December 27, 2020

श्याम आशाका लघुकथामा एक दृष्टि

परिचय–

श्याम आशाको जन्म ने.सं.१०७५मा भक्तपुरमा भएको हो । उनी एक सिद्धहस्त लघुकथाकारको रूपमा आफूलाई स्थापित गर्न सफल भएको व्यक्तित्व हुन् । उहाँ ज्ञानज्योति पुस्तकालयको संस्थापक अध्यक्षको साथै विराट गुथि र नेवा गुथिको आजीवन सदस्य हुनुहुन्छ भने उहाँको लेखन कार्य नेपालभाषा र नेपाली भाषा दुवैमा हुने गरेको देखिन्छ । आवरण पृष्ठ सहित ६६ पृष्ठमा संरचित यस कृतिमा २५ ओटा ओजस्वी लघुकथाहरू समावेश गरिएका छन् । स्वर्गीय बुबा कृष्ण गोपाल कायस्थ तथा स्वर्गीय मुमा मिठ्ठीदेवी कायस्ठमा समर्पण गरिएको यस कथासङ्ग्रहलाई ध्रुव मधिकर्मीले अनुवाद एव म सम्पादन गर्नुभएको छ । यस कृतिको प्रकाशन सिर्जना अभियान, भक्तपुरले गरेको छ र मूल्य रु १००।– राखिएको छ ।

कथाकार र लघुकथाप्रति साहित्यकारको धारणा–

ध्रुव मधिकर्मीले लघुकथाप्रति विविध धारणाहरूलाई केलाउँदै श्यामआशका लघुकथाहरू 'अहिले पनि उत्तिकै सामयिक र सान्दर्भिक छन् ' भन्नुहुन्छ ।

श्रीओम श्रेष्ठ 'रोदन'ले आजको समय र समाजका लघुकथाप्रति आफ्ना धारणालाई राख्दै कथासारलाई केलाउँर्दै भन्नुहुन्छ –'यस सङ्ग्रहका लघुकथाहरू आजको समय र समाजलाई प्रतिनिधित्व गर्न सफल देखिन्छन् ।'

विजय सागरले 'आगोले जस्तै पोल्ने कथाहरू' शीर्षक दिएर लेख्नुहुन्छ– 'जसले यी कथाहरू पढ्ने छ –उसलाई देशमा विद्यमान दमन, शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार, कृतिम अभावर महगी जस्ता आगोले चसक्क पोलेको अनुभूत हुने छ ।'

सौरभ शाक्यले यस कृतिको सवल पक्षलाई केलाउँदै लेख्नुहुन्छ– श्याम आशाले लिने कथावस्तु चोटिलो, समसामयिक छ यथार्थपरक छ । प्रतिक पनि राम्रै लाग्छ । चित्रण पक्ष पनि सबल छ ।'

इन्द्र मालीले श्याम आशाको पिंजराभित्र पिंजराबाहिर हेरेपछि' शीर्षकमा श्याम आशाका कथामा पहिलो पाइला र दोस्रोपाइलामा तुलनात्मक अध्ययन गर्दै दोस्रो पाइलाप्रति लेख्नुहुन्छ –दोस्रो पाइलामा आजको परिवेश, आजको विषयवस्तु, मानवीय दुर्वलता र कमजोरीलाई भने, अलि बढी, प्रस्तुत गर्न खोजेको छ ।'

रामशेखरले श्याम आशाका कथा पढ्दा शब्दको कार्टुन चित्र झै लाग्नु र कलात्मक अभिव्यक्तिमा आकर्षित भएको धारणा आएको छ ।

राजा शाक्यले श्याम आशाका कथामा कुनै मनलाई छुने कथाहरू र कुनै कथनमात्र भएका र भन्न बाँकिरहे जस्ता लाग्ने कथाहरू भएका धारणा राख्नुभएको छ ।

किशोर पहाडीले श्याम आशाका लघुकथाको बारेमा लेख्नुहुन्छ –'सामाजिक र राजनैतिक विकृतिहरू केलाएर लेखिने उहाँका कथामा व्यङ्गको प्रचुरता देखिन्छ ।'

लघुकथा भित्र प्रवेश गर्दा –

देशलाई सही दिशातिर लानेकाम राजनीतिले गर्नु पर्ने हो तर नेपालमा त्यस्तो काम हुन सकेको छैन । मन्त्रीको भाषणप्रति व्यङकस्तै कथाकार भन्छन्–'व्याट्री भएसम्म चल्ने त हो ट्रान्जिष्टर' । भाषणमा मन्त्रीले दुई जीव्राको अवलम्वन गरेको घारणाजस्र्तै एकातिर भाषणमा धुम्रपान लिन्छ ज्यान भन्ने र अर्को तर्फ यस्ता कारखाना (धुम्रपान बनाउने कारखाना) धेरै खोल्नु पर्छ धन्ने धारणा ।

पत्रकारितामा खान लाउन नभै दुब्लो नाङ्गो अवस्था (गरिर्बी )लाई फोहोर खानाको असर र देशका जनता भनी विविध अर्थको प्रस्तुति ।

चिनियोमा काम लगाउनेले काम गर्नु पर्दैन भन्ने व्यङ्ग्य अभिव्यक्ति । समर्थन पद नपाउन्जेल विरोध र पद प्राप्त भएपछि समर्थन जस्तै पद बाहिर हुँदा खान लाउन देऊ नत्र कुर्सी छाड भन्ने अभिव्यक्ति सोही व्यक्तिले मन्त्री पद पाए पछि यो सरकारले जनताको हित र संरक्षणको काम गरेकोले यही सरकार चाहिन्छ जस्ता अभिव्यक्ति दिएको धारणा ।

आरोपमा सरकारमा रहेकाले क्रान्तिमा लागेका र माग्नेलाई पनि छुट्टयाउन नसक्ने धारणा जस्तै कपडा विहीन माग्नेलाई क्रान्तिकारीले दिएको रातो कपडा लगाउँदैमा क्रान्ति भड्काउने भन्दै भकुर्दै लगेको उदाहरण ।

नेतामा नेताको बहुरूपी वर्णन गरिएको छ जस्तै तीनओटा नाम अनि तीनओटा अनुहार भन्ने उदाहरण । सत्तामा नेताले सत्तामा पुग्न जनताका समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्ने र सत्तामा पुगेपछि प्रतिबद्धता भुल्ने साथै समस्यालाई देख्न नसक्ने धारणा ।

प्रदर्शन –यो कथामा कलाकारले मन्त्रीबाट देशको विकास कागजमामात्र भएको भन्ने उद्घाटन गराएका छन् ।

फाँसीमा अन्यायको बिरोधमा आवाज उठाउनेलाई फाँसिदिन लाग्दा अन्तिम इच्छाको सोधनी गर्दा फाँसीमा चढ्नेवालाले अन्यायको बिरोद्धमा आवाज उठाउनेलाई मार्ने र मराउनेलाई नै मार्ने भन्ने इच्छा व्यक्त गर्दै गलपासोलाई फूलको माला सम्झेर आफ्नै हातले लगाएको धारणा आएको छ ।

खुसीमा गरिबीको चरमसीमामा पुगेर दवाई किन्ने पैसा नभै मृत्युवरण गरेको बाबु मर्दा छोराले बाबुले अन्याय र अत्याचार भोग्न नपरेको धारणा राख्दै खुसी वयक्त गरेको ।

बत्तीमा उज्यालोको खोजी गरी बत्तीबाल्दा अँध्यारो भाग्ने र अन्धकारले अस्तित्व खोज्न कीराहरू बत्ती निभाउन पठाउँदा कीराहरूले बत्ती निभाउन नसकेपछि बलेको आगो निभाउन गाह्रो हुने धारणा छोराले बाबुसँग राखेको छ ।

भोजमा दुई दलका कार्यकर्ताले आन्दोलनका झण्डा बोकाएर नारा जुलुस गर्दै आपसमा भीड्दा घाइते भएका तर ती दलका नेताले एकै ठाउँमा बसेर गिलास लिएर चियर्स गर्दै चिकन रोष्ट टिप्न थाले भन्ने धारणा तथा कार्यकर्तालाई जुधाएर राजनीति गर्ने धारणा आएको छ ।

पखेटा भएको मान्छेमा राजनीतिमा मौकामा दर्शन बदली गरेर फाइदा आर्जन गरेर बंगला बनाएर विद्वान, विशिष्ट, राजनीतिज्ञ, आफ्नो क्षेत्रको विज्ञ, व्यस्त, देशभक्त, जनभक्त कहलाएको धारणा आउको छ । डम्फुमा राजनीति गर्ने नेताहरूको काम गर्ने क्षमता नभै बोल्न सक्ने क्षमता भएको धारणा राख्दै व्यङ्ग कसिएको छ ।

बुद्ध खोइ ? मा बुद्धलाई शान्तिको प्रतिक मानिन्छ, देशमा चलेको आन्दोलनले देशमा शान्ति हराएको, आन्दोलनकारीले सबैलाई दोषी ठहर्याई ठूलो नोक्सान भएको धारणा आएको छ ।

अभिनयमा - यस कथामा बाघ ऋषिमुनि भएर तपस्या गर्दै हिंसा नगर्ने भनेर तपस्यारत भए पछि, तपस्यारत बाघलाई हेर्न वनका पशुपंक्षीजम्मा हुनु र जम्मा भएकालाई बाघले आक्रमण गरे र खान थालेको र बाँचन सफल बाँदरले बाघसँग हिंसा गर्दिन भनेको होइन रभन्दा बाघले कहिल्यै घाँस नखाने र बाँचनको लागि अभिनय गर्न पर्ने धारणा राखेको ।

एउटा गाउँमा यस कथामा बाघले सताउँदा गाउले मिलेर बाघको अस्तित्व समाप्त पारे पनि उसको प्राणहीन शरीरका भागलाई सबैले आफ्नो आफ्नो इच्छा अनुरूप हक दावी गरेको र शक्ति हत्याउनको लागि भिडन्त यथावत रहेको धारणा आएको छ ।

हर्षबहादुर कथामा नेपालका राजनीतिक दलले कुनै दलमा नलागेको भए पनि मरेको लासमा पनि राजनाीति गर्छन् भन्ने धारणा ।

परिवर्तन कथाले सानालेभन्दा ठूलोले वातावरणमा असर पार्न सक्ने भन्दै सानो घन्टी बज्दा कुनै हलचल नभएको र ठूलो घण्टा बज्दा ठूलै हलचल भएको उदाहरण दिएका छन् ।

विडम्बना कथामा धार्मिक पुस्तकहरूलाई आस्थाको रूपमा राखिएको तर घरमा कुनै सुधार नदेखिएकोले खोलामा बगाउन लिएर गइ फाल्दा खोलामा पानी नभएकोले किताव बग्न नसकेको धारणा । रित्तो सपनामा नैसर्गिक हकको खोजी गरिएको कथा जस्मा मुसाहरूले बिरालोले दुख्ख दिएकोल बिरालोको विरोधमा धेरै बच्चा जन्माउन थाल्नु र त्यस वेलादेखि बिरालोलाई भोकै बस्न नपर्ने धारणा पस्किएको छ कथामा । ।

इच्छा–स्वतन्त्रताको चाहना सबैमा हुने धारणा आएको छ । उदाहरणमा थुनेर पालेका परेवाले होहल्ला गर्दा डाक्टरले अनुगमन गरी परेवा अब थुनिएर नबस्ने भन्ने सन्देश दिइएको छ ।

बेवारिसे चप्पल कथामा चप्पल लगाउने वाला चप्पल छाडी अलगिएको र चप्पलले ऊ आन्दोलनमा शहीद भयो होला तर मलाई वेवारिसे बनाएर छाड्यो भन्ने धारणा आएको छ ।

सुन्तला कथामा गुरु चेला बीच सम्वादको रूपमा पस्किएको र पृथ्वी सुन्तला जस्तै छभन्दा विद्यार्थीले सुन्तला खाँदाको स्वाद सम्झदै पृथ्वी खाने को त भन्ने प्रश्न गुरुसँग राखेको र सो को जवाफ दिन नसकी शिक्षक रनभुल्लमा पर्दै विकसित देशले खान खोजेको त हैन भन्दै प्रश्न बाची भएको धारणा आएको छ ।

यी पच्चीस ओटा कथाको सङ्क्षिप्तसार माथि पस्किने प्रयास गरिएको छ ।

श्याम आशाका लघुकथाहरू नेपाल भाषामा लेखिएका र यी कथालाई ध्रुव मधिकर्मीले नेपाली भाषामा अनुवाद गरी सम्पादन गरेको हुँदा यी कथाहरूको प्रस्तुतिमा ध्रुव मधिकर्मीको पनि गहन भूमिका देखिन्छ । ध्रुव मधिकर्मीले 'समसामयिक विषयका व्यंग्यात्मक लघुकथा' शीर्षक लिएर श्याम आशाका कथामा विश्लेषण पनि गरेका छन् । यो विश्लेष्णले श्याम आशाको कथाकारितालाई प्रकाश पार्न सफल देखिन्छ ।

भाषशैली –कथामा आफूले भन्न चाहेको कुराहरू सरल छन् तापनि भनिएका कुरामा व्यङ्ग कसिएको पाइन्छ । कथामा भनिएका कुरालाई मनन गर्न मनमात्र नभै मस्तिष्कको लगानीको आवश्यक्ताको महसुस हुन्छ । किनकि श्याम आशाले आफूले प्रस्तुत गर्न चाहेको विषय घुमारो पाराले प्रतिकको प्रयोग गरेरमात्र प्रस्तुत गरेको देखिन्छ ।

श्याम आशाले देशको यथार्थ चित्रणलाई समाएका छन् र देशको वर्तमान अवस्था, दमन, शोषण, अन्याय, अत्याचार, राजनीतिक भ्रष्टता, समाजिक, विकृति विसङ्गति, आर्थिक स्थिति, गरिबीपना, शान्तिको खोजी, जनयुद्धले निम्त्याएको कहाली लाग्दो अवस्था, माओवादी जनयुद्धताका जनताले भोगेका दोहोरो (सरकार पक्ष र आन्दोलनकारी )मार, आदि आदि परिवेशलाई केलाएका छन् । चोटिलो प्रहार गर्न सक्ने शक्ति उनका कथामा मौजुदा छ र आज पनि उनका अभिव्यक्तिहरू सान्दर्भिक छन् । यस्ता गहन कथाकार श्याम आशा र नेपाल भाषाबाट नेपाली भाषामा अनुवाद र सम्पादन कर्ता ध्रुव मधिकर्मी दुवै जनालाई हार्दिक बधाइको साथै उत्तरोत्तर प्रगतिको कमनाको साथमा बिदा चाहन्छु धन्यवाद !

सदानन्द अभागी
फागुन ९ गते २०७४ साल,
कावासोती नगरपालिका वडा नं ७, नवलपुर

No comments:

Post a Comment