यो नियात्रा नवराज रिजालबाट सिर्जना गरिएको हो । नवराज रिजाल एक बहुप्रतिभाका धनी हुनुहुन्छ । उहाँको कलम विविध विधामा चले पनि धेरै लेखन बालकविता, बालकथा, बालउपन्यासका साथै लघुकथा, कथा, गजल,आदिमा भएको पाइन्छ । आज म उहाँको 'आँखाभरि देश मनभरि परिवेश'नियात्रा कृति अध्ययन गर्न लागि रहेकोछु ।यसमा १६ ओटा नियात्रा समावेश गरिएका छन् । यिनै नियात्राले दिएका मार्गदर्शनहरूमा म केन्द्रित हुन चाहान्छु ।
खासगरेर यात्रा के हो भन्दा नवरज रिजालले यसरी परिभाषित गर्नु भएको छ –'जिन्दगीको उर्जा हो यात्रा अर्थात उर्जा नै जिन्दगी हो ।' (पृष्ठ १८) बोली चालीको अर्थमा हामी भन्ने गर्दछौं – जीवन नै एक यात्रा हो । यात्रा खास उद्देश्य प्राप्ति तथा लक्ष हाँसिल गर्नको लागि गरिन्छ । यहाँ नियात्राकारले विविध स्थानको अवलोकन गरेर ती स्थानको प्रकृतिक सौन्दर्यता, त्यहाँ बसोबास गर्ने मानिसको अवस्था, त्यहाँको अर्थिक स्रोतहरू, धार्मिक मान्यता, राजनीतिक घटनाक्रम ऐतिहासिक भौगोलिक आदिलाई नियात्रामा समेट्ने प्रयास गर्नु भएको छ । अव हेरौं हरेक नियात्रामा समेटिएका कुराहरू।
मैले सबैलाई बिर्सेछु – यात्री झापा हुँदई(विर्तामोड बजार,शनिश्चरे बजार) अर्जुनधारा, (अर्जुनले बनाएको धारा) खुदुनाबारी,दानाबारीको गुरुवा बजार, शोक्तिम चिया बगान, कनकाई नदी, भञ्ज्याङ टुडीखेलको रत्नबान्तवाको सालिक, इलाम बजार,गोलेहोटेलमा बसाई, चुरेघाँटी, सानो स्वरूप सानो बजार, यहींबाट पाँचथर र ताप्लेजुङ जाने मोटरबाटो छुट्टिने, पूवाखोलामा ा बिजुली निर्माण हुन लागिरहेको जानकारी गराउँदै ४८ सये फिटको उच्चाई बाट सबैलाई विर्सेको धारणको गीतको साथमा यात्रा समाप्त हुन्छ ।
यस नियात्रामा प्राकृति सौन्दर्यको वर्णन मात्र नभै झापा विद्रोहका पाँच सपूतहरू ( विरन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ, नेत्र घिमिरे र रामनाथ दाहाल)सहादत प्राप्त गरेको स्थान, डरलाग्दो वन, वनमा लुटपाट हुने डर, सरकारी चियाबगान सात, सोक्तिम चिया कमान भ्रष्टचारले गर्दा बन्द भएको, सीतामडी भारतमा घर भएकी महिलाले व्यपारवाट जीवन उत्थानको वर्णन, नेपाली लाहुरे धनकमाउन भारत लगायत विदेशमा गएर पाएको द्ुःखसँग तुलना गर्दै रिजालजीले भन्नुहुन्छ –' हामी खान जान्दछौं तर बनाउन निर्माण गर्न मरे जान्दैनौं । जानेका छौं कुरा गर्न तर काम गर्न ठ्याम्मै समर्थ छैनौं ।' नियात्रामा नियात्राकारले भावनात्मक धारणामा पनि धेरै कुरा पस्केका छन् ।
घुम्दै फिर्दे कचनकवल यस नियात्राको मुख्य उद्देश्य नेपालको सबै भन्दा होचो भाग स्पर्श गर्नेु थियो उद्देश्य पूर्तिगर्न नियात्राकार पथलैयाबाट रात्री बसमा सवार हुन्छन् । बसमा चढेपछि नियात्राकारले यात्रीहरूको भीड ,महेन्द्रराजमार्गमा डरलाग्दो वन, र बसहरू लुटिने आदि मनमा धारणा केलाउँदछन् । बसमा क्यासेट बजिरहेछ । ती गीतहरू सुनेर मनमा भिभिन्न जिज्ञाशाहरू उब्जन्छन् । गीत जीवन हो भन्न पुग्छन् यात्री । उनी गीतमा तल्लिन हुन्छन्, डुब्छन्, पौडिन्छन्, छरपष्ट हुन्छन् । यसरी उनी बाहिरी संसारलाई हेर्दछन् तर उनको भित्री आत्मका भावना त्यसलाई केलाई रहेका हुन्छन् । तरङ्गको सागरमा पौडी खेल्दै बर्दिबास हुँदै सुरुङ्गामा पुग्छन् र पञ्चायतकालको अन्तिमतिर लक्ष्मी पाण्डेले सहादत प्राप्तगरेको कुरा स्मरण गर्दछन् । भुटानी सरणार्थीको भुटानप्रतिको राष्ट्रभाव, उनले नेपालमा शरणार्थी जीवन विताउनु परेको बाध्यता, मेची पुल पुगेपछि राष्ट्र–गीत "पूर्वमा टिष्टादेखि पश्चिममा काँगडा पुगेको धारणा स्मरण गर्दै राष्ट्रियताका भावनाहरूले ओतप्रोत हुन पुग्छन् र भन्छन् –'मेरो देश मेरो मुटुको धड्कन सधैं तिम्रो चरणस्पर्श गर्न पाइरहुँ, चाँहिदैन मलाई कुनै स्वर्ग र तीर्थब्रत, । ' नियात्राकार मेचिपुल अवलोकन पछि भारततिर गाभिएको नेपालका केही भूभागले हामीलाई यसरी लल्कारेका धारणा यसरी पस्केका छन् –"अवत दुख्दैन मलाई , भो नछोऊ, लाज पचाएर नआऊ यहाँ । मेरो कौमार्य लुटिएको मूकदर्शक बनी हेरिरहनेहरूलाई यो देह छुने अधिकार छैन । तिमीहरूप्रति घृणा छ मेरो ।"विभिन्न भावनामा नियात्राकार अनुभूत हुँदै भद्रपुरतिर लाग्छन् । भद्रपुरबाट यात्री कचनकवलतिर लाग्दछन् । कचनकवलसम्म गाडी पुग्दैन ।दुई कोश अगाडि बढ्नुपर्छ । रातको समय विताउन समस्या देखेपछि दुई युवती कोपिला मैनाली र लीला खरेलका सहयोगमा बासबस्ने स्थानमा पुगी बासबसी कचनकवल पुग्दछन् ।
झापाजिल्लामा पर्ने यो कचनाकवलमा राजा वीरेन्द्र पुग्दा २०४४ सालमा एउटा स्तम्भ बनाइएको रहेछ त्यो पनि पानी भएको ठाउँमा, हिलैहिलो संरक्षण विहीन,बस्ने ठाउँको अभाव देख्दा नियात्राकारलाई खल्लो लाग्नु स्वभाकि थियो । उनले यसलाई प्रर्वद्धन गर्नुपर्ने धारणा राख्दछन् ।
यो स्तम्भ भएको स्थानलाई लोधाबारी भनिने र नजिकैको भारतीय गाउँलाई भवानीगञ्ज भनिने ।
लोखकले झापा नामाकरण को इतिहास पनि खोतल्ने काम गर्दछन् र कुमारखेद गाउँ भित्र पर्ने झापा गाउँको नामाकरणबाट झापा जिल्लाको नामा करण भएको । यहाँको उच्चाई १२५ मिटरदेखि २०० मिटर उच्चाईमा रहेको र यस जिल्लाको कुल क्षेत्रफल १५३२ वर्ग किलोमिटरभित्र फैलिएको धारणा नियात्राकारले राख्दछन् ।
कचनकवलको नामाकरण सम्बन्धमा भासलाई कचन र जलकुम्भीले ओगटेको ठाउँलाई कवल भनिने भएको र दुबैलाई मिलाएर कचनकवल नामा हुन गएको । यसको अपभ्रंश नाम केचनाकल हुन गएको धारणा आएको छ ।
अन्त्यमा नियात्राकारलाई केचनाको परिवेशवाट छक्क परेको र' आहा कति मिठो बोली कति शुद्ध लवज' भन्दै यो नियात्रा समाप्त हुँछ ।
भावनाको बगरैबगर –
जस्तो शीर्षक छ यस भित्रका अभिव्यक्ति पनि भावनाले नै भरिएका छन् । यसमा नियात्राकारले देशका मार्गदर्शक कछुवाको चालमा चलेको, मूल्यमान्यता, विचार दृष्टिकोण र आस्था कसैको साथमा नभएको जस्ता भूमिकाको साथमा नियात्राकार र नारायणजी काठमाडौदेखि घरजानको लागि मोटर साइकलमा नयाँ बाटोबाट घरको लागि प्रस्थान हुनु, यो बाटो काठमाडौ र मकवानपुर फाखेलका जनताले निर्माण गरेका, यात्रामा अगाडि बढ्नु हिमाल सिमेन्ट कारखाना पुग्नु, नियात्राकारका भवनाहरू देशका कलकारखानाहरू कौडीको भाउमा विक्री भएका, नैतिकता र दायित्व हराएका, प्रजातन्त्र स्वार्थ र गुटको घेरामा जेलिएकोले कसैको हित नहुने, भ्रष्टचार रासका रास बढेको द्वन्द्वको कारणले,रगतको आहालमा नुहाइ रहेका मानिस, 'ठूलाले जे ग¥यो काम हुन्छ त्यो सर्वसम्मत' ले स्थान लिएको, उठेर बोले हावाले उडाउँछ , बसेर बोले कसैले सुन्दैनन् जनबोली चरितार्थ भएको, प्रजातन्त्रप्रतिको लामो भावनात्मक अभिव्यक्तिका कुराहरू, आफ्नोकाम आफै गर्नुपर्छ भन्ने धारणाले बाटो जनताले बनाएका, जनता आस्थाका प्रतिबिम्ब,संयमको अर्को नाम हो जनता, नेपालीकापछि नेपाली नै लाग्नु, कुलेखानी जलविद्युत आयोजनाले ६०,००० किलोवाट विद्युत उत्पादन गर्ने, पोखरी २.२ स्क्वायरकिलोमिटमा फैलिएको, सरोवरको नाम स्वर्गीय युवराज्ञी इन्द्रराज्यलक्ष्मी देवीको सम्झनामा इन्द्रसरोवर राखिएको, नेपाल जलस्रोतमा दोस्रो धनीदेश,८३हजार मेघावाट विद्युत उत्पादन गर्ने क्षमता भए पनि हमलसम्म ३०० मेघावाट मात्रै विजुली निकालेको, माओवादी विद्रोहले पारेको असरका कुराहरू,चिसापानी पुगेपछि चिसापानी गढी ऐतिहासिक ठाउँ, यहींबाट राहदानी वितरणका कुरा, चिसापानीगढीमा बालकृष्ण पोखरेलको जन्म, मकवानपुरगढीमा केशवप्रसाद उपाध्यायको जन्म, घुम्टीमा अगाडी बढ्दैगर्दा ४५६०को भ्यान आउनु र मोटरसाइकल पल्टनु , दुबै घाइते बन्नु भ्यानले सुइँकुच्चा ठोक्नु, सञ्चारका साधन टाढाहुनु, दुबै एक अर्कालाई हेर्दै, एउटा अनिश्चित अन्यौल ठिङ्ग उभिइरहेछ अगाडी जस्ता धारणासँगै समाप्त हुन्छ यो नियात्रा ।
काठमाडौदेखि घनाजङ्गलमा भएको यस घटनासम्म नियात्राकारले बाटोको संरचना, प्राकृतिक सौन्दर्यता,माओवादी युद्धका घटना, सामाजिक, शैक्षिक, आर्थिक अवस्था, मानवीय सोच, राजनीतिक विकृतिक अदिलाई प्रस्तुत गरेका छन् नियात्रामा ।,
जिन्दगीको गोरेटोमा –नियात्राकारले मिरिकको यात्रा गरेका छन् । मिरिक भारतीय नेपालीहरूको बसोबास भएको ठाउँ । सुन्दर बजार पशुपति नगरबाट १३ किलो मिटरमा भए पनि घुमाउरो बाटोको कारणले गर्दा समय बढ्ता लागेको । मिकिरमा चल्ने सानो आकारको गाडीलाई जोङ्गा भनिदो रहेछ त्यसमा चढेपछि नेपाली गाना लगाउँदै गाडी अगाडी बढ्दा निकै रमाइलो भएको ।त्यहाँका बासिन्दाको भाषा, संस्कृति, पहिरन आदि सबै नेपालीसँग मिल्छ तर नेपालको पैसा भारतका सीमावर्ती ठाउँमा अन्त चले पनि यहाँ भने चल्दोरहेनछ । नियात्राकार सबै चिजमा रमाए पनि यसमा भने उनको मन तीतो हुन्छ । क्यामेराको रिल नघुमेपछि भारतीय पैसा कमी लगेको कारणले गर्दा फोटा खिच्न पाउँदैनन् ।मिरिक बजार घुमी सकेर ताल घुम्न जानु तालको लम्बाई १.२५ किलोमिटर भएको र तालको मध्यभागबाट ८० फिट लामो पुल निर्माणाधिन रहेको, यो ताल ४५०० फिट उच्चाइमा रहेको आदि वर्णनको साथमा पुन जोङ्गामा चढेर "जिन्दगानी गोरेटोमा घाम छाँया हो , संसारको घामछाँया जिन्दगानी हो " भन्न मन लाग्यो भन्दै यो नियात्रासमाप्त हुन्छ ।
यस नियात्रामा मिरिक जानुभन्दा पहिला होटेल मालिक नरेशसँग नियात्राकारको गफ चल्छ । नागरिकताका कुरा आउँछन् । नियात्राकार संवेदनशील बन्छन् , माटोको लागि प्यालेस्टाइनहरू लडेका कुरा सम्झन्छन् । इलाम नामाकरणका कुरा (लिम्बू भाषामा इ भनेको घुमाउरो, लाम भनेको बाटो जोडिएर इलाम बनेको) भनेको , भावनात्मक रूपमा इलामका धरै कुराहरू यस नियात्रामा समेटिएका छन् । देश जलेको, देश दुखेको,पैसाको निम्ति सबैकुरा सामान्य हुँदै गएको, उद्योग धन्दाहरू कौडीको रूपमा विक्री भएको देशको आर्थिक सामाजिक, राजनीतिक, धनि गरिब आदि आदि कुराहरू नियात्रामा आएका छन् , केही पंक्तिहरू यहाँ पढम् – "मान्छेले आपूmलाई देउता बनाएपछि पतनको सुरुवात त्यहीबाट हुन्छ । " मानिसको प्रगति सम्बन्धमा नियात्राकारको धारणा यसप्रकार छ –"बाचाबन्धन, विश्वास, अठोट र कल्पनाको भरमा हो मान्छे शिखर चढ्ने ।" आजका मानिसको प्रवृत्तिमा नियात्राकारको धारणा छ –"नैतिकता, मानवीय संवेदना धर्तीबाट बसाइँ सरिरहेका छन् ।" सुगौली सन्धि सम्बन्धमा नियात्राकारले भन्छन् –" सुगौली सन्धिमा नेपाल हारेन,परिस्थिति हा¥यो, समय हारो र हारे शासकहरूले । "
प्रगति कसरी हुन्छ भन्दा नियात्राकारको धारणा यसप्रकार छ–"जिज्ञासाका पूजा गर्नेको उन्नती भयो प्रगति चुलियो आस्थाको सगरमाथा उक्लने पाइलाहरू अगाडी बढे ।जिन्दगीको पाटोबाट खस्नेहरू कहिल्यै उठ्न सकेनन् ।"अत यस्ता धारणा धेरै आएका छन् नियात्रामा ।
विदेशी बस्तीको सफर –यो नियात्रामा नियात्रकार २०५४ साल झापा सहयात्री भगीरथकोमा पुग्छन् । उनको घरपरिवारको विवरण दिनुको साथै दशैको सकिनु, तिहारको रमझम लाग्नु, विकृतिको पर्खाल उभिनु, ढल्नु, आदिकालदेखि नै विनाश र निर्माण सँगसँगै हिडेका, मानिस नभै मन,बिचार, विश्वास र अठोट हिड्ने,परिचय आस्थामा हुने, पुर्खा हिडेकोमा भेटिने पहिचान आदि भूमिका बाँद्धै पुर्खाहरू परिवँदले सीमापारि पुगे या पु¥याइए घ
तर ती आज दुखमा छन्, व्यथामा छन्, पीडामा छन् भन्दै नियात्राकार दमकको बजार त्यहाँका क्रियाकलाप, भुटानीशरणार्थी र त्यहाँ देखिएको विकृति, सस्तिएको श्रम,प्राप्त भएको हस्पिटलको सुविधा, डुक्पा सरकारको ज्यादतीले लखेटिएका नेपालीमूलका ल्होत्सम्पाहरूको कारुणिक वेदना, नेपाली मूलका भुटानी शरणार्थीको जातीय संस्कृति, धर्म परम्परा,रीति रिवाज आदिलाई आत्मसात गर्दा भुटानी डुक्पा सरकारले अमानवीय यातना, हत्या,हिंसा, लुट, बलत्कार,शृङ्खला,खप्न नसकेर देश निकाला भएक आदि व्यथा समेटिएका छन् यो नियात्रामा ।
सोध्दै खोज्दै गोसाइँकुण्ड –जनार्दन र रिजाल बीचमा भएको सम्वादबाट थालनी भएको छ नियात्रा । २०६२ सालको भाद्र ३ गते जनै पूर्णिमाको दिन त्रिशुली नदीको उद्गम स्थल गोसाइँकुण्डमा ठूलो मेला लाग्ने त्यही मेला हेर्ने उत्कण्ठा उब्जीएको थियो नियात्राकारमा । गोसाइँकुण्ड एउटा धार्मिक स्थल पनि भएको र त्यहाँ धेरै जसो मानिस धर्म प्राप्त गर्न जाने भएको तर रिजालले यस नियात्रा सम्बन्धमा भन्छन्–"अन्ध धार्मिक आस्थाकै कारण जान लागेको होइन। प्राकृतिकको पूजारी हुँ पूजा गर्न जाँदै छु त्यता ।"यात्राले निरन्तरता पाउँछ । काउले, ढुङ्गे, वेत्रावती बजार, कालिका स्थान,मूलखर्क, धुञ्चे, घट्टेखोला(१९६० मिटरउच्चाइ)मा लौरो किन्नु, देउराली(२५०० मिटरउच्चाई)ढिम्सा(३०००)मा विश्राम लिनु,, यहाँ एउटा छाप्रोमा ५० जना भन्दा बढीलाई बास दिनु , राती यहाँ बसेका यात्रीहरूमा एउटी महिलाले "लौ न नी मा¥यो मोरोले"भनि दिएको आावाज र श्रमिानले खुकुरी लिएर काट्छु भन्दै नाचेको दृश्यले तहल्का मच्चाएको र आखिरमा जुकाले घाँटीमा टोकेको घटनाले निकै रोचक बनाएको छ यात्रालाई ।चढाई चढ्दै चन्दनबारी, चोलाङ्पाटी,लौरी विनायक हुँदैजाँदा बुद्धमन्दिर (४२००मिटर) मा पुग्नु थकाईमार्नु, लामासँग रसुवा नामाकरणको कुरा उठ्नु र लामाल ेरसोवा बाट अपभ्रंस भएर रसुवा भएको र यसको अर्थ र भनेको भेडा च्याङ्ग्र र सोवा भनेको चराउने ठाउँ हो । लामाले रसुवा जिल्ला१५१२ कि मिमा फैलिएको सवै भन्दा अग्लो लामटाङ लिरुङको उच्चाई ७२२७ मिटर, राष्ट्रिय निकुञ्ज १७१० कि मिमा फैलिएकोमा ९५७ कि. मि. भने रसुवामा पर्ने । यहाँबाट नियात्राकार गोसाइँकुण्ड(४३८० मिटरम) पुग्नु गोसाइँकुण्डमा ३ स्थाई र ५०० अस्थाई थर्पु रहेका, १०८ कुण्डहरूमा गोसाइँकुण्डको पानीबाट त्रिशूली,सरस्वती कुण्डबाट वेत्रावती र सूर्यकुण्डबाट सूर्यमती÷तादी बगेका, यहाँ वर्षमा दुई दिन मेला लाग्ने, (दसहराको दिन र जनैपूर्णिमाको वेलामा पञ्चमीदेखि पूर्णिमासम्म,) आदि विवरण सहित यो नियात्रा सकिन्छ ।
यस नियात्रामा नियात्राकारले सोझै यात्राको विवरण सहित थुप्रै भावनात्मक विवरणहरू पोखेका छन् । थुप्रै सन्देश यहाँ पाइन्छन् जस्तै "साँचो अर्थमा नेपाल भन्नु नै प्रकृति हो ।" "प्राकृतिक, सांस्कृतिक र जातीय एकता नै नेपालको स्व पहिचान हो ।"
हिडदै पाइला मेट्दै – यस नियात्रामा पोखराबाट घान्द्रुक पुग्ने लक्ष रहेको र त्यहाँ पुगेपछि नियात्रा समाप्त हुन्छ । नियात्राकारले लामो भूमिकाको साथमा भावनात्मक धारणालाई आफ्नै मनमा विश्लेषणात्मक रूपमा पस्कदै, अगाडी बढेका छन् । सर्वप्रथम नियात्राकार र टंक सुवेदी बीच भाषा साहित्य, संस्कृति, विषयमा गफ गर्दै नयाँपुल पुग्नु र गाडीबाट ओर्लिने काम गर्नु । मानिस धेरै कार्यलय सामान बोकाउन तय गरिएका ५–७ भरियाले यात्रामा सहभागीका सामन लान छोपै नलाग्नु, विदेशी पाहुनाहरूले भने आफ्ना झोला आफै बोकेका तर नेपालीले त्यो गर्न नसकेका धारणा नियात्राकारले राखेका छन् । नेपाली अगाडी बढ्न नसक्नुको कारणा मानवीय प्रवृत्ति, सोचाइ, विचार,दृष्टिविन्दुलाई दर्शाएका छन् । नियात्राकारले भन्छन् – "मानिस व्यवहारले चिनिन्छन् । चिन्तनले बुझिन्छन् । विश्वासले उचालिन्छन् । आस्थाले उकालिन्छन् । विचारले हिड्छन् अगाडि र समाउँछन् गन्तव्यका बाटो ।" आफ्ना सामान अरूलाई बोकाउँदा देखिने गौरवता, नयाँ पुलदेखि धान्द्रुक लाग्दा देखिने विकटता, आर्थिक अभाव, दैनिक आवश्यक्ता पर्ने बस्तुको अप्राप्यता बाहिर देखिने सत्यता र भित्रको यथार्थ भोगाइमा भिन्नताका धारणाहरू यहाँ आएका छन् ।
"मानिस सबैलाई चाहिने उत्साह र उमङ्गता हो र बास्तविक संसारमा धेरै थोक भेट्न सकिन्छ । बास्तविक र अवास्त्विक जीवन पनि भेटिन्छ । प्रयास रत रहेमा भोगाइ, आस्था, विश्वास, मूल्यमान्यता र अठोट पनि फेला पार्न सकिन्छ । तर हामी नेपालीको लाहुरे बन्ने सपना आज बाट नभएर हिजैबाट थियो र आज पनि छ । लाग्छ नेपालीको जिनमै छ लाहुरे बन्ने प्रवृत्ति । "
"मानिस अग्रसरतामा आफ्ना बाटा छन् । बिचारका पाटा छन् । जीवनमा खाटा छन् । विभेदका टाटा छन् । दुखाइका साटा छन् । एक नास कतै छैन । "
"नेपाल सानो छ तर संस्कृतरूपमा सम्पन्न मूलुकका नागरिक हाम्रो गौरव वीरहरूको पहिचानमा रहेका हामी आज आएर यो वीरताको पहिचानबाट टाढा भए जस्तो लाग्छ । "
बाटोमा केही मानिसहरू पूmलमाला लिएर मन्त्री खोइ भन्दै तलासी लिइरहेछन् । जब यही समुहमा आवद्ध रहेर आएका पूर्वमन्त्री प्रदिप नेपाल त्यहाँ देखिदा। त्यहाँ उभिएका मानिस पनि भोजपुरे रहेकोले स्वागतमा स्िरक भएको जानकारी विवरण आएको छ । पारि लान्दु्रक वारि घान्द्रुक बीचमा मादी नदी रहेको । धान्द्रुक पुगेपछि शक्ति होटेलमा बास भएको भन्दै नियात्रा समाप्त हुन्छ ।
अमरसँग छत्रेदेउराली–
यो नियात्रामा नियात्राकार कीर्तिपुरबाट धादिङ्को छत्रेदेउरालीमा अवस्थित महेन्द्रोदयस्कुल सम्म पुग्ने उद्देश्य रहेको र नेपाल बन्दको कारणले यो लामो यात्रा हिडेर गर्नुपर्ने भएको । यस नियात्रामा बन्दको यसर, बन्द कसरी गरिएका छन् । त्यबाट हुनजाने कष्टकर जीवनको बारेमा नियात्राकारले पूर्णरूपमा दर्शाउँदै भन्छन् –"हिजो आज सजिलो छ बन्दको खेती गर्न । कुनै कुरामा कसैलाई कोहीदेखि रिस उठो भने जहाँसुके र जहिलेसुकै गर्न सकिने काम हो यो ।" बन्दको प्रतिकार गर्न सक्ने कोही छैनन् वर्तमान निरिह छ मानिस आफैदेखिबाट डराई रहेका छन् । सरकार पनि निरीह छ । विवशजनता ÷ भद्रगोल परिस्थिति , अन्योल ग्रस्त मानसिकता,आदि धारणा राख्दै, हिड्दै गर्दा गणेश मन्दिरको प्राकृतिक सौन्दर्यताको अवलोकन गर्दै, जर्मन सरकारले बनाएको कृषि सडकमा हिड्दै, खत्री गाउँ हुँदै, भीमढुङ्गामा थकाइ मार्दै, महेशखोला तर्दै, भन्ज्याङ पोखरीलाई हेर्दै यात्राको उद्देश्य अनुरूप स्कुलमा पुग्छन् यात्री ।
यस नियात्रामा नियात्राकारसँग एक जना मानिसको भेट हुन्छ । कुरा कानीमा उनको झोला लगि दिने कुरा गर्दै झोला बोकेर हिडेपछि भेट हुँदैन । चिनाजान नभएका मानिसले झोला लगिदिंदा र भेट नहुँदा नियात्राकार चिन्तित हुन्छन् तर झोला एक जना छात्राको साथमा स्कुलमा झोला र झोला भित्रमा एउटा चिठी पनि प्राप्त हुन्छ र त्यो कितापको झोला बोक्ने मानिस अमर सिंह रहेछन् । नियात्राकारलाई उनीसँग परिचय नगरेकोमा थकथकी लाग्छ भन्दै नियात्रा समाप्त हुन्छ ।
यस नियात्राले धेरै कुरा समेटेको छ । यहाँ ऐतिहासिक कुराहं आएका छन् । जीवन दर्शनका कुराहरू आएका छन् । थुप्रै सन्देशहरू जस्तै "वैशाखीमा भरपर्नेहरू गन्तव्यका के कुरा छेउछाउसम्म पुग्न सक्दैनन् ।" "जो जस्तो परिस्थितिमा रहे पनि, कमसेकम आफ्नो परिधिको रेखाङ्कनमै जीवनको सार्थकता खोज्नु, एउटा अनुपम सत्य हो ।" यस्ता अभिव्यक्तिहरू थुप्रै छन् ।नियात्राकारका भावना पानी बग्दा झै बगेका छन् ।
,हिमाल, हिउँ र हेराइ–यस नियात्रामा नियात्राकारले धान्द्रुकको गैरी गाउँको सरेफेरोमा यात्रा गर्दछन् । गैरी गाउँको यात्रामा निक्लेका नियात्राकारका भावना यत्रतत्र सर्वत्र पुगेको देखिन्छन् । विश्वका आठहजार माथिका १४ टाकुरा मध्ये ८ ओटा टाकुरा नोलमै भएको जानकारीको साथमा धान्द्रुकका मानिसको बाँच्ने आधार हिमाल चढनेहरूले गरेको खर्च नै हो भन्ने छ । त्यहाँका जनता भरिया र कुल्लिमा रमाउने नियति भोगेका कुरा, बाहिर बाट हेर्दा राम्रो देखिए पनि टुकीको अर्को भाग अँध्यारो नै हुन्छ भन्ने उखान चरितार्थ यहाँ पनि लागु हुन्छ भन्ने कुरा, हिमाल भ्रमण गर्नेहरूका ज्यानै गएका अङ्गभङ्ग भएका कुरा, भरियाका दुखेसाहरू, खच्डले भारी बोकेका कुरा, हिमालका टाकुराको टोपी लगाए जस्तो दृश्को सुन्दरता, तलको भागमा रहेका दागको अवस्था, स्वार्थका भकारी बोक्नेवालाका कुरा, लाली गुराँसमा सूर्यको किरण पर्दा आफ्नो रुपमा आफै लजाई रहेकी युवती जस्तो देखिने कुरा, हिमालका टाकुरामा सूर्यको लालिमाले देखाउने सुन्दरता, हिमालको सुन्दरता र कुरुपतालाई नियालेर हेर्दा मूल्याङ्कनमा सहजता नभएका कुराहरू लगायतका धेरै धारणा यहाँ पस्किएका छन् । नियात्राकारले धान्द्रुकमा सीमित नभएर राष्ट्र, राष्ट्रियता, राजनेताको प्रवृत्ति, हाम्रो गौरवमय इतिहास आदिलाई केलाउँदै आजको परिस्थितिमा राखेका केही धारणाहं यहाँ पस्कन चाहान्छु – "इतिहासको कुनै कालखण्डमा हामीले कसैका दासत्व स्वीकार्नु परेन ।....... त्यसो त कसैको दासत्वभित्र नरहेर पनि कहिल्यै स्वतन्त्रताको अनुभूति गर्न पाएका छैनौं ।"
यहाँ नेपालाई एकिकरण गर्दा भोगेका कष्टहरू, कतिले गर्नु परेको मृत्युवरण,आदिेले बनेको देशको निर्माणमा आजको परिस्थितिलाई केलाउँदै नियात्राकारले भन्छन् – "सके, भ्याए, र पाए, आज पनि, देश विभक्त तुल्याई राज गर्ने तम्तयारहरूको कुनै कमी छैन । स्वार्थको भकारी बोकेर कुत्सित लालसाको माद्रोमा बेरिएर हिड्नेहरू छन् ।"
सार्वभौम स्वतन्त्रता जे भने पनि आजका राजनेताले सकरात्मक पक्षमा अगाडी बढ्नु पर्ने हो । त्यो हुन सकिरहेको छैन भन्दै नियात्राकारले लेख्छन् –"यो भूमिमा जे नहुनपर्ने थियो त्यो निर्बाध भइरहेको छ ।जेको अपेक्षा थियो त्यता ध्यान आकृष्ट हुन सकिरहेको छैन। जति सुकै आधुनिकता र स्वतन्त्रताको नारा अलापी रहे पनि प्रभुभक्तिमा लीन हुने मानसिकताले मन मस्तिष्कमा घर गरिरहेछ ।" यतिमात्र हैन नियात्राकारले अझै के देखिरहेकाछन् त्यो पनि यसरी लेखिरहेका छन् –"आजका हामी देशबाहिरका प्रभू गुहारेर, आफ्नो अस्तित्वमाथि धावा बोलिरहेका छौं ।" यस्ता राष्ट्रिय भावनाले आमेतप्रोत मन मस्तिष्क र भावनाका धारणाहरू अनगिन्ति बगिरहेका छन् ।
सिन्धुलीगढी घुमेर हेर्दा –यस नियात्रा उदयपुरको साहित्यिक जमघटबाट थालनी हुन्छ । यहाँ नियात्राकारले २०२८ सालबाट गाईघाट उदयपुरको सदर मुकाम बन्ने मौका पाएको, पृथ्वीनारायण शाहको एकिकरण अघि उदयपुर चौदण्डी राज्यको सीमानाभित्र परेको, आज गाईघाट रौतापोखरीमुहानबाट बग्ने त्रियुगा नदीको नामबाट त्रियुगा नगरपालिका बनेको आदि विवरण सहित नियात्राकारको टोली जलजलामा गाडीकुरेर गाडीको आगमनपछि सिन्धुली जाने यात्राको थालनी हुन्छ । भिन्न ठाउँलाइ जस्तै कदमाहा, रुपनी, बर्दीबास हुँदै सिन्धुली जिल्लामा प्रवेश र सिन्धुलीगढीको बारेमा थुप्रै कुराहरू समावेश गरिएका छन् – सिन्धुलीगढीमा विक्रम सम्बत १८२४ असौज १५ गते अंग्रेजहरू सँग लडेर विजय हाँसिल गरेका थिए । नेपाली सेना १२०० थिए भने अंग्रेजहरू२४०० थिए, यिनीहरूसँग आधुनिक हतियार युद्धकौशलतामा निपुण हुँदाहुँदै पनि नेपाली सेनाले जित्नुको कारणमा नेपाली सेना देशको माटोको लागि लडेका, मनमा सङ्कल्प बोकेका, आपसी मेलमिलाप र एकतामा साथै समृद्धिको लागि लडेका थिए । नेपाली सेनामा जोश, देशभक्तिको भावना, उत्साह, उत्तरदायित्व र नागरिक हुनको कर्तव्य बोध भएकोले हो र अंग्रेजहरूको सम्राज्य विस्तारको लागि लडेका थिए भन्ने धारणा नियात्राकारको छ ।
यस युद्धको ठूलो महत्त्व भएको, नेपाली सेनाले आधुनिक हातहतियार प्राप्त गर्न सक्नु , युद्धकौशलतालाई देख्नु, परिस्थिति बुझेर पाइला चाल्दा सफलता पाइने , मूल धमिलो भएपछि खोलानाला सङलो हुन नसक्ने, मानिस काम, योगदान, वीरता र कर्तव्य बोधले बाँच्छन् भन्ने धारणाहरू पनि आएका छन् । नियात्राकारले धेरै सन्देशहरू दिएका छन् ।प्राकृतिक प्रेमी रिजालले प्रकृतिको पूजा गर्ने, नेपालीको हिजोको जीवनशैली खोजपूर्ण,ओजपूर्ण भएको तर आजको परिवेश परिवर्तनशील रहेको सिन्धुली गढी हिजोको परिवेशमा एक महत्त्वपूर्ण गडी, पूर्व २ नम्बरको सरदर मुकाम भएकोमा पछि रामेछापमा सरेको सिन्धुलीको सदरमुकाम सिन्धुली माडीमा सरेको र हाल आएर यहाँ जङ्गलले धेरेको वेवारेसी रूपमा रहेको, यो गढी पुर्खाको शुरता, वीरता र सहासपूर्ण कदमको चिनारी भएको हुन्दा राज्यले जिम्मेवारी लिनु पर्छ भन्ने नियात्राकारको धारणा छ । स्थानीयस्तरबाट केही काम भएको जानकारी सहित, गाडीमा सवारी भएको र बद्रीविक्रम थापाको सिन्धुलीगढी पुगेर हेर्दा सुन्तली माई कतिपो राम्रो दरबार गीतको श्रवण सहित नियात्रा सकिन्छ ।
स्मृतिमा बग्दै बग्दै –शीतल गिरी र जय छाङ्छाबाट सुरु भएको ३२सौं ङ्खलामा नवराज रिजाल पनि स्रष्टा यात्रामा सहभागी हुनु,। गाडी तय गरेकोमा धोका खानु र कलंकीबाट यात्रा सुरुहुनु, स्रष्टाहरू साहित्यिक चर्चामा लाग्नु तर रिजालको मन भने बाहिरको प्रकृतिको सुन्दरतामा रमाउनु ,चारैतिर मोटरबाटा खनेको देख्नु, र के मोटर बाटो मात्रै विकासको सूचक हो भन्नेप्रश्न मनमा उठ्नु, जथाभावी बाटोको निर्माण गर्दा पानीका मूल सुक्नु जग्गा बाँझिनु, प्राकृतिमाथि कसैले जथाभावी गर्न नहुने गरे दुखको परिणती हामी आफै हुनु, यस्ता प्रकृतिक विपत्ति आउँछ भनेर पनि नआउनु, टार्न पनि नसकिनु, मनमा तर्कना खेलाउँदा खेलाउँदै दास डढुङ्गा नजिकेको पुलमा पुग्नु, पैदलयात्रा सुरुहुनु, घाम चर्कनु कसैका हातमा छाता हुनु कसैका नहुनु, चुडामणिको घरमा पानी पिउनु, अघि बढेपछि देउघाट पुग्नु, पाल्पाली राजा मणिमुकुन्दसेनले लिएको समाधि स्थल, बृद्धआश्रम हरिहर आश्राम,गलेस्वर आश्रमर महेश्वर आश्रमको अवलोकन गर्नु, पूलतर्नु , रिजालले सोचे जस्तो देवघाट नदेखिएको, पुराना बस्तुलाई नयाँ निर्माण विस्थापित गरेको, यसरी नै गैंडाकोट हुँदै मौलाकालिका तिर लाग्नु, खानपानको राम्रो व्यवस्था हुनु, मौलाकालिकाबाट चितावन, नवलपरासी, तनहूँका सुन्दर दृश्यको अवलोकन गर्नु, मौलाकालिकाको बाटो हुँदै सेन राजा हिड्ने बाटो हुनु, सेनराजाको ठूलो राज्य टुक्रिएर सानो हुनु, मणि मुकुन्दसेन वि.सं. १५५३ मा जन्मेका, वि.सं.१५७५मा राजा भएका, ,वि.सं. १६१० मा राज्यविहिन र १६२२ मा देवघाटमा प्राण त्याग गरेका, आदि विवरणको साथमा नियात्राकारले पुरानो मौलो अवलोकन गरेका, बली निषेध गरिएको, २०२३ बाट पुननिर्माणको थालनी, करोड भन्दा बढी रकम मन्दिरको नाममा रहेको , दशैं र नयाँ वर्षमा यहाँ भीड लाग्ने । पृथ्वी नारायण्ले एकीकरण गर्दा पाल्पा बाहेक सेनराज्य तीन (मकवानपुर, विजयपुर र चौखण्डी) थिए र यी राज्य एकीकरण भएको विवरण यहाँ पाइन्छ ।
मौलाकालिकाको दर्शनपछि गैडाकोट झरेर गोविन्दराज विनोदीलाई सुस्वास्थको कामना गर्दै, कविता बाचन सहित काठमाढौतिर बसयात्रा थालनी हुन्छ ।
भग्नावशेष पछिपछि – धादिङ्का छत्रेदेउराली स्थित महेन्द्रोदय माध्यमिक विद्यालयबाट २०६४ सालको मंसिर महिनामा कक्षा नौ र दशका विद्यार्थीहरूलाई शैक्षिकभ्रमणमा लिएर जाँदा बासमा होटेलवाला र विद्यार्थी बीच असमझदारीको कारणले गर्दा केही तीतोको साथमा यात्रा थालनी भए पनि लुम्बिनी पुग्नु । लुम्बिनीमा र्इं.सा.पूर्व ५६३ मा बुद्धको जन्म भएको, राजकुमार भए पनि प्राप्त सुखले उनलाई आनन्दित तुल्याएन, राज्य त्यागेर सुखको खोजीमा राजदरबार त्यागेर निस्किए । उनमा खुसी प्राप्त गर्न दृढ इच्छाशक्ति र अठोट थियो र यसैले गर्दा खुसी प्राप्त गरे भन्ने धारणाको साथमा गौतम बुद्धको जन्म स्थल, मायादेवी मन्दिर, विभिन्न देशले आफ्नै शैलीमा निर्माण गरिएका बौद्धगुम्वाको अवलोकन गर्दै पोखरातिर लाग्नु । पोखरामा पातले छाँगो, गुप्तेश्वर महादेवको दर्शन,सराङ्कोट,चमेरे गुफ्फा फेवाताल, वेगनासताल,रूपाताल,तालबाराही, सेती नदी आदिको अवmलोकन गरेर गोर्खातिर लाग्नु । गोर्खामा गोरखा दरबार ,भान्छाघर, करेसाबारी आँगनको सेरोफेरो, रामशाहको चौतारो, विशे नगर्चीको गाउँ,आदि अवलोकन । गोर्खा अवलोकनपछि फिर्ता हुनु र भ्रमण समाप्त हुन्छ ।
पृथ्वीनारायणको सालिक ढलेको र त्यसको कसैले पनि वास्ता नगरेकोमा नियात्राकार निकै चिन्तित हुन्छन् । यस विषयमा नियात्राकारले लेख्छन् –"कत्रा–कत्रा खतवात लागेका वा देशको घात गरेकाले त छुटसाथ सम्मान पाएका छन् भने झन उनले त जुटाउने, जोड्ने, र बलियो हुने काममात्र गरेका थिए । यस्ता व्याक्तिलाई किन अपमान गरियो ?मनमा, भावनामा, विचार, सोचमा, विविध प्रश्न उब्जन्छन् ।" विशेनगर्ची एकीकरणका सूत्रधार भएको, सिद्धयोगी गोरखनाथको नामबाट गोर्खा नामाकरण रहेको, यही हाम्रा पुर्खाका बहादुरीले गर्दा विश्वमा हामी बहादुर र गोर्खाली भनेर चिनिएको तर हामी आफ्नालागि कहिल्यै नलडेका जति लडेम अर्काको लागि मात्र लडेम । गोर्खाको इतिहास केलाउँदा, कहिले, लिक्ष्छवी, कहिले सिञ्जा, कहिले डोटी, कहिले केन्द्रमा र कहिले सेनहरूको ,पछि गएर द्रव्यसाहपछि यस राज्यले एकीकृत गर्दै अगाडि बढेको जानकारी गराउँदै काठमाडौ जान गाडीमा चढ्नु गाडीमा गोपाल योञ्जनको गीत–" मेरो टोपी कैलासशको शिरजस्तो, मेरो टोपी हिमाली भीर जस्तो कहिल्यै पनि झुक्न नजान्ने , कहिल्यै पनि लुक्न नजान्ने , मेरो टोपी नेपाली वीरजस्तो ।" गीत क्यासेटमा बजाउँदै, रमाउँदै नियात्रा समाप्त हुन्छ । यस नियात्रामा मवीवि शाहको गर्छिन पुकार आमा रोईकराई जोडले होइन मेरो भन्छिन् सन्तान थरीथरीका । गोपाल योञ्जनको बनेको छ पहराले... , देशले रगत मागे मलाई बली चढाऊ....जस्ता गीतको बजाइले यात्रा निकै रोचक बनाएको छ ।
नियात्राकारका लेखनमात्र नभै मुख, हात, मन समेत चलेको छ र उनको लेखनमा राष्ट्रियता, प्राकृतिक सौन्दर्यता, इतिहास, भावनात्कम अभिव्यक्तिः दर्शनले पनि स्थान लिएको देखिन्छ ।
सम्झनामा लेवरनगर–
"विधिको विडम्बना भनौं या समयको क्रूर नियति ,साइत गरेको तथा हिड्न तरखरमा लागेको सयौं वर्षपछि पनि हामी जहाँको त्यही छौं ।"
यी अभिव्यक्ति हुन् नवराज रिजलका । बास्तवमा हाम्रो चौतर्फी विकास अगाडि बढ्न नसकेको अबधारणा हो यो । कलानाथ अधिकारी प्रतिष्ठान द्वारा आयोजित कार्यक्रम कलानाथ अधिकारीले २०१५÷०१६तिर बस्ती बसाएको लेवरनगरको कार्यक्रममा सहभागी हुँदाको धारणा हो यो । कलानाथ अधिकारी ४०को दशकदेखि नै निरन्तर देखिइरहने व्यक्ति, उहाँको घरको भित्तोमा लेबरपार्टी भन्ने साइनबोर्ड देख्दा लेवरपार्टीको कार्यकर्ता होला जस्तो लाग्ने, कवि, कथाकार,गीतकार,गायक,नेता,अभिनेता के के हुन् केके परिचय बोकेका, नियात्राकारले बाराको साहित्यिक इतिहासमा सोधपत्र तयार गर्न खोज गर्दा कलानाथ अधिकारी बिरामी अवस्थामा भएको र भेट गर्न नसक्नु, उहाँको सहोदर नातिले पहिला लेख्ने गरेको र अहिले लेख्ने नगरेको जानकार दिनु, दिनेश शर्माकी श्रीमतीले आफ्नो नामको अर्थ पत्ता लागेको कुरा पतिसँग भनेको,उनको नाम नवोदित चित्रवनपुष्प अधिकारी, चित्रवन नगर पालिकाको नामबाट राखिएको, कलानाथले परिस्थिति र स्थानको आधारमा छोरा छोरीको नाम राख्ने गरेको । "उहाँको आयावरी जीवनयात्रा र सन्तानका निम्ति श्रीमतीले हलो जोत्दा संयोगले उत्पन्न प्राकृतिक प्रकोपका कारण आफैले बसाएको बस्ती समेत छोड्न परेको प्रसङ्ग" बिराट नगर पुगेको परिवार त्यहाँ पनि अट्न नसकेपछि पथलैयाको बास र २०५४ साल ७३ वर्षको उमेरमा यो संसारबाट विदा भएको विवरण आएको छ नियात्रामा ।
यस नियत्रामा भावनात्मक अभिव्याक्तिहरू आएका छन् , हालको देशको परिस्थितिलई औंल्याउँदै नियात्राकारले भन्छन् –"नेपालमा यतिखेर नेपाली छैनन् । देश खाली छ । छन् त छन् तर कोही काँग्रेस, कोही एमाले, कोही माओवादी, कोही राप्रपा, केही सद्भावना, कोही फोरम,कोही तमलोपा, कोही चुरेभावन,कोही नेमकिपा, कोही माले, कोही जनमुक्ति,कोही परिवार दल, कोही जनता दल,कोही लिम्बुवान, कोही खम्बुवान, कोही मगरात, कोही तमुवान अनि आदि आदि र आदि"
आज नेपाली विभाजितछन् जो देश विकासमा, नेपालीको एकतामा वाधक बनीरहेका छन् । विविधताको एकतामा रमाएको देशमा नेपाल ,नेपाली, ममता, सद्भाव, प्रेम, शान्ति खोज्न परिरहेको छ ।
नियात्रकारले "आशाले हिंडाउँछ र आशामै हिड्छ ।मनमा आशा नभइदिने हो भने मान्छे जस्तो वेकम्मा बस्तु संसारमा कोही पनि हुन्न होला ।" नियात्राकार यात्राको उद्देश्यमा मात्र सीमित छैनन् । ठाउँ ठाउँमा आप्mना भावनाका तरङ्गहरू, दार्शनिक अभिव्यक्ति, ऐतिहासिक विवरणहरू, प्रकृतिक संरचनामा रमण गर्नु जस्ता अभिव्यक्तिले सजिएका छन् नियात्राहरू ।
कोटैकोटको नुवाकोट –"आपूmलाई जान्नेहरूका लागि मातृभूमि भन्दा ठूलो अन्य बस्तु हुन सक्दैन ।" यी अभिव्क्ति हुन नवराज रिजालका । नेपाल साहित्यिक पत्रकार संघको तेस्रो महाधिवेशनपछिको केन्द्रिय कार्य समितिको पहिलो बैठकको उद्देश्य अनुरूपको यात्रामा नियात्राकारले प्रस्तुत गरिएका केही विवरण यस प्रकार छन् –गल्छी– पहाडी लोकमार्गले कल्पना गरेको दशओटा सहर मध्येको एक सहर हो । फौदसिंहलाई काठमाडौ बाट निकालेपछि आवाद भएको क्षेत्र । महेश नदीको वहाव क्षेत्र बदलिएको स्थान हो यो ।
देवीघाट – गोसाई कुण्डबाट त्रिशुली र सूर्यकण्डबाट तादी नदीको सङ्गम स्थल । त्रिशुलीसँग मिसिएपछि तादीको नाम मेटिन्छ । यो धार्मि स्थल पनि मानिन्छ । नुवाकोटको पुरानो सदरमुकाममा रहेकी भैरवी र देवीघाटमा रहेकी जालपा देवी बीच दिदी बहिनीको साइनोको कारणले पनि यो धार्मिक स्थल मानिन्छ । यस स्थानमा पालै पालो मेला लाग्छ । पृथ्वीनारायण शाहले जीवनको अन्तिम समय गुजारेको स्थान पनि यहीं हो ।
नुवाकोट – कोट भन्नाले किल्ला बुझिन्छ । क्वाथ कोट सब्दबाटै बनेको हो ।नवक्वाथ भन्नाले नौवटा किल्ला भन्ने बुझिन्छ । नुवाकोटको पुरानो नाम ऋषिपत्तन पनि रहेको र बेलकोट, मालाकाट, धुँवाकोट, भैरुमकोट, प्यासकोट, कालिकाकोट, तुलजाकोट,सिमलकोट र सल्यानकोटको बीचमा रहेको छ नुवाकोट । नुवाकोट साततले दरवार जिर्ण अवस्थामा रहेको । १९९०सालको भूइँचालो अघि यो नौ तले रहेको । यहाँ रहेका भैरवी मन्दिर,नारायण मन्दिर भीमसेन मन्दिर,बौद्धचैत्यहरू पनि जिर्ण अवस्थामै रहेको । महामण्डपबाट हेर्दा नुवाकोट साह्रै रमाइलो लाग्ने, ्नरभूपालले हार खान परेको र उनका सेनापति जयन्त राना मारिएको हुँदा पृथ्वी नारायण शाहले नुवाकोटलाई एकीकरण गर्नमा प्रथमिकता रहेको, नुवाकोट पश्चिम १ नम्बरमा पश्चिमकै मुख्य मेरुदण्ड भएको आदि थुप्रै वर्णन नियात्राकारले गरेका छन् ।
बैठकको तयारी भाषा विवादमा बहस चल्नु र "भाषाको आप्mनो नियम हुन्छ । र त्यो नियमलाई कुनै वक्ति वा संस्थाले आप्mनो पारामा लैजान हुँदैन भन्ने विषयमा सर्व सम्मति बन्छ " भन्ने धारणा पनि यहाँ आएको छ ।
नियात्राकारका भावनात्क अभिव्यक्ति पनि यहाँ पढ्न पाइन्छन् जस्तै "उम्लनु जीवनपथबाट चिप्लनु हो । त्यसले अगाडि होइन पछाडि धकेल्छ यात्रालाई,जीवनलाई,विचारलाई,सोच र चिन्तनलाई ।"
"जति टाढा पुग्न सकियो, त्यति जीवनको अर्थबोध हुन्छ ।"
"अर्काका इसारामा चल्नेहरू आप्mू कहिल्यै हिड्दैनन् ।"
गुड्दै उड्दै रुबिभ्याली –"स्थानीय निर्वाचन २०७४ ले राजनीतिक दलदेखि आम मतदातासम्मको मन मस्तिष्कमा गतिलो स्थान पाएको छ ।" यो उद्गार नवराज रिजालको हो । यस चुनावमा मतदान अधिकृत भएर जानपर्दैन भनेर ढुक्क भएका नवराजलाई एक्कासी बोलाइन्छ र रुविभ्याली गाउँ पालिकामा मतदान अधिकृतमा खटाइन्छ । धादिङ्को सदरमुकाम टुङ्डीखेलबाट हेलिकप्टर उड्दा, सुभकामना ग्रहण गर्दै उडान भर्दा रिजालजीको मन दुई कुरामा प्रफुल्लित हुन्छ । पहिलो हेलिकप्टर पहिलो पटक चढ्न पाउनु र दोस्रो कुरा सेर्तुङ्को सेरोफेरो घुम्न पाउनु । हेलीकप्टर लापा माविमा घुम्न थाल्छ बस्न सक्दैन । भरयाङ् झारेर ओर्लन लाग्दा पंखाको हावाले सहायक मतदान अधिकृत नवराज अधिकारी र वाक्सालाई उडाउँछ । समातेर ल्याइन्छ तर दुईओटा मत पेटिकामा एउटा काम नलाग्ने गरी फुट्छ । यो जटिल अवस्था आउँछ । धेरै प्रयासमा वाकसको बन्दोबस्त भयो । यो फुटेको बाकसलाई सरक्षितर कसैलाई जानकारी नगराइ लान पर्ने अवस्थामा अर्को समस्या आउनु, लापाबाट टोलीसहित मतदान केन्द्र सातकन्या आधारभूत विद्यालयमा पुगेपछि लापाबाट आएको टोली यहाँ खटिएको टोलीलाई जिम्मा लगाएर फर्कन्छ । सुरक्षा टोली लगायतले शान्तिपूर्ण वातावरणमा भयरहित रूपले स्थानीय निर्वाचन २०७४ सम्पन्न गराउनु थियो ।
रुविभ्याली – यो गाउँपालिका साविकका सेर्तुङ, लापा र तिप्लिङ् गाविस मिलेर बनेको । यहाँ गुरुङ् र तामाङ् जातिको बसोबास बराबरी जस्तो संख्यामा रहेको, गुरुङ् हिन्दुधर्म मान्ने तर तामाङ् बौद्ध धर्म मान्ने भए पनि सुमधुर वातावरण बसेका, ख्रिश्चियन धर्मालम्बी पनि धर्म परिवर्तन गरेर बनेका पाइने, तामाङ्ले तीज दशै सामान्य रूपमा र गूुरुङले भने धुमधामसँग मनाउने, तामाङहरू तिब्बतबाट र गुरुङ पोखराबाट यहाँ आएका। रुवेल पहाड र रुबी (बहुमूल्य)पत्थरहरू पाइने भएकोले रुबि भ्याली नामाकरण भएको विवरण यहाँ नियात्राकारले जनाएका छन् ।
चुनाव सुसम्पन्न हुन्छ । गाउँलेको विदाइको साथमा निर्वाचन टोली लापा फर्किन्छ र्। हेलीकप्टर आएर लाने खवरले सबै रमाउँछन् । सेर्तुङ्मा कागजात बुझाएपछि काम सकिएको र डुण्डुरे हुँदै फिर्ता भएको विवरण यहाँ आएको छ । यस नियात्रामा पनि नवराजले विभिन्न जीवनदर्शनकाकुरा सामाजिक, कृषि, रहन सहन, आर्थिक, पुर्खाले आर्जनगरेका साँस्कृतिक, वातावरणीय, वीरहरू लडेका तर आप्mनो लागि नभएर अरुको लागि लडेका आदि धारणा यहाँ पनि प्रचुरमात्रामा पस्केका छन् । केही धारणालाई यहाँ पस्कने अनुमति चाहान्छु – "जीवनको आधार धरातल हो । विना धरातल न कसैको अस्तित्व रहन्छ, न त आस्था र विश्वासको गोरेटो नै समाउन सकिन्छ । इतिहासले पुष्टि गरिसकेका छ जीवनको अस्तित्व धरातलमै छ ।"
मन गोड्दै सम्याउँदै –यो कार्यक्रम २०७५ साल फागुनको १५ र १६ गते तय भए पनि सांस्कृतिक मन्त्री रवीन्द्र अधिकारीको सिस्नेभीरमा हेलीकप्टर दुर्घटनाको कारणले १ दिवपछि सारेर १६ र १७ गते नेपाल पत्रकार महासंघ दाङ संयोजक र प्रेश काउसन्सिल नेपाल आयोजक भएर दाङ् घोराहीमा "साहित्य पत्रकारिता गोष्ठी,तथा आचारसंहिता संवाद" सञ्चालन गर्ने उद्देश्य अनुरूप सहभागीताको लागि काठमाडौबाट दाङ जान यात्रा तय हुन्छ ।
जाने दिन रातभरी पानी पर्नु पानीको कारणा काठमाडौको थुम्का थुम्की समेतमा हिउँ पर्नु, तय गरेको समयभन्दा २ घन्टापछिमात्र बस आउनु, गल्छीको भल्टारमा गाडी रोकिएपछि खाना खानु, महासंघ रुकुमका सभापतिलाई करिब एक घण्टा कुर्न पर्नु, दाउन्नेमा गएर खाजा खानु, राती ११बजे राप्ती नदीको पूर्वी किनारको एभरल्याण्ड होटेलमा खाना खाानु यहाँ बाट लमही हुँदै घोराहीको भिङ्ग्रेली भिलेज रिसोर्टमा बास्नु । अन्तरजातीय विवाहका कुरा चल्नु, साहित्यकारमा अन्तरजातीय विवाह गर्नेमा मुरलीधर भट्टराईको नामको साथै थुप्रै अन्तरजातीय विवाह गर्ने साहित्यकारको नाम आउनु । यहाँ चुरेर महाभारत ऋङ्खलाका कुरा, चुरेको निगाहमा तराईका जिल्लाहरू बाँचेका कुरा, चुरे संकटमा परेका कुरा, चुरेमा अप्राकृतिक दोहनका कुरा यस नियात्रामा समेटिएका छन् ।
नवराज रिजालले "अहिले अन्यौलमा छ नेपालको साहित्यिक पत्रकारिता, जेठो नै भए पनि दाइ नमान्ने पक्षमा देखिन्छन् कतिपय अग्रजहरू , हो हिजो भाँडो भन्नेहरू समेत आज ठाँडो भन्ने अवस्थामा पुगेको सन्दर्भ आँखा अगाडी छ ।"यस विषयमा गोष्ठीमा "साहित्यिक पत्रकारिता, यसले वर्तमानमा भाेिगरहेको समस्या, राज्यले पत्रकारितामा हेर्ने दृष्टि, नेपालमा साहित्यिक पत्र पत्रिकको अवस्था, यसको महत्व अनि दायित्वबारेमा बडो गहन ढंगले त्रिचार–विमर्श अनुभव आदान प्रदान हुन्छ ।" आदि धारणालाई पस्कदै नवराज रिजालले गोष्ठीमा सहभागीबाट आएका धारणालाई यसरी लेख्नु हुन्छ –"प्रमुख अतिथि तथा बरिष्ठ पत्रकार नारायण प्रसाद शर्मा, प्रेशकाउन्सिलका कार्यवाहाक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघ दाङ्का अध्यक्ष सविन प्रियासन र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका अभिमत साहित्यिक पत्रकारिताको अस्तित्व स्वीकारमा मात्रैसीमित छैनन् । यसको विकास र विस्तारमा सहयोग गर्ने प्रण पनि छ ।..... साहित्यिक पत्रिका संयमित र मर्यादित हुन्छन् भन्दै साहित्यिक पत्रकारिता राज्य र नागरिकको विपक्षमा कहिल्यै जाँदैनन् भन्ने तर्क राख्नुहुन्छ । यसको लक्ष्य भाषा साहित्य र संस्कृतिको विकास नै रहेकाले राज्यको ध्यान आकर्षित हुनुपर्ने उहाँहरूको मत छ ।"
यो उपरोक्त तथ्यको अलवा नारायण शर्मा गोविन्द आचार्य, विपुल पोखरेल र प्रियान्सहरूले पहिला साहित्यिक पत्रकार, त्यसपछि पत्रकार भएको र साहित्यलाई छाडेर अस्तित्व नरहने, जस्ता अभिव्यक्ति पनि यहाँ आएका छन् ।
नवराज रिजालका यी नियात्राको भावसार मैले मथि नै पस्कने प्रयास गरेको छु । हुन त उनको नियात्रा पढ्दा रिजाल आपूmमात्र यात्रा गर्दैनन् उनको साथसाथै मस्तिष्क, भावना,बिचार, धारणालाई पनि आप्mनो साथमा यात्रा गराउँछन् । त्यसो हुँदा मैले भावसार पस्कदा उनको नदीको तीब्रगतिको भावनाको लहरहरूलाई छेकबार हाल्न सकें या सकिन त्यो मलाई थाहा छैन । किनकी छोटो यात्राको उद्देश्य भए पनि उनको यी मस्तिष्क, भावना,बिचारहंरू यती तीब्र रूपमा बग्छन् कि समुद्र नै निर्माण गरिदिन्छन् । यो नियम रिजालका हरेक नियात्रामा लागु भएको देख्न सकिन्छ । गहिरियर अध्ययन गर्दा यिनका नियात्रामा निबन्धको आभाष पनि भेटिन्छ । यसमा नवराजसँग जिज्ञासा राख्दा उहाँले छोटो उत्तर दिदै भन्नु भयो – "यात्रा र नियात्रामा अल्लि फरक पर्छ । " यसरी हेर्दा नेपाली यात्रा साहित्य लेखनले नयाँ मोड लिएको त हैन भन्ने भावना जागेर आउँछ । निश्चय पनि यस विष्यमा समालोचक विद्वानहरूले निक्र्यौल निकाल्ने नै छन् भन्ने धारणा ममा पलाएको छ ।
यी नियात्राहरूको विषयमा स्वयम् नवराजले लेख्नुहुन्छ –विश्वासलाई छातीमा अनि मनमा गुन्ने क्रममा आँखाले जे देखे,विचारमा जसरी प्रतिबिम्ब भयो, मस्तिष्कमा जे आकारमा चित्र कारियो, केवल त्यसैको प्रस्तुति गराएको हुँ ।"उहाँको अभिव्याक्तिलाई नियात्राले प्रमाणित गरेको देखिन्छ । देश किन पछि पर्यो भन्ने धारणामा हाम्रै कारणलाई देखाउनु हुन्छ, उनका रचनामा मानव जीवनका यथार्थलाई केलाउनु, कोरा आर्दश नभएर यथार्थतालाई समाउनु, ऐतिहासिक, सामाजिक, भौगोलिक पाटोलाई खोतल्नु, जस्ता गहन विषयहरू गहिराईमा पुगेका देखिन्छन् ।
लेखन र प्रस्तुति–रिजालको लेखन सरल भएता पनि उहाँ बिम्ब र प्रतीकमा प्रस्तुत हुन रमाउनु हुन्छ । उखान टुक्कालाई समाउनु हुन्छ । ठिक साँचो सत्य हो भन्न पनि प्रतिवद्धता जनाउनु हुन्छ । यात्रामा विभिन्न कलाकारको गीत सङ्गीत्लाई गाडीमा बजाउन लगाउनु हुन्छ । आदि विविधकारणले गर्दा उहाँको लेखन एक नविन शैलीमा आएको हुँदा प्रस्तुति अनुकरणीय र उदाहरणीय छ भन्दा अत्युत्ति नहोला ।
भौगोलिकता –उहाँको यात्राहरू पूर्वमा दार्जीलिङको मिरिक देखि झापा,देखि लिएर दाङसम्ममा सीमित छन् ।
पात्र चयन– नियात्रामा मुख्यपात्र त नियात्राकार नै हो । त्यसो हुँदा नवराज नै मुख्य पात्र भएको र उद्देश्य अनुरूप पेटबोलीमा आएका थुप्रै पात्रहरू यसमा समावेश भएका छन् ।
शीर्षकीकरण – नवराजले देशप्रति व्यत्त गरेका अभिव्यक्ति र यात्रा गरिएका स्थानमा समेटिएका परिवेशलाई नियाल्दा शीर्षक सार्थक छ भन्न सकिन्छ ।
निष्कर्ष –यस नियात्राको भावसारमा धेरै कुराहरू समेटिएका हुँदा त्यही कुरालाई दोहोराई राख्नु भन्दा निसारित रूपमा भन्दा रिजालको यो यात्रा साहित्य एक नविनतम् कृति हो जस्मा नविनतम् दृष्टिकोण प्रस्तुत गरिएको छ ।नियात्रा साहित्यमा नयाँ मोड लिएको छ । त्यसो हुँदा यथार्थलाई बुभ्mन यो कृति पढ्नै पर्ने देखिन्छ भन्दै नवराज रिजालको लेखन गति तीब्र होस् र भावी जीवन उज्ज्वल रहोस् भन्दै विदा हुन चाहान्छु ।
धन्यवाद
२०७९ साल कार्तिक १८ गते हरिबोधनी एकादशी,
मेरा लेखरचना वबष्कजथ।दयिनकउयत।अयm मा पनि पढ्न पाइन्छन् ।