editor — Sat, 07/11/2015 - 21:27
साहित्यकार दीपक सोतीको र मेरो परिचय धेरै पहिला भए पनि आत्मीयता बढेको भने करिब बाह्र वर्ष जति भयो होला । उनी २००६ सालको श्रावण महिनाको ११ गतेका दिन लमजुङ जिल्ला, कुन्छाको सोती गाउँमा पिता स्व.ज्यो. पं. नित्यानन्द सोती र माता नन्दकुमारीको साहिलो छोराको रूपमा जन्मेका थिए । न्वारन्मा उनको नाम डिल्लीराम राखिएको थियो । तर आज उनी दीपक सोतीका नाममा प्रख्यात छन् । हाल उहाँ कावासोती नगरपालिकाको पिठौलीमा स्थाइ बसोबास गर्दै आउनु भएको छ । उहाँको र मेरो सम्पर्क यही पिठौलीमा बसोबास गर्न थालेपछि बाक्लिएको हो ।
सोतीले अध्ययनको थालनी घरबाटै भए पनि प्राथमिक शिक्षा सेवा मन्दिर प्रा.वि. खमारीबोटमा अध्ययन थालनी गरी शान्ति हाइस्कुल कुन्छामा पनि केही वर्ष अध्ययन गरी सर्वोदय मा.वि. दुराडाँडाबाट म्याट्रिक पास गरेका थिए । कविता लेखनको थालनी पाठशालामा पढ्दादेखि नै भएको र प्रथम कविता "नरोक मलाई" भन्ने शीर्षकमा २०२० सालमा लेखेका थिए । बरिष्ठ साहित्यकर दीपक सोती एक क्रान्तिकारी कवि हुन् । उन्को सरल जीवनको साथै साहित्य लेखनमा पनि सरलता, राष्ट्रियता, व्यङ्गताले भरिएको पाइन्छ । उहाँले साहित्यको श्रीबृद्धिको लागि दिलो ज्यानले लागेको र पुर्याएको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । जति लामो दूरीमा भए पनि साधन नपाए हिडेर पनि उनी साहित्यिक कार्यक्रममा पुगेकै हुन्छन् र जहाँ बसे पनि गाडीमा चढे पनि उनको हातमा कलम र कपी भएकै हुन्छ र साहित्यिक सिर्जनामा रमाइरहेका हुन्छन् ।
दीपकजीका कृतिहरू
उहाँले २०२० सालको वैशाख महिनामा नरोक मलाई भन्ने (दीपकजीको प्रथम कवितामा) कवितामा द्वुतीय स्थान ओगटेको र युगकवि सिद्धिचरण श्रेष्ठबाट पुरस्कार प्राप्त गर्न सफल भए पछि उहाँको साहित्यिक यात्रा अघि बढेको देखिन्छ । उहाँका प्रकाशित कृतिहरूमा मेरी मस्र्याङ्गदी, दुई बत्ती निभेर (कवितासङ्ग्रह) र जगदम्वा (खण्डकाव्य), समालोचक (शोक काव्य) र मेरी आमा रुदिहुन्( कवितासङ्ग्रह)को साथै विभिन्न साहित्यिक पत्रपत्रिकाहरू जस्तै माधुरी, प्रज्ञा, गरीमा, नवरत्न, मिर्मिरे, अंकुर, सारस्वत, पल्लव, अठोट, लालुपाते, गोर्खा संसार, जनमत, नेपाली, माछापुछ्रे धरा, आदि पत्रपत्रिकामा लेख, कविता आदि प्रकाशित हुँदै आएका छन् । दीपकजी कुशल सम्पादक पनि हुन् । धरा साहित्यिक मासिक र अवलोकन पत्रिकाको सम्पाद्न गर्ने काम दीपजीले गर्नुभएको थियो । नेपाली साहित्यक्षेत्रमा निरन्तर लागि पर्र्ने व्यक्ति भए पनि मेरी मस्र्याङ्गदी, दुईबत्ती निभेर कवितासङ्ग्रहको साथै थुप्रै उनका प्रकाशित रचनाहरू सङ्कलित छैनन् र उनका यी रचना तथा कृतिहरू खोजको विषय बन्न पुगेका छन् ।
दीपक सोतीजीले प्राप्त गरेका सम्मान, अभिनन्दन र पुरस्कारहरू
दीपक सोतीजी थुप्रै साहित्यिक संस्थाबाट सम्मानित भैसक्नुभएको छ । उहाँले प्राप्त गरिसक्नु भएका सम्मान, अभिनन्दन र पुरस्कारहरू यसप्रकार छन् –
- बौद्धिक परिचर्चा ल्कब पोखराबाट सम्मान प्राप्त (२०४२),
- शिक्षा मन्त्रालयबाट धारा मासिक साहित्यिक पत्रिकालाई नगद पुरस्कार ५०००/–रुपियाँ
- नेपालराजकीय प्रज्ञा प्रतिष्ठानबाट, राष्ट्रिय प्रतिभा आर्थिक पुरस्कार, तीसहजार (२०६२),
- लक्ष्मीस्मृति साहित्य समाज कावासोती नवलपरासीबाट अभिनन्दित (२०६२),
- प्रेमावाङमय प्रतिष्ठानबाट माकर–२, चिसापानी नवलपरासी प्रेमनारायण मान कुमारी, स्मृति सम्मानवाट सम्मानित (२०६५),
- पल्लब साहित्य प्रतिष्ठान, भरतपुर नगर पालिका वडा नं ४ नारायणगढबाट बोधनाथ, हिमकुमारी लामिछाने स्मृति पुरस्कार तथा पल्लव साहित्य सम्मान, नगद रु ५१११/– (२०६७)
- त्रिवेणी साहित्य परिषद गैडाकोटबाट कृष्णजङ्ग (डम्मरजङ्ग नगद पुरस्कार रु ५०००/–ले पुरस्कृत (२०६८) हुनु भएको छ ।
दीपकजीको साहित्यिक मूल्याङ्कन
"मेरी आमा रुदी हुन" कवितासङ्ग्रहलाई मैले राम्ररी पढेको छु र त्यसको विवेचना पनि गरेको छु । त्यस कृतिमा केही साहित्यकारहरूले दीपक सोतीको व्यक्तित्व तथा कृतित्व बारेमा पोखेका अभिव्यक्तिहरू जो त्यसै किताको पछिल्लो जिल्द (गाता)मा समावेश गरिएको छलाई यहाँ प्रस्तुत गर्दछु –"स्व. हरिभक्त कटुवालको दृष्टिकोणमा कवि सोती (दीपक सोती) अन्याय अत्याचार शोषण एवं नातावाद, कृपावाद बिरुद्धमा लडदै आएका यो दशकका क्रान्तिकारी कवि हुन् ।" स्व. युगकवि सिद्धिचरण श्रेष्ठको दृष्टिकोाणमा–"जनताको युग बोक्ने कवि सोती हुन् । यिनको त्यो कवित्व कस्तो छ भने कविताले कठिनता र अन्धकारसँग सँघर्ष गर्ने नेपाली जनताको प्रतिनीधित्व गरेको पाइन्छ ।"(स्रोत प्रज्ञा पूर्णाङ्क ५० अंक १२, २०३१ मार्ग) । "दीपक सोतीका रचनाहरूमा शब्द मिठास पाइन्छ, राष्ट्र, राष्ट्रियताका पुजारी सोती प्रयोगवादी धारका बहुचर्चित प्रतिभा हुन्।" (नेपाली कविताको इतिहाँस, साझा प्रकाशन) ।
"समालोचक सोक काव्य पुत्र वियोगमा लेखिएको करुणरसको काव्य हो र यो शोक काव्यले पाठकहरूलाई रुन बाध्य गराउँछ । नेपाली शोक काव्यमा गौरी पछाडि यसको नाम लिनु पर्दछ।" (डा. बासुदेव त्रिपाठी २०५२, मधूपर्क कार्तिक अङ्क) राष्ट्रकवि माधवप्रसाद घिमिरेको मूल्याङ यसप्रकार छ –"दीपक सोतीका रचनाहरू पढ्दा राष्ट्र राष्ट्रियताप्रति अगाध माया ममता छ । सरल, सरस, माधूर्यता कवित्वमा भेटिन्छ । यो युगहाक्ने प्रगतिशील कवि दीपक सोती गद्य, पद्य, कविता, गीत र मुक्तक विधामा सफल छन् ।" ( फेवा, २०३४, माधव प्रसाद घिमिरे, लमजुङ्गको साहित्यिक इतिहासबाट)
माथिका अभिव्यक्ति र सोतीले लेखेका लेख रचनालाई केलाउँदा वास्तवमा उनका लेख, सरल, सरस, मिठासपूर्णको साथै उनका लेख रचनाले समसामयिक बिकृति विसङ्गतिलाई तीखो प्रहार गरेको पाइन्छ भन्ने ठहर गर्न सकिन्छ । मैले दीपकजीको साहित्यिक मूल्याङ्कन यसरी गरेको छु–
साहित्यका दीपज्योति
भावनाका हीरा मोती
साच्चै मेरा हृदयका
तिमी हौ दीपकसोती
उनको प्रतिभा अमिट छन्, सहज छन्, सरल र सबैले सजिलै पचाउन सक्ने खालका छन् । पढौं पढौं लाग्छ । जतिपढे पनि अघाइँदैन । यसमा पनि मैले एउटा मुक्तक पस्कने प्रयास गरेको छु ।
जून घाम उदाउँछन्
पुन तिनी अस्ताउँछन्
अमिट छन् तिम्रा प्रभा
युगौं युग रसाउँछन्
दीपकजीको दाम्पत्यजीवन पनि अति रसिलो छ । मानिस धन दौलतबाट मात्र सुखी खुसी हुन्छ भन्ने होइन ।जीवनसाथी बीचको सुमधुरताले पनि मानवीय जीवनलाई अति उच्चाइमा पुर्याइ दिन्छ । लक्ष्मीप्रसाद देवकोटाले भने जस्तै "हातको मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको बेस आनन्दि मनले"। स्वर्ग त त्यही हो जहाँ पति पत्नी बीचको सम्बन्ध आपसी द्वन्द्व रहित भएर मुस्कानपूर्ण रहन्छ र आपसी भावनामा एकीकृत रहन्छ । त्यस घरको वरिपरिको झारपात पनि नन्दन बन्न जान्छ । हरेक सुमधुर वाँणीहरू अमृत वाँणी बन्न जान्छन् । म जब दीपकजीको घरमा जान्छु त्यति वेला दुवैको मुहार मुस्कानायुक्त पाउँछु । कहीँ कतै केही पीर, मर्का, समस्या छैन आनन्दमय जीवन व्यतित भैरहेको जस्तो देखिन्छ । दुवैको भावना उच्च देखिन्छ, आदर सत्कारमा दुवै जना तल्लिन देखिन्छन् ।
यसमा पनि दुई मुक्तक पस्कन मन लाग्यो–
मुस्कानयुक्त जोडी तिम्रा
आस्थाका हौ पुञ्ज हाम्रा
मुस्कान भर्दै रमाउँछौ
सृजना छन् अतिराम्रा
वाँणीमा अमृत बग्छ
मुस्कानमा शशी दग्छ
झोपडीको दिव्य शोभा
बालरवि आइ रङ् छ
बास्तवमा मानव जीवन क्षणिक छ । यो क्षणिक समयमा पनि मानिसले अमरत्व कायम गर्न सक्छ । मरे पनि जिउने कर्ममा तल्लिन दीपकजीको प्रयासरत यात्रा सधैं सफल रहोस् ।उहाँको सुस्वास्थ, दिर्घायुको साथै सकल परिवारमा सुखमय र उल्लासमय जीवनको कामना गर्दै बिदा चाहन्छु ।
धन्यवाद
सदानन्द अभागी
मिति २०७२साल अषाढ १७ गते,
कावासोती नगरपालिका–७, शान्तिचोक
No comments:
Post a Comment