editor — Mon, 05/26/2014 - 16:29
परिचय
युगीन साहित्य समाज रुपन्देहीले नववर्ष २०७१ को १ गतेको दिन भव्य साहित्यिक कार्यक्र गर्ने भनेर मलाई सहभागी हुनको लागि निम्ता पठाएको थियो तर यस्तो महत्वपूर्ण कार्यक्रममा म सहभागी हुन सकिन । विमोचित कृति प्राप्त भएमा मैले गहिरो अध्ययन गर्नेछु र त्यसप्रति मैले जानेका र लागेका भावनालाई अवश्य पनि पोख्ने छु भन्ने बचनबद्धता, युगीन साहित्य समाजका पदाधिकारीहरू (अध्यक्ष बिनोद उदय लगायत यज्ञप्रसाद न्यौपाने, सुरज पाण्डेय, सुशील सापकोटा, युवराज लामिछाने)लाई, प्रकट गरेको थिएँ । कार्यक्रम निकै प्रभावकारिरहेको जानकारी पाएँ । खुसी लाग्यो उक्त दिन समर प्रकाशको, वमोचित भएको कृति, 'पर्खाल' युगीनका मित्रहरूले साहित्यकार दीपक सोती मार्फत पठाएको, कृति प्राप्त गरें । समर प्रकाशसँग मेरो भेटघाट भएको हो या होइन मलाई एकिन भएन । उहाँले आफ्नो कृतिमा राखेको तस्विरलाई हेर्दा नवयुवक देखिनुहुन्छ तर उहाँको जीवनी तथा पारिवारिक विवरण कृतिमा समावेश गर्नुभएको छैन । भन्न मन लाग्यो, कृतिकारले आफ्नो जीवनी, साहित्यिक आवद्धता तथा छोटो परिचय दिनु राम्रै हुने हो तापनि समरजीले आफ्नो रचनाले नै परिचित गराओस् भन्ने धारणा लिए जस्तो लाग्यो । यस्ता कृयाशील पुत्रलाई जन्म दिने माता पिताको नाम जान्ने जिज्ञासा जागेर आयो र मैले समर प्रकाशलाई फोन गरेर मातापिताको नाम (हिरा पाण्डे र नारायण पाण्डे हो भन्ने जानकारी) प्राप्त गरें । समर प्रकाश र उहाँको कृतिको बारेमा विभिन्न साहित्यकारहरूले पोखेका अभिव्यक्तिहरूले उहाँको कृतित्व र व्यक्तित्वलाई प्रष्ट पारेको हामीले अनुभव गर्न सकिन्छ –
विभिन्न साहित्यकारको नजरमा कृति र कृतिकार
यस कृतिको प्रकाशकीयमा युगीन साहित्य समाज रुपन्देहीका अध्यक्ष विनोद उदयले लेख्नुहुन्छ – 'युवा गजलकार समर प्रकाश रुपन्देही र नवलपरासी क्षेत्रले गर्व गर्न लायक गजलकार हुन्' । 'समर प्रकाशको प्रथम समर' शीर्षक दिएर रुद्र ज्ञावलीले यस कृतिको विश्लेषणात्मक भूमिका लेख्नुभएको छ । उहाँको कथन छ – 'समर प्रकाशले देशको माटोलाई माया गर्दछन्, आफू हिड्ने बाटोलाई माया गर्दछन्, किसानको गोरु नारेको पाटोलाई माया गर्छन, छानो धानेर राखेको भाटोलाई पनि उत्तिकै माया गर्छन् वास्तवमा देशप्रेम भनेको यही भावना हो' । बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले यस कृतिप्रति लेख्नुहुन्छ – भावुकतापूर्ण सस्ता अभिव्यक्ति दिने अधिकांश युवा गजलकार बीच यति राम्रो र अर्थपूर्ण गजल लेख्ने समर प्रकाशलाई पढ्न पाउँदा खुसी लाग्यो । गजलको माध्यमबाट यो देशको वास्तविकतालाई उजागर गर्ने छटपटी यिनका यी गजलहरूमा पाएँ । पछिल्लो समय राम्रो र गुणस्तरीय गजल सिर्जना गर्ने मनोज न्यौपाने, रुपक वनवासी, डा.टिकारामा भण्डारी, बाबु त्रिपाठी, माधव खतिवडाहरूको अभियानलाई पछ्याएर गजल लेख्ने जुन परिपाटी सुरु भएको थियो त्यसलाई यो कृतिले बल पुर्याएको म अनुभव गर्दै छु । गम्भिर विषयलाई पनि अति सरलसित संप्रेषणीय बनाउन सक्ने यी कविको भविष्य बारे कसैले शंका उठाइरहनु पर्ने स्थिति म देख्दिनँ । गजल लेखनलाई निरन्तरता दिइरहने शर्तमा अहिले म यिनको दीर्घकालीन साधना र उत्तरोत्तर प्रगतिको लागि आफ्नो शुभेच्छा व्यक्त गर्दछु । 'पर्खाल भित्र पर्खाल बाहिर' शीर्षकमा बाबु त्रिपाठीले यस कृतिप्रति लेख्नुहुन्छ –'गजल कस्तो हुनुपर्छ ? कस्तो लेखिनुपर्छ ? भनेर कसैले मलाई सोध्यो भने म उसलाई समर प्रकाशको 'पर्खाल' देखाइदिन्छु' । गजलकार कपिल अञ्जानले यस कृति र कृतिकारप्रति लेख्नुहुन्छ – 'स्वभावले एकदमै शालिन छन् समर प्रकाश । जति शालिन छन् यिनी त्योभन्दा प्रभावशाली छन् यिनका गजलहरू कल्पनाको उडान पनि धरातलबाटै हुन्छ, र त्यो कल्पनालाई वास्तविकतामा रूपान्तरण गरिदिएका छन्, यीनको एक सेरले एक युग बोलेको छ' । 'पर्खाल भित्रको चित्र' शीर्षकमा यज्ञप्रसाद न्यौपानेले स्वच्छन्दता र समसामयिक गजल समाजले खोजिरहेछ भन्दै लेख्नुहुन्छ – 'समय बदल्ने शक्तिको समुच्यय हो 'पर्खाल' र समाजको कुरूप चित्र पनि' । यसै सन्दर्भमा स्वय म गजलकारको धारणा पनि केलाउने मन जागेर आयो । 'केही मेरा कुरा... ' शीर्षक केलाउन पुगें । उहाँले ' 'सपना देख्नु कुनै अपराध होइन' भन्दै गजल लेख्ने सपना देखेर आफ्ना मनभित्रका ज्वाला मनभित्रै नदन्किइ गजलमा रूपान्तरण भएको आशय प्रकट गर्नुभएको छ । उहाँका केही कुरालाई केलायो भने उहाँको लेखनी बाल्यकालबाटै चलेको देखिन्छ । उहाँ कथा र गीत लेखेको स्मरण गर्दै लेख्नुहुन्छ – ' कहिलेकाहीं भेटिन्छन् कुनाकाप्चामा मेरा बाल्यकालहरू, मेरा ती दिनहरू, मेरा ती रातहरू, मेरा सुरुवातहरू जसमा मोरा भोगाइहरू जानी नजानी कुनै सुत्रबन्धमा नरही छरपष्ट तरिकाले कोरिएका थिए' । समरजी सिर्जनाको थालनीमा, सिर्जनाको महत्वलाई बुझ्न सकिदो रहेनछ जसको नतिजा तपाईंको अभिव्यक्ति सरह नै हुन्दो रहे छ । यो मेरो पनि अनुभव हो ।
कृतिभित्र पस्दा–
कृतिभित्र पस्नु अघि बाबु त्रिपाठी र यज्ञप्रसाद न्यौपानेले उठाएका काठमाण्डौवाद र मोफसलवादको चर्चामा बाबु त्रिपाठीले धेरै साहित्यकारको यस सम्बन्धमा उदाहरण दिएर आफूले नै यसको कारणलाई दर्शाउँदै लेख्नुहुन्छ –'काठमाण्डौवाद र मोफसलवादको हल्ला चलिरहन्छ । यसका कारणमा राजधानीमा प्राप्त हुने् सुविधा, प्रचार तथा मान्यताहरू मोफसलबाट प्राप्त गर्न नसक्नु नै एउटा मुख्य कारण हो' । मलाई पनि भन्न मन लाग्छ – बास्तवमा सिर्जित सिर्जनाले कति क्षेत्रलाई ओगट्न सक्छ र कस्तो वौधिक समुदायले त्यो रचनालाई ग्रहण गर्न सक्छ भन्ने कुरा हो । व्यापक क्षेत्र र बढी अवसर काठमाण्डौवादले जे जति ओगट्न सक्छ त्यो मोफसलवादले ओगट्न कठिन पर्दछ । यसलाई विश्लेषण गर्दा निश्चय नै काठमाण्डौ वादले व्यापक क्षेत्र, राज्यले दिएको सुविधा तथा राष्ट्रिय व्यापकतामा समावेश हुनसक्छ त्यो सुविधा मोफसलवादले प्राप्त गर्न निकै संघर्षरत हुनुपर्दछ ।
यज्ञप्रसाद न्यौपानेले समरका गजललाई यसरी तुलना गर्नुभएको छ –'गजलमा मोफसलको युवा नेतृत्व लिन समर सामर्थवान छन् । भन्सार छलेर राजधानी पुर्याइएका गजलभन्दा यी गजलहरू कुन मानेमा कम छन् र ' –
महलको छानो उडेन यार
आँधी, हुरी, वतास खेर गयो
गजल १२ पृष्ठ ३४
माईत आउन पाइनन् चेली
यसपाली मलमास खेर गयो
गजल १२ पृष्ठ ३४
गजल लेखन शैली
'पर्खाल'मा ५८ओटा गजलका शेरहरू समावेश गरिएको पाइन्छ । यी गजलहरू लेखनमा परम्परावादी गजल लेखनभन्दा केही फरक पन र विविधता पाउन सकिन्छ । गजलकारले आफू गजल लेखनको क्षेत्रमा भिन्न रूपमा प्रस्तुत हुन खोजेको आभास मिल्छ । सरल भाषामा सामाजिक यथार्थ परक र समसामयिक घटनाक्रमलाई अङ्गाल्दै गजलकारले गजलको मार्ग छानेका छन् ।
गजलमा सामाजिक यथार्थताको प्रकटीकरण
साहित्य समाजको दर्पण हो । साहित्यले समाजमा भए गरेका कर्मलाई नै टपक्क टिपेर सुपरिवर्तनको अवधारणालाई जनसमक्ष पुफ्याउनु नै प्रमुख दायित्व हो । आज समाजमा देखिएका व्यापक विकृति र विसङ्गतिले मानवीय मूल्य र मान्यता, नैतिक जिम्मेवारीको वहन, तथा दायित्वको वोधमा जुन प्रकारको ह्रास देखिदो छ र पारिवारिक संरचनामा जुनरूपले रूपान्तरणको बाटो समाएको छ, त्यसमा असहमति देखिनु स्वभाविक हुन आउँछ । यस्ता घटनाक्रमलाई गजलकारले यसरी प्रस्तुत गरेका छन् । हेरौं केही गजलका शेरहरू–
बा–आमाबाट छोरोलाई छुटाई
बुहारीको त्यो रातो साडीले लग्यो
गजल २ पृष्ठ २४
अंशवण्डा बाडिएको समाचार आउँछ
बाउछोरा टाढिएको समाचार आउँछ
गजल ९पृष्ठ ३१
बाउलाई हप्काएको देखें
छोरामा कुनै सभ्यता छैन
गजल १४ पृष्ठ ३६
समाजमा मानिसको जन्मभन्दा
खुनी, अपराधीको उत्पत्ती सुनिन्छ
गजल ४७ पृष्ठ ६९
माथका गजलका शेरहरूको अध्ययनले नै प्रष्ट पार्दछ कि हरेक घर घरमा द्वन्द्व छ । समाजमा सज्जनभन्दा खुनी अपराधीहरूको संख्या बढ्दो रूपमा छ । छोराबुहारीले आफ्ना आमाबाबुप्रति निभाउनु पर्ने आफ्नो दायित्व तथा सामाजिक मर्यदाभन्दा बाहिरएका छन् । सामाजिक मूल्य र मान्यतामा ह्रास देखिन्छ ।
राष्ट्र र राष्ट्रियता र गजलकार
राष्ट्र राष्ट्रियताप्रति गजलकारको गहिरो चासो देखिन्छ । देश हाक्ने राज्यशक्तिले हो । राज्यशक्तिमा लाग्नेहरूले राज्यमा सुशासन चलाएर जनतालाई राहत दिनन्भन्दा आहतको पोका बाँडिरहेका छन् । सहमतिको नाममा विमतिका भजन गाइरहेका छन् । द्वन्द्वले देशलाई जर जर बनाएको छ । देशलाई थाम्ने भनेका युवाशक्तिले हो तर देशका कतिपय युवालाई देशमा चलेको युद्धले लग्यो भने कतिपय युवाहरू खाडीमा पुगेका छन् । यस देशमा बाजी मार्न दकुर्नेहरूमा कसले बाजी मार्छ भन्न गाह्रो छ किनकि भाइृ भाइको युद्धमा जित कसैको हुँदैन, त्यहाँ हुने भनेको हारैहार हो । यी सबै घटनामा गजलकारको सहमति छैन । गजलकार भन्दछन् –
कसले बाजी मार्छ भन्न छ गारो
को जित्छ को हार्छ भन्न छ गारो
गजल १ पृष्ठ २३
खिइएछ खुकुरीको राष्ट्रवाद
कता पट्टि धार छ भन्न छ गारो
गजल १ पृष्ठ २३
भत्ता– सत्ता र स्वार्थको राजनीतिले
कयौं जनता महङ्गीको घेरामा छन्
गजल २८ पृष्ठ ५०
कोही घरमा छन् कोही डेरामा छन्
जहाँ भए पनि नेपाली अँधेरामा छन्
गजल २८ पृष्ठ ५०
आज आन्तरिक द्वन्द्व र भाइ भाइ बीचको अन्तर कलहले गर्दा छिमेकी र अन्तर्राष्ट्रिय क्षेत्रबाट राष्ट्रमा देखिएको बढ््दो हस्तक्षेपबाट देशले मुक्ति पाउन पर्छ भन्ने धारणा गजलकारको छ । गजलकारले मार्मिक प्रस्तुति यस प्रकार गरेका छन्–
दाजुभाइ लडेपछि घर भाड्न
अरुलाई पनि आधार बढ्न थाल्यो
गजल ४४ पृष्ठ ६६
देशको पर्खाल धरापमा परेछ
सुस्ताको नेपाल धरापमा परेछ
गजल ४५ पृष्ठ ६७
राष्ट्रवादी नारा चर्काउनेको घर
सीमाको सवाल धरापमा परेछ
गजल ४५ पृष्ठ ६७
गजलकारका यस्ता राष्ट्र र राष्ट्रियताप्रतिका गहन अभिव्यक्तिहरू हामीले अरु पनि पढ्न पाउँछौं । गजलवजकारले खुकुरीको राष्ट्रवाद खिइएको पाएका छन् । जबसम्म राष्ट्रियता सवल हुँदैन तबसम्म राष्ट्र सवल हुन सक्दैन । गजलकारले कलमको आधारमा देशमा परिवर्तन चाहान्छन् नकि छुराबाट । उनले छुरालाई आफू कलम भएर हाँन्क दिन्छन् र भन्छन् –'माटोको कसम खाएर नतिजा जस्तो आए पनि स्वीकार्छु भनी आऊ युद्ध गरौ' । यो सबैलाई थाहा भएकै कुरा हो कि गोलीको प्रभाव क्षणिक हुन्छ तर कलमको प्रभाव दीर्घ र प्रभावकारी हुन्छ । गजलकारले विस्तारवादप्रति पनि कटाक्ष गरेका छन् ।
कानूनी राज्यको अवधारणा र गजलकार
देश कानुको आधारमा चल्नु पर्छ । जनताले शान्ति सुरक्षा पाउनु पर्छ । कानूनले देशलाई डोर्याउन सकेन भने त्यहाँ अराजकता बढ्छ । त्यस्तो कानूनको कुनै औचित्य रहदैन । गजलकारले कानूनप्रति तीखो व्यङ्ग कसेका छन् र लक्षित गर्दै भन्छन्–
न्याएको पक्षमा बोल्न नसक्ने अन्धो
कानूनले फाँसी खोज्ने छ एक दिन
गजल २२ पृष्ठ ४४
कानूनले आँखामा पट्टी बाँधेर हो कि
न्यायमाथि नै बलत्कार बढ्न थाल्यो
गजल ४४ पृष्ठ ६६
गजलमा विविधता
गजलकारले हरेक क्षेत्रलाई अवलोकन गरेका छन् । हरेक क्षेत्रमा विकृति पाएका छन् र त्यसको सुधारको लागि आफ्ना धारणा राख्दै लेखकीय धर्मको पालना गरेका छन् । उनले ऐतिहासिक पुरातात्विक बस्तु कवाडीले लानु, जिन्दगीको भोगाइमा जिन्दी नै विगार्नु तथा उन्नती नै विगार्नु, जातीय विभेद, जलको धनी देशमा विधुत्को अभाव, जनआन्दोलनमा भएका घाइलेका कुरा, किसानको खेत जमिन्दारले हिल्याउने कुरा, पार्टपूर्जा र पाङ्ग्रा हराए पनि जहाज नयाँ नै भएको कुरा, धनी र गरिबका भोजनका कुरा, समाजमा देखिएको असमनताका कुरा, धर्ती जून बन्ने, पित्तल सुन बन्ने, मायाको कानून बन्ने, गुन बाटै बैगुन बन्ने, कार्टुन बन्ने, चेली लुटिएका, पत्रकार मारिएर पुरिएको र पत्रकारितामा शुद्धताका कुरा, रोजगारका कुरा, गास, वास कपासका कुरा, मानवमा हुनुपर्ने दृढता, क्षमता र ममताका कुरा, नेतै नेताको देशमा जनताको अभावका कुरा, फूलका कुरा, इतिहास र विश्वास ढलेका कुरा, मानिसले मात्र नभएर दैवले पनि हतियार उठाएका कुरा, कर्णलाई अर्जुनले छलेर मारेका कुरा, अधिकार र आवाज लुटका कुरा, रातो राहदानी बेचेका कुरा, जवानी बेचेका कुरा, राजधानी बेच्ने कुरा, आदि विविध विषयमा गजलकारले औंला ठड्याएका छन् र विकृतिलाई सुधार गर्नको लागि आफ्नो धारणा पोखेका छन् । यिनको गजल लेखाईमा विभिधता पाइन्छ ।
अन्त्यमा, गजलकारको यो कृति पहिलो भए पनि गजल मार्मिक छन् । गजलकारले हरेक क्षेत्रमा आफ्नो विवेको लगानी गरेका छन् । सुन्दर शैली अपनाएर आफ्नो क्षमताको प्रदर्शन गरेका छन् । गजलको क्षेत्रमा नयाँ प्रस्तुतिको साथमा आफ्नो नाम दर्ता गराएकोमा निरन्तरताको लागि शुभकामना दिंदै बिदा हुन्छु ।
धन्यवाद,
सदानन्द अभागी
मिति २०७१ साल वैशाख ८ गते,
कावासोती–१, शान्तिचोक, नवलपरासीं
No comments:
Post a Comment