April 1, 2012

मेरो श्रीमान छैन

मेरो श्रीमान छैन

सदानन्द अभागी 

दुईहज्जार बयसठ्ठीसाल श्रावण पन्ध्रगते विहान सूर्योदयको साथसाथै टेलिफोनको घन्टी बज्यो। टेलिफोन उठाउँदा कताकता चिनेको आवाज आए जस्तो लाग्यो। साँच्चि नै  चिनेको व्यक्ति विनोद नै रहेछन्। सर्वप्रथम "आजको समाचार पत्र पढ्नु भयो?" भन्ने प्रश्न आयो। मैले "पढेको छैन" भन्ने जवाफ फर्काएँ। जवाफ फर्काउन पाउँदा नपाउँदा मेरो प्रश्नको जवाफ नपाउँदै आत्तिएको आवाजमा बोली अल्लि फेरियो। अल्लि मधुरो शब्दमा हिजोको नवलपरासीको एक्सिडेन्टको बारे केहि थाहा छ? भन्ने प्रश्न आयो। म अल्लि अत्तालिएँ। मेरो अत्तालिनु स्वभाविक थियो। किनकी त्यहाँ मेरा धेरै आफन्त तथा घरका परिवार समेत त्यही नै थिए। मैले विनोदलाई सोधे "कस्लाई के भयो?" मेरो प्रश्नको  जवाफमा उताबाट एक सासमा नै जानकारी आयो "गैडाकोट गहिरी की ठूली आमा र भाइ कार दुर्घटनामा परेछन् र भाइ घटना स्थलमा नै बिते छ। ठूली आमालाई वि एन्ड वी अस्पतालमा भर्ना गरिएको छ।" मेरो शरीर फूल्यो। कता कता शरीरका रौ पुरै ठाडा भए। शरिर भित्रैबाट कम्पित भएर आयो। म सम्हालिदै अस्पतालतिर हानिएँ।

    खाटमा बिरामी सुतेकी थिइन्। खुट्टामा घाँउ लागेको रहेछ । मलाई फोन गर्ने मेरो भतिज विनोद र उसको मामाको छोरा गोबिन्द अस्पताल पुगि सकेको रहेछन्। म शनैः शनैः बिरामीको हाल खबर सोध्नतिर लागें । बिरामीले पनि म र मेरा छोराको हालखवरको सोधनी गर्नु भयो। मलाई उनको स्वास्थलाभ भएकोमा सन्तोष लाग्यो। बिरामीको स्वास्थ ठीकै लागेको पाए पछि म आफ्नो कोठातिर फर्कने बिचार गरें। म पैदल जाने वा ट्याम्पो या माइक्रोमा जाने भन्ने बिषयमा दोधारमा थिएँ। जे जसरी गए पनि मलाई कोठामा पुग्न करिब  आधाघन्टाको समय लाग्दथ्यो।

  जव ट्याम्पो आएर मेरो अघि उभियो तव मेरो र्तकविर्तक सबै सकियो। ट्याम्पोको अघिको सिट खालि भएकोले म त्यही सिटमा बस्न पुगें। शनिवारको दिन भएर होला ट्याम्पोमा मानिस निकै कम थिए। चालक पनि महिला थिइन्। यसो हेर्दा उमेरमा पच्चीस देखि तीसकिजस्ति लाग्थिन्। ट्याम्पो अघि बढ्यो। म आजको समचार पत्रमा आफ्नै बारेमा लेखिएको लेख र आइष्टाइनको बारेमा लेखेको लेख पढ्नमा व्यस्त थिएँ।  कस्तो दुर्भाग्य, यात्री चढाउनको लागि उनले ट्याम्पो ठाँउ ठाउँमा रोक्थिन् तर चढ्ने मानिस भने कोही भेटिदैनथे। उनको अघि र पछिको ट्याम्पोमा भने मानिसको चाप ठूलै थियो। उनी गुनगुन गर्दै थिइन्। म मेरै धुनमा थिएँ। पैसा कसरी वुझाउने? मानिस कोही चढदैन्। उनी मतिर फर्केर आफ्नो पिरलो पोख्न थालिन्। अहिले भने मैले उनको बोली सुन्न करै लाग्यो। मेरो मुखबाट फुत्क्यो "एउटा यात्री डाक्ने खलासी राख्न पर्‍यो।"

"आफ्ना छैनन् , अरुकालाई पैसा दिनुपर्दछ "

मेरो जिज्ञासा "विवाहा भएको छैन र? "

उत्तरमा "भएको हो"

फेरि उनले थपिन्

"एउटी छोरी छन्, पढाउनु पर्‍यो" 

अव मेरो पुरै ध्यान उनीतिरै सर्‍यो

"राम्रो कुरा छोरा छोरी दुबैलाई पढाउनु पर्दछ ।"

"आफ्ना छैनन्" यो शब्द सायद उनले छोरो छैन भन्ने भावनालाई पोखेको हुनु पर्दछ ।

मलाई कता कता लाग्यो आजको जमानामा पनि छोराको यत्रो चाहाना? महिला सशक्तिकरण भन्दछन् । छोरा र छोरी बीचको भेदभाव हटाऊँ भन्दछन्। महिला जागरण भनिन्छ। महिला हकहित भनिन्छ। समतामूलक समाज भनिन्छ तर महिलाबाटै छोरी उपेक्षित भएको पाइन्छ। यो कस्तो बिडम्वना? मलाई लागेको थियो महिलाहरू आज सायद आफूलाई पुरूषको दासी सम्झने अवस्थाबाट माथी उठिसकेका छन् अथवा त्यो पुरानो जमानाबाट पार भैसकेका छन्।  कताकता होइन होलाजस्तो लाग्यो? अनि मैलै आफूलाई पनि "राम्रो कुरा छोरा छोरी दुबैलाई पढाउनु पर्दछ।" भन्ने शब्दमा छोराको नाम पहिला प्रयोग गरकोमा पक्षपाती पाएँ। मैले छोरी र छोरा भन्ने शब्द प्रयोगमा किन ल्याउन सकिन्न त्यसैमा म प्रश्नबाची भएँ। मेरो यो सोचाइले गर्दा हामी दुई बीच एक छिनकाे मौनता आयो। पछि पुन मेरो मुख चिलायो र मैले मुख खोले

"श्रीमानको पेशा के त?" जवाफ आयो "श्रीमान छैनन्"

मारो आँखा उनको शरीर भरि खनिए।

   उनको सिउँदोमा सिन्दूरको टिका थियो। सेतो गलामा तिलहरी सहितको रातोपोते अति राम्रो सुहाएको थियो। उनले लगाउँका कपडा पनि त रङ्गीन थिए। मलाई उनी विधवा हुन् भन्न कठिन पर्‍यो। म बोल्न सकिन किनकी आजकल विधवा पनि त रङ्गीचङ्गी भेषमा आउन थालेकाछन् । रातो वस्त्र धारणको ठाउँ ठाउँमा अभियान पनि त चलेको छ। यो पनि त सामाजिक क्रान्ति हो। यो परिवर्तनलाई मैलै पनि राम्रो रूपमा लिएको छु। बाल अधिकारबाट प्राप्त सबै कुराहरूमा विवाहमा एउटा सिउँदोमा सिन्दूर मात्र त थपेको हुन्छ। यो सिन्दूर बाहेक त सानोमा सबै रङ्गका कपडा लाउन छुटै त थियो अथवा लगाउँको नै त हो। किन समाजमा श्रीमान नभएको आफ्नो अलग्गै पहिचान दिन पर्‍यो ? आदि आदि तर्क मेरो सोचाइमा गयो। 

मेरो सोधाइ सकिएको थिएन। मैले फेरि आफ्नो जिज्ञासा राखे

"श्रीमान बिती सके?"

"जवाफमा "बितेको हैन सरिसके"

म फेरि एकछिन् टोलाएँ। मनमा धेरै कुराहरू खेल्न थाले। सरिसके यसको अर्थ के त? सरिसकेको भए कता सरे? कसरी सरे? किन सरे? आदि आदिमा मैले यो शब्दलाई "उनले यिनलाई छाडी सके भन्ने अर्थ्याएँ।

  यो मार्मिक शब्दले मेरो कलेजो छियाछिया पार्‍यो। कति मार्मिक शब्द मेरो श्रीमान छैनन् "अनि मरिसके? " जवाफ हैन "सरिसके" कस्तो जवाफ? कस्तो सोचाई? यसको सही अर्थ कसरी लगाउँने। सामाजिक परिचालन / सामाजिक पक्ष, धार्मिक रीतिथिति, धार्मिक पक्ष, जेहोस् उनको भनाइको पक्ष अवश्य पनि उनको तर्फबाट स्वभाविक थियो। श्रीमतीले प्रथम श्रीमान छाडेर दोस्रोसँग विवाह भए पछि पहिलोतिरको नातो समाप्त हुन्छ । पोइल गएकी श्रीमतीलाई समाजले कानुनीरूपमा नै सरेको स्वीकारछ भने श्रीमानले पनि आफ्नो व्यवहार दोस्रो श्रीमतीतिर सारे पछि अर्थात दोस्रो विवाह गरे पछि श्रीमान पनि अवश्य सरेकै ठहर्न पर्ने हो तर सामाजिकरूपमा र न्यायिकरूपमा श्रीमानले दोस्रो विवाह गर्दा प्रथम श्रीमतीको सबै हक अधिकार यथावत रहन्छ र श्रीमान सरेको ठहर्दैन। अन्तर सम्वन्धमा फरक आउन सक्ला / सक्छ।

यो शब्दले पुनः प्रश्न जन्मायो "के श्रीमानले दोस्रो विवाह गर्दा सरेकै ठहर्दछ त?" मन दृढ भएर भन्यो "हुन सक्छ"। व्यवहारमा पूर्णरूपले सरेसमान भयो भने त अवश्य सरेकै ठहर्दछ। तर्क, वितर्कको भुँवरीमा रुमलिदै थिए। पुनः मलाई उनीसँग प्रश्न राख्न मल लाग्यो र प्रश्न राखिहाले–"के श्रीमानले अर्को विवाह गरेपछि नातो मेटिन्छ? "जवाफमा  उनीले सजिलै भनिन् " खोइ? बस उठ सबै उतैतिर हुन्छ " एकछिन्् चुप्प भए पछि उनले पुन थपिन् "कसरी सरेको नभन्ने र? "दिनपर्ने सौलो प्रेम आजकल एकरती छैन। सौलो नजर न भनौं कर्के नजर पनि त मतिर छैन् ।"  "अगुल्टोले पोलेको कुकुर बिजुली चम्कँदा डराँउदछ" भने जस्तै, मेरो मुखबाट पनि निस्क्यो "दुईवटी श्रीमती भएको श्रीमान पनि श्रीमती विहीन सरह नै हुन्छ।" उनी चुप्प थिइन्। आफ्नो ट्याम्पो आफ्नै सुरमा हाँकेकी थिइन्। वानेस्वरमा ट्याम्पो रोकियो। म आफ्नो डेरातिर लागेँ। यो मार्मिक शब्दले मेरो शरीरलाई राम्ररी सिँचित पार्‍यो। अनि आफ्नो जीवनभरिको र दुई श्रीमती हुनेहरूको घरमा घट्ने घटनाले मन मस्तिष्कमा तीर  चलायो। अनि सम्झे दुई घरबारे श्रीमती हुने श्रीमानहरूका श्रीमतीहरूको रिसको झोकमा देखिने व्यवहार र शब्दहरू कस्ता हुन्छन्? "तेरी जोई छदै छ" जेठी भन्छे र कान्छी पनि त के कम "तेरी जोई छँदै छे"? यो घुर्की आफूले पनि कहाँ नसुनेको हो र । त्यो पतिको सच्चा पत्नी को त? अनि ती महिलाले आफ्नो लोग्ने कसलाई सम्भि्कछिन् त? यो प्रश्न ती महिलाहरू जस्ले आफूलाई पति विहीन सम्झन्छन् र ती पुरूषजस्ले पत्नी विहीन सम्झन्छन् तिनैमा छाडिदिन असल ठाने तर पनि ममा तर्क वितर्कका लहरहरू चल्दै जान्छन् अनि सम्झन्छु "तीन गोरुको हल पक्का र दुई जोईको घरपक्का " अनि सम्झन्छु "मर्दका दशवटी भन्नेहरूको घुर्की," यो घुर्कीकर्ता र उखान कर्तालाई गालि दिउँ या धन्यवाद? म केही भन्न सक्दिन। तब पनि के भन्न मन लाग्दछ भने "छोरा छोरी नभएर बरु अपुताली परोस् तर छोरा छोरीको रहरले दोस्रो विवाह भने कसैले नगरोस्।"

No comments:

Post a Comment