editor — Sun, 08/27/2017 - 22:01
परिचय
माधवप्रसाद चालिसेको जन्म वि.संस २०१४/१०/०६ सालमा पिता पंण्डित भवीश्वर चालिसे र माता पवित्रा चालिसेका पुत्ररत्नको रूपमा जैदी बाग्लुङ धौलागिरी अञ्चलमा भएको थियो । हाल माधवजी ॐशान्तिमार्ग गैडाकोट –५ नवल परासीमा आउनु भएको छ । साहित्याचार्य शैक्षिक योग्यता भएका माधवजी नेपाल संस्कृत विश्वविद्यालय कालिका र्संस्कृत विद्यापीठ गैडाकोट नवलपरासीको सहप्राध्यापकको साथै साहित्य तथा सिद्धान्तज्योतिषको विभागाध्यक्ष हुनुहुन्छ । माधवजीका पवनदूत –खण्डकाव्य डकाव्य (२०६३), साहित्य वाटिका –लक्षण ग्रन्थ (२०७१), महिमामयी धर्ती–कवितासङग्रह –२०७२ (रमास्मृति शोककाव्य सहित) र जीवनयात्रा महाकाव्य (२०७३) बजारमा आइसकेका छन् । माधवजीको परिचयको रूपमा मूल्याङकन गर्दा उहाँ एक सादाजीवनमा रमाउने र उच्च विचारका भावनाले ओतप्रोत व्यक्तित्व हुनुहुन्छ ।
कृतिको संरचना –
वविध छन्दलाई (लोकलय सहित करिब १५ छन्दहरू) अङ्गाल्दै माधवजीले एकहज्जार नब्बे श्लोकमा यस महाकाव्यलाई पूर्णता दिनु भएको छ । यस महाकाव्यलाई त्रिवेणी साहित्य परिषद्ले प्रकाशन गरेको छ र मूल्य ४७५/– रुपियाँ राखिएको छ । प्रा.डा.नारायणप्रसाद खनालको प्रकाशकीयको साथै वरिष्ठ कवि गोविन्दराज विनोदी र डा. नुरापति पोखरेल, डा. नारायण चालिसे र खिलनाथ सापकोटाका काव्यप्रतिको गहनता र शुभ कामना मार्फत यस महाकाव्यप्रति प्रकाश पारिएको छ ।
काव्य २८८पृष्ठको छ ।
महाकाव्यभित्र प्रवेश गर्दा – नेपाली साहित्यमा महाकाव्यको संख्या त्यति धेरै छैनन् । आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५)को रामायण (१९४४) नै पहिलो अनुदित महाकाव्य मानिएको छ । रामायण नै नेपाली साहित्यको पहिलो अनुदित महाकाव्य हो भन्ने कुरा प्रमाणित पनि भैसकेको छ तापनि सोध अनुसन्धानका क्रममा उदयानन्द अर्याल (१८१३–१८९३) को पृथ्वीन्द्रोदय (१८३०–१८४०)तिर रचित तथा २०६८मा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भएको देखिन्छ । देवीदत्त पराजुली (१९३०–२०१०) को कविता गुच्छाहार (२००५) यस पछि रेवतीरमण पराजुली (१९३३–१९९८) को विश्वजित लीला (१९६६), बैजनाथ जगन्नाथ सेढाई (१९४६–२००९)को चन्द्रमयूख भूचन्द्रचन्द्रिका (१९७०) । यसपछि २००१सम्म महाकाव्यको लेखनी भएको पाइँदैन । महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६)ले शाकुन्तल (२००२), सुलोचना (२००३), महाराणा प्रताप २००३), प्रमिथस (२०२८) र पृथ्वीराज चौहान (२०४९) गरी पाँचवटा महाकाव्य लेख्नुभयो । सोमनाथ सिग्द्याल (१९४१–२०२९)को आदर्शराघव (२००५), हरि अरविन्द (२००८)को वैवश्वरा विजय, आर.डी. प्रभास चटौत (१९९६)को प्रभास गीता, लेखनाथ पौड्याल (१९४१–२०२२)को तरुणतपसी (२०१०), गङ्गा गौरीको (अपूर्ण) (२०६३) बालकृष्ण सम (१९५८–२०६८)को चिसोचुलो (२०१५), देशनरेश (२०१७), राष्ट्रिय चरित्र (२०१७), कादम्बरी (२०४३) गोविन्दप्रसाद भट्टराई (१९६७–२०४३)को पृथ्वीमहेन्द्र (२०१९) भावना (२०२०), हरिहर शास्त्री (१९८०–२०३४) को उषा विनोद (२०२४), रम्भा (२०२५), धरणी (?),भरतराज मन्थलीय (१९८२–२०५८)को देवयानी (२०३९) र श्रुतिरौरभ (२०५८), पीताम्बर भोला (१९८९)(मङ्गल सुषमा (२०२२) शिवासन्तति (२०४२) र सारस्वतेय (२०४२), मोदनाथ प्रश्रित (१९९९)को मानव (२०२३) देवासुर सङ्ग्राम (२०३०) मोदनाथ शास्त्री (२००२) को भानु (२०२४), गुरुदक्षिणा (२०६२), ज्वलन्त नक्षत्र (२०६०), गणेशमान (०५८), आधुनिक ब्रह्माण्ड पूराण (२०६२) र तिलाञ्जली (२०६८), निरविक्रम प्यासी (१९९९)को दवला (२०२४), गुणराज उपाध्याय खनाल (१९७२–२०३१)को श्रीकृष्ण सन्देश (२०२९), भरत मिलन (२०२९) र शाह वंश (२०२०), जयदेव पौडेल (१९७४–२०४४)को गोरखा ख्यायिका (२०३३), उमानाथ शास्त्री सिन्धुलीय (१९७८–२०३५)को मकवानीवाला(२०३५), जगदीश सम्शेर राणा (१९८६) को नरसिंह अवतार (२०३७), लक्ष्मण शास्त्री (१९७४–२०४९)को धर्मराज युधिष्ठिर(?) दुर्गादत्त पौडेल(?)को श्रीस्वर्गद्वारी महाप्रभु चरित्र (?), गणेशबत्रहादुरखत्री (१९९२)को चमेली चन्द्र (२०३७) श्रीहरि फुयाल(२०१५)को आँसुको सङ्ग्रह (२०३६) र कर्मयोगी देवकोटा (२०६४), रामचन्द्र गिरी (सन् १९०५)को समाजदर्पण (२०३९), भरतराज पन्त (१९८६–२०६२)को दोभान २०४१), मोहन दुखुन (सन्१९४९)को मन्दाकिनी (२०४१ दार्जिलिङ), तुलसीराम कश्यप (१९९५(२०५४)को जन्मभूमि (२०४३,सिक्किम), आमा २०४५, सिक्किम) र मन्थन (२०५०, सिक्किम), भोग्यप्रसाद भण्डारी (१९८६–२०५३)को षडानन्द चरित्र (२०४३), पूर्णप्रसाद शर्मा (१९८०–२०४३)को त्रिवेणी (२०४३), वसन्तकुमार शर्मा नेपाल (१९८४)को विप्रलम्भ (२०४४), गौरीशङ्कर उपाध्याय (सन् १९५१)को शङ्कर (२०४४, भुटान), पवनकुमार खनाल (२०१६)को रामदास (२०४५) रमा (२०४५), विश्वप्रतिविम्ब (२०४५), र स्वदेशी सुमन (२०४८), भानुभक्त पोख्रेल (१९९३)को मृत्युञ्जय (२०४७), जागृतिराग (२०५६) र हिमवत्खण्ड (२०६४), चन्द्रप्रसाद ढुङ्गाना (१९७७–२०४९)को भीमयात्रा (२०४७), शैलेन्द्रुप्रकाश नेपालको जुनु (२०४८), अनामिका (२०५६)र डायना (२०६१), रामनाथ शर्मा खनाल (१९६६–२०६३)को पाण्डु (२०४९) र प्रजातन्त्रोदय (२०४९), रमेश खकुरेल (१९९९)को सरिता नानी (२०४९) र स्रग्धरा (२०५९), लक्ष्मीप्रसाद पोखरेल (१९७२)को वेनवैन्यवर्णन (२०४९) डा. रामप्रसाद ज्ञावली (२०२४)को औंसीका फूलहरू (२०५३) र स्वप्नदृष्टि (२०७४,जेठ), ऋषिप्रसाद खनाल (२०२०)को आर्यावर्त (२०५१), गोपीकृष्ण अधिकारी को गङ्गा (२०५५) र भावना (२०५७), मदनदेव भट्टराई (१९९५)को जीवनस्मृति (२०५२), पूर्णानन्द भट्ट (१९९०)को शान्ति विज्ञान (२०५३), चन्द्रप्रसाद न्यौपाने (२०२४)को सोल्मू (२०५३), प्रत्याघात (२०५५), सीमाना (२०५८), गौतमबुद्ध (२०५९), सिपाही (२०६१), मान्छेको यात्रा (२०६१), म (२०६२), आकास्मिक (२०६५) र चन्द्रयुग (२०६५), प्रा. ठाकुरप्रसाद आचार्य (२००५)को यात्रा (२०६२), इन्दुपन्त (२०१४)को यातना (सचित्र), ओमवीरसिंह बस्न्यात (१९९५) को पासाङ ल्हामु (२०५४), सेवासैनिक झपट (२०५६), पृथ्वी (२०५८) भानुभक्त (२०६१) र चक्रपाणी (२०६३), कृष्णप्रसाद आचार्य (१९९१) को निजानन्द दिग्दर्शन (२०५५), भूवनहरि सिग्देल (२०१०)को धरणीधर (२०५५), मेनुका (२०५७) र विभूधरा (२०६१), सावित्री सङगम थापाको जीवनधारा २०५५), पूर्णप्रकाश नेपाल 'यात्री' १९९१(कोव सन्तपल्लव (२०५५), सिंजापतिवाला (२०५७), सिद्धिचरण सञ्चरण (२०६०), र उलूपी (२०६५), तारणीप्रसाद कोइराला (१९७९–२०३१)को नैनी (२०५६), नारायणप्रसाद उपाध्याय अर्यालको त्रिजन्मा (२०५६), दुर्गाप्रसाद अधिकारी (२०००) को बालागुरु (२०५६), ऋषिराम न्यौपाने (१९९५)को पुष्पाञ्जली (२०५७), पोषराज पौडेल (२००१)को शहीदगाथा (२०५७), प्रा शिवगोपाल रिसाल(२००१)को पद्मकन्या (२०५७), नरेन्द्र पराशर (२०५७)को गौरीशङ्कर (२०५८) जीवराज पोख्रेलको शिक्षक शिष्य संवाद (२०५८) र बुद्धचरित्र (२०५९) नारायणप्रसाद पौडेल (?)को गौरीश्वर (२०५८), कुलचन्द्र कोइराला (१९७४–२०५८)को भीमसेन थापा (२०५९) गोविन्दप्रसाद घिमिरे (२००७)को प्रेरणा २०५७), युगनायक (२०५९) मृत्युचक्र (२०६०) र परिचय (सन् १९९८), डिल्लीजङ्ग गुरुङ (१९६१–२०२१, नेपाली तुलसी रामायण(२०५७), प्रा.डा. रमेशचन्द्र अधिकारी (२०११)को पद्म दुर्गा (२०५३) र सीतायन खण्ड, (१–११) (२०५५–२०६७), भीम बिराग (१९९१–२०६८)को मोहभङ्ग (२०५९), डा. कृष्णप्रसाद आचार्यको केवलमान (२०६०) र अन्त्यारम्भ (२०६१), बुनु लामिछाने (२०३१) को याचना (२०६०) र विद्रोही इन्द्रकुमारी (२०६४), माधव वियोगी (२०१८)को छन्दशिरोमणि (२०६०), धर्मराज (२०६१) जगदम्बा (२०६२), जुरेली (२०६३), पुष्पलता (२०६४) र नाट्यसम्राट (२०६७), सोमराज अभय कट्टेल (१९९८)को विद्रोही काले (२०६५) र महार्चन, खेमनाथ दाहाल (२००९)को योद्धा (२०६०), श्वेतपत्र (२०६७), सदानन्द अभागी (२००३)को तीन युग एक कथा (२०६०), अग्निज्वाला (२०६१) र सिंहवाहिनी (२०७३,) भूषण हुमागाइको तथागत (२०६१), काशीनाथ न्यौपाने (२००८)को विरजा (२०६२), नारायणप्रसाद गौतम (२०१७)को कुमारगौरब (२०६२),गौरीवल्लभ (२०६३), रमेशचन्द्र (२०६४) र भवानीवैभव (प्रकाशोन्मुख), गुन्जमान विश्वकर्मा (२०१९)को विष्णु भगवानको महावाँणी (२०६२), होमनाथ पौडेल (हिमांशु,२००६)को विभूति दर्पण (२०६२) होमनाथ सुवेदी (२००४)को यो समाज, डा.गणेश कुमार पौडेल (२०१०)को सुङ्गुरको महिमा (२०६७), निलकण्ठ भट्टराई (२०१४)को महामानव (२०६३), रामनाथ अधिकारी सँगी(२००६)को श्रीस्वस्थानी (२०६४), मनिराज (२०६५), र बलराम (२०६६), छन्दिका घिमिरे (२०४२)को आदर्श पूष्पा (२०६४) जनार्दनशरण त्रिपाठी (२००४)को नेपालश्री (२०६४), हरिहर सविता (२०१०)को पुष्पपत्र (२०६५) कलानिधि दाहालको विभाजित विश्व (२०६५), छन्दमणि त्रिपाठी (२०४४)को नयाँ नेपाल (२०६७), नारायणप्रसाद पोखरेल (२०२०)को अमर गाथा (२०६७), भूपेन्द्र सुवेदी (१९९५) को मङ्गला (२०६७), विष्णु भण्डारीको (उत्सर्ग (गद्य–२०६७), ईश्वरी ओझा (१९९६)को अभिभारा (२०६८), नवराज लम्साल (२०२६)को कर्ण (२०६६), वसन्त बराकोटी (२००४) को मुक्तिसङ्ग्रह (२०६८) प्रा.डा. वासुदेव त्रिपाठी(१९९०)को लोकलज्जा (२०६८) र तनहूँ (२०६९), भीमकुमार श्रेष्ठ को बन्दीपुर (२०६९), रचनाकार ?, परलोकतन्त्र (२०६९), डा. वेणीमाधव ढकाल (२००५)को रश्मिप्रभास (२०६९), मनिराज जोशीको शैलेश्वरी (२०६७), मोहनप्रसाद खनालको यात्रा (२०६७), गोपाल अस्क (२०१८)को प्रेमान्तर (गजल महाकाव्य, २०६२), कृष्णादेवी शर्मा श्रेष्ठ (२००९)को क्रान्तिकारी विश्वेश्वर (२०६९) प्रह्लाद प्रधानको खोटाङको डायरी (२०६१) लकास पौडेलको शौर्यगाथा (२०७०) श्रमजीवी यात्री (२०२५)को हिमालपारी (२०७१),माधवप्रसाद चालिसे(२०१४)को जीवनयात्रा (२०७३) र नवराज पाण्डेय 'चातक'(२०२१)को कालीगण्डकी(२०७४), आदि महाकाव्यहरू प्रकाशमा आएका छन् । महाकाव्यको संख्या धेरै नभए पनि उपरोक्त संख्याका मात्र महाकाव्य हुन् भनेर किटानी साथ भन्न सकिदैन ।
कृतिको संरचना – कृति १५ सर्गमा सिर्जित छ । यसमा १०९० श्लोक छन्, २८८ पृष्ठ,साथै त्रिवेणी साहित्य परिषद, नवलपरासीद्वारा प्रकाशित यस कृतिको मूल्यय ४७५।– रुपियाँ राखिएको छ ।
यसमा प्रा.डा. नारायणप्रसाद खनालको प्रकाशकीय, वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, सहप्राध्यापक डा. नुरापति पोखरेल, यस काव्यका समीक्षक लेखनमा डा. नारायण प्रसाद चालिसे, काव्य लेखनमा उत्प्रेरणकर्ता खिलनाथ सापकोटा साथै महाकविको आफ्नो भनाइलाई पनि समावेश गरिएको छ ।
यस काव्य एव म महाकविप्रति विभिन्न साहित्य कारले राखिएका धारणाहरू —
यस कृतिको प्रकाशकीयमा डा. नारायणप्रसाद खनालले यस महाकाव्यप्रति
".. यसरी सरलतम शान्तरस –प्रधान, भावध्वनि, अलङ्कार, रीति–वृत्ति–प्रवृत्तिले परिपूर्ण तथा महाकाव्यका गुणगौरव सम्पन्न प्रस्तुत यति महत्त्वपूर्ण विविध छन्दोवद्व १०९० पद्य भएको" (पृष्ठ ६), भन्ने धारणा राख्नुभएको छ । 'जीवनयात्रा महाकाव्यको विहङगावलोकन' शीर्षकमा वरिष्ठ छन्देली कवि गोविन्दराज विनोदीको धारणा यस प्रकार छ –"प्रस्तुत महाकाव्य अलङ्कार वैविध्य, रस वैविध्ययुक्त छ । शब्दालङ्कारको साथै अर्थालङ्कारको सुन्दर प्रयुक्ति यसमा पाइन्छ " (पृष्ठ १२) । 'कवि माधव चालिसे र उनको जीवन यात्रा'शीर्षकमा सहप्राध्यापक डा. नुरपति पोखरेल लेख्नुहुन्छ– "...जीवनयात्रा एउटा सफल कृति हो र नेपाली साहित्यको महत्त्वपूर्ण उपलब्धि हो " ।
सहप्रा.डा. नारायण चालिसे – यस काव्य प्रति यसप्रकारको धारणा राख्नुहुन्छ –"समग्रमा काव्यको बान्कीमा जीवनका यथार्थहरू समेटिएको यो कृति जीवनको उपन्यास पनि हो ।" साथै "जीवनको पुस्तकमा नपढिएका पानाहरूतर्फ आकर्षित गराउने काम गर्दछ भन्ने बोध पनि यो काव्यले गराएको छ ।" यसरी नै खिलनाथ सापकोटाले यस काव्यलाई जीवनको विवेचना को रूपमा लिनु भएको छ । महाकाव्यकारले यस महाकाव्यमा आफ्नै जीवनका यथार्थ भोगाइहरू रहेको धारणा राख्नुभएको छ ।
महाकाव्यको सर्ग सार – प्रथम सर्गलाई हामीले मङ्गलाचरण, जैदी गाउँको प्रकृतिक वर्णन र विद्वान गुरुको यस क्षेत्रमा पुर्याएको योगदानको बारेमा वर्णन गरिएको छ । मङ्गलाचरणमा–
ती मायेश्वर हरून् हृदयको अज्ञान जालो सब
यात्रा जीवनको गरून् सफल यो ज्ञानाक्षिले गौरव
(श्लोक १,पृष्ठ ५९)
साथै कविले श्लोक दुईमा 'भाषा'को पनि आराधना गरेका छन् ।
मायेश्वर, ज्ञानाक्षि र भाषाको आराधना गर्दै कविले जैदी गाउँको सुन्दरताको वर्णन गरेका छन् । कृष्ण तटको माथि रम्य रसिला, भूश्वर्गको मन्दिर,उच्च हो जस्तो लाग्ने, त्यहाँबाट उच्च हिमशैल्यले नेपालको गौरव बढाएको, रसिला वनकुञ्ज जैदि गाउँ विकृति र विसङ्गति विहीन, यहाँको संस्कृतिमा विविधता भए पनि हिन्दू धर्म संस्कृतिको आदर्शमा प्रवलता, राष्ट्रिय भावनामा प्रचुरता, आदिको मानिसमा शिष्टता, नम्रताले सुसम्पन्न भए पनि शिक्षामा कमि भएबकोले युवाहरू उच्च शिक्षा आर्जन गर्न विदेश पलायनको अवस्थामा एक जान विद्वताले पूर्ण, धैर्य, साहस, उत्साह, परोपकारी, समाजका खम्वा, ज्ञानमा ज्योत्स्ना, साहित्यका मर्मज्ञा, सङ्गीतका तत्त्वज्ञा, निया निसाफमा न्यायाधिस, वेदको साङ्गोपाङ्गो लगाउन सक्ने उच्च व्यक्तित्व शिक्षकको आगमन हुन्छ र उनी यस गाउँका व्यक्तिको व्यवहारबाट प्रभावित भएर जिज्ञासा थप्नेकाम गर्दै अघि बढ्ने क्रम जारिरहन्छ । यस सर्गमा केही दार्शनिक अभिव्यक्ति पोखिएका श्लोकका उदाहरणा पढ्यौं –
मान्छे मानव बन्छ सद्गुण सिकी बन्दैन त्यो जन्मले
ठूलो बन्छ विचार माझिन गए, बन्दैन त्यो जातले
मान्छे नै वरदान हो प्रकृतिको सत्कर्म गामी हुने
त्यो नै हो अभिशाप विश्वभरिको दुष्कर्ममा लम्कने
(श्लोक ४८, पृष्ठ ६८)
संसार कस्तो छ भन्ने सन्दर्भमा कवि भन्दछन्– "जोजस्तो मनभित्र भास्तछ उही उस्तै छ संसार यो" (श्लोक ५०, पृष्ठ ६९) ।
यहाँ (ज्ञानी गुरु) सुपात्रको तुलना अति उच्चरूपमा लिएको पाइन्छ । अत सुपात्रले दिने ज्ञानलाई गाउँलेले सुन्ने उत्सुकता जनाएकाले आगमी सर्गमा सुनाउन र सुन्न तत्पर रहेको धारणाको साथमा यस सर्गको समाप्ति भएको छ ।
सर्ग दुई –यस सर्गमा गुरुले ग्रामिण बासीहरूका जिज्ञासा मेटाउनको लागि यस देशको दुवैतिर ठूला देश भए पनि आफ्नै माटो, श्रम सिपबाट यहाँका जनता हिमाल सरि आफ्नो स्वाभीमानमा उभिएका छन् । यस सर्गमा महाकाविले नेपालका अधिकाम्स नदीनाला, धौलागिरी, माछापुछर्े, सगरमाथा लगायत वन चुरेपर्वत माला, तराईको समथल भूमि, अन्नको भण्डार आदिको वर्णन गर्दै, मेची काली बीचको जमीन नेपालीको मुटुको ढुकढुकी भन्दै, कविले यस क्षेत्रका तीर्थ स्थलहरू (देवघाट आदि) को वर्णनको साथै भरतपुरको दक्षिणमा रहेको प्राकृतिक सौन्दर्यपूर्ण माडीमा कविको कलम पुग्दछ । कविले भन्दछन् –'माडी साँच्चै प्रकृति –बीचको स्वर्ग हो दिव्यधाम' । माडीको सौन्दर्यताको वर्णन गर्दै छविरमण शास्त्रवेत्ताका जेष्ठपुत्र लक्ष्मीकान्त सापकोटा (शास्त्री)सँग पढ्न आउने एक जना रवि भन्ने विद्यार्थी र कवि शास्त्री गुरुका भाइमा गुरुकुल शिक्षाबाट औपचारिक शिक्षा हाँसिल गर्नको लागि दुवैजना माडिबाट भरतपुर हुँदै यिनीहरू हरिद्वार, भगीरथीको तटमा रहेको बुलन्द सहरम पुग्ने भनी हिडे पनि त्यहाँ पुग्न नसकी बास बस्न परेको र भोलिपल्ट भागीरथकैतिरको रामघाटमा आश्रय पाएको धारणा यस सर्गमा आएको छ । कविले नेपाल देशका भौगोलिक विवरणहरू, नेपालीले भारत प्रवेश स्थानमा पाउने छलकपट ग्रामिण क्षेत्रबाट सहरी क्षेत्रमा प्रवेश गर्दा प्राप्त हुने आधुनिकता विकृतिहरूको आभास आदि यस सर्यमा सहजसँग पस्केका छन् । गुरुकुल शिक्षादेखि औपचारिक शिक्षाको लागि नेपालमा सुविधा नभएको र विदेश जानु पर्दा घर छाड्दाको पीडाको अनुभूति, भाषगत समस्या, बाटोमा देखिने प्राकृतिक सौन्दर्य,विकासको साथै विकृतिको आभा सीमानाका लगायत विविधखाले समस्या भोग्न पर्ने यथार्थतालाई रवि र कविले व्यहोरेको धारणा सरल रूपमा प्रस्तुत गरिएको छ ।
तृतीय सर्ग – यस सर्गमा लामो यात्राबाट थकित रवि र कवि निदाइरहेको अवस्थामा प्रातकालमा जगन्नाथद्वारा सिर्जित गङ्गा लहरीको मधुर ध्वनिको स्वरले निद्राबाट उठ्दछन् । गङ्गा लहरीमा गङ्गाको स्तुति गरिएको छ । गङ्गाको पाप हरण गर्ने, शिवजीको जटालाई पखाल्दै झरेको गङ्गाजलले मनको मयल र सन्ताप हर्ने आदि भक्तिभावलाई प्रकट गरिएको छ । गङ्गा लहरी काव्यकारको आफ्नो सिर्जना नभए पनि कविको भाषा रुपान्तरण (अनुवाद) क्षमतालाई दर्शाएको छ । यहाँ कवि र रविको कानको मार्गद्वारा पीयूष धारा हृदयभरि भित्रिए र अणु आणु नस छामी सिञ्चए अङ्ग अङ्ग भन्दै यस सर्गको इति भएको छ । यस सर्गमा गङ्गाको शीतलता, पवित्रताको साथै धार्मिक महहत्वलाई काव्यकारले महत्वको साथमा उठाएका छन् ।
चतुर्थ सर्ग –यस सर्गको प्रारम्भ, "उदायो गङ्गाको स्तुतिसँग उषाको अरुणिमा" श्लोकबाट प्रातकालको उदय हुनु, अन्धकारको राज्य विफल भएको, ऋषि ब्रह्मज्ञानी, द्विजवर, तपोनिष्ठ जनले जपतप गर्ने धारणा राख्दै, गरिएको छ । गङ्गाजलको पवित्रता, विद्यालयका गतिविधि (दया, र्मैत्री, श्रद्धा, यम, नियम, गुरुवचनको पालना, ज्ञानी गुरु आदि) पुराना र नयाँ विद्यार्थी बीचको समन्वय, रवि र कविको जिज्ञासा पनि उदाएको, न्यून संख्यामा नेपालीरहेको विद्यार्थीको सुविधाको सुसव्यवस्था, वातावरणले गर्दा रवि र कविको धारणा यस सर्गमा बढेर गएको भनिएको छ । यस सर्गमा शरद ऋतुको वर्णन, दशैंको आनन्द, भवानीको पूजा, शिवको पूजा, समता हुँदा हुँदै पनि पूजामा विषमताले स्थान लिएर वातावरण धमिलो भएता पनि पूजा राम्रोसँग गरिएको, मानव जीवन सधैं एकनासको नहुने, दिन र रात जस्तै हुने भएकोले रवि र कविले पनि सङघर्षमय जीवन बिताउनु परेको र केही काल पहिला कवि अलगिएका र रविले सङ्घर्षको रूपमा अध्ययनलाई अगाडि बढाएको भागीरथीको तटमा रहेर नेपाली विद्यार्थीले गरेको काम के कति सम्झनामा आयो अटाइयो भन्दै यस सर्गको इति हुन्छ । यस सर्गले रामघाटको धार्मिक वातावरणको प्रस्तुतिको साथै धार्मिकस्थानमा पनि दुर्जनहरूको उपस्थिति पाइने तर सही सत्यकर्मका अघि टिक्न नसक्ने अर्थात सत्यको जित भएको लगायतका नेपाली विद्यार्थीको सुझबुझको कुरा पनि प्रवलताका साथमा उठाइएको छ ।,
पञ्चम सर्ग–यस सर्गमा शरद् ऋतुको सौन्दर्यता, जगत् रमणियताको वय ढल्किदै गएर शिशिरको आगमन, हिम वात तुषारपात आदि वर्णनको साथमा यो सर्गको आरम्म हुन्छ । रवि नौलेसमाज कुनै चिनजान नभएको स्थान वाराणसीमा अति कष्ट भोग्दै पुग्दछन् । रवि मिारी हुन्छन्, हतासिन्छन् पनि, शिवजीको स्थल भए पनि यहाँ कुकर्म गर्ने राक्षसको कमी थिएन रविले यस्तो स्थानमा पनि दुःख कष्ट भोग्दै गोरक्ष नगरमा पुग्नु त्यहाँ पनि वितरा पर्नु, उन्नति श्रीप्राप्त गर्न नसकी बुलन्द पुग्नु, त्यहाँबाट पुन वाराणसी हुँदै दिल्ली पुग्नु, उनको यात्रा दिल्लीमा पनि दोव्वर कष्टमय भए पनि कर्तव्य कर्म पथमा दृढ रहँदै भव्य देवालयले युक्त सन्यास आश्रममा पुग्नुयहाँ सुखानुभूतिको महसुस हुनु, यहाँको विविध अनुभूति सङ्गाली वृन्दावन स्थ मुरलीधरको दर्शनको लागि प्रस्थान गर्नु, गोवर्धन पर्वतको पौराणिक सन्दर्भको वर्णन,ब्रह्म विद्यामन्दिर महाविद्यालयमा प्रवेश र अध्ययन, यहाँ रविले जीवनका विविध भोगाइलाई भोग्दै हाँसो र आँसु रहेछ जीवन कथाको अनुभूति गर्दै भोलि सुदूरको यात्रा गर्नु छ भन्दै गन्तव्यलाई खोज्दै सुन्दर आशालाई लिएको धारणा यस सर्गमा लिदै यो सर्गको अन्त्य भएको छ ।
षष्ठ सर्ग – साथीबाट छुटेपछि रविले चातक बनेर आकाशतिर हेरे र सुख दुःखमा उन्ले अस्पष्ट पाए छवि भन्दै यस सर्गको थालनी गरिएको छ । रविको यो अवस्थाा रहँदा कवि भने गोरखनाथको शरणमा पुगेर (गोरखपुरमा पुगेर) आफ्नो छविलाई पढेर उज्यालो पारेको वर्णन आएको छ । यहाँ कविलाई नेपाली विद्यार्थीको सान्निध्यताले झनै उत्साह बढाएको छ गुरुहरूको शिक्षाले निकै प्रकाश छरेको छ । त्यहाँको वातावरण, विकाश, धर्म, संस्कृति, सामाजिक उन्नतिले कविमा प्रभाव पारेको छ । अध्ययन समाप्त गरेपछि कवि पहाडी क्षेत्रमा शिक्षाको ज्योति बाल्ने उद्देश्य सहित मादीको तटको व्यास गुप्फा जहाँ वेदव्यासको जन्म भएको थियो रमणिय स्थल हुँदै थर्पु खैरेनी, उदेन्ढुङ्गाको यात्रा गर्दै, त्यहाँको प्राकृतिक सौन्दर्यताको अवलोकन गर्दै,त्यहीको स्कुलमा अध्यापक बनेको,अध्यापन र सामाजिक योगदानमा उन्को लोकप्रियता ज्योत्स्ना बनी फैलिएको र ताराबनी चम्किएको । जसरी कृष्णलाई गोप र गोपाङ्गनाले घेर्दथे त्यसरी नै कविलाई छात्र छात्राले घेर्दथे । मालतीसँग कविको सामिपत्य बढ्दै जान्छ । कविको साहित्यको प्रस्तुतिले सबै मुद्ध बन्दै जान्छन्, सबैका कामलाई सहयोग पुर्याउँदै जाँदा उनको श्रद्धा बढ्दै जान्छ । कवि मालतीको सहयोगको साथै रविको खोजी गर्दै पहाडबाट फर्केको धारणा पस्किदै यो सर्ग समाप्त भएको छ ।
छैटौं सर्गमा काव्यकारले गोरखपुरको मठ मन्दिर तथा धार्मिक वातावरणलाई अति मीठोरूपमा प्रस्तुत गरेका छन् –
काली, भैरव, शीतला र हनुमान् नानाथरी मूर्तिमा
साक्षात् ईश्वर भावभक्ति गहिरो बढ्दै गयो चित्तमा
साच्चै स्वर्गपुरी झरिन् अवनीमा आए कि यी देवता ?
जे चाहिन्छ थरीथरी सब यहीं पाए कि सम्पन्नता ? ्
(श्लोक १२, पृष्ठ १३७)
यसरी नै कवि तनहुँको व्यास–गुफामा पुगेर व्यास गुफालाई प्रकृतिको भण्डार भन्दै वेदव्यासको महिमा र प्राचिन संस्कारलाई पस्केका छन् ।
सप्तम सर्ग–बृन्दावन (लीलामय भूमि)का सुन्दर कथा, श्रीकृष्णको कीर्तन लगायत सम्पूर्णलाई मुटुमा राख्दै ज्ञान आर्जन गर्न बसेका रविलाई आमा बुबा र जन्म भूमिको हिमाली हवालाई सम्झि घरतिर(नेपालतिर) लागेको पधारणा सहित यो सर्गको थालनी भएको छ । रवि कल्याण पुरी(घर)मा फर्कन्छन् । घरमा फर्कँदा उनी बसिष्ठको गोत्रका भएकाले सर्वप्रथम बसिष्ठको पूजा गरेर वंशपरम्परालाई बढाइदेऊ र कल्याण गर्देऊ भन्दै आशीर्वाद माग्दै घरमा प्रवेश गर्द छन् र आमाबुबा, भाइबहिनीको साथमा मिलन हुन्छ । रवि केही दिन घरमा बस्छन्् र जागिरको खोजीमा पूर्वी पहाडतिर निस्कन्छन् बाटोमा निकै कष्ट भोग्दै, प्राकृतिक सौन्दर्यतालाई पान गर्दै, रामगुरुकोमा पुगेर हर्दिकता साट्दै लक्ष हाँसिल गर्नको लागि अघि बढ्दै दोरम्बा पुग्नु, दोरम्बामा पढाउने भनिएकोमा प्रअको छलकपटले मझुवा जिशिअसँग जाने भनी जिशिअसँग पठाएको र जिशिअको स्वार्थ पेरित गफबाट दिक्क मान्दै, रामेछाप बजार, सालु, हिले, सैपू, ठोसे घुम्दै पुन ः माडी फर्कन्छन् । माडीबाट धेरै चक्कर खाँदै, धर्मर हुँद,ै उनी पुन रामेछापतिर रमाना हुँदै भलुवाजोर प्रा.निलमणि ढुङ्गानाका पिता पं. चन्द्रप्रसादको घरमा बास बस्न पाउनु, यहाँ सद्व्यवहारको साथै हरिकथा, साहित्य–प्रणयी पण्डितले कविता काव्य, प्राचिन सभ्यता, भीम यात्रा आदि शास्त्रीय चर्चा गरी रविलाई आनन्द दिए । यस पटक भने केही दिनको लागि रवि शिक्षण पेशामा लागे पनि यात्रा सिद्धिएर होला रवि पश्चिमको यात्रामा लागे माडीपुगी पुन खिलनाथ कविको सङ्गतिमा उत्तरको यात्रामा तनहुँको दुले गौडामा गएर उत्रिनु, यहाँ राइपुरतिर लागेर हेमचन्द्र गुरुको साथ पाउनु साथै यहाँ केही समय अध्यापनमा सहभागी भई अध्यपनको कार्यमा जुट्दा मग्यम, भानुमती, राङ्रुङ भीम्वाँध, खैरेनीटार, किहूँ आदि स्थानको भ्रमण पनि गरे, यस क्षेत्रका समाजमा पूजाको नाममा पशु वली गर्ने चलन र मासु, रक्सी,बाटै अतिथिको सत्कार गर्ने कर्ममा भने रविलाई मन नपरेको तर अप्ठयारो स्थितिलाई सहन गर्नु परे पनि रविले त्यहाँ छवि रामै्र बनाएको धारणा आएको छ । पुन उनी जानकी चरणमा पुगेको धारणाको साथै यस सर्गको अन्त्य हुन गएको छ । यस सर्गमा काव्यकारले प्राकृतिक सौन्दर्यता, सामाजिक स्थिति, शिक्षाको स्थिति, विकासको कर्म, त्यसक्षेत्रका, खेतीव्यवसाय, धार्मिक कर्म आदिलाई प्रष्टरूपमा प्रसतुत गरेकाछन् । रविको शिक्षाप्रेमी भावना र सङ्घर्षमय जीवनको यथार्थतालाई प्रकाश पारिएको छ ।
अष्टम सर्ग –
्उल्लास रङ्ग रमितामय लोक पारी
आयो वसन्त जगमा मनमोह कारी
भन्दै अष्टम सर्गको थालनी हुन्छ । यो सर्ग कविको जीवन यात्रासँग सम्बन्धित देखिन्छ । वसन्तको कारणले गर्दा सबैतिर आनन्दको अनुभूति हुनु प्रेमरसमा लोभिनु, नयाँ नयाँ पल्लवहरू पलाउनु,उत्कृष्ट केली–रसमा जगतै डुवेको देख्दा मालतीमा कुतकुती लाग्नु, चसक्क मुटुमा छुनु, कविसँग गएर अङ्रकमाल गरुँ गरुँ जस्ता मालतीमा क्रियाकलाप विकसित हुन्छन् । सुमधुर स्वरका कविताको धुनले मालती प्रभावित हुनु, कविप्रति प्रेमाकर्षणले गर्दा, अति प्रभावित हुँदै कविमा नै लिन हुन चाहन्छिन् । मालतीले कविलाई घरमा बोलाउँछिन् । प्रेमपूर्वक वार्तालाप हुन्छन् । मालतीका प्रेमभावलाई कविले बुझ्दछन् र उनी पनि आकृष्ट त हुन्छन् तर आफ्ना चञ्चल इन्द्रियलाई नियन्त्रण गर्न चाहन्छन् र मालतीलाई परमँपरित मर्यादाको पालन गर्नको आग्रह गर्दछन् र रातमासँगै बस्न हुँदैन भन्ने धारण यसरी राख्दछन् –
जाऊ सुत्न निछ्याम्म रात्रीबीचमा एक्लो म एक्ली तिमी
साथै बस्न हुँदैन व्याकुल बनी नौनी म आगो तिमी
सारा बुद्धि विवेक गुम्छ, यसमा बाँधिन्छ यो जीवन
पर्दा नैतिक चोट सङ्कट यहाँ बिग्रन्छ दैनन्दिन
(श्लोक ९० पृष्ठ १७७)
तर मालतीले तिमीलाई कसैगरी भुल्न नसक्ने,तिमी जे बन्दछौ म त्यसैमा लिन हुन आउँछु भन्दै दुवैमा लामो प्रेम बहस हुन्छ । कवि पनि पग्लिन्छन् । दुवैले प्रेम भावलाई पोख्दै जाँदा प्रणयसुख मिलेका रात पनि छोटा भएको महसुस हुनु, भेट नहुँदाका रात अति लामा भएको महसुस हुनु आदि प्रणय घटनाक्रमका मार्मिक भावनाहरूलाई काव्यकारले सफलताको साथमा प्रस्तुत गरेका छन् । प्रेममा आशक्त भनेको लोहा र चुम्बकको संज्ञा दिएको छ । शिवले सतिको हात मागेको, रघुवर सीताको समिप पुगेको, हरि र राधिका भेटका कुरा, गीत पनि समावेस गरिएको, मालतीको परीक्षा समेत कविले लिएको घटना मालतीले कविलाई नयन–वाण वर्षाएर पराजीत गरेको भाव पोख्दै यो सर्ग समाप्त भएको छ । गीत समावेश गरेर काव्यकारले यस सर्गलाई अँझै रोचक बनाएका छन् ।
नवम सर्ग – एकान्त मनोविनोद आनन्ददायी भएको चाहेकै परिवेशमा प्रणयको गङ्गा बहेको,"प्रेमीको अनुकुल केलि–सुखमा ईष्र्या झरेझैं गरी पोख्दै राग चढिन् उषा गगनमा सर्वत्र रातो छरी" धारणा राख्दै यस सर्गको थालनी भएको छ । मालती र कविमा प्रेमको रस गाढा बन्दै जानु, ओठ नचले पनि आँखाबाटै कुरा हुनु, प्रणयको बन्धनबाट एउटै प्राण,एउटै मुटु, एउटै धडकन, एउटै ज्यान भएर बाँधिएको अनुभूति हुनु, गाउँमा दुरालोचना सुरु हुनु, गाउँलेमा शङ्का जाग्नु, कविले खटेर गरेका राम्र काममा पनि प्रतिकार र सङ्र्षको स्थिति निम्त्यिनु, गिरोहले कविलाई धम्किदिनु, दुव्र्यवहार गर्नु आदिले कविको जीवन नै खतरामा परेकोले कविले गाउँ छाडेर हिड्न पर्ने बाध्यता सिर्जना गरियो । दमन मालतीको घरमा गएर कविको विरोध जनाउँछ, र मालतीको बाबुलाई कविले आफूले पढाएका छात्रा पनि छाडेन त्यसो हुँदा यस्ता व्यक्तिको प्रशंसा र विश्वास गर्न नहुने र मालतीको विवाह आफ्नो छोरासँग गरिदिने प्रसताव राख्यो । मालतकिा बुबाले पनि छोरीलाई नै नसोधी विवाहको मिति समेत तोकेको धारणाको साथमा समाप्त हुन्छ । यहाँ दुई पङ्क्ति प्रस्तुत गर्न चाहन्छु –
बातैबातविषे यथार्थ नबुझी विश्वासमा बाँधिए
वधालाई निरीह घायल चरी यी सुम्पनै तम्सिए
(श्लोक ६२, पृष्ठ१९६)
यस सर्गमा प्रेमी प्रेमिका बीचमा देखिने केली–सुखको चाहना, दुवैमा मनमा उर्लने मिलनको आतुरता, भावनाको आदान प्रदान, प्रेमको यथार्थ बडो सहज र सरलतामा प्रस्तुत गरिएको छ । दोस्रो कुरा समाजमा राम्रो काममा पनि डाह गर्ने प्रवृत्ति, चेलीबेटी वेचविखनको घटना आदि आजको समाजमा देखिएका (विकृतिलाई) समस्यालाई काव्यकारले प्रष्ट रूपमा उठाएका छन् ।
दशम सर्ग – यस सर्गमा मालतीका बुबाले मालतीको विवाहको तिथिमिति तोकेपछि विवाह दमनका छोरा कुयमसँग गरिने भएको जानकारीको साथमा यस सर्गको थालनी भएको छ । बाबुको निर्णय सुनेपछि मालतीका नयन जल वर्षन थाल्छन् । पीडादायी हृदयमा आँधी हुरी चल्न थाले पनि मालतीले आफूलाई सम्हाल्दै दमन र दमनको छोरा आफ्नै छोरी समेत बेचबिखन गर्ने अथार्त चेलीवेटी बेचबिखन गर्ने गिरोहका नाइकेसँग विवाह गरेर जीवन सुखमय नहुने् धारणा राख्छिन्, मालतीका बुबाले विवाहमा वंशपरम्परा, आर्थिकस्तर,समाजिक मर्यादा आदिलाई पनि हेर्नु पर्ने धारणा राख्नु तर मालतीले बाबुद्वारा राखिएको प्रस्ताव प्रतिकार गर्दै मूच्र्छावस्था रहेको वेला सखी आएर जलकण छरेर मुच्र्छावस्थाबाट आँखा खोल्नु र सखीले मालती दमनमा बाँधिन नचाहेमा मुक्तिको मार्ग खोज्न सकिन्छ भन्दै मालतीलाई शान्त्वना दिनु, विवाहको दिनमा मालती सखी सहित भाग्नु जन्ती आउनु र फर्कनु तर दमनले चन्द्रकान्तको घरमा फाल्ने जालो सफल नभै पागलझै भएर आतङ्कित पार्दै फर्केको धारणा सहित यो सर्ग समाप्त हुन्छ ।
यस सर्गमा छोराछोरीको विवाहमा छोराछारीबाट अभिभावकले रायलिनु पर्ने शिक्षा प्रदान गरेको छ । चेलीवेटी वेचविखन कर्ता तथा गिरोहका नाइकेहरूको जाल, षडयन्त्र, धन आर्जन गरेकाहरूकाको वडपनभन्दा सज्जन र सुशीलवान ममता साथ समता र नारीमाथि कहिल्यै नहुने विषमतावान व्याक्ति नै्र उच्च हुने धारणा मालती मार्फत आएको छ । समाजमा विवाह गर्दा कुलघरान, हेर्ने परम्परालाई र दुष्टका कारणाले सज्जन र विकासप्रेमी व्यक्तिले कष्ट भोग्नु पर्ने आदि धारणालाई काव्यकारले उठाएका छन् ।
एकादश सर्ग – खल (दुष्ट)हरूले छलका जालहरू फिजाउन कस्सिएका र त्यसदेखि चन्द्र अलि आत्तिएका भन्दै यस सर्गको थालनी भएको छ । चन्द्र छोरीको खोजीमा लाग्नु र प्रियतमदेखि वियोगी मालती साथीसँग भए पनि विरहव्यथा र दुःखका कथाहरूले निकै छटपटीन्छिन् । वेहोस हुन्छिन् । कविको यादले सताउँछ । काव्यकारले प्रेमी वियोगको पीडाको प्रस्तुति अतिकारुणिकताका साथ उठान गरेका छन् –
कति निष्ठुर कामदेव यो
मृतलाई अँझै मारि नै रह्यो
वियोगबाट सुयोगको चाहना, सूर्यकणभन्दा सुधांशु झन कडा भएको,भन्दै मालतीको असह्य विरह व्यथालाई विवरणात्मक रूपमा प्रस्तुत गर्दै,बहुत वह लुकेको मालतीको कहनानी कुन पथतिर जाला दुःखको जिन्दगानी भन्दै यस सर्गको इति हुन्छ । वियोगान्त पीडालाई काव्यकारले अति मार्मिक रूपमा प्रस्तुत गर्न सफल देखिन्छन् ।
द्वादश सर्ग – प्रेमीबाट वियोगान्त भएर मालतीले जसरी असह्य पीडाको बोध भएको थियो भने कविमा पनि प्रेमिकाबाट अलगिनु परेकोमा असह्य विरह व्यथाबाट छटपटीमै दिन बितेका धारणा सहित यो सर्गको थालनी भएको छ तापनि कवि मालतीको पछि नलागि कडा छाती बनाएर हरिशरणमा आफूलाई समर्पित गर्दछन् र गोरखनाथको दर्शनतिर लाग्दछन् । आनन्दसँग घुम्नु,त्यहाँबाट वाराणसी पुग्नु, वाराणसीमा गङ्गा स्नान गरेर विश्वपतिमा पुष्पाक्षता अर्पण गर्दछन् । सुरभारती प्रणयिनी हिन्दूत्व उद्यान, ऋषिकेश, वृन्दावन, रासविहार हुँदे दिल्लीसम्म पुग्दछन् । ऋषिकेशमा पुग्दा कविको मन निर्मल हुन्छ र स्वर्गीय आनन्दको अनुभूति गर्छन् । कविले दिल्लीको भव्य आश्रममा पुगेर महन्तले राजातुल्य भक्तजनको सेवा लिएको पाउँछन् । बाहिरी आवरणमा सन्त भए पनि उन्को कृयाकलाप भने शङ्का उत्पन्न गर्ने खालकोरविले पाउनु, बुझ्दै जाँदा शङ्का यथार्थमा बद्लिनु र नेपाली चेलीलाई भेट्नु र यी नेपाली चेली विभिन्न वाहनामा ल्याएर बेचिएको जानकारीले कविलाई निकै व्याकुल पार्दछ । उन्ले यो कृकृत्यबाट सबैलाई उद्धार गर्ने विचार लिएर प्रशासन गुहारेर प्रशासनले आएर कब्जा गराउँछन् । यस अवसरमा चन्द्र पनि पुगेका र दमनको कर्तुतलाई बुझेको, कविले चेलीलाई उद्धार गरेको कामबाट प्रभावित भएर चन्द्रले पनि कविमा श्रद्धाभाव देखाए विवरण प्रस्तुत गरिएको छ । यसपछि कवि पनि केही तीर्थ घुम्दै नेपाल फर्किन्छन् । नेपाल फर्किए पछि कविलाई पहिलेका कुराहरू यादमा आएर पश्मिको यात्रा थालनी गर्छन् र कविले थर्पुमा पुगेर मालतीलाई भेट्छन् र मालतीका सबै कष्टपीडा श्रवण गर्छन् साथै दिल्ली आश्रमको व्यथा पनि मालतीलाई सुनाउँछन् । काव्यकारले कविले गरेको तीर्थ यात्रालाई यसरी मूल्याङ गरेका छन् –
प्रणयसित गरेछन् तीर्थ यात्रा पवित्र
यसबीच पनि भेटे दानवी दुश्चरित्र
अँझ कति अबलाका कष्टका चित्र पाए
मुलुकसित महत्ता –नाता बढाए "
भन्दै यस सर्गको इति हुन्छ ।
यस सर्गले चेली वेचविखनको पीडालाई काव्यकारले यथार्थतामा उतारेका छन् भने केली–प्रेमभन्दा ईश्वरीय प्रेम नै कल्याण कारी हुन्छ भन्ने सन्देश पनि दिएका छन् । धर्मका नाममा स्थापित मठमन्दिर पनि स्वच्छ र पवीत्र कर्म गर्नुको सट्टा महन्त लगाएतका गिरोहका फन्दामा फसिएका धारणा आएका छन् । सरकारले यस्ता कुकर्ममा सहभागी हुनेलाई कानूनको माध्यमबाट नियन्त्रण गर्न सक्नुपर्छ भन्ने सन्देश पनि काव्यले प्रवाह गरेको छ ।
त्रयोदश सर्ग र्– पश्चिमबाट अस्ताएका रवि पूर्वका शैलफाँटबाट झलमल भएर झुल्कन्छन् भन्दै यस सर्गको थालनी गरिएको छ । रवि पश्चिमका ्पहाडबाट जनकपुर जानको लागि खैरनी ओर्लन्छन् र बसबाट जनकपुरको यात्रा थाल्दछन् । कवि मटीयानी पुग्दछन् र अध्यापनमा लाग्दछन् । जनकपुरमा लामो समयसम्म अध्यापनमा लाग्दा जनआन्दोलन सफल हुनु,जनआन्दोलन सफल पछि मधेश आन्दोलन सुरु हुनु र मधेश आन्दोलनमा पहाडे पट्टी आन्दोलन लक्षित गरिएको जस्को फलस्वरूप पहाडे र मधेशी बीचमा ठूलो खाडल तयार भएको । रविकी सहचरीको मानसिक सन्तुलन विग्रेको, रविले उपचारको लागि काठमाडौ पुर्याउनु, केही सञ्चो लाग्नु तर पूर्ण स्वस्थ नहुनु । जनकपुरबाट र्गैडाकोटमा राखिएकी सहचरीको रेददेख गर्र्दै येनकेन केही समय चलेको तर सुखसँग ्रविलाई बस्न कैल्यै जुरेन भन्दै यो सर्गको इति हुन्छ । काव्यकारले जनकपुर सीताको जन्म भूमि, जनकको राज्यभूमि, यत्रज्ञवल्क्य, अष्टबक्र र प्रभृति ऋषिको साधना भूमि भन्दै यहाँको ऐतिहासिक धर्मिक, सामाजिक वर्णनको साथै विवाह पञ्चमी, सामाचखेवा जस्ता पर्वको वर्णनलाई पनि समावेश गरेका छन् । मानसिक असन्तुलन भएका व्यक्तिबाट गरिने बिक्रीति र पीडादायी क्रियाकलापको वर्णनको साथै एउटी गृहणीको मानसिक असन्तुलनबाट पर्ने नकरात्मक प्रभावलाई काव्यकारले पस्केको भावनाको सानो उदाहरणलाई हेरौं –
पूरै नै मनको लगाम चुडियो घोडा गए नीरमा
अन्धो सारथिको रथी सँगसँगै गिर्दैछ त्यै भीरमा
(श्लोक ६७, पृष्ठ २५७)
चतुर्दश सर्ग –
प्यारो जीवनको वसन्त सकियो ग्रीष्मर्तुको तापमा
धर्तीसाथ उजाड जीवनकली सुक्दैछ यै रापमा
(श्लोक १,पृष्ठ २६२)
भन्दै यस सर्गको थालनी भएको छ । हराभरा रसिलो कहिले हुन्छ भन्ने आशामा रहेका रविको जीवन झनै सन्तप्त भएको धारणा सहित यो सर्गको थालनी भएको छ । गर्मीको खडेरीले ल्याएको उष्णता, जीवन जगतमा बनेको व्याकुलतामा रविले अपशकुनका लक्षणहरू देख्न थाल्दछन् । अचानक आकाश गर्जनु, हावाहुरी पानीले जनतालाई आतङ्कित पार्नु, कौवाले कानमा आएर छोएर जानु, स्याल,कुकुर, फ्याउरा, हुँचिलको क्रदन्, गाइको रोदन, वायाँ अङ्ग फुर्ने,जस्ता अपशकुनका लक्षणले सताइरहेका रविको घरबाट उन्की पत्नी प्रभा घरबाट निस्केको खबर फोनबाट प्राप्त गर्दछन् । मधेश आन्दोलन, चक्काजाम आदिको कारणले रवि तेस्रो दिनमामात्र घरआउन सक्छन् र खोजीमा जुट्दछन् तर कतै केही पत्ता लाग्दैन तर रविले 'न लास भेटिनु न आशा नै मेटिनु भन्दै आफ्नो दर्दले भरिएको मन वेदनालाई यसरी पस्केका छन् –
चिन्ता जीवनकी अभिन्न सँगिनी छाड्दै नछाड्ने भइन्
भित्रैभित्र्र जलाउँदै हृदयमा ज्वाला बनेरै रहिन्
श्लोक २३, पृष्ठ २६६)
यो सर्ग अति मार्मिक छ,पत्नी वियोगमा रविले पस्केका एक एक शब्दले मानव मुटु छिया छिया पार्दछ । नयनजल तप्केर समुद्रै बन्दछ । पढ्दा पढदै स्तब्ध भइन्छ,पत्थरकै दिल किन नहोस शब्द शब्दले पगाल्छ । काव्यकार विरह वेदना पोख्नलाई सफल देखिन्छन् ।
खोजतलासबाट सहचरीलाई प्राप्त गर्न नसकेपछि, पत्नीप्रति आफ्नो दृढभाव यसरी पोखेका छन् रविले –
स्त्रीले मात्र वियोगजन्य बिचरा ! वैधव्य भोग्ने किन ?
भर्ताले किन भोग्न बाध्य नहुने वैधुर्यको जीवन ?
भन्ने सोच पस्योकि ? खिन्न मनमा पीडा लुकाई कन
भोगे दुःख विपद सहेर रविले वैधुर्य आजीवन
(श्लोक ५३,पृष्ठ २७२)
माथिका शब्दको साथमा रविका विरही व्यथा, कथाहरू भन्दै दुखबाट उम्कनको लागि पावन आत्मचिन्तन गरियो भन्दै यो सर्गको इति हुन्छ । नेपाली समाजमा पत्नी बितेको ३।४ महिनामै दोस्रो विवाह गर्ने पुरुष वर्गको लागि कविको वैधुर्य जीवन बज्रवाँण हो र स्त्रीहरूको लागि यो उच्च मूल्याङ्क हो भन्ने ठान्दछु म ।
पञ्चदश सर्ग –
धारावाही प्रवचन सुने मग्ग्न भै ग्रामवासी
आशावादी अँझ पनि तिनी सून्न रैछन् पियासी
ग्रामबासीको भक्तिलाई बुझेर ज्ञानी गुरुले रविको प्रसङ्गलाई जोड्दै रविको कान्ता वियोगी विरह केही घटेको र रवि अध्यात्म तर्फ उन्मुख भएको धारणालाई सुनाउँछन् । रविले आफ्नाो अन्तरङ्गलाई सफा पार्दै मोहबाट टाढा हुँदै उन्ले तर्क वितर्क गर्दछन् । उन्को तर्क वितर्कमा अन्तर्हृदयमा गुरु आएर उन्का जिज्ञासालाई,अन्तरआत्माका गुरुसँग ज्ञानको प्यास लागेको, आत्माले परम–सुखको दिव्य पीयूष मागेको, भूवनमा किन आइयो, मुख्य कर्तव्य के हो ? भव –जलधीमा कसरी परिदैन, मरण भयले स्पर्स गर्दैन, परम्–पदवी कस्तो होला, दिव्य आत्मास्वरूप कस्तो होला आदि राख्दछन् । यस्ता प्रश्नमा आत्म गुरुले रविलाई जीव कोही अमर हुँदैन, देहाभिमानी बन्न नहुने, यो जगतै विशाल नाट्यशालाहो, यो सृष्टिजाल मायाको नाटक फैलिएको छ, यस्तो सञ्चालक सूत्रधारलाई चिन्नु पर्ने आदि विविध ज्ञानबोध प्रष्ट्याउँदै भन्नुहुन्छ–
अन्तर्यामी शिवमय सबै जीवमा विद्यामान
सूक्ष्मज्योति प्रचूर हृदयाकाशमा भासमान
साक्षत् ब्रह्म प्रणव अथवा तत्त्वमस्यादिद्वारा
योटै जानेपछि अनि कुनै जान्नुपर्दैन सारा
(श्लोक ३६ पृष्ठ २८१)
यस सर्गमा रविलाई गुरुले दिएका अमृत वाणीमा उपनिष्द पूराण को साथै दर्शनका प्रतिपादित सारभूत तत्त्वको पनि आभास मिल्छ । अन्तर आत्माका गरुले रविलाई आत्मबोध गराएर अन्तर आत्मामा नै लिन हुन्छन् । अनि रविको र कविाको आवतजावत पनि बाक्लिदै जान्छ र दुवै जना भत्तिः र सद्ज्ञानबाट पनि लाभान्वित ्भएको धारणा आएको छ काव्यमा । रवि र कविको भेटघाटको साथै ज्ञानी गुरुले काव्यात्मक मधुर वाणी प्रणयले सुनाई विश्राम लिन्छन् र जनताबाट सम्मानित हुँदै बाटो लिन्छन् । यस महाकाव्यले सज्जन–क्षत्रछाया र माया माग्छ भन्दै यस सर्गको साथै महाकाव्यको पनि इति हुन्छ ।
जीवन दर्शन –जीवनयात्रा जीवनको यार्थतालाई पस्कने महाकाव्य हो र यस महाकाव्यमा पस्केका हेरक सर्गमा जीवन दर्शनलाई महत्व दिएक।े पाइन्छ । यस महाकाव्यले आत्मदर्शन, आत्म चिन्तन, तत्त्व चिन्तन को साथसाथै जीवनप्रतिको कर्तव्य र दायित्वलाई बोध गराएको छ ।यसमा उल्लेखित रवि र कविका जीवनका यथार्थतालाई समायोजन गरिएको छ ।मनन योग्य देखिन्छन् ।
अध्यात्मिकता र काव्य–यो काव्यको थालनीदेखि अन्तिमसम्म ईश्वरप्रति काव्यकारको धारणा भावना सवलरूपमा प्रकट भएको देखिन्छ । काव्यकारले ईश्वरप्रतिको आफ्नो धारणालाई प्रवलरूपमा उठाएका छन् । काव्यकारले वार्तालापका समय पनि आध्यात्मिक भावनालाई समावेश गरेको पाइन्छ । उदाहरणको लागि कविले आफ्नी प्रेमिकालाई सम्झाउँदा पनि "सारा स्वर्ग गिजाउने सुखदिने राजा बनाऊ नयाँ" यसमा मालतीले पनि तिमी कृष्ण बनेमा राधा, राम बने सीता शिव बने पार्वती बनी आउने जस्ता धाराण पस्केकी छन् । संक्षेपमा भन्नु पर्दा अध्यात्मिक भावलाई राम्रोसँग समाउँदै ब्रह्मवादी वन्नको लागि यस महाकाव्यले सन्देश प्रवाह गरेको छ ।
मातृभूमि र काव्य–काव्यकारले जन्मभूमिप्रति देखाएको धारणा उच्च छ । देश निर्मामा सबै लाग्नु पर्ने, नेपालको प्राकृतिक सौन्दर्यतालाई बचाउँदै सदुपयोगमा ल्याउनु पर्ने धारणा राख्दै काव्यकार भन्दछन् -
सारा वृक्ष वनस्पति प्रकृतिका सौगात हुन् सुन्दर
पन्छी कीट पतङ्ग आदि सबमा छन् एउटै ईश्वर
समता वादी चिन्तन र काव्य– आज देशमा जातभात छुवाछुतमा ठूलो खाडल भएको अवस्थामा काव्यकारको अभिव्यक्ति यसरी आएको छ –
मान्छे मानव बन्छ सद्गुण सिकी बन्दैन त्यो जन्मले
ठूलो बन्छ विचार माझिन गए, बन्दैन त्यो जातले
मान्छे नै वरदान हो प्रकृतिको सत्कर्मगामी हुने
त्यो नै हो अभिशाप विश्वभरिको दुष्कर्ममा लम्कने
(श्लोक ४८, पृष्ठ ६८)
परिवेश–यो महाकाव्यमा मुख्यरूपमा बाग्लुङको जैदी,चितवनको माडी, भारतका गोरखपुर, हरिद्वार, वाराणसी, दिल्ली र देश भित्रका रामेछाप, तनहुँ, जनकपुर र गैडाकोट, आदिको परिवेशमा लेखिएको छ ।
भाषाशैली –भाषाशैली सरल हुँदा हुँदै पनि कतै कतै क्लिष्ट पनि छ । यसमा विविध खाले अलङ्कारले सजिएको, रसयुक्त (शृङ्गार,करुण, रौद्र,अद्भुत, हाँस्य, शान्त,आदि), विम्ब प्रतिकहरूको प्रयोग भएको पाइन्छ । विविध छन्दको प्रयोग भएकोले लययुक्त र मीठा शब्द चयनबाट भरिएको छ महाकाव्य ।
्पात्र चयन –महाकाव्यलाई ओजनपूर्ण बनाउन पात्रहरूको गहन भूमिका हुन्छ । नायक धीरोदात्त गुण भएको छान्नु पर्दछ भनिन्छ । यस काव्यमा रवि, कवि, ज्ञानी गुरु, कविकी प्रेमिका (मालती), रविकी पत्नी(प्रभा),मालतीका पिता (चन्द्र) दमन र दमनको पुत्र (कुयम), दिल्ली, आश्रमका महन्त, नेपाली चेली, विद्यालयका गुरु, विद्यार्थी लगायतका पात्रहरू यस महाकाव्यमा सहभागी भएको देख्छौं । भूमिकाकार, समालोचक र शुभकामना दाताहरूको दृष्टिकोणबाट यस महाकाव्यका काव्यकार माधव चालिसेका कथा व्यथा तथा स्वय म रविका रुपमा काव्यको थालनीबाट काव्यको अन्त्यसम्म उभिएको धारणा पस्किएका छन् । रविलाई नायकको रूपमा प्रस्तुत गरिएको छ । यस्मा सत्यता पनि छ तर नायिकाको रूपमा देखिएकी प्रभा भने सहभागीता भए पनि सक्रियता देखिनुको साटो मानसिक विचलनको कारणबाट घरबाट निस्केर वेपत्ता भएकोले वियोगान्त धारणा आएको छ । रवि र कविको भेट माडीमा भएको र दुवै सक्रियरूपमा अध्ययनमा लाग्न भारततिर लागेका छन् कवि बीचमा अलगिनु नेपालमा आएर अध्यापनमा लाग्नु समाजमा सेवा पुर्याउँदै,मालतीसँगको प्रेममा पर्नु र मालतीसँगबाट अलग भएर धर्म कर्म तीर्थ ब्रत गर्दै दिल्लीमा गएर चेलीबेटी बेचविखनमा सम्लग्नहरूलाई प्रशासन लगाएर चेलीहरूको उद्धार गरेर नेपाल आएर पुन मालतीसँग भेट भएको (संयोगात्मक) धारणा आएको छ । कवि र मालतीबीचको सकृय क्रिया कलापले रवि र प्रभाको क्रियाकलाप ओझेलमा परेको भान हुन्छ । ज्ञानी गुरु पनि जैदीदेखि अन्तिमसम्म कृयाशील देखिन्छन् । अत यथास्थानमा पात्रको भूमिका निभाउने कामलाई काव्यकारले सरलरूपमा प्रस्तुत गरेका छन् ।
महाकाव्यको नामाकरण –यस महाकाव्यको नाम जीवनयात्रा राखिएको छ । जीवनयात्रा महाकाव्य वास्तवमा जीवनकै यात्रा हो । यस महाकबाव्यमा यात्री रवि र कविको जीवनका ओराली उकाली र यी दुईको यार्थपरक घटनाक्रमलाई तुलनात्मक रूपमा प्रकटीकरण गरिएकोले नामाकरणलाई सार्थकरूपमा लिन सकिन्छ ।आध्यात्मिक रूपमा हेर्दा पनि यथा नाम तथा गुण भन्न सकिन्छ ।
अतः माथि उल्लेखित विविध विश्लेषण र महाकाव्यको सर्गसारमा आएका अभिव्यक्तिले जीवनयात्रा महाकाव्यको यथार्थतालाई प्रष्ट्याउने प्रयास गरिएको छ । मानव जीवनका यथार्थपरक घट्न सक्ने र समाजमा देखिएका यथार्थ सामाजिक त्रिलयाकलापलाई यस महाकाव्यले समेटेको पाइन्छ । यस काव्यले आध्यात्मिक भावनालाई उच्चाईका साथ उठाएको छ र ब्रह्मवादी बन्नु पर्छ भन्ने धारणा सम्प्रेषण गरेको छ । आज युवा शिक्षा आर्जन र रोजगारीको लागि विदेश पलायन हुने कटुसत्यलाई पनि महाकाव्यले पस्केको छ साथै चेलीबेटी बेचखिन जस्तो कहाली लाग्दो यथार्थलाई प्रशासनमार्फत नियन्त्रणमा ल्याउन सकिने सन्देश पनि काव्यले दिएको छ । नेपाल मात्र नभएर भारतका विधिस्थानको प्राकृतिक सुन्दरता, धार्मिक स्थलको पवित्रता, दुष्टहरुको विकासमा लाग्नेहरूका खुट्टा तान्ने प्रवृत्ति, प्रेममा दृढता, पत्नीलेमात्र व्यहोर्ने विधवा जीवनमा लोग्नेले पनि व्यहोर्न पर्ने विधुर जीवनको महानता, जीवमा अति आकर्षक रहेको केलीप्रेमको मुक्तिमार्ग ईश्वरीय चिन्तन आदि आदि भावनाको प्रस्तुति हो जीवनयात्रा । काव्यले समाज र राज्ष्लाई दिन चाहेको गहन उद्देश्यलाई काव्यकारले सन्देश प्रवाह गरेका छन् महाकाव्यलाई उच्चाइमा पुर्याएको मेरो ठम्याइ छ । यस्ता गहन सफल महाकाव्यका काव्यकारको भावि जीवन उज्जल रहोस भन्दै दीर्घायु सुस्वास्थको कामना गर्दै बिदा चाहन्छु ।
धन्यवाद
सदानन्द अभागी
२०७४ साल श्रावण २३ गते
कावासोती नवलपरासी वडा नं ७, शान्तिचोक
No comments:
Post a Comment