सदानन्द अभागी
लेखक परिचय –गोमबहादुर क्षेत्रीको साहित्यिक नाम गोमविक्रम हो । उहाँ पिता ः जुद्धबहादुर र माता रेवताकुमारी क्षेत्रीका सुपुत्र हुनुहुन्छ । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका– ७, कल्लाबारी, खानीगाउँमा वि.सं. २०३० पुस १५मा जन्मनु भएका गोम विक्रम क्षेत्री स्वास्थल साहित्य र पत्रकारितामा विशेष रुची राख्नुहुन्छ । उहाँ सुस्केरा संयुक्त मुक्तकसङ्ग्रह (२०७५) (सम्पादन सहित)को कृति लिएर साहित्यिक क्षेत्रमा उदाउनु भएका गोम विक्रमले हातेमालो स्फुरण संयुक्त मुक्तकसङ्ग्रह (२०७४), सयुुक्तै रूपमा लघुकथाको सुगन्ध – १ (२०७६), लघुकथाको सुगन्ध – २ (२०७७), लघुकथाको सुगन्ध, बालविषयक संयुक्त लघुकथा सङ्ग्रह (२०७७), समकालीन लघुकथा सङ्ग्रह (२०७७), लघुकथाको सुगन्ध –३ (२०७८), लघुकथाको सुगन्ध – बा बिषयक लघुकथा सङ्ग्रह (२०७८), हाम्रो लघुकथा पाठशाला – २ (२०७८), सौन्दर्यमा आमा – आमा विषयक संयुक्त लघुकथासङ्ग्रह (२०७८), भारत–नेपाल लघुकथा दर्पण (लघुकथा सङ्ग्रह) (२०७९) सम्पादन मण्डल (डा.राजेन्द्र परदेशी, डा.भाष्कर शर्मा, डा. रामकुमार पण्डित क्षेत्री),कृतिहरू प्रकाशन गरिसकेको विवरण निजको व्यक्तिगत विवरणबाट देखिन्छ । उहाँ कथाकारमात्र होइन उहाँ एउटा कुशल सम्पादक पनि हो । उहाँले नारायण कोइरालको मरुभूमिमा विष्फोट (लघुकथा सङ्ग्र्रह (२०७८)लाई सम्पादन गर्नु भएको छ । उहाँले पाठ्यपुस्तक लेखन पनि गर्नुहुन्छ । उहाँका लेखिएका पाठ्यपुस्तक यसप्रकार छन् –. माथागढी गा.पा. पाल्पा, भीरकोट न.पा. स्याङ्जा, कालीगण्डकी गा.पा. स्याङ्जा, सत्यवती गा.पा. गुल्मी,. विनयी त्रिवेणी गा.पा. नवलपरासी, मध्यबिन्दु न.पा. नवलपरासी । उहाँ निरन्तर लेखन तथा सम्पादनमा लाग्नु भएकै छ । हाल सम्ममा उहाँका प्रकाशोन्मुखकृतिहरू यस प्रकार छन्– समयका प्रतिध्वनिहरू मुक्तकसङ्ग्रह (प्रकाशोन्मुख) र नेपालभित्र नेपाल बाहिर संयुक्त लघुकथा सङ्ग्रह (सम्पादन÷ सङ्कलन) । विभिन्न पत्रपत्रिका, साहित्यिक पत्रिका, स्मारिका, मुखपत्रहरूमा दर्जनौं स्वास्थ्य, संस्कृति, लोकसाहित्य तथा समसामयिक विषयहरूमा लेख, समीक्षा, फिचर, सिर्जना तथा कार्यपत्रहरू प्रकाशित भएका छन् ।
आबद्धता –गोम विक्रमजीको उज्यालो आवाज अनलाइन पत्रिका र नेप्लीज डायस्पोरा अनलाइन पत्रिकासँग आवद्ध हुनु हुन्छ ।
आजीवन सदस्य –. नेपाल रेडक्रस सोसाइटी , नेपाल स्वयंसेवक संघ , गाउँले देउराली समाचार पत्र, शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान, नेपाल र साहित्यिक चौतारी नेपाल को आजीवन सदस्य हुनु हुन्छ ।
कृति भित्र प्रवेश गर्दा – गोमविक्रमले लेखनु भएको यस कृतिको प्रकाशन भुँडीपुराणले गरेको छ । समादरणिय बुबामुमा जुद्धबहादुर र रेवताकुमारीप्रति समर्पण गरिएको यस कृतिमा प्रा.डा. कपिल लामिछानेले भूमिका लेख्दै भन्नु हुन्छ –" प्रस्तुत कृतिलाई मगर जाति, संस्कृति र यसका गौरवशाली व्यक्तित्व बारेको आँखीझ्याल भन्न सकिन्छ । यसबाट मगरलाई राम्रोसँग बुझ्न सघाउ पुग्नेछ । " वास्तवमा नेपाल बहुजाति , बहुभाषा, बहुसंस्कृतिले शिङ्गारिएको देश हो । हाम्रो विशेषता भनेको नै अनेकतामा एकता हो । यो अनेकताको पूmलबारीमा थरिथरिका पूmल फुल्छन् तर एउटैमाला भएर सिङ्गारिन्छम् । यस्ता अमूल्य सस्कृतिलाई संरक्षण सम्वर्धनको साथै लोपहुँदै जान लागेको संस्कृतिलाई खोजतलास गरी बचाउनु पर्ने काम हो राज्यको तर यस्तो काममा राज्यले जुनरूपले त्यो गर्नु पर्ने हो त्यो भने गर्न सकेको छैन । देशमा छरिएर रहेका बहुमूल्य संस्कृतिको खोजीनीति राज्यले गर्न नसकेपछि साहित्यकार, पत्रकार, कलाकारहरू नै यसमा सरिक भएर अध्ययन गर्नु पर्ने दायित्व हाम्रो पनि हुनआउँछ । यस्तो महत्वपूर्ण काममा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका– ७, कल्लाबारी, खानीगाउँमा वि.सं. २०३० पुस १५मा जन्मेका गोम विक्रम क्षेत्रीले मगरसंस्कृति, परम्परा र गरिमाको अध्ययन अनुसन्धानमा लागेर एउटा अमूल्य कृति निकाल्नु भएको छ त्यसको प्रशंसा जती गरेपनि कमीनै हुन आउँछ । यस कृतिले समेटेका सबै कुरा यस लेखमा गर्न नसके पनि परिच्छेदले औंल्याएका शीर्षकको निसारण भने यहाँ दर्शाउने काम गर्दै छु ।
परिच्छेद एक– कृतिकारले यस परिच्छेदमा मगर जातिको परिचय, थर– उपथर तथा मगर भाषाका स्थाननाम चिनारीका बारेमा प्रकाश पारेएका छन् । नोलको ऐतिहासिक परिचय दिने क्रममा इ. पू. ८०० देखि ६०० मा लेखिएका स्कन्दपुराण, बराहपुराण र गरूणपुराणको सन्दर्भ दिंदै नेपालको नाम जोडिएको कुरा र भारतीय सम्राट समुद्र गुप्तको इ. पू. ३२५ देखि ३७५ को इलाहावाद अभिलेखमा पनि नेपाललाई छिमेकी राज्यको रूपमा चिनाइएको पाइन्छ भन्दै कृतिकारले नेपालको प्राचिन इीतहासलाई यहाँ समटिएका छन् । उहाँले इतिहाँसको हवाला दिंदै ६००० वर्ष ईसापूर्वतिर 'मंगोल' नामक व्यक्ति भूमध्य सागरीय क्षेत्रबाट गर्मी छल्न ६ छोराहरू मुनाइङमा, थोवोइङमा र योवोइङमा पूर्वतिर लागेका कुरा उल्लेख गर्नु भएको छ । तिनमा मुनाइङमाका सन्तान हिन्द महासागर, पञ्जाब, नैनीताल, गढवाल हुँदै इसापूर्व २३०० तिर पश्चिम भेगबाट अहिलेको नेपालमा प्रवेश गरे भन्ने उहाँको कथन छ । त्यसै गरी थोवोइङमाका सन्तानहरू चाहिँ चीन, बर्मा, आसाम, पाटकपतञ्जली हुँदै इसापूर्व १३०० तिर नेपालको मध्यपश्चिम भेगबाट प्रवेश गरेका थोवोइङमाका सन्तानहरू इशापूर्व १००० देखि १५०० तिर मुस्ताङ क्षेत्रबाट प्रवेश गरेका थिए भन्ने अनुमान लगाइन्छ भन्ने जानकारी यहाँ आएको छ । त्यस बाहेक चौथो समूह सिक्किमको युद्धमा धेरै नोक्सान बेहोरेका मगर फौजहरू काङवाचेन उपत्यकाको उर्वरभूमि त्यागेर दक्षिण पश्चिमतिरबाट र अन्य पाँचौं समूह दक्षिणी भेगबाट नेपाल प्रवेश गरेको मानिन्छ भन्ने कुरा गोम विक्रमको छ । गोम विक्रमको धारणमा बाहिरबाट नेपालमा आएर विस्तार भएको जानकारी पाइन्छ । संस्कृतिविद् बमकुमारी बुढा तथा बालाराम घर्ती मगर आदिको मतमा भने मगरहरू हालको रूकुमको मैकोट अन्तर्गत पेल्माखार र योमाखार ओडार (पुप) बाट उत्पत्ति भएका धारणा यहाँ आएका छन् । तिनका काला र गोरा दुई भाइमध्ये कालाका सन्तान रिडी गण्डकीदेखि पश्चिम दक्षिण फैलिएर अठार मगरात भएका तथा गोराका सन्तान रिडी गण्डकीदेखि पूर्व फैलिएर बाह्र मगरात भएको भनिएको छ । पुख्र्यौैली आख्यान र जनश्रुतिमा आधारित भएकाले यो तर्कलाई पुष्टि गर्ने आधार भने भेटिइसकेको छैन उहाँको तर्क छ । गोम विक्रमको भनाइमा 'यसरी विभिन्न ठाउँबाट आइ बसोबास गरेका मगरहरू नेपालका आदिवासी हुन् भनिए पनि मूल थलो कुन हो ? कहिले नेपालमा आए ? कसरी विस्तार भए ? भन्ने विषयमा मतैक्यता भेटिदैन । तर चिम्से आँखा, थेप्चो नाक, गहुँगोरो वर्ण, बलिष्ट तिघ्रा र पाखुरासितका मझौला कदका मगर र मंगोलहरूको शारीरिक बनावट भने मिल्दछ । त्यसै गरी मगरहरू ढुङ्गे युगमै नेपाल छिरेर घना जङगललाई आवाद गरी रैथाने भूमिपुत्रका रूपमा रहँदै आएको मान्न सकिन्छ' भन्ने धारणा गोम विक्रमको छ ।
मगर जातिको चिनारी – यस शीर्षकमा गोम विक्रमले ने. सं. २२१ (इ ११०१) को ताम्रपत्रमा उल्लेख भएको 'मग्वर विषय' ले ११०१ मै मगरहरू विभिन्न पहाडी क्षेत्रमा रहेर मगर जातिले आफ्नो बसोबास क्षेत्र स्थापना गरी सकेको सेनवंशावलीमा मगर जातीलाई नाग जाति भनिने, मगरात प्रदेशको गण्डकी क्षेत्र बुझाउने र गण्डकी क्षेत्र भित्रमा पनि अहिलेको स्याङ्जामा गह्रौंकोट, भिरकोट, सतौंकोट र नुवाकोट गरी ४ वटा चौबिसे राज्यहरू मगर राज्य भएको देखिन्छ भन्ने धारणा गोम विक्रमको छ । भुरे राज्य मगरको र टाकुरे राज्य भने गुरुङहरूको भएको जानकारीगोम विक्रमले दिएका छन्। भुरे राजाहरूले त फलाम (किटिया), तामा (आग्री), इत्यादि धातुहरू निकाली चलन गरि सकेका जानकारी गोम विक्रमले दिएका छन् । मगर' शब्दको उत्पत्ति र चिनारी मगर जातीमा जुङ्गाकम हुने भएकोले कम जुङ्गा हुने भन्दा भन्दै मग्वर( जुङ्गा कम हुने)बाट मगर हुन गएको हो । पछी गएर मगरात हुन गएको हो र मस्र्याङ्दीदेखि पश्चिम प्युठानसम्मको इलाकालाई 'बाह्र मगरात' भनिन थालियो भन्ने कुरा वि. सं. १८९३ को एक अभिलेखबाट स्पष्ट हुन आउने गोम विक्रमको धारणा छ ।
मस्र्याङ्दीदेखि भेरिसम्मको इलाकालाई मगरहरूको बसोबास रहेको क्षेत्र मानेका छन् र मगर राज्यलाई हराएर सेन वंशको राज्य स्थापना गरेको कुरा उल्लेख छ । खस साम्राज्य कालमा पनि तनहुँ, भिरकोट, गुल्मी, पाल्पा, प्युठान
भेगका मगर मुखियाहरूले अधिनस्थ सामन्तहरूका रूपमा शासन चलाएको र सैन्य र प्रशासनमा मगरहरूको योगदान महत्त्वपूर्ण रहेको कुरा पनि यस कृतिमा आएको छ । सेनवंशी राज्यको अवसानपछि थर बलदेर पनि राज्न्य सञ्चलन गरेका कुरा, पनि बाह्र मगरात र अठार मगरातको प्रसङ्गहरू, राज्य विस्तार, राजनीति,सेना लगायत विभिन्न क्षेत्रमा मगरहरूको योगदान रहेको कुरा , १२ र १८ मगरात क्षेत्रका विशेष चर्चाहरू, हिमालय प्रदेशको मध्ये तल्लो भागहरू भेरी र मस्र्याङ्दी नदीको जलाधार क्षेत्रहरू, खास गरी सतहुँ (सतौं, पैयुँ, भिरकोट, गरहुँ, रिसिङ, घिरिङ, ढोर, गुल्मी अर्घाखाँची, मुसिकोट, इश्मा आदि चौबिसे राज्य अन्तर्गतका राज्यहरू पर्दथे । कतिपयले मस्र्याङ्दीदेखि प्युठानसम्मको प्रदेशसम्म सल्यान, जुम्लाको माथिल्लो भेग, भोटान हुँदै सुनकोशीदेखि टिष्टासम्म साथै बलिहाङ, बल्ढेङगढी र गोरखालाई समेत बाह्र मगरात राज्यमा फैलिएको क्षेत्रलाई बाह्र मगरात क्षेत्र भन्दछन् भने बाह्र मगरात क्षेत्रमा अहिलेका दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, रोल्पा, रूकुम, प्युठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ्ग, म्याग्दी, पर्वत, स्याङ्जा, नवलपरासी तनहुँ, गोरखा लगायतका जिल्लाहरू पर्दछन् भन्ने कुराहरूयहाँ आएका छन् । यस क्षेत्रका मगरहरूले ढुट भाषा बोले पनि भाष विस्तारै लोपोन्मुख अवस्थामा गएको कुराहरू यहाँ आएका छन् । बाह्र मगरात जस्तै संस्कृतिविद बमकुमारी बुढाका अनुसाार अठार मगरातको पनि अस्तित्व, राजनीतिक संरचना देखिन्छ । तिनमा धरको (धुर्कोट, गुल्मी), धारकोइ (अर्घाखाँची), पैयाँ (पर्वत), सिङखङ (सिख, म्याग्दी), ढोरपाटन (बाग्लुङ), नारीकोइ (नारीकोट, प्युठान), बालुङबाङ (भालुबाङ, प्युठान), जङकोइ (रोल्पा), रूकुमकोइ (रूकुम) इश्मा (सल्यान), छिलीकोइ (दाङ), भाबा (दैलेख), बोरेकोइ (जाजरकोट), ताराकोइ, डोल्पा, तिमरकोट, जुम्ला, जुराल (डोटी), लुलान्य (डँडेलधुरा) गरी अठारवटा राज्य भएको र यहाँ मगर खाम र काइके भाषा प्रचलित रहेको कुराहरू यहाँ लर्शाइएको छ । तुलनात्मक हिसाबले बाह्र मगरातको भन्दा अठार मगरातमा भाषा, संस्कृति र परम्पराहरू सुरक्षित रहेको कुरा उल्लेख भएको पाइन्छ । यसरी कर्णालीसम्म फैलिएर रहेका विभिन्न मगर राज्यहरूमा जब भारतबाट आएका आर्यहरूले मगरहरूलाई विस्थापित गर्छन् र सिंजामा खसराज्यको स्थापना हुन्छ । मगर राज्यको अस्तित्व मेटिदै गएको पाइन्छ । पुनः खसहरूको शक्ति कमजोड भएपछि सिजाका नागराजाले स्वतन्त्र राज्य निर्माण गर्नु, सिम्रौनगढलाई राजधानी बनाई सिमरा (वनगढ) तराईमा अर्को राज्य बन्नु, एृटै राज्य तीन भागमा विभाजन हुनु। यसरी विभाजन हुँदै २२ से ÷२४ से राज्य निर्माण हुँदै गएका कुरा,बलिया राज्यले आपूmमा गाभेका कुरा राजमहलहरूका अवशेषहरू आज पनि देख्न पाइन कुराहरू कृतिकारले दर्शाएका छन् र उदाहरण बल्ढेङगढीमा अहिले पनि राजदरबारको खण्डहर, गढीका किल्ला, इनार, कुँवारी र कालिकादेवीको मन्दिर, पाँचपन्ने ढुङ्गा, ताम्रपत्र इत्यादि सुरक्षित रुपमा रहेको देख्न पाइने कुरा कृतिकारले लेखेका छन् । कृतिकारको सुझाव छ कि यस्ता ठामउँमा पुरातात्त्विक, ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा संरक्षित गरी विकास गर्नु पर्छ ।
मगर जातिको जनसङख्या – नेपालको जन संख्याको गणना अनुसार मगर जातिको संख्या तेस्रोमा पर्छ । मगरजाति निभिन्न स्थानमा छिरलिएर बसेका छन ् । ब्राह्मण जातीसँग थर मिलेको कारणले पनि जन गणना सही रूपमा नभएको हुँदा अहिले देखिएको जनसंख्या भन्दा मगरको संख्या बढी हुन सक्ने सम्भावना देखाइएको छ । मगर जातिले पनि आफ्नो वास्तविक थर लेख्न छाडेको आदि कारणले संख्या कम हुन गएको भन्ने धारणा यहाँ आएका छन् ।'मगर जातिको इतिहास अनि संस्कृति'का लेखक सन्तोष आलेका अनुसार नेपाल,भारत तथा विभिन्न क्षेत्रहरू सिक्किम, दार्जिलिङ, आसाम, मेघालय, मणिपुर,उत्तराञ्चलमा छरिएर रहेका मगरहरूलाई बाह्रौं शताब्दी अघि तामाङ, गुरूङ, राई,लिम्बू आदि जातिहरूलाई जस्तै किराँत भनिने तर मगरहरूले आफ्नो धर्म छाडी हिन्दू धर्म ग्रहण गरेपछि किराँत भन्न छाडिएको मानिन्छ भन्ने धारणमा । नेपालबाहेक विश्वका धेरै ठाउँहरूमा मगरहरू छरिएर रहेका छन् । त्यसो हुँदा मगरको संख्या यत्तिनै छन् भन्न सहज देखिदैन ।
मगर जातिमा प्रचलित थर उपथरहरू – यस कृतिमा मगरको आफ्नै भाषा, धर्म, संस्कृति र परम्पराहरू रहेका, विविध थर र उपथरहरूमा थापा, राना, आले, पुन, बुढा, रोका र घर्ती गरी प्रमुख ७ थरलाई लिए पनि यस भित्र फेरि अनेक उपथरहरू रहेके विवरण यहाँ आएका छन् । प्रा. केशरजंग बराल मगरद्वारा लिखित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०५० सालमा प्रकाशित गरेको 'पाल्पा तनहूँ र स्याङ्जाका मगरहरूको संस्कृति' नामक पुस्तकमा मगर जातिमा विद्यमान विभिन्न थर उपथरहरुको विवरण दिइएको छ । जसमा वर्णानुक्रम अनुसार आले मगरका विभिन्न २४६ उपथरहरू, घर्ती मगरका विभिन्न ४९ उपथरहरू, थापा मगरका विभिन्न ५५३ उपथरहरू , पुन मगरका विभिन्न ५३ उपथरहरू बुढा (बुरा) थोकी मगरका विभिन्न २६ उपथरहरू, राना मगरका विभिन्न १८६ उपथरहरू रोका मगरभित्र विभिन्न उपथरहरू गरी हालसम्म प्राप्त जम्मा १११३ उपथरहरू भएका मगरहरू नेपालमा बसोवास गरेको विवरण यहाँ प्रस्तुत गरिएको छ । यी थरहरू विविध कारणबाट राखिएको कुरा यहाँ दर्शाइएको छ । कुलपूजामा स्थान विशेष पाइने जानवरलाई प्रयोगमा जस्तै डोल्पामा सुँगुर पाइने हुनाले कुल पूजामा सुँगुर खोज्न थालियो अनि तनहुँमा भेडा पाइन्थ्यो होला र भेडाले कुल पुज्न थालियो यसरी थरहरूमा पनि विविधता छ । जस्ता कुरा यहाँ बताइएको छ ।
मगर भाषाका स्थाननाम –विभिध कारणले गर्दा ५८ प्रतिशतभन्दा धेरै मगरहरूले आफ्नै भाषा जान्दैनन् वा बोल्दैनन् । भाषा, संस्कृति, परम्परा, संस्कार तथा रीतिरिवाजहरू बिस्तारै लोप हुन लागेको स्थानीय नाममा परिवर्तन आएको, राजनीतिक परिवर्तनसँगै राज्यको एकल भाषा संस्कृतिको नाराले अन्य आदिवासी जनजातिका भाषा, संस्कृति र परम्पराहरू कतिपय स्थानमा लोप हुँदै गएकोलाई सम्रक्षण र सम्बद्र्धन गर्न पने धारणाहरू यहाँ आएका छन् ।
मगर जातिका संस्कार तथा प्रथा –
"संस्कार भनेको शुद्धीकरण हो जसले मानवलाई अनुशासित, मर्यादित र खास जीवन पद्धतिमा डो¥याउने काम गरिरहेको हुन्छ ।" यो परिभाष हो गोम विक्रमको । हरेक जातीमा आफ्ना आफ्ना संस्कार हुन्छन् मगर जातिमा पनि जन्म संस्कार जस्मा गर्भधरण, छैटी, न्वारन, पर्दछन् । गर्भवती महिलालाई गर्भ रहेपछि पूजाआजा वा धार्मिक कार्यहरूमा लगाइँदैर्न साथै पतिलाई पनि जङ्गलमा सिकार खेल्न, मारकाट गर्न तथा भीर मह काढ्न वर्जित गरिएको हुन्छ । शिशु जन्मिएपछि सुतक लाग्छ यो ठाउँ अनुसार ३ वा ७ वा ११ दिनसम्म बार्ने चलन छ । छैंटी प्रायः पहिलो सन्तानको मात्र गरिने, चलन छ । रुकुम रोल्पातिर न्वारन ५ र अन्यत्र ११ दिनमा गरिन्छ । निम्तालुहरूले कुखुरा, जाँडरक्सी, चामल पैसा पाहुरको रूपमा ल्याउने चलन हुन्छ । बच्चाका मावलीले न्वारनको दिनमा सुन, चाँदी, कपडा वा उपहार ल्याउँछन् । न्वारनको दिन गाईको गहुँत खाने र घरमा छर्किने गरिन्छ । सुतक बारिने र बाबु नभएमा काका अनिवार्य हुनु पर्ने, न्वारन सकेपछि बच्चाको रक्षा गर्ने विश्वासमा हात र खुट्टामा धागो बाँधिन्छ ।
पुट भदै÷पास्नी (छो कास्के÷ज्याट खुलाइ) –५ महिना पुगेको छोरी तथा ६ महिना पुगेको पछि छोरालाई अन्न प्राशन्न गर्ने चलन र यसमा छोरालाई पण्डितले जुराइदिएको साइत र आफन्तबाट अन्न प्राशन्न गर्ने चलन छ । यस दिन बच्चालाई सुनपानीमा नुहाएर नयाँ भोटो लगाई चाँदीका सिक्काले पाको उमेरका व्यक्तिबाट भात खुवाउन सुरू गरिन्छ । यसलाई ठाउँ र भाषिका अनुसार ज्याट खुलाई, छो कास्के वा पास्नीभन्ने गरिन्छ । सालको पातको बुट्टेदार टपरीमा १३ किसिमका परिकार जुटाए खुवाउने र कतै कतै बच्चालाई बाठो कनाउन बटाइको मासु खुवाउने चलन पनि छ । बच्चा रुनु पर्ने, बच्चाको आयु वृद्धिको लागि पाको उमरकाले पिठ्रयुँमा बोकी जोर लौरो टेकी परदेश घुमाउने, दुधदहीको सगुन खुवाइ दिने दाल चामलबाट खिचडी, खुवाउने, सोरठी, बालन, कौडा नाच नचाएर वा रातभरी झाम्रे बसेर, रमाइलो गरी उज्यालो गराउने परम्परा छ ।
छेवर –बच्चा जन्मेको बिजोर वर्ष पारेर ५–९ बर्षभित्रमा मामाद्वारा केश काटिदिने मामा नभए आमाले काट्दा चोरेर वा झुक्क्याएर काटिदिनु पर्दछ । कतिपय ठाउँमा कपाल काट्दा दाम्लाले घाँटीमा बाँधी टुप्पी राखेर काटिदिने चलन छ । इष्टमित्र, कुलकुटुम्ब निम्त्याएर नाचगान र भोज भतेर पनि गर्ने चलनछ भन्ने विवरण यहाँ आएको छ ।
गुन्यू चोली दिने (घाँघर याहाके ) छोराको छेवर जस्तै छोरी जन्मिएको बिजोर वर्ष जर्तै ५ वा ७ पुगेपछि साइत
हेरी मगर लामाले गुन्यु चोली तथा मजेत्रो वा घाँघर दिने चलन थियो अहिले भने हराउँदै गएको छ ।
विवाह संस्कार –मगरहरूमा मामाचेली फुपू चेला बीच विवाह गर्ने चलन रहेको छ । त्यसबाहेक भागी विवाह, मागी विवाह, प्रेम विवाह, चोरी विवाह, जवर्जस्ती विवाह, विधवा (भाउजू )विवाह गर्ने परम्परा समेत रहेको छ । समय परिस्थिति र चेतनाको कारण आजभोलि जवर्जस्ती विवाह, भाउजू विवाह, चोरी विवाह भने हराउँदै गएको छ । यि विवाहहरूमा ठाउँ ठाउँमा गरिने रीति रिवाज कृतिकारले समावेश गरेका छन् ।
मृत्यु संस्कार –मगर समुदायको मृत्यु संस्कारमा मृतकको पूर्वतिर खुट्टा र पश्चिमतिर टाउको फर्काई अन्तिम पटक सू्र्यको दर्शन गराउन राखिन्छ । मृतकको लास घरबाट, निकाली छिमेकीको छतमा राख्ने पनि चलन छ । अन्त्येष्ठिमा खोला वा नदीको किनार (घाट)मा गाड्ने वा जलाउने गरिन्छ । हिन्दू धर्म मान्नेले जलाउँछन् भने बौद्ध र क्रिश्चियन धर्म मान्नेले गाड्छन् । किरिया आफ्ना छोरा वा छोरी सबैले बार्ने गरिन्छ । मृत्यु संस्कारका लागि पुरोहित, भुसाल तथा मावली वा भान्जा अनिवार्य चाहिन्छ । मावलीबिना किरिया बार्दा शुद्ध मानिदैन । बाबु वा आमाको मृत्यु भएको हो भने भान्जाले केशमुण्डन गरी जुठो फाल्ने काम गर्दछन् । केशमुण्डन गर्दा शरीरमा कतै पनि रौं राख्न नहुने चलन छ । मृतकको छोराबुहारीहरू, छोरीहरू किरिया बसी ७–१३ औं दिनमा चोखिन्छ । पितृहरूलाई चामल, बेसार अनि फलफूल आदि चढाई कुटुम्बहरू डाकेर खुवाइन्छ । १२÷१३ दिनको दिन चोखिँदा रोटी, सेल, पुरी, दाल, भात, मासु (खसी, बोका वा कुखुराको मात्र) खान्छन् र सम्पन्न गर्दछन् । यहाँ कृतिकारले सबै कुरा प्रष्ट सबैले बुझ्नेगरी लेख्नुभएको छ ।
भेजा प्रथा
गुरुङ जातिमा रोधी, नेवार जातिमा गुठी भए जस्तै मगर जातिमा भेजा प्रचलित निकै लोकप्रिय एक प्रथा छ । पश्चिम क्षेत्रका मगर समुदायमा निकै प्रचलित यो भेजा अुसार सुरक्षा, सहयोग र विकासका निमित्त विभिन्न सहकार्यहरू हुने हुँदा यसबारेमा पनि कृतिकारले विवरणात्मक रूपमा प्रस्तुत गरेका छन् ।
परिच्छेद तीन–मगरहरूले कुल पूजा, चण्डीपूर्णिमा, पितृ पूजा, बलिहाङ् पर्व,बाह्र भदौ, भूमे पूजा, मगर एकता दिवस, मण्डली पूजा, माघे सङ्क्रान्ति, यौनाट, रूङ पर्वलाई विशेष महत्वको साथमा मनाउँदै आएको पाइन्छ । गोम विक्रमले यी पर्वहरू कसरी कहिले मनाइन्छ भनी विस्तृत विवरण यहाँ प्रस्तुत गरेका छन् ।
चौथो परिच्छेद –यस परिच्छेदमा मगरी गीत र नाचहरूको बारेमा कृतिकारले पस्केका छन् । नाच गानमा मगर समुदमय निकै धनि छ । सुन्दर कला र गलाको प्रस्तुती यहाँ देख्न पाइन्छ । गीत र नाच मगरी समुदायको मनोरञ्जनको प्रमुख स्रोत हो । ठाउँ परिवेश र चलन अनुसारका फरक फरक खालका गीत र नाचहरूबाट मनोरञ्जन लिइने चलन छ ।कौडा, गोपीचन नाच, घाटु नाच, जीवैमामा, झाम्रे नाच, झाँक्री नाच, टप्पा नाच, ठाडोभाका, तरबारे नाच, थाली नाच, नचारू नाच, पुतली नाच, पैसेरू नाच, मयुर नाच, यानीमाया, सालैजो, सिङ्गारू नाच, सुनिमाया, सोरठी, हाइमाया, हुर्रा नाच लगायतका गीत नाचहरू परम्पराबाट चल्दै आएका छन् । कतिपय लोपोन्मुख अवस्थामा पुगिसकेका छन् र सम्रक्षणको आवश्यक्ता देखिएको छ । यी गीत नाचहरू बाह्र मगरात तथा अठार मगरात दुवै समुदायमा लोकप्रिय छन् । यी नाच्ने गाउने तरिका प्रस्तुति ठाउँ अनुसार फरक देखिन्छन् जस्तै पूर्वतिर गाइने हुर्रा जस्तो पश्चिमतिर गाइने गरुवा हुँदैन । मध्यपश्चिम भेगमा गाइने सालैजोको मिठास लोभ लाग्दो छ । समय परिवर्तन भएको छ । देशको युवाशक्ति पलायन भएका छन् । यिनै कारणले संस्कृतिलाई जोगाउन निकै कठिन देखिन थालेको कुरा कृतिकारले पस्केका छन् । यी सबैको विवरण कृतिकारले राम्रो सँग पस्केका छन् ।
परिच्छेद पाँचमा मगर साहित्यमा प्रकाश पारिएको छ । नेपाल आदिवासी जनजाति भाषा विज्ञान समाजले नेपालमा १४३ भाषा रहेको र तीमध्ये ८० वटा भाषा अहिले पनि जीवितै रहेको तथा बाँकी कतिपय भाषाहरू लोपोन्मुख अवस्थामा पुगेको कुरा जनाएको कु।ा यहाँ बोध विक्रमले जनाएका छन ् । राष्ट्रभाषा राष्ट्रको काम सुचारु रूपले प्रयोगमा आउनु राम्रो हो तर मातृभाषा पनि जीवित रहनु पर्छ । छिरलिएको समाजमा मातृ भाषा बचाउन त्यति सहज छैन । यहाँ मगरहरूको भाषा लिपि सँगसँगै साहित्यको निमित्त मगर आदिकवि जितबहादुर सिञ्जालीदेखि आरम्भ गर्नु भएको कुरा र हाल आफ्नो भाषको प्रवर्धनको लागि मगर साहित्यकारहरू उत्साहको साथमा लागिपरेको विवरण गोम विक्रमले प्रस्तुत गर्नु भएको छ । मगर समुदायमा प्रचलित मूख्य ३ प्रकारका भाषिका रहेका छन् । मगर भाषा साहित्यको संरक्षण र सम्बद्र्धनको लागि संघ÷संगठन्हरू पनि गठन भएका छन् । वि. सं. २०१२, मा भीमप्रसाद बुढाथोकीको अध्यक्षतामा मगर समाज सुधार संघ, २०१४ मा एकदेव आलेको अध्यक्षतामा तनहुँमा तथा गुल्मीमा अर्को बृहत् सम्मेलन गरिएको र मगर भाषामा कृति प्रकाशन भने वि. सं. २०१९ मा आयो । आदिकविद्वय जितबहादुर सिंजाली मगर (स्याङ्जा) र रेखबहादुर थापा मगरद्वारा लिखित 'मगर भाषाङ ल्ङीङ र टुक्काउ किताब' 'मगर कुराङ प्रिय टुक्का ल्हिङ' प्रकाशित भै सकेका छन् । त्यसपछि वि. सं. २०३९ मा केशरजङ्ग बराल मगर (पाल्पा) को 'मगर कुरा कुटजाटम ङाक्के' पुस्तक तथा यमबहादुर आलेमगर (तनहुँ को सम्पादनमा 'सेहेच लामाङ ह्वाइङ' (२०३९) पत्रिका प्रकाशित भयो । वि. सं. २०४८ को राजनीतिक परिवर्तनपछि मगर भाषा साहित्यले बिस्तारै गति लिन पुगेको देखिन्छ । भाषाका आदिकवि जितबहादुर सिंजाली मगरको जीवनी खोजेर प्रकाशन गरिनुका साथै अन्य मगर साहित्यकारहरू पनि बिस्तारै तातिँदै गए । लोकबहादुर थापा मगरले मगर भाषामा लेखेर आम मगर समुदायमा नै जागरण ल्याउने प्रयासहरू गरे । फलस्वरूप अन्य लेखक र साहित्यकाकारहरूका क्रमशः निम्नानुसार, कृतिहरू प्रकाशन हुँदै आए ः उजीर राना मगर – 'माम्याक्नी' (नबिर्स–२०५८) र ए डाजे डइको (ए दाजु दिदीहरू–२०६४), उमेश थापा हीस्की 'लाटो' मगर (रूपन्देही)– 'उमेसओ सीरजनाको', (उमेशको सिर्जनाहरू–२०६१), – केशरजङ्ग बराल (पाल्पा) – मगर कुरा कुटजाटम ङाक्के (२०३९), – खड्क आलेमगर – 'सेन टाहाके ?' (कहिले पुग्ने ?), – गणेश जिएम – ओर्गे मिऊमिऊ याङ्लो (कविता संग्रह— आँखै आँखाको साम्राज्य), – जनक माकिम मगर (नवलपुर) – 'गालाम फोइङ' (गजल सङ्ग्रह २०६५) ,– जितबहादुर सिञ्जाली मगर (स्याङ्जा) – 'ल्हेस्म राहानाङ' (फर्किएर,आउँदा),
जुक्तिप्रसाद पुन – खाम मगर भाषाको संक्षिप्त शब्द सङ्ग्रह र खाम मगर पाङ— नेपाली— अंग्रेजी शब्दकोश (०६१)
– झुस्या मगर (स्याङ्जा) – 'रङ्सीचकूङ लरहिङ (२०४८) जजा बखत' (बाल्यावस्था, २०५२), बुढा इम (बुढो घर–२०५७), – टङ्कबहादुर आले मगर (उदयपुर)– कालोचायाँ लघुकथा सङ्ग्रह (२०६४), ,लाग्छ आकाश खस्दैछ कथा सङ्ग्रह (२०७३), अछेता लोककथा सङ्ग्रह(२०७५), – टेकबहादुर सारू मगर (पाल्पा) – बडहरे साहिंली (मगर भाषाको पहिलो
कथा सङ्ग्रह–२०५०), रिलिङ गोमक (मगर भाषाको कविता सङ्ग्रह २०७६) टोप अस्लामी (पाल्पा) – भावना (कविता सङ्ग्रह संयुक्त), आदिवासीहरूको मुक्ति (पुस्तक) र गीतहरू, – निर्मल पुर्जा (म्याग्दी)– अमेजन वेस्ट सेलरमा पर्न सफल विश्व कीर्तिमानी, पर्वतारोही निर्मल पुर्जा स्वयंको अनुभवमा आधारित 'वियोण्ड पोसिबल', पुस्तक । – प्रचण्ड बुढाथोकी (नवलपरासी) – कविता लेख्ने रिति (छन्द ज्ञान, २०२१), हाम्रा गीतहरू (२०५१), नेपाली शुद्ध लेख्ने तरिका व्याकरण (२०६३), जनताका जीवन गीत (२०६६) नेपाली धुकधुकी (गीत सङ्ग्रह) (२०६९), कर्खा गीत आदि । – पूर्ण थापा मगर (तनहुँ – 'ङा मगर' (म मगर २०६४), – पूर्णबहादुर राना मगर – 'माम्हीन्च' 'को नाङ सेन राहाले ? – (तिमी कहिले आउँछौ ? २०६६), – बमकुमारी बुढा मगर (रोल्पा) – भुम्या पर्व (संस्कृति विषयक) मैनेरी (संस्कृति,विषयक) सरङ्गे स्याही (संस्कृति, नाच विषयक) जोरा स्याही (संस्कृति नाच विषयक) गेयं गेस (नाच, संस्कृति विषयक) चेहेन लुङ (इतिहास) पोहोल, छेङा (इतिहास) जीतहार (कविता सङ्ग्रह) बेलायतको यात्रा कोरोनाको झट्का
(नियात्रा सङ्ग्रह) आदि मगर खामपाङ तथा नेपाली भाषामा प्रकाशित छन् । ' कोन्जा मोरूम' साहित्यिक त्रैमासिक पत्रिका (२०४७ देखि), – विष्णु राना (सिक्किम गान्तोक) – विभिन्न पुस्तकहरू, – बूँद राना (रूपन्देही) – रातो मलाई प्यारो (गजल सङ्ग्रह), चल्दैछ जिन्दगी, (गजल सङ्ग्रह), चक्रबात, छिनोफानो र एकाकार लगायतका ४ खण्डकाव्य, तिलमा लेङ्गम (गीतिनाटक), बालकथा सङ्ग्रह गरी १२ वटा कृति प्रकाशित । – बेग आले मगर नाम्खान (धनकुटा)– 'मीकडीयाङ फोरझोच रीक्मा' (आँसुमा उफ्रिएको कलम–२०६४), – बैरागी' नाता मगर – 'छिनिकूङ पुरङ' (कविता संग्रह २०४८) र 'मोइओ,मिराप' (पहिलो खण्डकाव्य), 'खीस्सा ङेराहान ड पीहिनी (२०५५), मगर, ढुटो ल्हिङ (मगर भाषाको गीत पहिलो गीत सङ्ग्रह) बैरागी' नाता मगरकै ,(सम्पा) नेपाल मगर संघ जिल्ला कार्यसमिति तनहुँद्वारा प्रकाशित मगर कथा, संग्रह "मगर ढुटओ आहान गोहोमोक, मगर भाषाको कथा सङ्गालो (२०६४), – मनवीर गर्बुजा – मगरकुङ कर्मकाण्डौ पोस्टक (मगरहरूको कर्मकाण्डको किताब २०४७, २०५०), – मनु ठाडा मगर (धनकुटा) – 'काटलीसार' (एउटा कोपिला–२०६४), सहिडकुङ मानाम (सहिदको सपना २०६५), – मिवाट मगर (पाल्पा) – पाकुली कथा सङग्रह (२०७०) – मित्रसेन (भारत) – ११ खण्डकाव्य, कथा, नाटक, निबन्ध, गीत, गजल, कब्बाली, भजन, अनुवाद तथा डायरी लेखन जस्ता विविध विधामा कलम, चलाएका । – मीन थापा मगर (तनहुँ – 'जीह्च ङऊ लीस' (तड्पिएको मेरो देश) 'मगर ढूटाङ १०१ हाइकु' (मगर भाषामा १०१ हाइकु २०६४) – मेकबहादुर पुन मगर (रूपन्देही) – 'भड्कोसचको' (बाँच्न चाहनेहरू–२०६४), – मेकबहादुर राना मगर – 'बिक्च गिन' (दुखेको मन–२०६४) पहिलो गजल सङग्रह, – रणप्रसाद घर्ती मगर – खाम–पाङ मगर भाषाको दन्त्य कथा (२०६२), रूद्र सन्देश मगर (स्याङ्जा) – 'बिकोलेसा' (दुख्दो रहेछ–२०६५) आर्मीट्मा (सम्झना, मुक्तक सङग्रह) , रूद्र हितान मगर (कास्की) – 'लाङ्घाके आरमेट्नाङ' (गाउँलाई सम्झँदा–२०५०),– रेखबहादुर थापा मगर (नवलपरासी) – मगर भाषाङ ल्हिङ टुक्काउ
किताब (संयुक्त २०१९), मगर कुराङ प्रिय टुक्का ल्हिङ, 'फन्च ठलरके',(जन्मभूमिको–२०५१), – लोकबहादुर थापा मगर – मगराती साहित्यका आदिकवि जितबहादुर सिञ्जाली र रेखबहादुर थापा (२०४७), – विजय हितान मगर (हाल ः बेलायत) – ब्लु प्लानेट कथा सङ्ग्रह, बागमती, ब्लुज कविता सङ्ग्रह, विछोड अघिको रात, जयबहादुर हितान ः व्यक्तित्व र कृतित्व, सहिदको सपना नाटक सङग्रह, स्वच्छन्द सुसेली (सम्पा) तथा मगर, रिन्हाक (मगर जागरण), – शिवलाल थापा मगर – ग्याहोट लख छान्नि, 'मोइओ मीराप' (आमाको रोदन, २०४९), 'लीस' (देश–२०६१),, – सञ्जोग लाफा मगर (उदयपुर) – 'रेवस' उपन्यास (चलन, २०५१) माहाञ्जौ,लुमरा' (स्वास्नीको चिहान, २०५६) 'जीव–सीम' (बाँच्नु–मर्नु २०५५), – सन्तोष बुढा मगर – 'मोई' (आमा–२०५३), – सोम राना मगर (धनकुटा) – रिही छ्योट (मगर कर्मकाण्ड २०५०, २०५४), – हेमा आले 'बोगी' मगर (नवलपुर)– 'रिक्मा' (कलम – २०६६) गजल, सङग्रह, सहीडकूङ मानाम (सहिदको सपना–२०६५), नेपाल मगर सङ्घ, जिल्ला कार्यसमिति, ललितपुरले वि. सं. २०५३ देखि आफ्नो, वार्षिक उत्सवमा जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिता आयोजना गरी, निरन्तरता दिँदै आएको छ । यमबहादुर आलेको सम्पादनमा 'सेहेच लामाङ हवाइङ', पत्रिका पनि प्रकाशित हुन थाल्यो । मगरहरू खासमा २०१२÷१४ देखि संगठित भए पनि वि. सं. २०१९ बाट साहित्यिक कृति प्रकाशित हुन थाले पनि पञ्चायत कालमा भने खास गति लिन सकेन तर लोकतन्त्रको पुनर्बहाली वि.सं.२०४७, पछि बल्ल बिस्तारै वामे सर्न थालेको देखिन्छ । फाटफुट रूपमा मगर भाषा– साहित्यका पत्र–पत्रिकाहरू पनि निस्कन थाले । अर्को कोणबाट हेर्दा कला, संस्कृति र परम्पराहरूलाई साहित्यले संरक्षण, संवद्र्धन र दस्तावेजिकरण गर्ने काम गरेको, हुन्छ । मगर भाषाका पाठ्यक्रमहरू बन्दै जान थालेका छन् । फेरि पनि मौलिक मगर संस्कृतिको खोज, अनुसन्धान र यथेष्ट लेखन हुन सकेको छैन । बहुभाषिक, पाल्पाली लेख तथा स्रष्टाका अध्येता राम ज्ञवालीका अनुसार विशुद्ध मगर भाषा र हित्यमा योगदान दिने साहित्यिक व्यक्तित्वहरू निम्नअनुसार हुनुहुन्छ ः –अनिल बुढा मगर (रुकुम), अबित सारु (पाल्पा), अयोध्याप्रसाद प्रधान (पाल्पा),आशिष सूर्यवंशी (पाल्पा), इन्द्रबहादुर आले (तनहुँ, इर्धासी झाँक्री मगर (रोल्पा), उजिर राना (उदयपुर), उमा सोमै (स्याङ्गजा), उमेश थापा (स्याङ्जा), कृष्णबहादुर थापा (तनहुँ, कर्णबहादुर बुढा (रुकुम), के. बि. थापा नाम्जाली (स्याङ्जा), खड्कबहादुर आले (तनहुँ, खड्कबहादुर सारु (रामेछाप), जनक माकिम (नवलपरासी), जुक्ति प्रसाद पुन (पूर्वि रुकुम), जीतबहादुर सिंजाली (गुल्मी), जीवनप्रवेश रोका (रोल्पा), टिकारामआले (गोरखा), टेकबहादुर सारु (पाल्पा), टङ्कबहादुर झाँक्री (रोल्पा), ताराबहादुर दर्लामी (सिन्धुली), तेजेन्द्र बुढा मगर (रुकुम), दलबहादुर बिर्कट्टा (स्याङ्जा), धनबहादुर मगर (तनहुँ, धिरेन्द्र थापा 'किसानी' (तनहुँ, पूर्ण थापा मगर 'सुगा' (तनहुँ, पूर्णबहादुर राना मगर (तनहुँ ) प्रेमप्रकाश घर्ती 'मायालु' (रोल्पा), फूलकुमारी थापा (तनहुँ, बमकुमारी बुढा) मगर (रोल्पा), बालकृष्ण पोखरेल (मकवानपुर), बेगबहादुर आले मगर नामखान (धनकुटा), बमबहादुर घर्ती (रोल्पा), भक्तिमाया पुलामी (भोजपुर), भोजविक्रम बूढा प्युठान), मनबहादुर बगाले (सुर्खेत), मन ठाडा मगर (धनकुटा), मीन थापा (तनहुँ,), महेन्द्र थापा (सुस्तापूर्व नवलपरासी), तिलक खाम्चा (पाल्पा), मेकबहादुर राना, मगर (स्याङ्जा), मेकबहादुर पुन (म्याग्दी), युवराज मास्की राना मगर (स्याङ्जा),
रणप्रसाद घर्ती मगर (रुकुम), रामबहादुर थापा (उदयपुर), रिमबाबु राना मगर, (स्याङ्जा), रुद्रबहादुर श्रीष (बाग्लुङ), रुद्रबहादुर हितान (कास्की), रेखबहादुर थापा (तनहुँ, लक्ष्मण घर्ती (बाग्लुङ), लोकबहादुर थापा (स्याङ्जा), विजय
लुङ्गेली (नवलपुर), विजय सिङ्जाली (काभ्रेपलाञ्चोक), विष्णुकुमार सिङ्जाली (स्याङ्जा), वैरागी नाता मगर (तनहुँ, शिवलाल थापा गुरुछान मगर (तनहुँ, सञ्जोग लाफा मगर (उदयपुर), सन्त गाहा मगर (नवलपरासी), हरिकला थापा
(स्याङ्जा), हर्षबहादुर बुढा मगर (बाग्लुङ), हिरामोती राना सिङ्जाली (स्याङ्जा), हिरासिह थापा (सुर्खेत) तथा हेमा आले (नवलपरासी), लीला मास्की राना आदि । यसरी मगरी भाषा र साहित्यलाई समृद्धितिर डो¥याएर अहिलेको अवस्थासम्म ल्याइपु¥याउनमा धेरै, साहित्यकारहरूको अहम् भूमिका रहेको देखिन्छ ।
मगर चलचित्र
श्रव्यदृश्यको रूपमा रहेको चलचित्रले आँखा र कान मात्र नभै मनमतिष्कमै गहिरो छाप पार्दछ ।यो समाजको दर्पण हो र यस्ले कला, संस्कृति, रितिरिवाज लगायतको सन्देश प्रवाह प्रदान गर्दछ । चलचित्रको थालनी फ्रान्सबाट भएको र नेपालमा े डि.वी. परियारले २००७ सालमा कलकत्तामा बनाएर २००८मा नारायण हिटीमा प्रदर्शित गरेको 'सत्यहरिश्चन्द्र' लाई पहिलो नेपाली चलचित्र मानिन्छ भने वि. सं. २०२८ मा श्री ५ महेन्द्रको ४२ औं शुभजन्मोत्सवको अवसरमा हिरासिँह खत्रीले बनाएको वृत्तचित्र (डकुमेन्ट्री) लाई पहिलो नेपाली वृत्तचित्र मानिन्छ ।
हिरासिँह खत्रीले वि. सं.२०२० मा बनाएको 'आमा' नेपालमै छायाङ्कन (सुटिङ) भएको चलचित्र हो । यस पछि 'कुमारी' (२०३४) चाहिँ पहिलो रङ्गीन चलचित्र हुने सौभाग्य पाएको थियो । त्यही हिसाबले आरम्भिक काल देखि अहिलेसम्मको ७ दशकको अवधिमा नेपाली चलचित्रले लामै फड्को मारिसकेको देखिन्छ । जस्तो कि ओस्कारमा मनोनयन हुने 'क्याराभान (हिमालय)', 'बादलपारी', 'राँको', 'कुसुमेरूमाल', 'भिजिलान्ते' 'कागबेनी', हुँदै 'लव यु बाबा' थुप्रै विभिन्न भाषमा बनेका चलजित्रको विवरण यहाँ प्रस्तुत गरिएका छन् ।
बुटवलमा 'मेरो सम्झना' (ङौ आर्मिट्मा ),ङौ कर्म (मेरो कर्म, ङौ आर्मिट्मा (मेरो सम्झना, ) लाङ्घौ रोह(गाउँको माया),लाङ्घाली नाङखार , , छिनिङ पिहिन, म्यारमिन, पाहुर , प्रतिबिम्ब , मिसार मिझार आदि चलचित्रको वित्त चित्रहरूको विवरण कृतिकारले पस्केका छन् । कृतिकारको भनाई छ –"नेपाली समाजमा अनादिकालदेखि मौलिक भाषा, संस्कृति, रीतिरिवाज, परम्पराका धनी मगर जातिको कलाको अत्याधुनिक सिनेमा निर्माणमा वामे सर्दै रहेको हुँदा खोज, अध्ययन, अनुसन्धान, संरक्षण, संवद्र्धन एवम् समयानुकूल प्रचार–प्रसारका लागि अझ थप पहल गरिनु जरुरी देखिन्छ ।" यो कथन यथार्थतामा आधारित छ ।
मगर जातिको धर्म–मगरहरुमा कसैले हिन्दु धर्म कसैले बुद्ध धर्म मान्ने गरेको पाइएता पनि कृतिकारले मगरहरू प्रकृति पूजक हुन् भन्ने गरेको पाइने भएकोले मगरहरूको धर्मको बारेमा विभिन्न सामूहिक बहस, छलफल र अन्तरक्रियाहरू चलेको भए पनि निर्कौलको आवस्यता भएको धारणा गोम विक्रमबाट आएको छ ।
मगर जातिको पहिरन –" छातीको दुई तर्फबाट क्रस गरेको खाडीको भाँङ्ग्रा र कछाड बेरेर खाली खुट्टा सिंहदरबार छिर्ने गरेका बर्मन बूढामगरलाई राजा वीरेन्द्रले, "दौरा सुरुवालमा आउनुपर्छ बरू म व्यवस्था गरिदिन्छु ।" भन्दा पनि "म लगाउँदिनँ यो मेरो मौलिक पोसाक हो मगर पोसाक नै मलाई ठिक छ ।" भन्थे नभन्दै मृत्युपर्यन्ततक उनले त्यस्तो सरल जीवनशैली छाडेनन् । " कृतिकारले एक स्वाभीमानी मगरको धारणा पस्केका छन् । बास्तवमा मगर समुदायको पहिरन निकै आकर्षक र लोभ लाग्दो छ । चाडपर्व भेषभुषा, नृत्य र रहनसहनहरू पृथक, मौलिक र आफ्नै जातीयता झल्किने खालका भए पनि सांस्कृतिक कार्यक्रममा झल्किने गरेता पनि समयको परिवर्तन सँगै या पहिरनमा केही फेरवदल देखिन थालेको धारणा कृतिकारले पस्केका छन् । सारांसमा भाङग्रा ÷ भाङग्रो ः, कछाड, लुकुनी, फेटा सिङ्गापुरे बेल्ट ः कम्मरमा कस्ने पेटीलगाउने चलन पुरुषको छ । कम्मरमा कस्ने पेटीमा खुकुरीको दाप घुसारिने काम पुरुषले बाट हुन्छ भने मगरमहिलाको पोसाकमा चौबन्दी चोली गुन्यु ÷ गुनिउ, टेकीः पटुकी घलेक पछ्यौरा ÷ पछ्यौरी ÷ पछ्यौरो कम्मरभन्दा मुनी लगाउने बाहिरी लुगा, फरिया, सारी विशेष पर्दछन् । गुन्यूको रङ्ग चाहिँ खास गरी मटमैलो तरलो रङ्गले मसिनो धर्को तानिएको खालको हुन्छ । खुर्पा खुर्पी ः खुर्पेटोको प्रयोग समेत प्रयोग गर्ने गरेको पाइन्छ । कृतिकारले यी पहिरन बारे कसरी लगाउने, उपदेयता के हो आदि समेत वर्णन गरेका छन् ।
मगर समुदायमा प्रचलित गहनाहरू –गहनाहरूको प्रयोगले महिलाको रूपैे परिवर्तन गरिदिन्छ । मगर महिलाले प्रयोग गर्ने ढुङ्ग्री ः मुन्द्री ÷ मुन्द्रो ÷ मुन्द्रा ः बुलाँकी ः चेप्टे ÷ चेप्टो सुन ः पोते ः पुवाँलो ः यी मुख्य गहनाहरू लगायर हेर्दा निकै आकर्षक देखिन्छन् । यसको प्रयोग कसरीगर्ने भन्ने विवरण पनि कृतिकारले यहाँ पस्केका छन् ।
मगर लोककला –लोक कलामा पनि मगर समाज निकै प्रगतिशील छ भन्न सकिन्छ । कृतिकारले यहाँ लोककला को वर्णन गर्नुको साथै त्यसलाई कसरी निर्मा गरिन्छ र त्यसको प्रयोजन केहो आदिमा प्रकाश पारेकाछन् । लोकचित्रकला, गुल (नाग) चक्र भुमचाल चक्र , वर वा हलो चक्र पन्थ चक्र –भङ वा खोर चक्र– वस्तु चक्र पाहुना चक्र , विभिन्न सामग्रीहरूमा कोरिने चित्रहरू, खुर्पेटो वा दाप , झोला वा कपडामा बनाइने चित्र ढुङ्गे चित्रकला हँसिया राख्ने खुर्पेटो आदिको बारेमा भरिने चित्र का बारेमा वर्णन गरेका छन् ।
काष्ठकलाको बारेमा बाँसको डोको, सोली, डालो, मान्द्रो, नाम्लो, थुन्से, सेउ, छत्रेटोपी, मखरा, कोरका, डेली, छाँचुर, भार, राँगेडोको, दाम्लो, मुँढा जस्ता काठ तथा बाँसबाट विभिन्न सामग्रीहरू बनाइने कुराको चर्चा गरेका छन । काठको कोलहरू ( चिउरीको वीयाँ र तोरी पेल्ने), उख,ँु अमिलो पल्ेने निर्माण गरेर े ठेंकी, कार्रे, मदानी लगायतका सामग्रीहरू मगर जातिले काठबाट नै विभिन्न आकार प्रकारमा निर्माण गरेरको विवरणहरू पनि कृतिकारले प्रष्ट्याएका छन् । उच्च हिमाली क्षेत्रमा प्रसस्त मात्रामा भेँडा पालिने हुँदा त्यसको ऊनबाट धागो निकाली राडीपाखी, कम्बल, बख्खु जस्ता कपडाहरू मगर महिलाले घरमै तानबाट तयार गर्दछन् । यो प्राचीन महिलाहरूको प्रमुख पेसा नै थियो ।
सिलाइ बुनाइ कला –उच्च हिमाली क्षेत्रमा पालिने भेँडाको रौंबाट धागो बनाई राडीपाखी, कम्बल, बख्खु जस्ता कपडाहरू महिलाले घरमै तान राखेर बनाउँछन् । त्यस्तै भाँगो, पुवा अल्लो आदि रेशाको प्राकृतिक तरिकाबाट धागो निकाली घरमै गादो (भाँङ्ग्रा), बख्खु, पटुका, छड्के लगायतका पोशाक तयार गर्ने कामहरू गरिन्छ । यसलाई बिस्तारै व्यवसायिक रूप दिन थालिएको छ भन्ने सन्देश कृतिकारले दिएका छन् ।
वास्तुकला–मगरहरूले घर बनाउँने जग्गाको माटो झाँक्री, धामी, जैसीसँग हेराउँछन् र राम्रो देखिएको ठाउँमा शुभ साइत जुराएर खनेर जग राख्ने काम गर्छन् । यस अवस्थामा मयन वा धुरी खाँबोलाई विशेष सम्मानका लागि तोकेर पूजा गरिन्छ भनी कृतिकारले विस्तृत विवरण पेश गरेका छन् ।
कुँडुले वा घुमाउने घर– यी घरहरूको चलन पहिला पहिला निकै थियो हाल आएर नयाँ परिवर्तनसँगै यी घरहरू लोप हुँदै गएका छन् । घुमाउरो घरमा कसैमा गर्भे पाली र कुनै घरमा पाली राखिएका हुन्थ्यो । बाहिरपट्टि ढिकी जाँतो, स्याखु, मान्द्रो, गुन्द्री, मौरीका घार,हलोजुवा लगायतका घरेलु सामग्रीहरू राख्न मिल्ने ठाउँहरू बनाएका हुन्थे । झ्याल निकै निकै साना हुने गरेकोले कालो बढ्ता देखिने भए पनि स्वास्थ्यका अन्य दृष्टिले उपयुक्त, जाडामा न्यानो र गर्मीमा शित्तल हुने तथा भुकम्पबाट जोगिन सक्ने खालका घर निमार्ण गरिन्थे ।
मगरी खेलकुद– मगर जातीहरूको विविध खाले खेलकुदलाई कृतिकारले यहाँ उत्तरी क्षेत्रमा धनुवाण, घोडादौड, छेलो ÷ ठेलो फाल्ने, बाघचाल, डण्डीवियो, भाले जुदाई लोकप्रिय खेल खेलिनेमा हाल, भलिबल, फुटबल, क्रिकेट, बक्सिङ तथा अन्य विभिन्न खेलहरू खेलिने र केटाकेटीहरूमा लुकामारी, भुरुङ, गङ्गैरानी, छेक्काना, गोटा (गट्टा), गुच्चा, खोपी, गुलेली, खेल्ने, कपर्दी इत्यादि खेलहरू खेलिने विवरण सहित काकला चिचला खेल, छेलो फाल्ने खेल, .ताँवाजुली खेल, तीर हान्ने खेल, दाध्या चिप्चिप खेल, रस्साकस्सी खेललाई कसरी खेलिन्छ भनेर कृतिकारले रसिलो तरिकाले प्रस्तुत गरेका छन् । ठाउँ ठाउँमा खेल खेल्दा प्रयोग गरिने गीत प्रस्तुत गरेका छन् । उदाहरणको लागि एउटा गीतलाई यहाँ गाउन पनि सकिन्छ –
हे दलिए माउको हो... हलिए सालै हलो जुवा बन्द कैन
परम्परागत मगरी खानपान
मरी खानाको आफ्नै किसिमका स्वाद, बनाउने तरिका, धार्मिक, सांस्कृतिक तथा पौष्टिक महत्त्व बनाउने तरिका आदिलाई पनि कृतिकारले मुखै रसाउने तरिकाले पस्केका छन् । यो कृति अध्ययन कर्ताले ती खानाको स्वाद लिन ललायित हुन्छ भने होमस्टेमा जाउँ जाउँ लाग्छ । खानाको नाम यस प्रकार छन् – खिचडी, चुकाउनी, ढिँडो, बटुक, बिरौला, भुटेको मकै, सिस्नुको खोले, सेकुवा, सेल रोटी इत्यादि ।
मगर समुदायमा प्रचलित लोकबाजा –मानव भएपछि आनन्द लिन चाहान्छ । केही नभए पात बजाएर पनि आनन्द लिन्छ यस शीर्षकमा कृतिकारले मानव उत्पत्तिदेखि नै प्रचनलनमा ल्याउने गरेका मनोरञ्जनका बजाहरूलाई सविस्तार वर्णन गरेका छन् नेपालमा अहिलेसम्म १५६ ओटा लोकबाजाहरू प्रचलनमा आएको कुरा पत्ता लगाएर त्रिपुरेश्वरको लोकबाजा सङ्ग्रहालयमा राखिएको धारणा कृतिकारले पस्केका छन् । यिनको राज्यले नै संरक्षण, सम्बर्धन, प्रचार–प्रसार र प्रयोगमा ल्याउन आवश्यक देखिन्छ, मगरी समुदायमा प्रचलित विभिन्न लोकबाजाहरू सँगै डम्फू, मादल, खैँजडी, मजुरा, पञ्चेबाजा, अलङ्का,कुटकुटे, मचेटा, दुन्दी, च्याखुरे बाजा, केतुकी बाजा, छेलर, विनायो, पैजन, खाँकर, तुरही, दरबङा, रिङ, मुर्चुङ्गा, दमाहा, मुरली÷बाँसुरी, डौदी, झ्याली,नङ«्रा,पञ्चेबाजाहरूमा केही बाजा लोप भै सकेका भन्दै हरेक बाजाको प्रयोगको उद्देश्य यसको प्रयोग समय इत्यादिलाई कृतिकारले विवरणात्मक रूपमा प्रतुत गर्नु भएको छ ।
मगर समुदायका केही विशिष्ट व्यक्तियहरू
यस शीर्षकमा कृतिकारले मगरजातिका गौरवमय व्याक्तित्वहरूको बारेमा प्रष्ट्याउने प्रयास गर्नु भएको छ । मगर जातीका यस्ता व्याक्तिहरूछन् जस्को आवाजले तथा, जस्को प्राणको आहुतीले अन्याय अत्याचारमा आवाज उठायो नेपाललाई सगौरव बाँच्न सिकायो, विश्वमा लडेर भि.सी. पायो, वीर गोर्खाली भनेर नेपाललाई विश्वमा चिनायो तिनै व्याक्तिहरूको योगदानलाई हरेक मगर समुदायले गौरवका साथ लिन सक्छन् त्यस्ता केही व्यक्तित्त्वहरू यस खण्डमा चिनाउने प्रयास कृतिकारले गरेका छन् – जस्तै ः – प्रथम भि. सी. विजेता कुलवीर थापा, विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा, विशिष्ट व्यक्तित्व मित्रसेन, प्रथम सहिद लखन थापा, युवा वैज्ञानिक महावीर पुन इत्यादि । यहाँ विवरणात्मक रूपमा वर्णन गरिएका व्यक्तित्वहरू यसप्रकार छन् – कुलवीर थापा खगेन्द्र थापा, गोरेबहादुर खपाङ्गी ,जीतबहादुर सिंजाली, जेबी टुहुरे , निर्मल पूर्जा, प्रचण्ड बुढाथोकी, बमकुमारी बुढा बूँद राना, लखन थापा (द्वितीय), मित्रसेन थापा मगर । यहाँ मैले यी महत्वपूर्ण व्यक्तित्वको योगदानको बारेमा कुनै कुरा झल्काउन सकिन तर कृतिकारले सपुष्ट विवरणहरू प्रस्तुत गरेका छन् ।
निष्कर्ष – यस कृतिले मगर जातिको बारेमा विस्तृत विवरणहरू समावेश गरेको छ । यो मगरसंस्कृति, परम्परा र गरिमालाई दर्शाउने दर्पण हो । यो पढेपछि मगर जाति को हो, के हो, कस्तो हो,उसको राष्ट्र र समाज प्रति दायित्व के हो, संस्कृति, संस्कार, हरेक क्षेत्रमा उसको योगदान के छ ?आदि थुप्रै प्रश्नको जवाफ एउटै कृतिले सपुष्ट प्रमाण सहित दिन सफल छ भन्दा फरक पर्दैन । मैले माथि नै कृतिले पस्केका धारणालाई निशारण गरेर पस्कि सकेको छु तर पनि पुनः एक पटक यस कृतिको निष्कर्षका केही शब्द साभारको रूपमा यहाँ प्रस्तुत गर्न चाहान्छु –"मगरहरूको जातिगत चिनारी, इतिहास, संस्कार, कला,चाडपर्व, पूजा, दिवस, मगरी गीत नाच, साहित्य, चलचित्र, धर्म, पोसाक, गहना लोककला, परम्परागत खेलकुद र खानपान, लोकबाजा र विशिष्टता प्राप्त गरेका व्यक्तित्वहरूभित्र पसेर पुस्तकबाट चिनाउनु पर्ने, लोप हुन लागेका, खोजिनु पर्ने कुराहरू पस्किएपश्चात् तिनको उचित संरक्षण, संवद्र्धन र अभिलेखिकरणको आवश्यक्ता र महत्त्व झल्काइएको छ ।" यो कृतिको सम्पूर्ण आयतन यिनै शीर्षकमा गरिएको सपुष्ट विवरणात्मक प्रस्तुति हो ।
खोज अनुसन्धान निरन्तर चलिरहने प्रकृया हो । खोजेर तथा अनुसन्धान गरेर मात्र पुग्दैन त्यसलाई संरक्षण, सम्बद्र्धन, प्रचार प्रसारको साथै कतिपय पक्षलाई व्यवहारमा उतार्नु पर्छ, । यस कृतिले यी सबै पक्षमा ध्यान दिएर प्रयोगात्मक प्रविधिलाई पनि समावेश गरेर पस्केको छ र भावी खोज तथा अनुसन्धानलाई सफलताको साथमा अगाडी जानु पर्ने धारणा पनि राखेको मैले महसूस गरेको छु । कृतिकार गोम विक्रमको यो कार्य अनुकरणीय छ । सबै जातजातिको संस्कृति, परम्परा, र गरिमा राष्ट्रको अमूल्य रत्न हो । यस्ता खोज अनुसन्धान सबै जातजातिहरूले पनि गर्नु आवश्यक छ ।
अन्त्यमा गोम विक्रमको यो कामको भूरि भूरि प्रशंसा गर्दै भावी जीवन एवम् साहित्यिक यात्राको उज्ज्वलताको कामना सहित विदा चाहान्छु ।
धन्यवाद
२०८० श्रावण १२, कावासोती शान्तिचोक

No comments:
Post a Comment