December 27, 2020

साहित्यिक कार्यक्रम र चाँदनी रातहरू गीती संगालो विमोचनको एक झलक

२०७१ साल फागुन महिना १५ गतेको दिन नवलपरासी साहित्य समाजले मध्यविन्दु क्याम्पसमा प्रीतम भुजेलको सभापतित्व र क्याम्पस प्रमुख मुक्तिराम पाण्डेको प्रमुख अतिथ्वमा एक साहित्यिक कार्यक्रमको आयोजना गरी राजकुमार श्रेष्ठ रचित 'चाँदनीका रातहरू' गीती सङ्ग्रहको विमोचन गर्ने काम सुसम्पनन भयो । यस कार्यक्रममा साधना –सङ्गमको पनि संयोजन थियो । नवलपरासी साहित्य समाजकी उपाध्यक्ष हेमा अखालेले स्वागत भाषण गर्दै मगरी भाषामा रचित अरमिट (सम्झना) कवितालाई पाठ गर्नुभयो ।

हिमलाल चापागाईँद्वारा सञ्चालित कार्यक्रममा कृष्णादेवी शर्मा (श्रेष्ठ)ले यस कृतिको भूमिका लेख्नुभएको र यसकृतिको बारेमा टीका टिप्पणी गर्दै आफ्नो रचना (गीत) गाउनु भयो –

झुक्याएर सत्तामा जानी
संविधान दिएको खैतनी

जनतालाई छारोहाली सत्ता हात लियौ
राजस्वनै रित्त्याएर अहिले धोका दियौ
अब जन्ता मान्दैनन् सत्य
संविधान आएन आठ गते ..... (कृष्णा देवी शर्मा (श्रेष्ठ)

राजकुमार श्रेष्ठले व्यर्थपन नामक गीत गाउनु भयो, जो यसप्रकार छ –

निष्ठुरी भनुभनें.... सम्झना पलाउँछ
प्रियसी भनु भने ...याद हराई जान्छ
निष्ठुरी भनुभनें.... सम्झना पलाउँछ

फूल खेल्ने वेला थियो, ओइलिएर झरी गयो
सागर जस्तै गहिरो माया बगरसरीबरी भयो
फेरि प्रिय भनु भने ...याद हराई जान्छ
निष्ठुरी भनुभनें.... सम्झना पलाउँछ

वरपिपल जस्तो थियो, सारा कसम टुटिगयो
पँधेरी झैं सङलो माया, आँसु चिनो छाडिगयो
जीवन साथी भनुँ भने ...याद हराई जान्छ
निष्ठुरी भनुभनें.... सम्झना पलाउँछ

निष्ठुरी भनुभनें.... सम्झना पलाउँछ
प्रियसी भनु भने ...याद हराई जान्छ
निष्ठुरी भनुभनें.... सम्झना पलाउँछ (राजकुमार श्रेष्ठ)

यो गीतलाई हरिलम्सालले गाइसक्नुभएको जानकारी पनि आएको थियो ।

डा. धनपति कोइरालाले यस कृतिको समीक्षा गर्दै सुन्दर गीतहरूको सङ्गालो हुँदाहुदै पनि भाषा दुर्वल रहेको र भाषा सम्पादनको आवश्यक्ता रहेकोले आगामी प्रकाशनमा ध्यान दिनुपर्ने धारणा पस्कनु भयो र राजकुमारद्वारा रचित 'ममताको नजर' (पृ. ७) नामक गीत गाउनु भयो ।

राधापाण्डेले 'समय वित्यो' भन्ने गजल पाठ गर्नुभयो जस्का तीन हरफ यसप्रकार छन् –

यो गछु त्यो गर्छु भन्दाभन्दै समय वित्यो
हिजो आज र भोलि गन्दा गन्दै समय वित्यो

यो जमाना मिसावट र विज्ञापनको रैछ हजुर
आफूले त डल्ला फोर्दै खन्दाखन्दै समय वित्यो

वार्दलीमा भाटो पटाएर फलाउनेहरू धेरै भेटें
आफूले त डल्ला फोर्दै खन्दाखन्दै समय वित्यो (राधापाण्डे)

सदानन्द अभागीले साहित्यिक यात्रा क्षणिक नभै एक दीर्घ निरन्तरताको खाँचो पर्ने भएकोले लेखमा निरन्तरता दिनको लागि आग्रहको साथ शुभकामना व्यक्त गर्दै गजल पाठ गर्नुभयो –

हाड छाला मासपेशीले सिर्जित छ यो शरीर
वाध्यताले बाँधिन गै समर्पित छ यो शरीर

गोला बारुद क्षेप्यास्त्रले यो तन सिँचित भयो
शान्तिशयन खोज्दाखोज्दै त्रशित छ यो शरीर

मेघ बढ्छ आकाशभरि जलन हुन्छ तनमा
तिम्रै रापतापले गर्दा गलित छ यो शरीर

दिइजानु धेरै चिज छन् लिइजानु केही छैन
तिम्रै स्वार्थी पनले गर्दा पीडित छ यो शरीर

सोचौं आधार भूमि पृथ्वी हो, शरीर ढाक्ने आकाश
बुद्ध–मार्गी बन्न गए सर्ब–हित छ यो शरीर ( सदानन्द अभागी)

दीपक सोतीजीको कविता राष्ट्रिय भावनाले भरिएको, संविधानको माग गरिएको र मिठासपूर्ण थियो । कविता लामो भएको र मैले कविता पाठ सुन्दा उतार गर्न नसकेकोले यसमा समावेश गर्न नसकेकोमा क्षमा चाहन्छु ।

प्रमुख अतिथि तथा मध्यविन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुक्तिराम पाण्डेयले आफ्नो धारणा राख्दै भन्नुभयो कार्यक्रम संख्यात्मकभन्दा पनि गुणात्मक रूपमा प्रभावकारिरहेको भन्दै म कविता कोर्न जान्दिन भन्दै व्यङ्गशैलीका केही कविताका पंक्तिहरू पस्किनु भयो –

खै्रनी खाँदा खाँदा गिजामा ओढार परिसक्यो
चुरोट त नछाड्नु पर्ने रहेछ
चरेश र हिरोयन खाएर पनि नपुग्ने
आधुनिक बन्न त हेसिस नै तान्नु पर्ने रहेछ

यज्ञ यज्ञादि भनेर होम गर्दा गर्दा धान र चामल
सिद्धाइसक्यो अब त मकै र कोदो मात्र बाँकी छ
ऋषि मुनिहरूको यज्ञस्थल भनेर नाम राख्दा राख्दा
खोला पहाड र कन्दराहरू सिद्धिइ सक्यो
अब त बसस्टप समेतलाई वशिष्ठ ऋषिको
आश्रम भन्नमात्र बाँकी छ (मुक्तिराम पाण्डेय¬)

सभा विसर्जन गर्ने कर्ममा सभापति प्रीतम भुजेलले नवलपरासी साहित्य समाजको कार्यक्रमलाई प्रकाश पार्दै, आफ्ना कृतिहरू प्रकाशमा चाँडै बजारमा आउने जानकारी दिंदै गजलका दुई शेर पस्कनु भयो –

पीडाले मुटु पोलेपछि था भो
तिमीले आज बोलेपछि था भयो
कति मन तिम्रो दुखा रै छु मैले
अनायासै फेस बुक खोलेपछि था भो (प्रीतम भुजेल)

बरिष्ठ साहित्यकार कृष्णिादेवी शर्मा (श्रेष्ठ), दीपक सोती,, प्रीतम भुजेल, बाबु त्रिपाठी पुष्प अधिकारी 'अञ्जलि)को शुभकामना रहेको गीतकारका दुई शब्दको साथै प्रकाशकीय सहितका अभिव्यक्तिरहेका कृतिमा ५२ ओट गीत सङ्ग्रहित छन् । गीतमा राष्ट्रियता, प्रेम,जीवन जगतका भोगाइहरू,प्रेममा याद, प्रेमका धारणा, पागलप्रेमी, सुन्दरता, प्राकृतिक प्रेम, मातृ भूमि प्रतिका जयजयकार। जन्मथलो कर्मथलो प्रतिको अगाद्ध माया र स्रद्धा आदि भावनाले भरिएको यो कृति प्रथम प्रयास भए पनि मन छुने खालको छ । गीतकानरलाई धन्यवाद सहित यस लेखको विट पनि यहीं नै मार्दछु ।

सदानन्द अभागी
कावासोती नगर पालिका नवलपरासी,
मिति २०७१ साल फाल्गुन १५ गते

No comments:

Post a Comment