editor — Mon, 09/12/2016 - 01:41
कलानाथ अधिकारी स्मृति प्रतिष्ठानले यही भाद्र ९गते चितवन साहित्य परिषद नरायणगढको हलमा भव्य साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा कलानाथ अधिकारीसँग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सम्पर्कका केही व्यक्तिहरूलाई अभिनन्दन गरिएको थियो । गीतकार तथा साहित्यकार प्रेम विनोद नन्दन, जगत श्रोष्ठ यमुनाप्रसाद न्यौपाने, हरिबहादुर ढुङ्गाना, दीपक सोती, गायत्री श्रेष्ठ र सरसोती रिजाल लगायतका व्यक्तिहरूलाई अभिनन्दन गरिएको थियो । यस कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज विनोदीले 'कलानाथ अधिकारीका कृति' नामक पुस्तक विमोचन गर्नुभयो । उक्त कार्यक्रमका सभापतित्व कलानाथ अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष अरूणराज सुमार्गीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालकमा बरिष्ठ साहित्यकार हयग्रीव आचार्यज्यूले कलानाथका विविध पक्षमा प्रकाश पार्दै, गर्र्नुभएको थियो । उक्त कार्यक्रममा चितवन, मकवानपुर, सिक्किम, नवलपरासी, दाङ लगायतका साहित्यकारहरू सहभागी भएका र केही साहित्यकारहरूले रचना वाँचन पनि गरेका थिए ।
म संयोगबस उक्त कार्यक्रममा सहभागी हुन पुगें । विमोचनपछि वितरण गरिएको 'कलानाथ अधिकारीका कृति' नामक कृति मेरो हातमा पनि पर्यो । उक्त कृतिलाई सरसर्ती हेर्दा ६ वटा कृतिहरू यसमा समावेश गरिएका छन् । यसमा समावेश गरिएका कृतिहरूमा आह्वान, कुतकुते गीत, मनको कुरो बुझिदेऊ, एक होऊ, जितिया पावनी (थारु भषा ग्रन्थ) र दिउल हुन् ।
'आह्वान' (समयशील लयदार कविता गान)–यस कृतिलाई श्रीगुरु, स्वर्गीय शहीद धर्मभक्त, गंगालाल, तथा शुक्र, दश'अरू सबै आह्वानभक्तका सम्झनामा समर्पण गरिएको छ र श्रीमती क. मो. अधिकारीद्वारा प्रकाशित कृतिको मूल्य नेपाली २५ पैसा, हिन्दूस्तानी चार आना राखिएको छ । यस कृतिमा विभिन्न शहीदको स्मरण गरिएको, क्रान्तिको लागि आह्वान गरिएको, क्रान्ति नगरी शान्ति मिल्दैन, वदमासलाई साँचन हुँदैन सिध्याउनु पर्दछ, सर्व समान हकवादको आवश्यक्ता ठानिएको छ, पहिला नेपाल अनि नेपाली, जस्ता क्रान्तिकारी धारणाहरू कृतिले समाएको छ ।
कुत कुते गीत (२००८), गीतमा व्याङ्ग तथा आलोचनात्मक कला) –कला मोहिनीले प्रकाशन गरेको, मूल्य कं रु पाँच आना मो.रु. ३० पैसा । कुत कुते गीत सर्व हिताय भएको कथन प्रकाशिका तथा संचालिका श्रीमती कलामोहिनी को छ । यस गीतमा पनि चार थरिका गीतहरू समावेश गराइएको छ ।पहिलो खण्ड कुतकुते गीत, दोस्रो खण्ड कुतकुते गीत, फाटफुट कुतकुते, झ्याउरे कुतकुते । पहिलो कुतकुते गीत १९४९सालका आखिरी दिनतिर कलकत्तामा लेखिएको र यो लेखनमा राणा कालमा राज्यमा भएका गरिएका क्रियाकलापको बारेमा व्यङ्ग प्रहार गरिएको छ । युवाहरूलाई गीत गाउन आह्वान गरिएको शाह राणा मिलेर राज्यलाई गुण्डाघरमा परिणत गरेको, प्रभु भनेर हामी बाँचन परेको, ठूलो बुद्धिबाट कामबाट बन्छ धनबाट होइन, सोझा हामीलाई पाएर १०० वर्ष राज्य गरे,यिनबाट मुक्तभई विकास गर्नको लागि अत्याचारबाट मुक्ति पाउन आह्रवान गरिएको छ ।यसमा कविले राणाकालमा गरिएक अन्याय अत्याचार विकृति विसङ्गतिलाई प्रष्ट्याउने प्रयास गरेका छन् ।
दोस्रो खण्ड कुतकुते गीत ११–५–१९५१मा कलकत्तैमा लेखिएको र यसमा शाह, राणा। काँग्रेस कालको राज्य सञ्चालन र विकृति र विसङ्गतिमा प्रकाश छरिएको छ । नेपालमा प्रजातन्त्र आयो भनी जानकारी लिंदा देशमा अराजकता बढेको, मौका छोप्ने हुल्याहाहरू लखपति बनेको, मुलुकमा लेखाइ पढाइ बढ्न आँटे पनि रीतिथिति भने विदेशतिर भागेकोले नेपालीपन लिएर उठ्न परेको, गोर्खादल जागेको, मोहन सम्सेरले सिंहदरबार छाडेको, गरिब काँग्रेश धनी बनेको, पूजीवादी सरकार बने धोकापर्न जाने, 'लोक जनको सेबा गर्न लायक हुनु पर्छ' नारीहरूलाई पनि लाली पाउडर दलेर घरमा बस्दा र संगठनमा जान छाडेमा पुरुष जातीले थिच्न छाड्ने छैनन् भन्दै नारीलाई जागृत गराउने, नेपालका सबै जाती साथी आदि विविध भावनालाई समेटेर सबैलाई क्रान्तिको लागि उठ्न आह्वान गरिएको छ ।
फाटफुटे कुतकुते – यस कुतकुतेमा पनि स्वदेश प्रेम लिई देशलाई उचालनु छ, नारीलाई उचाल्नु छ, मोटर चढेर हुँदैन डल्ला पनि फोर्नुपर्छ, खाने, बस्ने, लाउने, खाने बन्दोबस्त हुनुपर्दछ भन्ने जस्ता धारणा यस कुतकुतेमा लेखिएका छन् ।
कुत कुते झ्याउरे – नेपालको लागि जे देख्छु त्यही लेख्छु भन्दै कविले पेकिङ्गको संगत असल र दिल्लीतिरको सङ्गतलाई भने कुत्ता बिल्लीको संज्ञा दिइएको र क्रान्तिलाई पुरा गर्नुपर्नेमा लाग्न आह्वान गरिएको छ ।
मनको कुरो बुझि देऊ –(सम्वत २०१२) काशिका नेपाली, साथी एवं छात्रहरू प्रकाशन सहयोगी, प्रकाशिका कलामोहिनी, यस कृतिमा कृतिकारलले मेरा दुई वक्तव्यहरू (पहिलो २९ अषाढ २०१२ कान्तिपुर) दोस्रो ९ साउन २०१२ नागपञ्चमी) समावेश गरिएका छन् । यी दुवै वक्तव्यमा जनवादमा लाग्नु पर्ने, सरकारले वैज्ञानिक ढाँचामा काम चलाउन पर्ने, भ्रष्ट कर्मचारीको छानविन गर्नु पर्ने, हामी हिन्दू नभै नेपाली भएको र धर्म पनि सनातन भएको राष्ट्रभाषा हिन्दीबाट प्रभावित नभै संस्कृत ऋषिमुनी नागरी –जुन हिमालको मुख्य उपज अइउणलृटभन्ने महादेवको डमरूको आवाज हो)बाट प्रभावित भएको, अंग्रेजहरूले भारत र पाकिस्तानलाई सत्ता सुम्पेर जाँदा हाम्रो १८१५मा खण्डित नेपाल बारे पनि केही गनु, पर्ने, अंग्रेजले संयुक्त राष्ट्र संघमा आवाज उठाइदिनु पर्ने जस्ता धारणा आएका छन् ।
दोस्रो वक्तव्य –(९ सावन २०१२ नागपञ्चमी) यस वक्तव्यमा पनि राष्ट्रिय भावना जागृत गराउने सम्बन्धी, नेवारी भाषा सम्बन्धी, दलगत राजनीतिको गन्दगीमा नफसी देशलाई बचाउने जस्ता धारणा आएका छन् । यस कृतिमा समावेश गरिएका कवितामा पनि देशको मुहार धोइदिने, गाउँघर सबै सपार्ने, चिन र भारतसँग भाइको नाता लगाउने, युयनमा सिट लिने, सीमान्तसम्मको सम्बन्ध सम्याउने र गला मिल्ने जस्ता भावना पोखिएका छन् । कला मोहनको नामबाट लेखिएका कविता पनि समावेश गरिएको छ । शान्ति चाहियो क्रान्ति चाहियो, समयलाई हेरेर विश्वास लिएर अघि बढने, चिनका जनवादका कुरा, पनि यहाँ पोखिएका छन् ।
कलानाथका बारेमा केही कवि तथा उच्च पदस्थ व्याक्तिबाट लेखिएका केही धारणाहरू पनि यसमा समावेश गरिएका छन् –यस कृतिमा धर्मराज थापा, बलराम गोर्खा, राहुल संस्कृत्यायन, हेमङग विश्वासले कलानाथको व्यक्तित्व र कृतित्वमा पोखेका धारणाहरू पनि छन् । ती धारणालाई कलानाथको व्यक्तित्व र कृतित्वमा प्रकाश पारिने छ ।
एक होऊ (बिक्रम संवत२०१२) –यस कृतिको प्रकाशन सहयोगी पञ्जाव गोर्खा एसोसिएसन भाक्सु धर्मशालाका प्रधान मन्त्री श्रीमेजर सम्सेर सिंह महत हुनुहुन्छ, मूल्य २५ पैसा छ । यस कृतिमा कविता, भजन र गीत गरेर ७ वटा समावेश गरिएका छन् । यसमा दिएको मूल सन्देश यस कृतिको शीर्ष पंक्तिमा लेखिएको सरह नै देखिन्छ –'ॐ सत्यमेव जयते, गोर्खाली एक होउ, नेपाली एकतामा उठ,जाती प्रेम र भाषा प्रेमले परमात्मा प्राप्त हुन्छ' ।
"जितिया पावनी" (२०१६) यस कृतिकी प्रकाशिका श्रीमती कलामोहिनी, यसको मूल्य २।५० पैसा राखिएको छ । यो सचित्र जित बाहन क कथा चितौनका आदिबासी थारू जातिको पवित्र धर्म ग्रन्थलाई ऐतिहासिक संकलनको रूपमा प्रकाशनमा आएको भनिएको छ । यसमा योगी नर हरिनाथले सम्मति लेख्नुभएको छ । सम्मतिमा योगी नर हरिनाथले चित्रवन (चितौन)लाई ऐतिहासिक शासनकालको समृद्ध जनपद पछि दुर्गम सालघारी बनेको, ठाउँ ठाउँमा अलि अलि रैथाने थारुजातिको बस्ती भएको, श्रीजनकलाल शर्मा र कृष्णवम मल्लले राप्ती दून सानो पुस्तक लेखेको कलानाथले लक्ष्मी ब्रत (जितिया पावनी कथा)) लेखने प्रयास गरिएको र यसमा स्थानीय थारु भषामा लेखिएको पुस्तकमा चितवनका थारू जातिको धार्मिक कथा जस्को लिखित कथा फेला परेको छैनलाई अनुश्रुति आधारमा चितौनका स्थनीय थारुजातिको वर्तमान भाषामा लेखिएकोले चितौनका थारुजतिको जातीय परिचय दिने भन्ने धारणा राख्नुभएको छ ।
यस कृतिको भूमिका स्वय म कलानाथजीले नै लेख्नुभएको छ । जनताको आवाज बुलन्द गर्ने र नयाँ समाज बसाउने काम बखानसिंहबाट थालनी भएको, श्री५ महेन्द्रको उदयले जनताको प्रयास झन् विकसित भएको, बखान सिंह र उहाँका साथीहरूको २०११को सत् प्रयासको दुई वर्षपछि राप्ति दून बहुमुखी विकास योजना अन्तर्गत भरतपुरमा अड्डाहरू जमाई कचपचेमा श्री५ले नै आफ्नै बाहुलीले हलो चलाई यज्ञपुरी नाम राखी बहुमुखी विकास इलाका घोषित गरिएको, कलानाथ पनि २०१६मा चितवन झरेको, यहाँ झरेपछि चितौन औषधालयकी हाकिम श्रीमती कोमल कुमारी पन्तले थारुजातिका महिलाले मान्ने ब्रत जितिया पावनीलाई लेखेर प्रचारप्रसार गरिदिएमा लोप हुनलागेको संस्कृत बाँचने धारणा बमोजिम कलानाथले यो ग्रन्थ तयार पारेको धारणा राख्नुभएको छ । थारु भषामा लेखिएकोले यसको संक्षेपी करणा मैले गर्न सकिन ।
दिउल –यस कृतिमा समावेश गरिएको छैटौ कृति हो यो कृति कलानाथजीले विराट नगरमा २०२२सालको दशैमा शुभ कामना दिंँदै लेखेको देखिन्छ । यसको प्रकाशन कलामोहिनीले नै गर्नुभएको छ । यसमा १८ वटा कविता उसैलाई भन्ने भूमिका पनि समावेश गरिएको देखिन्छ । यस कृतिमा श्री५महेन्द्र बी.वी.शाहको महान आदर्शका प्रतिक भनी तस्विरको साथै श्री५को दीर्घायु कामना गर्दै कविताहरू लेखिएका छन् । धनलाई कसैलाई नपुग्ने, देशको पुकार सुन भन्दै जवानलाई उठ्न आह्वान गरिएको, भावनाका पुजारीलाई पूजा गर्न दिनु पर्छ, फूललाई ओइलाउन अघि लाउनु पर्छ, बालाजुको सुन्दरताको बर्णन, निदरीलाई बोलावट गरिएको, हाम्रा घरका कुकुरका छाउरा जस्ता व्यङ्ग कविता, टुकी आफै सल्केर उज्यालो दिने, म के होइन ? म पुतली हुँ, जुनकिरी हुँ, जाडो र गर्मी पढ्न पर्यो,गट्टा खेलौं जीवन जगतका धारणा, प्यार नछुट्ने, एसियाका सबै एक भएर शान्तिको प्यास जगाउने, नौलो प्यारको आग्रह, युग पुरुष महेन्द्रको साथ दिने धारणा, जीवनले कोल्टे फेर्ने धारणा यस कविता सङ्ग्रहमा पोखिएका छन् ।
कलानाथको व्यक्तित्व र कृतित्वको एक झलक
कलानाथ अधिकारीको व्यक्तिगत विवरण, यसै कृतिमा समावेश गरेका विभिन्न साहित्यकारको धारणा र यसै साहित्य गोष्ठिमा आएका धारणामा आधारित भएर लेख्ने प्रयास गरेको छु । हुनत चितवन समसामयिकद्वारा चितवनमा लेखनको स्वर्णवर्षको उपलक्षमा कलानाथ अधिकारीको विशेषाङ्क निकालेको हुँदा त्यसमा अवश्य पनि कलानाथको बारेमा धेरै जानकारी लिन सकिन्छ तर मलाई त्यस विशेषाङ्कको अध्ययन गर्ने भाग्य प्राप्त गर्न सकेको र्छैन ा अधिकारीले दिऊल कृतिको भूमिका(उसलाई)शीर्षकमा लेख्नुभएको छ – 'म आफूलाई थिच्न र लुकाउन हिच्किचाहन्छु त्यही नै कारणा हो मेरा रचनाहरूमा समय बोलेको हुन्छ' ( पृष्ठ दिउलको, २३ र २४) । हुनत लेखकहरूले समसामयिकतालाई सबैले समाएका हुन्छन् र त्यस समयमा देखिएका विकृति र विसङ्गतिमा प्रहार गरेका हुन्छन् तर मूल दर्शनमा नै परिवर्तन गरेको आभास भने कमैमा पाइन्छ तर कलानाथको यस कृतिमा भने पहिले राजाप्रतिको कडा धारणा र पछि गएर (२२ सालपछि) राजाप्रति राखिएको नरम धारणा अनुसन्धानको विषय बन्न पुगेको देखिन्छ । कृतिको अध्ययनमा उहाँको क्रान्तिकारी धारणा भने प्रष्ट देखिन्छ साथै लेखनमा सरलता, पहिले पस्केका धारणामा परिवर्तनता र भाषागत परिमार्जित बन्दै गएको देखिन्छ । अभिनन्दित व्यक्तित्वमा जगत श्रेष्ठले कलानाथ स्वाभीमानी भएको र क्रान्तिकारी आवाज उठाउने उन्को साहस भएको धारणा आएको, कलानाथले लेवर नगरको स्थापना गरेका थिए भन्ने धारणा राख्नुभएको थियो । यमुना प्रसाद न्यौपानेले कलानाथलाई बहुआयमिक व्यक्तित्व, साह्रै नै फूर्तिलो, जातीय समानता चाहाने (२०१८ सालमा लम्जुङमा कामीको घरमा भात खाएको उदाहरण), राजासँग मेघौलीमा दर्शन भेट पाएको, कलानाथकी श्रीमतीले हलोजोतेको र संयोगबस काठमाण्डौमा असिना परेको धारणा राख्दै कलानाथको प्रशंसा गर्नुभएको थियो । हरिबहादुर ढुङ्गना, दीपक सोती, गायत्री श्रेष्ठ र सरस्वती रिजालले पनि उपरोक्त घटनाक्रमको साथमा कलानाथका क्रान्तिकारी लेखनमा टिप्पणी गर्दै प्रशंसा गरेका थिए । समालोचक डि.आर. पोख्रेल, प्रा.डा.नारायणप्रसाद खनाल लगायतबाट उक्त कृतिमा क्रान्तिकारी भावना, देश भक्ति,पहिला राजाको विरोध, पछि राजाको गुणगान, जातीय समाजको विकास, जातीय समानता, नारी समानता, स्वच्छन्द भाषाको प्रयोग आदि धारणा आएका र कलानाथका लेखनको प्रशंसा दर्शाएका थिए ।
अब यस कृतिमा समावेश गरिएका साहित्यकारहरूको कलानाथप्रतिको धारणा पनि समावेश गर्न चाहन्छु।
राष्ट्र कवि माधव घिमिरेले लेख्नुहुन्छ–'अत्यान्तै प्रगतिशील व्यक्ति, जनहितको लागि, हरदम तयार, अत्यान्तै टाठो सम्भवत मेरो जीवनकै टाठो मानिस कलानाथजी हुनुहुन्थ्यो' ।
मधवराज सुमार्गी स्मृति कोषका अध्यक्षले लेख्नुहुन्छ –साहित्यमा फूल झैं कोमल, राजनीतिमा ब्रज झैं कठोर' ।
भैरव नाथ रिमाल "कदम"ले कलाका साधक कलानाथ शीर्षकमा लेख्नुहुन्छ –'व्यक्तिको कर्म नै उसको परिचय हो' । 'बहुमुखी प्रतिभाका धनी, उहाँ आफ्नै जीवनकालमा भूतपूर्व हुनु भयो । यो उहाँको बेग्लै परिचय हो' । 'कलानाथ अधिकारी नाम जस्तै कलाका साधक, साहित्यका पुजारी, समाज सेवाका अग्रणी, गायन सङ्गित र नृत्यका पारखी,, मजदूर–किसान वर्गका हिमायती थिए' । भैरव नाथजीले कलानाथका सामाजिक कार्यको विवरण, कलानाथले कलामोहन, कलाबोधी, बोधी, राहुल जस्ता छन्द नामबाट पनि लेख्ने गरेको, उनको सत्तासिनद्वारा ३ पटक सर्वस्व हरण भएको, नेपाली, संस्कृत, हिन्दी, नेवारी, थारु, बंगाली, चाइनिज, रसियन र अंग्रेजी भाषामा राम्रो दखल भएका व्यक्तिको रूपमा प्रकाश पार्नुभएको छ । भैरव नाथजीको लेखले कलानाथको व्यक्तित्व र कृतित्वमा स्पष्ट सन्देश प्रवाह भएको छ र २००२बाट २०२२ सालसम्म कलानाथका १६वटा कृति प्रकाशन भएको धारणा पनि राख्नुभएको छ ।
कलानाथ अधिकारी समृति प्रतिष्ठानका अध्यक्ष अरुण राज सुमार्गीले कलानाथको पहिलो कृति थारुहरूको जितिया पावनी धार्मिक ग्रन्थ, चितवनमा लेखिएको, कलानाथले चितवनमा लेवर नगर लगायत बस्तीहरू बसाएको र "चितवनको बाल्मीकि कलानाथ" भन्ने उद्घोष पनि चितवनबाटै गरिएकोले कृतिको विमोचन पनि चितवन साहित्य परिषदको प्राङगणमा गरिएको धारणा राख्नुभएको छ ।
धर्मराज थापाको धारण –(२३.३.०१२मा भैरहवामा) जनकवि केशरी धर्मराज थापाले कलानाथलाई आधुनिक गीतका क्रान्तिकारी कवि, धेरै नजिकको मित्र, उनका रचना, मार्मिक व्याकुल वियोगले छटपटीएका भरिएका हुने, पाषाण हृदयलाई पनि पगाल्न खोज्ने 'मिलनसार र सत्यप्रेमी उहाँका लिनु पर्ने गुण हुन्' भन्नुभएको छ ।
बलराम गोर्खा (नेहरू ग्राम ११–५–१९५५,प्रेसिडेन्ट गोर्खाली सुधार सभा देह्रादून)ले कलाकवि कलानथले नेपाली संस्कृतिक स्प्रिटलाई फैल्याएको, ठूलो सभामा चाख लाग्दो भाषण गरेको भन्दै उहाँले लेख्नु, हुन्छ – his songs and poetic composition were held in very great esteem. I have no words to express the prise, they worth".
राहुल सांकृत्यायन (महापण्डित) १७.४.५५ मंसूरी को धारणा – श्रीकलानाथ अधिकारी सुशिक्षित संस्कृत तरूण तथा नेपाली भाषा के अच्छे लोक कवि एव म सुन्दर गाएक हैं ।
मेजर सम्सेर सिंह महत धर्मशाला पञ्जावले 'एक होऊ' भन्ने कृतिमा एकताको भाव दर्शाउँदै जातित्वको अमरता, र पूनजागरणबाट प्रभावित भएको धारणा आएको (एक होऊ पृष्ठ २)छ ।
अतः कलानिधि अधिकारीले पस्केका यी ६ वटा कृतिमा विविधताले सजिएको पाइन्छ । कतै गीत छन् कतै कविता छन् त कतै क्रान्तिको आह्वान छ । क्रान्तिमा शान्ति खोजिएको छ । युवाहरूलाई जागृत हुने धारणा छन् । समानताको कामना, राष्ट्र, राष्ट्रियताको धारणाले सजिएका, कतै शासकको विरोध कतै शासकको समर्थन, कतै यथार्थवादी प्रस्तुति त कतै सनातन धर्मको विवरण, कतै पूजीवादप्रतिको आक्रोस, कतै साम्यवादको प्रशंसा, कतै आफ्नै वाद हुनु पर्ने धारणा, नेपालीपनलाई बचाउन पर्ने आदि धारणा भावना कविले छताछुल्य हुने गरी पोखेका छन् । स्वछन्द प्रबृतिका कवि कलानाथका यी राजनैतिक, धार्मिक, समाजिक, क्रान्तिकारी अभिव्यक्ति भएका कृतिकारको बहुआयमिकताको सम्बन्धमा अनुसन्धान गर्दै, लोपोन्मुखी कृतिको पुन प्रकाशन गर्दै कलानाथ अधिकारी स्मृति प्रतिष्ठानले प्रचार प्रसारमा व्यापकता ल्याओस् भन्ने आग्रह गर्दै कलानाथप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बिदा चाहन्छु ।
धन्यवाद
सदानन्द अभागी
सन्दर्भ सामाग्री
साहित्य गोष्ठिमा सहभागीद्वारा व्यक्त अभिव्यक्ति
क्लानाथ अधिकारीका कृति
२०७२ साल तीज
कावासोती नगर पालिका वडा नं–७ नवलपरासी
No comments:
Post a Comment