March 12, 2023

नवप्रज्ञापनको सम्बन्धी मेरो धारणा

 सदानन्द अभागी
सम्पादक ÷ प्रकाशक नवराज रिजाल र मेरो प्रत्यक्ष चिनाजानी धेरैपछि भए पनि उहाँको नाम र कामबाट भने म निकै पहिलादेखि जानकार थिएँ र निकै प्रभावित पनि थिएँ । उहाँले पनि मेरा लेख रचना अध्ययन र प्रकाशन गरेको कुरा जानकारीमा आयो । कृति आदान प्रदानको कर्ममा उहाँसँग केही महिना अघि प्रत्यक्ष भेट गर्ने मौका मिल्यो र उहाँबाट थुप्रै कृतिहरू तथा पत्रिकाहरू प्राप्त गर्ने सौभाग्य मिल्यो । नवप्रज्ञापन पूर्णाङ्क अंक (९९ माघ–चैत)मा नवप्रज्ञापन २०८० वैशाखमा पत्रिकाको शताङ्क अंक प्रकाशनको तयारी रहेको जानकारी पाएँ । यो एउटा खुसीको कुरा भयो । २०५० सालमा प्रवेशाङ्क– १ (साउन भदौ) अंक लिएर थालनी गरेको नवप्रज्ञापनले विभिन्न विधामा विशेषांक र लघुशब्दचित्रहरू, स्वर्णअंक, नेपालीय भोजपुरी साहित्य विशेषाङ्क,जस्ता महत्वपूर्ण विविध विधाका विशेषाङ्क प्रकाशनले अतुलनीय काम गरेको छ । अविछिन्न ३० वर्ष पत्रिका प्रकाशन गर्दै आउनु भनेको चानचुने काम हैन । नेपालमा धेरै पत्रिकाहरू उदाए अनि अस्ताए तर नवप्रज्ञापन नयाँ नयाँ साहित्यिक सिर्जना खोज अनुसन्धानको साथै नवसर्जक र पुराना स्रष्टाहरूलाई आवद्ध गराउँदै अग्रगतिमा लम्कनु एक अनुकरणीय काम हो । नयाँ प्रज्ञापन केही विशेषाङ्क पनि मैले प्राप्त गरेको छु । सर्वप्रथम बाल साहित्य विशेषाङ्क (अंक ६०), आवरण पृष्ठ बाहेक ४६४ पृष्ठको यस विशेषाङ्कमा इतिहाँस (४ स्रष्टाहरू), अनुभूति (१ स्रष्टा), लेख (८ स्रष्टाहरू), खोजी (१३ स्रष्टाहरू), समालोचना (२२ स्रष्टाहरू), नाटक (३ स्रष्टाहरू), कविता ÷ गीत÷ गजल (५१ स्रष्टाहरू ), विविध(४ स्रष्टाहरू), र कथा (३१ स्रष्टाहरू )का सिर्जनाहरू समावेश गरिएका छन् । यो कृति बृहत आकारको छ । यो बाल साहित्यको एउटा सुन्दर दस्तावेजको रूपमा आएको छ ।
दोस्रो भानु विशेषाङ्क (अंक ६४)मा ८२ स्रष्टाहरूका लेख कविताहरू समावेश गरिएका छन् । यसले भानुभक्तको विविध पक्षमा प्रकाश पारेको छ । डा. सुधन पौडेलले 'भानु' विशेषाङ्कः पृष्ठभूमि र औचित्य शीर्षकको लेखले यस विशेषाङ्कको महत्वलाई दर्शाएको छ । विभिन्न साहित्यकारहरू एवम् कविहरूले आदिकवि भानुभक्तप्रति विभिन्न दृष्टिकोणबाट विश्लेषण गरेका छन् । यो विशेषाङ्क आदिकवि भानुभक्तप्रति  एउटा महत्वपूर्ण दस्तावेजको रूपमा सिर्जना भएको देखिन्छ । समग्र भानुका सिर्जनामा यो विशेषाङ्कले प्रकाश पार्ने प्रयास गरेको छ ।
मैले प्राप्त गरेको तेस्रो छन्द कविता विशेषाङ्क ६८ औं अंक हो । डा सुधन पौडेलले नेपाली छन्द कविताको इतिहासको विकासक्रममा यस कृतिमा ११३ रचनाहरू समावेश गरिएका छन् र छन्द कविताहरूको संख्या १०१ छन् । छन्द र समालोचनासम्बन्धी  ११ लेखहरूका साथै एक जनाको अन्तर्वाता समावेश गरिएको यो विशेषाङ्कले छन्दको बारेमा जानकारी लिन चाहाने सबै प्रकारका पाठकहरू, विद्यार्थीहरू, छन्द–अध्ययनकर्ता, छन्दमा कविता सिर्जनाकर्ता, बहरमा गजल लेखनकर्ता, अनुसन्धानकर्ता लगायतको लागि अति महत्वपूर्ण दस्तावेज बनेको छ ।
 मैले प्राप्त गरेको चौथो लघुकथा विशेषाङ्क ७२ औं अंक हो । यस अंकमा हिड्ने बाटो(१ स्रष्टा), आलेख (२ स्रष्टाहरू), समालोचना (६ स्रष्टाहरू), समीक्षा (९स्रष्टाहरू) कुरा कानी (१ स्रष्टा ) र नेपाली लघुकथाहरू (१४३ स्रष्टाहरूका लेख रचनाहरू) समावेश गरिएका छन् । यी लघुकथाहरू देश भित्रका लघुकथाको मात्र नभै छिमेकी देशका लघुकथाकारहरूका लघुकथामा भारतका कथाकारका कथा प्रा.डा.कपिल लामिछाने ज्यूबाट अनुवाद सहित उपलब्ध गराइएका छन् । विदेशी लघुकथाहरूमा विश्व प्रसिद्ध कथाकारहरूका अपराध सम्बन्धी कथाहरू नेपालीमा रूपान्तरण गरी गगनदीप सर्वले उपलब्ध गराएका कथाहरू समेत यस विशषांकमा समावेस गराइएकाछन् । कथा विविधताले भरिएका, सरल प्रस्तुती, सहज भाषा, पढ्नमा रसिक र ज्ञान बद्र्धक छन् ।
 नवराज रिजालके साहित्यप्रतिको योगदान प्रशंसनीय र अनुकरणीय छन्  भन्दै विदा चाहान्छु ।
धन्यवाद
 
 

No comments:

Post a Comment