मातृत्व हीनता सदानन्द अभागी भरखरै रोपाइँ सकिएकोले धानको बिरुवाले हरियो पना देखाए पनि गह्रालाई हरियालीले ढाक्न भने सकेको थिएन। गाँजहाल्न सुरुमात्र भएको थियो। मलिलो जग्गामा धान हरियो थियो । रुखो जग्गामा धानले पहेलो रङ्ग चढाएको थियो। धानले भोकलाग्यो भनेको छर्लङ्ग बुझन्थ्यो। साँझ पर्नपर्न आँटेकोले सङ्कटादेवीको मन्दिरमा सन्ध्या जगाइएको थियो। बत्तीहरू बलिरहेका थिए। सन्ध्याको आभास बिजुली नबलेको ठाउँमा मात्र पाइन्थ्यो। यस्तै तिरमिरे सन्ध्यामा सोमनाथ, सन्ध्या यात्रामा आफ्नो घरबाट बाहिर निस्केको थियो। सोमनाथ प्राय रामनाथको घरतिर जाने गर्दथ्यो। यी दुवै उमेरमा धेरै जेठा कान्छा थिए तर पनि धेरै मिल्ने मित्र थिए। सोमनाथले रामनाथसँग साहित्यिक क्षेत्रको बारेमा धेरै चर्चा चलाउँथ्यो। राष्ट्रले बोक्न परेको द्वन्दको भार, समयको परिवर्तन, सामाजिक परिवेश, आदि आदिले गर्दा देश जुनरूपमा विकासको गतिमा लम्कन पर्ने हुन्थ्यो त्यो भने भएको दुवैले पाउदैनथे। दुवै भावुक बन्दथे। शान्तिपूर्ण, विकसित, देशको कल्पना र युवाहरूको भाविउज्वलताको कामना र फराकिलो मार्गको कल्पनामा दुवैको अन्तरकृयाहरू चल्दथे। आज सोमनाथ घरबाट रामनाथको घरतिर बढ्दा बाटोमा हिड्ने मानिसको भीड पनि घट्दै गएको पायो। ऊ आज कतै टाउको फर्काएन। ऊ सरासर केहि मिनटमा नै रामनाथको कोठामा पुग्यो। रामनाथको कोठाको ढोका बन्द थियो । उसले आफू आएको साङ्केतिक आवाज नदिएर नै ढोका खोल्यो। सोमनाथका नजर घर भित्र पुगे । सोमनाथले आफ्नो मित्रलाई एक जना महिलासँग धेरै नजिकमा बसेको पायो। उसको साथीको कोठामा महिलामात्र नभएर एक जना गाउँले केटा पनि थियो। त्यसो हुदा सोमनाथ आफैमा सम्हालियो । रामनाथले महिलाको कोठाको साँचोको झुप्पा हातमा लिएर खेलाई रहेको थियो। दुवै मौनतामा भावना पोखिरहे जस्ता देखिन्थे। किन हो कुन्नि? आज सोमनाथलाई अल्लि असजिलो महसुस भयो। आज सोमनाथले आफूलाई असभ्य घोषणगर्न पनि सक्दैनथ्यो र आफूलाई सभ्य भन्न पनि मन पराउँदैनथ्यो। ऊ मन मनै सोच्यो "मैले साथीको ढोका खोल्दा कमसे कम साङ्केतिक आवाज त दिनु पर्ने थियो"। अर्कोतिर रामनाथ र महिला मात्र नभै अर्को युवक भएकोले ऊ ढोकामा साङ्केतिक आवाज नदिएर भित्र पसे पनि उसले आफूलाई असभ्यमा घोषणा गर्नु पर्ने आवश्यक्ता थिएन। अनि उसले मनमनै भन्यो जे भयो ठीकै भयो। रामनाथ उठेर सोमनाथलाई स्वागत गर्यो। सोमनाथ पनि रामनाथको छेउमा खाटमा वस्न पुग्यो। सोमनाथ अति चञ्चले स्वभावको मानिस, त्यसो हुदा ऊ चुप्प बस्न सक्दैनथ्यो। उसका आँखा पनि चञ्चले थिए। ती चञ्चले आँखाले कोठाको चारै दिशा (कोठाका भित्ताहरू) नियालेर छाड्यो। यति मात्र कहाँ हो र उसका आँखा ती तृष्णवतीको शरीरभरि पनि प्रहार भए। ती तृषित नयनले कताकता तृष्णावतीको सेतो अनुहार, कालो केशलाई आक्रमण गर्दछन्। तिनका ती आफ्नै प्रकार, आफ्नै भेष, मोतीदन्तको आकर्षणले कताकता रामनाथलाई पागल बनाएको थियो। उनी पनि कहाँ कमी थिइन् र उनका भौतारिएका आँखाले पनि तीर छाड्दथ्यो। यसो हेर्दा उनी अति रतिकेलि जस्ति लाग्दथिन्। तिनका ती पिपलपाते ओठका पर्खालहरू कताकता जाेडिदै उघ्रदै गरको सोमनाथले लुकीलुकी हेर्दथ्यो । उनले घरीघरी सोमनाथलाई कर्के आँखाको तीर चलाउँथिन्। उनको तीरप्रहारले गर्दा सोमनाथ अवाक नै जस्तो देखिन्थ्यो। रामनाथ ती तृष्णवतीसँग बार्तामा तल्लिन थिए। सोमनाथको आँखा ती तृष्णवतीको च्यूँडाको तीलमा (कोठीमा) पुग्यो। उसले हेर्दै गयो। ती तृष्णावतीको मोहनीरूपको वाँणले सोमनाथको कलेजीलाई छिया छिया पारि सकेको थियो। सोमनाथ पनि कहा कम थियो र उसले पनि आफ्नो नयनतीर रामनाथबाट जोगाइ जोगाइ छाडिरहेको थियो। सोमनाथका बैंसालु आँखाले हो कि उसको यौवन मादले हो त्यति बेला उसले उनका नयन तिर्खाएको तिर्खाएको जस्तो पायो। तिर्खाएका नयनको पिलपिले पनामा मुस्कित भएर चलिरहेका अधरले कता कता आवाज खोजेखोजे जस्तो देखिन्थ्यो। यसो हेर्दा सोमनाथ, रामनाथ र ती तृष्णावतीका मादकताले भरिएका आँखा थाकेका थिएनन्। सोमनाथ आफ्नै धुनमा थियो। रामनाथ र ती मृगनयनीको मौनवार्ता रोकिदै चल्दै गर्दथ्यो। पुन सोमनाथले आफ्ना आँखा ती मृगनयनीतिरै लगायो। सेतो गर्दनमा सुनको सिक्री टल्किएको थियो। छाति पुष्ट थिए। उनको यो सुन्दर दर्शनले सोमनाथको लोभी मन छटपटीमा देखिन्थ्यो। सबै आकृति प्रकृतिकले भरिएको जस्तो देखिन्थ्यो। यथार्थ यो सौन्दर्यताको फुलवारिमा सोमनाथका आँखा अतृप्त रूपमा देखिन्थे। सोमनाथ कहिँ पनि धेरै बेर बस्न सक्दैनथ्यो। आज भने ऊ त्यो घर छाड्न चाहिरहेको थिएन। यसो हेर्दा कता कता सोमनाथले आफ्नो जीवन जीविका चलाउन रामनाथसँग चुनावमा उठेका उमेदबारले चुनाव जित्न भोट मागे जस्तै गरी ती मृगनयनीको सौलो अवलोकनको लागि भोट मागि रहेको जस्तो भान हुन्थ्योे। ऊ जहाँ गए पनि आफ्नो कामको यथार्थता पोखेर कार्य सफल विफल जे भए पनि आफ्नो गन्तव्यतिर लाग्दथ्यो। ती मृगनयनीले पनि रामनाथसँगबाट आफ्नो चापिको झुप्पा मागेर आफ्नो कोठातिर लाग्न खोजेजस्तो गर्दथिन् तर चापिको झुप्पा भने रामनाथसँग थियो। उनी किन हो कुन्नि आवेशमा आइसकेकी थिइन् । उनको शरीर तातो र रातोजस्तो लाग्थ्यो। उनले रामनाथको हातबाट चापिको झुप्पा खोसिन् र आङतान्दै उठेर आफ्नो कोठातिर लागिन्। सोमनाथले उनको यो आङतानाइमा यौवनताको गर्मीचढेको पायो तर के गर्ने? कामुकताले जति सताए पनि भावनामा त्यो भने सोमनाथले देखाउन सक्दैनथ्यो। सायद देखाउन चाहेर पनि देखाउन मिल्दैनथ्यो। यति बेलासम्म सोमनाथको आँखा र मुख चिलाउनु सिवाए केहि भएन। अव रामनाथले छुट्टी पाए। सोमनाथसँग साहित्यिक गफ गर्न थाले । दुबैले हालको परिपेक्ष र कलमको बहादुरितामा गफ चलाए। रामनाथ भन्दै थिए "बन्दुकको अगाडी कसको के लाग्दछ।" तर सोमनाथ भने यो कुरामा सहमत थिएनन् । सोमनाथमा धेरै सुन्न सक्ने धैर्यता थिएन। बन्दुक हैन कलमपो ठूलो भन्दै सोमनाथ अगि आए। बन्दुक र कलमको बारेमा गहिरो छलफल चल्यो। बन्दुक एक चोटीमा एक गोली फाल्छ। त्यो गोलीको कर्म सकियो। साहित्यिक गोली त एक चोटी चलायो भने युगौयुगसम्म चलिरहन्छ। आखिर यो तर्क आफ्नो आफ्नो अडानमा रहने खालमा जमेको थिएन। दुई मित्रका साधारणा भावनाका पोखाइ मात्र भएकाले यी कुरा सकिए। सोमनाथ रामनाथको घरबाट बाहिरिएर आफ्नो कोठातिर लाग्न खोज्यो। यति बेलासम्म रामनाथको मानिसले चिया पकाइ सकेको थियो। सोमनाथ र रामनाथ दुवैले एक एक कप चिया पिए। रामनाथले साथीलाई बिदा गरे। धेरै दिनसम्म सोमनाथ रामनाथको घरमा जान सकेको थिएन। यति बेला फागु पूर्णिमाको दिन थियो। सोमनाथ रामनाथको कोठामा गएको थियो। साथीको ढोका बन्द थियो तर ताल्चा झुण्डिएको थिएन। ताल्चा नलगाईकन साथी तृष्णावतीको डेरामा गएका रहेछन्। सोमनाथलाई के थाहा? कता कता ढोका हेर्दै फर्कन थालेकामात्र थिए। अर्कातिरको ढोका खुलो। एक जना अर्धवैसे महिलाले रामनाथ अर्को कोठामा भएको जानकारी दिइन्। सोमनाथले त्यो कोठाको ढोकामा साङ्केतिक आवाज दिएर आफू आएको जानकारी पठायो। रामनाथ उनकै कोठामा उनका श्रीमानसँग तास खेलीरहेका रहेछन्। उनले तास खेल्न छाडेर कोठामा आए। सोमनाथले रामनाथसँग तास खेल्ने काममा बाधा पुर्याएको हुँदा क्षमा याचना गरे। रामनाथको कुनै प्रतिकृया थिएन। उनले साथीलाई भने– "केही छैन" भन्दै चिया पकाउन सुरु गरे। यो उनको सधै चलिरहने क्रम थियो। चिया पिउने काम भयो। सोमनाथले रामनाथलाई एउटा लेख दिनु थियो दियो र ऊ आफ्नो कोठातिर फर्क्यो। धेरै दिन भयो सोमनाथ रामनाथको डेरामा गएको थिएन्। यो क्रममा एक रात बेलुका सोमनाथ रामनाथको डेरामा पुग्यो। रामनाथको डेरामा ठूलो ताल्चा झुन्डिएको थियो। एउटा वालकले उहाँ धेरै दिन देखि डेरामा नभएको जानकारी दियो । उहाँ नभएको थाहा पाए पछि सोमनाथ ढोकाबाटै फर्क्याे। सोमनाथ रामनाथलाई नभेटे पछि धेरै छट्पटिन्थ्यो। सोमनाथ रामनाथको घरमा जाँदै फर्कदै गर्ने क्रममा धेरै दिनसम्म ताल्चा झुण्डिएको नै थियो तर एक दिन रामनाथको ढोकामा ताला झुण्डिएको थिएन र खुला पनि थिएन। साथीको साङ्केतिक चप्पल पनि कुनै ढोकाको बाहिर थिएन । सोमनाथ सरासर बाटोतिर बढ्यो। बाटोमा सोमनाथको भेट कृष्णकान्तसँग भयो। कृष्णकान्त एउटा दोकानी, भरखरको युवक, फूर्तिलो मानिस, सोमनाथलाई देख्ने बित्तिकै उसले फूर्तिसाथ सोध्यो "कताबाट?" "रामनाथ कहाँबाट" "भेट्नु भयो?" "भेटिन, ढोका खुलै थियो, उनको चप्पल पनि बाहिर थिएन, शौचालय पनि खुलै थियो, म एक क्षण उभिएँ, कतै केही शङ्का लागेन र त्यहँाबाट हिड्नु सिवाय केहि सोचिन र म हिडें।" कृष्णकान्तले भने– "विपरीत दिशाको कोठा देख्नु भएको छ ? " "कोठा त देखेको छु" "त्यही छ तपाइँको साथी " सोमनाथलाई जिज्ञासा जाग्यो र आश्चर्य मान्दै भन्यो– "हो र?" कृष्णकान्तले भन्यो –"हो, त्यसको बास त्यतैतिर हुन्छ।" "तपाइँलाई के थाहा?" सोमनाथले प्रश्न राख्येा "उसको बास उतैतिर हुन्छ "। कृष्णकान्तले पुन जवाफ दियो। सोमनाथले गम्भिर भएर सोच्यो अनि भन्यो– "हो त ! उसले एकदिन त्यही पाएको थियो, उसको श्रीमानसँग।" कृष्णकान्तले भन्यो– "ती महिला त अलपत्रे आइमाई हुन्। नपत्याए साथीसँग सोध्नु होस् ?" सोमनाथ दाँत कोट्याउदै उभिएका थिए, उनको प्रतिकृया केही थिएनजस्तो लाग्थ्यो तर कृष्णकान्तले फेरि थप जिज्ञासा दिए– "तृष्णावतीलाई नारनथाने सुन्दरी पनि भन्दछन् ।" "हो ' आज पनि सुन्दरी नै छन्" सोमनाथले उत्सुकता पूर्बक सोध्यो। कृष्णकान्तले भन्यो– "उनका हाल दुई छोराछोरी पनि छन्। दुई बच्चाकी आमा त त्यति राम्री छे। थारी छँदा कति राम्री हुदि हो?" कृष्णकान्त बहकिंदै थियो । रूप र विकृतीको कस्तो सम्गम्। महिलाको रूपले पनि असुरक्षामा नौनीमा आगो लगाउँदो रहेछ, सोमनाथले मन मनै गुन्यो। किन हो कुन्नी कृष्णकान्त आज उनको बारेमा जानकारी दिन अति व्याकुल जस्ताे देखिन्थे। जे शब्द पायो त्यही प्रयोग गर्दथे। आज उनमा राम्रो र नराम्रोको ख्यालै थिएन । सोमनाथले थपे –"आजकल त्यहाँ त उनी एक्लै छिन््।" सोमनाथका यी शब्द कृष्णकान्तले के सुन्न पाएका थिए, उनको बोली फेरि सलल पानी बग्दाझै बग्न थाल्यो – "उसको दोस्रो श्रीमान गायव छ। सायद ऊ त्याहाँबाट भागेको हुनु पर्दछ।" सोमनाथले जिव्रो काड्दै सोध्यो– "किन भाग्नु?" "उनी परिवार नियोजन गरेकी महिला हुन्। सायद दुबैजनाले आफ्नो भोगको तिर्षा मेटाउँदा पहिलो श्रीमानले भेटेको हुनु पर्दछ। यस्तो कर्ममा सायद उनको पहिलो श्रीमानले यस्तो कुकर्मको बिरोध जनाएको होला ? यो समस्याको समाधान गर्न दुवै नारायण थानबाट यता सरेका हुन सक्दछन्।" उनको दोस्रो श्रीमान भाग्नको कारण जान्न कृष्णकान्त आतुर थियो तर पनि ऊ आफै बोल्यो– "उनको दोस्रो श्रीमान परिबार नियोजन गरेकी आइमाई र जारका छोराछोरीलाई कथम् कदाचित पाल्नपर्ला भन्ने डरले भाग्न बेस ठानेर भागेको हुनु पर्दछ।" सोमनाथले कुरा थप्न के खोजेका थिए ? कृष्णकान्त पुन बोली हाले– "उनका छोराछोरी उनीसँग आउन नमान्नु, कस्तो विडम्वना?" सोमनाथले सहि थाप्दै भने –" जीवन जोडी भएपछि यसरी छाड्न पाइन्छ?" कृष्णकान्तले भन्यो – "कहाँ जीवन जोडि हो र? यसलाई म त जीवन जोडी मान्दिन। यस्तो मिलनलाई कसले जीवन जोडीमा लिन सक्दछ? यस क्रममा म त के भन्दछु भने जैविक आवस्यक्ताको परिपूर्ति गर्न दुवै जना क्षणिक आनन्दतामा जुटे जसको नतिजा जीवनको अन्तिम क्षण सम्मसँगै बस्ने सँगै बाच्ने धु्रवतारा साँक्षी राखी बाचा सहित लामो बाटो पारगर्न पहिलो लोग्नेसँग पारिएको लग्नेगाँठो सजिलै टुट्यो।" सोमनाथले केहि वुझ्न सकेको छैन। ऊ सुनी रहेछ। कृष्णकान्तका रसिला भावनाहरू पाेखेको सुनिरहेछ । एक क्षणको विश्राम पछि सोमनाथले यो सबै घटनालाई नियालेर हेर्यो, सोचमा डुव्यो र आफैमा प्रश्न राख्यो– "के मातृत्वको सहृदय टुटेर जान्छ? के आमा पोइलाजाँदैमा छोराछोरीको माया आमाबाट अलगिन्छ?" यो तर्क वितर्कले सोमनाथको हृदयमा ठूलो स्थान लियो। सोमनाथले आफैले जवाफ दियो– "आमामा मातृत्व रहेन भने निश्चय नै छोराछोरीले आमा शब्द उच्चारण गरे पनि आमा प्रतिको माया शिथिल भएर जान्छ। मातृत्व विहीनकी आमाले छोराछोरीको जन्मदिनु भन्दा त उसको कोख नै बाँझो रहन असल आदि आदि सोचमा सोमनाथ डुब्छ। सोमनाथ मानसिक द्वन्दमा अल्भि्करहेको थियो। ऊ आँफैमा दोधारे देखिन्थ्यो। के छोरा छारीको मायामा अल्झेर आफ्नो जीवनको मोजमज्जालाई खरानी पार्ने? हैन! हैन!! कृष्णकान्तको भनाइलाई म मान्दिन।" उसले यस्तै यस्तै सोचमा डुब्दछ र भन्दछ – "उनी आमा हुन्। आमामा मातृत्व हुन्छ।" फेरि ऊ आफैमा अनियन्त्रित हुन्छ। ऊ फेरि यो सोचाइमा पर्छ र अनि भन्दछ –"भोकको बेला मातृत्व न सातृत्व, खाना खान पाए पछि उनले अगिल्तिरको भागमा जहर मिसिएको छ भन्ने खोजीतिर जानु भन्दा भोक मेटाउनु नै असल ठानिन्।" उसको मनले भन्दछ –"यो कुरा पनि त राम्रै हो।" फेरि उसको मन विचलित हुन्छ र फेरि ऊ आफैले आफूलाई भन्दछ –"यो कर्म गलत हो! गलत हो!! एक, दुई, तीन गलत हो!!! खान पाएँ भन्दैमा जे पायो त्यही खाने। त्यही खानाको कारणले शरीरलाई विषाक्त पार्ने। कुनै पनि बस्तुको महत्व हुन्छ। मान मर्यादा र सहअस्तित्वको मूल्य र मान्यतालाई मानव जीवनमा छुट्याउन सक्नु पर्दछ।" ऊ बडबडाउँदछ र अनि भन्दछ– "दुई दिनको जिन्दगीमा के लिनु के दिनु? छाड यो कुरा अनि गर जे मन लाग्दछ त्यही।" सोमनाथ आज जीवन पद्धतीमा घरी नकरात्मक बन्दै जान्छ घरी फेरि सकरात्मक भएर आउँछ। सकरात्मक पक्ष अङ्गाल्दा उसले समाजिक परिपाटीलाई हुबहु लाने धरणामा आफूलाई अडिग बनाएर ल्याउँद छ। नकरात्मक भएर जाँदा ऊ साह्रै नकरात्मक बन्दछ। जे मान लाग्यो त्यसैलाई महत्वपूर्ण ठान्दछ। यस्तै यस्तै कर्ममा ऊ पुन सोचमा डुब्छ र अनि भन्छ – "आमा र बाबुको मिलन छोराछोरीको जन्मको उद्देश्यले मात्र नभै शान्सारिक क्षणिक आनन्द पनि त हो। जैविक आवश्यकताको पूर्ति गर्दैमा छोरा छोरीको कामना पनि त हुदैन होला? रज र बीज मिलन हुन्छ र नतिजा छोरा छोरी निस्कन्छ। त्यसलाई सहर्ष रूपमा स्वीकारिन्छ। त्यसलाई आत्मीय रूपमा हेरिन्छ। प्यारो रूपमा हेरिन्छ। सायद यही होला संसारमा हुँदै आएको कायाकर्म" तर पनि उसको मन मान्दैन। ऊ मौनताबाट बाहिर आउँद छ र उसको आत्म बोल्छ र ऊ जोडले कराउँदछ– "कस्ती मातृत्व विहीनकी महिला रहिन्छन् " कृष्णकान्तले यो आवाज के सुन्न पाएका थिए उनी फेरि वडवडाउन थाली हाले– "उनीले बाबुसँग उनका छोरा र छोरी दुबै साथमा राख्नको लागि मागिन् तर बाबुले छोराछोरी पोइल गएकी श्रीमतीसँग पठाउन मानेन, त्यस पछि छोराछोरीलाई साथमा लानपाउँ पाल्न पाउँ भनेर अदालमा मुद्दा दिइन्। छोरा छोरी साथमा राख्न मुद्दा पनि जितेकी छन्" अव त सोमनाथ अझै आश्चर्यमा पर्दछ ।'छोरा छोरी साथमा राख्न अदालत जानु पर्ने? कस्तो बिडम्बना! के छोरा छोरी आमाले ल्याइन्त?" कृष्णकान्तले भन्दै थिए – "कहाँ ल्याउनु? अदालतले न्याय दियो, उनले छोरा छोरी साथमा राख्न पाउने भनेर तर छोरा छोरीको मनको अदालतले मातृत्व विहीनकी आमालाई स्वीकारेन। छोरा छोरी उनीसँग आउन मानेनन्। " "पृतित्वले ओगटेको बाबुको मायाले नै छोरा छोरीको भावना जित्यो। ती दुवै बाबुको न्यानो मायामा रमे र भोगको रोग ग्रसित आमालार्र्र्ई भावनाबाटै त्यागी दिए। सोमनाथले मन मनै बडबडायो। सोमनाथले पुन बिचार गर्यो। के उसको लामो पितृत्वले धानी राख्न सक्ला त ऊ ढुक्क भएर भन्दछ– "धान्छ संसारमा यस्ता उहारण बन्ने बाबु पनि धेरै छन्।" फेरि ऊ नकरात्मक बन्दछ र भन्छ– "छोराछोरी प्रति आफ्नो जीवन आनन्दको सर्वस्व त्याग्ने बाबु कति छन्" ऊ आफै विश्लेषण गर्दछ र भन्दछ– "त्यागको अभावले नै त त्यस्ता व्याक्तिहरू सबैले दुःख भोग्न परेको छ। आफ्ना सन्ततीहरूलाई जिउँदै नरकमा ढकेलेका छन्।" कृष्णकान्तले भन्यो– "दोस्रो श्रीमानले किन छाडे होला" यो प्रश्नमा सोमनाथलेे तर्क पेश गर्यो–"यहाँ श्रीमान, श्रीमती बन्ने रहरले मित्रता गरेनन्। त्यहाँ त क्षणिक सन्तुष्टीको चहाना थियो। शारीरिक तृप्तिको आकर्षणमा फसिएका ती जोडी पश्चतापको ज्वालामा जले । भावी जीवनका उतारचढावले कता मोड लिने हो, उसले अहिले केही भन्न सक्दैनथ्यो। उसको सोचाइ अदालतबाट अधिकार प्राप्त ती जारका छोराछोरी ती महिलाले जतिबेला पनि साथमा ल्याउन सक्छिन्। छोरा छोरीले आमाको मायाको महसुस गर्ने बित्तिकै आमासँग आउन सक्दछन् आदि आदि कारक तत्वहरू दोस्रो श्रीमानको मन मस्तिष्कमा चढ्नु स्वभाविक थियो। त्यसो हुँदा दोस्रो श्रीमानले यस्तो गलगाँडलाई भिरेर हिडनु भन्दा शैल्यकृया गरेर गाँड फाल्नु नै उचित सम्झ्यो। उसले उसलार्र्र्ई त्यागेर हिड्नु नै जीवनको ठूलो सार सम्137यो। दूधमा पल्केको बिरालोले कुडे कुर्ने बाहेक केहि गदैन् उसलाई उनी प्रतिको धारणले समेटेर ओगट्न सकेन। उसले जुनबेला पनि विश्वास घात हुने महसुस गर्यो र उनीबाट टाढा भयो।" सोमनाथले आफ्नो बिचार कृष्णकान्तलाई भन्यो। यो सोमनाथ र कृष्णकान्त बीचको लामो छलफल थियो। यतिबेला सम्म घडिले रातको एघार बजाइसकेको थियो। कृष्णकान्त र सोमनाथ अलगिए। दुबैको डेरा नजिकै थियो। आफ्ना अफ्ना डेरातिर लागे। बाहिर झकमक्क जून लागि सकेका थिए। हावाको मधुरो वेगमा धानका पातहरू नाचिरहेका थिए। बोटबिरुवाको भावना प्रष्ट थियो। मौन भाषामा उनीहरू बोली रहेका थिए–"जीवनचक्र पुरा गर्न र उत्पादन दिन हामि लागिरहेका छौ। हामिमा पराग सेचन हुन्छ। सृष्टिचक्रलाई हामी निरन्तरता दिन्छौ। बीउ बन्दछ, फेरि उम्रन्छ, बढ्छ फुल्छ फल्छ र पुन बीउ बन्दछ आदि आदि....। बाेटबिरुवाको यस्तो साङ्केतिक भाषाको आवाज सोमनाथको भावनामा मेल खान्थ्यो। सोमनाथ एकाग्र भएर सोचिरहेको थियो। सृष्टिगर्ने काम संसारमा भै नै रहेको छ। सृष्टिमा मातृत्वको त्याग ठूलो चाहिन्छ। माकुरी सृष्टिको लागि आफ्ना बच्चाको आहारा बनि दिन्छे। पुन सोमनाथको मस्तिष्क नै खलबलिन्छ। आमा खाने सन्तती किन चाहियो अनि पुन भन्दछ – "यो प्रकृति प्रदत्त वरदान हो। ऊ सकरात्मक बन्छ अनि भन्छ यी सबै प्रकृतिप्रदत्त कर्मलाई व्यवहारमा राखी मानवले मानव प्रति गर्ने कर्म गर्दै जानु पर्दछ। आमामा मातृत्व अवस्य प्रवल चाहिन्छ। मातृत्व विहीनको प्रजनन् कृयाबाट भोगको रोग निम्त्याउनु सिवाय अरु केही हुन सक्दैन। यो त क्षणिक जैविक सन्तुष्टि मात्र हो।" ऊ यी दुबै भोगका रोगीहरूको भावि जीवनको कल्पनाको सोचमा डुब्दै थियो। कता कता आकाशमा एउटा ठूलो बादलको टालो आएर जूनलाई ढाकिदियो। रजनीको आभास पाउने बित्तिकै सोमनाथले आफूलाई सिरक भित्र लुकायो। |
April 1, 2012
मातृत्व हीनता
Subscribe to:
Post Comments (Atom)
Very nice blog with a variety of tastes in his different literatures.
ReplyDelete