इन्दिरा भुर्तेल र चन्द्रविलास भुर्तेल
"जति कमाइन्छ त्यति मै बाँच्न र नाच्न सक्नुपर्छ"
म सदानन्द रिजालकी कान्छी छोरी हुँ । मेरा श्रिमानको नाम चन्द्रविलास भुर्तेल हो । हाम्री स्तुती नामकी एउटी छोरी छन् । रामजी हजुरले बुबाको कुनै एउटा दार्शनिक अभिव्यक्ति उल्लेख गर्नुहोस्् र त्यो व्यवहारमा ल्याउन् भएको छ त ? भन्ने प्रश्न राख्नु भयो । मेरा बुबाका थुप्रै मनन गर्ने अभिव्यक्तिहरू छन् । ती मध्ये एउटा जीवन कसरी जिउन पर्छ भन्ने अभिव्यक्ति "जति कमाइन्छ त्यति मै बाँच्न र नाच्न सक्नुपर्छ" भन्ने हो ।म यसैमा आधारित भएर मलाई लागेका जे जे कुरा अभिव्यक्त गर्नु पर्ने हो यहाँ प्रष्ट पार्दछु ।
मेरा बुबाको जीवन जिउने कला अनौठो किसिमको छ । आफ्नो आम्दानीलाई हेरेर त्यसैमा बाँच्न सक्नुपर्छ भन्ने भनाइमात्र नभएर जीवनका हरेक पाइलामा उहाँले आफ्नो भनाइलाई व्यवहारमा उतार्नु भएको छ । त्यो मार्गदर्शनमा हामी सबै छोराछोरी अघि बढ्ने प्रयासरत छौँ । यसरी आफ्नो खुट्टामा उभिनको लागि उहाँले हामीलाई पढ्नमा जोड दिनु भयो । उहाँकै कारणले गर्दा घरमा सबै शिक्षित परिवारमा हामी गनिन सकेका छौँ । हामीलाई कहिल्यै धेरै महत्त्वकांक्षी बन्न दिनु भएन । हामीले जहिले पनि असल मानिस बन्नु पर्छ भन्ने सुसन्देश पाइराख्यौँ । असल मानिस बनेपछि मात्र सुकर्म गरेर सुमार्गको अवलम्बन गर्दै ठूलो मानिस बन्नतिर लम्कनु पर्छ । मान्छे धेरै महत्त्वकांक्षी हुन्छन् र विलासिताको जीवन जिउन चाहन्छन् । यी चीजले मानिसका आय आर्जनले भ्याउँदैन र आपूर्तिको लागि ऊ अनैतिक काम गर्न तिर लाग्छ, भष्टचार गर्दछ । उसको नैतिकतामा ह्रास आउँछ । बोलाई र व्यवहारमा फरक हुँदै जान्छ । आखिरमा ऊ समाजमा तिरस्कृत हुँदै जान्छ । त्यसैले आफ्नो कमाइअनुसारको आफ्नो जीवन निर्वाह गर्दा कसैको नजरबाट गिर्न पर्दैन, इमानदारिता नैतिकता जोगिन्छ र मनमा सन्तुष्टि मिल्छ । मनमा सन्तुष्टि मिलेपछि आनन्द आउँछ र त्यसैमा खुशी मिल्दछ भन्ने वाणीहरू बेला बखतमा बुवाले गर्दा साच्चैनै म आफुलाई सदानन्द अभागी जस्तो बाबा पाउँदा संसारको भाग्यमानी छोरी ठान्दछु । कसै कसैले तपाईँ जस्तो खटेर काम गर्ने विज्ञलाई राष्ट्रले के दियो खोई भनी प्रश्न राख्दा उहाँ हाँस्दै भन्नु हुन्छ "राष्ट्रले मलाई के दिएन, जागीर दियो, जागीरबाट निस्केपछि पेन्सन दियो, पद दियो, इज्जत दियो । बरू हजुरहरूले राष्ट्रलाई तैले के दिइस् भन्नु भएको भए राम्रो हुन्थ्यो । राष्ट्रले हामीलाई के दियो भन्नु भन्दा राष्ट्रलाईहामीले के दिन सक्यौँ भन्नु नै उत्तम हुन्छ ।"
बुबाको जति कमाउछौ त्यसैमा बाँच र नाच भन्ने अभिव्यक्तिलाई म र मेरा श्रीमानले शिरोधार्य गरेका छौँ । जेजति कमाउछौँ त्यसैमा खर्च र बचत गर्ने बानी बसालेका छौँ ।
बुबाको एउटा कल्पना थियो हामी सात जना छोराछोरीले सरकारी जागीर खाएर देश र जनताको सेवा गर्नेछन् । उहाँको मार्गदर्शनबाट हामी आफ्नो खुट्टामा उभिन पर्छ भन्ने भावनालाई त बोकेका छौँ तर सरकारी सेवामा नभएर अलग अलग मार्गमा रहेर भए पनि हामी अघि बढेका छौँ ।
उमा लामिछाने र श्याम लामिछाने
"जीवन साथी चुन्न पूर्ण अधिकार छ ।"
म सदानन्द रिजालकी साँहिली छोरी हुँ । मेरा श्रीमानको नाम श्याम शर्मा लामिछाने हो । मेरो एउटा उत्सव नामको छोरा छ । रामजी हजुरले मलाई बाबाले विवाह कसरी गराई दिनु भयो त भनीजिज्ञासामा छोटो रूपमा भन्दा बुबाले हामीलाई वैवाहिक स्वतन्त्रतादिनु भएको थियो भन्दा केही अर्को अर्थ नलागोस् । मेरो बुबा जागीरे हुनुहुन्थ्यो । उहाँको ठूलो चिन्ता हाम्रो पढाइमा थियो । बाबाले पढ्नुपर्छ, सरकारी जागीर खानुपर्छ, असल मान्छे बन्नुपर्छ यस्ता थुप्रै कुरा सुनाउनु हुन्थ्यो । केके हो केके । मैले बुझ्दिनथेँ । पढाइमा यति जोड दिनु हुन्थ्यो कि घरमा जति दिन बसाइ हुन्थ्यो त्यति दिन पढाइको घोकाइ हुन्थ्यो । बाबा जागीरबाट घर आए पनि बसाइ भने निकै कम हुन्थ्यो । सबै काम दुईटी आमाहरूले गर्नु हुन्थ्यो । मलाई पढ्न भन्दा खाना पकाउन रहर लाग्थ्यो । सात सात जना उत्रैउत्रा खाना बस्दा त झन रमाइलो हुने । यसै क्रममा हामी बढ्दै गयौँ । युवा अवस्था आउन थाल्यो । आमाहरू सतर्क हुन थाले । स्कुलबाट आउन ढिलो गर्दा स्पष्टिकरण दिनुपथ्र्यो । जेठी दिदीको विवाह भयो । बुबा कुश्मामा जागीरे हुनुहुन्थ्यो सबै तयारी आमाहरूले गरे । बाबा विवाहका दिन आउनु भयो र दिदीको विवाह भयो । विवाह गर्नु भन्ने कुरा सजिलो पनि हुँदो रहेनछ । होटेलमा जाँड खाएर र भात खाएर आए पनि विवाहका दिन जैसीहरूमा ठूलो भाते र सानो भाते भन्नै पर्ने । एकले अर्कालाई होच्याउनै पर्ने प्रवृत्ति पनि देखिदो रहेछ । बुबा भने यो जातभातमा त्यति कट्टर हुनुहुन्नथ्यो । राधा दिदीको विवाह पछि यशोदा दिदीको विवाह भयो । समय वित्दै जाँदा मेरो छोरोलाई तेरी छोरी तथा एउटाका पटाहामा बसेर अर्कैका छोरा र छोरीको विवाह तय गर्ने परम्परा हटिसकेको थियो । यशोदा दिदीको विवाहमा बाबाले पहिला विवाहको कुरा चलेपछि एउटा मापदण्ड निर्माण गर्नुभयो रे, पढाइको आधार,जागीरे, स्कुलको आवस्था, विजुली पानी, यातायात र खेतीगर्ने जमिन कति छ । त्यसको आधारमा केटो तय गर्ने काम बाबाले गर्नु हुन्थ्यो रे । घरमा आएर दिदीलाईशोधनी गर्नु भयो । तिम्रो विवाह गरीदिने विचार आयो । केटो बोलाई दिम् । जीवन साथी चुन्न तिमीहरूलाई पूर्ण अधिकार छ । कुनै तिम्रो साथी छ भने भन मलाई कुनै आपत्ति छैन । नत्र भने केटा बोलाई दिन्छु । केटो आएपछि तिमीले राख्नु पर्ने जिज्ञासाहरू राखेर तिमी दुईको सहमति भयो भने टिकाटालोगरीदिन्छु । नभन्दै सबै कुरा बुबाले भने जस्तै भयो । माहिली दिदीको विवाह भयो । दाजुहरूको विवाहका कुरा चले यसमा पनि बाबाले तिम्रा केटी छन् भने ल्याओ नत्रभने मैले रोजेकी केटीसँग विवाह गर । यसरी नै दाजुहरूको विवाह टुङ्गियो र मेरो पनि एवम् रितले टुङ्गियो । आज हामी सबै हाम्रा परिवारमा सन्तुष्टिको साथमा जीवन विताइ राखेका छन् । छोराछोरीको विवाहमा उहाँको दुरदर्शिताले गर्दा सबैलाई सहजता मिलेको छ । यस्तो आफ्नो जीवन साथी चुन्ने अधिकारलाई प्रयोग गर्दै बाबाआमाको भावना मिल्ने गरीगरिने विवाहको सौभाग्य सबैले पाउँदैनन् । अन्त्यमा मेरा भावना राख्ने मौका दिनु भएकोमा रामजीलाई धन्यवाद ।
कल्पना आचार्य सुवेदी (साला चन्द्रप्रसाद आचार्यकी छोरी)
"अमृत जस्तो बोली वचन चन्द्रजस्तो शीतल"
टाढैबाट नमन गरेँ फुपू पुसाजुलाई
हजुरको अशीर्वाद लागि रहोस्् हामीलाई
मेरो यौटा अभिभावकहजुरलाई ठान्छु
सल्लाह र सुझावलाई मन्त्रसरि मान्छु
सत्यमार्ग हिड्नलाई प्रेरणा दिने हजुर
दुःख कष्ट पर्दा खेरी सहयोग दिने भरपुर
अमृत जस्तो बोली वचन चन्द्रजस्तो शीतल
हीरा मोती बनाइ राख्छौँ बन्न दिन्नौ पितल
चारैतिर समाजसेवा अझै बढ्दै जावस
उत्साह र उमङ्गले संसार चुम्दै रहोस््
असि पुग्न लाग्दा पनि समाज सेवा उस्तै
तीस वर्षे जोश जाँगिर निकालेर मस्तै
ज्ञानका ती भकारीलाई बाँड्दै जानु भा'छ
साहित्य र समाजसेवा उच्चतामा आ'छ
सयौँ सयौँ वर्षसम्म आयु बढ्दै जावस्
जन्मौ जन्मसम्म नाम उच्चतामा आवस्
कृष्ण गौडेल(पर्वत, फलेवास–४, मुडिकुवा)
"लेखन शैलीमा उहाँको आफ्नै किसिमको धार छ ।"
हाम्रा हितैषी शुभ चिन्तक, प्रिय सम्धीज्यू, नेपाली वाङ्मय क्षेत्रमा परिचित हुनुहुन्छ । उहाँका विभिन्न साहित्यिक कृतिहरूले नेपाली साहित्यको क्षेत्रलाई उच्च स्थानमा पु¥याएको छ साथै कृषि सम्बन्धी कृतिहरूले नेपाली कृषकको उत्पादनमा टेवा पु¥याएको छ ।यसै सन्दर्भमा रामज्ञवालीले सम्धीज्यूको जीवन व्यक्तित्वमा अनुसन्धानमूलक कृति लेखन गर्दै छुभनीजानकारी दिँदै सदानन्दलाई कसरी चिन्नु हुन्छ? उहाँको लेखन शैली कस्तो छ ? धौलागिरीमा उहाँको लेखन स्थान कस्तो छ आदि जस्ता प्रश्न राख्नु भयो । सदानन्द एउटा बरिष्ठ माटो वैज्ञानिक, बरिष्ठ साहित्यकार,बरिष्ठ समाजसेवी एवम् वि.पी.दर्शनको अवलम्बन कर्ताको रूपमा चिन्दछु । लेखन शैलीमा उहाँको आफ्नै किसिमको धार छ । धौलागिरीमा उहाँको स्थान कस्तो छ भन्दा जन आवाज सुन्दा निकै लेख्ने मानिस भन्दा सुनेको छु ।
थमनलाल पौडेल
"उहाँ नरिवल जस्तै हुनुहुन्छ । बाहिर कडा तर भित्र अत्यन्त कोमल"
जेठा छोरा जगत्प्रसाद रिजालको विवाह मङ्गलपुर निवासी थमनलाल पौडेलकी कान्छी पुत्री विमला पौडेलसँग भयो । थमनलाल पोडेलसँग सम्पर्क राख्दा उहाँले दिएको प्रतिक्रिया यस प्रकार छ । "उहाँ विद्वान हुनुहुन्छ , दर्जनौँ कृतिहरू लेख्नुभएको छ । बोल्दा ठेट कुरा बोल्ने, कसैको चाकडी चाप्लुसी गर्न नजान्ने, हुनाले कोही कोहीलाई खरो स्वभावको पनि लाग्न सक्छ तर वास्तबमा उहाँ नरिवल जस्तै हुनु हुन्छ । बाहिर कडा तर भित्र अत्यन्त कोमल । प्रकृतिका मनोरम रंगतरंगसँगै खेल्दै , रमाउँदै जीवनका उकाली र घुम्तीहरू पार गर्नु भएका सम्धीजी सदानन्दको समाज सेवा, साहित्य सेवामा चाल्नु भएका कदमहरू निरन्तर अगाडि बढून् , माधुर्यता र आत्मियता बढ्दै जाओस् र दीर्घायुको कामनासहित अनन्त शुभकामना ।"
बालकृष्ण अधिकारी (गैडाकोट)
"सम्धीजीको जीवन पद्धति ज्यादै सरल, सादा जीवन उच्च विचारको"
सदानन्द अभागी पर्वत निवासी र म बालकृष्ण लम्जुङ निवासी भएको हुँदा हाम्रो भेटघाट मेरी छोरी भावना अधिकारीको विवाह उहाँको छोरा भेषराज रिजालसँग २०६७ साल असार ३० गते हुने वार्तालापको सिलसिलामा २०६७ तिर उहाँकी जेठी छोरी राधा तिवारी मार्फत् भएको थियो । यही वैवाहिक सफलताबाट हाम्रो पाविारिक नाता जोडियो । यसरी पारिवारिक नाता जोडिएपछि हालसम्म हाम्रा दुई घर परिवारसँग सुमधुर सम्बन्ध रहँदै आएको छ । सम्धीजीको जीवन पद्धति ज्यादै सरल छ । सादा जीवन उच्च विचारका सदानन्द अभागीको जीवनको उर्वरक समय जागीरमा व्यतित भयो तर हाल आएर उहाँको सक्रियता नेपाली साहित्य लेखन र समाज सेवामा समर्पित भएको छ । उहाँका घरपरिवार सबै शिक्षित छन् । हाम्रो सम्बन्ध भएपछि केही कृति अध्ययन गर्ने मौका पाएँ । उहाँको लेखन शैली सहज र सबै प्रकारका पाठकलाई रूचीकर छन् र रचनाहरूले उहाँको सरल र निर्भिक व्यक्तित्वको प्रदर्शन गर्दछन् ।
यशोदा अधिकारी र खगेश्वर अधिकारी (ज्वाइँ)
"भावपूर्ण सारयुक्त सिर्जनाका पङ्क्ति
अमृत ठान्छौ पान गर्छौ तिम्रा सन्तति"
नाम तिम्रो सदानन्द जन्म भयो पर्वत
साहसी ती कर्म देख्दा सबले पाउँछौ राहत
राष्ट्रसेवक सेवा पु¥याई घर आए पनि
साहित्यमा उर्जा शक्ति अझै बढी छ नि
लोभ मोह कहिल्यै पनि देखिदैन उनमा
स्वच्छताले परिपूर्ण आनन्द छ मनमा
विदेशको मोह त्यागी स्वदेश नै प्यारो
राष्ट्रभक्ति सबल देख्दा खुसी मन हाम्रो
साहित्य र समाज सेवा तिम्रो बन्यो पेवा
तिनै कर्म ग्रहण गर्दा हातमा पर्छ मेवा
परिवारको लालान पालन पूर्णतामा गयो
साहित्य र समाज सेवा गर्न मन भयो
गतिशील प्रेरणा सूत्र रुचि साहित्यको
भाग्यशाली ठान्छौँ हामी पाई ममताको
भावपूर्ण सारयुक्त सिर्जनाका पङ्क्ति
अमृत ठान्छौ पान गर्छौ तिम्रा सन्तति
आशीर्वाद मार्गदर्शन पाउँ हजुरको पुरा
प्रण गर्छौ मार्ग धर्छौ सन्तति छौ सुरा
प्रार्थना गर्छौ ईश्वरसँग माग्छौ केही कुरा
चिरञ्जीवी माता पिता बनुन् पुरा पुरा
राधा तिवारी (सदानन्दकी जेठी सुपुत्री) र इन्द्र तिवारी (ज्वाइँ)
"ग¥यौ तिम्ले परिश्रम हेर दिन रात"
पिता मेरा सदानन्द माता डिलु–पार्वती
जय जयकार मता पिता गरेँ मैले यती
ग¥यौ तिम्ले परिश्रम हेर दिन रात
खाने मुख हजुरका भयौँ हामी सात
भगवान जिउँदा देवता माता पिता मान्छौँ
जन्मेका यी सातै सन्तान भाग्यमानी ठान्छौँ
परिस्थिति जस्तो सुकै आए गए पनि
शिक्षा दीक्षा दिनु भयो भोकै रहे पनि
कृषिप्रधान देश नेपालमा कृषि शिक्षा लिई
कृषि बाटै नाम राख्नु भयो वैज्ञानिक भई
समाजमा अझै पनि गर्नुहोस्् समाज सेवा
सर्वनाम प्रचलित त्यही बन्ने छ मेवा
सञ्जिता तिवारी (सदानन्द को जेठी छोरी तर्फकी नातिनी)
"तपाईँका जवान शब्दहरूले परिवर्तन अवश्य ल्याउँछ"
हजुर जित्ने कुनै उमेर हुँदैन हार्ने कुनै उमेर हुँदैन
आपूmले चाहेजस्तो व्यवहार गर्ने कुनै उमेर हुँदैन
प्रार्थना छ स्वीकारी रहून् तपाईँका रचना सृष्टिहरू
मेहफिलमा भावनाको बजार गर्ने कुनै उमेर हुँदैन
बुझ्छु साहित्य कति प्यारो छ कति ख्याल राख्नु हन्छ
आखिर शिररको अंग स्याहार गर्ने कुनै उमेर हुँदैन
तपाईँका जवान शब्दहरूले परिवर्तन अवश्य ल्याउँछ
देशको हितमा शब्दले प्रहार गर्ने कुनै उमेर हुँदैन
बुबा तपाईँको बारेलेख्नु म निकै सानो छु शायद
शायद ठूलाबडालाई उपहार गर्ने कुनै उमेर हुँदैन
सपना तिवारी ( कावासोती, हाल कोरिया)
"उच्च मन र उच्च कामबाट मानिस ठूलो मानिन्छ"
म सदानन्द जैसीकी सबैभन्दा जेठी नातिनी र राधा तिवारीकी छोरी हुँ । राम ज्ञवालीसरले मेरो बारेमा अध्ययन गर्दै हुनुहुन्छ । तिमीले मलाई कसरी लिएकी छौ, न हिचकिचाइक नै सत्य तथ्यमा रहेर लागेका सबै कुरा म्यासेजमा पठाइदेउ भनेर मेरो हजुरबाबाको म्यासेज पाएँ । मलाई खुसी लाग्यो उहँका अमृत वाणी धेरै छन् जस्र्तै "उच्च मन र उच्च कामबाट मानिस ठूलो मानिन्छ," "पैसा साधन हो साध्य हैन""सिर्जनशील मानिस कहिल्यै बुढो हुँदैन", जिउँदो ज्यानले माडपाएन मरेकालाई खीर", आदि आदि । उहाँ बहु आयमिक मानिस हो । घर निर्माण, समाज निर्माणमा र राष्ट्रनिर्माणमा सबैको योगदान चाहिन्छ आदि आदि धारणाहरू केलाएँ, कहाँबाट थालनी गरूँ भन्ने मनमा कुरा खेल्न थाले । विदेशमा बसेकी छु के को लागि मामको लागि मलने भन्छ । "मानिस ठूलो मानिन उच्च मन र उच्च काम चाहिन्छ ।" धारणालाई शीर्षक दिएर अगाडि बढ्ने मन भयो किनकि हजुरबाबाको अमूल्य योगदानको वर्णन गर्ने शब्दनै ममा छैन । कुनै समय थियो मेरो बाल्यकाल हजुरबाबाको काखमा हुर्किएको थियो । जहाँ सानो सानो गाली पनि मेरो भविष्य बुन्दै थियो । बाबा आमा पहिलेकै जमानाको हुनुहुन्थ्यो । बुबाको सोच धेरै माथि थियो । गाउँमा समाज सेवाको लागि सदा अगाडि हुनुहुन्थ्यो । आज ती तमाम गुणहरू ममा र मेरी आमामा पनि छन् । म गर्व साथ भन्न सक्छु आज ममा भएका समाजसेवा गर्नुपर्छ भन्ने सोचहरू बुबाबाटै आएका हुन् । उहाँले आयोजना गरेका साहित्यिक कार्यकर्ममा सहभागिताले मनमा साहित्यको छाप गहिरो परेको छ । उहाँले जातभात र छुवाछुतमा मानिसको अहम्ता हो अरू केही होइन । मानिसबाट मानिस छुइदैन । आपूmलाई महान्् ठान्नेहरूकै धारणा हो तर असजिलो ठाउँमा कसैबाट केही छुइदैन जस्ता धारणा राख्ने गर्नु समनताको व्यवहार, उहाँबाट पाउन सकिन्थ्यो । "लिएर होइन दिएर खानु पर्छ " भन्ने गुण मैले बुबाबाटै पाएकी हुँ । त्यतिबेला गाउँमा एउटा टिभी आएको थियो । हामी लुकेर टिभी हेर्न जान्थ्यौँ । उहाँले सम्झाएर भन्नु हुन्थ्यो, "अहिले टिभी हेर्ने समय हैन पढ्नु पर्छ, अहिले दुःख गरेर पढेपछि गएर सुख पाइन्छ । त्यतिबेला मलाई रिस उठ्थ्यो तर आज सम्झन्छु त्यतिबेलाका ती शब्दमा मेरो भविष्य बुन्दै थियो । उहाँ सरकारी सानो पदमा जीगर शुरु गर्नु , ठूलो पदमा पुग्नु, साहित्य लेखनमा पनि वरिष्ठताको पद ग्रहण गर्नु तर सादा जीवन बिताउनु ,सहनशीलताको प्रतिमूर्तिको रूपमा खडाहुनु, घमण्ड र अहम्ताबाट टाढै रहनु, सामजिक कामलाई अग्रसरता दिनु,शिक्षालाई तथा अध्ययन र लेखाइमा जोडदिनु, अन्धविश्वासलाई समाजबाट निर्मूल पार्नुपर्छ भन्नु जस्ता उहाँका बहु आयमिक गुणहरू उहाँमा दृढरूपमा थिए र आज पनि मौजुदा नै छन् ।
मलाई एउटाकुराको याद आज पनि जीवितै छ । कुरा हो महिनावारी (रजस्वला)को । म दोस्रो पटक रजस्वला भएको बेला आमाले खाना दिनु भएको थियो । परीक्षाको बेला थियो । सामाजिक मान्यता कसैसँग छोइन हुन्न भन्ने थियो । मेरो परीक्षा रोकिने देखियो । बुवा त्यहीँहुनुहुन्थ्यो स्कुल जाने हैन भनेर शोधनु भयो । रजस्वला भएको बेला कहाँ स्कुल जाने भनेर आमाहरूले भन्दा बाबाले आमाहरूलाई सम्झाउनु हुँदै भन्नु भयो । तिमीहरूले यस्ता बेलामा सफा सुघर बनाउने र रगत बाहिर देखिन नहुने गरी कपडाको व्यवस्थापन गरेर स्कुल पठाउने कि परीक्षा दिननै रोक्ने । चाँडै सबै व्यवस्था मिलाईदेऊ मैले लगेर परीक्षा कोठासम्म पु¥याइदिन्छु । उहाँले रजस्वलाको वर्बाहै नगरी स्कुल पु¥याएर फर्कनु भयो । उहाँका हरेक वाणी अमृत तुल्य छन् । उहाँ भन्नु हुन्छ "मानिस ठूलो उच्च मन र उच्च कर्मबाट भइन्छ ।" उहाँको सोचमा महान्ता छ । त्यो सोचलाई हामीले बुझ्न सक्नु पर्छ र व्यवहारमा उतार्नु पर्छ । उहाँ पुरानो समयको मानिस भए पनि सोच,कर्म, वचन र व्यवहारले आजको परिवर्तित समयसँग साथ दिएर उच्च सोच र महान् भावना बोकेर अगाडि बढ्नु भएको छ । ती प्रेरणाले गर्दा म ठोकुवा गरेर भन्न सक्छु ती सबै सोच विचारहरूका धाराहरू मेरो रगतको कणकणमा बगिरहेका छन् । अन्त्यमा बाबा आमाहरूको सुस्वास्थ, दीर्घआयुको कामना गदै विदा चाहन्छु । रामजीलाई धन्यवाद दिन चाहन्छु ।
श्रीमती सरस्वती न्युरे (दक्षिण भारत चेन्नई)
"आमाको अनुहारमा मामा देख्न पाइरहेकी छु"
म सदानन्द रिजालकी जेठी बहिनी तुलसी अधिकारीकी जेठी छोरी हुँ । सदानन्द रिजाल मेरो मामा हुनुहुन्छ । रामजी तपाईँले मलाई मामालाई कुन रूपमा हेर्नु हुन्छ भनेर प्रश्न राख्नु भयो । यसको सानो उत्तर "मामाको अनुहारमा मैले आमा देख्न पाइरहेकी छु ।" रामजी अब मलाई मेरा भावना मामाप्रति राख्ने अनुमति चाहन्छु । उहाँ हाम्रो मामा आमाको अनुहारमा मामा देख्न पाई राखेका छौँ । हो उहाँ हाम्रो मामा हो उहाँ हमेशा हामीहरूको भलायका लागि ईश्वरसँग प्रार्थना गर्नु हुन्छ यद्यपी हामी चारदाजु बैनिका लागि भने उहाँ नै ईश्वर हो । हाम्रा मामाले प्रेम र धिरजका साहाराले हामीलाई बाल्यकाल देखि आजसम्म पनि हामीहरूलाई थामेर राख्नु भएको छ । हाम्रो मुस्कान, हाम्रो प्रगति, हाम्रो उन्नति आजसम्म पनि थामेर राख्नु भएको छ । हामीहरूका लागि मामाले आफ्नु पूरा जीवन लगाएको हामीले हाम्रै आखाले देखेका छौँ ।
मामा म तपाईँकी भान्जी भएर जन्मेकोमा गर्व छ । तपाइको काखमा खेल्न पाए, तपाईँका साहाराले ताते–ताते गर्दै हिँड्न सिके, उभिन सिके, बोल्न सिके, यस संसारमा बाँधिन सिके । यो सबै तपाईँं बिना सम्भब थिएन । तपाईँले हामीहरूलाई बढाउनु भो, हुर्काउनु भो र पढाउन गर्नुभएकोमिहिनेत लगानीका लागि हामीहरू जुनि–जुनि ऋणि भएका छौँ । तपाईँ हाम्रो साहारा हो, पाईला–पाइलामा अढेस दिनु भएको छ । तपाईँं हाम्रो आधार हो, हाम्रा प्रतेक मन्जिलहरूमा बस्नु भएको छ । तपाईँं हाम्रो शान हो अठोट भएर बस्नु भएको छ । तपाईँं हाम्रो हिम्मत हो हाम्रो आवाज भएर बस्नु भएको छ त्यसैले तपाईँं हाम्रो गर्व हो मामा ।
मेरा बाल्यकालका आलो यथार्थ अझै मन भरी छन् । अनुभूतिको क्यान्भासमा कैद भएका भोगाइका केही पाटा, अझै स्मृतिमा लथालिङ्ग हुने गर्छन् । रूढी प्रवृत्तिको कारण हाम्रो बाल्यकालमा हाम्रो परिवारमा हाम्रो जीवनमा परेको खण्डहरले धन्न्नै जीवनहरू निभ्न लाग्दा बतासमा धिप–धिप दियो दुई हातले जोगाएर राखे झैँहामीलाई जोगाएर राख्नु भो अनिमात्र हामी दाजु बैनी हुर्केका हौँ भनेर सम्झिदा मन गर्वले फुल्ने गर्छ । हाम्रो जीवन अहिले सफल भो असफल भो त्यो मैले कहिल्यै लेखा जोखा गरिन, म जान्दिन पनि तर त्यो सम्पूर्ण श्रेय मामाले पाउनु पर्छ भन्ने मेरो मान्यता हो । सधैँ–सधैँ हाम्रो ख्याल गर्न पहाड छोडेर तराई झर्नु भो । निजि बाहुबल र विचारको कुटोले माया ममता स्नेहको वाली लगाउने साधक हो हाम्रो मामा । तपाईँं र तपाईँका तपस्याले हामीले जीवन पाएर हुर्केका हौ । हामी आज जे छौ तपाईँ साधक हो यी दुई शब्द लेख्दा पनि श्रद्धाले सिर झुकाएर नतमस्तक सम्झिएकी छु मामा । सृजनाका उपासकहरूमा साहानुभुती हुन्छ । त्यो हामीले मामाबाट पाएका हौ । स्नेह र सदासयताको अथाहा पौल हुन्छ त्यो हामीले मामाबाट पाएका छौ । बाल्यकालमा आमा र हाम्रो जीवन धन्नै धुजा–धुजा हुदा तपाईँको उपस्थितिले हामी जोगिएका हौ र बाँचेका हौ । अनेक बिकार–बिकृती बिषमता प्रदुषणले थलिएका हाम्रा बाल्यकाल र हाम्री आमालाई जोगाएर जीवन दिनुभो, हामीलाई फेरि स्थापित गरेर बाच्न सिकाउनु भो, त्यसको लागि शब्दद्वारा भए पनि अभिनन्दन र नमन टक्र्याउछु मामा ।
मामाको गम्भीर स्वभाव अध्यन लेखन प्रतिको अभिरुचिराष्ट्रियविचारको अध्यन कृषिप्रधान देशमा कृषि बिज्ञानप्रतिको तपाईँंको समपर्ण र निष्ठा आफ्ना जिज्ञासु मनले जिज्ञासाहरूकै हल खोजेर वैज्ञानिकको मन यो उमेरमा पनि सक्रियता निरन्तरतामा सधैँ पर्ने तपाईँका जागर पस्केर अझै पनि राष्ट्र, राष्ट्रियता, कृषि, कला, सास्कृती, धर्म ,साहित्यमा उल्ःलेखनीय योगदान पुगेको यथार्थ हो । तपाईँंको ब्याबाहार कुसलताले छेक्न सकेका अनगिन्ती अनुभबहरू समाज र देशका युवा लप्काजवान पुस्तालाई निखारिएर जान दस्ताबेज हुने छन् । अझै समाज र देशलाई धेरै गर्ने हिम्मत तपाईँलाईईश्वरले प्रदान गरून् । हाम्रा जीवन फुलाउन जीवन संरक्षण गर्न सधैँ सघर्ष गर्नु भो तपाईँ हाम्रोलागि ईश्वर बरावर हो फेरि पनि ईश्वरसङ्ग तपाईँको सुस्वास्थ्य चिरायुको कामाना गर्दै पुनित नमन गर्दै बिदा हुन्छु म हजुर की भान्जी ।
सागर तिवारी र (गैंडाकोट हाल जापान)
"तिमीलाई थाहा छ ? आफ्नो भाग्य आफै निर्माण गर्नुपर्छ"
रामजी सदानन्द अभागीको जेठी छोरी राधा तिवारीको छोरा सागर तिवारी हुँ । मेरो हजुरबुबा सदानन्द अभागीको छोराछोरी तर्फबाट म नै सबै भन्दा जेठो नाती हुँ । घरतर्फबाट पनि म नै जेठो नाती र मामा घरतिर बाट पनि परिवारकै जेठो नाति भएकाले मलाई सबैको प्यार मिलो । मामा घर भनेपछि प्यारो लाग्दो रहेछ । घर होस्् या मामा घर होस्् मलाई आनन्द लाग्थ्यो । तर एउटा कुरा के भने हजुरबाले देख्ने बित्तिकै कति पढिस् भनेर सोधिहाल्ने भएपछि उहाँले शोधेका प्रश्नको उत्तर तयार भएर जानु पथ्र्यो ।
सर्वप्रथम असल मानिस बन्नुपर्छ अनि ठूलो मानिस पनि बन्नुपर्छ, । विद्वान भए तर अल्छि नभए आदि आदि आशीर्र्वचन दिनुहुन्थ्यो । यो सानो बुद्विले भनेको कुरा बुझ्न कठिन पथ्र्यो । हजुरबुबा बहुप्रतिभाका धनी हुनुहुन्छ । उहाँका हरेक शब्द हाम्रो भविष्यसँग जोडिएको हुन्थ्यो÷ हुन्छ । म बुझ्ने भएपछि मामाको घरमा जाँदा । हजुरब्ुबा जागीरे भएको हुँदा घरमा कहिलेकाँही मात्रै भेट हुन्थ्यो तर भेट हुने वित्तिकै पढाइ कस्तो छ ?, परीक्षामा कति नम्बर आयो ? पहिलो भइयो या भइयन ? प्रश्न माथि प्रश्न । अनि भन्नुहुन्थ्यो "तिमीलाई थाहा छ ? आफ्नो भाग्य आफै निर्माण गर्नुपर्छ । तिम्रो भाग्य कसैले निर्माण गर्दैन । , तिमी आर्फैले तिम्रो भाग्य निर्माण गर्नुपर्छ । संसार हेरेर अगाडि बढ्नु पर्छ । संसार हेरेर अघि बढे मात्र संसार सुहाउँदो भइन्छ । हजुरबाका यी अमृत वाणीले गर्दा हामी आज प्रगतिको पथमा अगाडि बढीरहेका छौँ । म अध्ययनको शिलशिलामा जापान पुगें । उहाँका सन्तति हामी सबै शिक्षित स्वालम्बी भएर हाम्रो भाग्यमा जुटेका छौँ । आज उहाँ पचहत्तर नाघेर पनि अति सक्रिय देखिनु हुन्छ । हरेक साहित्यिक सामाजिक, राजनीतिकमात्र के घरकोकोदालो खन्न परे पनि अघि सर्नु हुन्छ । साहित्यिक लेखनमा घन्टौँ कम्प्युटरमा बस्न सक्नुहुन्छ ।
उहाँको यो कामको निरन्तरता र अमृत वाणीले गर्दा हामी पनि हाम्रो भाग्य निर्माणमा जुटेका छौँ । हजुरबाबाको सुस्वास्थ र दीर्घायुको कामना गर्दै विदा माग्छु । रामजी हजुरलाई यो अवसर दिएकोमा धन्यवाद छ ।
भाव अनुवाद (रामजी म सदानन्द जैसीकी नातिनी र यशोदा अधिकारीकी छोरी हुँ । अब म सदानन्द को हुन् भन्ने हजुरको प्रश्नको जवाफ दिन चाहन्छु । हाम्रो दृष्टिमा को हुन् त सदानन्द जैसी (अभागी)?। प्रेरणाको स्रोत र जीवनमा कहिल्यै हार मान्न हुँदैन भन्ने सिद्धान्तको पूर्ण रूपमा प्रयोग गरेर देखाउने जिउँदो मानिस हुन् सदानन्द अभागी । पुरानो पुस्ताको व्यक्तित्व भए तापनि उहाँ एकमात्र व्यक्ति हो जस्को सोच अग्रिम र आधुनिक छ । उहाँको समय र वातावरणसँग परिवर्तन हुने वा अनुकुल हुने सक्ने सोच साँच्चिनै सम्मान जनक छ । उहाँका यी गुणहरू उहाँ द्वारा संरचित कलामा पनि देख्न सकिन्छ । हामीलाई थाहाछैन अरूको लागि उहाँको महत्त्व कति छ तर हाम्रो लागि उहाँ हाम्रो परिवारलाई जोडेर मजबुत राख्ने धुरी हुनुहुन्छ ।अरूको लागि उहाँको सफलता सानो ठूलो हुनसक्छ । त्यो उहाँहरूकै सोच हो तर हाम्रो लागि उहाँको कृति,व्यक्तित्वको पुरा जीवनयात्राको ऐना हो । जुन किसिमको उहाँले आफ्नो कृति रचना गर्नु हुन्छ र पुरा मानव जीवनलाई आफ्नो कृतिमा परावर्तन गर्न सक्नुहुन्छ । त्यो साच्चै नै उल्लेखनीय छ र यो सब गर्न सक्ने क्षमता नै कुनै सच्चा कलाकारको सफलता हो, जुन हरेक कलाकारले चाहेको वा सपना बोकेको हुन्छ । हाम्रो लागि उहाँ अभिभावक, प्रशिक्षक, प्रेरणा, महत्त्वपूर्ण पथ प्रदर्शक र जीवनलाई कसरी जिउन र रमाउन पर्छ भनेर देखाउने ऐना हुनुहुन्छ ।
सुमित्रा पौडेल
"नयनको नानीसरि मेरो दाजी प्यारा छन्
म सदानन्द रिजालकी बहिनी हुँ र गजाधर मेरो श्रीमान हुनुहुन्छ । अनपढको कारणले गर्दा भावना छर्दा पनि मिलाएर बोल्न कठिन हुन्छ तै पनि तीजको गीतद्वारा दाजी सदान्दमा श्रद्धासुमन चढाउँछु –
देख्नमा राम्रो मालिवनको गाई
माइतिमा राम्रो दाजु भाइ
बाबासरि दाइ मेरा आमासरि भाउजू
ज्यानमारा रोग लाग्यो आउन पाइन दाइ
वर्ष दिनको तीजमा आइन बैनी भनेर
आगनीको डिलमा बसी नरुनु है दाइ
हाम्रा बाका दुई छोरा एक छोरी भएर
बस्न प¥यो मेरा दाइ एक्लै भएर
मेरा दुई दाजिको कति गरौँ वर्णन
जेठा दाजी तल्लीन छन् किताब पढन
घर माथि हेरो भने साहुबाको धन्सार
तल माथि हुँदो रैछ सबको सन्सार
नयनको नानीसरि मेरो दाजी प्याराछन्
उनका हातमा सधैँ भरी किताब कलम छन् ।
कालो कालो कपालमा रातो रातो रिवन
सबले भन्छन् तैँले पाइस् नयाँ जीवन
नमरी बाँचे कालले साँचे
वर्ष दिनको त्यौहारमा भेट हुम्ला दाई
७.१० गायत्री शिष्यहरूका बुझाइमा
सदानन्द अभागीले हाम्रो धार्मिक परम्पराअनुसार ४ जनालाई गायत्री दीक्षा प्रदान गरेका छन् । यहाँ दुई जनालाई समेट्न सकिएको छ ।
अमृत लामिछाने
"उमेरले कसैलाई पनि केही नयाँ र राम्रो गर्न छेक्दैन"
अन्धकारलाई चिरेर उज्यालो मार्गदर्शन प्रदान गर्ने व्यक्ति नै गुरु हुन्छ । त्यसो हुँदा त्यो क्षमता राख्ने सदानन्द, मेरो गुरु प्रति म आस्था नमन कोटी कोटी दण्डवत टक्य्राउँछु । कसैले पनि आफ्नोगुरुको बारेमा लेखेर बोलेर व्यक्त गरेर कदापि सक्दैन । हाम्रो धार्मिक दर्शन शास्त्रअनुसार हरेक भगवानहरूको साथै राक्षसहरूको गुरु भएको पाइन्छ ।आफ्नो शिष्यप्रति गुरु मार्गदर्शक मार्गप्रशस्त संवाहक हो । गुरुब्रह्मा गुरु बिष्णु गुरु देब महेश्वर गुरु साक्षात् परमब्रह्मा तस्मै श्री गुरुबे नमः सांस्कृतिक श्लोकमा गुरुको बारेमा यथार्थ झल्काइएको छ । तथापि गुरुको बारेमा जुनसुकै कोणबाट यक्त गर्दाहामीले व्यक्त गरेको शब्द कम हुन जान्छ भन्ने मेरो ठम्याइ हो तथापि गुरुकै आज्ञानुसार म मेरो गुरु प्रति दुई शब्द लेख्ने कोसिस गर्दछु । गुरु मेरो गुरुप्रति चरण वन्दना गुरु वास्तवमा अविचलित, कर्मशील, मिहिनेती आफ्नो दृढ संकल्प प्रति प्रतिबद्ध, साहित्य, समाजसेवामा अग्रसर,कृषि क्रममा अग्रसर, निःस्वार्थ हुनुहुन्छ । राष्ट्रसेवक सेवा अवकाशपश्चात् कृषि कर्म,समाज सेवा, साहित्य क्षेत्रमा, अग्रसर हुनुहुन्छ साथै राष्ट्रसेवक रहदा माटोमा पनि विशेषज्ञता हासिल गरेको काम र कुरा वैज्ञानिक साथै भौगोलिक रूपमा कृषिकाव्य माटो र बिरूवाले भोक लाग्यो भनछन् साथै उपन्यास ,गजल साहित्यिक कृति दर्जनौँ दर्जन कृति लेख्नुभएको छ साथै अनवरत रूपमा लागिरहनुभएको छ । उमेरले सात दशकको अबिरलयात्रा दुःख र सुस्ख जीवनका साथी हुन भन्ने,मिहिनेत, क्रमशीलमा पूर्ण विश्वास गर्नुहुन्छ । गुरु भन्नुहुन्छ – "उमेरले कसैलाई पनि केही नयाँ र राम्रो गर्न छेक्दैन, तर स्वास्थ्यले साथ दिनु पर्दछ, सबै परिस्थितिले साथ दिदा नराम्रो भन्ने गर्नु हुदैन ।" सदावहार गुरुले प्रदान गर्नुभएको शिक्षा, हितोपदेश, मार्ग, सुझाव, सल्लाह, गाली मेरो जीवनको सुधार व्यक्तित्व बिकासकोलागि अमूल्य गुरु ज्ञान शिरोधार्य गर्दछु । व्यक्तिहरू हरेक गुरु पूर्णिमाको दिनमा मात्र गुरु पूर्णिमा नभई हरेक दिन गुरु र शिष्य को लागि अपरिहार्य छ तसर्थ म मेरो सदानन्द गुरुप्रति चरणवन्दना सुस्वास्थ्य, दीर्घायुको कामना उहाँको आशीर्वाद सदा बनिरहोस््
कमल गौतम (कावासोती साँढ)
"उहाँलाई पैसा कामउन नसकेको हाकिम भनेर चर्चा पनि गरिन्छ"
सदानन्द अभागी साहित्यिक उपनाम भए पनि उहाँलाई हामीले सदानन्द रिजालको नामले बोलाउन मन पराउछौँ । पर्वतमा उहाँलाई पहिला पहिला ठूलाघरको माष्टर भनेपछि सबैले चिन्दथे भने । कृषिमा कार्यालय प्रमुख भएपछि माष्टरबाट उहाँलाई हाकिम नामले बोलाउन थालियो । नवलपुर आए पछि उहाँलाई सबैले कृषिको हाकिम (माटो विशेषज्ञ)ले चिन्दछन् । हाकिम शब्दले उहाँको नामलाई ओझेलमा पारेको छ । उहाँलाई पैसा कामउन नसकेको हाकिम भनेर चर्चा पनि गरिन्छ ।
पहाड र यहाँ हामी सँगै सँगै बस्दै आएका छौँ । उहाँको सिलस्वभाव देखेर र नाम चलेको मानिस भएर मेरो बुबा (बालाकृष्ण गौतम) ले मलाई गायत्री मन्त्र सुनाउन अनुरोध गर्नु भयो । यस्ता काम शुद्ध आचरणमा रहेका, लोभ लालचा नभएका, समदर्शी विद्वानबाट मन्त्र सुनाउनु राम्रो हुन्छ । भन्दै आपूmलाई उहाँले पहिला त कुनै पण्डितबाट नाम सुनाउन असल हुन्छ भन्नुभयो । तर बाबाको दोहोरो अनुरोधलाई भने स्वीकार्नु भयो । यसरी सदानन्द रिजाल मेरो गायत्री गुरु बन्नु भयो । कहिले काँही भन्ने गर्नु हुन्छ,"गुरु बन्दिन भन्दा भन्दै चार जना गायत्री शिष्य र एक जना साहित्यिक शिष्यको गुरु बन्नै प¥यो ।"
हामी शिष्यलाई पनि गौरव छ उहालाई मेरो गुरु भन्न किनकि उहाँका मार्गदर्शन, समयसापेक्ष हुन्छन्, सबैलाई कल्याणकारी हुन्छन् । आपूmलाई कमजोर ठान्नुहुन्न । जीवन संघर्ष हो । संघर्ष गर्न छाड्नुहुन्न । संघर्षसँग डराउने मानिस कायर हो उसको जीवन कहिल्यै सफल हुँदैन भन्नुहुन्छ । घर परिवारमा पनि खास गरेर दुई परिवारलाई मिलाएर राख्नु सहज हुँदैन । तर उहाँको घर भने सहजरूपमा चलेको देखिन्छ । उहाँका धेरै कामलाई यहाँ उठान गर्न चाहन्न । उहाँले घरमा मिलेर बसिरहेका परिवारलाई "केरा र छोरा फोरे सप्लाउँछन" भन्ने स्वविश्लेषणअनुसार छुट्टी भिन्न गरिदिनु भयो । अंशको हकदार सबै हुनुपर्छ भनी आपूmलगायत सबैलाई भागवण्डा गरिदिनु भयो । तीन छोरा र आमाबाबुगरी ६ अंश लगाउनु भयो । अन्त्यकालपछि पनि यसरी आमा बाबु पाली आमा बाबुको अंश पनि लिनु भनी जेठा छोरालाई जेठी आमा कान्छा छोरालाई कान्छी आमा र आपूmलाई माहिला छोराको जिम्मा दिनुभयो । छोरालाई सहजसँग अंश दिनुहुन्न र अंश आफ्नो मुठीभित्र राख्नु पर्छ भन्ने धेरैको मनसाय देखिन्छ । तर यहाँ भनाइ र गराइ व्यवहारिक देखियो । अहिले उनका छोराले आफ्नो बाटो तय गरेका छन् र आफ्नो उत्थानमा जुटी रहेका छन् । उनले बुढाहरूलाई "छोराहरूलाई नजकटेर राख बाटो फुकाई देऊ आफ्नो आफ्नो सुर गर्छन् । राम्रो कर्म गर्ने माथि जान्छ । अल्छीले बाबुलाई खोट दिइराख्छ ।"यस्ता व्यवहारिक ज्ञान हामीले पाइरहेका हुन्छौँ । उहाँको दीर्घायुको कामना गर्दछु । मेरो जिज्ञासा राख्न दिनु भएकोमा राम ज्ञवालीलाई धन्यवाद टक्य्राउँछु । जय गुरुदेव् ।
७.११ रिजाल परिवारहरूको उनीप्रतिको हेराइ र बुझाइ

No comments:
Post a Comment