"एक सफल नेतृत्वकर्ता"
म २०५२ सालमा माटो विज्ञको रूपमा तात्कालीन क्षेत्रीय माटो परीक्षण प्रयोगशाला नेपालगञ्जमा नियुक्ति भएदेखि जैसी सर मसँग परिचित हुनुहुन्थ्यो । हाम्रा तात्कालीन र विकास क्षेत्रका प्रयोगशालाहरू बाली विकास निर्देशनालय अन्तर्गत माटो परीक्षण तथा सेवा शाखामामात्र सीमित थिए र परीक्षणको दायरा पनि लगभग गुणात्मक रूपमा हुने गर्दथ्यो जब सदानन्द जैसी ज्यूको माटो परीक्षण तथा सेवा शाखामा प्रमुखको रूपमा आगमन भयो माटो तथा मल व्यवस्थापनका कार्यक्रमहरूले विस्तार हुन जाने क्रममा सेवा शाखा माटो व्यवस्थापन निर्देशनालयमा परिणत भई हाम्रा प्रयोगशालाहरू अत्याधुनिक उपकरणबाट सुसज्जित भए भने प्राविधिकहरूका क्षमता अभिवृद्वि गराउनुको साथै माटो तथा मल व्यवस्थापनको विभिन्न आयोजनाहरू भित्राउने कार्यमा समेत उहाँको ठूलो योगदान थियो । यी कार्यले गर्दा देशमा माटो तथा मल व्यवस्थापनका विभिन्न कार्यहरू उदाहरणसमेत बनेका थिए । छोटकरीमा भन्नुपर्दा उहाँ एक सफल नेतृत्वकर्ता मेहिनेती कामप्रति बफादार केही नयाँ काम गर्नुपर्छ भन्ने भावनाका साथ लाग्नुहुन्थ्यो। उहाँ एक सफल कवि पनि हो । उहाँको बाँकी जीवनको समेत सफलताको कामना गर्दछु ।
डा. चन्द्रप्रसाद रिसाल (वरिष्ठ माटोविज्ञ, कृषि विभाग हरिहरभवन)
"काम गर्ने कर्मचारीलाई माया गर्ने र प्रेरणा दिने"
कृषि विषयमा स्नातक उत्तीर्ण गरेपश्चात् २०५२ सालबाट निजामती कर्मचारीको रूपमा कृषि सेवा माटो विज्ञान समूह अन्तर्गत रही राष्ट्रसेवा गर्न अवसर पाएँ । तर सेवा समूह नमिल्ने गरी कृषि प्रसारको कार्य गर्ने गरी व्यवस्थापन भएको थियो । सदानन्द जैसी त्यसबखत कृषि विभाग माटो परीक्षण सेवा शाखाको प्रमुखमा कार्यरत हुनुहुन्थ्यो। उहाँको व्यक्तिगत पहलबाटै मैले मेरो समूह अर्थात् माटो विज्ञानकै काम गर्ने अवसर पाएँ । उहाँको मातहतमा काम गर्दा काम लगनशील भएर गर्न हमेशा प्रेरणा दिने र काम गर्ने कर्मचारीलाई माया गर्ने गर्नुहुन्थ्यो । कार्य सम्पादनका लागि सधैँसहयोग गर्ने उहाँको बानी अझै बिर्सन सकिन्न । उहाँ आफू पनि असाध्यै मिहिनेती स्वभावको हुनुहुन्थ्यो । बिहान सबेरैदेखि साँझ अबेरसम्म कार्यालयकै काममा जोतिनु हुन्थ्यो । अत्यन्तै उत्साहका साथ खट्ने स्वभावका कारण उहाँका सिनियरहरू पनि प्रभावित थिए । कार्यालयको स्तरोन्नति र सुधारमा अलावा आफ्नो विषयका प्राविधिक प्रकाशनमा उहाँको धेरै मिहिनेत छ । धेरै प्रकाशनहरू गर्नुभएको छ । माटो विज्ञान र माटो तथा मलखाद व्यवस्थापनका क्षेत्रमा अझै पनि उहाँका प्रकाशनहरू उत्तिकै सान्दर्भिक र महत्त्वका साथ उपयोगमा आइरहेका छन् । उहाँका पुस्तकहरू पढेर सहसचिव पास गरेँ भन्नेहरू पनि छन् । माटो विज्ञानका क्षेत्रमा हालको पदसम्म आईपुग्नुमा उहाँको प्रेरणा र उहाँका प्रकाशित कृतिहरूले मलाई पनि धेरै मद्धत गरेको छ । उहाँ हाल सेवानिवृत्तहुनुभएको धेरै वर्ष वितिसक्यो तर पनि साहित्यको क्षेत्रमा सक्रिय हुनुहुन्छ । प्राविधिक विषयलाई साहित्यको माध्यमबाट कलम चलाईरहनु भएको छ । उहाँका गतिविधिलाई एक आदर्श व्यक्तिका रूपमा सामाजिक सञ्जालका माध्यमबाट म नियमित अनुशरणगरिरहेको छु ।
डा. सुदर्शनभक्त माथेमा (ललितपुर सातदोबाटो मैत्रीटोल)
"मिहिनेत उहाँको परिचय नै हो"
म कृषि अर्थशास्त्रमा विद्यावारिधि गरेको हुँ । उहाँ कृषि विभागको माटो विज्ञान शाखामा हुनुहुन्थ्यो । उहाँ अलि संघर्ष गरेर माथि उठ्नुभएको हो । उहाँ पहिले जे टी ए नै हुनुहुन्थ्यो । जे टी ए बाट उहाँले राम्रो काम गर्नुहुदै मेहनेतले गर्दा लुधियानामा द्य।क्अ। ब्नचष्अगतिगचभ पढ्ने मौका पाउनु भयो । त्यो पढेर पास गरी लुधियानाबाट फर्के पछि अफिसर हुनुभयो । अफिसर भएपछि धेरै राम्रो मौका पाउनुभयो। आफ्नो माटो विज्ञान क्षेत्रमा धेरै प्रगति गर्नुभयो । त्यहीबेला उहाँ स्रष्टा पनि हुनुहुन्थ्यो । कविता, गजल लेख्नुहुन्थ्यो र हामीलाई सुनाउनुहुन्थ्यो । मैले खास उहाँलाई माटो विज्ञान शाखा हरिहरभवनमा चिनेको हुँ । त्यो धेरै पहिले २०३५÷३६ सालतिर हो । उहाँले साहित्य सुनाउँदा मलाई मन पथ्र्याे । त्यसरी हाम्रो मित्रता बढेको हो । पछिपछि भेट भइराख्यो । एउटै फिल्डका मान्छे भयाँै । म कृषि प्रसार तथा तालिम शाखामा थिएँ । चियाखादाँ बस्दा भेटघाट भइ नै राख्थ्यो । उहाँ माटो सम्बन्धीमा अब्बल नै हुनुभो । माटोसम्बन्धी यो लेखे त्यो लेखे भन्नुहुन्थ्यो । उहाँ साह्रै लगनशील व्यक्तिहुनुहुन्थ्यो । जे काम पनि उहाँको समर्पण रहन्थ्यो । मिहिनेत उहाँको परिचय नै हो । जागीर खाँदा कृति कम थिए । पछि उहाँ धेरै अघि बढनु भो साहित्यमा । उहाँसँगको मेरो विशेष सँगत कृषि क्षेत्रमा रहँदा देखि नै हो । पछि म पढ्न विदेश गएँ यसरी अलगअलग भयौँ । म निवृत्त भएपछि मलाई पनि लेखनमा इच्छा भयो पहिले फाट्टफुट्ट लेख्थेँ । मैले डायरीमा लेखेर राखेको थिएँ । म जागीरको सिलसिलामा खुमलटार आएँ । निवृत्तपछि मात्र कृति प्रकाशन गर्न सकेँ । रसुवा, तनहूँ, लमजुङ यी जिल्लाहरू कृषि अधिकृत भएर पनि बसियो । दमौली हुदाँ पनि लेख लेख्थे । त्यति बेला हाम्रो साहित्यिक कुराकानी त्यति हुदैन्थ्यो । त्यतिबेलासम्म सदानन्द साहित्यकार हुनुभएको थिएन । माटो विज्ञमात्र हुनुहुन्थ्यो । पछि हामी जागीरबाट छुट्टिएपछि म अनुसन्धानतिर आएँ, उहाँ माटोतिर । त्यसबेला हाम्रो भेटघाट त थियो तर उठबस थिएन । निवृत्तपछि म विदेशको यु एन तिर काम गरेँ केही वर्ष । फर्केर आएपछि प्रोजेक्टहरू एफ ए ओ र डि एफ आइ मा काम गरेँ । त्यो बेला म निकै व्यस्त भएका कारण साहित्य हेर्थे, पढ्थेँ तर लेख्दिनथे तर जब फुर्सद भयो तब केही लेख्न थालेँ । कविताहरू लेख्दै गएपछि शोख बढ्यो । मोबाईल फेसबुकमा सदानन्द पनि साथीहुनुहुन्छ । पहिला उहाँ सदानन्द जैसी लेख्नुहुन्थ्यो। साहित्यमा लाग्नु भएपछि उपनाम अभागी लेख्न थाल्नु भएछ । उहाँको आफ्नो लेखाइ चित्तबुझ्दो र गहकिलो लाग्यो । मभन्दा धेरै अगाडिको स्रष्टा हो उहाँ । उहाँका लेखरचना देशबाहिरका सञ्जालबाट प्रकाशित भइरहन्थे । ती माध्यमबाट आएका रचना म पढ्थँे । छन्दमा त म उहाँको लेखन त्यति देख्दिनँ । विशेष गरी म उहाँको गजल लेखनबाट प्रभावित भएँ । पछि म छन्द कविता लेख्न थालेपछि म प्रकाशनतिर सोचेँ, कृति छपाएँ । कृति समीक्षार्थ आफ्नो मान्छे चाहिने । धेरै कुरा मिल्न पर्ने झट्ट सदानन्दजीको याद आयो । एउटा समीक्षार्थ गर्न भने आफ्नो कृतिको । ४५ वटा कविता रहेको उक्त कवितासङ्ग्रहको समीक्षाका लागि पठाइदिन भनी सदानन्दले अनुरोध गर्नुभयो । केही समयपछि समीक्षा लेखी पठाउनुभयो । मलाईराम्रो लाग्यो, प्रभावित भएँ । उहाँले मलाई चिनेर राम्रो लेखेको होइन कि कृतिको गुणगरिमा हेरेर उहाँले विश्लेषणात्मक समीक्षा गर्नु भएछ । प्रभावित म मात्रै होइन कि अरू पनि हुनु भो । मैले त्यो समीक्षा फेसबुकमा पनि राखेँ उहाँसँग अनुमति लिएर । क्या गजबसित हुन्छ भन्नुभो । मेरा छन्द कविता पढ्ने साथी नातेदारलगायत पनि पढ्नुभो । छन्द कविले यो पो भावमा लेखेका रहेछन् भनेर धेरैले बुझ्ने मौका पाए । अरूले पनि बुझेर प्रतिक्रिया जनाउँदा र फोन गर्दा अति खुसी भएँ । उहाँले स्पष्ट समीक्षा गरिदिएपछि मेरा लागि थप सकारात्मक उर्जा बन्यो । त्यसमा उहाँको निकै मिहिनेत परेको थियो । उहाँले पनि ठाँउठाँउमा छपाइदिनु भयो । ४÷५ बटा पत्रपत्रिकालगायतमा छापिएपछि म अलि प्रचारमा आएँ । यसमा उहाँको ठूलो भुमिका रहेको छ । मेरा किताबहरू स्कुललगायतका ठाउँहरूमा राम्रो बिक्यो । एक महिनामै ५०० प्रति सकिए । सदानन्दको गुन म विर्सन्न । अहिले मैले दोस्रो संस्करण ५०० प्रति निकालेँ । अहिले पनि राम्रै भइरहेको छ । तर पनि कविता कृति र छन्द चेतनाका बारे त्यति प्रशिक्षित भए जस्तो लागेन । किताब जो त्योले किन्दैनन् । जे होस्् मैले सदानन्दलाई राम्रो स्रष्टामा गन्छु । मैले कुन भावमा लेखेको थिएँ त्यही भावमा नै प्रष्ट रूपले समीक्षा गर्नुभो । तसर्थ पनि म प्रभावित छु । यसले हाम्रो सम्बन्ध पनि झनै गाढा बनायो । अहिले टाढा भएका कारण हाम्रो प्रत्यक्ष भेट हुन सकेको छैन् ।
उहाँको व्यवहार सफा खालको, लप्पनछप्पन नभाको, सिधासादा व्यवहार गर्ने खालको म पाउँथे । लामो समयसम्म भेट नभएका कारण उहाँका कैयन् कृति पढ्न पाएको छैन । उहाँको कमजोरी भनेको त्यो पनि प्राकृतिक कारण कान कम सुन्ने भएकाले अलि चर्को बोल्नु हुन्थ्यो । कान नसुन्नु व्यक्तिगत कारण होइन । पछि एयरफोन राखी समस्या कम गर्नुभो । जहाँसम्म उहाँको अरूसँगको व्यवहार नमूना थियो, मीठो थियो । त्यसैकारण उहाँको प्रमोसन भयो । कर्मले नै हाकिम रिजाई जेटिए बाट जे टि, जे टि बाट अफिसर, अफिसरबाट थर्ड क्लास ,थर्ड क्लासबाट सेकेण्ड क्लास ,हुदै शायद फस्ट क्लास पनि हुनु भयो कि? फस्ट क्लास विषय अलि थाहा भएन मलाई । माटो विज्ञानमा प्रमुख नै हुनुभयो । त्यसो हुनु भनेको चानचुने होइन । जे होस् उहाँको ओभरअल राम्रो छ समस्या श्रवणशक्ति कम हुनु मात्रै हो । माटो सम्बन्धीका धेरै लेख र कृतिहरू विशेष रूपमा पढन पाएको छु । जे होस्् सदानन्द रिजाल जस्ता सत्पात्र समाजमा कमै भेटिन्छन् । म उहाँको अझै उज्वल भविष्यको कामना गर्दछु ।
डा. विष्णुकुमार धिताल(कृषि विशेषज्ञ)
"उहाँ प्रमुख रूपमा त कृषि विकासको योद्वा हुनुहुन्छ"
पर्वत जिल्ला तात्कालीन शंकरपोखरी गाउँपञ्चायत वडा नं. ४ मा २००३ सालश्रावण १ गतेमा जन्मनुभएका सदानन्द जैसी लेखन तथा साहित्यिक स्रष्टाहरूको पंक्तिमा खारिएको नाम हो । जे टी ए पदबाट सेवा प्रवेश गरी प्रथम श्रेणीको पदमा कायममुकायमभई द्वितीय श्रेणीको निवृतिभरणमा सेवानिवृत्तहुनु आफैमा ठूलो छलाङ हान्नु हो भने कृषिजस्तो विशिष्ट प्राविधिक विषयको अध्ययन र त्यसमा झन्डै चार दशक लामो प्राविधिक अनुभव हासिल गर्नु भएका जैसी (जुन साहित्य र दर्शनभन्दा निकै पर छ) सफल साहित्यिक स्रष्टाको पंक्तिमा नाम दर्ज गर्न सफल हुनु भएको छ । यस मानेमा उहाँ कृषि क्षेत्रका लागि मात्र नभई समग्र प्राविधिक क्षेत्र के डाक्टर, के इन्जिनियर, के वकिल र के भूगर्भविद् आदि सबैका लागि एउटा प्रेरणाको स्रोत बन्न सफल हुनुभएको छ । यस्तो सफलता प्राप्त गर्ने निकै कम व्यक्तित्व मध्येमा पर्नुहुन्छ साहित्यिक स्रष्टा जैसीजी । यसमा अझ महत्त्वपूर्ण कुरा त के छ भने साहित्य उहाँको दोस्रो परिचय मात्र हो उहाँ प्रमुख रूपमा त कृषि विकासको योद्धा हुनुहुन्छ । सरकारी काम कहिले जाला घाम भन्ने उक्तिलाई खारेज गर्दै सरकारी कामलाई अहोरात्र खट्ने उहाँको बानी थियो । त्यसकै फलस्वरूप कृषि विकाससम्बन्धी उहाँका धेरै प्रकाशनहरू हामीमाझ आएका छन् र किसानका घरघरमा पुगेका छन् । आफ्नो पेशा, जिम्मेवारी र विज्ञतामा अब्बल भूमिका निर्वाह गरेर साहित्यानुरागी बन्दै साहित्यिक स्रष्टा बन्न सक्ने भएकाले उहाँ हामी सबैका लागि प्रेरणाका पात्र हुनुहुन्छ र जीवनको अन्तिम घडीसम्म पनि यसमा लागिरहन सक्नुहुनेछ भन्ने कामना गर्दछु ।
७.२. लेखक, साहित्यकार र समीक्षकको हेराइ
यस शीर्षकमा सदानन्द अभागीको व्यक्तित्व र कृतित्वसम्बन्धमा विविध साहित्यकारका अभिव्यक्त धारणालाई प्रस्तुत गरिने छ ः–
अरूण नदी खत्री (सामाखुसी, सरकारीधारा)
"उहाँ लगाव भएको साहित्यकार हो"
उहाँको समालोचना मैले पढेको छु । धेरै किताबको समालोचना उहाँले लेख्नु भएको छ । प्रायः पत्रिकामा समीक्षा समालोचना छापिएको म भेटाउँछु । २०७० सालमा मझेरी कार्यक्रमको सम्मानमा उहाँ र म सँगै सम्मानित भएका थियौँ । त्यति बेला मेरो प्रथम भेट भएको थियो । पाठकको मन जित्ने गरी राम्रै लेख्नुहुन्छ । उहाँ लगाव भएको साहित्यकार हो । कपन वानेश्वरमा नियमित जसो लेख्ने हुनाले म उहाँको नियमित पाठक हुँ ।
इन्द्रकुमार जोशी विकल्प (कुश्मा, पर्वत)
"आफ्नो मनमा लागेको कुरा मज्जाले लेख्नुहुन्छ ।"
उहाँ एउटा प्रौढ कृषि विज्ञ पनि हो । साहित्यमा उहाँले शुरूदेखि नै लेखिरहनु भएको छ । धेरै विधामा थुप्रै किताबहरू लेख्नुभएको छ । लागिपर्ने मान्छे हो उहाँ । लेख्ने कुरा नै ठूलो मानिन्छ उहाँको । उहाँले लेखेका कृति पाठक समीक्षकको हातमा खासै नपुगेका हुनसक्छन् । पर्वत जिल्लाको हाम्रो साहित्यिक संस्थाबाट उहाँको योगदानको मूल्याङ्कन गर्दै गतवर्ष पुरस्कृत भइसकेको स्रष्टा हो उहाँ । उहाँको हालसम्म यथोचित मूल्याङकन भइसकेको छैन किनकि कृति धेरै लेखेपनि निकै कम छाप्नुहुन्छ । पाठकका दृष्टिमा पुग्न पाउदैन अनि चिन्नुपर्ने पनि चिन्न मूल्याङकन गर्न पाउदैनन् । साहित्यमा अति रुचि भएको साहित्य भनेपछि हुरूक्कै हुने मान्छे हो उहाँ । जतिबेलापनि उहाँको तनमन साहित्यमै छ । उहाँ कवि हो विशेषतः ।उहाँ नेपाली विषय र सिद्वान्तको विज्ञ होइन तर मनमा लागेको सबै कुरा लेख्नुहुन्छ । सिर्जनामा रमाउनु र यसैमा लागिपरी कर्म र धर्म पेश गर्नुहुन्छ । प्रयोगवादी शैली छ उहाँको आफ्नो मनमा लागेको कुरा मज्जाले लेख्नुहुन्छ । नापतौल गर्नुहुन्न ।
ओमप्रसाद रिजाल, (कावासोती–७)
'सादा जीवन उच्च विचार' भन्ने गान्धीवादी दर्शनबाट अभिपे्ररित"
राम ज्ञवालीजी ! तपाईँले सदानन्द जैसीको दर्शन यात्रासम्बन्धी संक्षिप्त विवरण÷लेखको लागि प्रस्ताव राख्नु भएकाले उहाँको सँगठनात्मक कार्यको बारेमा मैले प्राप्त गरेको तथ्यको आधारमा प्रस्तुत गरेको छु ।
भारतीय प्रजातान्त्रिक पृष्ठभूमिमा भारतको आसाम राज्यमा अध्ययन गरेर प्रजातान्त्रिक मूल्य र मान्यताबाट दीक्षित गंगाधर रिजालको नाति, कलाधर रिजालको सुपुत्र सदानन्द जैसी(रिजाल) 'सादा जीवन उच्च विचार' भन्ने गान्धीवादी दर्शनबाट अभिपे्ररित हुनुहुन्छ । आफ्नो जीवनको महत्त्वपूर्ण समय नेपाल सरकारको सेवामा व्यतित गर्दागर्दै पनि नेपाली काङ्ग्रेस र यसका विभिन्न भातृसंघहरूमा आबद्ध भई प्रजातान्त्रिक समाजवादको बाटोमा अविचलित एवम् अविच्छिन्नरूपमा लाग्नु भएका जैसीको सांगठनिक यात्राको बारेमा वर्णन गर्नु उहाँको प्रशंसाभन्दा पनि पेशा र राजनीति अन्तरनिहित जीवनदर्शन हुन् भन्ने कुराको बोध भावी पुस्तालाई गराउनु हो ।
भारतको आसाम राज्यडिगबोईमा स्कूले जीवनको दौरानमा उक्त स्थानमा नेपालीको हकहितको निम्ति नेपाली विद्यार्थीहरूद्वारा सञ्चालित "नेपाली साहित्य र नेपाली भाषाको संरक्षण र सम्बर्धन गर्ने संस्थामा आबद्ध जैसीले सामाजिक सेवामा उत्कृष्ट पुरस्कार ९द्यभकत एचष्शभ यल क्यअष्ब िक्भचखष्अभ, ज्ञढटड० प्राप्त गर्नुभएको थियो । समाज सेवाका अतिरिक्त साहित्यिक सिर्जनामा अभिरुचि राख्नुहुने जैसी हरिभक्त कटुवाललाईसाहित्यमा आफ्नो आदर्श पात्र मान्नुहुन्छ ।
बि.सं. २०२४ सालमा नेपाल बसाईपछि पर्वतको नारायण मा.वि.मा. शिक्षण सेवामा रहँदा तात्कालीन अवस्थामा प्रतिबन्धित नेपाली काङ्ग्रेस पार्टीमा आबद्ध सदानन्द जैसीले पञ्चायत विरोधी प्रजातान्त्रिक गतिविधिहरूमा टेवा पु¥याउनु भएको थियो । बि.सं २०२६÷०२८ सालतिर गण्डकी छात्र समिति पर्वतको प्रतिनिधि भएर एउटा सशक्त राजनीति यात्रा शुरु गर्नुभएकोमा वि.सं.२०२७ साल मंंसीर ३० गते देखि नेपालको सरकारी सेवामा प्रवेश गरेको हुनाले नेपाली काङ्ग्रेस पार्टी र यसका भातृ सँगठनहरू सँगको उहाँको प्रत्यक्ष एवम् सक्रिय सम्बन्धमा ठेस लागे पनि तात्कालीन पञ्चायती व्यवस्थाले छुट दिएका संघ संस्थामा प्रजातान्त्रिक व्यवस्था पक्षधरको रूपमा उहाँको राजनीतिक आस्था प्रतिको भावनात्मक सम्बन्ध झन्झन् प्रगाढ बन्दै गयो । उच्च शिक्षा अध्ययनको सिलसिलामा २०३४–३८ सालमा पञ्जाब एग्रिकल्चर युनिभर्सिटीमा अध्ययनरत हुँदा अन्तराष्ट्रिय विद्यार्थी संघ र नेपाली विद्यार्थी संघमा आबद्ध रही नेपालको प्रजातान्त्रिक आन्दोलनमा टेवा पु¥याउनुभएका जैसीले २०३६ सालको जनमत सङ्ग्रहको दौरानदेखि २०४६ सालको जनआन्दोलनसम्म सरकारी जागीरहुनुको बाबजुत पनि बहुदलीय व्यवस्थाको पक्षमा वकालत गर्दै आउनु्भएका जैसी २०४७ सालमा कर्मचारी सँगठनमा क्षेत्रीय कृषि तालिमकेन्द्रको कार्यालयस्तरको अध्यक्षको पदमा कार्य गर्नुभयो । बि.सं. २०४९ मंसिर १२देखि २०५२ साल आश्विन ३० सम्म कृषि विकास कार्यालय पर्वतको का.मु. कृषि विकास अधिकृत रहँदा कर्मचारी मिलन केन्द्र (पर्वत) मा सदस्य, उपाध्यक्ष हुँदै केही समय कार्यबाहक अध्यक्षको पदमा रही आफ्नो आस्थाको राजनीतिलाई प्रवद्र्धन गर्नुभएको थियो । २०५२ सालदेखि २०६१ चैत्रसम्म नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजवादप्रति मौन समर्थन जनाउँदै आउनु भएकोमा २०६२ सालबाट नेपाली काङ्ग्रेस पार्टीको सक्रिय सदस्यकारूपमा काम गर्दै आउनु भएको छ । उमेरले बुढ्यौली गोरेटोमा पुग्नुभएका सदानन्द जैसी २०७१ सालदेखि जेष्ठ नागरिक संस्थाको क्षेत्रीय संस्थापक सदस्य एवम् जेष्ठ नागरिक संस्था नवलपरासी (ब.सु.पू.)को सहसचिव (२०७५) हुँदै जेष्ठ नागरिक जिल्लासंघको अध्यक्ष पद(२०७७।११।१३) को कार्यभार सम्हाल्दै आउनु भएको छ । सरकारी जागीरबाट निवृत्त जीवनलाई साहित्य र लेखनमा समर्पित गर्दै आउनु भएका सदानन्द जैसी हाल पत्रकार युनियनसँग आबद्ध रही प्रेस युनियनको केन्द्रीय पार्षद्को माध्यमबाट समाज सेवामा तल्लीन हुनुहुन्छ । वि.सं.२०५६ देखि लक्ष्मीस्मृति साहित्य समाजको संस्थापक अध्यक्षको साथै थुप्रै संस्थाको आजीवन सदस्य भएर साहित्य सेवामा समर्पित हुनुहुन्छ ।
कविता चापागाई (मोरङ, विराटनगर)
"अर्काको मर्म बुझ्ने पवित्र मनको मान्छे"
सदानन्दलाई सष्टा र द्रष्टा दुबै रूपमा चिन्छु । उहाँले मेरा कृतिको समीक्षा पनि लेख्नुभएको छ । लेखन राम्रो छ । योग्य मान्छेको रूपमा म उहाँलाई चिन्छु । म उहाँका कृतिहरू पढ्न पनि इच्छुक छु । उहाँको पोख्त लेखनबाट प्रभावित नै छु । मलाई उहाँको बारेमा लेख्ने मन पनि निकै छ तर संयोग मिलेको छैन । मेरो र उहाँको चितवनमा पल्लवको कार्यक्रममा भेट हुने अवसर जुटेको थियो । मैले एउटा कृति पनि दिएकी थिएँ सो भेटमा । धेरै जनालाई कृति मैले दिए पनि उहाँले बाहेक कसैले प्रतिक्रिया दिनुभएन तर उहाँले साहित्यकारको मर्म बुझेर कर्तव्य निर्वाह गर्नुभयो । उहाँ सच्चा साहित्यसेवी हुनुहुँदो रहेछ । उहाँले लेखेर छापेर मलाई पठाइदिनुभयो । पूर्वाञ्चल दर्पणमा पनि छापियो । साहित्यमा त्यति धेरै चाख राख्नु हुँदोरहेछ । उहाँले गर्नुभएको मूल्याङ्कन प्रति म पूर्णत सन्तुष्ट छु । आफ्नो ज्ञानले जानेर अरूको समीक्षा लेख्दिने स्रष्टा दुर्लभ हुन्छन् । निस्वार्थी साहित्यसेवी मान्छेको रूपमा मैले उहाँलाई चिन्ने मौका पाएँ । हृदयदेखि साहित्यसेवामा लागेका अनुकरणीय मान्छे र अर्काको मर्म बुझ्ने पवित्र मनको मान्छे हो उहाँ ।
काजी रोशन (बागलुङ)
"साह्रै नै लगनशील, चिन्तक र साहित्यसाधक व्यक्तित्व"
उहाँ साह्रै नै लगनशील, चिन्तक र साहित्यसाधक व्यक्तित्व हो । पहिला उहाँ कृषि विभागमा लागेर सेवा निवृत्त भए पनि त्यसपछिका यात्रा साहित्यमा केन्द्रित गरी निकै कर्मठ, क्रियाशीलरूपबाट लागिपर्नु भएको छ । उहाँले धेरै पुस्तकहरूको समीक्षा समालोचना पनि गर्नुभएको छ । उहाँले मेरो एक कृति स्रष्टा भेटका स्वर्णाक्षर भन्ने पुस्तकको समीक्षा गर्नुभएको छ । खास गरेर उहाँ धेरै परिश्रमी मान्छे हो । किताब अध्ययन गरेर लेख्ने समिक्षा गर्ने त्यसका अन्तर्भूत कुराहरूलाई उत्खनन गरेर पाठक समक्ष पु¥याइदिने र लेखक कस्तो हा,े के हो ? कसो हो ? त्यसको साङ्गोपाङ्गो रूपरेखा समुदायमा पु¥र्याउने त्यस्तो व्यक्तित्व हो । भाउ नखोज्ने, धेरै सरल व्यवहारहरू, साह्रै सुलभ सजिलो र साधारण नेपाली जनजीवनसँग आबद्धभएको एउटा साहित्यकार र समालोचक÷समीक्षकको रूपमा उहाँलाई लिन सकिन्छ । खास गरी यो समयबीचमा समीक्षाहरू पनि बढी प्रकाशन भइराखेका छन् । उहाँले मलाई धवलागिरी प्रतिष्ठानको लागि केही पुस्तकहरू प्रदान गर्नुभएको हो । मेरो र उहाँको प्रत्यक्ष सम्पर्क पनि हुन्छ । फोन सम्पर्क भने मैले त्यति गर्न पाएको छैन । उहाँले फोन सम्पर्क गरिरहनुहुन्छ । यसप्रकार एउटा कावासोतीको गाउँमा बसेर देशका लब्ध प्रतिष्ठित र अनुजको समेत कृति समीक्षा गर्नु गहन कुरा हो । कविता लेख्नु, कथा लेख्नु, एउटा अन्तर्मनको भावना व्यक्त गर्नु लेखक कविको प्रतिभा छदैछ। त्यसरी लेखेको कुरालाई हेरेर एउटा विवेचनात्मक समीक्षामा उतार्नु ठूलो कार्य हो । त्यो समान्य वा कम ज्ञान भएको व्यक्तिले कदापि गर्न सक्दैन । उहाँले आफ्नो साधनालाई घरव्यवहारका बावजुत पनि उमेरले पाको भइसक्दा पनि धेरै अध्ययनशील, चिन्तनशील र मननशील मान्छेको रूपमा आफूलाई चिनाइसक्नु भएको छ । उहाँले योग्यता, दक्षता र अध्ययनशीलतालाईकार्यरूपबाट प्रस्तुत गर्नुभएको छ । धेरै संघसंस्थामा पनि आबद्ध हुनुहुन्छ । कार्यक्रममा बोलाएको बेला आउनुहुन्छ । यसरी साहित्य, उन्नयन र लेखनमा अति सक्रियता छ । सहभागितामा पनि त्यतिकै उल्लेखनीय भएको पाएको छु । उहाँ सम्मानको पछि हिँड्ने होइन । कदर र दोसल्लाको पछि नहिडी एकान्त साधना गर्नुहुन्छ । एकान्त कुनामा बसेर साधना गर्ने लेखक कविहरूलाई प्रज्ज्वलित गर्ने समाजमा चिनाउने उदाहरणीय असलव्यक्ति हो । उहाँ जस्तो राम्रो व्यक्तित्वको पहिचान सरोकारवालाहरूले गर्नु पर्दछ । एक दर्जनभन्दा बढी पुरस्कार संस्थाबाट म पनि दिने गर्छु तर पनि हालसम्म उहाँलाई समेट्न सकिएको छैन । उहाँको साधनाको म उच्च कदर गर्दछु । निरोगी र आरोग्यतापन उहाँमा सदैव देख्न पाइयोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।
डा.कुसुमाकर न्यौपाने (पोखरा)
"मस्तिष्कको साथसाथै अझ बढी मात्रामा मन खेलाउने व्यक्तित्व"
सदानन्द अभागी एउटा प्रविधिविज्ञको रूपमा चिनिएको व्यक्ति हो । आफ्नो जीवनको उर्जावान् समय प्राविधिक क्षेत्रमा व्यतीत गर्नुभयो र प्रविधिसम्बन्धी ज्ञान बाँड्ने काममा आफूलाई अर्पित गर्नुभयो । त्यसैक्रममा आफूलाई साहित्यिक क्षेत्रमा पनि निरन्तर क्रियाशील गराउनुभयो । उहाँ अत्यन्तै हार्दिक खालको मान्छे हो । मस्तिष्कको साथसाथै अझ बढी मात्रामा मन खेलाउने व्यक्तिको रूपमा मैले उहाँलाई चिन्दछु । मस्तिष्क चलाउने मान्छे अलि बढी कठोर पनि हुनसक्छ तर उहाँ कोमल मन भएको व्यक्तिको रूपमा चिनिनुभएको छ । उहाँले त्यसैको परिणाम साहित्यकाविभिन्न विधामा कलम चलाउनुभएको छ । साहित्यका प्रविधिको क्षेत्रमा पनि योगदान दिदै साहित्यिक सिर्जना गर्नुभएको छ । प्राविधिक विषयलाई साहित्यिक रङ दिएर चिनाउने काम पनि गर्नुभएको छ र साहित्य सिर्जना पनि गर्नुभएको छ । विशेष गरी उहाँ दुईवटा पाटो लिएर हिँड्ने व्यक्तिको रूपमा, सर्जकको रूपमा मैले चिनेको छु । धेरै पहिल्यै देखिबाट साहित्य सिर्जनामा लागे तापनि उहाँलाई मैले चिन्ने अवसर अलि पछि आएर मात्र पाएँ । जैलेबाट चिने तैलेबाट उहाँ आदर्श सर्जकको रूपमा आफूलाई स्थापित गराउन क्रियाशील व्यक्तिको रूपमा उपस्थित भएको मैले पाएको छु । त्यसकारण उहाँ श्रद्धेय सर्जकको रूपमा चिनिनुहुन्छ । इमानदार भएर पनि चिनिनुहुन्छ । उहाँकै कृतिहरूमा केन्द्रित भएर अलि गम्भीर अध्ययन गरेको छैन तर उहाँका कृतिहरू देखेको छु । छिटफुट रूपमा पढेको पनि छु । ती कृतिहरू वर्णनात्मक शैलीका बढी मात्रामा पाएको छु । एउटा आदर्श सर्जक जसको कृतिहरू गम्भीर रूपमा पाएको छु । एउटा आदर्श सर्जक जसका कृतिहरू गम्भीर रूपमा पढेर मात्रै यस्तो यस्तो भनी बोल्नुपर्ने हुन्छ । उहाँ गण्डकी प्रदेशमा जन्मेको भए तापनि उहाँको नवलपुरमा बसाइ रहँदा पनि कहीँ कतैबाट नकारात्मक पाटाका टिप्पणी सुनेकै छैन । जे सुनेको छु एउटा राम्रो सर्जक भनेर सुनेको छु । उहाँ विभिन्न ठाउँहरूमा सम्मानित भएको देखेको छु । सामाजिक रूपमा आफ्नो जन्मस्थलमा उहाँको प्रभाव कस्तो छ । त्यो एउटा पाटो हो तर कृतिगत रूपमा उहाँले आफूलाईइमानदार लेखकको रूपमा चिनाउनु भएको छ । त्यसकारण उहाँ श्रद्धेय व्यक्तित्व नै हो ।
कृष्णादेवी शर्माश्रेष्ठ ( देवचुली न. पा. १५, नवलपुर)
"सदा राष्ट्र सेवा छ यिनको सदीक्षा"
सदानन्द यी सृष्टि गर्छन् पलामा
सदा खुल्दछन् सृष्टि भर्न कलामा
भए राष्ट्रका धान विज्ञानवेत्ता
गरे सृष्टि साहित्य सेवा प्रशस्त
विधा एक हैन अनेकौँ समाए
महाकाव्य सिर्जे र नामै कमाए
कथा बोल्दछन् बोल्दछन् खण्डकाव्य
उपन्यास धेरै छर्दैछन् प्रशस्त
समीक्षा भनौँ के कसो नाम धेरै
बितेको छ यात्रा यही कर्म गर्दै
कुनै खेतका कर्मबारे छ शिक्षा
सदा राष्ट्र सेवा छ यिनको सदीक्षा
छ भाषा मीठो शब्द खर्चेर राम्रो
कसैको नजरले नदेख्ला नराम्रो
छ सम्मान ओइरो देखिराख्छु
म यी राष्ट्रसेवी भनी लेखिराख्छु
अझै राष्ट्रले पाउँदै गर्छ सेवा
बनोस् लेखेनी नित्य उड्ने मलेवा
सदा फैलियोस् नाम सेरोफेरो
यही कामना लेखनी गर्छ मेरो ।।
केशवराज आमोदी (चितवन)
"बहुमुखीप्रतिभा सम्पन्न साहित्यकार"
उहाँ बहुमुखीप्रतिभासम्पन्न साहित्यकार हुनुहुन्छ । उहाँबाट महाकाव्य, खण्डकाव्य, कथा, उपन्यास, गजल, मुक्तक आदि प्रकाशन भएका छन् । उहाँ माटो विशेषज्ञ हुनु भएकाले माटो सम्बन्धीका पनि दर्जनौँ कृतिहरू बजारमा छरिएर रहेका छन् । उहाँका हरेक कृतिहरूको छुट्टाछुट्टै अध्ययन गर्नुपर्ने हुन्छ । उहाँ ज्यादै लागिरहने माान्छे हो । लक्ष्मीस्मृति साहित्य प्रतिष्ठानको अध्यक्ष भई साहित्यिक नेतृत्व पनि गर्नुभएको छ । उहाँले साहित्यकारहरू बोलाएर सम्मान गर्ने कार्य गर्नुहुन्छ । महाकाव्य आफ्नै लहडले लेख्नुभएको छ । खण्डकाव्यमा पूर्र्वीय र पाश्चात्य दृष्टि मान्यताअनुसार भने लेखेको देखिन्न तर अचेल धेरै प्रकारका महाकाव्यहरू सार्वजनिक भइरहेका कारण उहाँका महाकाव्य सिद्धान्तनिष्ठ छैनन् भन्नचाहिँ मिल्दैन । उहाँ खाली बस्न नचाहने केही न केही लेखिरहने स्वभावको हुनुहुन्छ । केही न केही चिन्तन गरिरहने, उहाँ साहित्यको राम्रो पाठक हो । आफूले कृति अध्ययन गरिसकेपछि मनमा लागेका कुरा लेखिहाल्ने, अर्काले बुझोस् नबुझोस् ग्रहण गरोस्, नगरोस् पाठकीय हृदयलाई छाम्न सकोस्, नसकोस् त्यो पर्बाह गर्नुहुन्न । आफ्नो कर्तव्य सम्झेर लेख्ने उहाँको बानी हो । लेखेर छपाउने बेलामा पनि आफूभन्दा अग्रज वा जानकारलाई देखाऊँ भन्ने सोच अथवा विषयवस्तु वा भाषा सम्पादनको केही जानकारी लिऊँ भन्नेतर्फ चासो राख्नुहुन्न । भाषिक परिष्कार परिमार्जनमा खास ख्याल गर्नुहुन्न । लेखेरै नथाक्ने उहाँको त्यस्तो प्रकारको व्यक्तित्व छ ।
खगेन्द्र बस्याल (रूपन्देही)
"समाजमा उहाँलाई सम्मानयोग्य व्यक्तिको रूपमा लिइन्छ"
उहाँ साधक हो । पहिले कृषिमा काम गर्नुहुन्थ्यो । कृषिसम्बन्धी साहित्य सिर्जना र लेखन गर्नुभएको छ । अहिले पनि लेखनसिर्जना जारी छ । संख्यात्मकअनुसार जति कृति त्योअनुसारको गुणात्मकता भने जान सक्नुभएको छैन कि भन्ने मलाई लाग्छ । कृषिमा उहाँको योगदन स्मरणीय छ । समाजमा उहाँलाई सम्मानयोग्य व्यक्तिको रूपमा लिइन्छ वा लिनुपर्छ । मृदुभाषीहुनुहुन्छ । सबै साहित्यकारलाई सम्मान गर्नुहुन्छ । साहित्यिक कार्यक्रममा उहाँको उपस्थिति जनाउन विर्सनुहुन्न । अरूलाई त्यसै बस्नुहुन्न लेख्नुपर्छ भनेर प्रेरणा दिने प्रेरक व्यक्तित्व हो । कृति धेरै भएर पनि उहाँको कृतिका चर्चा भने कम छ । उहाँको विज्ञापन गर्ने बानी छैन । कृषिसम्बन्धी व्यवसायिक कृति भने धेरै संख्यामा छापिएका र सामाजोपयोगी पनि रहेका कारण चर्चामा रहे । उहाँ अनवरत साधक गर्ने प्रतिभा हो । यो बुढेसकालमा पनि थाक्नुभएको छैन । एक समय मान्छेले लेख्न सक्छ तर दीर्घकालसम्म लेख्न मान्छे पाउन गाह्रो छ । आफ्नो कृतिले चर्चा पाओस् नपाओस् त्यो सरोकार नराखी निरन्तरता दिनुभएको छ । यसर्थ उहाँ तपस्वी हो । कर्मको विश्वास महत्त्वपूर्ण हो । सिर्जनामा नथाक्ने त्यस्ता मान्छे बिरलै पाइन्छन् । लेखनको सक्रियताका कारण उहाँको सिर्जना थपिइरहेका र सामाजिक सम्बन्ध पनि राम्रो भइरहेको छ । सक्रियताकै कारण समाजमा उहाँको खोजी हुन्छ । उहाँ सामाजिक रूपमा राम्ररी घुलमिल हुनसक्ने र घुलमिल भएको व्यक्तित्व हो ।
खड्ग श्रेष्ठ (पर्वत, फलेवास, हालःकाठमाडौँ)
"उहाँको काम निकै पारदर्शी थियो"
सदानन्द अभागी र मेरो पहिलो भेट कृषि विकास कार्यालय पवर्तमा हाकिम र स्टाफको नाताले भएको थियो । मेरो घर फलेवास र कार्यक्षेत्र पनि फलेवासको कृषि सेवा केन्द्र रहेको थियो । मैले परिचय दिनेबित्तिकै "फलेवासलाई एउटा नमूना क्षेत्र बनाउनु पर्छ । फलेवास पर्वतको दक्षिणको ढोका हो । त्यहाँका जनता शिक्षित छन्, परिश्रमी छन् । विद्धत वर्ग पनि कुटोकोदालो लिन हिचकिचाउँदैनन् । पहिला जेजति भएको छ त्योभन्दा पनि बढ्ता गर्नुपर्छ ।" उहाँले भन्दै जानु भयो मैले सुन्दैगएँ । उहाँको कामप्रतिको जाँगरले म निकै प्रभावित भएँ । मैले पनि सक्दो प्रयास गर्छु भनी प्रतिबद्धता जनाए । उहाँले कार्य विभाजन गर्नु भयो । शाखा प्रमुख तोक्नु भयो । "तपाईँहरूको कार्यक्रम यो हो र त्यसको लागि छुट्टिएको बजेट यो हो । यस परिधिभित्र रहेर कार्यक्रम सञ्चालन गर्ने योजना साखा र मैले अनुगमनको काम गर्छु ।" उहाँको काम निकै पारदर्शी थियो । उहाँ त्यहाँ छँदाछँदै म २०५१ सालमा म नार्कमा समायोजन भएर गएँ । करिव १ वर्षको अवधिमा उहाँ पनि माटोपरीक्षण सेवा शाखामा आउनु भयो । उहाँ म सँग पर्वतमा छँदा नै निकै प्रभवित हुनुहुन्थ्यो र मलाई निकै माया गर्नुहुन्थ्यो । मलाई लेखनमा अगाडि बढ्न पेरित गर्नुहुन्थ्यो । म नार्कमा खुमलटारमा थिएँ ।काठमाडौँ बस्न मलाई साह्रै कठिन भएको थियो । म काठमाडौँ छाड्न चाहन्थेँ । उहाँ बरिष्ठ माटो विज्ञ भएर हरिहर भवनमा आउनुभयो । मैले जानकारी पाउनेबित्तिकै मेरो काठमाडौँँको दुःख वेसाउन पुगेँ । उहाँले काठमाडौँँमा धेरै सुविधा प्राप्त गर्न सकिन्छ छोड्न हुन्न भन्ने सुझाव दिनु भयो साथै कृति तयार भयो या भएन भनेर सोध्नुभयो । मैले हुँदै छ भन्दै विश्वास दिलाउन खोजे ।
मैले सदानन्दको सुझावलाई मनन गरेँ । उहाँले भनेझैँकाठमाडौँँमा नै रमाएँ र साहित्यतिर मेरो ध्यान गयो । मैले ६ वटा कृतिहरू प्रकाशन गरे । मेरा छ कृतिहरूमा निष्ठूरी (कविता र गीतसङ्ग्रह), किसानको साथी (कृषिमा आधारित कविता सङ्ग्रह), आमा, नारी, किसानको छोरो र घातक रासायनको प्रयोग नगरौँ (सडक नाटक) सबैमा उहाँको भूमिका र सम्पादन छ । सबै किताबमा सदानन्दकै भूमिका किन भन्ने प्रश्न अरूका धारणा पनि आएका छन् तर उहाँका भूमिका लेखन तथा समालोचना लेखन यति स्पष्ट हुन्छ कि उहाको भूमिका पढेपछि पुरै कृतिको सरातत्त्व निसारण गरिएको हुन्छ र पाठक सन्तुष्ट भएको पाएर उहाँको भूमिका मेरा सबै कृतिमा छ । मेरा धारणा राख्ने मौका दिनुभएकोमा रामजीप्रति मुरीमुरी धन्याद ।
गोविन्दराज विनोदी (गैडाकोट, नवलपुर)
"सबैतिर राम्रो सम्बन्ध राख्ने उहाँको बानी हो"
उहाँ निरन्तर लेखिरहनुहुन्छ । कृषि माटो विशेषज्ञ हो । धेरै किताब छाप्नु भएको छ । पाठकलाई तान्ने कला सीप सन्तुलित छ । गद्य कविता र गीतिपरक कविता भए तापनि उहाँ गद्यमा बढी राम्रो लेख्न सीप देखाउनुहुन्छ । समालोचनमा प्रभावबाद र तटस्थता दुबै खाले लेख्नुभएको छ । साधना बहुत गर्ने मान्छे हो उहाँ । साहित्य भनेपछि हुरूक्कै हुने सक्रियएवम् निरन्तर खट्ने र मरिमेट्ने लगावपूर्ण स्वभाव छ उहाँको । उहाँले अग्रजहरूको सम्मान गर्नुहुन्छ । नयाँ पुस्तासँग पनि घुलमिल हुनुहुन्छ । सबैतिर राम्रो सम्बन्ध राख्ने उहाँको बानी हो ।
लेखनसीप परिष्कार र परिमार्जनका लागि नयाँ शिराबाट अघि बढ्न त गाह्रो छ उहाँलाई । अध्ययन पनि गर्नुहुन्छ उहाँले । यो बुढेसकालमा पनि दार्शनिक कृतिहरू केही सिर्जना गरिदिए राम्रै हुन्थ्यो ।
गोर्खे साइलो (चितवन)
"जिज्ञासु हुनु नै मान्छे राम्रो हुनु हो"
उहाँले कृषिका निमित्त मिहिनेत लगानी गर्नुभएको छ । जागीर पछि पनि सेवामुखी काम छोड्नु भएन । ६०, ६५ किताब निस्किसकेका छन् । त्यस अर्थमा पनि कर्म अनुकरणीय छ । समीक्षातर्फ पनि लागिरहनुभएको छ उहाँ । सबैको सबैपक्ष राम्रो हुन्छ भन्ने छैन । उहाँमा पनि यो कुरा लागू हुन्छ । उहाँ बहुविधामा लाग्नुभएको छ । जे होस्् सदानन्द अभागी राम्रो व्यक्तित्व हो । उहाँ अग्रज अनुज सबैलाई सम्मान आदर माया र प्रोत्साहन गर्ने व्यक्तित्व हो । उहाँले कृति पाएपछि कसैले लेखिदिनुहोला भन्नु पर्दैन र अध्ययन गरेर लेखिहाल्नु हुन्छ । उहाँ पल्लवबाट सम्मानित व्यक्तित्व हो । लेखेका कुरा कि फेसबुकमा हाल्नुहुन्छ कि पल्लवमा पठाउनुहुन्छ । उहाँको त्यो सक्रियता हेर्दा म आफै पनि त्यति गर्न सक्छु सक्दिनँ भन्ने लाग्छ । कुनै नयाँ चिज÷विषय देखेपछि त्यसमा कलम चलाईहाल्ने कहाँ सोधेर के गरेर हुन्छ जिज्ञासा मेटिहाल्ने उहाँको स्वभाव हो । जिज्ञासु हुनु नै मान्छे राम्रो हुनु हो । उहाँको लगनशीलताबाट म प्रभावित छु । लक्ष्मीस्मृति साहित्यिक समाजको नेतृत्वमा रही नेतृत्वगत योगदान पनि गर्नुभएको छ । नवलपुरमा अग्रस्थानमा नै कर्मगत व्यक्तित्व हो । उहाँ आदरणीय व्यक्ति हो । त्यो क्षेत्रको शिखर व्यक्तित्व हो । साहित्यमा राजनीति छैन उहाँको ।
गंगा कर्माचार्य पौडेल (काठमाडौँ)
"रचना गर्भभित्र पस्नु उहाँको विशेषतै हो ।"
उहाँ एकदमै सक्रिय साहित्यप्रति समर्पित व्यक्तित्व हो । उहाँका धेरै कृतिहरू भएपनि मैले समीक्षाहरू बढी पढ्न पाएकी छु । उहाँको समीक्षा लेखन राम्रो छ । उहाँ अध्ययन गरेरै लेख्नुहुन्छ । कपन बानेश्वरबाट पनि सम्मानित हुनु भएको छ । उहाँ सम्मानयोग्य पात्र हो । उहाँसँग धेरै भेट्ने भलाकुसारी गर्ने मौका खासै नमिले पनि पत्रपत्रिकामा निकै सार्वजनिक भइरहने व्यक्तित्वहुनुहुन्छ । शालीन, भद्र उहाँका व्यक्ति स्वभाव हुन् । कैयौँ व्यक्तिले राम्रोसँग अध्ययन नगरी हचुवाका भरमा लेख्ने र त्यत्तिकै फुक्र्याउने गरेको पनि भेटिन्छ । उहाँमा त्यस्तो प्रवृत्ति कहीँकतै भेटिन्न । रचना गर्भभित्र पस्नु उहाँको विशेषतै हो । समीक्षा सामान्य तरिकाले नै गर्नुहुन्छ । अवगुणहरू खासै केलाउनुहुन्न । अवगुण केलाउँन उहाँ सतर्क भए जस्तो लाग्छ । लेखक सर्जकसँग सम्बन्ध बिग्रिने गरी लेख्ने उहाँको बानी छैन । गुणग्राही गुणपक्षलाई ध्यानदिने समीक्षक हो उहाँ । लेखनमोहमा उहाँजस्ता सक्रिय मान्छे मोफसलमा कमै पाइन्छन् ।
डा. घनश्याम न्यौपाने 'परिश्रमी'(वर्दघाट न.पा.चिसापानी वर्दघाट)
"श्रद्वा गर्न लायक व्यक्तित्वहुन्"
सदानन्द अभागी निरन्तर लेखिरहने मान्छे हुन् । उनले कृषि विषयलगायतमा लेखेका छन् । उनले लेखको स्तर कस्तो हो भन्नुभन्दा पनि उनी लेखिरहन नै रूचाउने, लागिपर्ने व्यक्ति हुन् । त्यस्तो उचाइ नै प्राप्त गरेका लेखक त हुनसकेका छैनन् तर लेख्न रमाउने साहित्यिक गतिविधिमा संलग्न भइरहने श्रद्धा गर्न लायकव्यक्तित्वहुन् । सदानन्द महाकाव्यसम्मको लेखनयात्रा गरेका छन् । त्यो आफ्नै मान्यताको छ । सैद्धान्तिक मान्यतालाई टेकेर लेखेका कृतिहरू कमै छन् । उनले आफ्नो नेतृत्वको संस्था लक्ष्मीस्मृति साहित्य प्रतिष्ठानबाट मलाईपनि सम्मान गरेका छन् । क्षेत्रीय साहित्यिक संस्थाहरूकाबीचमा उनी लोकप्रिय पात्र हुन् । लेखनमै रमाउने उनको स्वभाव हो ।
चट्याङ मास्टर
"कुनै खास एक विचार वादको खोपोमा नपसेर जत्रो संसार
उत्रै छाती बोकेर हिड्नु भएको छ सदानन्द अभागी ।"
सन १९७५ सालमा भारतको पञ्जाब कृषि विश्वविद्यालयमा पहिलो पटक भेट भएका मेरा सहपाठी श्री सदानन्दज्यूलाई नेपाली साहित्यको यो अग्लाइमा देख्दा मलाई मेरो आफ्नै अस्तित्व पनि माथि उठेको अनुभूति भइरहेछ । सम्झन्छु, म त्यो विद्यार्थी सदानन्द, कृषि प्रविधि सिक्न दत्तचित्त सदानन्द, भौतिक र रसायन शास्त्रका सूत्रसँग पौठेँजोरी खेल्ने सदानन्द र अहिले भेट्छु यो जीवन मानवीय आदर्श र संवेदनाको बगैँचामा भ्रमर बनी काव्यरस पिउन र बगाउनमा लिप्त श्री सदानन्द अभागीको भाग्य होस्् त यस्तो । भनिन्छ हरेकको चेतनामा ईश्वरले बास गर्दछ र ईश्वरका अनेक रूपहुन्छन् नत्र निरस माटो विज्ञानका वरिष्ठ विज्ञ रहदै साहित्य सुधाको पराग बनाउने र बटुल्ने काममा पनि उत्तिकै दक्षता कसरी हासिल हुन्छ? सदानन्दको सादा जीवन आफैमा एक रोचक र पूर्ण महाकाव्य छ । उहाँले भाग्यवाद र अलौकिक शक्तिको दासत्व नसकारे पनि अस्तित्व भने स्वीकार्नु भएको छ । कुनै खास एक विचार वादको खोपोमा नपसेर जत्रो संसार उत्रै छाती बोकेर हिड्नु भएको छ सदानन्द अभागी ।
टीका सापकोटा (कावासोती, नवलपुर)
"सिर्जना सरल र सहज, स्वभाव पनि शालीन र मिलनसार"
लक्ष्मी स्मृति साहित्य समाजका अध्यक्ष महाकाव्यकार अभागीले साहित्यका विविध विधामा कलम चलाएका छन् । बहुमुखी प्रतिभाका धनी अभागीका कविता सङ्ग्रहदेखि महाकाव्य सम्मका दर्जनौँ कृति प्रकाशित गरी साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान गरेका छन् । निवृत्त जीवनमा पनि आफू त सक्रिय छन् नै साहित्य सिर्जनामा लागेका अनुजलाई पनि उत्तिकै हौसला प्रदान गर्दछन् । स्वच्छ शैलीमा लेखिएका उनका सिर्जनमा मानवताबाद, वैदिक संस्कृतिप्रतिको आस्था, प्रकृतिप्रेम, विकृति र विसँगतिको विरोध तथा जीवनप्रतिको आशावादी दृष्टिकोण जस्ता प्रवृत्तिगत विशेषता पाइन्छन् । उनका सिर्जना जति सरल र सहज छन् । स्वभाव पनि शालीन र मिलनसार छ ।
डी आर.पोख्रेल (चितवन)
"मलाई प्रिय लाग्छन् सदानन्द अभागी ।"
सदानन्द अभागी आसाम डिगबोईमा हुर्केका, प्रख्यात स्रष्टा हरिभक्त कटुवालबाट प्रभावित बनेका,हाइस्कुल उतीर्ण डिगबोइबाट गरेका तर २००३ सालमा पर्वत नुवार गाउँमा जन्मिएका र जे.टी.ए. पढ्न काठमाडौँमा र पञ्जाबबाट कृषि विज्ञानमा स्नातक गरी माटो व्यवस्थापन निर्देशनालय काठमाडौँँमा जागीरे भई माटो वैज्ञानिक रूपमा उदाएका तर साहित्यिक क्षेत्रमा झ्याम्म हामफालेका एक सरल र सक्रिय व्यक्तिको रूपमा चिनेको छु ।
उनी रुचिले साहित्यमा हाम फालेका व्यक्ति हुन् ।उनी सक्रिय छन् । तीन दर्जन जति विभिन्न विधाका पुस्तक प्रकाशित गरेका छन् ।पारिवारिक, सामाजिक विषयवस्तुलाई आफ्नो सिर्जनामा प्रस्तुत गर्ने गर्छन् ।
उनी समाज सुधारको प्रबल भावना भएका एक स्वच्छन्दवादी धारका स्रष्टा हुन् । बाँकी उनका कविता, काव्य,कथा, उपन्यास,जीवनी,नियात्रा आदि विधाका कृतिहरूको अध्ययन्पछि नै उनीप्रति केही भन्न सकिन्छ । हचुवाको भरमा गरिएको मूल्याङ्कनले उनीप्रति न्याय गर्दैन ।
सदानन्द अरू स्रष्टाझैँ नेपालको विषयगत, सामाजिक, आर्थिक, राजनीतिक र सांकृतिक परिवेशमा बाँचिरहेका छन् । साहित्यिक क्षेत्रलाई अनुत्पादक क्षेत्र ठान्ने शासकीय नीतिको असर जन समुदायमा पनि परेको छ तर उनी माटो विशेषज्ञ भएकाले अरूको जस्तो उपेक्षाचाहिँ सहनु परेको छैन कि ?
उनले नवलपुरलाई कार्यक्षेत्र बनाएर साहित्य सिर्जना गरेका छन् । यस स्थानमा उनले राम्रो स्थान बनाएका छन् । विज्ञान र कलालाई जोड्ने काममा मलाई त उनी प्रिय लाग्दछन् ।
उनीसमाज सुधारको पवित्र भावनाबाट सिर्जना गरिरहेका स्वच्छन्दवादी धारका एक क्रियाशील स्रष्टा हुन् । उनका रचना यथार्थवादी ढाँचाका छन् ।
आफ्नो क्षेत्रमा उनी लोकप्रिय नै छन् । सरल, सहज र सापटी अभिव्यक्तिका कारणले उनी पाठकबीच बोधगम्य बनेका छन् । उनका सिर्जनाबाट एक वैज्ञानिकले पनि साहित्यमार्फत् समाज सुधारका विचार राख्न सक्छन् भने अरूले पनि साहित्यमार्फत् समाज परिवर्तनको लागि काम गर्न सक्छन् भन्ने प्रेरणाको सम्प्रेषण भएको छ ।
समाजमा आज पनि विद्यमान छुवाछुत प्रथा, बहुविवाह,जातभात, चेलीबेटी बेचविखन, पारिवारिक समस्यादेखि खेतीबारेको काव्यात्मक जानकारी वैज्ञानिक दृष्टि आदिले गर्दा उनका कृति समाजका लागि उपयोगी छन् ।
सदानन्द अभागीका कृतिहरूद्वारा कीर्ति फैलियोस् । उनको कलम निरन्तर चलिरहोस्् र उनले आरोग्यता पाइरहुन् भन्ने मङ्गलमय कामनासमेत गर्दछु ।
डी आर शर्मा (पर्वत, कुस्मा)
"निरन्तरताको कसीमा एउटा खरो उत्रने मान्छे"
उहाँका कृतिहरू धेरै नै छन् । केही कृतिहरू मैले पनि पढेको छु । साहित्यको साधना गरी निरन्तरताको कसीमा एउटा खरो उत्रने मान्छे हो । एउटा नदीजस्तो हो उहाँ । नदीले पहाडलाई जुन रूपमा बिस्तारै खियाइरहन्छ, खियाइरहनु हो । उसको काम झर्नु हो । जसरी ढुङ्गालाई नदीले खियाइरन्छ त्यस्तै जस्तो साहित्यमा निरन्तरता र लगाव छ । साहित्यमा सबैलाई बराबरी माया गर्ने उहाँको बानी पाएको छु । साधारण रूपमा उहाँसँग मेरो सँगत पनि भयो । उहाँसँग हामी दुलियाजान सँगै गयौ । कृति आफ्नो शोखले लेख्ने व्यक्तित्वहुनुहुन्छ ।
एउटा झरनाले जसरी निरन्तर एउटा पहरालाई खोलिरहेको हुन्छ । साहित्यलाई उहाँले त्यसैगरीसधैँभरि अवलम्बन गर्नुभएको छ । साहित्य लेखन सबैको स्मुथली हुँदैन मन हर्ने किसिमको लेखन नहुनसक्छ । बिस्तारै रूपमा विकास हुनसक्छ । यदि उहाँमा पनि केही कसरमसर भए निरन्तर साधनाले गर्दा माझिन सक्छ, साहित्यमा मुलायमपन आउँछ । भोलिका दिनमा आफूले अझै परिष्कृत गर्नुहोला । आफ्नो ब्रहमले जे देख्यो त्यो लेख्ने उहाँ एउटा महत्त्वपूर्ण व्यक्तित्व हो ।
ताराप्रसाद श्रेष्ठ (भुताहा, नवलपरासी)
"यथार्थपरकलाई अंगालेर लेख्ने व्यक्तित्व"
उहाँ खास गरेर कृषि क्षेत्रमा विज्ञ हो । साहित्य पनि लेख्ने व्यक्ति । लेखनको निरन्तरता विशेष चिनारी हो । उहाँ जस्ताको तस्तै प्रकृतिले जस्तो दियो त्यस्तो जस्तो यथार्थपरकलाई अंगालेर लेख्ने व्यक्तित्वहुनुहुन्छ । त्यतिसाह्रै हाम्रैबीचमा भेटहुन नपाएको भए पनि बेलामौकामा विमोचन वा कवि गोष्ठीमा भेट भएको छ । उहाँ एकदम मिलनसार हुनुहुन्छ । उहँको लेखन सरल छ । व्यवहार पनि सरल छ । उहाँलाई म असल र सफल साहित्यकार भन्न रुचाउँछु ।
दीपक सोती (कावासोती, नवलपुर)
"सदानन्दले दिनुपर्ने के दिएनन्सबै दिए ।"
सदानन्द अभागी आफूलाई "अभागी" भने पनि यो नवलपरासीको भाग्यमानी अनुहार हो । पहिले 'अभागी' नलेखुन् सदानन्दले दिनुपर्ने के दिएनन सबै दिए । नेपाली साहित्यका क्षेत्रमा कविता, काव्य, गीत, गजल, उपन्यास, समालोचना, आलोचना सबै विधामा सेवा पु¥याए । खुब लेखेर ग्रन्थहरूका पाहाड उभ्याए । आफूले समाज राष्ट्रलाई साहित्यिक क्षेत्रबाट जति दिए तर राज्यबाट पाए वा पाएनन् त्यो मलाई थाहा छैन । सदानन्द जैसीलाई राज्यले सम्मान गर्नुपर्छ भन्ने मेरो धारणाछ । मैले सदानन्द अभागीका बारेमा स्वतःस्फूर्त भएका भावनाहरू जनमत मासिकमा जस्ताको तस्तै लेखेको छु । मैले उनीसँग यति मात्र भन्न बाँकी छ उमेरका हिसाबले म भन्दा तपाईँ दुई वर्ष जेठो हुनुहुन्छ तर लेखनको हिसाबले मभन्दा पाँचगुणा जेठा मानिनुहुन्छ । मैले उहाँलाई भन्छु 'पूर्वीय साहित्य दर्शन राम्रोसँग बुझेर पढेर देशको माटो चुम्न पछि नपर्नुहोस््' । अहिलेको स्वार्थी राजनीति लोकतन्त्रको लिकभन्दा बाहिर हिँड्दैछ । राजनीति र साहित्य एक अर्काका पूरक भएकाले राजनीतिलाई साहित्यकारहरूले घोडा बनाई चढ्नसक्ने आँट तपाईँभित्र छ, भने यहाँका अन्याय, अत्याचार, हिंसा, बलत्कार विरूद्ध लेखी स्वच्छ समाजको परिकल्पना गर्न सकियो भने तपाईँको प्रयासले शोषित पीडित नेपाली जनतालाई उत्साह, उमङ्ग थपिदिनेछ । राष्ट्र र जनताका बारेमा खुबै लेख्ने गर्नुहोस्् र पाठकहरूका सदा प्रिय पात्र बन्नुहोस्् । धेरै भन्ने कुराको ग्रन्थ नलेखी सुख पाइने छैन । सफलताको शुभकामना ।
डा.देवी पन्थी (विराटनगर)
"मैले उहाँलाई बढी समीक्षकको रूपमा चिनेको छु"
सदानन्द अभागीलाई म राम्ररी चिन्दछु । उहाँ नेपाली साहित्यिमा जस्तो परिस्थितिमा पनि निरन्तरता दिने व्यक्ति हुनुहुन्छ । निरन्तर साधक साहित्यमा पाउनु भनेको निकै ठूलो कुरा हो । साहित्यमा जहाँजहाँ निम्तो पाउनुहुन्छ त्यहाँ उपस्थित भएर आफ्ना रचना प्रस्तुत गर्नुहुन्छ । नेपाली साहित्यमा निरन्तर कलम चलाउने स्रष्टाहरूसँग सम्पर्कमा रहिरहन चाहनुहुन्छ र रहिरहनुहुन्छ । जहाँ गए पनि सम्पर्कमा मीठो र ताजापन राख्नुहुन्छ । विभिन्न प्राप्त भएसम्मका पुस्तकहरूलाई समीक्षा गरेर कहिले अनलाईनमा, कहिले फेसबुक पेजमा वा पत्रपत्रिकामा प्रकाशित गर्नुहुन्छ । प्रकाशित गरेको खबर पनि दिनुहुन्छ । योचाहिँ उहाँको राम्रो विशेषता हो ।
मैले उहाँलाई बढी समीक्षकको रूपमा चिनेको छु । उहाँले खासगरीविभिन्न पुस्तकहरूमाथि गरेको समीक्षाहरू "पूर्वाञ्चल दर्पण"मा छापेको छु । त्यहाँपछि उहाँ कविता पनि लेख्नुहुन्छ । गजल लेखेको पनि पाएको छु । गजल त लेख्नुहुन्छ तर बहरको प्रयोग गर्नुहुन्न ।बहरको प्रयोग नगरिएको गजललाई म गजल भन्दिनँ । यस्ता कामलाई चारु राग विराग भन्ने गरेको छु । चारु राग विरागको लेखनमा पनि उहाँको निरन्तरता छ ।उहाँको भाषा उत्तम त होइन मध्यमदेखि मास्तिर हो ।उत्कृष्ट होइन । उहाँको मुक्तक नियालेको छैन । नेपालमा मुक्तक कसैले पनि लेख्दैनन् ।
नेपालमा काव्यलाई लेख्दा छन्दलाई पक्रेर लेखेका छन् । कसैले त्यही कुरालाई सिद्धान्त भनेका छन् । छन्दको प्रयोगमात्र काव्य लेखन होइन । धेरै जसोको भनाइ के छ भने मैले छन्दमा लेखे त्यो कविता भयो÷काव्य भयो भन्छन् । त्यस्तै सदानन्दले पनि काव्य विधामा पनि प्रयास गर्नुभएको छ । त्यो काम राम्रो हो । प्रतिस्पर्धामा आउँदा उहाँ सयकडा बीसमा पर्नुहुन्छ । उहाँलाई समीक्षक नै भन्नउचित हुन्छ । समीक्षामा उहाँको कलम राम्रो छ । समीक्षाबाट समालोचक बन्ने हो । समालोचक बन्न पूर्वीय र पाश्चात्य समालोचन दर्शन पनि चाहिन्छ । त्यो दर्शनमा जानु भयो भने उहाँ राम्रो समालोचक पनि बन्नुहुन्छ आउने दिनमा । म उहाँको अत्यन्त परिचित र नजिकको मित्र हो तापनि मैले उहाँप्रति नचाहिने र फुक्र्याएर भन्दिनँ। राम्ररी,तौलेर सही कुरा बोलेको छु ।
देवीप्रसाद उपाध्याय रेग्मी 'वनवासी' ((वालिङ, राङ्खेरडाडा)
"उहाँको लेखनशैली र प्रवृत्तिबाट म अत्यन्तै प्रभावित छु ।"
उहाँ त एकदम सक्रिय व्यक्ति हो । कृषिमा प्राविधिक पनि भई कर्म गर्नुभएको व्यक्तित्वहुनुहुन्छ । उहाँले मेरो एक व्यङ्ग्यपरक कृतिमा समीक्षकीय आलेख पनि तयार गर्नुभएको छ । उहाँ एकदमै सहयोगी हुन्छ । कृति पाएपछि पढिहाल्ने र पढेपछि केही लेखिहाल्ने उहाँको प्रवृत्ति छ । उहाँको लेखनशैली र प्रवृत्तिबाट म अत्यन्तै प्रभावित छु । पहिलोपटक वर्दघाटमा हिमलाल ज्ञवालीको घरमा भेटघाट भएको हो उहाँको र मेरो । त्यसपछि मैले जानेदेखिसक्रिय व्यक्तिकै रूपमा पाएको छु । नरेन्द्रराज प्रसाईद्वारा सञ्चालित राष्ट्रिय स्तरको पुरस्कार दिने साहित्यिक संस्थालगायत थुप्रै ठाँउबाट पुरस्कृत हुनुले उहाँ सम्मान गर्न योग्य व्यक्ति हो भन्ने लाग्दछ । मैले उहाँलाई अत्यन्त सहयोगी ठान्दछु । उहाँ सैद्धान्तिक कुराभन्दा व्यावहारिक रचनासहित मीठो शैलीमा अभिव्यक्ति दिनुहुन्छ । मैले उहाँका फुटकर लेखहरू पढेको छु ।
देवेन्द्र लम्साल (चिन्नेवास, स्याङ्जा)
"समीक्षकीय दृष्टि लगाउँदा यथार्थपरकता अपनाउनुहुन्छ"
मैले उहाँका 'ज्याग्दीखोलाको तरङ्ग'मा प्रकाशित भएका लेखहरू पढेको छु । उहाँले खासगरी समीक्षकीय दृष्टि लगाउँदा यथार्थपरकता अपनाउनुहुन्छ । आलोचनात्मकभन्दा प्रशंसापरक वा प्रभावबाद अँगालेर लेखेको भेटिन्छ । सर्जकको कमीकमजोरी औल्याई सटिक वा छोटाछरितो तरिकाले उहाँका कृतिहरू बजारमा भेट्न सकिन्नन् । कृतिहरू धेरै पाठकका माझमा नपुगेका हुन् कि । तसर्थ कृति सार्वजनिक गर्दा यो पक्ष पनि ध्यान दिए राम्रो हुन्थ्यो कि ?
डा. धनपति कोइराला (नवलपुर)
"साहित्यमा मरिमेटेर लाग्ने मान्छे हो सदानन्द"
साहित्यमा मरिमेटेर लाग्ने मान्छे हो सदानन्द अभागी । खास विषयगत क्षेत्र उहाँको कृषि नै हो । माटो विज्ञ भनेर चिनिनुहुन्छ उहाँ । साहित्यमा उहाँको प्रस्थान यात्रा साठीको दशकदेिख हो । उहाँ साहित्य लेखनमा अत्यन्तै रहर गर्ने व्यक्ति हो । रहरकै लहडमा यस यात्रामा हुनुहुन्छ । उहाँको मिहिनेतअनुसार उहाँले अझै साहित्यको सैद्धान्तिक ज्ञानमा अझै गहिरिए राम्रो हुन्थ्यो होला तर आफ्नो क्षमता जेजति छ जस्तो छ त्यसैअनुसार लेख्ने मान्छे हो । साहित्यिक गहिराइका लागि थप मिहिनेत गर्दा राम्रो होला । हुन त यो कुरा पाठकअनुसार पनि भर पर्छ । मैले भनेकैअनुसारका सीमा पनि उहाँमा नहुन सक्ला तर उहाँका कृतिमा दार्शनिक गहिराइ अलि कम भएको हो कि ?चाहे कथा होस््, उपन्यास होस््, चाहे निबन्ध, नाटक, कविता, वा अन्य कुनैपनि सन्दर्भका कृति नै किन नहून् उहाँले समीक्षा गर्नुहुन्छ । समीक्षामा उहाँले क्यै न क्यै गरिराखेको अवस्था छ । कृतिभित्र खोजिने साहित्यिक मूल्य कलात्मक पक्ष हो ।भाव उत्कृष्टता पनि कृतिमा ख्याल गरिने कुरा हो । त्यसका लागि उहाँले अझै मिहिनेत गर्दा राम्रो हुन्छ । उहाँका सृजना राम्रा पनि आएका होलान् । सबैमा मेरो नजर नपुगेको हुनसक्छ । समग्रमा उहाँको रचनाहरू मध्यम कोटीकै छन् कि झैँ लाग्छ । साहित्यिक मूल्यमान्यता र समालोचकीय धर्म निर्वाह गरेर भन्नुपर्दा उहाँ मध्यम कोटीको स्रष्टा द्रष्टा हो ।
सामाजिक हिसाबले उहाँका पाटाहरू पनि छन् । राजनितिक हिसाबले उहाँ त्यति खरो रूपमा देखिनुहुन्न । कृषिसँगै सम्बन्धित रहेर उहाँ बढी घुलमिल हुने, लेख्ने र सम्पादन गर्ने गर्नुहुन्छ । सामाजिक समस्याहरू हल गर्न पनि धेरथोर रूपमा लाग्नु नै हुन्छ । राजनीतिक हिसाबमा उहाँ प्रजातान्त्रिक धारको भए पनि अरू धारप्रति त्यति कठोर र अनुदार हुनुहुन्न । सबैप्रति सहिष्णु, सरल हुनुहुन्छ । कुनैपनि व्यक्तिलाई राजनीतिक पाटोबाट हेर्नुहुन्न। प्रजातान्त्रिक मूल्य र मान्यतामा हेर्दाखेरि उहाँको जुन व्यवहार छ त्योचाहि प्रजातन्त्र र लोकतन्त्रले अँगालेका मूल्यमान्यताहरूसँग धेरै जसो मेल खान्छन् । चाहे दक्षिणपन्थी, बामपन्थी वा राजतन्त्र हिमायती नै किन नहुन् जोसुकै साथी नै किन नहुन् उनीहरूप्रति उहाँले कहिल्यै पनि व्यङ्ग्य गर्नुहुन्न । कटु वाणी बोल्ने वा वार्तालाप नै नगर्ने जस्ता व्यबहार शैली कहिल्यै देखाउनुहुन्न । विचार आफ्नो हो, सोच आफ्नो हो, प्रजातान्त्रिक मूल्यमान्यतामा जो जहाँ छ, त्यसलाई कदर गर्नुपर्छ, सम्मान गर्नुपर्छ भन्ने उहाँको धारणा छ । कतिपयको अथवा वामपन्थीहरूको वामपन्थमा भए चाट्ने, अझ त्यसभित्र पनि आफ्नै भए झनै जिब्रो झिकीझिकीकन चाट्ने, अनि अरू इतरलाई नजिक पर्न नदिने पुरै डाम्नै खोज्ने शैली हुन्छ । उहाँले आस्था राख्ने पार्टीभित्र पनि त्यस्ताखाले मान्छे हुन्छन् तर उहाँमा त्यस्ता स्वभावचाहिँ छैन । जेहोस् उहाँ लोकतान्त्रिक मूल्यमान्यतालाईआत्मसात् गर्न स्वस्थ चिन्तन राखेको एउटा असल व्यक्तित्वहुनुहुन्छ ।
प्रा.डा. नारायणप्रसाद खनाल (चितवन)
"सामाजिक रूपमा भन्ने हो भने भुटानी शरणार्थीको बारेमा किताब नै लेख्नुभएको छ "
सदानन्दजी वरिष्ठ कृषि प्राविधिक भएर पनि साहित्यतिर, समाजतिर लाग्नुभएको एउटा विशिष्ट व्यक्तित्वहुनुहुन्छ । अत्यन्तै सादा जीवन र उच्च विचार राख्ने व्यक्ति हो उहाँ । उहाँले सानासाना साहित्यिक गजल, मुक्तकदेखि बृहतरूपसम्मका महाकाव्यिक कृति लेख्ने सामथ्र्य देखाउनुभएको छ । उपन्यास र महाकाव्य लेख्नु पनि ठुलै कुरा हो । त्यो एकखाले विशेषता हो । साहित्य क्षेत्रमा गद्य, पद्यका साथै अहिले समालोचानामा केन्द्रित हुनुभएको छ । समालोचनाका ग्रन्थहरू धमाधम छपाइरहनु भएको छ । साहित्यप्रतिको लगाव अत्यन्त गहिरो छ । प्रविधि साहित्य पनि थुप्रैथुप्रै लेख्नुभएको छ परिचयमूलक रूपमा । धेरै किसानहरूलाई फाइदा हुने किसिमले जानकारी गराई कृषिका विषयवस्तु लेख्नुभएको छ । माटो विशेषज्ञ हो उहाँ । रूखविरूवाहरूले पनि प्राण धारण गर्दछन् भन्नेलगायतका धेरै महत्त्वपूर्ण सूचना जानकारी दिएर कृषकलाई लाभान्वित बनाउनुभएको छ । सामाजिक रूपमा भन्ने हो भने भुटानी शरणार्थीको बारेमा किताब नै लेख्नुभएको छ । त्यहाँ गएर विभिन्न किसिमको जानकारी लिएर विस्थापित भएका आश्रित भएका बाहिर जानुपर्दाका पीडा खेपेकाहरूको बडो राम्रो चित्रण गर्नुभएको छ । सम्बन्धितव्यक्तिहरूसँग अन्तरवार्ता लिएर वा अनेक उपायबाट विषयका जानकारी पस्कनुभएको छ । शोधखोजमा पनि त्यत्तिकै महत्त्वपूर्ण व्यक्तित्व हो । चाहे उपन्यास, चाहे महाकाव्य होस्सामाजिक विषयवस्तुलाई टप्प टिपेर राख्नुभएको छ । लगाव उहाँको उल्लेखनीय छ । लक्ष्मीस्मृति साहित्य समाजको नेतृत्वकर्ता भई हरेक वर्ष स्रष्टाहरूलाई सम्मान गर्नुहुन्छ । पत्रपत्रिकामा लेख, रचना प्रकाशन गर्नमा उहाँको निरन्तरता छ । अभागीजी भाग्यशाली व्यक्तित्व हो तर संयोगले उहाँ अभागी उपनाम राख्नुभएको छ । समाजलाई बढो गम्भीर तरिकाले अध्ययन गर्नुहुन्छ । रेडियो टेलिभिजनमा आफ्ना ज्ञानहरू प्रसारण गर्न सक्रियहुनुहुन्छ । उहाँको योगदान अमूल्य र महत्त्वपूर्ण छ ।
नारायण मरासिनी (स्याङजा)
"लेख्ने मान्छेलाई हौसला दिने, सिर्जना गर्न प्रेरित गर्ने"
सदानन्द अभागीका पुस्तकीय कृति पढ्न नपाएपनि पत्रपत्रिकामा प्रकाशित लेखरचना पढ्ने मौका पाएको छु । उहाँको लेखनमा निरन्तरता छ । कुनै कृति भेटिहाले त्यसका बारे लेखिहाल्ने उहाँको प्रवृत्ति छ । त्यो प्रवृत्ति राम्रो हो । परिष्कार र परिमार्जनसहित छोटोमीठो भन्न लेख्न नसकेपनि नयाँ प्रतिभालाई प्रोत्साहन दिने उनीहरूलाई जागरूक बनाउने उनीहरूको प्रचारप्रसार गरिदिने काममा उहाँ निकै सक्रियहुनुहुन्छ । उहाँको विशेषता लेख्ने मान्छेलाई हौसला दिने, सिर्जना गर्न प्रेरित गर्नेतर्फ देखिन्छ । समीक्षा पाटोमा प्रभावपरकतालाई नै अँगाल्नुहुन्छ । कमीकमजोरी केलाउन र सैद्धान्तिक पाटोमा केही ख्याल गर्नुपर्छ कि जस्तो मलाई लाग्छ ।
नीलकण्ठ न्यौपाने (महाकाव्यकार,पाल्पा)
चतुर समीक्षक, कृति विश्लेषक गहन अध्यता, चतुर समीक्षक विद्वत व्यक्तित्व,
स्वधक, श्रमपारखी, प्रतिभाशाली स्रष्टाका रूपमा उहाँलाई चिन्ने मौका पाएँ
प्रतिष्ठित समीक्षक श्री सदानन्द अभागी (नवलपरासी पूर्व)सँग मेरो भौतिक साक्षात्कार हुन सकेको छैन । नेपाली साहित्यका समग्र विधामा कलम चलाउने खास गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका वेभसाइटमापत्रिका सञ्चालन गर्ने दक्ष पत्रकार, सक्षम कृतिविश्लेषक, गहन अध्येता,चतुर समीक्षक, विद्वत व्यक्तित्व,अथक साधक, श्रमपारखी, प्रतिभाशाली स्रष्टाका रूपमा उहाँलाई चिन्ने मौका पाएँ । साथमा दूर श्रवण यन्त्र फोनमार्फत् वार्तामा लघुसंवाद गर्ने मौका पनि मिल्यो ।उहाँको जिज्ञासु प्रतिभाको सम्मान गर्दछु । उदारमना, प्रतिभाशाली पत्रकार, लेखक, पाल्पाली साहित्यकार श्री राम ज्ञवालीका माध्यमबाट कृतिगत परिचय पाउने अवसर मिल्यो । मेरो महाकाव्यिक कृति 'श्रमसाधना'को 'श्रमसाधनामा केही श्रम लगानी गर्दा' शीर्षक दिएर उहाँले महाकाव्यभित्र श्रमसाधना गर्नुभएको छ । पाठकसामु साङ्गोपाङ्गो विषयवस्तु पस्कनु भएको छ ।निकै प्रौढ र वौद्धिक शैलीमा महाकाव्यको विषयगत चिरफार गरेर आफ्नो विशिष्ट प्रतिभाको परिचय दिनुभएको छ । उहाँ जस्ता साधकको म सुस्वास्थ,आरोग्यता, दीर्घ जीवन र उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दछु ।
पुष्प अधिकारी 'अञ्जलि' (चितवन)
"जसलाई पनि माया गर्ने, सबैप्रति समदृष्टि राख्ने मान्छे"
सदानन्द अभागी भनेको निश्छल मान्छे हो । कोही कसैप्रति कुनै केही नभएको एकदमै सफा स्निग्ध मान्छे हो । दोस्रो कुरा करिब७० (साहित्य र कृषि गरी) वटा किताबहरू प्रकाशन गरेको मान्छे । साहित्य, गैरसाहित्य, कृषिलगायतका अनुसन्धानका समेत किताब निकाल्नु भएको छ । तेस्रो कुरा उहाँचाहिँ साहित्यिक संघसंस्था भनेपछि असाध्यै मरिहत्ते गर्ने, मरिमेट्ने मान्छे । जसलाई पनि माया गर्ने, सबैप्रति समदृष्टि राख्ने मान्छे । मेरो किताबको बारेमा केही लेख्दिनुस् न भने पनि पाएको किताबको पुरै अध्ययन गरेर समीक्षा गर्ने मान्छे । उहाँको अरू सर्कुलर भनेको आफू नेतृत्वको लक्ष्मी स्मृति साहित्य प्रतिष्ठानमा स्रष्टालाई बोलाएर सम्मान गर्ने एकदमै राम्रो अभियानमा जुटिरहेको लगनशील, सिर्जनशील मान्छे हुनुहुन्छ । गजल, कविता, मुक्तक, समालोचना आदि विधामा लेख्ने सिर्जना गर्ने निष्कलङ्कित व्यक्तित्व हो । कसैप्रति भेदभाव र गुनासो नगर्ने मान्छे हो उहाँ । कृषि अनुसन्धानको विज्ञ मान्छे भएकाले समाजमा सहकारीमा कसैलाई समस्या प¥यो भने उहाँ गएर त्यो कुराको हल गरिदिनुहुन्छ । आफ्नो गाउँ टोलमा सहयोग गरिदिने सहयोगी÷सेवक हुनहुन्छ । सबैकुराबाट उहाँ राम्रो मान्छे हुनुहुन्छ ।
पूर्णप्रसाद अधिकारी (चितवन)
"उहाँको शैली व्यास छ । गहिराइमा जानुहुन्छ"
कृषिको मान्छे विशेषज्ञ भएर पनि सचेत र जागरूक भई लाग्नु प्लस प्वाइन्ट नै हो । उहाँको शैली व्यास छ । गहिराइमा जानुहुन्छ । मध्यमस्तरको समालोचकीय कर्म छ । कला मूल्य उहाँको मध्यम स्तरकै छन् । उहाँ साहित्यको विज्ञ होइन तर असम्बन्धित क्षेत्रबाट आई यस्ता कर्म गर्नु विशेष कुरा हो । साहित्यमा रुचि राख्ने, लेखनमा निरन्तरता दिने उहाँको दैनिकी नै छ । म उहाँको बढी समीक्षा नै पढेको छु । समर्पित व्यक्तित्व हो । ठाँउठाँउबाट सम्मानित पनि हुनुहुन्छ । उहाँ आभ्यासिक लेखक हो । सिक्दै हुनुहुन्छ अहिले पनि । उहाँप्रति राम्रो सद्भाव भएको पाइन्छ । लेखन बाहेकका क्षेत्रका अवगुणहरू मैले उहाँको सुनेकै छैन । मेरो कृतिको समीक्षा पनि लेख्नु भएको छ । समग्रमा उहाँ आदरयोग्य व्यक्तित्व हो । उहाँ शालीन र सज्जन हुनुहुन्छ । वोलीवचन राम्रो छ ।
बिर्खे अञ्जान (मकवानपुर)
"विशेषतः उहाँको आफ्नै किसिमको शैली स्वरूप छ"
मेरो उहाँ हार्दिक साथी हो । मुलतः पेशागत रूपमा माटो विशेषज्ञ भएर पनि उहाँका कलम साहित्यमा चल्नु निकै महत्त्वपूर्ण कुरा हो । विशेषतः उहाँको आफ्नै किसिमको शैलीस्वरूप छ । छन्दका सन्दर्भमा प्रश्न उठाउँदा म सदानन्द अभागी छन्दमा लेख्छु भन्नुहुन्छ । काव्य पनि अभागी छन्दमा लेख्छु भनेर प्रतिक्रिया दिनुहुन्छ । लेखनमा उहाँ स्वच्छन्दतावादी शैलीको हो कि जस्तो मलाई लाग्छ । पछिल्लो समय उहाँको कलम समालोचना क्षेत्रमा अलि चलेको महसुस हुन्छ । सैद्धान्तिक समालोचना भन्दा आफ्नै किसिमको पारामा कलम चल्छ उहाँको यो पाटोमा । किताबलाई हेरेपछि त्यो किताबबाट पाठकले के किसिमको महसुस गर्छ त्यसलाईसरसर्ति उतार्ने एउटा विशेषता हो जस्तो मलाई लाग्छ । मैले उहाँका सबै विधाहरू पढेको छु । तर म उहाँको समालोचना लेखनमा बढी प्रभावित छु । मोफसलमा बसेर मोफसलभित्रका साथीहरूलाई अलि माथि उठाउन पर्छ† उहाँहरूको व्यक्तित्व र कृतित्वलाई प्रकाश पारेर आम साहित्यिक जगत्मा ल्याउनुपर्छ भन्ने सोच र व्यवहार देखिन्छ । उहाँ विभिन्न विधामा लेखनमा सैद्धान्तिक स्वरूप शैलीभन्दा पनि सामान्य आम पाठकले के धारणँ बुझेका छन् ? त्यो धारणालाई र केही सैद्धान्तिक शैली पाठक समक्ष ल्याउनुहुन्छ जस्तो देख्छु । व्यवहारमा घमण्ड स्वभाव छैन । मिलनसार, जिज्ञासु स्वभाव छ । अनुजहरूलाई पनि सँगै लैजान र प्रोत्साहन गर्नुपर्छ भन्ने व्यवहारचाहिँउहाँको देखिन्छ । म उहाँसँग धेरै कार्यक्रममा हिडेको भेटेको छु । हार्दिक स्वभाव र व्यवहार देखाउने आफूलाई सिकारु ठान्ने, सिक्न चाहनेलाई ज्ञान बताइदिने, कृति पाएपछि लेखिदिएर प्रचारप्रसार ल्याइदिने उहाँका असल गुणहरू हुन् ।
बुँद राना (पूर्वप्राज्ञ)
"उहाँको सक्रियता लोभलाग्दो छ"
सदानन्दजी साहित्यमा रुचि लगाव भएको व्यक्ति हो । विषयवस्तु जुनसुकै पनि टिप्नुहुन्छ । प्रभावसँग मतलब नराखी स्वतन्त्र र स्वच्छन्द पाराले लेख्नुहुन्छ । कृतिहरू त्यति धेरै लेख्नु र छाप्न सक्नु त्यति चानचुने कुरो पनि होइन । लक्ष्मीस्मृति साहित्य समाजमा मलाई निम्तो दिएर प्रमुख आतिथ्यताको भूमिका पनि दिनुभएको थियो । कुनैबेला बोलीचाली र सम्बन्धमा हार्दिकपन पाइन्छ उहाँको । क्रियाशील भएर पनि कुनै धार समातेर लेख्नुहुन्न उहाँ । जे होस् साहित्यमा समय दिने, लागिराख्ने, पसिना बगाउनेव्यक्तित्वका रूपमा म उहाँलाई चिन्दछु । साहित्यलाई निकै माया गर्ने अनुकरणीय मान्छे हो । उहाँले वर्तमान पुस्तालाई पनि गाइडलाइन गर्ने कृति लेख्नतिर लागे अझ राम्रो हुने थियो । माटो विज्ञ भएर पनि साहित्यसेवाका साथै सामाजिक काममा पनि सक्रिय नै हुनुहुन्छ । उहाँकोसक्रियता लोभलाग्दो छ । वयोवृद्ध भएर पनि अथक रूपले लागिरहनु भएको छ । उहाँको कर्म अनुकरण र अनुशरण गर्ने खालको छ । जति गर्नुभएको छ त्यो ठीकै छ । अब उहाँले आउदो पुस्तालाई मार्गनिर्देश गर्ने खालका कृति लेख्नुभएमा अत्युत्तम हुने थियो ।
भगवती अर्याल पाण्डे (चितवन)
"अरूलाई चिनाउनु उहाँको धर्म हो"
उहाँ उपनाम अभागी तर साहित्य क्षेत्रका भाग्यमानी व्यक्तित्वहुनुहुन्छ । उहाँले संख्यात्मक रूपमा धेरै लेख्नुभएको र साहित्यका सबैजसो विधामा कलम चलाउनुभएको छ । विवरणात्मक लेखनमा उहाँ बढी अभिप्रेरित हुनुहुन्छ । तथ्यात्मक कुरामा पनि उहाँको पनि जोड रहन्छ । उहाँको महत्त्वपूर्ण विशेषता भनेको उहाँको हातमा जुन किताब प¥यो, त्यो पर्नासाथ उहाँले दुईचार कुरा लेखिहाल्नुहुन्छ । उमेरको हिसाबले बृद्धावस्था भइसकेको भए पनि साहित्यिक कार्यक्रमहरूमा सजिलै पुग्नुहुन्छ, प्रस्तुत हुनुहुन्छ । सबैप्रति सदाशयता देखाउनुहुन्छ । मिलनसारिता उहाँको विशेषता नै हो । अनि निरन्तर लेखिरहनसक्नु अर्को परिचय हो उहाँको ।
फुटकर रचनादेखि महाकाव्यसम्म लेख्न पछाडि पर्नुभएको छैन । पौराणिक विषयवस्तुलाई लिएर महाकाव्य लेख्नुभएको छ । महाकाव्य लेख्दा पूर्वीय मान्यतालाई पछ्याएर लेख्ने प्रयास गर्नुभएको छ कवित्वशक्ति त अलि कमजोर नै छ । भाषा वाक्य गठन र कवित्व शक्तिका हिसाबले अलिकति लेखन सिथिल नै छ । तर पनि उहाँ जस्तो ठाउँमा पनि बिजुलीको प्रकाश जस्तो नभए पनि ढेव्रीको प्रकाश जस्तो मुस्लो भए पनि फालेर उज्यालो दिने कामचाहिँगर्नुभएको छ । उहाँको खुबी भएकाले नै निरन्तरता दिएर लेख्नुभएको हो । एउटा कृति कसैको भेट्टायो कि लेख्दिइहाल्ने स्वभाव जसतसमा कहाँ भेटिन्छ र? उहाँ आफ्नो प्रशंसा गर्न रूचाउनुहुन्न तर अरूको प्रशंसा गर्न पछि पर्नुहुन्न । अरूलाई चिनाउनु उहाँको धर्म हो । उहाँको प्रशंसनीय स्वभाव छ ।
भूपेन्द्र गण्डर्षि (नवलपुर,कावासोती)
"उहाँमा सैद्धान्तिक कलाभन्दा आफ्नै खाले कला पाइन्छ ।"
२०२०÷२१ सालदेखि उहाँका रचनाहरू प्रकाशित छन् । कविता, समालोचना, काव्य, आख्यान आदि उहाँका लेखन हुन् । समीक्षा प्रभाववादी लेख्नुहुन्छ । विश्लेषण भन्दा पनि कृति पढ्दा उहाँलाई कस्तो छाप प¥यो त्यसको विवेचना गर्नुहुन्छ । सिर्जना उहाँको आफ्नै किसिमको छ । उहाँ महाकाव्यकार नै हुनुभएको छ । उहाँका कवितात्मक रचनामा खास गरेर माटो विशेषज्ञ भएकाले माटो उर्वर कसरी हुन्छ, भन्ने विषयमा बढी केन्द्रित हुन्छन् । उहाँको कृषि काव्य मलाई अति मन पर्छ । फुटकर कविता र कवितासङ्ग्रह पनि राम्रै छन् । समसामयिकता वा मनले जे देख्यो त्यो लेख्नुहुन्छ उहाँ । विचार, भाव र कलात्मकता हुनुपर्छ रचनामा । तर उहाँमा सैद्धान्तिक कला भन्दा आफ्नै खाले कला पाइन्छ । उहाँ माटोसम्बन्धी कविता लेख्ने नेपालको पहिलो कवि हो । उहाँको लेखनको विशेषता भनेको नेपालको जल र जमिनलाई उर्वर बनाउनु पर्दछ, उर्वर यसरी बनाउनुपर्दछ, उर्वर यस मानेमा हुन्छ, भन्ने विषयमा लेख्नु र जानकारी दिनु हो । महाकाव्यकार भएका नाताले उहाँ ठूलो साहित्यकार हो । वयोवृद्ध कवि पनि हो । त्यसअर्थमा उहाँलाई सम्मान गरिन्छ । हामीले सम्मानित स्रष्टा नै मानेका छौँ । यो उमेरमा पनि लेख्दै हुनुहुन्छ । जवान अभिव्यक्ति दिनुहुन्छ । सैद्धान्तिक स्रष्टा भने मैले उहाँलाई मान्दिन । उहाँको रचना उत्तर आधुनिकताको प्रभाव भन्दा प्रारम्भिक चरणका अनुभव र अनुभूतिहरूलाई आफ्नो किसिमले प्रकट गर्नुहुन्छ । उहाँप्रति मेरो बुझाइ यिनै हुन् ।
भेषराज रिजाल (नेपालगञ्ज)
"सक्रियता र निरन्तरताको अर्को नाम ः सदानन्द अभागी"
वरिष्ठ साहित्यकार सदानन्द अभागीको जन्म वि.सं २००३ साल साउन १ गते पर्वत जिल्लाको साविक शंकरपोखरी गाउँ विकास समिति, वडा नं.१, हाल गण्डकी प्रदेश, फलेवास नगरपालिका, वडा नं.३, नुवारमा भएको हो। माता नन्दकली रिजाल र पिता कलाधर रिजालको जेष्ठ सुपुत्रको रूपमा जन्मिनुभएका सदानन्दले ३४ वर्ष सरकारी सेवामा रही हाल नवलपुर जिल्लाको कावासोती नगरपालिका, शान्तिचोकमा सेवानिवृत्त जीवन बिताइरहनुभएको छ । बि.एस्सी. (ए.जी.) शैक्षिक उपाधि हासिल गरेका उहाँ माटोविज्ञका रूपमा सरकारी सेवामा कार्यरत रही सेवाबाट अवकास हुनुभएको हो। इञ्जिनियर बन्ने चाहना पूरा नहुने देखेर आफूलाई 'अभागी' साहित्यिक उपनाम लेख्न थाल्नुभएका उहाँ साहित्यिक लेखनमा 'सदानन्द अभागी'का नामबाट र कृषि विज्ञानसम्बन्धी लेखरचनालगायत अन्य क्षेत्रमा 'सदानन्द जैसी'का नामबाट परिचित हुनुहुन्छ । यसरी कृषि वैज्ञानिक र मुलुकको माया मान्ने माटोप्रेमी साहित्यकार गरी मुख्यतः दुईथरी चिनारी रहेका छन् सदानन्दज्यूका।
भारतको आसाममा रहँदा वि.सं. २०२०÷०२१ सालतिर विद्यालयगुरु हरिभक्त कटुवालको प्रेरणाले वनारसबाट प्रकाशित हुने पत्रिकामा 'आमा' कविता प्रकाशन गरी साहित्यिक फाँटमा उदाएका उहाँका कविता, महाकाव्य, कथा, उपन्यास, नियात्रा, गजल, मुक्तक, समालोचना आदि नेपाली साहित्यका विविध विधाका कृति प्रकाशित भएका छन् । उहाँले नाटकबाहेकका कवितादेखि काव्यसम्मका प्रायः सबै विधामा कलम चलाउनुभएको छ । उहाँका गजल, मुक्तक र समीक्षात्मक फुटकर लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइरहेको पाइन्छ । त्यसैगरी उहाँका माटोलगायत कृषिसम्बन्धी थुप्रै वैज्ञानिक कृतिहरू पनि प्रकाशित भएका छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटालाई प्रिय साहित्यकारको रूपमा लिने अभागीज्यू लक्ष्मी स्मृति साहित्य समाजको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ। माटो, समाज र साहित्यलाई जीवनको मूल आधार बनाउनुभएको उहाँ विभिन्न साहित्यिक संस्थामा आजीवन सदस्य हुनुहुन्छ । गोर्खा दक्षिणबाहु चौथाका साथै विभिन्न साहित्यिक सम्मान र पुस्कारबाट समेत पुरस्कृत हुनुभएको छ उहाँ ।
उहाँ र मेरो जन्मस्थान करिब एकघण्टाको दुरीमा भए पनि उहाँलाई मैले पहिलोपटक कृषि विकास कार्यालय, पर्वतमा कार्यालय प्रमुखको रूपमा देखेको हुँ। शैक्षिक योग्यताका प्रतिलिपिहरू प्रमाणित गर्ने प्रयोजनका लागि अधिकृतस्तरका कर्मचारी खोज्ने क्रममा उहाँसँग भेट भएको हो । त्यतिबेला शैक्षिक योग्यताको प्रतिलिपि प्रमाणित गर्ने अधिकृत भेट्टाउन गाह्रो हुन्थ्यो । त्यस समयमा उहाँले भने सजिलै प्रतिलिपिहरू प्रमाणित गरिदिनुभएको थियो । कार्यालयको नेमप्लेटमा कार्यालय प्रमुखको रूपमा उहाँको नाम सदानन्द जैसी लेखिएको थियो। उहाँ मैले पढेको माध्यमिक विद्यालयका आदरणीय गुरु प्रेमप्रसाद रिजाल सरका सहोदर दाजु एवम् नाताले मेरा हजुरबा पर्नुहुन्छ भन्ने कुरा भने धेरैपछि बुवाबाट थाहा पाएको हुँ । म लोक सेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरीमा कार्यरत हुँदा उहाँसँग फेरि भेट भयो । उहाँ काम विशेषले काठमाडौँं आएको बेलामा एवम्जागीरबाट समय मिलाएर मैले बुवाआमालाई भेट्न मधेशतिर झरेको बेलामा उहाँसँग भेट हुन्थ्यो । मैले साहित्यिक कृतिहरू प्रकाशनपूर्व उहाँसँग सुझाव सल्लाह लिने गरेको छु । उहाँका विभिन्न साहित्यिक कृति पढ्नुका साथै 'जीवन लीला' (खण्डकाव्य) र 'तन्नेरी हजूरबा' (उपन्यास) को समीक्षात्मक लेखसमेत लेखेको छु । उक्त समीक्षा साहित्य सङ्ग्रहालय अनलाईन साहित्यिक पत्रिकामा अध्यापि छँदैछ। उहाँका एकजना छोराको नाम मेरो नामसँग ठ्याक्कै मिल्दो रहेछ। नाताले हजुरबा पर्ने भए पनि मैले सदानन्दज्यूलाई बुवा नै भनेर सम्बोधन गर्ने गर्दछु। उहाँ मेरा लागि आदरणीय, हितैषी एवम् मार्गदर्शक व्यक्तित्वहुनुहुन्छ । जानेका विषयमा समाजका हरेक व्यक्तिलाई उहाँले उचित सरसल्लाह दिनुहुने भएकाले सबैको प्रिय नै हुनुहुन्छ ।
उहाँ हरेक क्षेत्रमा असाध्यै मिहिनेती र लागिपर्ने व्यक्तित्वहुनुहुन्छ। उहाँले हरेक साहित्यिक विधामा कलम चलाउनुहुन्छ । गजल विधामा उहाँको अलि बढी शोख र दखल पाइन्छ । उहाँको लेखनमा गाउँले जनजीवनको स्पष्ट छाप पाइन्छ । सामाजिक विकृति विसङ्गतिप्रति चोटिलो प्रहार गरी मानवीय संवेदना, मूल्यमान्यता, आस्था र विश्वासलाई कलात्मकतवरले उठान गर्न सिपालु हुनुहुन्छ उहाँ। जीवन लीला खण्डकाव्यका निम्न हरफमा उहाँको जीवन दर्शन प्रतिबिम्बित हुने भाव सम्प्रेषण भएको पाइन्छ–
सूर्य प्रकाशभन्दा ठूलो दिलको प्रकाश हुन्छ
दिलको प्रकाश पुञ्ज छर्ने त्यो महान् बन्छ !
(जीवन लीला खण्डकाव्य, पृष्ठ ५२)
जन्मस्थान पर्वत जिल्ला भए तापनि धवलागिरी क्षेत्र, नवलपुर, चितवन, स्याङ्जालगायतका जिल्लामा उहाँको साहित्यिक सक्रियता बढी पाइन्छ भने मुलुकका विभिन्न भागबाट प्रकाशित हुने साहित्यिक अनलाईन पत्रिका र छापाका पत्रपत्रिकाहरूमा उहाँका लेखरचनाहरू प्रकाशित भइरहेका छन्। विशेषतः गद्यात्मक लेखरचनामा विषयवस्तुमा स्पष्टता हुनेगरी लामा–लामा लेखरचना लेख्नु उहाँको विशेषता हो। उहाँका नियात्रा, समीक्षात्मक लेखरचनाहरू प्रायशः यसप्रकारका हुन्छन । तथापि ती लेखरचनाले मिहिनपूर्वक समाज र पात्रहरूको मनोदशा विश्लेषण गर्दै पाठकलाई आकर्षित गरीरहने हुँदा एकैबसाइमा पढिसकिने खालकै हुन्छन् । उहाँको कुनै कुरामा सीमा वा कमजोरी रहेको जस्तो मलाई लाग्दैन । तसर्थ, मेरो मात्र होइन, उहाँसित सङ्गत गरेका अरू कसैको पनि उहाँसँग कुनै गुनासो रहेको होला भन्ने मलाई लाग्दैन। निरन्तर साहित्य सिर्जना गर्ने अथक सर्जक हुनुहुन्छ सदानन्द । अझ भनौँ– कृषि वैज्ञानिकको रूपमा लामो समय सरकारी सेवामा रहेर फेरि नेपाली साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील रहने स्रष्टा हुनुहुन्छ सदानन्द । जीवनका विविध आयामलाई अनेक कोणबाट चित्रण गर्दै मान्छेका मनमा सुन्दर ढङ्गबाट मानवीय मूल्यमान्यताहरू स्थापित गराउनसक्नु उहाँको कला हो । आफ्ना सिर्जनामा खराब तत्त्वलाई घृणा गर्दै सभ्य समाज र सुन्दर जीवन निर्माण गर्ने जीवनवादी दृष्टिकोण प्रस्तुत गर्न सफल हुनुभएको छ सदानन्दज्यू । समाजलाई कर्तव्यबोध, अनुशासन, नैतिकता, इमान्दारिता जस्ता पक्षतर्फ डो¥याउन चाहनुहुन्छ उहाँ । जीवनमा सदा सक्रिय रहनुपर्छ र असल काममा निरन्तरता चाहिन्छ भन्ने कुरा सबैले उहाँबाट सिक्न जरुरी छ । मिहिनेत गरी जीवनलाई उन्नत बनाउने कला पनि उहाँबाट सिक्न सकिन्छ ।
डा. मेघराज ढकाल (काठमाडौँ)
"कृषि विज्ञले साहित्यमा हात हाल्नु ठूलो कुरा हो ।"
उहाँले समीक्षामा कलम चलाइहाल्नुहुन्छ । समीक्षा पाटो राम्रो छ । कलम चलाएका अरू विधामा खारिन बाँकी छ । कलम चाडो चल्छ । मिहिनेत गरी आनन्दले लेख्दा अझ राम्रो हुने थियो । समीक्षामा सर्सर्ती जे देख्नुहुन्छ त्यो लेख्नुहुन्छ । तत्त्वगत हिसाबले उहाँको ध्यान अलि कम भएको हो कि ! खालि बस्नुहुन्न । जे दिएपनि लेखिहाल्ने उहाँको धर्म हो । अन्तराष्ट्रिय साहित्य संग्रहालयलगायतमा उहाँका लेख निरन्तर आइरह्छन् । कृषि प्रचारमा कहिल्यै कलम नरोकेको मान्छे हो उहाँ । कृषि विज्ञले साहित्यमा हात हाल्नु ठूलो कुरा हो । त्यही नै ठूलो गौरवको विषय हो । लेखनमा सरलता र प्रष्टता छ । उहाँमा कत्तिपनि आडम्बरपना छैन । म छन्दमा अभागी छु भनेर कति सहजै स्विकार्ने बानी छ उहाँको । उहाँ यथार्थवादी साहित्यकार हो ।मिहिनेती साधक क्रियाशील भएर जीवन जिउनु उहाँको महŒवपूर्ण पक्ष हो ।
मोहन आचार्य (ईन्द्रेणी शर्मा) जलद, प्रगतिनगर
"उहाँको उल्लेखनीय योगदान साहित्य र कृषि क्षेत्रमा जोडिएको छ"
हाम्रा कृषि विज्ञ साहित्यकार कविवर सदानन्द रिजालज्यूका अमूल्य सृजना र कृतिलाई सम्झनु नवलपुर र नवपरासीका साहित्यिक सर्जकको अहोभाग्य हो । उहाँको उल्लेखनीय योगदान साहित्य र कृषि क्षेत्रमा जोडिएको छ । जीवनका उर्वर समय कृषि विज्ञ बनेर देशका विभिन्न भागमा पुग्नुभएको छ । नवलपरासी र नवलपुरका साहित्यकारहरूमा उहाँको अग्रणी भूमिका छ । अत्यन्त मिलनसार सहज कवित्वको लागि हाम्रा आदरणीय सर्जक हुनुहुन्छ ।
उहाँका धेरै साहित्यिक कृति प्रकाशित भएका छन् ।विभिन्न विधामा कलम चलाउने उहाँमा प्रचुर मात्रामा कवित्व सृजनशील भावनाले ओतप्रोत सृजना नै जीवन्त सृजनाहुन्, कृति हुन् । विभिन्न साहित्यिक सर्जकका सृजना र कृतिबारे उहाँका समालोचात्मक विचार दिने कृतिबारे विभिन्न साहित्यिक सञ्जाल र पत्रपत्रिकामा छापिएका उहाँका लेख नै काफि छन् ।
नवलपरासी र नवलपुरमा साहित्यिक सहयात्राको लागि पटकपटक उहाँसँग भलाकुसारी हुन्छ, हुँदै गर्छ । उहाँसँगको हाम्रो अमूल्य नाता लाग्छ पूर्व जन्मको वरदान जस्तो अनुभूतिहुन्छ किनकि उहाँमा भेटिएका धेरै आत्मिय सद्भाव उहाँको पवित्र नाम जस्तै अनुपम छ सदानन्द ज्यूको आत्मामा कोही आफ्नो कोही पराइ छैन । सबैमा हितैषी मित्रवत् सम्बन्ध र व्यवहार उहाँको परिचय मान्न सकिन्छ ।
विभिन्न संघ संस्थामा सम्मानित सदानन्द रिजालज्यूको आफनो भूमिका र पहिचान छ । नेपाल आउँदा शहीद परिवार र साहित्यिक सर्जकसँग भेटघाट गर्नु मेरो चाहना हुन्छ नै । हाम्रा नवलपुरका साहित्यकार सर्जकहरूसँग मैले केही भिडियो क्लिप पनि लिएको थिएँ । दिदी कृष्णदेवी शर्माश्रेष्ठ,दीपक सोतीज्यू, सदानन्द रिजालज्यूको आवाज कैद गरेको थिएँ जसले मलाई उहाँसँगको आत्मीयता दर्शाउँदै राखेको छु । जीवनपर्यन्त अझै साहित्यिक यात्रालाई अथक परिश्रमले जुटि रहनु भएको छ । साहित्य नै जीवनको अभिन्न हिस्सा मान्ने हाम्रा आदरणीय साहित्यिक सर्जक रिजालज्यूको जन्म पर्वत शंकरपोखरी हो भने हाल नवलपुर र नवलपरासी कावासोती नजिक बस्दै आउनु भएको छ । कृषि क्षेत्रमा जोडिएको उहाको जनजीवनको यथार्थलाई आफ्ना भावना साहित्यिक गतिविधिहरूमा उजागार गर्नु उहाँको महानता मान्नु पर्छ । उहाँप्रति सानो गीत –
जीवनभरी कृषिको लागि योगदान गर्नु भो
साहित्य विधा जीवन मर्म भावना भर्नु भो
मानिस भित्र जीवन व्यथा साहित्य कोर्नु भो
साहित्य शक्ति सम्पन्न कृषि महिमा जोर्नु भो
हे सदानन्द, हे कविवर , के होला चेतना
मानिस भन्ने के होला मन्मा लेख्नुस् है वेदना
युगको सीमा जीवन बीमा साहित्य खोज्दछ
मार्मिक विधा हजुर सामू सृजना रोज्दछ
रिजाल थर पर्वत घर त्यो जन्म भुमिको
सम्झना हुन्छ कृति र नाम पवित्र कविको
सम्झना लेखे हजुर सामू साहित्य विशेष
कृति हो हाम्रो चौतारी राम्रो अमर अशेष
हजुरको सदैव शुभ चिन्तक
नवलपुर देवचुली न.पा नेपाल
दिनांक १२ जुन २०२१
मोहन दुवाल (काभ्रे वनेपा)
"मैले 'जनमत' मासिकमार्फत् सदानन्दका एउटा विशेषांक नै निकालेको छु ।"
मैले सदानन्दका बारेमा 'जनमत' मासिकमार्फत् एउटा विशेषांक नै निकालेको छु । त्यस अर्थमा उहाँ महत्त्वपूर्ण मानिस हो । कृष्णादेवी शर्माको कृति विमोचनमा सदानन्द अभागी भेट भएपछि अभागी उपनाम किन राख्नुभयो भनी जिज्ञासा राख्दा "मोहन दुवाल भेट्न पाएँ भाग्यमानी हुन्छु होला' भन्नुभएको थियो । उहाँले जनमतलाई निकै माया गर्नुहुन्छ । उहाँका लेख म छापिराख्छु । उहाँको कर्मशीलता समर्पितभाव साहित्य सिर्जना आदिको कदर गरेर 'सम्मान' अङ्कको रूपमा जनमत निकालीसकेको छु । उहाँको बारेमा मैले त्यसैमा लेखेको पनि छु ।मेरो उहाँप्रति प्रष्ट र सकारात्मक दृष्टिकोण रहेको छ । मैले उहाँको सबै विधा पढेको छैन तर समीक्षा राम्रो लाग्छ । अरू विधाभन्दा समीक्षा नै सशक्त छ भन्ने मलाई लागेको छ ।
प्रा. डा. मोहनीलाल भुसाल (कावासोती, नवलपुर)
"अति सरल स्वभावका जैसिजी आफ्ना उद्देश्यमा भने असाध्यै कठोर, निडर र सक्रियहुनुहुन्छ ।"
सदानन्द जैसी रिजाल साहित्यिक व्यक्तित्व पर्वत जिल्ला शंकरपोखरीमा जन्मनु भएका सदानन्दजी बहुआयामिक व्यक्तित्वका रूपमा परिचितको साथै कृषि बिशेषज्ञ पनि हुनुहुन्छ । नेपाल सरकारका उपसचिव पदबाट निवृत्त जैसी साहित्य समाजका एक चर्चित पात्र हुनुहुन्छ । सदानन्दजीका कयौँ उपन्यास ,कविता, र निबन्ध प्रकाशित छन् । पर्वतबाट बसाइसराइ गरी हाल कावासोती नगरपालिका साँढमा बसोबास गर्दै आउनुभएका जैसी नेपालका प्रायः सबै जिल्लामा परिचित हुनुहुन्छ । विभिन्न सामाजिक संस्थाहरूमा सहभागी भई आफ्ना कला प्रस्तुत गर्दै आउनु भएका जैसीको हरेक परिवारसँंग प्रत्यक्ष अप्रत्यक्ष गहिरो सम्बन्ध कायमै छ । कृषि विभागका माटो विशेषज्ञ समेत भएकाले पनि हरेक किसानसँग उहाँको गहिरो सम्बन्ध रहदै आइरहेको छ । २०४७ सालदेखी मात्र मेरो उहाँसग गहिरो सम्बन्ध कायम भयो । नेपाली काङग्रेसपर्वतको जिल्ला समितिको बैठक चलिरहेको समयमा सदानन्दजीले जयनेपाल भन्दै सोझैँ बैठक हलमा प्रवेश गर्नुभयो र भन्नुभएको थियो सांसदको उम्मेदवारी सम्बन्धमा यहाँहरूको बैठक चलेको छ भनेर पसेको हँु, तपाइहरूको विवाद छ भने पर्वत २ का निम्ति मलाई शिफारिस गर्नुहोस्, मैले नोकरिमा राजिनामा गरेर चुनाव लड्छु भन्दै उहाँ हलबाट बाहिरिनु भएको कुरा मैले भुलेको छैन । त्यतिबेला उहाँपर्वतमा कृषि विकास कार्यालयको प्रमुख हुनुहुन्थ्यो । २०५७ सालको लक्ष्मी पुजाका दिन उहाँकै निवासको नजिकै सूर्योदय प्रा.वि.मा लक्ष्मीस्मृति साहित्य समाज नवलपरासीको आयोजना भइ साहित्यक कार्यक्रममा मलाईविशिष्ट अतिथिको रूपमा निमन्त्रणा पठाइएको थियो। प्रमुख अतिथिको रूपमा नेपाली काङ्ग्रेसका तात्कालीन जिल्ला सभापति हाल गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालजीहुनुहुन्थ्यो । सोही समारोहमा मलाई नवलपरासीको उच्च शिक्षामा योगदान पु¥र्याउनु भएको भनी त्यस बर्षको लक्ष्मीस्मृति साहित्य पुरस्कार प्रदान गर्नुभएको विषय स्मरणीय छ । सदानन्दजीले निरन्तर हरेक बर्ष लक्ष्मीस्मृति साहित्य समाजको आयोजनामा बृहत् साहित्यिक कार्यक्रम संचालन गर्दै आउनु भएको पनि बिसौँ बर्ष भइसकेको छ । उहाँ एक साहित्य प्रेमी हुनुहुन्छ । सदानन्दजीले प्रकाशन गर्नु भएका दर्जनौँ कृतिहरू मैले पढ्ने मौका पाएको छु । सरल शैलिमा लेखिएका कविता, उपन्यास, निबन्ध आदि कृतिहरूले सामाजिक भावनात्मक चित्रण र सन्देशहरू उल्लेख गरिएको पाइन्छ । सदानन्द जैसी नवलपरासीको मात्र सम्पत्ति नभइ सिङ्गो नेपाली समाजका विविध विधामा उत्तिकै सम्मानित अगुवा पनि हुनुहुन्छ । अति सरल स्वभावका जैसिजी आफ्ना उद्देश्यमा भने असाध्यै कठोर, निडर र सक्रियहुनुहुन्छ । उहाँको बहु आयामिक दक्षता, भावना र सक्रियताले समाजलाई अरू थप दिशाबोध गराउनमा भगवानले प्रेणा दिऊन् । जय नेपाल ।
यम ढुङ्गाना (बाग्लुङ न. पा. १४, नेपाने)
"लेखन कला र अनुसन्धान उहाँको चिनारी नै हो ।"
पहिले उहाँ कृषि काम गरेको अनुसन्धान कर्ता भई काम गरेको व्यक्तित्व हो, यदि हुदाँहुदै पनि साहित्यतर्फ निकै रुचि राखेर किताबहरू पनि झण्डै पाँच दर्जनको हाराहारीमा प्रकाशन गर्नुभएको छ । लेखन कला र अनुसन्धान उहाँको चिनारी नै हो । कार्यक्षेत्र अनुसन्धान हुदाँ पनि साहित्य लेख्नुभयो । नयाँ नयाँ कुराहरू खोज्ने भएकाले उहाँका कर्म उपयोगी नै हुन्छन् । उहाँ सामाजिक कार्यकर्ताका रूपमा चिनिनुहुन्छ । मैले उहाँको सिंहवाहिनी देवी दुर्गाको विषयमा लेखिएको महाकाव्य पढेको छु । संस्कृतको भाषालाई नेपालीमा अनुवादन गरेर लेख्नुभएको छ । संस्कृतको अध्ययन उहाँमा राम्रो होला भन्ने अनुमान गर्दछु । हाम्रो कार्यक्षेत्र उहाँको कृषि मेरो शिक्षा क्षेत्र फरक भएको हुनाले सबै व्यक्तित्वसँग म जानकार छैन । पर्वत आउँदा हाम्रो छोटो छरितो भेट हुन्छ । इष्टमित्र दाजुभाइ भेटेर यहाँबाट विदा लिनु हुन्छ । जे होस् उहाँको लेखनी सफल नै मान्नुपर्छ ।
यादव भट्टराई (भैरहवा÷काठमाडौँँ)
"प्रजातन्त्र, प्रकृति, समाज, प्रेम, संस्कृति, मानवता, राजनीतिमा लेखाइ ।"
सदानन्द रिजाल जो कृषि वैज्ञानिक भएर पनि साहित्यिक गोरेटोमा हिँड्न रूचाउनुहुन्छ । जीवनलाई अत्यन्त नजीकबाट हेर्नुहुने साहित्यकार सदानन्द अभागी साहित्यका विभिन्न विधामा छरिनु भएको छ । प्रजातन्त्र, प्रकृति, समाज, प्रेम, संस्कृति, मानवता, राजनीतिलगायतका विषयमा उहाँ लेख्नुहुन्छ । उहाँका कृतिहरूमा नेपाली समाज र संस्कृतिका विभिन्न पक्षको उद्घाटन गर्दै नेपाली समाजले विभिन्न कारणवश भोग्नुपरेको विषम परिस्थति चित्रण गरिएको हुन्छ । जीवनका विविध अनुभूतिलाई अभिव्यक्तिको मालामा उनेर झण्डै ३ दर्जन कृति साहित्य क्षेत्रमा प्रदान गर्नुभएको छ । यद्यपि कृतिमा भाषाशैली प्रतीक संयोजनजस्ता कतिपय कुराहरूमा सुधार गर्नुपर्ने ठाँउहरू होलान् । अनुभूतिका सहज अभिव्यक्ति र आदर्श प्राक्कल्पना अनि श्रमशील जीवनको अवधारणा अभागीका कृतिगत विशेषता हुन । रचनाकार अभागीले मनग्य साधना गर्नुपर्छ । साधनाले नै सुन्दर कृतिको सिर्जनालाई सार्थकता प्रदान गर्नुपर्छ । उहाँजस्ता विज्ञान प्रविधिका क्षेत्रमा लागेका व्यक्तित्व नेपाली साहित्यमा प्रवृत्तहुनु निश्चय पनि गर्वको कुरा हो । नेपाली साहित्यलाई विज्ञानसँग जोडेर अघि बढाउन सकियो भने परिवर्तित समाजका निम्ति प्रभावकारी हुने कुरामा दुईमत छैन । गुणात्मक साहित्य सिर्जनतर्फ प्रवृत्तहुनुहोस्् भन्दै म सफल जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
युसुफदिन मियाँ पाल्पाली (चितवन)
"व्यक्तिस्वार्थलाई केन्द्रमा राखेर उनले कहिल्यै काम गरेको पाइएन ।"
उनी त्यागी तपस्वी लेखक हुन् । मैले बुझेसम्म अरूको लागि मरिमेट्ने मान्छे । अरूको प्रशंसा गर्न नथाक्ने । उनले मेरा कृतिका पनि समीक्षा लेखेका छन् । गजलमा भन्दा अरू विधामा म राम्रो देख्छु । उनले मलाई पनि आफ्नो नेतृत्वको संस्थाबाट सम्मान पनि गरेका छन् । उनी पुरानो पीडित मान्छे हो । उनलाई सम्मान यथोचित रूपमा गरिएको देखिन्न । आफू साहित्यकार भएर पनि अरू साहित्यकारले नै लात हानेका छन् । उनलाई उठ्न नदिने, चर्चाहुन नदिने प्रयत्न पनि नभएका होइनन् । यस कार्यकाबीच पनि उनी साहित्यमा मरिमेट्ने मान्छे हुन् । व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर उनले कहिल्यै काम गरेको पाइएन । उनको कसैसँग दुव्र्यवहार छैन बरू उनीप्रति दुव्र्यवहार हुनसक्छ । उनी कर्तव्यनिष्ठ लेखक साहित्यकार हुन् । उनी सामाजिक रूपमा खासै न्याय पाएका मान्छे होइनन् ।
रमेश शुभेच्छु (काठमाडौँ)
"उहाँको क्षमतालाई बुझेर राज्यले सही ठाँउमा लगाउन सकेन ।"
सदानन्द अभागीको मूल क्षेत्र भनेको कृषि विज्ञान हो । उहाँका थुप्रै अनुसन्धानात्मक कृतिहरू त्यो क्षेत्रमा प्रकाशित छन् । उहाँको क्षमतालाई कतिपय विदेशी कृषि अनुसन्धाताहरूले उपयोग गरेका छन् । उहाँले पूर्णरूपले नेपालको कृषिबारेमा अध्ययन गर्ने र अध्ययन गर्न खोज्नेहरूले निःशुल्क सहयोग पाएका छन् । उहाँको क्षमतालाई बुझेर राज्यले सही ठाँउमा लगाउन सकेन ।
उहाँले केही कृषिका कृति लेख्ने र अनुसन्धान गर्नेतर्फ लाग्दा साहित्य तर्फ पनि केन्द्रित हुनुभयो । उहाँ मूल साहित्यकार भन्दा पनि उहाँको दोस्रो पाटो हो साहित्य । साहित्य क्षेत्रमा आएपछि उहाँ वर्षेनि लगातार कविता गजल हुँदाहुँदै महाकाव्यसम्मका कृतिहरू लेख्नुभएको र प्रकाशन गर्नुभएको छ । तर ती कृतिहरू साहित्य शास्त्रको गहिरो ढंगले अध्ययन गरेर भन्दा पनि अथवा साहित्यिक ज्ञानका आधारमा भन्दा पनि उहाँका जीवनका अनुभवलाई नै उपयोग गरेर साहित्य लेखिराख्नु भाछ । मूलतः अहिले उहाँ गजलकारको रूपमा स्थापित हुनुहुन्छ । यो बाहेक उहाँको पाटो भनेको भेटेको कृति पढिसकेपछि आफूलाई मनमा लागेको कुरा समीक्षा गरीछाड्नु हुन्छ । सक्रियता उहाँको अर्को पक्ष हो । उहाँ लक्ष्मीस्मृति प्रतिष्ठानको पनि नेतृत्व गरिरहनु भाछ । त्यसबाट उहाँले केही राम्रा स्रष्टाहरूलाई छनौट गर्ने उहाँलाई सम्मान गर्ने उहाँहरूको विषयमा विमर्श गर्ने जस्ता काम पनि गर्दै आउनुभएको छ । उहाँ नवलपरासी (नवलपुर र परासी) दुबै क्षेत्रकै अनुभवले बृद्ध भएर पनि सक्रिय हुनुहुन्छ । मैले उहाँको गजल कृति बुढ्यौलीका रहरहरू मा भूमिका पनि लखेको थिएँ । त्यसकृतिमा बढी श्रृङ्गारिक गजल लेख्नुभएको छ । पछि सबै गजल कृति संकलन गरेर वृहत गजल सङ्ग्रह कृति पनि सार्वजनिक गर्नुभएको छ । संकलित उक्त कृतिले प्रेमको विषयवस्तु धेरै र आंशिक रूपमा समाजका बहुविकृति विसंगितहरूलाई बाहिर ल्याएका छन् ।
मैले कक्षा ६ को पाठ्यपुस्तकमा (संस्थागत विद्यालयको पठन पाठन प्रयोजनार्थ) कृषिसम्बन्धी विषय लेख्न अनुरोध गरेपछि लेख्नुभयो र त्यो मैले समेटेको छु । उहाँलाई अहिले पनि कृषिसम्बन्धी नेपालको भूगोलसम्बन्धी, नेपालको बालीनाली सम्बन्धी विषयमा उहाँलाई बढी जानकारी छ । उहाँले साहित्य लेख्दा पनि कतिपय ठाँउमा समेट्ने कोशिस गर्नु भाको छ । तर पाठकहरूले अरू स्रष्टाहरूले त्यो कुरालाई ख्याल गरेको छैनन् । उहाँलाई एउटा साहित्य क्षेत्रमा साहित्यशास्त्रीका रूपमा चिनेको छु । मैले उहाँको सामाग्री छनौट गर्दा पनि कृषिसम्बन्धी विषयलाई छनौट गरेर पाठ्यपुस्तकमा राखेको छु । पारिवारिक हिसाबले हेर्दा मैले बुझेसम्म दुईटा गुरुआमाहरू हुनुहुन्छ । उहाँले अहिले पनि ती दुईटा परिवारलाई आफ्नो कमाइबाट हेरिराखेको जस्तो मैले बुझेको छु । सन्तानहरूको कमाइमा शायद आश्रित हुनुहुन्न । हुन त उहाँकै घरमा त पुगेको छैन सबैकुरा बुझ्न पाएको पनि छैन । उहाँ धेरैसँग सरसम्पर्कमा हुनुहुन्छ । बेलाबेलामा फोन गर्नुहुन्छ । फोन सम्पर्क राखिराख्नु हुन्छ। शारीरिक हिसाबले केही समस्या भए पनि उहाँको सक्रियता स्तुत्य छ ।
राजेन्द्र पहाडी (कुस्मा पर्वत)
"उहाँले जसरी कलम चलाईरहनु भएको छ त्यो एउटा नयाँ धार पनि हो ।"
पर्वत जिल्लामा जन्म भई यही हुर्केर यहाँ लामो समय नेपाल सरकारको राष्ट्रसेवक कर्मचारी भई काम गरेको व्यक्तित्वहुनुहुन्छ । कृषिविज्ञ त्यसमा पनि माटो विज्ञ भई जिल्ला कृषि विकास कार्यालय पर्वतमा लामो समय योगदान गर्नुभएको व्यक्तित्वहुनुहुन्छ । यो समाजमा रहदाँ बस्दा सामाजिक, हार्दिक, सहयोगी व्यक्तित्वको रूपमा हामी चिन्दथ्यौँ । पुस्ताका हिसाबले मभन्दा धेरै अगाडिको उमेर हुनुहुन्छ । मेरो बुबाभन्दा पनि सिनियर हुनुहुन्छ । हामी सानै वा बच्चैदेखि नै उहाँले कृषि कार्यालयमा काम गर्दै गर्दा नजिकबाट जान्दथ्यौँ । अत्यन्त आत्मीय बच्चादेखि वयोवृद्धसम्मका व्यक्तित्वसँग एकदमै सामीप्य हुनसक्ने आफूलाई घुलमिल बनाउनसक्ने, प्रेमिल भावको व्यक्तित्वको रूपमा चिन्दथ्यौँ । हामी बच्चा अवस्थाबाट हुर्कदैँ गर्दा जब हामी ठूलो हँुदै र विविध हिसाबले परिपक्व हुँदै जादा मैले त्यसबखत उहाँलाई सहृदयी, साहित्यिक चेत भएको, शैक्षिक चेत भएको, एउटा विशेषज्ञकै रूपमा चिनिएको राष्ट्रले नै सम्मान गर्नुपर्ने व्यक्तित्व पाएँ । उहाँ लामो समय सरकारी सेवा गरेर सेवानिवृत्तहुनुभयो । त्यसपछि उहाँले एउटा त्भचm ूच्भतष्चभम दगत लयत तष्चभमू भन्ने भावनालाई पक्रेर अघि बढ्नुभयो । त्यो निवृत्त जीवनमा मान्छेहरू जुन अन्योलको अवस्थाबाट गुज्रदै अब मेरो केही भूमिका रहेन कि भनेर धेरैले निवृत्त जीवनलाई व्यतित गर्न विभिन्न चुनौतीहरू सामना गरेको हामी देख्दछौ तर सदानन्द अभागी त्यो भन्दा फरक देखिनुभयो । सिर्जन कर्ममा लाग्नुभयो । सरकारी सेवामा रहँदा बढी योगदान कृषि क्षेत्रमा रहेको थियो । नेपालमा कृषि उत्पादन कसरी अभिवृद्धि गर्न सकिन्छ भनेर थुप्रै कृतिहरू लेखन र अनुसन्धानमा निकै योगदान गर्नुभएको छ । ती कृतिहरू कतिपय मैले पढेको पनि छु । हामीले एउटा क्क्ःए भन्ने हाम्रो प्रोजेक्टमा माटोको क्षेत्रमा सँगसँगै काम गर्दाखेरि उहाँ सरकारी सेवामा भए पनि सहकार्य गर्ने अवसर पाएका थियौँ । मैले त्यो अवसर पाएको थिएँ । त्यो हिसाबले उहाँका विधागत कृतिहरू (खास गरी कृषि माटोसँग सम्बन्धित) पढ्ने अवसर पनि पाएको थिए । त्यसमा उहाँले आफ्नो दक्षता प्रस्तुत गरिसक्नु भएको थियो । जब निवृत्तहुनुभयो, त्यसपछि नितान्त साहित्यका विधागत वाङ्मयमा उहाँले कलम चलाउनु भयो र ती कुराहरू यति धेरै आउन थाले कि हामी युवापुस्ताका साथीहरू आश्चर्यचकित हुन थाल्यौँ। हामीलाई एउटा चुनौतीको रूपमा प्रस्तुत हुने गरी उहाँले लेखन सिर्जनधार्मितालाई प्रस्तुत गर्नुभयो । नयाँ पुस्तालाई उत्प्रेरित हुने गरी हौसला र प्रोत्साहन गर्ने खालको थियो । उहाँको त्यो कर्म त्यो श्रम त्यो लगाव त्यो उमेरमा पनि त्यस्तो अनुकरणीय कर्म देख्न पाइन्थ्यो । त्यो खास उमेरमा विभिन्न खालका शारीरिक समस्याहरू पैदा हुन्छन् दृष्टिगत समस्या श्रवणगत समस्याहरू र अन्य शारीरिक समस्याका बावजुद पनि सिर्जनाको क्षेत्रमा आफुलाई समाहित गर्नुभयो त्यो अतुलनीय हो भन्ने मलाई लाग्छ । विधागत रूपमा उहाँलाई मैले बहुविधामा संलग्न भएको देख्दछु ।
त्यो एउटा उमेर वा कालखण्डमा जसरी नेपाली साहित्यका प्रत्येक जसो विधामा चासो राख्नुभएको छ । जुन खालको दृष्टिकोण अघि सारिरहनु भएको छ त्यसलाई मैले प्रशंसनीय ठान्छु । परन्तु विधागत हिसाबले उहाँले ती विधाहरूमा न्याय गरीराख्नु भएको छ कि छैनभन्ने प्रश्न उठ्न सक्छ व्याख्या वहस र मूल्याङ्कन हुनसक्छ तर पनि साहित्यप्रति लगाव वा झुकावलाई प्रशंसा गर्नुपर्छ । जुन धारमा उहाँले लेखिरहनुभएको छ चाहे समीक्षकको क्षेत्रमा, चाहे कविता क्षेत्रमा, चाहे निबन्ध लेखा क्षेत्रका वा चाहे कथा उपन्यासका कुरा गरौँ, हरेक विधामा उहाँले जसरी कलम चलाईरहनु भएको छ त्यो एउटा नयाँ धार पनि हो । नयाँ एउटा शैलीलाई पनि प्रयोग गर्नुभएको छ भन्न सकिन्छ होला । किनभने विधागत हिसाबले पृथक्पृथक् ढंगले मान्छेका मनोभाव अभिव्यक्त हुने अथवा सिर्जनाकारका रचनाकारका स्रष्टाहरूका फरक खालका मनोभावनाहरू प्रस्तुत हुने कुरालाई हामीलाई स्वीकार्नै पर्छ होला भन्ने लाग्छ । कतिपय स्थापित मान्यताहरूको एउटा फेमवर्क वा फम्यार्टीभत्र काम गर्नुपर्ने अवस्था पनि हुनसक्छ तर पनि स्वतन्त्र ढंगले आफ्ना भावनाहरूलाई अभिव्यक्त गर्ने सिर्जनात्मक माध्यमबाट आफुलाई त्यो लयमा बहली खेल्ने जुन प्रयास सदानन्दले गरीरहनु भएको छ । त्यसलाई विशिष्ट ढंगले पर्गेल्ने अथवा सम्मानित वा प्रशंसित गर्ने काम सुचारू गर्ला भन्ने अपेक्षा गर्दछु ।
पर्वतकै सन्दर्भमा अलिकति जोड्न मन छ । पर्वत छोडेर उहाँ अहिले नवलपुर हुनुहुन्छ । त्यहाँ बस्दै गर्दा पनि उहाँको पर्वत प्रतिको निष्ठा वा प्रेमलाई पटक्कै तोड्न सक्नुभएको छैन । शारीरिक रूपले एकदमै शिथिल हुदै जानुभएको छ । उमेरले उहाँलाई अप्ठेरो बनाउँदै गएको छ । तर पनि उहाँ यता आउने आएपछि दिलदिमागै यतै लगाउनुहुन्छ जस्तो लाग्छ । कस्तो लगाव होला यो उमेरसमूहमा पनि भन्ने लाग्छ । आएपछि उहाँको साहित्यकै चिन्ता हुन्छ ।जब हिड्नुहुन्छ। पर्वतमा रहेका साहित्यिक व्यक्तित्वहरूलाई फोन सम्पर्क गर्दै आउनुहुन्छ । आए पछि उहाँलाई भेट्नै पर्छ उहाँलाई त्यो तिर्खा मेट्नै पर्छ । उहाँको तिर्खा पानी खाएर मेटिदैन । सर्जकहरूलाई भेट्ने कृतिहरू आदान प्रदान गर्ने रचनाहरू सुन्ने सुनाउने त्यो अचम्मै खालको स्वभावको प्रशंसै गरेर पुग्दैन । कसरी भन्ने होला भनेर म अचम्मै पर्छु । भनाइहरू उदाहरण गर्दै लाने एउटा प्रवृत्ति छ । त्यसले गर्दा उहाँको विचार आएन कि उहाँ के भन्न चाहनुहुन्छ त अलिकति खल्नु भएन कि भन्ने पनि देखिन्छ एउटा पक्ष भने अर्काे चाहिँ विधागत रूपमा कसरी जानुपर्ने हो । विधागत संरचना के हो ? त्यसलाई फलो पछ्याउने क्रममा चुक्नु भएको छ । त्यो उहाँको कमीकमजोरी वा सीमा हो । सबैजसो लेखनमा त्यो कहीँ न कहीँ अनुभूत हुन्छ । राम्रो नेपाली भाषाको विज्ञ पाठकले नेपाली वाङ्मयका फरकफरक विधामा जसले फरक, फरक रुचि राख्छ । त्यसका आधारहरू त्यसका मूल्यमान्यताहरू थाहा छ उसलाई विझाउँछ पक्कै पनि । उहाँको लेखन सरसर्ती आएन यहाँनेर यो छुट्यो । यसरी गैदिएको भएहुन्थ्यो ,भन्ने चाहिँ अवश्य पनि लाग्छ । मैले पनि त्यो अनुभव गरेको छु । मेरा दृष्टिकोणमा सकारात्मक रूपले हेर्दा खेरि त्यो उमेरवयमा समर्पित भएर लागिरहनु त्यो चाहिँ प्रशंसाको पाटो हो तर विधागत हिसाबले समीक्षा गरेर जाने हो भने थुप्रै औल्याउनुपर्ने कुरा उठ्छन् । कृति मात्रै धेरै बनाउने यही सिलसिलामा कतिपय कृति प्रेसमा छाप्नुभएको छैन । फोटो कपि गरेर पनि बनाउनुभएको छ केही कृतिहरू गणना वा उहाँको तुष्टि सन्तुष्टिका लागि त्यो कार्य ठीक भए पनि आधिकारीक रूपबाट कृति गणनामा पर्ने नपर्ने हुनसक्छ । भोल्युमका कुरा विधागत अनुशासनका कुराहरू होलान्लगायतका कुरामा हामी सोचेरै बोल्नुपर्ने हुन्छ भन्ने लाग्छ । तर पनि सकारात्मक भावकले हेर्दा उहाँको त्यो संलग्नता त्यसमा रमाइरहनुभएको जीवनको खुसीहरू प्राप्त गरीरहनुभएको त्यस कर्मप्रति हामी उत्प्रेरित नै गर्नुपर्दछ । यद्यपि उहाँ आलोचनाबाट मुक्त नभए पनि सकारात्मक ढंगले जुन उहाँको सेवा जारी छ त्यो प्रशंसनीय नै छ । समीक्षकीय दृष्टिमा हेर्दा उहाँका कमजोरी आरोप होइनन् । ती गुनासा हुन ती जायज छन् । ती गुनासाहरूलाई उहाँले आत्मसात् गरेर आफ्नो लेखनलाई सकिन्छ भन्ने अझै परिष्कृत गरेर परिमार्जन गर्दै जानुभयो भने नेपाली बाङ्मयको विधागत अनुशासनलाई परिपालन गर्न दिशामा आफुलाई लैजानुभयो भने त्यो अत्यन्त प्रशंसनीय र उपयोगी हुन्छ भन्ने म ठान्दछु ।
राधा पाण्डेय नवलपुर (गैडाकोट)
"उहाँजस्तो सिर्जनशील व्यक्ति त कमै भेटाउछौँ ।"
उहाँको लेखन सबै विधामा चल्ने हुँदा विशिष्टिकृत विधा यही हो भनेर म भन्न सक्दिनँ । माटो विशेषमा उहाँको विज्ञता छ । साहित्यिक र लेखन कर्ममा नियमितता छ । यो वृद्धावस्थामा पनि यी कर्म छोड्नुभएको छैन थाक्नुहुन्न कहिल्यै । अनुसन्धानमा विशेष रुचि छ । उहाँले मलाई कुनै दिन नानी मैले हरेक दिन जसो एकएक सिर्जना गर्न उद्दरेश्य लिएको छु त्यसैअनुसार म अघि बढ्छु । भन्नु भएको थियो । उहाँ यति बग्नुहुन्छ कि उहाँजस्तो सिर्जनशील व्यक्ति त कमै भेटाउछौँ । उहाँले सबै विधाहरूलाई एक सम्मान रूपले अघि बढाइरहनुभएको छ । नवलपुरमा उहाँलाई नचिन्ने कमै हुनुहुन्छ । उहाँ निस्वार्थ सेवक हो । उहाँको समाज राष्ट्रको लागि अतुलनीय योगदान छ । आफ्नो लेखन कर्मलाई धर्म सम्झेर अघि बढाउनु हुन्छ । हाम्रा लागि पनि उहाँ अग्रज स्रष्टा हो । उहाँलाई हामी अथक साहित्यकारको रूपमा चिन्छौँ ।
प्रा.डा.रामप्रसाद ज्ञवाली (गुल्मी÷काठमाडौँ)
"स्वच्छन्दतावादी प्रवृत्तिले लेख्नुहुन्छ ।"
उहाँले साहित्यिक विधामा धेरै लेख्नु भा'छ । परिष्कार गरेर अथवा साहित्य सिद्धान्त यो हो भनेर लेख्ने मान्छे उहाँ होइन । उहाँ स्वतःस्फूर्त लेख्ने मान्छे हो । स्वच्छन्दतावादी प्रवृत्तिले लेख्नुहुन्छ । आध्यात्मिक चेतना छ । समालोचना उहाँको विषय होइन रहरले लेख्नुभएको हो । उहाँले मेरो पनि समीक्षा लेख्नुभएको छ तर निकै लामो । मोफसलमा बसेर पनि प्राध्यापन क्षेत्रमा नभएर पनि साहित्य सिर्जना भनेको राम्रो कुरा हो । उहाँले मात्र अरूको लेख्ने होइन कि उहाँको बारेमा पनि लेखिदिनु न्यायपूर्ण नै हुन्छ । उहाँ ओझेलमा, छेउमा परेको मान्छे हो । काम त उहाँले निकै गर्नुभएको छ । बाहिर हल्लाखल्ला छैन । आफ्नै किसिमले काम गरिरहनुहुन्छ । उहाँले कृषिमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । धेरै वर्ष सेवा गर्नुभई सेवा निवृत्तहुनु भा'छ । लेखिरहने स्वभाव हो । लेखेका छपाइरहनुहुन्छ पनि । दुःख निकै गर्नु भा छ । स्वच्छन्दतरिकाबाट साधना गरिरहने प्रचारप्रसार र हल्लाखल्लामा बढी विश्वास नगर्ने , आफूले पढेका कृतिको बारेमा लेखिदिने उदार मान्छेको रूपमा चिनिनु उहाँको मूल विशेषता हो ।
रूद्र ज्ञवाली (भैरहवा)
"मानवतावादको पक्षमा कलम चलाउने लेखक"
उहाँले कृषिका निकै उपयोगी पुस्तकहरू लेख्नुभएको छ । उहाँका साहित्यिक धरातलीय यथार्थतामा रहेका लेखिएका छन् । औसत नागरिकका समस्यालाई उजागर लेखिएका छन् । लेखनमा चामत्कारिक विलक्षणता देखिदैन । समसामयिकतालाई टिपेर लेख्ने लेखक हो । उहाँले लेख्नुभएका साहित्यिक कृतिलाई बजारले पर्खेर बस्ने अवस्था भने छैन । समकालीन लेखकहरूको हाराहारीमा सामाजिक र धरातलीय यथार्थतालाई लिएर मानवताबादको पक्षमा कलम चलाउने लेखकको रूपमा म चिन्दछु । उहाँ बहुतै असल मान्छे हो । जतिसँग भेट्नुहुन्छ मीठो सम्बन्ध कायम गर्नुहुन्छ । विनम्र हुनुहुन्छ । शान्त हुनुहुन्छ । एउटा व्यक्तिको हिसाबमा उत्कृष्ट असल सज्जन मान्छे हो उहाँ । त्यस्तो साधारण हार्दिक आत्मीय गुण भएका उहाँमा व्यक्तित्वका हिसाबले कुनै खोट लगाउने ठाँउ नै छैन । सदानन्दजी साह्रै सरल मान्छे हो ।
लक्ष्मीदत्त भट्ट (कञ्चनपुर)
"प्रकृतिप्रेमी कविता पढी लेख्नुहुन्छ । माटोको विषयलाई केन्द्र बनाउनुहुन्छ ।"
उहाँ नेपाल सरकारको माटो विशेषज्ञ भई काम गरेको मान्छे हुनुहुन्छ । पहिलेदेखि अर्थात् २०६०÷ ६१ तिरै डोटीतिर बस्दाखेरी नै हाम्रो परिचय भएको थियो । उहाँले समीक्षा बढी लेख्नुहुन्छ । गजल पनि लेख्नुहुन्छ । कविता बढी लेख्नुहुन्छ । कविताहरूमा उहाँका गद्यलयसँग बढी सम्बन्धित छन् । प्रकृति प्रेमी कविता पढी लेख्नुहुन्छ उहाँ । माटोको विषयलाई केन्द्र बनाउनुहुन्छ । उहाँको पाठकलाई प्रभाव पार्ने कला राम्रै छ । सर्जकको गल्ती औल्याइदिने, राम्रोतर्फ दिशानिर्देश गर्ने, प्रवृत्ति देखिन्छ । हालसम्मको अवस्थासम्म आइपुग्दा हाम्रो निरन्तर नियमित र मीठो सम्बन्ध छ । चितवनका महत्त्वपूर्ण कार्यक्रमहरू (पल्लव, लाईन्स क्लव) मा हाम्रो वर्षमा १–२ पटक भेट हुन्छ अरूबेला फोनसम्पर्क चलिरहन्छ । उहाँ एक असल र प्रिय व्यक्तित्व हो । सादा जीवन र उच्च विचार उहाँको जीवन शैली भेटिन्छ । घरतिर कृर्षकर्म वा खेतीपातीमा पनि उत्तिकै लगाव छ । उहाँ समीक्षामा पनि राम्रै प्रभाव भएको व्यक्तित्व हो ।
लीला राना ( कावासोती–२, नवलपरासी (ब.सु.पूर्व)
"एउटै घरधुरीमा, दुईनालको छोरा–छोरी, दुई घरबारलाई सँगै राख्नसक्नु, उहाँ अपार माया, ममता, स्नेह र विशाल ह्ृदयको व्यक्ति"
जहाँ गए पनि, जता गए पनि, मान्छेहरूले आफ्नो–आफ्नो पहिचान, आफ्नो–आफ्नो परिचय लिएर हिड्दा रहेछन् तर म घामले उडाएको 'नील' (नीर) झैँ रहेछु । सबैलाई उज्यालो पार्ने घामको उपस्थितिमा आफ्नो रंग आफ्नो अस्तित्त्व हराउने ! आफैलाई धिक्कारे ! तर आत्मसमर्पण गरिनँ । सोचेँ साँच्चिनै म परिचय विनाको हुतिहारा ? कहिले बाबाको छोरी, कहिले श्रीमानको पत्नि, कहिले छोराको आमा, कहिले छोरीको आमाले चिनिने ! साहस गरे, आँट गरे एउटा कृति निकाले ! पुस्तक विमोचन बडो कष्टपूर्वक गरे, बल्ल एक–दुई जना साहित्यकारहरूसँग भेट भएँ । यसै कार्यक्रममा गोविन्दराजविनोदी गुरुसँग भेट भएँ । पहिलो भेट मेरो पहिलो पुस्तकको विमोचनमा, मबाट उहाँले धेरै आश गर्नुभो । फुटकर कविता, नाटक, कथा, लेख लेख्ने तर किताबको रूप दिन ध्यानै भएन, जे भए पनि मेरो पुस्तक आयो ! सदानन्द गुरुले पढ्नु भएछ, समाजमा मेरोबारे खोज गर्नुभएछ । २०६९ सालको असोज महिनातिर घरको घण्टीबज्यो, ढोका खोले, "हजुर कसलाई खोज्नुभो" उहाँले भन्नुभो म सदानन्द"अभागी"नमस्ते ! आउनुस् भित्र बैठक कोठामा पस्दै भन्नुभो "तपाईँ लीला राना?" "हजुर!""म श्री लक्ष्मीस्मृति साहित्य समाजको अध्यक्ष, लक्ष्मीपूजाको दिन श्री लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन पारेर यस पल्ट तपाईँलगायत १० जना साहित्यकारहरूलाई सम्मान गर्न भनेर जानकारी दिन आएको छु, तपाईँको अन्त कुनै कार्यक्रम नराख्नु होला", यतिनै बेला कर्णेल राना (मेरो श्रीमान) बैठक कोठामा आउनु भो' । एकछिन भए पनि गफसफ गरियो । मेरो र मेरो श्रीमानको सबै जन्मकुण्डली हेरी सक्नु भा रहेछ ! त्यो दशपन्ध्र दिनमलाई दशपन्ध्र युगै लाग्यो, कहिले लक्ष्मीपूजाको दिनआउला ! लक्ष्मीपूजाको दिन सबेरै मोटरसाइकलमा धुलो उडाउँदै समय भन्दा अगाडि कार्यक्रम स्थलमा पुगियो । सदानन्द गुरुको श्रीमती दुबैलाई नमस्ते गरीयो ! लक्ष्मीस्मृति एवम् नन्दकलास्मृति भाषा साहित्य र समाज सेवा सम्मान–२०६९ले म सम्मानित भएपछि म रून पनि सकिनँ, हाँस्न पनि सकिनँ । यो मेरो जीवनको सबैभन्दा कठोर परिश्रमको अमूल्य पहिलो सम्मान थियो ! यसरी मैले गुरु सदानन्दलाई चिनेकी थिएँ ।
गुरुले, मेरो मूल्याङ्कन गरेर सम्मान गर्न सक्नुभा'को मेरो गुण, समाजप्रति, बृद्ध, अबलानारीप्रति असहाय, पशुपंछीबारे निस्र्वाथ भावले मैले गरेको कार्य बारे उहाँ अवश्य पनि जानकार हुनुभयो नै होला ! यति छोटो समयमा भरखर ताते हिड्ने म जेष्ठनारीलाई यत्रो सम्मान दिन, केहीगुण त मेरो पाएकै थियो होला । स्वाधिनता, हक, अधिकार र सद्भावना, कर्तव्य र निष्ठा बोकेरै हिड्ने राष्ट्रप्रेमको भावना, शुद्ध, स्वच्छ नेपाल खोज्ने मान्छे हुन् सदानन्दगुरु !
"नयाँ नेपाल भन्ने गर्छन्, कहाँ छ यो नयाँ नेपाल?
गरीबको थिचोमिचो त्यहाँ छ यो नयाँ नेपाल?"
एउटै घरधुरीमा, दुईनालको छोरा–छोरी, दुई घरबारलाई सँगै राख्न सक्नु उहाँको अपार माया, ममता, स्नेह र विशाल हृदयको व्यक्ति भएरमात्र यस्तो सम्पन्न, सुन्दर, सफल गृहस्थिमा (सजी) रमाउनु भएको ! गुरु सदानन्द, माटोको विशेषज्ञ, वि.एस्सी. (ए.जी.) भएर माटो सम्बन्धी दर्जनौँ दर्जन पुस्तकहरू लेख्नु भाको त ठिकै थियो आहा ! गजल र कविता पनि उत्तिकै कोर्नु हुन्छ ! उहाँको नारीहरू प्रतिको सकारात्मक दृष्टिकोण राखेर साहित्य सृजना गर्ने प्रिय सर्जक सहभागीहरू बहुमुखीप्रतिभाको धनी सदानन्द गुरुहुनुहुन्छ । उहाँको देश–विदेशको भ्रमणले (फिलिपिन्स, जापान, थाइल्याण्ड, इजिप्ट, भारत) निश्चय नै केही जागरूकता ल्याएकै हुनसक्छ, विभिन्न पुरस्कारको सँगसँगै गोर्खादक्षिणबाहु चौथाले पनि उहाँ सम्मानित हुनुहुन्छ । उहाँको कवितामा कहि कतै माया, ममता, प्रेम फस्टाएको हुन्छ भने कहिँ प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीज्यूलाई पनि शब्दको झटारो हान्ने, मीठो शब्दको प्रयोगकर्ता पनि सदानन्द गुरु नै हुनुहुन्छ ।प्रेमप्रतिको सुन्दर एक सेर यहाँ प्रस्तुत गर्न मन लाग्यो ः
"लाए माया हाकाहाकी लाउनुपर्छ सुन हजुर
मर्म जति बुझ्नुपर्छ दिगो प्रेम हुन हजुर"
उहाँको स्थानीय र राष्ट्रिय पत्रिकाहरूमा प्रकाशित लेख, कविता, गजल, समालोचना...के–के हो के–के, लेखेको लेखै ! कहिले भन्नुहुन्छ कान नसुन्दा मेसिन "इएरफोन" लगाउन सकिन्छ, तर आँखा कमजोर भएमा केहीहदपछि चस्माले काम नगर्ने रहेछ । अब दुःखको दिनआउदैछ । लेख्न, पढ्न नसक्ने भइने छ । उहाँको उत्साह, योगदान, समाजप्रति जागरूकता, समाजकल्याणमा काम गर्ने क्षमता, कहिले गाउँ विकासको लागि, नगरपालिका, गाउँपालिकाको कार्यालयमा पनि उत्तिकै सहभागिता, जेष्ठनागरिकहरूको सहयोग हेतु जेष्ठनागरिक संघ–संस्थामा पनि उत्तिकै तन–मन, लगन साथ सरिक भएकै हुनुहुन्छ । रेडक्रस, लायन्स क्लव अफ वङ्मयमा पनि उहाँ उत्तिकै सक्रिय र सहयोगी हुनुहुन्छ । अहिलेको समितिमा पनि डाइरेक्टर पदमा हुनुहुन्छ।
साहित्यिक कार्यक्रममा साहित्य प्रतिष्ठान, साहित्य समाज, साहित्य वाल–युवाक्लवहरूले आयोजना गरेको साहित्य, कार्यक्रममा उहाँले सधैँ आफ्नो उपस्थिति जनाउनुहुन्छ, चाहे चैत–बैशाखको घाम, असार–साउनको झरी, कार्तिक–मंसिरको जाडो, जे होस्् उहाँ आफ्नो रचनालिएर समय भन्दाअगाडि नै पुग्नुहुन्छ । उहाँको साहित्यप्रतिको लगन, माया र सहयोग अतुलनीय छन् । राष्ट्रियताप्रति गौरवबोध गर्ने साहित्यकार–२०२० तिर 'आमा'को आशिर्वाद लिएर "आमा"कविता सँग साहित्यको विशाल समुन्द्रमा भित्रिनु भा'को गुरुको लेख, कथासङ्ग्रह, कवितासङ्ग्रह, गजलसङ्ग्रह, खण्डकाव्य, लघुकाव्य, उपन्यास, महाकाव्य, यात्राविवरण, कृषिकाव्य, मुक्तक सङ्ग्रह, समालोचना, विभिन्न विषयमा, विभिन्न विधामा पढ्न र लेख्न मन पराउने बहुमुखीप्रतिभाको धनी सदानन्द गुरुले समकालीन र आफूभन्दापछिका साथीहरूलाईसँगै हिडाउनुहुन्छ, उहाँले प्रत्येक कार्यक्रममा कर्णेल रानालाई पनि सँगै जाम भन्नुहुन्छ, आफू साहित्यकार नभएपनि साहित्यप्रेमी, साहित्यिक कार्यक्रममा जान आफू व्यस्त भए पनि सदानन्द गुरुलाई नाई भन्नुहुन्न, उहाँहरूको आपसको कुरा "सदानन्द भाग्यमानी ज्यू, जय नेपाल", भन्दै हातजोड्दै गफिदै, जति नै लामो बाटो भए पनि उहाँहरूको कुरा विभिन्न विधामा टुंगिन नै सक्दैन । "तपाईँ जस्तो सम्मानित व्यक्तित्वलाई 'अभागी' भन्न मैले पटक्कै रूचाउदैन ।" कर्णेल राना भन्नुहुन्छ । हामीलाई लामो यात्रामा सहजीकरण भएकै हुन्छ । सदानन्द गुरुको आयु र लेखन कला यी राजमार्गहरूझैँ लम्बिदै जावोस् हाम्रो शुभकामनाहरू !
लेखनाथ काफ्ले (वालिङ, स्याङ्जा)
"उहाँ एक वायुपंखी घोडाझैँ हिड्ने मान्छे हो ।"
उहाँका समीक्षाहरू पढेको छु । व्यक्तिगत सम्बन्धमा नजिक हुन पाएको छैन । भूगोलका हिसाबले उहाँ र म नजिक छैनौँ । भेट्ने मौका खासै मिल्दैन तापनि पत्रपत्रिकाका उहाँका नियमित लेखनसँग परिचित छु । उहाँ समीक्षाको क्षेत्रमाराम्रो लेखक हो । उहाँका समीक्षा राम्रोसँग लेखिएको पाउँछु । उहाँको साहित्यमा राम्रो योगदान छ । प्रयत्न अथक छ उहाँको । असलपात्र हुनुहुन्छ साहित्यको क्षेत्रमा । स्याङ्जामा वनवासीले अथक रूपमा लेख्छन् भनिन्छ । त्यस्तै मैले सदानन्दलाई नवलपुरका वनवासी ठान्छु । उहाँ स्याङ्जाबाट पनि पुरस्कृत भएको व्यक्तित्व हो । सबै मान्छे त्यस्ता परिश्रमी र त्यागी हुन सक्दैनन् । उहाँ एक वायुपंखी घोडाझैँ हिड्ने मान्छे हो ।
लोकनाथ खराल (कावासोती, नवलपुर)
"समाजले रूचाएको पात्र हो"
उहाँ विशेष गरेर कृषि क्षेत्रसँग सम्बन्धित भएका कारणले कृषि वा भूमिसँग सम्बन्धित रचना अलि स्तरीय लेख्नुहुन्छ । साहित्यको क्षेत्रमा कलम त चलाएकै हुनुहुन्छ । सामाजिक क्रियाशिलता पनि छँदै छ । सामाजिक क्षेत्रमा पनि आफ्नो विज्ञताअनुसार राय परामर्श दिने, खटेर लाग्ने र राम्रै भूमिका निर्वाह गरेको म देख्दछु । समाजले रूचाएको पात्र हो उहाँ । कलम सबै क्षेत्रमा चलाए पनि परिमार्जन र परिष्कृत त्यति हुन नसकेको हो कि जस्तो लाग्छ । साहित्यको गुणस्तरीयतामा अलि कम छ । अरू दृष्टिकोणले उहाँ ठीकै हुनुहुन्छ । जुन लगाव छ त्यसलाई प्रशंसा गर्नै पर्छ । सबै क्षेत्रमा हुने व्यक्ति उत्तिकै सफल नहुने हुँदा सदानन्दमा पनि यो कुरा लागूहुन्छ ।
विजयसागर (भैरहवा)
"विशिष्टिकृततामा ध्यान दिएमा उनको लेखन भविष्य स्मरणीय, अर्थपूर्ण र चिरस्थायी हुनेछ ।"
आफ्नो क्षेत्रमा उनको अध्ययन प्रशस्त छ । कला, विद्वत्तामा जुन चिन्तन हुनुपर्ने हो, त्यो छैन । एउटा समालोचकमा जुन गुण हुन्छ विधागत क्षेत्रमा जुन गुण हुन्छ र हुनुपर्छ त्यसअनुसारको उनले हरेक क्षेत्रमा लागी प्रबुद्धता देखाउनसकेका छैनन् । अध्ययन सशक्त भए पनि नीतिसिद्धान्तअनुरूप पुष्ट्याइँ गर्नतर्फ लाग्दैनन् । सिद्धान्तलाई पूर्णतः टेकेको देखिन्न । उनले जताततै हात हाल्दा यस्तो देखिएको हो । विधागत रूपमा कुनै न कुनै विधामा लाग्ने हो भने उनले विशिष्टिकृततामा ध्यान दिएमा उनको लेखन भविष्य स्मरणीय, अर्थपूर्ण र चिरस्थायी हुनेछ ।
विश्वप्रेम अधिकारी (पुतलीवजार न.पा.–१२ राङखोला, स्याङ्जा)
"उहाँ अत्यन्तै क्रियाशील लेखक हो"
उहाँ अत्यन्तै क्रियाशील लेखक हो । हरेक विधा (खण्डकाव्य, महाकाव्य, कविता, गजल, मुक्तक, आख्यान आदि) मा लेख्नुहुन्छ । उहाँ कृषि वैज्ञानिक र माटो विशेषज्ञको रूपमा चिनिने व्यक्तित्व हो । सेवानिवृत्त उपसचिव हुनुहुन्छ । तर लेखनको स्तर भने सतही छ । उहाँमा मिजासपन छ । उहाँ लोकप्रिय हुनुहुन्छ स्वभावमा । कार्यक्रममा बोलाउदा उहाँ सरल सहज रूपमा निमन्त्रणा स्वीकार्नुहुन्छ । स्याङ्जामा स्याङ्जा साहित्य प्रतिष्ठान र ज्याग्दी साहित्य प्रतिष्ठानका हरेक कार्यक्रममा यथासम्भव उपस्थित हुनुहुन्छ नै । एकदम फुर्मान भएर नै आउनुहुन्छ । जे होस् उहाँ राम्रै व्यक्तित्व भएको मान्छे हो ।
विष्णु तिवारी 'उषा' (चितवन)
"उहाँको विचारमै स्वच्छपन छ"
साहित्यमा ठूलो योगदान छ उहाँको । मैले नै उहाँलाई साहित्यमा लागिपरेको देखेको २०–२२ वर्ष भइसक्यो । शायद उहाँ मैले देख्नुभन्दा धेरै अघिबाट यस क्षेत्रमा लाग्नु भएको होला । कृतिहरू विभिन्न विधामा धेरै लेख्नु छाप्नुभएको छ । कृतिहरू मैले ४–५ बटा पढेकी छु । फुटकरदेखि वृहत् स्तरका रचना उहाँका छन् विषयवस्तुका हिसाबले कृषिबाहेक अन्यमा प्रेम नै छ जस्तो लाग्छ । श्रृङ्गारिकता र समसामयिकतामा बढी लेख्नुहुन्छ । मलाई प्रथम प्रोत्साहन गर्ने व्यक्ति उहाँ नै हो । उहाँको संस्थाले मलाई सम्मान पनि गरेको छ । जे होस् कलालाई चिनेर पारख गर्नुहुन्छ । स्वभाव पनि राम्रो छ उहाँको । कृति सबै पठनीय छन् । स्तरीय छन् । राम्रै लेख्नुहुन्छ उहाँ । लेखनमा राम्रै भएकाले सफल मान्छु म । उहाँ एकदमै सम्मान गर्नुपर्ने व्यक्तित्व हो तर उहाँ ओझेलमै परेको स्रष्टा हो । राज्यले यस्ता व्यक्तित्वलाई चिन्दैन । सम्मानित हुन गुट राजनीति र अनेक प्रपञ्च रचिन्छ । त्यसकारण सदानन्द जस्ता स्वच्छ मान्छेले यथोचित सम्मान पाउन सक्दैनन् । कला पक्षमा कुनै शंका छैन उहाँको । उहाँ झण्डा बोकेर वकातल गर्दै हिँड्नुहुन्न । उहाँ समाजसेवी भावले ओतप्रोत हुनुहुन्छ । उहाँमा आग्रह पूर्वाग्रह र गुट उपगुट नभएकाले जो–त्योबाट उहाँमाथि नजर नपुगेको हुनुसक्छ भन्ने मलाई लाग्छ । उहाँले अरूलाई सम्मान गर्दा राजनीति कहिल्यै हेर्नुहुन्न । उहाँको विचारमै स्वच्छपन छ ।
विष्णु लामिछाने (कावासोती, नवलपुर)
"सदानन्द तन्नेरी जोसजाँगर भएको व्यक्तित्वहुनुहुन्छ ।"
साहित्यकार सदानन्द अभागी नवलपुरका चर्चित साहित्यकार हुनुहुन्छ । नेपाली माटोलाईहृदयदेखि नै माया गर्ने उहाँ नेपाली मनको भावना सुसेल्ने साहित्यकार हुनुहुन्छ । मानिस शरीरले प्रौढ वृद्ध हुन्छ, ज्ञानले पनि त्यस्तै तर विचारले तन्नेरी रहन सक्दछ । मनले बैशालु वर्तमान लिन सक्दछन् । जीवनमा सार्थक आँगन खोज्नेहरू सदैब तन्नेरी रहिरहन सक्छन् । अनि जीवनलाई भोगविलास र ऐयासी वृत्तिमा लगाउनेहरू पनि शरीरले वृद्ध तर रोमान्सले तन्नेरी वयलाई लिइरहन सक्छन। सदानन्द तन्नेरी जोस जागर भएको व्यक्तित्वहुनुहुन्छ । अथक साधना उहाँको पहिचान हो ।
शान्ति अधिकारी पोखरेल (बाँके, कोहलपुर न.पा.–२०)
"नवोदितदेखि स्थापित सम्मका श्रष्टाहरूलाई सम्मान गर्नुहुन्छ"
उहाँ एकदम सरल मान्छे हो । नवोदितदखि स्थापित सम्मका श्रष्टाहरूलाई सम्मान गर्नुहुन्छ । सम्मानपूर्वक व्यवहार गर्नुहुन्छ । चितवनमा जादा नै उहाँसँग भेट भएको हो । पल्लवको कार्यक्रममा धेरै पटक भेट्ने बोल्ने अवसर त मैले पाएकी छैन । मेरो पुस्तकको पनि एउटा समीक्षा लेख्नु भएको छ । उहाँलाई सिर्जना गर्न र समीक्षा गर्नलाई उमेरले छेकेको छैन । उहाँ निरन्तर लाग्ने मान्छे । सरल स्वभावको लगनशील मान्छे । साहित्यप्रति अत्यन्तै मोह भएको व्यक्ति हो उहाँ । उमेरले वृद्व भएर पनि प्रेरणा दिने उत्साह भर्दिने सुझावहरू दिने फोन नम्बर पाए सम्म फोन गरेर सुझाव र प्रतिक्रया दिने व्यक्तिको रूपमा चिनिनुहुन्छ । कोही केही क्षण प्रशंसा गरेर पछि चिन्दै नचिनेको व्यवहार गर्छन् तर उहाँको त्यस्तो केहीँ भेटिन्न त्यस्तो नराम्रो व्यवहार छ भन्ने चिनेका मध्येले कसैले यस विषयमा उहाँप्रति टिप्पणी गर्दैनन् । संस्थाप्रति पनि उहाँ समर्पित व्यक्तित्व हो । साहित्यभित्र लगन, मिहिनेत र परिश्रम गर्न भन्दा पनि चाकडी चाप्लुसी अस्वस्थ प्रतिस्पर्धा गर्ने साहित्यकारहरूको हुलबाट अलग रहेर अभागीज्यूले आफ्नो लेखनमा निरन्तरता दिइरहनुभएकोछ ।
शान्तिनारायण श्रेष्ठ (पर्वत, कुस्मा)
"सबै इष्टमित्र भेट्ने उहाँको स्वभाव हो ।"
उहाँका थुप्रै कृति प्रकाशित छन् । लेख्नमा निकै रहर र चासो राख्ने मान्छे हुनुहुन्छ । राम्रै छ उहाँको । मैले उहाँको दुई कृर्तिहरू पढन् पाएको छु । पर्वतमा आउँदा भेटघाट हुन्छ । सबै इष्टमित्र भेट्ने उहाँको स्वभाव हो । उहाँको सामाजिक लोकप्रियता राम्रै छ । बेलामौकामा फोन गर्ने आउँदा नभेटी नजाने र साधारण कुराकानी गर्ने उहाँको बानी छ । कृषिमा सेवारत छदा कृषि विषयमा धेरै लेख्नु भयो । पछि साहित्यिक विभिन्न विधामा कलम चलाउदै जानुभयो । सामाजिक रूपमा राम्रै कृति लेख्नुभएको छ । हाम्रोबीचमा भेटघाट हुदाँ कृति आदानप्रदान पनि हुने गर्छ । उहाँ साथीभाइबीचमा मिलनसार सहयोगी मान्छे हो ।
श्यामप्रसाद न्यौपाने (सुनवल–१२, भुमही)
"कृषि क्षेत्रमा प्रसिद्वि कमाएका व्यक्तित्व ठान्दछु ।"
सदानन्द सामान्य लेखनस्तर भएको व्यक्तित्व हो । साहित्यमा सतही लेखन भए पनि कृषि क्षेत्रमा प्रसिद्धि कमाएका व्यक्तित्व ठान्दछु । लेख्नलाई त निकै खट्ने रहर गर्ने मान्छे हो उहाँ । लेखिरहन मन गर्ने हुनाले संख्यात्मक लेखनमा उहाँको जोड रहेको देखिन्छ । गुणात्मकतालाई ख्याल गर्दै विशिष्टकृत विधा अँगालेर अघि बढ्नसके नै उहाँको कर्म गराइको अर्थ रहने म ठान्दछु । कृषि विज्ञान पढेको, औपचारिक साहित्य नपढेको कारण यो क्षेत्र परिपक्व नबनेको हो कि ?
सरस्वती शर्मा 'जिज्ञासु" (पर्वत)
"सरल, कुशल, सफल, सक्षम, मृदुभाषी साहित्यकार"
उहाँ पर्वत जिल्लाको शंखरपोखरी जन्मेर लामो समय कृषि माटो विज्ञ भएर काम गर्नुभयो । विकास केन्द्रको प्रमुख पनि हो । हाम्रै अफिसको हाकिम पनि हुनुभयो । म उहाँलाई एकदमै राम्रोसँग चिन्दछु । उहाँको हाम्रो एउटै गाउँ हो । माधुरी साहित्य प्रतिष्ठान २०५९ गठन गरेपछि त्यसको उहाँ सदस्य हुनुभयो । मेरो आदरणीय दाइ पनि हो उहाँ । दाइको साथी समेत हो उहाँ । उहाँ एकदमै राम्रो लेखक हो । स्पष्टवक्ता हो । जति लेख्नुभएको छ प्रकाशन गर्ने संस्था नपाएर आफ्नै खर्चमा कभरिङ राम्रो नहुने कभर देख्दा बाहिर झल्लक नहुने भएपनि कृति छपाइरहनु भएको छ । यो उमेरमा पनि अनवरत अविछिन्न रूपमा अघि बढिरहनुभएको छ । नेपाली साहित्यमा मात्र नभई देशबाहिर साहित्यमा पिन ईट्टा थप्ने काम गरीरहनु भएको छ । यो अत्यन्तै सराहनीय पक्ष र नेपाली साहित्यको लागि खुसीको कुरा हो । उहाँको प्रचार प्रसारमा कमी भएर मात्र हो । सम्मान पुरस्कार धेरै ठाँउबाट पाउनुपर्ने असल र एकदमै राम्रो मान्छे हो । उहाँ एकदम स्वच्छ छवि भएको मान्छे हो । उहाँलाई कुनै गुट उपगुटमा लाग्नुछैन, कहिल्यै लाग्नुहुन्न । साहित्यमा पनि गुटगत कार्यक्रम कहिल्यै गर्नुभएन, गर्नुहुन्न पनि यथार्थमा उहाँ स्वच्छ लेखक हो । उहाँ असाध्यै लेखनमा मरिमेट्ने मान्छे हो । किताब भेटेसम्म प्रायःको समीक्षा गर्नुहुन्छ । धेरै लामा लामा समीक्षा लेख्नु हुन्छ । धेरै लामो लामो लेख्दा कही गल्ती त्रुटि हुनसक्छ । यसमा उहाँले सावधानी अपनाउन आवश्यक छ । सामाजिक रूपमा उहाँ सरल, कुशल, सफल, सक्षम, मृदुभाषी साहित्यकारको रूपमा मैले चिनेकी छु । उहाँ प्रमोट गर्नुपर्ने मान्छे हो । उहाँप्रति पुरस्कार सम्मान जे गर्दा पनि हाम्रो गौरव बढ्छ र हाम्रो शिर उचो हुन्छ । उहाँ असाध्यै मिलनसार साहित्यकार हो । यस्ता मान्छे समाजमा कमै पाइन्छन् ।
सुदेश सत्याल तनहुँ
"उहाँले प्रायः सबै विधामा लेख्नुभएको छ ।"
सदानन्द अभागीले नेतृत्व गर्ने साहित्य संस्था लक्ष्मी साहित्यिक प्रतिष्ठानमा केही वर्ष अघि २–३ पटक कार्यक्रमका लागि गएको छु । पुस्तकहरू धेरै आएका छन् । लेखन ठीकै छ । उहाँको लेखन जेजस्तो भए पनि निरन्तर रूपमा लेखिरहनु हुन्छ । पाठकलाई ठ्याक्कै प्रभाव पार्ने विधा उहाँको कुन हो त्यसमा म अनविज्ञ छु । निरन्तर लेखिरहने समर्पित व्यक्तित्वको रूपमा मैले उहाँलाई चिनेको छु । उहाँको लेखनविधाको मूल्याङ्कनलाई औसत रूपमा नै राख्छु ।
सुन्दरप्रसाद जोशी 'बादल" (पर्वत, कुस्मा –४, शान्तिटोल)
"उहाँको जीन साहित्यिकमय भएको छ"
शुरूमा हामीले एउटै स्कुलमा पढायौँ। पछि उहाँ सरकारी जागीरे जे.टि. ए. हुनुभयो ।जब उहाँ कृषि पेशामा लाग्नु भयो, कृषि पेशामा रहदा धेरै पुस्तकहरू लेख्नु भयो । निवृत्त भएपछि उहाँको ध्यान साहित्यिक सिर्जना र कृति प्रकाशन तर्फ रह्यो । उहाँको जीन साहित्यिकमय भएको छ । उहाँ जागीरे जीवनमा विभिन्न जिल्लामा बस्नुभयो । जागीरकै सिलसिलामा सामजिक उन्नति, परिवर्तन र विकासका काम गर्नुभयो । अहिले निवृत्त जीवनमा पनि नवलपुर बसेर समाज उत्थानको लागि लागिपरेको पाइन्छ । उहाँ सामाजिक सेवक भएर समाजसुधारका काम गरीरहनु भएको छ । पर्वत आउँदा मलाई पनि भेटघाट गरी बसेर छलफल नगरेसम्म उहँको चित्त बुझदैन । उहाँको अनुकरणीय कर्म प्रेरणादायी छ ।
हुसैन खाँ (चितवन)
"मान्छे पनि राम्रो स्वाभाव पनि राम्रो । लेखन पनि राम्रै छ "
मान्छे पनि राम्रो स्वाभाव पनि राम्रो । लेखन पनि राम्रै छ । प्रायः कृषिसम्बन्धी किताबहरू धेरै लेख्नु भएको छ । सम्पूर्ण लेखनसँग त म परिचित छैन । बेलाबेलामा भेटको व्यवहार पनि राम्रै हुन्छ उहाँको । उहाँको गजल लेखन लोकलयमा छ । बहरमा छैन । समीक्षा पनि लेख्नुहुन्छ । अरू विधामा पनि कलम चलाएकै हुनुहुन्छ । मैले उहाँको लेखन जति पढेको छु त्यस आधारमा उहाँ ठीकै व्यक्ति हो, भन्ने लाग्दछ । उहाँको जोस जाँगरलाई सम्मान गर्नै पर्दछ । इमान्दारिता र लगाव विशेष पहिचान हो अर्काेतर्फ माटो नै जीवन हो उहाँको ।
होम सुवेदी ( भद्रशिवा टोल, भद्रपुर नगरपालिका ८, झापा)
"सदानन्दजीलाई जे बुझेँ त्यही लेखेँ"
आजको दूरसञ्चारको युग हो । यस युगमा कसै कसैलाई चिन्न जान्न समीपमै हुनु नपर्ने भएको छ । आजको युगमा मान्छेसँग मान्छेको परिचयका लागि नजिक हुनुपर्ने भएन । अनेक साधनहरू हाम्रासामु यत्रतत्र छन् । तिनको प्रयोग गर्नु नगर्नु बेग्लै कुरा भयो । म भने तिनको धेरै अघिदेखि प्रयोग गरीआएको छु । यिनै साधनहरूबाट सशरीर एवम् सम्मुख नपरिकन चिनाजानी र घनिष्टता भएका मेरा साथीहरू निकै हुनुहुन्छ । छन्दसारथि कविवर रमेश खकुरेलसँग अमेरिकैमा छँदा मेरो परिचय भएको हो । तर देखादेख भएको भने भर्खर एक दुई वर्षअघिदेखि मात्र । यस्ता मित्रहरू आदरणीय व्यक्तित्वहरू निकै हुनुहुन्छ । यिनै साधनहरूबाट मेरो परिचय हुन पुग्नु भएका आदरणीय मित्रहरूका सूचीमा सदानन्द रिजालजी पनि एक हुनुहुन्छ । उहाँ आफूलाई अभागी भन्नुहुन्छ । किन अभागी भन्नुहुन्छ आफूलाई यसको कारण के थियो त्यो सोधिएको पनि छैन । उहाँसँग कहिले कहाँ कसरी चिनाजानी भयो मलाई केही पनि हेक्का छैन अहिले । ऊ बेलाको लुम्बिनी अञ्चलको गैँडाकोटका र तथाकथित गणतन्त्र नामक वस्तु कसैले दिएपछि गण्डकी प्रदेश भनिएको स्थानका निवासी अभागीजीलाई मैले भने भाग्यशाली नै मानेको छु । मित्र राम ज्ञवालीजी पनि यस्तै दूरस्थ भएर पनि मित्र हुन पुग्नुभो पाल्पाबाट । न देखादेख छ न त भेटाभेटी नै । तर उहाँ पनि घनिष्ट मित्रमा पर्नुभो । उहाँकै अनुरोधमा अभागीबारे सानो मन्तव्य लेख्नु छ । अब के लेख्ने त हँ ?
मैले जे जानेको छु जे बुझेको छु त्यही नै लेख्ने नि । मैले अठोट गरेँ र कम्पुटरमा बसेँ । अझ सन्देह भो । के लेख्ने । उत्तर आफैँ आयो उहाँलाई म जसरी चिन्दछु त्यसरी नै उहाँका बारेमा केही लेख्छु ।
आज हामी घनिष्ट छौँ । हाम्राबीचमा कुराकानी वा बोलीचाली चलिरहन्छ । अभागीसँग मेरो कसरी परिचय भयो कसरी घनिष्टता बढ्यो यो कुरा केही थाहा छैन । यति अवश्य थाहा छ उहाँको र मेरो क्षेत्र एकै हो । उहाँ पनि साहित्यमा देखिनु हुन्छ सिर्जनामा देखिनु हुन्छ र समीक्षाहरूमा देखिनुहुन्छ म पनि यसै फाँटको व्यक्ति परेँ । यसैले उहाँको पाठकका हैसियतबाट मैले उहाँलाई चिनेको हुनुपर्छ । कुमार सिंखडाज्यूद्वारा चलाउनु भएको विद्युतीय साहित्यिक पत्रिकाको नाम मझेरी डट कम हो । आफ्ना रचनाहरू प्रकाशन गर्न सम्पादक नामक झत्तेहरूको सेवा गर्नु भन्दा यस्तै विद्युतीय साधनमा सजिलो हुने हुनाले म मझेरीमा निरन्तर आफ्ना रचनाहरू प्रेषण गरीआएको छु लगभग आठ दस वर्षदेखि । त्यहाँ रचना प्रेषण गर्नेमध्ये सदानन्दजी पनि एक हुनुहुन्छ । उहाँका रचनाको पाठक यसैकारण हुन पुगियो । उहाँ पनि यसै विद्युतीय साधनमा प्रकाशित मेरा रचनाको पाठक हुनुभएको छ ।
सदानन्दजीका साहित्यिक रचनाहरूमा कथा कविता निबन्ध र समीक्षाहरूको पाठक हुँ म । उहाँका माथि भनिएका विधाहरू भेटेसम्म पढ्ने पाठक र यथासम्भव प्रतिक्रियासेमत दिने व्यक्ति म हुँ । वास्तवमा सदानन्दजीमा वाङ्मयको साहित्य र साहित्येतर विषयमा कलम चलाउने क्षमता छ ।
जनजीवन देखिएका भोगिएका अनुभव र तीतापिरा अनुभूतिहरूमाथि उहाँको कलम चलेको देखिन्छ । कथा कविता र अन्य सिर्जनाहरूमा उहाँ मसिनो चालले विश्लेषण गर्दै यथार्थको गहिराइसम्म पुगेको देखिनुहुन्छ । उहाँ यदाकदा कविता कथा बाहेक गजलमा पनि कलम चलाउनु हुन्छ । मुक्तबहरमा उहाँका केही गजलहरू मैले पढेको छु । जसमा निकै परिपाठ पारेर पदहरूलाई खिप्नुहुन्छ । गजलका लागि यसो हुनु पनि पर्छ । यद्यपि सदानन्दजीको क्षेत्र भनेको गजल हैन तापनि समय स्थिति र अवस्थाको मागबाट उहाँ मात्र कहाँ पछि पर्नुहुन्थ्यो र ।
विशेष गरेर सदानन्दजीलाई साहित्यको सिर्जना र समीक्षाका क्षेत्रमा आफ्नो परिचय बनाएको एक सात्विक साहित्यकारका रूपमा मैले हेरेको छु । साथै उहाँलाई रसग्राही सर्जक र भावकका रूपमा पनि लिन सकिने मैले पाएको छु । कृतिको प्रभावपरक समीक्षा गर्ने र आफ्नो ब्रह्मले देखेको कुरा अभिव्यक्त गर्ने समीक्षकका रूपमा पनि उहाँको मूल्याङ्कन हुने देखिएको छ ।
भाषामा शुद्धता, कथनमा स्पष्टता र विचारमा दृढताका साथ सृजना गरीरहनु र अध्ययन गरेर कृतिहरूको रसास्वादन गरीरहनु भएका सदानन्दजीका अझ स्तरीय रचनाहरू आउनेछन् भन्ने शुभभावका साथ मेरा भनाइलाई विश्राम दिन्छु ।
७.३ देशबाहिर बस्ने लेखक, साहित्यकारहरूको सदानन्द प्रतिको बुझाइ
गंगा लिगल (अमेरिका)
"सशक्त कलम चलाउने प्रतिभाशाली साहित्यकार"
आदरणीय दाजु सदानन्द अभागी एक विद्वत व्यक्तिको नाम हो । उहाँ साहित्यका एक उज्ज्वल प्रकाश हुनुहुन्छ भन्न केही अत्युक्ति नहोला । साहित्य क्षेत्रमा उहाँको महत्त्वपूर्ण दखल छ भन्ने कुरा उहाँका कृति मात्र नभएर अरू साहित्यकारका विविध विषयमा गर्नुभएको समीक्षा समालोचनाबाट प्रष्ट हुन्छ । उहाँले मेरा १० कृतिका समालोचना यति मीठो र अत्यन्तै ओजपूर्ण तरिकाले गर्न सफल हुनुभएको छ, म अति प्रभावित छु । मान्नुपर्छ उहाँ एक सशक्त कलम चलाउने प्रतिभाशाली साहित्यकार हुनुहुन्छ ।
टीका ढुङ्गेल रटन (साङ छलमभाङ पूर्व सिक्किम)
"उहाँका रचनाहरू सिक्किमका पत्रपत्रिकामा प्रकाशित भइरहेका छन् "
सदानन्द अभागी एक वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँसँग सन २०१८ मा दुलियाजान साहित्यिक कार्यक्रममा भेट्ने मौका मिल्यो । साहित्यका विविध विधाहरूलाई अँगाल्दै रसपान गर्दै आउनुभएको देखिन्छ । विविध पत्रपत्रिकामा उहाँका रचनाहरू सिक्किमका पत्रपत्रिकामा प्रकाशित भइरहेका छन् । साहित्यमा कथा कविता गीत गजल मुक्तक समीक्षा आदि विषयवस्तुहरूले सदानन्द अभागीका कृतिहरूको उच्च स्थानमा नाम राख्न सफल हुनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । उहाँले गरेको कामहरूको अवश्य मूल्याङ्कन हुने छ । उमेर निकै पाको भए पनि चालिस वर्षका जवानजस्तो जोसजाँगर देख्दा उहाँबाट प्रेरणा लिनुपर्ने देखिन्छ । यसरी नै साहित्यमा काम गर्ने मन लागिरहोस्् भन्ने शुभकामना व्यक्त गर्दछु ।
देवीमाया सापकोटा (डिगबोई,आसाम)
"उहाँ विशिष्ट स्रष्टा हुनुहुन्छ"
उहाँ एक राम्रो र मिलनसार रूपमा चिनिने व्यक्तित्वहुनुहुन्छ । उहाँको लेखाइहरू पनि राम्रै छ । कृतिहरू भने त्यति धेरै पढेकी हैन । म सँग मात्र १–२ कृतिहरू मात्रै छन् उहँका । उहाँ विशिष्ट स्रष्टा हुनुहुन्छ । लेखनशैली राम्रो छ । लेखन सर्वसाधारणले पनि बुझ्ने खालको छ । उहाँको लेखाइ मलाई धेरै मनपर्छ । उहाँको मुक्तक र लेखहरू पढेकी छु । त्यस आधारमा हेर्दा उहाँको सिर्जना जसले पनि बुझ्न सक्छन । प्रत्येक पङ्क्तिहरूमा ज्ञानहरू रहेका हुन्छन् । ज्ञान सकारात्मक र प्रभावकारी छन् । समीक्षा गहन रूपले लेख्नु भएको छ । मिटिङ वा सभाहरूमा भेट हुँदाखेरि भेटमा हँसिलो देखिने सबैसँग वातचित गर्ने रसिलो व्यवहारको मान्छे हो । उहाँलाई कार्यक्रममा सबैले बोलाउँछन् । एकदम मिलनसार हुनुहुन्छ । उहाँको छोटो प्रतिक्रियाका आधारमा विश्लेषण गर्न सकिन्न यतिले अपुग हुन्छ । जे होस्् उहाँ नमूना साहित्यकार हो ।
भीम धमला (तिनसुकिया, आसाम)
"मेरा प्रत्येक कथाको समीक्षा गरी सकेर मलाई प्रेरणा पनि गर्नु भयो"
. सम्माननीय साहित्यकार समालोचक श्रीमान् सदानन्द अभागी ज्यूमा सादर प्रणाम । कावासोती नगरपालिकाको वडा नं ७ नवलपुर गण्डकी नेपाल निवासी। उहाँसँग आसाम दुलियाजान साहित्य कला मञ्च द्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा साक्षात्कार हुने सौभाग्य प्राप्त भएको थियो गत अंग्रेजी १ः४ः२०१८का दिन।यसै अवसरमा परिचय हुँदै केही आआफ्ना कृति हरूको आदान प्रदान हुँदा मैले पनि मेरो कथा सङ्ग्रह "बिटुलो रगत"उहाँलाई भेटस्वरूप प्रदान गरेको थिएँ । उक्त कथा सङ्ग्रह उहाँले सहश्र स्विकार गर्दै समीक्षा लेखि दिने प्रतिश्रुति पनि दिनु भयो । फलस्वरूप दुई चार महिनाको अन्तरालमा अत्यन्त सुन्दर तरिकाले टन्न टन्न कथा अध्ययन गरी मेरा प्रत्येक कथाको समिक्षा गरी सकेर मोबाइल बाट मलाई प्रेरणा पनि गर्नु भयो। । पढि हेरेँ गदगद भएँ । हरेक कथाको मर्मलाई शब्द शब्दमा सजाएर धेरै मिहिनेत गर्दै लामो समिक्षा लेखिदिनु चानचुने कुरा होइन । अन्तरमनबाटै आभार प्रकट गर्दछु उहाँप्रति।
मेरा कथाहरूले उहाँका कलमबाट न्याय पाउँदा म आफुलाई सौभाग्यशाली ठान्दछु । अस्तु ।
विष्णुमाया विभु (नर्वे)
"म चाहन्छु समाज र राष्ट्रले उहाँको सही मूल्याङ्कन गरोस्"
वरिष्ठ साहित्यकार तथा माटो विशेषज्ञ आदरणीय श्रद्धेय सदानन्द अभागी गुरुको बारेमा दुईचार शब्द बोल्ने मौका दिनुभएकोमा सर्वप्रथमतः हार्दिक आभार प्रकट गर्दछु । हुनत उहाँको बारेमा धेरै बोल्न लेख्न र पढ्न मन छ मलाई । तर अध्ययन र कामको सिलसिलामा प्रवासमा भएको र पारिवारिक जिम्मेवारीका कारण मेरा यी चाहाना अधुरै छन् । आशा छ समयअनुकुल हुदैछ र ती सपना पनि चाँडै पूरा हुनेछन् । म चाहन्छु समाज र राष्ट्रले उहाँको सही मूल्याङ्कन गरोस् र उहाँजस्तो अग्रजको व्यक्तित्व र लेखनीय उच्च कदर होस्् ।
तिनै उच्च व्यक्तित्वका धनी गुरु सदानन्द साहित्य बाटिकामा हुर्केर फुल्ने,फक्रने अवसर पाएको यौटा भाग्यमानी विरूवा हो म पनि । साँच्चै भन्नुपर्दा उहाँजस्तो अति शालीन सरल र भद्र शैलीका व्यक्तित्व जसले नवोदित सर्जक र शिष्यलाई अत्यन्त माया गर्ने, हौसला थप्ने आफ्ना अग्रजदेखि अनुज पुस्तासम्म सबैलाई समान, सरस र साथीको व्यवहार गर्ने अग्रजहरू कमै भेटेकी छु मैले । यसैको यौटा उदाहरण हो की जति बेला म भर्खर सत्र अठार वर्षको अपरिपक्व थिएँ उहाँले स्थापना गर्नुभएको लक्ष्मीस्मृति साहित्य समाजको अध्यक्ष बनाएर मलाई साहित्यको सुमार्गमा डो¥याउनुभयो । उहाँको यो योगदान म बाँचुञ्जेल बाँची नै रहनेछ । उपनाम अभागी राखे पनि मुहारमा सँधै मुस्कान उदाइरहने अति सहज र रमाइलो व्यक्तित्वको मालिक उहाँ,व्यक्तित्व जस्तै उहाँका लेखनी पनि सरल, सरस, मीठा र समाज र जीवनका व्यावहारिक पक्षलाई उजागर गर्दै, उपयोगी गर्दै,उपयोगी ज्ञान र जानकारी दिने खालको पाएकी छु मैले । मैले केटाकेटी बेलामा उहाँलाई चिनेदेखि आजसम्म उहाँलाई साहित्यमा सधैँ उस्तै सक्रिय देखि रहेकी छु । मैले पहिलोपल्ट उहाँलाई चिन्दा उहाँ लक्ष्मीस्मृति साहित्य समाजको अध्यक्ष हुनुहुन्थ्यो आज पनि हुनुहुन्छ । निरन्तर लेखिरहनु भएको छ । पछिल्लो समय सामाजिक सञ्जालका माध्यमद्वारा पनि साहित्यमा अझ थप सक्रिय देखिनु भएको छ । जीवनभर नेपाली भाषा साहित्यका खातिर खटिरहने उहाँ जस्तो स्रष्टाको सही मूल्याङ्कन होस्् । उहाँको मार्ग पछ्याउँदै हिडिरहेका शिष्य र आउँदै गरेका लेख्दै गरेका सृजनशील कलमहरूलाई हौसलाको मसी थप्दै जाओस् । मेरो यही इच्छा र अनुरोध छ ।
सुविसुधा आचार्य (हाल अमेरिका)
"सर्जकको कर्तव्य पूरा गर्न सफल हुनुहुछ ।"
निरन्तर लागिरहनु भएको छ ।दलाली, धन र पदको लोभी दानव असुर र राक्षसहरूले स्वच्छ साहित्यिक माहौल खल्बलाई दिए पनि धनको फूर्ति लगाएर धन खर्च गरेर आफूलाई साहित्यकारको पगरी गुत्थाउने व्यक्तिहरू धेरै भेटिए तापनि उहाँ यस्ता फोहरी क्रियाकलापबाट अलग हुनुहुन्छ । सर्जकको कर्तव्य पूरा गर्न सफल हुनुहुछ ।
हिमलाल श्रेष्ठ 'प्रतिक्षा' (हाल अफ्रिका)
"शब्दचयनदेखि विषयवस्तुको चमन लेखनमा निखरता र प्रशंसनीय छ ।"
'सर्वे भवन्तु सुखिनम सर्वे सन्तु निरामया ।
सर्वे भद्राणि पश्यन्त मा कश्चित दुःख भागभवेत् ।'
साहित्यमा एउटा आफ्नै अलग पहिचान दर्ज गर्न सफल व्यक्तित्व सदानन्दज्यूमा साहित्यिक नमन । आसा अझै प्रगतिको कामना गर्दछु । कथा, कविता, गजल र मुक्तक जस्ता विभिन्न विधामा आफ्नै व्यक्तिगत तवरबाट धेरै कृतिहरू निकाली सक्नु भएका सदानन्दज्यूको साहित्यप्रतिको लगाव, लगन त्याग निरन्तर प्रयासको लागि दुई शब्द नलेखी, नभनी अथवा हात बाँधेर बसिरहन यो मन पटक्कै मानेन । उहाँको लेखनमा शब्दचयनदेखि विषयवस्तुको चयन लेखनमा निखारता उत्तिकै प्रशंसनीय रहेको कुरा नकार्न सकिदैन र आज यो उमेरमा आएर पनि साहित्यलाई उत्तिकै माया गरीरहँदा हामी जस्ता अनुजहरूको लागि छुट्टै उर्जा प्रदान गर्नुभएको कुरा पनि जानकारी गराउँछु । हुन त म जस्तो बबुरोले उहाँको बारेमा जतिलेखे पनि पर्याप्त हुदैन । तापनि यतिसम्म भनेँ, लेखेँ ।कमजोरी भए क्षमायाचना गर्दछु ।

No comments:
Post a Comment