कथा
सदानन्द अभागी
मोदीवेनी घाट २० –२५ जनाको जमघट छ । एकातिर लास जलिरहेको छ । अर्कोतिर अस्तु लिएर १२–१३ वर्षको बालक अस्तु विसर्जन गर्न खडा छ । मलामीहरू तितर वितर छन् । जलिरहेको लासतिर फर्केर कसैले सोधिरहेको छ । यो कहाँको लास हो ? महिला या पुरुष कस्को हो ? के विमारले मरेको हो ? यी प्रश्नको जवाफ दिने कोही देखिदैन । अस्तु विसर्जन गर्न जाने समुहकै कसैले भन्दै थियो –'यो १३ वर्षे बालकको हो रे । यतै भिडाबारीतिरको लास हो रे ?' झुण्डिएर मरेको रे ? म प्रतिक्षालयमा बसेर यी सबै क्रियाकलापहरू नियाली रहेको थिएँ । अस्तु विसर्जनतिर केही व्यक्तिहरू लागि रहेका थिए भने म सोचमा थिएँ । साना साना बालबालिका किन झुण्डिएर मर्छन् । यति सानो बालकलाई के नै पीर परेर होला झुण्डिन परेको ? आजको यो परिवर्तित समयमा बालबालिकामा कसरी उत्तेजना बढेर आउँछ होला ? अनेकौ तर्कना मनमा उठ्छन् । बालक हुँदैमा इच्छ्या आकान्छा नहुने हैन । तिनीहरूमा तीब्र इच्छा हुन्छन् । इच्छाप्राप्ति नभएमा मनमा वितृष्णा फैलिन्छ, मनमा घृणा जाग्छ, बाँच्नु भन्दा मर्नु नै उचित ठान्छ । मृत्युको बाटो खोज्छ । बालबालिकाले आफ्ना मागहरू आफ्ना मातापितामा राख्छन् । यदि मातापिताले आफ्नो मागलाई पूर्ति नगरेमा परिणती घातक बन्न सक्छ । विकासको संसारमा विनासले पनि साथ दिएको हुन्छ । आज बालबालिकाको लागि थरी थरीका खेलौना सिर्जना भएका छन् । इन्टर्नेट सेवा सञ्चालन भएका छन् । धनीकै छेउछाउमा गरिवको बसोबास हुन्छ । धनीले छोराछोरीलाई दिने नयाँ नयाँ कपडा खेल्ने खेलौना गरिबको घरले दिन सक्दैन । बालबालिकामा हामी गरिब छौं , हामीलाई हाम्रो चाहनाको पूर्ति बाबु आमाले पु¥याउन सक्दैनन् भन्ने ज्ञानको कमी हुन्छ । घरमा ती बस्तु प्राप्तिको लागि रडाको मच्चाउँछन् । उस्तै परे बाबु आमाले पिट्ने काम पनि गर्दछन् । यसको नतिजा घातक बन्छ । आजको वैज्ञानिक युगमा इन्टरनेटको सेवाबाट बालबालिकाले राम्रा नराम्रा सबै कुराहरू सिक्छन् । हाम्रो बानी विग्री सकेको छ । हामीले नानीबाबु भुलाउनको लागि बोली नफुट्दै हातमा मोवाइल थमाइदिन्छौं । बालबालिकाले मोवाइल पाएपछि त्यसबाट पाएको सन्देशलाई सहजै ग्रहण गर्दछन् । यसले पनि ठूलो असर गर्दछ । सानो उमेरमै कुलतमा लाग्छन् । नाना थरीका अपाच्य काम गर्छन् जसको परिणती पनि खराबै निस्कन्छ । बाबुआमाको राम्रो निगरानी पुग्नु पर्छ । आफ्ना बालबालिका कुन दिशामा बढिरहेका छन् त्यसमा पनि बाबु आमाले नै ख्याल गर्नु पर्छ । बालबालिकाले सिक्ने भनेको बाबुआमा बाट र समाजबाट सिक्ने हो । त्यसो हुँदा घरबाट बालबालिकालाई राम्रो सन्देश दिन सक्नु पर्छ । अनुसाशनमा राख्नु पर्छ, नैतिक शास्त्रको अध्ययन घर तथा पाठशालामा सिकाउनु पर्छ । मेरा मनमा यी नै कुराले गर्दा अनेक तरङ्ग तथा ज्वारभाटा चलिरहेका थिए । स्यानाखेते साँहिलाले कोट्याउँदा म झल्याँस भएँ । अस्तु विसर्जन गरि सकिए छ । अनि मृतकले लगाएका कपडा कसैले बगाइदिने भने कसैले बगाउनु पर्दैन । राम्रा राम्रा कपडा गंगा किनारमा राखिदिए लगेर लगाउँछन् भन्दै थिए । एक्कासी एकजना युवती झोलाबाट एउटा कमिज निकालेर साथमा लिएर आइन् ।
अस्तुका कुरा गर्दा कौतुहल जाग्न सक्छ । लासको खोजी हुन थाल्छ । आज देशले रोजगार दिन नसकेपछि धेरै युवा, युवती रोजगारको साथै विविध कामको लागि विदेश पलायन भएका छन् । विदेशमै कोही हराएका छन् कोही जेल परेका छन् । कसैका लास बाकसमा आएका छन् । कोही नेपाल फर्केका छन् । आजको अस्तु भने भारतमा गएका एकजना गरिबको थियो । उसको सतिगति गर्न दुईजना नेपालबाट भारत गएका थिए । सतिगति गरेर अस्तु लिएर आएको हुँदा अस्तु विसर्जन गरेर क्रिया गर्नु थियो । हामी सबै घाटबाट घरतिर फर्कने काम भयो । मृतकको छोरा क्रिया गर्न बस्यो ।
मलाई फेरी कौतुहलता जाग्यो । श्रीमती खोइ त ? केवल छोरोमात्रै क्रियामा बसेको छ । मेरो जिज्ञाशामा मोटी मोटी सुन्दर युवती छोराको कपाल कनाउँदै बसेको देखेनऊ ? हो त ती युवती निकै असहज अवस्थामा थिइन् । घरी छोराको कपाल मुसार्ने घरी यताउती हेर्ने घरी उठ्ने घरी बस्ने । यो छटपटाहटले कता कता केही संकेत गरेको आभास मिल्थ्यो । एक पटक ठूलो आवाजले चित्कार छाडिन् । हत्तपत्त समालिइन् र बाबु रोयो भन्न थालिन । रुन त ती आँफै रोएकी थिइन् । मेरो जिज्ञाशा थियो यी किन रोएकी होलिन्। जब मलाई थाहा लाग्यो कि ती युवती त मृतककी पूर्वश्रीमती रहिछन् । मलाई यो पनि थाहा भयो कि उनले छोडपत्र लिइसकेर बसेकी अरे । । छोडपत्र भएपछि क्रिया गर्न परेन । छोरालाई छाड्न पनि निकै कठिन मान्दै थिइन् । परम्परा हो र समाजले ग्रहण गरेको संस्कार छाड्न पनि सहज थिएन ।
यी सबै कुरा बुझी सकेपछि पुनः म सोचमा डुवें । त्यो लामो चित्कार किन ? घाटमा फाल्न लगेको कमिज नै किन लिएको । मनमा खुलदुली जाग्यो । म पुन गहिराइमा डुबें । मस्त जवानी, लोर्के ठिटो , ठूलो नभए पनि राजमार्गको किनारमा सानो होटेल, पैसा पकेट भरी लिएर हिड्ने, मन्द मन्द सुराको गन्ध, लाडेवानी भएको युवकलाई अल्लारे जवानीकी ती युवतीले निकै मनपराइन् । के नै चाहियो र ? अव त दुवै एक अर्कामा लहसिन थाले । दुवैले प्रेम विवाह पनि गरिहाले । फुल्ने फल्ने प्रकृतिको देन नै हो । एउटा बालकले संसार देख्यो । अवत उनलाई बन्धनले बाँधो । साथमा बच्चा छ । होटेल पनि जस्ले पायो उसैले पैसा निकाल्दै हिड्ने, घरमा विक्रीमा ल्याएको रक्सी पनि सबैले खाने र आपसमा लड्ने गर्दा, होटेलले भाडा तिर्ने अवस्था पनि रहेन । होटेल बन्द भयो । होटेल बन्द हुनुको नतिजा थियो मुख पनि बन्द हुनु । अवत झनै झगडाले ठूलो रूप लियो । बिचरा कलिली नानी, त्यसमा पनि बालक काखमा, श्रीमानले साथमा भएका गहना पनि निकालेर रक्सि खाने र घरमा आएर सुत्केरी कुट्ने गर्दा असह्य वेदनालाई सहन नसकेर उनी बच्चालाई बोकेर माइततिर लागिन् । माइतमा पनि कहाँ सहज थियो र आफ्ना खुसीले हिडिस बल्ल स्वाद पाइस् भन्ने कटुबचन सुन्नु थियो सुनिन् । उनले के नै भन्नु थियो र आँखाभरी आँसु भरेर पिढीमा बसेर रोइरहेको बालकलाई दूध चुसाउनु थियो मन लागि नलागि झर्को मान्दै चुसाउन लागिन् । मातृत्वको हृदय कति कलिलो हुन्छ जति दुःख परे पनि दुःखलाई पचाइ दिन्छ । सर्वस्व त्याग्नपरे पनि बच्चालाई त्याग्न सक्दैनन् ।
महिलाको जिन्दगी जति स्वतन्त्रताका कुरा गरे पनि आखिर पुरुषमै निर्भर रहन्छ । समयमा ख्याल गर्न नसकेमा जिन्दगी भरी दुःख भोग्न पर्दछ । तर उनी हिक्मत हार्ने खाले थिइन् । श्रीमानलाई सहीमार्गमा हिडाउन सक्छु कि भनि ऋण धन गरेर मलेसिया पठाइन् । ब्रह्म गए कर्म सँगै नेपाल गए कपाल सँगै भने जस्तै विगरेको वानी सप्रनेतिर लागेन । गएको ऋण तिर्ने, रक्सी नखाने र पैसा सञ्चित गर्ने बानी कहिल्यै बसेन । केही वर्ष विताएर श्रीमान रित्तोहात लिएर पुन घरमा आए । बसेको बानी को छोड्ला नानी, पुनः उनको ताण्डव नृत्य सुरु भयो । श्रीमतीका कपालका रौं गनिन थाले । बालकलाई नालीतिर फालिन थाले । यस्तो कठोर यातनालाई कसरी सहनु ? उनी पुनः माइततिरै लागिन् ।
अब त अति भयो । श्रीमानबाट पाउने न त हिजोको जस्तो प्रेम नै छ न त मीठो बोली नै छ । जे छ सुरा छ । सुराबाट निम्तिएकोे आतङ्क छ । झगडा र मारपिट सवल रूपमा चलिरहेको छ । उनी छोडपत्रको लागि बाध्य भइन् । अदालतमा अंशसहितको छोडपत्रको जाहेरी हालिन्। प्रतिवादी लगाउने काम भएन । एकलौटी मुद्दा जित्ने काम भयो । अंश लिन आएकी पनि थिइन् अरे । केही भए पो पाउनु अंश पनि हात लागेन तर पतिको क्रियाकर्मबाट भने उनी जोगिइन् ।
मेरो मन अझै शान्त भएको थिएन । ममा प्रश्नहरू उठिरहेका थिए । उनी धरधर्ती नरोए पनि उनका आँखा ओबानू थिएनन् । एकपटक त उनले चित्कारै निकाले कि थिइन् । तर नरोएको बहाना बनानउन बाबु रोयो भन्दै थिइन् । मैले आफैमा उत्तर खोजे । मेरो मनले उत्तर दियो । पारपाचुके अदालतले प्रमाणित गरिदियो तर हृदयमा गढेको माया भने त्यो अदालती प्रमाणले धुन सकेन । नाताबाट अलगिए पनि प्रेमको बन्धनले अलग्याउन सकेन । मन कता कता दुख्यो र मनबाट ठूलो चित्कार छुट्यो, आँखामा आँसुका रसायन रसिन थाले । घाटबाट कमिज किन लिइन् त भन्दा चिनोको रूपमा लिइन भन्ने मेरो मनले अठोट ग¥यो ।
धन्यवाद
(यो कथा काल्पनिक हो, कसैलाई तोकेर लेखेको हैन । स्थान र पात्र पनि काल्पनिक हुन् )
No comments:
Post a Comment