May 5, 2022

अन्तिम संस्कार एक विवेचना

सदानन्द अभागी
मानिस जन्मिन्छ ,छैटी गरिन्छ न्वारन गरिन्छ, हुर्किन्छ, विवाह गरिन्छ, बढ्दै जान्छ, युवा हुन्छ अनि बृद्ध हुन्छ । बृद्ध भएपछि एक दिन ऊ मर्छ । यो नियमित प्रकृया हो । हुन त  गर्भ मै पनि मर्ने या तुहिने कर्म नहुने हैन । यी घटना घट्दै जान्छन् । संसारमा आयु लामो छोटो मात्र हो तर मृत्युलाई कसैले टार्न चाहेर टार्न सक्दैन । हिन्दु धर्मावलम्विहरूले यसलोक भन्दा परलोक सपार्न पर्छ भन्छन् ।त्यसैमा मन लागि रहेको हुन्छ । आत्माले जबसम्म शरिरलाई साथ दिन्छ तबसम्म मानिस जीवित ठानिन्छ । जब  आत्मा शरिरबाट अलगिन्छ तब मानिस मरेको ठानिन्छ । शरिरबाट अलगिए पनि आत्माले त्यो ठाउँ छाड्न कठिन हुन्छ । किनकी उसमा घर परिवार, र सम्पत्ति आदिको मायाको कारणले गर्दा मरेपछि जानुपर्ने स्थानतिर नगै घरको वरपर नै बसेर  हानि पु¥याउन सक्ने विश्वास पनि गरिन्छ । यस भयबाट मुक्तहुनलाई उसले गरेका पाप आदिबाट मुक्त भै स्वर्ग जावस भन्ने हेतुले विविधप्रकारका गाई दानहरू गरिन्छ । मर्नेवेलामा वैतरणी दान गरिन्छ । जस्ले गर्दा गरिएका पापलाई नष्ट गरी वैतरणी नदी पार भएर स्वर्गतिर जान सकियोस् भन्ने यसको उद्देश्य रहेको हुन्छ । मरेपछि सहज स्वर्ग जावस भनेर नदीकिनारमा नपु¥याउन्देर बाटोमा पिण्डदान गरिन्छ अनि घाटमा लगेर जलाइन्छ । १३ दिनसम्म क्रियाकर्म गरिन्छ ।यस समय पनि धेरै दान गर्ने चलन छ
मरे पछि विभिन्न धर्ममा अन्त्येष्टि गर्ने आफ्नै आफ्नै संस्कार हुन्छन् । त्यही संस्कार अनुसार प्राय धेरै जातिमा लासलाई जलाउने या गाड्ने चलन हुन्छ । मुसलमान समाजमा लासलाई गाड्ने चलन छ। उता क्रिश्चियन परम्परामा मृतकको लासलाई कफनमा राखिन्छ ।लासमा सुगन्धित अत्तर छर्केर प्रार्थना गरी चिहानमा गाडिन्छ ।
नेपाल एउटा सानो देश भए पनि यहाँ विविध जातिको बसोबास छ । हिन्दु र बौद्ध धर्म मान्नेहरूको संख्या बढी छ । धर्मनिरपेक्ष राज्य भएपछि क्रिश्चियन धर्मको प्रचारप्रसार बढी भएको देखिन्छ । यी सबै जातीको अन्तिम संस्कार फरक फरक भएको देखिन्छ जस्तै नेपालका हिमाली भेगका भोटे जातिमा मरेको लासलाई लामाले साइत जुराएर काटेर टुक्रा टुक्रा पारेर गिद्ध र चिललाई खुवाउने चलन छ र यो जातिमा जुठो सुतक बार्ने चलन छैन भन्ने कुराहरू विभिन्न अध्ययनबाट जानकारी पाइन्छ । हिन्दु धर्म मान्ने भए पनि विभिन्न जातिमा पाइने चलनमा एकरूपता देखिदैन ।
हिन्दुहरूम मानिस मरेपछि भेटी लाने चलन कहिलेबाट कसरी चलाइएको हो त्यो भने थाहा भएन तर जसरी चलाइएको भए पनि भेटी लिएर जानु राम्रो काम हो । भेटी लिएर जाने काममा पहिला पहिला घिउ, चामल, अदुवा कागती लिएर जाने चलन थियो । यी चिज क्रियाकर्म गर्दा खाएर नसके पछि पनि प्रयोगमा ल्याउन सकिने हुन्छ । समय परिवर्तन हुँदै जाँदा यो चलनलाई पनि औपचारिकता निभाउने रूपमा परिणत हुन थालेको छ । भेटीको रूपमा फलपूmल लिएर जाने चलन बढ्दो कर्ममा देखिन थालेको छ ।फलपूmल चाँडै सडेर जाने हून्छ । न बेच विखन गरिन्छ न त खाएर नै सकिन्छ । त्यसो हुँदा सकेसम्म टिकाऊ हुने खालका खाने सामान भेटीमा लानु उपयुक्त देखिन्छ ।
आजकल कहीं कतै कतै भेटीको रूपमा पैसा दिने चलन पनि देखिन्छ । बस्तवमा यो चलन निकै राम्रो हो । किनकी क्रियामा बस्ने घरमा धन, अन्न  आदिको खाँचो परेहो हुनसक्छ । धनीको लागि यी चीजले खासै फरक पार्दैन तर गरिबको लागि भने भेटीमा पैसा दिएको खण्डमा ठूलो राहत हुन सक्छ ।
 देशमा लोकतन्त्रको बहालीपछि राजनीतिक दलले आप्mनो पार्टीलाई भोट दिने या आफ्नो कार्यकर्तालाई मृत्युपछि झण्डा ओढाउने काम व्यापक रूपमा फैलिएको देखिन्छ । जिउँदो छँदा मानिस सिटामोल खान नपाएर मरिरहेको छ । मरेपछि हाम्रो पार्टीमा निकै योगदान पु¥याएको र पार्टीको लागि एक अपूर्ण क्षति पुगेको भन्दै भाषण गरिन्छ । गहिरिएर हेर्ने हो भने यो जनतालाई विभाजित गर्ने काम हो । लासमाथि गरिने राजनीति भन्दा असाहाय गरिबहरूको लागि जो जुनसुकै पार्टीको किननहोस् समयमै उपचार तथा सहयोग गर्न सकियो भने समाज राजनीतिक विभाजनबाट बच्ने र  गरिबीले सत्तिएको समाजममा ठूलो टेवा पुग्न सक्छ । राजनीतिक पार्टी दर्विलो बनाउन त समाजले चाहेजस्तो काम गर्ने गरियो भने मानिसको झुकाउ स्वत हुन्छ र दल पनि सवल भएर जान्छ साथै देशले विकासको मोड लिन्छ ।
आजकल निकै प्रचलनमा आएको अर्को काम हो श्रद्धाञ्जलि सभाको आयोजना । आफैमा श्रद्धाञ्जलि सभा गर्नु, नराम्रो हो भन्न मिल्दैमिल्दैन । निश्चय पनि मृत्यव्यक्तिले गरेका कामको त्यहाँ चर्चा चल्छ । शोकसंतत्प परिवारमा समवेदना प्रकट गरिन्छ । स्वर्गवासको कामना गरिन्छ । यो काम पनि नाम चलेका प्रतिष्ठित व्यक्तिमा नै सीमित रहन्छ । गरिबहरूकोमा यस्ता सभा निकै कम भएको पाइन्छ । जे जति कर्म गरिन्छ ती कर्ममा गरिब तथा असहायलाई टेवादिने काम गर्न सकियो भनेमात्र समाजको भलो हुन्छ । गरिबको उत्थान हुन्छ । हुनत यी सबै गरिने कर्मबाट म धेरै टाढा छु भन्न मिल्दैन । म पनि मनले मानीनमानी सहभागी भएकै हुन्छु तर अन्त्यमा सबै बाट समाजलाई उत्थान गर्ने कर्ममा लागौं भन्दै साने विवेचनालाई यहीं बिट मार्दछु ।
 धन्यवाद 

April 28, 2022

गुपचुप गुपचुप सदानन्द अभागी

बागियान शर्माले २०६६ सालमा दुई ओटा गजल सङ्ग्रह चुपचाप चुपचाप र गुपचुप गुपचुपका पाण्डुलिपी तयार पार्नु भएको थियो । चुपचाप चुपचापले त्यही साल कृति बन्ने अवसर प्राप्त ग¥यो भने गुपचुप गुपचुपको प्रकाशन आएर २०७७ सालमा भयो । यी दुई कृतिको रचनापछि बागियान शर्माले गजल लेख्न छाडेको घोष्णा गरेको धारणा 'लेखकका कुरामा' प्रष्ट पारिएको छ । चुपचाप चुपचाप गजसङ्ग्रह पढ्न पाएको छैन तर 'गुपचुप गुपचुप' भने मैले अध्ययन गर्दै छु । गजल स्तरीय छन् । विविधतामा सजिएका छन्  तर गजलकारले यस्तो निर्णय लिनुमा निश्चय पनि  केही कारण होला त्य ो भने मलाई थाहा हुने कुरा भएन ।
मोतीराम भट्टले भित्र्याएका गजलले निकै खुट्कीला पारगर्दै आजसम्म आइपुग्दा निकै फन्को मारिसकेको छ । गजल गायन विद्याको रूपमा मात्र नभै विविध पक्षमा गजल लेखिन थालेका छन् । बास्तवमा यो स्थापित विधा हो ।
संरचना –आवरण पृष्ठ बाहेक, प्रकाशकीय,भूमिका र लेखकका कुरा गरी १४ पृष्ठ, ८२ ओटा गजल गरी ८२ पृष्ठ र कूल९६ पृष्ठको यो कृति, सुन्दर अग्र आवरण र पछिल्लो आवरणमा पाँच ओटा गजलले कृतिलाई सिङ्गारेको छ । यस कृतिको प्रकाशन सेवेन पिआर सप्लायर्स ( पथलैया बाराले ) गरेको छ र मूल्य रु ३००।– राखिएको छ ।
कृतिभित्र प्रवेश गर्दा – गजल विविधताले सजिएका छन् । पहिलो गजलमा मानवीय सम्वेदनाका आँसु गालामा नभएर मुटुमाझ झर्नथाले भन्दै गजलकारले नेपालको कृषि र किसानको बारेमा विश्लेषण गर्दै भन्छन्
कृषिप्रधान राज्यका  नागरिक भए पनि
हरसाल भोकभोकै बस्तीबस्ती मर्न थाले
 गजल १, पृष्ठ १५
नेपाल एउटा कृषिप्रधान देश हा तर यसको उत्पादनले जनतालाई खुवाउन सकेको छैन । जनता भोक भोकै मर्नलागेकोमा गजलकार चिन्तित छन् ।
गजलमा कतै प्रकाशको खोजी छ कतै कतै मानवता बगेका कुरा छन्, आँसु बगाउँदैमा इतिहाँस नफेरिने कुार,अस्मिता पोखिएका कुरा, स्वाभीमान चुकेका कुरा,गजलकारले स्वतन्त्ररूपमा आप्mना धारणा राखेका छन् ।
आज देशमा देखिएका अनमेल मेलमिलापलाई गजलकारले यसरी पोखेका छन् –
हिजोका शहादत आज जम्मै खेल भए
बाध बाख्रा एकै खोर , यो अनौठा मेल भए
गजल ५ पृष्ठ १९
 गजलकारको धारणा छ मानिस बेइमानी हुनु हुँदैन बेइमानीको मनभित्र तिखो तिखो झीर हुन्छ र बाहुबिच नदेखिने तीर हुन्छ । त्यसो हुँदा सतर्क रहनु पर्छ  आफ्नो बाटो मिार्ण गरेर अगाडी बढ्नु पर्छ । जो काम बाट भाग्न खोज्छ त्यस्ताको लागि समथर जग्गा पनि भिरको रूपमा दर्शिन्छ ।
गजलकारमा देश प्रेमको अमिट छाप छ । उनी माटोको प्रैम बाड्न चाहान्छन् ।  देशलाई  काँधमा राख्न चाहान्छन् । देश दुख्दा मुटु सुक्नु जस्ता राष्ट्रप्रेमले भरिएका धारणाहरू गजलमा आएका छन् ।
मानव जीवन  विविधतामा सजिएको छ । यहाँ रोदन छ, हाँसो छ कतै पीडै पीडा छ कतै आनन्दै आनन्द छ ।बागियानले यस गजल सङ्ग्रहमा थुप्रै धारणाहरू समेटेको देखिन्छन् ।
मुटुभित्र क्लेष साँची चोइटिएर हाँस्दै छु म
जीवन पथको गोरेटोमा तर छाती गलिरह्यो
गजल २२, पृष्ठ ३६
परिभाषा जिन्दगीले विविधता खोजेको हो
उठाइएका आस्थाहरू सधैं–सधैं ढलीरह्यो
गजल २२, पृष्ठ ३६
विरह र व्यथासँगै मिठो लाग्छ जिन्दगानी
जिजीविषा बोकें तर आखिर सबै बन्यो सूल
गजल २३ पृष्ठ ३७
आगो बोकी छातीभित्र बाहिर पानी हुनुप¥यो
दुःख पीडा पचाएर विश्वास जम्मै धुनुप¥यो
गजल ३६, पृष्ठ ५०
आर्थिक प्रलोभनले मानिसको स्वरूप, स्थान सबै बदलिन्छ –
हिजो सम्म नरक भन्थ्यो आज धाम भयो
आस्था सबै पाखा लागे अघि दाम भयो
गजल ४७ पृष्ठ ६१
अस्ति सम्म रावण दाँजिनेमा परेको छ
एकाएक आज तेत्रा युगको राम भयो
गजल ४७ पृष्ठ ६१
गजलकारको भनाइ छ आवरणले सबै सत्य देखाउँदैन –
देख्या सबै सत्य हुन्न
भित्र कालो धन्दा हुन्छ
गजल६३, पृष्ठ७७
सहिदप्रति गजलकारले प्रश्न गर्दै लेख्छन् –
उठेको हो एउटा प्रश्न
सहिदले के चैं पायो
गजल ७७पृष्ठ ९१
संसार आज द्वन्द्वमा फसिएको छ ।शक्ति शक्ति बीच र अहम्ताको कारणले गर्दा संसार आज अशान्त छ ।नेपालमा पनि निकै द्वन्द्व मच्चियो । आपूm आपूmमै काटा मारले देशको आर्थिक सामाजिक, राजनीतिक क्षेत्र निकै धमिलियो । यसबाट सबैले हारेका छौं भन्ने धारणा राखेका छन् गजलकारले
–हो त ? हामिले हा¥यौं र हारिरहेछौं
 आज आफैले आफैलाई मारिरहेछौं
 गजल५०, पृष्ठ ६४
जित्ने कुरा त टाढा छ क्षितिज झैं
आफ्नैमा कलहको बिउ सारिरहेछौं
गजल५०, पृष्ठ ६४
गजल प्राय शृङ्गार रसमा लेखिने गरिन्छ । यस कृतिमा शृङ्गारिक गजलहरूको बाहुल्यता देखिन्छ । प्रेममा आधारित विविध खाले गजलहरू हामिले यहाँ पढ्न पाउँछम् ––
प्रिया तिम्रो मुहार अहो ! घाम जस्तो छ
 खाली खल्तीभत्रि आज दाम जस्तो छ
गजल ५१,पृष्ठ ६५
न मनको भाकाभरि गीत बनेर आयौ
न त मस्त जवानीमा प्रीत बनेर आयौ
गजल २०,पृष्ठ ३४
छातीभित्र गुराँसका थुँगाहरू खिलेको छ
तिम्रो मिठो स्पर्शले पवन पनि हिलेको छ
गजल २९,पृष्ठ ४३
गुपचुप गुपचुप गजलभित्रका शेरहंरू मिठास भरिएका छन् । गजल सिद्धान्तमा आधारित रहेर नै लेखिएका छन् । भाषा सरल छ । तर बागियान शर्माले यति राम्रा गजल सिर्जना गर्दागर्दै किन गजल लेखनबाट टाढा हुन मन लाग्यो यो भने आश्चर्यको कुरा हो । यस गजल कृतिमा यस भन्दा अगाडी नबढी विदा लिने बिचार गरेको छु ।
धन्यवाद
 २०७९ साल वैशाख १५ गते  

April 26, 2022

अदृश्य पीडा लघुकथासङ्ग्रह को अध्ययन सदानन्द अभागी

नवराज रिजाल नेपाली साहित्यको क्षेत्रमा एउटा परिचित साहित्यकार हुन् । उनका केही कृतिहरू अध्ययनको लागि प्राप्त भएका छन् । यी कृति मध्येमा हाल म 'अदृश्य पीडा' लघुकथामा प्रवेश गरेको छु । अदृश्य पीडा लघुकथासङ्गह (२०५७) कृतिकारको रूपमा देखा परेका नवराजले हाल सम्म विखण्डित प्रवाह,(कथासङ्ग्रह,२०६३), माटो खोज्दै (लघुकथासङ्ग्रह,२०६७), चुपचाप,–चुपचाप (गजल सङ्ग्रह २०६६ र बाल साहित्यका एक दर्जन कृतिहरू सहित नेपाली साहित्यको फाँटमा उपस्थिति जनाएका छन् ।  वि.संं. २०३९सालमा 'पागलको चाहना' शीर्षकको लघुकथा मातृभूमि सप्ताहिकमा प्रकाशित गराएर लेखन क्षेत्रमा परिचित गराएका  नवराज आज आएर साहित्यको विविध क्षेत्रमा आपूmलाई सुपरिचित गराई सकेका छन् । नवराजको बाल साहित्यमा दखलता छ र  प्रसिद्धि पनि कमाएका छन् ।  सम्पादनको क्षेत्रमा पनि उनको योगदान अतुलनीय छ । देवकोटा व्याख्यान सङ्ग्रह,समायोजन, मैदान, मुर्छना,समायोजन,उत्तराद्र्ध, महेश आवाज,नेश्चिल उनी द्वारा सम्पदित भएका छन । भने हाल नवप्रज्ञापन को सम्पादक र प्रकाशनमा उनीबाट हुँदै आएको छ ।
पुरस्कारहरू–सुगन्ध लघुकथा पुरस्कार २०५१, शिक्षक श्री पुरस्कार–२०५६,नारायणी वाङ्मय पुरस्कार, २०५७, ,राष्ट्रिय वाङ्मय सम्मान, २०६३, अनेसास पुरस्कार, २०६६ र शिक्षा सम्मान २०७१ ले नवराजजी सम्मानित भै सक्नु भएको छ ।
कृतिभित्र प्रवेश गर्दा –यस कृतिमा ५७ वटा कथाहरू समावेश गरिएका छन् भने आवरणबाटै गणना गर्दा ११२ पृष्ठमा यो कथाको संरचना भएको छ । भूमिका, विषय सूची, लगायतले २१ पृष्ठ समाएको छ ।
कृति र कृतिकारप्रति पोखिएका भावनाहरू– आवरण पृष्ठमा यस कृति र कृतिकारप्रति साहित्यकारहरूले पस्केका धारणाहरू यसप्रकार छन् –
यस कृतिको प्रथम संस्करणमा डा. रामप्रसाद ज्ञावली लेख्नु हुन्छ – ' सरल मिजास, जिज्ञासु स्वभाव,केही गरूँ भन्ने विचारका नवराज रिजाल उत्साही सर्जक हुन् । आख्यान उनको विषयगत विद्या हो भने प्रगतिशीलता उनको वैचारिकता हो । '
रमेश गोर्खालीको दृष्टिमा –'सर्जकले सङ्कीर्ण मनोग्रन्थी र द्वैध चरित्रका व्यक्तिहरूलाई आफ्नो कृतिको रचनामा निन्दात्मकरूपमा खोइरो खनेका छन् । राजनीति परिवर्तनको मूल्यवत्तालाई आत्मसाथ गरी, सबैले लोककल्याणकारी गुणात्मक उच्चतमतिर ढल्किनुपर्छ भन्ने यिनको मनसाय छ ।
श्री ओम श्रेष्ठ रोदनको दृष्टिमा – 'यस सङ्ग्रहका लघुकथाहरूमार्फत नवराज रिजाल अरूका घाउमा दुखेका छन् । माटोलाई माया गरेका छन् ।मान्छेका प्रदुषित मानसिकतालाई स्वच्छ पार्ने अभीष्ट गरेका छन् । गरीव र दुःखीहरूलाई उज्यालो घामको चाहना गरेका छन् ।समनता र शुभकामनाको सन्देश प्रकट गरेका छन् ।'
ईश्वरी प्रसाद पोखरेलको दृष्टिमा –'वर्तमान युगमा नेपाली समाजका विभिन्न क्षेत्रहरूमा देखापरेका विकृति राजनीतिक विषमता, शैक्षिक अराजकता,युवा वेरोजगारी भ्रष्ट्रचारी प्रशासन,बढ्दो गरिबी,खस्कदो मानवीयता, ,हुर्कदो वेश्यावृत्ति फैलदो बालशोषण,लगायतका अनेकौं जीवन्त समस्याहरूमाथि कथाकार रिजालको दृष्टि पुगेको छ ।
लक्ष्मी कुमारी पुनको दृष्टिमा – उनका लघुकथामा देशप्रेम छ,गरिबी र अभावका पीडा छन् ,सामन्ती, शोषक बर्गको दमनमा परेका कामदारको चित्रण छ र समाजका लोभी स्वार्थी तथा द्वैध चरित्रका व्यक्तिप्रति व्याङ्ग्य पनि छ ।
 यी उपरोत्तः धारणाहरू यस कृतिको प्रथम संस्करणमा आएका हुन् ।
 यस संस्करणमा पुष्करराज भट्ट लेख्नुहुन्छ –'उनको रचनामा नेपालको राजनीति,अर्थतन्त्र, समाज,प्रशासन,साहित्य शैक्षिक संस्था,लगायतका विभिन्न क्षेत्र आएका छन् ।'
यस संस्करणमा डा. सुधन कुमार पौडेल लेख्नु हुन्छ –पछिल्लो पुस्तका सक्रिय र उत्साही कथाकारका रूपमा नेपाली साहित्यको पूmलबारीमा नवराज रिजालको लेखन कर्म आफ्नै रङ्ग र लयमा मुस्कुराइरहेको दखिन्छ ।ं'
कथाहरू अध्ययन गर्दा –
अर्ती –धुम्रपानमा छोराको लत बसेपछि  बाबुले यो काम गर्न हुँदैन भनेर अर्ती दिनु र छोराले बाबुको आज्ञा पालन गर्दा बाबुलेनै छोरालाई विडी किन्न पठाएपछि छोराले बाबुले राम्रो काम नभए विडी किन्न किन पठाउनुहुन्थ्यो र भनेर विडी खान थाल्नु । अर्ती दिनेवालाले आपूmले दिएको अर्ती पालन नगरेपछि अर्ती लिनेवालाले प्रयोगमा ल्याउँदैन ।
विडम्बना – यस कथामा थरीबाले आफै अध्यक्ष बनेर असहयोग हुँदाहुँदै पनि गाउँबासीको विकास भावनाले स्कुल बाटो निर्माण भएपछि थरीबाले अन्तिममा छात्राबास बनाए र मन्त्रीबाट उद्घाटन गरियो र थरीबा शिक्षाप्रेमीको नाताले अध्यक्षमा मनोनित भए । राजनीतिक कुटिलतालाई उदाङ्ग पारेको छ कथाले ।
पीडा –आन्दोलनमा परेकी,उनका बाबुको रिसवी साधना गर्न, उनलाई दिएको यातना र अदालतबाट प्राप्त छुट्करा, उनको पुरानो स्कुलमा हाजिर नगराउनु र अर्को स्कुलमा पनि हाँजिर हुन नपाई,अवकासपत्र प्राप्त गर्नु, आन्दोलन सफल भएपछि , पुनर्वाहालीमा सोही स्कुलमा प्रधानाध्यापक बन्नु
नवनिर्मित भवन उद्घाटन गर्न पूर्व सञ्चालक समितिको अध्यक्ष,र पूर्व जिल्ला पञ्चायतको उपसभापति कुटिल त्यही व्याक्ति नै मन्त्री भएर आउने भएपछि उस्लाई स्वागत गर्न गरिदै तयारीमा उनका हृदयबाट निस्केको पीडादाई आवाज 'नाइ'लाई कार्यलयसहायकले के भयो भन्दै प्रश्न सोध्नु र प्र.अ.मा कुनै जवाफ नहुनु । मार्मीक र परिवर्तनले दिन नसकेको जनताको यथार्थ पीडालाई कथाले आत्मसात गरेको छ ।
आशा –यस कथामा सरकार विरुद्ध गरिने आन्दोलनमा एकजना कुष्टरोगीलाई प्रयोग गरिएको,उसको आशा र कल्पनाको मनोविज्ञानलाई समेटिएको छ  र आन्दोलनपछि पुन ऊ अदृश्य अवस्थामा पुगेको अवस्थालाई दर्शाइएको छ कथामा ।आन्दोलनमा गरिने अमावीय व्यवहारको एउटा उदाहरण हो यो कथा । ्
सन्दर्भ –यस कथाले आजका द्वैध चरित्र धारण गरेर समाजमा आफ्नो नाम उच्च पार्न खोज्ने व्यक्तिप्रति व्यङ्ग कसिएको छ । भाषणमा जातपात केही होइन भन्ने सबै व्यवहारमा चराचरी हुनुपर्छ भन्ने तर व्यवहारमा प्रयोगमा नल्याउने यस्ता मानिसको शिर झुक्छ भन्ने सन्देश छ ।समाजिक यथार्थतामा आधारित छ कथा ।
अभियान –गरिबीबाट पिडीत ओतविहीनले ओतको खोजीमा आधारित छ कथा । म भन्नेपात्रसँग ओतको अनुरोधमा म भन्ने पात्रको विवशतालाई दर्शाइए छ ।
अधिकार –लागुपदार्थमा सम्लग्न व्यक्तिले ऊ लागुपदार्थ सम्पन्न देशसँगमात्र व्यपार गर्ने ऊ यो व्यपारबाट सन्तुष्ट रहेको, उस्लाई प्रहरीले गिरिफ्तार गर्न खोज गरिरहेको प्रहरीले गिरिफ्ता् गर्न नसके आफै गिरिफ्तारी दिने तयारीमा रहेको धारणा ।
पागलको चाहना –पागल  थरिथरिका हुन्छन् । ऊ माथि गरिने व्यवहार पनि थरिथरिका हुन्छन् । यो पागलको अति कारुणिक कथा यहाँ समावेश गरिएको छ जस्ले कसैको केही हानी नोक्सानी गर्दैन र भावना पोख्न खोज्दा पनि पाउँदैन। ऊ पागल पनमै अगाडी बढ्न बाध्य देखिन्छ ।
आँखीझ्याल–यसकथामा शिक्षामा बढवा दिएर कामलाई अगाडी बढाएको मानिसको पनि आफ्नै घर सन्तानबाट आशातित उपलब्धी हाँसिल नभएपछि मनमा वितृष्णा उत्पन्न भएर सौलो समाजमा असरपार्ने कामलाई पनि ध्यान दिइदैन ।
बाटो –कर्मचारीमा देखिने गरेका विकृतिलाई यस कथाले समेटेको छ । काम गर्ने कर्मठ कर्मचारीको मुल्याङ्कन नभएर चाकडी चापलुसी र स्वार्थले भरिएकाहरूको नै पदोन्नती हुने विवरण छ कथामा
एकादेशमा –यस कथामा तराईमा चलनमा आएको कमलरी प्रथाको एक नमुना हो । छोरीलाई अर्काको घरमा काम गर्न लगाउने हरेक फागुपूर्णियामा काम गरे बमोजिम अग्रिम भुक्तानीलिने गरिएकी एक किशोरीको पीडा र शैक्षिक अधिकार सम्बन्धित गोष्ठिको वर्णन गरिएको छ ।
खोजी–यस कथामा एउटा माग्ने बुढो असामन्य अवस्थामा छ । कसैको खोजी गरिरहेको छ र उसले माटो चाहिने,अस्तित्व चाहिने, ेस्वाभिमान चाहिने र स्वतन्त्र परिवेश चाहिने धारणा पोखि रहेको छ ।
स्वार्थ– यस कथामा समाजसेवीले 'मृतपतिका नाममा पत्नीले अजीवन विधवा बस्न हुन्छ भने पति पनि पत्नीका नाममा विधुर रहनैपर्छ " भन्ने भाषण गर्दै हिड्दैगर्दा आफ्नै बुहारीको मृत्यु भएको २२ दिनमा छोराको विवाह गरिएको धारणा आएको छ ।
सम्मान–यसकथामा  निम्न आए भएका साहित्यकारले औषधी उपचार नपाएर दुःखद मृत्युवरण गर्न परेको र सरकारले उपेक्ष गरेका धारणा आएको छ ।
कर्तव्य– यस कथामा सामाजिक कार्यकर्ताको नै द्वैधचरिलाई पष्ट्याएको छ । प्रजातन्त्र ल्याउनको लागि आन्दोलनमा लागेको विध्यार्थीलाई धनवीरे( समाजसेवी) को उस्काहटमा यातना शिविरमा हत्या भएको र शहीद दिवसका दिन उसैबाट माल्यार्पण गरिएको धारणा आएको छ ।
परिचय – यस कथामा मानिसको वास्तविक परिचयको खोजीमा रहेको मानिस तीन समुहको कार्यक्रममा सहभागी भएर आफ्नो भावना अनुकुलको परिचय प्राप्त नर्ग नसकी चुनावमा मतदानमा भाग नलिंदा मतदान नगरेको  अभियोगमा समतिएको धारणा आएको छ ।
पाटो–''सहयोग स्वार्थविहीन हुँदैन , आँखा चिम्म पारेर स्वीकार्दै जाने हो भने खडखालोमा पर्ने निश्चित छ ।" विदेशी सहयोगमा देश निर्भर हुनुहुँदैन भन्ने धारणा आएको छ ।
विगत–वर्तमान –नदीकिनारमा बसेर बालुवा चाल्ने र गिटी कुट्ने गरिब मानिसको यथार्थतालाई प्रष्ट्याएको छ कथाले बाबुपछि छोराले र छोरा पछि नातिले क्रमस यही गरिबीमा पिल्सिएको धारणा आएको छ कथामा ।
भोक –मार्मिक कथा छ यो ।मध्यम वर्गीयमानिसले मेहनतले पढेर विदेश गएर अध्ययन समाप्त सकेर आएर विवाह गरेर घरमा श्रीमती र छोराछोरी ले मिठो नमानी फालेको खाना एउटा भोको मानिस कन्टेनरमा फाल्न नदिई  मागेर खान्छ । ऊ निकै भावुक बन्छ भन्ने धारणा आएको छ कथामा । अनुभूति –मानिस एकठाउँबाट अर्को ठाउँमा सर्दा निकै उज्वालो भविष्यको कल्पना गर्दै जान्छ तर त्यहाँ पनि सोचे जस्तो फल प्राप्त गर्न नसक्दा पुरानै अनुभूति स्मरण गर्द छ भन्ने धारणा आएको छ कथामा ।
यथार्थ–यहाँ एउटी माग्ने बुढी,ठेगानाहीन अवस्थाकीको लाश बाटोमा थियो र पोष्टमार्टमको रिपोटमा हत्या गरिएको देखियो । हत्यारा पत्ता लागेन । महिला कर्मीहरूले नाराजुलुस लगाए ।केही पत्ता नलागेपछि स्थानीय नगरपालिकाले वेवारिसे लाशको दाह संस्कार ग¥यो तर चर्कौ नारा लगाउनेवाला केही उपस्थित नभएको धारणा आएको छ कथामा ।
दीर्घरोग – गरिबीले सत्तिएको व्यक्ति डाक्टरकोमा जान्छ र म र मेरो पुर्खा  सबै दीर्घरोगले सत्तिएका छौं। पाईन्छ भने यो दीर्घरोगबाट मुक्त हुने दवाई पाउँ भन्छ तर डाक्टर सँग पनि यसको औषधी छैन ।
शहीदपुत्र–यस कथामा शहीदपुत्रले भोग्न परेका भोको पेट, अशिक्षित मस्तिष्क र ज्ञान शून्यजिन्दगीको मार्मिक अवस्थालाई समाजसेवीको भाषणले  कुनै टेवा दिन नसक्ने धारणा आएको छ कथामा ।
मानवता – गाउँबाट सहर श्रीमान खोज्न पुगेकी एउटी नारीको  श्रीमानले डेरा सरेर अप्ठयारोमा परेकीको अस्मिता लुटेका कथालाई प्रष्ट्याइएको छ ।
धूर्तत्ता – मज्दूर नेताको भाषणले सबै श्रमिकहरू हर्षित भए ।कारखानाको मूलढोकामा ताला लगाइयो केही माग पुरा भए केही मागपछि पुरा गर्ने भनेर तालाखुल्यो तर असन्तोषी मज्दूरलाई आरोपलगाएर निस्काशन गरियो । मज्द्रर नेता त कारखाना मालिकको मानिस रहेको धार्णा आएको छ कथामा  
मतान्तर–यस कथामा अनेकौं मतमा बाँडिएका मानिसको स्वअस्तित्व हराउँदै गएको र जव यो कुरा बुझेपछि स्व अस्तित्वमा फर्कान लागेको धारणा आएको छ ।
आँट–यस कथामा नारीले परम्पराकालदेखि नै अपहेलित,घृणित, र तिरस्कारलाई भोग्न परेका समस्यालाई जान्न नसके अस्तित्व लोप हुने आदि धारणा सभामा राखेको समाचार पत्रिकामा आएको देखेर श्रीमानले श्रीमतीलाई के तिमीहरूले अधिकार खोज्न लागेकै हौ त भनि प्रश्न गर्दा पत्नीले हजुरको दया माया र स्नेह चाहिन्छ भन्ने धारणा राख्दछिन् ।  
जीवन–पथ–तराईमा देखिएको श्रमिक(हरुवा चरुवा) प्रति ज्याला मज्दूरीमा  गरिने शोषणको वर्णन गरिएको छ । पछि दलहरू गठन भएपछि पनि उही मालिकै ठूलो नेता बनी उसकै दयामायामा पालिनु पर्ने धारणा आएको छ कथामा ।
पेट –विवश भै देह व्यपारमा लागेकी एउटी महिलाले महिला अधिकार कर्मीका धारणा सुन्दा उत्साहित भए कि तर सभा समप्त हुँदा सबै सम्पन्न भएका र उसले पेट पाल्न ग्राहक खोज्न जान परेको धारणा छ कथामा ।
निर्णय– राजस्व संकलन कार्यालयका हाकिम रङ्गेहात समातिए र प्रमाण सहित माथिल्लो निकायमा पेश गरिए तर तीन महिनापछि सम्बिन्धित निकायले त्यही खटाएको र पहिलो छानविन चित्त बुझ्दो नभएकोले अर्को छानविन टोली आउने समाचार पनि प्रकाशनमा आएको ।
ठूलो मानिस –यस कथामा एउटा विद्यार्थीले शिक्षकसँग हजुरले सबै कुरा जान्नु हुन्छ भन्ने जिज्ञाशामा शिक्षकले सबै मानिस सबै कुरामा जान्ने हुँदैनन् । आफ्ना आफ्ना क्षेत्रमा हो भन्दा विद्यार्थीले राजनीतिक कार्यकर्ता सबै चिज जान्ने हुन्छन् भन्ने प्रश्न राख्नु तर शिक्षकले प्रतिउत्तर नदिनु ।
यथास्थिति – शहरका प्रतिष्ठित वकिल रञ्जनकी एक्ली छोरी रमिला विद्यालय शिक्षा पूरा गरेर क्यम्पस पढ्न उत्सुक छात्रा जस्लाई वकिलले विवाहको लागि केटा बोलाउँछन् । रमिलाले केटालाई देखेपछि मन नपराएको संकेतमा आमाले अनुहार चाट्ने बस्तु हैनभन्दै फकाउन थाल्छिन् । छोराले हेर्ने भएपछि रोज्न पनि पाउनु पर्छ भन्नु, बाबु छोराको पनि वहसचल्नु र वकिलले केटो देखाए पनि केटो छान्ने अधिकार नभएको जस्ता धारणा आएका छन् ।
प्रवृत्ति– कर्मचारीको घुस लिने प्रवृत्तिलाई यस कथाले प्रष्ट पारेको छ ।
प्रगतिशीलता–यस कथाले दलित र गैह्रदलित विचको भेदभावलाई प्रष्ट्याएको छ । भाषणमा समानता भने पनि व्यवहारमा छैन भन्ने कथाले पुष्टि गरेको छ ।
राहत– सारा गाउँ खडेरीबाट ग्रसित भएको र सरकारले राहत वितरण गर्ने भनि राहत समेत कर्मचारी खटायो राहत लिनेको संख्या बढी भएपछि लालपूर्जाको आधारमा राहत वितरण गर्ने भनियो ।  अधिकाम्सको लालपूर्जा नभएकोले राहत नपाउने भएको र पुरै गाउँले राहत अस्वीकार गरेको भए पनि राहत वितरणको समाचार प्रसारण भएको धारणा आएको छ कथामा
परिवेश– बालदिवस मनाउँदै फर्किने हुलसँगै गल्ली र पेटीहरूमा जीवन विताउनेहरूले आफ्नो विद्यालय र समूहलाई खोजे तर भेटेनन् भन्दै तिनको दयनीय अवस्थालाई कथाले पष्ट्याएको छ ।
चेतना –हरिनाथद्वारा यौन शोषण भएकी चेतना हरिनाथले 'हाम्रो समाज र नैतिकता विषयक प्रवचनमा बोल्दा तालिबज्दा चेतनाले बन्द गर्नुहोस यस्ता कुरा, कति छारे हाल्नुहुन्छ भन्दै चिच्याएको धारणा आएको छ कथामा ।
वास्तविकता – यस कथामा नेताले चुनाव ताका बाँडेका आस्वासन पुरा गर्न नसकेको र पुनस्मरण गराउँदा ''यो राजनीति हो  भनेका कुरा सबै कहाँ गर्न सकिन्छ र ? विकास त क्रमशः हुँदै जाने कुरा पो हो त" नेताको निर्वाचनताका बाँडिने झुटा आस्वासनको प्रतिनिधित्व गरेको छ कथाले ।
त्यो रात – अध्ययनकालमा साधनालाई बलत्कार गर्ने युवकको आफ्नै पतिद्वारा प्रशंसा सुन्दा व्यथित भएकी साधनाको मनोभाव प्रकट गरिएको छ कथामा ।
ठहर –लोग्ने वितेकी एउटी बूढी जस्का दु्ई भाइ छोराले विदेश अध्ययनको वेला उतै घरजम गरेर बस्ने  जानकारी पाउनु, गाउँलेलाई पहिला सहयोग आदि गर्दा दयाकी देवी भनिएकीलाई जब गाउँलेलाई सहयोग गर्न नसक्ने अवस्थामा पुगेपछि बोक्सी रहिछ भन्ने निष्कर्ष निकाले भनिएको छ कथामा
विश्वास – बसाइँ सर्दाको कष्टकर समस्यालाई यस कथाले समाएको छ । जहाँ थियो त्यहाँको अभाव, पीडा,दारिद्र्य र अप्राप्ति  नयाँ ठाउँमा पनि साथै गएर जीवन कष्टकर भएपछि पुन बसाइँ सर्ने निर्णय लियो ।
विवशता – एउटी पवित्र नारीको विवशतामा समाजले दिएका  दोषमा पत्र लेख्दै 'संघर्षमा हारे ,पतित ठहरीय म , तीन बच्चाको पेट पाल्नु थियो । भट्टी थापे पनि अस्मिता बेचेकी छैन र हारेर विदा हुँदैछु भन्ने धारणा आएको छ ।
छाया –दाउराको अभाव क्षेत्रमा नदीले बगाएर ल्याएका दाउरा संकलनको लागि मलु नदीमा दाउरा संकलन गर्न जान्छ , धेरै दाउरा संकलन गर्छ अझै संकलनगर्ने इच्छा जागेर आउँछ र नदीमा पस्छ र तैरिन नसकी मृत्युवरण गर्छ । हरेक रात सपनामा ऊ श्रीमतीसँग आउँछ र बचाउन आग्रह गर्छ  भन्ने धारणा आएको छ कथामा ।
्व्यवहार–अनन्तले स्वदेसी सीपको प्रयोगमा  भाषणमा जोड दिन्छ । गाउँमा कामको थालनी हुन्छ तर केही व्यक्तिले यसकामलाई उचित ठानेनन् र विरोध गर्न थाले र यसको नेतृत्व अनन्तले नै गरेको धारणा आएको छ ।
क्रम–यसकथामा एउटा श्रमिकले काम गरेर उसका छोराछारी र श्रीमतीको पेट भर्न सक्दैन तथा अभिभावकको दायित्व पूरा गर्न सक्दिैन ।
सोचाई –एउटा गरिब विद्यार्थीले चुनाव प्रचार प्रसारका सामाग्रीलाई लेख्य सामाग्रीको ंरूपमा बटुलेको देखेर शिक्षकले विद्यार्थीलाई निकै हप्कायो । विद्यार्थीले अहिले यी सामाग्री बटुल्ने राख्ने र पछि कापी बनाएर लेखेर ठूलो मानिस बन्ने धारणा राख्ेको धारणा आएको छ ।
भोको मान्छे–  एउटा मानिसको लाश रुखमा थियो विभिन्न समुदाय र धार्मिक गूरुहरूले  लाश आफ्नो समुदायको भनेर दावी गरे तर पोष्टमार्टन प्रतिवेदनको साथमा आएको पत्रमा सबै समुदाय र धर्म गुरुहंलाई समान दुरीमा राख्दै उसको लाश तिनीहरूले छुन नपाउन भन्ने र ''भोको मानिसले प्रवचन बुझ्दैन , उसलाई खाना चाहिन्छ" भन्ने धारणा आएको छ कथामा ।
निरुत्तर–एउटा पाँच वर्षि बच्चामा ठूलो र सानो मानिसको विभेदको कुरा उब्जेको यथार्थता यहाँ प्रस्तुत गरिएको छ । ठूलोमानिस बन्न के गर्नु पर्छ आदि मार्मिक प्रश्न छोराले बाबुलाई सोद्धनु तर बाबु निरुत्तर हुनु  ।
अठोट–यस कथामा अठोट बोकेर यात्रामा लागेका केही मित्रले यात्रा पुरा नगरी नै बीचमा रोकिएको र म भन्ने पात्रले आफ्नो अठोटलाई पूर्णता दिने क्रम भएको धारणा आएको छ कथामा ।
भ्रममुक्ति–जीवन र जिज्ञासा बस दुर्घटनामा परेर अस्पतालको शैयामा बस्दा दुबैमा आकर्षण बढ्छ । दुबैमा पत्र आदानप्रदान हुन्छ ।एक दिनको पत्रले उसलाई रोमान्चित बनायो तर पचिचय दिंदा उनले पति र कान्छो छोरो समेतको परिचय पाउँदा उःवेहोस मुद्रामा पुग्यो भन्दै कथा समाप्त हुन्छ
दया– आपूm अस्वस्थ अवस्थामा भएको वेला छोरीले काम गर्न थाली, अग्रिम तलव पनि पाउन थाली, बाबलाई शंका जाग्यो । यो सह्य भएन । आपूm काममा जान थाल्यो। काम माग्यो तर पाएन । छोरीले सरह काम गर्न सक्छु भन्दा छोरीलाई काम दयाले दिएको जवाफ पायो ।
सतह–विकासलाई सही रूपमा परिचालन गर्न नसक्दा गाउँलेलाई बोझ बन्यो र विकास विरोधीमा दर्शीय
पहिचान – यस कथामा स्तम्भ लेखिका, महिला अधिकारवादीकार्यकर्ता र विश्वविद्यालयको स्नातकौत्तर तह तृतीय वर्षकी छात्रालाई विवाहको लागि चार किसिमका वरको परिचय र फोटो पठाइएकोमा सम्पत्तिको लोभले सामान्य परिवार प्रवेशिका परीक्षा उत्रिणलाई मन पराएको धारणा ।
दृष्टि– भ्रष्टचार विरोधी अभियानमा लागेकाहरूको भ्रष्टचार गरेको समाचार बन्न नसकेको धारणा आएको छ कथामा ।
कायर÷वीर –  यस कथामा सज्जन व्यवहार, सबैसँग राम्रो व्यवहार गर्ने व्यक्तिलाई समाजले कायर ठान्ने र हेप्ने तर यदि त्यही मानिस घमण्डी र जिद्दीवाला र सबैलाई हेप्ने खालको भएमा त्यसबाट सबैै डराउने र वीर ठान्ने समाजको प्रवृत्तिलाई कथाले प्रष्ट पारेको छ ।
तस्वीर –यस कथामा एउटी यौवन मस्त युवतीले आफ्नो स्वभाविक स्थितिलाई आधुनीकरण गर्दै स्वप्निल राजकुमारको काखमा लुटपुटिई सुख सयल र मोज मज्जा गरी यसै अवस्थामा आमाले एक डाली कोदो लिएर  ढोक ढकढकाएपछि ऊ यथा स्थितिमा आएको धारणा छ कथामा ।
भोक र संवेदना –यो अन्तिम र अति दर्दनाक कथा हो यस कथामा आगलागीमा परेर दशवर्षको छोरा गुमाएकी आमालाई नावालक छोरीले सिस्नो मिसाएको खोले भन्दा भात मिठो हुने र घर छँदा भात खान नपाएको र दाई र घर नभएपनि भात खान पाय मजै हुने भन्दा आमा छोरालाई सम्झेर रुनथालिन र सरकारबाट प्राप्त राहतको चामल थियो भन्ने धारणा आएका छन् कथामा ।
नवराज रिजालबाट लेखिएका ५७ वटा कथाको केही सारभाव मैले पस्कने कोसिस गरैं । नवराज रिजालले यस कथामा सामजिक यथार्थतामा आधारित रहेर समाजमा देखिने राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रका विकृति र विसङ्गतिलाई राम्ररी समाएका र केलाएका छन् । गरिबीले थिचिएका भोकाक्रन्दनहरूले यस कथामा उच्च स्थान पाएका छन् । भ्रष्टचारीहरूले गर्ने भ्रष्टचारका यथार्थता, शैीक्षक व्यक्तित्वले अपनाएका यथास्थितिवादी प्रवृत्ति, मानिसमा गाडिएका पुरातनमुखी प्रवृत्ति, समाजमा आउन नसकेको  परिवर्तन आथि विविध क्षेत्रलाई कथाहरूले समटेका छन् ।
शीर्षकी करण – अदृश्य पीडा नामाकरण गरिएको यस कथासङ्ग्रहमा अदृश्य पीडा नामक कथा समावेश गरेको पाइदैन । यस कथासङ्ग्रहभित्र आवरणमा सहजरूपमा  देख्न नसके पनि हरेक कथाको अन्तस्करणमा थुप्रै पीडाहरू लुकेका छन् र ती लुकेका पीडालाई नवराजले प्रदर्शन गर्न सफल देखिएका छन् । यस आधारमा शीर्षक सार्थक छ भन्न सकिन्छ ।
पात्र विधान – यी कथामा नवराजले भौगोलिक अवस्थाको अध्ययनलाई नजर राख्दै पात्रहरूको चयन गरेको देखिन्छ ।सबै कथामा आएका पात्रहरू क्रियाशील छन् । कथाले भन्न चाहेको धारणासँग मेल खाने खालका छन् ।।
भाषा शैली र प्रस्तुती –भाषा सरल छ । सबै किसिमका पाठककोलागि ग्राह्य छ । उखान टुक्का तथा यथास्थानमा शब्दसंयोजन राम्रो छ । कथामा प्रस्तुती पनि महत्वपूर्ण हुन्छ । प्रस्तुती लोभ लाग्दो छ ।  समग्रमा कथाहरू सहज र सरल छन् ।
अन्त्यमा नवराजका कथामा मानव जीवनका पीडा, पीडाबोध गर्नु सिवाय अरू गर्न नसकिने विवशता, गरिबी माथि धनीहरूका उपेक्षा र तिरस्कार, गरिबीले थिचिएको समाजले गरिबीबाट मुक्ति पाउन नसकी कतै मृत्युवरण, कतै आशा, कतै निराशा, कर्मचारी तन्त्रमा देखिने व्यापक भ्रष्टचार, कतै चाकरी, कतै कामचोर र गफाडी आदि थुप्रे घटनाक्रमहरू रिजालले समाउनु भएको छ ।
 रिजालको लेखनकला अझै मौलाउँदै जावस भन्दै विदा हुन्छु ।
मिति २०७९ साल वैशाख १३

February 20, 2022

शक्तिको मूल्याङ्कन

हाम्रा पुराणहरूमा अनेकौं ज्ञानबद्र्धक कथाहरू पढ्न पाइन्छन् । ती सबै देवता र ऋषिमुनिहरूसँग सम्बन्धित हुन्छन् । यहाँ मैले पनि पौराणिक कालका हा हा र हू हू नामका दुई ऋषिहरूको कथालाई प्रस्तुत गर्न गइरहेको छु । यिनीहरू आध्यात्मिक ज्ञानमा आपूm अर्को भन्दा निकै बलियो भएको ठान्दथे । तँ भन्दा म ठूलो, म ज्ञानी, भन्दै झगडा गर्दै जाँदा दुबैले ब्रह्मासँग गएर आध्यात्मिक शक्तिमा को शक्ति शाली भनेर आप्mना परीक्षा दिएर आफूलाई शक्तिशाली भएको घोषण गराउन चाहान्थे । दुबै जना ब्रह्मसँग गए । ब्रह्माजीको स्तुति गर्दै भने –"ब्रह्माजी हजुर जस्तो ज्ञानी संसारमा कोही छैन । हजुरलाई तीन लोक १४ भूवनका एक चीज थाहा छ । हजुरले भनि बक्सियोस् हामी दुईमा आध्यात्मिक शक्तिमा कुन बलिया छम् ।" ब्रह्माजीले पनि बिचार गर्नु भयो र यी दुईको अहम्तालाई विचार गर्दै अन्तरयामी हुँदाहुँदै पनि तिमीहरूको शक्ति परीक्षण लक्ष्मीपति विष्णुजीबाटमात्र सम्भव छ भनी  भगवान विष्णुको सरणमा पठाए । भगवान विष्णुले यिनका कुरा सुनेर सजिलो सँग भनिदिनु भयो यस्ता गहनकाम त कैलाशपति महादेवबाटमात्र सम्भवछ ।तिमीहरू उहाँकोमा जाओ भने पछि दुबै जना शिवजीकोमा पुग्दछन् । यहाँ पनि हाहा र हू हूको इच्छ्यापूर्ति हुनसकेन । शिवजीले दुबैलाई पृथ्वीमा मतंग ऋषिकोमा जानु र आप्mनो साधना गर्नु भनी पृथ्वीमा पठाउनु भयो । यी दुबै ऋषिहरू मतंग ऋषिकोमा जाँदै गर्दा भयंकर शरीर भएका मतंग ऋषिलार्ई टाढेबाट देख्छन् । हा हाले ऋषिलाई हात्तीको जस्तो ठूलो शरीर भएको  कल्पना गर्दछन् भने हू हूले ऋषिलाई गोही( ग्राह)को रूपसँग तुलना गर्दछन् ।
मतंग अन्तरयामी थिए । यी दुबै ऋषिहरू किन आएका हुन र उनको भावना  कस्तो छ भन्ने ज्ञान ऋषिलाई भैसकेको थियो । अहम्ताले भरिएका यी ऋषि जव मतंगको कुटीमा पुगे र आप्mनो आगमनको कुरा बताए । ऋषिले पनि तपाइँहरूको सोच मप्रति कस्स्तो बनेको छ । त्यहीरूप धारणा धारण गर्नु होस् र आप्mनो शक्तिको परीक्षण आफै गर्नु होस भनेर श्राप दिए । यी दुबैको मृत्यु भयो र हात्ती र ग्राहको रुपमा पुनर्जन्म  लिनु प¥यो ।
यो कथा पुराणबाट लिएको हो स्वनिर्मित कथा हैन )

February 18, 2022

म परीक्षामा सफल भएँ सदानन्द आभगी

         
 एक गाउँमा एउटा धनी मानिसका तीन भाइ छोरा र एउटी छोरी थिए । दिन बित्तै  गए बुढाको उमेर ढल्कँदै गयो । रोगले सताउन थाल्यो । धनी बुढो विमार परेकै समयमा
एउटा मध्यम वर्गिय बृद्ध धनको आवश्यक परेर श्रृण माग्न गएछ । सरसापटी गर्दै चलेका दुबै बुढाको जीवनकाल विमारी बुडाले अर्को बुडोलाई नाइभन्न नसकेकर    उसका साथमा रहेका ९० हजार रूपयाँ सापटी दिंदै भनेछ– " मित्र तिमीलाई थाहै छ मैले योसम्पत्ति कति दुखले सङ्ग्यालेको थिए । छोराहरूको विवाह पनि उच्च खानदानमा गरिदिए । धनको कमी छैन । भाग्यको खेला भनौंकी मैले दोर्न नसकेर एउटीमात्र छोरी लमीको खेलमा परेर अलिक गरिब केटालाईं दिन पुगें । छोरीको दैनिकी कष्टकर छ । अब म कति बाँचुला र ? यो पैसा छोराहरूले थाहा नपाउने गरी छोरीलाई दिने बिचारमा छु । आजको लागि यो पैसा सापटी लैजानु होस् र म मरेभने पनि यो पैसा छोरीलाई दिइदिनु होला।"
सबैका यो जीवन मरणशील छ । नभन्दै बुढाको आयु सकिए छ । यो संसारबाट ऊ सदाको लागि अस्तायो । छोरी पनि बाबुको अन्त्येष्टिको लागि माइत आइन् । हाम्रो परमपरा अनुसार छोरीले ५ दिन मात्र क्रियाकर्म गरे पुग्ने भएकोले बाबुको साथी पैसा बोकेर साथीको घरमा आयो । यी सबैले क्रियाकर्म गर्न त बसेका छन् । बाबुप्रति कत्तिको  पितृभक्ति राख्दा रहेछन् त भनी परीक्षा लिने बिचर उसमा पलायो । छोराहरू र छोरी समेतलाई एकै ठाउँमा बोलाएर भन्यो – "बाबु हो  तिम्रा बाबाको र मेरो साथित्व कति गहिरो थियो तिमीहरूलाई थाहै छ । हामी लाखौंको लेनदेन गर्थेम् । न तमसुक लेखिन्थ्यो न कसैलाई साक्षी राखिन्थ्यो । बुबाले यस पटक ९० हजार रुपियाँ  म सँगबाट लिनु भएको छ । समय मै भन्नु भएन भनौला भनेर अहिले सबैको सामु यो कुरा राखें । छोराको दायित्व हो कि आप्mना बाबुले कमाएको धन सम्पत्ति तथा लगानीलाई उठाउने र बाबुले ऋण लगाएको भए तिरेर मृत्य बाबुलाई ऋण मुक्त गराउने । यस पटक तिम्रा बाबुले मसँगबाट ९० हजार रुपियाँ सापटी लिएका छन् । यस्ता वेलामा जानकारी दिनमात्र आएको हुम् । कहिले कस्ले दिन्छौं त ?" तीन भाइ छोराहरूले जवाफ दिए – "बाबुले हामीलाई नसोधी लिएको ऋण हामीले तिर्न बाध्य छैनौं । तपाइँलाई थाहै छ यो घरमा पैसाको कमी छैन । एकलाख रुपियाँँ त बाबाको बाकसमा नै दाखिला थियो । उठाउने रकम र तिर्न पर्ने रकमको बहीखाता हामीसँगै छ । तपाइँले दाबी गरेको रकम हामी दाजुभाइले तिर्न बाध्य छैनौं ।हामी तिर्दैनौं ।"
छोरीले नजिकबाट सुनिरहेकी थिइन् । दाजुहरूले पैसा नतिर्ने भए पछि । उनको मन तीतो भयो ।त्यत्रो पैसा तिर्न सक्ने क्षमता पनि थिएन । उनी लामो सास तान्दै बाबुको साथीलाई भनिन्– "अंकल संसार विश्वासमा अडेकोहुन्छ । हजुरहरू दुईको मित्रता लेन देन सबै के कसरी हुन्थ्यो सबैलाई थाहा छ । बाबाले लिएको रकम म सँग त छैन तर म सँग  गहना छन् ती गहना लगेर बेचेर हजुरको ऋण के कति असूल हुन्छ लिनुहोस् र बाँकी रकम म हजुरलाई पछि दिन्छु ।"
बाबुको साथीले भन्यो –"धन्य हौ छोरी तिम्रो महान पितृभक्तिप्रति। तिम्रा बाबाले मलाई  ९० हजार रुपियाँ तिमीलाई दिनु भनेर सापटी दिएका थिए राख" भन्दै ९० हजार रुपियाँ छोरीलाई दियो । अनि भन्यो– " मैले मायाको तराजु बाबुआमाप्रति छोराछोरीको कति संतुलित छ या बाबु आमालाई माया गर्ने तराजु छोराको भन्दा छोरीको गह्रुङ्गो  हुन्छ भन्ने सुनेको थिएँ । मैले परीक्षा लिनु थियो म परीक्षामा सफल भएँ ।"

प्रजातन्त्र कहिले आउँछ ?” सदानन्द अभागी

आज शुक्रबारको दिन । कावासोती बजार बन्द थियो । तैपनि राम कावासोती पुग्नै पर्ने बानी बसी सकेकोले ऊ एक्लै भए पनि लुरुलुरु हिंडेर फलपूmल चोकतिर जान घरबाट निस्कियो । आज ऊ एक्लै थियो । कुसनरीबाट अगाढी बढ्दै गर्दा उसका मनमा अनेकौं तरङ्ग उठ्छन् ।ऊ उकालो चढ्छ । उकालै चढेपछि दुईओटा चौतारीको नजिक पुगेपछि ऊ दोधार्मा पर्छ । मनमा कुरा खेल्छन् र बस्ने कि अगाडी बढ्ने सोचमा ऊ डुब्छ । केही क्षण बस्नु नै राम्रो भन्ने निष्कर्ष निकाल्छ । दाहिने तर्फको  चौतारीमा ऊ बस्न पुग्छ । ऊ बस्नमात्र थालेको थियो पश्चिम दिशाबाट एउटा ठूलो पोथी बँदेल बच्चा सहित रप्mतारमा पूर्वतिर दौडी रहेका थियो । राम निकै डरायो ।  केहीसमय बसेपछि ऊ त्यहाँबाट अगाडी बढ्छ ।केटाकेटीहरूले फोटो खिच्दै हाँस्दै गरेको देख्छ । उस्ले आप्mनो जवानीलाई स्मरण गर्छ । उसको पालामा न क्यामेरा नै थिए । आजको जस्तो खुलापन पनि थिएन । केटा केटी सँगै भए यो त विग्रिएछ भन्थ्ये
 ऊ अझै अघि बढ्छ । त्यहाँ जंगलमा लगेर छोडेका गाइका बाच्छाहरू देख्छ । कुपोषणलेयुक्त ,गाईले बाच्छो नलगाएसम्म दूध नदिने भएपछि बाच्छा पाल्न विवसताका कारणले पालिएका र गाइले दूध दिन छाडेपछि जंगलमा लगेर छोडिएका । खानको लागि घाँसपात भए पनि त्यहाँ तिन्ले पिउनेपानी पानी छैन । पूर्व –पश्चिम  राजमार्गको दुबैतिर यस्ता वेवारेसी बाच्छाहरू ऊस्ले थुप्रै भेट्छ । यी  निदर्यी मानवहरूले दूध बेचेर पैसा कमाउने लोभका कारणले आप्mनो मानवीय धर्म, कर्म, दया, माया, सबै त्यागेको देख्दा ऊ दुखित बन्छ ।
गाई पाल्ने दूध बेच्ने बाच्छा कसरी मर्छन् भन्ने स्वार्थी प्रवृत्तिमा ऊ सहमत हुन सक्दैन  । उसले संविधानमा गाईलाई राष्ट्रिय जानवरको रूपमा  उल्लेख गरेको  सम्झन्छ ।  धर्मसापेक्ष  हिन्दुराष्ट्रलाई धमैनिरपेक्ष राष्ट्रको रूपमा घोषण गरेको सम्झन्छ ।   अन्त्यमा ऊ केही क्षण वेवारिसे बाच्छा बन्छ र सोच्न थाल्छ –    
"मेरी आमा लक्ष्मी मानिन्छिन् । तिनै आमाको छोरा म  आज यो दुर्दशामा  बाँचिरहेको छु । धर्मसापेक्ष भएर के नै भएको थियो ? हो त्यसबेला हामीलाई जोत्ने काममा प्रयोग हुन्थ्यो, जोत्नेदिन दयावान मालिकले पेटभरी खुवाउँथ्यो र दिनभरी कुटि कुटि जोत्ने  काम गथ्र्यो । आजको जस्तो यो अवस्थामा मर्न पर्दै नथ्यो । आज विकासले तीब्र गति लियो, हाम्रो काम सबै टेक्टरले गर्न थाल्यो । हामी लक्ष्मीका पुत्र भएर पनि एक गास खान पाउने अवस्थामा रहेनौ ।
आज धर्मनिरपेक्ष भएर, हामी बाच्छाहरूलाई  के नै हुनेवाला छ र ? अँ एउटा कुरा के भने हमीलाई खानेवाला धर्मका मानिसको संख्या बढ्दै गएको छ ।  तिनीहरूको संख्याले  बहुमत प्राप्तगर्न सक्यो भने हामी अभक्षबाट भक्षमा परिणत हुन सक्छौं ।  त्यति वेला भने यिनै गाईपालकले पैसाको लोभले हामीलाई राम्रैसँग पाल्ने छन्, मोटाउँछ कसरी भन्ने छन् र कटाइमा बेच्ने छन् । हाम्रो यायु यतिवेला पनि अर्कैको हातमा  सुरक्षित हुनेछ । ? "
अन्त्यमा रामु आप्mनो सहीरूपमा आउँछ र भन्छ –"यी पाल्तुपशुको प्रजातन्त्र कहिले आउँछ ?"

February 5, 2022

डा. नारायणप्रसाद खनाल र सदानन् बीचको भलाकुसारीको सार संक्षेप्त

१ं सर, नमस्कार! आराम हुनुहुन्छ? वर्तमान दिनचर्या केसरी बिताइरहनुभएको छ ?
नमस्कार सर । म आरामै छु । हाल मेरो दैनिकीहरू तीनवटा काममा व्यतित हुँदै गएका छन्। सर्बप्रथम घरको काममा सहभागी हुनु , दोस्रो काम साहित्य लेखन र साहित्यिक कृतिहरू अध्यन गर्नु  र तेस्रो काम समाज सेवा (जेष्ठ नागरिक जिल्ला संघको अध्यक्ष भएको नाताले जेष्ठ नागरिक संस्थालाई सम्बद्र्धन गराउनुमै व्यस्त छु) ।
२.यतिखेर कुनै नया कृति तयार गर्दै हुनुहुन्छ कि?
स्वर्गको यात्रा भन्ने महाकाव्य (गरुण पुराणको कथामा आधारित ) धेरै वर्ष भयो पुरा गर्न सकेको छैन । त्यसमा पनि समय दिन पर्ने हो त्यति समय दिन सकेको छैन तापनि यसलाई तयार गर्नै पर्छ भन्ने मनमा लागेको छ । समालोचना लेखनले निरन्तरता पाइराखेको छ र विभिन्न पत्रपत्रिकाम प्रकाशन भै राखेका छन् ।
३. छयहत्तरौं वर्षमा पदार्पण गर्नुभएको छ,कसरी बितेजस्तो लाग्छ यो समय ?
यसको जवाफ कसरी दिने खोई ? बालककालदेखि हालसम्मका सबै दिनको स्मरण गर्दा बृहत ठेली नै बन्न जान्छ तर हलुका रूपमा लिने हो भने यी दिन ख्यालख्यालमै बिते जस्तो लाग्छ ।
४. कृषि प्रविधि र यसका बिउबीजन,माटोपानी ,उर्बरक जस्ता तमाम वैज्ञानिक कुरामा  र साहित्य सृजनामा लाग्दाका केही मीठा–नमीठा अनुभव भए जान्न पाऊँन ?
कृषि प्रविधि र यसका बिउबीजन,माटोपानी ,उर्बरक जस्ता तमाम वैज्ञानिक कुराहरू मेरो जीवन निर्वाह गर्ने वाटो(जागि) हो । यसमा मैले थुप्रै परिश्रम गर्नु प¥यो । खास गरेर मुख्य पढाईको विषय पशुपालन रह्यो । जागिर स्थाई माटो विज्ञानमा भइयो तर पनि म माटोमा नै भिजे थुप्रै कृतिहरू, लेख रचनाहरू प्रकाशनमा ल्याएँ, नेपाल टेलीभिजन र रेडियो मार्फत सन्देश प्रवाह गरें । यी काम मेरा जीवनका मिठा अनुभव भए । यसै सन्दर्भमा माटो जाँचगर्ने प्रयोगशाला निर्माण गर्दा मसिन जडान गर्दा,दक्ष जनशक्तिको अभावको कारण सहजरूपमा माटो मल जाँच गर्ने तरिका तथा मेशिनको अभाव र बजेटको समेत कमी भएको बेलाके गर्ने के नगर्ने भन्ने सोच पलाउँदा दिक्क पनि लागेर आउँथ्यो तर गर्छु र गर्न सकिन्छ भन्ने अठोट भित्र मनबाटै पलाएर आउँदा नमिठा चीज पनि मिठोमा हुँदारहेछन् । सबैले भोग्न पर्ने दैनिकी तीतो मिठो अनुभवको मैले पनि गरें ।
 कुरा रह्यो साहित्य सिर्जनाको । यस विषयमा साहित्य मेरो रुचिको विषय हो । यसमा शब्द चयन र संयोजन जस्ता विषय ् छन्दको ज्ञानको अभावले गर्दा छन्दशास्त्रीहरूको माझमा बस्दा केही कम आनन्द भएको महसूस गरेको छु
 ५.यति वेला  'सदानन्दको जीवन,कर्म र व्यक्तित्व' शोधग्रन्थ प्रकाशित हुँदैछ ,के यसअघि पनि कुनै  आफ्ना कृति  र जीवनीबारे यस्तो शोध भएको थियो?
मेरो व्यक्तित्व र कृतित्वको दुई सोधपत्रहरू भएका छन् । पौडेल, दुर्गा, (२०६४), साहित्यकार सदानन्द अभागीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (अप्रकाशित स्नातकोत्तर शोधपत्र), भरतपुर, वीरेन्द्र बहुमुखी क्याम्पस र गड्तौला, गंगाराम, (२०७२), सदानन्द अभागीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन, (अप्रकाशित शोधपत्र), कीर्तिपुर, त्रिभुवन विश्वविद्यालय । गंगारामको सोधपत्रमा सदानन्द अभागी गंगाधर जैसी रिजालको नाति कलाधरको छोरा हुनुपर्नेमा बासुदेवको नाती हुन गएको छ ।गंगाधर र बासुदेव सहोदर दाजुभाइ थिए । वंशावली विवरणमा गंगाधरको नाती, कलाधरको छोरा पंक्तिमा हुन पर्नेमा बासुदेवको पंक्तिमा राखिएकोले त्रुटी भएको छ ।
६.जीवन वास्तवमा के रहेछ सदानन्द सर?
 मेरो बुझाइमा जीवन संघर्ष हो । जो संघर्ष गर्न सक्छ उसको जीवन सफल हुन्छ संघर्षबाट भाग्ने मानिस कहिल्यै सफलता हाँसिल गर्न सक्दैन भन्ने रूपमा परिभाषित गर्थे तर दिन बित्तै जाँदा, अनुभव बटुल्दै जाँदा जीवन के रहेछ  भन्नु भन्दा जीवन के रहेनछ भन्न मन लाग्छ ।जीवन पूmल पनि हो अनि काँडा पनि हो । जीवन हाँसो पनि हो र रोदन पनि हो,जीवन स्वर्ग पनि हो र नर्क पनि हो । समुच्चमा संसारिक जीवनको एक उच्चतम् क्रीडास्थल हो । जन्मेदेखि मर्ने वेलासम्म विभिन्न खेल खेल्दाखेल्दै संसार छाड्दछम् ।    
७. तपाईंले अहिले र निकट भविष्यमा के के गर्ने योजना बनाउनुभएको छ ?
कुनै पनि कामको लक्ष हाँसिल गर्न योजना बनाएर काम गर्नुपर्छ तर मैले कुनै खास योजना बनाएको छैन ।त्यसैले जेजति उपलब्धी हाँसिल गर्नु पर्ने थियो त्यति हाँसिल गर्न सकेको छैन तर  लेखन र समाज सेवालाई बाँचुन्देर, शरीरले साथ दिने बेलासम्म निरन्तरता दिने बिचारभने जीवन्त छ ।
८.आफ्ना सन्ततिलाई र  साहित्यका पाठकहरूलाई एक स्रष्टाका हैसियतले के सन्देश दिन चाहनुहुन्छ?
आजको संसार सांघुरो घेरामा बाँधिएको छ । मिनट मिनटमा संसारका हरेक क्रियाकलाप हामिले सुन्न सक्छौ टिभी द्वारा देख्न सक्छौ त्यसो हुँदा समय सुहाउँदो भएर अगाडी बढ्न सक्नु पर्छ । अध्ययन र लेखन कर्म नै सबैसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिने माध्यम हुन् । सिर्जनाले मानिसलाई परिवर्तनको पाठ सिकाउँछ र सिर्जनाकारलाई अमरत्व प्रदान गर्छ । अति व्यस्तताको अवस्थामा पनि केही समय अध्ययन र सिर्जनामा लागौं मानिसको यो अमूल्य जीवनलाई साकार तुल्याउँ ।  
९. त्रिवेणी साहित्य प्रतिष्ठान (र परिषद् समेत )बाट प्रकाशित कृति र यसका कर्मबारे  केही टीका टिप्पणी सुनौ न ?
त्रिवेणी साहित्य प्रतिष्ठानको पूर्वरूप त्रिवेणी साहित्य परिषद थियो । यसले साहित्यको क्षेत्रमा गहकिलो काम गर्र्दै नवलपरासीको साथै छिमेकी जिल्ला चितवन लगायत विविध स्थानहरूलाई समेट्दै साहित्य सम्मेलन, कविगोष्ठि, स्रष्टासम्मान, नगद पुरस्कार र कृति प्रकाशनको क्षेत्रमा अतुलनीय काम गरेको थियो ।हाल यस्को कार्यगत गतिशीलताले गर्दा त्रिवेणी साहित्य प्रतिष्ठानको रूपमा परिणत भएको छ । प्रतिष्ठानमा परिणत भएपछि  साहित्यिक कार्यक्रम, कृतिप्रकाशन र सदस्यता बृद्धिको क्षेत्रमा कार्यगत तीब्रता बढ्दै गएको छ । यस प्रतिष्ठानको नेतृत्वदायी भूमिकामा डा. नारायणप्रसाद खनाल अग्रणीरूपमा रहनुको साथै गोविन्दराज विनोदी लगायत सम्पूर्ण त्रिवेणी साहित्य प्रतिष्ठानका परिवारको महत्वपूर्ण योगदान छ भन्दा अन्यथा लाग्ने छैन । यस्तो महत्वपूर्ण प्रतिष्ठानको आजीवन सदस्य हुन पाएकोमा आपूmलाई गौरान्वित ठान्दछु । मेरा सिर्जना 'मोहनीको मीठो म्वाइँ –कवितासङ्ग्रह र 'पाल्पालीका गजलमा दृष्टि'(समालोचनासङ्ग्रह) यसै प्रतिष्ठानले प्रकाशन गर्नुको साथै मेरै बारेमा पाल्पा निवासी राम ज्ञावली, द्वारा सिर्जना गरिएको 'सदानन्दको जीवन, कर्म र व्यक्तित्व' शोधग्रन्थ पनि यसै प्रतिष्ठानबाट हुनगइरहेको छ । उक्त शोधग्रन्थको सम्पादन गर्न र प्रकाशन व्यवस्थनपनमा अहोरात्र खट्नु भएकोमा आदरणीय÷अग्रज, समालोचक, तथा बरिष्ठ साहित्यकार डा.नारायणप्रसाद खनालज्यू, जीवन, कर्म र व्यक्तित्व' शोधग्रन्थलाई आद्योपान्त पढेर लेखकलाई सुझाव एवम् शुभकामनारूपी धारणा राखिदिनुहुने आदरणीय÷अग्रज तथा बरिष्ठ साहित्यकारहरू प्रा.डा. चूडामणि बन्धु र गोविन्दराज विनोदी ज्यूको साथै त्रिवेणी साहित्य प्रतिष्ठान परिवारप्रति आभारव्यक्त गर्दछु ।
१०.नवलपरासीको नेपाली  साहित्यले राष्ट्रिय साहित्य निर्माणमा के कसरी योगदान गर्न सक्ला सर ?
म त भन्छु नवलपरासीको नेपाली साहित्यले राष्ट्रिय साहित्य निर्माणमा वर्तमान परिपेक्षमा नै योगदान पु¥याएको छ । नवलपरासी विभाजन नहुँदा, यसको योगदान अझै बढी थियो तर विभाजित नवलपरासी(नवलपुर क्षेत्र)मा पनि उच्च स्तरीय साहित्यकार छन् र उच्चस्तरीय साहित्य सिर्जना भएकाछन् । नेपाली साहित्यको स्तर राष्ट्रिय मात्रै नभएर अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धामा जान यहाँका उच्चकोटीका कृतिहरूको अंग्रेजी लगायत अन्य भाषामा अनुवाद गर्न सक्नु पर्छ ।अनुवादित लेख र।चनालाई प्रचार प्रसार गर्नुपर्छ । आधुनिक प्रविधिहरूको प्रयोग गरेर लेखिएका लेख रचनाहरूलाई राष्ट्रिय  र अन्तराष्ट्रिय पाठक सामु पु¥याउन सक्नुपर्छ । खोज अनुसन्धानमा लाग्नु पर्छ ।  
११.अन्तमा सरलाई केही थप कुरा सोधेको भए हुन्थ्यो जस्तो लागेको भए कृपया त्यसको पनि जानकारी पाऊँन सर ?
यस विषयमा यति वेला  'सदानन्दको जीवन,कर्म र व्यक्तित्व' शोधग्रन्थ प्रकाशित हुँदैछ भन्ने प्रश्न डा. सावले मथि उठाउनु भयो । 'तपाइँकै बारेमा लेखिएको कृतिमा' राम ज्ञावलीले पनि केही भन्नु हुन्छ भन्ने प्रश्न राख्नु भएको थियो तर मैले कुनै टिप्पणी गर्नु हतारिनु हुन्छ भन्ने जवाफ दिएको थिएँ तर आज एउटा कुरा यहाँ राख्नुपर्ने देखियो र्। त्यो कुरा के भने  'सदानन्दको जीवन,कर्म र व्यक्तित्व' शोधग्रन्थमा सहभागी सम्पूर्ण साहित्यकार,शुभेच्छुककर्ता भूमिकाकार, घरपरिवार, मेरा हाकिमहरू, मसँग काम गर्ने सहकर्मी साथिहरू, मैले काम गरेका क्षेत्रका कृषक परिवारहरू ,कलाकार, चित्रकार,पत्रकार,विभिन्न साहित्यिक संस्थाहरू,पत्र पत्रिकाहरू, टेली भिजनहरू इष्टमित्र, बन्धुवान्धव,आदि आदि सम्पूर्णको म प्रतिको आदरभावले गर्दा आज मेरो गौरवमय इतिहासको निर्माण भएको छ । यी सबै मेरा सदृश्य देवता हुन् । यी देवताको पूजा आराधना नै  सच्चा भगवान भक्ति हुनेछ भन्दै जीवित देवताहरू तथा मृत्यपितृहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।
धन्यवाद
२०७८ साल माघ महिना २२ गते