December 23, 2020

गजल

सयल
लाली ओठ चुम्बनलाई गरे धेरै रहर
तिम्रै लागि समर्पित छु आज आठै पहर
लेक बेंसी तिम्रै लागि सजिसजाउ गरें
कत्ति पनि मन मानेन आएँ बेंसीसहर
सयलमा तिमी सँगै सबै दिन बिते
सुख सयल धान्नलाई बेंचे जोत्ने बहर
हेर सयलमा मोजमस्ती दुःख काटिएन
सयलकै नतिजा हो दुःखदायी कहर
सर्वस्व नै खर्चिएछ बेहोसी नै भई
कष्टदायी यो क्षण भो खसोखास ठहर
२०६५÷१२÷१५
स्वच्छ मन
जति भाव पोखे पनि माया चाखिदैन
माया प्रीति लाउने हो बाँकी राखिदैन
मायालुको बोलाइमा चुम्बकीय शक्ति
आफ्से आँफ आकर्षित देव भाकिदैन
हुन्ज्छन् सपनाका भागीहरू विपनामा टाढा
चोखो संसार अङ्गाल्नु छ छाया डाकिदैन
सारा तन मनसमेत गरेको हो अर्पित
बुझि सकें अपवित्र अब हाँकिदैन
अमरत्व छाउने माया ईश्वरमा हो लीन
स्वच्छ मन त्यसमा लीन अरू ताकिदैन
ठिक्क सोच्नु होस्
विकृतिलाई हुल्नुहुन्न ठिक्क सोच्नु होस्
कुविचारमा डुल्नुहुन्न ठिक्क सोच्नु होस्
जीवनमा विवेकशील बनाऔंँ पद्धति
विषादिलाई घुल्नुहुन्न ठिक्क सोच्नु होस्
हुन्छ उच्चताको महलमा भावनाको ताज
ताज लाउन भुल्नुहुन्न ठिक्क सोच्नु होस्
त्यसै पायो चुक खायो अगस्तिलेजस्तै
यी कर्ममा तुल्नु हुन्न ठिक्क सोच्नु होस्
जीवनको उत्तरार्ध सफलतामा राख्न
जे पाइन्छ असुल्न हुन्न ठिक्क सोच्नु होस्
२०६५ ÷१२÷१५
सादा जीवन उच्च विचार
सत्य बोल्नु मीठो बोल्नु बानी राम्रो हो
जीवनको भाव खोल्नु बानी राम्रो हो
सत्यं शिवं सुन्दरंमा अडिग हुनुपर्छ
भाव भक्ति मनमा रोल्नु बानी राम्रो हो
सादा जीवन उच्च विचार हुन्छ महानता
यस्तै सोचमा मन डोल्नु बानी राम्रो हो
उच्चतम सोचाइको जीवन उच्चसार
उच्चतामा अमृत घोल्नु बानी राम्रो हो
सुधा पान शुद्ध जान सफल हो पथ
हिंसा मार्ग विथोल्नु बानी राम्रो हो

December 20, 2020

नर -नारी

सर्वप्रथम सबै जना शुद्ध आज्ञाकारी
सफल मार्ग अपनाउदा , महान  हुन्छन नारी
दुर्गा इनै ,सीता इनै, सुपर्णखा इनै
कुन बाटो अघि जाने, रोज्नु पर्छ इनै
इनै बाट, आफ्नो  हक,  छार्लान्गिन जान्छ
 नारीलाई यो समाजले ईस्वोरी नै ठण्छ
तब पनि पुरुष वर्ग, दोष खान्छन भारी
दुर्योधनले तानो भन्छन  द्रापौदी को सारी
भुलिन्छ इज्जत दिने कृष्ण तेहाँ  थिय
तो वेलामा द्रपौदिको इज्जत बचाई दिए  
अस्तित्वो को जगेर्ना त सबले गर्नु पर्छ
सम कर्म सम भाव असमता टर्छ
जीवन क्षण वोधगम्म , कर्म सफलता
मर्यादित गर्दै जाँदा हुन्छ महानता
नर नारी संसाऱका , एकै हलका जोडी
विश्व चक्र चल्ने छैन एकअर्कालाई छाडी 

December 19, 2020

Tasvir


संसार हाँक्ने एउटा अदृश्य शक्ति छ

वास्तविक नाम सदानन्द जैसी साहित्यिक नाम सदानन्द अभागीले चिनिने साहित्यकार अभागीको जन्म बाबु स्व. कलाधर रिजाल र आमा स्व. नन्दकली रिजालका जेष्ठ सुपुत्रको रुपमा २००३ साल श्रावण १ गते पर्वत शंकरपोखरी४ मा भएको हो ।
हाल पूर्वी नवलपरासीको कावासोती नगरपालिका ७ साँढमा स्थायी बसोबास गर्दै आएका वरिष्ठ साहित्यकार सदानन्द अभागीका नेपाली साहित्यका विविध विधामा करिव तीन दर्जन र माटो विज्ञानसँग सम्बन्धि किताव, बुकलेट, अध्ययन प्रतिवेदन आदि गरेर करिव तीन दर्जन कृति प्रकाशन भएका छन् । अभागीले नेपाली साहित्यको श्रीवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै हालसम्म गोर्खा दक्षिणबाहु चौथो, त्रिमूर्ति एवार्ड जस्ता महत्वपूर्ण सम्मानका साथै विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ३ दर्जन संघसंस्थाबाट सम्मानित भएका छन् ।

साहित्यकार एवम् माटो विशेषज्ञ सदानन्द जैसी उर्फ सदानन्द अभागीसँग पाल्पाका पत्रकार राम ज्ञवालीले गरेको भलाकुसारीको सारसंक्षेप

 

लेखमा भाग्यमानी कर्ममा कसरी अभागी हुनु भयो ? तपाइँ अभागी उपनामबाट चिनिनु पर्ने कारण के हो ?

 

लेखमा मात्र नभएर म आफूलाई आफ्नो कर्ममा पनि भाग्यमानी नै ठान्छु । उपनाममा मात्र अभागी हुँ भन्नु प¥यो । नामको पछाडि अभागी राख्नुको खास कारण मलाई सानोमा इञ्जिनियर बन्ने इच्छा थियो । आर्थिक अभावको कारणले पढ्ने मौका पाइन र अभागी भएको महसुस भएर अभागी उपनाम लेख्न थाले । 

यत्तिका कृति लेख्ने तपाइँ जति चर्चामा आउनु पर्ने हो त्यति आए जस्तो पाइएनदेखिएन ? किन यस्तो ? कि मेरो भ्रम मात्रै हो ?

एक त मेरो उपनाम र प्रचलित नामले पनि केही असर गरे होला ! मेरो प्रचलित नाम सदानन्द जैसी हो । मैले कृषितर्फ खास गरेर माटोमा पनि लेख लेख्छु । कृषिमा सदानन्द जैसी नाम जति चर्चामा छ । मलाई माटो वैज्ञानिक या कृषि हाकिम् भन्न सर्बधारणले जति महत्वका साथ नाम उच्चारण गर्छन् साहित्यकार भनेर नाम उच्चारण हुँदैन । कृषि कार्यक्रममा नेपाल टेलिभिजनबाट पनि धेरै कार्यक्रम पनि चलाएको थिएँ, समय समयमा कृषि सञ्चारको रेडियोबाट पनि अन्तरवार्ताहरू माटो सम्बन्धि लेखहरू, कृतिहरू, ठूलो संख्यामा छापेर देशव्यापी रूपमा वितरण भएकाले पनि सदानन्द जैसी नाम जति प्रचलित छ सायद सदानन्द अभागी त्यति चर्चामा नहुन सक्ला, मलाई थाहा हुने कुरा भएन । अर्को कुरा कृति लेखेर मात्र हुँदैन कृतिको वितरण पनि हुनु प¥यो र कृतिकारले भव्य रूपमा विमोचन गराउने र कृतिमा बृहत् साहित्यिक छलफल गराउने काम गर्दा धेरै चर्चामा आइन्थ्यो होला ? म यी दुबै काममा अल्लि पछि छु तापनि करिब ३ दर्जन संस्थाले अभिनन्दन÷सम्मान गरिसकेका छन् । त्यसो हुँदा चर्चामा छु वा छैन भन्ने कुरा मेरो भन्दा पनि मेरा पाठकहरुले विश्लेषण गर्ने कुरा हो जस्तो लाग्छ मलाई ।

साहित्य इतरका ३ दर्जन भन्दा बढी एवम् साहित्यिक विधामा पनि ३ दर्जनभन्दा केही बढी कृति लेख्ने तपाइँले डेढसय वर्ष पहिले बरालको आँशु कृति प्रकाशन गर्ने बहादुर सिंंह बरालले जस्तै न्याँय नपाउन नै हो त ? तपाइँको यस्तो महत्वपूर्ण कर्म वा व्यक्तित्वप्रति खेलवाड गर्ने को को हुन् किटेर भन्न मिल्छ ? तपाइँलाई ती व्यक्ति किन यस्तो गर्न उद्यत भए भन्ने लाग्छ ?

नेपालमा हरेक क्षेत्रमा खुट्टा तान्ने प्रवृत्ति छ र साहित्यमा पनि छ कि भन्ने जानकारी लिन यो प्रश्न गरे जस्तो लाग्यो । हो साहित्य लेखनमा पनि होच्याउने प्रवृत्ति देखिन्छ तर म यसमा विश्वास गर्दिन । कुनै पनि प्रतिभावान व्यक्तिलाई कसैले होच्याउँछु भन्ने दुस्साहस गर्छ भने सूर्यलाई हत्केलाले छेक्नु सरह हो । एउटा कुरा के भने कुनै पनि कृतिको मूल्याङ्कनकर्ता पाठक हुन् । पाठक समक्ष कृति पुग्नु पर्छ । अर्को न्याय सम्बन्धमा मलाई लाग्छ लेखकको काम लेख्ने हो र न्याय पाइन भनेर, न्याय खोज्न हिड्ने होइन । डेढसय वर्ष पहिले बरालको आँशु कृति प्रकाशन गर्ने बहादुर सिंंह बराल आज चर्चामा छन् र उनका कृति आज खोजी खोजी पढ्न थालिएको छ ।

यतिका लेखेर, यतिका विधामा कलम चलाएर समाजराष्ट्रलाई के दिएँ ÷ दिइरहेको छु भन्ने लाग्छ ?

नेपाली साहित्य र माटो विज्ञानको विषयमा मेरो कलम चलेको छ । नेपाली साहित्यमा सबैले योगदान दिए सरह नै मैले पनि नेपाली साहित्यको समृद्धिको लागि प्रयासरत छु । माटो विज्ञान सम्बन्धि लेखबाट किसानको लगानीमा उत्पादन बढाउनेतर्फ योगदान पुगेको छ जस्तो लाग्छ ।

जुन जुन विद्यामा कलम चलाउनु भएको छ ती विधाप्रति बुझाइ वा मान्यता के रहेको छ ?

साहित्यका जुन विधामा कलम चलाए पनि सबैको उद्देश्य भनेको समाजलाई गतिशील बनाएर एउटा सिर्जनशील समाजको निर्माण गर्नु हो । समाजमा भएका विकृति विसङ्गतिलाई न्यूनीकरण गर्दै देश निर्माणका लागि सक्षम, स्वावलम्वी, इमान्दारी, नैतिकवान, राष्ट्रप्रेमले ओतप्रोत नागरिकको सिर्जना गर्ने हो । यिनै मान्यतालाई आधार बनाएर साहित्य सिर्जना गरिन्छ भन्ने लाग्छ मलाई र मैले यिनै मान्यतालाई आधार बनाएर कमल चलाउने गरेको छु ।

यथार्थमा भन्दा साहित्य के रहेछ ? जीवन र साहित्यको सम्बन्ध कस्तो हुँदो रहेछ ? साहित्य विनाको संसारको कल्पना हुन सक्छ त ?

साहित्य समाजको दर्पण हो । जीवन र साहित्यको सम्बन्ध नङ र मासुको जस्तो अभिन्न अङ्गको जस्तो सम्बन्ध हुन्छ । साहित्य विनाको संसारको कल्पना गर्न सकिदैन ।

फरक प्रसङ्ग कोट्याउन चाँहे ईश्वरीय आस्थालाई कसरी लिने गर्नु भएको छ ? धर्म, ईश्वर र पुनर्जन्मप्रति तपाईको धारणा के हो ?

यो संसार हाँक्ने एउटा अदृश्य शक्ति छ भन्ने कुरा श्रद्धापूर्वक स्वीकार्छु । धर्म भन्ने असल आचरण हो । असल आचरणकै बलमा मानिसहरू (धर्मावम्वीहरू) शक्तिशाली बन्दछन् । हाम्रो दर्शनले स्वर्ग नर्क, पुनर्जन्मलाई मान्यता दिएको छ । यही दर्शनलाई अङ्गिकार गरेपछि यी सबै स्वतः स्वीकार्य भएको मानिन्छ । पुनर्जन्मको कुनै वैज्ञानिक आधार छैन तर हाम्रो मस्तिष्कमा यो अति गहिरो रूपमा बसेको छ कि कहिलेकाँही मुखबाट निस्किहाल्छ 'पूर्वजन्मको फल' । स्वर्ग र नर्कको सम्बन्धमा मेरो अलिक फरक मत छ । मानिसले यस संसारमै स्वर्ग र नर्कको अनुभूति गरिसकेका हुन्छन् र अर्को स्वर्ग प्राप्ति गर्छु भनेर डर र ढोंगको भरमा दौडिराख्न आवश्यक देख्दिन ।

तपाईँको विशिष्टकृत विधा के, भनेर सोधे जवाफ के रहन्छ ?

मैले सबै विधामा कमल चलाईरहेको छु । पछिल्लो समयमा समालोचनातर्फ अघि बढी केन्द्रित हुने गरेको छु ।

तपाइँको लेखन मौलिक, बस्तुपरक, यथार्थपरक छन् । अझै भनौं लेख्नै पर्ने विषयमा यहाँको कलम चल्छ । सस्तो प्रेम छैन । कोरा भावुकता छैन । नाराबाजी छैन । समाज र राष्ट्र चिन्तामा केन्द्रित छन् । माटो मुटुका सवाल छन् । प्रौढ परिपक्क लेखन छ । देश दुखेको चिन्ता छ । यी भनाइमा तपाइँको स्वीकार्यता छ ? यी विषय बाहेक अरु पनि विषय के के आएका छन् आफ्नो लेखनमा ?

नाराबाजी छैनन् भन्नुको सट्टा समाजका आवाज घन्केका छन् भन्नु राम्रो हुन्थ्यो कि ? किनकी कुनै पनि लेखकले आफ्नो लेखनमा भन्न चाहेका कुरा बुलन्द आवाजमा प्रस्तुत गरेका हुन्छन् । सुन्दर समीक्षा प्रस्तुत गर्नु भएकोमा धन्यवाद छ । मेरो 'माटो र बिरुवाले भोक लाग्यो भन्छन्' नामक (कृषिकाव्य) माटो व्यवस्थापनका विषयमा प्राविधिक ज्ञान प्रदान गरेको छ । कृषि मन्त्रालय, कृषि संचार महाशाखाले ६ हजार प्रति छापेर देशव्यापी रूपमा वितरण गरेको छ । यो निकै उपयोगी ठानिएको छ ।

समालोचना लेखनमा किन तपार्इँ खरो र दह्रो भएर उपस्थित नहुनु भएको हो ? किन प्रभाववादिता वा गुणग्राहितालाई बढी जोड दिदै आउनु भएको छ ?

मलाई लाग्छ मेरो समालोचनाहरूको लेखाई खरो र दह्रोमात्र नभएर समुच्च कृतिको र कृतिकारको लेखन क्षमतालाई प्रस्तुत हुने गरी लेखिएका छन् । कृति र कृतिकारप्रति भूमिकाकारको धारणा, प्रकाशकको धारणा र शुभकामना आएका अभिव्यक्ति लगायत स्वयम् कृतिकारको कृति लेखनप्रतिको उद्देश्य समेतलाई समेटेर लेखिएका समालोचनालाई प्रभाववादिता वा गुणग्राहितामा लगेर जोड्दा अन्याय भए जस्तो लाग्यो । केवल कमी कमजोरीलाई मात्र केलाएर समालोचना गर्दा कृतिकारप्रति अन्याय हुन जान्छ । मैले गरेका समालोचनाले समुच्च कृति र कृतिकारका सिर्जना शक्तिलाई दह्रो र खरो रूपमा मूल्याङ्कन गरेको हुन्छ ।

कस्ता कविता, कस्ता कथा, उपन्यास कस्ता कस्ता खाले काव्य र फुटकर कविताहरू पाठकले औधी रुचाएको पाउनु भयो, सिर्जनाको कालजयिता के केले निर्धारण गर्दो रहेछ ?

तपाइँले अघि मलाई सुन्दर समीक्षकको रूपमा मेरो सिर्जनाको मूल्याङ्कन गर्नु भएको छ र नपुग कुरा मेरो उत्तरमा पनि आएको जस्तो मलाई लाग्छ । यिनै रचनाहरू पाठकले मन पराएको भन्न चाहान्छु । अर्को कुरा समसामयिक घटनाक्रम भन्दा दीर्घ प्रभाव पार्ने खालका सिर्जना नै कालजयी हुन्छन् । समाज, राष्ट्र, राष्ट्रियतालाई सम्बोधन, सम्बद्र्धन गर्ने खालका र लेख रचनाले समाजलाई कुप्रथा, कुरीति, अन्धविश्वासबाट मुक्त गराउने खालका परिवर्तनशील सन्देश सिर्जनाले दिन सक्नुपर्छ ।

अबका दिनमा विधागत साहित्यको भविष्य के कस्तो आँकल गर्नुभएको छ साहित्यको समृद्धि के के कुराले होला ?

हालको विधागत परिवेशलाई हेर्दा गजलले व्यापकता छाएको छ । अरू विधाहरू पनि क्रमस अघि बढिरहेका छन् । साहित्यकारहरूले विविध विधागत विषयमा जस्तै तान्का हाइकुमा पनि कलम चलाएका छन् । हाम्रा कृतिहरूको विभिन्न विदेशी भाषामा अनुवाद जे जति हुनुपर्ने हो त्यो हुन सकेको छैन । नेपाली साहित्यको समृद्धिको लागि नै भनौं विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेका नेपालीले पनि साहित्यिक संस्था खोलेर सेवा दिदै आएका छन् । छिमेकी देश भारतका दार्जिलिङ, सिक्किम, असम, देहरादुन आदि स्थानको साथै, बर्मा, भुटानमा पनि नेपाली साहित्यको मात्र नभै नेपाली संस्कृतिको लागि नेपाली भाषी जुटेका छन् तर दुखको साथमा भन्नुपर्छ कि नेपालका सत्तामा आशिनहरूले नेपाली साहित्यप्रति र साहित्यकारप्रति ध्यान दिन सकेका छैनन् । सरकारी साहित्यिक संस्थामा पनि ख्याती प्राप्त साहित्यकारहरूले भन्दा सत्ताका नजिकले नै स्थान ओगटेका छन् । साहित्यको समृद्धिको लागि सरकार, साहित्यकार, जनता सबैको एकजुट या एकीकृत प्रयासको खाँचो छ ।

साहित्यकारले साहित्य लेखेर सार्वजनिक गरिरहँदा पाठकको खडेरी पर्दै गएको पनि सुनिन्छ । यो आरोप हो या सत्य हो ? यदि यस्तो हो भने कसका लागि लेख्ने ? कुनै कृति त असाध्यै पढिएको बजार तताएको पनि छ । कृतिकारले मन जित्ने विषयको लेखन गर्न नसकेर पो हो कि पाठक नभएको ?

तपाइँले औंल्याएका सबै प्रश्नको उत्तर थोरै मात्रामा तपाइँले भने जस्तो पनि हो भन्न सकिन्छ तर एकातिर संसार आज साँगुरिँदै गएको छ । संसारका जुनसुकै कुनाकाप्चाका साहित्यिकदेखि विविध जानकारी निमेष भरमै अध्ययन गर्न पाइन्छ अर्कोतिर मानिसहरू आज विविध कामले गर्दा व्यस्त छन् । मनिसलाई कसको कृतिमा के छ भनि खोज तलास गर्नुभन्दा आपूmलाई आवश्यक परेको जानकारी फेसबुक जस्ता सामाजिक सञ्जाल, गुगल, युटुव, अनलाइनबाट जानकारी लिन वा अध्ययन गर्न सक्छन् । त्यसो हुँदा न पाठक घटेका छन् न लेखक नै घटेका छन् बरू लेखकले पाठकलाई दिन खोजेको सन्देश सार भाव बुँदागत रूपमा दिएर लेखको पूर्ण पाठ इन्टरनेट या फेसबुकमार्फत दिन सक्यो भने अवश्य सो सम्बन्धि जानकारी लिन चाहनेले त्यो लेख रचना सहजै पढ्छ र प्रतिक्रिया दिन्छ ।    

तपाईलाई कर्म अनुसारको सम्मान मिलेको छ त समाज/राष्ट्रबाट ? सन्तुष्ट हुनु हुन्छ पुरस्कार /सम्मानबाट ?

मैले गोर्खादक्षिणबाहु चौथोदेखि, त्रिमूर्ति एवार्ड सहित करिब ३ दर्जन संस्थाबाट सम्मान पाएको छु, । जहाँसम्म सन्तुष्टिको कुरा गर्दा म असन्तोष हुन पर्ने कुनै कारण देख्दिन । सन्तोष भन्नु क्षणिक अनुभूति हो । यो दीर्घकालिन हुँदैन । मानिस महत्वाकाङ्क्षी हुन्छ । अझै महत्वाकाङ्क्षा राख्नु स्वभाविक हो ।

साहित्यमा कहिलेसम्म के के गर्ने योजना छ यहाँसित ? समय व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? तपाईँले लेखेका कृतिबाट के कस्ता पक्षलाई फाइदा पुग्यो ?

मस्तिष्क, सास र हातले साथ दिएसम्म लेखन क्रिया रहने छ । साहित्य लेखन प्राय बेलुका ९÷१० बजे र विहानीपख ३÷४ बजेबाट ६ बजेसम्म गर्ने गरेको छु र यस वाहेकका समय घरको साथै सामाजिक सेवामा समय दिने गरेको छु । कृतिबाट फाइदा त एउटा लेखकले समाजलाई सन्देश दिन लेखेको हुन्छ । समाजले फाइदा लियो लिएन भन्ने कुरा अध्ययनकर्तामा नै निर्भर रहन्छ । कृषिका कृतिहरूले किसान, कृषिका प्राविधिक, कृषिका विद्यार्र्थीलाई फाइदा पुग्छ भन्न सकिन्छ ।

अन्त्यमा, केही भन्नु छ ?

आजको समय, परिस्थिति बदलिँदो छ । युवा वर्गले यी परिवर्तनलाई सहजै आत्मसाथ गर्न सक्ने भएकोले परिवर्तित समाज र समयलाई पहिचान गरेर, लेखन कलालाई आधुनिक सुविधालाई उपयोगमा ल्याई नेपाली साहित्यलाई विश्वव्यापी करण गर्दै जानु आवश्यक देखिन्छ । हामी पुरानो परम्परामा बढेका र लेखेकाहरू पनि आधुनिक सुविधालाई सकी नसकी अनुसरण गर्दै परिपक्क हाँकलाई विश्वव्यापीकरणतिर अग्रसर हौं भन्न चाहान्छु र हजुरले यो अन्तरवार्ताको लागि अवसर दिनुभएकोमा धन्यवाद ।

December 18, 2020

गजल

भो नचस्काऊ धेरै
चस्काएर झस्काएर यो छातीलाई न छाड भो
बाँस–जरे झुसे दाह्री यो गालामा न गाड भो
यो जीवनको सारा रस चुस्नसम्म चुसिसक्यौ
छोक्रा पा¥यौ अनि छाडयौ अब वन नफाँड भो
राताराता गालाजति रसहीन बनिसके
अब के नै पाउँछौ र यो शरीरलाई नताड भो
चुस्त चुस्त वक्षस्थल झोली झ्याम्टे भई सके
सर्वाङ्ग प्रस्तुत गर्न यो चोलीलाई नकाड भो
आजीवन तिम्रै खातिर समर्पित भएकी थे
के पाएनौ र अन्त्यै स¥यौ अरूलाई न भाँड भो
२०६५ ÷१२÷१
सोपान
मौका आउँछ पर्खिदैन भ्mयाप्पै आज अहिले बसौँ
शक्ति भए यो शरीरलाई अँगालोमा खुबैकसौंँ
गर्छु भन्ने कर्मजति गरिहाले बेसै होला
कर्मकाण्ड सकेपछि मन्दिरमा अनि पसौँ
निष्कामीको काया कर्म अधुरो नै बनिबस्छं
नैराश्यले ढाकेपछि अनि भन्छ खरानी घसौंँ
कचौरामा हेर्छु प्रिया मादकताले भरिएको
तुलतुले मन भन्छ तिमीलाई खुबै डसौँ
उच्चाइको महलमा भावना छ ज्योति बाल्ने
सोपान चढ्ने मन भर्यो खस्न परे दुबै खसौंँ
२०६५÷११÷३०
स्वार्थपूर्ति
राजनीतिले ठाउँ छोड्यो डाकाधारी उठे
आतङ्कको बन्दुक समार्ई भुट्नसम्म भुटे
गणतन्त्र आईसक्यो कागजमा मात्र
अनुभूति दिने जति षडयन्त्रमा जुटे
शक्ति प्रदर्शन गर्ने जति राजनीतिक दल
यथार्थता कताकता एक अर्कालाई कुटे
मीठा मीठा चिप्ला चिप्ला भाषण नै गरी
सोझा साझा जनतालाई लुट्नसम्म लुटे
दलगत स्वार्थ पूर्ति गर्न नपाउँदा
आफै ठूलो शक्ति भन्ने दलसमेत फुटे
२०६५÷१२÷१२
नेता
संसारमा नोट कोट र भोट
यिनले निम्त्याउँछन् बिस्फोट
सबै लाग्ने नोट कमाउन
हो नोटले निम्त्याउँछ चोट
यी नेताजीको तबै खुशी हुन्छन्
चुनाऊ जित्ने पुग्छन् नोट
उजुरी पर्ने अदालतमा
वहस गर्छ ती कालाकोट
बदनामी हुन्छन् आसेपासे
नेता खाने मख्खन् लेपी रोट

December 16, 2020

समीक्षा : गंगाका गजलमा भावस्नान

'गजलमा अत्यावश्यक पर्ने शिष्ट कोटिको तीक्ष्ण शृङ्गार र तिरोहित व्यङ्ग्य मन मोहक छ' –शिवप्रसाद सत्याल 'पीठ'

'गंगाका गजलमा घरदेशको पीडा र प्रदेशको हाँसोसम्म जन्मभूमिको आह्वान र कर्मभूमिको कर्तव्य जोडिन पुगेको छ । यसैले सगरमाथाको हिउँखोली बगेर समुद्रतलमा पुगेको अनुभूति गंगाले गरेकी छन् '–गोवद्र्धन पूजा

'सरल,मीठा र रसिला गजल गंगाले लेख्नुभएको छ'–होमनाथ सुवेदी

अत्यान्त लामो छ गोला जीवनको
भरिन्न लोभको झोला जीवनको
– गंगा लिगल

मैले वरिष्ठ साहित्यकारका धारणा र स्वयम् गजलकार गंगा लिगलको एक शेरलाई माथि प्रस्तुत गरेको छु । यी धारणाले निश्चय पनि गंगाको गजलसङ्ग्रह के कस्तो छ भन्ने कुरा प्रष्ट पारेको छ ।

कृतिको संरचना –

अन्तर्रााष्ट्रय नेपाली साहित्य समाज वासिङ्गटन डी. सी.संयुक्त राज्य अमेरिकाको प्रकाशन, वरिष्ठ साहित्यकार होमनाथ सुवेदीजीको सम्पादन रहेको यस कृतिको मूल्य नेपाल र दक्षिणपूर्व एसियामा ने.रु १५०÷– र यी देश वाहेकका देशमा यूएस् डलर ५ राखिएको छ । श्रीमान जनक लिगलज्यूमा समर्पण गरिएको यस कृतिमा ५१ ओटा गजलहरू समावेश गरिएका छन् । सबै गजललाई शीर्षकीकरण गरिएको छ । कृतिगत रूपमा गंगाजीको यो नवौं कृति हो भने विधागत रूपमा यो प्रथम कृति हो । 'अनेसासको गजल प्रकाशनमा यो तेस्रो प्रकाशन हो' (प्रकाशकीय)। अनेसास टोकियो जापानका केन्द्रिय कार्य समितिका अध्यक्ष, डा. कुमार वस्नेतको प्रकाशकीय, वरिष्ठ समालोचक शिवप्रसाद सत्याल 'पीठ' र गजलमञ्चका अध्यक्ष गोवद्र्धन पूजाको गंगाका गजलमा छोटा तर मीठा धारणा सहितको भूमिका लेखन र उपन्यासकार होमनाथ सुवेदीजीको सम्पादकीय यस कृतिले पाएको छ । अग्र आवरण पुृष्ठ गंगाजीको तस्विर र पछिल्लो आवरण पृष्ठमा कृतिकार र सम्पादक होमनाथ सुवेदीजीको व्यक्तिगत विवरणले सजिएको छ ।

कृतिभित्र प्रवेश गर्दा –

गंगाजीको साहित्यिक यात्रा अविरल गंगाको जल बग्दा झै बगिरहेको छ । गंगाजीका करिव दुई दर्जन प्रकाशित कृतिहरूमा मैले तेह्र थान अध्ययन गर्ने मौका पाएँ । यी कृतिहरूको अध्ययनले उहाँमा नेपालको माटो, मातृप्रेम, राष्ट्र, राष्ट्रियता, प्राकृतिक सम्पदा र अ‍ेरिकाप्रतिको धारणाका साथै्र नेपाल र अमेरिका बीचको जनजीवनको तुलनात्मक यथार्थतालाई पस्कनुनै उहाँको साहित्यिक लेखनको सवल पक्ष हो भन्ने मलाई लाग्यो । यस गजलसङ्ग्रहमा पनि उहाँ जीवन दर्शनलाई महत्त्वको साथमा लिंदै ''जीवनको'' शीर्षकमा प्रथम गजल लेख्नु भएको छ । मैले अध्ययन गरेका उनका कृतिमा मानव जीवनका भोगाइलाई गहनरूपमा उठाएको पाएको छु र यस गजलमा पनि जीवन भोगाइका ओराली उकाली, मानवका निहित स्वार्थ, विकृति र विसङ्गतिलाई सवलरूपमा उठाएको पाइन्छ ।

अत्यान्त लामो छ खोला जीवनको
भरिन्न लोभको झोला जीवनको
(पृष्ठ १)

मानव जीवन अमूल्य छँदाछँदै पनि,मानिसले त्यो अमूल्यतालाई विर्सेर ईष्र्या, बढाउँछ, मरणशील छ जीव त्यो पनि भुल्छ र संसारमा ऊ सँधै रहने ठान्छ । मानव जीवनमा धेरै उथलपुथल आउँछन् यी सवलाई तोड्नु पर्छ र मानव जीवन अविरल बग्न सक्नु पर्छ भन्ने ठहर छ गंगाजीको ।
हेरौ अन्तिम शेर –

बाधा तोड्दै अविरल बग्ने को हो ?
यो गंगा हो ,हैन खोला जीवनको ।
(पृष्ठ १)

यस गजलमान काफिया, रदिफ र तखल्लुसको सुन्दर प्रयोग भएको छ । ुसुवास, जीवन, कथा र जिन्दगी मानवीय गतिविधिसँग सम्बन्धित गजल हुन् । सुवास गजलमा रदिफ जिन्दगी राखेर सिर्जना गरिएको छ । यस गजलका केही शेर पढौं –

सुवास दिने पूmल हो जिन्दगी
कहिले सम्झदा भूल हो जिन्दगी
(सुवास, पृष्ठ ६)

राम्रो बाटोतिर लागि हेर्नुपर्छ
प्रभात ल्याउने मूल हो जिन्दगी

बास्तवमा जिन्दगी के होइन । जिन्दगीलाई बुझ्न सक्नु पर्छ, जीवन सुन्दर छ , सुवासिलो छ, राम्रो बाटोमा लाग्यो भने प्रभात ल्याउने अर्थात जीवनलाई प्रकाशमय बनाउने प्रकाशको मूल हो जिन्दगी यसले आन्न्द दिन्छ र रमणीय हो जिन्दगी तर कुबाटोमा हिड्दा यो प्रतिकुल पनि हो जस्ता धारणा सहित गजलकारको भनाइ यसप्रकारको छ–

चाहे जे भए पनि संसारमा
उज्वलता भर्ने पूmल हो जिन्दगी
( (सुवास, पृष्ठ ६)

जीवन जगतमा धेरै धारणा आएका छन् जीवनमा हार र जीत भै रहन्छ, आशामामात्र रहनु हुँदै माम पाउन, दाम पाउन, परिश्रम गर्न सक्नु पर्छ, मानव जीवन, व्यथा, दुःखै दुःख, वेदना, अस्तव्यस्त, अनगिन्ती ईष्र्या आदि कथै कथाले भरिएको छ तर कष्टमय जीवनमात्रको भोगाइ हैन जिन्दगी, जिन्दगीमा बसन्त, उमङ्ग, पनि आउँछ । गजलकारको धारणा अति प्रष्ट छ । उनी भन्छिन् जे रोप्दछौं त्यही फल्छ–

आँसु नै रोपे पूmलबारीमा
विरह छाउँछ जिन्दगीमा
हाँसो नै रोपे पूmलबारीमा
पूmल मुस्काउँछ जिन्दगीमा
शान्ति रोपौं शान्तिको बिउले
वहार ल्याउँछ जिन्दगीमा
(जिन्दगी , पृष्ठ ३९)

शान्तिप्रतिको धारणा–

गंगाजीले आफ्ना हरेक सिर्जनामा शान्ति सम्बन्धि धारणालाई दरविलो रूपमा उठाएको पाइन्छ । यस कृतिमा पनि प्रतीक्षा, आलोक र छाया गजलमा गजलकारले शान्तिप्रतिका धारणाहरू सवल रूपमा उठान गरेकी छन् –

आमा सधैं शान्ति त्यो आई रहे झै लाग्छ
क्रान्तिले नै सधैं पर्खाई रहे झैं लाग्छ

शान्ति,विकास,उन्नती आउनको लागि बाधकहरूबाट सजग हुनु पर्छ , वैमनश्यता विकृतिबाट टाढा रहनु पर्छ र

सबैले अन्तरर्विरोध हटाई बढेमा
गन्तव्य नजीकै नै आई रहे झै लाग्छ ।
(प्रतीक्षा, पृष्ठ २)

लडाउने काम, अधिकार खोस्ने काम, भातृत्वमा चोट, मातृत्वमा पीडा, वातावरण बिगार्ने काम, प्रकृतिमा आँच आउने काम ले गर्दा बुद्धको ज्ञान र ज्योति नभै शान्ति दीप निभ्न लागेको गजलकारलाई महसुस हुन्छ र गजलकारले आह्वान गर्दछिन् –

आऊ बचाऊ हे ! तिम्रो नाम
अनन्तको लागि रही सक्यो
(आलोक, पृष्ठ १४)

छाया गजलमा पनि गजलकारले शान्तिप्रतिको धारणा यसरी राख्नु भएको छ –

शान्तिको शीतल छाया
आमाको निर्मल जाया
आज शान्ति पनि छैन
तर छ निर्मल माया
(छाया, पृष्ठ २१)

बास्तवमा ठीकै त भन्छिन् गजलकार शान्ति आज संसारबाट धेरै टाढा भागि रहेकी छन् र विश्व नै आज अशान्तिको भूमरीमा जेली रहेको छ ।

मानव प्रवृत्तिप्रति लेखिएका गजलहरू–

हाम्रा धार्मिक ग्रन्थहरूले पनि मानव मार्गदर्शनलाई प्रष्ट पारेका छन् र मानव जीवनलाई अमूल्य ठानेका छन् । गंगाजीले पनि मानव जीवनलाई अति महत्त्वपूर्ण ठानेकी छन् र मानवीय कर्मबाट संसारलाई स्वर्ग बनाउनु पर्छ भन्ने धारणा कसीको रूपमा उनका कृतिमा प्रतिबिम्बित भएका छन् भन्दा अतियुक्ति नहोला । विडम्बना, गुन र रीत यो गजलहरूमा मानव प्रवृत्तिप्रति लक्ष गरिएर लेखिएका गजल हुन् । यी गजलले मानिसमा के शक्ति छ ,मानवीय गुन र मानवीय रीति आदिलाई अंगीकार गरेका छन् ।

सृष्टि गर्न सक्छौं, रोक्न सक्छौं, छौं कामी मानव
संसारका प्राणी मध्ये महान हौं हामी मानव
(विडम्बना, पृष्ठ ३)

मानिसले के गर्न सक्दैन, उसले पृथ्वीको गहनतालाई नाप्न सक्छ, सम्पूर्ण ब्राह्मण्डलाई अधिन राख्न सक्छ,, समुद्रको गहनतालाई नाप्न सक्छ, चन्द्रमामा बासको चाँजो मिलाउने तयारीमा छ, अर्थात सम्पुर्ण इति हाँस बोक्न सक्ने क्षमता हुँदा हुँदै पनि मानिसले मृत्युलाई बसमा ल्याउन भने कसकेको छैन जस्तो मानवीय संसारको यथार्थतालाई गंगाजीले पस्कनु भएको छ ।

मानिसको हातमा गुन छ , ज्ञान छ, उज्याल्यो दिन सक्छ लगनशीलताको धुन छ र मिलेर बसेमा पातमा पनि सुन प्राप्त गर्न सकछ र प्रयत्न गरेमा बातै बातबाट गुन लगाउन सकछ भन्ने धारणा 'गुन' गजलमा आएको छ ।
यसरी नै 'रीत यो' गजलमा आरम्भकालदेखि नै चल्दै आएका मानवका रीति रिवाजलाई समेट्दै, देवताका पालादेखि नै दानवलाई पन्छाइएको,मानवले एक अर्कामा ईष्र्या त्याग्न नसक्नु, आत्म घात गर्नु, अर्कालाई दुख दिंदा रमाउनु जस्ता अवगुणले गर्दा मानवतामा ह्रास आएको छ ।त्यसो हुँदा गजलकारले भन्नु हुन्छ –

तसर्थ स्वच्छ भावको सिर्जना मात्र मूल हो
'वसुधैव कुटूम्वकम'ले नै लाएको रीत हो ।
(.रीत यो , पृष्ठ ४३)

साहित्य र गजल कृति–

यस कगजल कृतिमा पनि साहित्यप्रति धारणा राख्दै लेखनी र साहित्य, शीर्षक दिएर गजल लेखिएका छन् । लेखनीमा –

यो लेखनी उज्यालो आधार हो
यो मेरो चम्किलो हथियार हो
लेखनी, पृष्ठ ४)

एउटा साहित्यकारको कलम साहित्यकै विविध विधामा चल्छ । यो समाज परिवर्तनको उज्यालो आधार हो र यो आधारमा उभिएर साहित्य सेवा गर्दा साहित्यकार पनि अमरत्व प्राप्त गर्न सक्ने भएकाले यो चम्किलो हतियार पनि बन्न जान्छ । लेखनीले प्रकाशतिर लैजाने, पथप्रदर्शक बन्ने, दियालोका साभार बन्ने, जीवनका संकटलाई टार्ने विश्वासिलो प्रसार हो र यसले अन्धकारलाई हटाउँने प्रभाविलो आकार हो जस्ता धारणा राख्दै यस गजलको अन्तिम शेरमा भन्नु हुन्छ –

यसले भविष्य संकेत गर्छ
योनै मेरो सुनौले संसार हो
(लेखनी , पष्ठ ४)

साहित्यमा –

साहित्य जगत ठूलो शान हो देशको
यो त नेपालको ठूलो मान हो देशको
यो पवित्रताको अविरल मुहान हो
उज्वल प्रकाश यान नै हो देशको
(पृष्ठ २९)

साहित्यप्रति गजलकारका धारण शान,मान, ज्ञानको रूपमा लिइएको पाइन्छ ।राष्ट्रियता र गजलकार –यस गजलका अधिकाम्स शेरहरू राष्ट्र राष्ट्रियता, मातृभूमि र आमाप्रति समर्पित गरेर लेखिएका छन् । ज्योति, सगरमाथा,गौरव,कहाँ छन् हामी नेपाली, विकास, चन्दन, हेर, देशको, माया मातृभूमिको, नेपाली, र देशमा, राष्ट्र राष्ट्रियता, मातृभूमि र आमाप्रतिका आदरभाव गुञ्जिएका छन् ।

बुद्ध जन्मेको यो हाँसिलो माटो
ज्योति जगमग भरिलो माटो
(ज्योतिमा ,पृष्ठ ५)

यो माटोमा कहिल्यै आँच आउन दिन हुँदैन भन्ने धारणा आएको छ ।

सगरमाथा यो शिरको प्रतीक उज्वल राख्ने हो
यसैलाई उच्चाइमा राखेर निर्मल राख्ने हो
सृष्टिको मुहान खुलेको हिमाल सदा छ अमर
नेपालको गरिमा बढाउन नै अकल राख्ने हो
(सगरमाथा, पृष्ठ ८)

गौरव– यस गजलले पनि नेपाललाई सवलतातिर लान प्रयासरत छ–

फोहोर मैला सुन्दर स्थल बेकार भैसक्यो
यो दयनीय अवस्था देशको कति सहिरहुँ
(पृष्ठ१७

कहाँ छन् –यस गजलमा गजलकारले अमेरिकामा आपूmलाई लगेर थुनिएको महसुस गर्दै, नेपालका पधेरा, जंगल, पोखरी, डाँफेको उडान,कोइलीको धून,गुराँस, पलाँस, साथीको खोजी गरिएको छ ।

हामी नेपाली– यस गजलमा नेपाल भएर नै हामी नेपाली र गौरवशाली छौं । त्यसो हुँदा देश सवल बन्नु पर्छ,।देश सवल बन्न नेपालीमा एकता चाहिन्छ र एकतारूपी हथियारबाट हामी शक्तिशाली बन्न सक्छौं । यो देश हरियाली सुन्दर प्रकृतिको देश हो जस्ता राष्ट्र भावलाई समेट् दै गजलकारको भनाइ छ–

यहाँ स्वच्छ सौन्दर्य र माधुर्यको राग छ
यही स्वर्गरूपी देशका हामी नेपाली हौं
(पृष्ठ २३)

विकास–
विकासको मूल फुटाई देश बनाऔं
सौहार्दको भावना लिई देश बढायौं
(पृष्ठ२४)

चन्दन–चन्दनको महिमामा प्रकाश पार्दै गजलकारको भनाई छ

अमूल्य निधि यो नेपाली विकासको माध्यम हो
यसैलाई सीमित राखेमा ऐश्वर्य शिरमा बस्छ
(पृष्ठ २५)

विकृति–सुन्दर प्रकृतिक सौन्दर्यले भरिएको देशमा आज विकृति देख्दा गजलकारमा निद र चैन छैन र देशलाई स्वार्थ रहित सुकृति सहितले अलङ्कृत भएको देश दे्ख्ने गजलकारको इच्छा छ । ,
हेर–,

आमाको मुटुलाई छामेर हेर
प्रत्येक ढुकढुकी तानेर हेर
(पृष्ठ ३७)

देशको–
अनुशासनको गीत गाएर देशको
अगि बढ नव खुसी पाएर देशको
(पृष्ठ ४७)

माया मातृभूमिको–अमेरिकामा बसे पनि गजलकारको तन मन हृदय नेपालकै मायाले भरिएको छ –
अमेरिकामा बस्छौं चाया मातृभूमिको
काया दायँ, वायाँ,छ माया मातृभूमिको
(पृष्ठ ४८)

नेपाली र देशमा शीर्षकका गजलमा पनि नेपाल र नेपालीको गुनगान गाइएको छ र संसारमा छरिएर बसेका हामी नेपाालीहरू एकबद्ध भएर नेपालको विकासमा जुट्नु पर्छ भन्ने धारणा आएकोछ ।

गजलमा नारीवादी चिन्तन– गंगाजी नारप्रिति संवेदनशील हुनुहुन्छ । उनका कृतिमा नारी हकहीतले गहिरो स्थान बोकेको हुन्छ । यस गजलसङ्ग्रहमा पनि 'गरिमा' र 'नारी' लाई लक्षगरी लेखिएका गजल हुन् ।

नारीमा –
नारी गरिमा हौ तिमी देशको
ऐतिहासिक हौ तिमी केशको
पृष्ठ ७)

आधा आकाश ओगटेका नारीहरू बास्तवमा विश्वकै गौरव हुन्, प्रेरणाका स्रोत हुन् , देशका कर्णधार हुन्,, सुप्रभात हुन देशका जस्ता नारीका गुणलाई प्रकाश पादै गजलकारले नारीलाई चुनौतीलाई सामना गर्न, देशको विगुल फुक्न, प्रगतिलाई चुम्न, आपूmलाई कमजोर नठान्न, घर राष्ट्र समाजलाई थाम्नको लागि आग्रह गरिएको छ ।
अर्को गजल नारीमा –

पृथ्वीमातालाई मातृत्वको उपमा दिइन्छ
पृथ्वीतललाई नारीकै त रूपमा लिइन्छ

यो एक शेरको साथै गजलकारले नारीलाई महान शक्तिको स्रोत, सृष्टिको रस, त्याग र बलिदानमा अगाडी सर्न सक्ने क्षमता भएर नै त लक्ष्मी र दुर्गाको रूपमा नामले चिनिन्छन् र नारीलाई शक्ति मानेर पूज गरिन्छ भन्ने धारणाहरू आएका छन् ।

स्थान विशेषलाई महत्त्व दिएर लेखिएका गजलहरू–

अमेरिका, गाउँले जीवन,अमेरिकाको र अमेरिकामा,गरी चार ओटा गजल मध्ये अमेरिकालाई सम्बोधन गरिएका ३ ओटा गजल छन् । अमेरिका शीर्षकले अमेरिका ठूलो देश हो, यो प्रकृतिक हरियाली सौन्दर्यले खचाखच भरिएको छ र जताततै विकास छ, ,दैवी विडम्बना पनि पर्छ यसको विकास हुनमा अथक परिश्रम छ भन्ने धारणा आएको छ । अर्को गजल छ अमेरिकाको शीर्षकमा । यसमा पनि अमेरिकाको वर्णन गरिएको छ, यहाँको प्राकृतिक, सौन्दर्यता, रंगका घरहरू, गाडी नै गाडी भएको, सभ्य मानिस भएको धारणा आएको छ। तेस्रो गजल अमेरिकामा भन्ने शीर्षकमा लेखिएको छ । यसमा नेपालबाट अमेरिकामा मानिस आएका र नेपालकै गीत गाएका, आफ्नो देशमा भोगेका दुःख कष्ट भोगाईलाई साथमा लिएर आए यहाँ पनि काममा दुःख पाएका तर खान भने पाएका जस्ता धारणा आएका छन् । गाउँले जीवनमा पनि गजल लेखिएको छ ।

शहरमा डिस्को र गाउँमा रोदी
दाँजेर रोदी यो केही रमाउँछन्
(पृष्ठ २६)

प्रकृति र गजलकार –

साहित्यिक जीवन र प्रकृति वर्णनमा गहिरो सम्बन्ध हुन्छ । गंगाजीत प्रकृतिसँग निकै रमाएकी हुन्छिन्, प्रकृतिको वर्णन गरेर उनी कहिल्यै थाक्दिनन् । गजल लेखनमा पनि मनको आवाज, आगमन, प्रकृति गहना, वर्षन्छ, जलधी, प्रकृति, हरियालीमा र विरसिलो शीर्षकले गहिरो स्थान पाएका छन् ।

वनको मधुरो ध्वनी हराए झंै लाग्छ
लताको पताले लाज हराए झैं लाग्छ
(मनको आवाजमा, पृष्ठ १३)

बसन्त वहार आयो मेरो यो बाहनमा
अव मृदु मुस्कान छायो मेरो साजनमा
(आगमन पृष्ठ २०)

वसन्तमा देखिने सबै रमणीय दृश्यलाई उतार्न सफल देखिन्छिन् गजलकार

पृथ्वीको क्षितिजसम्म टिमटिमाई रहन्छौं
ब्रह्माण्डलाई सौन्दर्य जगमगाई रहन्छौं
(प्रकृति गहनामा, पृष्ठ २२)

प्रकृतिको अनुपम देनमा गजलकारको वर्णनले अतुलनीय स्थान पाएको छ । वर्षन्छ र जलधी पानीसँग सम्बन्धित गजल हुन् । हिम–वर्षाको रमणीयतालाई गजलकारले सुन्दर रूपमा वर्णन गरेको देखिन्छ –

हिम शिखरबाट कँचन जल वर्षन्छ
यो अत्यान्त पवित्र रूपको फल वर्षन्छ
वर्षन्छ पृष्ठ२८)

जलधीमा –जल प्राणी जगतको अति आवश्यक तत्त्व हो । यो विना जीवन सम्भव छैन । यस्तो महत्व पूर्ण जीवनाधारमा गजललेखिनु आफैमा महत्त्वपूण काम हो –

जलधिको रमणीय काखमा
अनन्य आनन्दमय लाखमा
(पृष्ठ ३०)्

करौडौं पूर्वदेखिको श्रृङ्खला
यहीं सौन्दर्यले सिंगारिएको प्रकृति
(प्रकृति, पृष्ठ ३६)

प्रकृति प्रेमको प्रतीक हो
झुट्टा हो यो हरियालीमा
(हरियालीमा, पृष्ठ ४०)

पवित्र नदी ती अति महिला भएछन्
पवित्रतामा दागिलो लगाए छ विरसिलो
(विरसिलो पृष्ठ ४५)

आशावादी सोच –गंगाका साहित्यिक लेखनमा आशालाई जगाउने र निराश्यतालाई भगाउने धारणा लिएर अघि बढेको पाइन्छ । उनी आशावादी साहित्यकार हुन् । उनी भन्छिन् –

आशा राख्नु पर्छ जिन्दगीमा
कर्तव्य आफै सर्दछ जिन्दगीमा
(पृष्ठ १५)

नैराश्यताले पिरोली रहन्छ, आशाले जाँगर दिलाउँछ र सफलतातिर लान्छ भन्ने धारणा गंगाजीमा पाइन्छ ।

लोक तन्त्रप्रतिको धारणा – दरवारमा पहरेदार हुनछन्,यी भयनकर देखिन्छन् र यिनका प्रमुख बस्तु हतियाार हुन् र यिनै हतियारलाई गौरव मानिन्छ र यी हतियार संहार हुन् भन्ने ठानिन्छ तर आज राजतन्त्र हटेर लोक तन्त्र आएको छ तापनि हिंसाको अन्त्य भएको छैन भन्ने धारणा आएको छ –

आज योत राज तन्त्र नभै लोकतन्त्र हो
तर कता कता हिंसामा त तैयार देखें
(पृष्ठ १८)

नेतृत्वप्रतिको प्रहारमा गजलकार –

देश विकासको लागि नेतृत्व, सवल ,स्वच्छ,, पवित्र, हुनुपर्छ तर नेपालमा नेतृत्वले सवलता, भ्रष्टचारहीनता, र पवित्र शासन नचलाएर जनताले गास, वास र कपास, शिक्षा, स्वास्थ, रोगजारीलाई प्राप्त गर्न नसकेको अवस्थालाई पनि गजलकारको ध्यान पुगेको देखिन्छ –

कसरी हुन्छ प्रगति देशको
नेतै लुट्छन्, विसङ्गति देशको

स्वार्थको भावना राखेर विकसको भाषण गरेर देशको विकास हुँदैन ,देश विकसको लागि गरिमाको खोजी गर्न पर्छ, त्यो हुन सकेकोछैन सबै बाँच र बचाउँ भन्ने धारणा हुनु पर्छ तर त्यो नभएर झगडा र षडयन्त्रमात्र पाइन्छ भन्ने धारणा राख्दै गजलकार भन्छिन् –

लोलुभताको किटानु छरेर
नेताले पारे खती देशको
(अति देशको ,पृष्ठ ३३)

देशको वर्तमान अवस्था–
धनीलाई लूटको धन थुपार्ने ठाउँ छैन,
गरिवलाई भोकमा छाक टार्ने ठाउँ छैन
(ठाउँ छैन् ३४),

देशमा वेरोजगारी छ , छेपारोले रंग फेर्दा झै फेरिदै छ तर सजिलैसँग सत्यलाई उघार्ने ठाउँ छैन, समताका चर्का नारा लगाए पनि विषमताको बाढी उतार्ने ठाउँ छैन आदि आजका देशका यथार्थतालाई गजलमा पस्कने कोशिस गरिएको छ र अन्तिम शेरमा भनिएको छ –

हिलो माथिको कमल गौरवले अडेको छ
हिलोले पोतिएको मान्छे तर्साउने ठाउँ छैन
(पृष्ठ ३४,ठाउँ छैन)

द्वन्द्वप्रतिको धारणा–

देशले शान्ति चाहेको बेलामा धोका दिन हुन्न भन्दै गजलकारले प्रश्न राख्छिन्–
किन तिमीलाई रगतकै प्यास लागेको छ ?
सबैमा नै शान्तिको प्रेरणा जागेको बेलामा
( (वेलामा , पृष्ठ ४२)

भाषा र प्रस्तुति शैली –

गंगाजीका गजलमा भाषा निकै सरल छ । सबै किसिमका पाठकको लागि ग्राह्य छ भन्न सकिन्छ । गजलमा शृङ्गारलाई प्राथमिकता दिएर लेखिने चलन भए पनि गंगाजीका गजल शृङ्गार भन्दा माथि उठेका छन् । त्यसो हुँदा गजलका शेरहरूमा विविधता पाइन्छन् । गजलतत्वहरूको प्रयोगमा काफिया र रदिफ र तखल्लुसको प्रयोग सम्बन्धमा अध्ययन गर्दा, गंगाजीका कुनै कुनै गजलमा काफियाको प्रयोगमा नगण्यरूपमा विचलन देखिन्छ । रदिफको सुन्दर प्रयोग भएको पाइन्छ । गंगाजीले गजलमा तखल्लुस निकै कम प्रयोग गर्नु भएको छ । गंगाजीका गजलमा व्यङ्गवाणको प्रयोग भन्दा विवरणात्मक र स्वनिर्मित काफियाको प्रयोग भएको देखिन्छ । सरल, सुवोध मिठासपूर्ण भाषामा लेखिएको हुँदा गजल लयात्मक र श्रुतिमधुर बन्न पुगेका छन् ।

अन्त्यमा गंगाजीका गजलमा पनिे अन्य कृतिमा जस्तै जन्मभूमि र कर्मभूमिप्रति दर्शाएको माया, आदरता, यी भूमिको विकासको चाहना, राष्ट्र, राष्ट्रियता,मानवीय जीवन भोगाइका आरोह अवरोह, लोभ, मोह, आशा, शान्ति, द्वन्द्व, विकृति र विसङ्गति, प्रकृतिक सौन्दर्यताको वर्णनमा निरन्तरता देखिन्छ । यी नै सवल पक्षलाई वुलन्द आवाजमा उठाउनु गंगाजीको साहित्य लेखनको सवल पक्ष हो । गंगाजीको गजल लेखनको प्रयास स्तूत्य छ र गजल लेखनमा निरन्तरताको कामना गर्दै भावी जीवन सुखमय र साहित्यमय बनोस् भन्ने धारणा सहित विदा चाहान्छु ।

धन्यवाद

मिति २०७६ साल वैसाख १ गते
कावासोती न.पा. वार्ड नं ७, शान्तिचोक