December 27, 2020

साहित्य सर्जक–माला (एक जमर्कौ) नियालदा

परिचय

वीरबहादुर चन्द 'विश्राम'जीको जन्म रोडीदेवल–६, तितावै(हिउन्या) बैतडीमा भएको र हाल उहाँ स्वर्ण(भीम टोल) भी.न.पा. ऐंठपुर, कञ्चनपुरमा स्थायीरूपमा बसोवास गर्नुहुन्छ । उहाँका माताको नाम स्व् डुनी(दुर्गा चन्द) र पिताको नाम स्व. लच्छु चन्द हो । शिक्षण सेवामा उहाँको लामो अनुभव(४४बर्ष ६महिना ४ दिन) छ र उहाँ महाकाली साहित्य सङ्गम केन्द्रीय समितिका अध्यक्ष, डोटेली भाषा, साहित्यका सर्जक एबं गुगुल्डी साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक हुनुहुन्छ । वीरवहादुरजीले नेपाली साहित्यलाई मात्र नभएर आफ्नो मातृभाषा (डोटेली भाषा), साहित्यमा समेत उहाँले ठूलो योगदान पुर्याउँदै आउनु भएको छ ।

वीरबहादुर चन्दका कृतिहरू :-

डोटयाल्लि शब्द भण्डार, (मिति नखुलेको) न्वा. कि(२०५२), बडुवारे माखो (२०५७), खिचडी (२०६०), निर्दयी कौवा र सोझो परेवा (२०६१), चौपातो रे मान्स (डोटयाल्लि मात्रि,२०६२), नौलो नेपाल मान्स (ना.नि.बातै थोपडो, २०६३), भुटयाट (मुक्तक थोपडो,२०६४), नौलो जुग (गजल थोपडो, २०६५), घाम दिदी (गेद्या कविता थोपडा, २०६६), साकाहारी नै किन सर्बोत्तम आहारा, २०६७), एकौ ज्वारौ हाम्म (गेद्या खेल/नाटकसङ्ग्रह, २०६८), बिजय रे पुस्यापन्नर (ना.नि.बानैको लुतो, २०६८) र साहित्य सर्जक–माला (एक जमर्कौ, २०७०), वीरबहादुरजीका बजारमा आइसकेका कृतिहरू हुन् ।

साहित्यिकसर्जक–मालाको संरचना:-

यो सर्जक–माला (२६२ +१२)=२७२ पृष्ठमा सिङ्गारिएको छ । यसको प्रकाशन महाकाली साहित्य सङ्गमले गरेको छ । यसमा नेपाल, भारत, अमेरीका, मस्को, वेलायत, पर्सिया लगायत विविध देशका १४७९ सर्जकहरूको नामा, जन्ममिति, ठेगाना र कृतिलाई समावेस गर्ने प्रयास गरिएको छ । यस गहन कामको लागि वीरबहादुरजी धन्यवादको पात्र हुनुहुन्छ । उहाँले यस सङ्कलनको अलवा हार्दिक अनुरोध शीर्षकमा साहित्य प्रतिका धारणा राख्नु भएको छ । एउटा गजल र मुक्तक पनि समावेस गर्नु भएको छ । यो कृति 'जगत–हितमा तिखो कलम सञ्चालक स्रक्ष्टाहरू'मा समर्पण गरिएको छ ।

'हार्दिक अनुरोध' शीर्षकमा कृतिकारले आफ्नो धारणालाई यसरी पस्कनु भएको छः –'जुनसुकै युगमा पनि विश्वको जुनसुकै समाजमा साहित्यको गहिरो, स्थायी, अपेक्षा गरेअनुसार परिवर्तनकारी प्रभाव पारेको कुरा विश्व साहित्यिक इतिहासले प्रष्ट पारेको छ, सबै महानुभावहरूलाई भनिरहनु नपर्ला । यसकारण साहित्य समाजको सर्बौत्तम औषधी भन्नमा अतिशयोक्ती नहोला ।'

चन्दजीको कथन मनन् योग्य छ । साहित्यले समाजमा सुपरिवर्तन ल्याउनमा आत्मसात गरेन भने त्यसलाई साहित्य हो भन्न सकिदैन । साहित्य लेखन सिर्जनशील समाजको सिर्जना गर्नका लागि नै लेखिने हो । जुन देशको साहित्यले समाजमा राम्रो प्रभाव पारेको हुन्छ, त्यसदेशको विकास तीब्र गतिमा अगाडि बढेको हुन्छ ।

यस कृतिमा चन्दजीले यहाँ आठओटा शेरले निर्मित एउटा गजल पनि पस्कनु भएको छ । यो गजलमा विश्रामजीले आजको विश्वको गतिविधिमा प्रकाश पार्नुभएको छ । पृथ्वीनै साहित्यको साझा घर हो, यसमा रमाउने मानवजीवनको मोल पनि अनमोल हो । मानव जीवनको मूल्य कसैले तोकेर तोकिदैन । संसारमा देखिएको प्रदुषण स्वार्थ, छलकपट, द्वन्द्व, मैखाउँ मैलाउँ भावनालाई त्याग्न सके र अनुशासन, नैतिकता र बसुधैव कुटुम्बक म बोललाई अङ्गाल्न सके निश्चय पनि विश्व सुन्दर र शान्त बन्न सक्ने धारणा राख्नुहुन्छ वीरबहादुरजीले । आज यो संसारमा, मानवले मानवता, नैकिता, अनुशासन, बन्धुत्वलाई त्यागेको छ । संसार भरी लोभले गर्दा अशान्ति मच्चिएको छ । तलको गजलको शेरले जगतका सबै मानव भाइबन्धु हुन् सबैलाई राम्रो व्यवहार गर्नुपर्दछ भन्ने धारणा बोकेको छ –

विश्वका सबै मानव भाइबन्धु हुन्
बसुधैव कुटुम्बक म अमृत बोल छ

चन्दजीको मुक्तकबाट हामी सबैलाई अग्रगामी भएर अगाडिबढ्न आव्हान गर्नु भएको छ । मुक्तक उहाँको जस्ताको त्यस्तै यहाँ राखेको छु –

जगत् भरका साहित्यकार जागौं, जागौ, जागौं, अब
प्राणीमात्रको हितै–हितमा लागौं, लागौं, लागौं, अब
साहित्यले मात्र संसार सुन्दर–शान्त हुन्छ
मानवताका बाधक भागौं, भागौं, भागौं

यी माथिका शेरले संसारभरका साहित्यकार आज जाग्न परेको छ । मानव हितमा लाग्नु परेको छ । साहित्य सिर्जनाबाट मात्रै संसारलाई सुन्दर बनाउन सकिन्छ भन्ने धारणा छ चन्दजीको ।

साहित्य सर्जक–माला (एक जमर्कौ)मा सङ्क्षेपमा विवेचना

नेपाल, भारत, अमेरीका, मस्को, वेलायत, पर्सिया लगायत विविध देशका १४७९ सर्जकहरूको नामा, जन्ममिति, ठेगाना र कृतिलाई समावेस गर्ने प्रयास गरिएको यो महत्त्वपूर्ण गहन साहित्य सर्जक–माला (एक जमर्कौ) संकलन गरी प्रकाशनमा ल्याउनुहुने तथा कृतिकार प्रसंशाका पात्र हुनुहुन्छ । उहाँलाई धेरै धेरै धन्यवाद छ । यति ठूलो काम गर्नु भएका सर्जकले मसँग भन्नुभएको थियो –'अपजस पाउने काम गरेको छु' । त्यतिबेला मैले भनेको थिएँ –'जे गर्नुभयो असल काम गर्नुभयो, जति प्रशंसा पाउनु हुनेछ त्योभन्दा अपजसको मात्रा अवश्य कम पाउनुहुने छ । कृति अतिउत्तम हुँदाहुँदै पनि नाम जन्म मिति, जन्म स्थान जिल्ला सहित, कृति संख्या, टेलीफोन या मोवाइल नम्बर आदि विवरणमा एकरूपता ल्याउन सकेको भए तथा खुलाउन सकेको भए सुनमा सुगन्ध थपिन्थ्यो । जे होस् जे जति छ त्यो पनि अति महत्त्वपूर्ण काम भएको छ यसको लागि धन्यवाद छ कृतिकारलाई ।

धन्यवाद

सदानन्द अभागी
२०७० साल ६महिना १९ गते
शान्तिचोक कावासोती–१, नवलपरासी

सरलरेखा बक्ररेखाको एक अध्ययन

परिचय

विष्णुबहादुर सिह जुकेना –६ अर्धाखाँचीमा २५अगस्त १९५२ जन्म भै हाल बुढा निलकण्ठ –१० मण्डिखाटार, काठमाडौमा बसोबास गर्दै आउनु भएका एउटा मूद्र्धन्य साहित्यकार हुन् । जनमैत्री विश्वविद्यालय, मास्को, रुसबाट (सन्१९८०)मा एम.ईं सिभिल (हाइड्रो पावर) शिक्षा हाँसिल गरेका सिंहजीले पोखरा विश्वविद्यालय (सन् २००३)बाट एम एससी वातावरण व्यवस्थापन समेत दोस्रो डिग्री हाँसिल गर्नुभएको छ । विष्णुबहादुर सिंह पेशाले एउटा विद्युत् इन्जिनियर हुन् । उन्को जागीर सन् १९८०–८१मा विद्युत् विभाग र कुलेखानी प्रथम जलविद्युत् आयोजनाका इन्जिनियरको रूपमा थालनी गरी कहिले आयोजना प्रमुख, कहिले आयोजना उपनिर्देशक, कहिले निर्देशक, कार्यकारी निर्देशक,प्रोजेक्ट म्यानेजरको सल्लाहकार जस्ता विभिन्न पदमा र विभिन्न स्थानमा आफ्नो जीवन देश सेवामा समर्पित गर्दै हाल पनि उहाँ लिवर्टी इनर्जी हाइड्रोपावर प्रा. लि. (माथिल्लो दोर्दी 'ए' जलविद्युत् आयोजना, २५ मेघावाटमा प्रमुख कार्यकारी इन्जिनियरको रूपमा आफ्नो सेवा प्रदान गर्दै आउनु भएको छ ।

सिंहजी एउटा प्राविधिक सेवामा आफ्नो सेवा प्रदानकर्ता भएको हुँदा उहाँका आफ्नो सेवा सम्बन्धी चार दर्जनभन्दा बढी समसामयिक लेखहरू प्रकाशनमा आएका छन् भने नेपाली साहित्यको क्षेत्रमा कविता, नियात्रा, गीत, गजल, हाइकू, तान्का, चोका, सेदोका उनका मुख्य विषय हुन् र हालसम्म उहाँका दुई जर्दनभन्दा बढी कृतिहरू बजारमा आइसकेका छन् । सिंहजीले करिव एक दर्जन जति पत्रिकामा सम्पादक र प्रधान सम्पादकको भूमिका समेत निभाइसकेका छन् ।

'सलबलाउँछन् ओठहरू'कृतिका लागि हरिभक्त कटुवाल गीतिकविता सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार, संयुक्त राज्य अमेरिका (सन् २००३)बाट सन्मानित भै सक्नु भएका सिंहजीले सयपत्री राष्ट्रिय सम्मान जनगाल काभ्रे ( २०७२) सहित गरी एक दर्जनभन्दा बढी संस्थाबाट सम्मानित भै सक्नुभएको छ । उहाँको साहित्यिक यात्रालाई केलाउँदा विद्यार्थी जीवनबाटै थालनी भएको र अन्तर्विद्यालय कविता प्रतियोगितामा २०२४ सालमा कपिलवस्तुबाट प्रथम पुरस्कार प्राप्त गर्नु भएका सिंहजीले मास्कोमा अध्ययन गर्दा पनि नेपाली छात्र सङ्घ ( सोभियत सङ्घ )द्वारा आयोजित कविता प्रतियोगितामा सन् १९७४मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ । अङ्ग्रेजी, नेपाली, हिन्दी र रुसी भाषाका ज्ञाता सिंहजी विश्वका ३ दर्जनभन्दा बढी देशको भ्रमण गरिसक्नुभएको छ भने करिव डेढ दर्जन जति सङ्घसंस्थासँग आवद्ध हुनुहुन्छ । सिंहजी बहुआयमिक व्यक्ति हुनुहुन्छ । उहाँको विभिन्न क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय र अनुकरणीय छ ।

कृति परिचय –सरल रेखा वक्र रेखा(सिजोसङ्ग्रह) नेपाली साहित्यमा एउटा नौलो र नयाँ साहित्यिक विधा हो । यस कृतिमा १८० ओटा चोइटा सिजो समावेश गरिएको छ । यो कृतिको प्रकाशन विष्णुबहादुर सिंह र शिवपुरी साहित्य समाज, काठमाडौले गरेको र मूल्य रु. २००/– राखिएको छ । आवरण सहित कूल ९० पृष्ठमा रचित यो कृतिमा नेप्रप्रका प्राज्ञ वियोगी बुढाथोकीले प्रकाशकीयमा 'साहित्यकार विष्णुबहादुर सिंह आफ्नो सिर्जना यात्रालाई विविध विधामा समान रूपले माया गरेर एकसाथ हिँडेका छन्' भन्ने धारणा राख्नुभएको छ । रामकुमार पाँडेले 'सरल रेखा/वक्ररेख ' सरस सिजोको प्रखरता ः कवि विष्णुबहादुरको विशेषता' शीर्षकमा नेपाली साहित्यको वर्तमान अवस्था, नेपालमा कोरियाली सिजो काव्य वैधानिक प्रवेश, सिजो के हो ? कसरी लेख्ने ? आदिको साथै 'विष्णुबहादुर सिंहले यो पुस्तकमा सिजोको मात्रात्मक धर्म निभाएका छन् । सिजोलाई सिजोकै रूप दिन सफल छन्' भन्ने धारण राख्नुभएको छ' । यो कृतिको भूमिका पुष्कर लोहनीले लेख्नुभएको छ ।

रामकुमार पाँडेको सिजो सम्बन्धी धारणामा नेपालमा कोरियाली सिजो काव्य उपशीर्षकमा यो सिजो लेखन नेपालमा एक्काइसौ शताब्दीको पहिलो दशकको उत्तरार्धतिर प्रवेश गरेको भए पनि वैधानिक रूपमा पेन नेपालले भित्र्याएको धारणा राखेका छन् । पाँडेले लेख्नुहुन्छ –कवि विष्णुबहादुरले जापानका छोटा कवितामा पुस्तक लेखेपछि यो यति ठूलो र सिङ्गो कविको कोरियाली शैलीको सिङ्गो सिजो पुस्तक नेपाली साहित्यमा थपिएको छ । पाँडेजीले भूमिकामा सिजोको इतिहासदेखि लिएर संरचनागत लेखन शैलीलाई प्रष्ट्याउने प्रयास गर्नुभएको छ ।पेन इन्टरनेसनल नेपाल च्यापटरले सर्वप्रथम नोभेम्बर १५, २०१०मा ललितपुरमा सिजो कार्यशाला गोष्ठि गरेको, नोभेम्बर २०, २०१०मा ललितपुरमा पेन नेपाल र कोरियन पेनको संयुक्त आयोजनामा भव्य कार्यक्रम भएको र २०१३, फेब्रुअरीमा टे«डिसनल पोयट्री राइटर्स एसोसियसन अफ द बल्र्डको टोलीसाथ भव्य गोष्ठी गरी सिजोलाई अगाडि बढाउने काम भएको विवरणमा पाँडेको धारणामा आएको छ ।अब म सिजो कृतिको भावसारतिर लाग्ने अनुमति चाहन्छु ।

प्रेमप्रणय र सरलरेखा र बक्ररेखा–सिंहजीको यो सिजोमा विविध दृष्टिकोणमा प्रेम सागरलाई बगाउने प्रयास भएको पाइन्छ । सिंहजीले कसैको ओठसँग मुस्काएर साथ दिनुहुन्छ कसैको फोटो आँखाको तरेलीमा खिची मनको मझेरीमा छाया साँची भविष्यको कल्पनानसँग टाँसेर हाँस्नुहुन्छ । कसैलाई आँखाको नानी भित्र लुकाउनुहुन्छ, मनको तिर्सनामा बोलाउनुहुन्छ र तिर्खालु छटपटीमा मन पनि बुझाउनुहुन्छ ।

वास्तवमा कविले लुकेर प्रेमपत्र पठाउँदा यदा कदा डराएको र मनको तरङ्गसँग हराएको अनुभूति पनि गरेका छन् । प्रेममा आनन्दको अनुभूति मात्रै हुँदैन, कहिले आँटिलो हुनु पर्छ, कहिले सजाएको भागी पनि भइन्छ, कहिले मायाको कारणले रुन पनि पर्छ साथै फस्न पनि सकिन्छ र कहिले सम्झौता पनि गर्नु पर्छ –

प्रेममा आफै फसेँ तातो हात तान्न खोज्दा
जिन्दगी खोक्रो हुँदै बग्न सक्छ, रोक्नु हुन्न
उफ्रिँदा कालो बिरालो मान्छेसँग आत्तिदा
चोइटा –३६

यौवन छताछुल्ल बैंससँग मात्तिँदो छ
जवानी मदहोस रङसँग आत्तिँदो छ
सम्झौता कसैसँगको यात्रासँग बल्झिँदै
चोइटा–३९

प्रेमको उपहार पनि कहिले उपहास बन्न सक्छ,पेन्डुलम सरि पनि भइन्छ । निस्वार्थ प्रेमको खोजी गर्नु पर्छ मायाको भोकमा आत्तीन हुँदैन, भेटसँग तात्तीन हुन्न र प्रेमको निम्तो पाएमा मात्तीन हुन्न, कसैको अस्मितासँग आँखा लाग्ने सपना देख्न हुन्न आदि प्रेम प्रणयमा लेखिएका सिँहजीका सिजो मर्यादितरूपमा दर्शिएका र पस्किएका छन् –

स्तनको स्पर्शसँगै मनभित्र बल्ने आगो
यौवन छताछुल्ल हुन थाल्दा पोखिएका
कसैको अस्मितासँग आँखा लाग्ने सपना
चोइटा –११४

राजनीति विकृति विसङ्गति र सिजोसङ्ग्रह– सिंहजीले नेपालको आजको राजनीति परिवेशलाई पनि सिजोमा समेटेका छन् । उर्लदो राजनीति सम्झौतामा जेलिएको, नेताको देशप्रेम भाग्न थालेको, संविधान जल्न थालेको, मधेश जलिरहेको, राजनीतिमा भ्रमको खेती गर्दा छलनीति गर्न खोज्दा रीतिथिति,वेथितिमा परिणत भएको, निष्ठाको राजनीति गर्नु पर्ने, राजनीतिमा स्वार्थ हुन नहुने आदि राजनीति विकृति र विसङ्गतिमा कविले व्यङ्ग कसेका छन् –

आस्थाको राजनीति हराएर ओइलायो
नेपाल नेपालीको नभएको जस्तो भयो
नेताले चालेको गोटी बजारिदै लौ ढल्यो
चोइटा –४८

राष्ट्रियता र सिजोसङ्ग्रह – सिंहजीको यो कृति राष्ट्र, राष्ट्रियताका भावनाले ओतप्रोत छ–

गोर्खाली बहादुरी संसारमा चिनिएका
खुकुरी चिलाउँदा शत्रुलाई तर्साएको
सहन्न अपमानको स्वाभिमान हारको
चोइटा– १३२

पाल्पाली ढाकाटोपी शोभै भिन्दै लगाउँदा
ढल्काई हिँडेपछि टाउकाको मानै कत्रो
बचाऊँ नेपाली सान नासो ठान्दै सबैको
चोइटा– ११२

स्थान विशेष, प्रकृति र कृति –यस कृतिमा स्थान विशेष पोखरा, फिदिम–पाँचथर, आँधीखोला, जन्मस्थान जुकेना जस्ता स्थान र ती स्थानको प्रकृतिक विवरण पनि कविले सिजोमा समेटेका छन् –

पोखरा मन पर्छ मलाई नै सधैभरि
आउन मन लाग्छ किनकिन घरीघरी
सुन्दर उपत्याकाले लोभ्याउने वेस्सरी
चोइटा –१३७

जीवन जगत र कृति– सिंहजीले जीवन जगतसँग पूर्ण परिचित हुनुहुन्छ । उहाँले सिर्जना गरेका सिजोमा जीवनका सुख दुःख, उकाली ओराली तथा मानव मनोदशालाई हामीले अध्ययन गर्न पाउँछौं –

विरक्त वियोगीको आत्मासँग अन्तर्मन
साँझमा अस्ताउँदो सूर्यास्तको दह्रो मन
चुस्कीमा रमाएपछि ब्रह्माण्ड नै दोमन
चोइटो– ३२

देशले भोग्न परेको द्वन्द्व, भूकम्प र कृति – सिंहजीको सिजोमा देशले भोगेको द्वन्द्वको मारलाई समेट्नुभएको छ र भूकम्पले ल्याएको आपतलाई मार्मिकरूपमा प्रस्तुत गर्नुभएको छ –

वैशाख बाह्र गते भूकम्पले हल्लाएर
आपत छरिदियो घरभित्र, चोकभित्र
मान्छेका लासहरूले थुपारेको सहर
चोइटा १५७

चाड पर्व र कृति – तीज पर्वमा महिलाले प्रयोग गर्ने स्वतन्त्रता र होलिमा प्रयोग रङ्को विशेषतालाई सुख दुःखसँग तुलना गरिएको पाइन्छ –

होलीमा सात रङ्ग मिलाएर खेल्नुपर्छ
दुःखमा कालो रङ्ग मिल्काएर फाल्नुपर्छ
खुसीमा नीलो रङ्गको गर्नुपर्छ आदर
चोइटा १२०

सिंहजीको यो कृति विविधताले भरिएको छ । पढ्दा आनन्द आउँछ । प्रणय र प्रकृतिको सुन्दर चित्रणले मनमा स्थान लिन्छ र रसिलो रसस्वाद गराउन सफल देखिन्छ । गायत्मक र लयात्मक पनि छ । सिजो मेरो लागि नयाँ विधा भएको र सिजोको पहिलो कृति अध्ययन गर्न पाएकोले मलाई आनन्दको अनुभूति भएको छ । सिजोसङ्ग्रहले नेपाली साहित्यमा नयाँ आयम थपेको र नयाँ योगदान गरेको छ । यस्ता गहन कृतिका कृतिकारलाई धन्यवाद दिँदै बिदामा अग्रसर हुँदाहुँदै अन्तिम चोइटोको स्वाद पनि चाखिहालौं –

मौसम चिसोचिसो जवानी छ तातोतातो
कसेर अँगालोमा युवा जोस मात्तिएको
स्पर्शको भोगाइसँग अनुभूति रित्तिँदा
चोइटा १८०

धन्यवाद
२०७३ कार्तिक,
शान्तिचोक, कावासोती नवलपरासी

समर प्रकाशको पर्खाललाई नियाल्दा

परिचय

युगीन साहित्य समाज रुपन्देहीले नववर्ष २०७१ को १ गतेको दिन भव्य साहित्यिक कार्यक्र गर्ने भनेर मलाई सहभागी हुनको लागि निम्ता पठाएको थियो तर यस्तो महत्वपूर्ण कार्यक्रममा म सहभागी हुन सकिन । विमोचित कृति प्राप्त भएमा मैले गहिरो अध्ययन गर्नेछु र त्यसप्रति मैले जानेका र लागेका भावनालाई अवश्य पनि पोख्ने छु भन्ने बचनबद्धता, युगीन साहित्य समाजका पदाधिकारीहरू (अध्यक्ष बिनोद उदय लगायत यज्ञप्रसाद न्यौपाने, सुरज पाण्डेय, सुशील सापकोटा, युवराज लामिछाने)लाई, प्रकट गरेको थिएँ । कार्यक्रम निकै प्रभावकारिरहेको जानकारी पाएँ । खुसी लाग्यो उक्त दिन समर प्रकाशको, वमोचित भएको कृति, 'पर्खाल' युगीनका मित्रहरूले साहित्यकार दीपक सोती मार्फत पठाएको, कृति प्राप्त गरें । समर प्रकाशसँग मेरो भेटघाट भएको हो या होइन मलाई एकिन भएन । उहाँले आफ्नो कृतिमा राखेको तस्विरलाई हेर्दा नवयुवक देखिनुहुन्छ तर उहाँको जीवनी तथा पारिवारिक विवरण कृतिमा समावेश गर्नुभएको छैन । भन्न मन लाग्यो, कृतिकारले आफ्नो जीवनी, साहित्यिक आवद्धता तथा छोटो परिचय दिनु राम्रै हुने हो तापनि समरजीले आफ्नो रचनाले नै परिचित गराओस् भन्ने धारणा लिए जस्तो लाग्यो । यस्ता कृयाशील पुत्रलाई जन्म दिने माता पिताको नाम जान्ने जिज्ञासा जागेर आयो र मैले समर प्रकाशलाई फोन गरेर मातापिताको नाम (हिरा पाण्डे र नारायण पाण्डे हो भन्ने जानकारी) प्राप्त गरें । समर प्रकाश र उहाँको कृतिको बारेमा विभिन्न साहित्यकारहरूले पोखेका अभिव्यक्तिहरूले उहाँको कृतित्व र व्यक्तित्वलाई प्रष्ट पारेको हामीले अनुभव गर्न सकिन्छ –

विभिन्न साहित्यकारको नजरमा कृति र कृतिकार

यस कृतिको प्रकाशकीयमा युगीन साहित्य समाज रुपन्देहीका अध्यक्ष विनोद उदयले लेख्नुहुन्छ – 'युवा गजलकार समर प्रकाश रुपन्देही र नवलपरासी क्षेत्रले गर्व गर्न लायक गजलकार हुन्' । 'समर प्रकाशको प्रथम समर' शीर्षक दिएर रुद्र ज्ञावलीले यस कृतिको विश्लेषणात्मक भूमिका लेख्नुभएको छ । उहाँको कथन छ – 'समर प्रकाशले देशको माटोलाई माया गर्दछन्, आफू हिड्ने बाटोलाई माया गर्दछन्, किसानको गोरु नारेको पाटोलाई माया गर्छन, छानो धानेर राखेको भाटोलाई पनि उत्तिकै माया गर्छन् वास्तवमा देशप्रेम भनेको यही भावना हो' । बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले यस कृतिप्रति लेख्नुहुन्छ – भावुकतापूर्ण सस्ता अभिव्यक्ति दिने अधिकांश युवा गजलकार बीच यति राम्रो र अर्थपूर्ण गजल लेख्ने समर प्रकाशलाई पढ्न पाउँदा खुसी लाग्यो । गजलको माध्यमबाट यो देशको वास्तविकतालाई उजागर गर्ने छटपटी यिनका यी गजलहरूमा पाएँ । पछिल्लो समय राम्रो र गुणस्तरीय गजल सिर्जना गर्ने मनोज न्यौपाने, रुपक वनवासी, डा.टिकारामा भण्डारी, बाबु त्रिपाठी, माधव खतिवडाहरूको अभियानलाई पछ्याएर गजल लेख्ने जुन परिपाटी सुरु भएको थियो त्यसलाई यो कृतिले बल पुर्याएको म अनुभव गर्दै छु । गम्भिर विषयलाई पनि अति सरलसित संप्रेषणीय बनाउन सक्ने यी कविको भविष्य बारे कसैले शंका उठाइरहनु पर्ने स्थिति म देख्दिनँ । गजल लेखनलाई निरन्तरता दिइरहने शर्तमा अहिले म यिनको दीर्घकालीन साधना र उत्तरोत्तर प्रगतिको लागि आफ्नो शुभेच्छा व्यक्त गर्दछु । 'पर्खाल भित्र पर्खाल बाहिर' शीर्षकमा बाबु त्रिपाठीले यस कृतिप्रति लेख्नुहुन्छ –'गजल कस्तो हुनुपर्छ ? कस्तो लेखिनुपर्छ ? भनेर कसैले मलाई सोध्यो भने म उसलाई समर प्रकाशको 'पर्खाल' देखाइदिन्छु' । गजलकार कपिल अञ्जानले यस कृति र कृतिकारप्रति लेख्नुहुन्छ – 'स्वभावले एकदमै शालिन छन् समर प्रकाश । जति शालिन छन् यिनी त्योभन्दा प्रभावशाली छन् यिनका गजलहरू कल्पनाको उडान पनि धरातलबाटै हुन्छ, र त्यो कल्पनालाई वास्तविकतामा रूपान्तरण गरिदिएका छन्, यीनको एक सेरले एक युग बोलेको छ' । 'पर्खाल भित्रको चित्र' शीर्षकमा यज्ञप्रसाद न्यौपानेले स्वच्छन्दता र समसामयिक गजल समाजले खोजिरहेछ भन्दै लेख्नुहुन्छ – 'समय बदल्ने शक्तिको समुच्यय हो 'पर्खाल' र समाजको कुरूप चित्र पनि' । यसै सन्दर्भमा स्वय म गजलकारको धारणा पनि केलाउने मन जागेर आयो । 'केही मेरा कुरा... ' शीर्षक केलाउन पुगें । उहाँले ' 'सपना देख्नु कुनै अपराध होइन' भन्दै गजल लेख्ने सपना देखेर आफ्ना मनभित्रका ज्वाला मनभित्रै नदन्किइ गजलमा रूपान्तरण भएको आशय प्रकट गर्नुभएको छ । उहाँका केही कुरालाई केलायो भने उहाँको लेखनी बाल्यकालबाटै चलेको देखिन्छ । उहाँ कथा र गीत लेखेको स्मरण गर्दै लेख्नुहुन्छ – ' कहिलेकाहीं भेटिन्छन् कुनाकाप्चामा मेरा बाल्यकालहरू, मेरा ती दिनहरू, मेरा ती रातहरू, मेरा सुरुवातहरू जसमा मोरा भोगाइहरू जानी नजानी कुनै सुत्रबन्धमा नरही छरपष्ट तरिकाले कोरिएका थिए' । समरजी सिर्जनाको थालनीमा, सिर्जनाको महत्वलाई बुझ्न सकिदो रहेनछ जसको नतिजा तपाईंको अभिव्यक्ति सरह नै हुन्दो रहे छ । यो मेरो पनि अनुभव हो ।

कृतिभित्र पस्दा–

कृतिभित्र पस्नु अघि बाबु त्रिपाठी र यज्ञप्रसाद न्यौपानेले उठाएका काठमाण्डौवाद र मोफसलवादको चर्चामा बाबु त्रिपाठीले धेरै साहित्यकारको यस सम्बन्धमा उदाहरण दिएर आफूले नै यसको कारणलाई दर्शाउँदै लेख्नुहुन्छ –'काठमाण्डौवाद र मोफसलवादको हल्ला चलिरहन्छ । यसका कारणमा राजधानीमा प्राप्त हुने् सुविधा, प्रचार तथा मान्यताहरू मोफसलबाट प्राप्त गर्न नसक्नु नै एउटा मुख्य कारण हो' । मलाई पनि भन्न मन लाग्छ – बास्तवमा सिर्जित सिर्जनाले कति क्षेत्रलाई ओगट्न सक्छ र कस्तो वौधिक समुदायले त्यो रचनालाई ग्रहण गर्न सक्छ भन्ने कुरा हो । व्यापक क्षेत्र र बढी अवसर काठमाण्डौवादले जे जति ओगट्न सक्छ त्यो मोफसलवादले ओगट्न कठिन पर्दछ । यसलाई विश्लेषण गर्दा निश्चय नै काठमाण्डौ वादले व्यापक क्षेत्र, राज्यले दिएको सुविधा तथा राष्ट्रिय व्यापकतामा समावेश हुनसक्छ त्यो सुविधा मोफसलवादले प्राप्त गर्न निकै संघर्षरत हुनुपर्दछ ।

यज्ञप्रसाद न्यौपानेले समरका गजललाई यसरी तुलना गर्नुभएको छ –'गजलमा मोफसलको युवा नेतृत्व लिन समर सामर्थवान छन् । भन्सार छलेर राजधानी पुर्याइएका गजलभन्दा यी गजलहरू कुन मानेमा कम छन् र ' –

महलको छानो उडेन यार
आँधी, हुरी, वतास खेर गयो
गजल १२ पृष्ठ ३४

माईत आउन पाइनन् चेली
यसपाली मलमास खेर गयो
गजल १२ पृष्ठ ३४

गजल लेखन शैली

'पर्खाल'मा ५८ओटा गजलका शेरहरू समावेश गरिएको पाइन्छ । यी गजलहरू लेखनमा परम्परावादी गजल लेखनभन्दा केही फरक पन र विविधता पाउन सकिन्छ । गजलकारले आफू गजल लेखनको क्षेत्रमा भिन्न रूपमा प्रस्तुत हुन खोजेको आभास मिल्छ । सरल भाषामा सामाजिक यथार्थ परक र समसामयिक घटनाक्रमलाई अङ्गाल्दै गजलकारले गजलको मार्ग छानेका छन् ।

गजलमा सामाजिक यथार्थताको प्रकटीकरण

साहित्य समाजको दर्पण हो । साहित्यले समाजमा भए गरेका कर्मलाई नै टपक्क टिपेर सुपरिवर्तनको अवधारणालाई जनसमक्ष पुफ्याउनु नै प्रमुख दायित्व हो । आज समाजमा देखिएका व्यापक विकृति र विसङ्गतिले मानवीय मूल्य र मान्यता, नैतिक जिम्मेवारीको वहन, तथा दायित्वको वोधमा जुन प्रकारको ह्रास देखिदो छ र पारिवारिक संरचनामा जुनरूपले रूपान्तरणको बाटो समाएको छ, त्यसमा असहमति देखिनु स्वभाविक हुन आउँछ । यस्ता घटनाक्रमलाई गजलकारले यसरी प्रस्तुत गरेका छन् । हेरौं केही गजलका शेरहरू–

बा–आमाबाट छोरोलाई छुटाई
बुहारीको त्यो रातो साडीले लग्यो
गजल २ पृष्ठ २४

अंशवण्डा बाडिएको समाचार आउँछ
बाउछोरा टाढिएको समाचार आउँछ
गजल ९पृष्ठ ३१

बाउलाई हप्काएको देखें
छोरामा कुनै सभ्यता छैन
गजल १४ पृष्ठ ३६

समाजमा मानिसको जन्मभन्दा
खुनी, अपराधीको उत्पत्ती सुनिन्छ
गजल ४७ पृष्ठ ६९

माथका गजलका शेरहरूको अध्ययनले नै प्रष्ट पार्दछ कि हरेक घर घरमा द्वन्द्व छ । समाजमा सज्जनभन्दा खुनी अपराधीहरूको संख्या बढ्दो रूपमा छ । छोराबुहारीले आफ्ना आमाबाबुप्रति निभाउनु पर्ने आफ्नो दायित्व तथा सामाजिक मर्यदाभन्दा बाहिरएका छन् । सामाजिक मूल्य र मान्यतामा ह्रास देखिन्छ ।

राष्ट्र र राष्ट्रियता र गजलकार

राष्ट्र राष्ट्रियताप्रति गजलकारको गहिरो चासो देखिन्छ । देश हाक्ने राज्यशक्तिले हो । राज्यशक्तिमा लाग्नेहरूले राज्यमा सुशासन चलाएर जनतालाई राहत दिनन्भन्दा आहतको पोका बाँडिरहेका छन् । सहमतिको नाममा विमतिका भजन गाइरहेका छन् । द्वन्द्वले देशलाई जर जर बनाएको छ । देशलाई थाम्ने भनेका युवाशक्तिले हो तर देशका कतिपय युवालाई देशमा चलेको युद्धले लग्यो भने कतिपय युवाहरू खाडीमा पुगेका छन् । यस देशमा बाजी मार्न दकुर्नेहरूमा कसले बाजी मार्छ भन्न गाह्रो छ किनकि भाइृ भाइको युद्धमा जित कसैको हुँदैन, त्यहाँ हुने भनेको हारैहार हो । यी सबै घटनामा गजलकारको सहमति छैन । गजलकार भन्दछन् –

कसले बाजी मार्छ भन्न छ गारो
को जित्छ को हार्छ भन्न छ गारो
गजल १ पृष्ठ २३

खिइएछ खुकुरीको राष्ट्रवाद
कता पट्टि धार छ भन्न छ गारो
गजल १ पृष्ठ २३

भत्ता– सत्ता र स्वार्थको राजनीतिले
कयौं जनता महङ्गीको घेरामा छन्
गजल २८ पृष्ठ ५०

कोही घरमा छन् कोही डेरामा छन्
जहाँ भए पनि नेपाली अँधेरामा छन्
गजल २८ पृष्ठ ५०

आज आन्तरिक द्वन्द्व र भाइ भाइ बीचको अन्तर कलहले गर्दा छिमेकी र अन्तर्राष्ट्रिय क्षेत्रबाट राष्ट्रमा देखिएको बढ््दो हस्तक्षेपबाट देशले मुक्ति पाउन पर्छ भन्ने धारणा गजलकारको छ । गजलकारले मार्मिक प्रस्तुति यस प्रकार गरेका छन्–

दाजुभाइ लडेपछि घर भाड्न
अरुलाई पनि आधार बढ्न थाल्यो
गजल ४४ पृष्ठ ६६

देशको पर्खाल धरापमा परेछ
सुस्ताको नेपाल धरापमा परेछ
गजल ४५ पृष्ठ ६७

राष्ट्रवादी नारा चर्काउनेको घर
सीमाको सवाल धरापमा परेछ
गजल ४५ पृष्ठ ६७

गजलकारका यस्ता राष्ट्र र राष्ट्रियताप्रतिका गहन अभिव्यक्तिहरू हामीले अरु पनि पढ्न पाउँछौं । गजलवजकारले खुकुरीको राष्ट्रवाद खिइएको पाएका छन् । जबसम्म राष्ट्रियता सवल हुँदैन तबसम्म राष्ट्र सवल हुन सक्दैन । गजलकारले कलमको आधारमा देशमा परिवर्तन चाहान्छन् नकि छुराबाट । उनले छुरालाई आफू कलम भएर हाँन्क दिन्छन् र भन्छन् –'माटोको कसम खाएर नतिजा जस्तो आए पनि स्वीकार्छु भनी आऊ युद्ध गरौ' । यो सबैलाई थाहा भएकै कुरा हो कि गोलीको प्रभाव क्षणिक हुन्छ तर कलमको प्रभाव दीर्घ र प्रभावकारी हुन्छ । गजलकारले विस्तारवादप्रति पनि कटाक्ष गरेका छन् ।

कानूनी राज्यको अवधारणा र गजलकार

देश कानुको आधारमा चल्नु पर्छ । जनताले शान्ति सुरक्षा पाउनु पर्छ । कानूनले देशलाई डोर्याउन सकेन भने त्यहाँ अराजकता बढ्छ । त्यस्तो कानूनको कुनै औचित्य रहदैन । गजलकारले कानूनप्रति तीखो व्यङ्ग कसेका छन् र लक्षित गर्दै भन्छन्–

न्याएको पक्षमा बोल्न नसक्ने अन्धो
कानूनले फाँसी खोज्ने छ एक दिन
गजल २२ पृष्ठ ४४

कानूनले आँखामा पट्टी बाँधेर हो कि
न्यायमाथि नै बलत्कार बढ्न थाल्यो
गजल ४४ पृष्ठ ६६

गजलमा विविधता

गजलकारले हरेक क्षेत्रलाई अवलोकन गरेका छन् । हरेक क्षेत्रमा विकृति पाएका छन् र त्यसको सुधारको लागि आफ्ना धारणा राख्दै लेखकीय धर्मको पालना गरेका छन् । उनले ऐतिहासिक पुरातात्विक बस्तु कवाडीले लानु, जिन्दगीको भोगाइमा जिन्दी नै विगार्नु तथा उन्नती नै विगार्नु, जातीय विभेद, जलको धनी देशमा विधुत्को अभाव, जनआन्दोलनमा भएका घाइलेका कुरा, किसानको खेत जमिन्दारले हिल्याउने कुरा, पार्टपूर्जा र पाङ्ग्रा हराए पनि जहाज नयाँ नै भएको कुरा, धनी र गरिबका भोजनका कुरा, समाजमा देखिएको असमनताका कुरा, धर्ती जून बन्ने, पित्तल सुन बन्ने, मायाको कानून बन्ने, गुन बाटै बैगुन बन्ने, कार्टुन बन्ने, चेली लुटिएका, पत्रकार मारिएर पुरिएको र पत्रकारितामा शुद्धताका कुरा, रोजगारका कुरा, गास, वास कपासका कुरा, मानवमा हुनुपर्ने दृढता, क्षमता र ममताका कुरा, नेतै नेताको देशमा जनताको अभावका कुरा, फूलका कुरा, इतिहास र विश्वास ढलेका कुरा, मानिसले मात्र नभएर दैवले पनि हतियार उठाएका कुरा, कर्णलाई अर्जुनले छलेर मारेका कुरा, अधिकार र आवाज लुटका कुरा, रातो राहदानी बेचेका कुरा, जवानी बेचेका कुरा, राजधानी बेच्ने कुरा, आदि विविध विषयमा गजलकारले औंला ठड्याएका छन् र विकृतिलाई सुधार गर्नको लागि आफ्नो धारणा पोखेका छन् । यिनको गजल लेखाईमा विभिधता पाइन्छ ।

अन्त्यमा, गजलकारको यो कृति पहिलो भए पनि गजल मार्मिक छन् । गजलकारले हरेक क्षेत्रमा आफ्नो विवेको लगानी गरेका छन् । सुन्दर शैली अपनाएर आफ्नो क्षमताको प्रदर्शन गरेका छन् । गजलको क्षेत्रमा नयाँ प्रस्तुतिको साथमा आफ्नो नाम दर्ता गराएकोमा निरन्तरताको लागि शुभकामना दिंदै बिदा हुन्छु ।

धन्यवाद,
सदानन्द अभागी
मिति २०७१ साल वैशाख ८ गते,
कावासोती–१, शान्तिचोक, नवलपरासीं

समकालीन नेपाली गजल २०६८को संछिप्त विवेचना

परिचय
समकालीन नेपाली गजलको सम्पादन बरिष्ठ गजलकार, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष, हाम्रो मझेरी, पुष्पाञ्जलि, गजलविम्ब, गजलदीप, गजलयात्रा (१) गजलयात्रा (२), गजलगङ्गा, समयका स्वरहरूका सम्पादनकर्ता पुष्प अधिकारी अञ्जलिबाट भएको हो। बास्तबमा नेपाली गजलको इतिहासलाई केलाउने हो भने मोतीराम भट्टले १९४०मा गजललाई नेपालमा भित्र्याए र २००२सम्म गजलले नेपालमा खुट्टा गाड्यो। २००२ देखि २०३५सम्म नेपाली गजल गुप्तबासमा रह्यो अर्थात गजलले गति लिन सकेन जसलाई हामी नेपाली गजलको विलुप्त कालको रूपमा गणना गर्दछौं। त्यसपछि बि.संस २०३५साल असौजको रूपरेखा पत्रिकामा प्रकाशित ज्ञानुवाकर पौडेलको तीन शेरको रचनालाई आधुनिक गजलको रूपमा ग्रहण गरिएको छ र २०३६ सालदेखि नेपाली गजलको ज्ञानुवाकरको आधार लिएर पुनर्जागरण कालकोरूपमा लिइन्छ। बि.सं. २०५१देखि हालसम्म उर्बरक कालमा गणना गरिएकोमा, यो काललाई पुष्प अधिकारी 'अञ्जलिले गजलमा ल्याएको क्रान्तिलाई बि.सं. २०६०लाई आधार बनाई गजलको क्रान्तिकारी चरणभन्दा पुष्पको साहित्यप्रतिको लगावको मूल्याङ्कन पनि हुने र यसलाई नि:सङ्कोच स्वीकार्नु जरुरी भएको अवधारणा बिर्खे अन्जानले राखेका छन्। गजलको कालक्रमिक विभाजनलाई समकालीन नेपाली गजलमा पुष्प अधिकारी अञ्जलिले नेपाली गजललाई डाक्टर घनश्यम परिश्रमीको उदाहरण दिंदै तीन चरणमा विभाजन गरिएको छ भने शिव प्रणतले भने नेपाली गजलको कालक्रमिक विभाजनलाई चार भागमा विभाजन गरेको पाइन्छ।

कालक्रमिक विभाजनको स्वरूप
घनश्याम परिश्रमिकको विभाजन
पुनर्जागरण चरण बि.सं साल २०३५देखि २०४१सम्म
गतिशील चरण बि.सं साल २०४२ देखि २०५०सम्म
विकासशील चरण बि.सं साल २०५१ द्येखि हालसम्म

शिव प्रणतको विभाजन
प्रथम चरण (प्रारम्भिक काल), बि.सं साल १९४० देखि २००२
द्वितीय चरण (बिलुप्त काल) बि.सं साल २००२ देखि २०३५
तृतीय चरण (पुनर्जागरण काल बि.सं साल २०३६ देखि २०५०
चतुर्थ चरण (उर्बरक काल अर्था विकास काल २०५१ आजसम्म

भनिएको पनि छ कि काल क्रमिक विभाजनमा सबै एकमत नरहेको र कसैले ज्ञानुवाकर पौडेलभन्दा पूर्व र उत्तर गरी दुई कालमा बिभाजन गरेको पनि हामीले अध्ययन गर्न पाउँछौं भने कसैले भीमनिधि तिवारीलाई केन्द्र मानेर पूर्व र उत्तर गरी दुई कालमा बिभाजन गरेको पनि अध्ययन गर्न पाइन्छ। कसैले त्रिकालीन बिभाजनमा मोतीराम देखि भीमनिधि तिवारीसम्म प्राथमिक काल, भीमनिधिदेखि ज्ञानुवाकरसम्म माध्यमिक काल, ज्ञानुवाकर पौडेलदेखि आधुनिक काल भनी विभाजन पनि गरेको पाइन्छ। डा. घनश्याम परिश्रमीको विभाजनमा प्रथम चरण (प्रारम्भिक काल), गजललाई मोतीरामले भित्र्याएर स्थापित गरे देखि द्वितीय चरण (बिलुप्त काल) जुनबेला गजल लेखन प्राय थिएन भने पनि हुन्छ, गणनामा देखिदैन। २०५१ देखि यताको कालमा गजल लेखनको काम तीब्ररूपमा भएको छ र यस समयको गजल लेखनलाई पुष्प अधिकारी अञ्जलिको लेखाईमा– 'झण्डै २, ००, ०००जति स्रष्टाले गजलमा कलम चलाएको पाइन्छ भने ४, ०००जति गजलका सङ्ग्रहहरू प्रकाशि भएको अनुमान गर्न सकिन्छ।' यसरी नै नवराज लम्सालले शुभकामना क्रममा लेख्नुहुछ २०हजार गजलकार छन्। आजका गजलकार र गजल कृतिहरूको संख्या नै कति भनी आङ्कलन गर्न सकिने अवस्थामा छैन किनकि देश, प्रदेश, जहाँ नेपाली साहित्यिकमनहरू पुगेका छन् त्यहाँ साहित्यिक कृयाकलापहरू भै नै रहेका छन् र सबै ठाउँ नै गजलमय भएको छ। पुष्प र नवराजको तथ्याङ्क बाझएको कुरालाई यो पक्तिकारलें पुष्पसँग टेलिफोनमा जिज्ञासा राख्दा नवराजको तथ्यांक पुरानो (रेडियो नेपालमा नवराज कार्यरत हुँदाको) र उनको तथ्याङ्क वर्तमान रहेको जानकारी प्राप्त भएको व्यहोरा अनुरोध गर्न चाहन्छु।

त्यसो हुँदा आजको नेपाली गजललाई कालक्रमिक विभाजनमा विभाजनको लागि विभाजन नभै न्यायोचित विभाजनको आधारमा जानु आवश्यक छ। नेपाली गजलले आज आएर २०६० यता पाँचौं चरणमा (गजल लेखनको क्रान्तिकारी चरणमा) प्रवेश गरेको छ भन्नु अतियुक्ति नहोला। यसमा मैले २०६० एताको गजल लेखनले आजको युग, लेखाई, सामाजिक, आर्थिक, राजनैतिक, भौगोलिक, विश्वव्वापीकरण घटना आदिलाई आत्मसात गरेर, हिजोको गजलको मान्यतामा प्रेयसीको गुणगान नभै विविधतमा गजल लेखिएका छन्। समाजमा धेरै परिवर्तन आएको छ। गजल लेखनमा पनि परिवर्तन आएको छ। यसलाई समयसापेक्ष मूल्याङ्कन हुनु आवश्यक छ भन्ने मेरो मान्यता हो।
समकालीन नेपाली गजलभित्र पस्दा समकालीन नेपाली गजल २०६८को विषयसूचीमा प्रवेश गर्दा शुभकामनाक्रम र स्रष्टाक्रम भनी दुई भागमा विभाजन गरेको देखिन्छ। शुभकामनाक्रममा सम्पादकीय र भूमिका स्वय म सम्पादक पुष्पअधिकारी 'अञ्जलि'ले लेखेका छन्। अधिकारीले परिचर्चामा 'आजको युवापुस्ता गजलको भविष्य हो' भनेका छन् र उनको जस्तो भनाइ छ त्यस्तै गराइ छ। देशभरीका युवापुस्तालाई गजलमा शरिक बनाएर, पुरस्कृत गरेर, अभिनन्दन गरेर, यिनले देश नै गजलमय बनाएका छन्। परिचर्चामा गजलको परिचय दिने काम भएको छ। समकालीन नेपाली गजलको संरचनागत स्वरूप उपशीर्षक दिएर लेखनमा पूरै देश गजलमय भएको छ भनेका छन् । बास्तवमा गजलज्ञाताहरूले यसको अध्ययन हुन आवश्यक छ किनकि अलिकति अक्षर चिनेको युवा–युवतीहरूद्वारा घरघरमा गजल लेखिन थालेका छन्। गजल कसेरी लेखिन्छ, कस्तो हुन्छ/ हुनुपर्दछ आदि गहिरो अध्ययन विना नै गजल लेखन भएको देखिन्छ। पुष्प अभिखारी अञ्जलिले त्यस समयमा प्रकाशन भएका कृतिहरू, गजलकारहरू, गजलमा संलग्न पत्रपत्रिकाहरू, गजल सम्बन्धी संघसंस्थाहरूको विवरण समकालीन नेपाली गजलको सम्पादकीय/भूमिकामा प्रस्तुत गरेका छन्।

संरचनागत एव म विषयगत पवृत्ति उपशीर्षक दिएर पुष्पजी लेख्छन् –'संरचना भनेको गजलको स्वरूप अर्थात ढाँचा हो। सम्बन्धित विषयबस्तुहरूको बनोट नै संरचना भनिन्छ।..खास गरी गजलमा स्वतन्त्र एव म अर्थपूर्ण भाव र गहनतम शब्दहरूको सिर्जना हुनु जरुरी छ ।....गजल परम्पराबाट अहिले नवीन मोडतर्फ आएको छ। .......कसैको गजलमा देश छ, माटो छ, आमा र धर्ती छ, कसैको गजलमा माया छ, स्नेह छ, घात–प्रतिघात, जीवनदर्शन, र सामाजिक कुरीति र विसङ्गति छ। कहीं वर्तमान समयका श्वरहरू, राजनैतिक खेल, विद्रोह विरोधाभासाहरू छन्। हामी सबैको चाहना हुन्छ, राम्रो, गुणस्तरीय र सबैको मन छुने रचना गर्न सकूँ – यिनै चिन्तनहरूको यो एउटा राष्ट्रिय संयुक्त गजलसङ्ग्रह भएर प्रकाशित भएको छ समकालीन नेपाली गजल २०६८।' निष्कर्ष उपशीर्षकमा पुष्प लेख्छन् –'समकालीन नेपाली गजल आधुनिक नेपाली गजलविधाको एउटा प्रतिनिधि सङ्ग्रह हो। यसमा अग्रत पुस्ता, वर्तमान पुस्ता, र भावी पुस्ता तीन चरणका समसामयिक नेपाली गजलहरूको दस्तावेज बनेको छ। ..पूर्वका मेची देखि सुदूरपश्चिमको महाकाली सम्मका गजलकारहरू समेत गरी जम्मा १२९ जना स्रष्टाहरूको गजल समावेश गरिएको छ।' यस लेखमा सहयोगीहरूलाई धन्यवाद र सन्दर्भसूचीहरू सहित पुष्पको अभिव्यक्ति समाप्त हुन्छ तापनि यसमा धेरै विषयबस्तुहरू समावेश गरिएका छन्, जो यस विवेचनामा सबै समेट्न सकिएको छैन।

शुभकामनाक्रममा – शुभकामनाक्रमलाई पनि हामीले तीन भागमा विभाजन गरेर अध्ययन गर्नु पर्ने देखिन्छ। किनकि कसैले गजलकार तथा सम्पादक पुष्पको व्याक्तित्व र कृतित्वमा प्रकाश पारेका छन् भने कसैले गजल कस्तो हुनुपर्दछ (गजलको विविधता) र गजल के हो (परिभाषा दिएर) भनेर लेखेको पाइन्छ। जे होस व्यक्ति विषेषको अभिव्यक्तिका शब्दहरू यहाँ मैले प्रस्तुत गर्न गैरहेको छु।

गजलकार तथा सम्पादक पुष्पको व्याक्तित्व र कृतित्व
विभिन्न साहित्यकारले दिएको शुभकामनामा पुष्प र गजलको बारेमा विविध खाले प्रस्तुति हामीले पढ्न पाउँछौं। विवेचना भन्ने शब्द जोडेर लेख्दा मैले पनि केही न केही प्रस्तुति गनुपर्ने हुन्छ। बास्तवमा धेरै वर्ष नभए पनि सात/आठ वर्ष देखि पुष्पका हरेक कार्यक्रममा सहभागी भएर हेरिरहेको छु। उनका हरेक प्रकाशनमा मलाई पाएको छु। उनको गजल प्रतिको लगाव र पूर्व मेची देखि महाकाली, म जहाँ पुगें, त्यहाँ उनको नाम युवा तथा युवतीहरूबाट अघि सारेको पाएँ। जसले गर्दा, लक्ष्मी–स्मृति साहित्य समाजको अध्यक्षको नाताले उनलाई अभिनन्दन गर्ने सुवर्ण मौका पनि पाएँ। संक्षेपमा भन्नुपर्दा मैले पुष्पलाई आजको गजलक्रान्तिको लागि जनक–जानकीको सिङ्गोरूपमा लिएको छु। जनक र जानकी दुवै मिलेर सन्तान उत्पन्न गर्दछन् भने पुष्प एक्लैले गजलकारहरू जन्माइरहेका छन्। आजको गजलमा क्रान्ति ल्याउनको लागि चितवनका दुईवटा संस्था र दुई जना व्यक्तिलाई मैले भुल्न सक्दिन (हुनत चितवनका सबै संस्थाहरू कोहीभन्दा कोही कम छैनन्)। एउटा नाम हो हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा समकालीन नेपाली गजल २०६८का सम्पादक पुष्प अधिकारी 'अञ्जलि' जसले पूर्व मेची देखि पश्चिम महाकाली उत्तर हिमाल देखि दक्षिण दशगजासम्मका युवायुवतीहरूलाई गजलक्रान्तिमा सहभागी गराउन गजल कार्यक्रममा सरिक बनाएर पुरस्कृत गरेर अगाडि बढिरहेका छन् भने अर्का व्यक्ति भनेका पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साइँलो जसले वयोबृद्ध स्रष्टाहरू खोजीखोजी अभिनन्दन गरिरहेका छन्। यी दुवै स्रष्टाको जति गुणगान गाए पनि थोरै हुन्छ। अब पुष्पको बारेमा कस्कस्ले के भनेका छन् त्यसमा सहभागी बनौ।

गजलकार तथा सम्पादक पुष्प अधिकारीको बारेमा प्रकाश आङ्देम्बे लेख्नुहुन्छ –'पुष्प अञ्जली सिर्जनामात्र गर्दै्नन् बरु सृजनशील माहोल बनाउँछन् र हजारौ स्रष्टाहरू जन्माउँछन्। मेची र कालीको सङ्गम बन्दछन्।'
प्रभाकर पण्डित लेख्नुहुन्छ –'पुष्पजी नेपाली साहित्यका हिमनदी हुन् जो कहिल्यै अडिन र सुक्न जान्दैन।
उज्ज्वल जी. सी. लेख्नुहुन्छ –'अँझ युवा गजलकार पुष्प अधिकारी 'अञ्जलि'ले तन मन धन नै खर्चेर यस विधामा आफूलाई समर्पित गरेको देख्दा म मनमनै भन्ने गर्छु यस्ता व्यक्तिहरू पूर्व मेची देखि पश्चिम महाकालीसम्म आठ /दश जनामात्र हुनेहो भने नेपाली गजल सायद विश्वभर फैलन सक्थ्यो कि?'
हयग्रीव आचार्य लेख्नुहुन्छ –'सूर्यमुखी फूलजस्तै –
पुष्पजस्तै पुष्प तिमी फुल्दै–फुल्दै जाऊ
फूलभित्र परागजस्तै घुल्दै घुल्दै जाऊ
कालिका एफ एम स्टेसन मनेजर रिना गुरुङ्ग लेख्नुहुन्छ – 'शव्दहरूका पुष्पगुच्छा पुष्प 'अञ्जलिलाई' धनराज गिरी लेख्नुहुन्छ – 'यसरी देशभरिको प्रतिनिधि स्रष्टाहरूका रचनाहरू सङ्कलन गरेर यति राम्रो कृति प्रकाशन गर्नु र यसरी स्रष्टा साधकहरूको सम्मान अभिनन्दन र पुरस्कृत गर्नु राज्यलाई चुनौती दिनु पनि हो।' श्रेष्ठ प्रिया पत्थर लेख्नुहुन्छ– 'साहित्यप्रतिको पुष्प अधिकारी 'अञ्जलि'को जोश जाँगर र उत्साहलाई म हृदयदेखि नै अभिनन्दन गर्दछु।'
वियोगी बुढाथोकी लेख्नुहुन्छ–'वर्तमान नेपाली साहित्यिक फाँटमा गजलविधाले संख्यात्मक र गुणात्मकरूपमा अपत्यारिलो किसिमले निकै उचाई थपेको छ। यसको विकास र बिस्तारमा ....चितवनको सकृयता लोभ लाग्दो छ। अँझै इर्ष्यालाग्दो काम गजलकार एव म साहित्यिक पत्रकार पुष्प अधिकारी 'अञ्जलि'ले यो समकालीन नेपाली गजल प्रकाशन गरेर सिद्ध गरेका छन्।'
दीपक समीप लेख्नुहुन्छ – 'पुष्पजी एकदिन त्यो समय आउने छ र राष्ट्रले उच्च मूल्याङ्याकन गर्ने छ। त्यो मूल्याङ्कनमा साहित्यकारहरू पहिलो दर्जाको नागरिक हुनेछन्।'
नविन दाहाल लेख्नुहुन्छ –'चितवनबाट पूर्व मेची र पश्चिम महाकालीसम्म पुगेको पुष्प अधिकारी अञ्जलिको नामसँगै गजलको व्यापकतामा उहाँको कामको प्रशंसा पनि उत्तिकै छ।' अत उपरोक्त स्रष्टा अभिव्यक्तिमा समकालीन गजलको बारेमा शुभकामना दिनेकामको साथै गजलको बारेमा पनि धेरै कुराहरू लेखिएका छन् जो यहाँ प्रस्तुत गरिएको छैन।

विर्खे अन्जानको सारगर्भित लेखका केही युक्तिहरू:– विर्खे अन्जानको साढे चार पृष्ठको पुष्पको व्यक्तित्व, कृतित्व र गजलमा पुर्‍याएको योगदानको बारेमा लेखिएको सारगर्भित लेखको शारांसमा भन्नुपर्दा वि.सं. २०६०यता गजल लेखनमा ल्याइएको क्रान्तिको अग्रसरताको मूल्याङ्कनमा मोतीराम भट्ट, ज्ञानुवाकर पौडेल, सरह नै पुष्पको स्थान हुनुपर्नेमा कसैले कञ्जुस्याइँ गर्न नहुने अभिव्यक्ति आएको छ। विर्खे अन्जानका केही अभिव्यक्तिहरू यसप्रकार छन् –
- गजलक्रान्तिका संवाहक पुष्प अञ्जली ।
- स्रष्टा र सिर्जनाका लागि पुष्प एउटा उत्साह र जोशको किरण हो।
- मोफसलको कुनाकाप्चामा स्रष्टाहरूको खोज र अनुसन्धानमा पनि पुष्पको नाम अग्रस्थानमा छ।
- साठीका दशकपूर्वका समय अवधिलाई नेपाली गजल समालोचकहरूले जुन–जुन युगको नामाकरण गरे तापनि नेपाली साहित्यको वर्तमान युग भनेको गजल क्रान्तिको युग हो र यसको प्रारम्भ साठीको सुभारम्भदेखि नै भएको पाइन्छ।

प्रत्येक वर्ष नयाँ अनुहार, नयाँ स्वाद र छवि बोकेका स्रष्टाको खोजी गर्दै निरन्तर लेखनमा सक्रिय स्रष्टाहरूसँग हातेमालो गरी साठी दशकमा उनको सक्रियता बढ्यो उनीभन्दा पहिले यस्तो माहोल, स्थिति र खोजी कोही कसैले पनि नगरेको हुँदा यिनलाई आधुनिक मोतीराम र गजलक्रान्तिका संवाहकभन्दा अतियुक्ति न होला।

" ....अब हामीले साठीको दशकमा पुष्पले गजलमा क्रान्तिकारी ढङ्गले शुभारम्भ गर्नुभएको छ, त्यसलाई पनि विना पूर्वाग्रही ढङ्गले उनको योगदान सक्रियता, अथक लगन र परिश्रमलाई पनि नि:सङ्कोच स्वीकार्नु जरुरी छ।

उपरोक्त यथार्थतालाई मध्यनजर राख्दै, यस पंक्तिकारले पनि गजलहरूको विवेचनामा आजको गजल लेखनको तीब्रता, विविधता, समयको परिवर्तन र गजलक्रान्तिलाई मनन गर्दै कालक्रमिक विभाजनको कुराहरू उठाउँदै आएको थियो। अब त स्वयं गजलको गतिशीलता पाँचौं चरणमा प्रवेश भन्न न्यायोचित होलाजस्तो लाग्यो। गजलको शिव प्रणतको विभाजनमा वि.स २०५१ देखि२०६०सम्म विकास काल र २०६१ देखि यताको चरणलाई गजलक्रान्तिको युग भनी पाँचौ चरणमा गणनागर्नु मनासिव होला जस्तो लाग्यो
पुष्पको कृतित्वको पुष्पको लेखन गजल, कविता, कथा, निबन्ध, समालोचना, विविध विधामा हात चलेको छ र पुष्पको सम्पादन समन्धी कुराहरू त मैले माथि नै लेखिसकेको छु भने उनका एकल प्रकाशनका कृतिहरूको नाम मात्र यहाँ प्रस्तुत गर्न चाहन्छु। मनभित्रको मन, स्वप्नील नयन, एक अञ्जुलि घाम, जूनफुलेको बस्ती, मनको तृष्णा पुष्पका एकल कृतिहरू हुन् भने म कवितामा देश खोजिरहेछु......यथाशीघ्र प्रकाशित हुनेकुरा जानकारीमा आएको छ।

गजल विविध :-
शुभकामनाक्रममा नै गजलका विविध पक्षमा साहित्यकारहरूको अभिव्यक्तिलाई यहाँ प्रस्तुत गर्न लागिएको छ।

प्रकाश सायमी लेख्नुहुन्छ :-'गजलको आफ्नै गन्ध हुन्छ, आफ्नै छन्द हुन्छ र त्यसको आफ्नै सुगन्ध हुन्छ, यसलाई हामी गजलकारहरूले नै यसको अस्तित्व जोगाई राख्नुपर्छ'
कृष्णहरि बराल लेख्नुहुन्छ:–'गजल र टुँडिखेल एकअर्को बीचार शीर्षकहरूको पृष्ठभूमि हो। उद्धृत रङहरूको स्वर्णसूत्र हो। समयले भोगेको फरक अनुभूतिहरूको दस्तावेज हो गजल।'
बूद राना लेख्नुहुन्छ :- 'मुलुकमा यतिखेर सरगम उराल्ने प्रतिस्पर्धा चलिरहेको छ। शब्दस्वर र सुरका हुलकाहुल प्रतिभाशाली कर्मीहरू आफ्नो क्षमताको प्रतिस्पर्धा गरिरहेछन् गजलमा। इतिहास कहिलेकाहीँ समवेत आवाजहरूको मुर्च्छनाजस्तै लाग्छ। गजल आस्था र अस्तित्वको पहाड हो।'
ललिजन रावल लेख्नुहन्छ:–'गजलहरूमा राष्ट्रिय मनस्थिति, स्वच्छ प्रेमानुभूति र जीवनदर्शन एव म वर्तमान भोगाइका पीडाहरू हुनुपर्छ त्यो नै शाश्वत गजल हो।'
मनु ब्राजाकी भन्नुहुन्छ :- 'बहिराहरूलाई पनि सुनाउन सक्ने क्षमताको पूर्वाभास गजलमा हुनुपर्दछ। धर्तीको धून समग्रमा देशमाथि वर्णित शक्ति उत्कर्ष हो। प्राञ्जलभन्दा पनि भाषिक सरलता गजलको अनिवार्य तत्व हो अन्यथा शब्दकोश पल्टाएर गीत गजल कसैले पढ्दैन र सुन्दैन पनि।'
यसरी नै जगदीश शमशेर राणाले गजललाई नारीहरूको आँखाको गाजलको संज्ञा दिएका छन्। अलिकति भित्र आँखामा पुग्यो भने पोल्न थाल्छ, डिलदेखि बाहिर परे लतपतिएर रूप नै विगार्छ। औचित्यको यस्तो सूक्ष्म सन्तुलन गाजलमा जस्तै गजलमा पनिरहनुपर्छ।
खगेन्द्र गिरी 'कोपिला' लेख्नुहुन्छ :-'लाग्छ आजको गजल फ्लोरेन्स नाइटङगेल हो, तुलसी मेहर श्रेष्ठ हो र मदर टेरेसा हो।'
गोर्खे साइँलो लेख्नुहुन्छ :- 'आजको गजलमय युगमा हरेक मानिसहरू दिनानुदिन गजल रसको मोहमा पौडिने पौडीवाजहरूको भीड बढ्नुमा मुख्यतया तीन आधारभूत विषयबस्तु छन्। उपरोक्त विषयबस्तु केवल गजलमामात्र पाउन सकिन्छ। ती तीन विषयबस्तुका आधारहरूलाई १)इवारत २) इशारत ३) अदा भनिन्छ। इवारत भनेको गजल लेख्ने शैली, तरिका, बहर, गेयात्मकता र रफिद काफिया आदिको राम्रो संयोजन हुनु हो। त्यस्तै इशारत भनेको गजलमा प्रयोग हुने शब्द, विम्बालङ्कार, गजलको प्रतिक पहिचान र गजलले प्रष्ट पार्न खोजेको कुरा अर्थात आशय प्रकट हुँदै तखलुससम्म पुग्दाको अवस्थामा ध्यान पुर्‍याउनु जरुरी हुन्छ। अनि अदा भनेको गजलका प्रत्येक शेरहरूले कविताको जस्तो एउटै विषयबस्तुमा नगइकन प्रत्येक शेरले आ–आफ्नै विषयलाई मान्यता दिन्छ, कुनै पनि शेरसँग नवाझने गरी प्रस्तुत हुनुपर्दछ। यिनै त्रिपक्षीय सम्मेल मिलाएर लेखिएको गजल नै उत्तम र स्तरीय गजल मानिन्छ।'
सरुभक्त लेख्नुहुन्छ :- 'गजल सुन्दर अभिव्यक्तिको सुन्दर अभिव्यन्ज हो। यदि साहित्य फूलहरूको वगैंचा हो भने गजल त्यस वगैंचामा फुल्ने बहुरङ्गी फूलहरूको माला हो।'
गोविन्दराज विनोदी लेख्नुहुन्छ :-'प्रस्तुत समकालीन नेपाली गजल पछिल्लो समयको सङ्ग्रहणीय कृति हो। यसभित्र समेटिएका गजलहरूले नेपाली गजलको समकालीन प्रवृतिलाई आत्मसात गर्दै युग र जीवनको कलापूर्ण अभिव्यक्ति प्रस्तुत गरेका छन्।'
नवराज लम्साल लेख्नुहुन्छ : गजल गजलहुने बाटोमा बाक्लिएरै हिडेको छ। आज झण्डै २० हजार गजलकार छन्। २० वर्ष पछि तीमध्ये कति गजलमै रहलान्, कतिले आफूले आफैँलाई समय छोएर बगेको पाउलान्, वा कतिले कुनै दिन आफ्ना गजलहीन गजलका चाङ टेकेर समय एक्लै कतै उभिइहेको पाउलान्। समय पर्खनु पर्छ सिर्जनाको दौड एक सय मीटरको म्याराथुन हैन तत्काल जिते जितिने नत्र हारिने।'
कालिका एफ एम स्टेसन मनेजर रिना गुरुङ्ग लेख्नुहुन्छ:– गजलले एक फरक किसिमको आफ्नै स्वाद बोकेको हुन्छ।'

समकालीन नेपाली गजल २०६८का स्रष्टाक्रमका सबै गजलकारहरूको गजल प्रतिको दृष्टिकोण के कस्तो छ त?अब त्यतातिर लाग्नु राम्रो होला !

समकालीन नेपाली गजल २०६८समावेशी गजलकारहरूले प्रस्तुत गरेका गजल प्रतिका दृष्टिकोण यसप्रकार छन्–
अमला अधिकारी (सिन्धली)– जीवन र जगतको मानवीय अनुभूति जो सरल सहज र सुललित भावशैलीमा छोटो संरचनामा व्यक्त हुन्छ।
अस्मिता भट्टराई (चितवन):- गजल अन्य साहित्यविधाको तुलनामा छिटो मीठो, रसिलो र कसिलो विधा हो।'
अमृता ठकुरी 'चाँदनी शाह' (कैलाली) :- साधना र साहित्यको सङ्गम।'
अमृता शर्मा (बागलुङ्ग):– हरेक मोडको भावनात्मक सारथि।
इन्द्रलाल श्रेष्ठ अद्वितीय (चितवन):–थोरै शब्दावली, र बाक्यांशमा धेरै भावनाहरू व्यक्त हुने परिधि अन्तरर्गत रहेर तयार पारिने अलग्गै रस र स्वादले भरिएको छुट्टै विधा भन्ने मलाई लाग्छ गजलविधा।'
युवराज सुवेदी (श्याङ्जा):–गजल त्यस्तो साहित्यिक विधा हो, जस्ले तत्काल हरेक व्यक्तिको मनमस्तिष्कमा गहिरो छाप छोड्न सक्छ।'
उमा शर्मा (काठमाण्डौ):–अन्तरमनको छालहरूको मीठास पूर्ण र सङ्क्षिप्त प्रस्तुति।
यासिका राई (धनकुटा):– धेरै कुरा थोरै शब्दमा अभिव्यक्त गर्न सकिने कलात्मक अभिव्यक्ति हो गजल।
कल्पना गौतम कल्पु (इलाम), शब्दहरूको एउटा फूलबारी जसमा भवनाको पुष्प लहराउँछ।
कृष्णादेवी शर्मा (श्रेष्ठ) (नवलपरासी):–'सुललित शब्द प्रयोग गरी कुनै पनि विषयलाई समेटेर लेखिने एउटा गायत्मक विधा हो।'
कृपा अधिकारी कृति: थोरै शब्दबाट धेरै भाव समेटन सकिने।
केशबप्रसाद न्यौपाने सानु' (नुवाकोट):–'जीवन र जगतप्रतिका हेराइ र भोगागाइलाई सटिक पारामा पस्किने कलात्मक सिर्जना हो गजल।'
गणेश वि. क. 'विरहीह' (रुकुम):–'सकरात्मक जिन्दगीको सहाराजस्तै।'
गणेश विष्ट 'स्वप्निल' (कैलाली) :- 'गजल साहित्यको सबैभन्दा मीठो विधा हो।'
गिरिराज बाँस्कोटा, (पाँचथर):– 'थोरैशब्दमा धेरै अभिव्यक्ति दिन।'
गोविन्दराज भट्ट निर्मल (मोरङ)– 'जीवन र जगतका यावत पक्षहरूको सरस र सुरुचिपूर्ण प्रस्तुति गरिने भावनात्मक कोमलता।'
क्षत्रराज पाठक 'कमल' (डोटी):– 'गजल नेपाली भाषामा लेख्न सजिलो, पढ्न र गाउन सकिने विधाकोरूपमा लिन्छु।'
जीवन मल्ल 'असफल' (पर्बत):–'अन्तरआत्मबाट निस्केको मनको भावना।'
जगन्नमथ पौडेल 'नूतन' पर्वत :- 'भावगम्भीरता, श्रुतीसुखदता, साङ्गीतकता, अनि उठान बैठानको विशेष प्रस्तुति भएको साहित्यिक विधा।'
जुनबहादुर फगामी (पर्बत):– 'गजल यस्तो विधा हो जसले साहित्यका अरू क्षेत्रहरू पनि समेटेको हुन्छ।'
दीपा तिवारी 'दीक्षित' (सुर्खेत):–'समाज परिवर्तनको एक साहित्यिक विधा।'
डि. आर. शर्मा (पर्बत):– 'गजल सर्बव्यापी सुललित अभिव्यञ्जना हो।'
दिनेश नागारी (बैतडी):– 'ज्यादै उच्च सवल अनि सकरात्मक।'
देवी बि.सी 'दीक्षा (बर्दिया) :-' विचार अभिव्यक्तलाई नियमबद्धता प्रदान गरी लयमा प्रस्तुत एक सटिक र साहित्यको झ्याल गजल हो।'
नवराज शर्मा 'सन्देश' पर्वत, :– 'गजल जीवनका विविध माध्यमलाई बुझने मध्यम हो।'
नविनकुमार ऐर (बैतडी) :- 'सकरात्मक उच्च।'
प्रतिमा सुवेदी 'रूबी':–'जुनसुकै विषयबस्तुमा नियमभित्र रहेर सिर्जना गर्न सकिने एउटा विधा गजल हो।'
परिक्रमा गोविन्द श्रेष्ठ (धरान):–'मायाको मीठो अनुराग, प्रकृतिकै अनुपम सौगात, संजीवनी।'
प्रदीप चाम्लीङ्ग राई 'युगान्त जागरण':– साहित्य जीवनदर्शनको अभिव्यक्ति हो अभिव्यक्तिभित्रको प्रस्फुटित लेख सिर्जना हो, सिर्जनाभित्रको सुन्दर तथा लयात्मक सानो संरचनामा उभिने लिखित कुरा नै गजल हो।'
प्रेमप्रसाद चापागाइँ (इलाम):–'राम्रो अभिव्यक्तिको माध्यमजस्तै लाग्छ गजल।'
विजयराज ज्ञावली (नवलपरासी) :-'रफिद अनि काफियाको मीठो संयोजनबाट बनेको हृदयस्पर्शी भावको सँगालो।'
विष्णु तिवारी 'उषा' (चितवन):–'अन्तर्मनबाट प्रभावित कलात्मक अभिव्यक्ति हो।'
वीरेन्द्र पौडेल 'विवश बियोगी' तनहुँ :-'समयको माग अनुसार हुनुपर्छ।'
मञ्जु कोइराला 'अश्रु' (पर्सा) :-'गजल गेयात्मक विधा हो।'
माधव गिरी 'प्रवासी' (काठमाण्डौँ) :-'दुखसुख सङ्गम रफिद र काफियाको सुन्दर समायोजन हो गजल।'
मिलन ज्ञावली 'समीर' (स्याङ्जा):–'अन्तर मनको सुमधुर आवाज हो, जुन संरचनात्मक रूपमा काफिया, रफिदहरूसँगै शब्दहरूमा प्रकट हुन्छ।'
मिनबहादुर पुर्जा 'स्पन्दन' (पर्बत):–'साहित्यिक विधाहरूमध्ये सबैभन्दा लोकप्रिय विधा गजल हो।'
मोहनबहादुर थापा'संयोजन'कास्की:–'मन थाकेको बेला बिसौनी हो। मन दुख्दा, मन भत्कदाको मल्हम/साथी हो गजल।'
रमेशकुमार चन्द 'कुसुम' सुर्खेत:–'गजल साहित्य र समाजको एक अभिन्न अङ्ग हो। त्यसैले समाजप्रति हेर्ने हरेक दृष्टिकोण सकरात्मक र अर्थपूण हुनुपर्दछ।'
राजु वि.क. 'वृत' (पर्वत):–'हृदयको कलापूर्ण अभिव्यक्ति र सङ्गीतको सर्वोकृष्ट नमुना गजल हो।'
रामकृष्ण शर्मा ध्रुव' (पर्वत):–'देश काल र परिस्थितिको सशक्त माध्यम।'
राजकुमार माझी सिन्धुली :-'स्वच्छ मनको सुन्दर अभिव्यक्ति।'
रिता अधिकारी'चञ्चल ऋतुयात्री' (चितवन):–' गजल नारीको आँखाको गाजल हो।'
ऋषिराज शर्मा 'पौडेल', (सुर्खेत):– पत्रेदार फूल जसले धेरैलाई सम्मोहित गर्छ।'
रूद्रराज कँडेल (चितवन):–'रफिद र काफियाबाट भएकोलाई गजल भनिन्छ।'
ललिता अधिकारी आँसु, (पर्सा):– 'गजल मानव मनको ढुकढुकी हो। सम्भवत: कुनै पुस्ताबाट अछुतो नहोला।'
लक्ष्मी खनाल 'अभी' बर्दिया:– 'गजल आफैमा एउटा चोटिलो थोरै शब्दमा धेरै गहकिलो भाव व्यक्त गर्ने काव्यविधा हो।'
लीलानाथ पौडेल असन्तोषी (पर्वत):–'मानवीय अनुभूतिको कलात्मक, लयात्मक, सरल र सङ्क्षिप्त प्रस्तुति।'
लाली रामदान (बाग्लुङ):–'जिन्दगीलाई हेर्ने एउटा उज्यालो पाटो हो गजल।'
सावित्रा पोख्रेल 'सुमी' (झापा):–'गजल आँखाको गाजल हो।'
सदानन्द जैसी 'अभागी' (नवलपरासी):–'गजल हृदयको आकश हो।'
सीता न्यौपाने अनुरागी (मकवानपुर):–'निश्चित संरचनाभित्रको गेयात्मक माधुर्य, र चमत्कारपूर्ण जादु नै हो गजल।'
सुमित्रा राई (थुलुङ) संखुवासभा:–'गजलमै छ मैले बाँच्ने परिवेश जहाँ, परिवेश भित्र कुन कुन कुरा छैन र।'
सुदिप लामिछाने (पर्वत):–'साहित्यको उत्कृष्ट विधा जहाँ जीवनका सातै रङ अट्छन्।'
सनिता कार्की (पर्वत):–'मानिसको सुखदु:ख, मिलन, विछोडका अन्तरआत्मादेखि निस्केका शब्दहरूको लयात्मक अभिव्यक्ति।'
सुनिता राई (क्षितिज राई 'जलन'), (खोटाङ):– 'गजल अन्तरमनको प्रतिविम्ब एब म समाजिक परिवेश र मानवीय संवेदनाको उत्खनन गर्ने कडी हो।'
सुन्दर कार्की 'रोदन' (रौतहट):–'भाव र दृष्टिकोणको कलात्मक सँगालो।'
शोभासिंह ठकुरी (तनहुँ):–'विचार र अभिव्यक्तिकला।'
हेमा कार्की कञ्चन बाग्लुङ:–'अन्तरमनका अनुभूतिहरूको कलात्मक अभिव्यक्ति नै गजल हो।'
एकराज घिमिरे' एकु घिमिरे' (धरान):–'यान्त्रिक जीवनमा मानवता भर्ने एकमात्र लोकप्रिय साहित्यिक विधा।'
पुष्प अधिकारी 'अञ्जलि' (चितवन):–'हृदयभित्रको अलाप, सौन्दर्यको जलप, अभिव्यक्तिको मिश्रण।'
लेखाराम सापकोटा (नवलपरासी):–'पुष्पसरलाई जिम्मा'।
भानुभक्त सापकोटा 'अदृश्य प्रतिविम्ब' (नवलपरासी) :-लयात्मक पारामा मनका अभिव्यक्तिहरू कलात्मक ढङ्गबाट प्रस्तुत गरिने साहित्यिक आकर्षक प्राविधिक विधा गजल हो।'
रामशरण गजुरेल निशान (रसुवा):–'सकारात्मक र सुधारक।'
प्रतिभा महतार 'अर्पण' (जाजरकोट):– 'सृङ्गारिक, बस्तुवादी, प्रगतिवादी र जीवनवादी विधा हो।'
अमृतबहादुर पुन 'अञ्जान आँसु' (जाजरकोट):–'संरचनामा आधारित छोटो तर पूर्ण विषयबस्तु भएको गैयात्मक लयात्मक विधा हो।'
प्रशासन कुमार पुन 'भाष्कर काजी' (कीर्तिपुर):–'थोरै शब्दमा धेरै कुरा व्यक्त गर्न सकिने उत्कृष्ट विधा।'
कुमार धमला (सुनसरी):–'गजल जीवनको प्रतिविम्ब हो।'
सविता खाती 'अन्जान' (धनकुटा):–'युवापुस्ताले गजल अधिक मात्रामा लेखिरहँदा बाढी आयो भन्ने आरोप छ तर सङ्लोबनाउन पनि सजक र सचेत भएको पाउँछु म।'
सुरेश रोकाय 'अभिलाषी' (दैलेख):–'गजल एउटा लयात्मक र सुरिलो विधा हो।'
गणेश रोकाय 'स्मृति' (डोटी):–'एकदम राम्रो।'
सीताराम आचार्य 'सागर' (काभ्रे):–'मेरो विचारमा मनको वेदना पोख्ने थलो।'
परशुराम निरौला 'अन्जान यात्री' (मोरङ):- 'जीवनजगत्का अनुभूतिलाई छताछुल्ल पारी, पोखिएको मन–मस्तिष्क छुने गेयात्मक विधा नै गजल हो।'

अन्य : इन्द्रसुर राई 'बेलटारे' (भोजपुर), इरान राई (भोजपुर), कमला घिमिरे 'आँसु' (इलाम), करुणा राई (भोजपुर), कृष्णकुमारी शर्मा तनहुँ, गीता पुडासैनी (बेसीथोक), गणेशप्रसाद अधिकारी (फूलबारी), मकवानपुर, जूनतारा 'सङ्गम (स्याङ्जा), लोकहरि पाण्डे (स्याङ्जा), डिल्लीराम भण्डारी (स्याङ्जा), दीप बोहरा 'सुस्केरा' (बझाङ्), तारा पराजुली 'ढाका' (मोरङ), तिला गौतम (सङ्खुवासभा), कृष्ण पहाडी (पाल्पा), निर्मला पौड्याल (झापा), प्रभा बर्तौला अश्रु चितवन, (कैलाली), केशवराज आमोदी चितौन, हेमन्ति जोशी (धनगढी), मिलन बन्जारा चितवन, मुना राई भोजपुर, बाबु त्रिपाठी, शँभु ज्ञावली, अधिकारी'असिम' (पर्वत), नारायणप्रसाद कँडेल चितवन, सीता खड्का 'साधक' (बा.ना.पा.१, रामरेखा), जि.सी. शिला 'चाना' (बाग्लुङ), सुरेन्द्र घिमिरे 'वादल' (स्याङ्जा), सिजन लामा 'सोइसाल' (इलाम), विष्णुबहादुर सिंह अर्घाखाँची, दीपनाथ आचार्य चितवन, घनश्याम थेवे (धरान), मधु पोख्रेल, आरती पोख्रेल (झपा), हीरा गजुरेल 'स्पन्दन 'आँसु', कपिलमणि शर्मा रेग्मी 'अज्ञात', सुजन अधिकारी (नवलपरासी), इन्द्रकुमार विकल्प (पर्वत), तीर्थमान श्रेष्ठ (तनहुँ), समीता थापा'स्वप्निल नीरव'पाल्पा, कृष्णराज धमला 'अपूर्ण' (कालिकोट), लक्ष्मण वि.सी. (दैलेख), गणेश शर्मा पौडेल (चितवन), सुरेशचन्द्र गिरी (नवलपरासी), देवराज ओली 'प्रतिक' (सल्यान), लुङमाहिम माइला (संखुवासभा), रामजी आचार्य (कास्की) ।

निष्कर्ष
माथि पोखिएका गहन अभिव्यक्तिहरूलाई पानाका पाना व्याख्या गर्न सकिन्छ। गहिरिएर हेर्दा हामी गजलकारहरूले अँझै गजल के हो, कसरी लेखिन्छ, गजलको परिभाषा के हो आदिमा गजलको बारेमा गहन अध्ययन गर्नु आवश्यक छ भन्ने वोध गराएको छ माथिका प्रस्तुतिले। समकालीन नेपाली गजल २०६८ हरेक कुरामा विविधताले भरिएको छ। शास्त्रीय छन्द, बहर, लयको प्रस्तुतिमा पनि मिश्रण छ, गजलहरू गायत्मक छन्। गजलकारको उमेरको हिसावले हेर्दा पनि १५ वर्षका (नविनकुमार ऐर, वि.सं.२०५३, साल खुलेकाको हिसाबले) देखि इन्द्रलाल श्रेष्ठ 'अद्वियि' (२००१) सरुभक्त (उमेर नखुलेको), गणेश शर्मा पौडेल (२००२), सदानन्द जैसी 'अभागी' (२००३) जस्ता ६५वर्ष नाघेका गजलकारहरूको पनि मिश्रण देखिन्छन्। संङ्क्षेपमा भन्नुपर्दा यो सङ्ग्रह विविधताले सृङ्गारिएको छ। १२९ जनाको ......... गजलहरू यस सङ्ग्रहभित्र समावेश गरिएका छन्। अधिकांश गजलहरू ५ शेरका छन्। यसको विषयमा टिप्पणी गर्न त्यति सजिलो छैन। गजलमा जीवन–जगतवोधगम्य देखि लिएर, मानव पीडा, राष्ट्रियता, रूवाई, भोगाई, संविधान निर्माण, हँसाई, प्रेमप्रणय, युगिन विकृति, विसंगति, व्यङ्ग्य प्रहार, राष्ट्रिय (अन्तर्राष्ट्रिय चित्रण, नेतृत्वको कुर्सीमोह (वर्तमान राजनैतिक अवस्था), भ्रष्टचार, महङ्गी, सामाजिक, आर्थिक, विविधै विविधताको एकीकृत प्रस्तुति हो यो गजलसङ्ग्रह। यो गजलभित्र के छ भन्नुभन्दा पनि, गजलमा के छैन भन्नु बेस होला। यसमा करिव ४० जिल्लहरूका गजलकारहरू सहभागी छन् भने यो सङ्ग्रह १५ वर्षे ठिटाठिटी देखि ६७ वर्ष सम्मका स्रष्टाको अभिव्यक्तिले भरिएको छ। अत उमेर अनुसार केही शेरहरू यहाँ प्रस्तुत गरेर हेरौं ।

नवीनकुमार एैर (अन्जान प्रेमी), जन्म मिति २०५३/०१/०१, बैतडीका शेरहरू–
देशका अमूल्य चिज लुटिदै छन् यहाँ
सोझा जनताहरू कुटिदै छन् यहाँ
मनका मेरो अभिलाषा हावासरी उडाइदियौ
दोबाटोमा ल्याई आज तिम्ले साथ छुटाइदियौ

प्रभा बर्तौला 'अश्रु', जन्म मिति २०४६/०३ /२६ हाल काठमाण्डौका शेरहरू:–
दुई मुटुको प्रेम काफी, थर नसोध
खुला आकाश धर्ती साथ, घर नसोध
पृष्ठ१२७

जुनी जुनीसम्म पनि बाँची नै रहन्छ
साइनो आत्मिक क्षणिक मेल होइन
पृष्ठ१२८

विजयराज ज्ञावली, जन्म मिति २०३४।०२।२१ नवलपरासी
आज फेरि एउटा बुद्ध चाहिएको छ देशमा
आत्मै देखि अति शुद्ध चाहिएको छ देशमा
पृष्ठ१४०

सुस्तासँगै लुम्विनी दुख्ने होकि पीर लाग्छ
मेरो सगरमाथा पनि झुक्ने हो कि पीर लाग्छ
पृष्ठ१४१

तिला गौतम, जन्म मिति २०२८/०३/०५ सङ्खुवासभाका शेरहरू:–
सिरुपाते खुकुरीको रवाफ कस्तो साथी
अँझै पनि जनतामाथि दवाव कस्तो साथी
पृष्ठ१०६

अत्यास लाग्छ देश अन्तै कतै भाग्ने हो कि?
मरिगा'को राजतन्त्रको भूत जाग्ने हो कि?
पृष्ठ१०६

पुष्प अधिकारी 'अञ्जलि' जन्म मिति २०२३/०५/१२, चितवनका शेरहरू
घाम बेचेर सपना किन्नेहरूको
थाहा छ उसको नाम र थर हुँदैन
पृष्ठ २६१

रातभरिसँगै बस्न बोलाएको थिएँ
आँखाको त्यो सपनी भागेर गयो
पृष्ठ २६१

सदानन्द जैसी 'अभागी', जन्म मिति २००३/०४/०१ नवलपरासीका शेरहरू
गोहीरूपी अश्रुधारा जति बगाऊ ताल हुन्न
सङ्गत होस् सत्गुणीको त्यहाँ कुनै बवाल हुन्न
पृष्ठ२०९

सफलता सवलता प्रकाश छर्छ ज्योति बल्दा
आत्मज्योति बलेपछि त्यहाँ कुनै पर्खाल हुन्न
पृष्ठ२०९

इन्द्रलाल श्रेष्ठ 'अद्वितीय', जन्म मिति २००१ भाद्र १५ गते (उमेर खुलेकोमा जेष्ठ गजलकार)
तछाडमैछाड अतीतको अहङ्कार भूमरीमा
आजै बिर्सिएर देश विकासको पाना हेर
पृष्ठ१७

इन्द्र भन्छ राष्ट्र बनोस् पछि हामी बन्छौ
देशैलाई प्रकाश दिने माटोको पाला बन्छ
पृष्ठ१७

सरूभक्त, पूर्व प्रज्ञा (उमेर नखुलेको)का शेरहरू
ऊ हेर! घुम्ने मेचमाथिका अन्धाहरू
जो आए पनि मोह माला उही छ
पिउनेहरूलाई सोध पीडाको कहानी
के फेरियो र गाउँमा ठाला उही छ
पृष्ठ ३७

कल्पना गौतम 'कल्पु', इलाम साल नखुलेको शेरहरू
कति गर्छौ सत्तामोह खिचातानी छोड नेता
ईर्ष्यालु र झगडालु तिम्रो वानी छाड नेता
पृष्ठ ३५

माथिका गजल शेरहरूबाट प्रष्ट थाहा हुन्छ कि गजलको नयाँ र पुराना पुस्तामा, पूर्व र पश्चिममा, उत्तर र दक्षिणमा देखिने अन्तर बस्तु अनि गजलको स्तर । गजल समकालीन घटना, देशकालको परिस्थिति अनुकुलनै गजलका प्रवाहहरू बगेको पाइन्छन्। यति धेरै गजलको विवेचना जति लेखे पनि नसकिने हुँदा बिदा चाहन्छु।

धन्यवाद

संगीतको आभास

''यो संगीतको आभास कवितासङ्ग्रह स्वच्छन्दता वादी काव्यशिल्पको उपयोग गरिएको अप्रवासी स्वरमा प्रकृतिको चित्रण गरिएको काव्य हो''–होमनाथ सुवेदी ।

म भन्छु साहित्य मेरो मुटुहो । मुटुको प्रत्येक स्पन्दन मेरा कविता हुन् । यसैको परिपूर्णता नै मेरो साहित्यको तीर्खा मेटाउने माध्यम हो– गंगा लिगल

यस कृतिको लेखकीयमा गंगाजीले लेख्नुहुन्छ –''जीवन रंगिन्छ केवल साहित्यले, राम्रा कपडाले होइन'' वास्तवमा साहित्यले मानवलाई अमरत्व प्रदान गर्छ । कपडाको सिङ्गारले क्षणिक आवरणको सुन्दरता मात्र हो । जीवनलाई रंगीन पार्न त साहित्य नै आवश्यक पर्दछ । साहित्यप्रति गंगाजीको कति गहिरो मनन् चिन्तन छ भन्ने कुरा उहाँका अभिव्यक्तिबाटै प्रष्ट हुन्छ । गंगाजी भन्नुहुन्छ –''दिनमा एउटा मात्र भए पनि कविता नलेखी सुत्न नसक्ने बानीले म भन्छु, ''कविता मेरी संगिनी हुन् ।''

गंगा लिगलको कविता मोहलाई हामीले फेस बुकमा नियालो भने पनि यी भनाइको पुष्टि हुन्छ किनकि फेसबुकमा उहाँका दिनहुँ नयाँ नयाँ कविता पोष्ट भएको पाइन्छ । यो देखेर म त भन्छु 'कविता लेखेर कहिल्यै नथाक्ने व्यक्तित्व हुन् गंगा लिगल । न त कविता लेख्ने समय चाहिन्छ न त शीर्षक नै, उनमा कविता कोर्ने यति उच्च शक्ति छ कि जुनसुकै समयमा जुनसुकै विषयमा पनि कविता लेख्न सक्छिन् । यस कविता सङ्ग्रहमा पनि गंगाजीले 'साहित्य जगत्' शीर्षकमा कविता लेख्नुभएको छ । हेरौं यस कवितामा साहित्यप्रति उहाँको धारणा कस्तो छ –

साहित्य जगतको गगन घुम्न पाए
आफूलाइृ विहंग भै उडेको ठान्छु
साहित्यको उच्च शिखर चुम्न पाए
आफूले आफैलाई अमीर ठान्छु
(साहित्यजगत्, पृष्ठ ६९)

गंगाजीका यी माथिका श्लोकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुना मदनका दुई पङ्क्तिलाई याद गरायो –

हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दि मनले

वास्तवमा साहित्यरूपी धनले मानवलाई सधैं अमीर बनाउँछ र अमरत्व दिलाउँछ । धन त हातको मैला हो र यो साधन हो साध्य होइन । गंगाजीले भन्नुहुन्छ –

साहित्यको मीठो रस स्वादनले
जीवन अति धन्य बन्छ
यस्को रहस्यरूपी अमृत पानले
बसुधैव कुटुम्बकम्लाई जगाउँछ ।
(साहित्यजगत्, पृष्ठ ६९)

साहित्य ज्योत्स्ना शीर्षकमा कवयित्रीले भन्छिन् –

'साहित्य नै हो दियो देशको,
यो जग हो प्रकाश पुञ्जको
जति बल्यो उति प्रवल हुने
सबमा आनन्दको ज्योत्स्ना हो ।'

साहित्य राष्ट्रको पोषण हो, देशको विशाल भण्डार हो, अमूल्य निधि हो, यसमा गरिमामय संसार छ, भविष्यको ओजपूर्ण र राष्ट्रको सत्यताको आधार हो जस्ता गहन धारणाहरू आएका छन् । साहित्य सम्बन्धित 'कविताको महल'मा कविताको महल बनाइदेऊ भन्ने धारणा राखिएको छ । उनका कविता कस्ता छन् त, उनकै भावनामा हेरौं–

मेरा कविता सानो छ
तर मानव मात्रको
गीत गाउँछ
(कविताको प्रवाह, पृष्ठ ६३)

कविता साहित्यकै एक विधा हो । मानवीय जीवनका विविध कर्मलाई यसले समाएको हुन्छ र मानवकै गीत गाएको हुन्छ । यस्ले प्रकृतिको सौन्दर्यतालाई खिच्छ, क्रान्तिको लहरसँगै शान्तिलाई तान्छ, यो अनुभूतिको प्रवाह हो, नदीको तरंग हो, मानव हृदयको मुहानबाट सलल बग्दछ, प्रगतिको बाटो लिन्छ, सभ्यताको धुनमा हिड्छ, पहाडको झर्ना भएर बग्छ, कविता मानव मस्तिकको संयोग हो, विश्वकै मेरुदण्ड हो, यसले अमरगाथालाई इतिहास बनाएर राख्दछ । कवयित्रीको कविताप्रतिको धारणा उच्च छ । जहाँ नपुगे रवि, त्यहाँ पुगे कवि भन्ने यथार्थतालाई गंगाजीले पस्कनु भएको छ आफ्नो साहित्य मार्फत व्यवहारमा उतार्नुभएको छ ।

राष्ट्रभाव र गंगा लिगल– साहित्यको व्याख्या गरेर कहिल्यै नथाक्ने गंगाजीको अर्को गहन धारणा हो राष्ट्र, मातृभूमि र आमाको माया । उनका हरेक कृतिमा यी धारणाले अति गहिरो स्थान लिएका छन् । उनका मुटुबाट प्रवाहित हुने रगतको कण कणमा राष्ट्रियता बगेको हुन्छ । त्यसैले भूमिकामा होमनाथ सुवेदीजीले लेख्नुहुन्छ –'राष्ट्रियताको बखान गर्नु गंगाजीको पानी हो र यो बानी हो ।' यस कृतिको पहिलो कविता सगरमाथाको गौरव हो यस कवितामा उच्च सगरमाथाको गौरव गाथा सँगालौ भनिएको छ, यस देशको निष्कलङ्कित इतिहास कोर्न, प्रकृति बचाउन, सुरम्य सौन्दर्यलाई सिंगार्न, नेपालीहरू मिलेर, धरतीको शान र बसुधैवकुटुम्बकम्को अतिमान राख्दै निष्कलंक र निष्कंटक भएर नेपाली आमालाई हंसाउँ, सगरमाथाको गौरवलाई उच्च राख्दै विश्वमा प्रसिद्धि बनाऔ जस्ता धारणा राखिएका छन् । उनी भन्छिन् –

धर्म र संस्कृतिको अनगिन्ती वैभव हाम्रो
ज्ञान मार्गको बाटो पहिल्याउन सक्ने राम्रो
चन्द्र सूर्य अंकित गौरवमय झण्डा हाम्रो
त्यसमाथि उच्च सगरमाथा अत्यान्त राम्रो
(सगरमाथाको गौरव, पृष्ठ १)

माटो छ रातो– यो देशको पवित्र माटो नबगाउन धेरै रगत बगिसकेकोले अब सबै नेपाली प्रेमले जिउन पर्छ भन्ने सन्देश दिइएको छ ।

सुन्दर शान्त विशाल– 'सुन्दर नेपालको आकृति अटल ' नेपालको सुन्दर शान्त विशाल प्रकृतिको वर्णन गर्दै यस भूमिलाई कवयित्रीले यसरी वर्णन गरेकी छन् –

ऋषिहरूको पवित्र तपस्थल
प्रसिद्ध नदीको कञ्चन जल
शौर्य गाम्भिर्य र सौम्य स्थल
विशाल यसको रहस्य महल
(पृष्ठ १२)

नेपाली माटो –
रसिलो यो माटालाई भरिलो बनाऔं
विषमताको बाढीलाई अब हटाऔं
(पृष्ठ २१)

यस कवितामा पनि नेपालको झण्डालाई, र सगरमाथाको शिर उच्च राखौं भन्दै नेपाल र नेपालको प्राकृतिक सौन्दर्यको उच्च वर्णन गरिएको छ ।

चाहिन्छ यहाँ – देशलाई कस्तो मानिसको आवश्यक्ता हुन्छ भन्ने उनको धारणामा–

यहाँ सग्लो मान्छे चाहिन्छ
जस्को मुटुमा ढुकढुकी होस्
यहाँ पवित्र हृदय चाहिन्छ
जस्मा देशप्रतिको समर्पण होस्
(पृष्ठ ३०)

यस कवितामा कवयित्रीले राष्ट्रप्रति समर्पित लगायत पूर्णताको खोजी गरेकीछन् जस्तै मान्छे भएपछि मानवता चाहिन्छ र फूल भएपछि सुवास चाहिन्छ । मानवमा मानवता र फूलमा सुवास भएन भने कुनै सार्थकता रहँदैन ।

जन्मभूमिको माटो –यस कवितामा पनि विदेशमा गए तापनि यस देशको पवित्र माटोप्रति अगाद्ध श्रद्धा राख्दै शिरमा लगाई जन्मभूमि भनेको स्वर्ग हो । यो स्वर्गलाई चरितार्थ गर्नु पर्दछ भन्ने धारणा आएको छ ।

गौरवमय इतिहास– सगरमाथाको गौरवमय इतिहास, नेपालीको शिर, नेपालीको शानलाई कहिल्यै झुक्न दिन हुँदैन भन्ने धारणा आएको छ ।

हिमाली गौरव –सगरमाथाको उच्च हिमाली गौरव जहाँ नेपाल हाँसेको छमा राष्ट्रिय गौरवलाई उच्चाइमा पुर्याउँदै, स्थाइत्व प्रदान गर्दै बाँच्न चाहेको धारणा आएको छ ।

देशको माटो – यस कवितामा पनि कवयित्रीले देशको माटो बचाउनु पर्छ, स्वतन्त्र भएर बाँच्न पाउनु पर्छ, माटोमा मलिनता छाउन दिन हुन्न आमाको मुहारलाई निनाउरो पार्न हुँदैन सबै मिलेर नेपालको अस्तित्त्व र युगौयुगको नेपाली संस्कृतिलाई बचाउनु पर्छ भन्ने धारणा आएको छ ।

आमाको माया– र्गंगाजीको हरेक कृतिमा हामीले ममतामयी आमा र मातृभूमिप्रति अगाद्ध श्रद्धाभाव पोखेको पाउँछौं । यस कवितामा पनि आमाको माया अत्यान्त चोखो हुन्छ र अमृतले भरेको हुन्छ । आमाको मायामा स्वर्गीय आनन्द मिल्दछ र हामी विदेशमा बसेकालाई आमाको माया र काखले बोलाइरहेको छ भन्दै कवयित्री भन्छिन् –

स्वर्ग नै खोज्न पर्दैन अनि हामीले आमाको मायामा
स्वर्गीय आनन्द छिपेको छ आमाको छायामा
(पृष्ठ ७७)

रमणिय धरती–यस कवितामा नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्दै कवयित्रीले लेख्नुहुन्छ –

चेतनाको स्वच्छ प्रतिमूर्ति
उज्ज्वल प्रकाशले दिन्छ स्फूर्ति
स्व–प्रयत्नबाट रहेको कीर्ति
स्वर्गसरिको नेपाली छ धरती
(पृष्ठ ७८)

राष्ट्रिय ध्वजा –कवयित्रीले राष्ट्रिय ध्वजा अटल रहोस् र यो वीरताको प्रतिक हो को धारणा यसरी राखेकी छन् –

वीरताको प्रतिक नै प्रफूल्ल ध्वजा यो
वीर वीराङ्गनाले संगालेको कथा यो
(पृष्ठ८५)

चिन्तन– यस कवितामा पनि सबमा पवित्र र सम दृष्टि राखेर राष्ट्रको उन्नतिको चिन्तन राख्न आग्रह गरिएको छ ।

गरिमामय शान– यस कवितामा पनि प्राकृतिक सौन्दर्यको वर्णन गर्दै यस धर्तीमा जन्मेका हामी नेपालीले नेपाल आमाको मर्यदा राख्दै प्रत्येक युगको सुरम्य इतिहास कोरौं भन्ने धारणा राखिएको छ ।

प्रकृतिक वर्णन र कवयित्री–गंगाजीको अति गहकिलो कवित्वप्रवाह प्रकृतिको वर्णन पनि हो । शब्द शब्दमा प्रकृतिसँग रमाउनु, लालीगुराँस र लालुपातेले कवितालाई सिङ्गार्नु, डाँफे, मुनाल र मयुरका जोडीसँग मितेरी लाउनु, झर्नानाको सङ्गीतलाई श्रवण गर्दै रमाउनु जस्ता अनगिन्ती रमणिय प्राकृतिक सौन्दर्यलाई आत्मसात गर्न सक्नु गंगाजीको खुवी हो । त्यसो हुँदा उनको प्रकृतिप्रतिको मोहलाई उच्च मूल्याङ्कन गर्दै भूमिकामा होमनाथ सुवेदीजी लेख्नुहुन्छ –'प्रकृतिको मुस्कान' शहरी बस्तु भएर पनि आस्टिन टेक्शासको यहाँ प्रकृति वर्णन छ । यहाँ व्यथितको प्रकृतिवाद पढे जस्तै छ ' । 'नटिप' कवितामा फूलहरूको सौन्दर्यलाई टिप्न हुँदैन फुल्न दिनु पर्छ भन्ने कवयित्रीको धारणा छ –

वसन्तको घुम्टो खोली
चियाई हेर्ने वेला
कोपिलामै नटिप है
फूल फुल्ने वेला
(पृष्ठ ३)

वसन्त ऋतुप्रतिको धारणा–
वसन्त ऋतुको सुभागमन
हरियालीले सुशोभित वन
हर्षविभोर छ कोकिल मन
मयुर नाच्छ रमाई झन
(रमणिय धरती, पृष्ठ ७८)

प्रकृतिमा परिपूर्णता–
के छैन यस प्रकृतिमा
शैव्य गाम्भीर्य माधुर्य
अनि सौन्दर्यले
परिपूर्णता पाएको
(प्रकृतिको मुसकान, पृष्ठ १०२)

शिङ्गारको रूपमा फूलहरू–
कौशीभरि नै सेताम्मे फुलेका
हरिया बोट माथि अति खिलेका
हेर्दै रहर लाग्दा टिपौं कि जस्ता
सुन्दर इन्द्र कमल फूल जस्ता
(सारथी, पृष्ठ ११०)

यस कृतिमा धेरैजसो कवितामा कवयित्रीले प्रकृतिको सुन्दर्तालाई जोडेकी छन् । वसन्तको आभास, वसन्तको पदचाप, वसन्तको स्पर्श, आई देऊ आदि कवितालाई उदाहरणको रूपमा लिन सकिन्छ ।

अमेरिकाको वर्णन गरिएका कविताहरू–नेपालका युवा युवती विदेश पलायन भएका छन् । कोही रोजगारीको लागि त कोही अध्ययनको लागि । अरव र मलेसिया गएका त फर्केका छन् तर युरोप, अमेरिका, युके, अष्ट्रेलिया आदि देशमा गएकाहरू डायस्पोरिक जीवन बिताइरहेका छन्। जुन देशमा गएर बसिन्छ निश्चय नै त्यस देशप्रतिको आदरभाव झल्किनु स्वभाविक हुन आउँछ । कवयित्रीको अमेरिका बसाईका क्रममा लेखिएका यी कविताहरू अमेरिकी परिवेशमा लेखिएका छन् । यहाँको परिवेश – यो कविता अमेरिकाको परिवेशमा लेखिएको छ । अमेरिकालाई पृथ्वीको स्वर्ग भन्छन्, यहाँ मानिसभन्दा गाडी धेरै छन् । यस कवितामा अमेरिकामा गएपछि नेपालीहरूले नेपालको पहिरन वेशभुषा, भााषा, आदिलाई भुलेका छन् । यस्तो किन भयोभन्दा यहाँको परिवेश यस्तै छ भन्छन् ।यस कवितामा जुनदेशमा गए पनि आफ्नो नेपालको परिवेशलाई नेपाली भाषा संस्कृति र पहिरन आदिलाई छाड्न हुँदैन भन्ने् धारणा आएको छ । भर्जिनिया हाँसेकी छन् र भर्जिनिया बृद्ध भए छ दुई शीर्षकका कविता हुन् तर यी दुवै कवितामा एकतिर हिउँले ढाकेको सौन्दर्यतालाई हाँसेको रूपमा प्रस्तुत गरिएको छ भने अर्कोतिर त्यही हिमछादित अवस्थालाई बृद्धतामा लगेर जोडिएको छ । कविको प्रस्तुतिकलाले मानिसले हेर्ने दृष्टिकोण फरक फरक हुन्छ भन्ने धारणा आएको छ ।

भर्जिनिया हाँसेकी छन्मा – भर्जिनिया बृद्ध भए छ
वरिपरि हिउँले ढाकेर हिजोको यौवन
के भो त आजै सेताम्मे भएर
टन्न चौर भर्जिनिया फूलेछ
सेतो टेवलपोसले आजै सेताम्मे भएर
सिँगारिएकोछ भर्जिनिया वृद्ध भएछ

कति सुन्दर प्रस्तुति छ कवितामा । बृद्ध हुनु र हाँस्नुको कारणा एउटै छ त्यो हो हिउँ पर्नु । चाँदीको छाता, छाया परेछ, फटिक जस्तो, सारथी, जन्मदिन, प्रकाशमय कविताहरूमा हिउँको प्रभावलाई समेटिएको छ । यी कवितामा हिउँको प्रभावलाई प्रकृतिको रम्यतामा सजाएर स्वच्छन्द प्रवृत्तिमा प्रस्तुत गरिएको छ । एउटा उदाहरणलाई हेरौं कवयित्रीको प्रस्तुतिकला कति सक्षम र रहर लाग्दो छ–

वरफ भनी न होच्याउ यसलाई
यो त चन्दै्रमाको एक
अभिन्न अंग हो
हेर त यसमा
मृदुमुस्कान छ्
अनि पो प्रकाशमय
पनि छ
(पृष्ठ ११३, प्रकाशमय)

त्यसो नभन – यस कवितामा पनि अमेरिकालाई क्षणिक रूपमा मात्र हेर्न नहुने यहाँ गम्भिर्य, माधुर्य, सौन्दर्य छ हो शिशिर आएर आफ्नो पौरख देखाए पनि वसन्त आएपछि यसको यौवनतामा सुन्दरता थपिने छ जस्ता धारणा सहित कवयित्रीले अमेरिकाको महक कसरी फैलिन्छ भन्ने वर्णन यसरी गरेकी छन् –

चारैतिर मनोरम महलहरूमा
प्रत्येक सुन्दर खम्बाहरूमा
सुनौलो रंगले सजाइ दिने छु
अनि यसको महक फैलाइदिने छु
(पृष्ठ १२३)

आह्वान गरिएकका कविताहरू– प्रतीक्षा, तिम्रो खाँचोछ, ज्ञान मार्ग, परिज्ञानको मार्ग, आई देऊ जस्ता कवितामा कतै प्रतिक्षा गरिएको छ, कतै खाँचोको महसुस गरिएकोछ कतै आउनको लागि आग्रह गरिएको छ । मैले आग्रह भने पनि उपदेश प्रधान कविताको रूपमा पनि यी कविताहरूलाई लिन सकिन्छ । कवयित्रीले आफ्ना भावना उपदेशात्मक रूपमा पनि धेरै कवितामा प्रस्तुत गरेकी छन् । सुन्दर सपना विपना बनाउने माधुर्यको राग बनेर आऊ भन्ने आग्रहलाई यहाँ हेरौं –

उल्लासमय जीवनको गीत बनेर
प्रतीक्षासँगै सुवास छरेर
पवनसरी आऊ तिमी
यस धरतीमा
नविर्सने संगीतको
धून बनेर ।
(प्रतीक्षा पृष्ठ ५)

मातृत्व र जन्म भूमिको रक्षा गर्ने सपुतको खाँचो भएकोले यस्ताो सपुतले जन्म लिएर आएर मातृत्वमा मुस्कान थप्न आवश्यक छ भनिएको छ ।

ज्ञान मार्ग –ज्ञानरूपी मार्गद्वारा अन्धकार हटाउने आग्रह गरिएकोछ । यसमा आध्यात्मिक मार्गदर्शनको लागि कवयित्री भन्छिन् –

इन्द्रीय मन र मष्तिस्कलाई
आध्यात्मिक मार्गदर्शन गराई
अंग प्रत्यंगलाई प्रफुल्ल गराई
सुरम्य बन्छ उच्च ज्ञान पाई
( ज्ञान मार्ग पृष्ठ ६१)

परिज्ञानको मार्ग – यस कविताममा कवयित्रीले आध्यात्मिकता र बौद्धिकतामा लगाऊ मन भनी आग्रह गरिएको छ –

बनाऊ ज्ञान चच्छुलाई परिमार्गी
बन ईश्वरीय सुखानु भूतिको भागी
दिव्य ज्ञानको ईप्साले बन गौरवशाली
अनि शुभ कामनाले बन भाग्यशाली
(परिज्ञानको मार्ग, पृष्ठ ८२)

आई देऊ–शिशिरको चिसोले अमेरिकामा पारेको प्रभावलाई वर्णन गर्दै वसन्तलाई आउनको लागि आग्रह गरिएको छ –

आई देऊ वसन्त
घुम्टो खोलीदेऊ
वासिङ्गटन डि.सी.मा
प्रफुल्लता भरिदेऊ
(आई देऊ, पृष्ठ १२४)

नवप्रभात –नवप्रभातले जसरी रजनीलाई चिरेर रोशनी फैल्याउँछ र बसुन्धरालाई प्रकाशमय बनाउँछ, त्यसरी नै नव शिशुको आगमनले वसुन्धरा मुस्कुराउने, धर्ती सारा रमाउने, विश्व नै जगमगाउने, ध्रुव तारा उदाउने, प्रफुल्लता भर्ने, स्वर्गीय आनन्द दिलाउने जस्ता रमणिय धारणा र भावनाले नवप्रभातलाई एउटा नव शिशुसँग तुलना गरिएकोछ र यसभित्र प्रकृतिक सौन्दर्यले शृङ्गारिएको छ ।

शुभको प्रतिक – लेखनको लागि मौसम सुहाना चाहिन्छ, त्यो मौसम जललाई मोतीको दानाको रूपमा रूपान्तरित गरिएर वर्षिदा प्राप्त भएको धारणा राख्दै कवयित्रीले प्राकृतिक सौन्दर्यतालाई यसरी वर्णन गरेकी छन् –

यो त अत्यान्त शुभको प्रतिक
उज्यालै उज्यालो देखिन्छ चौतर्फ
नयाँ दुलहीको सुन्दर घुम्टो जस्तो
प्रकृतिको हेर त खेल कस्तो ।
(शुभको प्रतीक, पृष्ठ ११५)

हिउँको सुन्दरतालाई कवयित्रीले कति मीठो प्रस्तुति गरेकी छन् ।

सेतै हिउँ छ
पृथ्वीको माझ
चारैतिर नै रमाइलो छ आज
भन्छु म वाह ! वाह! आज यस्तो
(पृष्ठ ११६, वाह ! वाह! आज यस्तो)

संगीतको आभास– यसै कविताबाट यस कृतिको शीर्षक राखिएको छ । यस शीर्षकको सार्थकता बारेमा भूमिकाकार होमनाथ सुवेदीले लेख्नुहुन्छ–''यसमा संकलित कविताहरू गेयात्मक, प्रकृतिको प्राङ्गणमा मानवीय संवेदनाको झङ्कार दिने खालका भएकाले पनि संगीतको आभास नाम सार्थक देखिन्छ ।'' हुनता यस कृतिमा थुप्रै कविता शीर्षकयोग्य छन् तापनि कवयित्रीको चाहना, भूमिकाकारले प्रष्ट्यााएको शीर्षकको सार्थकताको साथै यस कविताले समेटेको प्राकृतिक, संस्कृतिक, मानव मष्तिष्क, नौलो मानव जीवन र मानव इतिहासमा थपिएको नौलो आयमजस्ता सङ्गीतले मान जविनमा दिने आनन्ददायी धारणाले गर्दा शीर्षक सार्थक नै छ भन्न सकिन्छ । संगीतले के आभास दिन्छ त भन्ने सम्बन्धमा कवयित्रीका धारणाको पहिलो श्लोकलाई हेरौं –

कता कता हर्षको ध्वनि गुञ्जन्छ
सूर्यमा पनि लाली चढे झै लाग्छ
गुराँसमा यौवन भरे झै लाग्छ
अन्धकारमा पनि ज्योतिपुञ्ज देखिन्छ
अहो ! यो त संगीतको
आभास पो रहेछ ।

यस कवितामा पाँच ओटा श्लोक छन् दोस्रो श्लोकमा वसन्तले पनि घुम्टो खोल्न थालेको रंगीविरंगी फूलमा यौवन चढ्न थालेको, पंक्षीहरूमा पनि कलरव गान बढेको झर्नामा कञ्चनता छाएको यस्तो हुनुमा संगीतको आभास पो रहेछ भन्ने धारणा आएको छ ।

तेस्रो श्लोकमा चन्द्रमा सुस्तरी जून भएको, कोइलीले काफल पाक्यो भन्न थालेको, वन कुञ्जमा लताहरू लहरिन थालेका, सरित प्रवाहमा पनि वेग बढेको, यस्तो हुनुमा संगीतको आभास पो रहेछ भन्ने धारणा आएको छ ।

चौथोमा रोदी घरमा मादल घन्कनु, नृत्यांगनाको पाइलामा जोश बढ्नु, निद्रा पनि मधुर स्वप्नले भर्नु, समुद्रमा पनि सुन्दर तरंग थपिनु यस्तो हुनुमा संगीतको आभास पो रहेछ भन्ने धारणा आएको छ ।

पाचौं श्लोकलाई हेरौं –

मानव मष्तिष्क पनि परिवर्तित भएछ
प्रत्येक गायनमा झनन् झंकार बढेछ
नौलो जीवनको नयाँ आकांक्षा बढेछ
मानव जीवनमा नौले आयम थपेछ
अहो ! यो त संगीतको
आभास पो रहेछ ।
(पृष्ठ ९)

सत्यको आभास– सत्यलाई पनि कवयित्रीले गहनरूपमा लिएकी छन् । सत्य सनातन, गांभीर्य, रसिलो पोसिलो, दिव्यता, पोषक, माधुर्य, चहकिलो, गहकिलो, घमाइलो, रमाइलो, निस्वार्थ र पवित्र हुन्छ । कवयित्रीले सत्य भनेको पंक्षीको वोल, बाल मुस्कान, छहराको कञ्चन ध्वनि, स्वच्छन्दताको प्रतीको हो भन्दै सत्यलाई ईश्वरीय प्रेमसँग लगेर जोडेकी छन् –

सत्य ईश्वरीय प्रेम हो
प्रेम ईश्वरीय रूप हो
समता सत्ययताको आधार हो,
यही नै सत्यको आभास हो ।
(पृष्ठ ९०)

शिक्षाका विविध पक्षलाई समेटेका कविताहरू– दियो, नवजागरण, विद्या ददाति विनय म जस्ता कविताले मानव जीवनमा शिक्षाको कमिले गर्दा पार्ने सकरात्मक र नकरात्मक असरलाई समेटेका छन् । हेरौं केही श्लोकहरूलाई –

गाउँ अँध्यारो
दियो बलेन
चेतनाको
प्रेरणा भएन
(पृष्ठ १३, दियो)

शिक्षाबाट जीवनमा पार्ने सार्थकता –
शिक्षाको नौलो क्षितिजले
प्रतिक्षा तिम्रो गर्दछ
ज्ञानको ज्योति पाएमा
जीवन सार्थक बन्दछ
(नवजागरण, पृष्ठ १४)

विद्या ददाति विनय म
विद्याकोगुण नै मधुर म
मानव बन्छ सुन्दर म
हृदय बन्छ अति नरम
(विद्या ददाति विनयम्, पृष्ठ १५)

कर्तव्य पथमा चुक्न नहुने –
विश्वास नै ठुलो
मनको आँगनमा
चुक्न हुन्न है
कर्तव्य पथमा
(मनको आँगन, पृष्ठ १६)

स्वर्गप्रतिको कवयित्रीको धारणा –कसैले स्वर्ग खोज्छ भने अन्त जानु पर्दैन स्वर्ग त यसै पृथ्वीकै विविध प्राकृतिक तथा भौतिक सम्पदामा यत्रतत्र सर्वत्र प्राप्त गर्न सकिन्छ जस्ता धारणा राख्दै कवयित्री भन्छिन् –

मानव हृदयको स्वच्छन्दतामा
ईश्वर रहन्छ आनन्द स्वरूपमा
जहाँ रहन्छ मानव स्वर्गानन्दमा
त्यही स्वर्ग प्राप्ति आनन्दमा
(स्वर्ग कहाँ छ ?, पृष्ठ १७)

कहाँ गए ती – यस कवितामा कवयित्रीले आफ्नै जन्मभूमिका प्राकृतिक सौन्दर्यलाई विदेशमा बस्दा नपाउँदाको यादगारलाई समेट्दै आफ्नै देशलाई स्मरण गर्दै आफ्नै देशको न्यानो काख, आफ्नै देशको चोखो प्रकृति, आँखा भरि, सधैं भरि नाचिरहने धारणा पस्केकी छन् ।

जीवनजगत र कवयित्री– गंगाजी जीवन जगतसँग राम्रो परिचित हुनुहुन्छ । उहाँका कवितामा मानव जीवनका उकाली ओराली, सुख दुख, हाँसो रोदन, मानव्यि दायित्व र कर्तव्य, आदि विविधतालाई सेमेटेको पाइन्छ । सेवा, को हो त्यो मान्छे जस्तो, पतझड, ऐना, निसास्सिएको कहानी, बालक्रिडा, दिवा स्वप्न, अमूल्य आँसु, भडकिरहेको जीवन, असीमित रेखा, नव इतिहास, यी कवितामा मानव जीवनमा घट्ने घटना अर्थात जीवनजगतलाई समेट्ने प्रयास भएका छन् ।

आजको समाजमको यथार्थता–

भातृत्वको चोखो प्रेम हरायो
मातृत्वको पवित्र मर्यादा विलायो
राष्ट्रिय संस्कृति धराशयी बनायो
जनजीवनमा ठुलो पतझड आयो
(पतझड, पृष्ठ ४२)

मानव जीवन के को लागि –
मानवजीवन के को लागि त
खान पिउन मात्र होइन
सेवाको संगीत बोकेर
जीवन उच्च बनाउन
(सेवा, २४)

यो संसारमा थरि थरिका मानिसहरू भेटिन्छन्, कतै गरिबीको कारणले माानिस नै हैनन् कि जस्ता देखिन्छन् भने कतै पातले सिङ्गारिएको बृक्ष पात झरेपछि उजाड देखिए सरि आजका समाजका मानिसको मानवीय मूल्य नै हराएको जस्तो देखिन्छ । ऐना कवितामा मानव प्रतिविम्ब, सत्यताको प्रतीक, जीवनको प्रतिविम्ब स्वरुप देख्न सकिन्छ भन्ने धारणा आएको छ । वास्तवमा मानव जीवन आनन्दमय हुनु पर्ने हो तर चक्रव्यूहभित्र जकडिएको छ । मानवको वालककाललाई हेर्यो भने त्यहाँ रमणियता र आनन्दै आनन्द पाइन्छ, तर त्यही जीवन बृद्ध अवस्थामा दिवास्वप्न बन्न जान्छ र अमूल्य आँसु झर्न थाल्छ । यस कृतिमा जीवन भड्किरहेको अनुभूति हुनु, मानव जीवन अवर्णीय शक्तिपूर्ण हुँदाहुँदै पनि मृत्युको असीमित रेखामा सीमित हुनु । वास्तवमा मानिसले बालक, युवा र बृद्ध अवस्थामा पुगी आफ्नो अमर इतिहासलाई कायम गर्न सक्छ तर कार्यन्यनमा जान सकेको छैन भन्ने जस्ता गहन भावनालाई कवयित्रीले समेटेकी छिन् ।

धर्मप्रति कवयित्रकिो धारणा– धर्मप्रति कवयित्रीको गहिरो आस्था छ । कवयित्रीले धर्मलाई मानवको कवच हो, यसले मानवलाई स्वच्छता दिलाउँछ, मानिसमा हर्ष उमङ्ग भरिदिन्छ, मस्तिष्कलाई स्वच्छ पार्दछ, यो ईश्वरको प्रतिक हो, यो मानवको चरित्र हो र यसले जीवनलाई उच्चाइमा पुर्याउँछ भन्ने धारणा राखेकी छन् ।

शान्तिप्रतिको धारणा– शान्ति प्राप्त गर्न अरूलाई सुख दिन सके मात्र पूर्ण शान्ति पाइन्छ । शान्ति प्रेमको ज्यावल भएकोले पवित्र प्रेममा शान्ति पाइन्छ र चीर शान्ति कसरी बन्दछ भन्नेमा कवयित्रीको धारणा यसप्रकार छ –

त्याग र मानव सेवामा
जुन आनन्द मिल्दछ
त्यही हृदयको सुख नै
चीर शान्ति बन्दछ
(शान्ति, पृष्ठ ४९)

अहिंसा र कवयित्रीको धारणा–
अहिंसा परमो धर्म
ईश्वरीय सिद्धान्त हो
यसको अनुशरण गर्नाले
संसारै स्वर्ग बन्दछ ।

संसारलाई स्वर्ग र नर्क तुल्याउने काम हिंसा र अहिंसमा निर्भर रहन्छ । हिंसाले नर्क बोलाउँ छ र अहिंसाले स्वर्ग बोलाउँ छ । काटमार मात्र हिंसा होइन कसैको मन कुड्याउनु पनि हिंसा हो । त्यसो हुँदा अहिंसामा ईश्वरीय दृष्टि पर्दछ र मानव जीवनमा खुसीको वाहर ल्याउँछ भन्ने कवयित्रीको ठहर छ ।

विश्वास– मानव जीवनमा विश्वास लहरीएर रहेको हुन्छ । विश्वासमा सबै चीज छ । विश्वासमा मानव जीवन रमाइलो र घमाइलो बन्न पुग्छ भन्ने धारणा आएको छ ।

अमूल्य गुण– मानवीय जीवनको सृजनादेखि अन्त्यसम्म ज्ञानको चेतना आश्यक पर्दछ । अन्धकार प्रकाशपुञ्जले मेटाउँछ । उद्यानको नवपुष्पबाट तत्त्वज्ञान प्रप्त गर्न सकिन्छ, र आनन्दित बन्न सकिन्छ । मौरीले महजम्मा गरेर मानिसलाई रसस्वादन गरइ त्यागको आदर्श जगाउँछ त्यसो हुँदा यस्ता अमूल्य गुण र ज्ञान अनि चेतना जगाएर अमर गाथा बनाउन पछि हट्न हुँदैन भन्ने धारणा आएको छ । यस कवितालाई पढ्दा झट्ट महाकवि लक्ष्मीप्रसाद देवकोटाको झझल्को आउँछ ।

सन्ध्या–गंगाजीका भावनामा प्रकाशमय जीवनको चाहना छ । सन्ध्याले निम्त्याउने अन्धार मेटाउन दियो बालिन्छ । यो धपधपी बल्न दिनु पर्छ किनकि यो शुभको सूचक हो भन्ने धारणा छ ।

अतः गंगाजीका कविताहरू विविधताले भरिएका छन् र विविधताले सजिएका छन् । कतै दिव्यताको खोजी छ, कतै पुरातन संस्कृतिको वर्णन छ, कतै ऋषिमुनिप्रति आदरभाव छ, कतै नीजी भाष, संस्कृति, परम्परा, आत्मीय भावना, लोकगीतका भाकाहरूको खोजी छ भने कतै कलमको प्रवलताको वर्णन छ कतै मनभित्रको धनको खोजी छ । माथि नै आइसकेको छ कि उनका कविताहरू साहित्यप्रति समर्पित छन्, राष्ट्रियताको वर्णन छ, कल्पनामा प्रवलता र सवलता छ, प्रकृतिप्रतिको असीमित वर्णन छ, कतै आग्रह छ भने कतै उपदेश छ, अमेरिकाको वर्णन छ भने नेपालप्रतिको अगाध माया छ ।

अन्त्यमा छोटो यो मेरो अध्यनले देखेको यथार्थतालाई पस्कदै गंगाजीको दीर्घ आयुको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
२०७५ साल चैत्र २१ गते,
कावासोती, न.पा. वडा नं ७, शान्तिचोक
नवलपुर, गण्डकी प्रदेश, नेपाल


श्याम आशाका लघुकथामा एक दृष्टि

परिचय–

श्याम आशाको जन्म ने.सं.१०७५मा भक्तपुरमा भएको हो । उनी एक सिद्धहस्त लघुकथाकारको रूपमा आफूलाई स्थापित गर्न सफल भएको व्यक्तित्व हुन् । उहाँ ज्ञानज्योति पुस्तकालयको संस्थापक अध्यक्षको साथै विराट गुथि र नेवा गुथिको आजीवन सदस्य हुनुहुन्छ भने उहाँको लेखन कार्य नेपालभाषा र नेपाली भाषा दुवैमा हुने गरेको देखिन्छ । आवरण पृष्ठ सहित ६६ पृष्ठमा संरचित यस कृतिमा २५ ओटा ओजस्वी लघुकथाहरू समावेश गरिएका छन् । स्वर्गीय बुबा कृष्ण गोपाल कायस्थ तथा स्वर्गीय मुमा मिठ्ठीदेवी कायस्ठमा समर्पण गरिएको यस कथासङ्ग्रहलाई ध्रुव मधिकर्मीले अनुवाद एव म सम्पादन गर्नुभएको छ । यस कृतिको प्रकाशन सिर्जना अभियान, भक्तपुरले गरेको छ र मूल्य रु १००।– राखिएको छ ।

कथाकार र लघुकथाप्रति साहित्यकारको धारणा–

ध्रुव मधिकर्मीले लघुकथाप्रति विविध धारणाहरूलाई केलाउँदै श्यामआशका लघुकथाहरू 'अहिले पनि उत्तिकै सामयिक र सान्दर्भिक छन् ' भन्नुहुन्छ ।

श्रीओम श्रेष्ठ 'रोदन'ले आजको समय र समाजका लघुकथाप्रति आफ्ना धारणालाई राख्दै कथासारलाई केलाउँर्दै भन्नुहुन्छ –'यस सङ्ग्रहका लघुकथाहरू आजको समय र समाजलाई प्रतिनिधित्व गर्न सफल देखिन्छन् ।'

विजय सागरले 'आगोले जस्तै पोल्ने कथाहरू' शीर्षक दिएर लेख्नुहुन्छ– 'जसले यी कथाहरू पढ्ने छ –उसलाई देशमा विद्यमान दमन, शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार, कृतिम अभावर महगी जस्ता आगोले चसक्क पोलेको अनुभूत हुने छ ।'

सौरभ शाक्यले यस कृतिको सवल पक्षलाई केलाउँदै लेख्नुहुन्छ– श्याम आशाले लिने कथावस्तु चोटिलो, समसामयिक छ यथार्थपरक छ । प्रतिक पनि राम्रै लाग्छ । चित्रण पक्ष पनि सबल छ ।'

इन्द्र मालीले श्याम आशाको पिंजराभित्र पिंजराबाहिर हेरेपछि' शीर्षकमा श्याम आशाका कथामा पहिलो पाइला र दोस्रोपाइलामा तुलनात्मक अध्ययन गर्दै दोस्रो पाइलाप्रति लेख्नुहुन्छ –दोस्रो पाइलामा आजको परिवेश, आजको विषयवस्तु, मानवीय दुर्वलता र कमजोरीलाई भने, अलि बढी, प्रस्तुत गर्न खोजेको छ ।'

रामशेखरले श्याम आशाका कथा पढ्दा शब्दको कार्टुन चित्र झै लाग्नु र कलात्मक अभिव्यक्तिमा आकर्षित भएको धारणा आएको छ ।

राजा शाक्यले श्याम आशाका कथामा कुनै मनलाई छुने कथाहरू र कुनै कथनमात्र भएका र भन्न बाँकिरहे जस्ता लाग्ने कथाहरू भएका धारणा राख्नुभएको छ ।

किशोर पहाडीले श्याम आशाका लघुकथाको बारेमा लेख्नुहुन्छ –'सामाजिक र राजनैतिक विकृतिहरू केलाएर लेखिने उहाँका कथामा व्यङ्गको प्रचुरता देखिन्छ ।'

लघुकथा भित्र प्रवेश गर्दा –

देशलाई सही दिशातिर लानेकाम राजनीतिले गर्नु पर्ने हो तर नेपालमा त्यस्तो काम हुन सकेको छैन । मन्त्रीको भाषणप्रति व्यङकस्तै कथाकार भन्छन्–'व्याट्री भएसम्म चल्ने त हो ट्रान्जिष्टर' । भाषणमा मन्त्रीले दुई जीव्राको अवलम्वन गरेको घारणाजस्र्तै एकातिर भाषणमा धुम्रपान लिन्छ ज्यान भन्ने र अर्को तर्फ यस्ता कारखाना (धुम्रपान बनाउने कारखाना) धेरै खोल्नु पर्छ धन्ने धारणा ।

पत्रकारितामा खान लाउन नभै दुब्लो नाङ्गो अवस्था (गरिर्बी )लाई फोहोर खानाको असर र देशका जनता भनी विविध अर्थको प्रस्तुति ।

चिनियोमा काम लगाउनेले काम गर्नु पर्दैन भन्ने व्यङ्ग्य अभिव्यक्ति । समर्थन पद नपाउन्जेल विरोध र पद प्राप्त भएपछि समर्थन जस्तै पद बाहिर हुँदा खान लाउन देऊ नत्र कुर्सी छाड भन्ने अभिव्यक्ति सोही व्यक्तिले मन्त्री पद पाए पछि यो सरकारले जनताको हित र संरक्षणको काम गरेकोले यही सरकार चाहिन्छ जस्ता अभिव्यक्ति दिएको धारणा ।

आरोपमा सरकारमा रहेकाले क्रान्तिमा लागेका र माग्नेलाई पनि छुट्टयाउन नसक्ने धारणा जस्तै कपडा विहीन माग्नेलाई क्रान्तिकारीले दिएको रातो कपडा लगाउँदैमा क्रान्ति भड्काउने भन्दै भकुर्दै लगेको उदाहरण ।

नेतामा नेताको बहुरूपी वर्णन गरिएको छ जस्तै तीनओटा नाम अनि तीनओटा अनुहार भन्ने उदाहरण । सत्तामा नेताले सत्तामा पुग्न जनताका समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्ने र सत्तामा पुगेपछि प्रतिबद्धता भुल्ने साथै समस्यालाई देख्न नसक्ने धारणा ।

प्रदर्शन –यो कथामा कलाकारले मन्त्रीबाट देशको विकास कागजमामात्र भएको भन्ने उद्घाटन गराएका छन् ।

फाँसीमा अन्यायको बिरोधमा आवाज उठाउनेलाई फाँसिदिन लाग्दा अन्तिम इच्छाको सोधनी गर्दा फाँसीमा चढ्नेवालाले अन्यायको बिरोद्धमा आवाज उठाउनेलाई मार्ने र मराउनेलाई नै मार्ने भन्ने इच्छा व्यक्त गर्दै गलपासोलाई फूलको माला सम्झेर आफ्नै हातले लगाएको धारणा आएको छ ।

खुसीमा गरिबीको चरमसीमामा पुगेर दवाई किन्ने पैसा नभै मृत्युवरण गरेको बाबु मर्दा छोराले बाबुले अन्याय र अत्याचार भोग्न नपरेको धारणा राख्दै खुसी वयक्त गरेको ।

बत्तीमा उज्यालोको खोजी गरी बत्तीबाल्दा अँध्यारो भाग्ने र अन्धकारले अस्तित्व खोज्न कीराहरू बत्ती निभाउन पठाउँदा कीराहरूले बत्ती निभाउन नसकेपछि बलेको आगो निभाउन गाह्रो हुने धारणा छोराले बाबुसँग राखेको छ ।

भोजमा दुई दलका कार्यकर्ताले आन्दोलनका झण्डा बोकाएर नारा जुलुस गर्दै आपसमा भीड्दा घाइते भएका तर ती दलका नेताले एकै ठाउँमा बसेर गिलास लिएर चियर्स गर्दै चिकन रोष्ट टिप्न थाले भन्ने धारणा तथा कार्यकर्तालाई जुधाएर राजनीति गर्ने धारणा आएको छ ।

पखेटा भएको मान्छेमा राजनीतिमा मौकामा दर्शन बदली गरेर फाइदा आर्जन गरेर बंगला बनाएर विद्वान, विशिष्ट, राजनीतिज्ञ, आफ्नो क्षेत्रको विज्ञ, व्यस्त, देशभक्त, जनभक्त कहलाएको धारणा आउको छ । डम्फुमा राजनीति गर्ने नेताहरूको काम गर्ने क्षमता नभै बोल्न सक्ने क्षमता भएको धारणा राख्दै व्यङ्ग कसिएको छ ।

बुद्ध खोइ ? मा बुद्धलाई शान्तिको प्रतिक मानिन्छ, देशमा चलेको आन्दोलनले देशमा शान्ति हराएको, आन्दोलनकारीले सबैलाई दोषी ठहर्याई ठूलो नोक्सान भएको धारणा आएको छ ।

अभिनयमा - यस कथामा बाघ ऋषिमुनि भएर तपस्या गर्दै हिंसा नगर्ने भनेर तपस्यारत भए पछि, तपस्यारत बाघलाई हेर्न वनका पशुपंक्षीजम्मा हुनु र जम्मा भएकालाई बाघले आक्रमण गरे र खान थालेको र बाँचन सफल बाँदरले बाघसँग हिंसा गर्दिन भनेको होइन रभन्दा बाघले कहिल्यै घाँस नखाने र बाँचनको लागि अभिनय गर्न पर्ने धारणा राखेको ।

एउटा गाउँमा यस कथामा बाघले सताउँदा गाउले मिलेर बाघको अस्तित्व समाप्त पारे पनि उसको प्राणहीन शरीरका भागलाई सबैले आफ्नो आफ्नो इच्छा अनुरूप हक दावी गरेको र शक्ति हत्याउनको लागि भिडन्त यथावत रहेको धारणा आएको छ ।

हर्षबहादुर कथामा नेपालका राजनीतिक दलले कुनै दलमा नलागेको भए पनि मरेको लासमा पनि राजनाीति गर्छन् भन्ने धारणा ।

परिवर्तन कथाले सानालेभन्दा ठूलोले वातावरणमा असर पार्न सक्ने भन्दै सानो घन्टी बज्दा कुनै हलचल नभएको र ठूलो घण्टा बज्दा ठूलै हलचल भएको उदाहरण दिएका छन् ।

विडम्बना कथामा धार्मिक पुस्तकहरूलाई आस्थाको रूपमा राखिएको तर घरमा कुनै सुधार नदेखिएकोले खोलामा बगाउन लिएर गइ फाल्दा खोलामा पानी नभएकोले किताव बग्न नसकेको धारणा । रित्तो सपनामा नैसर्गिक हकको खोजी गरिएको कथा जस्मा मुसाहरूले बिरालोले दुख्ख दिएकोल बिरालोको विरोधमा धेरै बच्चा जन्माउन थाल्नु र त्यस वेलादेखि बिरालोलाई भोकै बस्न नपर्ने धारणा पस्किएको छ कथामा । ।

इच्छा–स्वतन्त्रताको चाहना सबैमा हुने धारणा आएको छ । उदाहरणमा थुनेर पालेका परेवाले होहल्ला गर्दा डाक्टरले अनुगमन गरी परेवा अब थुनिएर नबस्ने भन्ने सन्देश दिइएको छ ।

बेवारिसे चप्पल कथामा चप्पल लगाउने वाला चप्पल छाडी अलगिएको र चप्पलले ऊ आन्दोलनमा शहीद भयो होला तर मलाई वेवारिसे बनाएर छाड्यो भन्ने धारणा आएको छ ।

सुन्तला कथामा गुरु चेला बीच सम्वादको रूपमा पस्किएको र पृथ्वी सुन्तला जस्तै छभन्दा विद्यार्थीले सुन्तला खाँदाको स्वाद सम्झदै पृथ्वी खाने को त भन्ने प्रश्न गुरुसँग राखेको र सो को जवाफ दिन नसकी शिक्षक रनभुल्लमा पर्दै विकसित देशले खान खोजेको त हैन भन्दै प्रश्न बाची भएको धारणा आएको छ ।

यी पच्चीस ओटा कथाको सङ्क्षिप्तसार माथि पस्किने प्रयास गरिएको छ ।

श्याम आशाका लघुकथाहरू नेपाल भाषामा लेखिएका र यी कथालाई ध्रुव मधिकर्मीले नेपाली भाषामा अनुवाद गरी सम्पादन गरेको हुँदा यी कथाहरूको प्रस्तुतिमा ध्रुव मधिकर्मीको पनि गहन भूमिका देखिन्छ । ध्रुव मधिकर्मीले 'समसामयिक विषयका व्यंग्यात्मक लघुकथा' शीर्षक लिएर श्याम आशाका कथामा विश्लेषण पनि गरेका छन् । यो विश्लेष्णले श्याम आशाको कथाकारितालाई प्रकाश पार्न सफल देखिन्छ ।

भाषशैली –कथामा आफूले भन्न चाहेको कुराहरू सरल छन् तापनि भनिएका कुरामा व्यङ्ग कसिएको पाइन्छ । कथामा भनिएका कुरालाई मनन गर्न मनमात्र नभै मस्तिष्कको लगानीको आवश्यक्ताको महसुस हुन्छ । किनकि श्याम आशाले आफूले प्रस्तुत गर्न चाहेको विषय घुमारो पाराले प्रतिकको प्रयोग गरेरमात्र प्रस्तुत गरेको देखिन्छ ।

श्याम आशाले देशको यथार्थ चित्रणलाई समाएका छन् र देशको वर्तमान अवस्था, दमन, शोषण, अन्याय, अत्याचार, राजनीतिक भ्रष्टता, समाजिक, विकृति विसङ्गति, आर्थिक स्थिति, गरिबीपना, शान्तिको खोजी, जनयुद्धले निम्त्याएको कहाली लाग्दो अवस्था, माओवादी जनयुद्धताका जनताले भोगेका दोहोरो (सरकार पक्ष र आन्दोलनकारी )मार, आदि आदि परिवेशलाई केलाएका छन् । चोटिलो प्रहार गर्न सक्ने शक्ति उनका कथामा मौजुदा छ र आज पनि उनका अभिव्यक्तिहरू सान्दर्भिक छन् । यस्ता गहन कथाकार श्याम आशा र नेपाल भाषाबाट नेपाली भाषामा अनुवाद र सम्पादन कर्ता ध्रुव मधिकर्मी दुवै जनालाई हार्दिक बधाइको साथै उत्तरोत्तर प्रगतिको कमनाको साथमा बिदा चाहन्छु धन्यवाद !

सदानन्द अभागी
फागुन ९ गते २०७४ साल,
कावासोती नगरपालिका वडा नं ७, नवलपुर