April 2, 2012

सपनाको आनन्द

सपनाको आनन्द

                               सदानन्द अभागी                    

देशमा बलिरहेको द्धन्दको ज्वालाले पिल्सिएको बेला जगतमान आफ्नै घरायासी द्धन्दले अझै बढी पिल्सिएको  थियो। देशका सारा आत्माहरू तडपी रहेका छन्। शान्तिको खोजीमा शान्तिका पूजारीहरू बन्ने हिक्मत कसैले देखाएनन् बरु आफ्नेा बहादुरीताको लडाईमा स्वार्थको भाडो कसरी भरिन्छ भन्ने धारणाको खेतीपातीमा नै लाग्नेहरूको संख्याले जगतलाई ओगटेको छ। विश्वमा आतङ्क बादको निर्मूलपार्ने धारण राख्नेहरूले निम्त्याएको थप आतङ्कले शान्तिलाई थप त्रस्त पारेकोछ। विश्वशान्तिको कामना र चाहना राख्नेहरूले पनि विश्वभरि नै चलिरहेको आजको द्वन्दको त्रासनले गर्दा जनसमुदायलाई  विश्वस्त पार्न सकेका छैनन्। आज विश्वमा जताततै द्वन्दले त्राहिमाम पारेकोछ। शक्तिवानले गरेका सबै कामहरूको गणना शान्तिको ज्योति जलाउन ग।रेको ठहरिएका हुन्छन् भने निर्वलले गरेका कर्ममा आतङ्कको गन्धले ढाकेका देखिन्छ र यो गन्ध सँुघ्दा नाकमा आउने दुर्गन्ध प्रवल भएर जान्छ। यो त रह्यो विश्वको आजको यथार्थता। यो यथार्थता भन्दा पनि जगतमानका घरमा भएको आफ्नै परिवार भित्रको द्वन्दले उत्पन्न गरेको त्रासले उसलाई साह्रै सताएको थियो।

    जति जति आफ्नो मनको भावनामा उसले शान्तिको ज्योति वाल्दथ्यो त्यति त्यति उसको घरमा अशान्तिको जरो गाडिदै जान्थ्यो। यो अशान्तिको जरो भने जगतमानले नचाँहदा नचाहँदै पनि वाध्यताको रूपमा आँफै निम्त्याएको थियो। मस्तजवानीमा मस्त युवती विवाहा गर्दा पनि उसले आपनो जवानीको रसस्वादन आनन्दको साथमा चाख्न पाएन। उसले आपनो सारा जीवनको आनन्दलाई उसकी जीवन सङ्गिनीलाई दिन चाहान्थ्यो। फुटेको कर्म कहाँ जुट्न सक्दथ्यो र उसले आफना सारा आनन्द। सारा दुःख साटन चाहेर पनि साट्न सकेन। दिन बित्तै गए। जगतमानले ईश्वरीलाई विवाहा गरेको पनि दुई तीन वर्ष बितिसक्यो। उसले एक छोराको अनुहार देख्न पायो तर त्यो अनुहार सधै व्यहोर्न पाएन। त्यो बालक चौबीस घण्टा भित्रमा नै आफ्नै बाटो लाग्यो। ईश्वरीले खेप्न परेको त्यो दुःखको क्षणिक वेदनाको अंसियार भएको जगतमानले यस्ता अरु वेदनाहरू पनि थुप्रै भोग्नु पर्‍यो। दिन बित्ने कर्ममा पाँच छ वर्ष बितिसकेछन् तर जीवनको उतारचढावमा जगतमानले आँफूलाई कहिलै शान्ति र अमनचैनमा राख्न पाएन। सामाजिक रीतिरिवाज घरकाको पिरलो दबाब आदिले गर्दा जगतमानले एउटा थापलामा दुई वटा नाम्ला थप्यो। यस पछि उसको जीवनको नौलो आयम थपियो। क्षणीक जीवन को सुखदुःख नयाजवानी तथा नवभावना पुराना दुखलाई त्याग्दै उसले उसकी दोस्री श्रीमतीबाट क्षणिक आनन्द पाउन थाल्यो। उसकी दोस्री श्रीमती को नाम लक्ष्मीमाया थियो। ईश्वरी चर्को स्वभावकी नारी आँनै पारा र आफ्नै स्वभावकी थिई। ईश्वरीलाई प्राय जगतमानले छाडि सकेको थियो। लक्ष्मीमाया र जगतमान भित्रको दैनिक जीवन सुमधुर रूपमा चलिरहेको थियो। लक्ष्मीले पनि छिट्टो समयमा लक्ष्मीकै जन्म दिइन्। अव त लक्ष्मीमाया पनि आमा बनिन् र जगतमान पनि बाबु बने। सबै चलेकै थियो। जगतमानको यौवन मादकता र सुरासुन्दरीको आनन्दतामा डुब्दा जगतमानका जीवन सङि्गनी तीनवटी हुनपुगे। तेस्री प्रेयसीको नाम थियो विणा । ग्रामिण परिवेशमा कता कता जगतमान र घरका परिवारको बीचमा फेरी द्वन्द चल्यो। जगतमानले ईश्वरीलाई आफूसँग बोलाउने निधो गर्‍यो। लक्ष्मीमाया, विणा र जगतमानको बीचको झगडाले फेरि शान्तिमायाले त्यो घरमा प्रवेश पाइन्। ईश्वरीले त्यो घरको सबै अधिकार प्राप्त गरेपछि लक्ष्मीमाया र विणा जगतमानबाट टाढिन पुगे। एक दिन तथा एकक्षणको गल्तिले गर्दा लक्ष्मीमाया र विणाले सारा दुखहरू मनमा जेजस्तो भए पनि नारीको सहने शक्तिको धैर्यधारणले गर्दा सबै सहदै गएका थिए। घरमा प्राय जसाे  रडाको चलिरहन्थ्यो। जगत रामले यो सारा द्वन्दलाई सजिलै पिएको थियो। उसले कहिलेकहीँ सोच्ने गर्दथ्यो "समाज देश र अरुहरूको  देखासिकी पनि त गर्नु पर्दछ" उसले धेरै अनुसन्धान गर्‍यो। तर उपलब्धि भने शून्य मात्र हात लाग्यो। यी तीनै नारीहरू लड्नुको वास्तविकता के त? के को लागि कल गर्ने के रतिकर्मको कारण हो त? निश्चय पनि त यही नै हुन पर्दछ। त्यो पनि हैन, यस विषयमा पनि त, उसले परिक्षण गरेको थियो। अनि के हुन सक्दछ त? ऊ धेरै प्रश्न बाची हुन्छ। उसले तिमीहरूलाई के पुगेन भने र सोधनी गर्दछ। त्यसको जवाफ पाउँदैन। केवल भात अलग पकाएर खाने धोको मात्र यी तीनैको होतो त? यी तीन मध्य ईश्वरीले घरको आर्थिक र भण्डार ओगटी सकेकी थिइन्। अलग भात खान पर्ने पनि ईश्वरीलाई नै परेको थियो। जगतमानले द्वन्द धेरै पिइसक्यो। देशमा चलेको द्वन्दको उद्देश्य त कुर्सी लिप्सा हो तर यहाँको लडाइको उद्देश्य के त? गृह्यकब्जा त्यो पनि त सबै उसकै कव्जामा त छ नै। अनि ऊ सोच्दछ एक देश अर्को देशसँग रिसायो भने नाकाबन्दि गर्दछ। आफ्नो बसमा ल्याउन खोज्दछ अनि ऊ सफल/असफल पनि त हुन सक्दछ।  यहाँ पनि त कति पटक ईश्वरीले उसलाई नाकावन्दि गरेकै त हो नी तर पनि जगतमान आफ्नो साराव्यथा पिएर नै त बस्यो। त्यति बेलामात्र त उसले सबै सत्यतथ्यलाई अध्ययन गरेको थियो। यो अध्ययनको बेला उसले लामो एउटा धेरै पहिलाको एटा मन्दिरमा एउटी महिलाले मागेको बरदान सुनेको समझ्यो "पाल्पाको सत्यवती तालमा सत्यवती बजै बहिरी भएकोले जोड जोडले कराएर बरदान मागिन्छ। यो अनौठो मेला छ यो मेला रातभरी लाग्दछ। बिहान हुँदा नहुँदा यो मेला सकिन्छ। यो राती लाग्ने मेलामा जो कोही जानेले पनि कराएर वर माग्दछन्। त्यस पटक जगतमान पछि पछि फूलपाती अक्षेता लिएर गएको थियो अगि अगि कुनै अपरिचित महिला थिइन्। उनी धेरै आक्रोशितजस्ति लाग्दथिन्। उनको आक्रोश सायद उनको श्रीमानले भरखरै दोस्रो विवाह गरेकाले हेा जस्तो लाग्दथ्यो। त्यही विवाहको कारणले गर्दा उनी आक्रोशित थिइन्। उनले सत्यवती माइसँग "मेरो श्रीमान मरोस् र सौता राँडी हओस्" भन्दै फलाक्दै गएकी थिइन्। आवेशमा उनलाई यो पनि थहाँ लागेनकी उनी पनि श्रीमान बिते पछि राँडी हुन्छिन्। दुबै एउटै थलोमा काज क्रिया बस्नु पर्दछ । जगतमानले मन मनै भन्दछ "यस्तै हो आवेश, रिसका बेलामा कोही पनि वेद पढदैन।" अनि फेरि सम्झन्छ उही उखान "सौताका रिसले पोइका काखमा मुत्नु। "

       उस्ले, उसको घरको झगडा पनि अहम्ताको कारणले भएको अनुमान लगायो। अल्पज्ञानी अहम्ताको द्वन्द अहिले त झनै चर्किएर गयो। आफ्नाआफ्ना चुलाचम्का जोडिए। पकाउने कर्म अलग अलग हुन थाल्यो। घरमा ठूलो रडाको मच्चियो। छोरा छोरीले मिलाउन खोजे सकेनन्। गाउँलेले मिलाउन खोजे सकेनन्। अंशबण्डाकोलागि जगतमानले आफ्नो आफ्नो गर भने, त्यो पनि ऊ सफल भएन , अव ऊ पराजित भयो। ऊ तीनैको नजर भन्दा टाढा भएर गयो।

बाहिर ढकमक्क जून लागेका थिए। जगतमान खाना खाएर बिस्तरामा पुग्यो। लामो समय सम्म देशको द्वन्द केलाई रहेको थियो। अनि घरको द्वन्दलाई पुन केलाउन थाल्यो। ती श्रीमतीहरू, त्यो घर, छोराछोरी गाउँका इष्टमित्र तथा कुलकुटुम्म सबैको सम्झनाले सतायो। हरेक घटना उसको मस्तिष्कमा घुम्न थाले। करवट बदल्दा बदल्दैमा अवेलातिर जव उसका आँखा लागेका थिए तव ऊ सपनाको संसारमा रमाउन पायो। उसका तीनै श्रीमतीहरू रातो पहिरनमा वेउली जस्तै बनेर उसलाई माझमा राखेर सेवा गरिरहेका थिए। उसको जीवन भर यस्तो आनन्दिन दिन कहिलै आएको थिएन। चारैजना आज खुवै रमाएका थिए। छोरा छोरी पढाउने देखि लिएर रङि्गन टिभी किन्ने, घरको वरिपरि सुन्दर बगैचा लगाउँने र मौरी पालन गर्ने, बाह्रै महिना करेसाबारीमा तरकारी लगाउँने, ताजा र विषादिरहित तरकारीको सेवन गर्ने आदि आदि बार्ताहरू सौहार्द पूर्ण रूपमा भएका थिए। चारै जान मिलेर भावी योजना बनाए। आज घर सुन्दरताको महल बन्यो। उसले यो घरलाई पशुपति नाथको मन्दिर नै सम्झेको थियो। उसले विवाह पछि आजसम्म फुकाउन नपाएका मायाका आफ्ना सारा पोकाहरू सबै फुकायो। आज उसका श्रीमतीहरू अनुसाशनका पूजारी भएका थिए। आफ्ना मनमा लागेका सारा तीता मैलाहरू धोएर आपसमा मायाका पोका फुकाई रहेका थिए। लाग्दथ्यो ममता पूर्ण दिलका कोपिलाहरू आज राम्रैसँग फुलेका थिए। त्यहाँ सौन्दर्यको खानी थियो। आज ऊ कवि बनेको थियो। उसका भावना फुरेका थिए

तिम्रा यौवनका उभारले ममा बाहार आएको छ

तिम्रा मुस्कान मुहारले  ममा त्यौहार ल्याएको छ

तिम्रा भावनाका मुस्कानले यहाँ स्वर्ग नै झारेको छ

साच्चि भनौ भने मलाई साक्षात् विष्णु नै बनाएको छ

स्वर्गको उद्यान अमृतझर्ना झरझरी झर्‍या छ

दिलका टुक्रा फूलका थुँगा बावरी झुल्या छ

तीन तारा मेरा जूनका फूल रक्तमा संचार छन्

यो रक्तसंचार हाम्रो यो संसार ढुकढुकी चल्याछन्

चार आत्मा हाम्रा अतिनै राम्रा सङ्गीत बज्याछ

संसार थाम्ने शक्तिको साथमा यो ध्रुव चल्याछ

यो मेरो सारा शक्तिका प्यारा शक्तिमा बल्याछ

यी तिम्रा ओठ मुस्कानको चोट ......... 

आदि आदि शब्दलयमा उसले यी गीत गुनगुनायो। यतिले मात्र उसको मनलाई थाम्न सकेन उसले दिल खोलेर तीनैजनालाई भन्दै थियो "म तिमी तीनैलाई कति हो कती माया गर्दछु,। त्यो मायाको एक एक शव्दले मुटुमा सङ्गीत भरेको छ नपत्याए देखि सुन र म छाती चिरेर हनुमान बन्न सक्दछु," भन्दै तीनैजनालाई आफ्नो बाहुपासमा बाँधेर के आप्नो छातिको धडकन सुनाउन थालेको थियो, ऊ झस्लङ्ग विउँझयो।

विउँझदा त ऊ खाटमा सुतिरहेको छ। उसलाई यो सपना जस्तो लागेको थिएन। ऊ छटपटायो। दुबै आँखा मिच्दै त्यो भरखरको आनन्दलाई खोज्न थाल्यो। यति बेलासम्म जून डुबी सकेका थिए। उसले अन्धकारै अन्धकारले ढाकेको रात, त्यो बिस्तरा, खाट सिवाय केही पाएन। ऊ बिस्तारै ढोका खोल्दै बाहिर निस्कन्छ र हेर्दछ। सारा आकाश कालो देख्छ। सौलो रात अन्धकारले ढाकेको पाउँछ। उसका आँखा भरी सपनाको आनन्दको लहर आँसुमा परिणतहुँदै बलिन्धार भएर बगिरहेका हुन्छन्। कालो रातमा कता कता उल्लु उडिरहेको आवाजको आभासले उसको कानलाई पीडा दिईरहेको हुन्छ। उसको मुटुको ढुकढुकी बढीरहेको हुन्छ र उसका हात अङ्कमाल आकारमा सलबलाइ रहेका हुन्छन्, सलबलाइ रहेका हुन्छन्।

No comments:

Post a Comment