परिचय
विश्वप्रेम अधिकारीको जन्म वि.सं २००३ सालमा राङखोला स्याङ्जामा भएको थियो । उहाँका पिताको नाम रूग्मागद र माताको नाम लीला अधिकारी हो । शिक्षाको थालनी आफ्नै घरमा प्रारम्भ गरे पनि उच्च शिक्षाको लागि भने उहाँ काशी जानु भयो र अध्ययनको साथसाथै साहित्यिक क्षेत्रमा आफूलाई उभ्याउन पनि उहाँ सफल हुनुभयो । विश्वप्रेमको साहित्यिक यात्राको इतिहासलाई केलाउँदा अच्युतशरण अर्यालले लेखेको 'कवि र कविता' शीर्षकलाई (पृष्ठ ग देखि ङ)अध्ययन गर्नु पर्ने देखिन्छ ।
अच्युतशरणजीले शैक्षिक यात्रा २०१७ सालदेखि प्रारम्भ, सोही समयदेखि कविता लेखनको थालनी, कल्याणी पत्रिकाको जन्म दाताहरूमा सूर्यप्रसाद रेग्मी, तुलसीरमण काफ्ले,मुरली पौडेल र विश्वप्रेम अधिकारिरहेका, त्यसै पत्रिकाको पहिलो अंकमा विश्वप्रेम अधिकारीको पहिलो कविता प्रकाशन भएको, वि.सं. २०२२सालमा हंसपुरमा सम्पन्न गगण्डकी अञ्चल स्तरीय बृहद साहित्यिक सम्मेलनमा उनको 'प्याउली'ले प्रथम स्थान हाँसिल गर्नु र पुरस्कृत हुनु आदि उहाँको जीवनीका केही अंशलाई प्रष्ट्याउने प्रयास गर्नुभएको छ । स्वयम् कृतिकारले, सुरूदेखि नै छन्दमा कविता लेख्न थालेको र अभ्यासिक चरणका कविता सङ्कलित नगरिएका, धारणा पस्कनु भएको छ । अध्ययन कालदेखि नै हालसम्म साहित्यिक क्षेत्रमा आफूलाई समर्पण गर्नु भनेको एउटा ठूलो त्याग र योगदान हो । साहित्यिक क्षेत्रमात्र नभएर सामाजिकर राजनीतिक क्षेत्रमा पनि उहाँको अतुलनीय योगदान छ । यही साहित्यिक, सामाजिक र राजनीतिक क्षेत्रमा पुर्याउँदै आउनु भएको योगदान नै उहाँको परिचय हो ।
प्रकाशित कृतिहरू– मेरी छोरी (कवितासङ्रग्रह, २०४९), बन्दीको मनस्थिति (कवितासङ्ग्रह २०५२), संकल्प 'आमा' स्मृतिकाव्य सहित (कवितासङ्ग्रह २०५५) अचाडू मनका स्वरहरू (कवितासङ्ग्रह, २०६१), आँधी खोले लोकसंसकृति र लोक गीत (२०५७), पश्चिमाञ्चलका लोक गीत र परम्परा (२०५८), आँधीखोले लोकसाहित्य प्रसतुति र विश्लेषण, (२०५९), स्याङ्जाली साहित्यकार र तिनका सिर्जनाहरू (भूमिका –सम्मति २०६१), सम्झनाका विम्बहरू (संस्मरणान्तक लेख निबनधहरूको सङ्ग्रह २०७१), काव्यत्रयी (सङ्कलित काव्य २०७२) गरी अधिकारीका १० कृतिहरू हामीले कृतिको रूपमा अध्ययन गर्न पाएका छ म भने थुत्रै लेख रचनाहरू पत्रपत्रिकामा आइसकेका र प्रकाशनको कर्ममा रहेका छन् ।
सम्पादन –
अधिकारीजी एउटा कुशल सम्पादक पनि हो । उहाँले कल्याणी (बार्षिक २०१९–०२३), रहर (त्रैमासिक २०२३), जयनेपाल (वैचारिक पत्रिका २०४७/२०५६),पोखिएका कनिका (कवितासङ्ग्रह २०२५) रजस्थल (त्रैमासिक अङ्क १–१३, २३देखि हालसम्म), झारबुटी (बालकवितासंग्रह २०५९) को सम्पादन गर्दै आउनु भएको छ ।
पुरस्कार/ सम्मान –
विश्वप्रेम अधिकारीले साहित्यिक यात्रामा गरेको लागानीलाई थुप्रै संघ संस्थाहरूले उच्च मुयाङ्कन गर्दै पुरस्कार र सम्मानले विभूषित गरेका छन् । गण्डकी अञ्चल व्यापी बृहत साहित्य सम्मेलन हंसपुरबाट साहित्य पुरस्कार (२०२२), शङ्खनारायण साहित्य पुरस्कार (२०५३), कालीगण्डकी साहित्य कला पुरस्कार (२०५३), तिलाकुमारी साहित्य पुरस्कार (२०५६), वासु पुरस्कार (२०६०), भाष्कर लामिछाने, लोक संसकृतिक पुरस्कार (चितवन २०६८), त्रिमूर्ति पुरस्कार (२०६९), लोक कवि अली मिया लोकवाङ्मय सम्मान (२०६६), जर्जजोन शिक्षा प्रतिष्ठान (अभिनन्द२०६७), ज्योति आवासीय उच्च मा.वि. स्याङ्जा (अभिनन्दन २०६८), रोशनी आ.उ.मा.वि. (सम्मान २०६७) बलराम वाङ्मय स्मृति पुरस्कार (चितवन २०६८), नेपाल शिक्षक संघ स्याङ्जा (अभिनन्दन २०६९),नेपाल निर्माण व्यवसायिक संघ, स्याङ्जा (सम्मान २०७१), भैरव वाङ्मय पुरुस्कार (२०७१? चितवन),नेत्र शोभा स्मृति पुरस्कार (.रुपन्देही २०७२) र ऋधिसिद्धि बचत तथा ऋण सहकारी संस्थाद्वारा सम्मान (वालिङ २०७२) आधी संस्थाबाट उहाँ विभूषित भै सक्नुभएको छ ।
संलग्नता–
विश्वप्रेम अधिकारीको साहित्यिक तथा सामाजिक क्षेत्रमा पनि आवद्ध भएको पाइन्छ । उहाँ स्याङ्जा साहित्य प्रतिष्ठानको अध्यक्ष, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाको, का.वा अध्यक्ष, लक्ष्मी स्मृति सामुदायिक अस्पतालको आजीवन सदस्य,, मातृभूमि पुस्तकालय विर्घा आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, नव माधुरी साहित्य प्रतिष्ठान पर्वको आजीवन सदस्य र सामुदायिक अस्पताल हेलुको स्थायी सदस्य हुनुहुन्छ । यी आवद्धताले उहाँको सेवा साहित्य, शिक्षा, स्वास्थ आदि क्षेत्रमा पुगेको पाइन्छ ।
कृतिको संरचना –
काव्यको नामबाटै जानकारी पाइन्छ कि यस काव्यमा तीन काव्यहरू समायोजन गरिएको छ । ५८ चतुस्पदी श्लोकको बन्दीको मनस्थिति (लधु काव्य), ९२ चतुस्पदी श्लोकको आमा (स्मृति काव्य) र नौ वटा उपशीर्षक सहितको साने गीति काव्यले सुसज्जित भै काव्यत्रयीको निर्माण भएको देखिन्छ । गायत्री अधिकारी र सुषमा अधिकारीको प्रकाशनमा प्रकाशित यस काव्यको मूल्य रु १००/– राखिएको छ । यो काव्य आवरण सहित (१५+५६गरी ७१ पृष्ठको छ । आवरणको अघिल्लो पृष्ठमा आँधी खोलाको मुहानको तस्वीर दर्शाइएको छ भनेपछिल्लो पृष्ठमा लेखकको व्यक्तिगत विवरणले सजिएको छ ।
कृतिकारको काव्यत्रयीप्रतिको धारणा –
बन्दीको मनस्थिति काव्य २०३२ सालमा दमौली जेलमा बस्दा लेखिएको र २०५२ सालमा प्रकाशनमा आएको थियो । यस सम्बन्धमा काव्यकारको कथन छ – "बन्दीको मनस्थिति" 'म स्वयम्का अनुभूतिहरूको अभिव्यक्ति हो । यही काव्यको सिर्जना भए पछि मैले "मेरा लागि जेल अभिशाप नभएर वरदान भयो" भनेको थिएँ । सर्जकको लागि जेल सजाएँ नभएर एउटा सिर्जनशील थलो हो भन्न सकिन्छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाले नै जेलमा बसेर लेखका कृतिहरू मध्यमा जेल जर्नल र फेरि सुन्दरीजलमा हामीले अध्ययन गर्दा उनका अनुभूति, सम्पूर्ण भोगाइ, कला चिन्तनलाई जानकारी लिन सकिन्छ । वी.पी.ले नेपाली साहित्यलाई उच्चाइमा पुर्याए भने नेपाली साहित्यमा मनोविश्लेषण सिधान्तलाई प्रयोगमा ल्याएर स्थापित गरिदिए । अधिकारीजीले पनि बन्दीले भोग्न परेका यावत अनुभूतिलाई आफै व्यहोरी काव्य नै प्रदान गर्नुभएको छ ।
अधिकारीको दोस्रो काव्य हो 'आमा' स्मृतिकाव्य । उहाँले शोककाव्य नभनी २०४५ साल चैत्र महिनामा आमाको निधन भएको र यो काव्य २०५३ सालमा स्मृतिकाव्यको रूपमा लेखिएको थियो । यस काव्यप्रति उहाँको धारणा यस प्रकार छ–'निधनको समय आँसू मात्र झारेर आमाको अन्त्यष्टि र काजक्रिया गरें । त्यस पछि जति जति दिन बित्तै गए उति उति सम्झना ताजा हुँदै गए । आफ्नै छोराछोरीहरूले उनीहरूकी आफ्नै आमासँग गर्ने आशा–अपेक्षा र व्यवहारले मलाई अतिततिर फर्कन बाध्य पार्दै गयो । जति पटक उनीहरू "आमा" भन्दै जान्छन् त्यति पटक नै मेरी ममतामयी आमाको म प्रतिको ममता, बात्सल्ययुक्त व्यवहार शृङ्खला बनेर अगाडि आयो अनि "इच्छ्या हुँदा प्रणवरूप जगत्पिताको आएँ म बस्न तनभित्र तृणैसरीको" भनेर लेख्न सुरू गरें' । अपधिकारीजीका यी अभिव्क्तिमा कटु सत्यता छ । प्राकृतिक प्रकृयालाई उच्चताको साथमा कलात्मकरूपले आफ्ना अभिव्यक्तिलाई पस्कनु भएको छ ।
तेस्रो काव्य जस्लाई अधिकारीजी सांस्कृति काव्य भन्न रुचाउनुहुन्छलाई "साने" गीतिकाव्यको सिर्जना गर्नुभयो । यसमा गन्धर्व जातिको पात्रलाई काव्य नायक "साने" काव्य नायक बनाएर सशस्त्र द्वन्द्वकालमा काव्य लेखेको धारणा राख्नुहुन्छ ।
भूमिकाकारको काव्यकारप्रतिको धारणा –
काव्यत्रयीमा दुई काव्यमा ("बन्दीको मनस्थिति" र "आमा" मा) भूमिका लेखिएका छन् तर "साने"मा भूमिका लेदिएको छैन । "बन्दीको मनस्थिति"मा अच्युत शरण अर्यालले 'कवि र कविता' शीर्षकमा कविको कविता यात्रा, साहित्यिक योगदान, व्यक्तित्वमा प्रकाश पार्दै लेख्नुहुन्छ– 'हरेक कृतिलाई हरेक दृष्टिले हेर्न नसकिए पनि सर्वमान्य धारणाका सापेक्षतामा नै प्रस्तुत कविता कृति बढी आलोकित हुन सक्दछ भन्ने मेरो धारणा छ ' (पृष्ठ ज)।
"आमा" स्मृतिकाव्य र कवितामा विश्वप्रेम अधिकारी शीर्षकमा देवीप्रसाद "वनवासी"ले विश्वप्रेम अधिकारीलाई'नेपाली काव्य जगतका भावना, सिर्जना र चेतनाका त्रिवेणी हुनुहुन्छ' (पृष्ठ झ) भन्नुहुन्छ । "वनवासी"ले विश्वप्रेम अधिकारीका कवितालाई उच्च मूल्याङक गर्दै लेख्नुहुन्छ – '.... विश्वप्रेम अधिकारी राङखोला, स्याङ्जा गण्डकी अञ्चलको धरातलबाट उठेर नबरंगी पखेटा फटफटाउँदै धवलागिरि र अन्नपूर्ण शिखरलाई नाघेर उकालो लागि सक्नुभएको छ । उहाँकी कविता चरी सगरमाथा शिखरतिर लम्किरहेकी छिन्' (पृष्ठ झ)। "वनवासी"जीले आमा स्मृति काव्यको बारेमा पनि गहन धारणा राख्नुभएको छ र काव्य लेखन शैलीप्रति रूढ परम्परालाई तोडेर मानवीय आदर्शलाई उच्च प्राथमिकता दिएको ठान्नुहुन्छ ।
मैले पनि यो काव्यत्रयी अध्ययन गरेर भन्न मन लाग्छ कि काव्यत्रयीमा काव्यकार पूर्वीय काव्यलेखनको परम्पराभन्दा माथि उठेर मानवीय आदर्शलाई प्राथमिकता दिएर परिवर्तन मार्गदर्शनको पथप्रदर्शक हुनुभएको छ निश्चय पनि प्रसंशनीय र अनुकरणीय छ ।
काव्य भित्र प्रवेश गर्दा–
बन्दीजीवन बिताउँदा बन्दीको मनस्थिति कस्तो बन्दछ, समाजले हेर्ने दृष्टि कस्तो हुन्छ, जीवनमा हाँसो आँसु, वियोगको समयमा मानिसले प्राप्त गर्ने अनुभूति राष्ट्रप्रतिको सोचाइ आदि विविध भावनालाई समेट्दै लेखिएको यो लघुकाव्यमा आकृतिको रूपमा लघु देखिए पनि यस्ले समेटेको यथार्थताको प्रस्तुतिकरण भने गहन र विशाल छ । हरेक शब्द शब्दमा गहनता छ ।भावनाका अनुभूति गङ्गाको जलझै पवित्रता छर्दै बगिरहेको पाइन्छ श्लोक श्लोकमा । काव्यारम्भमा नै कविले पोखेका भावनालाई अध्ययन र मनन गरौं –
साथी हुन् सब यी पवित्र मुटुका बन्दी भए तापनि,
सम्झी मात्र रहन्छु स्नेह रसले साथै बसेका भनी
होला गन्ध अँझै दयाद्र दिलमा चीसो छ धर्ती भने,
मान्छेको इतिहास बन्दछ यहाँ आकाशमा चम्किने ।
पृष्ठ १
कविले बन्दी भए पनि बन्दीभित्रको पवित्रता, साथको मित्रता स्नेहरसले सम्झना हुनु अस्वभाविक हैन र निमार्णमा जुट्न सकेमा मान्छेले आकाशमा चम्कने इतिहासको निमार्ण पनि गर्न सक्छ भन्ने धारणाले मानव जीवनको सार्थकतालाई दर्शाउन सकेको छ भन्ने लाग्दछ मलाई ।
जब मानिस बन्दी बन्न जान्छ त्यस वेला सृष्टि आशा भरोसा, सौम्य मनका उद्विघ्नता, स्रष्टा वैंश हृदयको आलोक भावना डुब्नु, र सारा बान्धको प्रदिप्त मोहडा र कामना खस्कन सक्नु जस्ता अनुभूति, हुन सक्छ ।
आमाको स्नेहको सम्झना, हृदयका साथीको शोक, माया लुप्त हुनु विवशता बढ्नु, गोली सङ्गिन साथमा हुनु, यी जीवनका संघर्षमय क्षणमा पनि कवि दृढ छन् –धौलासिरीको शिर सरह पवित्र र उच्च शिर लिएर मादी नदीको तटमा लामो साहसको साथमा, मीठो कान्ति सौम्य रसमा बस्ने अठोठता छ कविको ।
कविको जेल जीवनमा कोमलको फूलसरह, बाल्यकाल आमाको काखमा बितेको याद आउनु, आज जेलमा रहँदा नियास्रो लाग्नु भन्दै कवि आशा वादी देखिन्छन्, काल बितेपछि दुःखको कालमोचन हुने, प्रकृति लगायत सबै हाँस्ने छौं भन्छन् ।
दानवतावादको उन्मुलन र मानवतावादको स्थापनाको लागि जेलगृहमा बसेका कविको धारणा यस्तो छ –
आमा हुन् धरणी पवित्र सबकी, हामी भयों बालक
इच्छा हो सबको अनन्त सुखको त्यो ईश हो पालक
हामी बढ्नु छ मानवी प्रणयमा निर्दिष्ट बाटोतिर
पीडा गम्य छ दानवी हृदयको रोइन्छ त्यै खातिर
पृष्ठ ३
माटोप्रतिको मोह –
कविका भावना विविधतामा बगेका छन् । कवि लालीगुराँसको छटासँग, वसन्तको बल्लरी, फूल, कोपिला चराको तथा कोइलीको स्वर आदिसँग रमाउँछन् साथै यस्ता प्रकृति प्रेमी साहित्यकारको मन सबै अट्ने आधार शीला माटोमा गएर अडिन्छ । माटोलाई कविले पवित्र ठान्छन्, मनको आधार मान्छन्, 'माटो भिन्न हुँदैन स्वत्व जगमा सानिन्ध्य माटोसित' भन्छन् माटाकै अभिषेकमा घनघटा गर्जने वर्षने र सच्चा प्रेम प्रफुल्ल हुँदा माटो उच्च हुने आलोक मौलाउने, सुखले प्रफुल्ल हुनेमात्र नभएर माटो निर्वाण र मुक्ति हो भन्ने धारणा उहाँकै शब्दमा हेरौं –
माटोको गरिमा सकार्नु दिलमा निर्वाण, वा मुक्ति हो,
"भोग्याभोग्य" प्रपञ्च हो जगतको "ईष्र्या" महाजाल हो
पृष्ठ ५
अतितको गौरव गाथा र कविको धारणा – नेपालको अतितको गौरव तथा अतितको यादले कवि हृदय छुन्छ र यही माटोबाट बुद्धले बुद्धत्वलाई फैलाएको धारणा, सीता महामना जनक पुर्खाको साहस, हिमालको अटलता जस्तै कविको धैर्यशिखा पनि अडीग भएर घर्षण गर्ने उनको भावन र धारणालाई कसैले लुट्न नसक्ने धारणा दृढताको साथमा राखेका छन् काव्यकारले ।
जेलको कष्टदाइ क्षणहरूमा याद आउनु, दिएको अमावीय यातनामा आँखा रसाउनु, आफ्नो भावनासँग मेल नखाने व्यक्तिको उपस्थिति भए पनि एक्लो महसुस हुनु, बाल्य जीवनका क्रीडा र मोहनको याद, आमाको बाबाको माया ममताको यादका प्रस्तुतिका एक एक शब्द मार्मिक छन् ।
काव्यकारको चाहनालाई हामीले उहाँकै शब्दबाट अध्ययन गरौं –
भन्ने शुद्ध विचार अघि बढोस् हाँसुन् सबै बान्धव,
हाम्रो देश फलोस् फुलोस् महकले हामी विना के छ र
कोही वैभवमा निमग्न रहने, कोही रूने नहोस्
नेपाली मुटु भित्र–भित्र छहरो सद्भावनाको बगोस् ।
पृष्ठ १०)
कविले 'बन्दीको मनस्थिति' लघुकाव्यमा बन्दीले भोग्न परेका असहज परिस्थितिलाई सहजकताका साथ वर्णन गरेका छन् । देश प्रतिको ममता, नेपालको गौरव, नेपालीहरू सबकैको मनछुन सक्ने, अतितका हार्मा पुर्खाहरूको वीरता, बुद्धको बुद्धत्वको प्रचार प्रसार, ममतामयी आमा र माटाको माया, प्राकृतिक सौन्दर्य, चराहरूको गान, मनको कामना शान्तिको चाहना, आफ्नो दृढ अभिव्यक्ति, अनुभव र अनुभूतिलाई सहज र सफल रूपमा प्रतुत गरिएको छ काव्यमा । काव्यका एक एक श्लोक गहन छन्, उच्च भाव छ, जस्को जति विश्लेषण गरे पनि कमी नै देखिन्छ ।
आमा स्मृतिकाव्यको सङ्क्षिप्त विवेचना –
काव्यकारले काव्यको थालनी, सर्वप्रथम 'आफैलाई गरी प्रणाम चोप्दैछु यो लेखनी' भनि, गर्नुभएको छ । यो काव्यकारले परमपरागत काव्य लेखनमा दिएको परिवर्तित मार्गदर्शन हो र मानवीय आदर्शलाई दिएको उच्चत म प्राथमिकता हो । काव्यकारले ममतामयी आमाबाट अञ्जली थापेर सारा ममता लिएको र यस काव्य मार्फत प्राञ्जली फोयर फिर्ता दिन तयार हुँदै लेख्नुहुन्छ –
"बाबू" यो प्रिय शब्दका सँगसँगै सद्भाव सन्था लिएँ ।
धर्तीमा थिरि भै कथा प्रणयको आवाल ताते लिएँ ।
न्यानो काख लिएँ मस्क्क निदमा बूबू र तेते लिएँ,
सानो स्मृतिकथा फुकाउँछु यहाँ पैल्यै त के पो दिएँ
पृष्ठ १५
यो यथार्थ सत्य हो कि ममतामयी आमाले आफ्नो सन्तानलाई प्रदान गरेका माया, स्याहार आदिबाट बोकाएको ऋणलाई एउटा सन्ततिले कहिल्यै तिर्न सक्दैन । आमाको सन्तति प्रतिको त्याग र वलिदान महान हुन्छ ।जस्लाई बर्णन गर्नको लागि उपयुक्त शब्दावली नै भेटिदैन । काव्यकारले मनको सद्भावले अर्चना गर्नु, ढोग गर्नु, आमाजाती प्रशंसित बनून् भन्दै लेखनी चलाउनु, सम्पूर्ण समाजबाट शो्षित पीडित अपहेलित घृणित, बेचिएका, दीन दुखीआदि जे जस्तो अवस्थामा भएका आमाहरूलाई मनबाटै घृणा त्यागी साष्टाङ्, सद्भाव र स्नेहले बारम्बार प्रणाम गर्छु भन्दै आफ्नो काव्य लेखनीलाई अगाडि बढाउनु भएको छ ।
आमाको चाहना सधैं आफ्नो सन्तान सहजमा हुर्किवस्, पीडा, दुःख,भोक निद आदिमा असहजता नआवस्, सन्तानका चाहना पुरा हउन् सदा तत्पर्ता आमामा दर्शिनु तर सन्तान भने रत्नसरिको ममता भूलेर स्वार्थी भएर केवल पिण्डको डल्लो दिन नै प्रस्तुत भएको पाइनु भन्दै काव्यकारले आमामा पूर्णता पाउँछन् –
तिम्रो विशाल मन मन्दिरको खजाना
भोगें निमग्न बनी नित्य गरी बहाना
खाली भएन कहिल्यै कति पूर्ण रैछ्यौ
विद्या समान जननी ! कुलराग रैछ्यौ
पृष्ठ २०
यो काव्यमा विविधता छ, आमाको स्मृतिमा मात्र काव्य सीमित छैन । काव्यकारको जीवन घटनाहरू, आफू दुलाह बनेको अवस्थामा आमा रुनु, देशमा परिवर्तन आउनु, शहिदहरूको रगतको कदर नहुनु देशमा देखिएको विकृति विसङ्गति आदिले गर्दा काव्यकारलाई देश विकलाङ्ग भएको, जिन्दगानी पूरा सुरामय भएको, सूर्य नै कालो भएको अनुभूति काव्यकारले पस्केका छन् –
संग्रामले दिनदिनै बढ्दा प्रलाप
बन्दो छ दीनहरूको अवरूद्ध पन्थ
आत्तिन्छु भन्छ मनले खुब खिन्न साथ
हुन्थ्यो कि ठिक बरू वैदिक साम्यवाद
पृष्ठ २६
आजको संसारको परिस्थिति ज्योतिमय नभएर अन्ँधकार मय छ, शान्ति छैन, कट्टा छुरी र खुकुरी चेन आदिे हानेर घात प्रतिघात भएको घरबाट हिडेको मानिस फर्कन्छ या फर्कदैन आदि देशको परिस्थितिसँग कवि चिन्तित छन् –
उस्तैछ फेरि जननी ! कलराग द्वेष
आतङ्कले हुन गयो विकलाङ्ग देश
पृष्ठ २७
आजको अधर्मको कारणले आकाश–वायु–प्रकृति सबको हितमा नभएको अनूभूति, शुभकर्म र वेदवाणी र आर्यकुलको रसिलो कहानीलाई कस्ले सुन्ने, माता पिता गुरुलाई द्यौता समान कस्ले ठान्ने, संसार जाल झेलले चुलिएको कारणले र शान्ति नहुँदा देह र देश दुखेका कुरा,कौमार्य लज्जित सबैका अगाडि बनेको, घरवरिपरि बहिनी तिरस्कृत भएकी, युवाहरूले अधरमा चक्की दल्नु, सुरामय जिन्दगी बन्नु, पुरानो कलाहरू प्रकम्पित छन् र वेचिदै छन्, अघिको संस्कार छैन, बालून, सोरठी जनराग घाटुलाई देख्न नपाइने भएको, पुरानो संस्कृति कलाहरूमा आक्रमण भएको, आदर्शयुक्त प्रण नरहनु जस्ता विविधखाले कुकृत्यको कारण कवि चिन्तित भएको धारणा काव्यमा आएका छन् । यस्ता विकृतिहरू आजका यथार्थ हुन् र यी यथार्थता नेपाल र नेपालीलेमात्र नभएर आजको विश्वले भोगेको छ । काव्यकारल,े यस्ता विकृति र विसङ्गतिसँग काव्यकार हटेर हैन डटेर अघि बढ्ने, प्रतिज्ञा गर्दछन् –
माटो लिएर जननी ! करमा, प्रतिज्ञा
गर्दै म भन्छु अघि झै नगरी अवज्ञा
फर्कन्न कत्ति म पछि निज लक्षबाट
छोरो म हूँ हजुरको छ मही सपाट
पृष्ठ ३०
कविको जीवन दर्शन पनि अतुलनीय छ । काव्यकारले प्रश्न राख्दै लेख्नुहुन्छ–
यो देह आफै पनि तुच्छ हो त ?
चैतन्यले प्लावित हुन्छ नित्य
त्यै चेतनाको भरमा परेर,
चल्दो छ यो नित्य अनन्त सर्ग
पृष्ठ ३०
चेतनाले अमरत्व तर्फ लान्छ, केही कर्म हुन्छन्, आशक्तिले गलानी निम्त्याउँछ, मेरा र तेरा रंगमा भूल्न नहुने, जीवले नै जीवनलाई स्तुत्य बनाउँछ, उन्माद, विद्वेषसँगै रहन्छ जस्ता दर्शिनिक अभिव्यक्ति काव्यकारले पोखेका छन् ।
आजका राजनैतिक गतिविधिलाई पनि काव्यकारले नियालेका छन् । शहीदको रगतले सिञ्चित यो देशमा शहीदहरूले पाउन पर्ने सम्मान पाउन सकेका छैनन् । नेताबाट भाषण मात्र भर्ने गरेको छ र भोकाहरू हेपिएका हेपिएकै छन् नेताहरू महलको बास, पजेराको सबार, थोत्रा दर्शनलाई लिएर बखेडा निकाल्ने, आफ्नोमात्र हित चाहाने, निरह जनताको कुनै अस्तित्व छैन, नेता चिन्तनहीन बन्नु, प्रजातन्त्र आए पनि गाउँका जनताले प्रजातन्त्रको अनुभूति गर्न नसक्नु, क्रूरपन बढेको, कुकटुता हुर्केर बज्रिएको, दलभित्र क्षुद्र भएको, काया नचिन्नेहरू हाँसिरहेका, देशै नचिन्नेहरूले देशको अगुवाइ गरेका, मनमा आँखै नदेख्नेहरू मानिसको शरीरमा नाचिरहेका जस्ता धारणाहरू काव्यमा आएका छन् । काव्यकारले आफ्नो अठोट धारणालाई पस्केको काव्यको अन्तिम श्लोकलाई यहाँ प्रस्तुत गर्न मन लाग्यो –
दिन्नन् यी दयनीयलाई मनले देखे बुझेको कुरा,
के मागौं खलका अगाडि मलिनो देखाउँदै चेहरा ।
बोक्दै साहससाथ झन्झट सबै खेपेर आजीवन
आमा बाँच्छु म ढुक्कमात्र हुनुहोस् रोएर भो बाँच्दिन ।
यस काव्यलाई केलाउँदा मलाई यो एउटा मृत आमालाई स्मरणा गर्दै काव्यकारले आमाबाट प्राप्त माया ममतालाई स्मरण गर्दै आमालाई आफूले पुर्याउन नसकेको सेवाभावलाई प्रकट गर्दै सामाजिक राजनीतिक, आर्थिक अवस्थालाई केलाउँदै विकृति र विसङगतिप्रति कटाक्ष गर्दै, आमाहरूलाई महत्वपूर्ण स्थान दिएर आफ्नो जीवन कथालाई समेत अठोटताका साथ प्रस्तुत गर्नुभएको छ ।
साने सांस्कृतिक लघुकाव्यको भावसार –
यस काव्यलाई काव्यकारले शीर्षकी करण गरेर लेख्नुभएको छ । पहिलो शीर्षक छ –'श्रवणकुमारको मुक्तिनाथ यात्रा' । मुक्तिनाथको कागवेनीमा पितृलाई जलाञ्जली दिन अन्धाअन्धी बाबुआमालाई खर्पनमा बोकी हिड्दै मार्कण्डेय ऋषिलाई काहिरे चुलीमा भेट्नु राम्दी पुग्नु र बास बस्नु, यक्षसँग भेट गरेर आमाबाबु देवता हुन् भन्ने सन्देश छाड्दै करादीको डाँडा माथि लाँकुरीको फेदमा कुशासन माथि बसे गाउँबासी सोध्न आउँदा 'धर्म भन्ने धारणा हो' भन्ने सत्य गोड्दै भोलि पल्ट छाङछाङ्दीमा आएर पचास पाइला माथि चढेर न्यानो बास पाएर झर्नाको पानी शिवजीलाई अर्पेर थर्कटी ओछ्याएर बस्नु, फलाटेको तलतिर पञ्चमूलको अमृतसरहको जल पान गरेको । आज ओडारको न्यानो बास, सेउलाको आसन र ऐंसेलुको खाजाभुजा,अमलाको खाना गर्ने गरी श्रवण कुमार पानी खोज्न गए पछि यो शीर्षकको समाप्त हुन्छ ।
पानी लिन गएका श्रवण कुमारले जब पानी भर्न थाल्दा 'हवातत' आवाज आउँदा मृग ठानी राजा दशरथले शब्दभेदी बाँण हान्दा श्रवण कुमारको मृत्युहुन्छ वनमा कोलहाल बन्छ,वन्यजन्त' लगायत सबै शोकमय बन्छन्, राजा दशरथले क्षमा माग्छन् पानी लिएर राजा दशरथ अन्धाअन्धीलाई श्रवण कुमार मारिएको जानकारी दिए पछि अन्धाअन्धी रुँदारुँदै त्यहीं मृत्यु हुन्छ अन्धाअन्धीको आँसु नै आँधीको मुहानको स्रोत बन्छ ।
सानेले यो गीत गाए पछि उस्ले चेतनाको गीत गाउँन थाल्छ । विविध खाले गीतहरू मार्फत विवेक र पसिनालाई छर्न पर्छ र दुई हात हुँदासम्म गर्नु पर्छ र सिर्जनाका जुहार बाँड्दै सबैलाई माया गर्दै मानिस पूर्ण हुनु पर्ने जस्ता सन्देश दिन्छ ।
सानेले सारङ्गीको कथा सुनाउँदै रावणले तीनतारे बजाउने, नारदले एक तारे बजाउने, सौरङ्गगीको राम्रो रूप सारङ्गीले बोकेकोर आज चन्द्रचङ्गी मनरङ्गी नामलिएर नेपालको सबैको साझो बाजो हो कतै कतै यसलाई 'पिवाङ',कतै सेरेञ्जा, कतै 'मसक' कतै 'ओतनी' कतै 'दिलरुवा' (भारतमा) भनिने लोक बाजो यही सारङ्गी हो र यसले वैराग्य र तिर्सनाको कथा सुनाउँछ कतै हँसाउँछ र कतै रुवाउँछ भेदभाव बढ्दै जाँदा माटो पनि रून्छ त्यसो हुँदा भेदभाव रहित समाजको सिर्जना गर्नुपर्छ भन्दै सानेले सारङ्गीको कथा सुनाउँछ ।
सानेले पूर्वको टिष्टा र पश्चिमकमो काँगडासम्म पुर्खा घुम्ने गरेका, बलभद्र नालापानी, भक्ति थापा द्यौथलमा लडेका कथा, अमर सिंह, बलभद्र, कालु पाण्डे, शुक्र, धर्म, दशरथ गंगालाल जस्ता सपुतका कथाहरू बटुलेर, जलारीका माझ, हाट–बजार, मठ मन्दिर, जहाँगए यो अरबाजो साथमा हुने र भाका बदलेर आँधी खोला तरी तरी गाउने काम नुवाकोटकी भैरवकाली र सतौंकी चण्डीले चेतनाको मन्दीलाई हेरेर सानेलाई सभ्यतालाई छाम्दै जानु भन्ने साहस भरिदिने धारणा आएको छ काव्यमा ।
देशमा चलेको माओवादी युद्ध र राज्यसत्ताका सेनाको दोहोरो मार जनताले भोग्न परेको र सानेलाई पुलिसले माओवादी भन्ने र माओवादीले गुप्तचर भन्ने कुराहरू जनताले सुनेको हुँदा यस्तो अवस्थामा बच्नु पर्ने विचार पुर्याउनु पर्ने कहीं कतै कसैको विश्वास छैन भन्दै जनताले सानेलाई सर्तकको जनाउ दिएको जनधारणालाई पनि काव्यले समेटेको छ ।
त्रिभुवन उद्यानमा साने र त्रिभुवनको भेट शीर्षकको गीत यस काव्यको अन्तिम गीत हो यसमा सानेले गाएको । यसमा आधिखोला के हो ? भन्ने मौन प्रश्नको उत्तर दिए सरह लेखिएको छ –
सभ्यता हो आँधीखोला चिन्न सक्नेलाई
सिर्जजना हो आँधीखोला लेख्न सक्नेलाई
सद्भाव हो आँधीखोला देख्न सक्नेलाई
व्यवहार हो आँधी खोला गर्न सक्नेलाई
यस गीतमा आँधीखोलाको फाँट मलिलो भएको, गह्रौ, भीरकोट, सतौ र नुवाकोटं चार कोट, शीतल बस्ने चौतारी, पाटी पौवा भएको, चारै वर्ण जातका मानिस मिलेर बसेको, मौलिकता झल्काउने,संस्कृति भएको बर्णनको साथै त्रिभुवन रसाने बीचको बार्ताला पनि यहाँ समेटिएको छ । त्रिभुवनले सानेलाई आसिक दिदै सोधेको धारणालाई यहाँ पस्कन मन लाग्यो–
अहिले छैन गादीमाथि भने हुन्छ काका
बेल साने ! नडराई अचेलको भाका
उभिएको छु वाणासुरको थोत्रो नगरीमा
हेरिराछु एकोहोरो त्याज्य मुकुटमा
पृष्ठ ५६
शालिकले सानेलाई अचेलको भाका बोल्नको साथै धरहरा ढल्लाजस्तो, भ्याली रोलाजस्तो, वागमती सुक्लाजस्तो,आफ्नो पन हराएको, जनता जुहार र नेपाल स्वर्ग हो तर पाखण्डीले नबुझ्दा बेहाल भएको, सानेलाई चिरञ्जीवीको आसिक दिएको, चिरञ्जीवी हुन त कि आयु लामो हुनु पर्ने या यश–गाथा चाहिने तर दायाँ वायाँ अघिपछि बन्दुक तेर्सिएका छन् गन्धर्वलाई के को चिरञ्जीवी बन्नेजस्ता भावनामा बग्दै साने सपनामा रहेको वेला ऊ आवाजले ब्यूँझ्योको साथै तलका चार पङ्क्ति सहित साने लघुकाव्य समाप्त हुन्छ–
सपनामा रैछ साने ब्यूँझ्यो आवाजले,
उही त्रास उपस्थित सोच्यो मगजले
सेना हो कि लडाकु हो ? चिन्ने मुस्किल भो
संवाद टुट्यो, वाणी लुक्यो शालिक मात्र रह्यो
पृष्ठ ५६
यस लघुकाव्यले विशाल क्षेत्रलाई ओगट्न सफल देखिन्छ । पौराणिककालदेखि आजसम्मको सामाजिक, आर्थिक, राजनीतिक साँस्कृतिक, धार्मिक आदि यथार्थलाई समेट्दै अघि बढेको यो काव्यलाई काव्यकारको धारणामा सांस्कृतिक काव्य भनिएको भए पनि मलाई यस काव्यलाई सानो ऐतिहासिक दस्तावेज र अनुसन्धामक लघुकाव्य हो भन्न मन लाग्यो ।
भाषा शैली – यस काव्यमा प्रयोग भाषालाई मिश्रितरूपमा हेर्न सकिन्छ । कतै भाष सरलर सहजरूपमा पयोग भएको पाइन्छ (जस्तै साने लघुकाव्यमा) भने कतै कतै क्लिष्ट (बुझ्न कठिन) शव्दहरू पनि – (जस्तै बन्दीको मनस्थिति) प्रयोगमा आएका छन् । आमा स्मृति काव्यमा मिश्रित शब्दावली पाइन्छन् । समग्रमा बोधगम्य शब्दको प्रयोग भएको छ । छन्दमा र गीति लयमा लेखिएका यी काव्य लयात्मक र श्रुतिमधुर पनि छन् ।
शीर्षकीकरण – शीर्षकको विषयमा पनि मलाई ओदानसँग दाँज्न मन लाग्यो । जसरी ओदानको शिर तीनवटा खुट्टालाई साथ लिएर खडा भएको हुन्छ त्यसरी नै काव्यत्रयी तीन काव्यको शिर भए र बसेको छ । शीर्षकलाई सार्थकमै लिनु पर्दछ ।
पात्र विधान – बन्दीको मनस्थिति र आमा लघुकाव्यमा लेखकको स्वय म मूल नायकको रूपमा देखिनु भएको छ भने सानेमा साने नै मूल पात्र हो । यी तीनै काव्यमा काव्य लेखन शैली भने पूर्वीय दर्शनको मार्गभन्दा फरक छ । मङ्गला चरणमा काव्यकारले बन्दीको मनस्थितिमा साथीलाई स्मरण गर्दै काव्यको थालनी गर्दै 'मान्छेको इतिहास बन्दछ यहाँ आकाशमा चम्किने ' अभिव्यक्तिको साथमा अघि बढ्नुभएको छ ।आमामा 'आफैलाई गरी प्रणाम पहिले चोप्दैछु यो लेखनी' भनी सबै किसिमका आमाहरूमा प्रणाम र सत्भाव पोखेर काव्य लेखनमा अघि बढ्नुभएको छ । साने लघुकाव्यमा काली गंगा मुक्ति नाथ धाम पितृ सभ्यताका प्रतिक श्रवण कुमारराजादशरथ, राजा त्रिभुवन, लगायत धेरै व्यक्तिको सहभागिता देखिन्छ । काव्य लेखनमा नायक छान्दा धिरोदात्त गुण भएका हुनुपर्दछ भन्ने छ । यी काव्यका नायकहरूमा ती गुणहरू मौजुदा देखिन्छनन् भन्ने तथ्य काव्य विश्लेषणमा पाइन्छन् ।
अतः काव्यकारले यी तीन काव्यमा सत्य घटनाक्रममा आधारिथ रहेर स्वय म जेल यातना क्रममा 'बन्दीको मनस्थितिमा' आफैले भोगेका अनुभूतिहरूलाई प्रतुत गर्नुभएको छ भने 'आमा' स्मृति काव्यमा काव्यकारले आमाको गर्भबाट ओर्ली बाल्यकालमा आमाबाट प्राप्त माया त्याग, आमालाई गर्न नसकेको सेवा तथा जीवनमा भोग्न परेको सुख, दुःख, भोग्दै, चेतनशील अध्येता, कुशल गृहस्थी, इमान्दार राजनीति कार्यकर्ताको रूपमा आफूलाई प्रस्तुत गर्न सफल देखिनु भएको छ । आमाको स्मृति काव्यमा कविले आफ्नो जीवन कहानीलाई, राज्यको राजनीतिक अवस्थालाई अर्थात तत्कालीन राजनीतिक तथा सामाजिक विकृति विसङ्गतिलाई समेत प्रष्ट्याउने प्रयास गर्नुभएको छ । साने लघुकाव्यले श्रवण कुमारको पितृभक्ति, अन्धाअन्धीको आँसुले आँधीखोलाको मुहानको उत्पत्ति, राजा त्रिभुवनले सानेमा राखेको अभिव्यक्ति, आँधीखोलाको संसकृति देशले भोगेको द्वन्द्वलाई समेटेको छ । कविले प्रस्तुत गरेको काव्यत्रयीमा छन्दलाई निरन्तरता दिएको छ र आजको गद्यमा लेखिने प्रचलनमा छन्दमा कविता कोरिनु आवश्यक्ता पनि हो । यथार्थतालाई समाउँदै स्वच्छन्दरूपमा रमाउँदै जीवमा भोग्न परेका घटनाक्रमलाई प्रष्ट्याउँदै अनुकरणीय र प्रशंसनीय काव्य प्रदान गर्ने काव्यकारलाई धन्यवाद दिंदै काव्यकारको दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु र बिदा पनि चाहन्छु ।
सदानन्द अभागी
कावासोती नगर पालिका वडा नं ७ शान्तिाचोक
२०७३साल श्रावण महिनाको अन्तिम सोमवार (३१गते)
No comments:
Post a Comment