May 8, 2022

तुलसी गौतम, पूर्व सहसचिव, कृषि विकास मन्त्रालय–कृषि विभाग

साहित्यिक विधामा डुवुल्की मार्ने कृषि विशेषज्ञःसदानन्द अभागी
१. व्यक्तित्व र सामीप्यता
कृषि विशेषज्ञ भएर पनि साहित्यिक विधामा उत्तिकै रमाएका सदानन्द अभागीको व्यक्तित्व र कृतित्व उहाँकै जीवनकालमा प्रकाशित हुन थालेको छ । उहाँबाट चिने जानेका व्यक्तित्वहरूका धारणा र विश्लेषण सामावेश गर्ने क्रममा यो पङ्क्तिकार पनि पर्दछ । यसको श्रेय उदीयमान साहित्यकार, कृतिका संयोजक एवं संम्पादनकर्ता राम ज्ञवालीलाई दिन चाहन्छु। उहाँकै प्रयासमा म पनि मौकाले फेला परेको थिए । यो कृतिले ग्रन्थ नायकको व्यक्तित्व र कृतित्वको मूल्याकन हुने छ । प्रायशः निधनपश्चात् निस्कने स्मारिका वा ग्रन्थहरू अरूका लागि प्रेरक बन्न सक्छन्  तर ग्रन्थनायकको जीवन कालमा आफूबारे अरूका मूल्याङ्कन र धारणा थाहा पाउनु आफैमा रोचक र पृष्ठपोषक हुने नै छ । उहाँले पनि जीवनमा भोगेका, देखेका र सुनेका जीवनगाथा प्रकृतिका उपहार, सामाजिक–राजनैतिक घटनाहरू र पात्रहरूलाई साहित्यिक धारमा कसी लगाएर दर्जनौँ कृतिहरू प्रकाशन गर्नु भएकोले उहाँकै जीवनकालमा यो कृति उहाँकै लागि सच्चा उपहार हुनेछ । म पनि संयोगले मिसिन पुगेको छु । यस अर्थमा ग्रन्थनायक भाग्यमानी ठान्दछु । उहाँले अव "अभागी"को उपमालाई हटाएर"भाग्यमानी" राखे कसो होला ? ग्रन्थ नायकबाट उत्तरापेक्षी छु ।
यो पङ्क्तिकार र ग्रन्थनायक पेशाले दुवै कृषि क्षेत्रका जागीरे थियौँ । कृषि विकास  मन्त्रालयको कृषि विभागमा कार्यरत हामीमा उहाँ माटो विज्ञ र यो लेखक अर्थ विज्ञ थियो । कार्य थलो एकै ठाँउ हरिहर भवनमा भए पनि सामान्य चिनाजानी मात्र थियो । एक दिन मेरो कार्य कक्षमा उहाँ आउनु भयो । सामान्य औपचारिकता पछि एक कृति झोलाबाट निकालेर देखाउनु भयो । यो "अग्निज्वाला" उहाँको २०६१ मै प्रकाशित महाकाव्य रहेछ । यसको समीक्षा गरिदिन आग्रहः गर्दा म यसको पात्र कसरी हुन सक्छु र ? मनमनै प्रश्न तेर्सिए। माटो विशेषज्ञबाट रचित यो महाकाव्य हुनु आफैमा अनौठो मलाई लागेको थियो  भने मलाई समीक्षकमा चयन गर्नु झनै अचम्म लाग्यो,यो मेरो लागि कौतुहलको विषय बन्यो । कारण उहाँले नै स्पष्ट पार्नुभयो ।
२०६० र त्यसपछि पाक्षिक रूपमा निस्कने हिमालखवर पत्रिकामा कृषि अर्थतन्त्रबारे मेरा लेखहरू प्रकाशन हुने गर्दथे । उहाँ मेरो लेखहरूको असल पाठक हुनुहुँदोरहेछ । मेरा विषय प्रस्तुतीकरणका आधारमा प्रभावित भएर होला उहाँको यस कृति "अग्निज्वाला"को समीक्षा गरिदिन मलाई आग्रह गर्नुभएको, त्यसैले उँहाको अनुरोधबाट म पन्छिन सकिनँ र सहर्ष स्वीकार पनि गरेँ ।
म कुनै साहित्यिक व्यक्ति त होइन, सामान्य पाठक मात्र छु । बेलाबेलामा केहि कोरे पनि मेरो लेखनविधा कृषि क्षेत्रको अर्थतन्त्रको पाटो नै हो । यस अन्तर्गत कृषि नीति तथा कार्यक्रमहरूको प्रभावकारिता, कृषि पूर्वाधारहरू सिँचाई, बजार, मलखाद आपुर्ति जस्ता विषयहरूमा केन्द्रित रहदै कृषि विकासको भावी दिशावोध हुने खालका रणनीतिहरू र उपायहरू सुझाउनु हो । समस्या मात्र होइन समाधानको बाटो पनि देखाउने गरेको छु,  अहिले पनि फाटफुट लेख्न प्रेरणा प्राप्त भइरहेको छ । यसको परिणाम नै हो मलाई समीक्षक बनाइनु ।
ग्रन्थनायकको साहित्यक नाम सदानन्द अभागी छ भने कृषि विज्ञको रूपमा सदानन्द जैसी । कालोवर्णको, अग्लो कदको, दाही्रकपाल नसमालेर झुसिलो अनुहारमा देखिने, साधारण लवाई, नम्रबोली, अरूलाई मान गर्ने, स्पष्टवक्ता, निस्कपट व्यक्तित्व उँहाको मैले पाएको छु । कुरा गर्दा हँसाउने, प्रशन्न देखिने भएर होला सदानन्द (सधै आनन्दमा रहने) नामको सार्थकता उहाँको नाम र रूप दुवैले जनाउँछ । यो सदानन्द रहने व्यक्ति कसरी अभागी हुन पुग्यो ? उहाँको पुनः उत्तरको अपेक्षा गर्दछु ।
समीक्षासहित विमोचनको कार्यक्रम कवि शिरोमणि लेखनाथ सदन सोह्रखुट्टे छेउमा उहाँले गर्नुभएको रहेछ । त्यहाँ उहाँका कृषि सेवामा कार्यरत सहकर्मीहरू कृषि विभागका महानिर्देशक शिवसुन्दर श्रेष्ठ, उहाँको जन्मस्थल पर्वत जिल्लाको शंखरपोखरीका वुद्धिजीवीहरू, साहित्यकारहरूको उपस्थितिमा सो कार्यक्रम सञ्चालन गरिएको थियो । उतिवेला गरेको "अग्निज्वाला"महाकाव्यको समीक्षा जस्ताको तस्तै यहा उल्लेख गर्न उपयुक्त र सान्दर्भिक ठान्दछु ।
 "अग्निज्वाला"महाकाव्यमा क्रान्तिकारिता
यो महाकाव्य सदानन्द "अभागी"को दशौँ प्रकाशित कृति हो । २०६० भदौ २३ देखि ऐ. मंसिरसम्म बीचबीचमा उर्लेका भावनाका लहरलाई समेट्दै २५ दिनको समयावधिमा सरकारी सेवाअन्तर्गत जिल्ला भ्रमणमा गएको वेला मुस्किलले ५०–६० घन्टाको समय खर्चेर तयार पारिएको उहाँ"अग्निज्वाला"को प्राक्कथनमा लेख्नुहुन्छ । जे होस, यति छोटो समयावधिमा साँझ विहानको समयलाई उपयोग गर्दै काव्यको सिर्जना गर्ने साहित्यकार विरलै पाइएला । यसभन्दा अघि कविता, कथा, जीवनी, नियात्रा विवरण, उपन्यास, लघु खण्ड र महाकाव्यसमेत लेखी सकेका यी साहित्यकार सरकारी जागीर खाएका कृषि क्षेत्र अन्तर्गत माटो विशेषज्ञ हुनुहुन्छ भन्दा अचम्म लाग्छ । कहाँको साहित्य र कला, कहाँको प्राविधिक कर्मचारी, यति धेरै विधामा हात हाली सकेर अहिले अवकाश पाइसके पनि झनै साहित्य लेखनमा भ्याइनभ्याइ लागेको देखिन्छ ।
बुढो जवानी कवितामार्फत् आफूलाई जवानी अवस्थाको बनाए पनि रचनाबिधामा आफै पात्र वनेर विभिन्न घटनाहरूको अनुभूति दिन सक्ने उहाँको क्षमता यो महाकाव्य लगायत अन्य कृतिहरूमा पाइन्छ । कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत करीव तीन दशक जागीर खाई अवकाश प्राप्त यी प्राविधिकका माटोको उर्वराशक्ति, जैविक खेती लगायतका थुप्रै कितावहरू पढ्दा उहाँ खारी माटो विशेषज्ञ देखिनु हुन्छ तर साहित्यिक कृतिको प्रकाशन सख्याका हिसावले अझ पनि लेख्दै गर्नाले ठूला साहित्यकारहरूको हाराहारीमा उभिन पुगेको ठान्छु ।
पर्वत जिल्लाको शंखरपोखरी ा.वि.स. नुवारमा जन्मेका ६० वर्षीय अभागी रिजाल थरका जैसी बाहुन भएको उहाँको जागीरे नाम "सदानन्द जैसी"बाट स्पष्ट हुन्छ । दाह्री जुँगा पनि फाल्न अल्छी मान्ने सेतै फुलेका यी व्यक्तित्व साहित्य लेखनमा भने उत्तिकै जाँगरिला देखिनुहुन्छ ।
१८ सर्गमा विभाजित यो महाकाव्य पढ्दा उहाँकै जीवनका घटनाहरू हुन कि भन्ने भान पर्दछ । काव्यकारले कतिपय घटना मिल्न सक्ने स्वीकार्नु भएको छ । यो काव्यमा 'अग्नि'लाई नायक बनाइएको छ भने ज्वाला र शिखा उनका दुई नायिका हुन् । 'अग्नि' नाम किन राखियो, उहाँ नै जान्नुहोला तर काव्य पढ्दा अग्नि पढेलेखेको, सचेत नागरिक लोकतन्त्रवादी एक क्रान्तिकारी नायक देखिएकोले 'अग्नि'उपयुक्त नामा देखिन्छ । त्यसैगरी ज्वाला र शिखा तत्कालीन समाजका मूल्य र मान्यतामा चल्नु पर्दा विद्रोही देखिएकोले नै ज्वाला र शिखा नाम दिइएको हुन सक्छ ।
सामाजिक परिवेशमा लेखिएको भएपनि सर्गहरूमा क्रान्तिकारी भावना यत्रतत्र देखिन्छ । शायद काव्यकार क्रान्तिको बेला जन्मेर होला राजनीतिक चिरफार गर्न कही पनि बाँकी राख्नु भएको छैन । उदाहरणको लागि उहाँ प्रथम सर्गको यस श्लोकबाट परिवर्तन शक्तिका लागि हुनुपर्ने भन्नुहुन्छः
क्रान्तिवादी यो संसारमा शान्तिवादी नीति
शान्तिवादी मन्त्र फुक्न किन चाहियो मिति
बुद्धत्वको  बनोस ससार बुद्धवादी नीति
बुद्ध मन्त्र सफलतन्त्र बुद्धत्वको खेती
यसैगरी राणाकालीन अवस्था नभोगे पनि सुनेका काव्यकारले प्रजातन्त्रको विहानी ल्याउनेहरूलाई राणाका दलाल एवं पृष्ट पोषकहरूवाट कसरी धम्क्याइन्थ्यो लेख्न छुटाउनु भएको छैन । यी धम्की र चेतावनीका शब्दवाणहरूले उहाँमा विद्रोहीपन ल्याएको देखिन्छ जस्तैः
"धेरै कुरा नगर केटा तँ पनि लौ जालास्
वढ्ता कुरा गर्न हुँदा शीशा गोली खालास्
चारै पाटा मुडिएर देश छाडी जालास्
हर्जाना तिरी तिरी गोर्खे लौरी खालास्"

"कति जना खेदाइए, कतिलाई फाँसी
कुनै देश निकालामा लौ कोही रुवावासी
अरचाप्छन् राणा शासन ठूला ठूला आँसी
आफ्नै दाजु भाइलाई नै पठाउछन् काशी"

यसैगरी प्रजातन्त्र आएपनि दलीय खिचातानीले जे जस्तो अराजकता देशमा देखियो, त्यसलाई घोच्न उहाँ विर्सनुहुन्न । जस्तैः
मातृका र विश्वेश्वर अन्तर खिचातानी
फलामले फलाम काट्छ छैन आनाकानी
आउछिन क्रान्ति पछि संक्रान्तिकी रानी
यस्तै यस्तै क्रियाकलाप भयो जानाजानी
द्वितीय सर्ग
हो, वास्तवमा दलीय स्वार्थ, विदेशी चलखेलले गर्दा प्रजातन्त्र पछि पनि जनताले विधिको शासन अनुभूत गर्न पाएका छैनन् । फलस्वरूप जनआन्दोलन–२ हुनु प¥यो । हो उहाँले भने जस्तै ः–
"समाजका वुज्रुकहरू राणाकालीन थिए,
आज पनि हरेक क्षेत्र तिनले नै लिए ।
द्वितीय सर्ग
आज शाही फोविया वास्तवमा सवैतिर छ, मात्रा मात्र कम वेसी होला । अन्यथा लोकतन्त्रको वहालीमा एकजुट भएकाहरू त्यही गतिमा अघि बढ्नु पर्ने होइन र ! । काव्यकारले  भनेझै पञ्चायती व्यवस्थामा पञ्चायती गुणगान गरेपछि मनपरि गर्न पाइने प्रति लक्षित गर्दै आफू इतर पक्षको भएकोले जागीर खान "भीतर"को भाग्यशाली बन्नु पर्ने सत्तासीनहरूको मापदण्डभन्दा विधिको शासन देख्न नायक अग्नि चाहन्छन् । पञ्चायती शासनको दवदवामा सुधार गरिए पनि ती खासै भिन्न नभएको भन्दै उहाँ त्यो वेलाको परिस्थिति यसरी देखाउनु हुन्छ ः–
पञ्चायती राज्यसत्ता सवल बन्दै थियो
प्रजातान्तिक हकहित फरक नै थियो
गोहीरूपी अश्रु कानुन त्यहाँ धेरै वने
भाषण अमृत सुधा थोपा थोपा दिने
"सात साल, सत्रसाल छत्तिस साल आयो
सोझा साझा जनताले मुड्की मात्र खायो"
दशम सर्ग
यसरी एउटा जागिरे पनि तत्कालीन सत्तासङ्ग कति विमति राखेर काम गर्नु पर्ने रहेछ, स्पष्ट हुन्छ । उहाँ जागीरे भएर पनि प्रजातान्त्रिक मूल्य र मान्यताका पक्षपाती देखिनुहुन्छ । त्यसैले नायकको नाम "अग्नि"राख्न पुगेको हो भने आफ्नो अधिकार प्रति नायिकाहरू सचेत भै लाग्ने हुनाले ज्वाला र शिखा बनाइएका छन्  होलान्  भन्ने निष्कर्ष निकाल्न कसो होला ?
स्रोह्रदेखि अठार सर्गहरू पूर्णतः गद्यमा उन्मुक्त तरिकाले लेखिएका छन्। शायद क्रान्तिका शब्दहरू माधुर्य लाग्ने छन्दहरूमा अटाउन सक्दैनन् । सोह्रौ सर्गमा धार्मिक दार्शनिक एव राजनीतिक विश्लेषण अग्निको विषयवस्तु बनेका छन् । यो सर्ग पढ्दा उहाँको अध्ययन तह निकै गहन र स्वच्छन्द भएको स्पष्ट हुन्छ । यो जन आन्दोलन–२ आउनुपूर्व लेखिएको काव्य हुनाले तत्कालीन कुर्चीको लागि झगडा, क्रान्तिमा मरेकालाई शहीद घोषणा र एक मिनेट मौन धारण र सत्यको जित दावी गर्दै भाषण जस्ता कार्यकलापमा राजनीति चलेकोमा उहाँ दुखेसो पोख्नुहुन्छ ।  उहाँ व्यङ्ग गर्दै भन्नुहुन्छः
यहाँ प्रजातन्त्र छ, वाक स्वतन्त्रता छ,
बोल्नलाई खुलामञ्च खुला छ
नेपालीले नेपालीलाई मारेको छ
युवतीहरू विधवा भएका छन्
असहाय वृद्धहरूको सहारा हराएको छ
क्रान्तिको नाममा रगतको खोलो बगेको छ
हरेक विहानी लास र आँसु लिएर जन्मेको छ
ठाँउ ठाँउमा बारुद पड्केकै छ आदि ।
सोह्रौ सर्गमा यस्ता प्रजातन्त्रमा देखिएका विकृतिहरूमाथि अग्नि पात्र उभ्याए प्रहार गर्नुभएको छ, अहिले पनि उस्तै छ । अहिलेसम्म राजनीति थाहा नपाएका, धेरै गुम्सिएका र आफ्नो अधिकार खोज्ने सौता सौताहरू पनि ज्वाला र शिखाका रूपमा अग्निलाई साथ दिदै प्रजातन्त्र प्राप्तिमा होमिएको वर्णन छ सत्रौँ सर्गमा । ज्वालाले पार्टीमा आउने कार्यकर्ता मारिएको, शोक मनाइएको, पार्टीको झण्डा ओडाइएको, शोक सन्तप्त परिवारलाई समवेदना समाचार पठाइएको देखेर दुखी हुदै भन्छिन्ः
मार जति सक्छौ मार
हिजो पनि मारेकै थिए
आज पनि मारेकै छन
अझ कति मार्छन् मार"
उनको मुखबाट निस्कन्छ "एउटा वीउ बाँचे पुग्छ"
यसरी नेपाली अवोध महिलामा पनि चेतनाको स्तर प्रजातन्त्र आएपछि सत्रौँ सर्गमा देखाउनु स्वाभाविक लाग्छ ।प्रजातन्त्रमा पार्टी जनतामा जान नसकेको, सत्ता लिप्सामा नेताहरू परेको, पार्टी भित्रको गुटबन्दी नायिका ज्वालालाई मन पर्दैन। तेह्रौ सर्गमा दुई सौता–ज्वाला र शिखा वीचको अन्तर्द्धन्द्ध यहाँ देखिदैन । बरु शिखाले समाजसेवामा ज्वालालाई साथ दिएकी छन् । यसरी राजनीति प्रति यहाँ व्यङ्ग– कटुसत्यको चित्रण  गरिएको छ । यो रोग त्यसपछिका दुई दशकको अन्त्यतिर आउदा पनि उस्तै छ ।
अठारौँसर्ग यस महाकाव्यको अन्तिम सर्ग हो। राजनीतिक अराजकताभित्र जुटेको पार्टीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । स्पष्ट नभएपनि शाही शासनको विरुद्ध होला । यसैमा होमिदा नायक अग्नि र  नायिका द्वय– ज्वाला र शिखालाई कसैले जगलतिर कुरा वुझन लगेको– वेपत्ता पारिएकोमा "अभागी"ले विज्ञप्ति निकालेर "शान्ति र अमनचयन कायम"गर्ने खालका मागका चाँङ्ग राखेर समापन गराइन्छ।
उपसंहार
यो महाकाव्य तत्कालीन परिवेशको यथार्थ, चित्रण हो । माटो विज्ञले लेखेको यो महाकाव्य सैद्धान्तिक कसीमा शत प्रतिशत खरो उत्रन नसके पनि सामान्य मापदण्डभित्र धेरैथोरै पर्दछ । राष्ट्रकवि माधव घिमिरेको भूमिकामा पनि महाकाव्य भनिएको छ । शिव वन्दनाबाट शुरु गरिएको १८ सर्गभएको नायक, नायिकाको सवल चित्रण पनि भएकोले यसलाई महाकाव्य मान्नै पर्दछ ।
यसरी यही "अग्निज्वाला"महाकाव्यको समीक्षाले हामी दुईवीच सामीप्यता बढाउदै लगेको थियो र भावनात्मक रूपमा अहिले पनि समीप छौ ।"बुढो जवानी"भुटानी शरणार्थीको व्यथा कथा जस्ता दर्जन भन्दा बढी कृतिहरू पस्केर नेपाली साहित्य भण्डारमा उहाँले ईट्टाहरू थप्नु भएको छ । यी उहाँका कृति स्वान्तः सुखायका लागि लेखिएका र जागीरे तलबबाट छाक र खानखोजेका कुराको कटौति गरेर लेखहरू प्रकाशन गर्ने गरेको भएपनि नेपाली साहित्य प्रेमीका लागि जीवन वोध हुने, यथार्थपरक खुराकहरू पस्केर उपहार दिनु भएको छ ।
अन्तमा, बुढो भएपनि जवानको जाँगर भएका साहित्य लेखनमा सधँै लागिरहने हुनाले अथक साधकको भावी जीवन सुखमय वितोस् भन्ने कामना गर्दै उहाँको व्यक्तित्व र कृतित्वलाई अझै उजागर गर्न अग्रसरता लिनुहुने शोधखोजकर्ता, लेखक, संयोजक एवम् सम्पादक श्री राम ज्ञवालीलाई पनि 'सदानन्द' प्राप्त होस् भन्दै यो लेख विट यही मार्दछु ।
डा. दयाराम श्रेष्ठ ( त्रि.वि., प्रमुख नेपाली केन्द्रीय विभाग कीर्तिपुर)
"यस उपन्यासमा स्वच्छन्दतावादी प्रवृत्ति झल्कन्छ"
प्रस्तुत "जीवन लीला"उपन्यासमा सदानन्द अभागी ज्यूले समसामयिक नेपाली समाजको एउटा यथार्थ पक्षलाई बडो नाटकीय ढंगबाट उतार्नु भएको छ । चेलीबेटीको बेचविखनले ल्याएको समस्यालाई केन्द्र बिन्दु बनाएर उहाँले यसैको सेरोफेरोमा कथावस्तु निर्माण गर्नुभएको छ । युवा–युवतीबीच  प्रेम–प्रणय, युवाहेरूको महत्त्वकान्छा र आइपर्ने बाधा अड्चनहरू, पश्चताप,तथा जीवनमा गर्नु पर्ने सम्झौताहरू यिनै कुराको संजालभित्र उहाँले एउटा टड्कारो सामाजिक विषय वस्तु उभ्याउनु भएको छ । "जीवनसँग प्रेम छँदाछँदै सिनेमाकी नायिका बन्ने दिवास्वप्न बोकेकी लीलाले अन्ततः मोतीको पछि लागेर धोका खानु, पुन नेपालमै फर्र्की छोरालाई जन्म दिनु अनि अपराधी मोतीलाई नै पतिको रूपमा स्वीकार गरी ऊ जेल चलान भएको टुलु टुलु हेर्नु इत्यादि कथांश पढ्दा साँच्चि नै लीलाप्रति पाठकको सहानुभूति जाग्छ । जीवनसँग लीलाको भेट हुनु डोटेललाई बम्बईबाट नेपाल झिकाई नेपालमै आमा समाजमा जागीर दिलाई दिनु , हिरालाललाई धर्मपुत्रका रूपमा कोही दम्पत्तिबाट स्वीकार गरीनु यी सबै सबै नै यस उपन्यासमा सिनेमा शैलीको जस्तो लाग्छ । यस उपन्यासको उठानदेखि अन्त्यसम्म नाटकीय प्रस्तुति पाइन्छ ।बीचबीचमा प्रासङ्गिक पद्य पंक्तिहरूका साथै ठाउँ ठाउँमा भावुकतापूर्ण अभिव्यक्ति र प्रकृतिक चित्रण तथा नायक नायिकाका आदर्शताबाट यस उपन्यासमा स्वच्छन्दतावादी  प्रवृत्ति झल्कन्छ । यसरी यस उपन्यासमा एकप्रकारको स्वाद भेटिन्छ जुन मलाई लाग्छ औसत पाठक वर्गका लागि रोचक र पठनीय नै हुने छ ।
   अन्त्यमा आज नेपाली उपन्यास विधाले लामो फट्को मारिसकेको  परिप्रेक्षमा प्रस्तुत उपन्यासले प्रतिस्पर्धा त गर्न सक्ला नसक्ला तर पनि केही न केही योगदान पु¥याउला भन्ने कुरामा म आशावादी छु । यथार्थ बोध ज्ञान र मनोरञ्जन खोज्ने औसत पाठकले यसमा अवस्य पनि खुराक पाउने छन् । सदानन्द अभागीज्यूको उत्साह प्रशंसनीय छ । भोलीका दिनहरूमा उहाँको लेखनी (खास गरेर औपन्यासिक क्षेत्रमा) अझै परिस्कृत बन्दै जाओस् भन्ने मेरो सुभकामना छ  
(जीवनलीला उपन्यासको दुई शब्दको पूर्ण पाठ )



नरेश अपाङी मगर

"जैसीले निर्जीव वस्तुको बोलीको भाषा पनि चाल पाइसक्नुभएको छ ।"
सबै खाद्य तथा बोटविरूवाको उर्वरा भूमि माटो दिनहुँ खिइदो छ । कृषकको अज्ञातना र अन्य कारणले उब्जनी ओरालीलाग्दो छ । यसको विपरीत देशको जनसंख्या भने आकाशिदो छ । माटोको उचित व्यवस्थापनका लागि कृषि विभागको प्रयास जारी छ । यस सचेतनाको कार्यलाई कविताको माध्यमबाट  अघि बढाएका छन् । माटोविज्ञ सदानन्द जैसी अभागीले "माटो र विरूवाले भोक लाग्यो भन्छन्",माटो काव्य मार्फत् जैसीले कृषकहरूलाई माटो व्यवस्थापनमा सचेत बनाउन थालेका छन् । माटो भोकाएको छ, रासायनिक मलको जथाभावी प्रयोगले विरूवाको खाद्यत्तत्व कम भई माटो रूदैछ जैसीको ठम्याइ छ । माटो आफै बोल्दैन विरूवामार्फत् बोल्ने गर्छ कृषि सेवामा ३४ वसन्त बिताउँदा जैसीले निर्जिव वस्तुको बोलीको भाषा पनि चाल पाइसक्नु भएको छ । माटोको मोहले गर्दा जैसीले थुप्रै माटो गीत कविता रेडियो नेपालबाट बजाइसक्नु भएको छ । छापिसक्नु भएको छ । माटो काव्यका १९ भागमा नेपाली माटोको भौगोलिक वर्णन माटोको महिमा माटोको जाँच खाद्यत्तत्व व्यवस्थापनका बारेमा जनजिब्रोमा भिजेको शैलीमा जानकारी गराइएको छ । त्यसै गरी नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, फलाम, म्याग्जिन, जस्ता तामा मोलिब्डेनम् र क्लोरिन, जस्ता माटोका १६ खाद्यत्तत्वका बोलीहरू समावेश गर्नुभएको छ । विरूवाले माटोबाट खाना लिने तरिका मलखाद्यको प्रयोग कृषिवनको फाइदा सुख्खा जमीनको खेती व्यवस्था पनि काव्यमा समेटिएको छ ।
(माटोको उचित व्यवस्थापनतर्फ ध्यान दिनै पर्छ नामक गोरखापत्रमा २०६१ फाल्गुण १९ गते प्रकाशित लेखका साभारितद सम्पादित केही अंशहरू मात्र)

माधव घिमिरे (राष्ट्रकवि)
"भौतिक र मानसिक दुबैप्रकारको उर्जाको समायोजनबद्व मानव"
श्री सदानन्द अभागी माटोका विशेषज्ञ वैज्ञानिक पनि हुन र मुटुका विशेषज्ञ कवि पनि हुन् । उनी भौतिक र मानसिक दुबैप्रकारको उर्जाको समायोजनबद्व मानव जीवनलाई समृद्व र आनन्द बनाउन चाहान्छन् । कवि सदानन्दले विज्ञान र प्रविधिका पुस्तकहरू प्रकाशन गर्नुको साथसाथै कविता, कथा,  काव्य (खण्डकाव्य र महाकाव्य) प्रकाशित गरीसकेका छन् । उनको "तीन युग एक कथा" नामक महाकाव्यमा आसाममा बस्ने नेपालीको कथाव्यथाको मार्मिक वर्णन गरेका छन् । प्रस्तुत "अग्निज्वाला महाकाव्य" मा नेपालभित्रका एक परिवारको जीवनकथाको वर्णन गरेका छन् । त्यो परिवार सौताने माम्लाले गर्दा हैरानीमा फसेको छ र मानसिक द्वन्द्वले गर्दा काव्य मार्मिक बनेको छ । त्यो परिवारको द्वन्द्व केही अंशमा कविले स्वयम् भोगेको पनि हुनसक्छ तर कविको अनुभुति अन्य सामान्यजनको भन्दा भिन्न हुन्छ किनभने कविको अनुभूतिले वैयक्तिकताको स्पर्श गरेर वैयक्तिकतालाई नै पार गरेको हुन्छ र हुनुपर्दछ । यति मात्र होइन कविले देख्ने दृष्टि पनि वैज्ञानिक र दार्शिनकको भन्दा भिन्न हुन्छ किन भने त्यो दृष्टिबाट मानिसको चित्त त्यसै बुझदछ । त्यसैले अग्नि ज्वाला काव्यले अनुभूत गराउन खोजेको मर्म त्यसरी मानसिक द्वन्द्वबाट पीडित सबैको पीडा हो । अग्निज्वाला कृतिका स्रष्टा प्रति हार्दिक धन्यबाद ।
(अग्निज्वाला महाकाव्यको मानसिक द्वन्द्वको मार्मिक काव्यबाट उद्वृत गरिएको)

सुदीप गड्तौला "नदारत"÷यामकुमार कार्की
"कृषि क्षेत्रका सम्पूर्ण विषयलाई साहित्यमा ढाल्नु साहसिक कदम"
सुदीप गड्तौला "नदारत"÷यामकुमार कार्कीले सदानन्द अभागीलाई
(नेपाल समाचार पत्र २०६२÷०४÷१४ साउनमा प्रकाशित  लेखमा कृषि कविको संज्ञा दिइएको लेखका केही साभारित अंश यस प्रकार छः
सदानन्दले देशभक्तिका गीत गाए झुपडी र वारीसँग प्रीति लाए । उनका कृषिसँगसम्बन्धितलेखरचनाले कृषिकाव्यको नौलो धारणा बनाई सम्भवतः प्रथम कृषिकाव्य लेख्ने पनि उनी नै हुन् । कृषि वैज्ञानिक पनि भएका कारण माटो व्यवस्थापन तर्फका साना र ठूला गरी करिब २९ बटा कृति उनले लेखिसकेका छन् । ती मध्ये माटोको उर्वराशक्ति व्यवस्थापन कार्यपुस्तिका एकीकृत खाद्यतत्त्वव्यवस्थावन कार्यपुस्तिका सुन्तला जात खेती विभिन्न बालीमा मलखादको आवश्यकता र प्रयोग विधि माटो शिविर किन र कसरी इत्यादि स्मरणीय पुस्तक पुस्तिका हुन् । यी पुस्तक पुस्तिकाले कृषि क्षेत्रमा ठूलो योगदान पुर्याएका छन् । यसबाट धेरै कृषक लाभान्वित भएका छन् ।
उनी आफ्ना रचनामा पात्रहरूसँग बारी खेत लेक र वेसी गर्छन् । कहिले उनीहरूसँग चौतारीमा दोहोरी गाउँछन् । अनि कहिले सँगै हाटबजारमा सौदापात गर्छन् । कृषि क्षेत्रका सम्पूर्ण विषयलाई साहित्यमा ढाल्नु अभागीको साहासिक कदम हो । समाजमा हुने गरेका जातियताका कुरालाई अभागीले आफ्ना रचनामा सँगसँगै बढाई जातीय समानताको पक्षमा आवाज उठाएका छन् । महाकाव्य मार्फत् पनि अभागीद्वारा कृषि जनजीवनका विविध पक्षको व्याख्या भएको छ । कृषिसम्बन्धी धेरै अनुभव बटुलिसकेका उनी वैज्ञानिक भएर पनि साहित्यतिर रुचि राख्ने कम व्यक्ति मध्ये उनी परेका छन्।
(नेपाल समाचार पत्र २०६२÷०४÷१४ साउनमा प्रकाशित कृषि कवि लेखका केही साभारित अंशबाट)
डा. षडानन्द पौड्याल (कुस्मा न.पा. पाङ, सहप्राध्यापक.)
"उहाँको लेखन प्रगतिवादी स्वच्छन्दतावादी केन्द्रमा छ ।"
उहाँले नेपाली साहित्यमा एउटा दीर्घजीवन व्यातित गर्नुभएको छ र अहिले पनि उहाँ लेखनमा सक्रियहुनुहुन्छ । उहाँका प्रकाशित कृतिहरू धेरै नै छन् । उहाँले कविता सङ्ग्रह, कथासङ्ग्रह, महाकाव्य, उपन्यास, समालोचनालगायतका विभिन्न विधाहरूमा कलम चलाउनुहुन्छ । उहाँको लेखनको पद्वतिलाई एउटा सामान्य समीक्षकको दृष्टिबाट हेर्दाखेरि उहाँको लेखनभित्र तीनवटा कुराहरू प्रवेश भएको पाइन्छ । पहिलो पक्ष के हो भने उहाँले नेपाली समाजको यथार्थलाई अलि नजिकबाट नियालेर सरल रूपमा भाषा शैलीमा लेख्नुहुन्छ । त्यसकारण उहाँका सिर्जनामा नेपाली समाजको प्रतिबिम्ब अभिव्यक्त भएको हुन्छ । चाहे त्यो कृषि क्षेत्रका सिर्जनाहरू चाहे उहाँले सामाजिक जीवन व्यतीत गर्ने व्यक्तिहरूका विषयलाई लेखिएका विषय हुन् । ती सबैमा सामाजिक पक्ष पद्वति वा जीवनशैलीको प्रयोग हो । दोस्रो भनेको सदानन्द अभागीलाई हामीले सिर्जनात्मक रूपबाट पहिचान गर्न खोज्यौँ भने त्यो अलिकति तल्लो वर्गका चरित्रहरूले जीवन भोगाइमा पाएका विषयवस्तुलाई उहाँले उठाउन रूचाउनुहुन्छ । सामाजिक जीवनभित्र पनि उहाँको त्यो रुचिक्षेत्र कहाँनेर केन्द्रित छ भन्दा त्यो तल्लो वर्गका अर्थात् जातीय हिसाबले अपहेलन गरिने चरित्र प्रति उहाँको दृष्टिकोण खुलेर आएको देखिन्छ । त्यो सामाजिक विसङगतिका बिरूद्ध र त्यसको तथ्यलाई पहिचान गर्ने दृष्टिकोणले उहाँको सिर्जना अभिव्यक्त भएर आएको छ । त्यो उहाँको लेखनसँग सम्बन्धित विविध विषयवस्तुलाई उठान गर्ने क्षेत्रसँग सम्बन्धित एउटा रुचि क्षेत्र हो । त्यो रुचि क्षेत्र उहाँको कविता, उपन्यास, महकाव्य, खण्डकाव्य मुक्तक यी सबैमा अन्तरंग बनेर आएको पाइन्छ । तेस्रो पक्ष भनेको उहाँको अलिकति थोरै उपदेशात्मक बन्द छ । उहाँले आफ्ना सिर्जनाहरूमा यस्तो गर्न सकेमा राम्रो हुन्छ भन्ने कुराहरूलाई अलि केही रुचि राख्नु भएको छ । विशेष गरी एउटा लेखक सर्जकले त्यस्तो गर्नु भनेको एउटा सभ्य समाजको निर्माणको दिशालाई उसले पहिचान गर्न खोज्छ र त्यो पहिचान गर्न खोज्दा खेरि उसभित्रको अन्तरआत्मा खेलिरहेको विषयवस्तु उसको सिर्जनाका माध्यमबाट प्रकट हुन्छ । प्रकट हुदाँखेरि कहीकतै अलिकति उपदेश दिन खोजेको हो कि जस्तो लाग्छ । त्यसकारण उहाँको यी तीन कुरा मुख्य गरी लेखन शिल्प हा,े केन्द्रकृत चिन्तन हो । उहाँले यी कुरा उठान गर्नुभएको छ ।
उहाँको अर्को एउटा पक्ष धेरै जसो रचनाहरूमा उहाँले व्यतीत गरेका जीवनको अभिव्यक्त भएको छ । उहाँ अहिले पनि आफू कृषि क्षेत्रसँग संलग्न हुनुहुन्छ कृषिमा जीवन बिताउनु भयो र गाउँले जीवन व्यतित गर्दा पनि कृषिका विषयवस्तु त्यसले पार्ने प्रभाव माटो हावापानी लगाइने बाली आदि इत्यादि विषयवस्तुहरूलाई पनि समेटेर सरल भाषाशैलीमा सबैले बुझनसक्ने गरी सिर्जना गर्नुहुन्छ । त्यो सिर्जना भनेको उहाँले आफूलाई जीवन व्यतित गरेको कृषि क्षेत्रको गन्ध कविता खण्डकाव्य उपन्यास यी सबैमा भेट्न सकिन्छ ।
उहाँले समीक्षाहरू पनि लेख्नु भएको छ । ती समीक्षाहरू लेख्दा खेरि उहाँका समीक्षामा विशेष गरी प्रभावपरक समालोचनासँग निकट छन् । उहाँ सिद्वान्तलाई लिएर लेख्ने अथवा सिद्वान्तका आधारमा यस्तो छ भन्ने या सिर्जनात्मक तत्त्वका आधारमा यस्तो यस्तो देखिन्छन् भन्ने आधारमा हेर्नुहुन्न बरू कृति पढीसकेपछि उहाँको मनमा जे प्रभाव प¥र्यो त्यो विषयवस्तुलाई उठाउन रूचाउनु हुन्छ । समालोचकीय प्रबृत्ति उहाँको यही नै हो ।
उहाँ यथार्थवादी र प्रगतिवादीधारसँग जोडिएर लेख्नुहुन्छ यो मेरो ठम्याइ हो । उहाँले यथार्थसँग जोडेर लेख्नुहुन्छ यथार्थलाई अभिव्यक्त गर्ने सिलसिलामा त्यो यथार्थवादी चिन्तन कुन ढंगमा विशेष गरी जोडियो भन्दा त्यो सामाजिक चेतनाको विषयसँगसँगै सुधार र समाजमा अपमान मतभेद अपहेलना र चरित्रहरूप्रति पनि थोरै  लक्षित भएर गएको हुनाले उहाँको प्रवृत्तिगत हिसाबले उहाँको लेखन प्रगतिवादी स्वच्छन्दतावादी केन्द्रमा छ भन्ने मेरो बुझाइ हो ।
धवलागिरी अञ्चलमा प्रकाशनका दृष्टिले हेर्यौ भने उहाँको स्थान उच्च छ । साहित्य सेवा गरेर सिर्जना प्रकाशन गर्ने र निरन्तरता दिने दृष्टिकोणले हेर्यो भने उहाँ अग्रस्थानमै हुनुहुन्छ । जहासम्म व्यक्तिको सोपानक्रमलाई उच्चता पहिचान गराउने दृष्टिकोणले हेर्दा त्यहाँ समालोचकीय पद्धति कति विकास भयो भन्ने कुराले महत्त्व राख्छ । जस्तो सदानन्द अभागीका पुस्तकहरू माथि कति समीक्षा भए कुन कुन ढंगमा उहाँका कृतिहरूको समीक्षा गरीयो र ती मूल्यवेत्ताका दृष्टिले कस्ता छन् समीक्षकहरूले पहिचान गर्ने कुरा हो । पहिचानका हिसाबले उहाँ समीक्षकहरूको नजरमा ओझेलमा परेको व्यक्ति हो । तसर्थ साहित्य सेवा गर्ने र प्रकाशन गर्ने दृष्टिकोणले उहाँ धवलागिरी अञ्चलको स्थानमा उच्च नै हुनुहुन्छ । सदानन्द जस्तै नारायणप्रसाद अर्याल, शिवकुमार श्रेष्ठ पनि पुस्तकहरू धेरै लेख्ने प्रकाशन गर्ने व्यक्तित्वहुनुहुन्छ । उहाँका सही मापन नभएको हुनसक्छ । कुनै पनि कृतिको मूल्यमापन गर्ने तौरतरिका भनेको पाठ्यक्रममा समावेश भए तल्लो स्तरदेखि माथिल्लो स्तरसम्म पाठ्यक्रममा आई सरोकारवालाहरूले पढे पठन पाठनमा निरन्तरता रह्यो भने तीकृति रचनाको चर्चा अलि बढेर गएको हुन्छ । तर कैयौँ त्यस्ता राम्रा रचनाहरू पनि ओझेलमा परेका हुन्छन् अनि जुन रचनाहरूमा भावप्रधान भन्दा कथ्यप्रधान भएर आएका हुन्छन् । कथ्यप्रधान बनेको अवस्थामा रचनाहरूले मूल्य निरूपण गर्न सकेका हुदैनन् । उहाँका कतिपय रचनाहरू उचाइ प्राप्त गर्न नसक्नु भएको हो ।
सदानन्द अभागी निरन्तर लेखीरहने र धेरै पुस्तक प्रकाशन गर्ने व्यक्तित्व भित्र पर्ने हुदाँ स्मरणीय व्यक्तित्व नै हो । तर पनि त्यताका सबै संघसंस्थाले सम्झन सकेको छैनन् । मूल्याङ्कन गर्ने दृष्टिकोणले उहाँ त्यस्तो कमजोर लेखक होइन । साहित्यसेवक हो । साधक हो लगनशील र समर्पण भएको व्यक्ति हो । अलिकित कथ्यपरकतालाई जोड दिएर लेख्ने व्यक्तित्व हो । लेखन कार्य पर्वतबाटै शुरू गर्नुभएको हो । तर सघन रूपले नवलपुर बसेरै लेख्नु भएको छ ।


७.१३ज्योतिषीय हेराइमा सदानन्द र लेखन–सिर्जनात्मक योगको अवस्था

यस खण्डमा दुई जना ज्योतिषको धारणा समावेश गरिएको छ ।

कपिल अज्ञात (चितवन)
"हरकोणबाट अभागी उपनाम सार्थक देखिन्न ।"
मिति २००३ साल साउन १ गते मंगलबार तदनुरूप १९४६ मा जुलाई १६मा समय प्रातः सुर्योदयादिष्ट ७ घडि २४ पला प्रवादन समय ८ः१५ पश्चिम नेपालको पर्वत जिल्ला पिता कलाधर रिजाल र माता नन्दकली रिजालकोकोखबाट धर्तिमा  प्रवेश गरेका जातकको नामकरण श्रवण नक्षत्रको तृतीय चरण ख बाट खेमराज रही लोक प्रसिद्ध नाम सदानन्द र उपनाम अभागी भएका उनको ज्योतिषीय लग्न चक्र र नवांश चक्रका साथै दश्नचक्रको स्थिति यस प्रकार छ ।
कुण्डली परिचय ः


स्पष्ट ५ मिनेटको अन्तर ८ः२० मा नक्षत्रको चरण चतुर्थमा पुगी खोहुन पुग्छ ।
ग्रह स्पष्टः
सूय  चन्द्र मङ्गल बुध गुरु  शुक्र  शनि राहु केतु ल
२९  १९   २१ १६वक्री  २६ १०  ६अस्त २५ २५ ७

विश्वन्तरी–
च मं रा गु श बु के शु सू
२ ९ २७ ४८ ६२ ७२ ८६ १०६ ११२
६ ६ ६ ६ ६ ६ ६ ६ ६
११ ११ ११ ११ ११ ११ ११ ११ ११

योगिनी
म पिं धा. भ्रा. भ उ. सि. शं
१ ३ ६ १० १५ २१ २८ ३६
३६ ३९ ४२ ४६ ५१ ५७ ६४ ७२
ं.
प्रमुख योग परिचयः
शुभ योग अशुभ योग
१ पाश््र्व गामिनी शुभ कर्तरी योग १.धनहिन योग
२ विमल नामक विपरीत राजयोग २.लाभ भङ्ग योग
३ हर्षनायक विपरीत राजयोग ३.विषयि योग
४ राहुकृत राजयोग
५ भगरीथ गंगा स्नानयोग
६ चन्द्रगुरुकृत केशरी योग
७ पद्य सिंहासन योग
८ सर्वज्ञ योग
९ कुलदीपक योग

उपनाम नेपाली साहित्यमा सदानन्द अभागी  नामले सुपरिचित सदानन्दले अभागी उपनाम किन राख्नुभयो थरै मेटेर त्यसको उत्तर उहाँसितै छ । नेपालका कृषिक्षेत्रको सरकारी सेवामा प्रवेश गरी माटो वैज्ञानिक पदको उच्च तहमा पुगी हाल निविृत्त व्यक्तिको जीवनमा के कस्ता दुर्भाग्यका  घटना बेहोर्नु प¥यो र अभागी राख्न प¥यो उहाँ जीवनसित समृद्ध यी जिज्ञासाहरू रहन्छन् नै । आफ्नो नामको आफुमाथि प्रभाव रहन्छ भन्ने जान्दा जान्दै यस्तो निराशाजनक र निषेधात्मक प्रवृत्तिको नाम राखिनु हुदैन भन्ने सन्दर्भमा यति बेला म ज्योतिषीय ज्ञानप्रति सचेत छु यसै विषयमा सचेत गराउँदा कतिले त यस्ता उपनाम परित्याग गरिसकेँ । सदानन्द ज्यूलाई पनि म त्यो उपनाम परित्याग गर्न आग्रह गर्दछु । आनन्द र अभागी कस्तो विरोधाभास स्थिति। आनन्दी, अभागी हुँदैन अभागी पनि कहिल्यै आनन्दी बन्दैन। जे जस्तो आवेशमा आएर उहाँले आफूलाई अभागी उपनाम दर्ज गर्नु भयो तर दुर्भाग्यले उहाँलाई नदेखोस् । सदा आनन्दले पछ्याइरहोस्् भन्ने कामना गर्दै ज्योतिषीय कोणबाट पनि भाग्यमानी हो कि अभागी विश्लेषण गर्नेछु ।
उहाँले मलाई साहित्यिक भेटघाटका सन्दर्भमा केही गजल र कविताका कृतिहरू उपहार दिनुभएको छ । उहाँसँग धेरै जस्तो साहित्यिक कार्यक्रममा भेट भइरहन्छ ।सद्भाव र शिष्टाचारका वाणी विनिमय हुने गर्छन् । उहाँको कृतिका आवरण पृष्ठमा महाकाव्यदेखि लिएर साहित्य र प्रविधि क्षेत्रका अनेक कृतिहरूको सूची विवरण देखिन्छ। राष्ट्रिय र स्थानिय स्तरका विभिन्न पत्र पत्रिकामा उहाँका लेखरचनाहरू पनि बारबार देखा पर्छन्। प्रविधि क्षेत्रको एक विशिष्ट प्राविधिक भए पनि साहित्यमा पनि उत्तिकै समय दिएर सिर्जनामा निरन्तर प्रवृत्त भइरहनुले उहाँमा नैसर्गिक प्रतिभा छ  भन्ने बुझिन्छ । उहाँका समग्र रचनाको अध्ययन गरेर उहाँको साहित्यिक स्वर र प्रवृत्तिको आँकलन गर्न भने पाएको छैन। तर उहाँ साहित्यमा गहिरो रुचि राखी लेखनको लाभ, हानि केही नहेरी स्वभावैले उही प्रभावमा प्रवाहित गर्ने त्यसमा बौद्धिक परीक्षणले नियोजित नगर्ने सरल प्रकृतिका सहज सम्प्रेषण सूचना राशिबाट आफ्नो मौलिक पहिचान गराइरहने एवम् अन्य सह्ृदयी व्यक्तिका रचनाको पनि सरल ढङ्गले भावुक टिप्पणी र समीक्षा गरीरहने प्रवृत्ति देखिन्छ । सात्विक र सदाचारी स्वभावको उहाँसँग साहित्यिक कार्यक्रमकै सन्दर्भमा तम्घासको साहित्यिक महोत्सवको आयोजनको सभ्य संयोगले एकै विश्राम कक्षमा पर्न गएका थियौँ ।आयोजकले दुबै जनाको उमेर अवस्था र खानपानको स्थिति बुझि यस्तो संयोग जुराएको थियो । छलछाम र दम्भको कहि कतै अभ्याससम्म पनि नदेखाउने उहाँको सरल मिजास र मिलनसार प्रवृत्ति देखी त्यति बेलैबाट प्रभावित र प्रेरित छु । उमेरले ज्येष्ठ र अनुभवले वुजुर्ग भए पनि साथिभाइसँग हार्दिकतापूर्वक व्यवहार गर्ने उहाँसँगको मेरो बोलाई सुखद र उल्लासमय भई अविस्मरणीय बन्न पुगेको छ । आफ्नो पेशामा कर्मशीलता दक्षता त्यस्तै साहित्यमा साहित्य लगनशीलता तत्परता र उदारता उहाँका विशेषता देखिन्छन् ।
एकजना साहित्यिक मित्र राम ज्ञवालीले उहाँको ज्योतिषीय कोणबाट साहित्यिक व्यक्तित्वको आँकलन गर्नुप¥यो भनी मसँग मोबाईल सम्पर्कको माध्यमबाट जन्म मितिको विवरण टिपाउनु भयो । मैले पनि पूर्व परिचित एक सह्ृदयी साहित्यिक व्यक्तित्व भएका कारण संक्षिप्त रूपमै भए पनि शोध खोजको विषय बनाउन स्वीकार गरे । कुण्डलीका आधारबाट हेराँै उहाँलाई साहित्यिक योगहरूले कतिसम्म साथ दिएका छन् ।
४. तथ्यगत विश्लेषणः(लग्नेश सूर्य लाभमा रहेको वाणी स्थानमा वृहस्पति स्थित भएको लग्नमा शुक्र मंगल वृषको उच्च राहु चतुर्थमा केतु व्ययमा शनि बुध षष्ठमा चन्द्रमा र मकर राशि रही लग्न वरिपरिका गुरु र बुधले महान् पाश्र्वगामिनी योग तथा चन्द्र र शनिको राशि परिवर्तनले विपरीत राजयोग समेत बनेको देखिन्छ । केन्द्र त्रिकोणको स्वामी शुक्र र मङ्गल लग्नमा हुनु फेरी अर्को पापभङ्ग राजयोग पनि छ । यी सबै योगहरूले विशिष्ट व्यक्तित्वको लक्षण दर्शाउछन् । चन्द्र माथि शनिको पूर्ण दृष्टिले मनको अधिक उद्वेलन चन्द्र देखि त्रिकोणमा वृहस्पतिले ज्ञान र अनुभव समृद्व स्थिति सिर्जना गर्छन् । शुक्र र मंगलको लग्नमै संयुक्त स्थिति एवम् चन्द्र शनिको परस्पर दृष्टि विनिमयले उहाँ भोगी र वैरागी, भौतिकी र आध्यात्मिक दुबै हो । जीवनमा कुनै एक समय ग्रह परिस्थितिको प्रतिकुलतामा बडा आर्थिक संकटबाट गुज्रिनु पर्ने मकर राशि हुनेको सामान्य लक्षण नै हो । जन्म नक्षत्र फलअनुसार पनि श्रवण नक्षेत्रको तृतीय चरणमा जन्मिएको जातक विद्वान हुने योग हो । त्यो सदानन्दको व्यक्तित्वमा पनि उत्रिएको देखिएको देखिन्छ । छैटौँमा स्थित चन्द्रमाले भने आमाको स्वास्थ र सुखमा बाधा पुर्याएको हुनुपर्छ । छैटौँ चन्द्रमा भएका व्यक्तिले अँध्यारोमा दूध पिए भने त्यसले विषको काम गर्छ र सम्बन्धितव्यक्तिको मानसिक शान्तिमा खल्वल पार्दछ । यो पनि उहाँलले बेहोरी सकेको हुनुपर्छ । दशम राहुमाथि वृहस्पतिको शुभ दृष्टिले महान् भगरीथी गंगा स्नान योग पर्न गई आफ्ना पहुँचमा रहेका यावत गंगा तीर्थक्षेत्रहरू पनि उहाँले परिभ्रमण गरेको देखिन्छ । उहाँ जीवनमा जति पुरूषार्थी उत्तिकै पुण्यभागी पनि हो भन्ने ग्रहास्थितिले पनि स्पष्ट संकेत गर्छन् । उहाँले व्यवहारिक जीवनमा भोग्नु परेका अभाव र संकट एवम् गृहस्थी जीवनका असन्तुष्टिहरूको विश्लेषण तर्फ नजाऊ । कीर्तिगत रूपमा भन्दा पनि जन्मगत रूपमा उहाँको वरत्र होस् कि परत्र दुबैतर्फ सार्थक देखिन्छ ।
लग्नेश सूर्य नै लाभमा हुनु भाग्यशाली हुनु परिचायक हो । साथै सदाचारी र सद्व्यवहारी पनि । नराम्रो कार्य गर्न मात्र होइन मंगल मदिरा अक्षण गर्न पनि सूर्यले दिदैन । लग्नेश सूर्यको पञ्चम अवस्थामा दृष्टि हुनु नै मन्त्रणा शक्तिमा व्यक्ति निकै निपुण हुनु हो । पञ्चमेश वृहस्पति वाणी भावमा स्थित हुनुले व्यक्ति किमार्थ झुट नबोल्ने कदापि सत्यको लिक नछोड्ने तथ्यको संकेत हो । बुधको शत्रुराशिमा स्थित हुनाले कौटुम्बिक सुखमा कमी र धन सङ्ग्रहमा बाधा भने पुर्याउँछ । शुक्र लग्नमा हुनु कुलदीपक योग हो स्नयै दशमेश भएर स्थित हुनु पद्यसिंहासन योग पनि हो। कर्मेश शुक्रको सुखेश मंगलसँग मेल हुनु जमिनदार हुनु पनि हो । छैटौँ स्थानको चन्द्रमाले पनि विमलनामक विपरीत राजयोग बनाएको छ जसले कार्यमा अचानक सफलता प्रदान गर्छ त्यस्तै षष्ठेशमा गएर हर्षनामक विपरीत राजयोग बनाएको छ जसले ऋण रोगमा निकै दुःखकष्ट दिए पनि स्थायी सम्पतिले बलशाली बनाइराख्छ । केन्द्र त्रिकोणको स्वामी मंगल योग कारक रूपमा लग्नमा स्थिति हुनु खर्चिलो स्वभावको प्रतिक हो । केही हटी कामी र क्रोधी भए पनि ह्ृदयदेखि नै शुद्ध र स्पष्टवादी बनाउँछ । धनेश र लाभांश बुध व्ययमा स्थित हुनु धनहीनता  र लाभभंगको स्थिति सिर्जना गर्नु हो जसले सुखसँग रहन दिदैनन् । यसरी ग्रहयोगबाटै भाग्यशाली र जमिनदारी योग परेका व्यक्तिले आफैलाई अभागी मान्नु बडा बिडम्बना हो । साहित्यिक क्षेत्रमा मात्र लक्षित गरेको भए पनि अमिल्दो छ तर बुधले दुर्भाग्य सिर्जना गरे पनि भाग्यको घरै भत्काएर वेघर बनाउने स्थिति देखिन्न । तसर्थ हरकोणबाट अभागी पद सार्थक देखिन्न । दशमास्थित राहु सूर्यको परम शत्रु भई विपरीत स्थिति पैदा गराएर पनि वृष राशिमा उच्च भइ राजयोग कारक भएकाले संघर्ष गरी अगाडि बढ्ने आँट र हिम्मत प्रदान गर्दछ । साहित्यिक योगमै केन्द्रिक हुँदा दशमेश लग्नमाहोस् त व्यक्ति कवि हुन्छ । चन्द्रमा देखि त्रिकोणमा वृहस्पति होस् त सर्वज्ञयोग हुन्छ। मुख्य रूपमा काव्यिक ग्रह भनेका चन्द्रमा र वृहस्पति हुन् यहाँ तिनैको नवपञ्चम शुभयोग परेको देखिन्छ । द्वितीय र बुद्वि वा मन्त्रणा अब पञ्चमको योग हुनु नै साहित्यमा प्रखर रूपमा  प्रकट हुनुको परिचायक हो। जहाँसम्म साहित्यिक लेखनबाट प्राप्त हुने मानसम्मान उत्कृष्ट स्थितिको प्रश्न छ त्यसमा राहुले पुण्यकर्मका रूपमा जुनी सार्थक गराएको पाइन्छ ।
निष्कर्षः
अनेक शुभयोगका कारण उहाँको कुण्डली विशिष्ट तहमा पर्ने देखिन्छ । केही अशुभ योगले अभागी प्रमाणित गराउन खोजे पनि महान् शुभयोगहरूको प्रमाणले  अभागीको अशुभत्वलाई उल्टाइदिएर भाग्यमानीमै दर्ज गराएको छ । हारेको जीवन नभइ उहाँको जितेकै जीवन हो। विद्वान र विशिष्ट व्यक्तिको रूपमा प्रमाणिक योगहरूले पुष्टि गर्छन् । सिर्जनशील स्वभावलाई पनि दर्शाउँछन् । जहाँसम्म सिर्जनात्मक लाभ सम्मान प्रतिष्ठानको प्रश्न छ । त्यसमा अग्रणी चमक धमक देखाउन नसकेपनि अस्तिŒव वृत्तमा समेटिएको देख्न सकिन्छ ।

राम शर्मा चापागाईँ (वर्दघाट–१३, जहदा, पोखरीटोल)

जातक अध्ययनशील अन्बेषक र अनुसन्धानकर्ता हुन्छ ।"
केही समय अगाडि (सम्भवतः २०७८ जेठ १२गते)श्री रिब्दिकोट गा.पा.–४, पाल्पा निवासी मेरा अनन्य मित्रश्री राम ज्ञवालीले सम्पर्क गरेर एक जना साहित्यकार तथा कृषि विज्ञ श्री सदानन्द 'अभागी' नवलपुर सुस्ता पूर्व निवासीको विषयमा खोज अनुसन्धान गर्न लागेको विषयमा चर्चा गर्नुभयो । उहाँको साहित्यिक क्षेत्रप्रतिको प्रेम, लगनशीलता तथा रचनात्मक क्षेत्रमा ज्योतिषीय दृष्टिकोणले योग वा अवस्था के कस्तो देखिन्छ र ग्रहको प्रभावले सिर्जनात्मक कार्यमा कस्तो प्रभाव पार्दछ भन्ने जिज्ञासा राख्नुभयो । सोही सिलसिलामा राम ज्ञवालीले साहित्यकार सदानन्दको विषयमा जन्म मिति, समय तथा स्थानको विवरण दिनुभयो । अनि मैले कताकता केही वर्ष अघिदेखि नै सुनेजानेको जस्तो लाग्ने सदानन्द रिजाल कृषि क्षेत्रको मात्र नभई साहित्य क्षेत्रमासमेत अतुलनीय सेवा गरेको सुन्दा मलाई पनि उहाँको लेखन–सिर्जनात्मक पक्षमा ज्योतिषीय कोणको दृष्टिसंयोग कस्तो रहेछ भन्ने निकै कैतहलता जाग्यो र  त्यसैआधारमा लग्न कुण्डलीको निर्माण गर्नतर्फ लागेँ । एउटा फरक क्षेत्रमा विशेषज्ञता प्राप्त गरेको व्यक्तिले अन्ततः साहित्यिक क्षेत्रमा मोह राखी त्यसको रसातलमा डुब्दै योगदान पु¥याउनु पर्ने कारण के होला ?यी जिज्ञासालगायतका विषय सरोकारमा आधारित रही त्यसको ज्योतिषीय समीक्षा निम्न विवरणलाई आधार मानि फलादेश गर्ने जमर्को गरेको छु ः–
ज्ञवालीज्यूले टिपाउनुभएको प्राप्त विवरण
जन्म मितिः २००३ साल श्रावण १ गते
जन्म समयः बिहानको सूर्योदयसँगै
जन्म स्थिानः पर्वत जिल्ला, शंकरपोखरी–४, नुवार
यिनै आधारमा जातक खगेश्वर रिजालको कुण्डली निर्माण गरेर सामान्य फलको विषयमा चर्चा गरेको छु । यस्तो महत्त्वपूर्ण अवसर प्रदान गर्ने मित्र राम ज्ञवालीलाई धन्यवाद ज्ञापन गर्दछु ।
प्रत्येक जीवित प्राणीहरू जन्मदेखि मृत्युपर्यन्त एउटै प्रजाति विशेषको भएतापनि तिनीहरूको दैनिक जीवनचर्या जस्तै सुख, भोग, स्वास्थ्य, मातृपितृसम्बन्ध, भ्रातृभगिनी सम्बन्ध, भौतिक तथा परमार्थिक सम्बन्ध अन्य घटना तथा परिघटना सर्वथा एउटै हुनसक्दैन यसको तथ्य नै उसको प्रारब्ध हो । त्यस प्रारब्धको कारक अन्य केही नभएर खगोलीय पिण्डहरूको विशाल समूहबाट केही पिण्डहरू जसको प्रत्येक प्राणी तथा सृष्टिकर्ममा प्रत्यक्ष प्रभाव देखिन्छ त्यसलाई ग्रहको संज्ञा दिइएको छ । ग्रहको गतिले प्रत्येक प्राणीलाई अनुकुलता वा प्रतिकुलताको प्रभाव पार्दछ । त्यसमध्ये मानिस त्यस्तो प्राणी हो जसले ग्रहको गति र प्रभावलाई विधि सूत्र तथा विभिन्न सिद्धान्तहरूको अध्ययन गरेर फलादेश गर्ने र सुरक्षित हुने समाधान तथा निराकरणतिर अभ्यास गर्न लाग्दछ। ग्रहको गति र प्रभावलाई अध्ययन गर्ने शास्त्रलाई ज्योतिष भनिन्छ । पूर्वीयदर्शनअनुसार वेदको ६ अंगमध्ये ज्योतिषलाई नेत्रको संज्ञा दिइएको छ । सिद्धान्त शिरोमणिमा भाष्कराचार्यले "शब्दशास्त्रं मुखं ज्योतिषं चक्षुषी श्रोतमुक्तं निरुक्तं च कल्पं करौ । या तु शिक्षास्य वेदस्य सा नासिका पादपद्मद्वयं छंद आद्यैबुधै।।" यसको अर्थ यो वेदको ६ अंगमध्ये व्याकरण मुख, ज्योतिष नेत्र, निरुक्त कर्ण, कल्प हस्त, शिक्षा नासिका र छन्दलाई २० वटा पाउ हो । परन्तु छ अंगमध्ये नेत्रहीन भयो भने उसले केही गर्न सक्दैन ।
"संयुतोऽपीतरैः कर्णनासादिभिùचक्षुषांगने हीनो न किंचित्करः ।"
ज्योतिष शास्त्रको उत्पत्ति, प्रचलनको विधि, अध्ययन प्रक्रियाको ऐतिहासिक पृष्ठभूमि तथा प्रचलनको विषयमा वर्णन गर्न शायद त्यति सहज छ जस्तो लाग्दैन तर पूर्वीय दर्शनले यो सृष्टिकै माझमा अपौरषिय वेदबाट नै रचना भएको नितान्त ईश्वरीय र आलौकिक ग्रन्थको रूपमा वर्णन  गरिएको छ । पूर्वीयशास्त्रले विशेषत सनातन हिन्दु धर्मशास्त्रले ज्योतिष चतुःलक्ष श्लोक भएको विशाल विधाको रूपमा वर्णन गरिएको छ जस मध्ये तीन स्कन्ध जस्नै संहिता, तन्त्र र होरा शास्त्रको रूपमा व्याख्या गरेको छ ।
ज्योतिषिशास्त्रको अध्ययन गणितीय ताजिक, जातक, होरा आदिको रूपमा गर्ने प्रचलन अति प्राचीन  हो । पूर्वीय तथा यवन शास्त्रीजन पनि ज्योतिष शास्त्रीहरूले उच्च कदरका साथ अनुशरण गरेको पाइन्छ र उनिहरूमा पनि फलादेश गर्ने प्रचलन रहेको पाइन्छ । आधुनिक भौतिक जगत्ले पनि ज्योतिषशास्त्रलाई मानेको देखिन्छ तसर्थ ज्योतिषशास्त्र आफैमा एउटा विशाल विज्ञान हो भन्नु अत्युक्ति नहोला । ज्योतिष शास्त्रले समस्या वा परिमाणको कारण निराकरण तथा समाधानको पनि उपाय व्याख्या गर्दछ ।
मानिसको जिवनमा ग्रहको प्रत्यक्ष प्रभाव यसको महŒवको विषयमा धेरथोर व्याख्या गरे जो केही होइन अपितु विषयवस्तुको मुख्यधारमा प्रवेश गर्नु अघि त्यसको पृष्ठभूमिको पक्षपोषण मात्र गरेको हुँ । कुनै पनि विषयको फलादेश गर्दा मुख्यतया षडवर्ग
'गृहं होराऽथ द्रेष्काणो नवांशोद्वादशांशकः ।
त्रिशांशश्चेति षडवर्गाः फलबोधाय कीर्तिता।।'
गृह, होरा, द्रेष्काण, नवमांश, द्वादशांश र त्रिशांशको फल जान्नु आवश्यक छ । प्रस्तुत कुण्डलि लग्न कुण्डलीमात्र हो र त्यो पनि प्रत्यक्ष जातकको वास्तविक जन्मसमय (काल) को जानकारी विना स्पष्ट पारिएको छ । हुन त लग्न कुण्डली ८ नवमांश कुण्डलीको विषयमा वृहतजातक तथा क्षेराशास्त्रमा विशेष महत्त्व दिइएको छ किनकि यिनै कुण्डलीले मानिसको भौतिक, आध्यात्मिक र आत्यान्तिक त्रितापको सम्म वर्णन गर्न सक्दछ । यद्यपिती सम्पूर्ण द्वादश भावको सर्वाङ्ग पक्ष वर्णन तथा व्याख्या गरिएको छैन तर संक्षिप्त रूपमा उक्त जातकले जीवनमा ग्रहको गतिले प्राणीको भावनात्मक पेशागत सामाजिक तथा व्यक्तिगत जीवनमा परिवर्तन ल्याउन सफल हुन्छ त्यस्तै प्रस्तुत कुण्डलीले देखाएको छ ।








(द्रष्टव्य ः दिइएका समय अनुमानित भएकाले लग्न कुण्डलीको अतिरिक्त नवांशक, सप्तमांशक, द्रेùकाण, आदि कुण्डलीको निर्माण गरिएको छैन । )
प्रस्तुत कुण्डलीको लग्नेश (लग्न वा प्रथम स्थानको) अधिपति एकादेश स्थानमा बसेकाले र यो संक्रान्ति भएको पनि छ । ज्योतिषशास्त्रले यसको फलादेश यसरीगरेको छ ।
 "लग्नेशे लाभगे जातः सदा लाभ समन्वितः।
सुशीलः ख्यातकीर्तिùच बहुदार गुर्णेर्युजः।।"
लग्नको मालिक ११ स्थानमा  बसेकाले उसलाई सधँै धनलाभ हुने शुशील यशस्वी धेरै स्त्री भएको र धेरैगुणले युक्त भएको हुन्छ भनेर व्याख्या गर्दछ। ज्योतिषशास्त्रले धन भन्नाले भौतिक धन अर्थोपार्जन मात्र होइन उसको व्यक्तित्व र कीर्तित्वलाई पनि मान्नु भनेर जातकादि ग्रन्थमा व्याख्या पाइन्छ ।
त्यस्तै चतुर्थ स्थानको ग्रह लग्नमा भित्रको ग्रहमा गएर बसेको छ । मंगल आफू क्रुर ग्रहको र त्यस्तैलग्नेश एकादश स्थानमा भएकाले उस्को क्रुर प्रभाव त्यति पर्दैन तर यसको न्युनाधिक फल भने यसरी व्याख्या गरेको छ ।  
"सुखेशे लग्नगे जातो विद्यागुण विभूषितः।
भूमि वाहन संयुक्तो मातु सुख समन्वित।।"
चतुर्थ लग्नमा भएकाले जातक अनेक विद्या र गुणले युक्तहुने छ, भूमि, सवारी र माताको सुख प्राप्त गर्ने छ । यंक्ष अन्य पारिवारिक पृष्ठभूमिको विषयमा कुनै विश्लेषण नगरेर केवल  साहित्यिक साधनालाई चित्रण गरेकाले प्रस्तुत कुण्डलीको जातक धेरै विधा प्रति विशेष रुचि राख्ने प्रवृत्तिहुनेछ ।
वृहस्पति दोस्रो स्थान कन्याराशी र दोस्रो स्थानको स्वामी शनिसँग द्वादश स्थानमा बसेको छ । वृहस्पति आफू पञ्चम स्थानको मालिक दोस्रो स्थानमा बस्दा प्राप्त हुने फल निम्न श्लोकद्धारा व्यक्त थरिएको छ ।
'सुतेशे धनेगे जातो बहुपुत्रो धनान्वितः।
कुटुम्बपोषको मानी स्त्रीप्रियः सुयशा भुवि।।'
यसले उक्त जातक धेरै पुत्र भएको धनवान् कुटुम्बको पालक मानी र स्त्रीको प्रिय हुन्छ भनेर व्याख्या गरेको छ । यहि पञ्चमेश तर दोस्रो स्थानमा कन्या राशीसँग बसेको वृहस्पतिले आफ्नो शुभ र प्रभावशाली फल दिदैनन् भनेर केही विद्धानहरूको मत पनि छ ।
'गुरौ धनेऽथवा दृष्टे धनधान्यसुखं भवेत्।
विद्याविनयसंपन्नो मान्य सर्वस्य जायते।।'
दोस्रो स्थानमा गुरु वा गुरुको दृष्टि भएमा पनि धनधान्यको सुख मिल्दछ । त्यो व्यक्ति विद्या–विनययुक्त हुन्छ, सबैले उसलाई आदर गर्ने छन् । त्यस्तै अन्य आचार्यहरूको मतलाई पनि यहाँ प्रस्तुत गरिएको छ ।
"धनस्थे काव्यानां सरसरचना चारुपटुता
ऽधिकारी दंडानां प्रवरवसुधापालसदने।
सदायासादर्थागम उतजनानां मुखरता
लभेन्नो लोकेभ्यः स्थितिमपि धनं वा सवगुरौ।।"
जातक सुन्दर सरस काव्यको रचना गर्ने पटुता हुन्छ । सरकारी दण्डदिने विशेष अधिकार भएको अधिकारी हुन्छ । व्यक्तिमा पाचाल गुण हुन्छ अपितु लोकमा भने उसको ख्याति क्रमानुसार हुँदैन तापनि उसलाई सम्पन्न भने मान्दछन्। वृहद्यवनजातक तथा जागेश्वर जस्ता आचार्यहरूको मत भने यस्तो छ –
  "सदूरुपविद्यागुणकीर्तियुक्तः संत्यक्त वैरो नितरांगरीयान्।
त्यागी सुशीलो द्रविणेन पूर्णा गीर्वाणवंधे द्रविणोपयाते।।"
धनस्थान(दोस्रो)को वृहस्पतिले जातक रूपवान, गुणवान, विद्धान,गुणी ,यशस्वी, वैरीहीन शत्रुरहित, श्रेष्ठवाता सुशील तथा धनाढ्य हुन्छ ।
त्यस्तै
 "सजीवे धने काव्यकृच्चंचलो वै धनं तस्य वर्गे विरोधस्तदानीम्।
परंशत्रवः प्रौढतां संप्रपन्नाः शुरुपं तथा भामिनी रंजितोऽयम्।।
काव्यकर्ता चंचल, धनी स्ववर्ग विरोधी, स्वयं सुन्दर एवम् सुन्दर स्त्रीबाट सन्तुष्टि तथा शत्रुवर्ग हुन्छन्।
त्यस्तै लग्नको शुभले आँखामा समस्या उत्पन्न गराँउछ भन्ने  केही शास्त्रीहरूले मत छ । यो कुण्डलीमा शुभ नैसर्गिक शत्रुको गृहमा गएर बसेका छन् । अपितु यसको न्युनाधिक फल भने यसरी स्पष्ट पार्न सकिन्छ
'बहुकलाकुशलो विमलोत्तिकृत्सुवदनामदनानु भवः पुमान।
अवनिनायक मानधनान्वितो भृगुसुते तनुभावगते सति।'
लग्नमा (तनु) मा भएको शुक्रले जातकलाई अनेक पुकारको कला कुशल प्रिय र मधुर वचन भाषी सुन्दरी स्त्रीको सुख प्राप्त गर्ने र राजाबाट सम्मान प्राप्त गर्ने हुन्छ ।
त्यस्तै नवमेश लग्न भएको र दशमेश लग्न भइबसेको हुँदा यसलाई राजयोग जस्तो मान्न सकिन्छ, जसको फलादेश निम्न श्लोकले स्पष्ट पारेको छ ।
"भाग्येशे लग्नगे जातो भाग्यवान भूपवन्दितः।
सुशीलùच शुरुपùच विद्यावान जनपूजितः।।
कर्मेशे लग्नेगे जातो विद्धानख्यातो धनी कविः।
बाल्यरोगी सुखीपश्चात धनवृद्धिर्दिने दिने।।"
नवमेश र दशमेश लग्नमा भएको मानिस राजाको मान्य शुशील विद्धान कवि धनवान तथा बाल्यकालमा रोगी पश्चात सुखी र धनि हुन्छभनिन्छ ।
प्रस्तुत कुण्डलीमा तीनवटा केन्द्रमा पाप ग्रह तर लग्नमा भने शुभ पनि छ त्यस्तै पञ्चमेश बुधको स्थानमा दोस्रो स्थानमा गएर बसेको छ । त्यस्तै बुध, शनिसँग द्वादश स्थानमा गएर बसेको छ सोही स्थानमा रहेको र द्वादशेश (१२)षष्ठ स्थानमा गएर शत्रुको ग्रहमा बसेको छ । यस्ता जातकको जीवन आफैमा मिश्रित प्रणालीको हुन्छ। यद्यपी लेखन विधामा यिनीहरूको एकरूपता हुँदैन। फुटकर कविता लेख, निबन्ध जस्ता कार्यमा निपुण हुन्छन् । काव्य रचनामा भने शास्त्रिय काव्यको रचना गर्दैनन् । कुनै पनि विषयवस्तुको सन्दर्भमा गहिरिएर चिन्तन र विश्लेषण गर्दछन् र वाकचातुर्याता पनि हुन्छ । यसरी गरिएका रचनाहरूले राष्ट्रिय स्तरमा स्थापित हुन भने कडा संघर्ष नै गर्नुपर्ने  छ । बुधले आफ्नो ग्रह तथा पञ्चम वृहस्पतिलाई देख्दछन् सोही रूपमा षष्ठेश चन्द्रमाले र वृहस्पतिलाई देख्ने हुँदा जातक अध्ययनशिल अन्वेषक र अनुसन्धानकर्ता हुँदै जीवन,लेखरचना र अध्ययनमा व्यतित गर्दछ।
सन्दर्भ ग्रन्थहरू
ड्ड जातक भरणम्
ड्ड वृहद जातक
ड्ड ज्योतिः सार
ड्ड ज्योतिष श्यामसङ्ग्रह
ड्ड यवन जातकम्
भनिन्छ जिन्दगी आफैमा एउटा रङ्गमञ्चजस्तै हो, जहाँ हरेक व्यक्तिले आफ्नो सीप, क्षमता, कलाजस्ता विशेष गुणलाई समाजमा प्रदर्शन गर्छ  गरिरहन्छ र अन्त्यमा ऊ विदा हुन्छ । जीवनभरका उसका क्रियाकलापहरू सार्थक देखिन सक्छन् । कतिपय कामहरू असफल हुनसक्छन् र असफलताकै कारण जिन्दगी निरर्थक लाग्न सक्छ । आआफ्ना जिन्दगीका कर्महरू सार्थक, विरर्थक, सफल, असफल जे हुनसक्छ त्यो सब मूल्याङ्कनको विषय हो । यस सम्बन्धमा व्यक्ति स्वयमले आत्ममूल्याङ्कन गर्न सक्छन् । आत्ममूल्याङ्कन अतिरिक्त उसको गुण, कर्मको आधारमा अन्य शुभेच्छुक, सहयात्री, शुभचिन्तक, समीक्षक, विश्लेषक वा जानकार सरोकारवालाहरूले पनि सम्बन्धित व्यक्तित्वको गुण, कर्मको मूल्याङ्कन गर्न सक्छन् । यसै सिलसिलामा सदानन्द  अभागीको जीवन, कर्म र व्यक्तित्वका बारेमा संक्षिप्त जिज्ञासा राखिदा उनलाई चिन्ने÷मान्ने लेखक, साहित्यकार, समीक्षक, समाजसेवी, पत्रकार, शुभेच्छुक, शुभचिन्तक, छिमेकी, नातेदार, इष्टमित्र, आफन्त, परिवार र जागीरे जीवनका परिचित केही व्यक्तित्वहरूले उनका बारेमा जसले जसरी बुझे, जति बुझे त्यसैअनुसारका धारणा,विचार व्यक्त भएका छन् । ती धारणाहरू कैयन् उस्तै आशयका  भए पनि फरकफरक प्रस्तुति शैली भएका कारण सङ्ग्रहणीय र अर्थपूर्ण बनेका छन् । ती धारणा जीवन्त छन् । वास्तवमै यथार्थपरक छन् । सदानन्दको यथार्थ र सटिक चित्रण गरेका छन् । बानी, व्यवहार, स्वभाव, कर्मशीलता, र उनको दृष्टिकोणलाई प्रष्ट्याएका छन् । ती धारणा उनीप्रतिको अभिव्यक्ति कोशसरह नै बनेका छन् । यी धारणाको महत्त्व अर्थ र प्रभाव भोलीका दिनमा समेत उत्तिकै रहनेछन् । ती धारणाबाट अधिकांश सबल पक्ष र कृति लेखन पाटोमा भने केही सीमित पक्ष पनि चित्रित गरिएका छन् । ती धारणाहरू ताजा रूपमा प्रस्तुत भएका छन् । बालबालिकादेखि प्रौढ, परिपक्क र वृद्ध उमेरावस्थासम्मकाले सदानन्द प्रतिको बुझाइ र दृष्टिकोण प्रस्तुत गरेका छन् । मोफसलका सरोकारवाला चिन्ने जान्नेहरूदेखि राजधानीमा र देशबाहिर बसेकाहरूले समेत उनलाई सम्झन पाएका छन् । चरित्र, आनीबानी वा व्यवहारप्रति सबैले सराहना गरेका छन् । यी विषयमा त झण्डैझण्डै सबैजसोले दोषविहीन वा गुण सम्पन्न व्यक्तिको रूपमा सम्झेका छन् । यस्ता गुण भएका व्यक्ति पाउनु अपवाद जस्तै हुनसक्छ । उनका कमजोरी किटिएका छन् त केवल लेखनसिर्जनामा मात्र । त्यो पनि स्वच्छन्दताप्रति केन्द्रित छन् । लेखनसिर्जना पाटोमा पनि सबैले दोष पक्ष औल्याएका छैनन् ।  जसले जसरी आफ्ना धारणा राखेका छन्  यी सबै धारणाका आआफ्नै महत्त्व र औचित्य रहेको छन्। यी सबै सार धारणा हुन् । अभिव्यक्ति सङ्ग्रहका रूपमा प्रस्तुत यी विचारले अन्य व्यक्तित्वहरूलाई समेत केही ज्ञानका खुराकहरू पस्कन सक्नेछन् । यी कुनै पनि सोच, धारणा बढ्ता प्रशंसा गर्न र सीमा औल्याएका धारणा आग्रहपूर्वाग्रह दर्शाउने नियतले कदापि आएका छैनन् । तसर्थ यी सबै विचार स्वच्छ र सफा हृदयबाट अभिव्यक्त भएका छन् भन्नु सान्दर्भिक होला । जागीरे जीवनका कर्म र सामाजिक जीवनका कर्मप्रति प्रश्न उठाइएकै छैन । यति धेरै व्यक्तित्वका समान धारणा आउनु र एउटै कुरालाई नै प्रष्ट्याउनुले उनको चिनारी स्फटिक जस्तो पारदर्शी रहेको छ भन्नु सान्दर्भिक होला ।

आठौँ अध्याय
जीवन, कर्म र व्यक्तित्वको सामञ्जस्यता एवम् पाइने प्रेरणा
(क) जीवनकर्म,व्यक्तित्व र लेखन–सिर्जनाबीच आन्तरिक सामञ्जस्यता
सदानन्द अभागीको जीवनयात्रामा जागीरे जीवन, सामाजिक र राजनीतिक सांस्कृतिक समसामायिक घटनाक्रम तथा परिवेशलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भोग्दै र समाधान गर्दै वर्तमान अवस्थासम्म आइपुगेको कुरा उनको जीवनीबाट थाहा हुन्छ । आफ्नो जीवनयात्राका सवालमा भोगेका देखेसुनेका कुराहरूलाई समेटी उनले साहित्यिक रचनाहरू  सृजना गरेका छन् । जागीरे जीवनको ज्ञान, अनुभव र अध्ययनलाई प्रयोग गरेर कृषि विषयक कृतिहरू लेखी सार्वजनिक गरेका छन् । साहित्यको सेवा गरेर अन्याय, शोषण, दमन, उत्पीडन आदिको भण्डाफोर गर्दै स्व्च्छ समाज निर्माणको परिकल्पना तर्फ उन्मुख भएको कुरा उनका कृतिबाट स्पष्ट हुन्छ । जागीरे, साहित्यिक, लेखकीय र सामाजिक व्यक्तित्वले उनको जीवनीलाई माथि उठाएको पाइन्छ । जीवन जसरी प्रवाहशील नदीसरी बगेको छ, त्यसरी नै उनको व्यक्तित्वले पनि समाजमा राम्रो स्थान लिन पुगेको देखिन्छ । आफ्ना लेखरचनामार्फत् समाजमा रहेका व्यक्तित्वहरूलाई कर्ममा डोर्याउन, कर्मयोगमा जोड्न तथा समाजका विसङ्गति, समसामाजिक परिवेशका कुरा छर्लङग्याउन उनी सफल छन्। उनका कृतिहरू अध्ययन गर्दा उनीसँगै बोलेको आभाष हुन्छ । उनमाराष्ट्रियता प्रतिको चिन्तन प्रबल छ । अन्तर्मनका भावनाहरूलाई साहित्य सिर्जनामा व्यक्त गरेकाले जीवन र सिर्जनामा सामञ्जस्य मिलेको पाइन्छ । उनले भन्छन्,"सिर्जनामा आर्दशका कुरा थुपारेर मात्र हुँदैन व्यवहारमा त्यसलाई लागू गर्नुपर्दछ ।" त्यसैअनुसार नै उनले व्यवहार प्रस्तुत गर्छन् । जागीरे जीवनमा जेजतिलाई वा जुनजुन पक्षलाई सेवा गरे त्यसबाहेक निवृत्त जीवन विताउन थालेदेखिका दिनहरूमा पनि उनी साहित्य सेवक र समाजसेवी भएर दिन विताइरहेका छन् । साहित्यिक संस्थागत नेतृत्व पनि उनको अर्काे पाटो रहेको छ । समग्रमा उनको महŒवपूर्ण पक्ष भनेको नेपाली साहित्य, कृषि र माटोको सेवा गर्नु नै रहेको छ । उनको जीवन यात्रामा देखिएको समाजसेवी भावना र साहित्यिक रुचिको प्रभाव साहित्य लेखनमा पनि देखा पर्दछ । यसरी उनको जीवनकर्म व्यक्तित्व र साहित्य सिर्जनाबीच आन्तरिक समाञ्जस्य कायम रहेको स्पष्ट हुन्छ । भाषा साहित्य र माटोलाई प्राण सम्झने र यिनलाई उर्वर बनाउन लागिपर्ने सदानन्द जस्ता पात्र यत्रतत्र सर्वत्र   भेटिदैनन् । औला गन्नुपर्छ, कर्म क्षेत्रका आयाम हेरी मूल्याङ्कन गर्नुपर्छ । यस्ता सत्पात्र कहाँकहाँ छन्, यस्ता बहुआयामिक पात्र कहाँ छन् भनेरशोधीखोजी गर्दा बिरलै मात्र भेटिएलान् । सदानन्दले जीवन पाएपछि जीवनबोध गरे, कर्तव्यको परिभाषा राम्ररी अथ्र्याए अनि कर्मकर्तव्यको पथमा लागे र जीवनरूपी मियो राम्रैसँग समाई यहाँसम्म आइपुगे । समयलाई अमूल्य धन सम्झने सदानन्दले बेकार पाराले समय फुत्कन दिएनन् । समयको गतिशील प्रवाहमा आपूmलाई समाहित गरिरहे । नदिको झैँसक्रियता रूपी गति दिइरहे । जीवनका अनेकन आरोह अवरोहसँग लड्दैभिड्दै यहाँसम्म आइपुगे । जीवनसँग उनको गुनासो र पछुतो छैन । समय बेकारमा फालेर जिएको क्षणको उनलाई कुनै सम्झना छैन । कर्म विहीन भएर कुनै पल रहन नसक्ने उनी समाजका आशलाग्दा, भरोसायोग्य र सदैब खाँचो परिरहने पात्र हुन् । साहित्यिक कर्म लेखनकर्म सामजिक नेतृत्वदायी कर्म गर्दा सफलता पाउँदा   पनि कतै पनि विज्ञापनको खाँचो देखेनन् उनले । जतिले थाहा पाए वा जतिले जुन क्षेत्रले उनको कर्मबाट सेवा लिए त्यसैमा नै रमाइरेहे । पैसाको खोलो बगाएर प्रचारप्रसारमा लाग्ने पद्धति उनलाई कहिल्यै मन परेन । कहिल्यै हात खाली बस्न नसक्ने र बिहानीको जागा भएसँगै मनमस्तिष्कलाई दिनभर जसो स्वच्छ र जागरुक बनाई विश्राम दिनतिर पटक्कै नलाग्ने स्वास्थ उर्जाशील पात्र हुन् उनी । न्यायिक आँखामा उनी एक सत्पात्र हुन् । उत्प्रेरक र मार्गदर्शक पात्र समेत हुन् । सदानन्द जस्ता पात्रको खाँचो रहेको समाजलाई सदैव परिरहन्छ ।
जागीरे जीवनमा उनको सक्रियता र इमान्दारिता, कर्तव्यपरायणता लगनशीलताको चौतर्फी प्रशंसा भएको छ । स्वच्छ छवि कायक राख्दै अथक सेवामा लागेका उनीजस्ता पात्रको अहिले पनि खाँचो महसुस जुनसुकै क्षेत्रमा गरिन्छ । सेवालाई विशेष धर्म सम्झने सदानन्द समाज राष्ट्रका जाज्ज्वल्यमान दीप हुन् । यस्ता पात्र जुनसुकै समयमा र जुनसुकै क्षेत्रमा जन्मदैनन् । स्वच्छ विचार भएका सदाचारी यस्ता पात्र समाजका इज्जत प्रतिष्ठा समेत हुन् भन्न कति कञ्जुस्याइँ  गर्नु पर्दैन । तसर्थ हरेक पक्षीय दृष्टिबाट उनको जीवन सामञ्जस्य भएकै छ भन्नुमा अति हुदैन । यो जगत््लाईकेही त दिनैपर्छ भनेर लागिपरेका, व्यक्ति स्वार्थका लागि मरिहत्ते नगर्ने जस्तो सुकै समस्या परेपनि हँसिलो अनुहार र मुस्काएर मात्र बोल्ने, कहिल्यै सकैलाई नपिर्ने जस्तासुकै समस्या परे पनि सहजै लिने, सहने,लेखन–सिर्जनालाई जीवनको दैनिकी सम्झने,अरूको दुखसमस्यामा मलम लगाउन तम्सिने जस्ता बहुगुणहरू अनुकरणीय र प्रशंसनीय छन् । यी सबै आधारमा उनको जीवन कर्म व्यक्तित्व र लेखन–सिर्जनाबीच उपयुक्त  तालमेल छ । उनले लेखेअनुसारको, बोलेअनुसारको नै व्यवहार देखाउँछन् । खोक्रो आदर्शवादी वा चर्का कुरा उनलाई पटक्कै मन पर्दैन ।

 (ख) अभागीको जीवन, कर्म र व्यवहारबाट पाइने प्रेरणा र प्रभाव
सदानन्दको जीवन उल्लेखनीय छ । उनको कर्म, स्वभाव र व्यवहार प्रेरक छन् । मनुष्य जीवन पाइसकेपछि सत्कर्म गरेर सार्थक जीवन बाँच्ने प्रयत्न गर्नुपर्दछ। आफ्नो लागि बाँच्ने त सब हुन्छन् तर अरूको लागि र दीनदुःखीहरूका लागि बाँच्ने भने थोरै हुन्छन् । यो जीवन परोपकार या अरूका लागि हो, आफ्नो लागि मात्र होइन । तसर्थ अरूकै हित समाज–राष्ट्रकै उन्नतिमा आफूलाई समर्पित गर्न सक्नुपर्छ । धर्म संस्कृतिको उत्थानमा मन, वचन र कर्मले नै प्रवृत्तहुनुपर्छ । त्यसको व्यापक प्रचारप्रसार गरेर आफ्नो देश र जातिको गौरवलाई जीवन्त राख्नुपर्छ । जुनसुकै कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्य र दायित्वबाट टाढिन हुन्न । स्वधर्म र स्वसंस्कृतिको विकास एवम् संरक्षणमा आफूलाई लगाउनुपर्छ । आफूले जाने, सुनेका बुझेका कुरा अरूलाई सुनाएर ज्ञानको सम्प्रेषण गर्न पछि पर्नुहुन्न । सामाजिक असल संस्कृतिलाई बचाउन लागिपर्नु पर्छ । मानवताको हितमा आफूलाई उत्सर्ग गरी आध्यात्मिक ज्ञान सरोवरमा निरन्तर साधनारत रहनसके जीवन धन्य हुन्छ । जीवन भनेको भौतिक र अध्यात्मको मिश्रण हो तसर्थ भौतिक उन्नतिलाईमात्रै जीवनको साध्य मान्नु हुन्न । आध्यात्मिक उन्नतिलाईपनि जीवनमा महत्त्व दिनुपर्छ । सदानन्दले यी कुरा बुझेका छन् । व्यवहारमा देखाएका छन् ।
तीव्र इच्छाशक्ति राखेर कार्य क्षेत्रमा लाग्ने हो भने जीवनमा सफलता र प्रसिद्धि प्राप्त गर्न कठिन छैन । आफूलाई हीन ठान्नु भनेको पछाडि पर्नु हो । आत्मबल र साहस राखेर कार्य क्षेत्रमा प्रवेश गर्नु जीवनलाई सुधार्नु हो । जुन सुकै क्षेत्रमा लागे पनि समाज र राष्ट्रको लागि आफूलाई समर्पित गर्न सक्नुपर्दछ । राष्ट्रको नाम चम्काउन सदा सक्रियहुनुपर्छ । राम्राराम्रा काम गरेर राष्ट्रको प्रतिष्ठा बढाउनु पर्दछ । उच्च मनोबल राखेर जीवनमार्गमा गतिशील रहन सके जीवनमा ठोस उपलब्धि हासिल गर्न सकिन्छ । अभाव र गरीबीकाबीचमा संघर्ष गर्दै अगाडि बढ्ने हो भने पनि मान्छेले प्रगति गर्न सक्छ । मान्छे निस्वार्थी भई स्वच्छ व्यवहार अँगाल्नुपर्छ । अर्कालाई विझ्ने कुरा कहिल्यै पनि गर्नु हुन्न । दुःख दिने गर्नु हुन्न । कुनैपनि कुरामा निस्वार्थ भएर लाग्ने हो भने कहिल्यै अभाव भन्ने कुरा मान्छेले व्यहोर्नु पर्दैन ।
हरेक मानिस स्वाभिमानी र स्वतन्त्रता प्रेमी भएर बाँच्नुपर्छ । मानिस कर्तव्यपथबाट, उद्देश्यबाट, अभाव र पिडाबाट कहिल्यै बिचलित हुनहुन्न । मानिस जिज्ञासु हुनुपर्दछ । यस्तै प्रकृति भएको मानिसले मात्र जीवनजगत्, ब्रह्माण्ड आदिका बारे ज्ञान आर्जन गर्न सक्छ । यसैगरी जीवन कसरी सार्थक बनाउन सकिन्छ भन्ने कुरालाई सदैव सोची सोचे अनुरूप कार्य व्यवहारमा देखाउनु पर्दछ । त्यस्तै कठिनाई र बिपत्तीसँग जुध्न सक्ने र सामाजिक आलोचनाबाट पनि नडराउने तथा महान् कार्य गर्न सक्दा उत्साहका साथ अगाडि बढ्नुमा नै जीवनको अर्थ रहन्छ । सिर्जनाबाट राष्ट्रको उन्नति चाहनेहरूले अन्याय, अत्याचार र उत्पीडनको बिरोध गर्न कहिल्यै पछि पर्नु हुदैन । जनसेवा गर्न पद नै चाहिन्छ भन्ने पनि छैन । महान् कार्य गर्दा प्रशस्तै बिघ्नबाधा आउन सक्छन् । तर तिनलाई पन्छाउँदै धैर्य र लगनशील भएर कार्यक्षेत्रमा लाग्नुपर्दछ । राम्रो काम गर्दा उरुले के भन्लान भन्ने आशंका गर्नुहुँदैन । परिणामलाई सोच्नुभन्दा कर्मलाई नै निरन्तरता दिनुपर्दछ । अथक साधनाले, भगिरथ प्रयत्नले जीवनलाई सफलताको शिखरमा पु¥याउँछ र अमरताको पगरी गुथाउँछ । आफ्नो रुचि र इच्छाशक्तिलाई मूर्तरूप दिन हामी सधैँ कर्मयोगी बन्नु पर्दछ । सामाजिक निन्दाबाट विचलित हुनुहुँदैन, अधिक प्रशंसाबाट फुर्किनु पनि हँुदैन । कुनैपनि किसिमको शोध अनुसन्धान वा परीक्षण गरेर होस्् वा लेखनकार्यलाई निरन्तरता दिएर होस्् वा समाजका हरेक पक्षीय जीवन्त क्रियाकलाप गरेर नै भए पनि । जीवनलाई सिर्जनात्मक क्रियाकलापमा ढाल्नु पर्छ । कर्म गर्दा उमेरलाई दोषी बनाउन हुन्न । केही पाउनलाई केही केही गुमाउनु पर्छ । जीवन सधैँ नाफामामात्र रहन्न । भौतिक उन्नति र प्रगतीमा घटबढ भइरहन सक्छ । यी नाशिने कुरा हुन् तर विद्वत्ताको ज्ञानले छाडेका कर्म अमर रहन्छन् । मान्छेले गर्नु पर्ने नै अमर कर्म हो । रुचि क्षमता र लगावअनुसार फरक फरक विधामा काम गर्नु अत्युत्तम हुन्छ । सुखसयललाई तिलाञ्जली नदिएसम्म अमरकार्य हुन नसक्ला । निजी स्वार्थको परिधि र पर्खाल नाघेर मानव हितमा कीर्तिध्वजा फहराउन सकेमात्र जीवनको सार्थकता त्यहीँ छ । कसैको नक्कल गरेर वा अनुकरण गरेर मात्र आफ्नै मौलिक विचार, चिन्तन, दर्शन तथा मानवतावादी सोच अगाडि बढाउन र धन, बल, यशको घमण्ड नगरी मान्छेले मान्छेलाई मान्छेकै व्यवहार गरी चिन्न र बुझ्नसक्नु पर्ने तथा ''परोपकार पुण्याय पापाय परपीडनम्'', ''सत्यमेव जयते'' '' जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी'' मूलमन्त्रलाईआत्मसात् गर्नेको जीवन दैदीप्यमान हुन्छ । यस्ता व्यक्तित्वबाट नै सबै खाले व्यक्तित्वहरूलाई सत्प्रेरणा मिल्दछ । भोगवाद भन्दा त्यागवाद निकै महत्त्वपूर्ण हुन्छ । माथि लेखिएका अधिकांश जसो कुरा उनको  जीवनी व्यक्तित्व र कर्मबाट झल्किन्छन् ।  त्यसकारण सदानन्द अरूको लागि पनि प्रेरक पात्र बनेका छन् ।
सारसंक्षिप्त रूपमा बुँदागत आधारबाट हेर्ने हो भने उनीबाट निम्न प्रेरणा जुनसुकैले पनि लिन सकिन्छ । उनको जीवनबाट हामी यी कुरा सिकेर व्यवहारमा पनि लागू गर्न सक्छौँ ।
ड्ड सत्य, मीठो र  सोचेर बोल्ने र व्यवहारमा उतार्न,
ड्ड पूर्वीय आदर्श र मर्यादा अनुरूप जीवन चलाउन,
ड्ड कर्म कर्तव्यप्रति सदैव सचेत रही मानवताको प्रदर्शन गर्न,
ड्ड सिकेका वा प्राप्त गरेका ज्ञानलाई व्यवहारमा उतार्न,
ड्ड परोपकाराय पुण्याय पापाय परपीडनम्लाईआत्मसात् गर्न,
ड्ड आफ्नो भाषा, धर्म र संस्कृतिप्रति सकारात्मक सोच राख्न,
ड्ड खोज तथा अनुसन्धान कार्यबाट समाजमा लुकेका विषयवस्तुलाई जन समक्ष उजागर गरी तिनको सम्मान गर्न,
ड्ड दया, शान्ति, प्रेम र भक्ति भावनाप्रति सदैव चनाखो रहन,
ड्ड माटो नै प्राण सम्झन,
ड्ड सेवा नै धर्म हो भन्ने मूलमन्त्र सम्झन,
ड्ड सबैप्रति माया प्रोत्साहन र आदरभाव राख्न आदि,
अन्त्यमा,
यौटा असल व्यक्तित्व सदानन्द चिनाउन
उनको जीवन गाथाको इतिवृत्त खुलाउन
खोज औ अनुसन्धान आवश्यक म ठान्दछु
उनको अहिलेलाई यतिमै बिट मार्दछु ।


नवौँ अध्याय
उपसंहार र निष्कर्ष
पर्वतमा उहाँहरूको ठूला घरमा मध्यम वर्गीय परिवारमा जन्मिएका सदानन्दले बाल्यकाल सुखद् बिताए । प्रा.वि. अध्ययन गाउँमै गरे पनि उच्चशिक्षाका लागि देशबाहिर भारत गई पञ्जाब कृषि विश्वविद्यालयबाट बि.एस्सी (ए.जी) को शिक्षा हासिल गरे । पछि काठमाडौँबाट समाजशास्त्रमा स्नातकोत्तर गर्ने उद्देश्य राखेका उनले विविध कारणले त्यो पढाइ पुरा गर्न सकेनन् । जागीरि सिलसिलामा शिक्षक भई केही वर्ष आफ्नै गाउँमा काम गरेपनि पछि यिनको ध्यान सरकारी निजामती सेवातर्फ तानियो । फलस्वरूप वि.सं. २०५२सालमा माटोविज्ञ अर्थात् राजपत्राङ्कित द्वितीय श्रेणी, प्राविधिक पदमा पदोन्नति हुदै क्षत्रीय माटो परिक्षण प्रयोगशाला त्रिशुलीमा सेवा गरे । पुनः वि.सं.२०६१ सालमा प्रमुख माटो विज्ञका पदमा पदोन्नति भई माटो व्यवस्थापन निर्देशनालय काठमाडौँमा कार्यालय प्रमुखको हैसियतमा रहेर कर्म गर्दै कुशल प्रशासनिक क्षमता देखाए । सोही वर्षको चैत्र १ गते अनिवार्य अवकाश भए । चौबिस वर्ष तीन महिना सरकारी सेवा गरेका उनी सेवानिवृत्त भएपनि विभिन्न अनुसन्धान परियोजनाहरूमा संलग्न रहदै आफ्ना ज्ञान सीप र अनुभवलाई मातृभूमिको सेवामा खर्चेका छन् । यस अतिरिक्त साहित्य सिर्जना, लेखन, समाजसेवा र नेतृत्व उनका निरन्तर कर्म हुन् । दुई विवाह गरेका सदानन्द खुसी र सुखी नै देखिन्छन् । पारिवारिक चाँजोपाँजो राम्रै मिलेको देखिन्छ । इन्जिनियर बन्ने लक्ष्य लिएका सदानन्दले त्यो पुरा हुन नसकेपछि आफ्नो नाम पछाडि अभागी उपनाम राखी चिनाउन लागेको उनले बताउँछन् ।
विभिन्न परिवेश र अग्रज साहित्यकारबाट साहित्य सिर्जना र लेखनतर्फ मोडिएका सदानन्दले जागीरे जीवनसँगै यस कार्यलाई अगाडि बढाए । फलस्वरूप साहित्यका सबैजसो विधामा कलम चलाईस्वस्थापित मान्यताबाट अघि बढिरहेका छन् । बिहानी पखमा बढी लेखन सिर्जनमा जुट्ने उनी हालसम्म कृषि र गैरकृषि गरी पाँच दर्जन जति कृति सार्वजनिक गरिसकेका छन्  । लेखन–सिर्जनामा विशेष मोह भएका यिनमा मन मस्तिष्क र हात खालि राख्ने बानी छैन । अध्ययन पनि यिनमा प्रसस्त रहेको छ । रूढिवादी, अन्धपरम्परा र कुसंस्कारका कट्टर विरोधी यिनी मानवतावादका पक्षपोषक हुुन् । कृषि सम्बन्धी सबै काममा उत्तिकै चाख राख्ने यिनले अरूलाई प्रशिक्षित गर्छन्; प्रयोगशालामा समाहित तुल्याउन पाए जीवनको परमानन्द प्राप्ति हुने ठान्छन् ।असहाय, दीन, दुःखीप्रति सधैँ सहानुभूति राख्ने अभागी अरूलाई सहयोग गर्न पाउँदा अलौकिक आनन्दानुभूति गर्छन् । सानैबाट सामाजिक एवम् शैक्षिक वातावरणमाघुलमिल भएका उनको भावना निकै उदार कोमल स्वच्छ र सामूहिक चेतनाले भरिपूर्ण छ । उनी सरलता, इमानदारिता र कर्मयोगलाई सम्मान गर्छन् । सोह्र वर्षे युवक झैँ जोस जाँगरका साथ कर्ममा जुट्छन् । अलिकति फुर्सद मिल्यो कि साहित्यिक नसामा डुबिहाल्छन् । उनको मन मुटु सफा र पवित्र छ । राष्ट्रप्रेमको भावना प्रबल छ । नेपाली माटो, संस्कृति, लोकभाका र लोकबाजालाई औधी मन पराउने सदानन्द पूर्वीय कला, साहित्य, दर्शन र वी.पी.को समाजवादबाट निकै प्रभावित छन् । उनी संघर्षबाट स्थापित भएका व्यक्तित्व हुन् ।
अनेकौँ संघसंस्थामा आबद्ध र नेतृत्वकर्तासमेत रहेका उनले लेखक र साहित्यकारमा राम्रै छवि बनाएका छन् । बहुआयामिक व्यक्तित्व निर्माण गर्न सफल उनी । कवि, काव्यकार, आख्यानकार, जीवनीकार, गजलकार र मुक्तककार आदिका रूपमा परिचय सार्वजनिक गरेका छन् । पूर्वीय साहित्य सिद्धान्त र पूर्व स्थापित मान्यतालाई पूर्णतः पछ्याउन भन्दा पनि आफ्नै मौलिक चिन्तनमा रमाउँदै मौलिक विषयवस्तुहरूको सम्म प्रयोग गर्दै कृति प्रकाशन गरेका सदानन्दले आफ्नो लेखन र सिर्जनामा कसैको आलोचनात्मक टिप्पणीको कुनै वर्बाह गरेका छैनन् । प्रकाशित भएका कृतिहरूलाई हेर्दा उनले ती कृतिहरूलाई उपयुक्त आवरण साजसज्जा, बिम्ब प्रतिकात्मक आवरण चित्र, लेखन विषयगत भाषिक परिष्कार, परिमार्जनतर्फ उपयुक्त ध्यान दिएको भए; अग्रजहरूसँग उचित परामर्श लिएर कृति प्रकाशन गर्नतर्फ लागेको भए उनको उचाइ अहिले भए भन्दा बढी चुलिन्थ्यो । जति लेखे उनले, स्वतन्त्र भएरै लेखे । देशविदेशका महत्त्वपूर्ण स्थानको भ्रमण गरिसकेका उनले भ्रमणबाट प्राप्त ज्ञान र अनुभवलाईलेखन–सिर्जनाबाट पस्केका छन् । हिन्दू संस्कारबाट प्रशिक्षित सदानन्द कर्मयोगमा जुटी कर्मयोगी बन्न प्रेरित गर्छन् । छलकपट नजानेका, खुलस्त मन भएका उनले कसैमा पनि कर्मविहीनता देख्न सक्दैनन् । यो अमुल्य मानव जुनी कसैले त्यसै खेर फाल्न नहुने धारणा सदैव राख्दै आएका छन् । वि.सं.२०२६ देखि २०५६ साल सम्म पूर्वाद्र्ध चरण, २०५७ देखि हालसम्म उत्तराद्र्ध चरणमा साहित्य र लेखन सेवा गरिरहेका उनी अथक साधक बनेर चिनिन्छन् । जहाँ जहाँ पुग्छन्; जस्तो परिवेश देख्छन् त्यसैमा केही कल्पना र बढी यर्थाथता प्रयोग गरी फोटोग्राफीले झैँ विषयवस्तुलाईलेखन–सिर्जनामा उतार्न खप्पिस छन् उनी । कहीँ कतै कलात्मकताको प्रश्न उठाइए पनि सरल र सहज भाषाशैलीकै माध्यमबाट भएपनि समाजप्रति संवेदनशील बनी आफ्ना भाव विचारलाई दस्तावेजीकरण गर्न उनी खप्पिस छन् । आफ्ना योगदानबाट समाजका सरोकारिक पक्षले केही लाभ लिन सकेमा उनले आफ्नो जीवनकर्म गर्नुको सार्थकता देख्छन् । यस अर्थमा उनी समाज–राष्ट्रका लागि योगदान दिन बाँचेका मान्छे हुन् ।
उनको औपचारिक नाम सदानन्द र उपनाम अभागीबीच पारस्परिक मेल खाँदैन । यी दुई शब्दका अर्थबीच विरोधाभासपूर्ण देखिन्छ । उनले अर्कै उपनाम रोजेको भए बेस हुन्थ्यो । जे होस्् उनी उपनाममा अभागी भए पनि कामले भाग्यमानी छन् । कृषि विज्ञानलाई साहित्यमा उतारेर त्यस क्षेत्रको व्यापक बिस्तारीकरण, प्रचारप्रसार र जीवन्त बनाउन खेलेको भूमिकालाई कम्ता आँक्न सकिन्न । कृषि विज्ञानलाई साहित्यमय बनाउन उनले जुन त्याग र तपस्या गरेका छन् । त्यस कर्मले जुनसुकै विषयमा पनि साहित्य लेखिन सक्छ; साहित्यमार्फत् ती विषय झनै ओझिला, कालजयी ऐतिहासिक र दूरगामी प्रभाव पार्ने विषय बन्न सक्छन् । यस माध्यमबाट चेतना बिस्तार र ज्ञानको प्रशारण अत्यन्त चित्ताकर्षक रूपले हुनसक्छ भन्ने पुष्टि गरिदिएका छन् । प्राविधिक विषयलाई साहित्यमा उतार्न जो–त्योले सक्ने विषय होइन । साहित्यतर्फ हेर्ने हो भने पनि कसैलाई निकै सामान्य जस्ता लागेका विषयलाई पनि साहित्यिकतामा ढालेर प्रस्तुत गर्न सक्नु उनको विशेष खुबी हो । नवमान्यता स्थापित गर्नतिर लाग्नु उनको अर्को विशेषता हो । उनले यस्ता मान्यता फुटकर रचनाका साथसाथै आख्यान र काव्यमासमेत प्रयोग गरेका छन् ।
बहुआयामिक क्षेत्रमा कर्मशील व्यक्तित्व अभागी केही अन्तराष्ट्रिय, राष्ट्रिय पुरस्कार सम्मान र कदरपत्र तथा प्रशस्तै प्रमाणपत्रका साथ केही क्षेत्रीय एवम् जिल्ला स्तरबाट पुरस्कृत एवम् सम्मानित भइसकेका छन् । अभागीको जीवन उल्लेखनीय  बनेको छ । जागीरे जीवन अवकासपछि  लेखन–सिर्जनालाई जोडदार रूपले अघि बढाइरहेका छन्। कर्मविहिनता उनलाई पटक्कै मन पर्दैन, हातखाली उनी बस्नै सक्दैनन् । कर्मको वा व्यवहारको सिलसिलामा यो दुनियाँमा कुनै पनि व्यक्ति कुनै पक्षमा आलोचित भएका हुन्छन् । यो कुरामा उनी टाढा छन् । व्यवहारिक पक्षमा उनी सर्वत्र जसोबाट पूज्य भएका छन् । भने सिर्जना पाटोमा उनको केही पक्षमा आलोचना गरिएको छ । हुनत आलोचना गर्ने व्यक्तिले आलोचना गर्नेका विविध पाटोलाई कसरी नियालेर कति गहिराइमा गएर, बुझेर टिप्पणी गर्न सकेको हो त्यसमा पनि भर पर्छ । कसैले आलोचना नगरी बस्न नसक्ने कारणले पनि एकाध पक्षमा भए पनि खोट देखाएर आफ्नो अभीष्ट पूरा गर्दै मन शान्ति गर्दछन् । सदानन्दका विषयमा आलोचनात्मक टिप्पणीमा केवल एउटै पक्षले मात्र अर्थात् एकै व्यक्तिले मात्र दोष थुपारेका छैनन् । त्यस पक्षमा शैली फरक भए पनि एकै प्रकृतिका कमजोरी केलाईएको छ । आलोचनाको सवालमा भन्नु पर्दा विश्वचर्चित कृति वा नेपालका मदनपुरस्कार प्राप्त कृतिहरू पनि एकाध ससाना पक्षबाट भए पनि आलोचित भएका छन् । आलोचना गर्नु परम्परा जस्तो पनि भए पनि यथार्थ आलोचनाले सकेसम्म सच्चिन समेत सघाउँछ । यसै कारण केही व्यक्ति विविध पक्षमा सच्चिन पनि पुगेका छन । आलोचनाले देवकोटा, सम, घिमिरे, पौड्याल जस्ता अनेकन विशिष्ट राष्ट्रिय प्रतिभायुक्त व्यक्तित्वहरू पनि मुक्त हुन सकेनन् । यो संसारमा दुधैदुधले नुहाइएकाहरू कोही छैनन् । मानिस बहुगुण हुन, सर्वगुणी होइनन् । साहित्यकार, कलाकार, ज्योतिष, शुभेच्छुक, शुभचिन्तक, परिवार, बन्धुवान्धव, छिमेकी, परिचित विविध व्यक्तित्वसँग लिइएका धारणाबाट उनी सत्पात्र, सत्कर्मी, सदाचारी, कर्मयोगी, जीवनवोधी,सत्धर्मी, उदार उत्तरदायी, परोपकारी, सक्रिय, उर्जाशील, इमानदार, उत्सुक, सद्गुणी, आदर्शवान, आशावादी, क्षमाशील, सहनशील, जागरुक, सरल, पवित्र, उद्यमी, पौरखी, सिर्जनशील, सज्जन, आत्मविश्वासी, कर्मप्रति आस्थावान, स्वच्छ, सचेत, स्वाभिमान, साहसी, स्वाबलम्वी, संयम, सुसंस्कृत आदि गुणले यु्क्त छन् भने प्रमाण पेश भएका छन । मलाई लाग्छ केही एकाध नकारात्मक जस्ता लाग्ने टिप्पणीहरू उनीप्रति आग्रह पूर्वाग्रहले र रिस पोख्नका लागि व्यक्त गरिएकाहुन् भन्ने अवश्य लाग्दैन । काम गर्नेहरू नै चिनिन्छन् । उनीहरू नै प्रशंसित र आलोचित हुन्छन्न् । आफ्नो यथार्थ जाँच्न अरूबाट आफू मुल्याङ्कनमा परिनुपर्छ । साझा धारणाले नै कुनै पक्ष सबल दुर्बल प्रस्टाँउछ । कहिलेकाही एकाध व्यक्तिबाट आएको फरकखाले जानकारीले पनि त्यस व्यक्तिको नौलो वा लुकेको अथवा उद्धघाटित नभएको पाटोको ज्ञान मिल्दछ । सदानन्दका बारेमा यतिधेरै धारणा लिइदा पनि कैयन कुरा अझै रहस्यका विषय हुनसक्छन् । कसैले केही पक्षमा विविध कारणले मुख नखोलेका हुनसक्छन् । जे होस्् यो कर्म उनलाई चिनाउने र अरूलाई  प्रेरणा दिने उद्येश्य लक्षित रहेको छ । सत्कर्म गर्न गाउँमा मोफसलमा बसे पनि हुन्छ । राजधानी छिर्नुपर्दैन भन्ने सन्देश पनि यो अनुसन्धानले बताँउछ ।
हरेक मान्छेमा आफ्नै पहिचानीय स्वभाव हुन्छन् । सदानन्द पनि आफ्नै पहिचान भएका मान्छे हुन् । मैले उनको पारिवारिक जीवन सन्दर्भ दिनचर्यागत स्वभावलगायतका केही विषयमा प्रत्यक्ष नियाल्न पाएको छैन तर खोजी गर्दा शोध विधिमा केन्द्रित भएर केही पाटो उद्घाटन गर्न सके । एउटा कर्मशील व्यक्तिको जीवन महाभारत पुस्तक जस्तै हुन्छ । चर्चाका विषय अनेकन् हुन्छन् । खोतल्नु पर्ने पाटाहरू रहस्यका गर्भमा लुकेका हुन्छन् । ती विषय खोतलिए ठेली पुस्तक बन्छ । सदानन्द जीवन र कर्म महाभारतीय पुस्तक जस्तै विशाल छ । यो खोज त केवल सारसंक्षिप्त सूचना दिन मात्रै केन्द्रित छ । आगामी खोजकर्तालाई पथप्रदर्शन गर्ने यस खोज अनुसन्धानको औचित्य सावित हुनेछ । जे होस्् सदानन्द नाम र काममा उस्तै छन् । उनी अथक साधक नै हुन् । विषयवस्तुले छोएपछि लेखिहाल्ने ट्ड्कारो क्षमता उनमा छ । आवश्यक ठानेर लेख्छन् । प्रभाव के पर्छ त्यसको मतलब गर्दैनन् । लेखन–सिर्जना उनको जीवनको मोह हो । अध्ययनसँगै लेखन अघि सार्छन् उनी । उनमा आफ्नो जीवन भोगाइका पुरानो कालखण्डका माटो कृषि क्षेत्रका अथाह ज्ञान छन् । ती मध्ये धेरै लेखन–सिर्जनाबाट पस्किसकेका छन् । सकुञ्जेल लेख्छु भनेकै छन् । कृषिमा जागीर खाएर त्यही क्षेत्रमा मात्रै पपुलर बन्न नसकेका कैयौ छन् तर उनी यस कुराका अपवाद हुन् । उनी कृषि र गैरकृषि दुबै क्षेत्रमा लेखन र बौद्धिक पाराले अनेकन कर्म गरेर लोकप्रियताको निकट छन् । यो सत्ययुग होइन कलियुग हो । यहाँ साम, दाम, दण्ड, भेद आदिका सूत्र प्रपञ्च प्रयोग गरिन्छन् । आफू माथि उठ्नलाई । सदानन्द ले यो सुत्र प्रयोग गर्न चुके आफू माथि उठ्न तसर्थ सदानन्द जति चर्चामा आउनुपर्ने त्यति नआएका हुनसक्छन् । विज्ञापनको गीत उनले नगाउँदा उनको यथोचित कदर नभएको हुनसक्छ । सदानन्दमा जति क्षमता पैसावाल र विज्ञापन गर्ने मध्यका कोहीमा भएको भेट अनेक प्रपञ्चबाट मोफसल मात्र होइन राजधानी तात्थ्यो यस्ता फोहोरी खेलमा उनलाई फस्नु लाग्नु पनि छैन जो सुकैले जे भनोस् आफ्नै शुरधुन छ । निरन्तर कर्म गर्ने इच्छा शक्ति छ त्यही हो उनको जीवनको ठूलो कुरा उनलाई मनमा उब्जेका कुरा लेख्न भ्याइनभ्याइ छ ।
उनले कविता, काव्य, आख्यान, जीवनी, समीक्षा, समालोचना, गीत, मुक्तक, गजल आदि जे जे लेखे, साधना गरे, कृषि क्षेत्रमा जीवन दिए यी कर्मप्रति मेरो हार्दिक नमन छ । जीवन अझै बाँकी छ । जीवन थाकेको छैन, उर्जाशील छ तसर्थ उनमा कर्मका प्रशस्त सम्भावनाहरू छन् । उनले अझै महाकाव्य, खण्डकाव्य, कथा, उपन्यास लेख्न सक्छन् । कृषि क्षेत्रमा अमूल्य ज्ञान दिन बाड्न वा लेख्न सक्छन् । उनको समग्र जीवनकर्म र व्यक्तित्वको सराहना गर्दै बाँकी जीवनको सुस्वास्थ्य, आरोग्यता र दीर्घायुको कामना गर्दै उनले आफ्नो लेखनसिर्जना र नेतृत्वदायी कर्मबाट समाज राष्ट्रलाई योगदान दिइरहून् समाज,राष्ट्रलाई हराभरा पार्न सकून् भन्ने शुभेच्छा र कामनासहित यो लेखन विट मार्दछु ।

May 5, 2022

अन्तिम संस्कार एक विवेचना

सदानन्द अभागी
मानिस जन्मिन्छ ,छैटी गरिन्छ न्वारन गरिन्छ, हुर्किन्छ, विवाह गरिन्छ, बढ्दै जान्छ, युवा हुन्छ अनि बृद्ध हुन्छ । बृद्ध भएपछि एक दिन ऊ मर्छ । यो नियमित प्रकृया हो । हुन त  गर्भ मै पनि मर्ने या तुहिने कर्म नहुने हैन । यी घटना घट्दै जान्छन् । संसारमा आयु लामो छोटो मात्र हो तर मृत्युलाई कसैले टार्न चाहेर टार्न सक्दैन । हिन्दु धर्मावलम्विहरूले यसलोक भन्दा परलोक सपार्न पर्छ भन्छन् ।त्यसैमा मन लागि रहेको हुन्छ । आत्माले जबसम्म शरिरलाई साथ दिन्छ तबसम्म मानिस जीवित ठानिन्छ । जब  आत्मा शरिरबाट अलगिन्छ तब मानिस मरेको ठानिन्छ । शरिरबाट अलगिए पनि आत्माले त्यो ठाउँ छाड्न कठिन हुन्छ । किनकी उसमा घर परिवार, र सम्पत्ति आदिको मायाको कारणले गर्दा मरेपछि जानुपर्ने स्थानतिर नगै घरको वरपर नै बसेर  हानि पु¥याउन सक्ने विश्वास पनि गरिन्छ । यस भयबाट मुक्तहुनलाई उसले गरेका पाप आदिबाट मुक्त भै स्वर्ग जावस भन्ने हेतुले विविधप्रकारका गाई दानहरू गरिन्छ । मर्नेवेलामा वैतरणी दान गरिन्छ । जस्ले गर्दा गरिएका पापलाई नष्ट गरी वैतरणी नदी पार भएर स्वर्गतिर जान सकियोस् भन्ने यसको उद्देश्य रहेको हुन्छ । मरेपछि सहज स्वर्ग जावस भनेर नदीकिनारमा नपु¥याउन्देर बाटोमा पिण्डदान गरिन्छ अनि घाटमा लगेर जलाइन्छ । १३ दिनसम्म क्रियाकर्म गरिन्छ ।यस समय पनि धेरै दान गर्ने चलन छ
मरे पछि विभिन्न धर्ममा अन्त्येष्टि गर्ने आफ्नै आफ्नै संस्कार हुन्छन् । त्यही संस्कार अनुसार प्राय धेरै जातिमा लासलाई जलाउने या गाड्ने चलन हुन्छ । मुसलमान समाजमा लासलाई गाड्ने चलन छ। उता क्रिश्चियन परम्परामा मृतकको लासलाई कफनमा राखिन्छ ।लासमा सुगन्धित अत्तर छर्केर प्रार्थना गरी चिहानमा गाडिन्छ ।
नेपाल एउटा सानो देश भए पनि यहाँ विविध जातिको बसोबास छ । हिन्दु र बौद्ध धर्म मान्नेहरूको संख्या बढी छ । धर्मनिरपेक्ष राज्य भएपछि क्रिश्चियन धर्मको प्रचारप्रसार बढी भएको देखिन्छ । यी सबै जातीको अन्तिम संस्कार फरक फरक भएको देखिन्छ जस्तै नेपालका हिमाली भेगका भोटे जातिमा मरेको लासलाई लामाले साइत जुराएर काटेर टुक्रा टुक्रा पारेर गिद्ध र चिललाई खुवाउने चलन छ र यो जातिमा जुठो सुतक बार्ने चलन छैन भन्ने कुराहरू विभिन्न अध्ययनबाट जानकारी पाइन्छ । हिन्दु धर्म मान्ने भए पनि विभिन्न जातिमा पाइने चलनमा एकरूपता देखिदैन ।
हिन्दुहरूम मानिस मरेपछि भेटी लाने चलन कहिलेबाट कसरी चलाइएको हो त्यो भने थाहा भएन तर जसरी चलाइएको भए पनि भेटी लिएर जानु राम्रो काम हो । भेटी लिएर जाने काममा पहिला पहिला घिउ, चामल, अदुवा कागती लिएर जाने चलन थियो । यी चिज क्रियाकर्म गर्दा खाएर नसके पछि पनि प्रयोगमा ल्याउन सकिने हुन्छ । समय परिवर्तन हुँदै जाँदा यो चलनलाई पनि औपचारिकता निभाउने रूपमा परिणत हुन थालेको छ । भेटीको रूपमा फलपूmल लिएर जाने चलन बढ्दो कर्ममा देखिन थालेको छ ।फलपूmल चाँडै सडेर जाने हून्छ । न बेच विखन गरिन्छ न त खाएर नै सकिन्छ । त्यसो हुँदा सकेसम्म टिकाऊ हुने खालका खाने सामान भेटीमा लानु उपयुक्त देखिन्छ ।
आजकल कहीं कतै कतै भेटीको रूपमा पैसा दिने चलन पनि देखिन्छ । बस्तवमा यो चलन निकै राम्रो हो । किनकी क्रियामा बस्ने घरमा धन, अन्न  आदिको खाँचो परेहो हुनसक्छ । धनीको लागि यी चीजले खासै फरक पार्दैन तर गरिबको लागि भने भेटीमा पैसा दिएको खण्डमा ठूलो राहत हुन सक्छ ।
 देशमा लोकतन्त्रको बहालीपछि राजनीतिक दलले आप्mनो पार्टीलाई भोट दिने या आफ्नो कार्यकर्तालाई मृत्युपछि झण्डा ओढाउने काम व्यापक रूपमा फैलिएको देखिन्छ । जिउँदो छँदा मानिस सिटामोल खान नपाएर मरिरहेको छ । मरेपछि हाम्रो पार्टीमा निकै योगदान पु¥याएको र पार्टीको लागि एक अपूर्ण क्षति पुगेको भन्दै भाषण गरिन्छ । गहिरिएर हेर्ने हो भने यो जनतालाई विभाजित गर्ने काम हो । लासमाथि गरिने राजनीति भन्दा असाहाय गरिबहरूको लागि जो जुनसुकै पार्टीको किननहोस् समयमै उपचार तथा सहयोग गर्न सकियो भने समाज राजनीतिक विभाजनबाट बच्ने र  गरिबीले सत्तिएको समाजममा ठूलो टेवा पुग्न सक्छ । राजनीतिक पार्टी दर्विलो बनाउन त समाजले चाहेजस्तो काम गर्ने गरियो भने मानिसको झुकाउ स्वत हुन्छ र दल पनि सवल भएर जान्छ साथै देशले विकासको मोड लिन्छ ।
आजकल निकै प्रचलनमा आएको अर्को काम हो श्रद्धाञ्जलि सभाको आयोजना । आफैमा श्रद्धाञ्जलि सभा गर्नु, नराम्रो हो भन्न मिल्दैमिल्दैन । निश्चय पनि मृत्यव्यक्तिले गरेका कामको त्यहाँ चर्चा चल्छ । शोकसंतत्प परिवारमा समवेदना प्रकट गरिन्छ । स्वर्गवासको कामना गरिन्छ । यो काम पनि नाम चलेका प्रतिष्ठित व्यक्तिमा नै सीमित रहन्छ । गरिबहरूकोमा यस्ता सभा निकै कम भएको पाइन्छ । जे जति कर्म गरिन्छ ती कर्ममा गरिब तथा असहायलाई टेवादिने काम गर्न सकियो भनेमात्र समाजको भलो हुन्छ । गरिबको उत्थान हुन्छ । हुनत यी सबै गरिने कर्मबाट म धेरै टाढा छु भन्न मिल्दैन । म पनि मनले मानीनमानी सहभागी भएकै हुन्छु तर अन्त्यमा सबै बाट समाजलाई उत्थान गर्ने कर्ममा लागौं भन्दै साने विवेचनालाई यहीं बिट मार्दछु ।
 धन्यवाद 

April 28, 2022

गुपचुप गुपचुप सदानन्द अभागी

बागियान शर्माले २०६६ सालमा दुई ओटा गजल सङ्ग्रह चुपचाप चुपचाप र गुपचुप गुपचुपका पाण्डुलिपी तयार पार्नु भएको थियो । चुपचाप चुपचापले त्यही साल कृति बन्ने अवसर प्राप्त ग¥यो भने गुपचुप गुपचुपको प्रकाशन आएर २०७७ सालमा भयो । यी दुई कृतिको रचनापछि बागियान शर्माले गजल लेख्न छाडेको घोष्णा गरेको धारणा 'लेखकका कुरामा' प्रष्ट पारिएको छ । चुपचाप चुपचाप गजसङ्ग्रह पढ्न पाएको छैन तर 'गुपचुप गुपचुप' भने मैले अध्ययन गर्दै छु । गजल स्तरीय छन् । विविधतामा सजिएका छन्  तर गजलकारले यस्तो निर्णय लिनुमा निश्चय पनि  केही कारण होला त्य ो भने मलाई थाहा हुने कुरा भएन ।
मोतीराम भट्टले भित्र्याएका गजलले निकै खुट्कीला पारगर्दै आजसम्म आइपुग्दा निकै फन्को मारिसकेको छ । गजल गायन विद्याको रूपमा मात्र नभै विविध पक्षमा गजल लेखिन थालेका छन् । बास्तवमा यो स्थापित विधा हो ।
संरचना –आवरण पृष्ठ बाहेक, प्रकाशकीय,भूमिका र लेखकका कुरा गरी १४ पृष्ठ, ८२ ओटा गजल गरी ८२ पृष्ठ र कूल९६ पृष्ठको यो कृति, सुन्दर अग्र आवरण र पछिल्लो आवरणमा पाँच ओटा गजलले कृतिलाई सिङ्गारेको छ । यस कृतिको प्रकाशन सेवेन पिआर सप्लायर्स ( पथलैया बाराले ) गरेको छ र मूल्य रु ३००।– राखिएको छ ।
कृतिभित्र प्रवेश गर्दा – गजल विविधताले सजिएका छन् । पहिलो गजलमा मानवीय सम्वेदनाका आँसु गालामा नभएर मुटुमाझ झर्नथाले भन्दै गजलकारले नेपालको कृषि र किसानको बारेमा विश्लेषण गर्दै भन्छन्
कृषिप्रधान राज्यका  नागरिक भए पनि
हरसाल भोकभोकै बस्तीबस्ती मर्न थाले
 गजल १, पृष्ठ १५
नेपाल एउटा कृषिप्रधान देश हा तर यसको उत्पादनले जनतालाई खुवाउन सकेको छैन । जनता भोक भोकै मर्नलागेकोमा गजलकार चिन्तित छन् ।
गजलमा कतै प्रकाशको खोजी छ कतै कतै मानवता बगेका कुरा छन्, आँसु बगाउँदैमा इतिहाँस नफेरिने कुार,अस्मिता पोखिएका कुरा, स्वाभीमान चुकेका कुरा,गजलकारले स्वतन्त्ररूपमा आप्mना धारणा राखेका छन् ।
आज देशमा देखिएका अनमेल मेलमिलापलाई गजलकारले यसरी पोखेका छन् –
हिजोका शहादत आज जम्मै खेल भए
बाध बाख्रा एकै खोर , यो अनौठा मेल भए
गजल ५ पृष्ठ १९
 गजलकारको धारणा छ मानिस बेइमानी हुनु हुँदैन बेइमानीको मनभित्र तिखो तिखो झीर हुन्छ र बाहुबिच नदेखिने तीर हुन्छ । त्यसो हुँदा सतर्क रहनु पर्छ  आफ्नो बाटो मिार्ण गरेर अगाडी बढ्नु पर्छ । जो काम बाट भाग्न खोज्छ त्यस्ताको लागि समथर जग्गा पनि भिरको रूपमा दर्शिन्छ ।
गजलकारमा देश प्रेमको अमिट छाप छ । उनी माटोको प्रैम बाड्न चाहान्छन् ।  देशलाई  काँधमा राख्न चाहान्छन् । देश दुख्दा मुटु सुक्नु जस्ता राष्ट्रप्रेमले भरिएका धारणाहरू गजलमा आएका छन् ।
मानव जीवन  विविधतामा सजिएको छ । यहाँ रोदन छ, हाँसो छ कतै पीडै पीडा छ कतै आनन्दै आनन्द छ ।बागियानले यस गजल सङ्ग्रहमा थुप्रै धारणाहरू समेटेको देखिन्छन् ।
मुटुभित्र क्लेष साँची चोइटिएर हाँस्दै छु म
जीवन पथको गोरेटोमा तर छाती गलिरह्यो
गजल २२, पृष्ठ ३६
परिभाषा जिन्दगीले विविधता खोजेको हो
उठाइएका आस्थाहरू सधैं–सधैं ढलीरह्यो
गजल २२, पृष्ठ ३६
विरह र व्यथासँगै मिठो लाग्छ जिन्दगानी
जिजीविषा बोकें तर आखिर सबै बन्यो सूल
गजल २३ पृष्ठ ३७
आगो बोकी छातीभित्र बाहिर पानी हुनुप¥यो
दुःख पीडा पचाएर विश्वास जम्मै धुनुप¥यो
गजल ३६, पृष्ठ ५०
आर्थिक प्रलोभनले मानिसको स्वरूप, स्थान सबै बदलिन्छ –
हिजो सम्म नरक भन्थ्यो आज धाम भयो
आस्था सबै पाखा लागे अघि दाम भयो
गजल ४७ पृष्ठ ६१
अस्ति सम्म रावण दाँजिनेमा परेको छ
एकाएक आज तेत्रा युगको राम भयो
गजल ४७ पृष्ठ ६१
गजलकारको भनाइ छ आवरणले सबै सत्य देखाउँदैन –
देख्या सबै सत्य हुन्न
भित्र कालो धन्दा हुन्छ
गजल६३, पृष्ठ७७
सहिदप्रति गजलकारले प्रश्न गर्दै लेख्छन् –
उठेको हो एउटा प्रश्न
सहिदले के चैं पायो
गजल ७७पृष्ठ ९१
संसार आज द्वन्द्वमा फसिएको छ ।शक्ति शक्ति बीच र अहम्ताको कारणले गर्दा संसार आज अशान्त छ ।नेपालमा पनि निकै द्वन्द्व मच्चियो । आपूm आपूmमै काटा मारले देशको आर्थिक सामाजिक, राजनीतिक क्षेत्र निकै धमिलियो । यसबाट सबैले हारेका छौं भन्ने धारणा राखेका छन् गजलकारले
–हो त ? हामिले हा¥यौं र हारिरहेछौं
 आज आफैले आफैलाई मारिरहेछौं
 गजल५०, पृष्ठ ६४
जित्ने कुरा त टाढा छ क्षितिज झैं
आफ्नैमा कलहको बिउ सारिरहेछौं
गजल५०, पृष्ठ ६४
गजल प्राय शृङ्गार रसमा लेखिने गरिन्छ । यस कृतिमा शृङ्गारिक गजलहरूको बाहुल्यता देखिन्छ । प्रेममा आधारित विविध खाले गजलहरू हामिले यहाँ पढ्न पाउँछम् ––
प्रिया तिम्रो मुहार अहो ! घाम जस्तो छ
 खाली खल्तीभत्रि आज दाम जस्तो छ
गजल ५१,पृष्ठ ६५
न मनको भाकाभरि गीत बनेर आयौ
न त मस्त जवानीमा प्रीत बनेर आयौ
गजल २०,पृष्ठ ३४
छातीभित्र गुराँसका थुँगाहरू खिलेको छ
तिम्रो मिठो स्पर्शले पवन पनि हिलेको छ
गजल २९,पृष्ठ ४३
गुपचुप गुपचुप गजलभित्रका शेरहंरू मिठास भरिएका छन् । गजल सिद्धान्तमा आधारित रहेर नै लेखिएका छन् । भाषा सरल छ । तर बागियान शर्माले यति राम्रा गजल सिर्जना गर्दागर्दै किन गजल लेखनबाट टाढा हुन मन लाग्यो यो भने आश्चर्यको कुरा हो । यस गजल कृतिमा यस भन्दा अगाडी नबढी विदा लिने बिचार गरेको छु ।
धन्यवाद
 २०७९ साल वैशाख १५ गते  

April 26, 2022

अदृश्य पीडा लघुकथासङ्ग्रह को अध्ययन सदानन्द अभागी

नवराज रिजाल नेपाली साहित्यको क्षेत्रमा एउटा परिचित साहित्यकार हुन् । उनका केही कृतिहरू अध्ययनको लागि प्राप्त भएका छन् । यी कृति मध्येमा हाल म 'अदृश्य पीडा' लघुकथामा प्रवेश गरेको छु । अदृश्य पीडा लघुकथासङ्गह (२०५७) कृतिकारको रूपमा देखा परेका नवराजले हाल सम्म विखण्डित प्रवाह,(कथासङ्ग्रह,२०६३), माटो खोज्दै (लघुकथासङ्ग्रह,२०६७), चुपचाप,–चुपचाप (गजल सङ्ग्रह २०६६ र बाल साहित्यका एक दर्जन कृतिहरू सहित नेपाली साहित्यको फाँटमा उपस्थिति जनाएका छन् ।  वि.संं. २०३९सालमा 'पागलको चाहना' शीर्षकको लघुकथा मातृभूमि सप्ताहिकमा प्रकाशित गराएर लेखन क्षेत्रमा परिचित गराएका  नवराज आज आएर साहित्यको विविध क्षेत्रमा आपूmलाई सुपरिचित गराई सकेका छन् । नवराजको बाल साहित्यमा दखलता छ र  प्रसिद्धि पनि कमाएका छन् ।  सम्पादनको क्षेत्रमा पनि उनको योगदान अतुलनीय छ । देवकोटा व्याख्यान सङ्ग्रह,समायोजन, मैदान, मुर्छना,समायोजन,उत्तराद्र्ध, महेश आवाज,नेश्चिल उनी द्वारा सम्पदित भएका छन । भने हाल नवप्रज्ञापन को सम्पादक र प्रकाशनमा उनीबाट हुँदै आएको छ ।
पुरस्कारहरू–सुगन्ध लघुकथा पुरस्कार २०५१, शिक्षक श्री पुरस्कार–२०५६,नारायणी वाङ्मय पुरस्कार, २०५७, ,राष्ट्रिय वाङ्मय सम्मान, २०६३, अनेसास पुरस्कार, २०६६ र शिक्षा सम्मान २०७१ ले नवराजजी सम्मानित भै सक्नु भएको छ ।
कृतिभित्र प्रवेश गर्दा –यस कृतिमा ५७ वटा कथाहरू समावेश गरिएका छन् भने आवरणबाटै गणना गर्दा ११२ पृष्ठमा यो कथाको संरचना भएको छ । भूमिका, विषय सूची, लगायतले २१ पृष्ठ समाएको छ ।
कृति र कृतिकारप्रति पोखिएका भावनाहरू– आवरण पृष्ठमा यस कृति र कृतिकारप्रति साहित्यकारहरूले पस्केका धारणाहरू यसप्रकार छन् –
यस कृतिको प्रथम संस्करणमा डा. रामप्रसाद ज्ञावली लेख्नु हुन्छ – ' सरल मिजास, जिज्ञासु स्वभाव,केही गरूँ भन्ने विचारका नवराज रिजाल उत्साही सर्जक हुन् । आख्यान उनको विषयगत विद्या हो भने प्रगतिशीलता उनको वैचारिकता हो । '
रमेश गोर्खालीको दृष्टिमा –'सर्जकले सङ्कीर्ण मनोग्रन्थी र द्वैध चरित्रका व्यक्तिहरूलाई आफ्नो कृतिको रचनामा निन्दात्मकरूपमा खोइरो खनेका छन् । राजनीति परिवर्तनको मूल्यवत्तालाई आत्मसाथ गरी, सबैले लोककल्याणकारी गुणात्मक उच्चतमतिर ढल्किनुपर्छ भन्ने यिनको मनसाय छ ।
श्री ओम श्रेष्ठ रोदनको दृष्टिमा – 'यस सङ्ग्रहका लघुकथाहरूमार्फत नवराज रिजाल अरूका घाउमा दुखेका छन् । माटोलाई माया गरेका छन् ।मान्छेका प्रदुषित मानसिकतालाई स्वच्छ पार्ने अभीष्ट गरेका छन् । गरीव र दुःखीहरूलाई उज्यालो घामको चाहना गरेका छन् ।समनता र शुभकामनाको सन्देश प्रकट गरेका छन् ।'
ईश्वरी प्रसाद पोखरेलको दृष्टिमा –'वर्तमान युगमा नेपाली समाजका विभिन्न क्षेत्रहरूमा देखापरेका विकृति राजनीतिक विषमता, शैक्षिक अराजकता,युवा वेरोजगारी भ्रष्ट्रचारी प्रशासन,बढ्दो गरिबी,खस्कदो मानवीयता, ,हुर्कदो वेश्यावृत्ति फैलदो बालशोषण,लगायतका अनेकौं जीवन्त समस्याहरूमाथि कथाकार रिजालको दृष्टि पुगेको छ ।
लक्ष्मी कुमारी पुनको दृष्टिमा – उनका लघुकथामा देशप्रेम छ,गरिबी र अभावका पीडा छन् ,सामन्ती, शोषक बर्गको दमनमा परेका कामदारको चित्रण छ र समाजका लोभी स्वार्थी तथा द्वैध चरित्रका व्यक्तिप्रति व्याङ्ग्य पनि छ ।
 यी उपरोत्तः धारणाहरू यस कृतिको प्रथम संस्करणमा आएका हुन् ।
 यस संस्करणमा पुष्करराज भट्ट लेख्नुहुन्छ –'उनको रचनामा नेपालको राजनीति,अर्थतन्त्र, समाज,प्रशासन,साहित्य शैक्षिक संस्था,लगायतका विभिन्न क्षेत्र आएका छन् ।'
यस संस्करणमा डा. सुधन कुमार पौडेल लेख्नु हुन्छ –पछिल्लो पुस्तका सक्रिय र उत्साही कथाकारका रूपमा नेपाली साहित्यको पूmलबारीमा नवराज रिजालको लेखन कर्म आफ्नै रङ्ग र लयमा मुस्कुराइरहेको दखिन्छ ।ं'
कथाहरू अध्ययन गर्दा –
अर्ती –धुम्रपानमा छोराको लत बसेपछि  बाबुले यो काम गर्न हुँदैन भनेर अर्ती दिनु र छोराले बाबुको आज्ञा पालन गर्दा बाबुलेनै छोरालाई विडी किन्न पठाएपछि छोराले बाबुले राम्रो काम नभए विडी किन्न किन पठाउनुहुन्थ्यो र भनेर विडी खान थाल्नु । अर्ती दिनेवालाले आपूmले दिएको अर्ती पालन नगरेपछि अर्ती लिनेवालाले प्रयोगमा ल्याउँदैन ।
विडम्बना – यस कथामा थरीबाले आफै अध्यक्ष बनेर असहयोग हुँदाहुँदै पनि गाउँबासीको विकास भावनाले स्कुल बाटो निर्माण भएपछि थरीबाले अन्तिममा छात्राबास बनाए र मन्त्रीबाट उद्घाटन गरियो र थरीबा शिक्षाप्रेमीको नाताले अध्यक्षमा मनोनित भए । राजनीतिक कुटिलतालाई उदाङ्ग पारेको छ कथाले ।
पीडा –आन्दोलनमा परेकी,उनका बाबुको रिसवी साधना गर्न, उनलाई दिएको यातना र अदालतबाट प्राप्त छुट्करा, उनको पुरानो स्कुलमा हाजिर नगराउनु र अर्को स्कुलमा पनि हाँजिर हुन नपाई,अवकासपत्र प्राप्त गर्नु, आन्दोलन सफल भएपछि , पुनर्वाहालीमा सोही स्कुलमा प्रधानाध्यापक बन्नु
नवनिर्मित भवन उद्घाटन गर्न पूर्व सञ्चालक समितिको अध्यक्ष,र पूर्व जिल्ला पञ्चायतको उपसभापति कुटिल त्यही व्याक्ति नै मन्त्री भएर आउने भएपछि उस्लाई स्वागत गर्न गरिदै तयारीमा उनका हृदयबाट निस्केको पीडादाई आवाज 'नाइ'लाई कार्यलयसहायकले के भयो भन्दै प्रश्न सोध्नु र प्र.अ.मा कुनै जवाफ नहुनु । मार्मीक र परिवर्तनले दिन नसकेको जनताको यथार्थ पीडालाई कथाले आत्मसात गरेको छ ।
आशा –यस कथामा सरकार विरुद्ध गरिने आन्दोलनमा एकजना कुष्टरोगीलाई प्रयोग गरिएको,उसको आशा र कल्पनाको मनोविज्ञानलाई समेटिएको छ  र आन्दोलनपछि पुन ऊ अदृश्य अवस्थामा पुगेको अवस्थालाई दर्शाइएको छ कथामा ।आन्दोलनमा गरिने अमावीय व्यवहारको एउटा उदाहरण हो यो कथा । ्
सन्दर्भ –यस कथाले आजका द्वैध चरित्र धारण गरेर समाजमा आफ्नो नाम उच्च पार्न खोज्ने व्यक्तिप्रति व्यङ्ग कसिएको छ । भाषणमा जातपात केही होइन भन्ने सबै व्यवहारमा चराचरी हुनुपर्छ भन्ने तर व्यवहारमा प्रयोगमा नल्याउने यस्ता मानिसको शिर झुक्छ भन्ने सन्देश छ ।समाजिक यथार्थतामा आधारित छ कथा ।
अभियान –गरिबीबाट पिडीत ओतविहीनले ओतको खोजीमा आधारित छ कथा । म भन्नेपात्रसँग ओतको अनुरोधमा म भन्ने पात्रको विवशतालाई दर्शाइए छ ।
अधिकार –लागुपदार्थमा सम्लग्न व्यक्तिले ऊ लागुपदार्थ सम्पन्न देशसँगमात्र व्यपार गर्ने ऊ यो व्यपारबाट सन्तुष्ट रहेको, उस्लाई प्रहरीले गिरिफ्तार गर्न खोज गरिरहेको प्रहरीले गिरिफ्ता् गर्न नसके आफै गिरिफ्तारी दिने तयारीमा रहेको धारणा ।
पागलको चाहना –पागल  थरिथरिका हुन्छन् । ऊ माथि गरिने व्यवहार पनि थरिथरिका हुन्छन् । यो पागलको अति कारुणिक कथा यहाँ समावेश गरिएको छ जस्ले कसैको केही हानी नोक्सानी गर्दैन र भावना पोख्न खोज्दा पनि पाउँदैन। ऊ पागल पनमै अगाडी बढ्न बाध्य देखिन्छ ।
आँखीझ्याल–यसकथामा शिक्षामा बढवा दिएर कामलाई अगाडी बढाएको मानिसको पनि आफ्नै घर सन्तानबाट आशातित उपलब्धी हाँसिल नभएपछि मनमा वितृष्णा उत्पन्न भएर सौलो समाजमा असरपार्ने कामलाई पनि ध्यान दिइदैन ।
बाटो –कर्मचारीमा देखिने गरेका विकृतिलाई यस कथाले समेटेको छ । काम गर्ने कर्मठ कर्मचारीको मुल्याङ्कन नभएर चाकडी चापलुसी र स्वार्थले भरिएकाहरूको नै पदोन्नती हुने विवरण छ कथामा
एकादेशमा –यस कथामा तराईमा चलनमा आएको कमलरी प्रथाको एक नमुना हो । छोरीलाई अर्काको घरमा काम गर्न लगाउने हरेक फागुपूर्णियामा काम गरे बमोजिम अग्रिम भुक्तानीलिने गरिएकी एक किशोरीको पीडा र शैक्षिक अधिकार सम्बन्धित गोष्ठिको वर्णन गरिएको छ ।
खोजी–यस कथामा एउटा माग्ने बुढो असामन्य अवस्थामा छ । कसैको खोजी गरिरहेको छ र उसले माटो चाहिने,अस्तित्व चाहिने, ेस्वाभिमान चाहिने र स्वतन्त्र परिवेश चाहिने धारणा पोखि रहेको छ ।
स्वार्थ– यस कथामा समाजसेवीले 'मृतपतिका नाममा पत्नीले अजीवन विधवा बस्न हुन्छ भने पति पनि पत्नीका नाममा विधुर रहनैपर्छ " भन्ने भाषण गर्दै हिड्दैगर्दा आफ्नै बुहारीको मृत्यु भएको २२ दिनमा छोराको विवाह गरिएको धारणा आएको छ ।
सम्मान–यसकथामा  निम्न आए भएका साहित्यकारले औषधी उपचार नपाएर दुःखद मृत्युवरण गर्न परेको र सरकारले उपेक्ष गरेका धारणा आएको छ ।
कर्तव्य– यस कथामा सामाजिक कार्यकर्ताको नै द्वैधचरिलाई पष्ट्याएको छ । प्रजातन्त्र ल्याउनको लागि आन्दोलनमा लागेको विध्यार्थीलाई धनवीरे( समाजसेवी) को उस्काहटमा यातना शिविरमा हत्या भएको र शहीद दिवसका दिन उसैबाट माल्यार्पण गरिएको धारणा आएको छ ।
परिचय – यस कथामा मानिसको वास्तविक परिचयको खोजीमा रहेको मानिस तीन समुहको कार्यक्रममा सहभागी भएर आफ्नो भावना अनुकुलको परिचय प्राप्त नर्ग नसकी चुनावमा मतदानमा भाग नलिंदा मतदान नगरेको  अभियोगमा समतिएको धारणा आएको छ ।
पाटो–''सहयोग स्वार्थविहीन हुँदैन , आँखा चिम्म पारेर स्वीकार्दै जाने हो भने खडखालोमा पर्ने निश्चित छ ।" विदेशी सहयोगमा देश निर्भर हुनुहुँदैन भन्ने धारणा आएको छ ।
विगत–वर्तमान –नदीकिनारमा बसेर बालुवा चाल्ने र गिटी कुट्ने गरिब मानिसको यथार्थतालाई प्रष्ट्याएको छ कथाले बाबुपछि छोराले र छोरा पछि नातिले क्रमस यही गरिबीमा पिल्सिएको धारणा आएको छ कथामा ।
भोक –मार्मिक कथा छ यो ।मध्यम वर्गीयमानिसले मेहनतले पढेर विदेश गएर अध्ययन समाप्त सकेर आएर विवाह गरेर घरमा श्रीमती र छोराछोरी ले मिठो नमानी फालेको खाना एउटा भोको मानिस कन्टेनरमा फाल्न नदिई  मागेर खान्छ । ऊ निकै भावुक बन्छ भन्ने धारणा आएको छ कथामा । अनुभूति –मानिस एकठाउँबाट अर्को ठाउँमा सर्दा निकै उज्वालो भविष्यको कल्पना गर्दै जान्छ तर त्यहाँ पनि सोचे जस्तो फल प्राप्त गर्न नसक्दा पुरानै अनुभूति स्मरण गर्द छ भन्ने धारणा आएको छ कथामा ।
यथार्थ–यहाँ एउटी माग्ने बुढी,ठेगानाहीन अवस्थाकीको लाश बाटोमा थियो र पोष्टमार्टमको रिपोटमा हत्या गरिएको देखियो । हत्यारा पत्ता लागेन । महिला कर्मीहरूले नाराजुलुस लगाए ।केही पत्ता नलागेपछि स्थानीय नगरपालिकाले वेवारिसे लाशको दाह संस्कार ग¥यो तर चर्कौ नारा लगाउनेवाला केही उपस्थित नभएको धारणा आएको छ कथामा ।
दीर्घरोग – गरिबीले सत्तिएको व्यक्ति डाक्टरकोमा जान्छ र म र मेरो पुर्खा  सबै दीर्घरोगले सत्तिएका छौं। पाईन्छ भने यो दीर्घरोगबाट मुक्त हुने दवाई पाउँ भन्छ तर डाक्टर सँग पनि यसको औषधी छैन ।
शहीदपुत्र–यस कथामा शहीदपुत्रले भोग्न परेका भोको पेट, अशिक्षित मस्तिष्क र ज्ञान शून्यजिन्दगीको मार्मिक अवस्थालाई समाजसेवीको भाषणले  कुनै टेवा दिन नसक्ने धारणा आएको छ कथामा ।
मानवता – गाउँबाट सहर श्रीमान खोज्न पुगेकी एउटी नारीको  श्रीमानले डेरा सरेर अप्ठयारोमा परेकीको अस्मिता लुटेका कथालाई प्रष्ट्याइएको छ ।
धूर्तत्ता – मज्दूर नेताको भाषणले सबै श्रमिकहरू हर्षित भए ।कारखानाको मूलढोकामा ताला लगाइयो केही माग पुरा भए केही मागपछि पुरा गर्ने भनेर तालाखुल्यो तर असन्तोषी मज्दूरलाई आरोपलगाएर निस्काशन गरियो । मज्द्रर नेता त कारखाना मालिकको मानिस रहेको धार्णा आएको छ कथामा  
मतान्तर–यस कथामा अनेकौं मतमा बाँडिएका मानिसको स्वअस्तित्व हराउँदै गएको र जव यो कुरा बुझेपछि स्व अस्तित्वमा फर्कान लागेको धारणा आएको छ ।
आँट–यस कथामा नारीले परम्पराकालदेखि नै अपहेलित,घृणित, र तिरस्कारलाई भोग्न परेका समस्यालाई जान्न नसके अस्तित्व लोप हुने आदि धारणा सभामा राखेको समाचार पत्रिकामा आएको देखेर श्रीमानले श्रीमतीलाई के तिमीहरूले अधिकार खोज्न लागेकै हौ त भनि प्रश्न गर्दा पत्नीले हजुरको दया माया र स्नेह चाहिन्छ भन्ने धारणा राख्दछिन् ।  
जीवन–पथ–तराईमा देखिएको श्रमिक(हरुवा चरुवा) प्रति ज्याला मज्दूरीमा  गरिने शोषणको वर्णन गरिएको छ । पछि दलहरू गठन भएपछि पनि उही मालिकै ठूलो नेता बनी उसकै दयामायामा पालिनु पर्ने धारणा आएको छ कथामा ।
पेट –विवश भै देह व्यपारमा लागेकी एउटी महिलाले महिला अधिकार कर्मीका धारणा सुन्दा उत्साहित भए कि तर सभा समप्त हुँदा सबै सम्पन्न भएका र उसले पेट पाल्न ग्राहक खोज्न जान परेको धारणा छ कथामा ।
निर्णय– राजस्व संकलन कार्यालयका हाकिम रङ्गेहात समातिए र प्रमाण सहित माथिल्लो निकायमा पेश गरिए तर तीन महिनापछि सम्बिन्धित निकायले त्यही खटाएको र पहिलो छानविन चित्त बुझ्दो नभएकोले अर्को छानविन टोली आउने समाचार पनि प्रकाशनमा आएको ।
ठूलो मानिस –यस कथामा एउटा विद्यार्थीले शिक्षकसँग हजुरले सबै कुरा जान्नु हुन्छ भन्ने जिज्ञाशामा शिक्षकले सबै मानिस सबै कुरामा जान्ने हुँदैनन् । आफ्ना आफ्ना क्षेत्रमा हो भन्दा विद्यार्थीले राजनीतिक कार्यकर्ता सबै चिज जान्ने हुन्छन् भन्ने प्रश्न राख्नु तर शिक्षकले प्रतिउत्तर नदिनु ।
यथास्थिति – शहरका प्रतिष्ठित वकिल रञ्जनकी एक्ली छोरी रमिला विद्यालय शिक्षा पूरा गरेर क्यम्पस पढ्न उत्सुक छात्रा जस्लाई वकिलले विवाहको लागि केटा बोलाउँछन् । रमिलाले केटालाई देखेपछि मन नपराएको संकेतमा आमाले अनुहार चाट्ने बस्तु हैनभन्दै फकाउन थाल्छिन् । छोराले हेर्ने भएपछि रोज्न पनि पाउनु पर्छ भन्नु, बाबु छोराको पनि वहसचल्नु र वकिलले केटो देखाए पनि केटो छान्ने अधिकार नभएको जस्ता धारणा आएका छन् ।
प्रवृत्ति– कर्मचारीको घुस लिने प्रवृत्तिलाई यस कथाले प्रष्ट पारेको छ ।
प्रगतिशीलता–यस कथाले दलित र गैह्रदलित विचको भेदभावलाई प्रष्ट्याएको छ । भाषणमा समानता भने पनि व्यवहारमा छैन भन्ने कथाले पुष्टि गरेको छ ।
राहत– सारा गाउँ खडेरीबाट ग्रसित भएको र सरकारले राहत वितरण गर्ने भनि राहत समेत कर्मचारी खटायो राहत लिनेको संख्या बढी भएपछि लालपूर्जाको आधारमा राहत वितरण गर्ने भनियो ।  अधिकाम्सको लालपूर्जा नभएकोले राहत नपाउने भएको र पुरै गाउँले राहत अस्वीकार गरेको भए पनि राहत वितरणको समाचार प्रसारण भएको धारणा आएको छ कथामा
परिवेश– बालदिवस मनाउँदै फर्किने हुलसँगै गल्ली र पेटीहरूमा जीवन विताउनेहरूले आफ्नो विद्यालय र समूहलाई खोजे तर भेटेनन् भन्दै तिनको दयनीय अवस्थालाई कथाले पष्ट्याएको छ ।
चेतना –हरिनाथद्वारा यौन शोषण भएकी चेतना हरिनाथले 'हाम्रो समाज र नैतिकता विषयक प्रवचनमा बोल्दा तालिबज्दा चेतनाले बन्द गर्नुहोस यस्ता कुरा, कति छारे हाल्नुहुन्छ भन्दै चिच्याएको धारणा आएको छ कथामा ।
वास्तविकता – यस कथामा नेताले चुनाव ताका बाँडेका आस्वासन पुरा गर्न नसकेको र पुनस्मरण गराउँदा ''यो राजनीति हो  भनेका कुरा सबै कहाँ गर्न सकिन्छ र ? विकास त क्रमशः हुँदै जाने कुरा पो हो त" नेताको निर्वाचनताका बाँडिने झुटा आस्वासनको प्रतिनिधित्व गरेको छ कथाले ।
त्यो रात – अध्ययनकालमा साधनालाई बलत्कार गर्ने युवकको आफ्नै पतिद्वारा प्रशंसा सुन्दा व्यथित भएकी साधनाको मनोभाव प्रकट गरिएको छ कथामा ।
ठहर –लोग्ने वितेकी एउटी बूढी जस्का दु्ई भाइ छोराले विदेश अध्ययनको वेला उतै घरजम गरेर बस्ने  जानकारी पाउनु, गाउँलेलाई पहिला सहयोग आदि गर्दा दयाकी देवी भनिएकीलाई जब गाउँलेलाई सहयोग गर्न नसक्ने अवस्थामा पुगेपछि बोक्सी रहिछ भन्ने निष्कर्ष निकाले भनिएको छ कथामा
विश्वास – बसाइँ सर्दाको कष्टकर समस्यालाई यस कथाले समाएको छ । जहाँ थियो त्यहाँको अभाव, पीडा,दारिद्र्य र अप्राप्ति  नयाँ ठाउँमा पनि साथै गएर जीवन कष्टकर भएपछि पुन बसाइँ सर्ने निर्णय लियो ।
विवशता – एउटी पवित्र नारीको विवशतामा समाजले दिएका  दोषमा पत्र लेख्दै 'संघर्षमा हारे ,पतित ठहरीय म , तीन बच्चाको पेट पाल्नु थियो । भट्टी थापे पनि अस्मिता बेचेकी छैन र हारेर विदा हुँदैछु भन्ने धारणा आएको छ ।
छाया –दाउराको अभाव क्षेत्रमा नदीले बगाएर ल्याएका दाउरा संकलनको लागि मलु नदीमा दाउरा संकलन गर्न जान्छ , धेरै दाउरा संकलन गर्छ अझै संकलनगर्ने इच्छा जागेर आउँछ र नदीमा पस्छ र तैरिन नसकी मृत्युवरण गर्छ । हरेक रात सपनामा ऊ श्रीमतीसँग आउँछ र बचाउन आग्रह गर्छ  भन्ने धारणा आएको छ कथामा ।
्व्यवहार–अनन्तले स्वदेसी सीपको प्रयोगमा  भाषणमा जोड दिन्छ । गाउँमा कामको थालनी हुन्छ तर केही व्यक्तिले यसकामलाई उचित ठानेनन् र विरोध गर्न थाले र यसको नेतृत्व अनन्तले नै गरेको धारणा आएको छ ।
क्रम–यसकथामा एउटा श्रमिकले काम गरेर उसका छोराछारी र श्रीमतीको पेट भर्न सक्दैन तथा अभिभावकको दायित्व पूरा गर्न सक्दिैन ।
सोचाई –एउटा गरिब विद्यार्थीले चुनाव प्रचार प्रसारका सामाग्रीलाई लेख्य सामाग्रीको ंरूपमा बटुलेको देखेर शिक्षकले विद्यार्थीलाई निकै हप्कायो । विद्यार्थीले अहिले यी सामाग्री बटुल्ने राख्ने र पछि कापी बनाएर लेखेर ठूलो मानिस बन्ने धारणा राख्ेको धारणा आएको छ ।
भोको मान्छे–  एउटा मानिसको लाश रुखमा थियो विभिन्न समुदाय र धार्मिक गूरुहरूले  लाश आफ्नो समुदायको भनेर दावी गरे तर पोष्टमार्टन प्रतिवेदनको साथमा आएको पत्रमा सबै समुदाय र धर्म गुरुहंलाई समान दुरीमा राख्दै उसको लाश तिनीहरूले छुन नपाउन भन्ने र ''भोको मानिसले प्रवचन बुझ्दैन , उसलाई खाना चाहिन्छ" भन्ने धारणा आएको छ कथामा ।
निरुत्तर–एउटा पाँच वर्षि बच्चामा ठूलो र सानो मानिसको विभेदको कुरा उब्जेको यथार्थता यहाँ प्रस्तुत गरिएको छ । ठूलोमानिस बन्न के गर्नु पर्छ आदि मार्मिक प्रश्न छोराले बाबुलाई सोद्धनु तर बाबु निरुत्तर हुनु  ।
अठोट–यस कथामा अठोट बोकेर यात्रामा लागेका केही मित्रले यात्रा पुरा नगरी नै बीचमा रोकिएको र म भन्ने पात्रले आफ्नो अठोटलाई पूर्णता दिने क्रम भएको धारणा आएको छ कथामा ।
भ्रममुक्ति–जीवन र जिज्ञासा बस दुर्घटनामा परेर अस्पतालको शैयामा बस्दा दुबैमा आकर्षण बढ्छ । दुबैमा पत्र आदानप्रदान हुन्छ ।एक दिनको पत्रले उसलाई रोमान्चित बनायो तर पचिचय दिंदा उनले पति र कान्छो छोरो समेतको परिचय पाउँदा उःवेहोस मुद्रामा पुग्यो भन्दै कथा समाप्त हुन्छ
दया– आपूm अस्वस्थ अवस्थामा भएको वेला छोरीले काम गर्न थाली, अग्रिम तलव पनि पाउन थाली, बाबलाई शंका जाग्यो । यो सह्य भएन । आपूm काममा जान थाल्यो। काम माग्यो तर पाएन । छोरीले सरह काम गर्न सक्छु भन्दा छोरीलाई काम दयाले दिएको जवाफ पायो ।
सतह–विकासलाई सही रूपमा परिचालन गर्न नसक्दा गाउँलेलाई बोझ बन्यो र विकास विरोधीमा दर्शीय
पहिचान – यस कथामा स्तम्भ लेखिका, महिला अधिकारवादीकार्यकर्ता र विश्वविद्यालयको स्नातकौत्तर तह तृतीय वर्षकी छात्रालाई विवाहको लागि चार किसिमका वरको परिचय र फोटो पठाइएकोमा सम्पत्तिको लोभले सामान्य परिवार प्रवेशिका परीक्षा उत्रिणलाई मन पराएको धारणा ।
दृष्टि– भ्रष्टचार विरोधी अभियानमा लागेकाहरूको भ्रष्टचार गरेको समाचार बन्न नसकेको धारणा आएको छ कथामा ।
कायर÷वीर –  यस कथामा सज्जन व्यवहार, सबैसँग राम्रो व्यवहार गर्ने व्यक्तिलाई समाजले कायर ठान्ने र हेप्ने तर यदि त्यही मानिस घमण्डी र जिद्दीवाला र सबैलाई हेप्ने खालको भएमा त्यसबाट सबैै डराउने र वीर ठान्ने समाजको प्रवृत्तिलाई कथाले प्रष्ट पारेको छ ।
तस्वीर –यस कथामा एउटी यौवन मस्त युवतीले आफ्नो स्वभाविक स्थितिलाई आधुनीकरण गर्दै स्वप्निल राजकुमारको काखमा लुटपुटिई सुख सयल र मोज मज्जा गरी यसै अवस्थामा आमाले एक डाली कोदो लिएर  ढोक ढकढकाएपछि ऊ यथा स्थितिमा आएको धारणा छ कथामा ।
भोक र संवेदना –यो अन्तिम र अति दर्दनाक कथा हो यस कथामा आगलागीमा परेर दशवर्षको छोरा गुमाएकी आमालाई नावालक छोरीले सिस्नो मिसाएको खोले भन्दा भात मिठो हुने र घर छँदा भात खान नपाएको र दाई र घर नभएपनि भात खान पाय मजै हुने भन्दा आमा छोरालाई सम्झेर रुनथालिन र सरकारबाट प्राप्त राहतको चामल थियो भन्ने धारणा आएका छन् कथामा ।
नवराज रिजालबाट लेखिएका ५७ वटा कथाको केही सारभाव मैले पस्कने कोसिस गरैं । नवराज रिजालले यस कथामा सामजिक यथार्थतामा आधारित रहेर समाजमा देखिने राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रका विकृति र विसङ्गतिलाई राम्ररी समाएका र केलाएका छन् । गरिबीले थिचिएका भोकाक्रन्दनहरूले यस कथामा उच्च स्थान पाएका छन् । भ्रष्टचारीहरूले गर्ने भ्रष्टचारका यथार्थता, शैीक्षक व्यक्तित्वले अपनाएका यथास्थितिवादी प्रवृत्ति, मानिसमा गाडिएका पुरातनमुखी प्रवृत्ति, समाजमा आउन नसकेको  परिवर्तन आथि विविध क्षेत्रलाई कथाहरूले समटेका छन् ।
शीर्षकी करण – अदृश्य पीडा नामाकरण गरिएको यस कथासङ्ग्रहमा अदृश्य पीडा नामक कथा समावेश गरेको पाइदैन । यस कथासङ्ग्रहभित्र आवरणमा सहजरूपमा  देख्न नसके पनि हरेक कथाको अन्तस्करणमा थुप्रै पीडाहरू लुकेका छन् र ती लुकेका पीडालाई नवराजले प्रदर्शन गर्न सफल देखिएका छन् । यस आधारमा शीर्षक सार्थक छ भन्न सकिन्छ ।
पात्र विधान – यी कथामा नवराजले भौगोलिक अवस्थाको अध्ययनलाई नजर राख्दै पात्रहरूको चयन गरेको देखिन्छ ।सबै कथामा आएका पात्रहरू क्रियाशील छन् । कथाले भन्न चाहेको धारणासँग मेल खाने खालका छन् ।।
भाषा शैली र प्रस्तुती –भाषा सरल छ । सबै किसिमका पाठककोलागि ग्राह्य छ । उखान टुक्का तथा यथास्थानमा शब्दसंयोजन राम्रो छ । कथामा प्रस्तुती पनि महत्वपूर्ण हुन्छ । प्रस्तुती लोभ लाग्दो छ ।  समग्रमा कथाहरू सहज र सरल छन् ।
अन्त्यमा नवराजका कथामा मानव जीवनका पीडा, पीडाबोध गर्नु सिवाय अरू गर्न नसकिने विवशता, गरिबी माथि धनीहरूका उपेक्षा र तिरस्कार, गरिबीले थिचिएको समाजले गरिबीबाट मुक्ति पाउन नसकी कतै मृत्युवरण, कतै आशा, कतै निराशा, कर्मचारी तन्त्रमा देखिने व्यापक भ्रष्टचार, कतै चाकरी, कतै कामचोर र गफाडी आदि थुप्रे घटनाक्रमहरू रिजालले समाउनु भएको छ ।
 रिजालको लेखनकला अझै मौलाउँदै जावस भन्दै विदा हुन्छु ।
मिति २०७९ साल वैशाख १३