै टाँसिएको हुन्छ । त्यहाँ घर, गोठ, आगन, बोट, बिरुवा, पाखा, बुट्यान हुन्छन् । बालककालको याद आउँछ । बालसखासँग खेलेका, गाई चराएको,विविध चित्र, सिनेमाको पर्दामा देखिदा झै देखिन्छन् । आमाको काखमा खेलेको,आमाको छाती रसाएको होस वा नरसाएको होस दूध तानेर आमालाई सताएका , आमा कतै जान लागे पछ्याएको, टुकु टुकु हिडेको, हिड्दा लडेको, जाँतोमा पिसेको, ढिकीमा कुटेको, आगनभरी बिस्कुन सुकाएको, अज्ञातबस मुठ्याएर छिरलेको, आमाले आएर भुकुरेको, पिटाइ खाएर रुन थालेको , आमाले माया मन्दै फकाएको, त्यो आँसु पुछेको, गाई भैंसी चराउन लाँदा वनभित्र पठाएर खेल्न थाल्ने आदि बाल कृडालाई  कविताले समेटेको छ । प्रस्तुति कला निकै मिठो छ –
केटाकेटी दुबै रोजी दुलहादुलही बनी
अलि सानाहरूलाई छोराछोरी भनी अनी ।१७।
पृष्ठ ३
बालक सानो हुन्छ तर उसको भावना ठूलो हुन्छ । ऊ खेल्छ हरेक किसिमका सिर्जना गर्छ । कपडाको नानी बनाउँछ, छोरा छोरी बोकेर हिडछ , जहाज भन्दै फिरफिरे बनाएर उडाउँछ । बालक जीवनलाई कविले कविता मार्फत परिभाषित गरेका छन् । बालदौतरी खोजेका छन् भेटिदैनन् भनेर चिन्तित भएका छन् । जन्मथलो सदा बोकेको धारणा पोखेका छन् जन्मथलोप्रतिको आगाध प्रेमलाई जुनीभरीको साथीको रूपमा अङ्गीकार गरेकाछन् –
म ता जहाँ जता जान्छु मेरो जन्म थलो पनि,
बाँचिञ्जेल सँधै साथ साथी मेरो पूरै जुनी ।२०।
पृष्ठ ४
पुम्दीभुम्दी प्रकृति – यो दोस्रो लामो कविता हो । यसमा ६४ श्लोक छन् । कविको यो जन्मभूमि पनि हो । यहाँको प्रकृतिको सम्बन्धमा कविले आफ्ना धारणा प्रस्तुत गर्दै छन् । हामीलाई थाहा छ कि प्राकृति एउटा जटिल संरचना हो । मानिस, वातावरण र प्रकृति बीच घनिष्ट सम्बन्ध हुन्छ । पुम्दी भुम्दी दुई गाउँ हुन् । यी प्रकृति सम्पदाले भरिएका छन् । यहाँ कतै डाँडा,कतै स्वाँराहरू थोरै मरै हैनन् १७÷१७ स्वाँराहरूको सौन्दर्यता छ । नामै मोहनी स्वाँरा छ ।मोहनी छरेरै त होला यस्तो नाम राखिएको र कविले सबैका नाम एक एक गरी लेखेका छन् हेरी हालौं एक श्लोक–
दहरा अनदु कोदी बर्साङ छ अलि पर
ढुङ्गेपानीसँगै नेटो घँरन्डाँडो छ मास्थिर ।५।
पृष्ठ ५,श्लोक ५
स्वाँरो त्यो भिरालो जमिन, चरन,विभिन्न बाली मनै कल्पने सौन्दर्यता मैले सबैका नाम नलेखे पनि कविले ती स्वाँरोहरूका नाम एक एक गरी लेखेका छन् ।तल्लो स्वाँरो पल्लो स्वाँरा ठूलो स्वाँरो जहाँ उनी बढे, खेले, काफल औसेलु टिपे खाए खुवाए कविको मन मस्तिष्कबाट कहाँ हट्छ र । पुम्दीभुम्दी भित्रका तल्लो गाउँ,अमल्चौर, सिर्माने, सपाउदे, भुलभुले, सिउँडीबारी, डाँडाथोक, काहुलेका नामहरूलाई स्मरण गर्दै कविले गाउँको मिठो प्रस्तुति गरेका छन् –
उकालो रिहाले चौर बिसौना कटुवा पनि
भोले गैरो तिलाहार खाल्से र बढरे अनि ।७।
पृष्ठ ६
यी गाउँलाई हराभरा पार्ने प्रकृतिको वरदानको रूपमा देखिने पानीको स्रोत हो । पानी बिना जीवको उपस्थिति सम्भव छैन । यी गाउँको बसोबासको वरदानको रूपमा बासेपानी छ । पानी मिठो छ अनि बाह्रै महिना बगिरहन्छ । अनि धारा पानीको पानी शुद्ध पनि छ र चिसो पनि छ । यहाँ पानीको अभाव छैन किनकी कटेरे, टोढरे र रुम्टेले नित्यरूपमा पानी पिलाउँछन् । यति मात्र हैन वर्षामा कृषिको लागि पानीको धेरै आवश्यक पर्दछ । त्यसको लागि भार्ते र काहुले पानीमा वर्षे मूल फुट्छ । यहाँ विविधताले सजिएका गाउँछन् । कालावाङ् , व्यालखु,च्याल्खु, ढावा,भुम्दी काहुरे, उल्लेरी,शेरको फाँट ढुल्ढुङ्गो, कर्कले, खडेदोला पमिल्टारी, घडेरी, ज्यामिरे, पलाइचे, तारेभिर यी गाउँका आफ्नै किसमका नाम छन्, अस्त्विछन् र यिनमा ईश्वरीय वरदान छ –
स्वारा टारी बुटेघारी डाँडाखर्क सुसज्जित
विधाताले बनाएका पुम्दी भुम्दी सुशोभित ।।१२।।
पृष्ठ ७
यो सौन्दर्यलाई अवलोकनको लागि कविले मार्ग चित्र कोरेका छन् । मोदीबाट चढ्दै ढुङ्गे पानी हुँदै डाँडैडाँडा हिडेपछि प्रकृतिले सिँगारेका पाखा पखेराका विचित्रतालाई हेर्दै पुम्दी पुग्दासम्म पकृतिसँग मित्रता गाँस्न सकिन्छ । यहाँबाट हिमाल र तालका सुन्दरता हेर्न सकिन्छ ।प्रकृतिले नाना ढङ्गबाट सजाएका सौन्दर्यका कला अवलोकन गर्न सकिन्छ । कविले पुम्दीको सौन्दर्यलाई यसरी प्रस्तुत गरेका छन् –
लेक पहाडका मेला दुनटार अनुपता,
गाउँ खोच तरा फाँट फैलिएका जतातता ।१६।
नाना आकृतिका पुञ्ज थुप्रैथुप्रा फुलैफुला,
घुम्दै रिङ्दै रमाएर सेतै बादलका पुला ।१७।
पृष्ठ ७
प्रकृतिका अनेकौं रुप हुन्छन् । बादल कतै लपेटिनु ,खुला आकाशमा बटारिनु,लहरा बन्नु, भुभुर्री उडनु आदि अनेक रूप धारण गर्दै पञ्चासेको लेकमा गएर ठोकिएपछिमात्र पुम्दीमा पानी पर्छ । बादलको कृयाकलापको सुन्दर्तालाई कविले यसरी तुलना गरेका छन् –
आँखामा रतिमा राश हेर्दा धीत परेपछि
जति हेरौं यति राम्रो दृश्य आँखा जुधेपछि ।२५।
पृष्ठ ९
पानी पर्छ नदी नाला बढ्छन् । पानीले नागबेली रूप लिएर अगाडी बढ्छ । मोहनी मनलाई छुन्छ । यता तालमा हेर्दा तालको पानी उछालिन्छ पानी आपसमा लडेको जस्तो लाग्छ ।डुँगामा चढेर तालमा घुम्दा आनन्द लाग्छ तर आनन्दमात्र हैन ठूलो छाल आयो भने मृत्यु पनि हुन सक्छ । तालको पानी हावासँग लहरियो भने धुलो मैलो बढारिने मैलो देखिने त्यही पानी सङ्लिंदा शैलका छाया पानीमाथि नाचेको देखिने । कविले भन्न चाहेको धारणालाई अझ यसरी प्रष्टपार्न सकिन्छ– फेवातालमा माछापुछ«े अन्नपूर्णा र धवलागीरी तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्ब हेर्नको लागि पनि प्रसिद्ध छ फेवाताल । तालकोे अवस्थितिलाई यसरी बर्णन गरेका छन् कविले –
अग्ला डाँडा टनाटन्नै पश्चमदक्षिण उत्तर
माझमा अति नै भव्य बाराही दिव्य मन्दिर ।।३१।।
पृष्ठ १०
यी सबै दृश्य पुम्दीकोटबाट सहजै देखिन्छन् । माथि हेर्दा सुन्दर नीलो आकाश, तल हेर्दा पुम्दीको सुन्दर रूपलाई कविले यसरी धन्यवाद दिएका छन् –
प्रकृति धन्य हो पुम्दी सौन्दर्यको मुहान हो ।
सारा नेपालकै लागि पुम्दीकोट गुमान हो ।३७।
पृष्ठ ११
पुम्दीकोट जस्लाई पुर्खादेखि महादेवभूमिको नामले चिनिन्छ । त्यहाँ विशाल महदेवको मूर्ति खडा गरिएको छ । धार्मिक पर्यटकीय स्थलको रूपमा चिनिएको छ । काव्यले यस्को विषय उठान गरेको छ । यस कवितामा कविले जापानीहरूको पनि प्रशंसा गरेका छन् –
जापानी राखने चासो दुख पीडा मनुष्यका
कल्याण जनको लागि सोच राख्ने विशेषता ।३८।
पुष्ठ ११
जापानीहरूले शान्ति सन्देश दिनको लागि बुद्धको स्तूपा बनाए । जसलाई  विश्व शान्ति स्तूप भनिन्छ । यो अनदुडाँडाको मीन थुम्कीमा बनाइएको छ ।यसले धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा चिनाएको छ ।
यस कवितामा कविले रेयुकाइ जस्तो महत्वपूर्ण र्सस्थाको बारेमा पनि कुरा उठाएका छन् । यो जापानी प्रविधिहो । यसले खास गरेर आध्यात्म शिक्षा(पूर्खा स्मरण र कृतज्ञता अर्पण)  नैतिक शिक्षा (आफू भन्दा जेष्ठ लाई सम्मान र आदर तथा सानालाइ माया । नमस्कार , धन्यवाद र माफ) र. व्यतिmत्व शिक्षा .(व्यतिmत्व र नेतृत्व बिकास कार्यक्रम) उद्देश्य लिएर काम गर्छ । जस्लाई रेयुकाइ का ३ वटा खम्बाहरु पनि भनिन्छ । कविको भनाइमा धर्म तत्त्व बुझाउनको लागि रेयुकाइ ल्याए । कालेवाङलाई केन्द्र बनाएर  धर्मको प्रचारप्रसार गर्न थाले ।विकासको जग बस्यो । डाँडामा गाडी पुगे । कालावाङ शिव र स्तूपको कारणले गर्दा गहनाको रूपमा विकसित भएको छ । हिन्दू र बौद्ध धर्मको सामीप्य बारेमा कविको धारणा यस्तो छ –
हिन्दू बौद्ध दुबै मार्ग ओंकार परिवार हुन् ,
शिव बुद्ध दुवै पूज्य हाम्रा आस्था महान हुन् ।४६।
पृष्ठ १२
नेपालमा धर्म कुलाचार सबै जातिले आफ्ना आफ्ना तरिकाले मान्दछन् । कविको धारणा स्तुत्य छ किनकी नेपालमा धर्म सहिष्णुता कायम छ ।
विविधताले सजियएको पुम्दीभुम्दीको प्रकृति वरदानको शब्दद्वारा अवर्णीय छ । त्यसो हुँदा कविले आफै त्यहाँ गएर आफ्नै अवलोकन राम्रो हुने भनेका छन्। कविले पुम्दीभुम्दीलाई यसरी वर्णन गरेका छन् –
भू–स्वर्गसरि यो पुम्दी आलोक परिपूर्ण छ,
सौन्दर्य पूर्णता पुम्दी साँचै वैकुण्ठ त्ुल्य छ ।।५०।।
पृष्ठ १३
कविले अभिव्यक्तिहरू सबै अमूल्य छन् । जति वर्ण गरे पनि अपूर्ण नै रहन्छ । यहाँको माटो उर्वरक छ । मानिस जाँगिरिला छन् , स्वस्थ छन्, यिनले प्रचुर रूपमा पानी पिउँछन् । सबै आय आर्जनमा लागेका छन् । सबै ठाउँमा यातायातको सुविधा छ । सबैले पशु पालेकै छन् नगदेबाली लगाएकै छन् । जागिर पनि खाएकै छन् । आईपर्दा बाधा फुकाएकै छन् । सबै चीजमा सम्पन्न हुँदाहुँदै पनि आज देशव्यापी लागेको रोग यहाँ पनि छ भन्न पुग्दछन् कवि–
झाँगिदो छ अहो ! रोग युवाशक्ति पलायन,
विदेशैतिरमा ओइरो लागेकै छन् कमाउन ।५५।
पृष्ठ १४
  यहाँको जनशक्ति विदेशमा युरोप, कोरिया, खाडी, मलेसिया, क्यानाडा,जर्मनी,फ्रान्स,अष्ट्रेलिया अमेरिका आदि ठाउँमा पुगेका छन् । विदेश नगै नेपालमा काम गर्नेहरू पनि उच्च ओहोदामा पुगेका छन् ।  
पुम्दीमा विविध जातीको बसोबास छ । यी मध्येका बराल जातीका पूर्खा हासु ब्राहमणले राजालाई रिझाएर बिर्ता पाए । पुम्दीमा खोरिया पाए र बारी मासबारमा पाए, आर्वा, ताराङको, विर्ता पाए र घरवारलाई सजाए । यहाँ थरी थरीका जातहरू छन् । जातहरूको बस्ती पनि छुट्टा छुट्रटै छन् । जातहरूमा दमै, कामी,गुरुङ, क्षेत्री,सार्की घर्ती, सुनारछन् र बाहुन जातिमा बराल धेरै छन् र पौडेलको बसाइ लौसीवटमा छ ।  यसरी पुम्दीभुम्दीको महत्वपूर्ण जानकारी यस शीर्षमा आएको छ ।
विश्वशान्ति स्तुपा–शान्ति कसलाई मन पर्दैन र सबैको चाहना शान्ति नै हो । गौतम बुद्ध विश्व शान्तिका दूत मानिन्छन् । जसले विश्वलाई शान्तिको सन्देश दिए । कवि इन्द्रराजले यस सम्बन्धमा विश्वशान्ती स्तुपा शीाषर््ाकमा कविता लेखेका छन् । स्तूपा एक किसिमको धराहरा हो । यो मन्दिर या स्मरणको रूपमा निर्माण गरिएको हुन्छ ।कविको धारणा यसरी आएको छ –
घाँटीमा हरियो हार छातीमा वन पावन
दहरा भिरको माथी शान्ति स्तुप छ रमझम ।१।
पृष्ठ १६
अनदु डाँडाले धाम पाएर धन्य भएको छ । भिक्षुहरू छन् । पवित्र बुद्धका वाँणी निरन्तर गुञ्जि राख्छन् ।  स्तूपाको दक्षिण दहरा गाउँ, उत्तरमा वन जङ्गल, पश्चिममा कोटको अग्लो डाँडो, पूर्वमा अरण्यको माला, सुन्दरताले भरिएको रमणीय ठाउँको बीचमा सुन्दर मन्दिर छ । यसैमा बुद्धका मन्त्रहरूको वर्षण हुन्छ । भिक्षुहरूले जीवन दर्शन र अहिंसाका ज्ञान दिन्छन् । यस स्तूपाको निर्माण त्यति सहजसँग गरिएको हैन । पुण्यात्मा बुद्ध दर्शनका ज्ञाता विश्वशान्तिका चिन्तक निप्पनजान म्यो होजी संस्था संस्थापक निचिदात्सु फुजिई ले यसको शिलान्यास गरेका थिए । उनी विश्वमा शान्ति स्थापना गर्नको लागि अठोट बोकेका थिए । यिनी पोखरा आए सहयोग जुटाउन लागे सबैले सहयोग गरे । धर्मशीलाले स्तूपाको महत्वलाई बुझाइन् । मन्त्री मिनबहादुरको पनि राम्रै सहयोग रह्यो । अनदुको सिरानमा स्तूपा बन्न सुरु भयो । आधाआधी जस्तो बन्यो । तर्कहीन कुरा निस्के, काँग्रेसी जाल हो भनी झुटा प्रचार पनि भयो । स्तूपा खतरा हो यो बनाउन हुँदैन सरकारलाई भनियो र स्तूपा भत्काइयो । धेरै धनको क्षती भयो तर भिक्षुले निर्माण गराउने निरन्तरता दिए मिनबहादुर पनि जेल गए । आखिर स्तूपा बनेरै छाड्यो । स्तूपको अग्रभागमा जापानमा निर्मित धर्मचक्र प्रवर्तन मुद्राका बुद्धको विशेष मुर्ती, पश्चिममा श्रीलङ्काबाट प्राप्त ध्यान मुद्राको बुद्ध मुर्ति, उत्तरमा थाइल्याण्डबाट प्राप्त ढलोटबाट निर्मित ६ फिट लामो महापरिनिर्वाण बुद्ध मुर्ति र दक्षिण दिशामा नेपालमा बनेको सिद्धार्थको जन्ममूर्ति राखिएको छ । उत्तरमा माछापुच्छ्रे« हिमालको टल्कन र सराङकोटको रमणीय दृश्य अनि काखमा फेवातालाई राखेर उभिएको यो स्तूप अत्यन्तै मनमोहक देखिने धारणा कृतिले समेटेको छ । कविले बुद्धको स्तूपको वर्णन यसरी गरेका छन् –
तलमाथि तला चारु बौद्ध शैली परम्परा,
सौम्यता सभ्यता शुद्ध छ शान्त बौद्धको स्तुपा ।३५।
पृष्ठ २१
बौद्धज्ञान आर्जन गर्न चाहनेको लागि कविको आब्हान यस्तो छ –
ज्ञान आर्जनका प्यासा आऊ प्यास बुझाउन,
मनमा क्यै भए शङ्का हुन्छ पूर्ण निवारण ।३९।
बुद्धको तत्वज्ञान भिक्षुबाट सिकिन्छ । बुद्धधर्मको मूलग्रन्थ भनेकमो त्रिपिट हो । बुद्धको बारेमा जानकारी पाउनको त्रिपिट अध्ययन गर्नु पर्छ भन्ने कविको धारणा छ ।
कविले अन्नपूर्ण हिमाल, माछापुछ«े, गणेश हिमाल, धौलागिर, हात्तीसुँडे, मनासानु मानापाथी लमजुङ् हिमाल, लार्के,ल्होसिरै, डोम, सत्रहिमालका लाम, आदिको सुन्दरतालाई स्तूपबाट हेर्न सकिने धारणा आएकाछन र कवि भन्छन् कि –
स्तुप हो पुम्दीको शोभा न भूतो न भविष्यति
डुबौं तै चारु गङ्गामा शुद्ध पारौं मनोमति ।५०।
पृष्ठ २४
कविले धेरै कुारको उठान गरेका छन् प्रकृति र धर्मको मेलको विशेषता, शान्त भएर पवित्रता सुन्ने, शान्तिको स्तूपमा बसेर परमानन्द प्राप्त गर्न सकिने, पोखराको रमणीयता, ती तरकारी बाली, त्यो धानखेती, जुनार, सुन्तला, हरियालीले भरिएका पखेराहरू, हावासँग मिलेर आएका स्वरका सङ्गीतमय स्वर, आकाशका ताराहरूको तालमा नुहाई, चन्द्रमाको डुबुल्की मार्दाको हँसिलो चमकन् रातको त्यो रमणीयता  दिनमा कविका कविताका प्रस्फुटन यस्ता अमूल्य प्रकृतिका रूपलाई सबैलाई देखाउन कवि अति ललायित छन् र आव्हान गर्दछन् –
हे यात्री ! दहरा आऊ गर दर्शन बुद्धको,
लिएर मनमा जाऊ माया प्रेम पवित्रको ।६१।
पृष्ठ २६
कवि भन्छन् बुद्धका पाउमा ढोगेर पवित्र बन । 'अहिंसा परमो धर्म तिर फर्क,।' प्रकृति धर्म सङ्गमको अनुपम मेलालाई हेर ।मनको मैलो माझेर धर्मको दर्शन गर । बुद्धका अमृत बचन आउँदै पिउँदै जाऊ र मनका तार बजाएर सुन्दर सङ्गीत गाऊ भन्दै यस शीर्षकको समाप्ति भएको छ ।
पुम्दी कोट – संक्षेपमा भन्नु पर्दा पुम्दिकोट प्रकृतिले सजाएको ५२ फिट अग्लो शिव मूर्ति रहेको विशिष्ट पहिचान भएको धार्मिक पर्यटकीय स्थल हो । यहाँबाट प्रकृतिले सजिएका धेरै सुन्दरतालाई हेर्न सकिन्छ । कविले आफ्नो धारणालाई यसरी प्रस्तुत गरेका छन्–
पुम्दीकोट सफा स्वच्छ हावापानी प्रकाशल,े
विधाताले बनाएका सिँगारेर हिसावले ।१।
पृष्ठ २७
कविले पोखराको प्रभावमा सितारा झर्ने, हातेमालो गरी खेलेको अनुभूति हुने, कोटको सुन्दरता रुपकी रानी जस्तै प्रकाशमय लाग्न,े कविले कोटको सुन्दरतालाई अतुलनीय वणर््ान गरेका छन् –
सृष्टि आकृतका चित्र दृष्टि पर्दा अपूर्वता,
मान्छेका टकमा खेल्छन् परिदृश्य अनुपता ।४।,
पृष्ठ २७
कविले कोटको र पोखराको वातावरणलाई केलाएका छन् । पोखरा यातायातमा प्रयोग हु्ने तेलको प्रदुष्णले गर्दा स्वास्थमा पार्ने असर, यातायातका साधनले निम्त्याउने धुवाँ धूलो, रातमामात्र पाइने विजुलीको प्रकाशको सजावट, भौतिकवादीले मात्र रुचाउने ठाउँ हो तर पुम्दीकोट चराको गुञ्जन, वनको सौगन्धले पृथ्वी नै मगमगाउने, चारु आकृतिका स्वाद चखाउने, सुन्दर डाँडोले मनमुग्ध बनाउने, सुन्दताका रास रासमा आँखा गाडिछन्, मनै मोहित बन्छ , पुम्दी र भुम्दीलाई जोडेर हेर्दाको दृश्य कचौराको आकारमा बिट ठाउँ ठाउँ फुटेको जस्तो देखिने, कोट र नेटको बीचमा जरीबुटी ताल र कोटको माझमा अग्राखका हरिया बुटा, कोटको पूर्वमा लहरै थुम्का, डाँडा, ढिस्का,उत्तरमा वनका गहनाले सिङ्गाएिका चुचुराको सौन्दर्यतालाई दर्शाउँदै सौन्दर्यको सिङ्गारलाई कविले यसरी प्रस्तुत गर्दछन् –
छहरा लहरा रेखा खहरे पहरा परी,
हरियो फरिया बेरी हाँसेझैँ कोट सुन्दरी । १४।
पृष्ठ २९
 पार्दीबाट जाने मार्गको बारेमा कविले यसरी प्रस्तुत गरेका छन् – पार्दीबाट रानी वन हुँदै स्तूपा पुगिन्छ । डाँडै डाँडा अघि बढेपछि धैरेनी डाँडा काटेर ढुङ्गेपानी हुँदै नेटोमा चढेपछि कोटमा पुगिन्छ । कोटमा पुगेपछि, टावर चढेपछि लाग्दछ भूस्वर्गमै पुगे सरी । कोटको सुन्रता बढाउने मन्दिरमात्र नभएर वन्यवनस्पतिको सौन्दर्य त्यतिकै रमणीय छ । मलोहो, तिजु, काफल, जामुन, चुत्रो, दमौरो, अमला, कटुज, अवरा, भक्याम्लो डमरी, दैदालो कम्बरी, थिर्जाे, पखन्बेत, चौटाजोर, सिकारी लहरो, गुर्जो, गीठा, भ्याकुर, गौखुरी, घोडटाप्रे,आदिले सजिएको यो स्थानको सुन्दरता मनमोहक लाग्दछ । तालको पानीबाट विजुली निकालेर पोखरालाई झिलिमिली पार्नु उद्योग धन्दा चलाउनु, तालको पानी पातले छहरो भएर झरेर लुक्दै फुर्सेदोभानमा गै सेतीसँग मिसिएको वर्णन कविले गरेका छन् । ऐतिहासिक कास्की कोट र सराङ्कोटले यसलाई निरन्तर हेरिरहेका हुन्छन् । कविले प्राकृतिक सुन्दरताको वर्णन मन खोलेर गरेका छन् जस्तै  
लालुपाते फुली हाँगा हल्लेका छन् यताउता,
कोइली रुखमा गाना गाएका छन् जतातता  ।३८।
पृष्ठ ३३
कविले पशुपालनका कुरा, डाले घाँसका कुरा, लौसीबोटेहरूले राम्चे भिरको माथि कुलदेवता पुज्ने कुरा, परम्परा अनुसार कोटमा भूमेको पूजा, द्र्यौराली र भँगेरका पूजा पनि गरिने, तालमा हिमालका चुलीको छाया, वनको छाया, रूपवती चरीको उडेको छाया, बादलका अनेक रूप मनमा टाँसिने धारणा यसरी पस्केका छन् –
टाँसिने मुटुमा भित्रै नमिटिने जुनीभरी ,
जहाँ जाउँ तिनै चित्र घुम्छन् आँखा वरिपरी ।५९।
पृष्ठ ३६
पुम्दीकोट टावरबाट बेगनास, रुपाताल, खास्टे, मैदी, दिपाङ, पाताले छहरामुनिका गुप्तेश्वर महादेव,अर्घौँमा कालीका देवी, पोखरा विन्द्याबासिनी, रामनारायण आदि देख्न सकिने ।कविले मिठो शैलीमा प्रकृतिको र धर्मको सम्बन्धको बारेमा, शिवस्थानको निर्माण, शिवमूर्ति बनाएर आशुतोषलाई हँसाउन पाइयोस, यसबाट विश्वलाई चिनाउन सकियो र भजन गाएर शिवशक्तिलाई नचाउन पाइयोस् जस्ता धारणा सहित यो शीर्षक समाप्त हुन्छ।
पुम्दीको पूर्व अवस्था– ७० वर्ष पहिलेको पुम्दीको यथार्थ सामाजिक अवस्थालाई कविले दर्शाउने प्रयास गरेका छन् । नारीले दाउरा घाँस, पिउने पानी बोकेर ल्याउन पर्ने । पनेराहरू टाढा टाढा हुने भएकोले चारबजे नै उठेर पालोमा बस्नु पर्ने । आँटो पिठो ढिडो  खान पर्ने । दाउराबाट खाना पकाउन पर्ने । बच्चा बचाउनलाई कठिन पर्ने । पशु चरनको भरमा, छोरीले भैंसी चराउने छोरालाई पढाउने,नारीले पतिलाई देवता मानेर सम्मान गर्नु पर्र्ने, नारी दवावमा थिए ।  कटुजका पातका दुना टपरी गाँसेर पूजा पाठ गरिन्थ्यो । कपासको ज्योति काढी साँझमा बत्ती जलाउँथे । घर उज्यालो पार्न ठड्यौरामा बत्ती बालिन्थ्यो । मुलाका चाना, साग सुकाएर तरकारीको सोज गरिन्थ्यो । तोरी कोलमा पेलिन्थ्यो । उखू पनि कोलमा पेलेर खुँदो गँुड बनाइन्थ्यो र शुभ कार्यमा चढाइन्थ्यो । ढिकी जाँतो कुटन पिसन घर धन्दा पुरा गर्न आधारात बित्थ्यो । भालेको स्वरको आधारमा उठेर दैलो कुचो गनर््ु पथ्र्यो । देवता पितृ सम्भ,ेर चोखो पानी चढाउनु, मही पार्नु ,घिउ जम्मा गर्नु, यसैबाट नुनतेल जोड्नु, नारीहरू अनुशासनमा बस्ने लोग्ने मानिसले धेरै विवाह गर्ने, ६० वर्षेले आठ वर्षकी केटी विवाह गर्ने, छोरी बेच्ने चलन पनि,नुनिला आँसु पिउन पर्दा न्याय माग्ने ठाउँ नहुनु,घरेलु हिंसा सहनु पर्ने,पति विदेशीँदाको पीडा , पतिको मति बिग्रदाको सहनु पर्ने यातना, गाउँका मुखियालाई झगडा छिन्ने पुरा अधिकार थियो,कुनिया र ठूला शुली भएकालाई धनी मानिन्थ्यो, गल्ला आएर गाउँका बलिया युवा छानेर लैजान्थे ,किसानी काम बाहेक आयआर्जनको कुनै उपाय थिएन,गाउँको मज्दुरी भनेको घरगोठ बनाउने छाउने, गुरुङजाती पल्टनमा भर्ना हुन मन पराउने, बाहुनले छोरा पढाउने, जात भात उचनीच छोईछिटो अति विभेद थियो । निगाला र बाँस चोयाबाट डोका नाम्ला फुँगा, डाला भकारी, पटेरा बन्ने चलन । तामा फलाम गालेर भाँडाकुँडा बनाउने चलन आदि पुरानो समाजिक यथार्थलाई कविले समेटेका छन् । यसरी कविले जन्मभूमिको बास्तबिकतालाई राम्रोसँग उतारेका छन् ।
यस कृतिमा समावेश गरिएका कविताहरू झझल्को,पुम्दीभुम्दी प्रकृत्ति, विश्वशान्ती स्तुपा, पुम्दिकोट र पुम्दीको पूर्व अवस्था शीर्षकमा कविताको सिर्जना गरिएको भएता पनि यी पुम्दीभुम्दीको परिवेशमा लेखिएका कविता हुन् । यसले समग्र पुम्दीभुम्दीको भूगोलको सेरोफेरोलाई समेटेको छ । कविताले दिन खोजेको पुम्दीभुम्दीको प्रकृति, त्यसको धर्मसँग सम्बन्ध, विशाल अग्लो महादेव मूर्ति, बौद्ध गुम्वा, विश्वशान्ति स्तूप,त्यहाँबाट हेर्न सकिने पोखराको रमणीय दृश्य,१७ हिमालको सौन्दर्यता, फेवाताको वर्णन आदिको  सुन्दर प्रस्तुति भएको छ । सिङ्गार रस, शान्तरस लगायत रसको समिश्रणलगायतका रसले युक्त । भाषा सरल र सहज छ। छन्दमा लेखिएका कविता भएकोले लयात्मक छन् । अध्यात्मवादले राम्रो स्थान लिएको छ । जन्मभूमिप्रति चिन्तन गरी लेखिएको हुँदा शीर्षक सार्थक छ । कृति पठनीय छ भन्दै कृतिकारलाई सुस्वास्थ दीर्घआयु उज्ज्वल भविष्यको कामना गर्दै विदा चाहान्छु ।
धन्यवाद
२०८२ साल बैशाख ५ गते  

No comments:

Post a Comment