December 27, 2020

सम्झनाका झिल्काहरू’लाई अध्ययन गर्दा


परिचय

विष्णुबहादुर सिह एउटा मूर्धन्य साहित्यकार हुन् उनका धेरै कृतिहरू बजारमा आएका छन् । पल्लव साहित्य प्रतिष्ठानको यही भाद्र १० गते साहित्यिक कार्यक्रममा विष्णुबहादुर सिंहबाट 'सम्झनाका झिल्काहरू' उपहार स्वरूप प्राप्त गरें । यो विष्णुजीको बाइसौं स्मरणसङ्ग्रह हो । विष्णुबहादुर सिंहको साहित्यिक कलम नियात्रामा मात्र सी सम्झनाका झिल्काहरू'लाई अध्ययन गर्दा मित छैन । उन्ले संस्मरण, हाइकु, ताङ्का, गीत गजल, कविता, लघुकथा, मुक्तक, चोका र सिजो लेखनमा समेत हात चलाउँदै आएका छन् । सिंहजीको यो सम्झनाको भिल्कोको अध्यनले के प्रष्ट पार्द छ भने उनी एउटा सिद्धहस्त साहित्यकार मात्र नभै कर्तव्यनिष्ठ विद्युत इञ्जिनियर पनि हुन् ।

उनका यी नियात्राहरू प्राय विद्युतको विकासको सिसिलामा अध्ययन, गोष्ठी, तालिम, जागिरमा जाँदा देखेका भोगेका यथार्थतालाई पाठकसामु पस्केका छन् । उनका यी यात्रा लेखमा नेपालको विकासको बारेमा, नेपाली समाजको बारेमा नेपाली पनको बारेमा गहन चिन्तन छ । जहाँ जान्छन् त्यो देशको नेपालको यथार्थतासँग तुलना गर्दछन् । विकासमा अवरोध हुनुका कारणको खोजी गर्दछन् । उनको त्यस खोजीमा त्यस क्षेत्रको आर्थिक विकास सामाजिक परिपाटी तथा रीतिरिवाज प्राकृतिक सौन्दर्यता, आदि विविध पक्षमा डुबुल्की मार्ने र सकेसम्म मोतीलाई लिएर निस्कने, मोती नपाए सिपी नै किन नहोस् रित्तोहात नफर्कने साहित्यकार हुन् उनी । मेरो मूल्याङ्कनमा यही नै हो सिंहजीको परिचय ।

यो कृति बजारमा आउनु अगावै तीस पाइला (वि.सं.२०६१) र स्मृतिका छालहरू (वि.सं. २०६२) नियात्रासङ्ग्रह बजारमा आइसकेका छन् । यस कृतिमा स्वदेशका ७ र विदेशका १० गरी कूल १७ वटा नियात्मक संस्मरणहरू सगृहित गरिएका छन् । आवरण सहित यो कृति १२१ (१७+१०४) पृष्ठमा सजिएको छ । यस कृतिको प्रकाशन विद्युतकर्मी साहित्यिक समाज, दरवारमार्ग, काठमाण्डौले गरेको छ । मूल्य २०० राखिएको छ ।

कृति भित्र प्रवेश गर्दा –

मातृका पोखरेलको धारणा अनुसार पन्ध्रौं शताब्दीतिरको राजा गगनिराजको यात्रालाई पहिलो कृतिको रूपमा लिने हो भने यात्रा साहित्यको इतिहास ५०० वर्ष लामो देखिन्छ । यस लेखनको ३५० वर्षपछि पुन सिद्धिमान राजभण्डारीद्वारा लिखित जङ्गबहादुरको बेलायत यात्रको विवरण पाइन्छ । आजको सन्दर्भलाइ केलाउँदा यात्रा साहित्य फष्टाउँदै गएको पाइन्छ । सिंहजीले पनि यात्रा साहित्यमा एउटा कोशे ढुङ्गा थपेको अनुभूति हुन्छ । यस कृतिलाई स्वदेश र विदेश गरी दुई खण्डमा विभाजन गरिएको छ । लेखकले नियात्रा नभनी ''सम्झनाका भिल्काहरू'' भनी नामाकरण गर्नुभएको छ । लेखहरू सबै पुराना भएका र प्रकाशन भने नयाँ भएकोले यसबाट जे जति सन्देशहरू प्राप्त हुन्छन् ऐतिहासि बनिसकेका हुन्छन् तापनि समाजमा गतिशिलता जे जति भए पनि समाजमा गाडिएको संस्कार भने त्यति सजिलै परिवर्तन भने हुँदैन सिंहजीको यो सम्झनाका झिल्काहरूमा दर्शाइएका घटनाक्रमहरू स्मरण योग्य छन् । अब नियात्रातिरका शीर्षकतिर लम्कौं–

'स्मृतिका पानामा त्रिशूली–देवीघाट'– यस लेखमा कृतिकारले त्यहाँका मानवीय क्रियाकलाप (खासगरी नेतृत्व वर्ग र पत्रकारको) त्रिशुली जलविद्युत आयोजनाको सुदृढीकरणको सिलसिलामा २०४९देखि करिव ३ वर्षको त्यहाँको यथार्थतालाई पस्कने प्रयास गरेका छन् । पृथ्वीनारायण शाहाले कान्तिपुर विजय गर्नुभन्दा पहिला वि.सं. १८०१ देखि १८२५सम्म नुवाकोटलाई नेपालको राजधानी बनाउनु भएको, 'बेलकोट, मालाकोट, धुवाँकोट, भैरुमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङ्कोट प्यासकोटजस्ता नौ कोटले् धेरिएकाले सबैको केन्द्र विन्दु नौ कोटबाट अपभ्रंश भई नुवाकोट हुन गएको', नुवाकोट दरबारको परिसरमा रहेको भैरवी मसन्दिर नौ तले (हाल सात तले) दरबार, लिङ्गो ठड्याउने मेला, प्राचिन नाचहरू, जस्तै लाखे नाच, घाटु नाच, देवीघाटमा श्री५ बडामहाराजाधिराजको समाधिस्थलमा पूर्णकदको सालिक, वेत्रावती (उत्तर गया) जहाँ एक पटक पितृलाई पिण्ड दिए पछि पिण्ड दिइरहन नपर्ने, जालपा देवीको मन्दिर, लेखकले सम्झनाका पाइलाहरू गीति यात्रासंस्मरण प्राप्त गर्नु र प्रभावित हुनु जस्ता धारणाहरू यस लेखमा अध्ययन गर्न सकिन्छ ।

'ककनीबाट घोप्टे भीर हेर्दा'– (जहाँ थाइएयरवेजको विमान दुर्घटना भएको थियो) , र्दुघटनामा दिवङ्गत भएकाहरूको स्मारक बनाइएको ठाउँको अवलोकन र सोसम्बन्धमा लेखिएको लेख हो । यस लेखमा ककनीबाट देखिने हिमाल र प्राकृतिक सौन्दर्यको बर्ण पनि प्रस्तुत गरिएको छ ।

'नेपालको स्वीजरल्याण्ड'–यस लेखमा जिरीको विकासलाई स्वीजरल्याण्डसँग तुलना गरिएको छ । यहाँ याकको चिज पाइने, दोलखाको भिमेश्वर मन्दिरको मूर्तिमा पसिना आएको चर्चा, जिरीको नाम लिंदा स्विसहरूको नाम लिनै पर्ने किनकि लामोसाँघु जिरी नमुना सडक स्विसहरूले नै बनाएका, स्विसहरूको सहयोगले जिरी स्वर्ग भएको, जिरीबाटै एभरेष्टको बेसक्याम्प सुरु हुने, वि.सं. २०१०मा तेन्जिङ सेर्पा र एडमन्ड हिलारी जिरी हुँदै सगरमाथा आरोहण गर्न गएका, २००७ सालमा टोनी हेगेनले पनि जिरिको भ्रमण गरेका, जिरीको प्रविधिक शिक्षालय, गाई फार्म, टोनी हेगेन र डा. सुल्टेसले जिरीको विकासमा महत्वपूर्ण योगदान दिएको, सडक गए पछि जिरीको हवाई अड्डा सुतेको धारणा यस लेखमा आएको छ ।

शहिद पार्कमा एक घण्टा– यस लेखमा नियात्राकारले हेटौडाको शहिद पार्कको वर्णन गर्नुभएको छ । हरियालीले भरिएको सुलुत्त परेको डाँडामा स्मारक बनाइएको, स्मारकमा एउटै ढुङ्गामा बाह्रजना शहिदको मुखाकृति कुँदिएको, स्मारकमा मदन भण्डारीको पूर्ण कदको सालिक, राखिएको, सूर्योदय र सूर्यास्त अवलोकनको लागि बनाइएको टावर त्यसबाट चढेर हेर्दा हेटौडा सहरको केही भाग अवलोकन हुने, स्मारक स्थलमा चितुवा, स्याल, चित्तल, निगाले चितुवा, रतुवा मृग, ढेडू, अजिँगर, जरायो, उल्लू, राजहंस, कछुवा, खरायो, बाँदर, मजुर, वेलायती मुसा आदि जीवजन्तु पनि राखिएको र १७ हेक्टरमा फैलिएको यो स्मारक स्थलमा मन्दिर पनि भएको, बालबालिकाको लागि बनाइएको बालबाटिकामा रोटे पिङ, घुम्ने पिङ र चिप्लेटी आदिको विवरण अध्ययन गर्न पाइन्छ ।

बिदाको अर्थ खोज्दै जाँदा – बिदाको दिन बिताउन साथीभाइको घरमा जम्मा भएर तास खेल्ने जाँड रक्सी खाने जस्ता कामलाई छाडेर सही सदुपयोग गरी शिक्षाप्रदरूपमा मनाउन पर्छ भन्ने धारणामा लेखिएको यो लेखमा हत्तीवन रिर्सोटमा सपविार गएको, भुटानबाट नेपाल आएका वाङ्दी लामाले १९९० ताकै रिसोर्ट बनाएको यस रिसोर्टले देशको संस्कृतिलाई दिन सकेको, नयाँ नयाँ ज्ञान पाउनको लागि पनि घुम्न पर्ने र बिदा मनाउन परिवारको पूरापुर साथ चाहिन्छ र त्यसवेला बिदाको सही अर्थ बुझिन्छ भन्ने निष्कर्षको निकाल्दै लेख समाप्त हुन्छ ।

सधैँका लागि 'बन्द' गर्ने प्रतिज्ञा –यस लेखमा लेखकले बन्दको कारणले देश र जनताले भोग्नपरेको दुःख कष्टमा व्यङ्ग गर्दै सधैंको लागि बन्द गरौं भन्ने धारणा राख्नुभएको छ । यस लेखमा लेखकले पोखरा विश्वविद्यालयको दिक्षान्त समारोहमा २६ जनवरी २००४मा सहभागी हुनु, सोही दिन काठमाण्डौ जानु र काठमाण्डौबाट राती दिल्ली जानु थियो तर देशमा बन्दको कारणा आवत जावत सहज थिएन । दिक्षान्त समारोहमा जापानका अतिथि प्राध्यापक हिरोसी वातानावेले नेपालमा मर्र्नेमार्ने स्थितिलाई अन्त गर्न गरेको विन्तिले लेखकलाई मार्मिक र हृदयलाई छोएको विवरण यस लेखले प्रस्तुत गरेको छ ।

साहित्यको त्रिवेणी सङ्गम– यो साहित्यिक कार्यक्रम त्रिवेणी साहित्यिक त्रैमासिकले अर्घाखाँचीमा आयोजना गरेको र लेखक यस कार्यक्रममा सहभागी हुन जाँदाको विवरणलाई प्रस्तुत गर्नुभएको छ । मोदनाथ प्रश्रित प्रमुख अतिथि भएको उक्त कार्यक्रममा लेखक विशेष अतिथिरहेकोमा कार्यक्रम प्रतियोगी कविता लगायत विभिन्न साहित्यकारबाट कविता बाँचन गरिएको र कार्यक्रम सकिएपछि कार्यक्रमको समीक्षा गरिएको धारणा लेखमा आएको छ ।

छुकछुके रेलसँग लुकामारी शीर्षकमा सिमलाको प्राकृतिक वर्णन, सिमला जाने छुकछुके रेलमा भीड भएको कारणले जान नसकी, गाडीमा जाँदा कहिले रेल अघि र कहिले गाडी अघि भएर लुकामारी गर्दै जाँदाको बर्णन, सिमलाको प्रकृति बर्णन, सिमलाका मानिसले गढवाली बोली बोलिने, टोपी पनि नेपालीले लगाए जस्तो नलगाउने, दार्जिलिङ र सिक्किममा गएजस्तो नेपाल गएजस्तो अनुभूति नहुने धारणा राखिएको छ । मास्कोमा रेडियो हराएको दिन–मास्कोमा इन्जिनियरिङ तेसा्रो वर्षमा अध्ययन गर्दा कोठा खुला छोडिएको, ९० रुवल छात्रवृत्तिबाट बचाएर ५४ रुबलमा किनेको रेडियो हराएको र रिपोर्ट गरेर औपचारिकता निभाएर बसेको तर वकिलले बोलाएर रेडियो फिर्ता त पाइयो तर चोर को हो पत्ता नलागेको त्यो रेडियो नेपाल आउँदा लिएर आएर विग्रिए पछि रेडियो दोकानमा बनाउन दिएको तर दोकानीले दोकान सारेकोले फिर्ता लान नपाएको घटना दर्शाइएको छ ।

डिस्नेल्याण्डमा अन्तरिक्ष यात्रा –मे ६, १९८४मा जापानमा, निप्पोन कोइको प्रधान कार्यालयमा जलविद्युत सम्बन्धी सैधान्तिक ज्ञान हाँसिल गर्न गरिएको यो यात्रामा सैधान्तिक ज्ञानको साथसाथै विभिन्न स्थलगत भ्रमण पनि गरिएको । यसै सिलसिलामा फुकुमुरा सानले 'टोकियोको डिस्नेल्याण्ड अमेरिकाको लस एन्जलसभन्दा कम छैन तिमीहरू त्यहाँ जान चाहन्छौं ?' भनेपछि लेखकलगायतको टोली डिस्नेल्याण्डमा पूरा दिन बिताएको र यहाँ डुङ्गा खियाइ, मनोरञ्जनात्मक खेलहरूको अलवा अन्तरिक्ष यात्रामा पनि सहभागी भएको र करिव पाँचसय किलोमीटर प्रतिघन्टाको दरले ताराहरूको बीच घुम्न रमाइलो भए पनि जोखिमपूर्ण भएको महसूस भएको, टोकियोको हाराजुकुमा प्रत्येक आइतबार आफूखुसी गरिने नाच तथा युवायुवतीको सङ्गम स्थलमा सहभागी भएको, विदेशीलाई गरिने आतिथ्यतामा जापानीहरू 'तीनचार पटक निहुरिएर ढोगने, मीठो बोल्ने, र मुसुक्क हाँसने, जापानी चिया खानलाई किमोनो लगाई विशेष तरिकाले भुइँमा बसेर खाने, फूल प्रदर्शनीको अवलोकन, ब्ुलेट ट्रेनको यात्रा, राजालाई सबैले आदरको साथमा मान्ने आदि सन्देश यस लेखले दिएको छ ।

'हरिकी पैडी' आरतीको लालसा –यस लेखमा हरिद्वार शिवालिक पर्वतको टाकुरामा अवस्थित मनसा देवीको दर्शन, हरिद्वारका सबै मन्दिरको दर्शन गर्दै गङ्गाको मुख्य धारबाट नहरको हाँगा निकालेर हरिद्वारको किनारामा बग्ने गङ्गाको धारामा बनेको पक्की घाटलाई 'हरि कि पौडी' भनिने हरेक दिन बेलुकी ७ः४०मा करिव २० मिनेट गङ्गामाताको आरती गरिने र यही श्राद्धतर्पण पनि हरि कि पौडीमा गरिदो रहेछ तर त्यस समयलाई प्रयोग गर्न नसके पनि मनमा आरतीको कल्पना रहेको र अर्को साल जाँदा आरती हेरेको, मुख्य उदेश्य रुड्कीको कार्यशालामा भागलिन गएको र दिल्लीबाट रुटकी बसमा जाँदा उद्घाटन समयमा पुग्न नसकेको, तर उद्घाटन कार्य नेपालीलाई पर्खिएर मात्र गरिएको आदि यस लेखमा प्रकाश पारिएको छ ।

नमुना सहर चण्डीगढ– चण्डीगढमा हुने जलविद्युत सम्बन्धी गोष्ठीमा भागलिन जाँदाको नियात्रा हो यो । यसमा हरियाण राज्य र पञ्जाव राज्यको राजधानिरहेको, चण्डीगढ राम्रो हावापानी प्रसस्त जल भण्डार, कृषिमा आत्मनिर्भर भएको ठाउँ, विभिन्न क्षेत्रमा बाँडिएको, सन् १९५०मा चण्डीगढको परिकल्पना गरिएको पञ्जावको राजधानी लाहौर पाकिस्तानमा परेपछि चण्डीगढलाई राजधानी बनाइएको र चण्डीगढबाट हरियाण अलग भएपछि चण्डीगढ दुवैको राजधानी बनेको, लेखकले नेकचन्द रक गार्डेन, सुखाताल, गुलावको बगैंचाको अवलोकन, गोष्ठीको उद्घाटन राज्यपालले गरेको सिंहजीले नेपालको विद्युत विकास सम्बन्धी आफ्ना भावना पोख्दै जनस्तरबाटै विद्युत उत्पादन गर्ने धारणा राखेको आदि विविध विवरण प्रस्तुत गरिएको छ लेखमा ।

संघाईलाई सलाम –फेब्रुअरी १९, १९९७मा चिनमा चिनका महान सुधारवादी नेता देङ सियाओ पेङको मृत्युको शोक मनाइएको अवस्थामा लेखक र उनका साथी ईश्वरी तिवारी साङ्घाई पुगेको चाओले उनीहरूलाई सहयोग गरेका, नानजिङ्स्ट्रिटमा पैदल घुमाई विशाल सुपरमार्केटहरूको अवलोकन, युवायुवतीहरू अङ्गालोमा बाँधिएर स्वर्गको अनुभूति गरेको दृश्य, ह्वाङ्–फो नदीकिनारमा पुग्नु जहाज आवत जावत, ८८ तले चिङमाङ भवन र ओरिएन्टल पर्ल टेलीभिजन टावरको दृश्य जति हेरे पनि हेरिरहूँ जस्तो लाग्नेको अवलोकन, उक्त टावरको तलको कोठालाई साइन्स फन्टास्टी वल्र्ड भनिएको र संसारका ऐतिहासिक वैज्ञानिक आदि स्थानका फोटाहरू टाँसिएका आदिलाई अवलोकन गरी लेखक चेङदूतिर लागेको संसारको झ्यालबाट नियाल्दा –संसारमा भएका विश्व चर्चित संरचनाको मोडेल त्यहाँ बनाइएकोले सेन्जेनको प्रमूख स्थललाई संसारको झ्याल भनिएको धारणा राखिएको छ लेखमा । लेखकको टोलीले त्यसको अवलोकन गरेको । खानाका प्रकारमा माछा, सर्प र गंगटा राखिएकोमा टोलीले गंगटा रोजेर खाना खाएका आदि, विवरणको साथै सेन्जेन एउटा व्यपारी केन्द्र भएको विवरण यस लेखमा प्रस्तुत गरिएको छ ।

कोलकाताका कथाव्यथाभित्र – नेपाल हाइड्रो इलेक्ट्रिकलले गेटका पुल्लीहरूको निर्माण गर्न कलकत्ताको कानुभाइ इन्जिनियरिङ वक्र्सलाई दिएको र ती उपकरणको लागि कलकत्ता जान परेको, कलकत्ता गएपछि कलकत्ताको विज्ञान सहर (विज्ञानका अहिले सम्मका उपलब्धीहरूलाई म्युजियमको रूपमा राखिएको) को अवलोकन, कलकत्ताले सबै वर्ग, धर्म र समुदायलाई ओगटेको, मदर टेरेसाको कर्मथलो, रवीन्द्रनाथ टयागोरको साहित्यिक थलो, हुगली नदी माथिको हावडा पुल, भिक्टोरिया बोटानिकल गार्डेनको २४० वर्ष पुरानो बरको रुख जो गिनिज बुक अफ वल्र्डमा रेकर्ड भएको, निको पार्कले दिएको कोलकाताको संस्कृति सन्देश, कलकत्ताले घोडादौडको परम्परालाई कायम राखेको जानकारी, चाइना टाउनमा चाइनिज खानाको स्वाद, कलकत्ताका नेपालीहरूको पीडाको सुनवाइ, कृतिम कपालको पहिरन, दुर्गापूजालाई दिइने प्राथमिकता, ७२ प्रतिशत साक्षरता, मीठाइको स्वादलिंदै उपकरणको जाँच सकी काठमाडौ फिर्ता भएको विवरण लेखमा समावेस गरिएको छ ।

सुन्दर मिरिक सम्झना –मिकिर दार्जिलिङमा पर्दछ । चिया वगान बीचबीचमा छाहारी दिने रुख, सुन्दर चिटिक्क परेका घर, सल्लाघारीको माथि गोरखा पार्वत्यपरिषदले बनाएको अतिथि गृह वा सुन्दर ताल निरको अतिथि गृह, मिकिर झिल, चारैतिर हरियाली, सजिएर रहेको धूपीका रुख, सेती खोला काली खोला, देवीस्थान खोलाको पानी पनि यस झिलमा मिसिने, समेन्दू धापको छिपछिपे हिलोलाई काली खोलामा वाँध बनाएर बनेको कृत्रिम तालले प्राकृतिकरूप धारण गरेको, बौद्ध र हिन्दू धर्मावलम्वीहरूको सङगम स्थल, हरेक घरका आगन र कौसीमा रङ्गिन फूलका गमला, हरेक वर्ष सुनाखरी फूलको प्रदर्शनी गरिने आदि प्राकृतिक सुन्दरताले सजिएको मिरिकको मीठो प्रस्तुति गरिएको छ लेखमा ।

हिमसागरको रेलयात्रा– यो लेख झट्ट हेर्दा हिम सागरमा गरिने रेलयात्रा जस्तो लाग्दछ तर यो मदुराईबाट जम्मुसम्म चल्ने रेलको नाम हो । यस रेललाई जम्मुतावी पनि भनिदो रहेछ ।लेखक कन्याकुमारी र रामेश्वरको यात्रापछि मदुराईबाट डिल्ली जानको लागि यस रेलमा यात्रा गर्दछन् । यात्रामा जम्मुका युसुकफसँग भेट नेपाली चिया बेच्ने केटासँग भेट, तामिलनाडू आए पछि लेखकको छोरा सुमन विमारी पर्नु, विजयवाडाको बारेमा सुमनले सिंहजीलाई जानकारी दिनु, नागपुर, भोपाल, नर्मदानदी, झाँसी, ग्वालियर, चम्बल नदीघाटी आदि हुँदै ५२ घण्टाको रेल यात्रा पछि रेल दिल्ली स्टेशनमा पुग्दछ । लेखकले यात्रालाई विभिन्न व्यक्तिसँगको कुराकानीले गर्दामनोरञ्जनपूर्ण रहेको धारणा पोखेका छन् ।

माथि गरिएका केही प्रस्तुतिले मात्र यस कृतिमा पस्किएका विविध पक्षलाई समेट्दैन किनकि सिंहजीले यस कृति मार्फत पाठक वर्गलाई धेरै जानकारी दिनु भएको छ । उहाँका स्वदेशका हुन् या विदेशका सबै लेख जीवन्त छन् र विवरणात्मक छन् । नियात्रा भन्ने बित्तिकै स्वदेश होस् या विदेश होस् भौगोलिक विवरण नै मुख्य संदेश हो । कृति पढ्दै जाँदा लेखक मात्र नभै हामी पठकले पनि ती स्थानमा पुगेको अनुभूति गर्न सकिन्छ । सिंहजीको राष्ट्रप्रतिको प्रेम, विकास निर्माणतिर लगाव, जहाँ पुगे पनि नेपालीको खोजी, स्थानको अवलोकन र त्यस प्रकारको विकास नेपालमा दाँज्नु र नेपालमा विकास हुन नसकेकामा चिन्तित हुनु उहाँको देशप्रतिको विकास धारणा हो भन्न सकिन्छ । उनका लेखमा इतिहासको विवरण पनि पाइन्छन् । उदाहरणको लागि स्मृतिका पानामा त्रिशूली देविघाट, नेपालको स्वीजरल्याण्ड जस्ता आदि लेखहरूले इतिहासलाई बोकेका छन् । सिंहजी जे देख्छन् त्यही लेख्छन् । सेनजेनमा कल गर्लले गरेको अनुरोध, हाङ्फो नदीकिनारको पार्कमा युवायुवतीको रोमान्सलाई उन्ले लेख्न छोडेका छैनन् । ठाउँ ठाउँमा रसिला बाक्यहरूले सजिएका छन् लेखहरू । समाजमा अपनाइएका उदारता तथा संकृणतालाई पनि नियालेका छन् सिंहजीले । जापानमा पाहुना बन्दा बाबुले छोरीमा गरेको मायामा आमले डाहा गर्नु जस्ता धारणहरूलाई पनि लेखमा प्रस्तुत गरेका छन् । सिंहजीको धर्मप्रतिको झुकाउः पनि अति गाढा छ विभिन्न स्थानका मन्दिरमा जानु, गंगाजीमा स्नान गर्दा डुबुल्की मार्दा कसो नबग्नु आदि । देशमा चलेको द्वन्दलाई पनि हामीले यस कृतिमा अध्ययन गर्न पाउँछौ । देशले दिन नसकेको रोजगारीलाई पनि कृतिले समाएको छ ।

भाषाशैली– सम्झनाका झिलकाहरू सरल र सुबोध भाषामा लेखिएको छ । विम्बहरूको प्रयोग भएको छ । जीर्ण सडकलाई लगेर सडकछाप बालकको फाटेको कपडा जस्तै दाज्नु, 'लाग्थ्यो कतै हामी स्वर्गपुरीमा छौं', जसोजसो बाहुन बाजे उसैउसै स्वाहा जस्ता उखानहरू पनि हामीले अध्ययन गर्न पाउँछौं । जति पढ्यो उति पढौंपढौं जस्तो लाग्छ । लेखाइ जति सरल हुन्छ पढ्दा त्यति सुबोध हुन्छ । सिंहजीको लेखनमा यस्ले अग्र स्थान ओगटेको पाइन्छ ।

शीर्षकी करणा– शीर्षकीकरण पनि सुहाउँदो छ । जसरी सानो अग्निे जलाउँछ त्यसरी नै सम्झनाले पनि मानव मनमा कौतुहलता जगाइरहेको हुन्छ, स्मरण आइरहेको हुन्छ ।
पात्र विधान– नियात्राकार स्वयम्् नै मुख्य पात्ररहेको यो कृतिमा स्वदेश र विदेशको परिवेश अनुकुलका पात्रहरूले कृतिलाई मनोरम बनाएका छ्न् ।

अतः कृतिले हामीलाई प्रशस्त सूचना प्रदान गरेको छ । साहित्य र पेशागत कर्यमा सिंहजी निरन्तर लागि परेको पाइन्छ । उहाँ जहाँ जानुहुन्छ, त्यहाँको परिवेशमा रमाउनुहुन्छ, समाज, परम्परा, संस्कृतिलाई केलाउनुहुन्छ र आफ्नो लेखमा सजाउनुहुन्छ, उहाँको यस कृतिको अध्ययनले यस्तै सन्देश दिन्छ । सिंहजीका यी लेखहरू प्रशंसनीय छन् जीवन्त छन् भन्दै, निरन्तर काव्य रचनाले अग्रस्थान ओगट्दै जावस भन्ने कमना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
मिति २०७३ भाद्र २९ गते,
कावासोती–७, शान्तिचोक, नवलपरासी

यो कस्तो तलतल हो’ सङ्क्षिप्त विवेचना

परिचय

२०३६ साल असार महिना २९ गतेको दिन मेघालय, सिलोङ् भारतमा जन्म भै भरतपुर–४, पशुपतिमार्ग नारायण गढ, चितवनमा स्थायी बसोबास गर्ने बुबा प्रेमचन्द्र देवकोटा र माता पूर्णकला देवकोटाकी सुपुत्री, लेखन कला र गायन गलाकी धनी स्रष्टा हुन्, विष्णु तिवारी'उषा' (देवकोटा) । विष्णु तिवारी उषा साहित्यिक क्षेत्रमा आफ्नो नाम स्थापित गरिसकेकी गजलकार हुन् । उनको पहिलो एकल कृति 'धुमिल धुमिल सपनाहरू(गजलसङ्ग्रह २०६८)ले गजलकारहरूको मनमा गहिरो छाप राख्न सफल देखिन्छ भने, गजल यात्रा भाग–२ (संयुक्त गजलसङ्ग्रह, २०६५), गजलगङ्गा भाग १ (संयुक्त राष्ट्रिय गजलसङ्ग्रह, २०६६), ई प्रतिनीधि नेपाली नेपाली गजल (संयुक्त राष्ट्रिय गजलसङ्ग्रह, २०७०)मा समावेश गरिएका गजलहरू पनि अनुकरणीय खालका छन् । उषाको कलम कविता गीतहरूमा पनि चल्छ । उषाको दोस्रो एकलकृति 'यो कस्तो तलतल हो (गजलसङ्ग्रह २०७१)लाई मैले अध्ययन गर्न थालेको छु । उषाको साहित्यिक तथा समाजिक व्यक्तित्वलाई केलाउँदा पनि उच्च देखिन्छ । समर्पण साहित्य परिषद चितवनकी अध्यक्ष, गजलसन्ध्या चितवनकी उपाध्यक्ष, पशुपति आमा समूह, चितवनकी सचिव, पल्लव साहित्य प्रतिष्ठान, चितवनकी सदस्य, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवनकी विशिष्ठ सदस्यको साथै गजलमञ्च चितवन, अनाम मण्डली काठमाण्डौ, नारी साहित्य समाज नवलपरासीकी आजीवन सदस्य भै साहित्य तथा समाज सेवाको क्षेत्रमा सेवा पुर्याउँदै आउनु भएको छ । उषा गजलगायन प्रतियोगितामा द्वितीय, लक्ष्मीस्मृति साहित्य समाज नवलपरासीबाट लक्ष्मीस्मृति एव म नन्दकलास्मृति भाषा साहित्य सम्मान २०७०, भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति संस्कृति पर्यटन तथा नागरिक तथा उड्डयन मन्त्रालय, नेपाल सरकारबाट भानुभक्त स्वर्ण पदक–२०७१, विश्व नारी नेपाली साहित्य पदक – २०७१बाट विभूषित भै सक्नुभएको छ ।

कृतिको संरचना–

यो कृतिआवरण पृष्ठ बाहेक ८६ पृष्ठमा सजिएको छ । विष्णु तिवारी उषाजीलाई गजल लेख्न प्रथम प्रेरणा प्रदान कर्ता उहाँका ठूलो बुबा स्वर्गीय नरपति देवकोटामा समर्पित यो कृतिमा गोकुल शर्मा तिवारीले प्रकाशकीय लेख्नुभएको छ भने गोविन्दराज विनोदीजीले भूमिका मार्फत यसकृतिको विश्लेषण गर्नुभएको छ । यसको मूल्य १५० रुपियाँ रहेको छ । यसमा ७० गजलहरू समावेश गरिुएका छन् । गजलहरू अधिकांस ५ शेरमा रचिएका छन् भने ४ र ६ शेरका गजलहरू पनि फाटपुटरूपमा पढ्न पाइन्छन् । गजलशरूको शीर्षकी करण गरिएको छैन ।

कृतिप्रति भूमिका, प्रकाशकीय र कृतिकारले राखेका धारणाहरू –

यो कृतिमा गोकुल शर्मा तिवारीले प्रकाशकीय लेख्नेक्रममा लेख्नुहुन्छ –'हामीले एकअर्कालाई लिनुदिनु केही पनि छैन, मात्र बाँचुन्जेल हाँसेर बाँचौं, एक बचन मीठो बोली साटौं भन्ने धारणा राख्ने सर्जक विष्णु तिवारी उषा दया, माया, अनुशासनका साथै कला र प्रतिभाकी खानी हुन् । ...... मैले उनलाई जीवन सङ्गििनी या मानवताको नाताले दिएको साथ, प्रेम प्रोत्साहन, स्वतन्त्रता र उनको मिहिनेत लगन र प्रतिभाको प्रतिफल नै हो यो यो कस्तो तलतल हो '? गोकुलजीको प्रकाशकीयमा पोखिएका उद्गारलाई विष्णुजीले आफ्नो हार्दिक आभारमा समर्थन जनाउनु भएको र दुवैको आपसी सहयोग र उषाजीको प्रतिभाको प्रतिफल नै यो कृतिको सिर्जना भएको कुरा पुष्टि हुन्छ । यस कृतिको भूमिका लेखनमा बरिष्ठ कवि तथा गजलकार गोविन्दराज विनोदीजीले लेख्नुहुन्छ –'चोखो नैसर्गिक प्रेम, प्रणयका साथै, राष्ट्रप्रेम, मानवताप्रेम र विश्वप्रेमकै सदाभिलाषा प्रकट गर्ने उषाका रचनाले, स्थानीयदेखि राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय वाङ्मयिक परिवेशलाई समेत सम्बोधन गरेका छन्' । विष्णु तिवारी उषाले मेरो मनको तलतल भन्दै मनको भावनात्मक बहावको गतिशिलता असीमित रहेको र यसबाट नकरात्मक र सकरात्मक बर्णन गर्दै जीवनको परिभाषा दिने प्रयास गर्नुभएको छ । ' जीवन केवल पीडै पीडाको भकारी पनि त होइन । यसबाहेक जीवन उज्यालो हो, जीवन फूल हो, अनि जीवन मधुर धुन हो र हो मृदुल मुस्कान पनि' । यति धारणामात्र नरहेर संसारमा देखिएका विविधखाले घटनाक्रम विविध खाले विकृति र विसङ्गति,त्यसको लागि संघर्षरत मनहरूको दृश्य अवलोकनमा उषाजीको कलम दौडन थाल्दछ । उषाजीले आफ्नो गजल कृतिमा समेटिएका धारणा तथा भावनाका यथार्थतालाई प्रष्ट्याउने प्रयास गर्नुभएको छ तापनि गजल कृतिले समेटेका विविध धारणलाई यहाँ 'समीक्षकीय रूपमा अघि बढ्ने अनुमति चाहन्छु ।

गजलकृतिभित्र जीवनका दर्शनका कुराहरू

गजलकार उषाजीले जीवनका विविध पक्षमा आफ्ना भावनालाई प्रष्ट्याउने प्रयास गर्नु भए सरह उहाँको पहिलो गजलमा नै पीडादायी धारणालाई मार्मिकरूपमा पस्कनु भएको छ । मेरो धारणामा जीवन हाँसो र आँसुको मिश्रितरूप हो । यसै भित्र मानिसले बहुआयमिक कर्महरू गर्दछ । उषाजीले गजलमा आँसुको समुद्र नै बग्नु, व्यथाहरूको कुण्डमा, दक्षिणी ध्र्रुवमा, कलियुगमा, दुर्भाग्यको झुण्डमा, साथै, दुःखैदुःखमा डुवेको, जिउँदै जलेको, समयले छलेको, आफैलाई परेको, सिकारी आएर मन हरेको, आश रोप्दा पनि नफुल्दै झरेको आदि पीडादाइ कहानीलाई यहाँ दर्शाइएको छ । साथै नव उषा छरेको कहानी पनि सुनाउनु भएको छ –

ऋतुराज सुन्दर वसन्ती थुँगामा
नव 'उषा'छरेको कहानी सुनाउँछु ।
(गजल २, पृष्ठ १८)

गजल ४१मा पनि जीवनदर्शनका कथा पोखिएका छन्
कति आए कति गए, ऊ हेरिरहन्छ निरन्तर,
नदीको कलकल बग्ने पानीमा एउटा कथा छ
(गजल ४१, पृष्ठ ५७)

यो संसारमा आउने जानेक्रम जारी छ । कति आए कति गए कुनै लेखा जोखा छैन तर हरेक पाइला र हरेक निसानीमा कथा हुन्छ । त्यी कथाहरूको प्रकटीकरण नै एउटा इतिहास बन्न सक्छ भन्ने गजलकारको धारणालाई हेरौं –

जीवनको यात्रामा यात्रुहरू आउँछन् जान्छन्,
हर पाइला र हर निसानीमा एउटा कथा छ
(गजल ४१, पृष्ठ ५७)

जीवनमा सधैं अन्धकार मात्र रहदैन, उज्यालो पनि हुन्छ–
जब दिन ढल्दै जान्छ रात आउँछ अनि फेरि
उषाको झलमल्ल विहानीमा एउटा कथा छ ।

मानव जीवनमा यस्ता पीडादाइ घटना वाधा–व्यवधान आउँछन् । बाटो अवरोध हुन जान्छ तर यसमा आफू बिचलित नभै आफ्नो मार्गमा अघि बढ्नु पर्दछ, चुनौतीको सामना बल नभई बुद्धिले गर्नु पर्छ, जीवन एक यात्रा हो यसमा परेका व्यवधानमा दुःखित हुनुहुँदैन, एकता नै सफलताको सोपाान हो, लोभमोहमा फसेर विभाजित हुन नहुने र शरद्की 'उषा' जस्तै दसै दिशा किरण छरेर खुसी बाड्नु विवादित नहुनु भन्ने मार्गदर्शनको धारणा राखिएको छ –

जिन्दगीको बाटोमा कतै विचलित नहुनु
आउन सक्छन् बाधाहरू दिग्भ्रमित नहुनु
(गजल ३, पृष्ठ १९)

मानव जीवनका ओराली उकाली, पीरैपीरको भारी बोकेका मानव जीवनका कष्टकर क्षणहरू, जीवनमा भोग्न परेका आनन्दमय क्षण आदिलाई उषाजीले प्रष्ट्याउने प्रयासमा दृढताको साथमा उभिनु भएको छ ।

राष्ट्र अनि राष्ट्रियता –

आज देशमा राष्ट्र अनि राष्ट्रियतामा भएको प्रहार या राष्ट्र अनि राष्ट्रियताको बिल्ला भिरेर देशलाई नै विखण्डन गराउने तथा राज्यका हरेक अंङ्गमा आफ्नो भागबण्डा खोज्ने प्रवृतिप्रतिको बिरोधमा उषजीको कलम प्रवल भएर उठ्छ र प्रहार गर्न थाल्छ । राष्ट्र निर्माणको काम सजिलै हुन नसक्ने र त्यसको लागि भगिरथ प्रयत्नको खाँचो पर्ने यथार्थता सबैमा सर्वविदितै छ । देशमा आज घरभित्रका साना साना आपसी खिचातानी तथा द्वन्द्वलाई समाधान गर्न नसक्नेबाट राष्ट्र निर्माणको काम कसरी सुलभ हुन्छ भन्दै प्रश्न राखिएको छ –

घरभित्रका द्वन्द्व त मिलाउन सक्दैनौ हामी,
राष्ट्र बनाउने काम झन् सुलभ कहाँ हुन्छ र ?
(गजल ८ पृष्ठ २४)

आज सिङ्गो देश नै बिरामी परेको र यसो हुनको लागि सिष्टममै खरावी भएको धारणालाई उदाहरणमा हेर्न सकिन्छ–

सतीको श्राप लागेको हो कि
आज सिङ्गगो देश नै बिरामी छ ।
यो कस्तो विसङ्गति हो– उषा
लाग्छ सिष्टममै खरावी छ ।
(गजल ९ पृष्ठ २५)

आज राष्ट्रिय एकताको खाँचो छ–
के पूर्वर्, के पश्चिम, के उत्तर, के दक्षिण ?
हिमाल, पहाड, तराई, मधेसमा छ मेरो घर ।
(गजल १८ पृष्ठ ३४)

पृथ्वीनारायण शाहले रजौटालाई जितेर नेपालको राज्यलाई विशालरूप दिएका तर आज देशद्रोही बढ्ेपछि देशको मार्ग साँगुरिन गएको देशको अखण्डतामा आँच आउन थालेको राष्ट्र टुक्रिन नहुने आदि धारणाको साथै माता र माटोप्रति लेखिएको एक शेर पढौ –

न माता न माटो न भाषा न जाति
सड्यो लोक प्राय, बढे देशद्रोही
(गजल ६४ पृष्ठ ८०)

राष्ट्रप्रति समर्पित गजलहरूको सख्या कमि छैनन् र जति पढे पनि अघाइँदैन ।

नारीवादी चिन्तन –

'उषा'का गजलमा प्रसस्त नारीवादी चिन्तनले स्थान ओगटेको पाइन्छ । कतै त्याग, तपस्या, बलिदान, डोकोनाम्लो कुचो आदि के नारीका गहना हुन् भन्ने प्रश्न राखिएका छन् भने कतै आह्वान गरिएको छ–

हे ! वीराङ्गना हो बाँच्न सिक आफ्ना लागि
सधैंसधैं अरूकै निम्ति जीवन बाँचेका कुरा नलेख ।
(गजल १९,पृष्ठ ३५)

अस्मिता लुटिन दिनु नहुने, तारिफ पाएर मख्ख पर्न नहुने, नारीले त्याग तपस्या बलिदान धेरै गरेको,अब छुट्टै पहिचान अङ्कित गर्नु पर्ने, संस्कृतका नाममा थोपार्ने कुसंस्कारलाई नारी–आकाशबाटै बर्जित गर्नु पने, पढेका नारीहरूले पारिजात अनि देवकोटा भै व्यवहारमा उत्रनु पर्ने, मागेर नमिले खोसेरै भए पनि अधिकारको सुनिश्चित गर्नु पर्ने, आँसु पिउन नहुने, बर्बरता सहन नहुने रुढिवादलाई निरन्तरता दिन नहुने आदि धारणाले नारलिाई सवल बन्न र जागृत हुन आग्रह गरिएको छ –

उठ ब्यूँझ जाग हेर संसार रमाइलो छ, तर,
पाइलै पिच्छे तिमीले अपनाउनु छ सहजता ।
(गजल ५५पृष्ठ ७१)

प्रेमप्रणय र गजलकार –

हिजोको समयमा गजललाई प्रेमरसले भरिएको काव्य हो भनिन्थ्यो तर आज आएर गजलले विविध बाटो समाएको छ । आज आएर विविध विषयमा गजल लेखिने गरिएको छ तापनि गजलमा सिङ्गारिकता तथा प्रेमका धारणले प्रवल र सवल स्थान ओगटेको पाइन्छ । उषाजीको यस कृतिभित्र प्रेमप्रणयका धारणाहरू सुललित, सुसज्जित, सभ्य र भव्यरूपमा पोखिएको पाइन्छ ।मनमा के छ यो छुन पनि मिल्दैन, हृदयलाई धुन पनि मिल्दैन,अन्तरध्यान भएर पनि ससारलाई मायाप्रीति के हो देखाउन सकिदैन, जेलिएको मायाको बन्धनलाई फाल्न चाहेृ पनि फुन मिल्दैन, पल्भरको साथ माग्नेहरूसँग र चोखो यौवनको मिठास माग्नेहरूसँग होसियार हुनु पर्छ, मायामा तड्पिनुको मजा अर्कै हुन्छ, गधालाई गाई बनाउनु र पत्थरसँग पिरती लाउनु समान हो, मायाखोज्न मनभित्र पस्नुपर्छ, चरित्र पढ्न गाह्रो हुन्छ, प्रेममा पवित्रताको आवश्यक्ता पर्दछ, हेर्यौं तलका शेरहरू –

छुचो होस् नराम्रो होस् तर मन पविवत्र होस्
निर्मल निश्छल गङ्गाझै धड्कन पवित्र होस्
(गजल ५२, पृष्ठ ६८)

जब अमृततुल्य प्रेम जहरमा परिणत भयो
तब मनको मन्दिर खण्डहरमा परिणत भयो
(गजल ५९, पृष्ठ ७५)

प्रेमका उद्गारले भरिएको यो कृतिमा गजलकारले कल्पनामा भए पनि हमेसा, जुनेली बनी, पिरती लाउनेगरी, सही जिन्दगीमा भेट हुन नसके पनि रोज भेटाउनु हजारौं जुनी गाएको गीत गाउँदै प्रभापुञ्ज फैलाउँदै आउनु यथार्थतामा नभए पनि कल्पनामा आउनुु भन्ने आग्रह गरिएको छ ।

युद्ध र गजलकार –

साहित्य समाजको दर्पण हो । समाजमा घटेका घटनाबाटै साहित्यको सिर्जना हुने हो । देशले भोगेको त्यो अमानवीय युद्धको पीडामा उषाजीको कलम पनि सलबलाएको छ –
किन मौन छ यो युग घाइते हुँदा पनि
डराएको छु विचार र युद्धको रगत देखेर
(गजल ३४, पृष्ठ ५०)

प्राकृतिक सौन्दर्य र गजलकार –

गजलमा प्राकृतिक सौन्दर्यलाई राम्रोसँग सजाइएको छ । वातावरणीय सौन्दर्य तथा पवित्रतालाई जोड्दै गजलकार लेख्छिन् –

हिमाल झर्ना चन्दन चाँदनी पीपल पारिजातसरि
हामीले सास फेर्ने देशको वातावरण पवित्र होस्
गजल ५२, पृष्ठ५८)

शान्तिको खोजी तथा बुद्धको स्मरण गरेका गजलहरू पनि हामीले पढ्न पाउँछौं । मानव भई मानवताको व्यवहार गर्नु पर्ने दानवीय व्यवहार हुनूनहुने, साहित्यमा राहु, केतु, शनि घुसेको, पैदा हुन गएको खाडलले साहित्यिक गोष्ठि पनि वेकार लाग्ने भएको, भ्रष्टचारको बजार नफेरिएको, दुर्योधन, दुशासन र रावणहरूको मौजुदाले अस्मिताको व्यपार नफेरिएको, आजको संसारमा पैसाले सबैथोक हुने, कर्मपथ भरिका काँडा हटाएर अगाडि बढ्नु पर्ने, कायरता त्याग्नु पर्ने, सियो बनी छिर्ने र हात्ती बनी निस्कने मानव प्रवृत्ति, प्रतिभाको खोजी,आदि सामाजिक विकृति विसङ्गति आदि धारणालाई गजलबाट प्रष्ट्याउने प्रयास भएको छ ।

शीर्षकको सान्दर्भिकता–

तलतलको अर्थ हुन्छ अम्मलको सेवन गर्ने इच्छ्या तथा अम्मल सेवन गर्न नपाएर चल्ने छटछटी । उषाजीमा समाजमा देखिएका विविध खाले कर्म तथा व्यवहार समाजिक यथार्थताको कारणले गर्दा छटपटी चल्छ र यी सबै विषयबस्तुलाई ओकेल्ने कर्मको लागि उहाँको कलम चल्छ र यो कृतिको सिर्जना हुन्छ । गजल ६१मा उहाँले शीर्षको सार्थकता पोख्नुभएको छ । अनयासै बहकाउने, पलपलमै रसाउने, ढुकढुकी नै बढाउने, सुन भेटे हीरा खोज्ने, हीरा भेटे मोती खोज्ने, खोजेर नअघाउने, घरि सपना देखाउने, घरि सम्झना दिलाउने, रात दिन सताउने, पूर्व पश्चिम उत्तर दक्षिण कल्पनामा नचाएर पागलसरि बनाउने यो कस्तो तलतल हो भन्दै उहाँ लेख्नुहुन्छ –

अँधेरी रातपछि सधैं नव 'उषा' उदाउँछिन्
नजर भोलिमै लाउने यो कस्तो तलतल हो ।

गजल सिधान्त, लय, भाषाशैली र गजलकृति–

गजलकृति गजल सिधान्तमा आधारित रहेर सिर्जित भएको छ ।प्राय सबै गजलमा तखल्लुसको प्रयोग भएको काफियाको सुसंयोजन गरिएको भावनाले भरिएको, विम्ब–प्रतिकले सजिएको, सामाजिक यथार्थ घटनामा आधारित भै रचिएको, सबै गाउन सकिने खालका सरल र सहज भाषामा रचिएको छ गजल कृति । गजल कृति पठन योग्य, मनन् योग्य, अनुकरणीय छ ।

अन्त्यमा गजल कृतिमा भएका प्राय सबै गजलका धारणा भावना, यथार्थतालाई केलाएर माथि नै पस्किसकेको हुँदा अरू थपमा उषाजीको साहित्यिक यात्रा सुखमय रहोस् नयाँ नयाँ सिर्जनाले पाठकको मन वहलाओस, प्रकाशोमुख कृति अत्यचारका डोबहरू (कवितासङ्ग्रह) र महेफिल(हिन्दी गजलसङ्ग्रह)मा पनि चाँडोभन्दा चाँडो विवेचना गर्न पाउँ भन्ने अभिलाषा राख्दै, उषाजीको भावी लेखनमा तृब्रताको कामना गर्दै बिदाइ चाहन्छु ।

सदानन्द अभागी
धन्यवाद,
२०७२ साल जेठ महिनाको १२ गते, कावासोती नगर पालिका वडा नं ७ शान्तिचोक, नवलपरासी

बादलभित्रका कविताहरू’ कविता पुञ्जभित्र घोत्लिँदा

परिचय

यमबहादुर के.सी.को साहित्य उपनाम यमढुङ्गाना हो । उहाँ सन १९४३ सेप्टेमबर १९ (२०० आश्विन २१)मा देहरादुनमा जन्मे पनि हुर्कने र अध्ययन गर्ने काम भने नेपालमा भयो । नारायणस्थान–१, नेपाने, बागलुङका पिता श्रीकमानसिंह ढुङ्गाना र माता श्रीमती मन्दरी ढुङ्गाना के.सी.को सुपुत्र के.सी. एम.ए. वी.एल.र वी.एड.(त्रि.वि.वि.बाट) शिक्षा हाँसिल गर्नुभएको शिक्षा मन्त्रालयअन्तर गत ११ वर्ष शिक्षण पेशामा सेवा पुर्याउँदै, केन्द्रीय अनुगमन कर्ता र शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीमा सेवा पुरुयाउँदै उप– सचिव पदबाट निवृत भरण प्राप्त गरी हाल पर्वत जिल्ला कुश्मामा बसोबास गर्दै आउनु भएको छ । देश र विदेश (भारत र वङ्गाला देश) भ्रमणबाट विविध क्षेत्रमा अनुभव बटुल्नु भएका के..सी.ले विभिन्न संस्थामा आवद्ध भएर हालको समयमा साहित्यमा रमाउनु भएको छ । जीवनका लहरहरू, (कथासङ्ग्रह), शिवगीता गद्यमा, बगैंचाका फूलहरू कविता पुञ्ज, बादल भित्रका कविताहरूकविता पुञ्ज, कालीले धौलागिरी अञ्चल पार गर्छिन् जस्ता कृतिहरूलाई बजारमा ल्याइसक्नु भएका के.सी.का आधादर्जन जति प्रकाशोन्मुख कृतिहरू पनि छन् र विभिन्न पत्रपत्रिकामा उहाँका लेख रचनाहरू पनि हामीले पढ्न पाइरहेका हुन्छ म । किशोर अवस्थाबाटै लेखन थालनी भए पनि कृतिप्रकाशन भने जागिरे जीवनबाट विश्राम लिए पछि कथाकारको रूपमा प्रथम कथाको कृति बजारमा आयो ।

कृतिको संरचना –
बादल भित्रका कविता सङ्ग्रह ४०ओटा कविताको पुञ्ज हो । यसलाई ढुङ्गाना प्रकाशन बागलुङ्ले प्रकाशन गरेको छ र मूल्य ८५ रुपियाँ राखिएको छ । भावनाका लहरहरू यस कृतिमा गद्यलयको रूपमा बगेका छन् । कविताहरू छोटा मझ्यौला र लामा गरी मिश्रितरूपमा पस्किएका छन् । आवरण सहित, ८० पृष्ठमा सिर्जित यस कृतिमा कृष्ण प्रसाद पराजुली "शिशु"को भूमिका, प्राज्ञ प्रेम छोटाको शुभेच्छा, कविको आभारीका दुईशब्द र समर्पण समेत समावेश भएका छन् ।

कविताका भावसार–
सच्चा प्रेम छ भने शीर्षकको पहिलो कवितामा कविले प्रेमलाई विविध दृष्टिकोणबाट प्रष्ट्याउने प्रयास वगर्नुभएको छ र सच्चा प्रेममा हरेक चीजमा समनता हुन्छ, आनन्दै आनन्द हुन्छ, स्वाद मिठैमीठो हुन्छ । यस्तो आनन्ददायी प्रेम पति पत्नी बीच हुनुपर्दछ अन्था जीवन तीतो हुन्छ भन्ने धारणा पस्केका छन् ।

जीवन–भोगाइ –
'बिदा हुनु नै बेस', 'गयो सुख' पाकी सक्यौ, विज्ञानको युग, मानव संसार, यस्तै रहेछ जिन्दगी, के जिन्दगी, कवितामा कविले आजको संसारमा मानवले उमेर अनुसार पाउने दुखदायी जीवनको भोगाइलाई प्रष्ट्याएका छन् ।आफ्नो शरीरलाई आफै संहारगर्न सकिदैन र अर्काको भरमा जीवन बिताउन पर्ने अवस्थामा पुग्न नपरोस् भन्ने मार्मिक धारणा पस्केकबा छन् । मानिस बुढो हुँदै जाँदा शक्ति क्षीण हुँदै जाने छोरा छो्री बुहारीबाट तिरस्किृत हुँदै जाने अवस्था अवश्य नै दुख दायी जीवन हो । जीव जन्मेपछि बालक युवा, बृद्ध हुँदै जान्छ अन्तिम अवस्था मृत्यु नै हो । यो जीवन गतिलाई सबैले भोग्नै पर्दछ । यो गतिलाई निरन्तरता दिन स्वदेशमा नभई रोजगारीको लागि विदेश जानु पर्छ । घरको सारा अभिभारा बुहारीले गर्नु पर्दछ । यस अवस्थामा विधवा सासूलाईभन्दा विधुर ससुराको दैनिकीमा एकलो पना बढ्नु स्वभाविक हुन्छ र दुखदाइ जीवन बिताउनु पर्दछ ।

आजको युग विज्ञानको युग हो । शिक्षाको युग हो । धन आर्जनको लागि व्यवसाय तथा रोजगारी चाहिन्छ तर देशले रोजगारी दिन सकेको छैन युवाहरू विदेशिएका छन् । सन्ततिको भावी जीवन उज्ज्वल पार्नको लागि पढाउनको लागि भनी बुहारी, नाति नातिनीलाई सहर राख्दा बुढाबुढी घरमा असाह्य जीवन बिताउन बाध्य छन् । मानव जीवनमा बृद्धापाले निम्त्याउने विविध खाले कष्टलाई कविले समेट्ने प्रयास गरेका छन् । कविलाई अतित को याद आउँछ र ती अविस्मरणीय दिनको प्रतिक्षा गरेर पुःन र्फकने सम्भावना छैन भन्ने धारणामा पुग्दछन् कवि । आजको शिक्षामा कवि सन्तोष छैनन् । शिक्षाले त मानिसलाई अनुशासित बनाउँछ आफ्ना वंशजलाई (रगतलाई ) सम्मान गर्छ तर त्यो त ह्रास हुन गएको छ । कविले धर्मगुरुबाट भेदभावरहित (छुवाछुतमुक्त) मानवतावादी, प्रवचनमात्र हैन व्यवहारिक ज्ञान दिएर समतावादी समाजको चाहना राख्दछन् । राजनेताबाट समाजवाद, साम्यवाद, पूजीवाद, राष्ट्रवाद आदि जेवाद ल्याउन चाहे पनि वास्तवमा नेपालमा नेपालवाद को आवश्यक्ता छ जस्ले देश सार्वभौमिक बन्न सकोस् र जनताले राहतको महसुस गरुन् र नेताले भुँडी भरेको महसुस् नहोस् ।

मानिसको सबैभन्दा नजिकको आफन्त को हो भन्ने धारणामा कविले जीवन साथीलाई र आफ्नै आत्मालाई लिएका छन् । अरू सबै बालक कालका खेल्दाका साथी हुन् । बालककालमा जेजति कष्ट भोगेर हुर्काए पनि जवान भए पछि जवानीले मातापितालाई भूलाउँछ । हुनत संसारमा एक्लै आयो एक्लै जानु छ, सबै चीज छोडिन्छ तर पाप र पूण्यमात्र साथमा जान्छ ।

माताप्रतिको कविको धारणा–
आमा शब्द नै गहन, प्रिय, आदरणीय, पूज्यनीय हुन्छ । आफ्नी आमासँग केही सेवा पुर्याउन, आमालाई हसाउन नसकेकोमा कवि चिन्तित छन् र आमालाई सुख दिन नसकेकोमा क्षमा माग्दछन् । देशमा देखा परेको द्वन्द्वमा कविले आफ्नै दाजुभाइ लडेकोमा आमालाई शान्ति दिन आउने आग्रह गर्दछन् ।

कवितामा विविधता –कविले विविध पक्षलाई समाएर कविता लेखेका छन् ।

'अब मतिर नहेर'मा मानिसको जवानी ढल्दै जाँदा रूप र लालिमाले पनि छाड्दै जाने र हेर्न लायक नरहने धारणा, लक्ष्मी पूजामा लक्ष्मीको पूजा हुनु पर्ने नभएकोमा क्षमा याचना, मेरो नजिक नआऊ भन्ने कवितामा नजिक हुनको लागि पूर्ण विश्वास हुनुपर्ने, जन्मदैदेखि सिकेको पाठ परिवर्तन हुन कठीन हुने, कसैको चाहना पूर्ति गर्न नसकिने, 'सहारा विहीन'मा कविले उज्यालो र आशाको खोजी निराशालाई त्याग्नु पर्ने धारणा राख्छन्, 'उपचार'मा कवि पत्थिरीको अप्रेशन गर्ने या नगर्ने दुविधामा देखिन्छन्, 'गर धर्म'मा कविले धन आर्जन गरेर धर्म गर्नु पर्ने धारणा राखेका र ठगवृत्तिलाई छाड्न पर्ने तर आजको जमानामा ठग प्रवृत्तिले नै प्रोत्साहन पाएको, नेपालमा नेपाली भाषा नै बोलिन पर्ने, र आष्ट्रीयता दह्रो हुनुपर्ने धारणा, मन्दिरको नजिक बस्ने नन्दीको सेतो राम्रो रूपको बर्णनको साथै नन्दीमा विश्वास लागेको धारण लगायत कविले विविध शीर्षकमा आफ्ना भावना बगाएका छन् ।

भाषाशैली –
भाषा अति सरल छ । साधरणभन्दा साधारण पाठकले कविताको मर्म बुझ्न सक्छन् । कवितामा गति यति र अनुप्रास मिलेको देखिन्छ । रसपूर्ण प्रस्तुतिले कृतिमा मिठास भरिएको छ ।

कविले आफ्ना धारणालाई सहज रूपमा पस्केका कवितामा हामीले यथार्थ जीवनका विविध भोगाइलाई आत्मसात गरेको पाउँदछौं । राष्ट्र, राष्ट्रियता र नेपाली भाषाप्रतिको कविको धारणा उच्च भएको देखिन्छ यस्ता धारणा लिएर कवितामा रमाउने कविको दीर्घआयु र सुस्वास्थको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
कावासोती न.पा.–७, शान्तिचोक, नवलपरासी
२०७३ पौष २७ गते,

जिन्दगीका भासहरू’को शैल्यक्रिया

परिचय
डा. मेघराज ढकालको जन्म २०१३/०४/२२मा निबुवाबोट आँधीखोला गाउँपालिका –६ मा भएको थियो र हाल वहाँ टोखा नगरपालिका –७ काठमाडौमा बसोबास गर्नुहुन्छ । उहाँ पिता भेजीप्रसाद ढकाल र माता छलीदेवी ढकालका सुपुत्र हुनुहुन्छ । पेशाको दृष्टिकोणबाट हेर्दा उहाँ एक कुशल प्राध्यापक स्वतन्त्र अध्ययन र अनुसन्धानकर्ताको रूपमा आफूलाई परिचय गराउन सफल व्यक्तित्व हो । व्यक्ति एक भए पनि उसको कर्मको आधारमा हेर्दा ऊ बहुआयामिक हुन्छ । डा. ढकालज्यूलाई एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । उहाँले शिक्षा, जनसङ्ख्या तथा अर्थशास्त्र तथा स्वास्थलाई केन्द्र विन्दुमा राखेर अनुसन्धान गर्दै विद्यावारिधिको उच्चतम शैक्षिक योग्यता हाँसिल गर्नुभएको छ । स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरको रूपमा उहाँको संलग्नता देखिन्छ । सामाजिक विषय बस्तुमा निरन्तर कलम चलाइरहने मात्र नभै साहित्यिक लेखनमा पनि उहाँको लेखन तीव्ररूपमा अगाडि बढिरहेको छ । विभिन्न संस्थामा आवद्ध हुनुहुन्छ । साहित्यिक सामाजिक सस्थालाई उच्चाइमा पुर्याउन स्याङ्जा साहित्य परिषदको संस्थापक कोषाध्यक्ष र ज्याग्दीखोला साहित्य प्रतिष्ठानको विशिष्ट आजीवन सदस्यको साथै ढकाल समाज, माथिल्लो आँधीखोला विकास मञ्च, स्याङ्जा साहित्य प्रतिष्ठान र पूर्व कर्मचारी सेवा परिषद–नेपाल जिल्ला शाखा स्याङ्जाको आजीवन सदस्यमा रहेर सेवा दिन्दै आउनु भएको छ । उहाँको कामको उच्च मूल्याङ्कन गर्दै विभिन्न संस्थाहरूले पुरस्कार र सम्मान पत्रले अभिनन्दन गरेका छन् जस्तै २१० सालमा नेपाल विद्याभूषण ''क'', रेडियो नेपालद्वारा आयोजित स्वदेश गान (२०५२)मा प्रथम पुरस्कार सामुदायिक सेवा केन्द्र महाराजगञ्जद्वारा प्रशंसा पत्र (२०५४) श्रीभगवती उच्च माध्यमिक विद्यालय, लामिस्वाँरा फापरथुम स्याङ्जाद्वारा सम्मान (२०७१)।

प्रकाशित कृतिहरू–
ढकालज्यूको कलम आफ्नो अध्ययन/कार्यगत क्षेत्र लगायत साहित्यमा चलेको पाइन्छ । उहाँका स्वलेखन र सहलेखन प्रकाशित कृतिहरू यस प्रकार छन् –

स्वलेखन –
१. जिन्दगीका भासहरू गीतिकाव्य (वि.सं.२०७४) २. मृतिका र म (कवितासंङ्ग्रह, २०७४) ३. Influence of Education on Maternity Care in the Selected Districts of Nepal, LAMBERT Academic Publishing, Germany (2010) र ४) बूढो शमीको रूख (गीत तथा कविता सङ्ग्रह, २०७६)

सहलेखन –
1. Nepal Demographik and Health Survey (NDHS 2006), 2. Nepal Demographik and Health Survey (NDHS 2011) . 3. Maternal and Child Health in Nepal, The Effect of Cast, Ethinity and Regional Identity (2013), Further Analysis of the 2011 NDHS. 4. Developping a Programme for the Effective Health Sector Decentralisation in Nepal (2003). 5 . Developping Health Sector Decentralisation in Nepal (2003).

कृतिको संरचना –
आवरण पृष्ठ बाहेक कृति बयानम्बे पृष्ठमा (१४+७८) संरचित छ । यस गीतिकाव्यमा ३० वटा शीर्षकमा काव्यका घटनाक्रमलाई सजाइएको छ । अन्तिम ३ पृष्ठमा गीतिकाव्यका पात्रहरू र घटनाक्रमलाई जोडिएको छ । काव्यको मूल्य १७५/–रु. छ । अग्र आवरण पृष्ठमा चिन्तित अवस्थाकी बसेकी महिलाको चित्रले सजाइएको छ भनेपछिल्लो आवरण पृष्ठमा काव्यकारको सङ्क्षिप्त परिचय दिइएको छ ।

यस गीतिकाव्यप्रति साहित्यकारको धारणा–
स्याङ्जा साहित्य परिषदका अध्यक्ष महेस्वर शर्माज्यूले यस काव्यलाई शुभकामना दिन्दै लेख्नुहुन्छ –''दैनन्दिन व्यवाहारमा घटित भैरहेको मर्मस्पर्शी घटनालाई लिएर लेखिएको हुनाले यसले सम्बन्धितहरूका विरह–व्यथालाई सामूहिक वाणी दिइएको छ । यो यथार्थको प्रतिविम्ब भएको छ ।'' यस खण्डकाव्यप्रति वरिष्ठ साहित्यकार तथा भाषाचिन्तक मुकुन्दशरण उपाध्यायले शुभकामना दिन्दै लेख्नुहुन्छ –''कवि ढकालले नेपाली नारीजातिका समस्यालाई मार्मिक कथाका रूपमा पस्कने प्रयास गर्नुभएको छ । जुन कथाले दक्षिण यसियाकै सामाजिक परिस्थितिको प्रतिनिधित्व गर्दछभन्दा अत्युक्ति हुँदैन ।''

कृतिभित्र प्रवेश गर्दा –
काव्यको थालनी 'गोधूलि' शीर्षकबाट गरिएको छ । प्रायः कव्य लेखनमा काव्यकारहरूले मङ्गलाचरणबाट थालनी गरेको पाइन्छ । यहाँ ढकालजीले नविनत म रूपमा काव्यको प्रस्तुति गर्ने प्रयास गर्नुभएको छ । 'गोधूलि'को अर्थ नेपाली बृहत शब्दकोशले यसरी परिभाषित गरेको छ –'वनमा चरेर घाम डुब्ने वेला गोठतिर फर्केका गाईका खुरले उडाएको धूलो, शुभ कार्यको लागि उपयुक्त मानिने धूलो, घाम डाँडामा बस्ने बेला भएको समय, प्रसिद्ध एक मुहूर्त' । यी परिभाषालाई विश्लेषण गर्दा, हाम्रो संस्कृति परम्परालाई हेर्दा एक शुभ मुहूर्तमा यस काव्यकी नायिकाका पिताले नायिकालाई भन्छन् –

''गोधूली साँझ धिपधिपे बत्ती बलेका बेलीमा
बाबु र छोरी संवाद भयो ढिकरी छेउमा
''नानुको बिहे छिनियो अब सकियो झञ्झट
कया राम्रो बर खोजेर ल्यायौं रोजेर जगत ।''

बाबुले जागीरे बरलाई खोजेको बीचमा केही घटना भए पेन्सन हुँने आदिको कारणले गर्दा नायिका भाग्य मानी भएको धारणा राख्दा छोरीले पढ्ने इच्छा भएको,छोराले सरह घरको सहायता गर्ने आदि धारणा राख्दा पनि बाबुले छोरीको पुकार नसुनेको र छोरीले आमाको मृत्युवरणको स्मरण गर्दे उनको भावनालाई कसैले नसुनेका धारणा सहित यो शीर्षक समाप्त हुन्छ

सौताने आमासँग वार्ता –
यस शीर्षकमा सौताने आमा र गीतु (नायिका) बीच विवाह सम्बन्धमा वार्ता हुन्छ । आमाले सत्र वर्ष भएकीले विवाह गर्ने समय आएकोले बाबुले ल्याउको केटासँग विवाह गर्नु पर्ने, जति बढी उमेर भयो खर्च बढने, पढेका छोरीहरूले जात भात केही नभन्ने आदि कारणले गर्दा बेलैमा विवाह गर्नु पर्ने धारण राख्दछिन् । छोरीले विवाहको उमेर बीस कटाएर गर्नु पर्ने, छोरीलाई बोझ ठान्न नहुने विवाहमा गर्ने खर्च अध्ययनमा लगाइ दिने आग्रह यसरी राख्दछिन् –

'' बिहेमा खर्च नगरौं आमा त्यो खर्च मलाई
देऊन आमा म पनि पढ्छु त्यै मेरो भलाइ
हे मेरी आमा ! हजुरको पीडा मलाई नसरोस्
निरक्षर हुँदा कतिले ठगे त्यो भोग्न नपरोस् ।''

गीतुको आग्रहलाई सौतने आमाले स्वीकार्दिनन् ।

आामाको सम्झना –
गीतुले आफ्नो विवाह करमा परेर हुने भए पछि स्वर्गीय आमालाई सझिन्छिन् । गीतुकी आमाले छोरा र छोरीमा कुनै फरक हुँदैन, एउटी छोरी मात्र भए पुग्छ भन्दै बन्धयाकरण गर्न खोजिन् तर घुम्ती टोली गएकोले बन्ध्याकरण हुन सकेन । त्यही बेला गर्भ रहेर, मरेको छोरा जन्माएर आफू पनि स्वर्गे भएको धारणा सहित यो शीर्षकको समाप्ती हुन्छ ।

विभेदमा नौलो रीत –
यस शीर्षकमा आजको हिमाल पहाड तराईमा छोरा र छोरीमा देखिएको विभेदलाई यस शीर्षकले समाएको छ । स्वर्गको बाटो खुला गर्न छोरो चाहिने, एक्सरे गर्दा छोरी देखिए गर्भ पतन गराउने, छोरी नभए बुहारी नहुने भन्ने ज्ञानको कमी, नारी स्वतन्त्र भयौं भन्ने कुरा, नारी सशक्तिकरण कुरा आदि यस शीर्षकले समेटेको छ ।

मधुको चाह –
यस शीर्षकमा यस काव्यका नायकको चाहनालाई प्रष्ट्याइएको छ । गाउँमा अध्ययन गर्दा विषय शिक्षकको अभावले गर्दा फेल हुने लक्षण देखिनु र शहरमा गएर पढ्न पैसाको अभावले गर्दा नसकिने भएकोले मधुका बाबा र मधुको बीचमा स्वदेशमा काम पाउन नसकिने भएकोले विदेश जाने वार्ता हुन्छ । पैसावालाहरू कोरिया जापान खाडी जाने पैसा नभएकाहरू भारतमा जाने र पल्टनमा भर्ना हुने, पल्टनमा भर्ना हुन नसके भाँडा माझ्ने काम गर्नु पर्ने हुँदा मधु गल्लावालासँग कुरा गरेर कुडाघाट गएर पल्टनमा भर्ना हुने धारणा यहाँ प्रष्टिएको छ ।

पल्टनको दिनचर्या – यस शीर्षकमा कुडाघाटमा गएर भर्ना भएर घरमा तीन वर्षे छुट्टीमा घर आउने र राम्री केटीसँग विवाह गर्ने धारणा राख्दै पल्टनको खानपानको विवरण सहितको पत्र मधुले घरमा लेखेको विव।रण यहाँ आएको छ ।

स्वयम्वर –
यस शीर्षकमा १६ वर्ष लाग्दो उमेर, स्कुलको पढाई, अँझै पढ्ने रहर हुँदा हुँदै स्वयम्वर गर्नु परेको, स्वयम्वरमा गरिने कर्महरू सबै गरेको धारणा यहाँ आएको छ ।

दुलाहाको आँगन –
यस शीर्षकमा मधुको विवाह बैशाख महिनामा भएको, विवाहमा नौमती बाजा बजेका, मागल गाइएको,नाच गान, रतेली गीत, बत्ती पनि धिप धिप बलेको आदि बर्णन गरिएको छ । बत्तीको प्रकाशले अशुभ सङ्केत दर्शाएको देखिन्छ ।

यो मुटु घर्कियो –
यस शीर्षकमा बेहुलीको घरको यज्ञको बर्णन गरिएको छ । यज्ञ सजाइएको, रातको प्रथम प्रहर भात भान्सामा बितेको, दोस्रो प्रहरमा विवाहको काममा, तेस्रो प्रहर सिन्दूर शिरमा राखिएको र अन्तिम प्रहर डोलीको काममा बितेको ।यसरी विवाहको अन्तिम अवस्थामा दुलहीलाई घर कस्तो छ आदिको जानकारी नभएको र बाजा घुमाएर बजाउँदा वेदना चर्किएको, 'जन्मेको घर छाडेर जाँदा मुटु नै चर्कियो' भन्दै यो शीर्षक सकिन्छ ।

दाइजो हट्छ कि ?–
यस शीर्षकले आजको जल्दोबल्दो समस्याको रूपमा देखिएको दाइजो प्रथा र यसबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने बारेमा वर्णन गरेको छ । विवाहमा के कति दाइजो ल्यायो, कुल अनुसार दाइजो दिइयो दिइएन,दाइजोको कारणले गर्दा जलेर मर्न परेका घटनाहरू गरिबलाई दाइजो चलनले पीर भएको, आदिको विश्लेषणात्मक विवरण यहाँ आएको छ । जीवन साथी आफैले रोजे यस दाइजो प्रथाबाट मुक्ति प्राप्त गर्न सकिन्छ कि जस्ता प्रश्न वाचक सहित यो शीर्षक समाप्त भएको छ ।

विदेश जाने बेला –
यस शीर्षकमा विवाहपछि जागीरमा जाने वेला मधु र गीतु बीचको कारुणिक वार्तालापलाई समेटिएको छ । महाकावि लक्ष्मीप्रसाद देवकोटाको मुना–मदनमा मुना र मदनका बीच भएको कारुणिक वार्ता सरह नै यहाँ पनि कारुणिक्ता दर्शिको छ । कारुणिकता पोख्न काव्यकार खप्पिस देखिन्छन् । यो शीर्षकको अध्ययनमा सबैका आँखा रसाउँछन् । आजको नेपाली समाजमा विवाह गरेर विदेशीने क्रम र तिनका परिवारमा पर्ने मार्मिक मर्म र वेदनाको यथार्थता यस शीर्षकले समेटेको छ । आफ्नो विवाहपछि आफ्नो परिवारसँग बस्न को चाहदैन र ऋृणको बोझ, गरिबी, रोजगार पाउन नसक्नु, हातमुख जोड्नको बाध्यता आदिले आजका युवा विदेशीनु परेको छ र देश युवा विहीन बन्दै गैरहेको छ । यसरी विदेशीनुको पीडा पतिपत्नी बीचमा साटासाट गर्दाका भावनालाई ढकालज्यूले सुन्दर रूपमा चित्रण गर्नुभएको छ –

नजाऊ मधु त्यो पापी धन यहीं नै जुट्छ रे
पहरा फोरे धनको ठुलो मुहान बग्छ रे
के काम पापी धनको मधु मरेर जाने हो
कमाई नाम धर्म र कर्म बोकेर लाने हो ।
(पृष्ठ २३)

'पहरा फोरे धनको ठुलो मुहान बग्छ रे' कति वास्तविकता छ । हो धन कहाँ छ त ? पसिनामा नै त छ ।

हाड र छाला मात्र पो रहे त्यो तिम्रो आँसुले
भक्कानो अब मुटुमा पर्यो तिम्रो अर्तीले
मोतीका दाना नझार अब समय छोटो छ
अत्यास लागे हातमा तिम्रो हँसिलो फोटो छ ।
(पृष्ठ २४)

आँखाका आँसु–
यस शीर्षकमा मधु आफ्नो घरबाट निस्केर बेसीको खेत हुँदै द्यौराली डाँडाको चरीको गीत सुन्दै, ऐसेलु, काफलको स्मरण गर्दै,सर्पझै बग्ने आँधीखोला र सेती तर्दै, डाँडोमा चढ्दै, मनका पीरलाई सम्झदै नौ–डाँडा पुग्दै पल्टनलाई सम्झदै, वालिङ्गमा पुगेर 'आँखाका आँसु मधुले पुछ्यो रुमाल झिकेर' आदि प्राकृतिक चित्रणको साथमा यो शीर्षक समाप्त हुन्छ । प्राकृतिक चित्रणले गर्दा काव्यको गरिमा बढेको छ । यस्ता प्राकृतिक सौन्दर्य काव्यकारले ठाउँ ठाउँमा पस्केका छन् ।

बाडुली लाग्ला कि ?–
एउटा उखानै छ कि देखे लाग्छ माया सम्झे लाग्छ बाडुली भने झै यस शीर्षकले गीतुले मधुलाई सम्झदै आफ्ना मार्मिक भावनाहरू पस्केकी छन् । यसमा गीतुले आफ्नो भर्खरै विवाह भएर पतिलाई रोजगारमा पठाउँदा मनमा उठेका वेदना, रूपसी भेटे भुल्ने पो हो कि भन्ने आशङ्का, जाँदा बाटोक विकटता, सपनी जस्तो मिलन, पिरती नचुडिने, मनको धोका मनमै रहको, नजाऊ पर भनेको पनि नमानी गएको जाँदा बाटोमा सम्झना आयो कि आदि धारणा सहित उनले मधुसँग प्रश्न राख्छिन् –

त्यो तिम्रो देह दयालु बोली कसरी बिर्सने ?
टाढा नै पुगोस् त्यो तिम्रो देह म यही सम्झिने ?
हाँसो र खेल गरेका शब्द रीति नै विस्र्यौ कि ?
सम्झेको क्षण घाँटीमा आई बाडुली लाग्ला कि ?

बिर्सिन्न पोखरा –
यस शीर्षकमा सुहागरात मान्न गीतु र मधु पोखरा गएको र पोखराको फेवाताल, पातलो छाँगो, रानीवन, वीरेन्द्र गुप्फा, इन्द्र धनुको २४ सै घण्टा दर्शन गरेको, माछापुछ्रेको छायाँ, फेवातालमा ऐना झै टल्केको विन्ध्येस्वरी, महेन्द्र गुफा को निर्माण र जाडोको वेला सुन्तलाको सुनौले टल्कन आदि पोखराको प्राकृतिक सौन्दर्यको अवलोकनलाई बिर्सन चाहेर पनि विर्सिन सकिदैन भन्ने धारणा आएको छ ।

बूढाबाको चिठी–
यस शीर्षकले आजको नेपालको अवस्थालाई यथार्थ चित्रण गरेको छ । युवा पलायन छन् । बूढाबूढीले विदेश जागिरको सिलसिलामा गएका छोरा नाति कहिले फर्केर आउँछन् भनेर आगन कुरे र बसेका छन् । जग्गा बाँझो भएको छ, गरिबीको कारणले साहुकोमा गएर जीवन धान्न गाह्रो भएको छ, खेतको उत्तपादन र व्याउने भैंसी पनि साहुको भाकामा छन् । गरिबका छोरा छोरीले बोर्डिङ्ग पढ्न सक्दैनन् र अन्याय सहेर बस्न परेको छ । गाउँमा ओखतीमूलो नभएर अस्पताल नभएर अकालमा मर्नु परेको छ । मानिस मर्दा लास उठाउने मलामी गाउँमा पाइदैनन् । फटा फकिरहरू नेतामा चुनिन्छन् । चुनिएपछि गाउँ फर्कदैनन् । कर्मचारीले जनताको पीरमर्का बुझ्दैनन् । केही काम गर्न गए घुस चाहिन्छ । भूकम्प, बाढी पैह्रोले भत्केका घर आदि बन्न सकेका छैनन् । नेपाल पवित्र भूमि हो, यहाँको कला र संस्कृतिलाई विदेशीले सिकेर जान्छन् । विवध कारणले गर्दा आज देशलाई विकास गर्न युवाहरूको खाँचो छ । देश विकास गर्न फर्केर आयु भन्दै हजुर बाले नातिलाई चिठीमा यसरी आग्रहगर्दछन् –

हुन त बाबु ! संसार सबै एउटै छाना हो
तैपनि आफू जन्मेको ठाउँ पछाडि पर्दा हो
घाँसको सप्को आँसीले पनि आफैमा तान्दैछन्
अब त गाउँ आऊ है छिटो विकास माग्दैछन् ।
(पृष्ठ ३६)

यो सालको तीज –
यस शीर्षकमा गीतुको जीवन आज आँसुमा भिजेको,, बैंश उडेर गएको,माइत जानको लागि फरिया फाटो नभएको, माइती घरका दौतरी खसमसँग रमाएका, तीजको गाएको गीत र मादलको स्वर पनि विरह स्वरमा गुञ्जिएको आदि मार्मिक धारणा स्पष्ट पारिएको छ ।

तीजको गीत –
तीज नेपाली महिलाहरूको यस्तो पवित्र चाड हो जस्मा वर्ष भरिमा आफूले, देशले, समाजले, भोगेका, विकृति विसङ्गतिहरूलाई ओकल्दै समाज सुधारको पक्षमा आफ्ना भावनालाई दर्शाउँछन् । यो शीर्षकमा पनि छोरा र छोरीमा विभेद हुन नहुने, विकसित देशका महिलाले चन्द्रमा पुग्न थालेका नेपाली महिला भीरतिर भएका, महिलाको बिक्री, महिलाको कामको लेखा जोखा नराखिनुको कारणले गर्दा महिला पछि परेका, कर तिर्र्न छल्ने, योजना बनाएर मात्र नहुने, उखान टुक्काले पनि देशले विकसित देशलाई जित्न सकिदैन, देशमा विकास गर्ने पढे लेखेका युवा विदेशतिर लाग्नु,नेता जिम्मेवार नबन्नु, माटो सञ्झेर काम नगर्नु, आखिर मर्नै पर्छ पक्षपात किन, नारी माथिको हत्या हिंसाको अन्त्यको चाहना आदि धारणालाई समेटेको छ । छोरा छोरीमा गरिने विभेदको एक श्लोकलाई अध्ययन गरौं –

उही नै बाबु उही नै आमा उही नै कोखमा
दूधको लाम्टो उही नै थियो झरिदा धरतीमा
भाइले भने डटेर खाने घरको सम्पत्ति
छोरीलाई अँझै भनिन्छ किन ? अरुकै सम्पत्ति ।
(श्लोक पृष्ठ ३९)

गीतुको जीवन रोएर वित्यो तर मधु फर्केन भन्दै यो शीर्षक समाप्त हुन्छ ।

क्या धोका फेरिन् –
यस शीर्षकमा, मधुको यादले गीतुलाई सताउँछ, हरेक चाडपर्वको खाने बेलामा मधुको याद आउँछ, दशैको बेला सबै लाहुरे घरमा आउँदा गीतुले बाटो कुरेर बस्छिन्, मधु आउदैन, गीतुले मधुको हातको टीका लगाउन पाउँदिनन्, सबैका जोडी हिडेको देख्दा उनको मन बुझ्दैन र मनको बह रोक्न नसकी धोका फेरेर रुन्छिन् भन्ने धारणा आएको छ ।
आजको सपनी– यस शीर्षकमा मधुले राती गीतु हाँसेको, परेली भाँचेको, कानका मुन्द्री, हातका चुरी छनन बजेको, मधु हिड्ने बेला बलिन्द्र आँसु झारेको, स्वदेश छाडी विदेश किन जानी भनेको, बेसीका तौली धानमा असिना परेको, पालेको भैसी भकारा परेको, बिरामी पर्दा कानका मुद्री अडाना राखेर ओखती किनेको, डाँडाको बारीको पैरोले गैरी पुर्दा आँधी र सेती मिसिदा दोभान डुबेको, घर आउन, छुट्टी नमिलेको, नासो पठाएको हात लागे नलागेको, साहुको साउँ घट्यो कि घटेन, साइतको बेला नङ टोकेर हेरेको गीतुले पठाएको घिऊको ठेकी, कुराउनी पए या पाएन आदि सपनामा देखेर विपनी हो कि भन्दै ब्यूझँदा सपनीरहे छ भन्ने धारणा आएका छन् ।

बसेर जितिन्न –
यस शीर्षकमा गुमानेले राधाको घरमा आएर तिम्रो खसम घरमा आएन, ऊ कक्षामा मिल्ने साथी हो तर तिमीलाई वितरा पारेको छ, ऊ युद्धमा पर्यो कि, केटीले उसको मन विगारे कि, ऊ दुःखमा पर्यो कि आदि कुरामा राधालाई सम्झाउँदै जाने भए श्रीमानसँग पुर्याइदिने धारणा राख्छ । राधाले नजाने धारणा राख्दा गुमानेले जानु नै राम्रो हुन्छ बसेर जितिदैन भन्ने धारणा राख्दै यो शीर्षक समाप्त हुन्छ । यस शीर्षकमा अवला नारीलाई कसरी दलालहरूले फकाउँ छन् र विदेशमा लग्दछन् भन्ने सन्देश दिएको छ ।

छट्टुको भर –
यस शीर्षकमा गुमानेले राधाको मन जितेर नै छाड्छ र राधालाई पतिसँग पुर्याइ दिने प्रलोभनमा भगाएर लिएर जान्छ । रेलमा औषधी खुवाएर लठ्ठयाई दिन्छ गुमाने त्यहाँबाट भाग्छ । राधा व्युउँझदा राधाको आडमा अर्को नेपाली आएर बसेको हुन्छ । 'वेश्यालयमा तिमी बेचिएकी छौ जे भने पनि मान्नु पर्छ जस्ता भनाई र नमान्दा यातना भोग्नु पर्दा राधाले छट्टुको भरमा पर्दा नेपाल जस्तो स्वर्गपुरी छोडेर नरक भोग्न परेको धारणा यस शीर्षकमा आएको छ । वेश्यालयमा लगेर युवती बेच्ने प्रवृति र बेश्यालयमा भोग्न परेको नारकीय जीवनको ज्वलन्त उदाहरण दर्शाएको छ यस शीर्षकले ।

हेपेर बोल्दथे –
यस शीर्षकले वैश्यालयमा राधाको भोग्न परेको यातना र रोगको कारणले टाउको दुख्नु, भागेर अलपत्र परेको बेलामा नेपाली केटासँगको भेट, आफ्नो ठेगानाको हुलिया बताएर नेपाल पठाउने अनुरोध, नेपालीले पैसा उठाएर नेपाल फर्काइ दिनु, माइत पुग्दा माइती ऋणको भारले गर्दा प्रवास झरेको, घरको सहाराको लागि पुलिसमा पुगेको, महिला हिंसाको बढदो क्रम, नेतृत्व वर्गको ढाँट, छल, विश्वासघात, घूसखोरीको कारणले देश उभो लागन नसकेको, वेश्यालयमा पुगेकाहरूमा रोगको आक्रमण र घृणका पात्र हुनुपर्ने यथार्थतालाई समेटेको छ शीर्षकले ।

किन हो तिमी विदेशी भूमिमा –
यस शीर्षकमा गीतुले कुलक्षणका सपना जस्तै ओराली झरेको, बिरालोले बाटो काटेको, देखेको र आफ्नो कारुणिक वेदना पस्केका कुराहरू आएका छन् । हेरौं वेदनाको एक झलक–

कहिले पुग्छु खस्र्यूको लेक कहिले बेसीँमा
कहिले घाँस खुर्केकी हुन्छू बारीको सुर्कीमा
कहिले बोक्छु दाउरा घाँस कहिले मेलामा
कहिले मूर्छा परेकी हुन्छु आँशुको भेलमा ।
(श्लोक ३, पृष्ठ ५४)

यस शीर्षकमा अध्यात्मिक चिन्तनले पनि स्थान लिएका छन् । मधुले उतै विवाह गरेर बसेका त हैनन् भन्ने आशङ्का पनि दर्शिएको छ । गरिबीको कारणले घर जग्गा बेचेर मुग्लान पस्ने, हावालाई मधुको हालखबर बुझेर आउने आग्रह, आदिको साथै पापी धनको कारणले घर नै बिर्सेको, बेलुकी गुडमा चरो पनि फर्किन्छ किन तिमी विदेशी भूमिमा प्रश्नवाचक सहित यो शीर्षक समाप्त हुन्छ ।

लैजाऊँ रे सन्देश–
यो शिर्षकमा मधुले हावालई आफ्नो सन्देश गीतुसँग लान र गीतुको मीठो जवाफ बोकेर ल्याउन आग्रह, विदेशी भूमिमा पाइने पक्षपात, युद्धमा पानीको भरमा बाँच्न पर्ने आदि सोचको बीचमा गोली आएर मुटुको छेउहुँदै आन्द्रा नै चुड्नु, टुम्लेटको पानीले घाऊ धुनु, नेपाली फौजलाई अगाडि लगाएर लडाइने, आदि मार्मिक धारणलाई यस शीर्षकले समेटेको छ ।

आँखा चिम्लियो –
यस शीर्षकले युद्धमा हुने घटनाक्रम घाइतेलाई उपचार आदि हुन नसक्नुको कारणले गर्दा मृत्युवरण हुने, मृत्युसंस्कारमा गरिने कुनै काम पनि नभै साहूको ऋण तिरेर गीतुको साथमा आमा बाबुको काखमा बस्ने धोका मनैमा रह्यो र मनमै विलायो 'सपना जस्तो जिन्दगी भयो ऊ आँखा चिम्लियो भन्ने सन्देश दिन्दै यो शीर्षक सकिन्छ ।

के भयो आज –
यस शीर्षकमा गीतुले घरको विविध काम गर्दै विदेशी चाँडै आवस भन्दै सूर्यलाई अञ्जुली जोड्नु, हातको कुचो खसेको, मेवाको डालीमा कौवा कराएको, साहुको ऋण तेब्बर हुन गएको आदि घटना क्रम हुँदै जाँदा हुलाकीले पत्र ल्याएर दिनु, गीतु अनपढ भएकोले पढ्नै सकिन भन्दै यो शीर्षक समाप्त हुन्छ।

कसरी बाँच्ने हो –
यस शीर्षकमा हुलाकीले ल्याएको पत्र मास्टरले पढेर सुनाउँछन्, गीतुको होस उड्छ, गीतुले बिलाप गर्छिन् । पतिप्रति गीतुको विलापले सबैलाई मर्माहत पार्दछ । हेरौ विलापको एक श्लोक –

भित्ताको फोटो टाँसेर हेर्दा बोल्छ कि जस्तो छ
सम्झना गर्दा उनको आज सपना जस्तो छ
लाउँ रखाउँ वयमै आज कसरी गयौ नि ?
जङ्गलको बास कहाँको मरन कसरी डढ्यौ नि ?
(श्लोक ३ पृष्ठ ६४)

को भन्छ बोल्न ए ? –
शिरको सिँउदा नधोउँ भने खसम खसेका
हातका चुरा नफोरुँ भने किरिया बसेका
कपाल मैले नखौरुँ भने कसरी खप्छु र ?
उनको नाममा वैधव्य जीवन दिएर बस्छु म ।
(श्लोक १, पृष्ठ ६६)

वास्तवमा हाम्रो संस्कारमा पतिको निधनपछि पत्नीका सारा शृङ्गार हरिन्छन् र वैधव्य जीवन बिताउनु पर्छ । यहाँ पनि गीतुका सबै शृङ्गार हट्छन् । उनको मनको डढेलो कसैले देख्न सक्दैन । उनले पतिको स्मरण गर्छिन्। यसै समयमा साहू धनको हिसाब गर्न आउँछन् । गीतुलाई लाग्छ जीवनभन्दा धन ठुलो हुँदैन सोच्दै भन्छिन् र उनको भनाइमा टोकाहीको सञ्ज्ञा पनि पाउँछिन् –

आँखामा आँसु बरर झारी मसिनो स्वरले
''पछि नै गरौं हिसाब हामी समय सुरले ''
सुरिलो स्वर सुनेको वेला ससुरा गम्किए
''टोकाइ ! अँझै तलाइँ यहाँ को बोल्न भन्छ ए ?''

प्राणी जन्मेपछि मर्छ त्यो कहिले कसरी कहाँ मर्छ कसैले भन्न सक्दैन । नव जात सिसुको जन्म तथा नविवाहित दुलहीको घर प्रवेश भए पछि घरका कुनै सदस्यको मृत्यु या कुनै असुभ काम भयो भने नवजात शिशु तथा दुलहीलाई टोकाह तथा टोकाहीको शब्दले लान्छना लगाइन्छ । यस खण्डकाव्यले हाम्रो संस्कार र समाजको धारणालाई यहाँ पस्केको छ ।

वैधव्य जीवन –
यस शीर्षकमा विधवाको विलौना र एउटी विधवाले एकल महिलाले रूपमा व्यहोर्न पर्ने जीवन अनुभूतिलाई यसरी पस्किएको छ –

पूर्णिमा जून उदाए पनि औंसी है जस्तो छ
श्रीसूर्यनारायण उदाऊन तर अँध्यारो जस्तो छ
यो ठुलो घर भए नि मलाई ओडार जस्तो छ
अमृतै भोजन पाउँदा पनि अरूचि जस्तो छ ।
(श्लोक ३, पृष्ठ ६८)

विधवाप्रति समाजको धारणा –
काव्यकारले यहाँ समाजले विधवाप्रति हेर्ने धारणालाई राम्रोसँग प्रष्ट्याएका छन् । विधवालाई मरे पनि हुने, अन्त्यै गए पनि हुने, वैंशमा विधवा भएकोले जीवन व्यर्थ छ, टोकाही हो, अभागी हो, पोषिलो खाना पहृएमा पैसा दिएमा वैंशकी छे हिड्छे कि कतै भनी शङ्का गरिने, बाहिर हिण्ड्न र डुल्न गर्न बन्देज, हिड्ने बेलामा कसैले विधवाको मुख देखे साइत विग्रिन्छ भन्ने, आदि लान्छना लगाइने गरिन्छ ।

माइतीको धारणा –
बूढालाई होइन डुँडालाई होइन सुनका टुक्रा थे
कुटुम्ब राम्रा, जागीर राम्रो भाग्यमा यस्तै भो
पढ्नमा सारै तिखा नै थिए सुवास उनको
दैवलाई पनि लागे छ राम्रो त्यसैले लगेको ।
(श्लोक १४, पृष्ठ ७१)

माइती घर भएन कर विवाह गरेर
खोजेथे वर राम्रो हो घर करिमै यस्तै हो
एउटा फूल फुटेर गयो रोए आउन्न
बाबाले भन्ने ''करिमै रुखो '' सम्झेर भएन
(श्लोक १५, पृष्ठ ७१)

वैकुण्ठ बास –
यस शीर्षकमा घर बस्न नसक्ने वातावरण सिर्जना भए पछि गीतुले घर त्यागको निर्णय लिन्छिन् र आधारातमा आँधी हुरीलाई ठेलेर हातको औण्ठी, पोखरामा खिचेको फोटो साथमा लिएर जीवन सँगीको खोजीमा स्वर्गमा भेट्ने भन्दै हिड्छिन् । यस शीर्षकमा मानिसलाई मर्न बाध्यता नपार्नु नै धर्म हो भन्ने, समाज राम्रो बन्नको लागि कुनै विभेद हुनु हुँदैन भन्ने सन्देश, एकल नारीमाथि सासू, ससुरा देवरबाट दिइने यातना, सतिप्रथा भए मर्ने कुरा, चन्द्रशम्सेरले सतिप्रथा हटाएर राम्रो नगरेको कुरा, लगायत जीवन मरणशील छ मर्दा केही साथमा लगिदैन पाप गर्न हुँदैन, आज पैसाको लागि बुद्धि शरीर बेचिएका कुरा,आदि मार्मिक धारणाहरू यहाँ गीतुले पस्कदै धर्ती मातालाई भन्छिन् –

ए धर्ती माता ! म पहिला पुग्छु कालीको ढुङ्गामा
दोस्रोमा लिन्छु हातमा फोटो शिर त्यो पाउमा
तेस्रोमा खोज्छु म फाल हाल्न, उर्लेको गङ्गामा
चौथोमा हुन्छु बैकुण्ठ बास मधुको काखमा
(श्लोक १६, पृष्ठ ७५)

गीतु प्रश्न बाची हुन्छिन् र भन्छिन्
'बलेका आगो सबैले ताप्ने निभेको कस्ले हो'?
अन्याय न्याय छुट्ट्याइदिने ईश्वर तैले हो
दिएका दुःख सकिन खप्न त्यसैले आउँदै छु
न्यायको एक दुवार मैले त्यहीं नै कुर्ने छु ।

उपरोक्त कारुणिक धारणा सहित यो काव्य समाप्त हुन्छ ।

पात्र विधान –
चाहे कथा होस् या खण्डकाव्य होस् या महाकाव्य नै किन नहोस् पात्रहरूको चयनले कृतिलाई उच्चाइमा पुर्याउँछ । काव्यकारले यस कृतिमा मधु (नायक), गीतु (नायिका), नायिकाका बाबु आमा (रितु एक) सन्तानको चाहना राख्ने महिला), गीतुको सौतने आमा, बूढीहरू, पुरेत, साथी, (चन्द्रे, रामे, गुमाने) दिदी बहिनी (तीज गीतका चेलीबेटी),, गुमाने (चेलीबेटी बेच बिखन गर्ने खलनायक), राधा भारतीय सेनाका दीपककी पत्नी),दिदी (दलालसँग मिलेर चेलीहरू किनेर वेश्यालय चलाउने महिला), गुण्डा (वेश्यालयमा गमन कर्ता), गल्लावाला (पल्टनमा भर्ती गराउन लाने व्यक्ति), कप्तान, जवान, मास्टर (पढेलेखेको मानिस), साहू (व्याजमा धन लगानी गर्ने धनी मानिस) ससुरा र घर परिवारलाई पात्रको रूपमा चयन गरेका छन् । मुख्य पात्रहरू र पेटबोलीमा आएका पात्रहरूलाई विश्लेषण गर्दा सबै पात्रहरू आआफ्नो स्थानमा सकृय देखिन्छन् । निष्कृय पात्रहरूलाई यहाँ समेटिएको देखिदैनन् ।

काव्यले समेटेका विविध पक्षहरू –
यस काव्यले छोरा र छोरीप्रति शिक्षा आर्जन गर्नमा विभेद, छोरीलाई अरुको नासोको रूपमा समाजले लिएकोले पढाउन पर्दैन भन्ने धारणा आजसम्म बाँचिरहेको छ भन्ने सन्देश, टुहुरी बालिकाले भोग्ने कष्टदाइ जीवनको विवरण, सौताने आमाबाट दिइने कष्ट, गाउँमा विषय शिक्षकको अभावले पढाई अवरुद्ध, देशले दिन नसकेको रोजगारले विदेश पलायन हुन पर्ने वाध्यता यस बाध्यताले गर्दा धरती बाँझिएको, हली बाउसे मलामीको अभाव, शुद्ध पानीको अभावले गर्दा महामारी,जनताले चाहेको लोकतन्त्र भएन, चुनावमा छल, बल र कपट, भ्रष्टचारमा व्यापकता, देशमा शिक्षा र स्वास्थको अभावले गर्दा अकालमा मरण, विदेशमा गएकाका पत्नीहरूको असहजता, चेलीबेटी बेच बिखन, दाइजो प्रथालाई कसरी कम गर्ने भन्ने धारणा, विधवाको कष्टदाइ जीवन जस्ता नेपाली समाजमा घटेका र घट्न सक्ने घटनालाई समेटेको छ । काव्यमा सुन्दर रूपमा प्राकृतिक चित्रण गरिएको छ । राष्ट्रियताका कुराहरू सवल रूपमा उठाइएका छन् । जननी र जन्मभूमि प्रतिको अगाध माया मान्दै नेपाललाई स्वर्गको उपमा दिइएको छ । चौसठ्ठी कला शिल्प र साहित्यलाई बिर्सन थालिएको, तीज, दशैं जस्तो चाडको महिमा, अध्यात्मिक भावना, विदेश पलायन भएका युवालाई नेपाल फर्कन आग्रह, गोर्खाली सेनाको बहादुरिता आदि आदि सत्यतथ्यहरू काव्यमा प्रस्फुटन भएका छन् । वास्तवमा आज देशमा देखिएको महिलाहिंसा, चेलीबेटी बेचबिखन, विदेशी रोजगारमा गएका परिवारमा देखिएको परिवारिक विखण्डन गरिबीको मार,नेतृत्वको अदूरदर्शिता आदिलाई संयोजन गरेर लेखिएको यो वियोगान्त गीति खण्डकाव्य यथार्थताको कसौटी हो । यस्ता घटनालाई सहज र सरल रूपमा समेट्न काव्यकार सफल देखिएका छन् ।

भाषाशैली –
भाषा सरल छ । स्थानीय शब्दहरूले स्थान लिएका छन् । काव्य लोकप्रसिद्ध झ्याउरे लयमा लेखिएको छ । गीति काव्य भएकोले गायत्मक छ । सलल बगेको छ । विभिन्न रसलाई समेटिए पनि करुण रसको प्राथमिकता देखिन्छ भने शृङ्गार रसले पनि सवल स्थान पाएको छ । त्यसो हुँदा काव्यमा मिठास भरिएको छ र पाठकको लागि रुचिकर देखिएको छ ।

शीर्षकीकरण –
यस कृतिको नामाकरण 'जिन्दगीका भासहरू'। राखिएको छ । यहाँ जिन्दगी र भास दुई महत्त्वपूर्ण शब्दको संयोजन रहेको छ । जिन्दगीभन्दा मानिस जन्मेदेखि लिएर मृत्युसम्मको समय तथा बाँचुञ्जेलको समय हो । जन्मेर नमरुञ्जेलको बाँच्ने पद्धति पनि हो । भासभन्दा गाडीने ठाउँ, धाप दलदल भन्ने बुझाउँ छ । जब मानिस भासमा पर्छ भासबाट बाहिरिनुभन्दा झन झन गाडीदै जान्छ । यस काव्यले जीवनका उकाली पक्षलाईभन्दा ओराली पक्षका घटनाक्रमलाई समेट्ने प्रयास गरेको देखिन्छ । हुनत मानव जीवनमा उकाली चढ्न कस्लाई मन हुँदैन र ? यस काव्यले मानव जीवनको विकास, समृद्धिको बारेमा उकाली चढने पनि बुलन्द आवाज उठाएको छ तर मानिस परिस्थितिको दास हो । समयले मानिसलाई जता तान्छ उतै अगाडि बढ्छ । यस काव्यमा घटित घटनाक्रमलाई विश्लेषण् गर्दा 'जिन्दगीका भासहरू' शीर्षक सार्थक देखिन्छ ।

अन्त्यमा मैले यस काव्यमा पोखिएका भावनालाई सारांशमा पस्किएको छु । भिभिन्न साहित्यकारका धारणालाई पनि समेटेको छु र सक्दो चिरफार गर्ने प्रयास पनि गरेको छु । काव्यका सवल पक्षमात्र दर्शिए भन्ने प्रश्न उठ्न सक्छ । पूर्णता कहीं पनि हुँदैन । दुर्वल पक्षको विषयमा यस कृतिमा पनि टिप्पणी गर्न नसकिने होइन तर लेखनमा निरन्तरता दिन्दै जाँदा दुर्बलता हट्दै जान्छ र सबलताले समाउँछ । सकरात्मक पक्षलाई समाउँदै निरन्तरताको खाँचो यहाँ पनि छ । ढकालज्यूको सफल साहित्यिक यात्राको प्रशंसा गर्दै बिदा लिन चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
२०७६ साल मंसिर ७ गते,
कावासोती शान्तिचोक

काँडा टेकेर फूलका कुरामा’ गजलसङ्ग्रहमा साहित्यकारको धारणा

सिर्जनाको नशा लागेपछि सर्जकहरूको सिर्जना गर्ने प्यास कहिल्यै मेटिदो रहेनछ । सर्जक तीर्खाएकै तीर्खाएको हुँदो रहेछ । साहित्य सुधाको जति पान गर्यो त्यति मीठो र त्यत्तिकै रसिलो हुँदो रहेछ । साहित्य सुधामा रमाइरहेका कविता, गीत, गजल र मुक्तका सिर्जनाका हरि कट्टेलले विलौनै विलौना लघु काव्य (२०४५), अनावृत आकृति छन्दोबद्ध कवितासङ्ग्रह (२०६१), आँखामा अल्झिएका आँखाहरू गजलसङ्ग्रह २०६४), मुटु टुक्रिएपछि मुक्तकसङ्ग्रह (२०६९) र काँडामा टेकेर फूलका कुरा गजलसङ्ग्रह मार्फत आफ्ना धारणा र भावना पाठकसामु पस्किसकेका छन् । एक दर्जन जतिको हाराहारीमा साहित्य सम्मान र पुरस्कारले विभूषित हरिजीको लेखन शैलीप्रति उच्चतम मूल्याङ्कन गर्दै गजलकार एव म साहित्यकारहरूले काँडा टेकेर फूलका कुरा गजलसङ्ग्रहको आवारण पृष्ठमा समावेश गरिएका धारणालाई यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु–

वरिष्ठ गजलकार ललितजन रावल लेख्नुहुन्छ –''गजलको विकास र विस्तारका क्रममा देखा परिरहेका गजलकारहरूमा हरि कट्टेल पनि एक सशक्त हस्ताक्षर हुन् । उनको गजल कृति पढ्दा विषयगत विविधताले गर्दा एक रसताको आभास हुँदैन विषयको एकरसताबाट मुक्त हुनु पनि सर्जकको महत्त्वपूर्ण विशेषता हो । ''

डा. कृष्णहरि बराल लेख्नुहुन्छ –''यस सङ्ग्रहका गजलहरूमा विविध भावको अभिव्यक्ति पाइन्छ । यी गजलकार देशमा भइरहेका विसङगतिप्रति सचेत छन् भने गजलमा मायाका सुन्दर डोरीहरू बुन्न पनि सिपालु छन् । यिनी देशभक्ति अनि संस्कृतिको अभिव्यक्ति गर्न पनि सक्षम देखिन्छन् । ''

विवश पोखरेले लेख्नुहुन्छ –'' यससङ्ग्रहभित्र समाविष्ट हरि कट्टेलका गजलले हामीले भोग्नु परेका पीडा समय र मर्मलाई उत्खनन् गरेका छन् । उनका गजलमा लय र भावको समेत कलात्मक मिश्रण छ । गेयात्मक तरलता उनको लेखनको अर्को विशेषता हो । ''

मधु पोखरेल लेख्नुहुन्छ –''कविता गीत गजल र मुक्तकका सिद्धहस्त स्रष्टा हरि कट्टेल आफैमा एउटा अनकन्टारमा फुलेका सुन्दर लालीगुराँस हुन् जसले राष्ट्रिय गौरव बोक्दछन् । उनका अरू कृति झैं यस सङ्ग्रहले पनि पाठकको मन सजिलै जित्न सक्छ भन्ने ठानेको छु ।

बरिष्ठ गजलकार एव म साहित्यकारले माथिका अभिव्यक्तिबाटै भन्न सकिन्छ कि हरिजी एउटा सिद्धहस्त गजलकार हुनुहुन्छ । अब म यस कृतिमा पनि सूक्ष्म प्रकश पार्न चाहन्छु ।

कृतिभित्र प्रवेश गर्दा– ७८ ओटा गजलले भरिएको यस कृतिले विविधता समाएको छ, भावनाका लहरहरू बगाएको छ, सुन्दर अभिव्यक्तिले सजाएको छ । यस कृतिमा समाजले भोग्न परेका पीडा, मर्म, प्रेम, संघर्ष, जीवनका ओराली उकाली, राष्ट्र, राष्ट्रियता, भूकम्पले निम्त्याउको विनाश, प्रकृति र प्रवृत्तिको सुन्दर चित्रण, संघीयता र नयाँ नेपालको निर्माणको सन्देश र व्यङ्ग, समाजका विकृति–विसंगतिप्रति कटाक्ष, आशा–निराशा, सिर्जना–सौन्दर्यता, सीमा अतिक्रमण, समाजमा दर्शिने विविध विभेद–बेथितिको अन्त्य र समानताको खोजी, द्वद्व– द्वद्व असर, परिवर्तनको चाहना र भावना, उज्यालोको खोजी, आदि आदि भावना र धाराणाले स्थान पाएका छन् ।

गजल यस्तो विधा हो जस्ले सूक्ष्मतामा पूर्णता दिने प्रयास गर्दछ । त्यो सूक्ष्मतामा पूर्णता प्राप्त गर्नु पर्छ भन्ने मान्यता बोकेका गजलकार मध्ये एक हुन् हरि कट्टेल । गजलमा उनले पोखेका केही सेरलाई यहाँ अध्ययन गरौं –

अँध्यारै छ राँको नबाली नजाऊ
छुने घाम यात्रा नथाली नजाऊ
(पृष्ठ ११ पहिलो गजलको पहिलो सेर)

गएँ पाठशाला छरेँ ज्योतिपुञ्ज
अरू रापिला छन् खरानी भएँ म
(पृष्ठ २ अन्तिम सेर )

लजाउँदै छ फूल त्यो हिमाल हाँस्छ लाजले
छ ज्योति भर्भरी तिमी अगाडि जून घाम के
(पृष्ठ ६ दोस्रो सेर)

विलौना कहाँ नै बिसाएर आयौ
तिमी आज साह्रै रिसाएर आयौ
(पृष्ठ ८ पहिलो सेर)

कहाँबाट आयो यहाँ भूइँचालो
बनाएछ सारा सबै देश कालो
(पृष्ठ १२, पहिलो सेर)

खाना नाना बराबरी र पो नयाँ नेपाल
ठूला साना बराबरी र पो नयाँ नेपाल
(पृष्ठ १७ गजल १७, सेर प्रथम )

कोशी वाँध फुट्दा पनि हेरेँ टुलुटुलु
दिउसै सुस्ता लुटदा पनि हेरेँ टुलुटुलु
(पृष्ठ २७, गजल २७प्रथम सेर)

बनाउँन त बनायौ देश लुटेर ठूलो महल
भुृmपडीको जति पनि त्यो महलमा संस्कार छैन
(गजल ५७,, पृष्ठ ५७, दोस्रो सेर)

नसोच कवाडी यी मेरा हातलाई
मेरो स्वाभीमान खुकुरी सिरान छ
(गजल ७८, पृष्ठ ७८ अन्तिम सेर)

जंगलका पशुभन्दा निर्दयी भो मान्छे
वेदनाका आँसु बनी खसूँ कसरी म
(गजल ६०, पृष्ठ ६०, दोस्रो सेर)

बगैँचामा फूलहरू फक्रिएनन् भन्दै
काँडासँग मायाप्रीति गाँस्न सकिएन
पृष्ठ ७६, गजल ७६ अन्तिम सेर)

उपरोक्त सेरहरू त केही नमुना मात्र हुन् । हरिजीका गजलमा विविधताले सजिएका धेरै सेरहरू हामीले अध्ययन गर्न पाइन्छ ।

गजल लेखनमा आफ्नै किसिमका सिद्धान्त छन् । यसै सन्दर्भमा भूमिकामा विवश पोखरेल लेख्नुहुन्छ– ''सूक्ष्मतामा सम्पूर्णता यस विधाको विशेषता रहेको छ । तर यस विधामा कलम चलाउनेको संख्या अधिक रहे तापनि विषय, भाव, कला, शिल्प, विचार र अनुभूतिका दृष्टिले राम्रा गजल लेख्ने यस्ता गजलकारहरूको संख्या भने न्यून छ'' । हरि कट्टेलले विवश पोखरेलको धारणलाई समाएका छन् । विशुद्ध नेपाली विम्ब र प्रतीको प्रयोगले सजिएको यो गजलमा भाषागत सरलता र भावगत सवलता पाइन्छ । काफिया र रदिफको सुन्दर प्रयोग भएको छ । कृतिमा लोकलय, मुक्तकलय, बहर एव म शास्त्रीय छन्दको मिश्रित संयोजनमा संरचित गजलमा आफ्नै स्वर, लयको प्रयोगले मीठास भरेको छ । गजलमा हुनु पर्ने संक्षिप्तता, कोमलता र हार्दिकता जस्ता कुरामा पनि हरिजीले आत्मसात गर्ने प्रयास गरेका छन् । त्यसो हुँदा हरिजकिा गजल मनन् योग्य छन् र अनुकरणीय छन् भन्न सकिन्छ ।

अन्त्यमा हरिकट्टेलजीले यो कृति मलाई उपहार स्वरूप समीक्षाको लागि प्रदान गर्नुभएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु । सूक्ष्म अध्ययन गरी सूक्ष्म रूपमा नै मैले केही धारणा राख्दै कट्टेलजीको सिर्जनात्मक जीवन सकृय सवल र सार्थक बन्दै जावस भन्ने कामना सहित बिदा चाहन्छु ।

सदानन्द अभागी

कलानाथ अधिकारीका कृति’लाई अध्ययन गर्दा

कलानाथ अधिकारी स्मृति प्रतिष्ठानले यही भाद्र ९गते चितवन साहित्य परिषद नरायणगढको हलमा भव्य साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा कलानाथ अधिकारीसँग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सम्पर्कका केही व्यक्तिहरूलाई अभिनन्दन गरिएको थियो । गीतकार तथा साहित्यकार प्रेम विनोद नन्दन, जगत श्रोष्ठ यमुनाप्रसाद न्यौपाने, हरिबहादुर ढुङ्गाना, दीपक सोती, गायत्री श्रेष्ठ र सरसोती रिजाल लगायतका व्यक्तिहरूलाई अभिनन्दन गरिएको थियो । यस कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज विनोदीले 'कलानाथ अधिकारीका कृति' नामक पुस्तक विमोचन गर्नुभयो । उक्त कार्यक्रमका सभापतित्व कलानाथ अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष अरूणराज सुमार्गीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालकमा बरिष्ठ साहित्यकार हयग्रीव आचार्यज्यूले कलानाथका विविध पक्षमा प्रकाश पार्दै, गर्र्नुभएको थियो । उक्त कार्यक्रममा चितवन, मकवानपुर, सिक्किम, नवलपरासी, दाङ लगायतका साहित्यकारहरू सहभागी भएका र केही साहित्यकारहरूले रचना वाँचन पनि गरेका थिए ।

म संयोगबस उक्त कार्यक्रममा सहभागी हुन पुगें । विमोचनपछि वितरण गरिएको 'कलानाथ अधिकारीका कृति' नामक कृति मेरो हातमा पनि पर्यो । उक्त कृतिलाई सरसर्ती हेर्दा ६ वटा कृतिहरू यसमा समावेश गरिएका छन् । यसमा समावेश गरिएका कृतिहरूमा आह्वान, कुतकुते गीत, मनको कुरो बुझिदेऊ, एक होऊ, जितिया पावनी (थारु भषा ग्रन्थ) र दिउल हुन् ।

'आह्वान' (समयशील लयदार कविता गान)–यस कृतिलाई श्रीगुरु, स्वर्गीय शहीद धर्मभक्त, गंगालाल, तथा शुक्र, दश'अरू सबै आह्वानभक्तका सम्झनामा समर्पण गरिएको छ र श्रीमती क. मो. अधिकारीद्वारा प्रकाशित कृतिको मूल्य नेपाली २५ पैसा, हिन्दूस्तानी चार आना राखिएको छ । यस कृतिमा विभिन्न शहीदको स्मरण गरिएको, क्रान्तिको लागि आह्वान गरिएको, क्रान्ति नगरी शान्ति मिल्दैन, वदमासलाई साँचन हुँदैन सिध्याउनु पर्दछ, सर्व समान हकवादको आवश्यक्ता ठानिएको छ, पहिला नेपाल अनि नेपाली, जस्ता क्रान्तिकारी धारणाहरू कृतिले समाएको छ ।

कुत कुते गीत (२००८), गीतमा व्याङ्ग तथा आलोचनात्मक कला) –कला मोहिनीले प्रकाशन गरेको, मूल्य कं रु पाँच आना मो.रु. ३० पैसा । कुत कुते गीत सर्व हिताय भएको कथन प्रकाशिका तथा संचालिका श्रीमती कलामोहिनी को छ । यस गीतमा पनि चार थरिका गीतहरू समावेश गराइएको छ ।पहिलो खण्ड कुतकुते गीत, दोस्रो खण्ड कुतकुते गीत, फाटफुट कुतकुते, झ्याउरे कुतकुते । पहिलो कुतकुते गीत १९४९सालका आखिरी दिनतिर कलकत्तामा लेखिएको र यो लेखनमा राणा कालमा राज्यमा भएका गरिएका क्रियाकलापको बारेमा व्यङ्ग प्रहार गरिएको छ । युवाहरूलाई गीत गाउन आह्वान गरिएको शाह राणा मिलेर राज्यलाई गुण्डाघरमा परिणत गरेको, प्रभु भनेर हामी बाँचन परेको, ठूलो बुद्धिबाट कामबाट बन्छ धनबाट होइन, सोझा हामीलाई पाएर १०० वर्ष राज्य गरे,यिनबाट मुक्तभई विकास गर्नको लागि अत्याचारबाट मुक्ति पाउन आह्रवान गरिएको छ ।यसमा कविले राणाकालमा गरिएक अन्याय अत्याचार विकृति विसङ्गतिलाई प्रष्ट्याउने प्रयास गरेका छन् ।

दोस्रो खण्ड कुतकुते गीत ११–५–१९५१मा कलकत्तैमा लेखिएको र यसमा शाह, राणा। काँग्रेस कालको राज्य सञ्चालन र विकृति र विसङ्गतिमा प्रकाश छरिएको छ । नेपालमा प्रजातन्त्र आयो भनी जानकारी लिंदा देशमा अराजकता बढेको, मौका छोप्ने हुल्याहाहरू लखपति बनेको, मुलुकमा लेखाइ पढाइ बढ्न आँटे पनि रीतिथिति भने विदेशतिर भागेकोले नेपालीपन लिएर उठ्न परेको, गोर्खादल जागेको, मोहन सम्सेरले सिंहदरबार छाडेको, गरिब काँग्रेश धनी बनेको, पूजीवादी सरकार बने धोकापर्न जाने, 'लोक जनको सेबा गर्न लायक हुनु पर्छ' नारीहरूलाई पनि लाली पाउडर दलेर घरमा बस्दा र संगठनमा जान छाडेमा पुरुष जातीले थिच्न छाड्ने छैनन् भन्दै नारीलाई जागृत गराउने, नेपालका सबै जाती साथी आदि विविध भावनालाई समेटेर सबैलाई क्रान्तिको लागि उठ्न आह्वान गरिएको छ ।

फाटफुटे कुतकुते – यस कुतकुतेमा पनि स्वदेश प्रेम लिई देशलाई उचालनु छ, नारीलाई उचाल्नु छ, मोटर चढेर हुँदैन डल्ला पनि फोर्नुपर्छ, खाने, बस्ने, लाउने, खाने बन्दोबस्त हुनुपर्दछ भन्ने जस्ता धारणा यस कुतकुतेमा लेखिएका छन् ।

कुत कुते झ्याउरे – नेपालको लागि जे देख्छु त्यही लेख्छु भन्दै कविले पेकिङ्गको संगत असल र दिल्लीतिरको सङ्गतलाई भने कुत्ता बिल्लीको संज्ञा दिइएको र क्रान्तिलाई पुरा गर्नुपर्नेमा लाग्न आह्वान गरिएको छ ।

मनको कुरो बुझि देऊ –(सम्वत २०१२) काशिका नेपाली, साथी एवं छात्रहरू प्रकाशन सहयोगी, प्रकाशिका कलामोहिनी, यस कृतिमा कृतिकारलले मेरा दुई वक्तव्यहरू (पहिलो २९ अषाढ २०१२ कान्तिपुर) दोस्रो ९ साउन २०१२ नागपञ्चमी) समावेश गरिएका छन् । यी दुवै वक्तव्यमा जनवादमा लाग्नु पर्ने, सरकारले वैज्ञानिक ढाँचामा काम चलाउन पर्ने, भ्रष्ट कर्मचारीको छानविन गर्नु पर्ने, हामी हिन्दू नभै नेपाली भएको र धर्म पनि सनातन भएको राष्ट्रभाषा हिन्दीबाट प्रभावित नभै संस्कृत ऋषिमुनी नागरी –जुन हिमालको मुख्य उपज अइउणलृटभन्ने महादेवको डमरूको आवाज हो)बाट प्रभावित भएको, अंग्रेजहरूले भारत र पाकिस्तानलाई सत्ता सुम्पेर जाँदा हाम्रो १८१५मा खण्डित नेपाल बारे पनि केही गनु, पर्ने, अंग्रेजले संयुक्त राष्ट्र संघमा आवाज उठाइदिनु पर्ने जस्ता धारणा आएका छन् ।

दोस्रो वक्तव्य –(९ सावन २०१२ नागपञ्चमी) यस वक्तव्यमा पनि राष्ट्रिय भावना जागृत गराउने सम्बन्धी, नेवारी भाषा सम्बन्धी, दलगत राजनीतिको गन्दगीमा नफसी देशलाई बचाउने जस्ता धारणा आएका छन् । यस कृतिमा समावेश गरिएका कवितामा पनि देशको मुहार धोइदिने, गाउँघर सबै सपार्ने, चिन र भारतसँग भाइको नाता लगाउने, युयनमा सिट लिने, सीमान्तसम्मको सम्बन्ध सम्याउने र गला मिल्ने जस्ता भावना पोखिएका छन् । कला मोहनको नामबाट लेखिएका कविता पनि समावेश गरिएको छ । शान्ति चाहियो क्रान्ति चाहियो, समयलाई हेरेर विश्वास लिएर अघि बढने, चिनका जनवादका कुरा, पनि यहाँ पोखिएका छन् ।

कलानाथका बारेमा केही कवि तथा उच्च पदस्थ व्याक्तिबाट लेखिएका केही धारणाहरू पनि यसमा समावेश गरिएका छन् –यस कृतिमा धर्मराज थापा, बलराम गोर्खा, राहुल संस्कृत्यायन, हेमङग विश्वासले कलानाथको व्यक्तित्व र कृतित्वमा पोखेका धारणाहरू पनि छन् । ती धारणालाई कलानाथको व्यक्तित्व र कृतित्वमा प्रकाश पारिने छ ।

एक होऊ (बिक्रम संवत२०१२) –यस कृतिको प्रकाशन सहयोगी पञ्जाव गोर्खा एसोसिएसन भाक्सु धर्मशालाका प्रधान मन्त्री श्रीमेजर सम्सेर सिंह महत हुनुहुन्छ, मूल्य २५ पैसा छ । यस कृतिमा कविता, भजन र गीत गरेर ७ वटा समावेश गरिएका छन् । यसमा दिएको मूल सन्देश यस कृतिको शीर्ष पंक्तिमा लेखिएको सरह नै देखिन्छ –'ॐ सत्यमेव जयते, गोर्खाली एक होउ, नेपाली एकतामा उठ,जाती प्रेम र भाषा प्रेमले परमात्मा प्राप्त हुन्छ' ।

"जितिया पावनी" (२०१६) यस कृतिकी प्रकाशिका श्रीमती कलामोहिनी, यसको मूल्य २।५० पैसा राखिएको छ । यो सचित्र जित बाहन क कथा चितौनका आदिबासी थारू जातिको पवित्र धर्म ग्रन्थलाई ऐतिहासिक संकलनको रूपमा प्रकाशनमा आएको भनिएको छ । यसमा योगी नर हरिनाथले सम्मति लेख्नुभएको छ । सम्मतिमा योगी नर हरिनाथले चित्रवन (चितौन)लाई ऐतिहासिक शासनकालको समृद्ध जनपद पछि दुर्गम सालघारी बनेको, ठाउँ ठाउँमा अलि अलि रैथाने थारुजातिको बस्ती भएको, श्रीजनकलाल शर्मा र कृष्णवम मल्लले राप्ती दून सानो पुस्तक लेखेको कलानाथले लक्ष्मी ब्रत (जितिया पावनी कथा)) लेखने प्रयास गरिएको र यसमा स्थानीय थारु भषामा लेखिएको पुस्तकमा चितवनका थारू जातिको धार्मिक कथा जस्को लिखित कथा फेला परेको छैनलाई अनुश्रुति आधारमा चितौनका स्थनीय थारुजातिको वर्तमान भाषामा लेखिएकोले चितौनका थारुजतिको जातीय परिचय दिने भन्ने धारणा राख्नुभएको छ ।

यस कृतिको भूमिका स्वय म कलानाथजीले नै लेख्नुभएको छ । जनताको आवाज बुलन्द गर्ने र नयाँ समाज बसाउने काम बखानसिंहबाट थालनी भएको, श्री५ महेन्द्रको उदयले जनताको प्रयास झन् विकसित भएको, बखान सिंह र उहाँका साथीहरूको २०११को सत् प्रयासको दुई वर्षपछि राप्ति दून बहुमुखी विकास योजना अन्तर्गत भरतपुरमा अड्डाहरू जमाई कचपचेमा श्री५ले नै आफ्नै बाहुलीले हलो चलाई यज्ञपुरी नाम राखी बहुमुखी विकास इलाका घोषित गरिएको, कलानाथ पनि २०१६मा चितवन झरेको, यहाँ झरेपछि चितौन औषधालयकी हाकिम श्रीमती कोमल कुमारी पन्तले थारुजातिका महिलाले मान्ने ब्रत जितिया पावनीलाई लेखेर प्रचारप्रसार गरिदिएमा लोप हुनलागेको संस्कृत बाँचने धारणा बमोजिम कलानाथले यो ग्रन्थ तयार पारेको धारणा राख्नुभएको छ । थारु भषामा लेखिएकोले यसको संक्षेपी करणा मैले गर्न सकिन ।

दिउल –यस कृतिमा समावेश गरिएको छैटौ कृति हो यो कृति कलानाथजीले विराट नगरमा २०२२सालको दशैमा शुभ कामना दिंँदै लेखेको देखिन्छ । यसको प्रकाशन कलामोहिनीले नै गर्नुभएको छ । यसमा १८ वटा कविता उसैलाई भन्ने भूमिका पनि समावेश गरिएको देखिन्छ । यस कृतिमा श्री५महेन्द्र बी.वी.शाहको महान आदर्शका प्रतिक भनी तस्विरको साथै श्री५को दीर्घायु कामना गर्दै कविताहरू लेखिएका छन् । धनलाई कसैलाई नपुग्ने, देशको पुकार सुन भन्दै जवानलाई उठ्न आह्वान गरिएको, भावनाका पुजारीलाई पूजा गर्न दिनु पर्छ, फूललाई ओइलाउन अघि लाउनु पर्छ, बालाजुको सुन्दरताको बर्णन, निदरीलाई बोलावट गरिएको, हाम्रा घरका कुकुरका छाउरा जस्ता व्यङ्ग कविता, टुकी आफै सल्केर उज्यालो दिने, म के होइन ? म पुतली हुँ, जुनकिरी हुँ, जाडो र गर्मी पढ्न पर्यो,गट्टा खेलौं जीवन जगतका धारणा, प्यार नछुट्ने, एसियाका सबै एक भएर शान्तिको प्यास जगाउने, नौलो प्यारको आग्रह, युग पुरुष महेन्द्रको साथ दिने धारणा, जीवनले कोल्टे फेर्ने धारणा यस कविता सङ्ग्रहमा पोखिएका छन् ।

कलानाथको व्यक्तित्व र कृतित्वको एक झलक

कलानाथ अधिकारीको व्यक्तिगत विवरण, यसै कृतिमा समावेश गरेका विभिन्न साहित्यकारको धारणा र यसै साहित्य गोष्ठिमा आएका धारणामा आधारित भएर लेख्ने प्रयास गरेको छु । हुनत चितवन समसामयिकद्वारा चितवनमा लेखनको स्वर्णवर्षको उपलक्षमा कलानाथ अधिकारीको विशेषाङ्क निकालेको हुँदा त्यसमा अवश्य पनि कलानाथको बारेमा धेरै जानकारी लिन सकिन्छ तर मलाई त्यस विशेषाङ्कको अध्ययन गर्ने भाग्य प्राप्त गर्न सकेको र्छैन ा अधिकारीले दिऊल कृतिको भूमिका(उसलाई)शीर्षकमा लेख्नुभएको छ – 'म आफूलाई थिच्न र लुकाउन हिच्किचाहन्छु त्यही नै कारणा हो मेरा रचनाहरूमा समय बोलेको हुन्छ' ( पृष्ठ दिउलको, २३ र २४) । हुनत लेखकहरूले समसामयिकतालाई सबैले समाएका हुन्छन् र त्यस समयमा देखिएका विकृति र विसङ्गतिमा प्रहार गरेका हुन्छन् तर मूल दर्शनमा नै परिवर्तन गरेको आभास भने कमैमा पाइन्छ तर कलानाथको यस कृतिमा भने पहिले राजाप्रतिको कडा धारणा र पछि गएर (२२ सालपछि) राजाप्रति राखिएको नरम धारणा अनुसन्धानको विषय बन्न पुगेको देखिन्छ । कृतिको अध्ययनमा उहाँको क्रान्तिकारी धारणा भने प्रष्ट देखिन्छ साथै लेखनमा सरलता, पहिले पस्केका धारणामा परिवर्तनता र भाषागत परिमार्जित बन्दै गएको देखिन्छ । अभिनन्दित व्यक्तित्वमा जगत श्रेष्ठले कलानाथ स्वाभीमानी भएको र क्रान्तिकारी आवाज उठाउने उन्को साहस भएको धारणा आएको, कलानाथले लेवर नगरको स्थापना गरेका थिए भन्ने धारणा राख्नुभएको थियो । यमुना प्रसाद न्यौपानेले कलानाथलाई बहुआयमिक व्यक्तित्व, साह्रै नै फूर्तिलो, जातीय समानता चाहाने (२०१८ सालमा लम्जुङमा कामीको घरमा भात खाएको उदाहरण), राजासँग मेघौलीमा दर्शन भेट पाएको, कलानाथकी श्रीमतीले हलोजोतेको र संयोगबस काठमाण्डौमा असिना परेको धारणा राख्दै कलानाथको प्रशंसा गर्नुभएको थियो । हरिबहादुर ढुङ्गना, दीपक सोती, गायत्री श्रेष्ठ र सरस्वती रिजालले पनि उपरोक्त घटनाक्रमको साथमा कलानाथका क्रान्तिकारी लेखनमा टिप्पणी गर्दै प्रशंसा गरेका थिए । समालोचक डि.आर. पोख्रेल, प्रा.डा.नारायणप्रसाद खनाल लगायतबाट उक्त कृतिमा क्रान्तिकारी भावना, देश भक्ति,पहिला राजाको विरोध, पछि राजाको गुणगान, जातीय समाजको विकास, जातीय समानता, नारी समानता, स्वच्छन्द भाषाको प्रयोग आदि धारणा आएका र कलानाथका लेखनको प्रशंसा दर्शाएका थिए ।

अब यस कृतिमा समावेश गरिएका साहित्यकारहरूको कलानाथप्रतिको धारणा पनि समावेश गर्न चाहन्छु।

राष्ट्र कवि माधव घिमिरेले लेख्नुहुन्छ–'अत्यान्तै प्रगतिशील व्यक्ति, जनहितको लागि, हरदम तयार, अत्यान्तै टाठो सम्भवत मेरो जीवनकै टाठो मानिस कलानाथजी हुनुहुन्थ्यो' ।

मधवराज सुमार्गी स्मृति कोषका अध्यक्षले लेख्नुहुन्छ –साहित्यमा फूल झैं कोमल, राजनीतिमा ब्रज झैं कठोर' ।

भैरव नाथ रिमाल "कदम"ले कलाका साधक कलानाथ शीर्षकमा लेख्नुहुन्छ –'व्यक्तिको कर्म नै उसको परिचय हो' । 'बहुमुखी प्रतिभाका धनी, उहाँ आफ्नै जीवनकालमा भूतपूर्व हुनु भयो । यो उहाँको बेग्लै परिचय हो' । 'कलानाथ अधिकारी नाम जस्तै कलाका साधक, साहित्यका पुजारी, समाज सेवाका अग्रणी, गायन सङ्गित र नृत्यका पारखी,, मजदूर–किसान वर्गका हिमायती थिए' । भैरव नाथजीले कलानाथका सामाजिक कार्यको विवरण, कलानाथले कलामोहन, कलाबोधी, बोधी, राहुल जस्ता छन्द नामबाट पनि लेख्ने गरेको, उनको सत्तासिनद्वारा ३ पटक सर्वस्व हरण भएको, नेपाली, संस्कृत, हिन्दी, नेवारी, थारु, बंगाली, चाइनिज, रसियन र अंग्रेजी भाषामा राम्रो दखल भएका व्यक्तिको रूपमा प्रकाश पार्नुभएको छ । भैरव नाथजीको लेखले कलानाथको व्यक्तित्व र कृतित्वमा स्पष्ट सन्देश प्रवाह भएको छ र २००२बाट २०२२ सालसम्म कलानाथका १६वटा कृति प्रकाशन भएको धारणा पनि राख्नुभएको छ ।

कलानाथ अधिकारी समृति प्रतिष्ठानका अध्यक्ष अरुण राज सुमार्गीले कलानाथको पहिलो कृति थारुहरूको जितिया पावनी धार्मिक ग्रन्थ, चितवनमा लेखिएको, कलानाथले चितवनमा लेवर नगर लगायत बस्तीहरू बसाएको र "चितवनको बाल्मीकि कलानाथ" भन्ने उद्घोष पनि चितवनबाटै गरिएकोले कृतिको विमोचन पनि चितवन साहित्य परिषदको प्राङगणमा गरिएको धारणा राख्नुभएको छ ।

धर्मराज थापाको धारण –(२३.३.०१२मा भैरहवामा) जनकवि केशरी धर्मराज थापाले कलानाथलाई आधुनिक गीतका क्रान्तिकारी कवि, धेरै नजिकको मित्र, उनका रचना, मार्मिक व्याकुल वियोगले छटपटीएका भरिएका हुने, पाषाण हृदयलाई पनि पगाल्न खोज्ने 'मिलनसार र सत्यप्रेमी उहाँका लिनु पर्ने गुण हुन्' भन्नुभएको छ ।

बलराम गोर्खा (नेहरू ग्राम ११–५–१९५५,प्रेसिडेन्ट गोर्खाली सुधार सभा देह्रादून)ले कलाकवि कलानथले नेपाली संस्कृतिक स्प्रिटलाई फैल्याएको, ठूलो सभामा चाख लाग्दो भाषण गरेको भन्दै उहाँले लेख्नु, हुन्छ – his songs and poetic composition were held in very great esteem. I have no words to express the prise, they worth".

राहुल सांकृत्यायन (महापण्डित) १७.४.५५ मंसूरी को धारणा – श्रीकलानाथ अधिकारी सुशिक्षित संस्कृत तरूण तथा नेपाली भाषा के अच्छे लोक कवि एव म सुन्दर गाएक हैं ।

मेजर सम्सेर सिंह महत धर्मशाला पञ्जावले 'एक होऊ' भन्ने कृतिमा एकताको भाव दर्शाउँदै जातित्वको अमरता, र पूनजागरणबाट प्रभावित भएको धारणा आएको (एक होऊ पृष्ठ २)छ ।

अतः कलानिधि अधिकारीले पस्केका यी ६ वटा कृतिमा विविधताले सजिएको पाइन्छ । कतै गीत छन् कतै कविता छन् त कतै क्रान्तिको आह्वान छ । क्रान्तिमा शान्ति खोजिएको छ । युवाहरूलाई जागृत हुने धारणा छन् । समानताको कामना, राष्ट्र, राष्ट्रियताको धारणाले सजिएका, कतै शासकको विरोध कतै शासकको समर्थन, कतै यथार्थवादी प्रस्तुति त कतै सनातन धर्मको विवरण, कतै पूजीवादप्रतिको आक्रोस, कतै साम्यवादको प्रशंसा, कतै आफ्नै वाद हुनु पर्ने धारणा, नेपालीपनलाई बचाउन पर्ने आदि धारणा भावना कविले छताछुल्य हुने गरी पोखेका छन् । स्वछन्द प्रबृतिका कवि कलानाथका यी राजनैतिक, धार्मिक, समाजिक, क्रान्तिकारी अभिव्यक्ति भएका कृतिकारको बहुआयमिकताको सम्बन्धमा अनुसन्धान गर्दै, लोपोन्मुखी कृतिको पुन प्रकाशन गर्दै कलानाथ अधिकारी स्मृति प्रतिष्ठानले प्रचार प्रसारमा व्यापकता ल्याओस् भन्ने आग्रह गर्दै कलानाथप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी

सन्दर्भ सामाग्री
साहित्य गोष्ठिमा सहभागीद्वारा व्यक्त अभिव्यक्ति
क्लानाथ अधिकारीका कृति
२०७२ साल तीज
कावासोती नगर पालिका वडा नं–७ नवलपरासी

साहित्यिक यात्रामा लीला

किताप 'साहित्यिक यात्रामा लीला'को सम्पादन भगवती अर्याल (पाण्डे)ले गर्नु भएको छ । प्रकाशन नारी साहित्य समाज नवल परासीले गरेकोछ । यो कृति आवरण सहित २३६पृष्ठको छ । यसको मूल्य २४५/– रु छ । यो किताव २०६७मा प्रकाशनमा आएको हो । प्रकाशकीय शीर्षकमा नारी साहित्य समाजकी अध्यक्ष कृष्णादेवी शर्मा(श्रेष्ठ) लेख्नु हुन्छ –

लेख तिमी आँफै मनका वेदनाहरू
फुलाऊ भावका गुच्छा बनेर पुस्पका तरु
गर अक्षरका खेती छ लीला शुभकामना
तिम्रा अक्षरमा लीला बोल्नेछन् राष्ट्र भावना

गोविन्दराज विनोदीको शुभ कामना व्याक्त गरेका छन् । ज्ञानु अधिकारीले यसलाई एउटा अनुकरणीय कामको थालनी ठान्नु हुन्छ । पूर्व कर्णेल धनबहादुर मास्के राना लेख्नु हुन्छ –नारी उत्थानमा समर्पित दीनदुःखीप्रति, प्रियदर्शी, प्रकृतिप्रेमी जीवजन्तु प्रेमी साथै घरपरिवार प्रति अत्यान्त चिन्तित् स्वभावकी लीला एक संघर्षशील सृजनशील, परिश्रमी व्यक्तित्व हुन् । जुनसुकै कठीन परिस्थितिमा पनि प्राय असफल नभएकाले मेले उनलाई फूलसँग दाँजेर लीली भन्छु । बास्तवमा लीला कवियित्री र लेखिकामात्र नभएर एउटी सामजिक नारी हुन् यिनको जीवन समाजसेवामा वितेको छ । समाज सेवामा समर्पित यिनको जन्म श्याङ्जा जिल्लामा भयो र नवल परासी यिजल्लालाई कर्मक्षेत्र बनाएर नेपाल र भारतका विभिन्न संस्थाहरुमा आजीवन सदस्य भएर नारीस्रष्टाको रूपमा आफ्नो प्रगतिको यात्रालाई अगाडी बढाई रहेकी छन् । यिनको व्यक्तित्वको अध्ययन गर्दा उनी एक साहसिक, कर्मठ, महिला जो हरेक क्षेत्रमा आँफूलाई उभ्याउन मन पराउने, अठोट लिएर अघि बढ्ने, नारीको रूपमा उनलाई लिन सकिन्छ ।

साहित्यिक यात्रामा लीलाः–

यो एउटा समीक्षा सहितको कृति हो । यस कृतिको समीक्षाको पाटोमा जानु भन्दा पहिला नेपालली साहित्यको सङक्षिप्त इतिहास र नारी स्रष्टाको स्थिति लेखले नेपाली भाषाको जन्म इसाको एघारौं शताव्दीतिर कर्णाणी प्रदेश सिञ्जा (जुम्ला)मा भएको र यो भारोपेली परिवारको सन्तान भएको र आधुनिक आर्र्यभाषाको रूपमा यसको जन्म भएको कुरा यस लेखमा भगवतीजीले प्रष्ट्याउन खोज्नु भएको छ साथै नेपाली भाषाको प्रारम्भ विन्दु वि.सं. १३१२मा हुम्ला जिल्लाको रेलिङगुम्बामा फेला परेको ताम्रपत्रलाई मानिन्छ भनी उल्लेख गरेको पाइन्छ । पृथ्वीनारायण शाहको एकीकृत नयाँ नेपालको निर्मार्ण गराए पछि प्रचारमा आयो र नेपाली साहित्यको मौलिकता भित्र्याई भानुभक्तले रामायण लेखे पछि काव्यरूपमा आएको कुराहरू यस कृतिमा पढेन पाउँछौं । नेपाली साहित्यको बारेमा यस लेखले राम्रो विवरण पेश गरेको छ ।

नारी साहित्यकार लीला रानाको जीवनी र व्यक्तित्वः– शैक्षिक, सामजिक ,राजनैति, प्रशिक्षक, साहित्य, बारेमा अध्ययन र प्रस्तुति गरिएको छ । कविता विधामा लीला राना शीर्षक दिएर कविता विधाका ११वटा कविता पुञ्जहरूलाई यसमा समावेश गरी अध्ययन र समीक्षा गरिएको छ । लीलाले ९बर्षको उमेरमा उनी ४कक्षामा पढ्दाको समय घाँसीको चर्चा गरिएको पाठ पढ्दा भानुभक्त आचार्य उनका प्रेणका स्रोत बन्न गए । वि.सं. २०१९बाट उनको कविता लेखन सुरु भएको उल्लेख गरिएको छ । समीक्षामा हलोलाई उत्कृष्ट कविता ठहर्‍याउनु भएको छ समालोचक भगवती पाडे ज्यू । कविताको अध्ययन गर्दा भाषा सहज र सरल छ । गद्यलयमा लेखिएका छन् कविताहरू । सिर्जनात्मक लेखनमा लीला शीर्षकमा ४७वटा लेखहरूलाई विवेचना गर्ने प्रयास भएको देखिन्छ । समीक्षकले विषयबस्तुगतमा लेखहरू स्तरीय पाएको गङ्गा शीर्षकको लेख उत्कृष्ट ठहर्‍याइएको छ ।

संवादमा लीलाः– यस शीर्षकमा बर्तमान कृयाकलापमा सम्लग्नता, साहित्यको परिभाषा, साहित्य र राजनीतिमा समानता, जीवनदर्शन, साहित्यमा महिलाको सम्लग्नतामा कमी किन, पारिवारिक सहयोग के कस्तो, साहित्यमा लागेर के पाइयो के गुमाइयो, प्रेम साहित्यमा महिलाहरूलाई अग्रसर गराउन गर्नु प्रने प्रयास, खेलकुद, दुखद घटनाको अनुभूति, शिक्षामा लीलाको यमोगदान, प्राकृतिक सौन्दर्यको सजावट, मातृत्वको दायित्व, गीतको अनुभव, भावि कार्ययोजना आदि विषयमा समीक्षकले लीलाको बहुआयामिक व्ाक्तित्वलाई समेटने प्रयास गर्नु भएको छ । लीलाले पनि सरल भाषामा व्यवहरिक पक्षलाई अङ्गाल्देै आफ्नो यथार्थता प्रष्टयाएको पाइन्छ ।

विभिन्न व्यक्तित्वका दृष्टिकोणमा लीला रानाः – यस शीर्षकमा लीलालाई विभिन्न उच्च ओहोदाका व्यक्तिबाट प्रदान गरिएका शुभकामना तथा महत्वपूर्ण अभिव्यक्तिहरू पढ्न पाइन्छ । शुभकामना दिने उच्च व्यक्तिहरूमा झपेन्द्रश्वर भूसालले नारी हस्ताक्षरकोरूपमा लीलाका लेखनमा हिन्दी भाषाको प्रभाव परेको देख्नुहुन्छ । भूपेन्द्र शर्मा गण्डर्षिले शुभकामनाको दिंदै नवलपरासीकी श्रोष्ठ र जेष्ठ नारीस्रष्टाको रूमा हेर्नुहुन्छ । डा. रामप्रसाद ज्ञवाली लीलामा राजनीति सचेतता, सामाजिक दायित्व वोधको चाप अधिक देख्नुहुन्छ । मेधराज शर्माले लीला रानाको आदिम नारी चेतनालाई केन्द्र बनाएर लेखिएका लेखचरनाहरू प्रशंसायोग्य, समसामायिक, नारीको मूल्य र मान्यताको आधारमा भएको उल्लेख गर्दै े निरन्तरताको कामना गर्नु हुन्छ । शशी किरण प्रधानले विलक्षण प्रतिभावान साहित्यिक व्यक्तिको रूपमा पाएको चर्चा गर्नु भएको छ । सुरज राईले लीलालाई गरिब, दीनदुखीप्रति भाबुक भएको पाउनु हुन्छ । पूर्ब ब्रिगेडियर एन. वी.एस्. बिष्टिले लीलालाई एक समाजसेवी एवम् प्रतिभाशाली व्यक्तित्वको रूपमा लिनुहुन्छ । ब्रिगेडियर (अ.प्रा) पूरनसिंह गुरुङले लीलालाई एक साहित्यिक र कर्मठ व्याक्तित्व ठान्नुहुन्छ । पूर्व कर्णेल विजयकुमार शर्माले लीलालाई एक सन्घर्षशील महिला ठान्नुहुन्छ । मेजर दीपकबहादुर गुरुङले साहित्यिक एवम् समाजसेवी लीलाको उपमा दिनुहुन्छ ।

परिशिष्ट खण्ड – एस खण्डमा मा लीला रानालाई प्राप्त व्यक्तिगत वा संस्था मान–सम्मान पत्रहरू पुरस्कार आजीवन सदश्य, सम्मान–हरू समावेश गरेको देखिन्छ । परिशिष्ट खण्डमा लीलारानाका महत्वपूर्ण फोटाहरू समावेश गरिएको छ ।

यस कृतिको सम्पादक भगवती अर्याल (पाण्डे) ले लीलाको बारेमा गहन अध्ययन गरेर कृतिको सुन्दर शैलीमा प्रस्तुत गर्नु भएको छ भने लीलाका कविता र लेखरचनाहरू पनि यसमा समावेश गरिएका छन् । यो कृति समीक्षा र लेख–कविताहरूको एकीकृतरूप हो । लीला नेपाल र भारतका विभिन्न संस्थाहरूमा आवद्धभएर समाजिक,आर्थीक र राजनीतिक क्षेत्रमा योगदान पुर्‍याउँदै साहित्यमा आफूलाई समर्पित गरेकी नारीसष्टाहुन भने सम्पादक भगवती अर्याल एक वरिष्ठ समालोचक हुन् । अत यस कृतिमा दुबैको सम्लग्नताले एउटा सुन्दर कृतिको जन्म भएको छ र यो कृति एक अनुकरणीय छ ।

लीला रानालाई एक भाग्यशाली नारीस्रष्टाको रूपमा लिन सकिन्छ किनकि नेपाली साहित्यमा कृति समीक्षामा खडेरी नै छ भन्दा पनि हुने अवस्थामा कृतिको समीक्षा र लेखरचना एकीकृत रूपमा प्रकाशनमा आउनु भनेको एक महत्वपूर्ण कामको थालनी हो । यस्ता गहन कामको लागि दुबै सम्पादक तथा लेखक धन्यवादका पात्र हुनुहुन्छ ।

धन्यवाद

सदानन्द अभागी
मिति २०६८ माघ ५ गते