April 1, 2012

कागतीको चिया

कागतीको चिया

सदानन्द अभागी

एउटा सानो दोकान, दोकानमा एउटा काली आइमाई, आइमाईको ओठमा लाली, लालिको चम्कनले गर्दा काली भए पनि उनको रूपमा श्यामलताले ढाकेको थियो। उनी चिल्ली थिइन्। उनको ओठमा मुस्कान थियो। त्यो मुस्कानले त्यो दोकानलार्र्ई ढाकेको थियो। मनवीरे त्यही बाटो हिड्थ्यो। कहिले कहिले त्यो दोकानमा चिया पिउँदथ्यो। उनले पकाएको चियाको स्वाद भिन्न प्रकारको हुन्थ्यो। हुनता चिया पकाउने तरिका, सबैले उस्तै उस्तै गर्दछन्््। तर पनि उनको हातको चियाले मनेको मीठोमुख हुन्थ्यो। अर्को अर्थमा म्ानवीरेको मनलाई उनले जितिसकेकी थिइन्। अव त दुवै जना बसेर केहि क्षण बातचित पनि गर्दथे। उनको दोकानमा भातखाने बेलामा बाहेक निकै कम मानिसहरू हुन्थ्ये। त्यसैले पनि हुन सक्दछ उनको चिया पकाइमा कञ्जुस्याइं  थिएन । यो मीठो चियाको स्वादले गर्दा मनवीरेले अन्तको चिया खान छाडिसकेको थियो।

देशमा रोजगारको अभावको कारणले गर्दा ती कालीकाको श्रीमान अरवतिर हानिएको थियो। उनी पनि देशको यो द्वन्दको कारणले गर्दा गाउँ बस्न नसकी शहरमा दोकान चलाउने शीलशीलामा शहर पसेकी थिईन्। कहिलेकहीँ उनी मनवीरेलाई भन्ने गर्दथिन् "के गर्नु? घरमा धेरै खेतबारी छ। जोतखन गर्न दिएनन्। थोरै मोरै चन्दाले पनि मानेनन्। यस्तै यस्तै पिरलोले गर्दा यो शहरमा आएर बस्न परेकोछ। उहाँले ती छोराहरूलाई राम्ररी पाल, राम्रो स्कुलमा पढाउ आदि सल्लाहा दिइराख्नु हुन्छ। म त यिनै कामकोलागि ढुक्क भएर बसेकी छु।" उनका यी कुरा सुनेर मनवीरेको मन छिया छिया पर्दथ्यो। मन मनै भन्दथ्यो–"काली भएर के नै भयो दिल त महान छ। भावना र कर्तव्यको बोद्ध छ।" देश आज सवल भएको भए अवस्य पनि विदेशमा जान पर्दैनथ्यो। देशमा मारामार र काटाकाट किन गर्ने  देशको प्रगति नै त जनताको प्रगति हो। यो प्रगतिको लागि आज सबै जुट्न त पर्ने हो। आज नभए पनि भोलि त अवस्य जुट्नु पर्दछ। आदि आदि कुरामा ऊ रूमलिन्थ्यो। "भाइ फुटे गवार लुटे" सही त छ नी यो युक्ति। आज धेरै बेर मनवीर कालीकासँग दुःख सुखका भावनाहरू बा‍ँडेर बस्यो। धेरैबेर पछि आफ्नो डेरातिर लाग्यो।

अर्को दिनको कुरा हो करिब दिन ढलिसकेको थियो। मनवीरेलाई तलतल लाग्यो चिया पिउनकोलागि कालीकाको दोकानतिर लाग्यो।  मनवीरेले चिया पिउनकोलागि त्यो दोकानमा आइपुगेको थियो तर कालीकाको दोकानमा आज स्टोभ बलेको थिएन्। दूधको भाँडोमा दूध थिएन। उनले चिया पिउन होला चिया त छैन भन्दै भित्रतिर पसिन्। मनवीरे उनी बाहिर नआउने बेला सम्म उनलाई कुरेर बसिरह्यो। उनी बाहिर निस्किन् मनवीरेले चिया पिउनेे आग्रह गर्‍यो। उनले चिया छैन भनिन्। गुनगुनसित दूध छैन भनेर थपिन्। फेरि मनवीरेले चिया रातो भए पनि हुन्छ भन्यो। मनवीरेको यो आग्रहलाई उनले एकटक्ले मनवीरेतिर हेर्दै मायाको भीख मागेजस्तो ठानिन्। उनी खल्लो मुस्कान लिएर चिया पकाउन थालिन्। उनले पानी तताइन्।  पानी उम्ल्यो उनले चियापत्ती राखेर गिलासमा चिया छानेर राखिन् र कागती निचोरेर एक गिलास रातो चिया मनवीरेलार्र्ई दिइन्। गुलियोमा अमिलो स्वाद हलुका चियाको रङ्ग साथै त्यसमा उनको करकमलको मुलायम स्पर्सले दिएको गिलास कता कता हिजो अस्तिको भन्दा आजको यो चिया अझै मीठो लागेको थियो। पवित्र भावना र चोखो मायाले चढाएको यो अमृतको स्वाद जीवनको सञ्जीवनी रस जस्तै लाग्यो। उसले अर्को कप थप्ने आग्रह गर्न मनलागेको थियो तर उनको अनुहारको मलिनतालाई हेरेर थप अनुरोध गर्न सकेन। उनको अनुहारमा अघि पछिको जस्तो मुस्कान थिएन्। उनी बोली रहेकी थिइन् तर उनको लालिमाले भरिएको त्यो ओठ पनि कताकता फिका जस्तो देखिन्थ्यो। मनवीरेले सोध्यो "के सञ्चो छैन " जवाफ आयो "सञ्चै छु," "किन निरसिलो भएको त?" उनी मुस्काइन्। अरू जवाफ आएन्। मनवीरेले पनि आज धेरै कुरा गरेर उनको मनको भावनालाई खोजल्न चाहेन। पैसा निकालेर चियाको मूल्य दिन थाल्यो। उनले चियाको पैसा लिन मानिन्। "आजको रातो चियाको पैसा मैले लिदिन" सायद उनको यो मनवीरेसँगको अन्तिम बोलाई थियो होला? त्यस पछि किनहो किन मनवीरेतिर गहिरो हेराई हेर्दै उनी भित्र पसिन्। मनवीरे पनि आफ्नो डेरातिर लाग्यो।

     भोलिपल्ट मनवीरे चिया खान जादा उनको दोकानको बाहिर घर भाडामा छ भनि सूचना टाँसेको मनवीरेले देख्यो र हिजोको रातो चियाको स्वाद सम्झदै आफ्नै मनमतीको दोकानतिर हानियो।

No comments:

Post a Comment