May 8, 2022

४.६. सदानन्द अभागीका कथाहरू–

हालसम्म चारओटा कथासङ्ग्रह लेखेर सदानन्द अभागीले आपूmलाई कथाकारको रूपमा परिचय दिएका छन् । पश्चातापको आँसु(कथासङ्ग्रह(२०५८), परिवर्तन(कथासङ्ग्रह) २०६३, भुटानी शरणार्थीको व्यथा कथा (२०६३) र बालुवाको घर(२०६९)गरी चारओटा कथासङ्ग्रह साहित्य क्षेत्रमा आइसकेका छन् ।
४.६.१.पश्चातापको आँसु
यस कथासङ्ग्रहमा बाह्रओटा कथाहरू समावेस गरिएका छन् । पहिलो कथा पश्चातापको आँसु हो । देवचुलीको फेदीमा देवगिरीको जन्म हुन्छ । मध्यम वर्गीय भएकालेबालककालमै ऊ विदेशिन्छ । भारतमा गएर भात पकाउने र भाँडा माझ्ने काममा लाग्छ । दुईचार पैसा कमाएको आमाबाबुलाई पठाउँछ । ऊ ठूलो हुँदै जान्छ र चौकीदारमा परिणत हुन्छ । पैसा कमाएर घर आउँछ । बालककालकी साहिलीसँग खेलेको र उसकी आमाले झ्याउरे मरन्च्यासे भनेर गाली गरेको र छोरीको साथमा हिड्दा छोरीको भाग्य बिग्रन्छ भन्ने सुन्दा उसलाई नरमाइलो लाग्थ्यो । साहिलीकी आमाले देवगिरीलाई छोरी दिन चाहन्छिन् । साहिली र देवगिरीको विवाह हुन्छ । देवगिरी मुग्लान जानेआउने गर्छ । साहिलीले छोरीछोरी जन्माउँछिन् । पाँचौं गर्भको जन्म दिने समयमा उनकोमृत्यु हुन्छ । देवगिरीले अर्को विवाह गर्दछ र ती छोरीहरूको विवाह जेजस्तो आउँछ त्यसैलाई दिन्छ । चार बहिनी त भाग्यले गर्दा राम्रै ठाउँमा पुग्छन । कान्छी भने एउटा पागल र निकै गरीब केटासँग पर्छिन् । तीज आउँछ सम्पन्नतामा भएका छोरी माइत आउँदैनन् र बाबुको वास्ता गर्दैनन् तर कान्छी छोरीलाई बाबु लिन जान्छ । उनले बाबुको आदर गर्छिन् । छिमेकमा गएर काम गर्ने सर्तमा सामान जुटाएर बाबुलाई खाना खुवाउँछिन् र माइत जान्छिन् । तीजमा देवगिरीले कान्छी छोरीमाथि गरेको अन्याय र भावी जीवनको अवस्थालाई सम्झदै उनी पश्चताप गर्दै रुन थाल्छन् । कान्छी छोरीले आमाले छोरीको सम्झनाको लागि राखेको एउटा रुमाल रहेछ त्यसैले बाबुको आँसु पुस्छिन् । कथा मार्मिक छ । सम्पन्नता र विपन्नतामा अन्तर,सौताने परिवारमा देखिने विभेदलाई कथाले प्रष्ट पारेको छ ।
फ्याकसाइट र खरानीको यन्थस–
यो शीर्षकको अर्थ नेपाली अंग्रेजी शब्दकोशमा पाइदैन । २०३८ सालको कुरा सरकारी वकिल थापा र सहायक कृषि विकास अधिकृत रिजाल काठमाडौँ जाने क्रममा  थापाजीले रिजाललाई फ्याकसाइट ल्याइदिने अनुरोध गरे । दुबै जना अलग भएपछि रिजाल काठमाडौँ जान्छ र सरकारी काम सिध्याएपछि फ्याकसाइट किन्न जान्छ । काठमाडौँमा नपाएपछि नेपालगञ्जमा खोज्छन् उसले पाउँदैन र शाहीजी लेखाका अधिकृतसँग रिजालले शोधछन् । शाहीजीले यो कहीं पाइँदैन खरानीको यन्थस ल्याइदिएको भन्नु थापाजीले बुझ्नुहुन्छ । यसको अर्थ बुझ्न खोज्दा शाहीजीले  यसकोपछि नलाग्न अनुरोध गर्छन् । यो शब्द सम्झेर रिजालले एक्लै हाँस्ने गर्छु भन्दै कथा समाप्त हुन्छ ।
परिवर्तन–
समाजका विविध घटनालाई लिएर भूमिका बाँध्र्दै एउटा घरका श्रीमानलाईश्रीमतीले तीखा वाँणले कोपिरहने यथार्थतालाई लिएर कथा बनाइएको छ । नायिकाको नाम उजेली छ । उनको चिडचिडे बानी उनको आमाबाट सिक्दै आएकोमा यस सम्बन्धमा एउटा विद्वान साथीले उजेलीलाई सम्झाउँछ तर उजेलीले ग्रहण गर्न समय लाग्छ तर विद्वान मित्र आफ्नो यो काममा सफल हुन्छन् ।उजेली नाम भए पनि व्यवहार अंधेरी थियो । त्यो अधेरोलाईविद्वत्तामार्फत् चन्द्रमाको प्रकाश जस्तै प्रकाशमा परिणत गरिन्छ । हिजो सधैँ झगडाले गर्दा नर्क समानको घर पछि आएर मन्दिरमा परिवर्तन हुन्छ भन्ने धारणा आएको छ कथामा ।
नरमायाको विवाह–
आमाबाबाको मरण भइसकेको हुन्छ । जंगे, जंगेकी पत्नी पुष्पा र नरमाया तीन सदस्य, सबै आनन्दको साथमा गृहस्थी गरेर रमाएर बसेका हुन्छन् । नरमायालाई दाजु र भाउजूले निकै माया गर्नु,नरमाया बढ्दै जानु, विवाहको समय आउनु, कमललगायतका युवाहरू विवाहको लागि जंगेसँग माग्न आउनु, तर जंगेले विवाहमा चाख नदेखाउनु बरु दाजु भाउजूबाट ऊ तिरस्कृत हुँदै जानु, भाउजूले हरेक काममा दोष दिंदै जानु यी कर्मको साथै कमलले नरमायाको शीलस्वभाव, रूप र कमाइबाट प्रभावित भएर "आफ्नो भावनामा जोड्न देऊ" भनेको नरमायाले सम्झनु, बाबुआमाको सम्पत्तिमा दाजु रमाउने र बहिनीको विवाहमा एक सुका खर्च गर्न नचाहेकोमा पैतृक सम्पत्ति सबैमा बाडिन पर्ने नत्र भने सरकारको जिम्मा जानुपर्ने भावना नरमायामा पलाउनु, जनै पूर्णिमाको दिनमा घाँसको भारी बिसाएर नरमाया चौतारीमा बसिरहेको अवस्थामा कमल मामा घर आउँदा चौतारीमा बिश्राम लिँदा, कमलले नरमायाको हात माग्छ । नरमायाले पनि "यी वर पिपल साक्षी छन् भोलि मलाई धोका भएमा यी नबोल्न सक्छन् तर पवित्र स्थिर यिनको छायाले भने सबैलाईशीतलता प्रदान गरेको हुन्छ । सत्यताको धरातलमा यिनको पवित्रता नै अडिग र महान्हुन्छ । यो अडिग र पवित्रता नै मेरो तन मन हो, जो तपाईँ मबाट पाउँदै हुनुहुन्छ । पवित्र स्थिर छाँयाको शीतलता तपाईँबाट पाउने विश्वास राख्दै म र मेरो सर्वस्व अर्पण गरेकी छु भन्ने वचनका साथ कमलको हातमा आफ्नो हात समर्पित गर्दछिन् ।" सामाजिक मान्यताको लागि दुबै अदालतमा जानु, विवाह गर्नु र घरमा कमलकी आमाले छोरा बुहारीको स्वागतको लागि सबैलाई बोलाएर वैदिक परम्पराअनुसार कमलकी आमाले छोरा बुहारीलाई अंकमाल गर्दछिन्, सबैले ताली बजाएर स्वागत गर्दछन् । कथा समाप्त हुन्छ ।
जगत्राम–
गजतराम एउटा कार्यालयको सुब्बा, सज्जन, निकै खटेर काम गर्ने, दिनभरिको थकाइपछि पूmलमाया र धनमायाको होटेलमा नास्ता गर्न जाने, धनमाया दुई छोराकी आमा,अति सज्जन, व्यापारमा पनि इमान्दार, ग्राहकलाई आदर गर्थिन् तर उनको श्रीमान मलेसियामा काम गर्न गएका, भिसा सकिएर जेलमा परेका थिए । पूmलमाया कन्या, उनी ग्राहकसँग बसेर मासु र वियर खाने, सकेसम्म ग्राहकको पकेट नै खाली बनाइदिने तर आफ्नो अस्तित्त्व भने जोगाएर राख्ने । सुब्बा साहवले आफ्नो तलब यिनै दुई होटेलमा नास्तापानीमै खर्च गर्ने, एकदिन सुब्बा साहेवलाई आफ्नो घर, बाबुआमा र श्रीमतीको अवस्था, आपूmले पढ्दाको घटनाक्रमलाई स्मरण गर्नु, उसले आफ्नो घरपरिवार र समाजप्रतिको दायित्व आदि स्मरण गर्दै सुत्नु, बिहान ढोकामा आवाज आउनु र ढोका खोल्दा ढोकासामु बाबु र श्रीमती देख्नु, बाबुले तिम्रो नासो सम्हाल भन्दै बुहारीलाई छोरासँग छाडी फर्कनु ,जगत्रामकी श्रीमतीले बाबुलाई बोलाउनुहोस्् भन्दै मिलनको आँसु झार्नु र जगत्रामलाई बाबु लागेको बाटोतिर पठाउँछिन् ।
रामको प्रेम कथा–
यस कथामा प्रेमसम्बन्धी लामो भूमिका बाँध्दै रामले उजेलीसँग विवाह बन्धनमा बाँधिएको सन्दर्भसहित राम दोहोरी गीत गाउन खप्पिस भएको र दोहोरी गीत गाउन रातिराति हिड्नु, हिड्दाहिड्दै सीतासँग प्रेममा फस्नु र विवाहबन्धनले जेलिनु, दुबै विवाहित भएकाले, एउटा श्रीमतीविहीन हुनु, उजेलीलाई सौता थपिनु, छोराछोरी जन्मनु, पतिपत्नीबीचको तीतोमैलो सौतासौताबीचको झगडा,स्वर्गजस्तो घर नर्कमा परिणत हुँदाहुँदै पनि राम फेरि नजिककी विधवासँग सल्कनु र त्यसलाई लिएर गाउँ छोड्नु । रामकी जेठी श्रीमतीले विवाहदेखि दुःख भोग्दाभोग्दै पनि श्रीमानप्रतिको आदरभावमा कहिल्यै कमी आउन नदिनु र कोही भेट भए के छ हाम्रा ठूल्दाईको खवर भनेर शोधनु, माहिली श्रीमतीले बच्चाबच्ची लिएर कष्टमय जीवन विताउनु, कान्छी श्रीमती र रामको जीवन भने सुखमय देखिनु तर अरू सबै अलपत्रै देखिनु, भविष्यको राम कथा कता जानेहो, भविष्यले नै बताउला तर आज आज यत्ति रह्यो रामको प्रेम कथा भन्दै कथा सकिन्छ ।
हलिको छोरो–
यस कथासङ्ग्रहको उत्कृष्ट कथा हो । रामु एउटा हलिको छोरा हो र भगत मालिकको छोरा । भगत र रामु सँगै पढ्ने र खेल्ने गर्थे तर भगतले रामलाईसधैँ पिट्थ्यो र रामु रुन्थ्यो । यो देखेर हलीले छोरालाई भगतलाई धन र बलले जित्न नसके पनि पढाइ र बुद्धिले जित्न सकिन्छ भनेपछि रामुले पढेर भगतलाई जितेरै छाड्ने प्रण गर्दछ । ऊ पढ्दै जान्छ र एसएलसीमा प्रथम स्थान हाँसिल गर्छ । भगतको बाबु पनि हलिको झोपडीमा अविर घस्न र बधाई दिन पुग्छ भने पत्रकारहरूले उसको आगामी वाटो शोधछन् । ऊ डाक्टर बन्ने घोषणा गर्छ यत्रो गरीबीमा कसरी सम्भव भन्ने प्रश्नमा, जसरी एसएलसीमा सम्भव भयो त्यसरी नै भन्ने जवाफ दिन्छ । रामुले ट्युसन पढाएर आफ्नो उच्च शिक्षा हाँसिल गर्न थाल्छ । ऊ नेपाल सरकारको छात्रबृत्तिमा अमेरिका जाने मौका मिल्छ रऊ डाक्टर भएर नेपाल फर्कदा भगत मरणासन्न अवस्थामा वीरहस्पिटलबाट उपचार नहुने भनी घर लाने भनेर बाहिर निकालिएको अवस्थामा रामले आफ्नो बाबुलाई भगतसँग देख्छ र ऊ भगतलाई हेर्न पुग्छ । रामले अस्पतालका सबै प्रतिवेदन हेर्छ र भगतलाई नियाल्छ । उसले हस्पिटलमा पुगेर पुनः भर्ना गर्न अनुरोध गर्छ । यो नयाँ प्रकृतिको बिमार हो उपचार गर्न सकिन्छ भन्दै ऊ पनि उपचारमा जोडिन्छ र भगत निको भएर निस्कन्छ । रामुले पनि आफ्नो बाबु सर्वजितको नाममा सर्वजित उपचार केन्द्र भनेर आफ्नो कामको थालनी गर्छ । भगतले आपूmले गरेको गल्ती महसूस गर्दै माफी माग्न थाल्दा रामुले, "तिमी मेरा बालसखा, तिमीले मलाईसधैँ हलीको छोरा भन्दै पिट्दै गर्ने स्वभाव र मेरो बुबाको महान्विचार जसमा तिमीलाई बुद्धिले, मानले, जित्ने भन्ने सन्देशको प्रेरणाले मलाई डाक्टर बनायो, जसले गर्दा आज मैले तिम्रो जीवनदान दिन पाएँ" भन्दै प्रतिशोध नभई यथार्थतामा कक्षा सहपाठी भएको हुँदा सहयोगी भावना पलाओस् र गरीबको उद्धारमा हामी सबै जुटौँ भन्दै राम र भगत अंकमाल गर्छन् । सर्वजितले ईश्वरलाई धन्यवाद दिन्छ ।
सीता–
रत्नपार्कमा आउनेजाने बदाम खानेको कमी छैन । सीता कसैको प्रतिक्षामा थिइन् । केही अवेर गरेर उनको मान्छे (जीवन) रत्नपार्कको गेटबाट भित्रिन्छ । आज  सीताले जीवनसँग गरेको मोजमजाको नासो समेतको यथार्थता पोख्नु छ ।  सीताले जीवनलाई सबै कुरा राख्छिन् । जीवनले गर्भपतन गराउने र वैवाहिक सम्बन्ध नगाँस्ने कुरा राख्छ । सीताले गर्भपतन नगर्ने र कानुनी प्रयोगमा जाने सीताले जीवनलाई भन्दछिन् । जीवनले निकै धम्काउँछ तर सीता अडिग रहन्छिन् । सीताको छोरा (दीपकमल) र जीवनका छोरा र छोरी(कमला)सँग एउटै स्कुलमा पढ्छन् । जीवनको छोराले तेरो बाबा को हो ? प्रश्न गर्छन् । दीपकमलले निर्धक्क 'जीवन' भन्ने उत्तर दिन्छ । कमलाले भने सबैलाई प्रतिवाद गर्छे र भन्छे– "दीपुदाइ सृष्टिको न्यायको प्रतिमूर्ति हो । ऊ किताबी कानून हैन । कसैले आआफ्ना स्वादका अर्थ लगाएर पढियोस् । तारिख दिने पर्चामा तारिख तोकिदै जाओस् तर सृष्टिको कानुन र वैज्ञानिक कानुनमा दीपकमल जीवनकै एक अंग हो ।" यसरी कमलाले दीपकमलको साथ दिन्छिन् । कमलाले दीपकमललाई आफ्नो जन्मदिनमा निमन्त्रणा गर्दछिन् । कमल सहभागी हुन्छ । कमलाले मेरो प्यारो दाजु भनेर घोषणा गर्दछिन् । दीपकमलले जीवन र कमलाकी आमालाई ढोग्छ र फर्कन्छ । जीवन र जीवनकी श्रीमती हेरेको हे¥यैहुन्छन् । आगन्तुकहरू कोही मुखामुख गर्छन् र कोही अलमल पर्छन् । कमलाको वर्थडेले दीपकलाई पनि आफ्नो जन्मदिन मनाउन मन लाग्यो । उसले आफ्नो झोपडीमा साथीहरू र कमलालाई बोलार्यो । कमलाले दीपकमलको जन्मदिनको उत्सव भव्यरूपमा याक एण्ड यती होटेलमा मनाउने कुरा राख्छिन् । दीपकमल र आमालाई तयार भएर रहने भनी र उनी लिन आइन् । सीता र दीपकमललाई लिएर होटेलमा पुगिन् ।
केक काटिन्छ । कमलाले बाबुआमालाई दाजुलाई आशीर्वाद दिने आग्रह गर्छिन् । सीताले श्रीमानलाई ढोगन्छिन् । सीतालाई सौताले ढोग्दिएपछि एकअर्कामा अंकमाल हुन्छ । दीपकमल र कमलाले ताली बजाएर हाँसिरहेका हुन्छन् । कथा समाप्त हुन्छ ।
कथा मार्मिक छ । एउटी सौताकी छोरीको न्यायपूर्ण कामले गर्दा सीताको जीवनसँग पत्नीको रूपमा मिलन हुन्छ ।  
भैरवनाथको जागीर–
जहिले पनि भैरवनाथ बिहानै अफिस जाने र बेलुका अबेरसम्म अफिसमा काम गर्ने गर्दा अरूले उसलाईशोधछन् । किन यति चाँडै अफिस जानुप¥यो भन्दा उसले अफिसको काम सकिएको छैन भन्दा नेपालमा जागीरेको कामै छैन भन्छन् र सरकारले दरबन्दी कटौती गर्दै छ अरे भन्छन् यो भने अफिस धाएको धाएकैछ । घर गएको पनि देखिदैन । ऊ घरमा विदामा जान्छ । गाउँलेहरूले उसलाई उनका छोराछोरीलाईजागीर खुवाइदे भन्छन् । उसले जागीर खुवाउन नसक्ने जानकारी गराउँदा गाउँलेले विविध कुराहरू काटछन् । कसैले जागीर खुवाउन नसक्ने ठाउँमा भएको, कसैले जागीर खुवाउन नचाहेको र कसैले जागीर खुवाउन र पैसा कमाउन खुवी नभएको आदि कुरा गर्ने गर्छन् । भैरवनाथ अफिस पुग्दा उसका स्टाफहरू पनि गफ गरिरहेका र अफिसमा काम थुप्रिएको पाउँछ पत्रहरूमा तोक लगाउँदै टेलिफोन उठाउँदै गर्दै, सबैलाई यी काम सक्नु भन्दै फायल बोकेर मन्त्रालयतिर जान्छ । कथा समाप्त हुन्छ ।
अपाङ्गको झगडा–
यस कथामा भगवानको सृष्टिमा विभिन्न किसिमका मानिसहरू पाइन्छन् कुनै पनि मानिस बत्तिसै लक्षणले युक्त भएको हुँदैन तर लाटोको बहिराको, भकभकेको बारेमा वर्णन गरिएको दुइओटा भकभके बोका किन्दा भएको झगडा र दुइओटा बहिरामध्ये एउटाले म बहिरो छु भन्दा अरू नसुनी बहिरो सुन्नु आदिमा झगडा भएको रोचक प्रसंङ्ग उठाइएको छ र साथमा भएकाहरूले कुरा मिलाएर धन्यवाद भन्दै हात मिलाएर हिडेको भन्दै कथा समाप्त हुन्छ कथा पढ्दा रोचक लाग्छ । अपाङ्ग सँगको व्यवहार कसरी गर्नुपर्छ भन्ने सन्देश बोकेको छ कथाले ।
उनी रोइदिइन्–
सृष्टिकर्ता भगवानले संसारमा सृष्टि गर्दा सबै मिल्दोजुल्दो पाइँदैन अलगअलग पहिचान दिएको छ भन्दै सचिदानन्द गाउँमा गएर रक्सी पिउन थाले । समय संकटकालको थियो । बाहिर पुलिस र सैनिकको गस्ती थियो । भित्र जड्याहाहरूको मस्ती थियो । यत्तिकैमा बाबुराम होटेलमा गएर ढोका ठटाउन थाले । भित्रबाट ढोका नखोल्ने आवाज आयो तर बाबुरामले सचिदानन्द सरको लागि उनले खाने रक्सी चाहियो भनेपछि होटेलवालीले रक्सी पठाइन् र पैसा पनि नलिई बिहान सरलाई चियाखान पठाइदिनु भन्दै रोइन् । बाबुराम गएर सचिदानन्दलाई खुडे रोई भन्दा सचिदानन्दले रुनपर्ने कारण त केही छैन भन्दै उनको नशा उत्र्यो र सुत्ने कोठातिर लागे । उनले उनीलाई लोग्नेले छाडेर विदेश जाने बेलामा रोइरहेको अवस्थामा छोरा साथमा छ केही गरेर खानु पर्छ भनेर १०००रुपियाँ ऋण दिएका थिए । त्यो पैसा पनि उनले फिर्ता गरिसकेकी थिइन् । बिहान सचिदानन्द उनकोमा चिया खान गए साँच्चिकै उनी रोएकै रहिछन् र स्पेशल चिया बनाएर कुरेरै बसेकी रहिछन् भन्दै कथा समाप्त हुन्छ ।
भूँइफुट्टा झाँक्री–
यो कथा यस कथासङ्ग्रहका अन्तिम कथा हो । उमाकान्तको बाबु झाँक्री काम गर्दथे उमाकान्तलाई पनि सानो बालक झाक्री हुने रहर लाग्छ । बाबासँग ऊ झाँक्री बनाइदिन भन्न डराउँछ । बालककालमै अचानक एक दिन ऊ हेर! हेर! भन्दै उफ्रन थाल्छ । धामीहरू बसेर केरकार गर्छन् अग्नि परीक्षा लिन्छन् र भूइफुटा लामा भनीदन्छन् । अव ऊ झाँक्री(लामा) बन्छ । धामी बस्ने, फुक्ने, आखत हेर्ने, पातीको पात हेर्ने गर्छ । यस समयमा उसको वाकशक्ति निकै शक्तिशाली थियो । सबै किसिमका मानिस उसैसँग आखत हेराउन आउँथे । ऊ बढ्दै जान्छ, पढ्दै जान्छ । योबाट टाढा हुन चाहान्छ । यसलाई ऊ अन्धविश्वास ठान्छ । तर एउटा कुरा के भने मनोवैज्ञानिक उपचारको रूपबाट विमारीको उपचार गर्नुपर्नेमा भने ऊ विश्वास राख्छ । कसैको मस्तिष्कमा बोक्सी लागेको छ भन्ने धारणाले स्थान लिएको छ भने त्यसलाईअरू दवाईले काम गर्दैन, फुक्नै पर्छ । यस कथामा उसले गरेका उपचारको उदाहरण पनि दिएको छ । आजकल ऊ यसकाममा सहभागी छैन आदि विवरण आएको छ कथामा ।

४.६.२ परिवर्तन (कथासङ्ग्रह)
यस कथासङ्ग्रहमा १७ ओटा सामाजिक कथाहरू समावेश गरिएका छन् । खास गरेर यो शीर्षकले नेपालको राजनीतिक परिवर्तनमा घटेका घटना र अवसरवादीले लिएको फायदा, जनताले भोगेका कष्टदायीजीवनलाई समेट्ने प्रयास गरिएको छ ।
परिवतर्नन–
यो पहिलो र यसै शीर्षकबाट यस कथासङ्ग्रहको नामकरणगरिएको छ । भूमिपाल र लक्ष्मीमायाको विवाह हुन्छ । दुबै जनाले बहुदलमा आस्था राख्छन् । ज्यान फालेर बहुदलमा लाग्छन् । जनमतसङ्ग्रहमा पनि पहेंलो चिन्नुले नै विजय हाँसिल गर्छ । देशमा क्रान्ति रोकिदैन । शान्तिमायाले तिम्ल्याहा छोराहरू जन्माउँँछिन् । दूधको लागि मुखियाबाको घरमा गएर ऋण लिनुपर्छ । मुखियाबा र जिम्वालबाहरूले आन्दोलनकारीलाई जेल पठाए पनि मुखियाबाले भने भूमिपाल र लक्ष्मीमायालाई भने जेल पठाएन् । राजनीतिक परिवर्तन हुँदै गए । यी  नै मुखियाबा र जिम्वालबाहरूले नै दुई ठूलापार्टीमा सहभागी भएर यिनकै हालीमुहाली चल्यो । त्यागी कार्यकर्ता तिरस्कृत हुँदै गए ।  भूमिपालका तीन छोरा एउटा इराकमा जान्छ, एक शाही सेनामा र एक माओवादी  सेनमा भर्ना हुन्छन् र जेठाले माहिलालाई र माहिलाले जेठालाई मुठभेडमा मार्छन् । इराकवाला पनि इराकमा ढल्छ । यी सबै घटनाक्रमले गर्दा तीनै जना मारिन्छन्् ।देश शोकाकुल बन्दै जान्छ, नेपाल आमा शान्ति शान्ति शान्ति भनेर रोइरहेकी छिन् भन्दै कथा समाप्त हुन्छ । कथा निकै मार्मिक छ । नेपालमा भएका ३६ सालदेखिको घटनाक्रमलाई समेटिएको छ ।
शान्तिमायाको अधुरो सपना–
गरीबीले सताएका धनवीर मनमायाको एउटा छोरा मनवीर थियो । धनवीर पैसाकमाउन भारततिर लाग्छ । पछि छोरालाई पनि लिएर जान्छ । धनवीर रेलको लिकमा परेर मर्छ । मनवीरले होटेलमा काम गर्न थाल्छ । यसबाट घरव्यवहार नचल्ने देखिएपछि उसले सीप सिक्न थाल्छ । नेपाल आएर विवाह गर्छ । विक्रम टेम्पोको खलासी बन्छ । विदेशमा पैसा कमाउन सकिने भएको कारणबाट ऊ अरबतिर जाने निधो लिन्छ । कुवेतको लागि छानियो । एउटा कम्पनीलाई पैसा ति¥यो । अर्को कम्पनीबाट ऊ उड्यो । कुवेतमा उसलाई भीमकाय ट्रली चलाउन लगाइयो र सकेन भनेर लेवरमा झारियो । इराक पठाउने कुरा भए । इराकको भिसा पनि थिएन । इराक पस्नै लाग्दा अलजजिराको टेलिभिजनले त्यहाँ त १२ जना नेपालीको हत्याको खवर प्रसारण गरिरहेको थियो । जोखिममा ज्यान राखेर मनवीरे जान चाहेन र संघर्ष गरेर नेपाल फर्कन पर्ने भयो । ज्यान जोगाएर नेपाल फर्कन सफल भयो । मनवीरेले काठमाडौँको गल्ली गल्लीमा टेक्सी दौडाइ रहेकोछ । शान्तिमायाको धन कमाउने सपना अधुरो रहेपनि आफ्नो लोग्ने बाँचेर आएकोमा भाग्यमानी सम्झन्छिन्, रमाउँछिन् । साथै आफ्नै देशलाई सबै जुटेर विकासको लागि आह्वान गर्दछिन् ।
मेरो श्रीमान छैनन्–
नवलपरासीमा भएको कारदुर्घटनाको जानकारी गराउँदै विनोदको फोन आएको र कार दुर्घटनामा उसको ठूलीआमा घाइते भएकी र भाइ मरेको घटना सुनेपछि कथाकार विएमवी हस्पिटल पुग्नु, फर्कने अवस्थामा एउटा टेम्पोमा चढ्नु,  चालक महिलासँग कुरा गर्दा उनको श्रीमानले एउटी महिलालाई लिएर बसेको हुन्छ उनले आफ्नोे श्रीमान नभएको गुनासो गर्छिन् । अन्त्यमा यी कारुणिक बार्ताको कर्ममा कथाकारले यस कथालाई "छोराछोरी नभएर बरु अपुताली परोस् तर छोराछोरीको लागि दोस्रो विवाह कसैले नगरोस्"भन्दै कथा समाप्त हुन्छ ।
मातृत्वहीनता–
यो एकजना महिलाको यौन तृप्ततालाई लिएर लेखिएको कथा हो । दुई बच्चाकी आमा एउटा केटासँग दोस्रो विवाह गर्नु र दोस्रो विवाह भएको केटाले ती महिलाले परिवार नियोजन गरेको थाहा पाएपछि तिनलाई छाडेर भागेको कुरा, उनका छोराछोरी उनीसँग आउन नमानेको कुरा, उनको साथीले ती महिलालाई मातृत्वहीनभन्दा कथाकारले आमा कहिल्यै मातृत्वहीन हुँदैनन् भन्ने कुरा छलफल गर्दै यो कथा समाप्त हुन्छ ।
भाँड गाउँकी नक्कली–
यसकथामा तराईँको कुनै जिल्लामा एउटा भाँड गाउँ थियो त्यहाँ एउटी नक्कली बसेकी थिई । उसको विवाह सुकरामसँग भएको थियो । सोझीसाझी नक्कलीले सुकरामसँग विवाह गरेपछि निकै बाठी बन्दै जाँँँँन्छे। अरूलाई मानिसको रूपमा नलिनु, बहुदल आएपछि पार्टीको कार्यकर्तामा सहभागी हुनु, गाउँमा सुकराम काम गर्दा सफल हुनु, श्रीमती पनि सक्षम हुँदै अगाडि बढ्नु जस्ता घटनाहरु अगाडि बढ्छन् । यस्तै यस्तै कर्म गर्दा गाउँलेले दुबैको क्रियाकलापलाई जानकारी पाउँछन् । उनीहरूको नराम्रो कर्तुतबाट अन्त्यमा उनी दुबै समाजमा मुख देखाउन नहुने अवस्था आएपछि त्यो गाउँबाट अन्तै सर्छन् र गाउँमा उनीहरू हिडेपछि शान्ति छाउँछ सबै मिलेर बिकासमा लम्कन्छन् । सुकराम र नक्कलीले बाहिरैबाट हेरेर आपूmले गरेको कुकर्ममा पछुताईरहेका छन् ।
पानको बिँडा–
यो कथा अनमेल विवाहमा सम्बन्धित छ । एउटाबूढो पान दोकानीले एउटी सुन्दर केटीसँग विवाह गरेको थियो । उसका दोकानमा पान खाने मानिसहरूको जमघट हुन्थ्यो । आनन्द राम र दयाराम पनि पान खान त्यतैतिर लागे । दयारामले पानलाई अम्मल नठानी भगवानको प्रसादी सम्झन्थ्यो । पानवालाकी श्रीमतीको वैंश बढ्दै गयो । त्यहाँ युवाहरूले घेरी राखेका हुन्थे । केही दिनपछि साथीहरू भेट हुन्छन् । दयारामले आनन्दरामलाई आँखा त्यतैतिर छन्, हिडी, हिडी ...... भनिरहेका थिए । अनमेल विवाहको नतिजा कथामा आएको छ ।
कागतीको चिया–
सानो दोकानमा एउटी काली आइमाई थिई । माओवादीको कारणले घरमा भएको साराचिज छोडेर यहाँ आएर बस्नु परेको, श्रीमान विदेशमा केटा केटी पढाउने र राम्रोसँग बस्ने भनेर श्रीमानको भनाइले काठमाडौँमा बसेकी र चियाको दोकान चलाएकी, मनवीरेले त्यही चिया खाने गर्दा एकदिन चिया खान जाँदा चिया पाकेको थिएन । मनवीरेका करले एककप चिया त पायो तर उनको निरसिलो पना देखेर मनवीरेले किन निरसिलो भएको भन्दै शोध्दा उनी मुस्काइन र चियाको पैसा पनि लिन मानिनन् । भोलि पल्ट चियाखान जाँदा घरभाडामा छ भनी टाँसिएको थियो । मनवीरे आफ्नै मनमतीकहाँ चियाखान हिड्यो।
सपनाको आनन्द–
"विश्वमा आतङ्कवादको निर्मूलपार्ने धारणा राख्नेहरूले निम्त्याएको थप आतङ्कले शान्तिलाई थप त्रस्त पारेको छ " यी पंक्ति सपनाको आनन्द शीर्षकका  हुन् । यस शीर्षकमा कथाकारले देशको आतङ्कसँग घरको आतङ्क जोडेका छन् । जगत्मानले ईश्वरीलाई विवाह ग¥यो तर उसबाट शान्ति पाउन सकेन । पुनः उसले यो द्वन्द्वको परिणति अर्की श्रीमती बनायो । यसबाट उसको घरमा झनै द्वन्द्व बढायो । यो द्वन्द्वले उसमा मदिरामा लत बसायो । यसको परिणति तेस्रो श्रीमती थपिइन् र द्वन्द्वले झनै उग्ररूप लियो र अन्त्यमा सबै श्रीमतीलाई आफ्नो आफ्नो गरेरखान दियो तव पनि द्वन्द्व घटेन । यिनैद्वन्द्वबाट पिल्सिएको जगत््मान एकरात निदाउँदा सपना देख्छ । सपनामा उसका तीनवटै श्रीमती रातो सारीमा सजिएर वेहुलीजस्तै बनेर उसलाई माझमा राखेर सेवा गरिरहेका थिए । उसले यस्तो आनन्द कहिल्यै पाएको थिएन । चारै जना आनन्दमा रमाउँदै छोराछोरी पढाउनेदेखि लिएर रङ्गीन टिभी किन्ने, घरको वरिपरि सुन्दर बगैँचा बनाउने, मौरी पालन गर्ने आदि आदिको सुन्दर योजना बनाए । उसले घरलाई सुन्दरताको महल देख्यो । पशुपतिनाथको मन्दिरै सम्झ्यो । उसले विवाहदेखि आजसम्मका मायाका पोका फुकायो । ऊ अति रमायो र कविता लेख्न थाल्यो । म तिमी तिनैलाई कति हो कति माया गर्छु हेर छाती चिरेर हनुमान बन्न सक्छु भन्दै तीनै जनालाई बाहुपासमा बाँधेर छातीको धड्कन सुनाउन के थालेको थियो ऊ झसङ्ग भएर व्यँुझ्यो र आफूलाई खाटमा पायो । उसको मुटुको ढुकढुकी बढिरहेको हुन्छ ।उसका हात अङ्कमाल आकारमा सलबलाई रहेका हुन्छन् भन्दै कथा समाप्त हुन्छ ।
भीमकाय–
पर्वत, बाग्लुङ र म्याग्दीका प्राकृतिक सौन्दर्यतामा रमाउँदै मातृका र शान्तराम मिलनचोकको सुन्दर होटेलमा बास बस्न पुग्छन् । एउटी सुन्दर महिलाले सबै ग्राहकहरूलाई आवश्यक खानेकुरा फटाफट दिइरहेकी थिइन् । शान्तराम र मातृका खानाको इन्तजारमा थिए । एउटा भीमकाय मानिस होटेलमा प्रवेश ग¥यो र रक्सी पिउन थाल्यो । जति जति रक्सी थप्दै जान्थ्यो होटेलका सकैलाई धम्की दिन्थ्यो । भोली नेता आउँदै छन्, तपाईँहरूले भाषण गर्नुपर्छ भन्थ्यो, कहिले ती नेता कसरी आउनु उनीहरू(माओवादी) आए भने यिनको खैरियत छैन आदिआदि ऊ बडबडाइ रहन्छ । उनकी श्रीमती आउँछिन् खाइसिओस् अबेला भयो भन्न थाल्छिन् । उसले भन्छ आज यिनले पालो पाएकी छन् । उनको धेरै अनुरोधमा उनी यिनको चित्त राम्रैसँग बुझाइदिनु छ आज भन्दै हिडे ।मातृकाले उनको व्यवहारलाई यसरी पोखे "यस देशका विकृतिका भूँडीहरूले देशलाई तहस नहस पारेका पारेकै छन् ।" सबैले मौनतामा सहमति जनाए भन्दै कथा समाप्त हुन्छ ।
जीवनाथको विचलन–
यस कथामा कथाकारले धेरै कुरालाई समेटका छन् ।मेलम्ची बजार, मेलम्ची खानेपानी योजना, इन्द्रवती र मेलम्चीको सङ्गम, मेलम्चीको खानेपानीको भ्रष्टाचार, नदीलाई मानवीकरण गरेर वर्णन गर्नु मानवलाई मौरीकरण गरी वर्णन गर्नु, रानीमौरीसँग जीवनाथको नयन जुध्नु, बृद्ध भाले मौरी रातभर गुनगुन गर्नु, अनमेल विवाह, विधवाको विचल्ली आदि कुराहरूमा ऊ विचलित भइरहन्छ । यी सबै कुरामा चिन्तित ऊ कतिबेला निदाउँछ थाहा हुँदैन । बसको हर्नमा ऊ विउँझन्छ र झोला टिपेर आफ्नो कर्मतिर हानिन्छ । यो कथा सकिन्छ ।
उनी बौलाइन्–
शान्तिमायाको विवाह भएको धेरै वर्ष भयो । उनकी एउटी कान्तिमाया नामकी साथी थिइन् ।यी दुबै निकै मिल्ने जोडी थिए । यी दुबै ब्राह्मण पुत्री भएकाले यिनलाई दोहोरी गीत गाउन जान छुट थिएन । दुबैले एकएक बट्टा सिगरेट आमाहरूलाई ल्याइदिएपछि आमाहरू नातेदारकोमा जाने विदा दिन्थे । यिनी दुबै गीत गाउन अनेकौँं बहाना बनाएर हिडिरहन्थे । यिनी दुबै तरुनीको सम्पर्क एकजना खरदार साहेवसँग भयो । ब्राह्मण पुत्र थिए । यिनले यी दुबै सुरामा पल्काएर आनन्दभोग गरेर उनले यी दुबैलाई थाहै नदिई सरुवा भएर भागे । शान्तिमायाको एकजना सुब्बासाहवसँग भयो भने कान्तिमायाको विवाह एउटा कृषक यसपालसिंहसँग भयो । कान्तिमायाको श्रीमानले विवाह पूर्वका घटनाक्रमलाई लिएर शंका गर्न थाल्यो । रक्सी खाएर बरबराउन थाल्यो तर ऊसँग कुनै प्रमाण छैन । कान्तिमाया विवाहपहिला जेजस्ती भए पनि विवाहपछि भने साँच्चिकै पतिपरायण भएर पतिको सेवा गर्न थालेकी थिइन् । जति सेवा गरे पनि यसपालसिंहले कान्तिमायालाई माया दिन सकेन । उनी क्यान्सर लागेर मरिन् । उनको मृत्युपछि यसपालसिंहलाई पत्नीको महान् गुणले सताउँछ । उसको जीवन रक्सीमय हुन्छ ।
शान्तिमायाले विवाह भएपछि उनको श्रीमानसँग त्यति राम्रो हुन सकेन । श्रीमानले उनलाई निकै माया दियो तर पनि शान्तिमायाले खरदारबाट पाएको त्यो स्वार्थी आनन्द, त्यो सुरापान आदिको यादले सतायो । उनी खरदारलाई नै सम्झेर बरबराउन थालिन् । उनी साँच्चि नै बौलाइन् । छोराछोरी उनको उपचारमा जुटे । श्रीमानले "यो उग्रचण्डीलाई यो जुनीमा व्यहोर्न परे पनि अर्को जुनीमा भने व्यहोर्न नपरोस्, व्यहोर्न नपरोस्, व्यहोर्न नपरोस्" भन्दै यो कथा समाप्त हुन्छ ।
सन्तुमाया–
पाल्पाको सुन्दर नगरीको बर्तुङको आडैमा एउटा गरीवको झोपडीमा सन्तुमायाको जन्म हुन्छ । उ बढ्दै जान्छे, सानैमा बाबुआमा मरेर पूmपुले पाल्छु भनेर लगेकी , दिलबहादुरले पूmपु बाट माया पाउन सक्दैन र जागीरको खोज्दै ऊ पाल्पाको बागबानी फर्ममा काम गर्न थाल्छ । उसको मुरलीको धुनमा सन्तुमाया लोभिन्छे । दुवैकोे विवाह हुन्छ । एउटी छोरी जन्मिन्छे । वागबानीफर्मबाट ऊ जिल्ला कृषि विकास कार्यालय परासीमा सरुवा हुन्छ । त्यहाँ दिलबहादुरको मृत्यु हुन्छ । सन्तुमायाले आफै श्रीमानको क्रियाकर्म गर्छे । जिल्ला कृषि विकास कार्यालयमा ज्यालादारीमा काम गर्छे । बजेट कटौती भएपछि उसको काम रोकिन्छ । दिलबहादुरको यादले उसलाई सताउँछ । धैर्य साथ उनीभन्छिन् "मर्ने मरेपनि बाँच्नेले आफ्नै लागि÷देशको लागि÷संसारकै लागि भए पनि केही न केही गर्नै पर्छ ।" भन्दै यो कथा समाप्त हुन्छ ।
हजुरबा–
जीवन बाबुको घरहरा निकै अग्लो छ । त्यो धराहरालाई उनले आफै सजाउँछन् र उनी आफै रमाउँछन् । उमेरले त्यति नेटो नकाटे पनि सबैले उनलाई बुढोको संज्ञा दिन थाल्दछन् । तर जीवनबाबुले यो बूढो शब्द पटक्कै मन पराउँदैनन् । एकदिन उनले दर्पण हेर्दछन् । उनका दाह्री सेतै देख्छन् । उनका नातिनातिना भइसकेका छन् । काठमाडौँको डेरामा बस्दा पनि वरिपरिका बालबालिकाले उनलाई हजुरबा भनेर अफिस जाँदा हात मिलाएर बाइबाइ गर्थे र फर्केर आउँदा पनि हजुरबा आउनु भयो भनेर हात मिलाएर रमाउँथे । उनी सरकारी कामको सिलसिलामा नवलपरासी पुग्छन् । एउटा होटेलमा चिया पिउन थाल्छन् । होटेलवालीकी छोरीले जीवनबाबु को हो भनेर आमालाईशोधछे । होटेलवालीले हजुरबा भनेपछि तीे नानी जीवनबाबुको काखमा गएर दाह्री मुसार्दछे हजुरबाबा भन्दै म्वाइ खाइदिन्छे । उसको काखमा टाँसिएको टाँसिएकै हुन्छे । यतिबेला जीवनबाबुले हजुरबाको माया बाँडे । सोचमा डुबे । हजुरबाप्रति नातिनातिनीको कति माया हुँदो रहेछ भन्ने उनले महसूस गरे र भने, "म सबैको हजुरबा । यो हजुरबा भन्ने प्रेरणा सधैँ्सधैँ मिलोस् ।" उनको यो प्रेमको शब्दको अमरत्वको लागि सूर्यको लालीपूर्ण  यौवनतिर उनको शिर निहुरियो भन्दै यो कथा समाप्त हुन्छ ।
औँसी स्नान–
स्वर्णभद्रा, पूर्ढाभद्रा,र पावन नारायणी नदीको सङ्गम स्थल, वैदेही जगत््जननी सीताजीको कल्पवास, बालयोद्धा लवकुशको जन्मस्थल, बाल्मीकि ऋषिको तपोभूमि, गजेन्द्रमुक्तिपुरी, शालिग्राम क्षेत्रको नाममा कहलाएको त्रिवेणी धाम एउटा ऐतिहासिक धार्मिकस्थल हो । यस स्थानमा माघे आँैसीमा मेला लाग्छ । जीवलाल औँसी स्नानको लागि त्रिवेणी धाम पुग्नु, त्यहाँका मठ मन्दिरहरूको अवलोकन गर्नु, सीताको कल्पबासमा उसले रामबाट अन्याय भएको ठान्नु ,गण्डक योजनामा जानु ,पानी अर्कैले प्रयोग गरेको र आफ्नो देशका जग्गा सुख्खा रहेका र डुवानमा परेका ठान्नु , बाल्मीकिले रामायण लेखेका थिए, सीता लव कुशलाई पनि संरक्षण गरेका थिए, लवकुशले रामको अश्वमेध यज्ञको घोडासमातेर युद्ध लडेका थिए,आदि यहाँका बारेमा थुप्रै कुराहरू जीवलालले स्मरण गर्छ । जीवलाल स्नान गर्छ, गायत्री जप्छ र बस्न होटेल खोज्न जान्छ । होटेल महँगो भएको र होटेलमालिक ज्योतिषी भएको जानकारी पाउँछ । ज्योतिषीसँग हेराउन थाल्छ तर केही कुरा पुग्दैन । खरानी घसेकातिर जान्छ । कतिराम्रो जीवन खरानी घस्यो अनि बस्यो तर उसले तर्क ग¥यो जीवनमा प्राप्त गर्ने भनेको उपलब्धि खरानी घस्तैमा हुने होइन । यसरी अगाडि बढ्दै जाँदा मगन्ते बालक देख्छ । भगवानसँग यस्तो माग्ने बालक किन बनायौ भन्दै प्रश्न उठाउँछ, र भन्छ ईश्वर तिमीले विकृतिबिहीन संसारको सिर्जना गर । ऊ अगाडि बढ्छ । साँझ झमक्क पर्न लाग्दा उसले रुखको फेदमा एक जोडीले मायाप्रीति गाँसिरहेको देख्छ र प्रेममा प्रष्टता नभएकालेयस्तो भएको हो,धर्म स्थलमा विकृतिमुक्त हुनुपर्ने धारणा राख्छ । अल्लि अघि बढ्दा मासु र रक्सीको माहोलमा ऊ पुग्छ । उसले पनि मन थाम्न सक्दैन  भन्छ, "आत्मका देवतालाई खुसी तुल्याए परमात्मा खुसी हुन्छन्" भन्दै उसले पनि पिउन थाल्यो । उसले यतिसम्म पियोकी थलाबाट उठ्नै नसक्ने गरी पियो र ऊ त्यही ढल्यो भन्दै कथा समाप्त हुन्छ ।
गरीबी निवारण–
यसकथामा नेपालमा सञ्चालन गरिएकागरीबी निवारणसम्बन्धी काममा व्यङ्ग्य कसिएको छ । सुन्दर दोलखा जिल्लाको चरिकोट बजारको विशाल होटेलको एउटा कुनाको डायनिङ टेबुलमा धनपति एउटा धनाढ्यसँग बसिरहेका छन् । यस होटेलमा गरीबी निवारण कार्यशालामा सहभागीहरूको आवतजावतले होटेलको शोभा झनै बढेको छ । कार्यशाला सफल भएकोमा सहभागीहरू होटेलमा रमाइरहेका थिए । विभिन्न प्रकारका खाना तथा विभिन्न प्रकारका पेय पदार्थमा सबै झुमिरहँदा त्यहाँ गरीबी निवारणका कार्यक्रममा समूह गठन गर्ने ,प्रत्येक सदस्यलाई बाख्रा दिने बाख्रा व्याएपछि एउटा पाठी अर्को सदस्यलाई दिएपछि बाख्र्रा त्यो सदस्यको निजी हुनु, दलितलाई बंगुर दिने र एउटा बंगुरको पाठा अर्को सदस्यलाई दिएपछि बंगुर उसको निजी हुने जस्ता धारणाहरू त्यहाँ आएका थिए । धनपतिले यो देशमागरीबी निवारणको लागि धेरै योजना तथा कार्यक्रम बनाइए तर गरीबी झनझन बढ्दै गएको धनपतिले पाउँछ । ऋणले देश नडुवाउने, सहयोग जति ल्याएर आफ्नो गरीबी निवारण गर्छौ भने गर भन्दै उसले गरीब दलितको गरीबी घटोस् या नघटोस् गरीबका र दलितका शुभ चिन्तकहरूको गरीबी भने अवश्य घटेको छ भन्दै यो कथा समापनहुन्छ ।
चिन्तन–
म भन्ने पात्र अरू दुई जनासँग एउटा कोठामा सुतेका हुन्छन् । म भन्नेपात्र चाँडै उठ्छ । उसलाई पुरानी परिको स्मरण हुन्छ । ऊ रामेछाप जिल्लाको मन्थलीको एउटा होटेलमा रात विताइरहेको हुन्छ । होटेलमा पानीको समस्या छ तर आडैमा खोला बगिरहेको छ । देशमा अथाह जलस्रोत छ, उपयोगमा आएको छैन । म भन्ने पात्रको आत्मा बोल्छ । गर आफ्नै लागि गर, देशको लागि गर, विश्व कहाँ पुग्यो, गाउँ गाउँमा टुकी बाल्ने जमाना छैन, बगेको जलको सदुपयोग गर, आलस्यको कारणले गर्दा, हामी सुतेको कारणबाट हाम्रो देश विश्वमा धेरै पछाडि परेको छ भन्दै यो कथा समाप्त हुन्छ ।  
घरजम बसाल्नेहरू–
यो कथा यस कृतिको अन्तिम कथा हो । यस कथामा कथाकार, बासुदेव रेग्मी र योग मर्ज तीन जना टारकेराबारी जान हिडिरहेका हुन्छन् । लिखु खोला वरिपरिको चित्रण, त्यसमा खोला पारिबाट एक महिलाको निरंतर यात्रा, टारकेराबारी पुग्नु एउटा समाजसेवी आउनु बासु रेग्मीसँग छलफल गर्नु, एउटी महिलासँग एक पुरुषको राति रातिको सम्पर्क, एउटा मानिसले पहिली श्रीमतीबाट छोरीछोरीको जन्म दिएपछि, छोरा पाउने रहरले एउटी केटीलाई फकाउँदा आमाले छोरा पाउने भए मलाई नै लैजा छोरीलाई नसता भनेको जस्ता विवरणसहितको कथाको प्रस्तुति छ ।
कथा र लघुकथाले सुसज्जित यो कथासङ्ग्रह सत्यतथ्य घटनालाई समेटेर लेखेको जस्तो भान हुन्छ । यस सङ्ग्रहका अधिकांश कथाले सामाजिक विषयवस्तु अँगालेका छन् । कथा यथार्थपरक छन् । अधिकांश कथा नारी केन्द्रित छन् । नारीलाई हेर्ने दृष्टिकोण खराब रहेको प्रति लेखक चिन्तित छन् । नारी स्वर बुलन्द छन् । बहुविवाह, पारिवारिक कलह, खस्कदो आर्थिक अवस्था लगायतका विषयवस्तुहरू पनि कथामा प्रस्तुत छन् । प्रकृति वर्णनले पनि हरेक कथामा स्थान पाएको छ ।

४.६.३. बालुवाको घर (कथासङ्ग्रह)

"प्रयाप्त उखान टुक्काको उपयोग गरी लेखिएको प्रस्तुत कथाको शब्द चयन तथा बाक्य संरचनामा भाषिकाको झल्को पाइन्छ भने कताकती हल्का भाषिक फितलोपना पनि देखा परेको छ तापनि सामाजिक यथार्थताको झल्को उतार्न भने प्रस्तुत कथा निकै सशक्त र सान्दर्भिक बन्न पुगेको छ ।"
(धनपति कोइराला)
"बालुवाको घर" प्रयोग र बिम्बले भरिएको कथा हो, जसले,राष्ट्र समाज र घरभित्रको द्वन्द्वको चित्रण गर्दछ ।" (भूपेन्द्र शर्मा भट्टराई)
"बास्तविकताको नजिक रहेर रचना गरिएका यो सङ्ग्रह भित्रका यी सोह्र कथाहरू अध्ययन गर्दा पाठकलाई घटनाको नजिक रहेकोअनुभूति हुन्छ । कथा राष्ट्रका गतिविधि,नेपाली नारीका व्यथा, राष्ट्रिय चिन्तन र हरेक जीवनको सेरोफेरोसमेत समेटेर रचना गरिएका छन् ।"
(कृष्णादेवी शर्मा श्रेष्ठ)
माथि प्रस्तुत गरिएका साहित्यकारहरूका धारणाले बालुवाको घर कस्तो किसिमको कथासङ्ग्रह हो भन्ने यथार्थता भल्काउँछ । यस कथासङ्ग्रहमा १६ ओटा कथाहरूसमावेस गरिएका छन् ।
जीवनहार जन्मोत्सव उपहार–
धनी र गरीबबीचको भिन्नतालाई निचोर्दै, सक्षमतामा गरीब कन्यालाई धनी केटाले जीवनको उपहारको रूपमा ग्रहण गर्न तथा प्रेमले उच्चतालाई स्थापित गर्न सक्छ भन्ने उदाहरण छ ।
वलात्कृत भएकी थिइन्–
स्वेच्छाले अर्पण गरेको चीजलाई बलात्कृत मानिदैन र प्रेम गर्नु पाप पनि होइन । मार्मिक यथार्थतामा म भन्ने पात्र र निर्मलाउनीहरूका प्रेमीसँग वनतिर लाग्छन् । निर्मला र उनको प्रेमी एकातिर र म भन्ने पात्र र प्रेमी अर्कोतिर वनमा प्रवेश गर्छन् । निर्मलाले आफ्नो कार्य सिद्ध गरेपछि हल्ला गरिदिंदा म भन्ने पात्र र कर्मचारी मानिसको घेरामा परेर बलात्कृत भएको भनिन्छ। तापनि म पात्रले स्वच्छाले प्रेमीलाई उपहार दिएकोलाई बलात्कृत मानिदैन भन्ने धारणा आएको छ ।
वालुवाको घर–
यस कथामा जमिनदार जमिनदारका अन्य सदस्यहरूलाई प्रतीक बनाएर दर्शन नमिल्दाहरूको गठबन्धन बालुवाको घर समान हो भनिएको छ  ।
पसिना–
यस कथामा दोकानीसँग एउटीकेटीको प्रेम हुन्छ । प्रेम पछि विवाहमा बाँधिन्छन् । विवाह अन्तरजातीय भएकाले घरकाले स्वीकार्दैनन् तापनि प्रेम सुमधुर नै छँदा केटा जापान जान्छ । निकै कमाएर घर पठाउँछ । पत्नीले पैसा बाबुलाई व्याजे लगाउन दिएको र केटा घरमा आउँदा पैसाको खोजी हुनु र बाबुसँग पैसा माग्न जाँदा केको पैसा भनी उल्टै प्रश्न आउनु, घरकाको दवावमा विवाह गर्ने स्वीकृति माग्दा झगडा हुनु, झगडापछि केटो घरबाहिर भएको बेला केटीले झुण्डिएर आत्महत्या गर्नु, मानिस मार्न पाइदैन भनी केटालाई पिटेर घाइते बनाउनु, घरका सबै जेलचलान हुनु, केटालाई यो सबै कारण मेरो पसिनाले हो भन्ने लाग्छ । धन्य हो पसिनाको कमाइ पचाउन खोज्नेहरू भन्दै कथा समाप्त हुन्छ ।
न घर नघरकी–
यो कथामा पैसा कमाउन विदेश जाँदा पत्नीले वेइमान गरेको खण्डमा आमा बाबु सम्पत्ति र कमाइ पनि गुमाउनु पर्ने परिस्थितिको सृजनाहुने धारणा आएको छ ।
अभिलााषा–
छिमेकका धनी र गरीबबीचको विभेदलाई चिरफार गर्दै धन र रूपको अहम्तासधैँ रहदैन धनी पनि गरीबमा परिणत हुन्छन् र गरीबले नै सहयोग गर्नुपर्ने दिन आउँछ भन्ने सन्देश छ कथामा ।
प्रतिशोध–
एक ब्राह्मण केटी र एक चौधरी केटाबीच प्रेम सम्बन्ध गाँसिन्छ । ब्राह्मण परिवारले चौधरी केटाबाट आफ्नी छोरी अलग्याएर ब्राह्मण केटासँग विवाह गर्दिन्छन् । चौधरी केटाले अर्को ब्राहमण केटालाई राति चौधरी केटीकोकोठामा लगेर थुनिदिन्छ । मारिदिने भनिन्छ तर मार्न भने सक्दैन । भोलिपल्ट राजनीतिकरण गरेर अपहरित केटाबाटै जरिवाना तिर्न लगाइन्छ । पीडित पक्षले "धन्य हो राजनीति र राजनीतिमा लाग्नेहरू र न्याय दिन आतुर व्यक्तिहरू" भन्दै कथा समाप्त हुन्छ ।
जिउँदो ज्यानले माड पाएन मरेकालाई खीर–
यस कथामा जीवित आमा बाबुलाई जिउँदो छँदा खानपिनमा ख्याल नगर्ने र नारकीय अवस्थामा राख्ने, मरेपछि लाखौँ दान गरेर दानी कहलाउनेलाई व्यङ्ग्यगरिएको छ ।
यसको पसिना यही देशको निर्माणमा भिजोस्–
देश छाडेर विदेश जानेहरूले बालबालिकालाई जन्म दिएर छाडेर विदेश जाने प्रवृत्तिप्रतिको व्यङ्ग्य कसिएको छ । हजुरआमा र जोगीबीचको बार्तामार्फत् जानकारी लिंदै जोगीले "हे धर्तीमाता यो बालक चिरायु, विद्वान र यो देशको निर्माता बनोस् यसको पसिना यही देशको निर्माणमा भिजोस्" भन्छ भने बालकले चम्चाको दूध नभइ बुढीआमाको बलाउजले ढाकेको लाम्टोतिर हात र मुख बढाइरहेको थियो भन्दै कथा टुङ्गिन्छ ।
स्वार्थी जमात–
यस कथामा गरीबीले सताएका एक जोडीको ज्याला मज्दुरीले खाने सामग्री र छोराछोरीको स्कुल शुक्ल तिर्न धौधौ भएको अवस्था, सरकारी स्कुलमा पढाए इज्जत जाने, बोर्डिङमा पढाउँदा पनि ट्युसन राख्नुपर्ने अवस्था, महँगो शुल्क आदिको पिरलो बजारको महँगाइको कारणले गर्दा सामान किन्न नसकी फर्किरहेको अवस्थामा सिंहदरबार भित्रको नाराजुलुस घन्कनु, जीवरत्न र आत्मकुमारी उभिएर भाषणलाई सुन्नु, आत्मकुमारीले नेपाल कहिले सिँगापुर बन्छ ? समावेशी गणतन्त्र भनेको समाजमा ल्याउने विखण्डन र घृणाको मूल हो ? नयाँ नेपाल बनाउने भनेको यही महँगाइ, अशान्ति, धम्की चक्काजाम, चोरीचकारी, लुटपाट, हत्याहिंसा, आदिआदि प्रश्न आत्मकुमारीले जीवरत्नलाई राख्छिन् । जीवरत्नले "यी त स्वार्थैस्वार्थले भरिएका जनताले तिरेको करबाट आपूm र आफ्नालाई मोटाउन हाल्नेहरूको र कुर्सीको लागि लड्नेहरूको स्वार्थी जमात हो, यिनबाट केही आशा गर्न सकिदैन" भन्दै दुबै बाटो लाग्छन् ।
बूढाबूढीको आआफ्नै व्यथा–
यस कथाले आजको परिप्रेक्षमा समाजमा घटेका घटनालाई दर्शाउने सन्देश बोकेको छ । बूढाको आफ्नै कामको ध्यान हुन्छ । ऊ समाजसेवी भएपछि समाज सेवाको दायित्व निर्वाह गर्नुपर्ने हुन्छ भने बूढीको पनि घरको सारा कामको भार हुन्छ । आजको युवापुस्ताले घरको ध्यान कम दिने आदि घटनाक्रमलाई समाएको छ कथाले । नारी हकहितको प्रश्नपनि यहाँ आएको छ ।
एउटा सपना–
कमला एक रात निदाउन सकिन । ऊ बाहिर निस्की । उसको शरीरमा कम्पन भयो । उसको श्रीमानले उसलाई भित्र लगेर सुतायो । ऊ कति बेला निदाई थाहा भएन तर उसले सपनामा नारायणी नदीको किनारमा पुग्छे । नदीपारीको जङ्गलको होटेलमा विभिन्न नाचगान र खानपिन भइरहेको थियो । वारितिरमा भने एउटालास जलाईरहेका थिए । छोराछोरी घुम्टो हालेर रोइरहेका थिए । मलामीले उसले भोगेका सबै घटनाहरू केलाइरहेका थिए । लास खरानी परेपछि ऊ पुरानो घरमा गई घर कसैले ओगटिसकेछ । गाउँलेले उसलाई घेरिरहेका थिए । यतिबेला टेलिफोनको घण्टी बज्यो । उसले टेलिफोन उठाई यताबाट तिम्रा के पहिलाको श्रीमान बित्यो भन्ने आवाज आयो हँ भन्दै उसको टेलिफोनको रिसिभर हातबाट खस्यो ।
आवश्यकता–
यस कथामा एउटा उच्च ओहोदाका मानिसकी महिलाको जैविक आवश्यकता एउटा साधारण मानिसले पुरा गरिदियो । उनले न ओहोदाको नै खोजी गरिन्, न मान मर्यादा र इज्जतको । कथाकारले यसलाई जसरी पनि हेर्न सकिन्छ । कोही यस्तै भोगमा रमाउँछन् कोही ब्रह्मचर्यमा रमाउँछन् । दिगो प्रेममा त्याग हुन्छ, नैतिकताको सोच हुन्छ । मानमर्यादा, खानदान, पैतृक इज्जत ख्याल गर्ने वाला पनि हुन्छन् ।
बतासेडाँडाको तीन दिन–
शान्तराम कृषकलाई तालिम दिने सिलसिलामा पाल्पाको बतासेडाँडामा पुग्छ । उसका मित्रले बताएको होटेलमा झोला विसाउँछ । एकजना माओवादी कार्यकर्ताले भारतीय मूलको कपडा व्यपारीलाई तँ जासुस होस्् भन्दै थर्काइरहेको हुन्छ, राति माओवादी फौज त्यही बाटो तानसेनतिर बढिरहेका हुन्छन् । भोलिपल्ट र पर्सिपल्टकृषकलाई तालिम दिनु थियो । गाउँभरी डरले स्थान लिएको थियो । तालिम राम्रैसँग सुसम्पन्न भयो । विदाको बेला शान्तरामले "यहाँ कसैको जीत छैन सबै सबैको हार छ यसैले सम्पूर्ण नेपालीले शान्ति पाउन्" यही मेरो कामना छ भन्दै कथा अन्त्य हुन्छ ।
जननिर्णय–
यस कथामा माओवादी जनयुद्ध र राजाको दम्भको कारणले गर्दा जनतामा फैलिएको त्रास र सार्वजनिक सम्पत्तिमा पु¥याइएको क्षतिलाई कथाले जीवन्त रूपमा चित्रण गरेको छ । राति पाल्पा दरबार जलाउनु र बिहान राजाले माओवादी जनयुद्ध मत्थरिएको वक्तव्य प्रसारण हुनु, जनताको निर्णय आन्दोलनरत दललाई दिंदा राजसत्ता ढलेको र ती नेताहरूले कुर्सीमोहको कारणले गर्दा जनतालाई निरासाको कालो वादलमुनी उकुसमुकुस हुन पारेको धारणा आएको छ कथामा ।
कोकिलाको व्यथा–
यस सङ्ग्रहको अन्तिम कथा हो । एउटा विवेक नभएको पतिको कारणले तहसनहस भएको परिवारको मार्मिक व्यथालाई यहाँ पस्किएको छ । कोकिलाको पतिले कोकिलालाई र छोरालाई दिनु पर्ने साहारा नदिइ उसले कमाएको पैसा समेत खोसेर लाने गरेको धारणा मार्मिकरूपमा प्रस्तुत गरिएको छ ।

४.६.४. भुटानी शरणार्थीको व्यथा कथा –

यो कथासङ््ग्रह अरू कथासङ्ग्रहभन्दा अलिक फरक छ । कथाकारले भुटान सरकारले देशबाट निकालेर नेपालमा शरणार्थी बनेर बस्न बाध्य पारिएका नेपाली भाषी (ल्होत्साम्पा)हरू जो संयुक्तराष्ट्रभवनको बाहिर अनसनमा बसेका थिए तिनीहरूको यथार्थतालाई उनीहरूसँग गरिएको वार्तामा आधारित व्यथाको चित्रण हो । भुटान राजाबाट शासित देश हो । अल्पसंख्यक भुटानीहरूका केही व्यक्ति हात लिएर राजाले शासन गरीरहेका छन् । एउटा मार्मिक घटना चिराङ निवासी महसुर क्षेत्रीलाई उसकी पत्नी र गाउँलेका अघिल्तिर नै गोरु काटेर छाला काडेर त्यसमा जिउँदो मानिसलाई भित्र राखेर सिलाएर ढुङ्गो बाँधी सुनकोष नदीको भेलमा फालिएको क्रुरतालाई अध्ययन गर्दा र बलत्कार ,जेलमा दिइने चरम यातना, गाउँमा दमन, उत्पीडन यातना र जीवनकै खतराले देश छाडेका ल्होत्साम्पा(नेपाली भाषी)हरूको घटनालाई सुन्दा सबैको मनलाई छुन्छ । यस कृतिमा यिनै घटनाका पीडितहरूको अन्तरआत्माको चित्कार समेटिएको छ ।
यस कृतिमा जम्मा १२ जनामा ३ जना महिला ९जना पुरुषसँग वार्ता गरिएको छ । भुटानी शरणार्थीको हरेक बोलीले भुटानको माटोको खोजी गरेको छ । हरेक भुटानी शरणार्थीमा देशप्रेम छ । राष्ट्र, राष्ट्रियता,आफ्नो धर्म संस्कृतिमा अगाधप्रेम छ । उनीहरूका धारणाबाट भुटानलाई उन्नतिको शिखरमा पु¥याउने काम पनि ल्होत्साम्पाहरूले नै गरेको देखिन्छ । ल्होत्साम्पा भुटानका पुराना नागरिकहुन् र यिनको भाषामात्र नेपाली हो भन्ने यथार्थता पनि यहाँ झल्किएको छ ।
रामलाल
यिनले भुटानलाई जन्मथलो र कर्मथलो मान्दछन् २५ वर्ष सरकारी सेवा पनि गरेका हुन् । भारतीय नागरिकलाई काम गर्न राखेको र आन्न्दोलनकारीलाई सहयोग गरेको आरोपलगायतका कारण सम्पूर्ण परिवार देश छाड्न बाध्य भए ।
भवानीप्रसाद खतिवडा
यिनले पनि राजनीतिमा लागेको आरोपमा थुनिए । यिनका तीन भाइ छोरा तीन बहिनी छोरी, उनी र उनकी श्रीमती शिविरमा शरणार्थी जीवन विताइरहेका थिए।
मणिप्रसाद घिमिरे
घिमिरे पनि सतवीज छर्दाको दिनमा प्रकाउ परे । जेलबाट छुटेपछि उनका छिमेकी र उनका परिवार देशबाहिर जाने उर्दी आउनु र देश छाडेर शरणार्थी बने । पवित्रा गौतमका पति २२।११।१९९०मा जेल पर्नु र ३०।३।१९९२मा जेलबाट छुटे पनि जेल यातनाले मृत्यु हुनु ,उनलाई देश छाड्न बाध्य पारिदा देश छाड्छन ।
प्रजापति नेपाल
व्यक्तिगत रिस ईबी र आफ्नो बसमा राख्न नसक्ने अवस्थाले पनि नेपाली भाषी अनागरिक गराएर देश निकाला गरियो ।
धनबहादुर रुम्दाली
धनबहादुर रुम्दालीले धेरै कुराहरू पस्केका छन् । उनले प्रथमतः भुटानको राष्ट्रिय समस्यामा राष्ट्रियनागरिक समस्या यहाँको जटिल समस्या हो । दोस्रोमा लिङ्ग र जातीय समस्या, तेस्रोमा धर्मको समस्या र चौथो समस्या भनेको देश हो । मण्डलले नागरिक सताउने काम भयो ,मण्डल र व्यापारी मिलेर ल्होत्साम्पालाई सताउने काम भयो । ५०० सामान बाँकी किनियो भने १५००–२००० असुल गर्न थालियो ।यसरी ल्होत्साम्पाको जग्गा जमिन हडपन लागियो र ल्होत्साम्पालाई अनागरिकमा परिणत गर्न थालियो । सरकारले राष्ट्रिय पोसाक र आफ्नै संस्कृति सबै जातजातिमा लागू गरायो । जनताले आफ्नो संस्कृति र भेष भुषा बचाउनु पर्छ भन्ने आवाज निकाले । धर्ममा पनि हिन्दु र बुद्ध धर्म भुटानमा मानिने गर्नु तर किरात र क्रिस्चियन धर्म मान्यता छैन । दुई धर्म भने पनि राष्ट्रिय धर्म डुक्पा जातिले मान्ने धर्म हो । धर्ममा पनि हिन्दुहरूलाई सताइन्छ । देप शब्दलाई रुम्दालीले कुनै पनि देशको राष्ट्रियतामा या दरबारमा झण्डा मान्ने झण्डाको पूजा गर्ने चलन हुन्छ । त्यो परम्परालाई सबैले जान्नुपर्ने र मान्नुपर्ने हुन्छ तर भुटानमा त्यसो गरीएन राष्ट्रले सेहे जगासेहे सिन्धी, च्याखापा सिन्धी भनेर लामाहरू लगाएर मन्साउने काम ग¥यो । मन्साउँदै नेपाल धपाउँदै गर्न थाल्यो । जेलबाट निस्केकालाई पूर्जी दिएर भगायो । रुम्दालीले जेलजान परेको कारणमा सातहजार तीनसय त्रिसठ्ठीको सामान नारद नेपालबाट लगिएकोमा साहुले तीसहजारको दावी लगायो । यसैमा मुद्दा चल्यो । यो केश डासो रिजालको केश फायलमा समावेश गरियो । डासो रिजालसँग सम्बन्ध छ कि छैन भन्दै लादै थुन्दै गर्न थाल्यो । यहाँ रुम्दालीले थुप्रै कुराहरू उठाएका छन् ।
पद्मलाल आचार्य–
उहाँले १९८८को जनगणना हुँदा ल्होत्साम्पालाई७ वर्गमा विभाजित गरियो । १९५८ अधिका सम्पूर्ण कागजात दक्षिण भुटानमा १९८० सम्म रहेको कमिश्नर अफिसमा रहेको र अफिस उठेपछि कागजात प्राप्त गर्न नसकेका, भारत स्वतन्त्रता हुँदा मानिस भागेका र कागज पत्र हराएका आदि कारणले गर्दा ल्होत्सम्पाले नागरिकता पाउन नसक्नु, हकहितको आवाज उठाउँदा जेल जान परेको आदि थुप्रै घटनाक्रमलाई आचार्यले उठाएका छन् ।
इन्द्रकला गौतम
भुटानमा नखाएको विष लाग्यो भन्दै उनले भोगेका यातनामा नागरिकता खोस्नु केटाकेटीलाई कुट्नु, केटाकेटी नकुट भन्दा आफैलाई कुट्नु र वेहोस्हुनु,होस्मा आएपछि गाईका दाम्लाले खुट्टामा बाँधेर तल मुन्टो लगाएर झुण्ड्याउनु, एकहप्ताभित्र श्रीमानलाई दाखिला गर्न नसके छोराछोरी सबै एकै चिहान गराउँछु भन्दै आर्मी गएछ । छिमेकीले दाम्लो फुकाई पानी छम्केर होस्मा ल्याएका, तोकिएको मिति पुरा भएपछि साथमा कोही थिएनन् । केटाकेटी च्यापेर एक्लै हिड्न परेको, बाहुनी जाँगरमा आएपछि ठाडो खोला तर्ने साहस गरी नदीमा पसेको, जेठो छोरो बगाएका,े हामफालेर छोरालाई बाहिर ल्याएको घटनाहरू कथामा प्रस्तुत छन् । सानो छोराले त्यति पानी पिएको रहेनछ । पछि होसमा आयो । ठूलो छोरो होसमा आउन सकेन । गुहारमाग्दै हिड्दा तीनकुनामा प्रधान्नी आमैले गुहार सुनेर गुहार दिनु, बच्चालाई प्रधान्नी आमाले पानी छदाउनु, तेल लगाएर सेक्नु, रातभरिमा ठूलोछोरा पनि होसमा आउनु,  प्रधान बाबा र आमाले ती केटाकेटीलाई माइत पु¥याइदिने भनेर साथ दिनु र माइत पुगेपछि  रातारात श्रीमान आएर नेपाल पस्छन् । नेपालमा आएर केटाकेटीले भोक लाग्यो भन्दा पाँच जना बसेर रुनुसिवाय केही थिएन ।
कमला क्षेत्री–
यी एक साहसिक महिला हुन् । यिनले पुलिस र सैनिकसँग आफ्नो हककोलागि संघर्ष गरे पनि अन्त्यमा नेपाल आउनु प¥यो ।
यमबहादुर राई–
राईको यातना पनि लामो छ । राईको पुर्खा गोर्खाका राजा रामशाहका पालामा भुटान लगिएका थिए रे । ङावाङनामग्याल अवतारी लामाका पालामा नेपालबाट झिकाइएका थिए । उनका पुर्खा भुटानको विभिन्न स्थानमा बसेपनि राईतिब्दीमा बसोबास गर्दै आएका र कृषि उनको पेशा थियो । इ.स. १९९० सम्म सबै जातहरूको मेलमिलाप राम्रो थियो तर १९९०मा सरकारले नयाँ कानुन बनाएपछि राष्ट्रिय पोसाकमा 'गो' र 'कीरा' लागू ग¥यो । केटीहरूको कपाल काट्ने नियम बनायो । यो नीतिमा धर्म पनि प¥यो रे । नेपालीले गर्दै आएका रीतिरिवाज सम्पूर्ण गर्न नपाउने भएपछि १९९० अक्टुवर महिनादेखि भुटान सरकारसँग माग राख्दै आन्दोलन शुरु भयो । टेकनाथ रिजाल जिन्दावाद !, दागो छिरिङ मुर्दावाद ! भन्दै नारा लगाउँदा गोली चल्यो र गिरफ्तारी गरियो । कुटाइ खाइयो र नेता होस्् अरेभन्दा हो भन्दै जाँदा दिनदिनै पिटिइन्थ्यो अव त पिटाइ खान नपरेका दिन त शरीर दुख्थ्यो । नकाटेको पुल काटेको भन्दै अढाइ वर्ष जेल तोकियो । यातनाबाट धेरै साथी मरे म कसरी बाँचे थाहा भएन । १८ महिनामा कपालदाह्री काट्ने नुहाउने मौका दिइयो । अदालतमा पेश गरियो । गरेका कामलाई गरेको र नगरेको कामलाईनगरेको भने पनि पुलकाटेको भनी अढाई वर्ष र 'हा' को जोङ्दाले पठाएका मानिसलाई पनि पक्रने मानिस भनियो र यस विषयमा पनि अढाइ वर्ष जेल सजाए भोग्नु प¥यो । पार्टीमा पनि काम गरेकोमा पनि हो भनेपछि १० वर्षतोक्यो र जेल पठायो । १९९३मा रेडक्रसका व्यक्तिहरू आए सबै कुरा राखेपछि अलि हलुका भयो र १९९९ को डिसेम्बर १७ मा जेलमुक्त भएर झापा आएर काम गरेर खान थालियो, विवाह पनि भयो । तनमन भुटानकै भूमिमा छ । यो आत्माले भुटानकै झण्डामुनि अन्त्यष्टि कुरेको छ ।
कर्णबहादुर गुरुङ –
कर्णबहादुरको छोरा सैनिकमा जागीरे भएकाले छोराको जागीर भएको ठाउँमा गएको र आउँदा आन्दोलन भएछ । घरका परिवार जङ्गलमा बसेको थाहा पाएर ल्याउनु, पुलिस आउनु र यातना दिनु र ५००० भाडा भनी दिएर कागजमा सही छाप गरायो र देश छोड्न बाध्य बनायो । सैनिक छोरालाई पनि बोलाएर झापा आइयो ।
होमनाथ घिमिरे
होमनाथ घिमिरे एउटा विद्वान युवाहुन् । उनले भुटानको विकासको चाहना राख्छन् । उनीसँग अलिक पृथक् रूपमा कुराकानी भएको देखिन्छ । "देश विश्वरङ्गमञ्चमा विकास र समाजिक सद्भावमा एउटा उदाहरणको रूपमा खडा हुनु पर्दथ्यो  हुनसकेको छैन ।" देश भित्रका युवाको मुखमा कोर्को लगाइएको, कोही जेल जीवन बिताउन बाध्य भएका, शरणार्थी जीवन विताउनेले तिनको यथार्थ विवरण प्राप्त गर्न सहज हुँदो रहेनछ । देश प्रवेश गर्न नसकिने भारतले सहजै जान नदिने, देश निर्माणमा जुटेका कतिपय युवाहरू कहाँ, कुन अवस्थामा छन् थाहा हुनसकेको छैन ।युवायुवतीहरूको चाहना भावना, वौद्धिक र मानसिक विकास रगास, बास, कपासले मात्र पुग्दो रहेनछ । यो अवस्थाले आफ्नो लगानी खोज्दो रहेछ । यस्तो अवस्था भुटान या शरणार्थी जीवनका युवाले प्राप्त गर्न सकेका छैनन् । भुटान भित्रका र बाहिरका युवाहरू सीपविहीन रोजगारविहीन,बौद्धिक मार्गको यात्राविहीन भएर आफ्नो अमूल्य जीवन बिताइरहेकाछन् । शिविरमा साधारण दश कक्षा सम्मको पढाइ छ, उच्च शिक्षा छैन । उच्च शिक्षा कसरी अगाडि बढ्छ ? भुटानको विकासमा चिन्तित भएर पनि राजाको निरंकुशताले परिवर्तनलाई बुझ्न सक्दैन । राजाले नै शरणार्थीलगायत सबैलाई समेटेर अगाडि बढ्न सक्नु पर्छ । राज सत्ताको सुदृढताको लागि पनि सबै पक्षलाई समेट्नु नै उत्तम हुने, शरणार्थी अवस्थामा रहेकाले भुटानको दमनको लेखाजोखा राख्ने अवस्था हुँदो रहेनछ । भुटानमा परिवर्तनको लागि देशबाहिर रहेर केही पार्टीहरू लागेका छन् तर सबै फुटेर नभई जुटेर,अन्तर्राष्ट्रिय शक्तिलाई साथमा लिएर, भारतलाई दवाव दिएर देशमा चलिरहेको आन्दोलनलाई गतिदिन पर्छ । राजाको स्वेच्छिकतन्त्र हटाएर बहुदलवादी शासन र मानवतावादी सरकारको स्थापना गर्नु आवश्यक छ । २००८ सालमा गरिने जनगणनाले पनि ल्होत्सम्पालाई अल्पमतमा झारिने प्रयत्न गरिने छ जस्ता कुरा घिमिरेले जानकारी गराए ।
अतः यस कृतिले भुटानी शरणार्थीलाई कसरी अनागरिक बनाइयो र भुटानी शरणार्थीबीच खट्केका कुराहरूलाई समेत समेटेर सूक्ष्मरूपमा भए पनि भुटानी शरणार्थीको यथार्थ सन्देश प्रवाह गरेको छ ।

४.७ अभागीका मुक्तकसङ्ग्रहहरू–
सदानन्द अभागीले कृतिको रूपमा दुई ओटा मुक्तक सङ्ग्रह प्रकाशनमा ल्याएका छन् । पहिलो मुक्तकसङ्ग्रह २०६८ र दोस्रो मुक्तकसङ्ग्रह २०७४ हुन् । दुबै कृतिहरूको नाम अभागीका मुक्तकहरू राखिएका छन् । दुबै मुक्तक हेर्दा मुक्तक संख्यामा मात्र फरक छन् । दुबैकृतिमा प्रत्येक मुक्तकका शीर्षक दिइएका छन् । शीर्षकीकरण गर्नु उनको नौलो प्रयोग हो ।
४.७.१. अभागीका मुक्तकहरू(२०६८)
यी मुक्तकमा नारी साहित्य समाजकी अध्यक्ष कृष्णादेवी शर्मा (श्रेष्ठ)ले मुक्तककारको परिचय यसरी दिएकी छन् –  
उपन्यास महाकाव्य यात्रा वर्णन जीवनी
खण्डकाव्य कथा फेरि अझै थाकेन लेखनी
गजल कविता धेरै भाग्यमानी हुँदै गए
मोडेर प्रतिभा ऐले मुक्तककार पो भए
यस कृतिमा अभागीले २०८ ओटा मुक्तक समावेस गरेका छन् । सबै मुक्तकहरू चतुस्पदी छन् । काम गर्दा सोच विचारमा गर्नुपर्छ भन्दै अभागीले सत्यतामा अडिनु, इर्षा लोभ मोह त्याग्नु पर्ने, मदहोस् बन्न नहुने, सुकर्म गर्नुपर्ने, गरिएका काम व्यवहारमुखी हुनुपनर्,े निर्धामा कानुन देखाउन नहुने, वैंस समालेर बस्नुपर्ने, चाहेरमात्र सबै चीज मिल्दैन कर्ममा हुनुपर्छ, जातभात खोज्नु भनेको अहम्ता हो, आवरणमा बदनाम हुननहुने, अर्कालाई दखल नगरी आफ्नो बाटो हिड्नु राम्रो हो, देशले रोजगार दिन नसकेर युवा विदेश पलायन भएका छन्,प्रेम दर्विलो हुनुपर्ने, मायाममता भन्ने लोकाचार हो, चुनाव लडेर कमाउनु पर्छ भन्ने भावना छाडी जनसेवामा लाग्नुपर्छ भन्ने विचारहरू व्यक्त भएका छन् । साम्प्रदायिक बोली र व्यवहार गर्न हुँदैन, आचरणमा बस्दा भगवान खुसी हुन्छन्,वारिपारिकासँग सावधान रहनु पर्छ । देशको गाइजात्रा हेर्न सिहदरबार पसेहुन्छ । यिनबाट जनताका आशाभरोसा सबै पानीपानी बनाए तर सांसदको तलबभत्ता भने पकाएकै छन् । मानिस मानवताहीन हुन हुँदैन । कलाहीनको कुनै मार्ग हुँदैन त्यो जिउँदै मरेतुल्य हो । तरलताको कुनै आकार हुँदैन । कल्पनामा रमे जस्तो संसार छैन । जिन्दगी एक यात्रा हो भने कर्म प्रकाश हो । शोषक र सामन्तले गरीबका धुरालाई सहजै भाँच्दिन्छन् । मनको बाघ गर्जदा बाख्रा त्यसै डराउँछ । लोडसेडिङ्ले सबै काम अलपत्र पारेको छ । व्यापार गर्दा दक्षता चाहिन्छ नत्र घाटा खाइन्छ । महलबासी ज्ञानी र झोपडीमा बस्ने अज्ञानी हुन्छभन्ने सोचाइ राख्न हुँदैन । राजनीतिवादले देशमा द्वन्द्व निम्त्याएको छ । सूर्यलाई हत्केलाले छोप्न सकिदैन । दिल दिन पनि सकिन्छ दिल लिन पनि सकिन्छ । सुन्दरता हेर्नलाई हो चुड्नलाई हैन, भ्रष्टचारका कुरा नगरौँ, शिष्टचारका कुरा गरौँ । यस्ता भ्रष्टचारीका देखाउने दाँत हैन चपाउने दाँतै खोजौं । नेतृत्व अन्धो त हैन तर नेत्रज्योति तिनमा छैनन्  किनकि दशगजा लुटिदा तिनले देख्न सकेनन् । बाघले बाख्रा खाएसरि मानिसले मानिस खान हुँदैन । आदि विभिन्न सन्देशहरू यी मुक्तकहरूले दिएका छन् ।
४.७.२ अभागीका मुक्तकहरू (२०७४)
चवालीस पृष्ठमा छापिएको यस कृतिमा रूवाई शैलीका ११९ वटा मुक्तकहरू रहेका छन् । प्रत्येक मुक्तकलाई शीर्षकीकरण गरिएको छ । यी मुक्तक पनि मुक्तक सङ्ग्रह २०६८ सरह नै विविधताले सजिएका छन् । समसामयिक राजनीतिक, व्यङग्य, विकृति, विसङ्गति, माया, प्रेम, राष्ट्र,राष्ट्रियता आदिका विषयमा मुक्तक केन्द्रित छन् ।

४.८. अभागीका गजलहरू –

अभागीले  हालसम्म एकल गजलसङ्ग्रह छ ओटा र संयुक्त गजलसङ्ग्रह ४ गरी १० ओटा गजलसङ्ग्रह प्रकाशित गरिसकेका छन् । यी एकल गजलसङ्ग्रह ५ ओटा पकेट साइजमा प्रकाशन भएका छन् भने गजल षष्टामृत अभागीको प्रेमविहारको षष्टामृतमा समावेश गरिएको छ । अभागीको प्रेमविहारको षष्टामृत छ ओटा गजलसङ्ग्रहको एकीकृतरूप हो । संयुक्त राष्ट्रिय गजल सङ्ग्रहः गजल यात्रा २ संयुक्त लेखन २०६५  समकालीन नेपाली गजल गजलसङ्ग्रह(संयुक्त) २०६८, ई–प्रतिनिधि नेपाली गजल (गजलसङ्ग्रह–संयुक्त) २०७० र शब्द शिविर गजल सङ्ग्रह–संयुक्त २०७४ मा पनि उनका गजलहरू प्रकाशन भएका छन् । ती संयुक्त कृतिहरू बृहत आकारका छन् । यसले पनि अभागीको गजल लेखनमा गतिशीलता प्रदान गरेको छ ।
४.८.१. अभागीको प्रेम विहारको षष्ठामृत (२०७०)
समभोग समाधि (२०६४)मा ८८ ओटा गजल,गजल गुटिका (२०६५)मा, ९२ गजल, बुढौतिका रहरहरू (२०६५)मा १०१ गजल, अभागीका गजलहरू (२०६६)मा १०४ गजल, गजल परिकार (२०६८)मा ८८ गजल, र गजल षष्ठामृत (२०७०)मा ९९ गजल गरी जम्मा ५७२ गजलहरू समावेश गरी अभागीको प्रेमविहारको षष्टामृतको सिर्जना भएको छ । यस कृतिभित्र ३ शेरदेखि ५ शेरसम्मका गजलहरू रहेका छन् । यी गजलले विप्रलम्भ श्रृङ्गार, सम्भोग श्रृङ्गार, समसामयिक सन्दर्भ, जीवन दर्शन, अपार राष्ट्रप्रेम, धार्मिक संस्कार–संस्कृति र दर्शन, कृषि, पर्यावरण यात्रामा रहेका नगरीको सुन्दरता वर्णित गजल, साहित्यिक चर्चा परिचचार्, स्वैरकल्पना, बालरचना, मातृभूमिपरक, नीति र कानुन सम्बन्धितका गजललाई समेटेका छन् । यसरी अभागीको गजल लेखन कलालाई अध्ययन गर्दा गजल शृङ्गारिकप्रधान विधा मात्र होइन जे विषयमा पनि यो लेख्न सकिन्छ भन्ने यथार्थता अभागीले स्थापित र प्रमाणित गरेका छन् ।
यिनका गजलमा अरबी,फारसी, हिन्दीका शब्दलाई प्राथमिकता नदिई आफ्नै नेपाली शब्दलाई प्रयोग गरी रदिफ र काफिया निर्माण गरेका छन् । यिनका गजलले मानवतावादको उत्थान गर्नुपर्छ भन्ने सन्देश दिएका छन् । सबै जातजाति, वर्ग, सम्प्रदाय, धर्म, पेशा आदिमा विभेदको अन्त्य गरी समुन्नत समाजको निर्माण हुनुपर्छ र मानवले मानवताकै रूपमा व्यवहारको अवलम्बन गर्नुपर्छ भन्ने धारणामा उनी कटिबद्ध छन् ।
यस गजल सङ्ग्रहको सम्पादन धनपति कोइरालाले गरेका छन् ।उनी लेख्छन्,"राष्ट्रियताप्रति स्वाभीमानका साथ गौरवबोध गर्दछन् । यसप्रकार समसामयिक युगवोध, जीवनदर्शन र राष्ट्रिय प्रेमका सन्दर्भहरू, यस गजलका प्राप्ति बन्न गएका छन् ।"

४.९ अभागीका समालोचनाहरू
सदानन्दले सृष्टिमा अभागीको दृष्टि(२०६९) लिएर पाठक सामु समीक्षकको रूपमा आपूmलाई खडा गरेका छन् । साहित्य सिर्जनाको उत्तराद्र्ध जीवनमा उनको समालोचनालेखनले तीव्रता लिएको छ । फेसबुक, अनलाइन पत्रिका, पत्रिकाहरूमा पनि उनका समालोचना प्रकाशन हुँदै आएका छन् भने अरू साहित्यिक विधाका कृतिभन्दा समालोचनाका क्षेत्रका कृतिहरूले प्राथमिकता ओगट्दै आएका छन् ।
४.९.१. सृष्टिमा अभागीको दृष्टि( (समालोचना)
उल्लिखित शीर्षकको कृति उनको प्रथम समालोचकीय कृति हो । ३०८ पृष्ठको यस कृतिमा ५५ वटा समालोचना रहेका छन् । प्रभावपरकता केन्द्रित यी समालोचनामा वनमाली निराकरको (पत्र सञ्चयन), हरि कट्टेलको(आँखामा अल्झिएका आँखाहरू), बिमला कार्कीको (पत्थरको मान्छे), सोमराज अभयको (विद्रोही काले महाकाव्य), उद्योगबहादुर श्रेष्ठको (यात्रा स्वदेश र विदेशको अनुभूति शिक्षा र संस्कृति), गजल सन्ध्या पोखराको (गजल उत्सव–३), दुर्गा भुषालको(निर्धा मलामीहरू), शान्तिनारायण श्रेष्ठको (खाटाँ बस्न नसकेका घाउहरू), विजयसागर, वनमाली निराकार र रूद्र ज्ञवालीको( विबरूका कथाहरू), नरनाथ लुइटेलको (ठूली शोक काव्य), युगसुधा त्रैमासिकको (युगसुधा,असौज कर्तिक ममुङ्सिर २०६४को अंक १), गोर्खे साइलोको( सूत्रमाला), दीपा एवाई राईको (अर्धवृत्त) गंगा पौडेलको(ओजु र डाफे), प्रभाकर पण्डितको (यो अचम्म भो), कृष्णादेवी शर्र्मा श्रेष्ठ को(सृष्टि सौगात), दीपक सोतीको (मेरी आमा रुँदी हुन्) । अशंफाक संघर्ष ताबिशको (कशिश), लक्ष्मीदत्त भट्टको (चाँदनीको व्यथा), विष्णु तिवारी उषाको (धुमिल धुमिल सपनाहरू), समकालीन नेपाली गजल २०६८कोसंक्षिप्त विवेचना), माधव वियोगीको (जगदम्बा महाकाव्य), लक्ष्मीप्रसाद देवकोटाको (पागल कविता), वर्षात दर्लामीको (नदीको छेउ), कृष्णादेवी शर्माको (घरभेटी भाउजू), सुमित्रा पौडेलको (ममताको आँचल), धनराज गिरीको( ढल्दैन स्वाभिमान कसै गरे पनि), केशवराज आमोदीको(कर्मभूमि), कपिल अज्ञातको (निर्वात स्वरहरू), जनमत प्रकाशनको कवितासङ्ग्रह प्रथम खण्डको विवेचना),  साहित्यिक वनभोज एक विवेचना, सिन्धुलीका तीन कृतिहरूको विवेचना, लीला मास्की रानाको (साहित्यिक यात्रामा लीला), भागवत आचार्यको (मनलाई सम्बोधन), वियोगी बुढाथोकीको (म गोपाल अर्थात् गोपालाहरू), माया ठकुरीको (आमा जानुहोस््), राजेन्द्र पहाडीको(शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन), कृष्णादेवी शर्माको (निर्झरिणी), युद्वविक्रम शाहीको (युद्वका गजलहरू), झमक घिमिरेको (जीवन कांडा कि फूल) र काजी रोशनको (स्रष्टा भेटका स्वर्णाक्षर) कृतिहरूका विवेचना रहेका छन् ।
यी विवेचनामा विषयगत, क्षेत्रगत, सर्जगगत आदि विविधता छन् । यस कृितमा रहेको भुटानी शरणार्थी नेता टेकनाथ रिजालको "निर्वासन" भावसार निकैलामो समालोचना हो । करिव ८६ पृष्ठको छ । यस कृतिको भावसारमा विवेचकले निर्वासनलाई निसरण गरेर प्रस्तुत गरेका छन् । यो विवेचनाले मूल सग्लो कृति पढेसरह अनुभूति दिन सक्छ । यसरी नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित पागल कविताको विवेचना कविताबाटै गरिएको छ । करिब ४३ पृष्ठमा गरिएको यो समालोचना पनि नौलो र महत्त्वपूर्ण देखिन्छ । अभागीले समालोचना गर्दा गहिरो अध्ययन गरेर प्रकाशकीय, भूमिकाकार, शुभचिन्तक, शुभेच्छुक आदिको धारणा समेटेर कविता, कथा, महाकाव्य, गजल आदिलाई विवेचनामा समेट्ने प्रयास गरिएको देखिन्छ ।

४.९.२. सृष्टिमा अभागीको दृष्टि (समालोचना  सङ्ग्रह) २०७४
यो अभागीको दोस्रो समालोचनाको कृति हो । ६०२ पृष्ठ मोटो यो कृतिमा ५५ वटा समालोचना रहेका छन् । १. मायादेवी सुब्बाको (पश्चाताप), २. भूपेन्द्र शर्मा भट्टराईको (गण्डर्षिका कविताहरू), ३. कैलाशकुमार पाण्डेको (बादलका बुट्टाहरू), ४.चिरञ्जीवी सिग्देलको (मनमनको गुनगुन), ५ माधवबहादुर पोख्रेल(आकांक्षाको चिता नाटक), ६. डा. धनपति कोइरालाको (मेरो शहर), ७. युगीन साहित्य समाज रूपन्देहीको (युगीन मुखपत्र), ८. डि.आर.शर्माको (पहाडको झर्ना), ९. लक्ष्मीदत्त 'सत्यप्रेमीको (आमाको स्मृतिमा), १०. ईश्वर 'बा' खनालको (जीवनका छालहरू),११. नेपालमा कृषि कर्मको थालनी र कृषि शिक्षाको महत्त्वः एक संक्षिप्त विवेचना,  १२.ताराप्रसाद श्रेष्ठको (कुमारी मामु तीज गीतसङ्ग्रह), १३. नेपाली साहित्यिक गतिविधिको संक्षिप्त विवेचना, १४. शारदा पाठक 'केवल'को (टिपनटापन), १५. शान्ति अधिकारीको (शान्तिबाटिका), १६ शिवहरि अधिकारीको (पुष्पोद्यान), १७.गंगा पौडेलको (दशैको दक्षिणा), १८.बालकृष्ण भट्टराईको (प्रस्थान गर्नुअघि), १९.वीरबहादुर चन्द'विश्रामको (साहित्य सर्जक माला एक जमर्को), २०. जनमतको सिक्किम विशेष ,२१. नवलपरासीको गजलकारीतामा गजल प्रवाह (२०६९), २२.लक्ष्मीदत्त 'सत्यप्रेमी'को (बहर सागर), २३ गंगा लिगलको (ममताको खास्टो), २४. गंगा लिगलको (अमेरिका उपन्यास), २५.गोर्खे साइँलोको (गजल दर्शन), २६. भानुभक्तीय रामायण, २७. आदिकविभानुभक्त आचार्यको व्यक्तित्व र कवित्व, २८. प्रश्नोत्तरमाला, २९. भक्तमाला, ३०. भानुभक्त आचार्यको व्यक्तित्व र कवित्वको कार्यपत्र ३१. बधुशिक्षा, ३२. रजस्थल(वी.पी.विशेषांक (भाग–१) ३३. वी.पी.विशेषांक (भाग–२), ३४. विश्वेश्वरप्रसाद कोइरालाप्रति मेरो धारणा, ३५.मझेरी साहित्य प्रतिष्ठानको (अक्षरहरूको पिरामिड) ३६.युसुफदिन मियाको (मनको व्यथा), ३७. नवमाधुरी (पूर्णाङ्क–२१), ३८. श्रीकान्त कोइरालाको (बालसुसेली), ३९. विष्णु तिवारी उषाको (यो कस्तो तलतल हो), ४०. युसुफदिन मिया पाल्पालीको (पाल्पालीका गजल), ४१. कालीको सुसेली भानुभक्त विशेष, ४२. खनाल रेवतीरमणको अर्जुन बाँण, ४३. युसुफदिन मिया पाल्पालीको मुतकारिव दिवान, ४४.विमला शर्मा ढुङ्गानाको क्षितिज पारिको जुन, ४५.कृष्णाकुमारी शर्मा (श्रेष्ठ)को (आधा आकाश), ४६. भवानी न्यौपाने भावनाको (भावनाका बिम्बहरू), ४७.फडिन्द्रराज देवकोटाको (हिमालपारि महाकाव्य), ४८ हिमाली गुराँस ६० अंक नियाल्दा, ४९. चिरञ्जीवी सिग्देलको मनमनको गुनगुन, ५०) विश्वप्रेम अधिकारीको (काव्यत्रयी), ५१. नवमाधुरी २६ पूर्णााङ, ५२. निशा क्षेत्रीको (एउटा अदृश्य मन), ५३.कलानाथ अधिकारी स्मृति प्रतिष्ठानको(कलानाथ अधिकारीको कृति) ५४.विष्णुबहादुर सिंहको (सम्झनाका झिल्काहरू) र ५५. कृष्ण पहारीको (मान्छे हराएको देश) जस्ता कृति समीक्षा सदानन्दले यस कृति सङ्ग्रहभित्र सगृहीत गरेका छन् । यस कृतिमा कृतिकारका कृति मुखपत्र, विशेषाङ्कहरू र फुटकर रचनाका समीक्षा परेका छन् ।
सदानन्द अभागीको यस समालोचना कृतिमा आदिकवि भानुभक्त आचार्यका राम गीता बाहेकका सबै लेखनलाई समेट्ने प्रयास गरेका छन् । करिव ३९ पृष्ठमा रामायणको पुरै सारभाव अध्ययन गर्न सकिन्छ । यस कृतिको दोस्रो महत्त्वपूर्ण पक्ष भनेको वि.पी.का विशेषाङ्क भाग–१ र भाग– २ को विवेचना पनि हो ।

४.९.३. कसैका सृष्टिहरूमा अभागीको दृष्टि (२०७४)
यो अभागीको तेस्रो समालोचनाको कृति हो । यो १९५ पृष्ठको छ । यसमा १५ वटा समालोचना रहेका छन् । विषणुबहादुर सिंहको १. सरल रेखा बक्ररेखा, २. गोविन्दराज विनोदीको (शूर्पणखा खण्डकाव्य), ३. पूर्णप्रसाद अधिकारीको मूल्याङ्कनका वृत्तमा देवकोटा, ४.गंगा कर्माचार्य पौडेलको भुइँचालो, ५.रामलाल जोशीको ऐना कथासङ्ग्रह, ६.मझेरी साहित्य प्रतिष्ठानको हैसियतका हस्तीहरू, ७.गीता खत्रीको झोखाङदेखि मजलेटानसम्म नियात्रा सङ्ग्रह, ८. मुकुन्द प्रयासको एक झोला इन्द्रेणी, ९. भानुभक्त र रामगीता, १०. प्रेम राजेश्वरी थापाको तिम्रो यादमा वर्षा,  ११. परदीप भट्टराईको शौचालयमा ईश्वर, १२. भगवती अर्याल पाण्डे र मञ्जरी गजल सङ्ग्रह, १३. कृष्णादेवी शर्मा श्रेष्ठको जुनमा चुहेको त्रास बहरबद्ध गजल सङ्ग्रह , १४.गीता खत्रीको आमा हुन् आमा खण्डकाव्य, र १५. अ.ने.सा.स. गजलसङ्ग्रह,  शीर्षकहरूमा सदानन्दले समालोचकीय आखाँ डुलाएका छन् । उनले समीक्षा गर्दा नयाँ, पुराना, अग्रज, अनुज, तथा खारिदै गरेका र मध्यम खाले स्तरका स्रष्टालाई समेटेर समीक्षा लेखेका छन् । भूगोलका हिसाबले उनले नेपालदेखि अमेरिकामा रहेका स्रष्टालाई स्थान दिएका छन् ।

४.९.४. केही सृष्टिहरूमा अभागीको सिंहावलोकन (२०७४)
यो अभागीको चौथो समालोचनासङ्ग्रह हो । आकारमा यो २७० पृष्ठमा प्रकाशित भएको छ र २१ वटा समालोचनालाई स्थान दिइएको छ । यस पुस्तकमा १. त्रिभूवन चन्द्र वाग्लेको अकीर्ण आखाँ, २.द्रोणराज उपाध्यायको त्रिवेणी कवितासङ्ग्रह, ३.यमबहादुर के.सी.को बादल भित्रका कविताहरू, ४. पूर्वको यात्रा एक विवेचना, ५.भक्तकार्कीको प्रक्षेपण, ६.कृष्ण नेपालको राजनीतिमा लगानी वालुवामा पानी ,७. नवमाधुरी प्रतिष्ठानको नवमाधुरी पूर्णाङ्क २९, ८.लालचन्द्र राजभण्डारीको मेरो छक्कु कवितासङ्ग्रह, ९.वेदप्रसाद शर्मा ढकालको छरिएका फूलहरू, १०. जागीरे जीवनका तीतामीठा अनुभूतिका संक्षिप्त झलक ,११.टिकादेवी पोख्रेलको तिम्रै पर्खाइमा, १२. गणेश "कौडिन्य" को भिजेका अक्षर खण्डकाव्य, १३.नवराज पाण्डेय 'चातक'को कालिगण्डकी महाकाव्य, १४. हाम्रो मझेरी साहित्य प्रतिष्ठानको (संयुक्त गजलसङ्ग्रह)को शब्दशिविर, १५.माधवप्रसाद चालिसेको जीवनयात्रा महाकाव्य,  १६.चन्द्रश्री कार्कीको तीनजुरेदेखि अनारखोलीसम्म, १७.सुदीप चापागाइँको उपन्यास स्मारिका, १८.रामप्रसाद ज्ञवालीको स्वप्नदृष्टि महाकाव्य, १९.सिर्जना शर्माको  मनदाकिनी, २०.भेषराज रिजालको मेरा पाइलाहरू,  २१.भेषराज रिजालको अनमोल पुरस्कारहरू, शीर्षकीय समालोचनाहरू उनका प्रस्तुत भएका छन् ।
यस कृतिमा कालीगण्डकी, जीवनयात्रा र स्वप्नदृष्टि तीन महत्त्वपूर्ण महाकाव्यहरूले स्थान पाएका छन् । यस कृतिमा स्वप्नदृष्टि महाकाव्य सबैभन्दा लामो समालोचना हो । यसले ६२ पृष्ठ ओगटेको छ ।
४.९.५. पाल्पालीका गजल दृष्टि (२०७७)
हालसम्म प्रकाशित समालोचकीय कृतिहरूमध्ये यो पाँचौ कृति हो । यो कृति पनि एकै व्यक्ति–युसुफदिन मियाँ पाल्पालीका सबै कृतिहरू ६ वटाको चर्चामा केन्द्रित छ । यस पुस्तकमा १. पाल्पालीका गजल २. मनको व्यथा ३. एक बहर एक गजल ४. रोशनी नियाल्दा ५. मुत कारिब दिवान ६. नबीको महिमा शीर्षकहरू रहेका छन् । १२४ पृष्ठमा उनको चर्चा केन्द्रित गरी कृति तयार पारिएको छ ।
४.९.६. गंगा लिगल सृष्टि दृष्टि (२०७७)
छैटौँ समालोचना सङ्ग्रहको रूपमा छापिएको यो कृति एउटा व्यक्तिको कृतिहरूमा समीक्षा गर्न केन्द्रित देखिन्छ । यस भित्र १. गंगा लिगलको संक्षिप्त परिचय, २. गंगा लिगल र गंगाजल, ३. गंगा लिगलको गोधुलीमा एक दृष्टि, ४. गंगा लिगल र आमा कविता सङ्ग्रह, ५. गंगा लिगल र शखीवियोग खण्डकाव्य ,६. गंगा लिगलका सागरपारि कविता सङ्ग्रह, ७. गंगा लिगलका ह्ृदयका स्पन्दनहरू, ८. अमेरिकी उपन्यास नियाल्दा, ९. ममताको खास्टो, १०.गंगाको यात्रा, ११. भानु तिम्रो सम्झनामा , १२. गंगा जेसिका , १३. सगीतको आभाष र १४. गंगाका गजलमा भावस्नान समीक्षाहरू रहेका छन् । यो कृति १८० पृष्ठको रहेको छ ।
यसरी सदानन्द अभागीले हालसम्म डेढ दर्जन कृषि विज्ञानका कृतिहरू अड्तीसवटा साहित्यिक कृतिहरू, सत्रवटा कृषिक्षेत्रका अध्ययन प्रतिवेदन सम्पादनका चार ९ अंग्रेजीका (२ र नेपाली भाषामा २० वटा कृतिहरू सार्वजिनक गरी सिर्जना, लेखन, तथा अनुसन्धान क्षेत्रमा सामथ्र्यवान्व्यक्तित्वको रूपमा चिनाएका छन् । साहित्य सिर्जनाका विविध विधाका कृतिमध्ये कविताका ३ वटा, गजलका (६वटा एकल र ४ ओटा संयुक्त) कथाका (४ वटा), लघुकाव्य,–१, खण्डकाव्य –१, उपन्यास–३, कृषिकाव्य– १, महाकाव्य–३वटा समालोचनाका– ६ वटा मुक्तकका–२, जीवनी–१, प्रकाशित भएका छन् ।


No comments:

Post a Comment