April 1, 2012

मातृत्व हीनता

मातृत्व हीनता

सदानन्द अभागी

भरखरै रोपाइँ सकिएकोले धानको बिरुवाले हरियो पना देखाए पनि गह्रालाई हरियालीले ढाक्न भने सकेको थिएन। गाँजहाल्न सुरुमात्र भएको थियो। मलिलो जग्गामा धान हरियो थियो । रुखो जग्गामा धानले पहेलो रङ्ग चढाएको थियो। धानले भोकलाग्यो भनेको छर्लङ्ग बुझन्थ्यो। साँझ पर्नपर्न आँटेकोले सङ्कटादेवीको मन्दिरमा सन्ध्या जगाइएको थियो। बत्तीहरू बलिरहेका थिए। सन्ध्याको आभास बिजुली नबलेको ठाउँमा मात्र पाइन्थ्यो। यस्तै तिरमिरे सन्ध्यामा सोमनाथ, सन्ध्या यात्रामा आफ्नो घरबाट बाहिर निस्केको थियो। सोमनाथ प्राय रामनाथको घरतिर जाने गर्दथ्यो। यी दुवै उमेरमा धेरै जेठा कान्छा थिए तर पनि धेरै मिल्ने मित्र थिए। सोमनाथले रामनाथसँग साहित्यिक क्षेत्रको बारेमा धेरै चर्चा चलाउँथ्यो। राष्ट्रले बोक्न परेको द्वन्दको भार, समयको परिवर्तन, सामाजिक परिवेश, आदि आदिले गर्दा देश जुनरूपमा विकासको गतिमा लम्कन पर्ने हुन्थ्यो त्यो भने भएको दुवैले पाउदैनथे। दुवै भावुक बन्दथे। शान्तिपूर्ण, विकसित, देशको कल्पना र युवाहरूको भाविउज्वलताको कामना र फराकिलो मार्गको कल्पनामा दुवैको अन्तरकृयाहरू चल्दथे।

 आज सोमनाथ घरबाट रामनाथको घरतिर बढ्दा बाटोमा हिड्ने मानिसको भीड पनि घट्दै गएको पायो। ऊ आज कतै टाउको फर्काएन। ऊ सरासर केहि मिनटमा नै रामनाथको कोठामा पुग्यो। रामनाथको कोठाको ढोका बन्द थियो । उसले आफू आएको साङ्केतिक आवाज नदिएर नै ढोका खोल्यो। सोमनाथका  नजर घर भित्र पुगे । सोमनाथले आफ्नो मित्रलाई एक जना महिलासँग धेरै नजिकमा बसेको पायो। उसको साथीको कोठामा महिलामात्र नभएर एक जना गाउँले केटा पनि थियो। त्यसो हुदा सोमनाथ आफैमा सम्हालियो । रामनाथले महिलाको कोठाको साँचोको झुप्पा हातमा लिएर खेलाई रहेको थियो। दुवै मौनतामा भावना पोखिरहे जस्ता देखिन्थे। किन हो कुन्नि? आज सोमनाथलाई अल्लि असजिलो महसुस भयो। आज सोमनाथले आफूलाई असभ्य घोषणगर्न पनि सक्दैनथ्यो र आफूलाई सभ्य भन्न पनि मन पराउँदैनथ्यो। ऊ मन मनै सोच्यो "मैले साथीको ढोका खोल्दा कमसे कम साङ्केतिक आवाज त दिनु पर्ने थियो"। अर्कोतिर रामनाथ र महिला मात्र नभै अर्को युवक भएकोले ऊ ढोकामा साङ्केतिक आवाज नदिएर भित्र पसे पनि उसले आफूलाई  असभ्यमा घोषणा गर्नु पर्ने आवश्यक्ता थिएन। अनि उसले मनमनै भन्यो जे भयो ठीकै भयो। रामनाथ उठेर सोमनाथलाई स्वागत गर्‍यो। सोमनाथ पनि रामनाथको छेउमा खाटमा वस्न पुग्यो।

 सोमनाथ अति चञ्चले स्वभावको मानिस, त्यसो हुदा ऊ चुप्प बस्न सक्दैनथ्यो। उसका आँखा पनि चञ्चले थिए। ती चञ्चले आँखाले कोठाको चारै दिशा (कोठाका भित्ताहरू) नियालेर छाड्यो। यति मात्र कहाँ हो र उसका आँखा ती तृष्णवतीको शरीरभरि पनि प्रहार  भए। 

ती तृषित नयनले कताकता तृष्णावतीको सेतो अनुहार, कालो केशलाई आक्रमण गर्दछन्। तिनका ती आफ्नै प्रकार, आफ्नै भेष, मोतीदन्तको आकर्षणले कताकता रामनाथलाई पागल बनाएको थियो। उनी पनि कहाँ कमी थिइन् र उनका भौतारिएका आँखाले पनि तीर छाड्दथ्यो। यसो हेर्दा उनी अति रतिकेलि जस्ति लाग्दथिन्। तिनका ती पिपलपाते ओठका पर्खालहरू कताकता जाेडिदै उघ्रदै गरको सोमनाथले लुकीलुकी हेर्दथ्यो । उनले घरीघरी सोमनाथलाई कर्के आँखाको तीर चलाउँथिन्। उनको तीरप्रहारले गर्दा सोमनाथ अवाक नै जस्तो देखिन्थ्यो। रामनाथ ती तृष्णवतीसँग बार्तामा तल्लिन थिए।  सोमनाथको आँखा ती तृष्णवतीको च्यूँडाको तीलमा (कोठीमा) पुग्यो। उसले हेर्दै गयो। ती तृष्णावतीको मोहनीरूपको वाँणले सोमनाथको कलेजीलाई छिया छिया पारि सकेको थियो। सोमनाथ पनि कहा कम थियो र उसले पनि आफ्नो नयनतीर रामनाथबाट जोगाइ जोगाइ छाडिरहेको थियो। सोमनाथका बैंसालु आँखाले हो कि उसको यौवन मादले हो त्यति बेला उसले उनका नयन तिर्खाएको तिर्खाएको जस्तो पायो। तिर्खाएका नयनको पिलपिले पनामा मुस्कित भएर चलिरहेका अधरले कता कता आवाज खोजेखोजे जस्तो देखिन्थ्यो। यसो हेर्दा सोमनाथ, रामनाथ र ती तृष्णावतीका मादकताले भरिएका आँखा थाकेका थिएनन्। सोमनाथ आफ्नै धुनमा थियो। रामनाथ र ती मृगनयनीको मौनवार्ता रोकिदै चल्दै गर्दथ्यो। पुन सोमनाथले आफ्ना आँखा ती मृगनयनीतिरै लगायो। सेतो गर्दनमा सुनको सिक्री टल्किएको थियो। छाति पुष्ट थिए। उनको यो सुन्दर दर्शनले सोमनाथको लोभी मन छटपटीमा देखिन्थ्यो। सबै आकृति प्रकृतिकले भरिएको जस्तो देखिन्थ्यो। यथार्थ यो सौन्दर्यताको फुलवारिमा सोमनाथका आँखा अतृप्त रूपमा देखिन्थे।

 सोमनाथ कहिँ पनि धेरै बेर बस्न सक्दैनथ्यो। आज भने ऊ त्यो घर छाड्न चाहिरहेको थिएन। यसो हेर्दा कता कता सोमनाथले आफ्नो जीवन जीविका चलाउन रामनाथसँग चुनावमा उठेका उमेदबारले चुनाव जित्न भोट मागे जस्तै गरी ती मृगनयनीको सौलो अवलोकनको लागि भोट मागि रहेको जस्तो भान हुन्थ्योे। ऊ जहाँ गए पनि आफ्नो कामको यथार्थता पोखेर कार्य सफल विफल जे भए पनि आफ्नो गन्तव्यतिर लाग्दथ्यो। ती मृगनयनीले पनि रामनाथसँगबाट आफ्नो चापिको झुप्पा मागेर आफ्नो कोठातिर लाग्न खोजेजस्तो गर्दथिन् तर चापिको झुप्पा भने रामनाथसँग थियो। उनी किन हो कुन्नि आवेशमा आइसकेकी थिइन् । उनको शरीर तातो र रातोजस्तो लाग्थ्यो। उनले रामनाथको हातबाट चापिको झुप्पा खोसिन् र आङतान्दै उठेर आफ्नो कोठातिर लागिन्। सोमनाथले उनको यो आङतानाइमा यौवनताको गर्मीचढेको पायो तर के गर्ने? कामुकताले जति सताए पनि भावनामा त्यो भने सोमनाथले देखाउन सक्दैनथ्यो। सायद देखाउन चाहेर पनि देखाउन मिल्दैनथ्यो। यति बेलासम्म सोमनाथको आँखा र मुख चिलाउनु सिवाए केहि भएन।

 अव रामनाथले छुट्टी पाए। सोमनाथसँग साहित्यिक गफ गर्न थाले । दुबैले हालको परिपेक्ष र कलमको बहादुरितामा गफ चलाए। रामनाथ भन्दै थिए "बन्दुकको अगाडी कसको के लाग्दछ।" तर सोमनाथ भने यो कुरामा सहमत थिएनन् । सोमनाथमा धेरै सुन्न सक्ने धैर्यता थिएन। बन्दुक हैन कलमपो ठूलो भन्दै सोमनाथ अगि आए। बन्दुक र कलमको बारेमा गहिरो छलफल चल्यो। बन्दुक एक चोटीमा एक गोली फाल्छ। त्यो गोलीको कर्म सकियो। साहित्यिक गोली त एक चोटी चलायो भने युगौयुगसम्म चलिरहन्छ। आखिर यो तर्क आफ्नो आफ्नो अडानमा रहने खालमा जमेको थिएन। दुई मित्रका साधारणा भावनाका पोखाइ मात्र भएकाले यी कुरा सकिए।  सोमनाथ रामनाथको घरबाट बाहिरिएर आफ्नो कोठातिर लाग्न खोज्यो। यति बेलासम्म रामनाथको मानिसले चिया पकाइ सकेको थियो। सोमनाथ र रामनाथ दुवैले एक एक कप चिया पिए। रामनाथले साथीलाई बिदा गरे।

धेरै दिनसम्म सोमनाथ रामनाथको घरमा जान सकेको थिएन। यति बेला फागु पूर्णिमाको दिन थियो। सोमनाथ रामनाथको कोठामा गएको थियो। साथीको ढोका बन्द थियो तर ताल्चा झुण्डिएको थिएन। ताल्चा नलगाईकन साथी तृष्णावतीको डेरामा गएका रहेछन्। सोमनाथलाई के थाहा? कता कता ढोका हेर्दै फर्कन थालेकामात्र थिए। अर्कातिरको ढोका खुलो। एक जना अर्धवैसे महिलाले रामनाथ अर्को कोठामा भएको जानकारी दिइन्। सोमनाथले त्यो कोठाको ढोकामा साङ्केतिक आवाज दिएर आफू आएको जानकारी पठायो। रामनाथ उनकै कोठामा उनका श्रीमानसँग तास खेलीरहेका रहेछन्। उनले तास खेल्न छाडेर कोठामा आए। सोमनाथले रामनाथसँग तास खेल्ने काममा बाधा पुर्‍याएको हुँदा क्षमा याचना गरे। रामनाथको कुनै प्रतिकृया थिएन। उनले साथीलाई भने "केही छैन" भन्दै चिया पकाउन सुरु गरे। यो उनको सधै चलिरहने क्रम थियो। चिया पिउने काम भयो। सोमनाथले रामनाथलाई एउटा लेख दिनु थियो दियो र ऊ आफ्नो कोठातिर फर्क्यो।

  धेरै दिन भयो सोमनाथ रामनाथको डेरामा गएको थिएन्।  यो क्रममा एक रात बेलुका सोमनाथ रामनाथको डेरामा पुग्यो। रामनाथको डेरामा ठूलो ताल्चा झुन्डिएको  थियो। एउटा वालकले उहाँ धेरै दिन देखि डेरामा नभएको जानकारी दियो । उहाँ नभएको थाहा पाए पछि सोमनाथ ढोकाबाटै फर्क्याे। 

सोमनाथ रामनाथलाई नभेटे पछि धेरै छट्पटिन्थ्यो। सोमनाथ रामनाथको घरमा जाँदै फर्कदै गर्ने क्रममा धेरै दिनसम्म ताल्चा झुण्डिएको नै थियो तर एक दिन रामनाथको ढोकामा ताला झुण्डिएको थिएन र खुला पनि थिएन। साथीको साङ्केतिक चप्पल पनि कुनै ढोकाको बाहिर थिएन । सोमनाथ सरासर बाटोतिर बढ्यो। बाटोमा सोमनाथको भेट कृष्णकान्तसँग भयो। कृष्णकान्त एउटा दोकानी, भरखरको युवक, फूर्तिलो मानिस, सोमनाथलाई देख्ने बित्तिकै उसले फूर्तिसाथ सोध्यो "कताबाट?"

"रामनाथ कहाँबाट"

"भेट्नु भयो?"

"भेटिन,  ढोका खुलै थियो, उनको चप्पल पनि बाहिर थिएन, शौचालय पनि खुलै थियो, म एक क्षण उभिएँ, कतै केही शङ्का लागेन र त्यहँाबाट हिड्नु सिवाय केहि सोचिन र म हिडें।"

 कृष्णकान्तले भने "विपरीत दिशाको कोठा देख्नु भएको छ ? "

"कोठा त देखेको छु"

"त्यही छ तपाइँको साथी "

सोमनाथलाई जिज्ञासा जाग्यो र आश्चर्य मान्दै भन्यो "हो र?"

कृष्णकान्तले भन्यो "हो, त्यसको बास त्यतैतिर हुन्छ।"

"तपाइँलाई के  थाहा?" सोमनाथले प्रश्न राख्येा

"उसको बास उतैतिर हुन्छ "। कृष्णकान्तले पुन जवाफ दियो।

सोमनाथले गम्भिर भएर सोच्यो अनि भन्यो "हो त ! उसले एकदिन त्यही पाएको थियो, उसको श्रीमानसँग।"

कृष्णकान्तले भन्यो "ती महिला त अलपत्रे आइमाई हुन्। नपत्याए साथीसँग सोध्नु होस् ?" 

सोमनाथ दाँत कोट्याउदै उभिएका थिए, उनको प्रतिकृया केही थिएनजस्तो लाग्थ्यो तर कृष्णकान्तले फेरि थप जिज्ञासा दिए "तृष्णावतीलाई नारनथाने सुन्दरी पनि भन्दछन् ।"

"हो ' आज पनि सुन्दरी नै छन्" सोमनाथले उत्सुकता पूर्बक सोध्यो।

कृष्णकान्तले भन्यो "उनका  हाल दुई छोराछोरी पनि छन्। दुई बच्चाकी आमा त त्यति राम्री छे।

थारी छँदा कति राम्री हुदि हो?" कृष्णकान्त बहकिंदै थियो । 

रूप र विकृतीको कस्तो सम्गम्। महिलाको रूपले पनि असुरक्षामा नौनीमा आगो लगाउँदो रहेछ, सोमनाथले मन मनै गुन्यो। 

किन हो कुन्नी कृष्णकान्त आज उनको बारेमा जानकारी दिन अति व्याकुल जस्ताे देखिन्थे। जे शब्द पायो त्यही प्रयोग गर्दथे। आज उनमा राम्रो र नराम्रोको ख्यालै थिएन ।

सोमनाथले थपे "आजकल त्यहाँ त उनी एक्लै छिन््।"

सोमनाथका यी शब्द कृष्णकान्तले के सुन्न पाएका थिए, उनको बोली  फेरि सलल पानी बग्दाझै बग्न थाल्यो "उसको दोस्रो श्रीमान गायव छ। सायद ऊ त्याहाँबाट भागेको हुनु पर्दछ।"

सोमनाथले जिव्रो काड्दै सोध्यो "किन भाग्नु?"

"उनी परिवार नियोजन गरेकी महिला हुन्। सायद दुबैजनाले आफ्नो भोगको तिर्षा मेटाउँदा पहिलो श्रीमानले भेटेको हुनु पर्दछ। यस्तो कर्ममा सायद उनको पहिलो श्रीमानले यस्तो कुकर्मको बिरोध जनाएको होला ? यो समस्याको समाधान गर्न दुवै नारायण थानबाट यता सरेका हुन सक्दछन्।" उनको दोस्रो श्रीमान भाग्नको कारण जान्न कृष्णकान्त आतुर थियो तर पनि ऊ आफै बोल्यो "उनको दोस्रो श्रीमान परिबार नियोजन गरेकी आइमाई र जारका छोराछोरीलाई कथम् कदाचित पाल्नपर्ला भन्ने डरले भाग्न बेस ठानेर भागेको हुनु पर्दछ।"

सोमनाथले कुरा थप्न के खोजेका थिए ? कृष्णकान्त पुन बोली हाले "उनका छोराछोरी उनीसँग आउन नमान्नु, कस्तो विडम्वना?"

सोमनाथले सहि थाप्दै भने " जीवन जोडी भएपछि यसरी छाड्न पाइन्छ?"

कृष्णकान्तले भन्यो "कहाँ जीवन जोडि हो र? यसलाई म त जीवन जोडी मान्दिन। यस्तो मिलनलाई कसले जीवन जोडीमा लिन सक्दछ? यस क्रममा म त के भन्दछु भने जैविक आवस्यक्ताको परिपूर्ति गर्न दुवै जना क्षणिक आनन्दतामा जुटे जसको नतिजा जीवनको अन्तिम क्षण सम्मसँगै बस्ने सँगै बाच्ने धु्रवतारा साँक्षी राखी बाचा सहित लामो बाटो पारगर्न पहिलो लोग्नेसँग पारिएको लग्नेगाँठो सजिलै टुट्यो।"

सोमनाथले केहि वुझ्न सकेको छैन। ऊ सुनी रहेछ। कृष्णकान्तका रसिला भावनाहरू पाेखेको सुनिरहेछ । 

एक क्षणको विश्राम पछि सोमनाथले यो सबै घटनालाई नियालेर हेर्‍यो, सोचमा डुव्यो र आफैमा प्रश्न राख्यो "के मातृत्वको सहृदय टुटेर जान्छ? के आमा पोइलाजाँदैमा छोराछोरीको माया आमाबाट अलगिन्छ?" यो तर्क वितर्कले सोमनाथको हृदयमा ठूलो स्थान लियो। सोमनाथले आफैले जवाफ दियो "आमामा मातृत्व रहेन भने निश्चय नै छोराछोरीले आमा शब्द उच्चारण गरे पनि आमा प्रतिको माया शिथिल भएर जान्छ। मातृत्व विहीनकी आमाले छोराछोरीको जन्मदिनु भन्दा त उसको कोख नै बाँझो रहन असल आदि आदि सोचमा सोमनाथ डुब्छ। सोमनाथ मानसिक द्वन्दमा अल्भि्करहेको थियो। ऊ आँफैमा दोधारे देखिन्थ्यो। के छोरा छारीको मायामा अल्झेर आफ्नो जीवनको मोजमज्जालाई खरानी पार्ने? हैन! हैन!! कृष्णकान्तको भनाइलाई म मान्दिन।" उसले यस्तै यस्तै सोचमा डुब्दछ र भन्दछ "उनी आमा हुन्। आमामा मातृत्व हुन्छ।"

 फेरि ऊ आफैमा अनियन्त्रित हुन्छ। ऊ फेरि यो सोचाइमा पर्छ र अनि भन्दछ "भोकको बेला मातृत्व न सातृत्व, खाना खान पाए पछि उनले अगिल्तिरको भागमा जहर मिसिएको छ भन्ने खोजीतिर जानु भन्दा भोक मेटाउनु नै असल ठानिन्।" उसको मनले भन्दछ "यो कुरा पनि त राम्रै हो।" फेरि उसको मन विचलित हुन्छ र फेरि ऊ आफैले आफूलाई भन्दछ  "यो कर्म गलत हो! गलत हो!! एक, दुई, तीन गलत हो!!! खान पाएँ भन्दैमा जे पायो त्यही खाने। त्यही खानाको कारणले शरीरलाई विषाक्त पार्ने। कुनै पनि बस्तुको महत्व हुन्छ। मान मर्यादा र सहअस्तित्वको मूल्य र मान्यतालाई मानव जीवनमा छुट्याउन सक्नु पर्दछ।" ऊ बडबडाउँदछ र अनि भन्दछ

"दुई दिनको जिन्दगीमा के लिनु के दिनु? छाड यो कुरा अनि गर जे मन लाग्दछ त्यही।" सोमनाथ आज जीवन पद्धतीमा घरी नकरात्मक बन्दै जान्छ घरी फेरि सकरात्मक भएर आउँछ। सकरात्मक पक्ष अङ्गाल्दा उसले समाजिक परिपाटीलाई हुबहु लाने धरणामा आफूलाई अडिग बनाएर ल्याउँद छ। नकरात्मक भएर जाँदा ऊ साह्रै नकरात्मक बन्दछ। जे मान लाग्यो त्यसैलाई महत्वपूर्ण ठान्दछ। यस्तै यस्तै कर्ममा ऊ पुन सोचमा डुब्छ र अनि भन्छ "आमा र बाबुको मिलन छोराछोरीको जन्मको उद्देश्यले मात्र नभै शान्सारिक क्षणिक आनन्द पनि त हो। जैविक आवश्यकताको पूर्ति गर्दैमा छोरा छोरीको कामना पनि त हुदैन होला? रज र बीज मिलन हुन्छ र नतिजा छोरा छोरी निस्कन्छ। त्यसलाई सहर्ष रूपमा स्वीकारिन्छ। त्यसलाई आत्मीय रूपमा हेरिन्छ। प्यारो रूपमा हेरिन्छ। सायद यही होला संसारमा हुँदै आएको कायाकर्म" तर पनि उसको मन मान्दैन। ऊ मौनताबाट बाहिर आउँद छ र उसको आत्म बोल्छ र ऊ जोडले कराउँदछ "कस्ती मातृत्व विहीनकी महिला  रहिन्छन् " कृष्णकान्तले यो आवाज के सुन्न पाएका थिए उनी फेरि वडवडाउन थाली हाले "उनीले बाबुसँग उनका छोरा र छोरी दुबै साथमा राख्नको लागि मागिन् तर बाबुले छोराछोरी पोइल गएकी श्रीमतीसँग पठाउन मानेन, त्यस पछि छोराछोरीलाई साथमा लानपाउँ पाल्न पाउँ भनेर अदालमा मुद्दा दिइन्। छोरा छोरी  साथमा राख्न मुद्दा पनि जितेकी छन्"

अव त सोमनाथ अझै आश्चर्यमा पर्दछ ।'छोरा छोरी साथमा राख्न अदालत जानु पर्ने? कस्तो बिडम्बना! के छोरा छोरी आमाले ल्याइन्त?" 

कृष्णकान्तले भन्दै थिए "कहाँ ल्याउनु? अदालतले न्याय दियो, उनले छोरा छोरी साथमा राख्न पाउने भनेर तर छोरा छोरीको मनको अदालतले मातृत्व विहीनकी आमालाई स्वीकारेन। छोरा छोरी उनीसँग आउन मानेनन्। " 

"पृतित्वले ओगटेको बाबुको मायाले नै छोरा छोरीको भावना जित्यो। ती दुवै बाबुको न्यानो मायामा रमे र भोगको रोग ग्रसित आमालार्र्र्ई भावनाबाटै त्यागी दिए। सोमनाथले मन मनै बडबडायो। सोमनाथले पुन बिचार गर्‍यो। के उसको लामो पितृत्वले धानी राख्न सक्ला त ऊ ढुक्क भएर भन्दछ "धान्छ संसारमा यस्ता उहारण बन्ने बाबु पनि धेरै छन्।" फेरि ऊ नकरात्मक बन्दछ र भन्छ "छोराछोरी प्रति आफ्नो जीवन आनन्दको सर्वस्व त्याग्ने बाबु कति छन्" ऊ आफै विश्लेषण गर्दछ र भन्दछ "त्यागको अभावले नै त त्यस्ता व्याक्तिहरू सबैले दुःख भोग्न परेको छ। आफ्ना सन्ततीहरूलाई जिउँदै नरकमा ढकेलेका छन्।"

 कृष्णकान्तले भन्यो "दोस्रो श्रीमानले किन छाडे होला"

 यो प्रश्नमा सोमनाथलेे तर्क पेश गर्‍यो–"यहाँ श्रीमान, श्रीमती बन्ने रहरले मित्रता गरेनन्। त्यहाँ त क्षणिक सन्तुष्टीको चहाना  थियो। शारीरिक तृप्तिको आकर्षणमा फसिएका ती जोडी पश्चतापको ज्वालामा जले । भावी जीवनका उतारचढावले कता मोड लिने हो, उसले अहिले केही भन्न सक्दैनथ्यो। उसको सोचाइ अदालतबाट अधिकार प्राप्त ती जारका छोराछोरी ती महिलाले जतिबेला पनि साथमा ल्याउन सक्छिन्। छोरा छोरीले आमाको मायाको महसुस गर्ने बित्तिकै आमासँग आउन सक्दछन् आदि आदि कारक तत्वहरू दोस्रो  श्रीमानको मन मस्तिष्कमा चढ्नु स्वभाविक थियो। त्यसो हुँदा दोस्रो श्रीमानले यस्तो गलगाँडलाई भिरेर हिडनु भन्दा शैल्यकृया गरेर गाँड फाल्नु नै उचित सम्झ्यो। उसले उसलार्र्र्ई त्यागेर हिड्नु नै जीवनको ठूलो सार सम्137यो। दूधमा पल्केको बिरालोले कुडे कुर्ने बाहेक केहि गदैन् उसलाई उनी प्रतिको धारणले समेटेर ओगट्न सकेन। उसले जुनबेला पनि विश्वास घात हुने महसुस गर्‍यो र उनीबाट टाढा भयो।" सोमनाथले आफ्नो बिचार कृष्णकान्तलाई भन्यो।

यो सोमनाथ र कृष्णकान्त बीचको लामो छलफल थियो। यतिबेला सम्म घडिले रातको एघार बजाइसकेको थियो। कृष्णकान्त र सोमनाथ अलगिए। दुबैको डेरा नजिकै थियो। आफ्ना अफ्ना डेरातिर लागे। बाहिर झकमक्क जून लागि सकेका थिए। हावाको मधुरो वेगमा धानका पातहरू नाचिरहेका थिए। बोटबिरुवाको भावना प्रष्ट थियो। मौन भाषामा उनीहरू बोली रहेका थिए–"जीवनचक्र पुरा गर्न र उत्पादन दिन हामि लागिरहेका छौ। हामिमा पराग सेचन हुन्छ। सृष्टिचक्रलाई हामी निरन्तरता दिन्छौ। बीउ बन्दछ, फेरि उम्रन्छ, बढ्छ फुल्छ फल्छ र पुन बीउ बन्दछ आदि आदि....। बाेटबिरुवाको यस्तो साङ्केतिक भाषाको आवाज सोमनाथको भावनामा मेल खान्थ्यो। सोमनाथ एकाग्र भएर सोचिरहेको थियो। सृष्टिगर्ने काम संसारमा भै नै रहेको छ। सृष्टिमा मातृत्वको त्याग ठूलो चाहिन्छ। माकुरी सृष्टिको लागि आफ्ना बच्चाको आहारा बनि दिन्छे। पुन सोमनाथको मस्तिष्क नै खलबलिन्छ। आमा खाने सन्तती किन चाहियो अनि पुन भन्दछ "यो प्रकृति प्रदत्त वरदान हो। ऊ सकरात्मक बन्छ अनि भन्छ यी सबै प्रकृतिप्रदत्त कर्मलाई व्यवहारमा राखी मानवले मानव प्रति गर्ने कर्म गर्दै जानु पर्दछ। आमामा मातृत्व अवस्य प्रवल चाहिन्छ। मातृत्व विहीनको प्रजनन् कृयाबाट भोगको रोग निम्त्याउनु सिवाय अरु केही हुन सक्दैन। यो त क्षणिक जैविक सन्तुष्टि मात्र हो।" ऊ यी दुबै भोगका रोगीहरूको भावि जीवनको कल्पनाको सोचमा डुब्दै थियो। कता कता आकाशमा एउटा ठूलो बादलको टालो आएर जूनलाई ढाकिदियो। रजनीको आभास पाउने बित्तिकै सोमनाथले आफूलाई सिरक भित्र लुकायो।

मेरो श्रीमान छैन

मेरो श्रीमान छैन

सदानन्द अभागी 

दुईहज्जार बयसठ्ठीसाल श्रावण पन्ध्रगते विहान सूर्योदयको साथसाथै टेलिफोनको घन्टी बज्यो। टेलिफोन उठाउँदा कताकता चिनेको आवाज आए जस्तो लाग्यो। साँच्चि नै  चिनेको व्यक्ति विनोद नै रहेछन्। सर्वप्रथम "आजको समाचार पत्र पढ्नु भयो?" भन्ने प्रश्न आयो। मैले "पढेको छैन" भन्ने जवाफ फर्काएँ। जवाफ फर्काउन पाउँदा नपाउँदा मेरो प्रश्नको जवाफ नपाउँदै आत्तिएको आवाजमा बोली अल्लि फेरियो। अल्लि मधुरो शब्दमा हिजोको नवलपरासीको एक्सिडेन्टको बारे केहि थाहा छ? भन्ने प्रश्न आयो। म अल्लि अत्तालिएँ। मेरो अत्तालिनु स्वभाविक थियो। किनकी त्यहाँ मेरा धेरै आफन्त तथा घरका परिवार समेत त्यही नै थिए। मैले विनोदलाई सोधे "कस्लाई के भयो?" मेरो प्रश्नको  जवाफमा उताबाट एक सासमा नै जानकारी आयो "गैडाकोट गहिरी की ठूली आमा र भाइ कार दुर्घटनामा परेछन् र भाइ घटना स्थलमा नै बिते छ। ठूली आमालाई वि एन्ड वी अस्पतालमा भर्ना गरिएको छ।" मेरो शरीर फूल्यो। कता कता शरीरका रौ पुरै ठाडा भए। शरिर भित्रैबाट कम्पित भएर आयो। म सम्हालिदै अस्पतालतिर हानिएँ।

    खाटमा बिरामी सुतेकी थिइन्। खुट्टामा घाँउ लागेको रहेछ । मलाई फोन गर्ने मेरो भतिज विनोद र उसको मामाको छोरा गोबिन्द अस्पताल पुगि सकेको रहेछन्। म शनैः शनैः बिरामीको हाल खबर सोध्नतिर लागें । बिरामीले पनि म र मेरा छोराको हालखवरको सोधनी गर्नु भयो। मलाई उनको स्वास्थलाभ भएकोमा सन्तोष लाग्यो। बिरामीको स्वास्थ ठीकै लागेको पाए पछि म आफ्नो कोठातिर फर्कने बिचार गरें। म पैदल जाने वा ट्याम्पो या माइक्रोमा जाने भन्ने बिषयमा दोधारमा थिएँ। जे जसरी गए पनि मलाई कोठामा पुग्न करिब  आधाघन्टाको समय लाग्दथ्यो।

  जव ट्याम्पो आएर मेरो अघि उभियो तव मेरो र्तकविर्तक सबै सकियो। ट्याम्पोको अघिको सिट खालि भएकोले म त्यही सिटमा बस्न पुगें। शनिवारको दिन भएर होला ट्याम्पोमा मानिस निकै कम थिए। चालक पनि महिला थिइन्। यसो हेर्दा उमेरमा पच्चीस देखि तीसकिजस्ति लाग्थिन्। ट्याम्पो अघि बढ्यो। म आजको समचार पत्रमा आफ्नै बारेमा लेखिएको लेख र आइष्टाइनको बारेमा लेखेको लेख पढ्नमा व्यस्त थिएँ।  कस्तो दुर्भाग्य, यात्री चढाउनको लागि उनले ट्याम्पो ठाँउ ठाउँमा रोक्थिन् तर चढ्ने मानिस भने कोही भेटिदैनथे। उनको अघि र पछिको ट्याम्पोमा भने मानिसको चाप ठूलै थियो। उनी गुनगुन गर्दै थिइन्। म मेरै धुनमा थिएँ। पैसा कसरी वुझाउने? मानिस कोही चढदैन्। उनी मतिर फर्केर आफ्नो पिरलो पोख्न थालिन्। अहिले भने मैले उनको बोली सुन्न करै लाग्यो। मेरो मुखबाट फुत्क्यो "एउटा यात्री डाक्ने खलासी राख्न पर्‍यो।"

"आफ्ना छैनन् , अरुकालाई पैसा दिनुपर्दछ "

मेरो जिज्ञासा "विवाहा भएको छैन र? "

उत्तरमा "भएको हो"

फेरि उनले थपिन्

"एउटी छोरी छन्, पढाउनु पर्‍यो" 

अव मेरो पुरै ध्यान उनीतिरै सर्‍यो

"राम्रो कुरा छोरा छोरी दुबैलाई पढाउनु पर्दछ ।"

"आफ्ना छैनन्" यो शब्द सायद उनले छोरो छैन भन्ने भावनालाई पोखेको हुनु पर्दछ ।

मलाई कता कता लाग्यो आजको जमानामा पनि छोराको यत्रो चाहाना? महिला सशक्तिकरण भन्दछन् । छोरा र छोरी बीचको भेदभाव हटाऊँ भन्दछन्। महिला जागरण भनिन्छ। महिला हकहित भनिन्छ। समतामूलक समाज भनिन्छ तर महिलाबाटै छोरी उपेक्षित भएको पाइन्छ। यो कस्तो बिडम्वना? मलाई लागेको थियो महिलाहरू आज सायद आफूलाई पुरूषको दासी सम्झने अवस्थाबाट माथी उठिसकेका छन् अथवा त्यो पुरानो जमानाबाट पार भैसकेका छन्।  कताकता होइन होलाजस्तो लाग्यो? अनि मैलै आफूलाई पनि "राम्रो कुरा छोरा छोरी दुबैलाई पढाउनु पर्दछ।" भन्ने शब्दमा छोराको नाम पहिला प्रयोग गरकोमा पक्षपाती पाएँ। मैले छोरी र छोरा भन्ने शब्द प्रयोगमा किन ल्याउन सकिन्न त्यसैमा म प्रश्नबाची भएँ। मेरो यो सोचाइले गर्दा हामी दुई बीच एक छिनकाे मौनता आयो। पछि पुन मेरो मुख चिलायो र मैले मुख खोले

"श्रीमानको पेशा के त?" जवाफ आयो "श्रीमान छैनन्"

मारो आँखा उनको शरीर भरि खनिए।

   उनको सिउँदोमा सिन्दूरको टिका थियो। सेतो गलामा तिलहरी सहितको रातोपोते अति राम्रो सुहाएको थियो। उनले लगाउँका कपडा पनि त रङ्गीन थिए। मलाई उनी विधवा हुन् भन्न कठिन पर्‍यो। म बोल्न सकिन किनकी आजकल विधवा पनि त रङ्गीचङ्गी भेषमा आउन थालेकाछन् । रातो वस्त्र धारणको ठाउँ ठाउँमा अभियान पनि त चलेको छ। यो पनि त सामाजिक क्रान्ति हो। यो परिवर्तनलाई मैलै पनि राम्रो रूपमा लिएको छु। बाल अधिकारबाट प्राप्त सबै कुराहरूमा विवाहमा एउटा सिउँदोमा सिन्दूर मात्र त थपेको हुन्छ। यो सिन्दूर बाहेक त सानोमा सबै रङ्गका कपडा लाउन छुटै त थियो अथवा लगाउँको नै त हो। किन समाजमा श्रीमान नभएको आफ्नो अलग्गै पहिचान दिन पर्‍यो ? आदि आदि तर्क मेरो सोचाइमा गयो। 

मेरो सोधाइ सकिएको थिएन। मैले फेरि आफ्नो जिज्ञासा राखे

"श्रीमान बिती सके?"

"जवाफमा "बितेको हैन सरिसके"

म फेरि एकछिन् टोलाएँ। मनमा धेरै कुराहरू खेल्न थाले। सरिसके यसको अर्थ के त? सरिसकेको भए कता सरे? कसरी सरे? किन सरे? आदि आदिमा मैले यो शब्दलाई "उनले यिनलाई छाडी सके भन्ने अर्थ्याएँ।

  यो मार्मिक शब्दले मेरो कलेजो छियाछिया पार्‍यो। कति मार्मिक शब्द मेरो श्रीमान छैनन् "अनि मरिसके? " जवाफ हैन "सरिसके" कस्तो जवाफ? कस्तो सोचाई? यसको सही अर्थ कसरी लगाउँने। सामाजिक परिचालन / सामाजिक पक्ष, धार्मिक रीतिथिति, धार्मिक पक्ष, जेहोस् उनको भनाइको पक्ष अवश्य पनि उनको तर्फबाट स्वभाविक थियो। श्रीमतीले प्रथम श्रीमान छाडेर दोस्रोसँग विवाह भए पछि पहिलोतिरको नातो समाप्त हुन्छ । पोइल गएकी श्रीमतीलाई समाजले कानुनीरूपमा नै सरेको स्वीकारछ भने श्रीमानले पनि आफ्नो व्यवहार दोस्रो श्रीमतीतिर सारे पछि अर्थात दोस्रो विवाह गरे पछि श्रीमान पनि अवश्य सरेकै ठहर्न पर्ने हो तर सामाजिकरूपमा र न्यायिकरूपमा श्रीमानले दोस्रो विवाह गर्दा प्रथम श्रीमतीको सबै हक अधिकार यथावत रहन्छ र श्रीमान सरेको ठहर्दैन। अन्तर सम्वन्धमा फरक आउन सक्ला / सक्छ।

यो शब्दले पुनः प्रश्न जन्मायो "के श्रीमानले दोस्रो विवाह गर्दा सरेकै ठहर्दछ त?" मन दृढ भएर भन्यो "हुन सक्छ"। व्यवहारमा पूर्णरूपले सरेसमान भयो भने त अवश्य सरेकै ठहर्दछ। तर्क, वितर्कको भुँवरीमा रुमलिदै थिए। पुनः मलाई उनीसँग प्रश्न राख्न मल लाग्यो र प्रश्न राखिहाले–"के श्रीमानले अर्को विवाह गरेपछि नातो मेटिन्छ? "जवाफमा  उनीले सजिलै भनिन् " खोइ? बस उठ सबै उतैतिर हुन्छ " एकछिन्् चुप्प भए पछि उनले पुन थपिन् "कसरी सरेको नभन्ने र? "दिनपर्ने सौलो प्रेम आजकल एकरती छैन। सौलो नजर न भनौं कर्के नजर पनि त मतिर छैन् ।"  "अगुल्टोले पोलेको कुकुर बिजुली चम्कँदा डराँउदछ" भने जस्तै, मेरो मुखबाट पनि निस्क्यो "दुईवटी श्रीमती भएको श्रीमान पनि श्रीमती विहीन सरह नै हुन्छ।" उनी चुप्प थिइन्। आफ्नो ट्याम्पो आफ्नै सुरमा हाँकेकी थिइन्। वानेस्वरमा ट्याम्पो रोकियो। म आफ्नो डेरातिर लागेँ। यो मार्मिक शब्दले मेरो शरीरलाई राम्ररी सिँचित पार्‍यो। अनि आफ्नो जीवनभरिको र दुई श्रीमती हुनेहरूको घरमा घट्ने घटनाले मन मस्तिष्कमा तीर  चलायो। अनि सम्झे दुई घरबारे श्रीमती हुने श्रीमानहरूका श्रीमतीहरूको रिसको झोकमा देखिने व्यवहार र शब्दहरू कस्ता हुन्छन्? "तेरी जोई छदै छ" जेठी भन्छे र कान्छी पनि त के कम "तेरी जोई छँदै छे"? यो घुर्की आफूले पनि कहाँ नसुनेको हो र । त्यो पतिको सच्चा पत्नी को त? अनि ती महिलाले आफ्नो लोग्ने कसलाई सम्भि्कछिन् त? यो प्रश्न ती महिलाहरू जस्ले आफूलाई पति विहीन सम्झन्छन् र ती पुरूषजस्ले पत्नी विहीन सम्झन्छन् तिनैमा छाडिदिन असल ठाने तर पनि ममा तर्क वितर्कका लहरहरू चल्दै जान्छन् अनि सम्झन्छु "तीन गोरुको हल पक्का र दुई जोईको घरपक्का " अनि सम्झन्छु "मर्दका दशवटी भन्नेहरूको घुर्की," यो घुर्कीकर्ता र उखान कर्तालाई गालि दिउँ या धन्यवाद? म केही भन्न सक्दिन। तब पनि के भन्न मन लाग्दछ भने "छोरा छोरी नभएर बरु अपुताली परोस् तर छोरा छोरीको रहरले दोस्रो विवाह भने कसैले नगरोस्।"

शान्तिमायको अधुरो सपना

शान्तिमायको अधुरो सपना

सदानन्द अभागी

       नारायणगढबाट बुटवल लाग्दा एउटा राम्रो बजार, बजारको माझबाट पूर्ब पश्चिम राजमार्ग, बाटोबाट तलतिर झर्दा, स्यानो खोल्सो, खोल्सो पारगर्दा साथ जोडिएको एउटा सानो खेतको फोगटो, त्यो फोगटाेमा एउटा सानो झोपडी, झोपडीमा धनवीर र सुनमायाले गरिबीका दिन काटीरहेका थिए। यी दुईको मिलन पनि गरिबीको ढोकाबाटै सुरु भएको थियो। दिन बित्तै गए। मनवीर नामको छोरा जन्म्यो । छोराे जन्मेकोमा खुसीयाली राम्रैसँग मनाइयो। मनवीरको जीवन सुख र दुःखसँग बित्तै गयो । बाबु आमाको सुखमा उसले पनि सुख पाउँथ्यो, दुःखमा उसले पनि दुःख झेल्न पर्दथ्यो। धनवीर पूँजीबाट गरिब भए पनि मनबाट त आफूलाई कहिलै गरिब सम्झेन। सुनमायाको पनि शरीर सुनबाट बञ्चित थियो तर भावनाबाट उसको शरीर सुनैसुनले ढाकिएको थियो । भावना जति धनी भए पनि के गर्ने? आखिरमा घरव्यवहार चलाउनलाई, धनको आवश्यक्ता पर्दथ्यो। धनवीरको वीरताको झोकले केही गरेन। न त उसले छोरा पढाउन नै सक्यो, न त घरकीलाई, राम्रो टालोले जीउ ढाक्न नै सक्यो। सम्पतीको नाममा उसको एटा घडेरी र एक कट्ठा घोलखेत मात्र थियो। यति जग्गाले खान लाउन पुग्ने कुरै भएन। आफ्नो दैनिक गुजरा चलाउन धनवीर र मनमाया, निमक खान जानु पर्दथ्यो। निमक खान पनि त खेतीपातीको मौसम अनुसार हुनपर्‍यो । जीवन धान्न धौ धौ भएका धनवीरलाई मन मायाले पल्लाघरे लाहुरेसँग सल्लाहा गरेर, धनवीरेलाई पनि एकदुई बर्ष लाहुरजाने सल्लाहा दिई। उसको आशा थियो, लोग्नेले केही सम्मती कमाओस्, घरमा टिनहाल्न सकिओस्, एकहल भए पनि खेत जोरिओस् र एउटा राम्रो टालोले जीउ ढाकिओस्। श्रीमतीको भावना सुन्दा धनवीरेलाई अङ्गमा साह्रै घाम लाग्यो। पल्लाघरे, साइँलादाइको साथमा धनवीरे पञ्जावतिर लाग्यो। सुनमाया र धनवीरेको घरयासी सल्लाहामा छोरा मनवीरेलाई पनि साथैमा लाने कुरामा सहमती भयो। धनवीरेले सोचेको थियो, लाहुर जाने बित्तिकै, राम्रो नोकरी पाउँदछु। नोकरी पाए पछि, छोरालार्र्ई पनि पढाउन थाल्दछु तर त्यसो हुन सकेन। यता सुनमायालाई घर चलाउने पुरै जिम्मा आयो।

"नेपाल गए कपालसँगै, ब्रह्म गए कर्मसँगै" धनवीरेको कर्म साह्रै खोटी रहेछ। उसले कुनै किसिमको जागिर पाउन सकेन। जालन्धर, चण्डिगढ, लुधियानाका सबै कारखाना चाहार्‍यो तर जागिरको नाममा हातलाग्यो शून्य भए पछि, रेलवे स्टेशनमा कुल्लीको काम गर्न थाल्यो। मनवीरले के गर्ने ऊ पनि आफ्नो बाबुको पछि पछि लाग्यो। धनवीरेले छोरालाई पढाउन सकेन। उसले बोकेका सपना कुनै पनि सफल भएनन्। प्रगतिको बाटो रोकियो दिनभरि गरेको मेहनतको फल पनि उसले पाउन सक्दैनथ्यो। यस्तै क्रममा रेलकोलिग पारगर्न खोज्दा भारी निकै गह्रुँगो थियो। ऊ ढल्यो सुपरफाष्ट टे्नबाट उसको जीवनलीला समाप्त भयो। बाबुको जीवनलीला समाप्त भए पछि, आफ्नो धार्मिक कृयाक्रम गरेर र उसले होटलमा भाँडा माझ्न थाल्यो। एता धनवीरेको मृत्युको खवर सुन्ने बित्तिकै, सुनमायाको सारा सपनाहरू पानी पानी भए। उसले यो घाउलाई सहन सकिन र मुर्छापरी। यो मुर्छा नै उसको चिरनिद्रा थियो।

मनवीर सानो थियो तर निकै चलाक पनि थियो, त्यसो हुँदा, भाँडामझाइबाट जीवन गुजरा नचल्ने देखिए पछि, उसले शीप सिक्ने कोसिस गर्‍यो। शीप सिक्दा तलव नपाउने, तलव नभए खान नपाउने भए पछि, उसले शीप सिक्न छाडेर पुन फुटपाथमा बसेर चिठा बिक्रीगर्न थाल्यो। यो कामबाट पनि हातमुख जोड्न बाहेक उसको केही चलेन । यो भन्दा त देशमै गएर, आफ्नो जीवनकर्म अघि बढाउने तर्फ निधोलियो र स्वदेश फर्क्यो। घरमा फर्कदा मनवीरले  आफ्नो घर पुरै माकुराको जालोले भरेको बाहेक केही पाउन सकेन। जीवनको सानो क्षणमा नै उसले ठूलो दुख र शोक व्यहोर्न पर्‍यो। मनवीरले आफ्नो जीवनलाई संघर्ष सम्झो। यो संघर्षबाट पार पाउन उसले बिक्रम ट्याम्पोको खलासी भयो। उसको शीप र कार्य कुशलताले गर्दा ऊ आफ्ै ड्राइभर बन्यो। ट्याम्पो चलाउँदा चलाउँदा उसले टयाक्सी चलाउन थाल्यो। अव त उसले आफ्नो काममा सफलता मिले पछि एउटी राम्री सुकुमारीलाई श्रीमती बनाएर भित्र्याउन ऊ सफल भयो। शान्तिमाया र मनवीरको जीवन सफलसँग बित्न थाल्यो। ड्राइभर कामबाट मनवीर त्यति खुसी थिएन। उसले पैसा कमाउन पनि सकिरहेको थिएन। उसलाई यो पेशामा दुई वटा रोगले सतायो। सबै भन्दा ठूलो रोग त काठमाण्डौको ट्राफिक जाम थियो यतिलेमात्र नभएर कहिले लाईसेन्स खोसिने, कहिले गाडी नै बग्गिखाना पुग्ने आदि आदि रोगले उसलाई सताएको थियो। दोश्रो रोग भनेको राती गाडी नचलाए पैसा नकमिने र राती गाडी चलाउँदा, गुण्डाहरूले पैसा नतिर्ने। यी दुवै रोगको उपचारलाई उसले निकै सावधानी अपनाउन पर्दथ्यो।

दिनबित्ने क्रम जारी छ। यो दिन बित्ने क्रममा शान्तिमायालाई पनि धनी बन्ने रहर जाग्यो। अरब देशबाट ड्राइभरको माग भएको, पैसा बढ्ता कमाउन पाइने भने पछि शान्तिमायालार्र्ई श्रीमानलाई अरब पठाउने रहर जाग्यो। उनले बचाएको पैसाबाट थप रकम आमा र मामासँगबाट काढेर भए पनि खर्चको जोगो गर्ने काम भयो। उसलार्र्ई कुवेतकोलागि छनौट गरियो। छनौट प्रकृयामा यो कम्पनी निकै ठूलो छ र समय समयमा गाडीलिएर कुवेत पुग्नु पर्दछ भनिएको थियो। शान्तिमाया पनि श्रीमान वैदेसिक रोजगारमा राम्रो पैसा आउनेमा जान पाउने भए पछि निकै खुसी थिई। कानुनी प्रकृयामा जुन देश गए पनि त के थियो र? कस्तो दुर्दशा, एउटा म्यानपाउरलाई पैसा तिर्‍यो, अर्को म्यानपावरबाट ऊ उड्यो। जाने क्रममा आवुधावी, बहराइन् हुँदै ऊ कुवेत पुग्यो। कुवेतमा उसलाई भीमकाय ट्रली चलाउन लगाइयो। उसले यो ट्रली चलायो पनि तर चालकमा असफल भएको जानकारी दिइयो। अव ऊ ज्यामी बन्ने बाहेक कुनै उपाय रहेन। उसलाई ज्यामी बनाइयो। कामको प्रकृया मोडिनुको साथै, कामगर्ने स्थान पनि परिबर्तन हुने कुराहरू आए। तलव मान आश गरे भन्दा बढ्ता नै थियो।  पैसा कमाउन गएकाहरूले बढ्ता पैसा पाए पछि मनमा आशा जाग्नु स्वभाविक थियो। अव उनीहरू इराक जाने तरखरमा लागे तर भिसा पनि त थिएन, कम्पनीले लाने भए पछि उनीहरूले भिसाको कुनै ख्याल गरेनन्। कुवेतबाट रातको दुई बजे इराक प्रवेश गर्ने तयारीमा जुटेका मनवीरे र साथीहरूका आँखा अलजजिरा टेलीभिजनमा पुग्यो। त्यहाँ त बाह्रजना नेपालीको हत्याको प्रसारण भइरहेको थियो। बाह्रजनामा एकजनाको निर्मम् हत्या गरिएको थियो। यो दृश्यले मनवीरे र साथीहरूमा आफ्नो जान पनि जोखिममा परेको महसुस भयो। 

ऊ सानै उमेरमा विदेशमा गएको, विदेशमा भोग्नपर्ने सारा समस्या उसले भोगेको र आज पुन जीवन चक्रमा दुर्भाग्यले समाएको, त्यसमा पनि दह्रो दलालले इराक जानपर्ने भनेर फसाएको, अव त सङ्घर्ष सिवाय अरू केही थिएन। मन वीरे र साथीहरू इराक नजाने भनेर जुटे। उसको नेतृत्वलार्र्ई साम्य पार्न स्वदेशी तथा विदेशी दलालका मानिस जुटे। छलफल भयो, बार्ता भयो, प्रलोभन देखाइयो तर मनवीरे मान्यवाला थिएन। अव त मुड्की ताकियो, ज्यानैलिने धम्किको आवाज गुञ्जीयो, उनीहरू बस्ने कोठाको पङ्खा र बिजुली काट्टियो। यो कारुणिक यातनामा पनि मनवीरेले आफ्नो आवाज अझै सशक्त पार्‍यो। साथीहरूले डटेर साथ दिए। तर अरण्यरोदनलाई कसले सुन्ने। अव त मनवीरे दलालहरूको आँखाको कसिङ्गर भैसकेको थियो। उसको पत्तासाफ पार्नु नै दलालहरूको एकमात्र सपना साकार पार्ने उपाय थियो। उसलेे ज्यान जोगाउँनु बाहेक कुनै उपाय थिएन। ऊ त्यहाँबाट भाग्यो। रातको बेला जाने नै कहाँ सक्दथ्यो र बुद्धिले साथ दियो र पानी टङ्कीको सहारा लिएर रात गुजार्‍यो। शुभ विहानीको सङ्केतमा ऊ त्यहाँबाट भागेर नेपाली होटल मालिकको सरणमा पुग्यो। नेपाली जुटे राजदूताबासलाई थाहा लाग्यो। ऊ आफू बाँच्यो र अरुलाई पनि बचायो।

मनवीरेले आफ्नो ज्यान र गौरव बचाएर देश फर्क्यो तर ऋणको बोझ भने उसले ठूलै बोकेको छ तर पनि मनवीर र शान्तिमाया अझै हरेस खाएका छैनन्। त्यो ऋण चुक्ता गर्ने अभिलाशा बोक्दै मनवीर काठमाण्डौको गल्लि गल्लिमा टयाक्सी दौडाई रहेको छ। शान्तिमायाले साैभाग्यको सिन्दूर बोकेर परिश्रमको पसिना बगाउँर आफ्नो जीवन यात्रा पुरागर्ने अठोठ्तामा जुटेकी छन्। उनले आफूलाई सासू भन्दा भाग्यशाली सम्झेकी छन् । त्यहि भाग्यमा उनी रमायकी छन् र आफ्नै देशलाई सबै जुटेर विकास गर्न आह्वान गरेकीछन्।