१. व्यक्तित्व र सामीप्यता
कृषि विशेषज्ञ भएर पनि साहित्यिक विधामा उत्तिकै रमाएका सदानन्द अभागीको व्यक्तित्व र कृतित्व उहाँकै जीवन कालमा प्रकाशित हुन थालेको छ । उहाँबाट चिने जानेका व्यक्तित्वहरुका धारणा र विश्लेषण सामावेश गर्ने क्रममा यो पङ्तिकार पनि पर्दछ । यसको श्रेय उदीयमान साहित्यकार , कृतिका संयोजन एवं संम्पादन कर्ता राम ज्ञवालीलाई दिन चाहान्छु। उहाँकै प्रयासमा म पनि मौकाले फेला परेको थिए । यो कृतिले ग्रन्थ नायकको व्यक्तित्व र कृतित्वको मूल्याकन हुने छ । प्रायश: निधन पश्चात निस्कने स्मारिका वा ग्रन्थहरु अरुका लागि प्रेरक बन्न सक्छन् तर ग्रन्थनायकको जीवन कालमा आफूबारे अरुका मूल्याङ्कन र धारणा थाह पाउनु आफैमा रोचक र पृष्टपोषक हुने नै छ । उहाँले पनि जीवनमा भोगेका ,देखेका र सुनेका जीवनगाथा प्रकृतिका उपहार, सामाजिक-राजनैतिक घटनाहरु र पात्रहलाई साहित्यिक धारमा कसी लगाएर दर्जनौ कृतिहरु प्रकाशन गर्नु भएकोले उहाँकै जीवनकालमा यो कृति उहाँकै लागि सच्चा उपहार हुनेछ । म पनि संयोगले मिसिन पुगेको छु । यस अर्थमा ग्रन्थनायक भाग्यमानी ठान्दछु । उहाँले अव "अभागी"को उपमालाई हटाए "भाग्यमानी" राखे कसो होला ? । ग्रन्थ नायकबाट उत्तरापेक्षी छु ।
यो पङ्तिकार र ग्रन्थनायक पेशाले दुवै कृषि क्षेत्रका जागीरे थियौ । कृषि विकास मन्त्रालयको कृषि विभागमा कार्यरत हामीमा उहाँ माटो विज्ञ र यो लेखक अर्थ विज्ञ थियो । कार्य थलो एकै ठाँउ हरिहर भवनमा भए पनि सामान्य चिनाजानी मात्र थियो । एक दिन मेरो कार्य कक्षमा उहाँ आउनु भयो । सामान्य औपचारिकता पछि एक कृति झोलाबाट निकालेर देखाउनु भयो । यो "अग्निज्वाला" उहाँको २०६१ मै प्रकाशित महाकाव्य रहेछ । यसको समीक्षा गरिदिन आग्रहः गर्दा म यसको पात्र कसरी हुन सक्छु र ? मनमनै प्रश्न तेर्सिए। माटो विशेषज्ञबाट रचित यो महाकाव्य हुनु आफैमा अनौठो मलाई लागेको थियो भने मलाई समीक्षकमा चयन गर्नु झनै अचम्म लाग्यो ,यो मेरो लागि कौतुहलको विषय बन्यो । कारण उहाँले नै स्पष्ट पार्नु भयो ।
२०६० र त्यसपछि पाक्षिक रुपमा निस्कने हिमालखवर पत्रिकामा कृषि अर्थतन्त्रबारे मेरा लेखहरु प्रकाशन हुने गर्दथे । उहाँ मेरो लेखहरुको असल पाठक हुनुहुँदोरहेछ । मेरा विषय प्रस्तुतीकरणका आधारमा प्रभावित भएर होला उहाँको यस कृति "अग्निज्वाला"को समीक्षा गरिदिन मलाई आग्रह गर्नुभएको, त्यसैले उँहाको अनुरोधबाट म पन्छिन सकिन र सहर्ष स्वीकार पनि गरेँ ।
म कुनै साहित्यिक व्यक्ति त होइन , सामान्य पाठक मात्र छु । बेलाबेलामा केहि कोरे पनि मेरो लेखनविधा कृषि क्षेत्रको अर्थतन्त्रको पाटो नै हो । यस अन्तर्गत कृषि नीति तथा कार्यक्रमहरुको प्रभावकारिता, कृषि पूर्वाधारहरु सिँचाई, बजार, मलखाद आपुर्ति जस्ता विषयहरुमा केन्द्रित रहदै कृषि विकासको भावी दिशावोध हुने खालका रणनीतिहरु र उपायहरु सुझाउनु हो । समस्या मात्र होइन समाधानको बाटो पनि देखाउने गरेको छु, अहिले पनि फाट्टफुट लेख्न प्रेरणा प्राप्त भइरहेको छ । यसको परिणाम नै हो मलाई समीक्षक बनाइनु ।
ग्रन्थनायकको साहित्यक नाम सदानन्द अभागी छ भने कृषि विज्ञको रुपमा सदानन्द जैसी । कालोवर्णको, अग्लो कदको, दाह्रिकपाल नसमालेर झुसिलो अनुहारमा देखिने, साधारण लवाई, नम्रबोली, अरुलाई मान गर्ने, स्पष्टवक्ता, निस्कपट व्यक्तित्व उँहाको मैले पाएको छु । कुरा गर्दा हसाउने , प्रशन्न देखिने भएर होला सदानन्द (सधै आनन्दमा रहने) नामको सार्थकता उहाँको नाम र रुप दुवैले जनाउँछ । यो सदानन्द रहने व्यक्ति कसरी अभागी हुन पुग्यो ? उहाँको पुन: उत्तरको अपेक्षा गर्दछु ।
समीक्षा सहित विमोचनको कार्यक्रम कवि शिरोमणि लेखनाथ सदन सोह्रखुट्टे छेउमा उहाँले गर्नु भएको रहेछ । त्यहाँ उहाँ उहाँका कृषि सेवामा कार्यरत सहकर्मीहरु कृषि विभागका महानिर्देशक शिव सुन्दर श्रेष्ठ, उहाँको जन्म स्थल पर्वत जिल्लाको शंखरपोखरीका वुद्धिजीवीहरु, साहित्यकारहरूको उपस्थितिमा सो कार्यक्रम संचालन गरिएको थियो । उतिवेला गरेको समीक्षा जस्ताको तस्तै यहा उल्लेख गर्न उपयुक्त र सान्दर्भिक ठान्दछु ।
कृति समीक्षा
"अग्निज्वाला"महाकाव्यमा क्रान्तिकारिता
यो महाकाव्य सदानन्द "अभागी"को दशौँ प्रकाशित कृति हो । २०६० भदौ २३ देखि ऐ मंसिर सम्म वीच वीचमा उर्लेका भावनाका लहरलाई समेट्दै २५ दिनको समयावधिमा सरकारी सेवा अन्तर्गत जिल्ला भ्रमणमा गएको वेला मुस्किलले ५०-६० घन्टाको समय खर्चेर तयार पारिएको उहाँ"अग्निज्वाला"को प्राक्कथनमा लेख्नुहुन्छ । जे होस, यति छोटो समयावधिमा साँझ विहानको समयलाई उपयोग गर्दै काव्यको सिर्जना गर्ने साहित्यकार विरलै पाइएला । यस भन्दा अघि कविता, कथा, जीवनी, नियात्रा विवरण, उपन्यास, लघु खण्ड र महाकाव्य समेत लेखी सकेका यी साहित्यकार सरकारी जागीर खाएका कृषि क्षेत्र अन्तर्गत माटो विशेषज्ञ हुनुहुन्छ भन्दा अचम्म लाग्छ । कहाँको साहित्य र कला , कहाँको प्राविधिक कर्मचारी , यति धेरै विधामा हात हाली सकेर अहिले अवकाश पाइसके पनि झनै साहित्य लेखनमा भ्याइ नभ्याइ लागेको देखिन्छ ।
बुढो जवानी कविता मार्फत आफूलाई जवानी अवस्थाको बनाए पनि रचनाबिधामा आफै पात्र वनेर विभिन्न घटनाहरुको अनुभूति दिन सक्ने उहाँको क्षमता यो महाकाव्य लगायत अन्य कृतिहरुमा पाइन्छ । कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत करीव तीन दशक जागीर खाई अवकाश प्राप्त यी प्राविधिकका माटोको उर्वरा शक्ति, जैविक खेती लगायतका थुप्रै कितावहरु पढ्दा उहाँ खारी माटो विशेषज्ञ देखिनु हुन्छ तर साहित्यिक कृतिको प्रकाशन सख्याका हिसावले अझ पनि लेख्दै गर्नाले ठूला साहित्यकारहरुको हाराहारीमा उभिन पुगेको ठान्छु
पर्वत जिल्लाको शंखरपोखरी गा. वि. स. नुवारमा जन्मेका ६० वर्षीय अभागी रिजाल थरका जैसी बाहुन भएको उहाँको जागीरे नाम "सदानन्द जैसी"बाट स्पष्ट हुन्छ । दारी जुँगा पनि फाल्न अल्छी मान्ने सेतै फुलेका यी व्यक्तित्व साहित्य लेखनमा भने उत्तिकै जाँगरिला देखिनुहन्छ ।
१८ सर्गमा विभाजित यो महाकाव्य पढ्दा उहाँकै जीवनका घटनाहरु हुन कि भन्ने भान पर्दछ । काव्यकारले कतिपय घटना मिल्न सक्ने स्वीकार्नु भएको छ । यो काव्यमा "अग्निलाई नायक बनाइएको छ भने ज्वाला र शिखा उनका दुइ नायिका हन् । "अग्नि"नाम किन राखियो, उहाँ नै जान्नुहोला तर काव्य पढ्दा अग्नि पढेलेखेको, सचेत नागरिक लोकतन्त्रवादी एक क्रान्तिकारी नायक देखिएकोले "अग्नि"उपयुक्त नामा देखिन्छ । त्यसैगरी ज्वाला र शिखा तत्कालीन माजका मूल्य र मान्यतामा चल्नु पर्दा विद्रोही देखिएकोले नै ज्वाला र शिखा नाम दिइएको हुन सक्छ ।
सामाजिक परिवेशमा लेखिएको भएपनि सर्गहरुमा क्रान्तिकारी भावना यत्रतत्र देखिन्छ । शायद काव्यकार क्रान्तिको बेला जन्मेर होला राजनीतिक चिरफार गर्न कहि पनि बाँकी राख्नु भएको छैन । उदाहरणको लागि उहाँ प्रथम सर्गको यस श्लोकबाट परिवर्तन शक्तिका लागि हुनुपर्ने भन्नुहुन्छः
क्रान्तिवादी यो संसारमा शान्तिवादी नीति
शान्तिवादी मंत्र फुक्न किन चाहियो मिती
बुद्धत्वको बनोस ससार बुद्धवादी नीति
बुद्ध मन्त्र सफलतन्त्र बुद्धत्वको खेति
यसैगरी राणाकालीन अवस्था नभोगे पनि सुनेका काव्यकारले प्रजातन्त्रको विहानी ल्याउनेहरुलाई राणाका दलाल एवं पृष्ट पोषकहरूवाट कसरी धम्क्याइन्थ्यो लेख्न छुटाउनु भएका छैन । यी धम्की र चेतवनीका शब्दवाणहरुले उहाँमा विद्रोहीपन ल्याएको देखिन्छ ।
जस्तैः "धेरै कुरा नगर केटा तँ पनि लौ जालास
वढ्ता कुरा गर्न हुँदा शीशा गोली खालास्
चारै पाटा मुडिएर देश छाडी जालास
हर्जाना तिरी तिरी गोर्खे लौरी खालास"
"कति जना खेदाइए, कतिलाई फाँसी
कुनै देश निकालामा लौ कोही रुवावासी
अरचाप्छन् राणा शासन ठूला ठूला आँसी
आफ्नै दाजु भाइलाई नै पठाउछन् काशी"
यसैगरी प्रजातन्त्र आएपनि दलीय खिचातानीले जे जस्तो अराजकता देशमा देखियो, त्यसलाई घोच्न उहाँ विर्सनुहुन्न
जस्तैः
मातृका र विश्वेश्वर अन्तर खिचातानी
फलामले फलाम काट्छ छैन आनाकानी
आउछिन क्रान्ति पछि संक्रान्तिकी रानी
यस्तै यस्तै क्रियाकलाप भयो जानाजानी
द्वितीय सर्ग
हो, वास्तवमा दलीय स्वार्थ, विदेशी चलखेलले गर्दा प्रजातन्त्र पछि पनि जनताले विधिको शासन अनुभूत गर्न पाएका छैनन् । फलस्वरुप जनआन्दोलन-२ हुनु पर्यो । हो उहाँले भने जस्तै
"समाजका वुज्रुकहरु राणाकालीन थिए,
आज पनि हरेक क्षेत्र तिनले नै लिए ।
द्वितीय सर्ग
आज शाही फोविया वास्तवमा सवै तिर छ, मात्रा मात्र कम वेसी होला । अन्यथा लोकतन्त्रको वहालीमा एक जुट भएकाहरु त्यही गतिमा अघि बढ्नु पर्ने होइन र ! । काव्यकारले भने झै पञ्चायती व्यवस्थामा
पञ्चायती गुणगान गरेपछि मनपरि गर्न पाइने प्रति लक्षित गर्दै आफू इतर पक्षको भएकोले जागीर खान "भीतर"को भाग्यशाली बन्नु पर्ने सत्तासीनहरुको मापदण्ड भन्दा विधिको शासन देख्न नायक अग्नि चाहन्छन् । पञ्चायती शासनको दवदवामा सुधार गरिए पनि ती खासै भिन्न नभएको भन्दै उहाँ त्यो वेलाको परिस्थिति यसरी देखाउनु हुन्छ ।
पञ्चायती राज्यसत्ता सवल बन्दै थियो
प्रजातान्तिक हकहित फरक नै थियो
गोही रुपी अश्रु कानुन त्यहाँ धेरै वने
भाषण अमृत सुधा थोपा थोपा दिने
"सात साल, सत्रसाल छत्तिस साल आयो
सोझा साझा जनताले मुड्की मात्र खायो"
दशम सर्ग
यसरी एउटा जागिरे पनि तत्कालीन सत्तासङ्ग कति विमति राखेर काम गर्नु पर्ने रहेछ, स्पष्ट हुन्छ । उहाँ जागीरे भएर पनि प्रजातान्त्रिक मूल्य र मान्यताका पक्षपाती देखिनुहुन्छ । त्यसैले नायकको नाम "अग्नि"राख्न पुगेको हो भने आफ्नो अधिकार प्रति नायिकाहरु सचेत भै लाग्ने हुनाले ज्वाला र शिखा बनाइएका छन् होलान् भन्ने निष्कर्ष निकाल्न कसो होला ?
स्रोह्र देखी अठार सर्गहरु पूर्णतः गद्यमा उन्मुक्त तरीकाले लेखिएका छन्। शायद क्रान्तिका शब्दहरु माधुर्य लाग्ने छन्दहरुमा अटाउन सक्दैनन् । सोह्रौ सर्गमा धार्मिक दार्शनिक एव राजनीतिक विश्लेषण "अग्निको विषयवस्तु बनेका छन् । यो सर्ग पढ्दा उहाँको अध्ययन तह निकै गहन र स्वच्छन्द भएको स्पष्ट हुन्छ । यो जन आन्दोलन-२ आउनु पूर्व लेखिएको काव्य हुनाले तत्कालीन कुर्चीको लागि झगडा, क्रान्तिमा मरेकालाई शहीद घोषणा र एक मिनेट मौन धारण र सत्यको जित दावी गर्दै भाषण जस्ता कार्यकलापमा राजनीति चलेकोमा उहाँ दुखेसो पोख्नु हुन्छ । उहाँ व्यङ्ग गर्दै भन्नु हुन्छः
यहाँ प्रजातन्त्र छ, वाक स्वतन्त्रता छ,
बोल्नलाई खुलामञ्च खुला छ
नेपालीले नेपालीलाई मारेको छ
युवतीहरु विधवा भएका छन्
असहाय वृद्धहरुको सहारा हराएको छ
क्रान्तिको नाममा रगतको खोलो बगेको छ
हरेक विहानी लास र आँसु लिएर जन्मेको छ
ठाँउ ठाँउमा बारुद पड्केकै छ आदि ।
सोह्रौ सर्गमा यस्ता प्रजातन्त्रमा देखिएका विकृतिहरु माथि अग्नि पात्र उभ्याए प्रहार गर्नुभएको छ, अहिले पनि उस्तै छ । अहिले सम्म राजननीतिक थाह नपाएका, धेरै गुम्सिएका र आफ्नो अधिकार खोज्ने सौता सौताहरु पनि ज्वाला र शिखाका रुपमा अग्निलाई साथ दिदै प्रजातन्त्र प्राप्तिमा होमिएको वर्णन छ सत्रौँ सर्गमा । ज्वालाले पार्टीमा आउने कार्यकर्ता मारिएको, शोक मनाइएको, पार्टीको झण्डा ओडाइएको, शोक सन्तप्त परिवारलाई समवेदना समाचार पठाइएको देखेर दुखी हुदै भन्छिनः
मार जति सक्छौ मार
हिजो पनि मारेकै थिए
आज पनि मारेकै छन
अझ कति मार्छन् मार"
उनको मुखबाट निस्कन्छ "एउटा वीउ बाँचे पुग्छ
यसरी नेपाली अवोध महिलामा पनि चेतनाको स्तर प्रजातन्त्र आए पछि सत्रौँ सर्गमा देखाउनु स्वाभिमान लाग्छ ।
प्रजातन्त्रमा पार्टी जनतामा जान नसकेको, सत्ता लिप्सामा नेताहरु परेको, पार्टी भित्रको गुटबन्दी नायिका ज्वालालाई मन पर्दैन। तेह्रौ सर्गमा दुई सौता-ज्वाला र शिखा वीचको अन्तर्द्धन्द्ध यहाँ देखिदैन । बरु शिखाले समाजसेवामा ज्वालालाई साथ दिएकी छन् । यसरी राजनीति प्रति यहाँ व्यङ्ग- कटुसत्यको चित्रण गरिएको छ । यो रोग त्यसपछिका दुई दशकको अन्त्यतिर आउदा पनि उस्तै छ ।
अठारौँसर्ग यस महाकाव्यको अन्तिम सर्ग हो। राजनीतिक अराजकताभित्र जुटेको पार्टीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । स्पष्ट नभएपनि शाही शासनको विरुद्ध होला । यसैमा होमिदा नायक अग्नि र नायिका द्वय- ज्वाला र शिखालाई कसैले जगल तिर कुरा वुझन लगेको- वेपत्ता पारिएकोमा "अभागी"ले विज्ञप्ति निकालेर "शान्ति र अमनचयन कायम"गर्ने खालका मागका चाँङ्ग राखेर समापन गराइन्छ।
उपसहार
यो महाकाव्य तत्कालीन परिवेशको यथार्थ, चित्रण हो । माटो विज्ञले लेखेको यो महाकाव्य सैद्धान्तिक कसीमा शत प्रतिशत खरो उत्रन नसके पनि सामान्य मापदण्ड भित्र धेरै थोरै पर्दछ । राष्ट्रकवि माधव घिमिरेको भूमिका पनि महाकाव्य भनिएको छ । शिव वन्दनाबाट शुरु गरिएको १८ सर्गभएको नायक, नायिकाको सवल चित्रण पनि भएकोले यसलाई महाकाव्य मान्नै पर्दछ ।
यसरी यही "अग्निज्वाला"महाकाव्यको समीक्षाले हामी दुई वीच सामीप्यता बढाउदै लगेको थियो र भावनात्मक रुपमा अहिले पनि समीप छौ ।"बुढो जवानी"भुटानी शरणार्थीको व्यथा कथा जस्ता दर्जन भन्दा बढी कृतिहरू पस्केर नेपाली साहित्य भण्डारमा उहाँले ईट्टाहरु थप्नु भएको छ । यी उहाँका कृति स्वान्तः सुखाय लेखिएका र जागीरे तलबबाट छाक र खानखोजेका कुराको कटौति गरेर लेखहरु प्रकाशन गर्ने गरेको भएपनि नेपाली साहित्य प्रेमीका लागि जीवन वोध हुने, यथार्थपरक खुराकहरु पस्केर उपहार दिनु भएको छ ।
अन्तमा बुढो भएपनि जवानको जाँगर भएका साहित्य लेखनमा सधै लागिरहने हुनाले अथक साधकको भावी जीवन सुखमय वितोस भन्ने कामना गर्दै उहाँको व्यक्तित्व र कृतित्त्वलाई अझै उजागर गर्न अग्रसरता लिन हुने सयोजक एव संपादक श्री राम ज्ञवालीलाई पनि 'सदानन्द प्राप्त होस भन्दै यो लेख विट यहि मार्दछु ।
सम्पादन हुने नै छ