January 21, 2021
जिन्दगी छोटो ठाने
कर्कलाको पानी
January 18, 2021
मेरो प्यारो कुसुम
परिचय
"मेरो प्यारो कुसुम" कवितासङ्ग्रका कवि हुन् सुन्दरप्रसाद जोशी जसको साहित्यिक उपनाम सुन्दरप्रसाद "बादल" हो । सुन्दरजीले, २००३ साल मार्ग १५ गते पिता स्व. श्यामप्रसाद जोशी र माता स्व. चिनकुमारी जोशीका सुपुत्रको रूपमा कुश्मा नगरपालिका वार्ड नं ८ शान्ति टोल , पर्वतमा पदार्पण गर्नु भयो । उहाँ मेरो समकालिन साहित्यिक व्याक्ति हुनुहुन्छ । हामी दुईको जन्म हुँदा अध्ययन त्यति सहज थिएन । हालको पर्वत जिल्ला निकै दुगर््म थियो । न पढ्ने सुविधा न बाटोघाटो नै सहज थियो । सुन्दरजीको जीवनी केलाउँदा उहाँको बाल्यकाल निकै पीडादायक देखिन्छ । उहाँ जन्मेको डेडवर्षमा नै पिताको स्वर्गारोहण भएकोले आमाले नै घरको सबै बोझ उठाउन परेको थियो । कष्टमय जीवनलाई अग्रसरता दिंदै प्राथमिक पाठशालाबाट अध्ययन थालनी गरी निजीप्रयासले (स्वअध्ययन बाट) आइएसम्मको अध्ययन पुरा गरेको उहाँको जीवनीले दर्शाउँछ । अध्ययन संद्दर्षलाई पार गर्दै , उहाँ लामो समयसम्म नेपाल सरकारको सेवागरी अधिकृत स्तरबाट सेवा निवृत्त हुनु भयो । साहित्यि लेखनमा उहाँँको थालनी २०२०।२०२१बाट भयता पनि कृतिकारको रूपमा भने २००७ सालका सशस्त्र क्रान्ति, पर्वत कुश्माका प्रजातान्त्रिक योद्धा (२०७१) कृति लिएर हामी समक्ष दर्शिएका छन् । हालसम्म उहाँका कृतिहरू–"मेरो सुन्दर कुसुम" कवितासङ्ग्रह,(२०७३), "मुक्तिनाथ धामदेखि युरोपसम्म" यात्रास्मरण २०७५ गरी तीन कृतिहरू बजारमा आइसकेका छन् ।त्रिवेणी संस्मरण प्रकाशनको तयारीमा छ । स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा उहाँका थुप्रै रचनाहरू प्रकाशित भएका छन् । साहित्यिक जीवनमा मात्र बादलजी रमाउनु हुन्न उहाँ एक कर्मठ समाज सेवक पनि हुनु हुन्छ । " मानव सेवा नै सर्वोत्कृष्ठ" हो भन्ने धारणा बोकेका वादल कतै संस्थापक अध्यक्ष, कतै, कतै संयोजक, कतै सदस्य गरी विभिन्न २०ओटा संस्थामा आवद्ध भएर सेवा दिंदै आउनु भएको छ । रेडक्रस जस्तो पवित्र संस्थामा उहाँले पु¥याएको योगदान अतुलनीय देखिन्छ । साहित्य र समाजिकक्षेत्रमा उहाँको सम्लग्नता पनि प्रशंसनीय देखिन्छ । इन्टरनेशनल पीस फर फेडेरेशन शान्तिदूत २०६८, नेपाल, रेडक्रस सोसाइटी दीर्घ सेवा २०७० सम्मानको साथै दीर्घ सेवा पदक, नेपाल सरकार दीर्घ सेवा पदक, नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त गरी सक्नु भएका सुन्दरप्रसाद बादल अन्य संस्थाहरूबाट पनि विभुषित भै सक्नु भएको छ ।
कृतिको संरचना– यस कृतिलाई बादलले पिता स्व. श्यामप्रसाद जोशी र माता स्व. चिनकुमारी जोशीमा सादर समर्पण गर्नु र्भको छ । यस कृतिको प्रकाशन प्रजातान्त्रिक विचार समाजले गरेको छ । मूल्य व्यक्तिगत रु १५० र संस्थागत रु २५० राखिएको छ । यस कृतिमा सुन्दरप्रसाद जोशीले कलकलाउँदा १२० कुसुमका बिरुवाहरूले सुन्दर वगैंचा निर्माण गर्नु भएको छ । वगैंचाको आकार आवारण पृष्ठ वाहेक २०१ पृष्ठको छ । अग्र आवरणमा मन्दिर,, गुप्तेश्वर गुफा,समुह तस्विर,घर र प्राकृतिक सौन्दर्यले सजिएको र पछिल्लो आवरणमा कविको जीवनविवरणले सजिएको छ ।
साहित्यकारहरूको कृति र कृतिकारप्रतिको धारणा– प्रा.डा.खेम कोइराला बन्धु "पर्वत–सगरमाथा–सुन्दर "वादल" शीर्षक दिएर यस कृतिको सारगर्भित भावसार दिंदै भन्दछन् –"उनको यस "मेरो सुन्दर कुसुम" कविता सङ्ग्रहको यात्रालाई म हार्दिक इमान्दारी पूर्ण अभिनन्दन गर्दछु" । यस कृतिको मीठो भूमिका राजेन्द्र पहाडीले लेखेका छन् । राजेन्द्र पहाडीले वादलको लेखन शैलीलाई मूल्याङ्कन गर्दै लेख्नु हुन्छ –कवि,कविता,र काव्य सिर्जंनाको क्षेत्रमा देखापरेका विभिन्न राय मत, विचार, प्रवृत्ति, र लेखनधारासँग कुनै पनि सम्बन्ध नराखीकन,पर्वतको साहित्य आकासमा उदायका पाका प्रतिभा हुन्र सुन्दरप्रसाद वादल ।" राजेन्द्रजीको लेखनलाई सकरात्मक रूपमा विश्लेषण गर्दा जो कोहीले नयाँ बाटो खन्दै अगाडी बढ्छ भने तथा नयाँ शैलीलाई भित्र्याउँछ भने राम्रो काम हो । आप्mनो स्व अस्तित्व कायम गर्न सफल बनुन् बादल यही मेरो पनि सुभकामना । यस कृतिले दिन खोजेका केही धारणालाई यहाँ प्रष्ट पार्नका लगि बर्गिकृत रूपमा कृतिभित्र प्रवेश गर्न चाहान्छु –
ईश्वरसँग सम्बन्धी कविताहरू– श्री गणेश वन्दना, ईश्वर पुकार, गुरु वन्ँदना, मधुवेन त्रिवेणी, श्री गणेश, भीमेश्वर नारायण प्रार्थना, गुप्तेश्वर महादेव, नवदुर्गा भवानी प्रार्थना, ईश्वरप्रति भत्तिःभाव राखेर लेखिएका कविता हुन् । श्री गणेश वन्दना कविताबाट कविले कविताको थालनी गरेका छन् । कविता लेख्दै छु शरण पर्दै छु भन्दै कविले काव्य रचना गर्दा मङ्गलाचरण लेखेसरी नै कविता लेखन थालेको देखिन्छ । यी कवितामा कसै समानताको लागि, कतै हक अधिकारको लागि,प्रार्थना गरिएको छ । गुरु कवितामा निरक्षर हटाएर साक्षरताको कामना गरिएको छ । मोदीवेनी विेणीमा शालग्रामको महत्वलाई दर्शाइएको छ । अर्को श्री गणेश शीर्षकमा कविले वर्तमान परिस्थितिलाई केलाउँदै गणेशलाई चढाएको लड्डु छुचुन्द्रो वाहनले खाएको उदाहरण दिंदै आजको संसारमा नेतृत्व वर्गको झुटो आश्वाशनले जनताले धोखा पाएको धारणा आएको छ । पार्वती माताको क्रीडास्थल भएको गुप्तेश्वर महादेव गुफाको सुन्दर चित्रण गर्दै यसको पत्तालगाएको वर्णन समेत यहाँ दर्शाइएको छ । नवदुर्गा भवानीको महिमा र प्रर्थना गरिएका, इश्वरप्रतिको भक्तिभावले भरिएका यी कवितामा कविले सत्यम् शिवम् सुन्दरम्को चाहना र मानव कल्याणको महिमालाई दिल खोलेर पस्केका छन् ।
सहीदहरूलाई श्रद्धाभाव –अमर सहीदहरूलाई श्रद्धाञ्चली चढाउन आह्वान गरिएको छ ।सहिदहरूले नै आप्mनो प्राणको आहुती दिएर १०४ वर्षे राणाशासन अन्त्य गराएको, वीरहरूकै बलिदानले गर्दा प्रजातन्त्र दिवस मनाउन पाइएको, सहीदको नाशवान शरीर नाश भए पनि उनको अमरत्व कहिल्यै नमाशिने,आदि सहीदप्रतिको असीम श्रद्धाभाव कविताले समेटेको छ ।
राष्ट्रियताले भरिएका कविताहरू– यस सङ्ग्रहमा हाम्रो देश नेपाल, सन्देश बाट, दिव्य सन्देश, पर्वते हामी, विभूति जन्माउने देश, प्यारो नेपाल, राष्ट्रिय गौरव, माया गरौं देशप्रति, मेरो आकाङ्क्षा, देशको माया, नेपालीको आह्वान, मेरो देश र रेडक्रस, सहदैनौ अन्याय, खण्डित नबनाऊँ नेपाल र हाम्रो राष्ट्रियता कहाँ गयो, यी राष्ट्रियताले भरिएका कविताहरू हुन् । यी कवितामा कविले राष्ट्र निर्माणको लागि गहन भावना पस्केका छन् । नेपालीको जातीय एकता, स्वदेशको माटोको सवलता, राष्ट्र निर्माणमा राष्ट्र निर्माताको दिव्य उपदेशको पालनागर्नु पर्ने,, विविध खानीले भरिएको देशको उत्थान यिनैको सदुपयोगमा सम्भव भएको, प्राकृतिक सौन्दर्यले पूर्णता दिने देशले राष्«िय विभूतिको जन्म दिएको, मन्दिरै मन्दिरको देश, राष्ट्रिय गौरवले पूर्ण देश, देशको माया प्राण भन्दा पनि प्यारो हुन्छ, वीरताको गाथा गाउँदै सगरमाथाको गौरव बचाउनु पर्ने, मानव सेवामा निस्वार्थ भावले सेवा दिने रेडक्रस र देशले असाहायलाई सहयोग गर्ने धारणा, देशलाई खण्डित बनाउन नहुने, हाम्रा राष्ट्रियता बचाउनु पर्ने, भावनाको साथै यी माथिका कविताले विविधतालाई समाएका छन् , राष्ट्र निर्माण भावनालई सजाएका छन् र कविको राष्ट्रप्रतिको अथाह प्रेमलाई दर्शाएका छन् । देशप्रतिको धारणाको एक श्लोक –
खेतबारी देशको माटो मेची महाकाली,
बचाई राखौं आप्mनो गौरव उच्च छौं हामी नेपाली
पसिना बगाई कर्म पौरख गरौं हामी नेपाली
राष्ट्रिय चिन्ह गुराँस फुलले सजाई राखौं नेपाली
(पृष्ठ १११, नेपालीको आह्वान)
स्थान विशेषलाई महत्य दिएका कविताहरू– कुसुम नगरी, रानीघाट दरबार, धवलागिरी अञ्चल, मेरो सुन्दर कुसुम( यही कविताबाट यस कृतिको नामाकरण गरिएको छ), कुशुमपुर कुश्मा बजार, ठूलो पोखरी अग्लो पिपलको रूख, देउरालीमा उब्जेका तरङ्ग, भ्रमण मधुवन, प्रकृतिक छटा धवलागिरी र मानव शरीर मेरो पर्वत जिल्ला, र युरोप भ्रमण मेरो,स्थान विशेषमा लेखिएका कविता हुन् । कुशुम नगरी भनेको कुशै कुशले भरिएको नगरी, यस ठाउँलाई देवताहरू बासस्थान, कृष्णगण्डकी जहाँ शालग्राम पाइन्छ । कविले यसलाई आत्मीयताका साथ मेरो सुन्दर कुसुममा भन्छन् –
प्राकृतिक,ऐतिहासिक,धार्मिक र पर्यटकीय मेरो सुन्दर कुसुम
अनुपम रमणीय स्थलहरूले भरिपूर्ण मेरो सुन्दर कुसुम
कला संसकृति , सामाजिक वैशिष्टयताले भरिपूर्ण मेरो सुन्दर कुसुम
विश्व समुदायसम्म उजागर हुन सके स्वर्ग हुन्छ मेरो सुन्दर कुसुम
"पृष्ठ५८ मेरो सुन्दर कुसुम "
कुश्मा बजारको सुन्दरता, अवस्थिति, धार्मिक, शिव पार्वतीको बास स्थान गुप्तेश्वर, देउरालीको प्राकृतिक सौन्दर्यता,मधुवन अलकापुरी नगरीजस्तै सुन्दर,धवलागिरीको प्रकृतिक सुन्दरता मुक्तिनाथ दामोदर कुण्ड, गलेश्वर धामजस्ता धार्मिक क्षेत्रले मानव जीवनमा पर्ने प्रभाव, तानसेन शहरको रमणियता, रानी महल जसलाई नेपालको ताजमहल पनि भनिने गर्छ को, वर्णन गरिएको छ । यहाँ कविले राणहरूको शान र मान दुबैलाई प्रष्ट्याएका छन् ।पर्वत जिल्लाको अवस्थिति, बेल्जियम लग्जमवर्ग,आदिको रमणीयता र त्यहाँ मनाइएको भाइटीका सुन्दर वर्णनले सबैलाई आनन्द दिन्छ । कृति पढौ्रं पढौं लाग्छ ।
राजनीतिमा आधारित कसिताहरू– एक तन्त्री शासन पछि, निर्वाचित सरकार, जनताको प्रजातन्त्र, हाम्रो संविधान हामीलाई नाका बन्दी, सहमति सहकार्य, जनमत सङ्ग्रह कुठाराघात, निरङ्कुश मुर्दावाद, प्रजातन्त्र जिन्दावाद, गणतन्त्र जिन्दावाद, आदि कविता राजनीतिप्रति कटाक्ष गरी लेखिएका कविता हुन् । यी कविताले १०४ वर्षे जहानिया राणशासनले दिएको जनतालाई यातना,र यसको अन्त्य, प्रजातन्त्रको थालनी २०१७ सालमा निर्वाचित सरकारलाई महेन्द्र राजाबाट गरिएको कु, जनताको संघर्षले ल्याएको जनताको प्रजातन्त्र, ज्ञानतेन्द्र राजाले ल्याएको निरंकुशतन्त्रमा जनताले लगाएको मुर्दावादका नारा र जनसंघर्षबाट प्रजातनत्र बहाली गराइएको मा जिन्दावाद गर्दै मनाइएको खुसीयाली, २०६५साल जेष्ठ १५ गते नेपालमा गणतन्त्र आएको , २०७२ सालमा भू–कम्पले अस्तव्यस्त बनाएको अवस्थाको साथसाथै भएको संविधानको घोषणामा भारतले लगाएको अघोषित नाकाबन्दी आदि विवरणको साथै राणशासनदेखि गणतन्त्र बहाली नहुँदासम्म राजनीति घटनालाई यी कविताले प्रष्ट पारेका छन् ।
व्याक्तिपरक अभिव्यक्ति – प्यारो बुबा श्यामप्रसाद, आमा कहाँ छौ, श्रद्धासुमन श्यामप्रसाद चिनकुमारी, आमाको गुनासो छोरीप्रति, महामानव वी.पी. कोइराला, वी.पी.को १०२ औं जन्म जयन्ति स्मरण, समाजका अग्रणी श्री अमृतप्रसाद जोशी, भानुभक्तको संझना, कविताले यी व्यक्तिप्रति उच्च आदरभाव प्रकट गरेको देखिन्छ ।मातापिता सबैका पुज्यनीय हुन्छन् । कविले सानोमा बाबुलाई गुमाउनु परेको मार्मिक व्यथा। बाबुको अभावमा बालक कालमा भोग्न परेको पीडादायी बचपन, आमाको खोजी, आमाले गर्भ धारण गर्दाको पीडा दूध खुवाउँद तथा हुर्काउँदा व्यहोर्न परेको कष्टदायी जीवन, पितामाता दुबै वितेपछिको स्मरणमा मार्मिक धारणाहरू आएका छन् कवितामा । आमाले छोरीलाई दिन पर्ने माया, आमाको दायित्व पुरा गर्दा पनि छोरीले आमाप्रति दिन नसकेको आदरभावलाई कवितामा गुनासोको रूपमा दर्शाइएको छ । यसरी महामानव नै वी.पी.लाई एसियाकै शिखर पुरुष,, प्रजातन्त्र समाजवादका हिमायतीको संज्ञा दिंदै राणा शासन फाल्ने, भारतको स्वतन्त्रताका उच्चपुरुष, प्रथम जन निर्वाचित प्रधान मन्त्री आदि थुप्रै वी.पी.ले गरेका कामको विवरण यी कविताले समेटेका छन् । "समाजका अग्रणी श्री अमृतप्रसाद जोशी" शीर्षकमा अमृतप्रसाद जोशीको जीवनी,२००७ सालपछिका राजनीतिक कार्यक्रममा उनको सहभागिता, समाज उत्थानमा उनको लगनशीलता, शिक्षासेवी, लार्के जिल्लालाई पर्वत जिल्ला बनाउन लागिपरेका नेता, उनी र उनीसँग समबन्धित धेरै काँग्रेशी पर्वते नेताहरूको प्रजातन्त्रप्रतिको प्रतिवद्धतालाई यस कसिवताले समेटेको छ साथै यहाँ नेपाली भाषा र साहित्यमा आदिकवि भानुभक्तले गरेको योगदानको पनि मुक्तकण्ठले प्रशंसा गरिएको छ ।
विविधताले सजिएका अरू कविताहरूको भावसार– माथि उल्लेखित कविता बाहेक कविले नववर्षको सवै नेपालीलाई मङ्गलमय शुभकामना दिएका छन् । सबैलाई साक्षर बनाउन चाहान्छन् । कविले अनन्तकालसम्म सम्झना छ भन्न पनि पछि पर्दैनन् ।सौन्दर्यले भरिएको एक अपरिचितले उनलाई निकै आकर्षित गर्दा गर्दै कवि गिरीराज लता सँग सम्बाद गर्न पुग्दछन् तर के गर्नु वियोगको कारणले कविले सपनाको इच्छापूर्ति गर्न सक्दैनन् । कविले जनताको धारणा के छ भनि बुझ्दै जाँदा विविध चुनाव चिन्नलाई प्रष्ट्याउँदै देशको सेवा गर्नेलाई मत दिएमा मात्र मतदानको अस्तिको रहने धारणा राख्दछन् ।
कविले जीवन जगतलाई राम्ररी बुझेका छन् । उनी निराशावादी हुन हुन्न आशावादी भएर जीवनलाई बचाउने सुझाव दिन्छन् । सम्झन पुग्दछन् बालककाललाई । बालककाल एउटा महत्वपूर्ण समय हो र यसलाई सदुपयोग गर्न सकेमात्र पछिल्लो जीवन सफल हुने धारणा राख्छन् । निद्रा लाग्छ । मानिसले सपना देख्छन् तर सपनालाई विपनामा उतार्न सक्नु पर्छ । विकृतिपूण कर्महरूलाई त्याग्नु पर्छ ।मनको खुसी बोलाउनु पर्छ । आप्mनो जन्मोत्सव आफै मनाउनु पर्छ र आनन्द लिनु पर्छ ।झरेको आँसुले बाटो छेक्छ त्यसो हुँदा रुने वातावरण सिर्जना गर्नु हुन्न, । माया ममतालाई सङ्गाल्दै मानवतालाई बचाउनु पर्छ किनकी मानव शरीर र प्राणशत्तिः अमूल्य छ । स्त्री र पुरुषको समागमले नै गर्भधारण हुन्छ । बालक जन्मन्छ । उसको कर्मबाटै ऊ माथि उठ्न सक्छ । युवा हुन्छ। उसमा चाहना हुन्छ । आप्mनो लागि घर परिवारको लागि कच्ची होस् या पक्की घर बनाउँछ ।अपरिचित कोही भए परिचय गर्छ, उसलाई दायित्वको बोध हुन्छ । जीवन उत्थानको लागि उद्योग खोल्छ । धर्म कर्म , चाड पर्व मनाउने काम गर्छ आदि थुप्रै विषयमा आप्mना धारणाहरू राखेका छन् कविले ।भूमिसुधारको आवश्यक्ता र महत्व, पर्वत जिल्लामा पर्यटको आवश्यक्ता, हाम्रो जङ्गे पिलरको खोजीमा भारतले सीमा अतिक्रमण गरेकोमा कविको आक्रोस पोख्नु, देशले रोजगार दिन नसकेकोले देशका युवा मलेशिया, कतार आदि विदेशमा पलायन हुन परेको कुरा, नेतृत्वमा देखिएको छद्म भेषि रूप, आजकल देखिन थालेको भ्रूण हत्याको अपराधी कर्म, भूकम्पले निम्त्याएको धनजनको क्षति, कुलतको त्याग, बढ्दो वायुप्रदुषण,परीक्षाप्रति जनतामा देखिएको नकरात्मक सोचहरू, आप्mनो हक अधिकारको खोजी, भ्रान्तिबाट माथि उठ्न पर्ने धारणा, हामी र हाम्रो योजनाहरूमा राम्रा र ,टिकाउपूर्ण बनाउन पर्ने र कार्यन्वयन समेत गर्नु पर्ने, हामीमा हुनुपर्ने सहयोगी भावनाहरू, निवृत्त कर्मचारीहरूले "सेवाहिपरमो धर्म" को धारणा सहित देश सेवाको लागि प्रतिबद्ध रहेको धारणा आदिलाई कविले प्रष्ट पारेका छन् ।
रोग केन्द्रित कविता – रोगले आक्रान्त जनता, मुटु स्वच्छ राखौ, मुटुको विरामी म, शरिरको मुख्य अंग मुटु नै रहेछ , यी कविता मुटु रोगसँग सम्बन्धित छन् । कविले यी रोग कसरी लाग्छन् यिनमा लिनु पर्ने सावधानीलाई प्रष्ट्याएका छन् । कविले यस कृतिमार्फत देशमा देखिएका विविध पक्षलाई समेट्ने प्रयास गरेका छन् । ंकविले समस्यालाईमात्र उठान गर्ने नभै समस्या समाधानलाई पनि सुझाएका छन् ।
भाषा शैली –भाषा सरल छ । लेखन विवरणात्मक रूपमा छ । स्वच्छन्द रूपमा कवि दर्शिएका छन् र जे देखेका छन् त्येसैलाई टपक्क टिपेर लपक्क टाँसेका छन् ।
शीर्षक– यस कृतिको नामाकरण कविले आप्mनै जन्मस्थान कुश्मालाई महत्व दिएर राखेको देखिन्छ । "मेरो सुन्दर कुसुम" सम्बन्धी कविताबाट गरिएको नामा करण सान्दर्भिक छ ।
अन्तमा कविले पस्केका कविताहरूले विविधतालाई बोकेका छन् ।प्राकृतिक सौन्दर्यता,, सिङ्गारिकता, प्रजातन्त्र, गणतन्त्र, प्राकृतिक प्रकोप( भूकम्प), द्वन्द्व,
आदि समाजमा घटेका, समाजले व्यहोरेका,, राष्ट्र राष्ट्रियताप्रतिको गहिरो चिन्तन बोकेका (सुन्दरजी ले यथा नाम तथा गुण भने जस्तै ) सुन्दर कविताको सिर्जना गरेका छन् र नेपाली साहित्य भण्डारमा एउटा सुन्दर कृति थपेका छन् । गहन भावनालाई प्रस्तुत गर्न सक्ने कविजीको दीर्घ आयुको कामना गर्दै विदा माग्दछु ।
धन्यवाद,
समयको गति
Comments
गजल बचतको खोजी
कर्तव्यमा जुटी–जुटी गरौं सबै काम प्रिया
काम बिना संसारमा मिल्ने छैन माम प्रिया
चन्द्र सूर्य राष्ट्र ध्वजा यही स्वाभिमान हाम्रो
राष्ट्रप्रेम हुनै पर्छ हरेक नै याम प्रिया
संसारिक चोला हो यो हुन्छ दिन रात सधैँ
चाँदनीको वियोगमा उदाउँछन् घाम प्रिया
छाक टार्ने मात्र हैन बचतको खोजी गरौं
पसिना नै अमूल्य छ बचाउन दाम प्रिया
बल्न गयो अन्धो मन सपनीको दीप आज
,निभ्नै थाल्यो भनेपछि जपिन्छ है राम प्रिया
January 9, 2021
‘तीन युग एक कथा’, महाकाव्य : एक संक्षिप्त विवेचना
bheshraj71 — Fri, 01/04/2019 - 14:57
वि.सं २००३ साल साउन १ गते तदनुसार १५ मार्च सन् १९४७ मा पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स.को नुवार गाउँमा पिता कलाधर रिजाल र माता नन्दकली रिजालको कोखबाट जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी। कविता, कथा, उपन्यास, गजल, मुक्तक, नियात्रा आदि विभिन्न विधाका थुप्रै साहित्यिक कृतिहरूका साथै माटोलगायत कृषिसम्बन्धी वैज्ञानिक कृतिहरू प्रकाशित गरिसक्नुभएका सदानन्द सरकारी सेवाबाट निवृत्त भई साहित्य साधनामा निरन्तर लागिरहनुभएको छ।
वरिष्ठ साहित्यकार सदानन्द अभागीद्वारा रचित 'तीन युग एक कथा' महाकाव्य राणाशासनदेखि पञ्चायती व्यवस्था हुँदै लोकतान्त्रिक व्यवस्थासम्मको आर्थिक, सामाजिक, राजनीतिक परिवेशमा अनेकौँ पुस्ताहरूले भोगेको विषम जीवन भोगाइको कथा-व्यथा हो। १८ सर्ग एवं १०२+१० पेजमा समेटिएको प्रस्तुत महाकाव्य जगत प्रसाद रिजाल, भेषराज रिजाल 'विवश' र रामचन्द्र रिजालले प्रकाशन गर्नुभएको हो भने वरिष्ठ साहित्यकार चट्याङ मास्टरले यस महाकाव्यको भूमिका लेख्नुभएको छ। भलाकाजी राई र बद्री ओलीको टाइप, शोभा पनेरुको कभर डिजाइन तथा सिद्दार्थ प्रिन्टिङ प्रेसको मुद्रण रही वि.सं.२०६० साल वैशाखमा एकहजारप्रति प्रकाशन भएको यो कृति सदानन्दज्यूकी सहोदर बहिनी स्वर्गीय तुलसीदेवी अधिकारीमा समर्पण गरिएको छ।
'तीन युग एक कथा' महाकाव्यको कथानक कविका मेहनती पुर्खाको इतिहास जस्तो मात्र लागे तापनि समस्त नेपालीको यथार्थ परिघटना समेटिएको गहन काव्य हो। उहिले नेपालीहरू मेघालय, सिलोङ, असम, बर्मा आदि ठाउँमा गएर गाईपालन, दाउरा काटी बेच्ने, कुल्ली दरबानको काम गर्थे भने अहिले पनि खाडी, अष्ट्रेलिया, मलेसिया, कोरिया आदि मुलुकमा पुगेर जोखिमयुक्त काम गरिरहेछन् नेपालीहरू। अझ उदेकलाग्दो कुरो त के छ भने मुलुकका स्रोतसाधनमा सामन्त, दलाल, विचौलिया, तस्कर र गुण्डाहरूको हालीमुहाली छ। मुलुकको आर्थिक, सामाजिक, राजनीतिक परिपाटी असल अगुवाभन्दा पनि धनाढ्य र नवधनाढ्यहरूको मुठ्ठीमा केन्द्रित भइरहेछ भने नेपालीहरू शोक, रोग, भोक बोकेर रोजगारीको लागि विश्वका विभिन्न मुलुकमा भौतारिन परेको छ। यस्तै नेपाली यथार्थ धरातल टेकेर रचिएको छ 'तीन युग एक कथा' महाकाव्य।
पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स.मा पर्ने आफ्नै जन्मगाउँ नुवारस्थित गवदेको चौतारोमा भएको शिवकीर्तनमा सहभागी हुँदै कविले प्रस्तुत महाकाव्यको रचना गर्नुभएको हो। यस महाकाव्यको प्रथम सर्गमा नुवारगाउँ र सेरोफेरोको प्राकृतिक सुन्दरता, गाउँटोल एवं स्वच्छ गाउँले जनजीवनको स्पष्ट चित्रण गरिएको छ। उत्तरतिरका अग्ला चुली धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण आदिको चम्किलो लहर, कालीगण्डकी र मोदीको आत्मीय सङ्गम, अंधेरी, भयँरथान र राम्चेको मुलको रसिलो पानी तथा गाउँमाथि कालिज लुइँचे खेल्ने भरिलो जङ्गल उतार्नुभएको छ कविले महाकाव्यमा। स्यानाखेतको पलाँस, ठूलाघरका लौसी, राङथास, राक्सेखोला र सल्लाघारीको बाटो एवं राहालेपानीको माटोको सुगन्धसमेत पाइन्छ महाकाव्यमा। सानो खेत, ठूलो खेत, गोबानेको फाँट, भलपखराको पाखो, ठूलाघरे चौतारो, गोलाइँचाको रुख मात्र होइन डहरवरि र डहरपरिका टोलसमेत महाकाव्यमा सजाएर 'आमा र जन्मभूमि स्वर्गभन्दा ठूला हुन्' भन्ने भावनाले ओतप्रोत देखिनुहुन्छ कवि। दुइपाखेका जैसीकान्छा, टारका लामगादे, सुन्तले, ढुङ्गाना, सन्यासी, सिरानघरे आदि समस्त गाउँलेहरूप्रति कविको अगाध माया भेटिन्छ महाकाव्यमा।
धौलागिरि, माछापुच्छ्रे अन्नपूर्ण लहर
काली मोदी सङ्गमबीच कति राम्रो बगर
(प्रथम सर्ग, पृष्ठ २)
डहरवरि डहरपरि दुइटा टोलमहाँ
कति राम्रो देखासिकी रिस छैन जहाँ
उत्तरतिर खेतको गह्रा पश्चिमतिर बारी
प्रकृतिले लगाएकी छन् फूलबुट्टे सारी
(प्रथम सर्ग, पृष्ठ ४ र ५)
विशाल हृदय भएका सोखिन मधुसूदन बाजेले खेतका फाँट, सुनचाँदी आदि चलअचल धनसम्पत्ति खाएमासेर टाटपल्टेको र मृत्युपछि मुर्दालाई घाट लानुभन्दा पहिला साहु आइपुगेको हृदयविदारक कथानकले तत्कालीन समाजको आर्थिक सामाजिक परिवेश छर्लङ्ग पारिदिएको छ। मधुसूदन बाजेको निधनपछि जेठोछोरा यज्ञधरले बन्धकीमा गएको जग्गा फिर्ता गर्न तथा जीवन निर्वाह गर्नको लागि मुग्लान पसेको कारुणिक कथा छ महाकाव्यमा। मुग्लान जाने बाटोमा पर्ने फलेवास, मिर्मी, विर्घाका फाँट, गंगाकिनारको रानीघाट, श्रीनगरको डाँडो, ऋषेश्वर रिडी, शीतलपाटी, मस्यामको उकाली, बुटवल, खस्यौली र सुनौली आदि स्थानबारे वर्णित प्राकृतिक छटातिरभन्दा परदेशिन विवश यज्ञधरको विवशता चस्कन पुग्दछ पाठकको मनमुटुमा।
फलेवासको समतल, मिर्मी, विर्घा फाँट
पुग्नथाले यज्ञधर सुन्दर रानीघाट
हिँड्नथाले उकालीमा पसिनाको तप्कन
विदेश जाने स्वदेशीको विलिन भयो मुस्कान
हत्केलाले आँसु पुछी शीतलपाटी झरे
सबैकुरा सम्झिल्याउँदा हातखुट्टा मरे
(तृतीय सर्ग, पृष्ठ १६ र १७)
यज्ञधर नौतनवा, गोरखपुर हुँदै गौहाटी पुगेको, जागिरको सहारा खोज्दै विरानो परदेशी भूमिमा सहरसहर भौतारिएको, दाउरा काटी प्राण धानेको कथानकभित्र तत्कालीन नेपालीको सङ्घर्षशील जिन्दगीको यथार्थ भेटिन्छ। नोकरी, शैक्षिक गतिविधि आदिमा सर्वसाधारणको पहुँच नभएको तत्कालीन समाजमा परदेशिनुको विकल्प देखिँदैन। परदेशीको समृद्धिले समेत नेपालीलाई गिज्याएको वास्तविकता दर्शाउनुहुन्छ कवि-
छ छ पैसा छ छ पैसा रेलले भन्दै आउँथ्यो
छैन पैसा छैन पैसा मुटुको ढुकढुकीले भन्थ्यो
(चतुर्थ सर्ग, पृष्ठ २०)
खाना पहाड, नुनमाटी नेपालीको बास
दाउरा काटी विक्री भए मुखमा पर्छ गास
नेपाल गए कपालसँगै वर्म गए कर्म
छातीमाथि ढुङ्गा छ नि कसले बुझ्छ मर्म
(चतुर्थ सर्ग, पृष्ठ २१ र २२)
यज्ञधरले डिगबोईको तेलखातमा काम गर्न नपाए पनि परदेशी भूमिमा दाउरा बेचेरै नेपालमा जहान पाल्न पुग्ने खेतथलो जोडेको काव्य सरिताले पाठकको मन पनि हर्षविभोर हुनपुग्दछ।
त्यतिबेलाको समाजमा केटामान्छेको विवाह गर्न कि त धनदौलतले केटी किन्नुपर्ने कि त साटो हाल्नुपर्ने कुरीतिबीच यज्ञधरको विवाह भएको प्रसङ्ग उल्लेख गर्दै महाकाव्यमा बालविवाह, अनमेल विवाह, सतिप्रथा, छुवाछुत, जातभात, ल्याइते-विवाहितेको विभेद, कुष्ट रोगीलाई घृणा गर्ने आदि सामाजिक कुप्रथाहरूको विरोध गर्नुभएको छ कविले। सामाजिक संस्कार सुधारको अनेक कडीसमेत सुझाउनुभएको छ कविले-
हाड मासुको शरीर हो यो रगतको सञ्चार
निर्बललाई सबले हेप्ने कस्तो निष्ठुर संसार
कोही ठूलो कोही सानो छैन संसारमा
कर्म गर्ने ठूलो हुन्छ मेरो विचारमा
डुङ्गा तर्दा त्यहाँ हेर छुवाछुत हुन्न
पुल तर्दा पनि हेर खतबात हुन्न
(पञ्चम सर्ग, पृष्ठ ३७ र ३८)
यज्ञधरकी पत्नी नौलीले घरगृहस्थी सुन्दर, व्यवस्थित र मर्यादित बनाएको अनेक प्रसङ्गले महाकाव्यलाई जीवन्त बनाएको छ। नौलीका उद्गारहरू वर्तमान समाजमा समेत अनुकरणीय एवं सान्दर्भिक लाग्दछन्-
आशन राख्ने माटो छैन ढसरमालाई पुवा
सादा जीवन उच्च विचार नखेल्नु है जुवा
जिउँदो ज्यानले माड पाएन मरेकालाई खिर
जिउँदो छँदै खानदेउ पछि पोस्नुछैन भीर
सक्षम देश, सक्षम भेष, सक्षम बनोस् जन
स्वस्थ्य हवोस् यो शरीर स्वच्छ रहोस् मन
(सातौँ सर्ग, पृष्ठ ४१ र ४२)
पति यज्ञधरको निधनपछि पनि नौली बजैले घरव्यवहार सम्हालेको, एउटा नातिलाई डिगबोई पढ्न पठाएको, अर्को नातिलाई मेट्रिक पास गराएर शिक्षक बनाएको आदि सहासिक कार्यको चर्चाले नेपाली नारीको महानता दर्शाइएको छ महाकाव्यमा।
दुखजिलो जीवन यापन गर्दै यज्ञधर र नौलीले छोराछोरीको विवाह गरिदिएको कथानकमा नेपाली समाजको अपेक्षा र यथार्थ चित्रण छ। यज्ञधरकी बुहारीको शील, स्वभाव र रूप वर्णन गर्दै कविले सुशील नेपाली नारीको दुरुस्त चित्र उतार्नुभएको छ-
कन्या थिइन् अति सुशील रूपकी त खानी
सादा जीवन उच्च विचार राख्ने रैछ बानी
गहुँगोरो अनुहार रातो लाली छा'को
मखमली चोली तल लरे गुन्युँ ला'को
(आठौँ सर्ग, पृष्ठ ४७)
यज्ञधर र छोरा गंगाधरले नयाँ चाँदीका मोहर रोक्का भएको थाहा नपाई व्यापार गर्न जाँदा ती मोहर जफत भएको, गंगाधर मुग्लान भासिएको, यज्ञधरका भाइ वासुदेवको निधन भएको आदि आपतविपद्का घटनाहरूले पाठकका आँखा ओभाना रहँदैनन्। दैनिक उपभोग्य सामग्री लिन नौडाँडा पारिको बटौली-खस्यौली जानुपर्दाको पीडासमेत अभिव्यक्त भएको छ महाकाव्यमा-
बुटवलको नुनतेल नुवारको बास
कष्टदायी फट्के तराई खसे जानी सास
त्यसो हुँदा घरका जहान दिन गन्न थाल्थे
ईश्वरको नाम जप्दै घिउको दियो बाल्थे
(आठौँ सर्ग, पृष्ठ ५४)
स्वदेशमा जीवन निर्वाहको कुनै आधार फेला नपारेपछि गजाधर भारतको असमस्थित डिगबोई शहर पुग्दछन्। शुरुमा दाउरा बेचेर गुजारा चलाए पनि एकपटक लगातार दिनदिनसम्म दाउरा विक्री नहुँदा पानीबाहेक केही खान नपाई बेहोश भएर ढलेको र साथीले पानी मुखमा हालिदिएर बचाएको कारुणिक घटनासमेत उल्लेख छ महाकाव्यमा। पछि कम्पनीमा भर्ती भई लाहुरे बनेर घरको ऋण तिरी परिवारको जीवनयापन सहज हुनजान्छ।
भारतमा शासन गरिरहेको अङ्ग्रेजले डिगबोई शहरमा विकास गर्न कम्पनी सञ्चालन, खेती, पशुपालन आदिमा नेपालीको सहयोग लिएको वर्णन छ महाकाव्यमा। डिगबोई सहरको भौतिक विकासका साथै साहित्यको उत्थानमा समेत नेपाली कवि साहित्यकार लागिपरेको उन्मादी प्रसङ्ग भेटिन्छ महाकाव्यमा-
हरिभक्त, अग्नि साथै चिन्तामणि पनि
त्यै शहरमा रमाएका साहित्यका धनी
चन्द्रकला पनि बनिन् शिक्षिका त त्यहाँ
साहित्यको पान गर्दै शब्द भर्थिन जहाँ
सदानन्द, भविलाल, युद्धवीर आदि पनि
साहित्यमै रमाएका बाल कवि बनी
(आठौँ सर्ग, पृष्ठ ५६ र ५७)
यज्ञधरको नातिप्रतिको माया, आँगनको आँखितरेको घाँस काट्न जाँदा हाँगो चोइटिएर यज्ञधरको निधन हुनु, ठूलो इञ्जिनियर बन्ने आकांक्षाले डिगबोईमा पढिरहेको नाति हजुरबाको निधनको खबरले घर आउनु, माझघरे नरहरिले नाति हुँ भनी यज्ञधरको अन्तिम अवस्थामा पानी दिनु आदि घटनाहरू महाकाव्यमा उल्लेख गरेर नेपाली समाजको यथार्थ चित्रण गर्न सफल हुनुभएको छ कवि। रसिक यज्ञधरको गीत लहरीको माध्यमबाट पनि नेपाली जनमानसलाई आह्लादित बनाउन सफल हुनुभएको छ कवि-
खान्छ्यौ कि गोरी बटौलीको मिठाईँ
गर्छ्यौ कि गोरी जुन जाने बिठ्याइँ
... ... ... ... ... ...
लाउँछ्यौ कि गोरी कानै लाउने सुनिया
फेर्छ्यौ कि गोरी टाटेपाटे गुनिया
... ... ... ... ... ...
जान्छ्यौ कि गोरी नौतुनाको रेलैमा
लाउँछ्यौ कि गोरी माया प्रीति बेलैमा
(बाह्रौँ सर्ग, पृष्ठ ७२ र ७३)
लगन, मेहनत र विवेक सही मार्गमा लगाउन सके घर, समाज र देश उँभो लाग्न बेर लाग्दैन। र त, मानव साधनको सर्वोपरि महत्व रहन्छ उन्नतिमा। यस महाकाव्यमा पनि गजाधरले मुग्लानमा बसेर कमाउने, गजाधरको ठूलो छोरा सरकारी जागिरमा र कान्छो छोरा मास्टरी पेशामा लागेर घरको प्रगतिमा बढोत्तरी भएको छ। त्यसैले त कविले उन्मादी गीत गुञ्जाउनुभएको छ-
रातपछि पुन: हेर दिन पलाउँछ
अन्धकार मेटिनलाई सूर्य उदाउँछ
यस्तै छ यो संसारको रीतिथिति हेर
सबै मार्ग खुला बने विकास कति बेर
(सोह्रौँ सर्ग, पृष्ठ ९३)
यज्ञधर, नौली बजै, चन्द्रकला, जेठीछोरी आदि परिवारका सदस्यको निधन भई एक्लो जीवन व्यतित गर्दा गजाधरले जिन्दगीलाई निस्सार र निरस देख्दछन्। तैपनि आमा नौली बजैजस्ती साहसकी धनी, असल आचरण र दयाधर्मकी खानी, बाबु यज्ञधरजस्ता कर्मवीर पुरुष तथा पत्नी चन्द्रकलाजस्ती धन र ज्ञानकी दीपलाई गौरवसाथ मनमनै स्मरण र नमन गर्दछन्। शक्ति कमजोर भए पनि जीवनभर आर्जेको ज्ञान र विवेकले निचोड निकाल्दछन्- पुर्खाको पौरख र गौरवले एउटा जिउँदो इतिहास रच्न सम्भव भएको छ। गरिब परिवारको संघर्षका अनेकौँ घटनाले स्वर्णाक्षरमा लेखिएको छ- एउटा अमर कथा।
महान नायक यज्ञधर, ममता, साहस, धैर्यता र सहनशीलताकी प्रतिमूर्ति नौली बजै तथा उनीहरूका सन्तति गजाधर, चन्द्रकला आदि पात्रहरूका आध्यात्मिक र मानवीय आदर्शको पृष्ठभूमिमा रचिएको छ 'तीन युग एक कथा' महाकाव्य। पर्वतको नुवार गाउँदेखि भारत असमको डिगबोई सहरसम्मको आर्थिक, सामाजिक, प्राकृतिक र राजनीतिक परिवेशमा पात्रहरुका जन्मदेखि मृत्युपर्यन्तका घटनाक्रमलाई समेटी रचिएको छ प्रस्तुत महाकाव्य। राणाकालीन बन्द समाजको दु:खमय जीवनबाट सङ्घर्ष गरी भारतीय भूमिमा पुगेर जीवन निर्वाहको बाटो पहिल्याएको यज्ञधरको पारिवारिक सङ्घर्षको कथा केलाएर तत्कालीन आर्थिक, सामाजिक, राजनीतिक परिपाटीको विरोध गरिएको छ महाकाव्यमा। मुग्लान भासिनु परे तापनि पात्रहरुमा गाउँ, समाज र देशप्रतिको अगाध माया हुनाको साथै पारिवारका सदस्यहरूमा पनि एकअर्काप्रतिको समर्पण, त्याग र प्रेमका साथै विश्वबन्धुत्वको गहिरो भावना पाइन्छ महाकाव्यमा। तत्कालीन समाजमा व्याप्त अन्धविश्वास, कुरीति एवं कुप्रथाहरूप्रति विरोध जनाउँदै सभ्य समाज निर्माण गर्नुका साथै पुर्खाको मेहनत, सङ्घर्ष र बलिदानीको गौरवशाली इतिहास बचाउँदै सन्ततिलाई मेहनत, इमान, न्याय, संस्कार आदि सिकाउने उद्देश्यले रचिएको हो प्रस्तुत महाकाव्य। समाज समस्यायुक्त र जटिल बन्दै जाँदा यस महाकाव्यले जीवन जिउने अनेक सरल उपायहरूसमेत सुझाएको छ। यस महाकाव्यको कथावस्तु तत्कालीन नेपाली समाजमका हरेक बस्तीको कथाजस्तो लाग्ने हुँदा कथावस्तुमा मौलिकता र नवीनता पाइन्छ। महाकाव्यमा वीर रसको अलावा करुण, श्रृङ्गार, भयानक आदि रसको प्रयोग गरी भावानुकूल बिम्व, अलंकार, उपमा र तत्कालीन समाजमा प्रचलित जनबोलीको प्रयोग गरिनुका साथै गेयात्मक लोकलयमा सजिएको छ महाकाव्य। महाकाव्यमा हृदय छुने कथानक, भाषाशैली र प्रस्तुती रहेको छ। 'कवि कविता होस् कविता कवि होस् तब पो कविता हुन्छ' भन्ने नेपाली साहित्यमा प्रतिपादित सिद्दान्तअनुरूप महाकाव्यको सम्पूर्णतालाई समेट्न सकेकोले नै प्रस्तुत 'तीन युग एक कथा' महाकाव्यको भूमिकामा चट्याङ मास्टरले उद्घोष गर्नुभएको छ- 'सदानन्दको सादा जीवन आफैमा एक रोचक र पूर्ण महाकाव्य हो।'