December 23, 2020

गजल

सयल
लाली ओठ चुम्बनलाई गरे धेरै रहर
तिम्रै लागि समर्पित छु आज आठै पहर
लेक बेंसी तिम्रै लागि सजिसजाउ गरें
कत्ति पनि मन मानेन आएँ बेंसीसहर
सयलमा तिमी सँगै सबै दिन बिते
सुख सयल धान्नलाई बेंचे जोत्ने बहर
हेर सयलमा मोजमस्ती दुःख काटिएन
सयलकै नतिजा हो दुःखदायी कहर
सर्वस्व नै खर्चिएछ बेहोसी नै भई
कष्टदायी यो क्षण भो खसोखास ठहर
२०६५÷१२÷१५
स्वच्छ मन
जति भाव पोखे पनि माया चाखिदैन
माया प्रीति लाउने हो बाँकी राखिदैन
मायालुको बोलाइमा चुम्बकीय शक्ति
आफ्से आँफ आकर्षित देव भाकिदैन
हुन्ज्छन् सपनाका भागीहरू विपनामा टाढा
चोखो संसार अङ्गाल्नु छ छाया डाकिदैन
सारा तन मनसमेत गरेको हो अर्पित
बुझि सकें अपवित्र अब हाँकिदैन
अमरत्व छाउने माया ईश्वरमा हो लीन
स्वच्छ मन त्यसमा लीन अरू ताकिदैन
ठिक्क सोच्नु होस्
विकृतिलाई हुल्नुहुन्न ठिक्क सोच्नु होस्
कुविचारमा डुल्नुहुन्न ठिक्क सोच्नु होस्
जीवनमा विवेकशील बनाऔंँ पद्धति
विषादिलाई घुल्नुहुन्न ठिक्क सोच्नु होस्
हुन्छ उच्चताको महलमा भावनाको ताज
ताज लाउन भुल्नुहुन्न ठिक्क सोच्नु होस्
त्यसै पायो चुक खायो अगस्तिलेजस्तै
यी कर्ममा तुल्नु हुन्न ठिक्क सोच्नु होस्
जीवनको उत्तरार्ध सफलतामा राख्न
जे पाइन्छ असुल्न हुन्न ठिक्क सोच्नु होस्
२०६५ ÷१२÷१५
सादा जीवन उच्च विचार
सत्य बोल्नु मीठो बोल्नु बानी राम्रो हो
जीवनको भाव खोल्नु बानी राम्रो हो
सत्यं शिवं सुन्दरंमा अडिग हुनुपर्छ
भाव भक्ति मनमा रोल्नु बानी राम्रो हो
सादा जीवन उच्च विचार हुन्छ महानता
यस्तै सोचमा मन डोल्नु बानी राम्रो हो
उच्चतम सोचाइको जीवन उच्चसार
उच्चतामा अमृत घोल्नु बानी राम्रो हो
सुधा पान शुद्ध जान सफल हो पथ
हिंसा मार्ग विथोल्नु बानी राम्रो हो

No comments:

Post a Comment