December 27, 2020

सम्झनाका झिल्काहरू’लाई अध्ययन गर्दा


परिचय

विष्णुबहादुर सिह एउटा मूर्धन्य साहित्यकार हुन् उनका धेरै कृतिहरू बजारमा आएका छन् । पल्लव साहित्य प्रतिष्ठानको यही भाद्र १० गते साहित्यिक कार्यक्रममा विष्णुबहादुर सिंहबाट 'सम्झनाका झिल्काहरू' उपहार स्वरूप प्राप्त गरें । यो विष्णुजीको बाइसौं स्मरणसङ्ग्रह हो । विष्णुबहादुर सिंहको साहित्यिक कलम नियात्रामा मात्र सी सम्झनाका झिल्काहरू'लाई अध्ययन गर्दा मित छैन । उन्ले संस्मरण, हाइकु, ताङ्का, गीत गजल, कविता, लघुकथा, मुक्तक, चोका र सिजो लेखनमा समेत हात चलाउँदै आएका छन् । सिंहजीको यो सम्झनाको भिल्कोको अध्यनले के प्रष्ट पार्द छ भने उनी एउटा सिद्धहस्त साहित्यकार मात्र नभै कर्तव्यनिष्ठ विद्युत इञ्जिनियर पनि हुन् ।

उनका यी नियात्राहरू प्राय विद्युतको विकासको सिसिलामा अध्ययन, गोष्ठी, तालिम, जागिरमा जाँदा देखेका भोगेका यथार्थतालाई पाठकसामु पस्केका छन् । उनका यी यात्रा लेखमा नेपालको विकासको बारेमा, नेपाली समाजको बारेमा नेपाली पनको बारेमा गहन चिन्तन छ । जहाँ जान्छन् त्यो देशको नेपालको यथार्थतासँग तुलना गर्दछन् । विकासमा अवरोध हुनुका कारणको खोजी गर्दछन् । उनको त्यस खोजीमा त्यस क्षेत्रको आर्थिक विकास सामाजिक परिपाटी तथा रीतिरिवाज प्राकृतिक सौन्दर्यता, आदि विविध पक्षमा डुबुल्की मार्ने र सकेसम्म मोतीलाई लिएर निस्कने, मोती नपाए सिपी नै किन नहोस् रित्तोहात नफर्कने साहित्यकार हुन् उनी । मेरो मूल्याङ्कनमा यही नै हो सिंहजीको परिचय ।

यो कृति बजारमा आउनु अगावै तीस पाइला (वि.सं.२०६१) र स्मृतिका छालहरू (वि.सं. २०६२) नियात्रासङ्ग्रह बजारमा आइसकेका छन् । यस कृतिमा स्वदेशका ७ र विदेशका १० गरी कूल १७ वटा नियात्मक संस्मरणहरू सगृहित गरिएका छन् । आवरण सहित यो कृति १२१ (१७+१०४) पृष्ठमा सजिएको छ । यस कृतिको प्रकाशन विद्युतकर्मी साहित्यिक समाज, दरवारमार्ग, काठमाण्डौले गरेको छ । मूल्य २०० राखिएको छ ।

कृति भित्र प्रवेश गर्दा –

मातृका पोखरेलको धारणा अनुसार पन्ध्रौं शताब्दीतिरको राजा गगनिराजको यात्रालाई पहिलो कृतिको रूपमा लिने हो भने यात्रा साहित्यको इतिहास ५०० वर्ष लामो देखिन्छ । यस लेखनको ३५० वर्षपछि पुन सिद्धिमान राजभण्डारीद्वारा लिखित जङ्गबहादुरको बेलायत यात्रको विवरण पाइन्छ । आजको सन्दर्भलाइ केलाउँदा यात्रा साहित्य फष्टाउँदै गएको पाइन्छ । सिंहजीले पनि यात्रा साहित्यमा एउटा कोशे ढुङ्गा थपेको अनुभूति हुन्छ । यस कृतिलाई स्वदेश र विदेश गरी दुई खण्डमा विभाजन गरिएको छ । लेखकले नियात्रा नभनी ''सम्झनाका भिल्काहरू'' भनी नामाकरण गर्नुभएको छ । लेखहरू सबै पुराना भएका र प्रकाशन भने नयाँ भएकोले यसबाट जे जति सन्देशहरू प्राप्त हुन्छन् ऐतिहासि बनिसकेका हुन्छन् तापनि समाजमा गतिशिलता जे जति भए पनि समाजमा गाडिएको संस्कार भने त्यति सजिलै परिवर्तन भने हुँदैन सिंहजीको यो सम्झनाका झिल्काहरूमा दर्शाइएका घटनाक्रमहरू स्मरण योग्य छन् । अब नियात्रातिरका शीर्षकतिर लम्कौं–

'स्मृतिका पानामा त्रिशूली–देवीघाट'– यस लेखमा कृतिकारले त्यहाँका मानवीय क्रियाकलाप (खासगरी नेतृत्व वर्ग र पत्रकारको) त्रिशुली जलविद्युत आयोजनाको सुदृढीकरणको सिलसिलामा २०४९देखि करिव ३ वर्षको त्यहाँको यथार्थतालाई पस्कने प्रयास गरेका छन् । पृथ्वीनारायण शाहाले कान्तिपुर विजय गर्नुभन्दा पहिला वि.सं. १८०१ देखि १८२५सम्म नुवाकोटलाई नेपालको राजधानी बनाउनु भएको, 'बेलकोट, मालाकोट, धुवाँकोट, भैरुमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङ्कोट प्यासकोटजस्ता नौ कोटले् धेरिएकाले सबैको केन्द्र विन्दु नौ कोटबाट अपभ्रंश भई नुवाकोट हुन गएको', नुवाकोट दरबारको परिसरमा रहेको भैरवी मसन्दिर नौ तले (हाल सात तले) दरबार, लिङ्गो ठड्याउने मेला, प्राचिन नाचहरू, जस्तै लाखे नाच, घाटु नाच, देवीघाटमा श्री५ बडामहाराजाधिराजको समाधिस्थलमा पूर्णकदको सालिक, वेत्रावती (उत्तर गया) जहाँ एक पटक पितृलाई पिण्ड दिए पछि पिण्ड दिइरहन नपर्ने, जालपा देवीको मन्दिर, लेखकले सम्झनाका पाइलाहरू गीति यात्रासंस्मरण प्राप्त गर्नु र प्रभावित हुनु जस्ता धारणाहरू यस लेखमा अध्ययन गर्न सकिन्छ ।

'ककनीबाट घोप्टे भीर हेर्दा'– (जहाँ थाइएयरवेजको विमान दुर्घटना भएको थियो) , र्दुघटनामा दिवङ्गत भएकाहरूको स्मारक बनाइएको ठाउँको अवलोकन र सोसम्बन्धमा लेखिएको लेख हो । यस लेखमा ककनीबाट देखिने हिमाल र प्राकृतिक सौन्दर्यको बर्ण पनि प्रस्तुत गरिएको छ ।

'नेपालको स्वीजरल्याण्ड'–यस लेखमा जिरीको विकासलाई स्वीजरल्याण्डसँग तुलना गरिएको छ । यहाँ याकको चिज पाइने, दोलखाको भिमेश्वर मन्दिरको मूर्तिमा पसिना आएको चर्चा, जिरीको नाम लिंदा स्विसहरूको नाम लिनै पर्ने किनकि लामोसाँघु जिरी नमुना सडक स्विसहरूले नै बनाएका, स्विसहरूको सहयोगले जिरी स्वर्ग भएको, जिरीबाटै एभरेष्टको बेसक्याम्प सुरु हुने, वि.सं. २०१०मा तेन्जिङ सेर्पा र एडमन्ड हिलारी जिरी हुँदै सगरमाथा आरोहण गर्न गएका, २००७ सालमा टोनी हेगेनले पनि जिरिको भ्रमण गरेका, जिरीको प्रविधिक शिक्षालय, गाई फार्म, टोनी हेगेन र डा. सुल्टेसले जिरीको विकासमा महत्वपूर्ण योगदान दिएको, सडक गए पछि जिरीको हवाई अड्डा सुतेको धारणा यस लेखमा आएको छ ।

शहिद पार्कमा एक घण्टा– यस लेखमा नियात्राकारले हेटौडाको शहिद पार्कको वर्णन गर्नुभएको छ । हरियालीले भरिएको सुलुत्त परेको डाँडामा स्मारक बनाइएको, स्मारकमा एउटै ढुङ्गामा बाह्रजना शहिदको मुखाकृति कुँदिएको, स्मारकमा मदन भण्डारीको पूर्ण कदको सालिक, राखिएको, सूर्योदय र सूर्यास्त अवलोकनको लागि बनाइएको टावर त्यसबाट चढेर हेर्दा हेटौडा सहरको केही भाग अवलोकन हुने, स्मारक स्थलमा चितुवा, स्याल, चित्तल, निगाले चितुवा, रतुवा मृग, ढेडू, अजिँगर, जरायो, उल्लू, राजहंस, कछुवा, खरायो, बाँदर, मजुर, वेलायती मुसा आदि जीवजन्तु पनि राखिएको र १७ हेक्टरमा फैलिएको यो स्मारक स्थलमा मन्दिर पनि भएको, बालबालिकाको लागि बनाइएको बालबाटिकामा रोटे पिङ, घुम्ने पिङ र चिप्लेटी आदिको विवरण अध्ययन गर्न पाइन्छ ।

बिदाको अर्थ खोज्दै जाँदा – बिदाको दिन बिताउन साथीभाइको घरमा जम्मा भएर तास खेल्ने जाँड रक्सी खाने जस्ता कामलाई छाडेर सही सदुपयोग गरी शिक्षाप्रदरूपमा मनाउन पर्छ भन्ने धारणामा लेखिएको यो लेखमा हत्तीवन रिर्सोटमा सपविार गएको, भुटानबाट नेपाल आएका वाङ्दी लामाले १९९० ताकै रिसोर्ट बनाएको यस रिसोर्टले देशको संस्कृतिलाई दिन सकेको, नयाँ नयाँ ज्ञान पाउनको लागि पनि घुम्न पर्ने र बिदा मनाउन परिवारको पूरापुर साथ चाहिन्छ र त्यसवेला बिदाको सही अर्थ बुझिन्छ भन्ने निष्कर्षको निकाल्दै लेख समाप्त हुन्छ ।

सधैँका लागि 'बन्द' गर्ने प्रतिज्ञा –यस लेखमा लेखकले बन्दको कारणले देश र जनताले भोग्नपरेको दुःख कष्टमा व्यङ्ग गर्दै सधैंको लागि बन्द गरौं भन्ने धारणा राख्नुभएको छ । यस लेखमा लेखकले पोखरा विश्वविद्यालयको दिक्षान्त समारोहमा २६ जनवरी २००४मा सहभागी हुनु, सोही दिन काठमाण्डौ जानु र काठमाण्डौबाट राती दिल्ली जानु थियो तर देशमा बन्दको कारणा आवत जावत सहज थिएन । दिक्षान्त समारोहमा जापानका अतिथि प्राध्यापक हिरोसी वातानावेले नेपालमा मर्र्नेमार्ने स्थितिलाई अन्त गर्न गरेको विन्तिले लेखकलाई मार्मिक र हृदयलाई छोएको विवरण यस लेखले प्रस्तुत गरेको छ ।

साहित्यको त्रिवेणी सङ्गम– यो साहित्यिक कार्यक्रम त्रिवेणी साहित्यिक त्रैमासिकले अर्घाखाँचीमा आयोजना गरेको र लेखक यस कार्यक्रममा सहभागी हुन जाँदाको विवरणलाई प्रस्तुत गर्नुभएको छ । मोदनाथ प्रश्रित प्रमुख अतिथि भएको उक्त कार्यक्रममा लेखक विशेष अतिथिरहेकोमा कार्यक्रम प्रतियोगी कविता लगायत विभिन्न साहित्यकारबाट कविता बाँचन गरिएको र कार्यक्रम सकिएपछि कार्यक्रमको समीक्षा गरिएको धारणा लेखमा आएको छ ।

छुकछुके रेलसँग लुकामारी शीर्षकमा सिमलाको प्राकृतिक वर्णन, सिमला जाने छुकछुके रेलमा भीड भएको कारणले जान नसकी, गाडीमा जाँदा कहिले रेल अघि र कहिले गाडी अघि भएर लुकामारी गर्दै जाँदाको बर्णन, सिमलाको प्रकृति बर्णन, सिमलाका मानिसले गढवाली बोली बोलिने, टोपी पनि नेपालीले लगाए जस्तो नलगाउने, दार्जिलिङ र सिक्किममा गएजस्तो नेपाल गएजस्तो अनुभूति नहुने धारणा राखिएको छ । मास्कोमा रेडियो हराएको दिन–मास्कोमा इन्जिनियरिङ तेसा्रो वर्षमा अध्ययन गर्दा कोठा खुला छोडिएको, ९० रुवल छात्रवृत्तिबाट बचाएर ५४ रुबलमा किनेको रेडियो हराएको र रिपोर्ट गरेर औपचारिकता निभाएर बसेको तर वकिलले बोलाएर रेडियो फिर्ता त पाइयो तर चोर को हो पत्ता नलागेको त्यो रेडियो नेपाल आउँदा लिएर आएर विग्रिए पछि रेडियो दोकानमा बनाउन दिएको तर दोकानीले दोकान सारेकोले फिर्ता लान नपाएको घटना दर्शाइएको छ ।

डिस्नेल्याण्डमा अन्तरिक्ष यात्रा –मे ६, १९८४मा जापानमा, निप्पोन कोइको प्रधान कार्यालयमा जलविद्युत सम्बन्धी सैधान्तिक ज्ञान हाँसिल गर्न गरिएको यो यात्रामा सैधान्तिक ज्ञानको साथसाथै विभिन्न स्थलगत भ्रमण पनि गरिएको । यसै सिलसिलामा फुकुमुरा सानले 'टोकियोको डिस्नेल्याण्ड अमेरिकाको लस एन्जलसभन्दा कम छैन तिमीहरू त्यहाँ जान चाहन्छौं ?' भनेपछि लेखकलगायतको टोली डिस्नेल्याण्डमा पूरा दिन बिताएको र यहाँ डुङ्गा खियाइ, मनोरञ्जनात्मक खेलहरूको अलवा अन्तरिक्ष यात्रामा पनि सहभागी भएको र करिव पाँचसय किलोमीटर प्रतिघन्टाको दरले ताराहरूको बीच घुम्न रमाइलो भए पनि जोखिमपूर्ण भएको महसूस भएको, टोकियोको हाराजुकुमा प्रत्येक आइतबार आफूखुसी गरिने नाच तथा युवायुवतीको सङ्गम स्थलमा सहभागी भएको, विदेशीलाई गरिने आतिथ्यतामा जापानीहरू 'तीनचार पटक निहुरिएर ढोगने, मीठो बोल्ने, र मुसुक्क हाँसने, जापानी चिया खानलाई किमोनो लगाई विशेष तरिकाले भुइँमा बसेर खाने, फूल प्रदर्शनीको अवलोकन, ब्ुलेट ट्रेनको यात्रा, राजालाई सबैले आदरको साथमा मान्ने आदि सन्देश यस लेखले दिएको छ ।

'हरिकी पैडी' आरतीको लालसा –यस लेखमा हरिद्वार शिवालिक पर्वतको टाकुरामा अवस्थित मनसा देवीको दर्शन, हरिद्वारका सबै मन्दिरको दर्शन गर्दै गङ्गाको मुख्य धारबाट नहरको हाँगा निकालेर हरिद्वारको किनारामा बग्ने गङ्गाको धारामा बनेको पक्की घाटलाई 'हरि कि पौडी' भनिने हरेक दिन बेलुकी ७ः४०मा करिव २० मिनेट गङ्गामाताको आरती गरिने र यही श्राद्धतर्पण पनि हरि कि पौडीमा गरिदो रहेछ तर त्यस समयलाई प्रयोग गर्न नसके पनि मनमा आरतीको कल्पना रहेको र अर्को साल जाँदा आरती हेरेको, मुख्य उदेश्य रुड्कीको कार्यशालामा भागलिन गएको र दिल्लीबाट रुटकी बसमा जाँदा उद्घाटन समयमा पुग्न नसकेको, तर उद्घाटन कार्य नेपालीलाई पर्खिएर मात्र गरिएको आदि यस लेखमा प्रकाश पारिएको छ ।

नमुना सहर चण्डीगढ– चण्डीगढमा हुने जलविद्युत सम्बन्धी गोष्ठीमा भागलिन जाँदाको नियात्रा हो यो । यसमा हरियाण राज्य र पञ्जाव राज्यको राजधानिरहेको, चण्डीगढ राम्रो हावापानी प्रसस्त जल भण्डार, कृषिमा आत्मनिर्भर भएको ठाउँ, विभिन्न क्षेत्रमा बाँडिएको, सन् १९५०मा चण्डीगढको परिकल्पना गरिएको पञ्जावको राजधानी लाहौर पाकिस्तानमा परेपछि चण्डीगढलाई राजधानी बनाइएको र चण्डीगढबाट हरियाण अलग भएपछि चण्डीगढ दुवैको राजधानी बनेको, लेखकले नेकचन्द रक गार्डेन, सुखाताल, गुलावको बगैंचाको अवलोकन, गोष्ठीको उद्घाटन राज्यपालले गरेको सिंहजीले नेपालको विद्युत विकास सम्बन्धी आफ्ना भावना पोख्दै जनस्तरबाटै विद्युत उत्पादन गर्ने धारणा राखेको आदि विविध विवरण प्रस्तुत गरिएको छ लेखमा ।

संघाईलाई सलाम –फेब्रुअरी १९, १९९७मा चिनमा चिनका महान सुधारवादी नेता देङ सियाओ पेङको मृत्युको शोक मनाइएको अवस्थामा लेखक र उनका साथी ईश्वरी तिवारी साङ्घाई पुगेको चाओले उनीहरूलाई सहयोग गरेका, नानजिङ्स्ट्रिटमा पैदल घुमाई विशाल सुपरमार्केटहरूको अवलोकन, युवायुवतीहरू अङ्गालोमा बाँधिएर स्वर्गको अनुभूति गरेको दृश्य, ह्वाङ्–फो नदीकिनारमा पुग्नु जहाज आवत जावत, ८८ तले चिङमाङ भवन र ओरिएन्टल पर्ल टेलीभिजन टावरको दृश्य जति हेरे पनि हेरिरहूँ जस्तो लाग्नेको अवलोकन, उक्त टावरको तलको कोठालाई साइन्स फन्टास्टी वल्र्ड भनिएको र संसारका ऐतिहासिक वैज्ञानिक आदि स्थानका फोटाहरू टाँसिएका आदिलाई अवलोकन गरी लेखक चेङदूतिर लागेको संसारको झ्यालबाट नियाल्दा –संसारमा भएका विश्व चर्चित संरचनाको मोडेल त्यहाँ बनाइएकोले सेन्जेनको प्रमूख स्थललाई संसारको झ्याल भनिएको धारणा राखिएको छ लेखमा । लेखकको टोलीले त्यसको अवलोकन गरेको । खानाका प्रकारमा माछा, सर्प र गंगटा राखिएकोमा टोलीले गंगटा रोजेर खाना खाएका आदि, विवरणको साथै सेन्जेन एउटा व्यपारी केन्द्र भएको विवरण यस लेखमा प्रस्तुत गरिएको छ ।

कोलकाताका कथाव्यथाभित्र – नेपाल हाइड्रो इलेक्ट्रिकलले गेटका पुल्लीहरूको निर्माण गर्न कलकत्ताको कानुभाइ इन्जिनियरिङ वक्र्सलाई दिएको र ती उपकरणको लागि कलकत्ता जान परेको, कलकत्ता गएपछि कलकत्ताको विज्ञान सहर (विज्ञानका अहिले सम्मका उपलब्धीहरूलाई म्युजियमको रूपमा राखिएको) को अवलोकन, कलकत्ताले सबै वर्ग, धर्म र समुदायलाई ओगटेको, मदर टेरेसाको कर्मथलो, रवीन्द्रनाथ टयागोरको साहित्यिक थलो, हुगली नदी माथिको हावडा पुल, भिक्टोरिया बोटानिकल गार्डेनको २४० वर्ष पुरानो बरको रुख जो गिनिज बुक अफ वल्र्डमा रेकर्ड भएको, निको पार्कले दिएको कोलकाताको संस्कृति सन्देश, कलकत्ताले घोडादौडको परम्परालाई कायम राखेको जानकारी, चाइना टाउनमा चाइनिज खानाको स्वाद, कलकत्ताका नेपालीहरूको पीडाको सुनवाइ, कृतिम कपालको पहिरन, दुर्गापूजालाई दिइने प्राथमिकता, ७२ प्रतिशत साक्षरता, मीठाइको स्वादलिंदै उपकरणको जाँच सकी काठमाडौ फिर्ता भएको विवरण लेखमा समावेस गरिएको छ ।

सुन्दर मिरिक सम्झना –मिकिर दार्जिलिङमा पर्दछ । चिया वगान बीचबीचमा छाहारी दिने रुख, सुन्दर चिटिक्क परेका घर, सल्लाघारीको माथि गोरखा पार्वत्यपरिषदले बनाएको अतिथि गृह वा सुन्दर ताल निरको अतिथि गृह, मिकिर झिल, चारैतिर हरियाली, सजिएर रहेको धूपीका रुख, सेती खोला काली खोला, देवीस्थान खोलाको पानी पनि यस झिलमा मिसिने, समेन्दू धापको छिपछिपे हिलोलाई काली खोलामा वाँध बनाएर बनेको कृत्रिम तालले प्राकृतिकरूप धारण गरेको, बौद्ध र हिन्दू धर्मावलम्वीहरूको सङगम स्थल, हरेक घरका आगन र कौसीमा रङ्गिन फूलका गमला, हरेक वर्ष सुनाखरी फूलको प्रदर्शनी गरिने आदि प्राकृतिक सुन्दरताले सजिएको मिरिकको मीठो प्रस्तुति गरिएको छ लेखमा ।

हिमसागरको रेलयात्रा– यो लेख झट्ट हेर्दा हिम सागरमा गरिने रेलयात्रा जस्तो लाग्दछ तर यो मदुराईबाट जम्मुसम्म चल्ने रेलको नाम हो । यस रेललाई जम्मुतावी पनि भनिदो रहेछ ।लेखक कन्याकुमारी र रामेश्वरको यात्रापछि मदुराईबाट डिल्ली जानको लागि यस रेलमा यात्रा गर्दछन् । यात्रामा जम्मुका युसुकफसँग भेट नेपाली चिया बेच्ने केटासँग भेट, तामिलनाडू आए पछि लेखकको छोरा सुमन विमारी पर्नु, विजयवाडाको बारेमा सुमनले सिंहजीलाई जानकारी दिनु, नागपुर, भोपाल, नर्मदानदी, झाँसी, ग्वालियर, चम्बल नदीघाटी आदि हुँदै ५२ घण्टाको रेल यात्रा पछि रेल दिल्ली स्टेशनमा पुग्दछ । लेखकले यात्रालाई विभिन्न व्यक्तिसँगको कुराकानीले गर्दामनोरञ्जनपूर्ण रहेको धारणा पोखेका छन् ।

माथि गरिएका केही प्रस्तुतिले मात्र यस कृतिमा पस्किएका विविध पक्षलाई समेट्दैन किनकि सिंहजीले यस कृति मार्फत पाठक वर्गलाई धेरै जानकारी दिनु भएको छ । उहाँका स्वदेशका हुन् या विदेशका सबै लेख जीवन्त छन् र विवरणात्मक छन् । नियात्रा भन्ने बित्तिकै स्वदेश होस् या विदेश होस् भौगोलिक विवरण नै मुख्य संदेश हो । कृति पढ्दै जाँदा लेखक मात्र नभै हामी पठकले पनि ती स्थानमा पुगेको अनुभूति गर्न सकिन्छ । सिंहजीको राष्ट्रप्रतिको प्रेम, विकास निर्माणतिर लगाव, जहाँ पुगे पनि नेपालीको खोजी, स्थानको अवलोकन र त्यस प्रकारको विकास नेपालमा दाँज्नु र नेपालमा विकास हुन नसकेकामा चिन्तित हुनु उहाँको देशप्रतिको विकास धारणा हो भन्न सकिन्छ । उनका लेखमा इतिहासको विवरण पनि पाइन्छन् । उदाहरणको लागि स्मृतिका पानामा त्रिशूली देविघाट, नेपालको स्वीजरल्याण्ड जस्ता आदि लेखहरूले इतिहासलाई बोकेका छन् । सिंहजी जे देख्छन् त्यही लेख्छन् । सेनजेनमा कल गर्लले गरेको अनुरोध, हाङ्फो नदीकिनारको पार्कमा युवायुवतीको रोमान्सलाई उन्ले लेख्न छोडेका छैनन् । ठाउँ ठाउँमा रसिला बाक्यहरूले सजिएका छन् लेखहरू । समाजमा अपनाइएका उदारता तथा संकृणतालाई पनि नियालेका छन् सिंहजीले । जापानमा पाहुना बन्दा बाबुले छोरीमा गरेको मायामा आमले डाहा गर्नु जस्ता धारणहरूलाई पनि लेखमा प्रस्तुत गरेका छन् । सिंहजीको धर्मप्रतिको झुकाउः पनि अति गाढा छ विभिन्न स्थानका मन्दिरमा जानु, गंगाजीमा स्नान गर्दा डुबुल्की मार्दा कसो नबग्नु आदि । देशमा चलेको द्वन्दलाई पनि हामीले यस कृतिमा अध्ययन गर्न पाउँछौ । देशले दिन नसकेको रोजगारीलाई पनि कृतिले समाएको छ ।

भाषाशैली– सम्झनाका झिलकाहरू सरल र सुबोध भाषामा लेखिएको छ । विम्बहरूको प्रयोग भएको छ । जीर्ण सडकलाई लगेर सडकछाप बालकको फाटेको कपडा जस्तै दाज्नु, 'लाग्थ्यो कतै हामी स्वर्गपुरीमा छौं', जसोजसो बाहुन बाजे उसैउसै स्वाहा जस्ता उखानहरू पनि हामीले अध्ययन गर्न पाउँछौं । जति पढ्यो उति पढौंपढौं जस्तो लाग्छ । लेखाइ जति सरल हुन्छ पढ्दा त्यति सुबोध हुन्छ । सिंहजीको लेखनमा यस्ले अग्र स्थान ओगटेको पाइन्छ ।

शीर्षकी करणा– शीर्षकीकरण पनि सुहाउँदो छ । जसरी सानो अग्निे जलाउँछ त्यसरी नै सम्झनाले पनि मानव मनमा कौतुहलता जगाइरहेको हुन्छ, स्मरण आइरहेको हुन्छ ।
पात्र विधान– नियात्राकार स्वयम्् नै मुख्य पात्ररहेको यो कृतिमा स्वदेश र विदेशको परिवेश अनुकुलका पात्रहरूले कृतिलाई मनोरम बनाएका छ्न् ।

अतः कृतिले हामीलाई प्रशस्त सूचना प्रदान गरेको छ । साहित्य र पेशागत कर्यमा सिंहजी निरन्तर लागि परेको पाइन्छ । उहाँ जहाँ जानुहुन्छ, त्यहाँको परिवेशमा रमाउनुहुन्छ, समाज, परम्परा, संस्कृतिलाई केलाउनुहुन्छ र आफ्नो लेखमा सजाउनुहुन्छ, उहाँको यस कृतिको अध्ययनले यस्तै सन्देश दिन्छ । सिंहजीका यी लेखहरू प्रशंसनीय छन् जीवन्त छन् भन्दै, निरन्तर काव्य रचनाले अग्रस्थान ओगट्दै जावस भन्ने कमना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
मिति २०७३ भाद्र २९ गते,
कावासोती–७, शान्तिचोक, नवलपरासी

No comments:

Post a Comment